परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक) खण्ड एक
हामीले पछिल्लो भेलामा ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरू सम्बन्धी पन्ध्रौँ विषयवस्तुको हाम्रो सङ्गतिलाई टुङ्ग्यायौँ। यी पन्ध्रवटा विषयवस्तुहरूबारे सङ्गति गरेपछि, के तिमीहरूले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरण र सारहरूको सारांश निकालेका छौ? के तिमीहरूले तिनको आधारभूत अवधारणा र बुझाइ प्राप्त गरेका छौ? के तिमीहरू ख्रीष्टविरोधीको सार बोकेका व्यक्तिहरूलाई खुट्ट्याउन सक्छौ? (म तुलनात्मक रूपमा स्पष्ट देखिने घटनाहरू खुट्ट्याउन सक्छु, तर मलाई धूर्त र कपटी घटनाहरू खुट्ट्याउन अझै पनि गाह्रो लाग्छ।) आज दुइटा पक्षबाट ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको सारांश निकालौँ: पहिलो, ख्रीष्टविरोधीहरूको चरित्र, र दोस्रो, तिनीहरूको स्वभाव सार। के ख्रीष्टविरोधीहरूलाई यी दुई पक्षहरूबाट खुट्ट्याउन सजिलो हुन्छ? (हुन्छ।) यदि हामीले कम सङ्गति गर्यौँ र धेरै उदाहरणहरू दिएनौँ भने तिमीहरू तिनलाई खुट्ट्याउन सक्षम नहुन सक्छौ; यदि हामीले बढी सङ्गति गर्यौँ भने तिमीहरूले बुझ्न सक्छौ, तर ख्रीष्टविरोधीहरूले दुष्टता गरिरहेको देख्दा यी कुराहरूलाई तिनीहरूसँग दाँज्न तिमीहरूलाई अझै गाह्रै पर्न सक्छ। ख्रीष्टविरोधीहरूको प्रकृति सारको सारांश निकाल्दा र तिनीहरूलाई यी दुइटा पक्षहरूबाट खुट्ट्याउँदा तिमीहरूका लागि यो अझ प्रस्ट हुन सक्छ।
अ. ख्रीष्टविरोधीहरूको चरित्र
पहिलो पक्ष ख्रीष्टविरोधीहरूको चरित्र हो। किटेरै भन्नुपर्दा यो पक्ष ख्रीष्टविरोधीहरूमा कस्तो प्रकारको मानवता हुन्छ भन्नेसित सम्बन्धित छ। मानवताले के-के समेट्छ? यसले विवेक, समझ, निष्ठा, इज्जतका साथै मानवताको असलपन र दुष्टता समेट्छ। ख्रीष्टविरोधीहरूको चरित्र खुट्ट्याउने कुरामा तिनीहरूको मानवताका विभिन्न पक्षहरू समावेश हुन्छन्। पहिला सामान्य मानवतामा आम रूपमा हुने प्रकटीकरणहरू अथवा सामान्य मानवतामा हुनुपर्ने गुणहरूबारे छलफल गरौँ। ल भन त, यस वर्गमा कुन निश्चित विषयवस्तु पर्छ? (इमानदारी र दया।) अरू के पर्छ? (सम्मानको भावना।) सोझोपन र सम्मानको बोध दुइटै हुनु अत्यावश्यक छ। (साथै, अरूलाई प्रेम, सहनशीलता, विचारशीलता र क्षमा देखाउनु।) त्यो पनि हो। यो सबैबारे सारांशमा कुरा गरौँ। सर्वप्रथम, सामान्य मानवतामा इमानदारीको गुण हुन्छ—के यो सकारात्मक हो? (हो।) यसबाहेक त्यसमा दया र निष्कपटता हुन्छ, अनि हदको हिसाबले निष्कपटता र इमानदारीबीच भिन्नता हुन्छ। के तिमीहरूलाई व्यक्तिको चरित्रमा करुणा समावेश हुनुपर्छ जस्तो लाग्छ? (लाग्छ।) के करुणालाई दयाअन्तर्गत वर्गीकरण गर्न सकिन्छ? (सकिन्छ।) दयालु हृदय भएको व्यक्तिमा निश्चय नै करुणा हुन्छ। त्यसपछि त्यसमा सरलता र सम्मानको भावना हुन्छ। सम्मानको भावनामा इज्जत, आत्म-सचेतना र समझ समावेश हुन्छन्। अर्को भनेको सोझोपन हो। सोझोपनका प्रकटीकरणहरू के-के हुन्? यिनमा इन्साफको बोध, दुष्टताप्रति घिन, दुष्टताप्रति घृणा र सकारात्मक कुराहरूप्रति अनुराग समावेश हुन्छन्। यदि कोहीमा सत्यनिष्ठा मात्र छ भने पनि त्यो अपर्याप्त हुन्छ; यदि उसमा सहनशीलता र धैर्यता छैन, उसले मानिसहरूका स्थिति वा परिस्थितिहरूबारे विचार नगरी खरो रूपमा बोल्छ भने त्यो ठिक होइन र उसको चरित्रमा केही कुराहरूको कमी हुन्छ। सहनशीलता र धैर्यता पनि छ, जुन दुइटै दयाका निश्चित प्रकटीकरणहरू हुन् र तिनलाई अवश्यै एउटै गुणका रूपमा लिन सकिन्छ। सामान्य मानवतामा हुनुपर्ने गुणहरू यिनै हुन्: इमानदारी, दया, निष्कपटता, सरलता, सम्मानको भावना, सत्यनिष्ठा र सहनशीलताका साथ धैर्यता—जम्मा सातवटा छन्। सामान्य मानवतामा हुने यी गुणहरूलाई कुनै व्यक्तिमा सामान्य मानवता छ कि छैन भनी मापन गर्नका लागि प्रयोग गर्न सकिन्छ। तर आजको सङ्गतिको विषय सामान्य मानवतामा हुनुपर्ने निश्चित प्रकटीकरणहरू वा यी गुणहरू कुन व्यक्तिहरूमा हुन्छन् भन्नेबारे होइन। बरु, हामी “ख्रीष्टविरोधीहरूको चरित्रचाहिँ ठ्याक्कै के हो” भन्ने विषयमा सङ्गति गर्न गइरहेका छौँ। भर्खरै उल्लिखित सामान्य चरित्रका विभिन्न पक्षहरूसँग तुलना गर्दा के ख्रीष्टविरोधीहरूमा यीमध्ये कुनै गुण हुन्छ अथवा तिनीहरूमा कुन-कुन गुणहरू हुन्छन्? (तिनीहरूमा कुनै पनि गुण हुँदैन।) तिमीहरूमा ख्रीष्टविरोधीहरूबारे यस्तो छाप बसेको हुनाले ख्रीष्टविरोधीहरूको चरित्रका कुन तत्त्वहरूका कारण मानिसहरूले तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्छन् र यी व्यक्तिहरूमा खराब मानवता हुन्छ, तिनीहरूमा सामान्य मानवता हुँदैन र ख्रीष्टविरोधी मानवता हुन्छ भनेर देखाउँछन् भन्नेबारे सारांशमा कुरा गरौँ। यदि कसैसँग यसअघि सारांश निकालिएका सामान्य मानवताका कैयौँ प्रकटीकरणहरूमध्ये एकदुईवटा प्रकटीकरणहरू छन् भने उसमा केही सामान्य मानवता हुन सक्छ। यदि उसमा ती सबै छन् भने उसमा सबैभन्दा धेरै सामान्य मानवता हुन्छ। तर ख्रीष्टविरोधीहरूमा यी कुनै पनि गुणहरू हुँदैन, त्यसोभए तिनीहरूको मानवतामा ठ्याक्कै केचाहिँ समावेश हुन्छ? पहिला यस पक्षबारे सङ्गति गरौँ।
क. झुट बोल्ने बानी
सामान्य चरित्रमा हुने पहिलो गुण इमानदारी हो। के ख्रीष्टविरोधीहरूको चरित्रमा इमानदारी समावेश हुन्छ? प्रस्ट रूपमा ख्रीष्टविरोधीहरूमा इमानदार मानवताको कमी हुन्छ; तिनीहरूको मानवता निश्चय नै इमानदारीविरुद्ध हुन्छ। त्यसोभए ख्रीष्टविरोधीहरूको मानवतामा इमानदारीको विपरीत असामान्य मानवताका कस्ता तत्त्वहरू हुन्छन्? (तिनीहरूले बारम्बार झुट बोल्छन् र मानिसहरूलाई झुक्क्याउँछन्।) के हामी बारम्बार झुट बोल्नु र झुट बोल्ने बानी हुनु एउटै हो भन्न सक्छौँ? के यो सारांश झन् प्रस्ट छैन र? यदि हामीले यो व्यक्तिले सधैँ झुट बोल्छ वा खासै साँचो बोल्दैन भन्यौँ भने, त्यो पर्याप्त हुँदैन। यदि हामीले तिनीहरूको चरित्र वर्णन गर्न “झुट बोल्ने बानी” जस्ता अभिव्यक्तिहरू प्रयोग गर्यौँ भने त्यो पर्याप्त मात्रामा औपचारिक होइन। त्यसकारण तिनीहरूको वर्णन गर्न र ख्रीष्टविरोधीहरूको मानवता इमानदार हुँदैन भनी व्यक्त गर्न “झुट बोल्ने बानी” भन्ने वाक्यांश प्रयोग गर्दा बढी सुहाउँछ। “झुट बोल्ने बानी” पहिलो गुण हो—जुन ख्रीष्टविरोधीहरूको मानवताबाट बारम्बार प्रकट र खुलासा हुने कुरा हो। यो नै मानिसहरूले सामना गर्न सक्ने सबैभन्दा सामान्य, सजिलै देख्न सकिने र सहज रूपमा खुट्ट्याउन सकिने गुण हुनुपर्छ। अब के झुट बोल्ने बानीका खास प्रकटीकरणहरूबारे सङ्गति गर्नु योग्य हुन्छ? (हुन्छ।)
ख्रीष्टविरोधीहरूको मानवता बेइमान हुन्छ, जसको अर्थ तिनीहरू अलिकति पनि सत्यवादी हुँदैनन्। तिनीहरूले भन्ने र गर्ने हरेक कुरा अशुद्ध हुन्छन्, ती तिनीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरूद्वारा दूषित भएका हुन्छन्, त्यो सबैमा तिनीहरूका भन्न नमिल्ने तथा अकथनीय चाल र योजनाहरू लुकेका हुन्छन्। त्यसकारण ख्रीष्टविरोधीहरूका बोलीवचन तथा कार्यहरू अत्यन्तै धेरै दूषित र ढोँगले भरिएका हुन्छन्। तिनीहरूले जति धेरै बोले पनि तिनीहरूका शब्दहरूमध्ये कुन साँचो, कुन झूटो, कुन सही र कुन गलत हुन् भनी थाहा पाउन असम्भव हुन्छ। किनभने तिनीहरू बेइमान हुन्छन्, तिनीहरूका मन अत्यन्तै जटिल, षड्यन्त्रपूर्ण युक्तिहरूले भरिएका र चलाकीपनले गाँजिएका हुन्छन्। तिनीहरूले भन्ने कुनै कुरा पनि सीधा र स्पष्ट हुँदैन। तिनीहरूले एकलाई एक, दुईलाई दुई, होलाई हो अनि होइनलाई होइन भन्दैनन्। त्यसको साटो तिनीहरू सबै मामलाहरूमा घुमाउरो कुरा गर्छन् र परिणामहरूको बारेमा परिकल्पना गर्दै हरेक कोणबाट गुण र दोष तौलँदै मनमस्तिष्कमा कामको बारेमा थुप्रैपटक विचारविमर्श गर्छन्। त्यसपछि तिनीहरूले आफूले भन्न चाहेका कुराहरूलाई भाषामार्फत यसरी हेरफेर गर्छन् कि तिनीहरूले भन्ने हरेक कुरा भद्दा सुनिन्छ। इमान्दार मानिसहरूले तिनीहरूले भन्ने कुरा कहिल्यै बुझ्दैनन् अनि सजिलै तिनीहरूको धोका र छलमा पर्छन्, त्यस्ता मानिसहरूसित बोल्ने र कुराकानी गर्ने जोकोहीले पनि आफ्नो अनुभव पट्यारलाग्दो र कठिन पाउँछन्। तिनीहरूले कहिल्यै एकलाई एक, दुईलाई दुई भन्दैनन्, तिनीहरूले कहिल्यै तिनीहरूले के सोचिरहेका छन् भनेर भन्दैनन् अनि तिनीहरूले कहिल्यै कामकुरा जस्तो छ, त्यस्तै बयान गर्दैनन्। तिनीहरूले भन्ने हरेक कुरा बुझ्न नसकिने हुन्छ अनि तिनीहरूका कामहरूका लक्ष्य र अभिप्रायहरू धेरै नै जटिल हुन्छन्। यदि सत्यता बाहिरियो भने—यदि अरू मानिसहरूले तिनीहरूको वास्तविक रूप देखे र तिनीहरूलाई छर्लङ्ग देखे भने—कुरो मिलाउनलाई तिनीहरूले तुरुन्तै अर्को झुट सिर्जना गर्छन्। यस प्रकारको मानिसले बारम्बार झूटो बोलिरहन्छ र झूटो बोलिसकेपछि त्यो झुटलाई कायम गराउन त्यस्तो मानिसले थप झुटहरू बोल्नुपर्ने हुन्छ। तिनीहरूले आफ्ना अभिप्राय लुकाउन अरूलाई धोका दिन्छन् र आफूले बोलेका झुटहरूको समर्थनमा हरप्रकारका बहाना र स्पष्टीकरणहरू कथ्छन्, ताकि कुन कुरा साँचो हो र कुनचाहिँ साँचो होइन भनेर छुट्याउन मानिसहरूलाई कठिन होस् र यसले गर्दा तिनीहरूले कहिले साँचो बोलिरहेका छन् भन्ने कुरा मानिसहरूलाई थाहै हुँदैन, तिनीहरूले कहिले झुट बोलिरहेका हुन्छन् भनी जान्ने त कुरै भएन। जब तिनीहरूले झुट बोल्छन्, तिनीहरू लाज मान्दैनन् वा हिचकिचाउँदैनन्, मानौँ तिनीहरूले सत्यता नै बोलिरहेका छन्। के यसको अर्थ, तिनीहरूलाई झूटो बोल्ने बानी परेको छ भन्ने होइन र? उदाहरणको लागि, कहिलेकाहीँ ख्रीष्टविरोधीहरू बाहिरबाट अरूप्रति असल, तिनीहरूप्रति विचारशील, न्यानो हृदयले बोल्ने देखिन्छन्, जुन सुन्नमा दयालु र मार्मिक लाग्छ। तर तिनीहरूले यसरी बोले पनि तिनीहरू निष्कपट हुन् कि होइनन् भनी कसैले बताउन सक्दैन, केही दिनपछि कुनै घटना घटेर तिनीहरू निष्कपट थिए कि थिएनन् भनी प्रकाश हुन्जेलसम्म सधैँ पर्खनुपर्छ। ख्रीष्टविरोधीहरू सधैँ केही निश्चित अभिप्राय र लक्ष्यहरू लिएर बोल्छन्, तर तिनीहरू वास्तवमा कुन कुराको पछाडि लागेका छन् भनी कसैले बताउन सक्दैन। त्यस्ता मानिसहरूलाई झुट बोल्ने बानी परेको हुन्छ र तिनीहरू आफ्ना कुनै पनि झुटहरूका परिणामहरूबारे विचारै गर्दैनन्। यदि तिनीहरूको झुटले तिनीहरूलाई फाइदा दिन्छ र अरूलाई छल्न सक्छ भने, यदि त्यसले आफ्नो लक्ष्य हासिल गर्न सक्छ भने, परिणामहरू जेसुकै हुन् तिनीहरूले केही मतलब गर्दैनन्। तिनीहरूको खुलासा हुनेबित्तिकै तिनिहरूले निरन्तर ढाकछोप गर्ने, झूटो बोल्ने र छल्ने काम गरिरहन्छन्। यी मानिसहरूले जुन सिद्धान्त र विधिद्वारा आफूलाई आचरणमा ढाल्छन् र संसारसँग व्यवहार गर्छन् त्यो झुटहरूद्वारा मानिसहरूलाई छल्ने हो। तिनीहरू दुई-जिब्रे हुन्छन् अनि आफ्ना श्रोताहरूसित अनुकूल हुने गरी बोल्छन्; परिस्थितिले जस्तो भूमिका माग गर्दछ, तिनीहरूले त्यही भूमिका निर्वाह गर्दछन्। तिनीहरू चाप्लुसीपूर्ण र धूर्त हुन्छन्, तिनीहरूका मुख झुटहरूले भरिएका हुन्छन् र तिनीहरू भरोसा गर्न नसकिने किसिमका हुन्छन्। तिनीहरूसित थोरै समय सम्पर्कमा हुनेहरू भ्रममा पर्छन् वा व्याकुल हुँदै जान्छन् अनि तिनीहरूले कुनै रसद, सहायता वा प्रवर्द्धन प्राप्त गर्न सक्दैनन्। त्यस्ता मानिसहरूका मुखबाट निस्कने वचनहरू अप्रिय वा राम्रो, तर्कसङ्गत वा हास्यास्पद, अथवा मानवतासित मेल वा बेमेलमा रहेको, अशिष्ट वा सभ्य जे-जस्तो भए पनि ती सबै नै मूलत: मिथ्या, दूषित शब्द र झुटहरू हुन्।
ख्रीष्टविरोधी वर्गका मानिसहरूमा, झुट बोल्ने बानी तिनीहरूको एउटा मुख्य गुण हो। तिनीहरूको भाषा, बोल्ने तरिका, अभिव्यक्तिको शैली, तिनीहरूका शब्दहरूको अर्थ र तीपछाडिका अभिप्रायमार्फत, यी मानिसहरूमा सामान्य मानवताको कमी छ र तिनीहरूसँग इमानदार मानिसहरूको मानवताका मानकहरू छैनन् भन्ने देखिन्छ। ख्रीष्टविरोधीहरूको झुट बोल्ने बानी हुन्छ। तिनीहरूका झुट र छल धेरैजसो मानिसहरूकोभन्दा बढी गम्भीर हुन्छ; यो कुनै साधारण भ्रष्ट स्वभाव होइन, तर यसले विवेक र समझ गुमेको अनि मानवता पूर्ण रूपमा हराएको रूप लिइसकेको छ। सारमा भन्नुपर्दा यी मानिसहरू पिशाचहरू हुन्; पिशाचहरू प्राय: झुट बोल्छन् र यसरी मानिसहरूलाई छल्छन्, तिनीहरूले भनेको कुनै पनि कुरा सत्य हुँदैन। जब धेरैजसो मानिसहरूले झुट बोल्छन्, तिनीहरूले त्यो झुटलाई बनाउनुपर्ने हुन्छ, तिनीहरूले त्यसको लागि सावधानीपूर्ण सोच्नुपर्छ; तर एक ख्रीष्टविरोधीले कुनै पनि कुरा बनाउनु पर्दैन वा कुनै सोचविचार गर्नु पर्दैन: तिनीहरूले मुख मात्र खोल्नुपर्छ र त्यो झुट आइहाल्छ—तैँले थाहा पाउनुअगावै तँलाई फन्दामा पारिसकिएको हुन्छ। तिनीहरूका झुट र छल यस्ता हुन्छन् कि ढिलो प्रतिक्रिया दिने मानिसहरूलाई यो कुरा पत्ता लगाउन दुई-तीन दिन लाग्न सक्छ; त्यसपछि मात्र तिनीहरूले उक्त व्यक्तिले के आशय राखेको थियो भन्ने थाहा पाउँछन्। सत्यता नबुझ्ने मानिसहरूले खुट्ट्याउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको झुट बोल्ने बानी हुन्छ: तँलाई तिनीहरूको यो चरित्रबारे के लाग्छ? प्रस्ट रूपमा यो सामान्य मानवताको अंश होइन। के यसमा कुनै भूतिया कुरा छैन र? किटेरै भन्नुपर्दा यो भूतिया प्रकृति हो। झुट बोल्ने बानी, झुटहरू बोल्नु र मानिसहरूलाई छल्नु: के ती विद्यालयमा सिकिएका कामकुरा गर्ने तरिकाहरू हुन्, कि ती तिनीहरूको पारिवारिक प्रभावको नतिजा हुन्? दुइटै होइनन्। यी कुराहरू तिनीहरूका अन्तर्निहित प्रकृति हुन्, तिनीहरूले जन्मिँदै यी कुराहरू लिएर आएका थिए। आमाबुबाले आफ्ना छोराछोरीलाई शिक्षा दिँदा कसैले पनि आफ्नो बच्चालाई सानै उमेरदेखि ढाँट्न र छल्न सिकाउँदैन, न त कसैले तिनीहरूलाई जबरजस्ती ढाँट्न वा छल्न नै लगाउँछ, तैपनि हुर्के-बढेपछि झुट मात्र बोल्ने छोराछोरीहरू पनि हुन्छन्, जो आफूले जस्तोसुकै झुटहरू बोले पनि गम्भीर मुद्रामै हुन्छन् र आफूले बोलेका झुटहरूबारे आफ्नो विवेकमा कहिल्यै पछुतो, यातना वा असहजता महसुस गर्दैनन्; बरु, यस्ता बालबालिकाहरू आफूलाई निकै चलाख, उच्च बौद्धिकता भएको ठान्छन्, तिनीहरू झुट र अन्य दाउपेचहरू प्रयोग गरेर अरूलाई मूर्ख बनाउन र छल्न सकेकोमा खुसी, गर्व र मनमनै हर्षित महसुस गर्छन्। यो तिनीहरूको अन्तर्निहित प्रकृति हो। ख्रीष्टविरोधीहरू प्राकृतिक रूपमै यस्तै हुन्छन्। झुट बोल्ने बानी तिनीहरूको प्रकृति सार नै हो। तिनीहरू प्राय: भेलाहरूमा सहभागी हुने, प्रवचन र सङ्गतिहरू सुन्ने भए पनि ख्रीष्टविरोधीहरूले कहिल्यै आत्मचिन्तन वा आफूलाई चिन्ने कोसिस गर्दैनन्, अरूलाई झुक्क्याउन तिनीहरूले चाहे जतिसुकै झुटहरू बोलेका भए पनि तिनीहरूलाई विवेकले धिक्कार्दैन, तिनीहरू कुनै समाधानका लागि सक्रिय रूपमा सत्यता खोज्ने कोसिस त झनै गर्दैनन्—यसले सारमा ख्रीष्टविरोधीहरू अविश्वासी हुन् भन्ने प्रमाणित गर्छ। तिनीहरूले मानिसहरूलाई चाहे जतिसुकै धर्मसिद्धान्तहरूको भाषण दिन सक्ने भए पनि तिनीहरूले यी धर्मसिद्धान्तहरू आफूमा कहिल्यै लागु गर्दैनन्, तिनीहरूले कहिल्यै आफ्नो चिरफार गर्दैनन्, तिनीहरूले चाहे जतिसुकै झुटहरू बोले पनि वा जतिसुकै मानिसहरूलाई झुक्क्याए पनि तिनीहरू त्यसबारे कहिल्यै खुल्दैनन्, बरु त्यसको साटो ढोँग गर्छन्, नाटक गर्छन् र आफू छली मानिस भएको कुरा अरूसामु स्विकार्ने आँट कहिल्यै गर्दैनन्। यसबाहेक तिनीहरू आफूलाई आवश्यक लाग्नेबित्तिकै झुट बोल्ने र मानिसहरूलाई झुक्क्याउने काम गरिरहन्छन्। के यो तिनीहरूको प्रकृति होइन र? हो, र यसलाई परिवर्तन गर्ने कुनै उपाय नै छैन। यो प्रकृति सामान्य मानवताको अभिव्यक्ति होइन; ठ्याक्कै भन्नुपर्दा यो भूतिया प्रकृति हो, यो शैतानको स्वभाव हो, यस्ता मानिसहरू दियाबलस हुन्, तिनीहरू देहधारी भूत हुन्।
ख्रीष्टविरोधीहरूको चरित्रको पहिलो प्रकटीकरण झुट बोल्ने बानी हो, जसलाई हामी दानवीय प्रकृति भनेर चित्रण गर्नेछौँ। यस पैशाचिक प्रकृतिको प्रकटीकरण के हो भने जहिलेसुकै वा जहाँसुकै भए पनि, चाहे जुनसुकै अवसरमा भए पनि वा तिनीहरूले जोसँग अन्तरक्रिया गरे पनि, यस्ता मानिसहरूले भन्ने शब्दहरू साँप र पिशाचहरूका कुराजस्तै हुन्छन्—ती भरोसा योग्य हुँदैनन्। यस्ता मानिसहरूसित विशेष रूपले सावधान र खुट्ट्याउने हुनैपर्छ, पिशाचहरूका शब्दहरू हतारमा विश्वास गरिहाल्नु हुँदैन। तिनीहरूको झुट बोल्ने बानीको निश्चित प्रकटीकरण के हो भने तिनीहरूका जिब्रोबाट झुटहरू निस्किहाल्छन्; तिनीहरूले बोल्ने शब्दहरूले विचार-विमर्श, विश्लेषण वा खुट्ट्याइको सामना गर्न सक्दैनन्। तिनीहरूले जुनसुकै बेला झुट बोल्न सक्छन्, तिनीहरू सारा मामलाहरूमा तिनीहरूले कुनै पनि साँचो कुरा भन्न नमिल्ने र तिनीहरूले भनेको सबथोक झुट नै हुनुपर्ने विश्वास गर्छन्। तैँले तिनीहरूको उमेरबारे नै सोधिस् भने पनि तिनीहरूले यसबारे सोचविचार गर्छन्, यसो सोच्छन्, “तिनीहरू मेरो उमेर सोधेर के गर्न खोजिरहेका छन्? यदि मैले म बूढो भएँ भनेँ भने, के तिनीहरूले मलाई हेयको दृष्टिले हेर्नेछन् र संवर्धन गर्नेछैनन्? यदि मैले म सानै उमेरको छु भनेमा तिनीहरूले ममा अनुभवको कमी छ भन्दै मलाई हेयको दृष्टिले हेर्नेछन्? मैले कसरी जवाफ दिनुपर्ला?” यति सानो मामलामा पनि तिनीहरूले अझै पनि झुट बोल्न सक्छन् र तँलाई साँचो कुरा बताउँदैनन्, उल्टै तँलाई नै यस्तो प्रश्न गर्छन्, “तिमीलाई के लाग्छ?” तैँले भन्छस् “पचास वर्ष हो?” “मिल्न-मिल्न लाग्यो।” “पैँतालिस हो?” “झन्डै मिल्यो।” के तिनीहरूले तँलाई सही जवाफ दिनेछन् त? तिनीहरूका प्रतिक्रियामार्फत के तैँले तिनीहरूको उमेर थाहा पाउन सक्छस्? (सक्दिनँ।) त्यो झुट बोल्ने बानी हो।
ख्रीष्टविरोधीहरूको झुट बोल्ने बानीको अर्को प्रकटीकरण पनि छ, त्यो के हो भने तिनीहरू गवाही दिँदासमेत झुट बोल्छन्। झूटो गवाही दिनु भनेको श्रापित कार्य हो जसले परमेश्वरको स्वभाव चिढ्याउँछ। गवाही दिने मामलामासमेत तिनीहरू बनावटीपन, झुट र छलकपटमा संलग्न हुने आँट गर्छन्, जसले साँच्चिकै परिणामहरूप्रति तिनीहरूको लापरवाहीपूर्ण बेवास्ता र तिनीहरूको अपरिवर्तनशील प्रकृति देखाउँछ! जब तिनीहरू अरूले अनुभव र बुझाइका आधारमा गवाही दिएको तर आफूले नसकेको देख्छन्, तब तिनीहरू अरूको नक्कल गर्छन्, अरू मानिसहरूले जे भन्छन् त्यही नै भन्छन् र अरूले भोगेका अनुभवहरू नै बनाएर भन्छन्। यदि तिनीहरूले कुनै कुरा अरूलेझैँ बुझ्दैनन् भने तिनीहरू आफूले बुझ्ने दाबी गर्छन्। यदि तिनीहरूमा यस्ता अनुभवात्मक बुझाइ र अन्तर्दृष्टि छैनन् भने तिनीहरू आफूमा यी कुराहरू भएको जिद कस्छन्। परमेश्वरले तिनीहरूलाई ताडना नदिनुभएको भए पनि उहाँले दिनुभएको छ भनेर जिद कस्छन्। यो मामलामासमेत तिनीहरूले झुट बोल्न र जाल-झेल गर्न सक्छन्, परिणामहरू जतिसुकै गम्भीर हुन सक्ने भए पनि कुनै चिन्ता वा चासो देखाउँदैनन्। के यो झुट बोल्ने बानी होइन र? यसबाहेक यस्ता मानिसहरूले जोकोहीलाई झुक्क्याउनेछन्। कतिपयलाई आश्चर्य लाग्ला, “जे भए पनि, ख्रीष्टविरोधीहरू मानिस नै त हुन्: तिनीहरूले आफ्नो सबैभन्दा नजिकका, आफूलाई मदत गरेका वा आफूसँगै कठिनाइहरू भोगेका मानिसहरूलाई त झुक्क्याउँदैनन् होला नि? तिनीहरूले परिवारका सदस्यहरूलाई त झुक्क्याउँदैनन् होला नि?” तिनीहरूको झुट बोल्ने बानी हुन्छ भन्नुको आशय के हो भने तिनीहरूले जसलाई पनि झुक्याउन सक्छन्, आफ्ना आमाबुबा, छोराछोरी, र, अवश्य नै, दाजुभाइ-दिदीबहिनीहरूलाई समेत झुक्याउन सक्छन्। ठूला हुन् वा साना मामलाहरूमा तिनीहरूले मानिसहरूलाई झुक्क्याउन सक्छन्, यहाँसम्म कि जहाँ तिनीहरूले साँचो बोल्नुपर्छ, जहाँ साँचो बोल्दा कुनै परिणाम भोग्नु पर्दैन वा तिनीहरूलाई कुनै रूपमा असर गर्दैन, जहाँ बुद्धि प्रयोग गर्नु आवश्यक नै हुँदैन, त्यहाँसमेत मानिसहरूलाई झुक्क्याउँछन्। तिनीहरू साना मामलाहरू समाधान गर्न पनि मानिसहरूलाई झुक्क्याउँछन् र झुटहरू प्रयोग गर्छन् जुन मामलाहरू बाह्य मानिसहरूका लागि झुट बोल्न योग्य नै हुँदैन, जहाँ तिनीहरूलाई सिधा कुरा गर्न नै सजिलो हुनेथ्यो र पटक्कै समस्या हुँदैनथ्यो। के यो झुट बोल्ने बानी होइन र? झुट बोल्ने बानी शैतान र पिशाचहरूको एउटा प्रमुख प्रकटीकरण हो भन्न सकिन्छ। यस दृष्टिकोणबाट के हामी ख्रीष्टविरोधीहरूको मानवता बेइमान मात्र हुँदैन, त्यसको चिन्ह झुट बोल्ने बानी पनि हुन्छ, जसका कारण त्यो भरहीन हुन्छ भन्न सक्दैनौँ र? (हो, सक्छौँ।) यदि यस्ता व्यक्तिहरूले कुनै गल्ती गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूबाट काटछाँट गरिएपछि र आलोचित भएपछि आँसु झार्छन्, बाहिरी रूपमा परमेश्वरप्रति ऋणी भएको दाबी गर्छन् र भविष्यमा पश्चात्ताप गर्ने प्रतिज्ञा गर्छन् भने के तैँले तिनीहरूको विश्वास गर्ने आँट गर्छस्? (गर्दिनँ।) किन गर्दैनस्? सबैभन्दा दरिलो प्रमाण यो हो कि तिनीहरूमा झुट बोल्ने बानी हुन्छ! तिनीहरूले बाहिरी रूपमा पश्चात्ताप गर्ने, नराम्रोसँग रुने, छाती पिट्ने र कसम खाने काम गरे पनि तिनीहरूको विश्वास नगर् किनभने तिनीहरू मानिसहरूलाई झुक्क्याउनका लागि गोहीको आँसु झारिरहेका हुन्छन्। तिनीहरूले बोल्ने दुःखी र पछुतोका शब्दहरू हृदयदेखि भनिएको नभई मानिसहरूको विश्वास जित्नका लागि ठगीपूर्ण माध्यममार्फत बनाइएका अनैतिक चालहरू हुन्। मानिसहरूका अगाडि तिनीहरू नराम्रोसँग रुन्छन्, गल्ती स्विकार्छन्, कसम खान्छन् र आफ्नो स्थानबारे थाहा दिन्छन्। तर निजी रूपमा तिनीहरूसँग राम्रो सम्बन्ध भएका र तिनीहरूले तुलनात्मक रूपमा भरोसा गर्ने मानिसहरूले फरक कथा सुनाउँछन्। सार्वजनिक रूपमा गल्ती स्विकार्नु र आफ्ना तरिकाहरू बदल्ने कसम खानु बाहिरबाट सच्चा देखिएला तर तिनीहरूले पर्दापछाडि जे भन्छन् त्यसले प्रमाणित गर्छ कि तिनीहरूले त्यसअघि भनेको कुरा साँचो नभई झूटो थियो, जसको उद्देश्य अझ धेरै मानिसहरूको आँखामा छारो हाल्नु थियो। पर्दापछाडि तिनीहरूले के भन्नेछन्? के तिनीहरूले यसअघि आफूले भनेको कुरा झुट थियो भनेर स्विकार्नेछन्? अहँ, स्विकार्नेछैनन्। तिनीहरूले नकारात्मकता फैलाउनेछन्, तर्कहरू प्रस्तुत गर्नेछन् र आफूलाई जायज साबित गर्नेछन्। यस बचाउ र बहसले तिनीहरूका स्वीकारोक्ति, पश्चात्ताप र कसमहरू सबै झूटा थिए, जसको उद्देश्य मानिसहरूलाई झुक्क्याउनु थियो भन्ने पुष्टि गर्छ। के यस्ता व्यक्तिहरूको भरोसा गर्न सकिन्छ? के यो झुट बोल्ने बानी होइन र? तिनीहरूले झुटा स्वीकारोक्ति रच्न, झूटो आँसु झार्न र आफ्ना मार्गहरू परिवर्तन गर्ने कसम खानसमेत सक्छन् र तिनीहरूको कसमसमेत झुट हुन्छ। के यो पैशाचिक प्रकृति होइन र? तिनीहरूले “म यति मात्र बुझ्छु; मलाई बाँकी कुरा थाहा छैन, म बिस्तारै बुझाइ प्राप्त गर्नका निम्ति परमेश्वरको अन्तर्दृष्टि खोज्छु र दाजुभाइ-दिदीबहिनीहरूको सहयोगको आशा गर्छु” भने पनि यो इमानदार मनोवृत्ति र भनाइ हुनेथ्यो। तर ख्रीष्टविरोधीहरूले यस्ता साँचो शब्दहरू कदापि भन्न सक्दैनन्। तिनीहरूलाई के महसुस हुन्छ भने “मैले सत्य बोलेँ भने मानिसहरूले मलाई हेयको दृष्टिले हेर्नेछन्: मेरो इज्जत घट्नेछ र मलाई अपमानित महसुस हुनेछ—के मेरो प्रतिष्ठा पूर्ण रूपमा गुम्नेछैन र? म को हुँ? के मैले हार स्विकार्न मिल्छ? मैले नबुझे पनि निकै राम्ररी बुझेको ढोँग गर्नैपर्छ; मैले पहिला मानिसहरूलाई झुक्क्याएर तिनीहरूको हृदयमा आफ्नो स्थान बलियो बनाउनैपर्छ।” के यो ख्रीष्टविरोधीहरूको प्रकटीकरण होइन र? ख्रीष्टविरोधीहरूले बोल्ने स्रोत र तरिकाका साथै तिनीहरूले बोल्ने शब्दहरूबाट यस्ता मानिसहरू कहिल्यै इमानदार हुनेछैनन् भन्ने प्रस्ट हुन्छ; यो तिनीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। झुट बोल्ने बानी तिनीहरूको चरित्रमै अन्तर्निहित भएकाले तिनीहरू हरेक कुरामा मानिसहरूलाई झुक्याउन र मामलाहरू लुकाउन चाहन्छन्, साँचो तथ्य वा वास्तविक स्थिति कसैले थाहा नपाऊन् वा नदेखून् भन्ने चाहन्छन्। तिनीहरूको सबैभन्दा भित्री सत्त्व अत्यन्तै अन्धकारमय हुन्छ। ख्रीष्टविरोधीहरूको चरित्रको यो पक्षलाई विश्वसनीय रूपमा मानवता नभएको र पैशाचिक प्रकृति भएको भनेर चित्रण गर्न सकिन्छ। तिनीहरूको जिब्रोबाट बिनासोच सजिलै झुटहरू निस्कन्छन्, यतिसम्म कि तिनीहरू निद्रामा बोल्दा पनि साँचो कुरा केही भन्दैनन्—सबै चालबाजी, सबै झुट हुन्छ। यो झुट बोल्ने बानी हो।
ख्रीष्टविरोधीहरूको चरित्रमा इमानदारी हुँदैन। तिनीहरूले नबोलिरहेको बेलामा पनि तिनीहरू कसरी मानिसहरूलाई झुक्याउने, फुस्ल्याउने र भ्रममा पार्ने—कसलाई भ्रममा पार्ने तिनीहरूलाई भ्रममा पार्न चाहेको बेलामा के भन्ने, कुराकानी सुरु गर्न कस्ता विधिहरू प्रयोग गर्ने र मानिसहरूलाई विश्वास दिलाउन कुन उदाहरणहरू प्रयोग गर्ने भनेर हृदयमा चिन्तन गरिरहेका हुन्छन्। तिनीहरूले जे भने पनि वा जे सोचे पनि हृदयमा इमानदार मनोवृत्ति, इमानदार राय वा इमानदार सोचहरू बोकेका हुँदैनन्। तिनीहरूको जीवनको हरक्षण र हरसेकेन्ड मानिसहरूलाई झुक्याउन र मानिसहरूसित खेलबाड गर्न चाहने स्थितिमा बित्छ। हरसेकेन्ड र हरक्षण तिनीहरू अरूलाई कसरी झुक्क्याउने, कसरी भ्रममा पार्ने र कसरी फुस्ल्याउने भनेर सोचिरहेका हुन्छन्, र यिनै सोचहरूले नै तिनीहरूको सम्पूर्ण मन र भित्री हृदय ओगटेका हुन्छन्। के यो तिनीहरूको प्रकृति होइन र? के यस्ता मानिसहरूले प्रवचनहरू सुन्दा वा परमेश्वरका वचनहरू पढ्दा सत्यता बुझ्न सक्छन् त? बुझे पनि के तिनीहरूले त्यसलाई अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूको भित्री हृदय र चरित्रलाई मूल्याङ्कन गर्दा यस्ता व्यक्तिहरू पक्कै पनि मुक्तिका ग्रहणकर्ता होइनन्, किनभने तिनीहरूका मन र भित्री संसारमा तिनीहरूले प्रेम गर्ने र सोच्ने सबथोक पैशाचिक प्रकृतिले भरिएको हुन्छ, सत्यता र सकारात्मक कुराहरूको विरुद्धमा हुन्छ, त्यसमा एउटा पनि सराहनीय अंश हुँदैन। त्यसोभए के ख्रीष्टविरोधीहरूको मानवतामा झुट बोल्ने बानीको गुण निश्चित हुन्छ? (हुन्छ।) झुट बोल्ने बानी भएका मानिसहरूले कुनै पनि सत्यता अभ्यास गर्दैनन्। यसका परिणामहरू के-के हुन्छन्? कुनै पनि सत्यता अभ्यास नगर्ने व्यक्तिका निश्चित प्रकटीकरणहरू के-के हुन्? के तिनीहरूले जथाभावी कार्य गर्न सक्छन्? के तिनीहरू स्वेच्छाचारी बनेर नियमकानुनको धज्जी उडाउन सक्छन्? के तिनीहरूले स्वतन्त्र राज्यहरू स्थापना गर्न सक्छन्? के तिनीहरूले भेटीहरू फजुलमा उडाउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई भ्रममा पार्न सक्छन्? के तिनीहरूले मानिसहरूको मन जित्न सक्छन्? तिनीहरूले यी सबै गर्न सक्छन्। यो एउटा नमुना ख्रीष्टविरोधी हो—उसको झुट बोल्ने बानी हुन्छ। जब तथ्यहरू खुलासा हुन्छन्, जति जोडा आँखाले उसलाई हेरिरहेका भए पनि, जतिसुकै मानिसहरूले सामूहिक रूपमा उसको गवाही दिएर खुलासा गरे पनि, ऊ त्यसलाई स्विकार्न मान्दैन। अन्त्यमा तँलाई झेल्न उसले एउटा तरकिब अपनाउँछ, बिर्सेको दाबी गर्छ र अज्ञानताको नाटक गर्छ। यो समयमा, यस परिस्थितिमा, उसले एक शब्द पनि सत्य बोल्न सक्दैन, न त टाउको हल्लाएर “त्यो म नै थिएँ, म गलत थिएँ, म अर्कोपटक बदलिनेछु र निश्चय नै फेरि यस्तो गल्ती गर्नेछैन” भनेर स्विकार्न नै सक्छ। यो एक ख्रीष्टविरोधी हो, जसले कहिल्यै दोष स्वीकार्दैन, कहिल्यै कुनै पनि बेला एक शब्द पनि साँचो बोल्दैन। के यस्तो मानवता हुँदा उसलाई मुक्ति दिन सकिन्छ? के उसले सत्यता प्राप्त गर्न सक्छ? कदापि सक्दैन। उसले सत्यता बुझे पनि त्यो प्राप्त गर्न सक्दैन किनकि ऊ सत्यतालाई अस्वीकार, प्रतिरोध र विरोध गर्छ। इमानदारीपूर्वक बोल्ने र आफ्ना गल्तीहरू स्विकार्ने सबैभन्दा आधारभूत स्तरमा उसले यो सबैभन्दा सरल सत्यतालाई अभ्यास गर्न वा त्यसलाई व्यवहारमा लागु गर्नसमेत सक्दैन। उसले आफ्नो हैसियत त्याग्छ, आफ्ना सम्भाव्यताहरू र नियति त्याग्छ र आफ्नै अभिप्रायहरू त्याग्छ भनेर कसरी अपेक्षा गर्न सकिन्छ? के उसले तिनलाई त्याग्न र तिनको विरुद्धमा विद्रोह गर्न सक्छ? ऊ त्यसो गर्न झनै सक्दैन। यदि ऊ एउटा साँचो कुरासमेत बोल्न सक्दैन भने उसले योभन्दा पनि गाह्रो काम गर्छ भनेर अपेक्षा गर्नु अव्यावहारिक हुन्छ।
के तिमीहरू वरपर झुट बोल्ने बानी भएका मानिसहरू छन्? कतिपयले भन्लान्, “मैले अहिलेसम्म झुट बोल्ने बानी भएको व्यक्ति भेटेको छैन, तर मलाई म नै झुट बोल्ने व्यक्ति हुँ कि जस्तो लाग्छ।” म तँलाई सत्य कुरा भन्छु; तँ एक खतरनाक परिस्थितिमा छस्। के झुट बोल्ने बानी भएका मानिसहरूमा मानवताको कुनै छनक हुन्छ? के तिनीहरू पिशाचहरूभन्दा अलिकति पनि फरक हुन्छन्? के तिमीहरूमध्ये कसैको झुट बोल्ने बानी छ? मानिलिऊँ, चाहे जस्तोसुकै वातावरण वा पृष्ठभूमि भए पनि, जेसुकै आइपरे पनि, व्यक्तिबाट अत्यन्तै प्राकृतिक रूपमा झुटहरू निस्कन्छन्, तर उसको अनुहार रातो हुँदैन वा उसको धड्कन बढ्दैन र उसले त्यो सबै झुटहरूद्वारा सम्हाल्न र समाधान गर्न सक्छ। आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने क्रममा र जीवनको हरेक पक्षमा, बोल्ने अवसर भएसम्म, तिनीहरूले भन्ने सबथोक झुट हुन्छ, एउटा पनि वाक्य साँचो हुँदैन। सबै वाक्यहरूले अभिप्राय र उद्देश्यहरू बोकेका हुन्छन् र साथमा शैतानका षड्यन्त्रहरू हुन्छन्। यो कुनै इमानदार व्यक्ति होइन। कुनै पनि परिस्थितिमा, घाँटीमा छुरा हुँदासमेत झुट बोल्न सक्नु—के यो आशा नै नभएको व्यक्ति होइन र? ख्रीष्टविरोधीहरूको झुट बोल्ने बानीका विभिन्न प्रकटीकरणहरू मूल्याङ्कन गर्दा तिनीहरूले अति धेरै झुटहरू बोल्छन्। तिनीहरूको बोलीको उद्देश्य नै मानिसहरूलाई झुक्क्याउनु, भ्रममा पार्नु र फुल्याउनु हो। तिनीहरूका सबै शब्दहरू शैतानका षड्यन्त्र र अभिप्रायहरूले भरिएका हुन्छन्, तिनमा सामान्य मानवताको इमानदारीको कुनै प्रकटीकरण हुँदैन। यो भन्न सकिन्छ कि ख्रीष्टविरोधीहरूमा इमानदारीको गुण हुँदै हुँदैन जुन सामान्य मानवताको अंश हो। इमानदारी नभएका र झुट बोल्ने बानी भएका मानिसहरूलाई दानवीय प्रकृति भएका भनेर चित्रण गरिन्छ—तिनीहरू पिशाच हुन्। यस्ता मानिसहरूले सजिलै मुक्ति पाउँदैनन्, किनभने तिनीहरू सत्यतालाई स्विकार्दैनन् र तिनीहरूलाई त्यो स्विकार्न चुनौतीपूर्ण लाग्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।