अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१) खण्ड तीन
विषयवस्तु दुई: हरेक किसिमका मानिसहरूको स्थितिबारे परिचित हुनु र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने जीवन प्रवेशसम्बन्धी विविध कठिनाइहरू समाधान गर्ने (भाग एक)
झुटा अगुवाहरूले हरप्रकारका व्यक्तिका स्थितिहरू छर्लङ्ग बुझ्न सक्दैनन्
अगुवा र कामदारहरूको दोस्रो जिम्मेवारी हरेक किसिमका मानिसहरूको स्थितिबारे परिचित हुनु र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने जीवन प्रवेशसम्बन्धी विविध कठिनाइहरू समाधान गर्नु हो। झुटा अगुवाहरूले यो काम कसरी गर्छन्? के तिनीहरू यस कामका लागि योग्य छन्? हामी यो बुँदा चिरफार गरौँ। हरप्रकारको व्यक्तिको स्थितिसँग परिचित हुनु—यो कुन आधारमा हासिल हुन्छ? यो विभिन्न मानिसहरूका भ्रष्ट स्वभाव र सार खुलासा गर्ने परमेश्वरका वचनहरू बुझ्ने आधारमा हासिल हुन्छ। विभिन्न मानिसहरूका स्थिति बुझ्न, पहिला मानिसहरूका विभिन्न स्थिति, भ्रष्ट स्वभाव र भ्रष्ट सारहरू खुलासा गर्ने परमेश्वरका वचनहरू बुझ्नुपर्छ, अनि आफूलाई ती वचनहरूसँग मिल्दो बनाउन सक्नुपर्छ। परमेश्वरले खुलासा गर्नुहुने प्रकारका स्वभावहरूले कुन प्रकारका मानिसहरूलाई जनाउँछन्, तिनीहरूको मानवता कस्तो हुन्छ, तिनीहरूमा कस्ता प्रकटीकरण र प्रकाशहरू हुन्छन्, अनि परमेश्वर, उहाँका वचन र आफ्नो कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति के हो; यी स्थितिहरूलाई परमेश्वरका वचनहरूसँग मिलाउनैपर्छ, अनि यसो गरेर, विभिन्न व्यक्तिका स्थितिहरू बुझ्न सकिन्छ। त्यसैले, विभिन्न मानिसहरूका स्थितिहरूसँग परिचित हुने कुरा पहिला परमेश्वरका वचनहरू बुझ्ने र परमेश्वरका वचनहरू बुझ्ने क्षमता राख्ने आधारमा हासिल हुन्छ। झुटा अगुवाहरूसँग परमेश्वरका वचनहरू बुझ्ने क्षमता हुँदैन, त्यसकारण के तिनीहरूले परमेश्वरका वचनहरूले खुलासा गर्ने विभिन्न प्रकारका मानिसहरूबारेका जटिल सत्यताहरू, साथै खुलासा हुने विभिन्न स्थिति र भ्रष्ट सारहरू बुझ्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूले बुझ्दैनन्, तिनीहरूलाई यसमा संलग्न सम्बन्धहरू, र संलग्न सत्यताहरू थाहा हुँदैन। तिनीहरूमा परमेश्वरका वचनहरू बुझ्ने क्षमता नहुने हुनाले, विभिन्न मानिसहरूका स्थितिहरू—यो एकदमै निर्णायक र महत्त्वपूर्ण मामिला—बुझ्नु झुटा अगुवाहरूका लागि एकदमै समस्याजनक र कठिन काम हो।
झुटा अगुवाहरूले विभिन्न मानिसहरूका स्थितिहरू कसरी बुझ्छन्? तिनीहरूले सोच्छन्, “यो व्यक्ति उत्साही छ, त्यो व्यक्ति तुच्छ छ, यो व्यक्तिलाई पहिरनमा सजिन मन पर्छ, त्यो व्यक्तिमा थोरै विश्वास छ…।” तिनीहरू यी सतही कुरा मात्र हेर्छन्, तर तिनीहरूलाई परमेश्वरका वचन र सत्यताप्रति व्यक्तिको मनोवृत्ति साँच्चै कस्तो छ, र उसको प्रकृति सार साँच्चै कस्तो छ भनेर थाहा हुँदैन। उदाहरणका लागि, कसैसँग साँचो विश्वास छ र ऊ आफ्नो कर्तव्यनिर्वाहमा ऊर्जावान् छ, तर उसका पारिवारिक कठिनाइ र उल्झनहरूले उसको कर्तव्यका नतिजामा असर पुर्याउँछ; यो देखेर, झुटा अगुवाहरूले तिनीहरूलाई यसो भन्दै गलत संज्ञा दिन्छन्, “यो व्यक्ति अविश्वासी हो। ऊ आफ्नो परिवारबाट छुट्टिन सक्दैन। ऊ सधैँ आफ्ना छोराछोरीबारे सोचिरहन्छ। उसले घरमा पैसा बचत गरेको छ, तर उसले त्यो चढाउँदैन। त्यसैले, यो व्यक्ति एकदमै समस्याजनक छ, र उसलाई भविष्यमा महत्त्वपूर्ण कामका लागि प्रयोग गर्न सकिँदैन।” वास्तवमा यो व्यक्तिको समस्या गम्भीर हुँदैन; उसले भर्खरै परमेश्वरमा विश्वास गरेकोले र उसमा सत्यताको सतही बुझाइ मात्र भएकोले मात्र उसले धेरै कुरा छर्लङ्गै बुझ्न सक्दैन। उसलाई आफ्नो परिवार र छोराछोरीप्रति के-कसरी व्यवहार गर्ने, वा आफ्नो सम्पत्ति कसरी सम्हाल्ने भन्ने थाहै छैन। ऊ अझै पनि प्रार्थना र खोजी गर्ने अवधिमा छ, र उसले अझै पनि अभ्यासका सही सिद्धान्त र विधिहरू भेट्टाएको छैन। ऊसँग सत्यता अभ्यास गर्ने सङ्कल्प छ, तर पारिवारिक उल्झन र कठिनाइहरू आइपर्दा, ऊ क्षणिक रूपमा अलि कमजोर हुन्छ र आफ्नो कर्तव्य निर्वाहमा त्यति सक्रिय हुँदैन। तथापि, उसले आफूलाई मण्डलीले अह्राएको काम इमानदारीसाथ पूरा गर्न सक्छ, जुन कुरा धेरैजसो मानिसहरूले गर्नै सक्दैनन्। उसको क्षमता, मानवता, र सत्यताप्रतिको मनोवृत्तिलाई मूल्याङ्कन गर्दा, ऊ असल व्यक्ति हो। तर झुटा अगुवाहरू यसलाई यसरी हेर्दैनन्, किनभने तिनीहरूले परमेश्वरका वचनहरू नै बुझ्दैनन् र परमेश्वरका वचनहरूलाई व्यक्तिको प्रकृति सार के हो, वा व्यक्ति जुन स्थितिमा छ त्यो उसको प्रकृति सार वा क्षणिक कमजोरीको कारण हो कि कदको समस्या हो भनेर मापन गर्ने मानकका रूपमा कसरी प्रयोग गर्ने भनेर जानेका हुँदैनन्; तिनीहरूले यी कुरा मापन गर्नै सक्दैनन्। यो प्रकारको व्यक्तिले सामना गर्ने कठिनाइहरू त वास्तविक जीवनमा देखा पर्ने र जीवन प्रवेशसँग सम्बन्धित कुरा हुन्—के झुटा अगुवाहरूले यस्ता समस्याहरू सम्हाल्न सक्छन्? के तिनीहरूले यी मानिसहरूका कठिनाइहरू समाधान गर्न सक्छन्? (सक्दैनन्।) झुटा अगुवाहरूले विभिन्न मानिसहरूका स्थितिहरू सही रूपमा बुझ्न नसक्ने र विभिन्न मानिसहरूका प्रकृति सारका असल र खराब कुरा सही रूपमा खुट्याउन नसक्ने हुनाले, तिनीहरूले विभिन्न मानिसहरूका कठिनाइ र समस्याहरू पनि सही रूपमा समाधान गर्न सक्दैनन्। बरु त्यसविपरीत, तिनीहरूले केवल उत्साहमा भर परेर सक्रिय भई आफूलाई समर्पित गर्न, कठिनाइ सहन र मूल्य चुकाउन सक्ने, तर कमजोर क्षमता भएका र बुझ्ने क्षमता नभएकाहरूलाई नै संवर्धनका मुख्य लक्षित वर्ग ठान्छन्, अनि तिनीहरूले यी मानिसहरूलाई कठिनाइहरू आइपर्दा ती समस्या समाधान गर्न सङ्गति गर्छन्। तर साँच्चै क्षमता र राम्रो मानवता भएकाहरूलाई कठिनाइहरू आइपर्दा र उनीहरू अलि कमजोर हुँदाचाहिँ, झुटा अगुवाहरूले ती कुरालाई कसरी समाधान र सम्बोधन गर्छन्? यी मानिसहरूलाई कठिनाइ आइपर्दा र उनीहरू अलि कमजोर मात्र हुँदा पनि, परिस्थितिअनुसार उनीहरूलाई साथ र मद्दत प्रदान गरिनुपर्छ; उनीहरूलाई परमेश्वरका अभिप्रायहरूको सङ्गति दिइनुपर्छ—उनीहरूलाई पूर्ण रूपमा बेवास्ता गर्नु हुँदैन, संज्ञा दिने त झन् कुरै छोडौँ। तर झुटा अगुवाहरूले यस्ता मानिसहरूका कठिनाइहरू कसरी समाधान गर्छन्? तिनीहरू यसो भन्छन्, “परमेश्वरको काम यस्तो चरणमा पुगिसकेको छ, तैपनि तिमी आफ्नो श्रीमान्सँग, आफ्ना छोराछोरीसँग टाँस्सिइरहन्छौ; तिमी आफ्ना छोराछोरीलाई विश्वविद्यालय जान र सम्भाव्यताहरू पछ्याउनसमेत लगाउँछौ। विपत्तिहरूले झन्झन् गम्भीर रूप लिँदै जाँदा, के यो संसारमा अझै कुनै सम्भाव्यताहरू छन् र? तिमी आफ्नै जीवनको त ख्याल गर्न सक्दैनौ भने ती कुराहरूको कसरी ख्याल गर्न सक्छौ र? परमेश्वरको काम सकिनै लागेको छ, समय कति महत्त्वपूर्ण छ! यदि तिमी पूर्ण रूपमा समर्पित हुँदैनौ भने, के तिमीलाई सृजित प्राणी भन्न मिल्छ र? के तिमी अझै मानव हौ र?” के यी मानिसहरूका कठिनाइहरू साँच्चै यही हो त? (होइन।) यी मानिसहरूलाई कठिनाइहरू तिनीहरू अलि कमजोर हुनुको कारण भनेको तिनीहरूको कद सानो भएर हो, तिनीहरूले सत्यतालाई प्रेम नगर्ने वा तिनीहरू कर्तव्य निभाउन इच्छुक नभएकाले होइन। त्यसकारण, झुटा अगुवाहरूले भन्ने कुरा तिनीहरूको स्थितिसँग मिल्दैन, यो त स्पष्ट रूपमै तिनीहरूलाई गलत संज्ञा दिने, तिनीहरूको स्थितिको मूल कुरा वा मुख्य पक्ष नबुझ्ने, तिनीहरूले साँच्चै के सोचिरहेका छन् भनेर नबुझ्ने, र तिनीहरू कस्ता व्यक्ति हुन् र तिनीहरूलाई कठिनाइहरू समाधान गर्न कसरी मार्गदर्शन र मद्दत गर्नुपर्छ भनेर नबुझ्ने मामिला हो। झुटा अगुवाहरूलाई यी समस्याहरू कसरी समाधान गर्ने भन्ने नै थाहा हुँदैन। त्यसोभए, यस्ता मामिलाहरू उत्पन्न हुँदा तिनलाई कसरी समाधान गर्नुपर्छ? तैँले यसो भन्न सक्छस्, “तिमीले सामना गरिरहेको मामिला धेरै मानिसहरूलाई आइपर्ने समस्या हो। आफ्नो परिवार छोड्न र आफूलाई परमेश्वरका लागि सारा हृदयले अर्पित गर्न सक्नेहरूले आवेगमा काम गरिरहेका हुँदैनन्, बरु धेरै अघिदेखि तयारी गरेका हुन्छन्। पहिला त, तिनीहरूले प्रशस्त सत्यता बुझेका हुन्छन् र आफ्नो परिवारबाट छुट्टिने, र आफूलाई परमेश्वरका घरमा सारा हृदयले समर्पित गर्ने सच्चा सङ्कल्प राख्छन्, र तिनीहरूले त्यसका लागि पछि गएर पछुतो नगर्ने प्रत्याभूति दिन सक्छन्—तिनीहरूले त्यो सबै राम्रोसँग सोचेका हुन्छन्। त्यसबाहेक, यो अवधिमा तिनीहरूले तयारी गर्न र अगाडिको मार्ग खुल्ला गर्न परमेश्वरलाई प्रार्थना पनि गर्छन्, र त्यससँगसँगै आफूलाई सत्यताले सुसज्जित पनि गरिरहन्छन्, र आफूलाई अझ धेरै सत्यता बुझ्ने, र परमेश्वरका लागि सारा हृदयले आफूलाई अर्पित गर्न सबथोक पन्छाउनमा अझ धेरै विश्वास राख्ने तुल्याउँछन्। यसका लागि समय, प्रार्थना अनि अवश्य नै परमेश्वरका अगुवाइ र बन्दोबस्तहरू चाहिन्छ। यदि तिमीमा यस्तो सङ्कल्प छ भने, चिन्तित नहोऊ। परमेश्वरलाई प्रार्थना गर र शान्त भई पर्ख, परमेश्वरले तिम्रा लागि बन्दोबस्तहरू मिलाइदिनुहुनेछ। यदि तिम्रा प्रार्थनाहरू र तिम्रो सङ्कल्प परमेश्वरका अभिप्रायअनुरूप छन् र तिनलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ भने, यदि तिमी तयार छौ र परमेश्वरले जे गर्नुभए पनि समर्पित हुन्छौ र पछुतो महसुस गर्दैनौ भने, परमेश्वरले निश्चय नै तिम्रा लागि बाटो खोल्नुहुनेछ। यो अवधिमा, मानिसहरूले तयारी र प्रतीक्षा गर्नुपर्छ; तिनीहरूले गर्न सक्ने एकमात्र कुरा भनेको आफूलाई सत्यताले सुसज्जित पार्नु, परमेश्वरका अभिप्रायहरू बुझ्नु, र आफ्नो कदलाई क्रमिक रूपमा बढ्न दिनु हो। परमेश्वरले विभिन्न परिवेशहरू खडा गर्नुहुँदा, यदि तिमीले परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति कुनै गुनासो नगरी समर्पित हुने निर्णय गर्न सक्छौ भने, यो कद हुनु हो—परमेश्वरले जे गर्नुभए पनि वा उहाँले जे-जसरी बन्दोबस्त गर्नुभए पनि, तिमी समर्पित हुन सक्नेछौ।” तँलाई यस्तो मार्गदर्शन कस्तो लाग्छ? (राम्रो लाग्छ।) एकातिर, तैँले आफ्नो जिम्मेवारी पूरा गरिरहेको हुन्छस्, मानिसहरूलाई परमेश्वरका अभिप्रायहरू बुझ्न मद्दत गरिरहेको हुन्छस्; त्योसँगसँगै, तैँले तिनीहरूलाई तिनीहरूको क्षमताले नभ्याउने कुरा गर्न बाध्य पारिरहेको हुँदैनस्, बरु तिनीहरूको वास्तविक अवस्थाअनुसार व्यवहार गरिरहेको हुन्छस्। के यो परमेश्वरका वचनहरूद्वारा समस्याहरू समाधान गर्नु होइन र? के यो मानिसहरूले वास्तविक जीवनमा सामना गर्ने कठिनाइहरूलाई तिनीहरूको स्थितिका आधारमा समाधान गर्नु होइन र? (हो।)
कति मानिसहरू आफ्नो कर्तव्य निर्वाहमा सधैँ झारा टार्छन् र कुनै जिम्मेवारी देखाउँदैनन्, तिनीहरू सधैँ आधिकारिक ढङ्गले प्रस्तुत हुन्छन्, अहङ्कारी, आत्मधर्मी, र अरूसँग सहकार्य गर्न असक्षम हुन्छन्, अनि तिनीहरूले मण्डलीको काममा नोक्सान पुऱ्याउँछन् तर अलिकति पनि ग्लानि महसुस गर्दैनन्। त्यस्तो अवस्था देख्दा, झूटो अगुवाले यसो भन्दै त्यो समस्या सम्हाल्न र सुल्झाउन थाल्छ, “यो व्यक्तिले यो काममा एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ। उसको ठाउँ लिने अलिक उपयुक्त व्यक्ति कोही पनि छैनजस्तो देखिन्छ, त्यसैले हामीले उसका कठिनाइहरू समाधान गर्न ऊसँग सङ्गति गर्नुपर्छ।” सङ्गतिको दौरान, त्यो झुटो अगुवाले त्यो व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्न पटक्कै चाहँदैन भन्ने पत्ता लगाउँछ। ऊ सांसारिक कुराहरू पछ्याउन, र आफ्नो करियरबाट पैसा कमाएर राम्रो जीवन जिउन चाहन्छ, र उसलाई कर्तव्य निर्वाह गर्न लगाइँदा आफूबाट अत्यधिक माग गरियो भन्ने ठान्छ। उसलाई परमेश्वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको हरेक दिन व्यस्त हुनु हो, र आफ्नो व्यक्तिगत पारिवारिक जीवन नष्ट गर्नु मात्र नभई परिवारका सदस्यहरूसँग सम्बन्ध कायम राख्न असम्भव बनाउनुसमेत हो, र यदि कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरू उल्लङ्घन भयो भने काटछाँटसमेत भोग्नुपर्छ भन्ने लाग्छ। उसलाई यस्तो जीवन साह्रै तितो लाग्छ र ऊ त्यसरी जिउन चाहँदैन। समस्या प्रस्ट छ: उसको व्यवहारले ऊ अविश्वासी हो भन्ने देखाउँछ। तर झुटो अगुवाले त्यो कुरा कसरी सम्हाल्छ? झुटो अगुवाले सोच्छ, “यो व्यक्ति गैरविश्वासीहरूमाझ प्रतिभावान् छ; ऊजस्तो व्यक्ति भेट्टाउनु सजिलो छैन। उसको स्थिति समस्याजनक बनेको छ; मैले आफ्नो हातको सबैभन्दा व्यस्त कामलाई थाती राखेर तुरुन्तै ऊसँग सङ्गति गर्नुपर्छ, र उसलाई यो समस्या समाधान गर्न मद्दत गर्नुपर्छ। यसलाई कसरी समाधान गर्ने? परमेश्वरका वचनहरू सबैभन्दा शक्तिशाली छन्; पहिला त म उसलाई कर्तव्य निर्वाह गर्नप्रतिको उसको अनिच्छुकता हल गर्न परमेश्वरका वचनका केही खण्ड पढेर सुनाउनेछु।” झुटो अगुवाले उसलाई भन्छ, “विपत्तिहरू आएकाले मानिसहरूले अब राम्रो जीवन जिउन सक्दैनन्। तिमी अझै करियरमार्फत पैसा कमाएर सरल पारिवारिक जीवन जिउन चाहन्छौ, तर चाँडै नै सारा संसार अस्तव्यस्त हुनेछ, र कुनै सामान्य परिवार बाँकी रहनेछैन। के तिमी यी कुराहरु छर्लङ्गै देख्न सक्दैनौ? तिमीले परमेश्वरलाई अझ धेरै प्रार्थना गर्नुपर्छ। परमेश्वरलाई प्रार्थना गर्दा तिमीलाई विश्वास मिल्नेछ। तिमीले परमेश्वरका वचनहरू अझ धेरै खानु र पिउनु पनि पर्छ। केही पटक परमेश्वरका वचनहरू खाएपछि र पिएपछि, तिम्रो समस्या समाधान हुनेछ।” त्यसपछि, उसले त्यो व्यक्तिसँग पढ्न र सङ्गति गर्न परमेश्वरका वचनका पाँच-दसवटा खण्ड खोज्छ। त्यो व्यक्तिले जवाफ दिन्छ, “भो, सङ्गति पुग्यो। म परमेश्वरका यी सबै वचन बुझ्छु; म तिमीभन्दा बढी शिक्षित छु। देखावा नगर।” दिनभरि सङ्गति गरेर पनि केही समाधान हुँदैन। झुटो अगुवाले मनमनै सोच्छ, “मैले मण्डलीको काम धेरै वर्षदेखि गर्दै आइरहेको छु; मलाई लाग्दैन कि म तिम्रो समस्या समाधान गर्न सक्दिनँ।” साँझमा, उसले तुरुन्तै फेरि सङ्गतिलाई निरन्तरता दिन्छ, “तिमीले परमेश्वरलाई प्रेम र आराधना गर्नुपर्छ! तिमीसँग मानकअनुरूपको सृजित प्राणी बन्ने आशा छ। यो कर्तव्य पाउनु सजिलो छैन; तिमीले यो अवसरको कदर गर्नैपर्छ, किनभने यदि तिमीले यो अवसर गुमायौ भने अर्को अवसर कहिल्यै पाउनेछैनौ। तिम्रो क्षमता र अवस्था एकदमै राम्रो भएकोले, तिमीले आफ्नो कर्तव्य निर्वाह नगर्नु दुःखद कुरा हुनेछैन र? तिम्रो जस्तो प्रतिभा भएको व्यक्तिलाई परमेश्वरका घरमा प्रवर्द्धन र प्रयोग गर्नुपर्ने हुन्छ; यहाँ तिमीसँग ठूला सम्भाव्यताहरू छन्!” त्यो व्यक्तिले भन्छ, “यो कुरा नगर। यदि तिमीले मलाई मेरो कर्तव्य निर्वाह गर्न लगायौ भने, मेरो मनोवृत्ति उही रहनेछ। यदि मलाई त्यसो गर्न दिइएन भने, म तुरुन्तै छोडेर जानेछु। यहाँ बस्नका लागि मैले बिन्ती बिसाएको होइन!” झुटो अगुवाले सबै शब्द भनी सकाउँछ तर त्यो व्यक्तिलाई मनाउन र उसको समस्या हल गर्न सक्दैन। किन त? किनभने उसले त्यो व्यक्तिको मुख्य समस्या के हो भनेर छर्लङ्ग देख्न सक्दैन। त्यो व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्दा मनलागेअनुसार लापरवाह हुन्छ, मनलागेअनुसार जालझेल गर्छ, र मनलागेअनुसार झारा टार्छ; ऊ जे काम गर्दा पनि गैरजिम्मेवार हुन्छ। ऊ केही समस्याहरू हल गर्नका लागि कति पनि थप प्रयास गर्न वा थप कुरा भन्न चाहँदैन, उसलाई त्यो समस्याजनक र कष्टप्रद लाग्छ। उसलाई आफ्नो कर्तव्य कसरी मानकअनुरूप हुने तरिकाले निर्वाह गर्ने र कसरी उचित तरिकामा कार्य गर्ने भनेर प्रस्ट रूपले थाहा हुन्छ तर ऊ यसरी अभ्यास गर्न अनिच्छुक हुन्छ। तैपनि, ऊ परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहन्छ। यो अवस्थाको प्रकृति के हो? यहाँ समस्या के हो? (ऊ आशिष् पाउने र सौदा गर्ने अभिप्रायले आएको थियो।) ऊ यस्तो आशा बोकेर आएको थियो; यस्ता मानिसहरूलाई अवसरवादी भनेर चिनिन्छ। तिनीहरू भन्छन्, “मैले सुनेको संसार चाँडै अन्त हुँदै छ रे, ठूलो विपत्ति हामीमाथि मडारिरहेको छ रे, त्यसैले म अबउसो काममा जानुपर्दैन; जे भए पनि मैले प्रशस्तै पैसा कमाइसकेको छु। साथै म परमेश्वरका घरमा सित्तैमा खान र आफ्नो स्थान सुरक्षित गर्न आउन पनि सक्छु, ताकि मैले पछि आशिष् पाउने आशा पाउन सकूँ।” कर्तव्य निर्वाह गर्नमा तिनीहरूको मनोवृत्ति र अभिप्रायलाई हेर्दा, परमेश्वरप्रतिको तिनीहरूको विश्वास अवसरवादी हुन्छ; तिनीहरू परमेश्वरका घरमा साँचो आस्थाले नभई सित्तैमा खान पाइन्छ भनेर आएका हुन्छन्। कर्तव्य निर्वाह गर्दा तिनीहरूको मनोवृत्ति एकदमै बेवास्ते हुन्छ। तिनीहरूलाई प्रयोग गर्न मण्डलीले तिनीहरूलाई फकाउनुपर्ने र तिनीहरूसँग वार्ता गर्नुपर्ने हुन्छ, र पनि तिनीहरू कर्तव्य राम्ररी निर्वाह गर्दैनन्। के विवेकसमेत नहुने व्यक्तिले साँच्चै कर्तव्य निर्वाह गर्न सक्छ त? ऊ केवल अवसरवादी भइरहेको वा सित्तैमा केही पाउन खोजिरहेको हुन्छ, ऊ अविश्वासी हो। यो समस्याका दुइटा पक्षहरूको प्रकृतिलाई हेर्दा, यसलाई समाधान गर्ने प्रयासमा के झुटो अगुवाले यसको सार बुझ्यो त? (बुझेन।) उसले त्यो समस्याको सार छर्लङ्ग देख्न नसकेर अझै त्यो व्यक्तिलाई साँचो विश्वासी, केवल सत्यताको बुझाइ नभएको, सानो कद भएको, अस्थायी रूपमा कमजोर र सहयोग चाहिएको व्यक्ति ठान्यो। यी दृष्टिकोणबाट, उसले सङ्गति र मद्दत गर्ने प्रयास गर्यो, तर उसलाई यसो भनियो, “यो कुरा नगर। तिमीले भनेका ती धर्मसिद्धान्तहरू व्यर्थ छन्। मलाई त्यो सब थाहा छ, म तिमीले भन्दा धेरै बुझ्छु। तिमी साँच्चिकै कतिवटा धर्मसिद्धान्त बुझ्छौ र? तिमी कति शिक्षित छौ र? तिमीले जति खाना खाएका छौ त्योभन्दा बढी त मैले पुस्तकहरू नै पढेको छु!” उसको प्रकृति आफै प्रकाश भएको छ, छैन त? त्यो झुटो अगुवा अझै आफूले काम गरिरहेको ठान्छ, तर त्यो व्यक्ति वास्तवमा अविश्वासी हो भनेर थाहा पाउँदैन। अविश्वासीहरूले परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्दा, तिनीहरूको श्रमसमेत मानकअनुरूप हुँदैन। के यस्ता मानिसहरूलाई राखिराख्नुपर्छ त? (पर्दैन।) त्यसैले, परमेश्वरका घरमा यस्तो व्यक्ति सम्हाल्ने सिद्धान्त यही हो: यदि ऊ श्रम गर्न सक्षम र इच्छुक छ भने, उसलाई राख्; यदि ऊ इच्छुक छैन भने, उसलाई तुरुन्तै हटा, उसलाई बस्ने आग्रह गर्ने वा अर्ती दिने काम नगर्। के त्यो झुटो अगुवालाई यो सिद्धान्त थाहा छ? थाहा छैन। ऊ मृतकलाई जीवितजस्तो व्यवहार गर्छ, त्यसलाई खुवाउँछ र पानी पिलाउँछ; के त्यो मूर्खता होइन र? झुटा अगुवाहरू यस्तै मूर्ख कामकुरा गर्छन्।
झुटा अगुवाहरू मानिसहरूले जीवन प्रवेशमा सामना गर्ने कठिनाइ र समस्याहरू समाधान गर्न सक्षम हुँदैनन्
विभिन्न परिस्थितिमा, जब भिन्नभिन्न मानिसहरूले विभिन्न स्थिति र प्रकटीकरणहरू प्रकट गर्छन्, तब झुटा अगुवाहरूले कहिल्यै पनि यी प्रकटीकरणहरूको सार बुझ्न र तीबाट उत्पन्न हुने समस्याहरू हल गर्न सक्दैनन्। तिनीहरूले सत्यता नबुझ्ने हुनाले, तिनीहरू गलत तरिकाले संज्ञा दिन्छन् र लापरवाह व्यवहारमा संलग्न हुन्छन्, र यसरी अस्थायी रूपमा कमजोर हुने वा कहिलेकाहीँ मात्र नकारात्मक हुनेहरूलाई गलत रूपमा अविश्वासी र परमेश्वरलाई विश्वासघात गर्ने मानिस ठान्छन्। तर यसबीच, सतही रूपमा केही प्रतिभा हुने, र सरल काम गर्न र केही प्रयास लगाउन सक्ने अविश्वासीहरूलाई चाहिँ साथ दिइनुपर्ने मुख्य लक्षित पात्र मानिन्छ। यी मानिसहरू आफू कर्तव्य निर्वाह गर्न अनिच्छुक भएको कुरा सिधै बताउन लजाउँछन्, तर झुटा अगुवाहरू यो कुरा छर्लङ्गै देख्न सक्दैनन् र तिनीहरूलाई त्यहीँ बस्नका लागि मनाउन लागिपर्छन्। झुटा अगुवाहरूले मूर्ख कामबाहेक अरू केही गर्दैनन्; दुष्ट मानिसहरूले मण्डलीलाई बाधा दिन्छन्, तैपनि तिनीहरूले त्यो थाहा पाउँदैनन् र त्यो समस्यालाई सम्बोधन गर्दैनन्। के यो लापरवाह व्यवहारमा संलग्न हुनु होइन र? झुटा अगुवाहरूको लापरवाह व्यवहार कसरी उत्पन्न हुन्छ? तिनीहरूमा परमेश्वरका वचनहरू बुझ्ने क्षमता हुँदैन र तिनीहरू सत्यता बुझ्दैनन्, त्यसैले विभिन्न परिस्थितिहरू सामना गर्दा, तिनीहरू आफूले बुझ्ने सबैभन्दा सतही धर्मसिद्धान्तहरूको सहारा लिन्छन्, र तिनलाई बारम्बार यसरी लागू गर्छन् कि त्यसबाट अवरोध र बाधा मात्र पैदा हुन्छ। प्रायः तिनीहरूले मानिसहरूको जीवन प्रवेशमा आइपर्ने कठिनाइहरू हल गर्न नसक्ने र मानिसहरूलाई कमजोरबाट बलियो हुन मद्दत गर्न नसक्ने मात्र होइन, तिनीहरूले त मानिसहरूलाई परमेश्वरबारे धारणा र गलतफहमीहरू पाल्ने अनि मण्डलीले तिनीहरूको सेवाको फाइदा लिन तिनीहरूको भर्ती गर्न खोज्दै छ भन्ने सोच्नेसमेत तुल्याउँछन्, र यसरी परमेश्वरका घरमा प्रतिभावान् व्यक्तिहरू नै छैनन् जस्तो, र यसले उपयुक्त मानिसहरू भेट्टाउनै सक्दैन जस्तो गराउँछन्। झुटा अगुवाहरूको कामले उत्पन्न गर्ने नकारात्मक प्रभाव यही हो। यो कसरी उत्पन्न हुन्छ? (झुटा अगुवाहरूले सत्यता बोध गर्न सक्दैनन्, सत्यता बुझ्दैनन्, र परिस्थितिहरू सामना गर्नुपर्दा, तिनीहरूले प्रावधानहरू मात्र लागू गर्छन्।) तिनीहरूले सत्यता बोध गर्न सक्दैनन्, तिनीहरूले केही अरट्ठ शब्द र भनाइहरू कण्ठ गर्न मात्र सक्छन्। तिनीहरूमा सत्यताको वास्तविक अनुभवात्मक बुझाइ र कदर हुँदैन। त्यसैले, जब अन्त्यमा समस्याहरू खडा हुन्छन्, तब तिनीहरूले केही नीरस वाक्यांशहरू मात्र भन्न सक्छन्: “परमेश्वरलाई प्रेम गर”; “इमानदार बन”; “परिस्थितिहरू सामना गर्नुपर्दा आज्ञाकारी र समर्पित होऊ”; “आफ्नो कर्तव्य राम्ररी निर्वाह गर”; “तिमीले बफादार हुनुपर्छ”; “तिमीले देहविरुद्ध विद्रोह गर्नैपर्छ”; “तिमीले परमेश्वरका लागि आफूलाई अर्पित गर्नुपर्छ।” तिनीहरू आफूलाई सुशोभित पार्न यी खोक्रा धर्मसिद्धान्त, नारा, र भनाइहरू प्रयोग गर्छन्, अनि अरूलाई प्रभावित पारेर तिनीहरूमा सकारात्मक प्रभाव पार्ने आशा राख्दै तिनीहरूलाई पनि तिनै कुराहरू सिकाउँछन्—तर त्यसले कुनै नतिजा र कुनै परिवर्तन ल्याउँदैन। तसर्थ, झुटा अगुवाहरू कुनै पनि काम पूरा गर्न असक्षम हुन्छन्। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा आइपर्ने कठिनाइहरू समाधान गर्नसमेत सक्दैनन् भने, तिनीहरूले कसरी मण्डलीको सही तरिकाले अगुवाइ गर्न सक्छन् र?
मानिसहरूले वास्तविक जीवनमा विभिन्न कठिनाइहरू सामना गर्दा अनि तीसँग कसरी जुध्ने, र कसरी सत्यता अभ्यास गर्ने भनेर नजान्दा, ती समस्याहरू समाधान गर्न परमेश्वरका वचनहरूमा सत्यता खोज्नुपर्छ। यदि सानो कद भएको व्यक्तिलाई परमेश्वरका वचनहरूमा सत्यता कसरी खोज्ने भनेर पनि थाहा छैन, र परमेश्वरका सान्दर्भिक वचनहरू कसरी खोज्ने भनेर पनि थाहा छैन भने, उसले त्यो समस्या हल गर्नहेतु सङ्गति गर्न सत्यता बुझ्नेहरूलाई भेट्नुपर्छ, र सँगसँगै परमेश्वरका सान्दर्भिक वचनहरू कसरी खोज्ने र कसरी सत्यता बुझ्ने भनेर प्रशिक्षित पनि हुँदै जानुपर्छ। यसको अर्थ सिद्धान्त र परमेश्वरले तोक्नुभएका मानकहरू के-के हुन्, परमेश्वरले यो मामिलालाई कसरी परिभाषित गर्नुहुन्छ र यस सम्बन्धमा के माग गर्नुहुन्छ, अनि यसमा कुनै विशेष कुराहरू व्याख्या गरिएका छन् कि भनेर परमेश्वरका वचनहरूमा खोजी गर्नु हो। यदि परमेश्वरका वचनहरू यो विषयबारे अलिक सरल छन्, र तिनले विस्तृत उदाहरणहरू नदिई सिद्धान्तहरूको सारांश मात्र दिन्छन् भने, तैँले मनन गर्न सिक्नुपर्छ। यदि तैँले मनन गरेर बुझ्न सक्दैनस् भने, सङ्गति गर्न अझ धेरै मानिसहरू खोज्, भेलाहरूमा सङ्गति गर्, अनि आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा खोजबिन र खोजी गर्, अन्तर्दृष्टि र ज्योति प्राप्त गर्, अनि यसरी अहिलेको समस्याको सार के हो भनेर क्रमिक रूपमा बुझ्। अन्त्यमा, यी कठिनाइहरूको समाधान गर्न परमेश्वरका वचनका सिद्धान्तहरूअनुसार प्रवेश गर्। उदाहरणका लागि, कति मानिसहरू अल्छी हुन्छन् र आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कहिल्यै शक्ति बटुल्न सक्दैनन्; तर खाने, पिउने र रमाइलो गर्ने कुरा गरिस् भने, तिनीहरूमा चमक आउँछ र तिनीहरू जोसजाँगरले भरिन्छन्, मानौँ अचानक तिनीहरूको आत्मा बलियो भएको छ। झुटा अगुवाहरूले यस्ता समस्याहरू कसरी समाधान गर्छन्? तिनीहरूको पनि एउटा विधि हुन्छ: तिनीहरूले यी मानिसहरूलाई खाली समय नदिई अझ धेरै काम दिन्छन्। के यो तरिकाले समस्या समाधान हुन सक्छ? कति मानिसहरू आफूलाई दिइएको काम अलिकति पनि गर्न मन गर्दैनन्; तिनीहरू सित्तैमा केही पाउन मात्र चाहन्छन्, र कुनै पनि काम फिटिक्कै नगर्नु नै सबैभन्दा राम्रो हो भन्ने सोच्छन्! असाध्यै अल्छे मानिसहरूको समस्या के हो? त्यो तिनीहरूको प्रकृति सारसँग, तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्छन् कि गर्दैनन् भन्नेसँग अनि तिनीहरूका रुचि र पछ्याइहरूसँग सम्बन्धित कुरा हो। कति मानिसहरूमा थोरथोरै क्षमता हुन्छ; यदि तिनीहरू कुनै बोझ नदिइएको साधारण अनुयायी मात्र हुन् भने, तिनीहरूमा काम गर्ने ऊर्जाको कमी हुन्छ र तिनीहरूलाई त्यसमा कुनै रुचि लाग्दैन। तर, तिनीहरूको क्षमता र तिनीहरूले निर्वाह गर्नसक्ने कर्तव्यअनुसार, यदि तिनीहरूलाई सुपरिवेक्षक हुने बोझ दिइयो, केही उपाधि लिन र केही दायित्वहरू लिन दिइयो भने, काममा तिनीहरूको रुचि बढ्छ। कहिलेकाहीँ, जब तिनीहरू आफ्ना काममा गैरजिम्मेवार बन्छन् वा अल्छी गर्छन्, तब तिनीहरूलाई काटछाँट गर्न सकिन्छ; अरू बेला, तिनीहरूलाई केही हौसला दिन र प्रशंसा गर्न पनि सकिन्छ। यसरी, इज्जतको ख्याल गर्ने, हैसियत मन पराउने र प्रशंसामा रमाउने ती मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने ऊर्जा प्राप्त गर्छन्। तिनीहरू आफूमा सुस्त हुने सोचाइ आउँदा यस्तो सोच्छन्, “हैसियतको खातिर, आफूले बोक्ने बोझको खातिर, मैले राम्रो गर्नैपर्छ।” यसरी, यस्ता मानिसहरूको अल्छीपन आंशिक रूपमा हटाउन सकिन्छ। झुटा अगुवाहरूले कर्तव्य निर्वाहका क्रममा उत्पन्न हुने मानवतासँग सम्बन्धित समस्याहरू वा जीवन प्रवेशसम्बन्धी स्थितिहरू सामना गर्दा, तिनीहरूलाई त्यो समाधान गर्न एकदमै कठिन र चुनौतिपूर्ण लाग्छ। तिनीहरूलाई ती स्थिति र समस्याहरू कसरी समाधान गर्ने, वा लक्षित समाधानका लागि परमेश्वरका कुन वचनहरू प्रयोग गर्ने भनेर थाहै हुँदैन। धेरैजसो समय, तिनीहरूको शैली मानिसहरूलाई राम्रोसँग काम गर्न मनाउने वा फकाउने मात्र हुन्छ; यदि मनाउँदा वा फकाउँदा भएन भने, तिनीहरू रिसाउन र उनीहरूलाई काटछाँट गर्नतर्फ लाग्छन्। यदि उनीहरूलाई काटछाँट गर्दा भएन भने, तिनीहरूले परमेश्वरका कठोर वचनका केही खण्ड चेतावनीका रूपमा पढेर सुनाउँछन्, र मानिसहरूलाई उनीहरू सच्चिनुपर्छ भनेर थाहा दिन्छन्। यदि त्यसले पनि कुनै प्रभाव पारेन भने, तिनीहरूले अन्त्यमा कसैलाई खटाएर उनीहरूको निगरानी र व्यवस्थापन गराउने गर्छन्। तिनीहरूसँग यी केही तरकिब मात्र हुन्छन्, र यदि यी तरकिबले पनि काम गरेनन् भने, तिनीहरूसँग कुनै विकल्प बाँकी रहँदैन।
सङ्क्षेपमा भन्नुपर्दा, झुटा अगुवाहरूले आफ्नो काममा भोग्ने समस्या जे भए पनि, तिनीहरूले उक्त समस्याको सार छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरूलाई विभिन्न मानिसहरूको साँचो स्थिति र पृष्ठभूमि बुझ्न गाह्रो हुन्छ, तिनीहरूले समस्याको जड कहाँ छ वा त्यसलाई सर्वोचित तरिकाले समाधान गर्न कहाँबाट सुरु गर्ने भनेर छर्लङ्गै बुझ्न झनै सक्दैनन्। तिनीहरूमा समस्याहरू समाधान गर्ने यी सिद्धान्त र विधिहरूको कमी हुन्छ, त्यसैले झूटा अगुवाहरूको कामले विविध वास्तविक समस्याहरू समाधान गर्न सक्दैन। तिनीहरू केही धर्मसिद्धान्तहरू प्रचार गर्न, केही नाराहरू फलाक्न, केही प्रावधानहरू पालन गर्न र झारा टार्न मात्र सक्छन्। यस्ता मानिसहरू कसरी मण्डलीको अगुवाइको काममा योग्य हुन सक्छन्? तिनीहरूले जति नै प्रशिक्षण लिए पनि वा जति नै वर्ष विश्वास गरे पनि तिनीहरू मण्डलीको अगुवाइको काममा योग्य हुनेछैनन्। के तिमीहरूले यसका कुनै उदाहरणहरू भेट्टाएका छौ? (हाम्रो मण्डलीमा, अतिथि सत्कारको कर्तव्य निर्वाह गर्ने व्यक्ति थियो, जो सधैँ आलोचनात्मक र आक्रामक टिप्पणीहरू गर्थ्यो, हाम्रो कर्तव्य निर्वाहमा असर पुऱ्याउँथ्यो, अनि अवरोध र बाधाहरू सिर्जना गर्थ्यो। हामीले यो कुरा अगुवालाई रिपोर्ट गरेपछि, उसले हाम्रो वास्तविक समस्या समाधान गरेन, बरु उल्टै हामीले आफूलाई चिन्नुपर्छ र परमेश्वरले खडा गर्नुभएको परिवेशप्रति समर्पित हुनुपर्छ भनेर मात्र जिद कस्यो, र यसले गर्दा मण्डलीका काममा असर पुग्यो। त्यो समस्या नेतृत्व परिवर्तन भएपछि मात्र हल भयो।) यो झुटा अगुवाहरूको ठेट प्रकटीकरण हो। यो आम प्रकारको झुटो अगुवा हो: ती जसले दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीलाई भेट्दा त्यसलाई चिन्न सक्दैन, र अरूलाई धैर्यवान् र सहनशील हुनुपर्छ, अनुभवबाट सिक्नुपर्छ, अनि त्यो दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीको कुरा मान्नुपर्छ भनेर भन्छन्। तिनीहरू ख्रीष्टविरोधी वा दुष्ट मानिसहरूलाई खुट्ट्याउँदैनन्, न त तिनीहरूलाई केही नै गर्छन्। ख्रीष्टविरोधीहरू प्रकट हुने तरिकाहरूबारे धेरै सङ्गति गरेपछि, सत्यता बुझ्ने हरव्यक्ति अब तीमध्ये केहीलाई पहिचान गर्न सक्षम भएको हुनुपर्छ। तर के त्यस्ता झुटा अगुवाजस्ता मानिसहरूले त्यो सङ्गति कसरी ख्रीष्टविरोधीको व्यवहारसँग मिल्छ भनेर खोज्न सक्छन्? के तिनीहरूले ख्रीष्टविरोधीहरू खुट्ट्याउन सक्छन्? (सक्दैनन्।) अनि तिनीहरूले ख्रीष्टविरोधीहरू खुट्ट्याउन नसक्नुको नतिजा के हुन्छ? ख्रीष्टविरोधीले तिनीहरूबाट शक्ति खोस्ने, तिनीहरूले ख्रीष्टविरोधीलाई मण्डली नियन्त्रण गर्न दिने, र अन्त्यमा, ख्रीष्टविरोधीले स्वतन्त्र राज्य स्थापित गर्दा तिनीहरूले केही पनि नगर्ने सम्भावना हुन्छ। यदि तिनीहरूले ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्दैनन् भने, तिनीहरूले कुनै हालतमा पनि ख्रीष्टविरोधीलाई आफ्नो शत्रुका रूपमा व्यवहार गर्ने र उसलाई खुलासा गर्ने, खुट्ट्याउने, र इन्कार्ने गर्दैनन्; यदि तिनीहरूले ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्दैनन् भने, तिनीहरूले धैर्य र सहनशीलताका साथ ख्रीष्टविरोधीलाई आफ्नो दाजुभाइ वा दिदीबहिनीका रूपमा व्यवहार गर्ने सम्भावना धेरै हुन्छ, जसको फलस्वरूप मण्डलीमा ख्रीष्टविरोधी शक्तिमा आउँछ र उसले त्यहाँ नियन्त्रण जमाउँछ। त्यसैले, ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन नसक्नुका परिणामहरू अड्कल गर्नै नसकिने गरी गम्भीर हुन्छन्। झुटा अगुवाहरू सत्यता बुझ्दैनन्; तिनीहरूले भिन्नभिन्न मानिसहरूको सार खुट्ट्याउन सक्दैनन्। तिनीहरूले गर्ने भनेकै शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्नु र प्रावधानहरू लागू गर्नु, सबैप्रति प्रेम दर्साउँदै, हरेकलाई पश्चात्ताप गर्न दिनु, र हरेकलाई मौका दिनु हो, चाहे त्यो जोसुकै होस्। के यो धर्मका पादरीवर्गको आचरण होइन र? के यो फरिसीहरूको आचरण होइन र? झुटा अगुवाहरूले ख्रीष्टविरोधीहरूसँग आमनेसामने हुँदा सामान्यतया सम्झौता गर्छन् र झुक्छन्, र यो त अरूलाई प्रेमपूर्वक व्यवहार गर्नु हो भनेर दाबी गर्न बहाना वा कारण समेत भेटाउँछन्। कुनै व्यक्ति समस्याजनक छ र ऊ ख्रीष्टविरोधी हो भन्ने थाहा पाउँदा, तिनीहरू न त उसको सामना गर्ने आँट गर्छन्, न त तिनीहरूमा उसलाई खुट्ट्याउने र खुलासा गर्ने साहस नै हुन्छ; झुटा अगुवाहरू ठ्याक्कै यसै गर्छन्। कतिपय दाजुभाइ-दिदीबहिनीले त्यो व्यक्ति दुष्ट वा ख्रीष्टविरोधी हो भनेर खुट्ट्याइसकेपछि समेत झुटा अगुवाहरूले अझै यसो भन्नेछन्, “हामीले मानिसहरूलाई हल्कासित आलोचना वा निन्दा गर्न मिल्दैन। त्यो व्यक्ति आफूलाई समर्पित गर्न एकदमै उत्साही र मूल्य चुकाउन एकदमै इच्छुक छ—ऊ कुनै ख्रीष्टविरोधी वा दुष्ट व्यक्ति होइन। कसैले केही कठोर शब्द बोल्यो भन्दैमा उसलाई दुष्ट भन्नु मिल्दैन, होइन र?” झुटा अगुवाहरू मानिसहरूको सार देख्न सक्दैनन्, न त ख्रीष्टविरोधीहरूका कार्यका नतिजाहरू नै देख्न सक्छन्, र अझै पनि ख्रीष्टविरोधीहरूप्रति प्रेम, सहनशीलता र धैर्य देखाउँछन्, र ख्रीष्टविरोधीहरूलाई चिन्तन गर्न, आफूलाई चिन्न, र साँचो रूपमा पश्चात्ताप गर्न हौसलासमेत दिन्छन्। कुनै ख्रीष्टविरोधीले आफूलाई चिन्न जेजसरी प्रयास गरे पनि के उसको प्रकृति परिवर्तन हुन सक्छ? के उसले साँच्चै आफूलाई चिन्न सक्छ? बिलकुलै सक्दैन। ख्रीष्टविरोधीहरूले सतही रूपमा केही कुरा त्यागेको र आफूलाई अलि समर्पित गरेको देखिएला, तर भित्र भने तिनीहरूले महत्त्वाकाङ्क्षा र ठुल्ठुला षड्यन्त्रहरू पालेका हुन्छन्। झुटा अगुवाहरूले यस्ता मानिसहरूलाई ख्रीष्टविरोधीका रूपमा छर्लङ्ग देख्न नसक्नुको कारण भनेको झुटा अगुवाहरूले सत्यता नबुझ्नु र भिन्नभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउन नसक्नु हो। तिनीहरू विभिन्न मानिसहरूको प्रकृति सार छर्लङ्ग देख्न सक्दैनन्, न त तिनीहरूलाई भिन्नभिन्न प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्ने वा कसरी सम्हाल्ने भन्ने नै थाहा हुन्छ। जब तिनीहरू अरूले ख्रीष्टविरोधीहरूलाई खुलासा गरेको देख्छन्, तब तिनीहरू त्यसमा आबद्ध हुने आँट गर्दैनन्, र ख्रीष्टविरोधीहरूविरुद्ध कदम चाल्न त झनै डराउँछन्, र ख्रीष्टविरोधीहरू चिढिएमा तिनीहरूले प्रतिशोध लिन्छन् भनेर डराउँछन्। ख्रीष्टविरोधीहरूप्रति तिनीहरूको शैली धर्मसिद्धान्त र अर्ती प्रचार गर्नमै सीमित हुन्छ। दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन नसक्नुबाहेक, झुटा अगुवाहरूले परमेश्वरका चुनिएका मानिसहरूमाझ हुने विभिन्न समस्याहरू पनि हल गर्न सक्दैनन्। यसले झुटा अगुवाहरूसँग सत्यताको बुझाइ पटक्कै हुँदैन भन्ने प्रमाणित गर्छ; तिनीहरू वास्तविक समस्याहरू हल गर्न असक्षम हुन्छन् र परमेश्वरका चुनिएका मानिसहरूलाई अगुवाइ गरेर सत्यता वास्तविकतामा पुऱ्याउन त झन् सक्दै सक्दैनन्। झुटा अगुवाहरूले चाहे जेसुकै भनून् वा जेसुकै गरून्, तैँले पवित्र आत्माको अन्तर्दृष्टिद्वारा प्रेरित ज्योतिका कुनै वचनहरू सुन्नेछैनस्, झन् तिनीहरूमा कुनै सत्यता वास्तविकता देख्नु त परको कुरा हो। त्यसैले, झुटा अगुवाहरूले मानिसहरूको जीवन प्रवेशका सन्दर्भमा कुनै फाइदा वा मदत दिँदैनन्; तिनीहरूले गर्ने थोरै काममा वचन र धर्मसिद्धान्तहरू प्रचार गर्नु, नाराहरू फलाक्नु, र झारा टार्नु मात्र पर्छन्। तिनीहरू एउटा अगुवाले निभाउनुपर्ने भूमिका पूरा गर्न पूर्ण रूपमा असफल हुन्छन्।
आजको हाम्रो सङ्गति यति नै हो। फेरि भेटौँला!
जनवरी ९, २०२१
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।