परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३ (भाग छ)
अब हामी धर्मशास्त्रबाट निम्न खण्डहरू पढौं।
१२. उहाँको पुनरुत्थानपछि उहाँका चेलाहरूलाई येशूका वचनहरू
यूहन्ना २०:२६-२९ अनि फेरि आठ दिनपछि उहाँका चेलाहरू भित्रै थिए र थोमा पनि तिनीहरूसँग थिए: तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो र बीचमा खडा भएर भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। तब उहाँले थोमालाई भन्नुभयो, तिम्रो औँला यहाँ ल्याऊ र मेरा हातहरू हेर; र तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्वासी होइन, तर विश्वास गर्ने होऊ। अनि थोमाले उहाँलाई जवाफ दिएर भने, मेरा प्रभु र मेरा परमेश्वर। येशूले तिनलाई भन्नुभयो, थोमा तिमीले मलाई देखेको कारण विश्वास गरेका छौ: तिनीहरू आशिषित् हुन् जसले देखेका छैनन्, र पनि विश्वास गरेका छन्।
यूहन्ना २१:१६-१७ उहाँले तिनलाई फेरि दोस्रोपटक भन्नुभयो, यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? तिनले उहाँलाई भने, हो, प्रभु; तपाईंलाई थाहा छ म तपाईंलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा भेडालाई खुवाऊ। उहाँले तिनलाई तेस्रोपटक भन्नुभयो, यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुःखित भए किनभने उहाँले तिनलाई तेस्रोपटक “के तिमी मलाई प्रेम गर्छौ?” भनेर भन्नुभयो। अनि तिनले उहाँलाई भने, प्रभु, तपाईंलाई सबै कुरा थाहा छ; तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु। येशूले तिनलाई भन्नुभयो, मेरा भेडालाई खुवाऊ।
यी खण्डहरूले प्रभु येशूले उहाँको पुनरुत्थानपछि आफ्ना चेलाहरूलाई गर्नुभएका र भन्नुभएका निश्चित कुराहरू बयान गरेका छन्। पहिले, हामी पुनरुत्थानअघि र पुनरुत्थानपछि प्रभु येशूमा हुन सक्ने कुनै पनि भिन्नताहरूलाई हेरौं। के उहाँ केही दिनहरूअघिको त्यही प्रभु येशू हुनुहुन्थ्यो त? धर्मशास्त्रमा पुनरुत्थानपछिका प्रभु येशूलाई बयान गर्ने निम्न पङ्क्ति छ: “तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो र बीचमा खडा भएर भन्नुभयो, तिमीहरूलाई शान्ति होस्।” यो एकदमै स्पष्ट छ कि त्यस बेला प्रभु येशू अबउप्रान्त देहको शरीरमा हुनुहुन्नथ्यो, उहाँ त अब आत्मिक शरीरमा हुनुहुन्थ्यो। किनभने उहाँले देहका सीमाहरूलाई पार गरिसक्नुभएको थियो; ढोका बन्द भए पनि, उहाँ मानिसहरूको माझमा आउन सक्नुभयो र तिनीहरूले उहाँलाई देख्न सके। पुनरुत्थानपछिका प्रभु येशू र पुनरुत्थानअघि देहमा जिइरहनुभएका प्रभु येशूबीचको सबैभन्दा ठूलो भिन्नता यही नै हो। त्यस क्षणको आत्मिक शरीरको रूप र त्यसभन्दा अघिका प्रभु येशूको रूपबीच कुनै भिन्नता नभएको भए पनि, त्यस क्षणमा प्रभु येशू मानिसहरूका निम्ति पराईजस्तो महसुस हुने व्यक्ति हुनुभएको थियो, किनकि मृतकहरूबाट पुनरुत्थान हुनुभएपछि उहाँ एउटा आत्मिक शरीर हुनुभएको थियो, र उहाँको पहिलेको देहको तुलनामा, उहाँको यो आत्मिक शरीर धेरै अलमल र अन्योलमा पार्ने खालको थियो। यसले पनि प्रभु येशू ख्रीष्ट र मानिसहरूबीचमा धेरै ठूलो दूरी सृजना गर्यो, र त्यस क्षणमा प्रभु येशू ख्रीष्ट धेरै रहस्यमय हुनुभएको छ भन्ने मानिसहरूले आफ्नो हृदयमा महसुस गरे। मानिसहरूले गरेका यी अनुभूति र भावनाहरूले अकस्मात् तिनीहरूलाई देख्न वा छुन नसकिने परमेश्वरमा विश्वास गर्ने युगमा फर्काइल्यायो। त्यसैले, आफ्नो पुनरुत्थानपछि प्रभु येशूले गर्नुभएको पहिलो कुरा सबैको सामुन्ने आफूलाई देखाउनु, उहाँ अस्तित्वमा हुनुहुन्छ भनी पुष्टि गर्नु र उहाँको पुनरुत्थानको तथ्यलाई पुष्टि गर्नु थियो। यसका अतिरिक्त, यस कार्यले मानिसहरूसितको उहाँको सम्बन्धलाई उहाँले देहमा काम गर्नुहुँदा, उहाँ तिनीहरूले देख्न र छुन सक्ने ख्रीष्ट हुनुहुँदा जस्तो थियो त्यस्तै अवस्थामा पुनर्स्थापित गरिदियो। यसको एउटा परिणाम के थियो भने, प्रभु येशू क्रूसमा टाँगिनुभएपछि उहाँ बौरी उठ्नुभएको थियो भन्ने सम्बन्धमा मानिसहरूसित कुनै पनि शङ्का रहेन, र मानवजातिलाई उद्धार गर्ने प्रभु येशूको कामको बारेमा पनि तिनीहरूसित कुनै शङ्का रहेन। अर्को परिणाम के थियो भने, प्रभु येशू उहाँको पुनरुत्थानपछि मानिसहरूकहाँ देखापर्नुभएको र मानिसहरूलाई उहाँले आफूलाई देख्न र छुन दिनुभएको तथ्यले मानवजातिलाई अनुग्रहको युगमा दृढतापूर्वक सुरक्षित गर्यो, र प्रभु येशू “हराउनुभयो” वा उहाँ “एक शब्द नबोली जानुभयो” भन्ने कथित आधारमा अबउप्रान्त मानिसहरू पहिलेको व्यवस्थाको युगमा फर्कनेछैनन् भन्ने कुरा पनि सुनिश्चित गर्यो। यसरी प्रभु येशूले उहाँका शिक्षाहरू तथा उहाँले गर्नुभएका कामलाई तिनीहरूले पछ्याउनेछन् भन्ने कुरा पनि सुनिश्चित गर्नुभयो। यसरी, अनुग्रहको युगको काममा एउटा नयाँ चरणको औपचारिक सुरुवात भयो, अनि त्यस क्षणदेखि यता, व्यवस्थामुनि जिउँदै आइरहेका मानिसहरू औपचारिक रूपले व्यवस्थाबाट माथि उठे र नयाँ युगमा, नयाँ सुरुवातभित्र प्रवेश गरे। पुनरुत्थानपछि मानवजातिकहाँ प्रभु येशू देखा पर्नुभएको घटनाका बहुमुखी अर्थहरू यिनै हुन्।
प्रभु येशू अहिले आत्मिक शरीरमा वास गरिरहनुभएको थियो, त्यसकारण कसरी मानिसहरूले उहाँलाई छुन र देख्न सक्थे? यो प्रश्न मानवजातिकहाँ प्रभु येशू देखा पर्नुभएको घटनाको महत्त्वसँग सम्बन्धित छ। हामीले भर्खरै पढेका धर्मशास्त्रका खण्डहरूमा तिमीहरूले कुनै कुरा याद गर्यौ? सामान्यतया आत्मिक शरीरहरूलाई देख्न वा छुन सकिँदैन, र प्रभु येशूले जिम्मा लिनुभएको काम पुनरुत्थानपश्चात पूरा भइसकेको थियो। त्यसैले, सैद्धान्तिक हिसाबमा, उहाँ मानिसहरूलाई भेट्न तिनीहरूमाझ आफ्नो मूल स्वरूपमा फर्किजानु बिलकुलै आवश्यक थिएन, तर थोमाजस्ता मानिसहरूकहाँ प्रभु येशूको आत्मिक शरीर देखा पर्नुले उहाँ देखा पर्नुको महत्त्वलाई अझ बढी ठोस बनायो, त्यसैले यसले मानिसहरूको हृदयलाई अझ बढी गहिरो गरी छेड्यो। जब उहाँ थोमाकहाँ आउनुभयो, तब उहाँले शङ्कालु थोमालाई उहाँको हात छुन दिनुभयो र भन्नुभयो: “तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्वासी होइन, तर विश्वास गर्ने होऊ।” यी वचन र कार्यहरू उहाँ पुनरुत्थान भएपछि मात्र प्रभु येशूले भन्न र गर्न चाहनुभएका कुराहरू थिएनन्; वास्तवमा, ती उहाँ क्रूसमा टाँगिनुभन्दा अघि उहाँले गर्न चाहनुभएका कुराहरू थिए। यो स्पष्ट छ कि उहाँ क्रूसमा टाँगिनुभन्दा अघि नै प्रभु येशूले थोमाजस्ता मानिसहरूको बारेमा बुझिसक्नुभएको थियो। अनि, यसबाट हामी के देख्न सक्छौँ? उहाँ पुनरुत्थानपछि पनि अझै उही प्रभु येशू हुनुहुन्थ्यो। उहाँको सार परिवर्तन भएको थिएन। थोमाका शङ्काहरू त्यस बेला मात्र सुरु भएका थिएनन्, उसका शङ्काहरू त उसले प्रभु येशूलाई पछ्याइरहेको सम्पूर्ण समयमा ऊसितै थिए। तथापि, प्रभु येशू मरेकाहरूबाट जिई उठ्नुभएको अनि आफ्नो मूल स्वरूप, आफ्नो मूल स्वभावमा आत्मिक संसारबाट फर्कनुभएको, साथै उहाँ देहमा रहनुभएको समयमा प्राप्त भएको मानवजातिको बुझाइसहित फर्कनुभएको थियो, त्यसैले थोमालाई उहाँको आत्मिक शरीर देखाउनको लागि मात्रै नभई उहाँको आत्मिक शरीर छुन र त्यसको अस्तित्व अनुभव गर्न दिन, र उसका शङ्काहरू पूर्ण रूपले हटाउनको निम्ति उहाँ पहिले थोमाकहाँ जानुभयो। प्रभु येशू क्रूसमा टाँगिनुभन्दा अघि, थोमा उहाँ ख्रीष्ट हुनुहुन्छ भन्ने कुरामा सधैँ शङ्का गर्थे र विश्वास गर्न असमर्थ थिए। उसले आफ्नो आँखाले जे देख्न सक्थ्यो, उसले आफ्नो हातले जे छुन सक्थ्यो, त्यसको आधारमा मात्रै परमेश्वरमाथिको उसको विश्वास स्थापित थियो। यस प्रकारको व्यक्तिको विश्वासको बारेमा प्रभु येशूलाई राम्ररी थाहा थियो। त्यस्ता व्यक्तिहरूले केवल स्वर्गको परमेश्वरमा विश्वास गर्थे, तर परमेश्वरले पठाउनुभएका एक मात्र पुत्रलाई वा देहमा आउनुभएका ख्रीष्टलाई बिलकुलै विश्वास गर्दैनथे, न त तिनीहरूले उहाँलाई स्वीकार नै गर्थे। थोमाले प्रभु येशू ख्रीष्टको अस्तित्व र उहाँ साँच्चिकै देहधारी परमेश्वर हुनुहुन्छ भनी स्वीकार र विश्वास गर्न सकोस् भनेर उहाँले थोमालाई हात बढाएर उहाँको करङ छुन दिनुभयो। के प्रभु येशूको पुनरुत्थानभन्दा अघि र पछिको थोमाको शङ्कामा कुनै भिन्नता थियो र? उसले सधैँ शङ्का गरिरहेको थियो अनि प्रभु येशूको आत्मिक शरीर व्यक्तिगत रूपमा ऊकहाँ प्रकट नभएसम्म र उसलाई उहाँको शरीरमा भएका कीलाका डोबहरू छुन नदिएसम्म कसैले पनि उसका शङ्काहरू निवारण गर्न र उसलाई शङ्का गर्न छोड्न लगाउन सक्दैनथ्यो। त्यसैले, प्रभु येशूले थोमालाई उहाँको करङ छुन र कीलाका डोबहरूको अस्तित्व साँच्चिकै महसुस गर्न दिनुभएको समयपछि, थोमाको शङ्का हट्यो, अनि उसले प्रभु येशू बौरी उठ्नुभएको हो भनी साँचो रीतिले जान्न सक्यो, अनि उसले प्रभु येशू साँचो ख्रीष्ट र देहधारी परमेश्वर हुनुहुन्छ भनी स्वीकार र विश्वास गर्यो। यस समयमा, थोमाले अब फेरि कुनै शङ्का नगरेको भए पनि, उसले ख्रीष्टलाई भेट्ने अवसर सधैँका निम्ति गुमाइसकेको थियो। उसले उहाँको साथमा रहने, उहाँलाई पछ्याउने, उहाँलाई चिन्ने अवसर सधैँका लागि गुमाइसकेको थियो। उसले आफू ख्रीष्टद्वारा सिद्ध पारिइने मौका गुमाइसकेको थियो। प्रभु येशू देखा पर्नुभएको घटना र उहाँका वचनहरूले शङ्काले भरिएकाहरूको विश्वासमा एउटा निष्कर्ष र फैसला प्रदान गर्यो। स्वर्गका परमेश्वरलाई मात्र विश्वास गर्ने र ख्रीष्टलाई विश्वास नगर्ने शङ्कालुहरूलाई यो कुरा बताउन उहाँले आफ्नो वास्तविक वचन र कार्यहरू प्रयोग गर्नुभयो: परमेश्वरले तिनीहरूको विश्वासको तारिफ गर्नुभएन, न त शङ्का गर्दै उहाँलाई पछ्याएकोमा तिनीहरूको तारिफ नै गर्नुभयो। तिनीहरूले परमेश्वर र ख्रीष्टलाई पूर्ण रीतिले विश्वास गर्ने दिन मात्रै परमेश्वरले आफ्नो महान् काम पूरा गर्नुभएको दिन हुन सक्थ्यो। अवश्य नै, त्यो दिन तिनीहरूको शङ्कामाथि फैसला गरिने दिन पनि थियो। ख्रीष्टप्रतिको तिनीहरूको मनोवृत्तिले तिनीहरूको नियति निर्धारण गर्यो, र तिनीहरूसँग हठी शङ्का हुनुको अर्थ तिनीहरूको विश्वासले तिनीहरूको निम्ति कुनै फल फलाएन, र तिनीहरूमा कठोरता हुनुको अर्थ तिनीहरूका आशाहरू व्यर्थ भए। स्वर्गका परमेश्वरमाथिको तिनीहरूको विश्वास भ्रमहरूमा आधारित थियो, अनि ख्रीष्टप्रतिको तिनीहरूको शङ्का वास्तवमा ख्रीष्टप्रतिको तिनीहरूको साँचो मनोवृत्ति थियो, तिनीहरूले प्रभु येशूको शरीरमा भएका कीलाका डोबहरू छोएको भए तापनि, तिनीहरूको विश्वास अझै पनि व्यर्थको थियो र तिनीहरूको परिणाम इनारबाट डोकोमा पानी निकाल्नुझैँ थियो भनेर भन्न सकिन्छ—सबै व्यर्थ थियो। प्रभु येशूले थोमालाई जे भन्नुभयो, त्यो हरेक मानिसलाई यो कुरा बताउने उहाँको तरिका थियो भन्ने स्पष्ट छ: बौरी उठ्नुभएका प्रभु येशू नै मानिसहरूको माझमा काम गर्दै साढे तेत्तीस वर्ष बिताउनुहुने प्रभु येशू हुनुहुन्छ। उहाँलाई क्रूसमा टाँगिएको र उहाँले मृत्युछायाको घाटी अनुभव गर्नुभएको भए तापनि, र उहाँले पुनरुत्थानको अनुभव गर्नुभएको भए तापनि, उहाँले कुनै पनि पक्षमा कुनै परिवर्तन अनुभव गर्नुभएन। अहिले उहाँको शरीरमा कीलाका डोबहरू भए तापनि, र उहाँ पुनरुत्थान भई र चिहानबाट बाहिर निस्कनुभएको भए तापनि, उहाँको स्वभाव, मानवजातिसम्बन्धी उहाँको बुझाइ, र मानवजातिप्रतिका उहाँका अभिप्रायहरू अलिकति पनि बदलिएको थिएन। साथै, उहाँले मानिसहरूलाई उहाँ क्रूसबाट तल ओर्लेर आउनुभएको छ, पापमाथि विजयी हुनुभएको छ, कठिनाइहरूबाट पार पाउनुभएको छ, र मृत्युमाथि विजयी हुनुभएको छ भनी बताउँदै हुनुहुन्थ्यो। कीलाका डोबहरू शैतानमाथिको उहाँको विजयको प्रमाण, सारा मानवजातिलाई सफलतापूर्वक छुटकारा दिनको लागि पापबलि बन्नुभएको प्रमाण थियो। उहाँले पहिले नै मानवजातिको पाप लिइसक्नुभएको छ र उहाँले छुटकाराको आफ्नो काम पूरा गरिसक्नुभएको छ भनेर मानिसहरूलाई बताइरहनुभएको थियो। जब उहाँ आफ्ना चेलाहरूलाई भेट्न फर्कनुभयो, तब उहाँले आफ्नो उपस्थितिद्वारा तिनीहरूलाई यो सन्देश दिनुभयो: “म अझै जीवित छु, म अझै अस्तित्वमा छु; आज म साँच्चिकै तिमीहरूको माझमा उभिरहेको छु ताकि तिमीहरूले मलाई देख्न र छुन सक। म तिमीहरूको साथमा सधैँ हुनेछु।” प्रभु येशूले थोमाको उदाहरणलाई भविष्यका मानिसहरूका निम्ति चेतावनीको रूपमा पनि प्रयोग गर्न चाहनुहुन्थ्यो: तैँले प्रभु येशूमाथिको विश्वासमा उहाँलाई देख्न वा छुन नसके पनि, तेरो साँचो विश्वासको कारणले तँ धन्यको छस्, अनि तेरो साँचो विश्वासको कारणले तैँले प्रभु येशूलाई देख्न सक्छस्, अनि यस्तो प्रकारको व्यक्ति धन्यको हुन्छ।
थोमाकहाँ प्रकट हुनुहुँदा प्रभु येशूले बोल्नुभएको भनी बाइबलमा लेखिएका यी वचनहरू अनुग्रहको युगका सबै मानिसहरूको निम्ति अत्यन्तै उपयोगी छन्। उहाँ थोमाकहाँ देखा पर्नुभएको घटना र उहाँले तिनलाई भन्नुभएका वचनहरूले त्यसपछिका पुस्ताहरूमाथि गहिरो प्रभाव पारेको छ; ती दुवै कुराको अनन्त महत्त्व छ। परमेश्वरलाई विश्वास गरे पनि, परमेश्वरलाई शङ्का गर्ने व्यक्तिलाई थोमाले प्रतिनिधित्व गर्छ। तिनीहरू शङ्कालु प्रकृतिका हुन्छन्, तिनीहरूमा कुटिल हृदय हुन्छ, तिनीहरू विश्वासघाती हुन्छन्, र परमेश्वरले पूरा गर्न सक्नुहुने कुराहरूमा तिनीहरू विश्वास गर्दैनन्। तिनीहरूले परमेश्वरको सर्वशक्तिमान्ता तथा उहाँको सम्प्रभुतामा विश्वास गर्दैनन्, न त तिनीहरूले देहधारी परमेश्वरमा नै विश्वास गर्छन्। तैपनि, प्रभु येशूको पुनरुत्थानले तिनीहरूका यी गुणहरूलाई प्रहार गर्यो, र यसले तिनीहरूलाई आफ्नो शङ्का पत्ता लगाउने, आफ्नो शङ्का पहिचान गर्ने, र आफ्नो विश्वासघातलाई स्वीकार गर्ने अवसर पनि प्रदान गर्यो, र यसरी तिनीहरू प्रभु येशूको अस्तित्व र पुनरुत्थानमा साँचो रीतिले विश्वास गर्ने अवस्थामा आइपुगे। थोमालाई जे भएको थियो, त्यो पछिका पुस्ताहरूको निम्ति एउटा चेतावनी र सावधानी थियो ताकि धेरै मानिसहरूले आफैलाई थोमाजस्तो शङ्कालु नहुन, र यदि तिनीहरू शङ्काले भरिए भने तिनीहरू अन्धकारभित्र डुब्नेछन् भनी चेतावनी दिन सकून्। यदि तँ परमेश्वरलाई पछ्याउँछस् तर थोमाले जस्तै, परमेश्वरको अस्तित्व छ कि छैन भनेर पुष्टि, प्रमाणित र अनुमान गर्न सधैँ प्रभुको करङ र उहाँका कीलाका डोबहरू छुन चाहन्छस् भने परमेश्वरले तँलाई त्याग्नुहुनेछ। त्यसैले, मानिसहरू थोमाजस्तो आफ्नै आँखाले देख्न सकेपछि मात्र विश्वास गर्ने नबनून् तर शुद्ध, इमानदार मानिसहरू बनून्, परमेश्वरप्रति शङ्काहरू नपालून्, केवल उहाँलाई विश्वास गरून् र पछ्याऊन् भन्ने चाहना प्रभु येशूको हुन्छ। यस्ता मानिसहरू धन्यका हुन्छन्। यो उहाँले मानिसहरूबाट गर्नुभएको एउटा सानो अपेक्षा हो, र यो उहाँका अनुयायीहरूको निम्ति एउटा चेतावनी हो।
माथि उल्लेखित कुरा शङ्काले भरिएकाहरूप्रतिको प्रभु येशूको मनोवृत्ति हो। त्यसो भए, उहाँलाई इमानदारितापूर्वक विश्वास गर्न र पछ्याउन सक्ने मानिसहरूका निम्ति चाहिँ प्रभु येशूले के भन्नुभयो र के गर्नुभयो? प्रभु येशू र पत्रुसबीचको संवादद्वारा हामी यसपछि यही कुरा हेर्न गइरहेका छौँ।
यस कुराकानीमा, प्रभु येशूले पत्रुसलाई बारम्बार एउटा कुरा सोध्नुभयो: “यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” यो साँचो रीतिले ख्रीष्टलाई विश्वास गर्ने र प्रभुलाई प्रेम गर्नमा लागिपर्ने पत्रुसजस्ता मानिसहरूबाट प्रभु येशूले आफ्नो पुनरुत्थानपछि अपेक्षा गर्नुभएको उच्च मापदण्ड हो। यो प्रश्न एक प्रकारको अनुसन्धान र केरकार थियो, तर त्यो भन्दा पनि बढी, यो पत्रुसजस्ता मानिसहरूको लागि एउटा मापदण्ड र अपेक्षा थियो। प्रभु येशूले यस प्रकारको प्रश्न गर्ने विधि प्रयोग गर्नुभयो ताकि मानिसहरूले आफैमाथि चिन्तन गरून् र आफैलाई नियालून् र यो प्रश्न सोधून्: मानिसहरूका निम्ति प्रभु येशूका मापदण्डहरू के-के हुन्? के म प्रभुलाई प्रेम गर्छु? के म परमेश्वरलाई प्रेम गर्ने व्यक्ति हुँ? मैले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? प्रभु येशूले यो प्रश्न पत्रुसलाई मात्रै सोध्नुभएको भए तापनि, सत्य के हो भने, पत्रुसलाई यी प्रश्नहरू सोधेर आफ्नो हृदयमा उहाँले परमेश्वरलाई प्रेम गर्न खोज्ने धेरै मानिसहरूलाई यही प्रकारको प्रश्न सोध्न यो अवसरको प्रयोग गर्न चाहनुभयो। पत्रुसले यस प्रकारको व्यक्तिको प्रतिनिधिको रूपमा काम गर्न र प्रभु येशू स्वयम्को मुखबाट यो प्रश्न प्राप्त गर्ने सौभाग्य मात्र पाएका थिए।
आफ्नो पुनरुत्थानपछि प्रभु येशूले थोमालाई भन्नुभएका “तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्वासी होइन, तर विश्वास गर्ने होऊ” भन्ने वचनहरू र पत्रुसलाई “यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” भनेर तीनपल्ट गरिएको प्रश्नलाई तुलना गर्दा, यसले प्रभु येशूको मनोवृत्तिले कठोरता र प्रश्न गर्दाको समयमा उहाँले अनुभव गर्नुभएको आतुरताबारे मानिसहरूलाई अझै राम्ररी अनुभव गराउँछ। शङ्कालु थोमाको बारेमा कुरा गर्दा, उनको छलपूर्ण प्रकृतिको कारण, प्रभु येशूले उसलाई आफ्नो हात बढाएर उहाँको शरीरको कीलाका डोबहरू छुन दिनुभयो जसले उसलाई प्रभु येशू बौरी उठ्नुभएका मानिसको पुत्र हुनुहुन्छ भनी विश्वास गर्न र ख्रीष्टको रूपमा रहेको प्रभु येशूको पहिचानलाई स्वीकार गर्न अग्रसर गरायो। प्रभु येशूले थोमालाई कडा रूपले हप्काउनुभएन, र उसलाई मौखिक रूपले कुनै स्पष्ट न्याय पनि गर्नुभएन, तैपनि उहाँले उसलाई बुझ्नुभएको छ भनी थोमालाई थाहा दिन व्यवहारिक कार्यहरूको प्रयोग गर्नुभयो, साथै त्यस्तो व्यक्तिप्रतिको आफ्नो मनोवृत्ति तथा अठोटलाई पनि प्रदर्शन गर्नुभयो। त्यस्तो व्यक्तिप्रतिको प्रभु येशूका मापदण्ड र अपेक्षाहरू उहाँले भन्नुभएका कुराहरूबाट देख्न सकिँदैन, किनकि थोमाजस्ता मानिसहरूमा साँचो विश्वासको एक त्यान्द्रो पनि हुँदैन। तिनीहरूको निम्ति प्रभु येशूका मापदण्डहरू सीमित हुन्छन्, तर पत्रुसजस्ता मानिसहरूको निम्ति उहाँले प्रकट गर्नुभएको मनोवृत्ति भने पूर्ण रूपले भिन्न छ। पत्रुसले आफ्नो हात बढाएर उहाँका कीलाका डोबहरू छोएको उहाँले चाहनुभएन, न त उहाँले पत्रुसलाई “अविश्वासी होइन, तर विश्वास गर्ने होऊ” भनेर नै भन्नुभयो। बरु, उहाँले पत्रुसलाई बारम्बार उही प्रश्न सोध्नुभयो। यो प्रश्न विचारयोग्य र अर्थपूर्ण थियो, यस्तो प्रश्नले ख्रीष्टका हरेक अनुयायीलाई अफसोस र डर अनुभूति गराउने मात्र होइन प्रभु येशूको चिन्तित र दुःखी मनस्थितिलाई पनि अनुभूति गर्ने तुल्याउँछ। अनि जब तिनीहरू ठूलो पीडा र कष्टमा हुन्छन्, तब तिनीहरूले प्रभु येशूको चिन्ता र उहाँको वास्तालाई अझ बढी बुझ्न सक्छन्; तिनीहरूले उहाँको गम्भीर शिक्षा र शुद्ध, इमान्दार मानिसहरूप्रतिका उहाँका कडा मापदण्डहरू महसुस गर्छन्। प्रभु येशूको प्रश्नले मानिसहरूलाई के कुरा महसुस गराउँछ भने, यी सरल शब्दहरूमा प्रकट भएका प्रभुका अपेक्षाहरू केवल उहाँमा विश्वास गर्नु र उहाँलाई पछ्याउनु मात्र नभई प्रेमिलोपन प्राप्त गर्नु, आफ्नो प्रभुलाई र आफ्नो परमेश्वरलाई प्रेम गर्ने आचरण हासिल गर्नु हो। यस्तो प्रकारको प्रेम वास्तापूर्ण र आज्ञाकारी हुन्छ। यो मानिसहरू परमेश्वरको निम्ति जिउनु, परमेश्वरको निम्ति मर्नु, सबै कुरा परमेश्वरको निम्ति समर्पण गर्नु, र सबै कुरा परमेश्वरको निम्ति खर्च गर्नु र दिनु हो। यस्तो प्रेम परमेश्वरलाई सान्त्वना दिनु, उहाँलाई गवाहीमा आनन्दित हुन र विश्राममा रहन दिनु पनि हो। यो मानवजातिले परमेश्वरको ऋण तिर्नु हो, र मानिसको जिम्मेवारी, दायित्व र कर्तव्य हो, र यो मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरि पछ्याउनुपर्ने साँचो बाटो हो। यी तीन प्रश्नहरू प्रभु येशूले पत्रुसबाट र सिद्ध तुल्याइने सबै मानिसहरूको लागि तय गर्नुभएको मापदण्ड र आग्रह थियो। यिनै तीन प्रश्नहरूले पत्रुसलाई जीवनको अन्त्यसम्म उहाँको मार्ग पछ्याउन अग्रसर र उत्प्रेरित गराए, अनि प्रभु येशू बिदाइ हुने समयमा यिनै प्रश्नहरूले पत्रुसलाई सिद्ध पारिने मार्गमा आफ्नो यात्रा सुरु गर्न अग्रसर गराए, र प्रभुप्रतिको उनको प्रेमको कारण यिनै प्रश्नले उनलाई प्रभुको हृदयको निम्ति वास्ता गर्न, प्रभुको आज्ञापालन गर्न, प्रभुलाई सान्त्वना प्रदान गर्न, र यही प्रेमको कारण, आफ्नो सम्पूर्ण जीवन र आफ्नो पूरा अस्तित्व अर्पण गर्न अग्रसर गराए।
अनुग्रहको युगको अवधिमा, परमेश्वरको कार्य मुख्य रूपमा दुई प्रकारका मानिसहरूका निम्ति थियो। पहिलो प्रकारको व्यक्ति उहाँमा विश्वास गर्ने र उहाँलाई पछ्याउने, उहाँका आज्ञाहरूलाई पालन गर्न सक्ने, क्रूस उठाउन सक्ने र अनुग्रहको युगको साँचो मार्गलाई पछ्याइरहन सक्ने व्यक्ति थियो। यस प्रकारको व्यक्तिले परमेश्वरको आशिष् प्राप्त गर्न र परमेश्वरको अनुग्रहमा आनन्दित हुन सक्थ्यो। दोस्रो प्रकारको व्यक्ति सिद्ध तुल्याइन सकिने पत्रुसजस्तो व्यक्ति हो। त्यसैले, प्रभु येशूको पुनरुत्थान भएपछि, सर्वप्रथम उहाँले सबैभन्दा अर्थपूर्ण यी दुई कुराहरू गर्नुभयो। एउटा थोमासित गरिएको थियो भने अर्को चाहिँ पत्रुससित। यी दुई कुराहरूले केलाई प्रतिनिधित्व गर्छन्? के ती कुराले मानवजातिलाई मुक्ति दिने परमेश्वरको साँचो अभिप्रायहरूलाई प्रतिनिधित्व गर्छन्? के ती कुराले मानवजातिप्रति परमेश्वरको इमानदारितालाई प्रतिनिधित्व गर्छन्? थोमाको जीवनमा उहाँले गर्नुभएको काम मानिसहरूलाई शङ्कालु होइन, विश्वास गर्ने मानिसहरू बन्नू भनी चेतावनी दिनको लागि थियो। पत्रुसमाथि उहाँले गर्नुभएको काम पत्रुसजस्ता मानिसहरूको विश्वासलाई बलियो पार्न र यस्तो व्यक्तिबाट उहाँले अपेक्षा गर्नुभएका मापदण्डहरूलाई स्पष्ट पार्न र त्यस्ता व्यक्तिहरूले पछ्याइरहनुपर्ने लक्ष्यहरू औँल्याउनका लागि थियो।
प्रभु येशू बौरी उठ्नुभएपछि, उहाँ आफूले आवश्यक ठान्नुभएका मानिसहरूकहाँ प्रकट हुनुभयो, तिनीहरूसित बोल्नुभयो, र तिनीहरूलाई मापदण्डहरू दिनुभयो, र यसरी उहाँले मानिसहरूका निम्ति आफ्ना अभिप्रायहरू र तिनीहरूबाट गरिएका अपेक्षाहरू छोडेर जानुभयो। भनाइको अर्थ, देहधारी परमेश्वर भएको हैसियतले मानवजातिप्रति उहाँको चिन्ता र मानिसहरूको लागि उहाँको मापदण्ड कहिल्यै बदलिएको छैन; उहाँ देहमा हुनुहुँदा र उहाँ क्रूसमा टाँगिएर पुनरुत्थान भई आत्मिक शरीरमा हुनुभएपछि पनि यी उस्तै रहे। उहाँ क्रूसमा टाँगिनुभन्दा अगाडि चेलाहरूको निम्ति चिन्तित हुनुहुन्थ्यो, र उहाँको हृदयमा उहाँ हरेक व्यक्तिको अवस्थाको बारेमा स्पष्ट हुनुहुन्थ्यो, र उहाँले हरेक व्यक्तिको कमी कमजोरी बुझ्नुहुन्थ्यो, र अवश्य नै, उहाँ मर्नुभएपछि पुनरुत्थान भई आत्मिक शरीर बन्नुभएपछि पनि हरेक व्यक्तिको बारेमा उहाँको बुझाइ उहाँ देहमा हुनुभएको समयको जस्तै थियो। ख्रीष्टको रूपमा रहेको उहाँको पहिचानबारे मानिसहरू पूर्ण रूपले विश्वस्त छैनन् भन्ने उहाँलाई थाहा थियो, तर देहमा हुँदाको समयमा उहाँले मानिसहरूबाट कडा मापदण्डहरू अपेक्षा गर्नुभएन। तथापि, उहाँ पुनरुत्थान हुनुभएपछि, तिनीहरूकहाँ प्रकट हुनुभयो अनि प्रभु येशू परमेश्वरबाट आउनुभएको हो र उहाँ देहधारी परमेश्वर हुनुहुन्छ भनी तिनीहरूलाई पूर्ण रूपले विश्वस्त तुल्याउनुभयो, अनि उहाँ देखा पर्नुभएको घटना र उहाँको पुनरुत्थानको तथ्यलाई मानवजातिको जीवनपर्यन्त खोजीको निम्ति सबैभन्दा ठूलो दर्शन र उत्प्रेरणाको रूपमा प्रयोग गर्नुभयो। मृत्युबाट भएको उहाँको पुनरुत्थानले उहाँलाई पछ्याउनेहरू सबैलाई सामर्थ्य मात्र दिएन यसले त मानवजातिको माझमा अनुग्रहको युगको उहाँको कामलाई पूर्ण रूपले कार्यान्वयन पनि गर्यो, र यसरी प्रभु येशूको अनुग्रहको युगको मुक्तिको सुसमाचार मानवजातिको हरेक कुनामा क्रमिक रूपमा फैलँदै गयो। के तँ पुनरुत्थानपछि प्रभु येशू देखा पर्नुभएको घटनाको कुनै महत्त्व थियो भनेर भन्थिस्? यदि तँ त्यस समयको थोमा वा पत्रुस भएको भए, र तेरो जीवनमा तैँले यो अत्यन्तै अर्थपूर्ण कुराको सामना गरेको भए, यसले तँमाथि कस्तो प्रकारको प्रभाव पार्नेथ्यो? के तैँले यसलाई परमेश्वरमाथि विश्वास गर्ने तेरो जीवनको सबैभन्दा उत्तम र सबैभन्दा ठूलो दर्शनको रूपमा देख्नेथिइस्? उहाँलाई पछ्याउने क्रममा, उहाँलाई सन्तुष्ट पार्न प्रयास गर्ने क्रममा, अनि तेरो सारा जीवनमा परमेश्वरलाई प्रेम गर्न खोज्ने क्रममा, के यसलाई तैँले आफूलाई उत्प्रेरित गर्ने शक्तिको रूपमा देख्नेथिइस्? के तैँले यो महान् दर्शनलाई फैलाउन जीवनभरिको प्रयास अर्पण गर्नेथिइस्? के तैँले प्रभु येशूको मुक्ति फैलाउने कार्यलाई परमेश्वरको आज्ञाको रूपमा स्वीकार गर्नेथिइस्? तिमीहरूले यसलाई अनुभव नगरेको भए पनि, आधुनिक मानिसहरूका लागि परमेश्वर र उहाँको इच्छाको स्पष्ट बुझाइ प्राप्त गर्न थोमा र पत्रुसका उदाहरणहरू पहिल्यै पर्याप्त छन्। यो भन्न सकिन्छ कि परमेश्वर देहधारी भइसक्नुभएपछि, उहाँले व्यक्तिगत रूपमा मानवजातिमाझको जीवन अनुभव गरिसक्नुभएपछि, र व्यक्तिगत रूपमा मानव जीवन अनुभव गरिसक्नुभएपछि, र मानवजातिको भ्रष्टता र त्यस समयको मानव जीवनको अवस्था देखिसक्नुभएपछि, देहमा हुनुभएका परमेश्वरले मानवजाति कति असहाय, विलापमय र दयनीय रहेछ भनी झन् गहन रूपमा महसुस गर्नुभयो। देहमा जिउँदा परमेश्वरले धारण गर्नुभएको आफ्नो मानवताको कारणले, आफ्नो शारीरिक अन्तर्ज्ञानको कारण उहाँले मानव अवस्थाको निम्ति अझ धेरै सहानुभूति गर्नुभयो। यसले गर्दा उहाँले आफ्ना अनुयायीहरूका निम्ति अझ बढी फिक्री गर्नुभयो। सायद यी तिमीहरूले बुझ्न नसक्ने कुराहरू होलान्, तर देहमा रहनुभएका परमेश्वरले उहाँका सबै अनुयायीहरूका निम्ति महसुस गर्नुभएको यो चिन्ता र फिक्रीलाई म केवल दुई शब्द प्रयोग गरेर व्याख्या गर्न सक्छु: “उत्कट चिन्ता।”। यो पदावली मानव भाषाबाट आएको भए पनि, र यो अत्यन्तै मानवको जस्तो भए पनि, यसले आफ्ना अनुयायीहरूप्रतिका परमेश्वरका भावनाहरूलाई साँचो रूपमा व्यक्त र व्याख्या गर्छ। मानिसहरूको निम्ति परमेश्वरको उत्कट चिन्ताको सम्बन्धमा भन्दा, तिमीहरूले आफ्ना अनुभवहरूको दौरान यसलाई विस्तारै महसुस गर्नेछौ र यसको स्वाद पाउनेछौ। तथापि, तिमीहरूले आफ्नै स्वभावमा परिवर्तनको खोजी गरेको आधारमा परमेश्वरको स्वभावलाई बिस्तारै बुझेर मात्रै यसलाई प्राप्त गर्न सकिन्छ। जब प्रभु येशू यसरी देखा पर्नुभयो, तब यसले मानवजातिमाझ रहेका उहाँका अनुयायीहरूप्रतिको उहाँको उत्कट चिन्तालाई वास्तविकतामा उतार्यो र उहाँको आत्मिक शरीरमा, अर्थात् उहाँको ईश्वरत्वमा स्थानान्तरण गरायो। उहाँ देखा पर्नुभएको घटनाले मानिसहरूलाई एकपल्ट फेरि परमेश्वरको चिन्ता र वास्ता अनुभव र अनुभूति गर्न दियो, साथै युगको आरम्भ गर्ने, युगको अनावरण गर्ने, अनि युगको अन्त्य पनि गर्ने परमेश्वर नै हुनुहुन्छ भन्ने कुरालाई पनि यसले शक्तिशाली रूपमा प्रमाणित गर्यो। उहाँ देखा पर्नुभएको घटनाद्वारा, उहाँले सबै मानिसहरूको विश्वासलाई बलियो बनाउनुभयो र संसारसामु उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ भन्ने तथ्य प्रमाणित गर्नुभयो। यसले उहाँका अनुयायीहरूलाई अनन्त पुष्टि प्रदान गर्यो, र उहाँ देखा पर्नुभएको घटनामार्फत उहाँले उहाँको नयाँ युगको कामको एउटा चरण पनि आरम्भ गर्नुभयो।
१३. पुनरुत्थानपछि येशूले रोटी खानुहुन्छ र धर्मशास्त्रको व्याख्या गर्नुहुन्छ
लूका २४:३०-३२ अनि यस्तो भयो, उहाँ तिनीहरूसँग खान बस्नुहुँदा, उहाँले रोटी लिनुभयो र त्यसलाई आशिष् दिनुभयो र त्यो भाँच्नुभयो र तिनीहरूलाई दिनुभयो। अनि तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँलाई चिने; अनि उहाँ तिनीहरूका नजरबाट अलप हुनुभयो। अनि तिनीहरूले एक अर्कालाई भने, उहाँले हामीसँग कुरा गर्नुहुँदा र उहाँले हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय हामीभित्र जलेको थिएन र?
१४. चेलाहरूले येशूलाई पोलेको माछा खान दिन्छन्
लूका २४:३६-४३ अनि जब तिनीहरू कुरा गरिरहेका थिए तब येशू स्वयम् तिनीहरूको माझमा खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। तर तिनीहरू भयभीत भएर डराए अनि आफूले प्रेत देख्यौँ भन्ने ठाने। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन व्याकुल हुन्छौ? र तिमीहरूका मनमा किन विचारहरू उत्पन्न हुन्छन्? मेरा हात र मेरा खुट्टाहरू हेर, म स्वयम् नै हुँ: मलाई छोओ र हेर; किनकि प्रेतको देह र हाड हुँदैन, तिमीहरूले देख्छौ कि मेरा त छन्। अनि उहाँले बोल्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो। तिनीहरूले आनन्दको कारण विश्वास गर्न नसकेर छक्क पर्दा उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग केही मासु छ? अनि तिनीहरूले उहाँलाई पोलेको माछाको एक टुक्रा र महको चाका दिए। अनि उहाँले त्यो लिनुभयो र तिनीहरूका अगाडि खानुभयो।
यसपछि, हामी धर्मशास्त्रबाट लिइएका माथिका खण्डहरूलाई हेर्नेछौं। पहिलो खण्ड आफ्नो पुनरुत्थानपछि प्रभु येशूले रोटी खानुभएको र धर्मशास्त्र व्याख्या गर्नुभएको बारेमा रहेको वृत्तान्त हो, र दोस्रो खण्ड प्रभु येशूले पोलेको माछा खानुभएको बारेमा रहेको वृत्तान्त हो। यी दुई खण्डहरूले तिमीहरूलाई कसरी परमेश्वरको स्वभाव जान्न सहयोग गर्छन्? प्रभु येशूले रोटी र त्यसपछि पोलेको माछा खानुभएको वृत्तान्तहरूबाट तिमीहरूको दिमागमा कस्तो प्रकारको चित्रको ख्याल आउँछ, के तिमीहरू कल्पना गर्न सक्छौ? यदि प्रभु येशू तिमीहरूको सामु रोटी खाँदै उभिरहनुभएको थियो भने, तिमीहरूले कस्तो महसुस गर्थ्यौ, के तिमीहरू कल्पना गर्न सक्छौ? वा, यदि उहाँ तिमीहरूसित एउटै टेबुलमा खाँदै हुनुहुन्थ्यो, मानिसहरूसित माछा र रोटी खाँदै हुनुहुन्थ्यो भने, त्यस क्षणमा तँलाई कस्तो अनुभूति हुनेथ्यो? यदि तँ प्रभुको धेरै नजिक भएको, अनि उहाँ तँसित अति घनिष्ठ रहनुभएको महसुस गर्छस् भने, यो अनुभूति ठीक हुन्छ। आफ्नो पुनरुत्थानपछि भेला भएका मानिसहरूको अघि रोटी र माछा खाएर प्रभु येशूले ठीक यही परिणाम ल्याउन चाहनुहुन्थ्यो। यदि प्रभु येशूले आफ्नो पुनरुत्थानपछि मानिसहरूसित बोल्नु मात्र भएको भए, यदि तिनीहरूले उहाँको देह र हाडहरूलाई महसुस गर्न नसकी उहाँलाई पहुँच प्राप्त गर्न नसकिने आत्माको रूपमा महसुस गरेका भए, तिनीहरूले कस्तो महसुस गर्नेथे? के तिनीहरू हतोत्साहित हुनेथेनन् र? हतोत्साहित अनुभव गरेर के मानिसहरूले त्यागिएको अनुभव गर्नेथिएनन् र? के तिनीहरूले आफू र प्रभु येशू ख्रीष्टको बीचमा दूरी अनुभव गर्नेथेनन् र? यस दूरीले परमेश्वरसँगको मानिसहरूको सम्बन्धमा कस्तो नकारात्मक प्रभाव सृजना गर्नेथ्यो? मानिसहरू निश्चय नै डराउनेथे, त्यसकारण तिनीहरू उहाँको नजिक जाने साहस गर्दैनथे, र यसरी तिनीहरूसँग उहाँलाई एउटा सम्मानजनक दूरीमा राख्ने मनोवृत्ति हुनेथ्यो। त्यस बेलादेखि तिनीहरूले प्रभु येशू ख्रीष्टसँगको घनिष्ठ सम्बन्धलाई तोड्नेथे र अनुग्रहको युगभन्दा पहिलेजस्तै मानवजाति र स्वर्गका परमेश्वरबीचको सम्बन्धमा फर्कनेथे। मानिसहरूले छुन वा महसुस गर्न नसक्ने आत्मिक शरीरले परमेश्वरसँगको तिनीहरूको घनिष्ठतालाई मेटाइदिनेथ्यो, र यसले प्रभु येशू ख्रीष्ट देहमा हुनुहुँदाको समयमा स्थापित उहाँ र मानिसहरूबीचको कुनै दूरी नभएको घनिष्ठ सम्बन्धलाई अस्तित्वविहीन बनाइदिनेथ्यो। आत्मिक शरीरद्वारा मानिसहरूमा उत्पन्न हुने कुराहरू त केवल डर, बेवास्ता र निःशब्द टोलाइ मात्र थिए। तिनीहरूले उहाँसित घनिष्ठ हुने वा उहाँसित कुराकानीमा तल्लीन हुने साहस पनि गर्न सक्दैनथे, उहाँलाई पछ्याउने, भरोसा गर्ने वा उहाँतर्फ दृष्टि लगाउने त परको कुरा हो। परमेश्वरले उहाँप्रति मानिसहरूसित यस प्रकारको भावना भएको देख्न चाहनुभएन। मानिसहरू उहाँबाट तर्किहिँडेको वा तिनीहरूले आफैलाई उहाँदेखि अलग गरेको उहाँले हेर्न चाहनुभएन; मानिसहरूले उहाँलाई बुझेको, र तिनीहरू उहाँको नजिक आएको र उहाँको परिवार बनेको मात्र उहाँ चाहनुहुन्थ्यो। यदि तेरो आफ्नै परिवारले, तेरा बालबच्चाले तँलाई देखे तर तँलाई चिनेनन् र तेरो नजिक आउने साहस गरेनन् बरु सधैँ तँबाट पन्छिन खोजे भने, यदि तैँले तिनीहरूका निम्ति गरेको सबै कुराको बारेमा तिनीहरूको बुझाइ प्राप्त गर्न सकिनस् भने, त्यसले तँलाई कस्तो महसुस गराउनेथ्यो? के त्यो पीडादायक हुनेथेन र? के तेरो हृदय तोडिनेथेन र? मानिसहरू उहाँबाट टाढा बस्दा परमेश्वरले ठीक यही अनुभूति गर्नुहुन्छ। त्यसैले, उहाँको पुनरुत्थानपछि, प्रभु येशू अझै पनि उहाँको देह र रगतको स्वरूपमा मानिसहरूकहाँ देखा पर्नुभयो, र फेरि पनि तिनीहरूसित खानपान गर्नुभयो। परमेश्वरले मानिसहरूलाई परिवारको रूपमा हेर्नुहुन्छ, र मानवजातिले पनि उहाँलाई तिनीहरूको सबैभन्दा प्रिय एकको रूपमा हेरेको परमेश्वर चाहनुहुन्छ; केवल यसरी मात्रै परमेश्वरले साँचो रीतिले मानिसहरूलाई प्राप्त गर्नुहुन्छ, र यसरी मात्रै मानिसहरूले परमेश्वरलाई साँचो रीतिले प्रेम र आराधना गर्न सक्छन्। अब, प्रभु येशूले आफ्नो पुनरुत्थानपछि रोटी खानुभएको र धर्मशास्त्र व्याख्या गर्नुभएको, र चेलाहरूले उहाँलाई पोलेको माछा खान दिएको वृत्तान्त सुनाउने धर्मशास्त्रका यी दुई खण्डहरूलाई उद्धृत गर्नुपछाडिको मेरो अभिप्रायलाई के तिमीहरू बुझ्न सक्छौ?
यो भन्न सकिन्छ कि आफ्नो पुनरुत्थानपछि प्रभु येशूले श्रृंखलाबद्ध रूपमा भन्नुभएका र गर्नुभएका कुराहरूको निम्ति गम्भीर विचार गरिएको थियो। यी कुराहरू परमेश्वरले मानवजातिप्रति गर्नुभएको दया र स्नेहले भरिएका थिए, अनि आफू देहमा हुँदाको समयमा उहाँले मानवजातिसँग स्थापित गर्नुभएको घनिष्ठ सम्बन्धप्रतिको उहाँको स्नेहपूर्ण कदर र सूक्ष्म वास्ताले पनि भरिएका थिए। यति मात्र होइन, यी कुराहरू देहमा हुँदा उहाँले आफ्ना अनुयायीहरूसँग खानपान गरेको र जिएको जीवनको याद र तिर्सनाले भरिएका थिए। त्यसैले, मानिसहरूले परमेश्वर र मानिसबीचमा दूरी अनुभव गरेको परमेश्वरले चाहनुभएन, न त मानवजातिले आफैलाई परमेश्वरदेखि दूरी बनाएको नै उहाँले चाहनुभयो। त्यसभन्दा पनि बढी, पहिले मानिसहरूसित अत्यन्तै घनिष्ठ रहनुभएका प्रभु येशू उहाँको पुनरुत्थानपछि त्यही प्रभु हुनुहुन्न, उहाँ अबउप्रान्त मानवजातिको साथमा हुनुहुन्न किनकि उहाँ आत्मिक संसारमा फर्किसक्नुभएको छ, पिताकहाँ फर्किसक्नुभएको छ जसलाई देख्न वा जोकहाँ पुग्न मानिसहरू कहिल्यै सक्दैनन् भन्ने अनुभूति मानवजातिले गरेको परमेश्वरले चाहनुभएन। उहाँ र मानवजातिबीचमा हैसियतको कुनै भिन्नता पैदा भएको अनुभूति मानिसहरूले गरेको उहाँले चाहनुभएन। जब परमेश्वरले उहाँलाई पछ्याउन चाहने तर उहाँलाई सम्मानजनक दूरीमा राख्ने मानिसहरूलाई देख्नुहुन्छ, तब उहाँको हृदय पीडामा हुन्छ किनकि त्यसको अर्थ तिनीहरूको हृदय उहाँबाट अत्यन्तै टाढा रहेको छ र उहाँलाई तिनीहरूको हृदय प्राप्त गर्न एकदमै कठिन हुनेछ। त्यसैले, यदि उहाँ मानिसहरूकहाँ तिनीहरूले देख्न वा छुन नसक्ने आत्मिक शरीरमा प्रकट हुनुभएको भए, यसले मानिसलाई फेरि एकपल्ट परमेश्वरबाट टाढा राख्थ्यो, र यसले मानवजातिलाई ख्रीष्ट उहाँको पुनरुत्थानपछि उच्च हुनुभएको छ, मानवजातिभन्दा भिन्न प्रकारको बन्नुभएको छ, र मानिससित अबउप्रान्त एउटै टेबलमा बसेर खान नसक्ने व्यक्ति बन्नुभएको छ, किनकि मानिसहरू पापी, फोहोरी हुन्छन् र परमेश्वरको नजिक कहिल्यै जान सक्दैनन् भनी गलत प्रकारले हेर्ने तुल्याउँथ्यो। बाइबलमा लेखिएअनुसार, मानवजातिका यी गलत बुझाइहरूलाई हटाउन, प्रभु येशूले देहमा हुँदा गर्नुभएकै केही कुराहरू गर्नुभयो: “उहाँले रोटी लिनुभयो र त्यसलाई आशिष् दिनुभयो र त्यो भाँच्नुभयो र तिनीहरूलाई दिनुभयो।” उहाँले तिनीहरूलाई विगतमा जस्तै धर्मशास्त्र पनि व्याख्या गरिदिनुभयो। प्रभु येशूले गर्नुभएको यो सबै कुराले उहाँलाई देख्ने हरेक व्यक्तिलाई प्रभु येशू परिवर्तन हुनुभएको छैन, उहाँ त्यही प्रभु येशू नै हुनुहुन्छ भन्ने महसुस गरायो। उहाँलाई क्रूसमा टाँगिएको र उहाँले मृत्यु अनुभव गर्नुभएको भए तापनि, उहाँ पुनरुत्थान हुनुभएको थियो, र उहाँले मानवजातिलाई त्याग्नुभएको थिएन। उहाँ मानिसहरूको बीचमा रहनलाई फर्कनुभएको थियो, र उहाँको कुनै कुरा पनि परिवर्तन भएको थिएन। मानिसहरूको माझमा उभिरहनुभएका मानिसका पुत्र उही प्रभु येशू हुनुहुन्थ्यो। उहाँको चालढाल तथा मानिसहरूसित कुराकानी गर्ने उहाँको तौरतरिका अति चिरपरिचित लाग्थ्यो। उहाँ अझै दया, अनुग्रह र सहिष्णुताले अत्यन्तै भरिपूर्ण हुनुहुन्थ्यो—उहाँ अझै त्यही प्रभु येशू हुनुहुन्थ्यो जसले अरूलाई आफैलाई जस्तै प्रेम गर्नुहुन्थ्यो, जसले मानवजातिलाई सत्तरी गुणा सातपल्ट क्षमा गर्न सक्नुहुन्थ्यो। उहाँले पहिलेझैँ मानिसहरूसित खानपान गर्नुभयो, धर्मशास्त्रको छलफल गर्नुभयो, र त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, पहिलेजस्तै उहाँ देह र रगतले बनेको हुनुहुन्थ्यो र उहाँलाई छुन र देख्न सकिन्थ्यो। उहाँ मानिसको पुत्र नै हुनुहुन्थ्यो, र उहाँले मानिसहरूलाई घनिष्ठता, चैन र हराइसकेको कुनै कुरा भेट्दाको आनन्द अनुभूति गराउनुभयो। ठूलो चैनको साथमा, तिनीहरूले बहादुरीपूर्वक र निर्धक्कसाथ यस मानिसको पुत्रमाथि भर पर्न र उहाँतर्फ दृष्टि लगाउन थाले जो मानवजातिलाई आफ्ना पापहरूबाट क्षमा गर्न सक्नुहुन्थ्यो। तिनीहरूले विनाहिचकिचाहट प्रभु येशूको नाउँमा प्रार्थना गर्न थाले, उहाँको अनुग्रह, उहाँको आशिष प्राप्त गर्न, र उहाँबाट शान्ति र आनन्द प्राप्त गर्न, उहाँबाट वास्ता र सुरक्षा प्राप्त गर्न प्रार्थना गर्न थाले, र तिनीहरूले प्रभु येशूको नाउँमा रोगीलाई निको पार्न र भूतहरू धपाउन थाले।
प्रभु येशूले देहमा काम गर्नुभएको त्यस समयमा, उहाँका धेरैजसो अनुयायीहरूले उहाँको पहिचान र उहाँले भन्नुभएका कुराहरूलाई पूर्ण रूपले प्रमाणित गर्न सकेनन्। जब उहाँ क्रूसको नजिक जाँदै हुनुहुन्थ्यो, तब उहाँका अनुयायीहरूको मनोवृत्ति मूकदर्शकको थियो। त्यसपछि, उहाँ क्रूसमा टाँगिनुभएको समयदेखि उहाँलाई चिहानमा राखिएको समयसम्म, उहाँप्रतिको मानिसहरूको मनोवृत्ति निराशाको थियो। त्यस समयावधिमा, मानिसहरू आफ्नो हृदयमा प्रभु येशूले उहाँ देहमा हुनुहुँदाको समयमा भन्नुभएका कुराहरूलाई शङ्का गर्ने अवस्थाबाट उहाँलाई पूर्ण रूपमा इन्कार गर्ने अवस्थातर्फ सरिसकेका थिए। त्यसपछि, जब उहाँ चिहानबाट बाहिर निस्कनुभयो र एकएक गरी मानिसहरूकहाँ प्रकट हुनुभयो, तब उहाँलाई आफ्नै आँखाले देख्ने र उहाँको पुनरुत्थानको समाचार सुन्ने बहुसंख्यक मानिसहरूले आफ्नो मनोवृत्तिलाई इन्कारको तहदेखि बिस्तारै सुधार गरी शंकाको तहमा ल्याइपुर्याए। प्रभु येशूले आफ्नो पुनरुत्थानपछि थोमालाई उहाँको कोखामा हात राख्न दिनुभएपछि, अनि उहाँले रोटी भाँचेर भीडको सामु खानुभएपछि, र तिनीहरूकै सामु पोलेको माछा खान अघि बढ्नुभएपछि मात्रै तिनीहरूले प्रभु येशू देहमा आउनुभएका ख्रीष्ट हुनुहुन्छ भन्ने तथ्यलाई साँचो रीतिले स्वीकार गरे। के भन्न सकिन्छ भने, ती मानिसहरूको अघि उभिरहेको देह र रगतको यो आत्मिक शरीरले ती हरेकलाई सपनाबाट ब्यूँझाइरहेजस्तै देखिन्थ्यो: तिनीहरूको सामु उभिरहनुभएको मानिसको पुत्र अनन्तकालदेखि नै अस्तित्वमा रहनुभएका परमेश्वर हुनुहुन्थ्यो। उहाँसित एउटा स्वरूप, अनि देह र हाड थियो, र उहाँ मानवजातिको साथमा धेरै लामो समयदेखि रहनुभएको र खानुभएको थियो…। यस बेला, मानिसहरूले उहाँको अस्तित्व अत्यन्तै वास्तविक, अत्यन्तै अचम्मको छ भन्ने महसुस गरे। त्यसको साथै, तिनीहरू अत्यन्तै आनन्दित र खुशी पनि थिए र भावनाले ओतप्रोत थिए। उहाँ देखा पर्नुभएको घटनाले मानिसहरूलाई साँचो रीतिले उहाँको नम्रता देख्न, मानवजातिसँगको उहाँको घनिष्ठता तथा लगाव अनुभव गर्न, र उहाँले तिनीहरूको निम्ति कति धेरै विचार गर्नुभएको रहेछ भन्ने कुरा महसुस गर्न दियो। यो छोटो पुनर्मिलनले प्रभु येशूलाई देख्ने मानिसहरूलाई एक जीवनकाल नै बितिसकेजस्तो महसुस गरायो। तिनीहरूको व्याकुल, अन्योल, भयभीत, चिन्तित, तृषित र स्तब्ध हृदयले सान्त्वना पायो। तिनीहरू अबउप्रान्त शङ्कालु वा हतोत्साहित थिएनन् किनकि तिनीहरूले अब आशा र भर पर्नको लागि केही छ भन्ने महसुस गरे। तिनीहरूको अघि उभिरहनुभएको मानिसको पुत्र तिनीहरूको निम्ति हरसमयका रक्षक बन्नेवाला हुनुहुन्थ्यो; उहाँ तिनीहरूको बलियो धरहरा, सारा अनन्तकालको निम्ति तिनीहरूको आश्रय बन्नेवाला हुनुहुन्थ्यो।
प्रभु येशू पुनरुत्थान हुनुभएको भए पनि, उहाँको हृदय र उहाँको कामले मानवजातिलाई छोडेको थिएन। मानिसहरूकहाँ देखा परेर, उहाँले तिनीहरूलाई उहाँ जस्तोसुकै स्वरूपमा अस्तित्वमा रहनुभए तापनि उहाँले मानिसहरूलाई साथ दिनुहुनेछ, तिनीहरूसित हिँड्नुहुनेछ र हरपल र हरठाउँ तिनीहरूसित रहनुहुनेछ भनेर बताउनुभयो। उहाँले मानवजातिलाई हरपल र हरठाउँ भरणपोषण र रखवाली गर्नुहुनेछ, उहाँलाई हेर्न र छुन दिनुहुनेछ, र तिनीहरूले कहिल्यै असहाय अनुभव नगर्ने सुनिश्चितता ल्याउनुहुनेछ भनी उहाँले तिनीहरूलाई भन्नुभयो। तिनीहरू संसारमा कहिल्यै एक्लै जिउनुपर्दैन भनी तिनीहरूले जानून् भन्ने पनि प्रभु येशूको चाहना थियो। मानवजातिप्रति परमेश्वरको वास्ता छ; परमेश्वर तिनीहरूको साथमा हुनुहुन्छ। तिनीहरूले परमेश्वरमा सधैँ आड लिन सक्छन्, र उहाँका हरेक अनुयायीका निम्ति उहाँ परिवार हुनुहुन्छ। परमेश्वरको आड पाएर, मानवजाति अबउप्रान्त एक्लो वा असहाय हुनेछैन, र उहाँलाई आफ्नो पापबलिको रूपमा स्वीकार गर्नेहरू अबउप्रान्त पापमा बाँधिएका हुनेछैनन्। मानव नजरमा, प्रभु येशूले उहाँको पुनरुत्थानपछि गर्नुभएको कामका यी अंशहरू अत्यन्तै साना कुराहरू थिए, तर मेरो नजरमा, उहाँले गर्नुभएको एकएक कुरा अति अर्थपूर्ण, अति मूल्यवान्, अति महत्त्वपूर्ण र अत्यधिक सार्थकताले भरिएका छन्।
प्रभु येशूले देहमा काम गर्नुभएको समय कठिनाइ तथा दुःखकष्टहरूले भरिएको भए तापनि, उहाँले देह र रगतको आत्मिक शरीरमा देखा परेर मानवजातिलाई छुटकारा दिलाउन त्यस समयको उहाँको देहको कामलाई पूर्ण र सिद्ध प्रकारले पूरा गर्नुभयो। उहाँले देह बनेर आफ्नो सेवकाइ सुरु गर्नुभयो, र आफ्नो दैहिक स्वरूपमा मानवजातिकहाँ देखा परेर आफ्नो सेवकाइ समाप्त पार्नुभयो। ख्रीष्टको रूपमा रहेको आफ्नो पहिचानमार्फत नयाँ युग सुरु गरेर उहाँले अनुग्रहको युगको शुभारम्भ गर्नुभयो। ख्रीष्टको पहिचानमार्फत नै उहाँले अनुग्रहको युगको काम गर्नुभयो र अनुग्रहको युगका आफ्ना सारा अनुयायीहरूलाई सामर्थ्य दिनुभयो र डोर्याउनुभयो। परमेश्वरको कामको विषयमा के भन्न सकिन्छ भने, उहाँले जे सुरु गर्नुहुन्छ, त्यसलाई साँच्चिकै सिध्याउनुहुन्छ। त्यसमा चरणहरू र योजना हुन्छन्, र त्यो काम उहाँको बुद्धि, उहाँको सर्वशक्तिमान्ता, उहाँका अचम्मका कार्यहरू, र उहाँको प्रेम र कृपाले भरिपूर्ण हुन्छन्। अवश्य नै, परमेश्वरको सबै काममा क्रियाशील कडी मानवजातिप्रतिको उहाँको वास्ता नै हो; यो उहाँको फिक्रीका भावनाहरूले यसरी भिजेको छ कि उहाँले त्यसलाई कहिल्यै पन्साउन सक्नुहुन्न। बाइबलका यी पदहरूमा, आफ्नो पुनरुत्थानपछि प्रभु येशूले गर्नुभएको एकएक कुरामा मानवजातिप्रतिको उहाँको सूक्ष्म वास्ता तथा स्नेह प्रकट भएझैँ मानवजातिको निम्ति परमेश्वरका अपरिवर्तनीय आशा र फिक्री पनि प्रकट गरिएका छन्। यीमध्ये कुनै पनि कुरा हालको दिनसम्म पनि परिवर्तन भएको छैन—के तिमीहरूले यो कुरा देख्न सक्छौ? जब तिमीहरू यसलाई देख्छौ, तब के तिमीहरूको हृदय अचेतन रूपले परमेश्वरको नजिक खिचिँदैन र? यदि तिमीहरू त्यस युगमा बाँचेका भए, र प्रभु येशू तिमीहरूले देख्न सक भनी आफ्नो पुनरुत्थानपछि मूर्त रूपमा प्रकट हुनुभएको भए, र यदि उहाँ तिमीहरूको अगाडि बसेर रोटी र माछा खानुभयो र तिमीहरूलाई धर्मशास्त्र व्याख्या गरिदिनुभयो, र तिमीहरूसित बोल्नुभयो भने, तिमीहरूले कस्तो अनुभूति गर्नेथ्यौ? के तिमीहरूलाई खुशी लाग्थ्यो? कि तिमीहरूलाई खेद लाग्थ्यो? परमेश्वरसम्बन्धी पहिलेका गलत बुझाइहरू तथा उहाँबाट टाढा हुने काम, परमेश्वर विरुद्धका द्वन्द्व तथा शङ्काहरू—के ती सबै त्यत्तिकै हराउनेथिएनन् र? के परमेश्वर र मानवजातिबीचको सम्बन्ध अझ सामान्य र अझ उचित हुनेथेन र?
बाइबलका यी सीमित अध्यायहरूलाई व्याख्या गरेर, के तिमीहरूले परमेश्वरको स्वभावमा केही खोटहरू भेट्टाउँछौ? के तिमीहरूले परमेश्वरको प्रेममा केही मिसावट भेट्टाउँछौ? के परमेश्वरको सर्वशक्ति वा बुद्धिमा तिमीहरूले कुनै छल वा खराबी देख्छौ? निश्चय नै देख्दैनौ! अब, के तिमीहरूले निश्चयताका साथ परमेश्वर पवित्र हुनुहुन्छ भनी भन्न सक्छौ? के तिमीहरूले निश्चयताको साथ परमेश्वरको हरेक भावना उहाँको सार तथा स्वभावको प्रकाश हो भनी भन्न सक्छौ? म आशा गर्छु कि यी वचनहरू पढिसकेपछि, त्यसबाट तिमीहरूले हासिल गर्ने बुझाइले तिमीहरूलाई स्वभाव बदल्ने तथा परमेश्वरको डर मान्नेसम्बन्धी तिमीहरूको खोजीमा सहयोग गर्नेछ र तिमीहरूलाई लाभ पुर्याउनेछ, र त्यसले तिमीहरूमा दिनप्रतिदिन वृद्धि हुने फल फलाउनेछ, ताकि यस खोजीको प्रक्रियामा तिमीहरूलाई परमेश्वरको झन्झन् नजिक ल्याइयोस्, परमेश्वरले अपेक्षा गर्नुभएको मापदण्डको झन्झन् निकट पुर्याइयोस्। तिमीहरू अबउप्रान्त सत्यताको खोजीमा दिक्क हुनेछैनौ र सत्यता एवं स्वभाव परिवर्तनको खोजी कष्टप्रद वा निरर्थक कुरा हो भनी अबउप्रान्त अनुभव गर्नेछैनौ। बरु, परमेश्वरको साँचो स्वभावको अभिव्यक्ति तथा परमेश्वरको पवित्र सारबाट उत्प्रेरित भएर, तिमीहरूले ज्योतिको तिर्सना गर्नेछौ, न्यायको तिर्सना गर्नेछौ, र सत्यताको खोजी गर्ने, परमेश्वरको इच्छा सन्तुष्ट पार्ने चाहना गर्नेछौ, अनि तिमीहरू परमेश्वरद्वारा प्राप्त गरिएको व्यक्ति अर्थात् एक वास्तविक व्यक्ति बन्नेछौ।
आज हामीले उहाँलाई पहिलोपटक देहधारी बनाइएको अनुग्रहको युगमा परमेश्वरले गर्नुभएका केही निश्चित कुराहरूको बारेमा कुरा गरेका छौँ। यी कुराहरूबाट, हामीले देहमा उहाँले व्यक्त गर्नुभएको तथा प्रकट गर्नुभएको स्वभावलाई, साथै उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको हरेक पक्षलाई देखेका छौँ। उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसका यी सबै पक्षहरू अत्यन्तै मानवीयकरण गरिएको प्रतीत हुन्छ, तर वास्तविकता के हो भने, उहाँले प्रकट गर्नुभएको र व्यक्त गर्नुभएको सबै कुराको सार उहाँको आफ्नै स्वभावबाट अभिन्न छ। देहधारी परमेश्वरले आफ्नो स्वभावलाई मानवतामा व्यक्त गर्नुभएको हरेक विधि तथा हरेक पक्ष उहाँको आफ्नै सारसित फुकाउनै नमिल्ने गरी जोडिएको छ। त्यसैले, परमेश्वर देहधारणको माध्यम प्रयोग गरेर मानवजातिकहाँ आउनुभएको कुरा अत्यन्तै महत्त्वपूर्ण छ। साथै, देहमा उहाँले गर्नुभएको काम पनि महत्त्वपूर्ण छ, तर देहमा जिइरहेका हरेक व्यक्तिका निम्ति, भ्रष्टतामा जिइरहेका हरेक व्यक्तिका निम्ति अझै महत्त्वपूर्ण कुरा भनेको उहाँले प्रकट गर्नुभएको स्वभाव तथा उहाँले व्यक्त गर्नुभएको इच्छा हो। के तिमीहरू यो कुरा बुझ्न सक्छौ? परमेश्वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो बुझिसकेपछि, परमेश्वरलाई कसरी व्यवहार गर्नुपर्छ सो विषयमा के तिमीहरूले कुनै निष्कर्षहरू निकालेका छौ? अन्त्यमा, यस प्रश्नको प्रतिक्रियास्वरूप म तिमीहरूलाई तीनवटा सल्लाहहरू दिन चाहन्छु: पहिलो, परमेश्वरलाई जाँच नगर्। तैँले परमेश्वरलाई जति धेरै बुझे पनि, तैँले परमेश्वरको स्वभावबारे जति नै धेरै जाने पनि, उहाँलाई कदापि जाँच नगर्। दोस्रो, परमेश्वरसित हैसियतको निम्ति नलड्। परमेश्वरले तँलाई जस्तो प्रकारको हैसियत दिनुभए पनि वा तँलाई जस्तो प्रकारको काम सुम्पिनुभए पनि, तँलाई जस्तो प्रकारको कर्तव्य पूरा गर्न खडा गर्नुभए पनि, र परमेश्वरको निम्ति तैँले आफैलाई जति नै समर्पित र बलिदान गरेको भए पनि, हैसियतको निम्ति उहाँसित कदापि प्रतिस्पर्धा नगर्। तेस्रो, परमेश्वरसित प्रतिस्पर्धा नगर्। उहाँले तँसित जे गर्नुहुन्छ, तेरो निम्ति जे बन्दोबस्त गर्नुहुन्छ र जुन कुराहरू तँकहाँ ल्याउनुहुन्छ, चाहे ती कुराहरूलाई तैँले बुझे पनि, नबुझे पनि वा त्यसप्रति तैँले आफैलाई समर्पण गर्न सके पनि, नसके पनि, परमेश्वरसित कदापि प्रतिस्पर्धा नगर्। यदि यी तीन सल्लाहहरूलाई तैँले पालना गर्न सक्छस् भने, तँ लगभग सुरक्षित नै हुनेछस्, र उहाँलाई क्रोधित तुल्याउनेतर्फ तँ उन्मुख हुनेछैनस्। हामी आजको संगति यहीँ नै समाप्त गर्नेछौँ।
नोभेम्बर २३, २०१३
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।