परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग दुई) खण्ड चार

नोआ, अब्राहाम र अय्यूबका कथाहरूमा, उनीहरूलाई परमेश्‍वरका वचन र कार्यहरू आइपर्दा उनीहरूको व्यवहार र बोलीमा अनि उनीहरूको मनोवृत्तिका साथै हरेक वचन र कार्यमा त्यस्तो के कुरा छ जसले पछिल्ला पुस्ताहरूलाई अति प्रभावित बनायो? परमेश्‍वरका वचनहरू सुनेपछि र परमेश्‍वरले दिनुभएका आदेश र मागहरू सुनेपछि परमेश्‍वरका वचनहरूप्रतिको यी तीन व्यक्तिहरूको मनोवृत्ति र उनीहरूको व्यवहार, बोली र मनोवृत्तिबाट परमेश्‍वर, अर्थात् सृष्टिकर्ताप्रतिको उनीहरूको इमानदारी कति शुद्ध र दृढ थियो भन्ने कुराले नै मानिसहरू सबैभन्दा बढी प्रभावित भए। आज मानिसहरूले यो शुद्धता र धैर्यतालाई मूर्खता र अनुराग भन्‍न सक्छन्; तर मेरो लागि, तिनीहरूको शुद्धता र धैर्यता नै तिनीहरूको बारेमा सबैभन्दा प्रभावशाली र छुने कुराहरू थिए, र यसभन्दा पनि बढी, अन्य मानिसहरूको पहुँचभन्दा बाहिरका कुराजस्तै महसुस गराउने कुराहरू थिए। यी व्यक्तिहरूबाट मैले एउटा असल व्यक्ति कस्तो देखिन्छ भनेर साँच्चिकै बुझेँ र देखेँ; तिनीहरूको व्यवहार र बोलीबाट, साथै परमेश्‍वरका वचनहरूको सामना गर्दा तिनीहरूको मनोवृत्तिबाट, अनि तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्दा, म परमेश्‍वरले धर्मी र सिद्ध ठान्‍नुभएका मानिसहरू कस्ता हुन्छन् भन्ने कुरा देख्छु। अनि यी मानिसहरूका कथाहरू पढेर बुझेपछि मैले अनुभव गर्ने सबैभन्दा आश्‍चर्यजनक अनुभूति के हो? त्यो यी व्यक्तिहरूप्रतिको गहिरो सम्झना, लगाव र श्रद्धा हो। के यो प्रभावित हुने अनुभूति होइन र? मलाई किन यस्तो अनुभूति हुन्छ? मानवजातिको लामो इतिहासभर यी तीन जना मानिसहरूका कथाहरूको अभिलेख राख्‍ने, प्रशंसा गर्ने र प्रचार गर्ने कुरामा ध्यान केन्द्रित गर्ने इतिहासको पुस्तक कहिल्यै लेखिएको छैन, न त कसैले पछिल्ला पुस्ताहरूलाई शिक्षा दिन यी कथाहरूको प्रयोग नै गरेको छ, न ती मानिसहरूलाई पछिल्ला पुस्ताहरूले अनुसरण गर्ने मानिसहरूका रूपमा नै लिइएका छन्। तर संसारका मानिसहरूलाई थाहा नभएको एउटा कुरा छ: फरकफरक समयमा, यी तीन जनामध्ये हरेकले परमेश्‍वरबाट केही फरक कुरा सुने, परमेश्‍वरबाट फरक आदेश प्राप्त गरे, हरेकलाई परमेश्‍वरले फरकफरक मागहरू राख्‍नुभएको थियो, हरेकले परमेश्‍वरका लागि केही फरक काम गरे, र परमेश्‍वरद्वारा सुम्पिएको फरकफरक काम पूरा गरे—तैपनि उनीहरू सबैमा एउटा साझा कुरा थियो। यो के थियो? उनीहरू सबैले परमेश्‍वरका अपेक्षाहरू पूरा गरे। परमेश्‍वरले बोल्नुभएको सुनेपछि, उनीहरू परमेश्‍वरले सुम्पनुभएको र माग गर्नुभएको कुरालाई स्विकार्न सक्षम भए, र त्यसपछि उनीहरू परमेश्‍वरले भन्‍नुभएको सबै कुरामा समर्पित हुन सक्षम भए, उनीहरू परमेश्‍वरले आफूबाट माग गर्नुभएको एक-एक कुरामा समर्पित हुन सक्षम भए। परमेश्‍वरका अपेक्षाहरू पूरा हुने गरी उनीहरूले के गरे? सम्पूर्ण मानवजातिमध्ये, उनीहरू परमेश्‍वरका वचनहरू सुन्‍ने, स्विकार्ने र तीप्रति समर्पित हुने, साथै शैतानको सामुन्‍ने परमेश्‍वरको लागि जोडदार गवाही दिने उदाहरण बने। उनीहरू मानवजातिका लागि उदाहरण र परमेश्‍वरको नजरमा सिद्ध र धर्मी भएका कारण, अन्ततः, यसले हामीलाई बताउने सबैभन्दा महत्त्वपूर्ण जानकारी के हो? यो त्यस्तो प्रकारको व्यक्ति हो जसलाई परमेश्‍वरले चाहनुहुन्छ, त्यस्तो व्यक्ति जोसँग परमेश्‍वरले भन्‍नुभएको कुरा बुझ्‍ने सामर्थ्य छ, जसले सृष्टिकर्ताका वचनहरू सुन्‍न, बोध गर्न, सम्झन, बुझ्‍न, तिनमा समर्पित हुन र तिनलाई लागु गर्न आफ्नो हृदयको प्रयोग गर्दछ; यस प्रकारको व्यक्ति परमेश्‍वरको प्रिय हुन्छ। परमेश्‍वरले उनीहरूका धर्मी कार्यहरू पुष्टि गर्नु अगाडि उहाँले उनीहरूलाई जतिसुकै ठूलो जाँच र परीक्षाहरूमा पार्नुभए पनि, एकचोटि उनीहरूले परमेश्‍वरलाई जोडदार गवाही दिएपछि, उनीहरू परमेश्‍वरको हातमा सबैभन्दा बहुमूल्य बन्छन् र परमेश्‍वरको नजरमा सदासर्वदा बाँच्‍ने व्यक्ति बन्छन्। यसले हामीलाई यही तथ्य बताउँछ। नोआ र अब्राहामका कथाहरूमा सङ्‍गति गरेर मैले तिमीहरूलाई भन्‍न चाहेको र तिमीहरूले बुझ्‍नुपर्ने कुरा यही हो। यसको आशय यही हो कि जसले अझै पनि सृष्टिकर्ताका वचनहरू बुझ्दैनन्, र सृष्टिकर्ताका वचनहरू सुन्‍नु आफ्नो जिम्मेवारी, दायित्व र कर्तव्य हो भनेर अझै पनि जान्दैनन्, साथै सृष्टिकर्ताका वचनहरू स्विकार्नु र तिनमा समर्पित हुनु सृजित मानिसहरूमा हुनुपर्ने मनोवृत्ति हो भन्‍नेबारे बेखबर छन्, चाहे तिनीहरूले जति वर्षसम्म परमेश्‍वरलाई पछ्याएका भए पनि—परमेश्‍वरद्वारा हटाइने त यस्तै मानिसहरू हुन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई चाहनुहुन्‍न, उहाँले त्यस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ। त्यसोभए अन्ततः कति जना मानिसहरू सृष्टिकर्ताका वचनहरू सुन्‍न, स्विकार्न र तिनमा पूर्णतया समर्पित हुन सक्षम हुन्छन्? जति जनाले सक्छन् त्यति नै सक्षम हुन्छन्। जसले धेरै वर्षसम्म परमेश्‍वरलाई पछ्याएका छन् तर अझै पनि सत्यतालाई तिरस्कार गर्छन्, सिद्धान्तहरूलाई निर्लज्ज रूपमा उल्लङ्घन गर्छन्, अनि जो देहमा वा आत्मिक क्षेत्रमा बोलिएका परमेश्‍वरका वचनहरूलाई स्विकार्न र तिनमा समर्पित हुन असमर्थ हुन्छन्, तिनीहरूले अन्ततः एउटा परिणाम भोग्नेछन्: हटाइ।

परमेश्‍वर देहधारी भएर पृथ्वीमा काम गर्न आउनुभएको तिस वर्ष भयो। उहाँले धेरै वचनहरू बोल्नुभएको छ र धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। उहाँले जसरी बोल्नुभए पनि, उहाँले बोल्न जुनसुकै विधिहरू प्रयोग गर्नुभए पनि, साथै उहाँले जतिसुकै विषयवस्तु बोल्नुभए पनि, मानिसहरूबाट उहाँको एउटा मात्र अपेक्षा छ, त्यो हो तिनीहरू सुन्‍न, स्वीकार गर्न र समर्पित हुन सक्षम होऊन्। यद्यपि, त्यस्ता धेरै जना छन् जसले यो सरल अपेक्षालाई बोध गर्न वा पूरा गर्न सक्दैनन्। यो धेरै झन्झटिलो छ र यसले मानवजाति अत्यन्तै गहिरो रूपमा भ्रष्ट तुल्याइएको छ, उसलाई सत्यता स्विकार्नमा ठूलो कठिनाइ छ, र उसलाई सजिलैसँग मुक्ति दिन सकिन्‍न भन्ने देखाउँछ। मानिसहरूले मानिस परमेश्‍वरद्वारा सृष्टि गरिएको भन्‍ने कुरालाई पहिचान गरेर देहधारी परमेश्‍वर नै परमेश्‍वर स्वयम् हुनुहुन्छ भन्‍ने तथ्यलाई स्वीकार गरेको अहिलेको सन्दर्भमा पनि, मानिसहरूले अझै पनि परमेश्‍वरको विरोध र अवज्ञा गर्छन् र परमेश्‍वरको वचन र उहाँका अपेक्षाहरूलाई इन्कार गर्छन्। तिनीहरू सृजित प्राणीहरूले परमेश्‍वरको वचनप्रति कस्तो व्यवहार गर्नुपर्छ र परमेश्‍वरको वचनप्रति तिनीहरूले कस्तो मनोवृत्ति राख्नुपर्छ भन्‍ने कुरा नै नबुझी देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरूलाई परीक्षण, विश्लेषण, अस्वीकार गर्छन् र तीप्रति उदासीन हुन्छन्। यो साँच्चै दुःखद कुरा हो। अहिले पनि मानिसहरूलाई तिनीहरू को हुन्, तिनीहरू कुन स्थानमा खडा हुनुपर्छ वा तिनीहरूले के गर्नुपर्छ भन्‍ने थाहा छैन। कतिपय मानिसहरू यसो भन्दै परमेश्‍वरको बारेमा निरन्तर गुनासो समेत गर्छन्, “परमेश्‍वरले किन सधैँ आफ्नो काममा सत्यताहरू व्यक्त गर्नुहुन्छ? उहाँ किन सधैँ हामीले सत्यतालाई स्विकार्नुपर्छ भनेर माग गरिरहनुहुन्छ? जब परमेश्‍वरले बोल्नुहुन्छ र काम गर्नुहुन्छ, उहाँले हामीसँग परामर्श लिनुपर्छ र हाम्रा लागि परिस्थितिहरू सधैँ कठिन बनाउनु हुँदैन। हामीले पूर्ण रूपमा उहाँको आज्ञापालन गर्नुपर्ने कुनै कारण छैन, हामी मानव अधिकार र स्वतन्त्रता चाहन्छौँ, हामीले परमेश्‍वरले हाम्रा लागि अघि सार्नुभएका मागहरूमा हात उठाएर मतदान गर्नुपर्छ, अनि हामी सबै जना छलफलमार्फत सहमतिमा पनि पुग्‍नुपर्छ। परमेश्‍वरको घरले प्रजातन्त्र लागु गर्नुपर्छ र सबैले मिलेर अन्तिम निर्णय गर्नुपर्छ।” अहिले पनि, धेरै मानिसहरू यो धारणा राख्छन्, र तिनीहरूले यो कुरा खुलस्त रूपमा नभने पनि, हृदयमा बोकेर हिँड्छन्। यदि तँलाई कुनै पनि कुरा सोध्‍ने, मैले भनेको कुरा मान्‍नुपर्छ भनेर भन्‍ने, अनि मैले भनेको कुरामा तेरो पूर्ण समर्पण माग गर्ने हक मसँग छैन भने, कोसँग चाहिँ छ? यदि तैँले स्‍वर्गमा हुनुहुने परमेश्‍वरलाई यसो गर्ने हक छ, अनि स्वर्गमा हुनुहुने परमेश्‍वरले स्वर्गबाट तँसँग आकाशबाट गर्जनको माध्यमबाट बोल्‍ने हक छ भन्‍ने विश्‍वास गर्छस् भने, त्यो राम्रो कुरा हो! यसको मतलब म धैर्यवान् र गम्भीर हुनुपर्दैन वा तँसँग कुरा गरेर मैले मेरो सास खेर फाल्नु पर्दैन—म तँलाई थप केही पनि भन्‍न चाहन्‍नँ। यदि तैँले स्‍वर्गमा हुनुहुने परमेश्‍वरलाई आकाशबाट, बादलबाट तँसँग बोल्‍ने हक छ भन्‍ने विश्‍वास गर्छस् भने, अगाडि बढ् र सुन्, गएर उहाँका वचनहरू खोज्—स्वर्गमा हुनुहुने परमेश्‍वरले आकाशमा, बादलमा, आगोको माझबाट तँसँग बोल्‍ने समय पर्खि। तर एउटा कुरामा चाहिँ तँ प्रस्ट हुनैपर्छ: यदि त्यो दिन साँच्चै आयो भने, तेरो मृत्युको समय आइपुगेको हुनेछ। त्यो दिन नआए राम्रो हुन्थ्यो। “त्यो दिन नआए राम्रो हुन्थ्यो”—यी वचनहरूको अर्थ के हो? परमेश्‍वर मानिससँग व्यक्तिगत रूपमा पृथ्वीमा आमनेसामने कुरा गर्न, मानिसहरूलाई तिनीहरूले गर्नुपर्ने सबै कुरा बताएर सत्यताहरू जारी गर्न मानव बन्‍नुभएको छ, तैपनि मानिसहरू घृणाले भरिएका र बेवास्ते छन्; हृदयमा, तिनीहरू गोप्य रूपमा परमेश्‍वरको प्रतिरोध गर्छन् र उहाँसँग प्रतिस्पर्धा गर्छन्। तिनीहरू पृथ्वीमा रहनुहुने परमेश्‍वरलाई मानिसहरूमाथि शासन गर्ने प्रयास गर्ने कुनै अधिकार छैन भन्‍ने विश्‍वास गरेर सुन्‍ने इच्छा गर्दैनन्। के मानिसहरूको यस्तो मनोवृत्तिले परमेश्‍वरलाई खुशी पार्छ कि क्रोधित तुल्याउँछ? (यसले उहाँलाई क्रोधित तुल्याउँछ।) अनि परमेश्‍वर क्रोधित हुँदा उहाँले के गर्नुहुनेछ? मानिसहरूले परमेश्‍वरको क्रोध सामना गर्नेछन्—तिमीहरूले यो कुरा बुझ्यौ, हैन? परमेश्‍वरको क्रोध, नकि परमेश्‍वरको जाँच; यी दुई अलग अवधारणाहरू हुन्। जब परमेश्‍वरको क्रोध मानिसहरूमाथि पर्छ, तिनीहरू खतरामा पर्छन्। के तिमीहरूलाई परमेश्‍वर आफूले प्रेम गर्नेहरूप्रति क्रोधित हुनुहुन्छ भन्‍ने लाग्छ? के परमेश्‍वर उहाँको मुहारको प्रकाशमा जिउन योग्य भएकाहरूप्रति क्रोधित हुनुहुन्छ? (हुनुहुन्‍न।) परमेश्‍वर कस्तो प्रकारको व्यक्तिप्रति क्रोधित हुनुहुन्छ? जसले धेरै वर्षसम्म उहाँलाई पछ्याएका छन् र अझै पनि उहाँका वचनहरू बुझ्दैनन्, जसलाई परमेश्‍वरका वचनहरू सुन्‍नुपर्छ भन्‍ने अझै पनि थाहा छैन, जोसँग परमेश्‍वरका वचनहरूलाई स्विकार्ने र तीप्रति समर्पित हुने सचेतनाको कमी छ, परमेश्‍वरले त्यस्ता मानिसहरूप्रति वितृष्ण महसुस गर्नुहुन्छ, तिनीहरूलाई दिगमिगाउनुहुन्छ, र मुक्ति दिन चाहनुहुन्‍न। तिमीहरूले यो बुझ्यौ, हैन? त्यसोभए परमेश्‍वर, देहधारी परमेश्‍वर र सत्यताप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? (हामीले सुन्‍नुपर्छ, स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ।) ठिक भनिस्। तैँले सुन्‍न, स्वीकार गर्न र समर्पित हुन जरुरी छ। योभन्दा सरल अरू केही छैन। सुनेपछि, तैँले हृदयमा स्वीकार गर्नुपर्छ। यदि तँ केही कुरा स्वीकार गर्न असक्षम छस् भने, तैँले पूर्ण स्वीकार गर्न सक्षम नभएसम्म खोजी गरिरहनुपर्छ—त्यसपछि, तिमीहरूले यसलाई स्विकार्ने बित्तिकै, तिमीहरू समर्पित हुनैपर्छ। समर्पित हुनुको अर्थ के हो? यसको अर्थ अभ्यास र कार्यान्वयन गर्नु हो। कुराहरू सुनेपछि, तिनलाई बेवास्ता नगर्, बाहिरी रूपमा तिनलाई पूरा गर्न प्रतिज्ञा गर्ने, तिनको टिपोट राख्ने, तिनलाई लेखेर राख्ने, तिनलाई कानले सुन्‍ने, तर हृदयमा नराख्‍ने, अनि केवल आफ्नो उही पुरानो तालमा अगाडि बढ्ने र काम गर्ने समय आउँदा आफूलाई जे मन लाग्छ त्यो गर्ने, आफूले लेखेका कुराहरूलाई कम महत्त्व दिने र त्यसलाई महत्त्वहीन् ठान्ने काम नगर्। यो समर्पित हुनु होइन। परमेश्‍वरका वचनहरूप्रति साँचो समर्पणको अर्थ तिनलाई सुन्‍नु र हृदयले बुझ्नु, अनि तिनलाई साँचो रूपमा स्वीकार गर्नु—तिनलाई एक अपरिहार्य जिम्मेवारीको रूपमा स्वीकार गर्नु हो। यो कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू स्विकार्छ भन्ने मामला मात्र होइन; बरु, यो हृदयबाट उहाँका वचनहरू स्वीकार गर्नु, उहाँका वचनहरूप्रतिको आफ्नो स्वीकारोक्तिलाई व्यावहारिक कार्यहरूमा बदल्नु र उहाँका वचनहरूलाई कुनै पनि विचलनबिना कार्यान्वयनमा ल्याउनु हो। यदि तैँले जे सोच्छस्, जे कुरामा हात हाल्छस्, अनि जेजति मूल्य तिर्छस् ती सबै परमेश्‍वरका मागहरू पूरा गर्नलाई हो भने, त्यो परमेश्‍वरका वचनहरू कार्यान्वयन गर्नु हो। “समर्पण” ले के जनाउँछ? यसले परमेश्‍वरका वचनहरूलाई वास्तविकतामा बदल्दै गरिने अभ्यास र कार्यान्वयनलाई जनाउँछ। यदि तैँले परमेश्‍वरले भन्‍नुभएका वचनहरू र उहाँका मागहरू नोटबुकमा टिप्छस् र तिनलाई लेखेर राख्छस्, तर हृदयमा तिनको अभिलेख राख्दैनस्, अनि काम गर्ने समय आउँदा आफ्नो इच्छाअनुसार गर्छस्, र बाहिरबाट तैँले परमेश्‍वरले माग गर्नुभएको कुरा पूरा गरेको जस्तो देखिन्छ, तर तैँले आफ्नै इच्छाअनुसार गरेको छस् भने, यो परमेश्‍वरको वचन सुन्‍नु, स्वीकार गर्नु र तिनमा समर्पित हुनु होइन, यो त सत्यतालाई तिरस्कार गर्नु हो, यो सिद्धान्तहरूलाई निर्लज्जपूर्वक उल्लङ्घन गर्नु, र परमेश्‍वरको घरका बन्दोबस्तहरूलाई बेवास्ता गर्नु हो। यो त विद्रोह हो।

एकपटक, मैले कसैलाई काम गर्न जिम्‍मा दिएँ। मैले तिनलाई कामबारे बताउँदा, तिनले ध्यान दिएर आफ्‍नो कपीमा लेखे। त्यो लेख्‍न तिनी कति ध्यान दिइरहेका छन् भनेर मैले देखेँ—तिनमा कामप्रति बोझको बोध रहेछ, र तिनमा होसियार र जिम्‍मेवार मनोवृत्ति रहेछ भन्‍ने देखिन्थ्यो। तिनलाई कामबारे बताएपछि, म तिनीबाट नयाँ खबर पाउने प्रतीक्षामा बसेँ; दुई हप्ता बित्यो, र पनि तिनले खबर पठाएनन्। त्यसकारण, म आफै गएर तिनलाई भेटेँ, र मैले तिनलाई दिएको काम कस्तो भइरहेको छ भनेर सोधेँ। तिनले भने, “अहो—मैले त भुसुक्‍कै बिर्सेछु! के पो थियो, फेरि भन्‍नुहोस् त।” तिनको उत्तर तिमीहरूलाई कस्तो लाग्यो? काम गर्दा तिनको त्यस्तो मनोवृत्ति थियो। मैले सोचेँ, “यो व्यक्ति साँच्‍चै भरपर्दो रहेनछ। तुरुन्तै गइहाल्! म तँलाई फेरि हेर्न चाहन्‍नँ!” मलाई त्यस्तो लाग्यो। त्यसकारण, म तिमीहरूलाई एउटा तथ्य बताउनेछु: तिमीहरूले परमेश्‍वरका वचनहरूलाई कहिल्यै ठगका झूटहरूसँग जोड्नु हुँदैन—त्यसो गर्नु परमेश्‍वरको लागि घृणास्पद कुरा हो। कतिपय मानिसहरू बोलेको कुरा पुऱ्याउँछु, र बोली नै मेरो तमसुक हो भनी भन्छन्। यदि त्यसो हो भने, परमेश्‍वरका वचनहरूको हकमा, के तिनीहरू ती वचन सुनेपछि ती वचनले भनेअनुसार गर्न सक्छन्? के तिनीहरू ती वचनहरूलाई आफ्‍ना व्यक्तिगत मामिलाहरूलाई जस्तै होसियारीका साथ लागु गर्न सक्छन्? परमेश्‍वरको हरेक वाक्य महत्त्वपूर्ण हुन्छ। उहाँले ठट्टा कुरा गर्नुहुन्‍न। उहाँले जे भन्‍नुहुन्छ, त्यसलाई मानिसहरूले लागु गरेर काममा उतार्नैपर्छ। जब परमेश्‍वर बोल्‍नुहुन्छ, के उहाँ मानिसहरूसँग परामर्श लिइरहनुभएको हुन्छ? अवश्य नै हुँदैन। के उहाँले तँलाई बहु-वैकल्‍पिक प्रश्‍नहरू सोधिरहनुभएको हुन्छ? अवश्य नै हुँदैन। यदि तैँले परमेश्‍वरका वचन र आज्ञाहरू आदेश हुन्, मानिसले ती वचनमा भनिएअनुसार गर्नैपर्छ र तिनलाई लागु गर्नैपर्छ भन्‍ने महसुस गर्न सक्छस् भने, तँसित तिनलाई लागु गरेर काममा उतार्ने दायित्व हुन्छ। यदि तँ परमेश्‍वरका वचनहरू ठट्टा मात्र हुन्, आफूलाई मन परे गर्न सकिने नत्र नगर्ने सामान्य टिप्पणी मात्र हुन् भनेर सोच्छस्, र तिनलाई त्यसरी लिन्छस् भने, तँमा समझको निकै कमी छ र तँ व्यक्ति कहलिन लायक छैनस्। परमेश्‍वर तँसँग फेरि कहिल्यै बोल्‍नुहुनेछैन। परमेश्‍वरका मापदण्डहरू, उहाँका आदेश र आज्ञाहरूको विषयमा व्यक्तिले सधैँ आफ्‍नै छनौटहरू गरिरहेको हुन्छ, र ती कुराप्रति झाराटारुवा मनोवृत्ति राखिरहेको हुन्छ भने, ऊ परमेश्‍वरले तिरस्कार गर्ने खालको व्यक्ति हो। मैले तँलाई सिधै अह्राउने र सुम्पने कुराहरूमा, यदि तँलाई सधैँ मेरो रेखदेख र प्रोत्साहन चाहिन्छ, मैले अनुगमन गर्नुपर्छ, मैले सधैँ चिन्ता गर्नुपर्छ र सोधखोज गर्नुपर्छ, हरेक मोडमा तेरो निम्ति सबथोक जाँच्नुपर्छ भने, तँलाई हटाइनुपर्छ। हालै परमेश्‍वरको घरबाट हटाइएकाहरूमा यस प्रकारका व्यक्तिहरू धेरै छन्। म तिनीहरूलाई केही कुराहरूमा निर्देशन दिन्छु र त्यसपछि सोध्छु: “के तिमीहरूले त्यो सबै लेख्यौ? के यो प्रस्ट भयो? के तिमीहरूसँग कुनै प्रश्‍नहरू छन्?” जसमा तिनीहरूले यस्तो जवाफ दिन्छन्: “मैले सबै लेखेको छु, कुनै समस्या छैन, चिन्ता लिनु पर्दैन!” तिनीहरू ती काम गर्न सजिलैसँग सहमत हुन्छन्, मुटुमाथि हात राखेर मेरोसामु कसम समेत खान्छन्। तर के तिनीहरूले सहमति जनाएपछि वास्तवमै यी कुराहरू लागु गर्छन्? अहँ, तिनीहरू कुनै निशानबिना हराउँछन् र तिनीहरूबाट कुनै थप समाचारहरू आउँदैनन्। तिनीहरू आफूलाई मनपर्ने कामहरू तुरुन्तै, तीव्रतर रूपमा र निश्‍चयताका साथ गर्छन्। तिनीहरू मैले सुम्पेका कुरामा सजिलैसँग सहमत हुन्छन्, तर त्यसपछि तिनीहरूले त्यो कुरालाई बेवास्ता गर्छन्, अनि मैले पछि यस विषयमा उनीहरूसँग सोधपुछ गर्दा, तिनीहरूले केही पनि नगरेको पाउँछु। यस प्रकारको व्यक्तिमा कुनै प्रकारको विवेक वा समझ हुँदैन। तिनीहरू निकम्मा हुन्छन् र कर्तव्य निर्वाह गर्न योग्य हुँदैनन्। तिनीहरू सुँगुर वा कुकुरभन्दा खराब हुन्छन्। जब कसैले पहराको लागि कुकुर पाल्छ, ऊ टाढा हुँदा, उक्त कुकुरले अपरिचित व्यक्तिहरू आउँदा घर र आँगनको हेरविचार गर्ने काममा मद्दत गर्न सक्छ। यस्ता धेरै मानिसहरू छन् जो काम गर्नमा कुकुरहरू जति पनि राम्रा हुँदैनन्। कतिपय मानिसहरूलाई त आफ्नो सानोतिनो कर्तव्य निर्वाह गर्न पनि कसैले सधैँ सुपरिवेक्षण गर्नुपर्छ, र तिनीहरूले केही गर्नु अगाडि जहिले पनि कसैले तिनीहरूको काटछाँट गर्नुपर्छ र निगरानी राख्‍नुपर्छ। के यो कर्तव्य निर्वाह गर्नु हो? यी मानिसहरू ढँटुवा हुन्! यदि तिनीहरूले यो काम गर्ने योजना बनाएका थिएनन् भने, तिनीहरू किन यसमा सहमत भए? के यो जानाजानी मानिसहरूलाई धोका दिनु होइन? यदि तिनीहरूलाई उक्त काम कठिन हुनेछ भन्‍ने लागेको भए, तिनीहरूले किन पहिले नै त्यसो भनेनन्? तिनीहरूले किन यसलाई पूरा गर्ने प्रतिज्ञा गरे र त्यसपछि यो काम गरेनन्? यदि तिनीहरूले अरू मानिसहरूलाई धोका दिन्छन् भने उनीहरूले तिनीहरूलाई केही गर्न सक्दैनन्, तर यदि तिनीहरूले परमेश्‍वरलाई धोका दिन्छन् भने, यसका परिणामहरू के-के हुन्छन्? यस प्रकारको व्यक्तिलाई छुट्याएर हटाउनुपर्छ! के तिमीहरूलाई सत्यतालाई तिरस्कार गर्ने र खुला रूपमा सिद्धान्तहरू उल्लङ्‍घन गर्ने मानिसहरू खराब मानिसहरू हुन् भन्‍ने लाग्दैन? तिनीहरू सबै खराब मानिसहरू हुन्, तिनीहरू सबै भूतहरू हुन्, र तिनीहरूलाई हटाइनुपर्छ! यी मानिसहरूले मनोमानी व्यवहार गर्ने, सिद्धान्तहरू उल्लङ्‍घन गर्ने, तिनीहरू विद्रोही र अनाज्ञाकारी भएका, र तिनीहरूले आफ्नै राज्य स्थापना गर्ने हुनाले, साथै तिनीहरू अल्छी र गैरजिम्मेवार भएकाले, तिनीहरूले मण्डलीमा ठूलो क्षति पुर्‍याएका छन्! यस्तो घाटाको क्षतिपूर्ति कसले दिन सक्छ? कसैले पनि यस्तो जिम्मेवारी वहन गर्न सक्दैन। यी मानिसहरू गुनासो गर्छन् र काटछाँटमा पर्दा तिनीहरू सन्दिग्ध र असन्तुष्ट रहन्छन्। के यी मानिसहरू अनुचित दियाबलस होइनन् र? तिनीहरूलाई साँच्चिकै मदत गर्नै सकिँदैन र तिनीहरूलाई धेरै पहिले नै हटाइनुपर्थ्यो!

के तिमीहरूले आज हामीले सङ्‍गति गरेको नोआ र अब्राहामका कथाहरूले भन्न खोजेको कुरा बुझ्यौ? के परमेश्‍वरले मानिसबाट गर्नुहुने मागहरू उच्च छन्? (छैनन्।) परमेश्‍वरले मानिसबाट माग गर्ने कुरा नै सृजित मानवमा हुनुपर्ने सबैभन्दा आधारभूत कुरा हो; उहाँका मागहरू पटक्कै उच्च छैनन्, र ती सबैभन्दा व्यावहारिक र सबैभन्दा यथार्थपरक छन्। परमेश्‍वरद्वारा अनुमोदित हुन मानिसहरूमा साँचो आस्था र पूर्ण समर्पण हुनुपर्दछ; यी दुई कुराहरू भएकाहरूले मात्र साँचो रूपमा मुक्ति पाउँछन्। तर गहिरो रूपमा भ्रष्ट तुल्याइएकाहरू, सत्यतालाई तिरस्कार गर्ने र सकारात्मक कुराहरूप्रति वितृष्ण हुने, अनि सत्यता विरुद्ध जानेहरूका लागि, यी दुई कुराहरूभन्दा बढी कठिन अरू केही हुँदैन! यो केवल परमेश्‍वरप्रति शुद्ध र खुला हृदय भएकाहरू, मानवता, समझ र विवेक भएका र सकारात्मक कुराहरूलाई प्रेम गर्नेहरूले मात्र प्राप्त गर्न सक्छन्। के तिमीहरूमा यी कुराहरू भेटिन्छन्? अनि मानिसहरूमा हुनुपर्ने लगनशीलता र शुद्धता कसमा भेटिन्छन्? उमेरको हिसाबले, यहाँ बसिरहेका तिमीहरू सबै जना नोआ र अब्राहामभन्दा कान्छा छौ, तर शुद्धताको हिसाबले तिमीहरूलाई उनीहरूसँग तुलना गर्न मिल्दैन। तिमीहरूमा शुद्धता, बौद्धिकता र बुद्धि भेटिदैनन्; तिमीहरूमा तुच्छ छलकपटको भने कुनै कमी छैन। त्यसोभए, यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ? के परमेश्‍वरका अपेक्षाहरू पूरा गर्ने कुनै उपाय छ? कुनै मार्ग छ? कहाँबाट सुरु गर्ने? (परमेश्‍वरका वचनहरू सुनेर।) ठिक भनिस्: सुन्‍न र समर्पित हुन सिकेर। कतिपय मानिसहरू भन्छन्, “कहिलेकाहीँ परमेश्‍वरले भन्‍नुभएको कुरो सत्य हुँदैन, र त्यसमा समर्पित हुन सजिलो हुँदैन। यदि परमेश्‍वरले सत्यताका केही वचनहरू बोल्नुभयो भने, समर्पण सजिलो हुनेथियो।” के यी कुराहरू सही हुन्? (होइनन्।) आज हामीले कुरा गरेका नोआ र अब्राहामका कथाहरूमा तिमीहरूले के पत्ता लगायौ? परमेश्‍वरको वचन पालन गर्नु र परमेश्‍वरका अपेक्षाहरूमा समर्पित हुनु मानिसको बाध्यकारी कर्तव्य हो। यदि परमेश्‍वरले मानिसका धारणाहरूसँग मेल नखाने केही कुरा भन्नुभयो भने, मानिसले यसको विश्लेषण वा जाँच गर्नु हुँदैन। परमेश्‍वरले जतिसुकै मानिसहरूमा धारणा र प्रतिरोध सिर्जना गर्नेगरी जसको निन्दा गर्नुहोस् वा जसलाई हटाउनुहोस्, परमेश्‍वरको पहिचान, सार, स्वभाव र हैसियत सदैव अपरिवर्तित रहन्छन्। उहाँ सदासर्वदा परमेश्‍वर हुनुहुन्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा तँमा कुनै शङ्‍का नभएकाले, तेरो एकमात्र जिम्मेवारी, तैँले गर्नुपर्ने एक मात्र कुरा भनेको उहाँले भन्‍नुभएको कुरा पालन गर्नु र उहाँको वचनअनुसार अभ्यास गर्नु हो; यो नै अभ्यासको मार्ग हो। सृजित प्राणीले परमेश्‍वरका वचनहरूको जाँच, विश्लेषण, छलफल, अस्वीकार, र विरोध गर्नु, तीविरुद्ध विद्रोह वा तिनलाई इन्कार गर्नु हुँदैन; यसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र यो उहाँले मानिसमा हेर्न चाहनुभएको कुरा होइन। परमेश्‍वरका वचनहरूलाई ठ्याक्कै कसरी व्यवहार गर्नुपर्छ? तैँले कसरी अभ्यास गर्नुपर्छ? यो वास्तवमा धेरै सजिलो छ: तिनलाई पालन गर्न सिक्, तिनलाई आफ्नो हृदयले सुन्, तिनलाई हृदयले स्वीकार गर् र हृदयले बुझ् अनि त्यसपछि गएर तिनलाई आफ्नो हृदयले अभ्यास र कार्यान्वयन गर्। तैँले आफ्नो हृदयमा जे सुन्छस् र बुझ्छस् त्यो तेरो अभ्याससँग निकट रूपमा सम्बन्धित हुनुपर्छ। यी दुईलाई अलग नगर्; सबै कुरा—तैँले जे अभ्यास गर्छस्, तँ जे कुरामा समर्पित हुन्छस्, तैँले आफ्नै हातले जे गर्छस्, तँ जे-जे कुराको लागि दौडन्छस्—त्यो परमेश्‍वरको वचनसँग सम्बन्धित हुनुपर्दछ, तब तैँले उहाँका वचनहरूबमोजिम अभ्यास गर्नुपर्छ र आफ्ना कार्यहरूमार्फत तिनलाई कार्यान्वयनमा ल्याउनुपर्छ। सृष्टिकर्ताका वचनहरूप्रति समर्पित हुनु भनेको त्यही हो। परमेश्‍वरका वचनहरू अभ्यास गर्ने मार्ग यही हो।

जुलाई १८, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्