परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग दुई) खण्ड एक

पछिल्लो भेलामा, हामीले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूको दशौँ विषयवस्तु—“तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू मान्दैनन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन्”—भन्नेबारे सङ्‍गति गर्‍यौँ। हामीले विशेष गरी कुन विवरणहरूमा सङ्‍गति गर्‍यौँ? (परमेश्‍वरले मुख्यतया परमेश्‍वरको वचनलाई कसरी लिने भनेर सङ्‍गति गर्नुभएको छ।) के यो दशौँ विषयवस्तुसँग सम्बन्धित छ? (हो। किनभने, “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू मान्दैनन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन्,” भन्‍ने विषयवस्तुमा ख्रीष्टविरोधीहरूको एउटा व्यवहार यो हो कि तिनीहरू ख्रीष्टले भन्‍नुभएको कुरा सुन्छन् मात्र, तर न त त्यसको पालन गर्छन् न त्यसको अधीनमा आउँछन्। तिनीहरूले परमेश्‍वरका वचनहरू पालन गर्दैनन्, र परमेश्‍वरका वचनहरू अनुसार अभ्यास पनि गर्दैनन्। पछिल्लो भेलामा, परमेश्‍वरले परमेश्‍वरको वचनलाई कसरी लिने, परमेश्‍वरको वचनलाई कसरी पालन गर्ने, र त्यसपछि परमेश्‍वरको वचनलाई कसरी लागु र कार्यान्वयन गर्ने भन्नेबारे सङ्‍गति गर्नुभयो।) यी सबै बुझिएको छ, हैन र? हाम्रो अघिल्लो भेलाको क्रममा मैले दुईवटा कथाहरू भनेँ: एउटा नोआको कथा थियो, र अर्को अब्राहामको। यी बाइबलका दुई उदाहरणीय कथाहरू हुन्। धेरै मानिसहरू यी कथाहरूको बारेमा जान्दछन् र तिनलाई बुझ्छन्, तर तिनलाई बुझेपछि, धेरै कम मानिसहरूलाई परमेश्‍वरका वचन र मागहरूलाई कसरी लिने भन्‍ने थाहा हुन्छ। त्यसोभए, हामीले यी दुई कथाहरूमा सङ्‍गति गर्नुको मुख्य उद्देश्य के थियो? यसको उद्देश्य एउटा व्यक्ति र एउटा सृजित प्राणीको रूपमा, तिनीहरूले परमेश्‍वरका वचन र मागहरूलाई कसरी लिनुपर्छ—र सृजित प्राणीले लिनु पर्ने ओहदा के हो र परमेश्‍वरका मागहरूको सामना गर्दा र परमेश्‍वरका वचनहरू सुन्दै गर्दा तिनीहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ भनेर थाहा दिनु थियो। मुख्य कुराहरू यिनै हुन्। हामीले पछिल्लो पटक यी दुई कथाहरूमा सङ्‍गति गर्दा मानिसहरूले यही सत्यता जानून् र बुझून् भन्ने आशय थियो। त्यसैले, हामीले यी दुई कथाहरूमा सङ्‍गति गरेपछि, के तिमीहरू अब कसरी ख्रीष्टप्रति समर्पित हुने र उहाँका वचनहरू पालन गर्ने, मानिसहरूमा कस्तो मनोवृत्ति हुनुपर्दछ र तिनीहरूको दृष्टिकोण र स्थिति कस्तो हुनुपर्दछ, ख्रीष्टप्रति र ख्रीष्टद्वारा बोलिएका वचनहरूप्रति तिनीहरूको दृष्टिकोण र अडान कस्तो हुनुपर्छ, साथै मानिसहरूले परमेश्‍वरबाट आउने वचन र मागहरूलाई कसरी लिनुपर्छ र यसभित्र कुन सत्यताहरू बुझ्नुपर्छ भन्‍ने बारेमा स्पष्ट भयौ? (पहिलो ख्रीष्टसँग इमान्दार हुनु हो, दोस्रो ख्रीष्टको आदर गर्न सिक्नु हो, र तेस्रो उहाँका वचनहरू पालन गर्नु, हाम्रो हृदयले परमेश्‍वरका वचनहरू सुन्‍नु हो।) तिमीहरूलाई नियमहरू याद छ। यदि मैले यी नियमहरूको कुरा नगरेको भए, के तिमीहरूले तिनलाई मैले भनेका दुई कथाहरूबाट छुट्याउन सक्ने थियौ? (हामी यति मात्र निष्कर्ष निकाल्न सक्छौँ कि परमेश्‍वरले जे भन्नुहुन्छ हामीले त्यो कुरा पालन गर्नैपर्छ।) तिमीहरूले केवल सरल, हठधर्मी, र सैद्धान्तिक कार्यशैलीहरू मात्र बुझ्न सक्छौ; तिमीहरू अझै पनि मानिसहरूले खोज्‍नुपर्ने र बुझ्नुपर्ने यसभित्रका सत्यताहरू बुझ्‍न वा जान्‍न असमर्थ छौ। त्यसैले हामी नोआ र अब्राहामका कथाहरूमा विस्तृत रूपमा सङ्‍गति गरौँ।

अ. परमेश्वरका वचनहरूप्रति नोआको मनोवृत्ति

पहिले नोआको कथाबारे कुरा गरौँ। पछिल्लो भेलामा, हामीले नोआको कथाका कारण र परिणामहरूलाई मोटामोटी रूपमा समेट्यौँ। हामीले किन अझ विशिष्ट रूपमा कुरा गरेनौँ? किनभने धेरैजसो मानिसहरूलाई यस कथाका कारण, परिणाम र निश्‍चित विवरणहरू पहिले नै थाहा छ। यदि कुनै विवरणहरूको बारेमा तिमीहरू धेरै स्पष्ट छैनौ भने, तिमीहरूले तिनलाई बाइबलमा फेला पार्न सक्छौ। हामी जुन कुरामा सङ्‍गति गरिरहेका छौँ, त्यो यस कथाका विशेष विवरणहरूको बारेमा नभई्, कथाको नायक नोआले परमेश्‍वरका वचनहरूलाई कस्तो व्यवहार गरे, मानिसहरूले यसबाट सत्यताका कुन पक्षहरू बुझ्नुपर्छ, र परमेश्‍वरको मनोवृत्ति के थियो, उहाँले के सोच्‍नुभयो र नोआले गरेका हरेक क्रियाकलापलाई देखेपछि परमेश्‍वरको मूल्याङ्कन के थियो भन्‍ने बारेमा हो। हामीले सङ्गति गर्नुपर्ने विवरणहरू यिनै हुन्। परमेश्वरले मानवजाति, उहाँका अनुयायी, र उहाँले मुक्ति दिनेहरूबाट कस्ता मापदण्डहरू आवश्यक गराउनुहुन्छ भनी हामीलाई बताउनका लागि नोआप्रति परमेश्‍वरको मनोवृत्ति र नोआले गरेको कामप्रति उहाँको मूल्याङ्‍कन नै पर्याप्त छन्। के यसमा सत्यताको खोजी गरिनुपर्छ? जहाँ सत्यता खोजी गर्न सकिन्छ, त्यसलाई विस्तारमा चिरफार, मनन र सङ्‍गति गर्नु लायक हुन्छ। हामी नोआको कथाका विशिष्ट विवरणहरू छलफल गर्नेछैनौँ। आज हामीले जुन विषयमा सङ्‍गति गर्नेछौँ त्यो परमेश्‍वरप्रतिको नोआको विभिन्‍न मनोवृत्तिहरूमा खोज्‍नुपर्ने सत्यता, साथै नोआबारे परमेश्वरले गर्नुभएको मूल्याङ्‍कनबाट मानिसहरूले बुझ्नुपर्ने परमेश्‍वरका माग र अभिप्रायहरू हुन्।

नोआ मानवजातिको एक साधारण सदस्य थिए जसले परमेश्‍वरको आराधना गरे र उहाँलाई पछ्याए। जब परमेश्‍वरको वचन तिनीकहाँ आयो, तिनको आचरण सुस्त गतिमा हिँड्ने, ढिलाइ गर्ने, वा आफ्नो समय लिने थिएन। यसको सट्टामा, तिनले परमेश्‍वरको वचन अत्यन्तै गम्भीरता रूपमा सुने, तिनले परमेश्‍वरको हरेक वाणी अत्यन्तै सावधानी र ध्यान दिएर सुने, परमेश्‍वरले तिनलाई आज्ञा गर्नुभएका सबै कुरा मेहनतसाथ सुने र याद गर्ने कोसिस गरे, अलिकति पनि ध्यान कम गर्न आँट गरेनन्। परमेश्‍वर र परमेश्‍वरका वचनहरूप्रति तिनको आचरणमा परमेश्‍वरको डर मान्ने हृदय थियो, जसले तिनको हृदयमा परमेश्‍वरको स्थान थियो र तिनी परमेश्‍वरप्रति समर्पित थिए भन्ने देखाउँछ। तिनले परमेश्‍वरले भन्नुभएका कुरा, परमेश्‍वरका वचनहरूको विषयवस्तु, परमेश्‍वरले तिनलाई गराउनुभएका कुराहरू ध्यान दिएर सुने। तिनले विश्लेषण गर्दै होइन, तर स्वीकार गर्दै—होसियारीसाथ सुने। तिनको हृदयमा कुनै इन्कार, विद्वेष वा अधैर्यता थिएन; यसको सट्टामा, परमेश्वरका मागहरूसँग सम्बन्धित प्रत्येक शब्द र कुरालाई तिनले शान्त भावले, होसियारीसाथ र सतर्क हुँदै आफ्नो हृदयमा ध्यान दिए। परमेश्‍वरले नोआलाई प्रत्येक निर्देशन दिनुभएपछि, तिनले विस्तारपूर्वक, र आफ्नै तरिकाद्वारा परमेश्‍वरले भन्नुभएका र सुम्पनुभएका सबै कुरा लेखे। तिनले आफ्नै मेहनतहरू पन्साए, तिनको पुरानो जीवनको नियमित कामहरू र योजनाहरू भङ्ग गरे, परमेश्‍वरले तिनलाई सुम्पनुभएका सबै कुरा गर्न, र परमेश्‍वरले तिनलाई बनाउने आदेश दिनुभएको जहाजका निम्ति सबै आवश्यक सामग्रीहरू तयार गर्न थाले। परमेश्‍वरका कुनै पनि वचनहरू, वा परमेश्‍वरले भन्नुभएका कुनै पनि कुरा, वा परमेश्‍वरका वचनहरूमा तिनीसित माग गरिएको कुनै पनि विवरणलाई बेवास्ता गर्ने तिनले हिम्मत गरेनन्। तिनको आफ्नै तरिकाद्वारा, तिनले मुख्य बुँदाहरू, परमेश्‍वरले तिनलाई अह्राउनु र सुम्पनुभएका विवरणहरू लेखे, त्यसपछि तीमाथि बारम्बार चिन्तन र मनन गरे। त्यसपछि, नोआ परमेश्‍वरले तिनलाई तयारी गर्न भन्नुभएका सबै सामाग्रीहरू खोजी गर्नतिर लागे। स्वाभाविक रूपले, परमेश्‍वरले तिनलाई दिनुभएको प्रत्येक निर्देशनपछि, तिनले, आफ्नै तरिकाले, चरणबद्ध रूपमा परमेश्वरले तिनलाई सुम्पनुभएको र गर्न निर्देशन दिनुभएको ती सबैका लागि विस्तृत योजनाहरू बनाए र प्रबन्धहरू गरे, जसको आदेश र निर्देशन परमेश्‍वरले तिनलाई दिनुभएको थियो, त्यसपछि, तिनले आफ्ना योजनाहरू र प्रबन्धहरू, परमेश्‍वरले अह्राउनुभएको प्रत्येक विवरण र एक-एक चरण गर्दै कार्यान्वयन गरे। यो सम्पूर्ण प्रक्रियाको अवधिमा नोआले ठूलो वा सानो, मानिसको नजरमा उल्लेखनीय वा साधारण जे सबै गरे, त्यो गर्ने निर्देशन परमेश्‍वरले तिनलाई दिनुभएको थियो, र जुन कुरा परमेश्‍वरद्वारा बोलिएको र माग गरिएको थियो। नोआले परमेश्‍वरको आदेश स्वीकार गरेपछि तिनमा जुन कुराहरू प्रदर्शित भए ती सबैबाट यो स्पष्ट हुन्छ कि परमेश्‍वरका वचनहरूप्रति तिनको दृष्टिकोण सुन्ने मात्र, र त्योभन्दा अरू केही होइन भन्ने थिएन—यी वचनहरू सुनेपछि नोआले आफ्नो राम्रो मनस्थिति भएको, वातावरण सही भएको, र ती पूरा गर्ने अनुकूल समय छनौट गरे भन्‍ने कुरा त परै जाओस्। यसको सट्टामा, तिनले आफ्नै मेहनतलाई एकातिर पन्साए, तिनको नियमित काम भङ्ग गरे, र त्यस दिनदेखि उता परमेश्‍वरले आदेश दिनुभएको जहाजको निर्माण कार्यलाई आफ्नो जीवन र अस्तित्वको सबैभन्दा ठूलो प्राथमिकता बनाए र त्यसलाई सोहीअनुसार कार्यान्वयन गरे। परमेश्‍वरको आदेश र परमेश्‍वरका वचनहरूप्रति तिनको मनोवृत्ति उदासीन, झारातिराइ, वा लहडी थिएन, यो अस्वीकृति हुने कुरा त परै जाओस्; यसको सट्टामा, तिनले परमेश्‍वरको वचन ध्यान लाएर सुने, र आफ्नो हृदयलाई ती सम्झन र चिन्तन गर्नमा लगाए। परमेश्‍वरका वचनहरूप्रति तिनमा स्वीकृति र समर्पणको मनोवृत्ति थियो। परमेश्‍वरको नजरमा, साँचो सृजित प्राणीमा उहाँका वचनहरूप्रति हुनुपर्ने मनोवृत्ति यही नै हो, जसको उहाँले चाहना राख्नुहुन्छ। यस मनोवृत्तिमा कुनै अस्वीकृति, कुनै झारातिराइ, कुनै मनमानीपन थिएन, न त्यसमा कुनै मानवीय अभिप्राय मिसिएको थियो; यो सम्पूर्ण र पूरा तरिकाले त्यस्तो आचरण थियो जुन एक सृजित मानवजातिमा हुनुपर्छ।

परमेश्‍वरको आज्ञा स्विकारेपछि, नोआले परमेश्‍वरले उसलाई सुम्पनुभएको जहाज कसरी बनाउने भनेर योजना बनाउन थाले। तिनले जहाज निर्माण गर्न आवश्यक विभिन्‍न सामग्री, मानिस र उपकरणहरू खोजे। स्वाभाविक रूपमा, यसमा धेरै कुराहरू समावेश थिए; यो पत्रमा भनिएझैँ सजिलो र सरल थिएन। सबै कुरा हातले, शारीरिक श्रमको माध्यमबाट गरिने त्यो पूर्व-औद्योगिक युगमा, त्यस्तो विशालकाय जहाज निर्माण गर्न, परमेश्‍वरले सुम्पनुभएको जहाज निर्माण गर्ने कार्य पूरा गर्न कत्ति गाह्रो थियो भनेर कल्पना गर्न गाह्रो छैन। नोआले कसरी योजना बनायो, तयारी गर्‍यो, डिजाइन गर्‍यो, साथै सामग्री तथा उपकरणहरू जस्ता विभिन्न कुराहरू फेला पार्‍यो भन्‍ने कुरा अवश्यै सामान्य कुरा थिएनन्, र नोआले यति ठूलो जहाज कहिल्यै नदेखेको पनि हुन सक्छ। यस आज्ञालाई स्विकारेपछि, परमेश्‍वरका वचनहरूका हरेक पङ्क्तिमा लुकेको अर्थ बुझेर अनि परमेश्‍वरले भन्‍नुभएको सबै कुराबाट मूल्याङ्‍कन गरेर नोआले थाहा पाए कि यो कुनै सामान्य मामला होइन, कुनै सजिलो काम होइन। यो कुनै सामान्य वा सजिलो काम थिएन—यसका आशयहरू के थिए? एउटा कुरा त, यसको अर्थ, यो आज्ञा स्विकारेपछि नोआको काँधमा ठूलो बोझ आउनेथ्यो। अझ भन्‍नुपर्दा, परमेश्‍वरले जसरी नोआलाई व्यक्तिगत रूपमा बोलाउनुभयो र तिनलाई व्यक्तिगत रूपमा जहाज कसरी निर्माण गर्ने भनी निर्देशन दिनुभयो, यो कुनै साधारण कुरा थिएन, यो कुनै सानोतिनो मामला थिएन। परमेश्‍वरले भन्‍नुभएको सबै कुराको विवरणलाई हेर्दा, यो कुनै साधारण व्यक्तिले सहन सक्ने कुरा थिएन। परमेश्‍वरले नोआलाई बोलाउनुभयो र जहाज निर्माण गर्ने आज्ञा दिनुभयो भन्‍ने तथ्यले परमेश्‍वरको हृदयमा नोआको महत्त्वलाई देखाउँछ। जब यस मामलाको कुरा आयो, नोआ पक्कै पनि परमेश्‍वरका केही अभिप्रायहरू बुझ्‍न सक्षम थिए—र त्यसो गरिसकेपछि, नोआले आगामी वर्षहरूमा कस्तो प्रकारको जीवन भोग्‍नुपर्ने छ भनेर महसुस गरे, र तिनी आफूले सामना गर्न लागेका केही कठिनाइहरूबारे सचेत थिए। नोआले परमेश्‍वरले आफूलाई सुम्पनुभएको कुराको ठूलो कठिनाइ र आफूले सामना गर्नुपर्ने ठूला अग्निपरीक्षाहरू महसुस गरेको र बुझेको भए पनि, तिनमा इन्कार गर्ने कुनै अभिप्राय थिएन, बरु तिनी यहोवा परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ थिए। नोआ किन कृतज्ञ थिए? किनभने परमेश्‍वरले अप्रत्याशित रूपमा तिनलाई यति महत्त्वपूर्ण कुरा सुम्पनुभएको थियो, र तिनलाई व्यक्तिगत रूपमा हरेक विवरण बताउनुभएको र व्याख्या गर्नुभएको थियो। अझ महत्त्वपूर्ण कुरा, परमेश्‍वरले नोआलाई जहाज किन बनाउनु पर्ने थियो भनेर सुरुदेखि अन्तसम्मको पूरै कथा पनि बताउनुभएको थियो। यो परमेश्‍वरको आफ्नै व्यवस्थापन योजनाको विषय थियो, यो परमेश्‍वरको आफ्नै मामला थियो, तर परमेश्‍वरले तिनलाई यस मामलाबारे बताउनुभएको थियो, त्यसैले नोआले यसको महत्त्व महसुस गरे। सङ्क्षेपमा, यी विभिन्‍न चिन्हहरूलाई हेर्दा, परमेश्‍वरको बोलीको भाव र परमेश्‍वरले नोआलाई दिनुभएको कुराको विभिन्‍न पक्षहरूलाई विचार गर्दा, नोआले परमेश्‍वरले तिनलाई सुम्पनुभएको जहाज निर्माण गर्ने कार्यको महत्त्व बुझ्न सके, तिनले आफ्नो हृदयमा यसको कदर गर्न सके र यसलाई हलुका रूपमा लिने हिम्मत गरेनन्, न त कुनै विवरणलाई बेवास्ता गर्ने साहस नै गरे। त्यसकारण, परमेश्‍वरले निर्देशनहरू दिइसक्नुभएपछि, नोआले आफ्नो योजना बनाए, र तिनी जहाज निर्माण गर्ने, जनशक्ति खोज्‍ने, सबै प्रकारका सामग्रीहरू तयार गर्ने र परमेश्‍वरका वचनहरू अनुसार, विभिन्‍न प्रकारका जीवित प्राणीहरूलाई क्रमशः जहाजमा जम्मा गर्ने काममा लागे।

जहाज निर्माण गर्ने सम्पूर्ण प्रक्रिया कठिनाइले भरिएको थियो। हालका लागि, नोआले वर्षैपिच्छे तेज बतासहरू, चर्को घाम र मुसलधारे वर्षा, प्रचण्ड गर्मी र अत्यधिक चिसो अनि पालै पालो आउने चार ऋतुहरूलाई कसरी पार गरे भन्‍ने कुरालाई थाती राखौँ। पहिले जहाज निर्माण गर्नु कति ठूलो काम थियो, तिनले तयार गरेका विभिन्न सामग्रीहरू, र जहाज निर्माण गर्ने क्रममा तिनले सामना गरेका असङ्ख्य कठिनाइहरूबारे कुरा गरौँ। यी कठिनाइहरूमा के-के समावेश थिए? मानिसहरूको धारणा विपरीत, केही भौतिक कार्यहरू पहिलो पटक सधैँ सफल भएनन् र नोआले धेरै असफलताहरू भोग्‍नुपर्‍यो। केही कुरा पूरा गरेपछि, यदि त्यो गलत देखियो भने, तिनले त्यसलाई भत्काउँथे, र यसलाई भत्काएपछि, सामग्रीहरू तयार गर्नुपर्थ्यो, र त्यो सबै फेरि सुरुदेखि नै गर्नुपर्थ्यो। त्यो आधुनिक युग जस्तो थिएन, जहाँ सबैले विद्युतीय उपकरणद्वारा सबै काम गर्छन्, र एक पटक यो मिलाएपछि काम निर्धारित कार्यक्रमअनुसार हुन्छ। आजकल यस्तो काम गर्दा, यो यान्त्रिकृत हुन्छ, र एकपटक यन्त्रलाई सुचारु गरेपछि, त्यसले काम सम्पन्न गर्न सक्छ। तर नोआ आदिम समाजको युगमा बाँचिरहेका थिए, र सबै काम हातले गरिन्थ्यो अनि आफ्नो आँखा र दिमाग अनि आफ्नै लगनशीलता र शक्ति प्रयोग गरेर आफ्ना दुई हातले सबै काम गर्नुपर्थ्यो। मानिसहरूले अवश्यै सबैभन्दा बढी परमेश्‍वरमा भर पर्नु आवश्यक थियो; तिनीहरूले सबैतिर र सधैँ परमेश्‍वरलाई खोज्‍न आवश्यक थियो। सबै प्रकारका कठिनाइहरूको सामना गर्ने क्रममा र जहाज निर्माणमा बिताएका दिन र रातहरूमा, नोआले यस विशाल कार्य पूरा गर्दा देखा परेका विभिन्‍न परिस्थितिहरूको मात्र नभई आफू वरपरका अनेकौँ वातावरणहरूका साथै अरूको उपहास, निन्दा र दुर्वचन पनि सामना गर्नुपर्‍यो। हामीले ती घटनाहरू घट्दा तिनलाई व्यक्तिगत रूपमा अनुभव नगरे पनि, के नोआले सामना र अनुभव गरेका विभिन्‍न कठिनाइ, र तिनले भोगेका विभिन्‍न चुनौतीहरूमध्ये केही कल्पना गर्न सम्भव छैन र? जहाज निर्माण गर्ने क्रममा, नोआले सामना गर्नुपरेको पहिलो कुरा आफ्नो परिवारमा समझको कमी, तिनीहरूको गनगन, गुनासो र धुत्कार समेत थियो। दोस्रो, आफू वरपरका मानिसहरू—आफ्ना आफन्तहरू, आफ्ना साथीहरू, र अन्य सबै प्रकारका व्यक्ति—द्वारा तिनको निन्दा, उपहास र आलोचना गरिनु थियो। तर नोआको एउटा मात्र मनोवृत्ति थियो, जुन परमेश्‍वरका वचनहरू पालन गर्नु, तिनलाई अन्तिमसम्म नै लागु गर्नु र यसबाट कहिल्यै नडगमगाउनु थियो। नोआले के सङ्कल्प गरेका थिए? “जबसम्म म जीवित रहन्छु, जबसम्म म क्रियाशील रहन सक्छु, म परमेश्‍वरको आज्ञालाई त्याग्‍ने छैन।” जहाज निर्माण गर्ने महान् कार्य गर्ने क्रममा उनको प्रेरणा यही नै थियो, साथै परमेश्‍वरका आज्ञाहरू प्राप्त गरेपछि, र परमेश्‍वरका वचनहरू सुनेपछि तिनको मनोवृत्ति पनि यही थियो। अनेक प्रकारका समस्या, कठिन परिस्थिति र चुनौतीहरूको सामना गर्दा, नोआ कहिल्यै पछि हटेनन्। तिनका केही थप कठिन ईन्जिनियरिङ कार्यहरू बारम्बार विफल र क्षतिग्रस्त हुँदा, नोआलाई हृदयमा उदास र चिन्तित महसुस भए पनि, जब तिनले परमेश्‍वरका वचनहरूबारे सोच्थे, जब तिनले परमेश्‍वरले तिनलाई दिनुभएको आज्ञाका हरेक वचन र परमेश्‍वरले तिनलाई गर्नुभएको उत्थानलाई सम्झन्थे, तब तिनलाई प्रायः अत्यन्तै उत्प्रेरित महसुस हुन्थ्यो: “म हार मान्‍न सक्दिनँ, परमेश्‍वरले मलाई आज्ञा गर्नुभएको र सुम्पनुभएको कुरालाई म त्याग्‍न सक्दिनँ; यो परमेश्‍वरको आज्ञा हो, र मैले यसलाई स्वीकार गरेको हुनाले, मैले परमेश्‍वरले बोल्नुभएका वचन र परमेश्‍वरको आवाज सुनेको हुनाले र मैले यसलाई परमेश्‍वरबाट स्‍वीकार गरेको हुनाले, म पूर्ण रूपमा समर्पित हुनुपर्छ, मानवजातिले हासिल गर्नु पर्ने कुरा यही हो।” तसर्थ, तिनले जुनसुकै प्रकारका कठिनाइहरू भोगे पनि, तिनले जस्तोसुकै उपहास वा अपमान सामना गरे पनि, तिनको शरीर जतिसुकै शिथिल र थकित भए पनि, तिनले परमेश्‍वरले तिनलाई सुम्पनुभएको कुरालाई त्यागेनन्, र परमेश्‍वरले भन्‍नुभएको र आज्ञा गर्नुभएको हरेक वचनलाई निरन्तर मनमा राखे। तिनको परिवेश जतिसुकै परिवर्तन भए पनि, तिनले जतिसुकै ठूलो कठिनाइ सामना गरे पनि, तिनमा विश्वास थियो कि यीमध्ये कुनै पनि कुरा सदाका लागि रहनेछैन, केवल परमेश्‍वरका वचनहरू कहिल्यै बितेर जानेछैनन्, र परमेश्‍वरले गर्न भनेर आज्ञा गर्नुभएका कुराहरू मात्र अवश्यै पूरा हुनेछन्। नोआलाई परमेश्‍वरप्रति साँचो आस्था थियो, र तिनमा हुनुपर्ने समर्पण थियो, अनि तिनले परमेश्वरले अह्राउनुभएको जहाज बनाउने कामलाई निरन्तरता दिए। दिनप्रतिदिन, वर्षेनी, नोआ वृद्ध बन्दै गए, तर तिनको आस्था घटेन, र परमेश्‍वरको आज्ञा पूरा गर्ने तिनको मनोवृत्ति र दृढतामा कुनै परिवर्तन आएन। तिनको शरीरलाई थकित र शिथिल महसुस भएको, र तिनी बिरामी परेको, हृदयमा तिनी कमजोर भएको समयहरू आए पनि, परमेश्‍वरको आज्ञा पूरा गर्ने र परमेश्‍वरको वचनमा समर्पित हुने तिनको दृढता र अठोटमा कमी आएन। नोआले जहाज बनाएका वर्षहरूमा, तिनी परमेश्‍वरले भन्‍नुभएका वचनहरू सुन्‍ने र तिनमा समर्पित हुने अभ्यास गर्दै थिए, र तिनी एक सृजित प्राणी र सामान्य व्यक्तिका रूपमा परमेश्‍वरको आज्ञा पूरा गर्न आवश्यक पर्ने एक महत्त्वपूर्ण सत्यताको अभ्यास पनि गर्दै थिए। हर रूपमा, सम्पूर्ण प्रक्रिया वास्तवमा एउटै कुरा थियो: जहाज निर्माण गर्ने, परमेश्‍वरले गर्न भन्‍नुभएको कुरा राम्रोसँग र पूर्ण रूपमा सम्पन्न गर्ने। तर यो कुरा राम्रोसँग गर्न, र यसलाई सफलतापूर्वक पूरा गर्न के कुराको आवश्यकता थियो? यसमा मानिसहरूको जोस, वा तिनीहरूका नाराहरू आवश्यक थिएनन्, न त क्षणिक लहरमा खाइएका केही शपथहरू, न सृष्टिकर्ताप्रति मानिसहरूको तथाकथित प्रशंसा नै आवश्यक थियो। यसका लागि यी कुराहरू आवश्यक थिएनन्। नोआले जहाजको निर्माण गर्दा, मानिसहरूको तथाकथित प्रशंसा, तिनीहरूको शपथ, तिनीहरूको जोश, र तिनीहरूको आत्मिक संसारमा परमेश्‍वरमाथिको विश्‍वासले कुनै काम गरेन; नोआको साँचो विश्‍वास र परमेश्‍वरप्रतिको साँचो समर्पणको अगाडि, मानिसहरू अत्यन्तै दीन र दयनीय देखिन्छन्, र तिनीहरूले बुझेका केही धर्मसिद्धान्तहरू अत्यन्तै खोक्रो, फिक्का, कमजोर र निर्बल देखिन्छन्—लाजमर्दो, घृणास्पद र पतितको त कुरै नगरौँ।

नोआलाई जहाज बनाउन १२० वर्ष लाग्यो। यो १२० वर्षको अवधि १२० दिन, वा १० वर्ष, वा २० वर्षको अवधि थिएन, यो त आजको सामान्य व्यक्तिको आयुभन्दा दशकौँ बढीको समय थियो। यो लामो समय अवधि, र यो काम पूरा गर्दा भोग्‍नुपर्ने कठिनाइ, अनि इन्जिनियरिङ कार्यको विशाल परिमाणलाई हेर्दा, यदि नोआमा साँचो विश्‍वास हुन्थेन भने, तिनको विश्‍वास केवल एक सोच, आशा, जोस, वा अस्पष्ट र अमूर्त विश्‍वास मात्रै हुन्थ्यो भने, के त्यो जहाज बनाउने काम पूरा हुन्थ्यो? यदि परमेश्‍वरप्रति तिनको समर्पण एउटा मौखिक प्रतिज्ञा हुन्थ्यो भने, यदि यो तिमीहरूले आज गर्नेजस्तो कुनै हस्तलिखित टिपोट मात्रै हुन्थ्यो भने, के त्यो ठूलो जहाज बनाउन सकिन्थ्यो? (सकिन्थेन।) यदि परमेश्‍वरको आज्ञा स्विकार्नेप्रति तिनको समर्पण केवल इच्‍छा र सङ्कल्‍प, वा कामना मात्रै हुन्थ्यो भने, के त्यो ठूलो जहाज बनाउन सकिन्थ्यो? यदि परमेश्‍वरप्रति नोआको समर्पण केवल त्याग, खर्च, र मूल्यचुकाइका औपचारिकताहरू मात्र पूरा गर्ने, वा थप काम गर्ने, अझ ठूलो मूल्य तिर्ने, र सैद्धान्तिक रूपमा, वा नारामा मात्र परमेश्‍वरप्रति बफादार हुने हुन्थ्यो भने, के त्यो ठूलो जहाज बनाउन सकिन्थ्यो? (सकिन्थेन।) यो अति नै गाह्रो हुने थियो! यदि परमेश्‍वरप्रतिको नोआको मनोवृत्ति लेनदेन हुन्थ्यो भने, यदि नोआले यो आशिष्‌ र इनाम पाउनका लागि मात्रै त्यो कुरा स्विकारेको हुन्थ्यो भने, के त्यो ठूलो जहाज बनाउन सकिन्थ्यो? अवश्यै सकिन्थेन! व्यक्तिको जोस १० वा २० वर्ष, वा ५० वा ६० वर्षसम्‍म रहन सक्छ, तर जब तिनीहरू मर्न लागेका हुन्छन्, तब आफूले केही पनि प्राप्त नगरेको देख्दा, तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वास गुमाउँछन्। २०, ५०, वा ८० वर्षसम्‍म रहने यो जोस समर्पण वा साँचो आस्था बन्दैन। यो निकै दुःखद कुरा हो। तैपनि नोआमा भएको साँचो आस्था र साँचो समर्पण ठीक त्यही कुरा हो, जुन आजका मानिसहरूमा छैन, र यो त्यही कुरा हो जसलाई आजका मानिसहरूले देख्‍न सक्दैन, र तिरस्कार र खिसी गर्छन्, वा नाक खुम्च्याउने कामसमेत गर्छन्। नोआले ठूलो जहाज बनाएको वृत्तान्त सुनाउँदा सधैँ वादविवादको भेल पैदा हुन्छ। सबैले यसबारेमा कुरा गर्न सक्छन् र सबैसँग केही न केही भन्‍ने कुरा हुन्छ। तर नोआमा के थियो, तिनीसँग अभ्यासको कुन मार्ग थियो, तिनमा परमेश्‍वरले चाहनुभएको कस्तो मनोवृत्ति र परमेश्‍वरको आज्ञाप्रति कस्तो दृष्टिकोण थियो, वा तिनमा परमेश्‍वरका वचनहरू सुन्‍ने र अभ्यास गर्ने सम्बन्धमा कस्तो चरित्र थियो भनेर कसैले पनि सोच्ने वा पत्ता लगाउने प्रयास गर्दैन। त्यसकारण, म भन्छु, आजका मानिसहरू नोआको कथा सुनाउन लायक छैनन्, किनभने यो कथा सुनाउँदा तिनीहरूले नोआलाई पौराणिक व्यक्तित्व, सेतो दाह्री भएको साधारण वृद्ध मानिसबाहेक केही ठान्दैनन्। तिनीहरूले साँच्‍चै त्यस्तो व्यक्ति थियो त, तिनी वास्तवमा कस्तो थिए त भनेर मनमा प्रश्‍न गर्छन्, र नोआले परमेश्‍वरको आज्ञा स्वीकार गरेपछि तिनले कसरी ती प्रकटीकरणहरू देखाए भनेर बुझ्‍ने प्रयास गर्दैनन्। आज, हामीले नोआले त्यो ठूलो जहाज बनाएको कथालाई पुनः हेर्दा, तिमीहरूलाई के लाग्छ, यो ठूलो घटना थियो कि सानो? के यो एउटा बूढो मान्छे बितेको समयमा एउटा जहाज बनायो भन्‍ने साधारण कथा हो? (होइन।) सबै मानिसहरूमध्ये, नोआ परमेश्‍वरको डर मान्‍ने, परमेश्‍वरप्रति समर्पित हुने र परमेश्‍वरको आज्ञा पूरा गर्ने व्यक्ति थिए जो अनुकरणको निम्ति सबैभन्दा योग्य छ; तिनी परमेश्‍वरद्वारा अनुमोदित भए, र आज परमेश्‍वरलाई पछ्याउने व्यक्तिहरूको लागि तिनी एक आदर्श हुनुपर्छ। अनि तिनको सबैभन्दा मूल्यवान् कुरा के थियो त? परमेश्‍वरका वचनहरूप्रति तिनीसँग केवल एउटै आचरण थियो: सुन्नु र स्वीकार गर्नु, स्विकार्नु र समर्पण गर्नु, र आजीवन समर्पित रहनु। यही आचरण नै तिनको सबैभन्दा मूल्यवान् कुरा थियो जसको कारणले गर्दा तिनले परमेश्वरको अनुमोदन पाए। जब परमेश्‍वरका वचनहरूको कुरा आउँथ्यो, तिनले झारा टार्ने काम गर्दैनथिए, र तिनले ती वचनहरूलाई आफ्नो टाउको‍भित्र जाँच, विश्‍लेषण, प्रतिरोध, वा अस्वीकार गरी मस्तिष्कको पछिल्लो भागमा थन्क्याउने काम गर्दैनथिए; यसको सट्टा, तिनले ती वचनहरूलाई पूर्ण इमानदारितासाथ सुन्थे, तिनीहरूलाई अलिअलि गर्दै आफ्नो हृदयभित्र स्वीकार गर्थे, त्यसपछि तिनलाई कसरी अभ्यास गर्ने, तिनलाई कसरी कार्यान्वयन गर्ने, तिनलाई नबङ्ग्याईकनै कसरी तिनको मौलिक अभिप्रायअनुरूप कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा चिन्तन गर्थे। अनि परमेश्‍वरका वचनहरूलाई चिन्तन गर्ने क्रममा, तिनले गुप्त रूपमा आफैलाई भन्थे, “यी परमेश्‍वरका वचनहरू हुन्, यी परमेश्‍वरका निर्देशनहरू हुन्, यी परमेश्‍वरका आज्ञाहरू हुन्, म कर्तव्यमा बाँधिएको छु, म समर्पित हुनैपर्छ, मैले कुनै पनि विवरणलाई छोड्नु हुँदैन, म परमेश्‍वरका इच्छाहरूविरुद्ध जान मिल्दैन, न त मैले उहाँले भन्नुभएका कुराको कुनै एउटा विवरणलाई पनि उपेक्षा गर्न नै सक्छु, अन्यथा म मानव भनिन लायक रहन्न, म परमेश्‍वरको आज्ञाको लागि अयोग्य हुनेछु, र उहाँद्वारा उच्च पारिन अयोग्य हुनेछु। यस जीवनमा, यदि मैले परमेश्‍वरले मलाई भन्नुभएका र सुम्पिनुभएका सबै कुरा पूरा गर्न सकिनँ भने, मलाई पछुतो हुनेछ। त्योभन्दा पनि बढी, म परमेश्‍वरको आज्ञा र उहाँले मलाई उच्च पार्नका लागि अयोग्य हुनेछु, र मसँग सृष्टिकर्तासामु फर्कने मुहार नै हुनेछैन।” नोआले आफ्नो हृदयमा सोचेका र चिन्तन गरेका हरेक कुरा, तिनको हरेक दृष्टिकोण र आचरण, यी सबैले नै निर्धारण गरे कि तिनी अन्ततः परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न र परमेश्‍वरका वचनहरूलाई वास्तविकता बनाउन, परमेश्‍वरका वचनहरूलाई परिपूर्ण गराउन, तिनलाई आफ्नो परिश्रममार्फत पूरा हुने र हासिल हुने र आफूमार्फत वास्तविकतामा परिणत हुने, र परमेश्वरको आज्ञा व्यर्थ नहुने बनाउन सक्षम भए। नोआले सोचेका हरेक कुरा, तिनको हृदयमा उत्पन्न भएका हरेक विचार, र परमेश्‍वरप्रतिको तिनको मनोवृत्तिलाई मूल्याङ्कन गर्दा, नोआ परमेश्‍वरको आज्ञाको योग्य थिए, तिनी परमेश्‍वरले भरोसा गर्नुभएको मानिस थिए र परमेश्‍वरले निगाह गर्नुभएको व्यक्ति थिए। परमेश्‍वरले मानिसहरूको हरेक वचन र कार्य नियाल्नुहुन्छ, उहाँले तिनीहरूका सोच र विचारहरूलाई नियाल्नुहुन्छ। परमेश्‍वरको नजरमा, नोआले यस प्रकारले सोच्न सक्नु भनेको उहाँले गलत व्यक्तिलाई रोज्‍नुभएको थिएन भन्ने हो; नोआले परमेश्‍वरको आज्ञा र परमेश्वरको भरोसा थेग्न सक्थे, र तिनी परमेश्‍वरको आज्ञा पूरा गर्न सक्षम थिए: सारा मानवजातिमाझ एक मात्र विकल्प तिनी नै थिए।

परमेश्‍वरको नजरमा, जहाज निर्माण गर्ने यस्तो ठूलो कार्य पूरा गर्नको लागि नोआ उहाँको एक मात्र रोजाइ थियो। त्यसोभए नोआमा के पाइयो? दुईवटा कुराहरू: साँचो आस्था र साँचो समर्पण। परमेश्‍वरको हृदयमा, मानिसहरूबाट उहाँले अपेक्षा गर्ने मापदण्डहरू यी नै हुन्। कुरा सरल छ, हैन? (हो।) “एक मात्र रोजाइ” मा यी दुई कुराहरू थिए, जुन कुराहरू धेरै सरल छन्—तर नोआबाहेक, ती अरू कसैमा पाइँदैनन्। कतिपय मानिसहरू भन्छन्, “त्यो कसरी हुन सक्छ? हामीले आफ्ना परिवार र करियर छोडेका छौँ, हामीले काम, सम्भाव्यताहरू र शिक्षा छोडेका छौँ, हामीले आफ्ना जायजेथा र बच्चाहरू त्यागेका छौँ। हेर, हाम्रो आस्था कति ठूलो छ, हामी परमेश्‍वरलाई कति प्रेम गर्छौं! हामी कसरी नोआभन्दा कम छौँ? यदि परमेश्‍वरले हामीलाई जहाज निर्माण गर्न भन्नुभयो भने—आधुनिक उद्योग अत्यन्तै विकसित छ, के हामीसँग काठ र प्रशस्त उपकरणहरूको पहुँच छैन? हामीले पनि मेसिनहरू प्रयोग गर्ने भए चर्को घाममा काम गर्न सक्छौँ; हामी पनि बिहानदेखि साँझसम्म काम गर्न सक्छौँ। यस्तो सानो काम पूरा गर्नु कुन ठूलो कुरा हो र? नोआलाई १०० वर्ष लाग्यो, तर हामी यसलाई कम समयमा गर्ने थियौँ ताकि परमेश्‍वरलाई व्यग्र महसुस नहोस्—हामीलाई १० वर्ष मात्र लाग्‍ने थियो। तपाईंले भन्‍नुभयो कि नोआ एक मात्र रोजाइ थियो, तर आज, धेरै सिद्ध उम्मेदवारहरू छन्; हामी जस्तै मानिसहरू जसले आफ्ना परिवार र पेसाहरू त्यागेका छन्, जोसँग परमेश्‍वरप्रति साँचो आस्था छ, जसले साँच्चै आफैलाई अर्पण गर्छन्—ती सबै सिद्ध उम्मेदवारहरू हुन्। तपाईंले नोआ एक मात्र रोजाइ थियो भनेर कसरी भन्न सक्नुहुन्छ? तपाईंले हामीलाई धेरै कम आँक्नुहुन्छ, होइन र?” के यी शब्दहरूमा कुनै समस्या छ? (छ।) कतिपय मानिसहरू भन्छन्, “नोआको समयमा, विज्ञान र प्रविधि अझै धेरै कम विकसित थिए, ऊसँग बिजुली थिएन, आधुनिक यन्त्रहरू थिएनन्, सबैभन्दा सामान्य विद्युतीय ड्रिल र करौँती वा काँटीहरू समेत थिएनन्। उसले कसरी जहाज निर्माण गरिछाड्यो? आज हामीसँग यी सबै कुराहरू छन्। के हाम्रो निम्ति यो आज्ञा पूरा गर्नु अत्यन्तै सजिलो हुने थिएन र? यदि परमेश्‍वरले हामीलाई आकाशबाट बोल्नुभयो र जहाज निर्माण गर्न लगाउनुभयो भने, एउटा मात्र होइन—हामीले सजिलैसँग १० ओटा निर्माण गर्न सक्छौँ। यो त केही पनि होइन, यो अत्यन्तै सजिलो काम हो। हे परमेश्‍वर, तपाईं जे चाहनुहुन्छ, हामीलाई आज्ञा दिनुहोस्। तपाईंलाई जे आवश्यक छ, हामीलाई भन्‍नुहोस्। हामी धेरै जनालाई जहाज निर्माण गर्न पटक्कै गाह्रो हुने छैन! हामी १०, २०, यहाँसम्म कि १०० ओटा पनि निर्माण गर्न सक्छौँ। तपाईंले जति चाहनुहुन्छ त्यति निर्माण गर्न सक्छौँ।” के कुराहरू त्यति सरल छन्? (छैनन्।) मैले नोआ एक मात्र रोजाइ थियो भन्‍ने बित्तिकै, केही मानिसहरू मेरो विरोध गर्न चाहन्छन्, तिनीहरू अविश्‍वस्त हुन्छन्: “तपाईंले प्राचीन व्यक्तिहरूको बारेमा राम्रो सोच्‍नुहुन्छ किनभने तिनीहरू यहाँ छैनन्। आजका मानिसहरू तपाईंकै सामुन्‍ने छन्, तर तपाईंले तिनीहरूको राम्रो पक्ष देख्‍न सक्नुहुन्‍न। तपाईं आजका मानिसहरूले गरेका सबै राम्रा कामकुराहरू, तिनीहरूका सबै असल कार्यहरू देख्‍नुहुन्‍न। नोआले केवल एउटा सानो काम गरेको हो; के त्यतिबेला उद्योग नभएको र सबै शारीरिक श्रम कठिन भएको कारणले गर्दा नै, तपाईंले उसको कामलाई स्मरणीय ठान्‍नुभएको, उसलाई उदाहरण, आदर्श ठान्‍नुभएको, अनि आजका मानिसहरूको दुःख र हामीले तपाईंको लागि तिर्ने मूल्य अनि आजको हाम्रो आस्था नदेख्नुभएको होइन र?” के यस्तै हो त? (होइन।) जुनसुकै काल वा युगको भए पनि, चाहे मानिसहरू जिउने वातावरणको अवस्था जस्तोसुकै भए तापनि, यी भौतिक वस्तुहरू र सामान्य वातावरणले कुनै पनि अर्थ राख्दैन, ती महत्त्वपूर्ण छैनन्। केचाहिँ महत्त्वपूर्ण छ? तँ कुन युगमा बाँच्छस् वा तैँले कुन प्रकारको प्रविधिमा निपुणता हासिल गरेको छस् भन्‍ने कुरा सबैभन्दा महत्त्वपूर्ण होइन, न त तैँले परमेश्‍वरका कतिवटा वचनहरू पढेको वा सुनेको छस् भन्‍ने कुरा नै महत्त्वपूर्ण हो। मानिसहरूमा साँचो आस्था छ कि छैन, तिनीहरूमा साँचो समर्पण छ कि छैन भन्‍ने कुरा सबैभन्दा महत्त्वपूर्ण हो। यी दुई कुराहरू सबैभन्दा महत्त्वपूर्ण छन्, यीमध्ये कुनै पनि कुराको कमी हुनुहुँदैन। यदि तिमीहरूलाई नोआको समयमा राखिएको भए तिमीहरूमध्ये कसले यो आज्ञा पूरा गर्न सक्थ्यो? म यो भन्‍ने साहस गर्छु कि तिमीहरू सबै मिलेर काम गरे पनि तिमीहरूले यो पूरा गर्न सक्ने थिएनौ। तिमीहरूले यसको आधा पनि गर्न सक्ने थिएनौ। सबै सामग्रीहरू तयार हुनु अघि नै, तिमीहरूमध्ये धेरै जना परमेश्वरबारे गुनासो गर्दै र उहाँमाथि शङ्का गरेर भागेका हुने थियौ। तिमीहरूमध्ये थोरै जना धेरै आफ्नो दृढता, उत्साह र विचारको कारण धेरै कठिनाइका साथ लागिपर्ने थियौ। तर तिमीहरू कति समयसम्म लागिपर्न सक्थ्यौ? तिमीहरूलाई निरन्तरता दिन कस्तो प्रेरणा चाहिन्छ? साँचो आस्था र साँचो समर्पणबिना तिमीहरू कति वर्षसम्म टिक्थ्यौ? यो चरित्रमा निर्भर हुन्छ। राम्रो चरित्र र थोरै विवेक भएकाहरू आठ वा १० वर्ष, २० वा ३० वर्ष, सायद ५० वर्ष पनि टिक्न सक्छन्। तर ५० वर्ष पछि, तिनीहरूले मनमनै सोच्‍ने थिए, “परमेश्‍वर कहिले आउनुहुन्छ? जलप्रलय कहिले आउने छ? परमेश्‍वरले दिनुभएको चिन्ह कहिले देखा पर्नेछ? मैले आफ्नो सम्पूर्ण जीवन एउटै काम गरेर बिताएको छु। जलप्रलय आएन भने के गर्ने? मैले जीवनभरि धेरै कष्ट भोगेको छु, म ५० वर्षसम्म लागिपरेको छु—यो पर्याप्त छ, यदि मैले अहिले हार माने भने परमेश्‍वरले यसलाई याद गर्नुहुने छैन वा निन्दा गर्नुहुने छैन। त्यसैले, म मेरो आफ्नै जीवन जिउन गइरहेको छु। परमेश्‍वरले बोल्ने वा प्रतिक्रिया दिने गर्नुहुन्न। म दिनभरि निलो आकाश र सेतो बादल हेरेर बिताउँछु र केही पनि देख्दिन। परमेश्‍वर कहाँ हुनुहुन्छ? जो एक पटक गर्जनुभएको र बोल्नुभएको थियो—के त्यो परमेश्‍वर नै हुनुहुन्थ्यो? के यो भ्रम थियो? यो कहिले समाप्त हुन्छ? परमेश्‍वरलाई चासो नै छैन। मैले मद्दतको लागि जतिसुकै पुकार्दा पनि, मैले सुन्‍ने भनेको मौनता मात्र हो र मैले प्रार्थना गर्दा उहाँले मलाई अन्तर्दृष्टि दिने वा मार्गदर्शन गर्ने गर्नुहुन्‍न। यसलाई बिर्सिदिऔँ!” के तिनीहरूसँग अझै पनि साँचो आस्था हुनेथियो? समय बित्दै जाँदा, तिनीहरू शङ्‍कालु हुनसक्थे। तिनीहरूले परिवर्तन गर्ने बारेमा सोच्‍ने थिए, उम्कने बाटो खोज्‍ने थिए, परमेश्‍वरको आज्ञालाई पन्छाउने थिए र आफ्नो अल्पकालीन जोस र प्रतिज्ञाहरूलाई त्याग्‍ने थिए; तिनीहरूले आफ्नै भाग्यलाई नियन्त्रण गर्न र आफ्नै जीवन बिताउन चाहेर, परमेश्‍वरको आज्ञालाई कम महत्त्व दिने थिए। अनि जब, एक दिन, परमेश्‍वर व्यक्तिगत रूपमा तिनीहरूलाई आग्रह गर्न आउनुभयो, उहाँले जहाज निर्माणको कार्यप्रगतिको बारेमा सोध्दा, तिनीहरूले भन्‍ने थिए “उफ्! परमेश्‍वर वास्तवमै अस्तित्वमा हुनुहुन्छ। त्यसैले परमेश्‍वर साँच्चिकै हुनुहुन्छ। मैले निर्माण सुरु गर्नै पर्छ!” यदि परमेश्‍वरले बोल्नुभएन भने, यदि उहाँले तिनीहरूलाई हतार देखाउनु भएन भने, तिनीहरूले यसलाई अत्यावश्यक मामलाको रूपमा हेर्ने थिएनन्; तिनीहरूले यसलाई पर्खिन सकिन्छ भनेर सोच्‍ने थिए। यस्तो अस्थिर सोचाइ, आनाकानीपूर्वक जसोतसो काम चलाउने यो मनोवृत्ति—के साँचो आस्था भएका मानिसहरूले देखाउनुपर्ने मनोवृत्ति यही हो? (होइन।) यस्तो मनोवृत्ति राख्नु गलत हो, यसको मतलब तिनीहरूसँग साँचो आस्था छैन, साँचो समर्पण त झनै छैन। जब परमेश्‍वरले तँसँग भेटेरै कुरा गर्नुभयो, तेरो क्षणिक उत्साहले परमेश्‍वरप्रति तेरो आस्थाको सङ्‍केत गर्दथ्यो, तर जब परमेश्‍वरले तँलाई पाखा लगाउनुभयो, र तँलाई आग्रह गर्नुभएन वा निरीक्षण गर्नुभएन वा कुनै सोधपुछ गर्नुभएन भने, तेरो आस्था हराउने थियो। समय बित्दै जाने थियो र परमेश्‍वरले तँसँग बोल्नुभएन वा उहाँ देखा पर्नुभएन र उहाँले तेरो कामको कुनै निरीक्षण गर्नुभएन भने, तेरो आस्था पूर्ण रूपमा हराउने थियो; तैँले आफ्नै जीवन जिउन र आफ्नै उद्यम गर्न चाहन्थिस् र परमेश्‍वरको कामलाई तैँले त्यत्ति महत्त्व नदिएर बिर्सनेथिस्; त्यसबेलाको तेरो जोस, शपथ र सङ्‍कल्पले कुनै अर्थ राख्‍ने थिएन। के तिमीहरूलाई परमेश्‍वरले यस्तो व्यक्तिलाई ठूलो जिम्मेवारी दिने आँट गर्नुहुने थियो जस्तो लाग्छ? (अहँ।) किन लाग्दैन? (ऊ भरोसाहीन छ।) ठिक भनिस्। एक शब्द: भरोसाहीन। तँमा साँचो आस्था छैन। तँ भरोसाहीन छस्। त्यसैले, तँ परमेश्‍वरद्वारा कुनै पनि कुरा सुम्पिन योग्य छैनस्। कतिपय मानिसहरू भन्छन्, “म किन अयोग्य छु? म परमेश्‍वरले मलाई दिनुभएको कुनै पनि आज्ञा पूरा गर्नेछु—कसलाई थाहा, म यसलाई पूरा गर्न पनि सक्छु!” तैँले आफ्नो दैनिक जीवनमा लापरवाहीपूर्वक कामहरू गर्न सक्छस् र नतिजाहरू अलि कमजोर भए पनि फरक पर्दैन। तर परमेश्‍वरले सुम्पनुभएका, पूरा होस् भन्ने चाहनुभएका कामकुरा—ती कहिले पो सरल हुन्छन् र? यदि ती कामकुरा कुनै मूर्ख वा ठग, आफूले गर्ने सबै कुरामा झारा टार्ने, यस्तो व्यक्ति, जसले कुनै आज्ञा स्वीकार गरेपछि, जताततै र जहिले पनि कमजोर आस्था बोकेर कार्य गर्ने व्यक्तिलाई सुम्पियो भने, के त्यसले ठूलो जिम्मेवारीलाई ढिलाइ गर्ने थिएन र? यदि तिमीहरूलाई छान्‍न लगाइयो भने, यदि तिमीहरूले कसैलाई ठूलो काम सुम्पिनुपर्यो भने, तिमीहरूले कस्तो प्रकारको व्यक्तिलाई सुम्पिने थियौ? तैँले कस्तो किसिमको व्यक्तिलाई रोज्‍ने थिइस्? (एक भरोसायोग्य व्यक्तिलाई।) कम्तीमा पनि, यो व्यक्ति भरपर्दो, चरित्रवान् हुनुपर्छ र समय जस्तोसुकै होस् वा उसले सामना गर्ने कठिनाइहरू जतिसुकै ठूलो किन नहोस्, उसले तैँले सुम्पेको काम पूरा गर्नमा आफ्नो सम्पूर्ण मन र ऊर्जा लगाउनेछ र तँलाई जवाफ दिनेछ। यदि मानिसहरूले यस्तै प्रकारको व्यक्तिलाई काम सुम्पन रोज्छन् भने, परमेश्‍वरले त झन् कति बढी विचार गर्नुहुन्छ होला! त्यसोभए, जलप्रलयले संसारको विनाश गर्ने यो प्रमुख घटनाको लागि एउटा घटना जसमा जहाजको निर्माण आवश्यक थियो र कोही बाँच्‍न योग्य व्यक्तिको आवश्यकता थियो भने, परमेश्‍वरले कसलाई छान्‍नुहुने थियो? पहिलो कुरा, सिद्धान्तको हिसाबले, उहाँले टिकिरहन योग्य र अर्को युगमा जिउन योग्य व्यक्ति छान्‍नुहुने थियो। वास्तवमा, अरू सबैभन्दा पहिले, त्यो व्यक्ति परमेश्‍वरका वचनहरू पालन गर्न सक्षम हुनुपर्छ, उसमा परमेश्‍वरप्रति साँचो आस्था हुनुपर्छ र परमेश्‍वरले भन्‍नुभएको कुरालाई—त्यसमा जेसुकै संलग्न होस्, चाहे त्यो आफ्ना धारणाहरूसँग मिलोस् कि नमिलोस्, चाहे त्यो आफ्नो स्वाद अनुसार होस् कि नहोस्, चाहे त्यो आफ्नो इच्छासँग मिल्ने होस् वा नहोस्—त्यसलाई परमेश्‍वरको वचनको रूपमा लिनुपर्छ। परमेश्‍वरले उसलाई जे गर्न भन्‍नुभए पनि उसले परमेश्‍वरको पहिचानलाई कहिल्यै नकार्नु हुँदैन, उसले आफूलाई सधैँ सृजित प्राणी मान्‍नुपर्छ र परमेश्‍वरका वचनहरू पालन गर्नुलाई सधैँ अनिवार्य कर्तव्यको रूपमा लिनुपर्छ; परमेश्‍वरले यो विशेष कार्य यस्तै व्यक्तिलाई सुम्पनुहुन्छ। परमेश्‍वरको हृदयमा, नोआ ठ्याक्कै त्यस्तै व्यक्ति थियो। ऊ नयाँ युगमा रहन योग्य व्यक्ति मात्र थिएन, तर ऊ भारी जिम्मेवारी वहन गर्न सक्‍ने व्यक्ति पनि थियो, जो परमेश्‍वरको वचनमा बिना सम्झौता अन्त्यसम्म समर्पित हुन सक्थ्यो र जसले आफ्नो जीवन परमेश्‍वरले सुम्पनुभएको काम पूरा गर्न प्रयोग गर्ने थियो। उहाँले नोआमा यही कुरा पाउनुभयो। नोआले परमेश्‍वरको आज्ञा स्वीकार गरेको क्षणदेखि, उसलाई सुम्पिएको हरेक कार्य पूरा गरेसम्म—यस अवधिभर, नोआको आस्था र परमेश्‍वरप्रति उसको समर्पणको मनोवृत्तिले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको थियो; यी दुइटा कुराहरू बिना, काम पूरा हुन सक्दैनथ्यो र यो आज्ञा पूरा भएको हुँदैनथ्यो।

यदि, परमेश्‍वरको आज्ञा स्वीकार गर्ने क्रममा, नोआसँग आफ्नै विचार, योजना र धारणाहरू भएको भए, सम्पूर्ण कार्य कसरी परिवर्तन भएको हुने थियो? सर्वप्रथम, परमेश्‍वरले उसलाई दिनुभएका प्रत्येक विवरण—जस्तै सामग्रीका नाम र प्रकारहरू, पूरै जहाज निर्माण गर्ने साधन र विधिहरू र पूरै जहाजका आकार र आयामहरू—जब नोआले यी सबै सुने, के उसले यस्तो सोच्‍ने थियो, “यति ठूलो चिज निर्माण गर्न कति वर्ष लाग्ला? यी सबै सामग्रीहरू फेला पार्न कति धेरै मिहिनेत र कठिनाइ सहनु पर्ला? म थकित हुनेछु! पक्कै पनि यस्तो थकानले मेरो जीवनलाई छोटो बनाउने छ, हैन र? हेर त, म कति बुढो भइसकेँ, तैपनि परमेश्‍वरले मलाई विश्राम दिनुहुन्न, बरु मलाई यस्तो कष्टसाध्य काम गर्न भन्नुहुन्छ—के मैले यो सहन सक्छु? ठिक छ, म यो गर्नेछु, तर मसँग एउटा चाल छ: म मोटामोटी रूपमा मात्र परमेश्‍वरले भनेअनुसार गर्ने छु। परमेश्‍वरले एक प्रकारको जलप्रतिरोधी सल्लाको खोजी गर्न भन्‍नुभयो। मैले केहि त्यो चिज पाउन सकिने ठाउँको बारेमा सुनेको छु, तर यो धेरै टाढा छ र एकदम खतरनाक छ। यसलाई फेला पार्न र प्राप्त गर्नका निम्ति धेरै मिहिनेत गर्नुपर्ने छ, त्यसैले त्यसको सट्टामा नजिकैको समान प्रकारको लगभग उस्तै चिज खोजी गरे कसो होला? यसले कम जोखिम हुने थियो र कम मिहिनेत पनि लाग्‍ने थियो—यो पनि ठिकै हुन्थ्यो, हैन र?” के नोआसँग त्यस्ता योजनाहरू थिए? यदि थिए भने, के यो साँचो समर्पण हुने थियो? (हुने थिएन।) उदाहरणका लागि: परमेश्‍वरले उक्त जहाजलाई १०० मिटर अग्लो बनाउन भन्‍नुभयो। यो सुनेर, के उसले यस्तो सोच्‍न, सक्थ्यो “सय मिटर भनेको त धेरै अग्लो हो, यसमा कोही चढ्न सक्दैन। के यसमा चढेर काम गर्नु घातक हुँदैन र? त्यसैले म जहाजलाई अलि छोटो बनाउँछु, ५० मिटर गरौँ। त्यो मानिसहरूका लागि चढ्नलाई कम खतरनाक र सजिलो हुनेछ। त्यो ठीक होला, हैन र?” के नोआले त्यस्तो सोचेको हुन्थ्यो होला? (हुँदैनथ्यो।) यदि उसले सोचेको हुन्थ्यो भने, के तँलाई परमेश्‍वरले गलत व्यक्तिलाई रोज्‍नुभएको हुन्थ्यो भन्ने लाग्छ? (हो।) नोआको परमेश्‍वरप्रतिको साँचो आस्था र समर्पणले उसलाई आफ्नै इच्छालाई परित्याग गर्न मद्दत गर्यो; यदि ऊसँग त्यस्ता विचारहरू भए पनि उसले कहिल्यै तीमाथि काम गरेको हुन्थेन। यस कुरामा, परमेश्‍वरलाई नोआ भरोसायोग्य छ भन्ने थाहा थियो। पहिले, नोआले परमेश्‍वरले तोक्नुभएको विवरणहरूमा कुनै परिवर्तन गर्ने थिएन, न त उसले आफ्ना विचारहरू थप्‍ने थियो, उसले आफ्नो व्यक्तिगत फाइदाको लागि परमेश्‍वरले तोक्नुभएको कुनै पनि विवरणहरू त झन परिवर्तन गर्ने नै थिएन; यसको सट्टामा उसले परमेश्‍वरले आदेश दिनुभएका कुरालाई अक्षरशः पूरा गर्ने थियो र जहाज निर्माण गर्नलाई सामग्रीहरू प्राप्त गर्न जतिसुकै गाह्रो भए पनि, काम जतिसुकै गाह्रो वा थकानयुक्त भए पनि, उसले काम राम्रोसँग सम्पन्न गर्न सक्दो प्रयास गर्ने थियो र आफ्नो सबै शक्ति प्रयोग गर्ने थियो। के उसलाई यही कुराले भरोसायोग्य बनाएको होइन र? अनि के यो परमेश्‍वरप्रति उसको साँचो समर्पणको वास्तविक प्रकटीकरण थियो? (हो।) के यो समर्पण निरपेक्ष थियो? (थियो।) अनि यसमा कुनै खोट थिएन, यसमा उसका आफ्नै झुकावहरू थिएनन्, यसमा व्यक्तिगत योजनाहरू मिसिएको थिएन, व्यक्तिगत धारणा वा चासोहरू मिसिने त झन कुरै भएन; बरु, यो विशुद्ध, सरल, र निरपेक्ष समर्पण थियो। अनि के यो हासिल गर्न सजिलो थियो? (थिएन।) कतिपय मानिसहरू असहमत हुन सक्छन्: “त्यसमा त्यति गाह्रो कुरा के छ? के यसमा केवल सोच्‍न नपर्ने, रोबोट जस्तो बन्‍ने, परमेश्‍वरले भनेझैँ गर्ने कुरा मात्र समावेश छैन र—के त्यो सजिलो छैन?” जब कार्य गर्ने समय आउँछ, कठिनाइहरू उत्पन्‍न हुन्छन्; मानिसहरूका सोचहरू सधैँ परिवर्तन भइरहेका हुन्छन्, तिनीहरूसँग सधैँ आफ्नै झुकावहरू हुन्छन्, र त्यसैले तिनीहरूले परमेश्‍वरका वचनहरू पूरा गर्न सकिन्छ कि सकिँदैन भनेर शङ्का गर्न सक्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्दा, तिनलाई स्वीकार गर्न सजिलो हुन्छ, तर जब काम गर्ने समय आउँछ, तब त्यो कठिन बन्छ; कठिनाइ सुरु हुने बित्तिकै, तिनीहरू नकारात्मक बन्‍ने सम्भावना हुन्छ र तिनीहरूलाई समर्पित हुन सजिलो हुँदैन। त्यसैले, नोआको चरित्र अनि उसको साँचो आस्था र समर्पण, साँच्चै अनुकरणीय छ भन्‍ने कुरा स्पष्ट छ। त्यसोभए, के तिमीहरू अब परमेश्‍वरका वचन, आज्ञा र अपेक्षाहरूहरूको सामना गर्दा नोआले कस्तो प्रतिक्रिया र समर्पण देखाए भन्‍नेबारे प्रस्ट भयौ? यो समर्पण व्यक्तिगत विचारहरूले दूषित थिएन। नोआले दायाँबायाँ नलागी, या साना चतुर चालहरू नचाली वा चतुर बन्‍न नखोजी, आफूलाई उच्च नसोची र परमेश्‍वरलाई नै सुझाव दिन सक्ने नसम्झी, परमेश्‍वरका आज्ञाहरूमा आफ्‍नो विचार नथपी र आफ्‍ना असल अभिप्रायहरू नराखी आफैँबाट पूर्ण समर्पण, आज्ञाकारिता र परमेश्‍वरका वचनहरूको कार्यान्वयनको अपेक्षा गरेको थियो। पूर्ण समर्पण हासिल गर्ने प्रयास गर्दा गर्नुपर्ने अभ्यास यही होइन र?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्