परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई) खण्ड दुई
इ. ख्रीष्टविरोधीहरूको स्वभाव सार
आजको सङ्गतिको जोड मुख्यतः अझै पनि ख्रीष्टविरोधीहरूको स्वभाव सार ठ्याक्कै के हो भन्ने कुराको सारांश निकाल्नु हो। हामीले भर्खरै छलफल गरेका, मानिसका छ भ्रष्ट स्वभावहरूमध्ये कुन तीनलाई ख्रीष्टविरोधीहरूको स्वभाव सार भएका मानिसहरूलाई चित्रण गर्न अझ सही रूपमा प्रयोग गरिन्छ? (सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता।) हामीले दायरालाई घटाएर यी तीनमा सीमित गरेकाले, अघिल्ला तीन यस सङ्गतिको भाग हुनेछैनन्। त्यसोभए, के ख्रीष्टविरोधीहरूको स्वभाव सार भएका मानिसहरूमा हठीपन, अहङ्कार, र छलीपनका भ्रष्ट स्वभावहरूको कमी हुन्छ? (हुँदैन।) त्यसोभए अघिल्ला तीनलाई ख्रीष्टविरोधीहरूको स्वभाव सारलाई चित्रण गर्न किन प्रयोग नगर्ने? (किनभने साधारण भ्रष्ट मानिसहरूमा पनि ती अघिल्ला तीन स्वभाव हुन्छन्, र तिनले व्यक्तिको सारलाई प्रतिनिधित्व गर्दैनन्।) यो एकदमै सटिक सारांश हो। स्वभाव सारको विषयमा भन्नुपर्दा, अघिल्ला तीन भ्रष्ट स्वभाव, अनुपातमा तुलनात्मक रूपमा हल्का हुन्छन्, जबकि ख्रीष्टविरोधीहरूको स्वभाव सारको साँच्चै सारांश निकाल्न सक्ने चाहिँ पछिल्ला तीन हुन्—सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता। यी तीन भ्रष्ट स्वभावले ख्रीष्टविरोधीहरूको स्वभाव सारलाई अझ सही रूपमा चित्रण गर्न सक्छन्। अघिल्ला तीनलाई ख्रीष्टविरोधीहरूको सार चित्रण गर्न प्रयोग नगरिए पनि, ख्रीष्टविरोधीमा ती तीनै भ्रष्ट स्वभाव हुन्छन्, र ती आम मानिसहरूमा हुने भन्दा गम्भीर हुन्छन्। सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता सबैलाई तिनीहरूको हठीपनको सारांश निकाल्न र चित्रण गर्न, र तिनीहरूको हठीपनको हद वर्णन गर्नका लागि प्रयोग गर्न सकिन्छ। साथै, पछिल्ला तीन स्वभावलाई तिनीहरूको अहङ्कार र छलीपनको सारांश निकाल्न र चित्रण गर्न समान रूपमा प्रयोग गर्न सकिन्छ। ख्रीष्टविरोधीहरूको स्वभाव सारका मुख्य विशेषताहरू सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता हुन् भन्ने कुरा सुस्पष्ट छ।
क. दुष्टता
यी तीन भ्रष्ट स्वभावहरू—सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता—मध्ये ख्रीष्टविरोधीको स्वभाव सारभित्रको स्वभावको सबैभन्दा विस्तृत सारांश दुष्टता हो, र ख्रीष्टविरोधीको स्वभाव सारमा हुने सबैभन्दा आम स्वभाव यही हो। दुष्टतालाई किन ख्रीष्टविरोधीको स्वभाव सार वर्णन गर्न प्रयोग गरिन्छ? यदि ख्रीष्टविरोधीहरू निकै दुष्ट हुन्छन् भनेर भनिन्छ भने, तिनीहरूका सोचलाई मूल्याङ्कन गर्दा, तिनीहरूले हरदिन सोच्ने, बोल्ने, र गर्ने कुन कुराले तिनीहरू दुष्ट सार भएका मानिस हुन् भनेर प्रमाणित गर्छ? के यो मनन गर्नुपर्ने प्रश्न होइन र? (हो।) त्यसोभए, हामीले यी मानिसहरूमा साँच्चै दुष्ट सार छ कि छैन भनी ठम्याउन आफ्नो विश्लेषण र अवलोकन, तिनीहरूले के सोच्छन्, तिनीहरूको बोली र हाउभाउ, तिनीहरूले आफूलाई कस्तो आचरणमा ढाल्छन् र कसरी संसारसँग व्यवहार गर्छन् भन्ने कुराबाट सुरु गर्नुपर्छ। सुरुमा ख्रीष्टविरोधीहरूले हरेक दिन के सोच्छन् भन्ने कुरालाई हेरौँ। कतिपय मानिसले आफ्नो हृदयमा यस्तो सोच्ने गर्छन्: “मानिसहरूको यस समूहमाझमा मलाई सबैभन्दा सक्षम मानिँदैन, न त मसँग सबैभन्दा उच्च प्रतिभाहरू नै छन्, त्यसोभए मैले कसरी अझ धेरै लोकप्रियता पाउन, सबैको सम्मान जित्न, मेरा पुर्खाको नामलाई महिमित तुल्याउन, र आफ्नो शिरमाथि प्रभामण्डल पाउन सक्छु? मैले कसरी अरूलाई मनाएर तिनीहरूलाई मेरो कुरा सुन्न र मलाई उच्च नजरले हेर्न लगाउन सक्छु? हैसियत हुनु त राम्रो कुरा हो जस्तो देखिन्छ। कतिपय मानिसहरू साँच्चै इज्जतसाथ बोल्छन्, अरूलाई समस्याहरू आइपर्दा तिनीहरू उनीहरूकहाँ जान्छन्—मकहाँ चाहिँ किन कोही आउँदैन? किन कसैले पनि मलाई ख्याल गर्दैन? मसँग दिमाग, विचार, र आफ्ना कार्य गर्ने व्यवस्थित तरिका छ, र म मामिलाहरू सम्हाल्दा मूल्याङ्कन गर्न सक्छु—किन कसैले पनि मलाई ध्यान दिँदैन वा मलाई उच्च मान्दैन? म कहिले अरूभन्दा माथि पुग्नेछु? मानिसहरू कहिले मकहाँ मद्दत माग्दै आउनेछन् र मलाई समर्थन गर्नेछन्?” यी मानिसहरू केबारे सोचिरहेका छन्? तिनीहरू सकारात्मक कुराहरूबारे सोचिरहेका छन् कि नकारात्मक? (नकारात्मक कुराहरू।) कतिपय मानिसहरूले अरूहरूबीच एक-आपसमा राम्रो सम्बन्ध भएको देख्दा यस्तो सोच्ने गर्छन्: “तिनीहरूको सम्बन्ध कसरी यति राम्रो भयो? मैले कलहको बिउ छर्ने र तिनीहरूको सम्बन्धलाई बिगार्ने तरिका खोज्नुपर्छ; यसरी म एक्लिने छैन र मसँग सहयोगी हुनेछ।” यी मानिसहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले जुनसुकै विधि प्रयोग गरे पनि, मुख्य कुरा कलहको बिउ छर्नु नै हो। कसैले उत्साह र जोशसाथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जे गरे पनि ज्योति पाएको देख्दा, तिनीहरूले ईर्ष्या गर्छन् र त्यस व्यक्तिलाई कसरी कमजोर बनाउने, कसरी तिनीहरूको उत्साह मेटाउने र तिनीहरूलाई नकारात्मक महसुस गराउने भनी चिन्तन गर्छन्। यी विचारहरूलाई, व्यवहारमा उतारे वा नउतारे पनि, यी नकारात्मक विचार हुन्। यस्तो सोच्ने मानिसहरू पनि हुन्छन्: “नवनिर्वाचित अगुवाले मलाई कसरी हेर्छन्? म यस अगुवाको नजिक जानुपर्छ। हाम्रो सम्बन्ध त्यति राम्रो छैन, र हामी त्यति नजिक छैनौँ, त्यसैले मैले कसरी उनको चापलुसी गर्न सक्छु? मसँग हातमा केही पैसा छ, त्यसैले म उनलाई चाहिएको कुरा पत्ता लगाएर त्यो किनिदिनेछु। तर उनलाई कम्प्युटर चाहिएको छ भने, म त्यति पैसा खर्च गर्न इच्छुक छैनँ; यदि भविष्यमा उनी अगुवा रहेनन् भने, के त्यो पैसा खेर जानेछैन र? यदि उनलाई पन्जा वा लुगाजस्ता कुनै चीज चाहिएको छ भने, म त्यो किन्न सक्छु, र त्यो खर्च गर्न लायक छ। पैसालाई सही कुरामा खर्च गरिनुपर्छ, खेर फाल्नु हुँदैन। मैले खोक्रा शब्दले मात्र नभई वास्तविक कार्यले अगुवाको चापलुसी गर्नुपर्छ र उनलाई प्रसन्न पार्नुपर्छ—यो अगुवालाई के मन पर्छ भनेर मैले निरन्तर ख्याल राख्नुपर्छ। साथसाथै, म हरेक दिन खाना खाने बेलामा अगुवाका लागि खाना पस्किन मद्दत गर्नेछु र उनले खाना खाइसकेपछि भाँडा माझिदिनेछु। यदि अगुवाले कसैको आलोचना गरे भने, म पनि सँगसँगै लागेर उनको कुरा दोहोऱ्याउनेछु; यदि अगुवाले कसैको प्रशंसा गरे भने, म तुरुन्तै त्यस व्यक्तिलाई सिफारिस गर्नेछु र उसका सद्गुणहरूको प्रशंसा गर्नेछु।” यी मानिसहरू केबारे सोचिरहेका छन्? (अगुवालाई सन्तुष्ट पार्ने र उसको खुसामद गर्ने बारे।) परमेश्वरको घरमा काम गर्दै गर्दा, कतिपयले यस्तो पनि सोच्ने गर्छन्: “अरूले कडा मेहनत र इमानदारीसाथ काम गर्छन्। म चलाख हुनुपर्छ, म मूर्ख हुनु हुँदैन, र मैले आफैँलाई धेरै मेहनत गराउनु हुँदैन। भविष्यमा परमेश्वरको घरलाई मेरो आवश्यकता परेन भने, यो सब मेहनत खेर जानेछैन र? के मैले बित्थैमा मेहनत गरिरहेको हुनेछैन र? तर यदि मैले काम गर्दै गरिनँ भने, परमेश्वरको घरले मलाई धपाउनेछ। मैले के गर्ने? अगुवा उपस्थित हुँदा, म पूरै मेहनतसाथ काम गर्नेछु, पसिना बगाउनेछु, र अगुवालाई देखाउनेछु; ऊ आसपास नभएको बेला, म शौचालयतिर जानेछु, पानी पिउनेछु, डुल्न निस्कनेछु, वा कुनातिर गएर आराम गर्नेछु। यदि अरूले तीन बेल्चा माटो खने भने, मचाहिँ आधा बेल्चा मात्र खन्नेछु; यदि अरूले सामान बोकेर चार-पाँच चोटि ओहोरदोहोर गरे भने, म एक चोटि मात्र गर्नेछु। मौका पाउनेबित्तिकै आराम गर्नेछु र अल्छी गर्नेछु। म त्यति भोलो मनको हुनुहुन्न; धेरै मेहनत गरेर म बिरामी परेँ वा थकित भएँ भने, मलाई कसले बिचरा भन्नेछ? मेरो बिमारीको उपचार कसले गर्नेछ? के ती अगुवाले गर्नेछन्? के परमेश्वरले त्यसलाई सम्हाल्नुहुनेछ? के यी कुराका लागि परमेश्वर जिम्मेवार हुनुहुनेछ? त्यसकारण, मैले काम गर्दा, कता चाहिँ सबैभन्दा बढी देखिने गरी काम गर्न सक्छु भनेर पत्ता लगाउनुपर्छ। अल्छी गर्न मन लाग्यो भने, म फेला पर्ने सबैभन्दा कम सम्भावना कहाँ छ, मैले ध्यान आकर्षित गर्ने सबैभन्दा कम सम्भावना कहाँ छ भनेर पत्ता लगाउनुपर्छ।” यी मानिसहरू केबारे सोचिरहेका छन्? (काममा अल्छी गर्ने र धूर्त हुनेबारे।)
१. ख्रीष्टविरोधीहरूले मानिसहरूलाई के गर्छन्
दिनभरि दुष्ट विचार हुने मानिसहरूको चरित्र कस्तो हुन्छ? न्यून निष्ठा र कपटीपन भएको हुन्छ। तिनीहरूको स्वभावलाई मूल्याङ्कन गर्दा, यो के हो? (दुष्टता।) तिनीहरूले सोच्ने यी कुराहरूको प्रकृतिमा कुनै सत्यनिष्ठा छ? के त्यसमा भद्र, खुल्ला, र निष्कपट सुनिने कुनै कुरा छ? के त्यसमा कुनै राम्रो कुरा छ? (अहँ, केही पनि छैन।) त्यसोभए, संक्षेपमा भन्नुपर्दा, ख्रीष्टविरोधीको सार भएका मानिसहरूको दुष्ट स्वभावमा प्रकट हुने पहिलो कुरा भनेको तिनीहरूले दिनभरि दुष्टताबारे मात्रै सोच्छन्। तिनीहरूले चाहे ठूलै समस्या सामना गरून् वा सानोतिनो, तिनीहरूका विचार दुष्टताले भरिएका हुन्छन्। ठ्याक्कै भन्नुपर्दा, तिनीहरूले मानिसहरूलाई निश्चित कुराहरू गर्छन्, र तिनीहरूमा परमेश्वरप्रति फरक-फरक प्रकटीकरण र अभ्यासहरू हुन्छन्। त्यसोभए, तिनीहरूले मानिसहरूलाई के-कस्ता कुरा गर्छन्? तिनीहरूका विचारमा के-कस्ता अभ्यासहरू विकसित हुन्छन्? अहिले भर्खरै उल्लेख गरिएका कैयौँ उदाहरणहरूमा, के तिमीहरूले यस्तो व्यक्तिले कसरी निरन्तर अरूविरुद्ध षड्यन्त्र गरिरहेको हुन्छ भनेर देख्न सक्छौ? तिनीहरूले लगातार षड्यन्त्र रच्छन्, र तिनीहरूसँग व्यवहार गर्ने वा सम्पर्कमा आउने जोकोही पनि तिनीहरूको षड्यन्त्रको सिकार बन्छ। दोस्रो, कामकुरा गर्दा तिनीहरू कहिलेकाहीँ नबोल्ने भए पनि, तिनीहरूका कार्यका तरिका, विधि, र उत्प्रेरणाहरू सच्चा हुँदैनन्, र तिनीहरूले सत्यता अभ्यास गरिरहेका हुँदैनन्—यो एउटा भ्रामक स्वरूप मात्र हो। यसको प्रकृति के हो, र यो अभ्यास के हो? यो छल र ढोँग हो, र तिनीहरूले अरूलाई जाँच पनि गरिरहेका हुन्छन्। तिनीहरूले ढोँग गर्न र मानिसहरूलाई ठग्न सक्ने हुनाले, के तिनीहरूले मानिसहरूलाई प्रलोभनमा पार्न र बहकाउन पनि सक्छन् त? (हो, सक्छन्।) साथै, यस्तो खालको व्यक्ति हैसियत, प्रतिष्ठा, इज्जत, र आफ्नै हितका लागि अरूसँग निरन्तर सङ्घर्षमा संलग्न भइरहेको हुन्छ। तिनीहरू ख्याति, कसको अन्तिम निर्णय हुन्छ, कोसँग धेरै विचारहरू छन्, कसका राय धेरै बुद्धिमानीपूर्ण र तर्कसङ्गत छन्, कसलाई सबैले धेरै समर्थन गर्छन्, र कसले धेरै लाभ हासिल गर्न सक्छ भन्ने कुराका लागि लडाइँ गर्छन्—तिनीहरू यिनै कुराका लागि प्रतिस्पर्धा गर्छन्। आफूसँग हैसियत नभए पनि, तिनीहरू यसरी मानिसहरूविरुद्ध षड्यन्त्र रच्छन्, त्यसोभए तिनीहरूसँग हैसियत भएको बेला चाहिँ के गर्छन् त? त्यतिबेला, तिनीहरूको प्रभुत्वअन्तर्गत रहेका मानिसहरू निरन्तर सास्तीमा परिरहेका हुन्छन्; तिनीहरूले सत्यतालाई प्रेम नगर्नेहरूलाई आकर्षित गर्छन् र तिनीहरूको मन जित्छन्, अनि तिनीहरूले सत्यता स्विकार्न सक्नेहरूलाई आक्रमण र बहिष्कार गर्छन्, जसको उद्देश्य सबैलाई आफ्नो कुरा सुन्न र पालन गर्न लगाउनु हो; तिनीहरूले जहिल्यै गुट बनाइरहेका र समूहहरूमा कलहको बिउ छरिरहेका, र अन्त्यमा सबैलाई आफ्नो स्वामित्वमा ल्याइरहेका हुन्छन्। यी सबै कुराहरू तिनीहरूको सास्तीको दायराभित्र पर्छन्। ख्रीष्टविरोधीहरूले दिनभरि दुष्टताबारे सोचिरहेका हुन्छन्, र तिनीहरूले प्रकट गर्ने हरेक स्वभाव दुष्ट हुन्छ। त्यसोभए, के त्यस्ता मानिसहरूको स्वभाव दुष्ट हुन्छ भनेर भन्नु सही हुन्छ? (हो, हुन्छ।) सबैलाई आफ्नो स्थान थाहा हुने, आफ्नै काममा लागिरहने, र आफूले गर्नुपर्ने कार्य गर्ने मानिसहरूको समूहमा ख्रीष्टविरोधी देखा पर्नेबित्तिकै, उसले भित्रैबाट कलहको बिउ छर्छ, र एउटा व्यक्तिको अगाडि अर्को व्यक्तिका बारेमा नराम्रो बोल्छ, र ठ्याक्कै त्यसको विपरित पनि गर्छ, र ती दुई व्यक्तिलाई जुधाइदिन्छ। के यो कलहको बिउ छर्नुको नतिजा होइन? त्यसोभए, ख्रीष्टविरोधीको षड्यन्त्रका केही प्रकटीकरणहरू के-के हुन्? उदाहरणका लागि, जब मण्डलीमा चुनाव हुन्छ, तब महत्त्वाकाङ्क्षा विनाका साधारण मानिसहरूले यस्तो सोच्न सक्छन्, “जोसुकै चुनिए पनि, म उसप्रति समर्पित हुनेछु; परमेश्वरले जोकोहीलाई अगुवा बन्ने अनुमति दिनुहुन्छ, म उसैलाई समर्थन गर्नेछु, र म कसैका लागि झन्झट बन्नेछैनँ वा समस्या खडा गर्नेछैनँ।” तर खराब अभिप्राय बोकेकाहरूले यसरी सोच्दैनन्। यस चुनावमा आफूले जित्ने अलिकति पनि आशा नरहेको देखे भने, तिनीहरू मनमनै लेखाजोखा गर्न थाल्छन्: “मैले सबैका लागि राम्रा कुराहरू किनिदिनुपर्छ। आजकल मण्डलीमा के कुराको कमी छ? म वायु-शोधक यन्त्र किन्नेछु र त्यसलाई भेला हुने स्थानमा राखिदिनेछु, ताकि सबैले स्वच्छ हावा लिँदा मलाई याद गरून्। यसरी, चुनावको समय आउँदा के म तिनीहरूले याद गर्ने पहिलो उम्मेदवार हुनेछैन र? त्यसकारण, मैले व्यर्थैमा कार्य वा पैसा खर्च गरिरहेको हुनेछैनँ।” यो सोचेर, तिनीहरूले तुरुन्तै सबैभन्दा सस्तो र हेर्नमा राम्रो वायु-शोधक यन्त्र किन्छन्। त्यसका साथै, तिनीहरूले सोच्छन्: “यस समयावधिमा, म होसियार हुनुपर्छ। मैले गलत कुराहरू बोल्नुहुन्न, र मैले नकारात्मक र अरूका लागि शिक्षाप्रद नहुने कुराहरू गर्नुहुन्न; मानिसहरू भेट्दा मैले चापलुसीपूर्ण शब्दहरू बोल्नुपर्छ र ‘तिमी निकै सुन्दर देखिएका छौ! तिमीले साँच्चै सत्यता पछ्याइरहेका छौ! तिमीले मैले जति लामो समयसम्म परमेश्वरमा विश्वास नगरेका भए पनि, तिमीले मभन्दा धेरै सत्यता पछ्याएका छौ। तिम्रो मानवता असल छ, र तिमीजस्ता असल मानवता भएका मानिसहरूले मुक्ति पाउन सक्छन्—मजस्तोले चाहिँ सक्दैन’ भन्ने जस्ता कुराहरू गर्दै अरूको बारम्बार प्रशंसा गर्नुपर्छ। म विनम्र देखिनुपर्छ र अरूलाई सबै पक्षमा आफूभन्दा राम्रो भन्दै तिनीहरूको प्रशंसा गर्नुपर्छ, र अरूलाई पर्याप्त सम्मान पाएको महसुस गराउनुपर्छ।” के यो षड्यन्त्र रच्नु होइन र? ख्रीष्टविरोधीहरूले यस्ता कुराहरू सजिलै गर्छन्; साधारण मानिसहरूले तिनीहरूलाई उल्टै दाउपेचमा जित्न सक्दैनन्। गैरविश्वासीहरूमाझ भनिने भनाइ के हो? (तँलाई कसैले बेच्यो, तैपनि तँ त्यसैलाई पैसा गन्न सघाउँछस्।) ख्रीष्टविरोधीहरूले यस्ता कुराहरू गर्छन्, र धेरैजसो मानिस तिनीहरूको धोका र षड्यन्त्रको सिकार हुन्छन्।
मलाई भन त, के ख्रीष्टविरोधीहरूले काटछाँट स्विकार्छन्? के तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको कुरा स्विकार्छन्? (अहँ, तिनीहरूले स्विकार्दैनन्।) तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको कुरा स्विकार्दैनन्, तर काटछाँट गरिएपछि पनि तिनीहरू आफूलाई चिन्ने ढोँग गर्छन्। तिनीहरू मानवतारहित र कमजोर क्षमताका दियाबलस र शैतान हौँ, र कामकुरालाई राम्रोसँग ख्याल गर्न सक्दैनौँ, मण्डलीले प्रबन्ध गरेका कार्यहरू गर्न अयोग्य छौँ, र आफ्ना कर्तव्य राम्ररी निर्वाह गरेका छैनौँ भनेर भन्छन्। त्यसपछि, तिनीहरूले अधिकांश मानिसहरूको अगाडि आफ्नो भ्रष्ट स्वभाव स्विकार्छन्, आफू दियाबलस भएको स्विकार्छन्, र अन्त्यमा, यो परमेश्वरले तिनीहरूलाई शोधन गरिरहनुभएको र मुक्ति दिइरहनुभएको हो भन्छन्, र यसो गरेर मानिसहरूलाई तिनीहरू काटछाँट स्विकार्न कति सक्षम छन् र तिनीहरू सत्यताप्रति कति समर्पित छन् भन्ने कुरा देखाउँछन्। तिनीहरू आफूलाई किन काटछाँट गरिएको हो वा आफ्ना कार्यले मण्डलीको कामलाई कति हानि र नोक्सान पुऱ्याएको छ भन्ने कुरा उल्लेख गर्दैनन्। तिनीहरू मानिसहरूलाई परमेश्वरको घरले आफूमाथि गरेको काटछाँट अनुपयुक्त र अन्यायपूर्ण छ भनी गलत अर्थ लगाउने तुल्याउन यी मामिलाहरूदेखि टाढै बस्छन् र खोक्रा वचन, धर्मसिद्धान्त, कुतर्क, र व्याख्यात्मक टिप्पणीहरू बोल्छन्, मानौँ तिनीहरूले कुनै ठूलो अन्याय भोगेका छन्। काटछाँट गरिएपछि पनि तिनीहरू हृदयमा जब्बर रहन्छन्, आफ्ना कुनै पनि विविध दुष्ट कार्यहरूलाई अलिकति पनि स्विकार्दैनन्। त्यसोभए, आफ्नो भ्रष्ट स्वभाव स्विकार्ने, सत्यता स्विकार्न इच्छुक हुने, र काटछाँटमा समर्पित हुन सक्ने भन्नेबारे तिनीहरूले गरेको सङ्गतिका यी शब्दहरू के हुन् त? के यी तिनीहरूका साँचो भावना हुन्? बिलकुलै होइनन्। ती सब मानिसहरूलाई बहकाउन र प्रलोभनमा पार्नका खातिर बोलिएका झूट, ढोँग, दुष्ट शब्दहरू हुन्। तिनीहरूले मानिसहरूलाई बहकाउनुको उद्देश्य के हो? (मानिसहरूलाई तिनीहरूको आराधना गर्न र तिनीहरूलाई पछ्याउन लगाउनु।) ठ्याक्कै यही हो, यसको उद्देश्य मानिसहरूलाई बहकाउ र प्रलोभनमा पारेर आफूलाई पछ्याउन र सुन्न लगाउनु, र सबैलाई आफू सही र असल भएको सोच्न लगाउनु हो। यसरी, तिनीहरूलाई कसैले पनि छर्लङ्गै देख्न वा तिनीहरूको विरोध गर्न सक्दैन। त्यस विपरीत, मानिसहरूले तिनीहरू सत्यता स्विकार्ने, काटछाँट स्विकार्ने, र पश्चात्ताप गर्ने मानिस हुन् भनेर विश्वास गर्छन्। त्यसोभए, तिनीहरूले किन आफ्ना दुष्ट कार्यहरू वा आफूले परमेश्वरको घरको काममा पुऱ्याएका नोक्सानीलाई स्विकार्दैनन्? तिनीहरूले किन यी मामिलाहरूलाई सङ्गति गर्नका लागि सार्वजनिक गर्दैनन्? (यदि तिनीहरूले यी कुरा भन्ने हो भने, मानिसहरूले तिनीहरूलाई खुट्ट्याउने थिए।) यदि मानिसहरूले तिनीहरूलाई खुट्ट्याउने, छर्लङ्ग देख्ने, र तिनीहरूको मानवता र स्वभाव सार छर्लङ्ग देख्ने हो भने, उनीहरूले तिनीहरूलाई त्याग्ने थिए। के उनीहरू अझै पनि तिनीहरूका छलकपटमा परेर बहकिने थिए त? के उनीहरूले अझै पनि तिनीहरूलाई उच्च सम्मान दिनेथिए त? के उनीहरूले अझै पनि तिनीहरूको अचाक्ली प्रशंसा गर्नेथिए त? के उनीहरूले अझै पनि तिनीहरूको आराधना गर्नेथिए त? उनीहरूले यीमध्ये केही पनि गर्नेथिएनन्। ख्रीष्टविरोधीहरूले आफूलाई चिनेको नाटक गर्छन्, तर वास्तवमा, यो सब मानिसहरूलाई बहकाउन र आफ्ना लागि खडा गराउन रचिएका मिथ्या र आत्म-स्पष्टीकरण हुन्, जुन तिनीहरूको गुप्त मनसाय हो। तिनीहरू मानिसहरूलाई बहकाउन र प्रलोभनमा पार्न, आफूलाई सम्मान र आराधना गर्न लगाउन महत्त्वपूर्ण मामिलाहरूलाई छल्छन् र आफैलाई चिन्ने र काटछाँट स्विकार्ने कुराबारे हल्का रूपमा कुरा गर्छन्। के यो विधि निकै दुष्ट छैन र? कतिपय मानिसहरू साँच्चै यो कुराको छलमा पर्छन्, र ख्रीष्टविरोधीहरूद्वारा बहकाइएपछि यसो भन्छन्, “त्यो व्यक्ति कस्तो राम्ररी बोल्छ—म निकै उत्प्रेरित भएँ। म धेरै पटक रोएँ!” त्यतिबेला, यी मानिसहरूले तिनीहरूलाई निकै आराधना गर्छन् र आदरभावले हेर्छन्, तर अन्त्यमा तिनीहरू ख्रीष्टविरोधी निस्कन्छन्; यो ख्रीष्टविरोधीहरूले अरूलाई बहकाउनु र प्रलोभनमा पार्नुको नतिजा हो। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई यसरी नै बहकाउन सक्छन्, र यसको फन्दामा पर्ने र ठगिने मानिसहरूको कुनै कमी हुँदैन। यदि यस मामिलामा कसैले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्छ भने, ऊ सत्यता बुझ्ने र सुझबुझ भएको मान्छे हो।
ख्रीष्टविरोधीहरूले मानिसहरूलाई प्रायः सास्ती दिने गर्छन्। तिनीहरूको एउटा प्रख्यात भनाइ छ, त्यो हो: “हे साना प्यारा, तँ मसामु नझुक्ने हुनाले, म तँलाई एक-दुई चालमै घुँडा टेकाएर मेरो आराधना गर्न लगाउनेछु—यदि तँ झुकिनस् भने म तँलाई मृत्युदण्ड दिनेछु!” ख्रीष्टविरोधीहरूले के गर्न चाहन्छन्? तिनीहरू मानिसहरूलाई सास्ती दिन चाहन्छन्। तिनीहरू कस्ता मानिसहरूलाई सास्ती दिन चाहन्छन्? तैँले तिनीहरूलाई पालना गरिस्, तिनीहरूको खुसामद गरिस्, र तिनीहरूको आराधना गरिस् भने, के तिनीहरूले तँलाई सास्ती दिनेछन्? यदि तँ तिनीहरूप्रति विनम्र र आज्ञाकारी छस्, यदि तिनीहरूले तँलाई खतराका रूपमा लिँदैनन्, तँलाई निकम्मा वा दास ठान्छन् भने, तिनीहरूले तँलाई सास्ती दिने कष्ट लिनेछैनन्। यदि तिनीहरूले कुनै खराब काम वा दुष्ट कार्यहरू गरे भने, यदि तिनीहरूले आफूलाई खुट्ट्याउने, आफ्नो खुलासा र पर्दाफास गरिदिने, आफूलाई आफ्नो पदबाट तानेर तल झारिदिने, आफ्नो प्रतिष्ठालाई बर्बाद गरिदिने र आफ्ना कार्यलाई कमजोर पारिदिने कोही भेटे भने, तिनीहरूले त्यस व्यक्तिलाई कसरी सास्ती दिने भनी सोच्नेछन्। ख्रीष्टविरोधीहरूले लहडमै मानिसहरूलाई सास्ती दिने गर्दैनन्; बरु, तिनीहरूले निरन्तर मानिसहरूलाई निरीक्षण र परीक्षण गरिरहेका हुन्छन्, र पिठ्यूँपछाडि तिनीहरूका बारेमा कसले नराम्रो बोलिरहेको छ, को तिनीहरूसामु झुक्दैन, कसले तिनीहरूका कार्यलाई खुट्ट्याउँछ, कसले तिनीहरूलाई ध्यान दिँदैन, र कसले तिनीहरूसँग घुलमिल गर्न अस्वीकार गर्छ भनेर हेरिरहेका हुन्छन्। केही बेर निरीक्षण गरेर दुई वा तीनजना त्यस्ता व्यक्तिहरू भेट्टाएपछि, तिनीहरूले भेलामा ती मानिसहरूका समस्याबारे सङ्गति गर्न थाल्छन्। तिनीहरूले भन्ने कुरा सतहमा सही देखिए पनि, वास्तवमा यो कारण र उद्देश्यसाथ कसैप्रति लक्षित हुन्छ। त्यो कारण के हो? तिनीहरूले राम्ररी अनुसन्धान गरिसकेका हुन्छन्; यी व्यक्तिहरू तिनीहरूसामु झुक्दैनन्, र उनीहरूले तिनीहरूलाई खुट्ट्याउँछन्, सधैँ तिनीहरूको खुलासा र पर्दाफास गर्ने, तिनीहरूलाई कार्यालयबाट निकाल्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूले ती व्यक्तिहरूलाई चेतावनी दिन, खबरदारी गर्न यी कुराहरू भन्छन्। यदि ती व्यक्तिहरू पछि हटे र अघि बढिरहने आँट गरेनन् भने, र सबथोक ख्रीष्टविरोधीहरूकै चाहनाअनुसार भयो भने, ख्रीष्टविरोधीहरूले उनीहरूलाई बेवास्ता गर्छन्। तर यदि ती व्यक्तिहरूले पहिलेजस्तै गरिरहे, तिनीहरूसँग घुलमिल हुन अस्वीकार गरे अनि अझै पनि तिनीहरूको पर्दाफास गर्ने, तिनीहरूलाई माथिलाई रिपोर्ट गर्ने, र उनीहरूलाई कार्यालयबाट निकाल्ने मनसाय राखिरहे भने, उनीहरू ख्रीष्टविरोधीहरूको सास्तीको अर्को निसाना बन्छन्। तिनीहरूले अन्य तरिकाहरूबारे सोच्छन्, र झनै सशक्त र कठोर विधिहरू अपनाउँछन्, तिनीहरूका कमीकमजोरीको फाइदा उठाउने तरिकाहरू सोच्ने र तिनीहरूलाई सास्ती दिने अवसरहरू खोज्ने गर्छन्, र तिनीहरूलाई मण्डलीबाट निष्कासित नगरिएसम्म रोकिँदैनन्। ख्रीष्टविरोधीहरूले असहमत हुनेहरूलाई यस्तै प्रकारको सास्तीको स्वाद चखाउँछन्, र आफ्नो लक्ष्य हासिल नभएसम्म आराम गर्दैनन्। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई सास्ती दिन प्रयोग गर्ने विधिहरू क्रूर हुन्छन्। तिनीहरूले सुरुमा कुनै बहाना खोज्छन् र मानिसहरूलाई बिल्ला भिराउँछन्, अनि त्यसपछि तिनीहरूलाई सास्ती दिन थाल्छन्, र मानिसहरूले तिनीहरूको पालन नगरेसम्म र तिनीहरूसामु पूर्ण रूपमा नझुकेसम्म रोकिँदैनन्—नत्र त्यो सकिएकै हुँदैन। ख्रीष्टविरोधीहरूले गुट निर्माण गर्ने र मण्डलीलाई नियन्त्रण गर्ने उद्देश्यसाथ मण्डलीमा सधैँ कलहको बिउ छर्छन् र गिरोहहरू बनाउँछन्। के यो आम रूपमा घट्ने घटना होइन र? ख्रीष्टविरोधीहरूले गिरोहहरू बनाउँछन्, कलहको बिउ छर्छन्, मानिसहरूलाई आफूतिर तान्छन्, आफ्ना लागि फाइदाजनक, आफ्ना लागि बोलिदिन सक्ने, आफ्ना दुष्ट कार्यहरू ढाकछोप गरिदिने, र महत्त्वपूर्ण क्षणहरूमा आफ्नो प्रतिरक्षा गरिदिने मानिसहरूसँग मिलेर षड्यन्त्र रच्छन्। तिनीहरूले यी मानिसहरूलाई आफ्ना लागि कामकुरा गर्न लगाउँछन्, अरूको रिपोर्ट ल्याउन र आफ्नो दूत बन्न समेत लगाउँछन्। यदि तिनीहरूसँग हैसियत छ भने, यो समूह तिनीहरूको स्वतन्त्र राज्य बन्छ। यदि तिनीहरूसँग हैसियत छैन भने, तिनीहरू र तिनीहरूको समूहले मण्डलीभित्र एउटा शक्ति निर्माण गर्छन्, मण्डलीको सामान्य कामकारवाहीमा बाधा दिन्छन् र हस्तक्षेप गर्छन्, र मण्डलीको सामान्य जीवनमा र काममा बाधा दिन्छन्।
ख्रीष्टविरोधीहरूको दुष्ट सारको सबैभन्दा आम प्रकटीकरण भनेको तिनीहरू ढोँग र पाखण्डमा निकै निपुण हुनु हो। तिनीहरूको स्वभाव अत्यन्तै क्रूर, कपटी, घातक, र अहङ्कारी भए पनि, तिनीहरूले आफूलाई बाहिरी रूपमा निकै विनम्र र सौम्य देखाउँछन्। के यो ढोँग होइन र? यी मानिसहरू हरेक दिन आफ्नो हृदयमा यस्तो सोच्दै चिन्तन गर्छन्, “मैले आफूलाई झनै इसाई, झनै सम्माननीय, झनै आत्मिक, झनै बोझ बोकेको, र झनै अगुवाजस्तो देखाउन कस्तो लुगा लगाउनुपर्छ? मैले मानिसहरूलाई आफू पर्याप्त रूपमा परिष्कृत, शिष्ट, मर्यादित र भद्र छु भनी महसुस गराउन कसरी खाना खानुपर्छ? मैले नेतृत्व र आकर्षणको भाव ल्याउन, साधारण नभई असाधारण व्यक्तिजस्तो देखिन कस्तो हिँड्ने मुद्रा अपनाउनुपर्छ? अरूसँग कुराकानी गर्दा, कस्तो लबज, शब्दावली, रूप, र मुखाकृतिले मानिसहरूलाई म सामाजिक उच्च खानदान वा उच्चपदस्थ बुद्धिजीवीजस्तो उच्च वर्गको हुँ भन्ने महसुस गराउन सक्छ? मेरो पोशाक, शैली, बोली, र व्यवहारले कसरी मानिसहरूलाई मलाई उच्च सम्मान गर्ने तुल्याउन, तिनीहरूमा अमिट छाप छोड्न, र म सदाका लागि तिनीहरूका हृदयमा रहिरहन सुनिश्चित गर्न सक्छ? मैले मानिसहरूको मन जित्न र तिनीहरूलाई न्यानोपन दिन, र चिरस्थायी छाप छोड्न के भन्नुपर्छ? मैले अरूलाई मद्दत गर्न र अरूबारे राम्रो बोल्न अझ धेरै गर्नैपर्छ, परमेश्वरका वचनहरूबारे बारम्बार बोल्नैपर्छ र मानिसहरूसामु केही आत्मिक शब्दहरू प्रयोग गर्नैपर्छ, अरूलाई परमेश्वरका थप वचनहरू पढेर सुनाउनैपर्छ, तिनीहरूका लागि अझ धेरै प्रार्थना गर्नैपर्छ, मानिसहरूलाई कान थापेर मेरो कुरा सुन्न लगाउन सानो स्वरमा बोल्नैपर्छ, र तिनीहरूलाई म सौम्य, ख्याल राख्ने, माया गर्ने, दिलदार, र क्षमाशील छु भन्ने महसुस गराउनैपर्छ।” के यो ढोँग होइन र? ख्रीष्टविरोधीहरूको हृदय यिनै सोचहरूले ओगटिएको हुन्छ। तिनीहरूका सोचभरि अरू केही नभई गैरविश्वासी संसारका प्रचलनहरू हुन्छन्, जसले तिनीहरूका सोच र दृष्टिकोण संसार र शैतानका हुन् भनेर पूर्णतः सङ्केत गर्छ। कतिपय मानिसले गोप्य रूपमा वेश्या वा दुराचारी महिलाले जस्तै लुगा लगाउलान्; तिनीहरूको पहिरनले विशेष गरी दुष्ट प्रवृत्तिहरू पूरा गर्छ र त्यो निकै चल्तीको हुन्छ। तर, जब तिनीहरू मण्डलीमा आउँछन्, तब ब्रदर-सिस्टरहरूमाझ तिनीहरूको पहिरन र चालढाल पूर्णतः फरक हुन्छ। के तिनीहरू ढोँग गर्नमा एकदमै निपुण छैनन् र? (छन्।) ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा चिन्तन गर्ने कुरा, तिनीहरूले गर्ने कुरा, तिनीहरूका विविध प्रकटीकरण, र तिनीहरूले प्रकट गर्ने स्वभाव सबैले तिनीहरूको स्वभाव सार दुष्ट छ भनेर चित्रण गर्दछन्। ख्रीष्टविरोधीहरू सत्यता, सकारात्मक कुरा, सही मार्ग, वा परमेश्वरका मागहरूबारे चिन्तन गर्दैनन्। तिनीहरूका सोच, र तिनीहरूले छनोट गर्ने तरिका, विधि, र उद्देश्य सब दुष्ट हुन्छन्—ती सबै सही मार्गबाट विचलित हुन्छन् र सत्यतासँग मिल्दैनन्। ती सत्यताविरुद्ध समेत जान्छन्, र तिनलाई सामान्यतया दुष्टताका रूपमा सारांशीकृत गर्न सकिन्छ; यति मात्र हो कि यस दुष्टताको प्रकृति दुष्ट हुन्छ—त्यसैले, यसलाई समग्रमा दुष्टता भनिन्छ। तिनीहरू इमानदार व्यक्ति बन्ने, शुद्ध र खुल्ला हुने, वा निष्कपट र बफादार हुनेबारे चिन्तन गर्दैनन्; बरु तिनीहरू दुष्ट विधिहरूबारे सोच्ने गर्छन्। उदाहरणका लागि, आफूबारे शुद्ध तरिकाले खुलस्त बताउन सक्ने कुनै व्यक्तिलाई लिऔँ, जुन सकारात्मक कुरा र सत्यता अभ्यास गर्नु हो। के ख्रीष्टविरोधीहरू यसो गर्छन्? (गर्दैनन्।) तिनीहरू के गर्छन्? तिनीहरू निरन्तर रूपमा ढोँग गरिरहेका हुन्छन्, अनि जब तिनीहरू कुनै खराब कुरा गर्छन् र तिनीहरूको चर्तिकला पर्दाफास हुन थाल्छ, तब तिनीहरू त्यो उग्र रूपले लुकाउँछन्, आफ्नो सफाइ दिन्छन् र आफ्नो बचाव गर्छन्, र तथ्यहरू ढाकछोप गर्छन्—त्यसपछि तिनीहरू अन्ततः आफ्ना कारणहरू दिन्छन्। के यीमध्ये कुनै पनि अभ्यास सत्यता अभ्यास गर्नुसमान हुन्छन्? (हुँदैनन्।) के तीमध्ये कुनै सत्यता सिद्धान्तहरूअनुरूप हुन्छन्? झनै हुँदैनन्।
भर्खरै, हामीले ख्रीष्टविरोधीहरूको स्वभाव सारको पहिलो पक्ष—दुष्टताबारे सङ्गति र त्यसको चिरफार गऱ्यौँ। हामीले ख्रीष्टविरोधीहरूले दिनभरि सोच्ने कुराको चिरफारबाट सुरु गऱ्यौँ, र ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव चिरफार गर्न तिनीहरूका सोच, दृष्टिकोण, र तिनीहरूले विविध मामिलाहरूप्रति दिने प्रतिक्रियाका तरिका र विधिहरू प्रयोग गऱ्यौँ। हामीले ख्रीष्टविरोधीहरूले आफ्ना सोचमा रहेका कुराका आधारमा गर्ने विभिन्न कुराको प्रकृतिलाई पनि चिरफार गऱ्यौँ। हामीले यी घटनाहरूमार्फत प्रकट भएका तिनीहरूको स्वभाव सार चिरफार गर्न केही उदाहरण पनि दियौँ। यी उदाहरणका सन्दर्भमा भन्नुपर्दा, के तिमीहरूले यी व्यवहार देखाउने र यी स्वभाव प्रकट गर्नेहरूमाझ तुलनात्मक रूपमा असल मानवता भएको कोही देखेका छौ? यस्ता प्रकाश र प्रकटीकरणहरू भएको व्यक्तिको कुरा गर्नुपर्दा, के तिनीहरूका चरित्रमा इमानदारी, भलाइ, सरलता, निष्कपटता, सत्यनिष्ठा इत्यादि हुन्छ? (हुँदैन।) स्पष्टतः तिनीहरूमा यी गुणहरू हुँदैनन्। त्यसको विपरित, तिनीहरूको चरित्र कपटी, निर्दयी, झुट बोल्ने बानी भएको, स्वार्थी, दुष्ट, र सम्मानबोध नभएको हुन्छ। तिनीहरूको चरित्रका यी विशेषताहरू निकै सुस्पष्ट छन्। दिनभरि नै दुष्ट सोच पाल्ने, र विभिन्न दुष्ट कुराहरू गर्न सक्नेहरू सबैमा एकदमै खराब चरित्र हुन्छ भनेर सही रूपमा भन्न सकिन्छ। यो कुन हदसम्म खराब हुन्छ? यसमा विवेक, निष्ठा, र विशेष गरी सामान्य चेतनाको कमी हुन्छ। के यी कुराहरू नभएका मानिसहरूलाई मानव मान्न सकिन्छ? यी कुराहरू नभएका मानिसहरू मानव होइनन् भनेर निश्चिततासाथ भन्न सकिन्छ; तिनीहरूले मानवको बाहिरी खोल ओढेका मात्र हुन्छन्। कतिपयले सोध्लान्, “के यो त भेडाका भेषमा ब्वाँसोजस्तै होइन र?” त्यो त एउटा रूपक मात्र हो। भेडाका भेषमा ब्वाँसा के हुन्? ती मूलतः ब्वाँसा नै हुन्। के ब्वाँसा र दियाबलस वा ख्रीष्टविरोधीहरूबीच कुनै सारगत भिन्नता छ? ब्वाँसोले गाईवस्तु र भेडाको सिकार गर्छ र तिनलाई खान्छ, तर लोभले गर्दा नभई परमेश्वरले निर्धारित गरेको प्रकृतिले गर्दा गर्छ। तर ब्वाँसाहरूमा एउटा यस्तो कुरा हुन्छ, जुन ख्रीष्टविरोधीहरूमा हुँदैन। यदि कसैले ब्वाँसोलाई दत्तक लिन्छ र हुर्काउँछ वा त्यसको ज्यान बचाएको छ भने, त्यो ब्वाँसोले त्यस व्यक्तिलाई कहिल्यै हानि गर्नेछैन र कृतज्ञता देखाउनेछ। त्यसको विपरीत, ख्रीष्टविरोधीहरूले परमेश्वरको अनुग्रह, अगुवाइ, र परमेश्वरका वचनहरूको भरणपोषण पाउँछन्, तर तिनीहरू सबथोकमा परमेश्वरविरुद्ध षड्यन्त्र रच्छन्, सधैँ उहाँको विरोध गर्छन् र उहाँसँग वैमनस्यता साँध्छन्। तिनीहरू परमेश्वरले गर्ने कुनै पनि कुरामा समर्पित हुन सक्दैनन्; तिनीहरू त्यसप्रति आमेन भन्न सक्दैनन्—तिनीहरू विरोध गर्न चाहन्छन्। के ख्रीष्टविरोधीहरू भेडाका भेषमा ब्वाँसा हुन् भनेर भन्नु उचित हुन्छ? के यो रूपक सही छ त? (अहँ, छैन।) विगतमा, धर्ममा, ख्रीष्टविरोधी वा दुष्ट व्यक्तिको बिल्ला लागेको जोकोहीलाई भेडाका भेषमा ब्वाँसो मान्ने गरिन्थ्यो। यो त मानिसहरूले सत्यता र विभिन्न व्यक्तिहरूको मानवता सार र स्वभाव नबुझ्दा प्रयोग गरेको रूपक मात्र थियो। तथापि, जब यो स्तरमा सत्यताबारे सङ्गति गरिन्छ, तब यो रूपक प्रयोग गर्न त्यति सुहाउँदैन। दियाबलसहरू दियाबलस नै हुन्, र ख्रीष्टविरोधीहरू दियाबलससरह हुन्, र तिनीहरू परमेश्वरले सृष्टि गरेका सबै जीवित प्राणीसँग तुलना गरिन लायक छैनन्। परमेश्वरले सृष्टि गरेको कुनै पनि कुरा, जस्तै ब्वाँसाहरू वा अन्य कुनै मांसाहारी जन्तुले कहिल्यै परमेश्वरको प्रतिरोध वा उहाँविरुद्ध विद्रोह गरेका छन् त? के तिनले परमेश्वरविरुद्ध भाँडभैलो मच्चाउनेथिए वा उहाँको विरोध गर्नेथिए? के तिनले परमेश्वरले बोल्ने कुनै पनि कुरालाई आलोचना, निन्दा वा आक्रमण गर्नेथिए? तिनीहरू त्यस्ता थोक गर्दैनन्; तिनीहरू परमेश्वरले तिनका लागि नियोजन गरेको जन्मजात प्रवृत्ति र जिउने वातावरणअनुसार मात्र जिउँछन्। परमेश्वरले तिनीहरूलाई जे बन्न सृष्टि गर्नुभयो, तिनीहरू—विना कुनै ढोँग—त्यही नै हुन्। तर ख्रीष्टविरोधीहरू फरक हुन्छन्: तिनीहरूमा शैतानको प्रकृति हुन्छ, र तिनीहरू सकारात्मक कुराहरू र सत्यताविरुद्ध कार्य गर्नमा खप्पिस हुन्छन्। तिनीहरू ठूलो रातो अजिङ्गर जस्तै हुन्: तिनीहरू परमेश्वरविरुद्ध प्रतिरोधका कार्य गर्नमा खप्पिस हुन्छन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।