सत्यता अभ्यास गर्नु भनेको के हो (भाग दुई)

व्यक्तिमा परमेश्‍वरप्रति सच्चा विश्‍वास कसरी जाग्छ? त्यो अनुभवबाट आउँछ। अनुभवबाट कसरी आउँछ? यदि तँ आफूले सामना गर्ने प्रत्येक व्यक्ति, घटना, र कामकुराको लागि परमेश्‍वरका अभिप्रायहरू के हुन् भनी खोजी र मनन गर्न सक्छस् भने, थुप्रै अनुभवपछि तँ बिस्तारै परमेश्‍वरप्रतिको साँचो बुझाइ—अर्थात् शाब्दिक बुझाइ होइन तर तँभित्रको गहन अन्तर्दृष्टिमा पुग्‍नेछस्। तेरो हृदयले विश्‍वास गर्ने र तेरो मुखले स्विकार्ने परमेश्‍वर तेरो हृदयमा बस्नुहुन्छ, र यो उहाँलाई कसैले खोसेर लान सक्दैन। अय्यूबकै कुरा गर्नुपर्दा, जब उसको परीक्षा लिइयो, तब उसका साथीहरूले यसो भने, “तिमीले पाप गरेर परमेश्‍वरलाई चिढ्याएका छौ। तुरुन्तै यहोवा परमेश्‍वरसामु क्षमा याचना गर!” अय्यूबलाई त्यस्तो लागेन, तर किन त्यस्तो लागेन? किनभने दशकौँको जीवनपश्‍चात्, अब परमेश्‍वरबारे उसको बुझाइ अनुभवमा मात्र आधारित थिएन; र उसले यसो भनेन: “परमेश्‍वरले आशिष् प्रदान गर्नुहुन्छ र उहाँ मान्छेप्रति कृपालु हुनुहुन्छ, र तिनीहरूलाई कहिल्यै वञ्चित राख्‍नुहुन्न।” उसको अनुभव के थियो भने, परमेश्‍वरले मान्छेलाई दिनुहुन्छ, तर उहाँले खोस्‍नु पनि हुन्छ। जब उहाँले मान्छेलाई केही कुरा दिनुहुन्छ, र उहाँले कहिलेकाहीँ ताडना दिने, अनुशासनमा राख्ने, र दण्ड दिने काम पनि गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई जे गर्नुहुन्छ त्यसमा मानवको मन, सोच, वा कल्पनाको हुकुम चल्दैन। त्यसकारण, अय्यूबको दशकौँको जीवन अनुभवले उसलाई यस्तो निष्कर्षमा पुर्‍यायो: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। यसको मतलब, परमेश्‍वरले गर्नुहुने सबैथोक, चाहे ती मानिसको नजरमा राम्रा हुन् या नराम्रा, ती सबै उहाँको योजनाका पाटाहरू हुन्। नराम्रा कुराहरू नै भइहाले पनि, शैतानले परमेश्‍वरको अनुमतिबिना मान्छेविरुद्ध केही गर्ने आँट गर्दैन। मानवजाति परमेश्‍वरको हातमा हुन्छ, र उहाँको सार्वभौमिकताअन्तर्गत रहँदा तिनीहरूले डराउनुपर्ने केही हुँदैन। तँ शैतानकै हातमा परिस् भने पनि, त्यो परमेश्‍वरकै सार्वभौमिकतामा भएको हुन्छ, र परमेश्‍वरको अनुमतिबिना शैतानले तँलाई छुने आँट पनि गर्दैन। अय्यूबसित यो स्तरको बुझाइ थियो, त्यसैले परमेश्‍वरले जे गर्नुभए पनि उसले कुनै गुनासो गरेन। उसले प्रस्टसित बुझ्यो कि यहोवा परमेश्‍वर मात्र सच्चा परमेश्‍वर हुनुहुन्छ जसले सबैमाथि सार्वभौमिकता राख्‍नुहुन्छ, र ती सबै स्वर्गदूतहरू, दुष्टात्माहरू, र पिशाचहरू परमेश्‍वर होइनन्। सबैथोकमाथि कसले सार्वभौमिकता राख्‍नुहुन्छ? मानवजातिमाथि र सबै थोकमाथि कसको सार्वभौमिकता छ? परमेश्‍वरको। चल्तीको भनाइ प्रयोग गर्दा, परमेश्‍वर सबैभन्दा महान्‌ हुनुहुन्छ। कुनै व्यक्तिको परिवार, उसको धनको स्तर, उसले दिनहरू आरामले कटाउँछ कि पीडामा, र उसको जीवनकाल—यी सबैकुराहरू परमेश्‍वरको हातमा हुन्छन्। यस सम्बन्धमा अय्यूबको गहिरो अनुभव थियो, जीवनभरमा एकदुईपटकको मात्र अनुभव थिएन। जब केही आइपर्थ्यो, यदि उसले त्यो परमेश्‍वरको सार्वभौमिकताअनुसार नै भएको हो भनेर बुझ्न सकेमा, त्यसले उसको दिमागमा गहिरो छाप छोड्थ्यो। उसलाई यी कुराहरू संयोगवश, वा मान्छेको वा शैतानको इच्छाले भएको होइन, बरू त्यो परमेश्‍वरको काम हो भन्‍ने गहिरो भान र समझ हुन्थ्यो, र उसले गुनासो गर्न सक्दैनथ्यो। त्यस्ता ठूला परीक्षाहरू सामना गर्दा अय्यूबलाई के महसुस भयो? उसलाई महसुस भयो कि परमेश्‍वर सर्वश्रेष्ठ हुनुहुन्छ, र उहाँ बुद्धिमान्‌ हुनुहुन्छ। परमेश्‍वरले जे गर्नुभए पनि उसले परमेश्‍वरको सधैँ प्रशंसा गर्न सक्थ्यो। यदि तँलाई यस्तै कुराहरू आइपर्‍यो र तैँले त्यसलाई बुझ्न सकिनस् भने, त्यसको मूल्याङ्कन गर्ने वा आफ्नै निष्कर्ष थोपर्ने काम नगर्। यदि तँलाई परमेश्‍वरको शुभेच्छा थाहा छैन भने त्यसको खोजी गर्, प्रतीक्षा गर् अनि समर्पित बन्। यो अभ्यास गर्ने सर्वोत्तम विधि, र अभ्यासको सर्वोत्तम मार्ग हो, अन्यथा तैँले अपमानित र लज्जित हुनुपर्नेछ। अय्यूबलाई यी सबै कुराहरूको अनुभवमा आधारित गहन ज्ञान थियो। यदि तैँले परमेश्‍वरलाई सधैँ गलत बुझ्छस् भने, तैँले सत्यता कहिल्यै प्राप्त गर्न सक्‍नेछैनस्, र परमेश्‍वरको आशिष् गुमाउनेछस्। यदि तैँले कैयौँ कठिनाइ भोगिस् नै भने पनि, केही हासिल गर्नेछैनस् किनकि परमेश्‍वरसँगको तेरो सम्बन्ध असामान्य छ, तैँले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्दैनस्, तँ उहाँको काम बुझ्दैनस्, र तँ साँचो रूपमा उहाँमा समर्पित हुँदैनस्। यसले गर्दा तैँले परमेश्‍वरबारे साँचो ज्ञान प्राप्त गर्न सक्‍नेछैनस्। परमेश्‍वर बोल्नुहुन्छ र काम गर्नुहुन्छ, र उहाँले तेरो लागि जतिसुकै मेहनतसाथ मूल्य चुकाउनुभए पनि, र तेरो लागि उहाँले जस्तोसुकै वातावरण सिर्जना गर्नुभए पनि, ती सबै अन्ततः तैँले परमेश्‍वरलाई चिन्न सक् भनेर हो। तैँले परमेश्‍वरलाई चिनिसकेपछि, उहाँसँगको तेरो सम्बन्ध अझ निकट र सामान्य बन्नेछ। परमेश्‍वरले बिनाकारण काम गर्नुहुन्न, दिक्क लागेर उहाँ कसैसँग खेल्ने त कुरै नगरौँ, तर उहाँले कसरी काम गर्नुहुन्छ भनेर मानिसले बुझ्दैन भने त्यो सामान्य कुरा हो। तर तिनीहरूले सत्यता खोज्नुपर्छ, र कम्तीमा पनि परमेश्‍वरबारे कुनै निष्कर्षमा पुग्नु हुँदैन—समझशक्ति भएको व्यक्ति हुनु भनेको यही हो। पत्रुसले भनेजस्तै, परमेश्‍वरले मानिसलाई खेलौना झैँ व्यवहार गर्नुभए पनि, वा जसरी व्यवहार गर्नुभए पनि, त्यो सधैँ सही नै हुन्छ। “यदि परमेश्‍वरले मलाई खेलौनाजस्तो व्यवहार गर्नुभयो भने, म कसरी तयार र इच्छुक नहुन सक्छु र?” पत्रुसलाई यी शब्दहरू बोल्न के कुराले प्रेरित गर्यो? (अनुभवले पत्रुसलाई यी शब्दहरू बोल्न लगायो। उसलाई थाहा थियो, परमेश्‍वरले जे गर्नुहुन्छ, उहाँका अभिप्रायहरू सधैँ असल हुन्छन्।) कहिलेकाहीँ तैँले परमेश्‍वरका अभिप्रायहरू जान्‍नेछैनस्, त्यतिबेला तैँले के गर्नुपर्छ? तैँले प्रतीक्षा, खोजी, र चिन्ने प्रयास गर्नुपर्छ। अय्यूब र पत्रुस फरक समयमा बाँचे, उनीहरूको पृष्ठभूमि फरक थियो, उनीहरूले फरक चीजहरू अनुभव गरे, र फरक वचनहरू बोले, तर उनीहरूको मार्ग र अभ्यास गर्ने तरिका एउटै थियो, र कुनै कुरा आइपर्दा परमेश्‍वरप्रति उनीहरूको मनोवृत्ति एउटै हुन्थ्यो। उनीहरूले यो विचार व्यक्त गर्न फरक भाषा मात्र प्रयोग गरेका हुन्। तर मानिसहरूले यसबाट के बुझ्छन्? परमेश्‍वरले चाहनुहुने के हो भनेर हेर्नका लागि खोजी र प्रतीक्षा गर्दै समर्पण अभ्यास गर्नुपर्छ। तर चिन्तित नबन्‍नू। सुरुमा यो मनोवृत्ति राख्नु ठीक हो। यदि केही आइपर्दा तँ ज्यादै नै चिन्तित बन्छस् र सत्यता कसरी खोज्ने भन्‍ने थाहा हुँदैन भने, र तँ परमेश्‍वरको बारेमा गुनासो गरिरहन्छस् भने, समस्या हुनेछ। कतिपय मानिसहरू भन्छन्, “म बुझ्दै बुझ्दिनँ! परमेश्‍वरले हामीलाई किन यस्तो व्यवहार गर्नुहुन्छ? यदि हामीलाई दियाबलसहरू र शैतानहरूलाई झैँ व्यवहार गरियो भने म समर्पित हुन सक्दिनँ। यो बेमनासिब र अतर्कसङ्गत कुरा हो!” तेरो मानव मन, धारणा, कल्पना, विद्रोहीपन, र अनाज्ञाकारिताले सीमा नाघ्दा पनि, के तँ अझै परमेश्‍वरको मार्गदर्शन पाउन लायक हुन्छस्? समर्पित हुनु भनेको समर्पित हुन्छु भन्नु, वा धर्मसिद्धान्त सुनाउनु, वा थोरै दृढता व्यक्त गर्नु, र थोरै आत्मसंयम अपनाउनुजस्तो सजिलो काम होइन। यो त्यति सजिलो छैन। यदि तँ परमेश्‍वरमा समर्पित हुन्छस् भने, तेरो अन्तिम इनाम उहाँबारे ज्ञान पाउनु, उहाँले तेरो लागि बन्दोबस्त गर्नुहुने वातावरण बुझ्‍न पाउनु, र अनुभवमा आधारित वास्तविक ज्ञान पाउनु हो। यसको मतलब, तैँले परमेश्‍वरको मन र उहाँको उत्कट अभिप्राय, साथसाथै बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि पुच्छर बाङ्गोको बाङ्गै हुनेहरूप्रति उहाँ निरास हुनुभएको बुझ्नेछस्। परमेश्‍वर तँ भ्रष्ट स्वभावहरू लिएर जिएको होइन, तीबाट उम्केको हेर्न चाहनुहुन्छ। त्यसैले उहाँले तँलाई न्याय र सजाय, काटछाँट, निन्दा गर्ने र ताडना दिने विधिहरू यति प्रयोग गर्नुपर्छ कि परमेश्‍वरले तँप्रति असंवेदनशील व्यवहार गरिरहनुभएको छ जस्तो देखिनुहुन्छ, यस्तो लाग्छ मानौँ उहाँ तँलाई निन्दा र सजाय गर्दै, वा खेलौनाझै खेलाउँदै हुनुहुन्छ। त्यसपछि तैँले के गर्छस्? यदि परमेश्‍वरले यस्तो व्यवहार गर्नुहुँदा पनि तैँले उहाँको गम्भीर अभिप्राय बुझ्न सक्छस् भने, त्यो नै पर्याप्त छ—तँ साँच्चिकै समर्पित हुनेछस्। अय्यूबको परीक्षा चल्दै गर्दा, उसले भन्यो, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” मामिलाबारे उसको बुझाइ के थियो? “मसित भएका सबैथोक यहोवा परमेश्‍वरले दिनुभएको हो, र उहाँले चाहनुभयो भने लान सक्नुहुन्छ, किनकि उहाँ परमेश्‍वर हुनुहुन्छ र उहाँमा यो शक्ति छ। मसित अस्वीकार गर्ने कुनै अधिकार छैन, किनभने मसँग जे छन् ती सबै उहाँबाट पाएको हुँ।” अय्यूबले बुझेको र अनुभव गरेको यही हो। त्यसबखत उसले के सङ्कल्प गरेको थियो? “मैले परमेश्‍वरलाई बुझ्नुपर्छ, मनासिब कुराहरू गर्नुपर्छ, र समझदार व्यक्ति बन्नुपर्छ। मलाई यी सबैकुरा परमेश्‍वरले दिनुभएको हो, र उहाँले जुनसुकै बेला लान सक्नुहुन्छ। म यसबारेमा परमेश्‍वरसित विवाद गर्ने कोसिस गर्न सक्दिनँ; त्यसो गर्नु उहाँको विरुद्धमा विद्रोह गर्नु हुनेछ। परमेश्‍वरका कार्यहरू अस्वीकार गर्दा, उहाँको मन दुख्नेछ, र यदि मैले अस्वीकार गरेँ भने, म साँच्चिकै असल व्यक्ति वा साँच्चिकै सृष्टि गरिएको प्राणी हुँदिनँ।” उसले त्यसबखत यसरी अभ्यास गरेको थियो, अनि यो अभ्यासमार्फत उसले के हासिल गर्‍यो? खासमा, ऊ धनी हुनु, वा ऊसँग पहिलेभन्दा बढी गाईबस्तु वा भेडा हुनु, वा पहिलेभन्दा सुन्दर बालबच्‍चा पाउनु वास्तविक परिणाम थिएन। ती त केवल परमेश्‍वरको अनुग्रहद्वारा प्रदान गरिएका चीजहरू हुन्। यो अनुभवमार्फत, वास्तवमा परमेश्‍वरले उसलाई उहाँबारे अझ राम्रो बुझाइ, समर्पण, उहाँसित अझ निकट सम्बन्ध, र उहाँको हृदयसित अझ बढी आत्मीयता प्रदान गर्नुभयो। परमेश्‍वरले जे गर्नुभए नि अय्यूबले बुझ्न सक्थ्यो, र त्यसउप्रान्त उसले निरर्थक वा धीरोद्धत शब्‍दहरू, र परमेश्‍वरको चित्त दुख्ने शब्दहरू बोलेन। के यो भ्रष्ट स्वभावबाट आफैलाई मुक्त पार्नु होइन र? शैतानले अबउप्रान्त तँलाई नियन्त्रण गर्न सक्दैन; तँ अब त्यसको होइन, परमेश्‍वरको नियन्त्रणमा हुन्छस्। परमेश्‍वरले जे गर्नुभए पनि तँ समर्पित हुन सक्छस्, र तँ उहाँकै हुन्छस्। त्यसबेला अय्यूब यो स्थितिमा थियो, र ऊसँग यस्तो मनोवृत्ति थियो। यसअलावा, उसले यस्तो व्यवहार गरेकोले र यस्तो वास्तविकतामा प्रवेश गरेकोले, अन्त्यमा परमेश्‍वर ऊकहाँ प्रकट हुनुभयो। परमेश्‍वर जुनसुकै स्वरूपमा आउनुभएको भए पनि, के परमेश्‍वर देखा पर्नाले उहाँबारे उसको बुझाइ गहन बनेन र? (बन्यो।) हो, त्यसबाट पक्कै पनि उसको बुझाइ गहन बन्यो। सुरुमा परमेश्‍वरबारे कथाहरूमा सुनेदेखि उहाँको अस्तित्व पुष्टि हुँदै उहाँलाई देखेसम्म—परमेश्‍वरले प्रदान गर्नुहुने अनुग्रहसँग तुलना गर्दा, मानवजातिको लागि यीमध्ये कुन ठूलो आशिष् हो? (परमेश्‍वरलाई देख्नुचाहिँ ठूलो आशिष् हो।) निश्‍चय पनि। जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यता बुझ्दैनन्, तिनीहरू सधैँ आफूलाई संरक्षण गर्न, अनुग्रह प्रदान गर्न, आफूलाई अरूभन्दा माथि उठाउन र आफ्ना सम्पूर्ण परिवारलाई सुरक्षा र खुसी प्रदान गर्न परमेश्‍वरलाई बिन्ती गर्छन्। तिनीहरू जहाँसुकै गए पनि प्रवचन सुनाउन सकूँ र अरूले आफ्नो ईर्ष्या र प्रशंसा गरून् भन्‍ने माग गर्छन्। मानिसहरू यही चाहन्छन्, तर परमेश्‍वरले प्रदान गर्न चाहनुभएको सबैभन्दा ठूलो आशिष्‌बारे तिनीहरू जानकार छैनन्। तिनीहरू बाह्य भौतिक अनुग्रह मात्र माग्छन्, तर तिनीहरूको हर अनुरोधले तिनीहरूलाई परमेश्‍वरको हृदयबाट झन् टाढा मात्र लैजान्छ। तिनीहरूले सबैभन्दा ठूलो वरदान गुमाउँछन्, र परमेश्‍वरको आशिष् गुमाउँछन्। यदि तैँले परमेश्‍वरबारे ज्ञान र सत्यता प्राप्त गर्न सकिनस् भने, के तँ उहाँको उपस्थितिमा बाँच्न सक्छस्? के तँ परमेश्‍वरका सारा बन्दोबस्तहरूमा साँच्चिकै समर्पित बन्न सक्छस्? यो पूर्णतया असम्भव छ।

सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने प्रक्रिया वास्तवमा तैँले आफैलाई चिन्ने र आफ्नो भ्रष्ट स्वभाव त्याग्ने प्रक्रिया हो। यो परमेश्‍वरसित आमनेसामने भएर अन्तरक्रिया गर्ने, र उहाँलाई चिन्ने प्रक्रिया पनि हो। तैँले सत्यता अभ्यास गर्छु त भन्छस्, तर परमेश्‍वरलाई कसरी चिन्दैनस्? परमेश्‍वरसित तेरो सम्बन्ध कसरी अझ निकट भएको छैन? तैँले उहाँलाई प्रत्येक दिन प्रार्थना गर्छु र मनका सबै कुरा सुनाउँछु भन्छस्, त्यसकारण के यो कालखण्डमा तँ उहाँसित अझ निकट महसुस गर्छस्? के तँलाई परमेश्‍वरप्रतिको तेरो विश्‍वास बढेको महसुस हुन्छ? के तँलाई यो समयमा परमेश्‍वरबारे थप बुझाइ प्राप्त गरेको, उहाँप्रति कम गुनासाहरू रहेको, र तैँले उहाँलाई गलत बुझ्ने र उहाँविरुद्ध विद्रोह गर्ने काममा कमी आएको महसुस गर्छस्? यदि तैँले यीमध्ये कुनै पनि कुरा आफूमा पाउँदैनस्, र तँ पहिलाकै जस्तो छस् भने, तैँले सत्यता अभ्यास गरेको छैनस् र शक्ति मात्र खर्चेर समय बर्बाद गरेको छस्। तँलाई कसैले पनि श्रम गर्न वा बल खर्च गर्न जबरजस्ती गरिरहेको छैन, साथसाथै कसैले पनि तँलाई सत्यता अभ्यास गर्नबाट रोक लगाइरहेको छैन। त्यो तँ आफैले रोजेको कुरा हो, र तँ श्रम गर्ने मार्गमा हिँड्दै छस्। यदि मानिसहरूले सत्यता अभ्यास गर्दैनन् वा सत्यता पछ्याउँदैनन् भने, तिनीहरू श्रमिक बनेरै छाड्छन्। यसरी मानिसहरूलाई सत्यता अभ्यास गर्नु कठिन हुन्छ। तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुन आउँदैन, र तिनीहरू सधैँ मेहनत र श्रम गर्नमै सन्तुष्ट हुन्छन्। अन्त्यमा, जब तिनीहरू अलिअलि धर्मसिद्धान्तहरू बुझ्न सफल हुन्छन्, तिनीहरूलाई सत्यता अभ्यास गर्ने तरिका थाहै हुँदैन। बरू, तिनीहरू थाहै नपाईकन फेरि पनि श्रम गर्नतिरै लाग्छन्। यसकारण, तैँले समयसमयमा आत्मचिन्तन गर्दै र आफैलाई जाँच्दै, र यस अवधिमा तैँले हासिल गरेको कुरामा ब्रदर-सिस्टरहरूसित सङ्गति गर्दै केही समय बिताउनुपर्छ। तँ भन्छस्, “मैले अझै पनि परमेश्‍वरबारे धेरै गलतबुझाइहरू बोकेको छु, मैले अहिलेसम्म तीमध्ये धेरैलाई सुल्झाएको छैन।” अरू कसैले भन्छ, “आजकाल मैले परमेश्‍वरको मनबारे केही बुझाइ प्राप्त गरेजस्तो लाग्छ। परमेश्‍वरले मानवजातिलाई कष्ट भोग्न दिनु राम्रो कुरा हो। पहिले म कष्टबाट डराउँथेँ, र कष्ट सामना गर्दा, लुक्न वा भाग्न चाहन्थेँ। अहिले मलाई के लाग्छ भने अलिअलि कष्ट भोगिसकेका मानिसहरू परमेश्‍वरसामु शान्त हुन, र बाह्य मामिलामा ध्यान केन्द्रित गर्नबाट आफूलाई रोक्‍न मात्र सक्छन्। कष्ट भोग्नु राम्रो हो, त्यसकारण परमेश्‍वरले सधैँ कष्टकर वातावरण सिर्जना गरेर मानिसहरूको जाँच र शोधन गर्नुहुन्छ। मलाई लाग्छ कि म परमेश्‍वरको उद्देश्य, र उहाँको उत्कट अभिप्रायलाई केही हदसम्म बुझ्छु र अनुभूति गर्छु। परमेश्‍वरले जे गर्नुहुन्छ ती असल हुन्छन्!” तैँले यसरी नै सङ्गति गर्नुपर्छ। सङ्गति गरेर तैँले फाइदा नै पाउनेछस्। यदि केही मानिसहरू फुर्सदमा भेला भएर गफ गर्छन्, आलोचना गर्छन्, वा विवाद निम्त्याउन सक्ने अन्य कुराहरू बोल्छन् भने, तिनीहरू परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास वा जीवन अनुभवबारे बोलिरहेका जस्ता देखिन सक्छन्, तर यदि तिनीहरूको हृदय शान्त छैन भने, तिनीहरूले कसरी सत्यता खोज्ने र सत्यतामा लागिपर्ने भनेर अभ्यास गर्नुपर्छ, र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न लागिपर्नुपर्छ। यदि तैँले सधैँ यसरी नै सत्यता पछ्याउँछस् भने, पवित्र आत्माले तँमा काम गर्नुहुनेछ र तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। तँमा रहेको सत्यताको कमीलाई सत्यता पछ्याउनुपर्ने बोझको रूपमा ली, सत्यता अभ्यास र अनुभव गर्, र सत्यतामा लागिपर्। तैँले यसलाई कसरी अभ्यास गर्नुपर्छ? तैँले आफूले नबुझ्ने वा बोध गर्न नसक्ने कुराहरूबारे सत्यता बुझ्ने व्यक्तिको मार्गदर्शन खोज्ने र माग्ने गर्नुपर्छ। यदि तैँले सधैँभरि यसरी नै अभ्यास गरिस् भने, तैँले अझ बढी सत्यता बुझ्नेछस् र धेरै फाइदा पाउनेछस्। धेरैजसो समय, तँलाई सत्यता कसरी सङ्गति गर्ने भन्‍ने थाहा हुँदैन, तैँले कामको छलफल गर्नमा मात्र ध्यान दिन्छस्, वा जहिले पनि सिद्धान्तबारे नभई तौरतरिकाबारे मात्र कुरा गर्छस्। यो विचलन हो, तर वास्तवमा तैँले कामको बारेमा बोल्दा सत्यताका सिद्धान्तहरूसित सम्बन्धित विषयमा सङ्गति गर्नुपर्छ; त्यसले तेरै जीवन प्रवेशमा फाइदा पुर्‍याउनेछ। सत्यताका सिद्धान्तहरूसित सम्बन्धित विषयमा प्रस्ट रूपले सङ्गति गरिसकेपछि, तैँले जीवन प्रवेशको मार्ग भेट्टाउनेछस्। यो काम गर्न र कर्तव्य निभाउन, साथै तेरो आफ्नै जीवन प्रवेशको लागि फाइदाजनक हुन्छ। के यो दुबै कुराको लागि फाइदाजनक छैन र? तैँले परिणाम पाउन र जीवन प्रवेश हासिल गर्न परमेश्‍वरमा विश्‍वास गर्दाको तेरो अनुभवबारे शुद्ध र खुला रूपले सङ्गति गर्नुपर्छ। सधैँ गफ वा आलोचना गर्नाले जीवन प्रवेशमा केही फाइदा पुग्दैन, बरु यसो गर्दा व्यक्तिले परमेश्‍वरमाथि विश्‍वास गरेर मुक्ति पाउने अवसर गुमाउनुपर्ने हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको सधैँ सत्यता अभ्यास गर्नमा ध्यान केन्द्रित गर्नु हो। तैँले सत्यता जति बढी अभ्यास गर्छस्, त्यति नै बढी मुक्ति पाउने अवसर हुन्छ। यदि तैँले अति कम मात्रामा मात्र सत्यता बुझ्छस् भने, तैँले अझै बढी खोजी गर्नुपर्छ। सत्यताबारे बुझाइ प्राप्त गरेर, अनि त्यसको अभ्यास गरेर मात्र तैँले वास्तविक परिवर्तन अनुभव गर्न, र मुक्तिको अझ ठूलो र अझ निश्‍चित आशा प्राप्त गर्न सक्छस्।

जुलाई १६, २०१७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्