परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २०

व्यवस्थाको युगको अवधिमा, मिश्रबाट मोशालाई पछ्याउने इस्राएलीहरूलाई हस्तान्तरण गर्नको निम्ति भनेर यहोवाले मोशालाई धेरै आज्ञाहरू दिनुभयो। यी आज्ञाहरू यहोवाले इस्राएलीहरूको निम्ति दिनुभएको थियो, र मिश्रसँग ती आज्ञाहरूको केही पनि सम्बन्ध थिएन; इस्राएलीहरूलाई नियन्त्रण गर्नको निम्ति ती आज्ञाहरू दिइएका थिए र उहाँले तिनीहरूलाई मागहरू गर्नको निम्ति ती आज्ञाहरूको प्रयोग गर्नुभयो। तिनीहरूले शबाथको दिनको पालना गर्ने कि नगर्ने, वा आफ्ना आमाबाबुलाई आदर गर्ने कि नगर्ने वा मूर्तिहरूको पूजा गर्ने कि नगर्ने—तिनीहरू धर्मी छन् कि पापी छन् भन्‍ने कुराको न्याय यिनै सिद्धान्तहरूका आधारमा गरिन्थ्यो। तिनीहरूमध्ये कोहीलाई यहोवाको आगोद्वारा भस्म पारियो, कोहीलाई ढुङ्गाले हानेर मारियो र कोहीले यहोवाबाट आशिष् प्राप्त गरे, अनि तिनीहरूले आज्ञाहरू पालना गरेका छन् कि छैनन् भन्‍ने कुराको आधारमा यसको तय गरिन्थ्यो। शबाथको दिन पालना नगर्नेहरूलाई ढुङ्गाले हानेर मारियो। शबाथको दिन पालना नगर्ने पूजाहारीहरूलाई यहोवाको आगोले भस्म पार्‍यो। आफ्ना आमाबाबुको आदर नगर्नेहरूलाई पनि ढुङ्गाले हानेर मारिए। यी सबै कुराको आज्ञा यहोवाले नै दिनुभएको थियो। मानिसहरूको जीवनलाई अगुवाइ गर्ने क्रममा तिनीहरूले उहाँका वचन सुनून् र तिनको पालना गरून् अनि उहाँको विरोधी नहोऊन् भनेर यहोवाले आफ्ना आज्ञा र व्यवस्थाहरू स्थापित गर्नुभयो। नयाँ जन्मेका मानवजातिलाई नियन्त्रणमा राख्‍न र योभन्दा बढी त आफ्नो भविष्यको कार्यको निम्ति जग तयार गर्नको निम्ति उहाँले यी व्यवस्थाहरूको प्रयोग गर्नुभयो। यसैले यहोवाले गर्नुभएको कार्यलाई आधार मानेर नै पहिलो युगलाई व्यवस्थाको युग भनिएको हो। यहोवाले धेरै वाणीहरू बोल्‍नुभएको र धेरै काम गर्नुभएको भए तापनि उहाँले यी अनभिज्ञ मानिसहरूलाई मानव कसरी हुने, कसरी जिउने र कसरी यहोवाको मार्गलाई बुझ्‍ने भन्‍ने कुरा सिकाउँदै सकारात्मक तरिकाले पथ-प्रदर्शन मात्र गर्नुभयो। उहाँले गर्नुभएको कामको धेरैजसो हिस्सा मानिसहरूलाई उहाँको मार्ग पालना गर्न र उहाँका व्यवस्था अनुसरण गर्न प्रेरित गर्नु नै थियो। सतही रूपमा भ्रष्ट भएका मानिसहरूमा यो कार्य गरिएको थियो; यसले तिनीहरूको स्वभाव वा जीवनको प्रगतिलाई रूपान्तरण गर्ने सम्‍मको काम भने गरेन। उहाँको चासो भनेको व्यवस्थाको प्रयोग गरेर मानिसहरूलाई प्रतिबन्ध लगाउनु र नियन्त्रण गर्नु मात्र थियो। त्यस बेलाका इस्राएलीहरूको निम्ति यहोवा मन्दिरमा रहने परमेश्‍वर अर्थात् स्वर्गका परमेश्‍वर मात्र हुनुहुन्थ्यो। उहाँ बादलको खाँबो र आगोको ज्वाला हुनुहुन्थ्यो। तिनीहरूले आजका मानिसहरूले व्यवस्था र आज्ञाहरूको रूपमा जानेका कुराहरूको पालना गरून् भन्‍ने मात्रै उहाँले चाहनुभयो—तिनलाई नियमहरू पनि भन्‍न सकिन्छ—किनकि यहोवाले तिनीहरूलाई रूपान्तरण गर्न होइन, तर मानिसले प्राप्त गर्नुपर्ने थप कुराहरू तिनीहरूलाई दिन र आफ्नै मुखले तिनीहरूलाई सिकाउनको निम्ति उहाँले यसो गर्नुभयो किनकि सृष्टि गरिएपछि केही कुरा पनि मानिसको स्वामित्वमा थिएन। यसैले यहोवाले पृथ्वीमा रहँदाको जीवनमा मानिसहरूले प्राप्त गर्नुपर्ने कुराहरू तिनीहरूलाई दिएर उहाँले अगुवाइ गरेका मानिसहरूलाई तिनीहरूका पुर्खा आदम र हव्‍वाभन्दा उत्कृष्ट बनाउनुभयो किनकि उहाँले तिनीहरूलाई दिनुभएको कुरा उहाँले सुरुमा आदम र हव्‍वालाई दिनुभएको कुराभन्दा उत्कृष्ट थियो। जे होस्, यहोवाले इस्राएलमा गर्नुभएको कुराको उद्देश्य मानवजातिलाई पथ-प्रदर्शन गर्नु र तिनीहरूका सृष्टिकर्तालाई चिन्‍ने बनाउनु मात्र थियो। उहाँले तिनीहरूमाथि विजय हासिल गर्नुभएन वा तिनीहरूलाई रूपान्तरण गर्नुभएन, तर केवल तिनीहरूको नेतृत्व मात्र गर्नुभयो। व्यवस्थाको युगमा यहोवाको कार्यको सारांश यही नै हो। यो नै इस्राएलको सम्पूर्ण भूमिमा उहाँले गर्नुभएको कार्यको पृष्ठभूमि तथा सत्य कथा, सार हो, साथै यो मानवजातिलाई आफ्नो हातको नियन्त्रणमा राख्‍न यहोवाले गर्नुभएको छ हजार वर्ष लामो कार्यको सुरुवात पनि हो। यसबाट नै उहाँको छ हजार वर्षे व्यवस्थापन योजनामा थप कार्यको जन्म भयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यवस्थाको युगको काम

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५

मानिसहरूले अनुभवको आधारमा परमेश्‍वरलाई परिभाषित गर्ने प्रवृत्ति हुन्छ (छनौट गरिएको खण्ड) परमेश्‍वरलाई चिन्ने विषयको बारेमा कुराकानी...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६१

आजभोलि धेरै मानिसहरूले अरूसित सहकार्य गर्दा के-कस्ता पाठहरू सिक्नुपर्छ भनेर ध्यान दिँदैनन्। तिमीहरूमध्ये धेरैले अरूसित सहकार्य गर्दा पाठहरू...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२९

मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू) छैटौं महत्त्वपूर्ण मोड: मृत्यु धेरै दौडधूप, धेरै निराशा र विफलताहरूपछि, धेरै आनन्द...