परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २ (भाग तीन)

सुरुदेखि आजको दिनसम्म, मानिस मात्र परमेश्‍वरसँग कुराकानी गर्न सक्षम रहेको छ। अर्थात्, सबै जीवित प्राणीहरू र परमेश्‍वरका सृष्टिहरूमध्ये मानिसबाहेक अरू कुनै पनि जीव परमेश्‍वरसँग कुराकानी गर्न सक्षम रहेको छैन। मानिससित कान छन् जसद्वारा उसले सुन्‍न सक्छ, र उसँग आँखा छन् जसद्वारा उसले देख्‍न सक्छ; ऊसित भाषा छ, र आफ्नै विचारहरू र स्वतन्त्र इच्छा छ। ऊसित ती सबै कुराहरू छन् जुन परमेश्‍वर बोल्नुभएको सुन्‍न, परमेश्‍वरको इच्छा बुझ्न र परमेश्‍वरको आदेश स्वीकार गर्नका निम्ति चाहिन्छ, र यसकारण मानिस उहाँको जस्तै मनमस्तिष्क भएको सहयात्री होस् र उहाँको साथमा हिँड्न सकोस् भन्‍ने चाहना गर्दै परमेश्‍वरले उहाँका सबै चाहनाहरू मानिसलाई प्रदान गर्नुहुन्छ। जबदेखि परमेश्‍वरले व्यवस्थापन गर्न थाल्नुभयो, त्यसै बेलादेखि मानिसले आफ्नो हृदय उहाँलाई दिओस्, परमेश्‍वरलाई त्यो शुद्ध र सुसज्‍जित पार्न दिओस्, उसलाई परमेश्‍वरका निम्ति सन्तोषजनक र परमेश्‍वरको प्रिय बनाउन, उसलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने बनाउन दिओस् भनेर उहाँले पर्खिरहनुभएको छ। परमेश्‍वरले सधैँ बाटो हेर्दै यो नतिजा पर्खिरहनुभएको छ। के बाइबलका विवरणहरूमा कुनै त्यस्ता मानिसहरू छन्? अर्थात्, के बाइबलमा त्यस्तो कुनै व्यक्ति छ जसले आफ्‍नो हृदय परमेश्‍वरलाई दिन सक्छ? के यो युगभन्दा अगाडिको कुनै उदाहरण छ? आज, हामी बाइबलका विवरणहरू पढ्ने क्रमलाई जारी राखौँ र आज हामीले चर्चा गरिरहेको “परमेश्‍वरलाई आफ्नो हृदय दिने” भन्‍ने विषयसँग यो व्यक्ति, अर्थात् अय्यूबले गरेका कामको कुनै सम्बन्ध छ कि छैन हेरौँ। अय्यूब परमेश्‍वरका निम्ति चित्तबुझ्दो र परमेश्‍वरद्वारा प्रेम गरिएका थिए कि थिएनन् सो हेरौँ।

अय्यूबको बारेमा तिमीहरूको विचार के छ? केही मानिसहरू मूल पवित्रशास्‍त्रलाई उद्धृत गर्दै भन्छन् कि अय्यूब “परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।” “परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे”: बाइबलमा अय्यूबको विषयमा गरिएको सुरुको मूल्याङ्कन यस्तै छ। यदि तिमीहरूले आफ्नै वचनहरू प्रयोग गर्‍यौ भने, तिमीहरू अय्यूबको वर्णन कसरी ठीकसँग गर्न सक्छौ? कतिपय मानिसहरू भन्छन्, अय्यूब असल र विवेकी मानिस थिए; कसैकसैले भन्छन्, तिनले परमेश्‍वरमा साँचो विश्‍वास गर्थे; कसैकसैले अय्यूब एक धर्मी र हितैसी व्यक्ति थिए भनी भन्छन्। तिमीहरूले अय्यूबको विश्‍वास देखेका छौ, भन्‍नुको अर्थ, तिमीहरूले आफ्नो हृदयमा अय्यूबलाई ठूलो महत्त्व दिन्छौ र तिनको विश्‍वासको ईर्ष्या गर्छौ। त्यसैले आज हामी अय्यूबमा त्यस्तो कुन कुरा थियो, जसको कारण परमेश्‍वर तिनीसित प्रसन्‍न बन्‍नुभयो सो कुरा हेरौँ। अब, हामी धर्मशास्‍त्रका निम्‍न खण्डहरूलाई पढौँ।

इ. अय्यूब

१. परमेश्‍वरद्वारा गरिएको र बाइबलमा भएको अय्यूबको मूल्याङ्कन

अय्यूब १:१ ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।

अय्यूब १:५ अनि भोजका दिन सकिएपछि अय्यूबले तिनीहरूलाई शुद्ध पार्थे, अनि बिहान सबेरै उठ्थे र ती सबैका सङ्ख्याबमोजिम होमबलि चढाउँथे: किनकि अय्यूबले भन्थे, मेरा छोराहरूले पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई सरापे होलान्। अय्यूबले निरन्तर यसो गर्थे।

अय्यूब १:८ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।

तिमीहरूले यी खण्डहरूमा देख्‍ने मुख्य बुँदा के हो? धर्मशास्‍त्रका यी तीन संक्षिप्त खण्डहरू सबै नै अय्यूबसँग सम्बन्धित छन्। संक्षिप्त भए पनि, तिनी कस्ता किसिमका व्यक्ति थिए भनी यी खण्डहरूले स्पष्ट रूपमा बताउँछन्। अय्यूबको दैनिक व्यवहार र तिनको आचरणको विवरणमार्फत यी खण्डहरूले सबैलाई के कुरा बताउँछन् भने परमेश्‍वरले अय्यूबको बारेमा गर्नुभएको मूल्याङ्कन आधारहीन थिएन बरु उचित रूपमा तथ्यपरक थियो। यी खण्डहरूले हामीलाई चाहे अय्यूबको बारेमा मानिसले गरेको मूल्याङ्कन होस् (अय्यूब १:१), वा तिनको बारेमा परमेश्‍वरले गर्नुभएको मूल्याङ्कन (अय्यूब १:८), ती दुवै नै अय्यूबले परमेश्‍वर र मानिसको अघि गरेका कार्यहरूका नतिजा हुन् (अय्यूब १:५) भन्‍ने कुरा बताउँछन्।

पहिले हामी यो खण्ड पढौँ: “ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।” यो अय्यूबको बारेमा बाइबलमा गरिएको पहिलो मूल्याङ्कन हो, र यो वाक्य, लेखक आफैले गरेको अय्यूबको मूल्याङ्कन हो। स्वाभाविक रूपमा, यसले मानिसले गरेको अय्यूबको मूल्याङ्कनको पनि प्रतिनिधित्व गर्छ, जुन हो “त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।” अर्को, हामी परमेश्‍वरले गर्नुभएको अय्यूबको मूल्याङ्कन पढौँ: “त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन” (अय्यूब १:८)। ती दुईमध्ये एउटा मानिसबाट र अर्को परमेश्‍वरबाट आयो; ती एउटै विषयवस्तु भएका दुईवटा मूल्याङ्कन हुन्। त्यसैले यो देख्‍न सकिन्छ कि अय्यूबको व्यवहार र आचरणको बारेमा मानिसलाई थाहा थियो र परमेश्‍वरद्वारा प्रशंसा गरिएको थियो। अर्को शब्दमा भन्दा, मानिसको अघि र परमेश्‍वरको अघि अय्यूबको आचरण एकसमान थियो; तिनले परमेश्‍वरद्वारा अवलोकन होस् भनेर हरसमय आफ्नो व्यवहार र अभिप्राय उहाँको सामु राख्थे र तिनी परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति थिए। यसरी, परमेश्‍वरको नजरमा, पृथ्वीका मानिसहरूमा अय्यूब मात्र सिद्ध र सोझो थिए, जो परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।

अय्यूबले आफ्नो दैनिक जीवनमा परमेश्‍वरको भय मानेको र दुष्टताबाट अलग बसेको विशेष प्रकटीकरणहरू

यसपछि, हामी अय्यूबले परमेश्‍वरको भय मानेको र दुष्टताबाट अलग बसको विशेष प्रकटीकरणहरूलाई हेरौँ। यसभन्दा अघि र पछिका खण्डहरूबाहेक हामी अय्यूब १:५ पनि पढौँ, जुन अय्यूबले परमेश्‍वरको भय मानेको र दुष्टताबाट अलग बसेको एक विशेष प्रकटीकरण हो। यो खण्ड तिनी आफ्नो दैनिक जीवनमा कसरी परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट टाढा बस्थे भन्‍ने कुरासित सम्बन्धित छ; सबैभन्दा मुख्य कुरा, तिनले परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍नका लागि जे गर्नुपर्थ्यो त्यो मात्र गरेनन्, आफ्ना छोराछोरीहरूका लागि समेत नियमित रूपमा परमेश्‍वरलाई होमबलि चढाए। तिनीहरूले भोज खाँदा “पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई सरापे होलान्” कि भनी तिनी डराउँथे। अय्यूबमा यो डर कसरी प्रकट भयो? मूल पाठले निम्‍न विवरण दिन्छ: “अनि भोजका दिन सकिएपछि अय्यूबले तिनीहरूलाई शुद्ध पार्थे, अनि बिहान सबेरै उठ्थे र ती सबैका सङ्ख्याबमोजिम होमबलि चढाउँथे।” अय्यूबको आचरणले हामीलाई के देखाउँछ भने, परमेश्‍वरप्रतिको तिनको भय तिनको बाहिरी आचरणमा प्रकट हुनुको सट्टा तिनको हृदयभित्रबाट आएको थियो र परमेश्‍वरप्रतिको तिनको भय तिनको दैनिक जीवनको हरेक पक्षमा हरसमय पाउन सकिन्थ्यो, किनकि तिनले आफैलाई दुष्टताबाट अलग मात्र राख्दैनथे, आफ्ना छोराछोरीहरूको तर्फबाट समेत होमबलिहरू चढाउँथे। अर्को शब्दमा भन्दा, अय्यूब परमेश्‍वरको विरुद्धमा पाप गर्ने र आफ्नै हृदयमा परमेश्‍वरलाई इन्कार गर्नेबारेमा गहन रूपमा डराउने मात्र होइन, तिनका छोराछोरीहरूले परमेश्‍वरको विरुद्धमा पाप गरे होलान् र उनीहरूका हृदयमा उहाँलाई इन्कार गरे होलान् भनेर समेत चिन्तित हुन्थे। यसबाट देख्‍न सकिन्छ कि परमेश्‍वरप्रतिको अय्यूबको भयको सत्यता जाँचमा खरो उत्रन्छ, र यो कुनै पनि मानिसको शङ्काभन्दा पर छ। तिनले यो काम कहिलेकहीँ गर्थे कि बारम्बार गर्थे? पाठको अन्तिम वाक्य यस्तो छ, “अय्यूबले निरन्तर यसो गर्थे।” यी शब्दहरूको अर्थ यो हो कि अय्यूबले कहिलेकहीँ वा तिनलाई मन लागेको बेला मात्र गएर आफ्ना छोराछोरीहरूलाई हेर्दैनथे, न त तिनले प्रार्थनामार्फत नै परमेश्‍वरसामु पाप स्वीकार गर्ने गर्थे। बरु, तिनले आफ्ना छोराछोरीहरूलाई नियमित रूपमा पवित्र हुन पठाउँथे र तिनीहरूका लागि होमबलि चढाउँथे। यहाँ “निरन्तर रूपमा” भन्‍ने शब्दको अर्थ तिनले एक वा दुई दिन, वा एक क्षणका लागि त्यसो गर्थे भन्‍ने हुँदैन। यसले के भनिरहेको छ भने परमेश्‍वरप्रतिको अय्यूबको डर अस्थायी थिएन, र यो ज्ञान वा बोलेका वचनहरूमा सीमित थिएन; बरु, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गले तिनको हृदयलाई मार्गनिर्देशित गरेको थियो, त्यसले नै तिनको व्यवहारलाई निर्देशित गरेको थियो, र तिनको हृदयमा यो नै तिनको अस्तित्वको मूल थियो। तिनले निरन्तर यो कुरा गर्थे भन्‍ने तथ्यले के देखाउँछ भने, तिनी आफ्नो हृदयमा प्रायजसो आफैले पनि परमेश्‍वरको विरुद्धमा पाप गरिएला कि भनी डराउँथे र आफ्ना छोराछोरीहरूले पनि परमेश्‍वरको विरुद्ध पाप गर्लान् कि भनी डराउँथे। यसले तिनको हृदयमा परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कुराको वजन कति थियो भन्‍ने कुरालाई दर्साउँछ। तिनले निरन्तर यो काम गरे, किनकि तिनको हृदयमा भय र डर थियो—तिनले परमेश्‍वरको विरुद्धमा दुष्कर्म र पाप गरे कि अनि तिनी परमेश्‍वरको मार्गबाट तर्केर गए कि र त्यसरी परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन असक्षम भए कि भनी डराउँथे। यसको साथसाथै, तिनी आफ्ना छोराछोरीले परमेश्‍वरलाई रिस उठाए कि भनी तिनीहरूको बारेमा पनि चिन्तित हुन्थे। अय्यूबको दैनिक जीवनमा तिनको सामान्य आचरण ठीक यस्तै थियो। तिनको यही सामान्य आचरणले प्रमाणित गर्छ कि अय्यूब परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे भन्‍ने कुरा केवल खोक्रा शब्दहरू थिएनन्, अय्यूब त साँच्‍चै नै त्यस्तो वास्तविकतामा जिउँथे। “अय्यूबले निरन्तर यसो गर्थे”: यी वचनले हामीलाई परमेश्‍वरको सामु अय्यूबले गर्ने गरेका दैनिक कार्यहरूको बारेमा बताउँछन्। जब तिनले निरन्तर त्यसो गरे, के तिनको व्यवहार र तिनको हृदय परमेश्‍वरको सामुन्‍ने पुग्यो? अर्को शब्दमा, के परमेश्‍वर तिनको हृदय र तिनको व्यवहारबाट प्रायजसो प्रसन्‍न बन्‍नुहुन्थ्यो? अनि, अय्यूबले कुन स्थिति र कुन सन्दर्भमा निरन्तर त्यसो गरिरहे? केही मानिसहरू भन्छन् कि परमेश्‍वर घरीघरी अय्यूबको सामु देखा पर्नुहुन्थ्यो, त्यसैले तिनले त्यस्तो व्यवहार गर्थे; कोही भन्छन्, तिनमा दुष्टताबाट अलग बस्‍ने इच्छा भएकोले तिनले निरन्तर त्यसो गरे; र कोही भन्छन्, सायद तिनको धनसम्पत्ति सजिलै प्राप्त भएको थिएन भन्‍ने तिनलाई लाग्थ्यो, र त्यो तिनलाई परमेश्‍वरले दिनुभएको हो भन्‍ने तिनी जान्दथे, त्यसैले तिनी परमेश्‍वरको विरुद्ध पाप गर्दा वा उहाँलाई चिढ्याउँदा त्यो सम्पत्ति गुमाउनु पर्ला भनी साह्रै डराउँथे। के यी दाबीहरूमध्ये कुनै सत्य छ? स्पष्ट छ, सत्य छैन। किनकि तिनले निरन्तर त्यसो गरे भन्‍ने तथ्य परमेश्‍वरले आफ्नो नजरमा अय्यूबको बारेमा स्वीकार र कदर गर्नुभएको कुरा थिएन; त्यो भन्दा पनि बढी, तिनलाई शैतानको हातमा सुम्पिँदा र तिनको परीक्षा हुँदा परमेश्‍वर, मानिस र शैतानको सामु तिनको आचरण जे-जस्तो थियो त्योचाहिँ परमेश्‍वरले स्वीकार र कदर गर्नुभएको कुरा थियो। तलका खण्डहरूले अत्यन्त पत्यारिला प्रमाणहरू प्रदान गर्छन्, त्यस्ता प्रमाणहरू जसले हामीलाई परमेश्‍वरले गर्नुभएको अय्यूबको मूल्याङ्कनको सत्यता देखाउँछन्। यसपछि, हामी धर्मशास्‍त्रका निम्‍न खण्डहरू पढौँ।

२. शैतानले पहिलोपटक अय्यूबलाई परीक्षा गर्छ (तिनको पशुधन चोरिन्छ र तिनका छोराछोरीहरूमाथि विपत्ति आइपर्छ)

क. परमेश्‍वरद्वारा बोलिएका वचनहरू

अय्यूब १:८ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।

अय्यूब १:१२ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, हेर्, त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा। त्यसैले शैतान यहोवाको छेउबाट गयो।

ख. शैतानको जबाफ

अय्यूब १:९-११ त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्।

अय्यूबको विश्‍वास सिद्ध होस् भनेर परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति दिनुहुन्छ

अय्यूब १:८ त्यो पहिलो विवरण हो जहाँ हामी बाइबलमा यहोवा परमेश्‍वर र शैतानबीचको वार्तालाप देख्छौँ। त्यसो भए, परमेश्‍वरले के भन्‍नुभयो? मूल पाठले निम्‍न विवरण प्रदान गर्छ: “अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।” यो शैतानको अगाडि अय्यूबको विषयमा परमेश्‍वरले गर्नुभएको मूल्याङ्कन थियो; परमेश्‍वरले भन्‍नुभयो कि तिनी एक सिद्ध र सोझो मानिस हुन्, त्यस्तो व्यक्ति जो परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे। परमेश्‍वर र शैतानबीच यी कुराहरू हुनुभन्दा अघि, परमेश्‍वरले अय्यूबलाई जाँच्न शैतानलाई प्रयोग गर्ने—उहाँले अय्यूबलाई शैतानको हातमा सुम्पने सङ्कल्प गर्नुभएको थियो। एक हिसाबमा, यसले अय्यूबको सम्बन्धमा परमेश्‍वरको अवलोकन र मूल्याङ्कन सही र त्रुटिहीन छ भनी साबित गर्थ्यो, र अय्यूबको गवाहीद्वारा शैतान सर्ममा पर्नेथ्यो; अर्को हिसाबमा, त्यसले परमेश्‍वरमाथिको अय्यूबको विश्‍वास र परमेश्‍वरप्रतिको भयलाई सिद्ध बनाउँथ्यो। त्यसैले, जब शैतान परमेश्‍वरको सामु आयो, परमेश्‍वरले दोहोरो अर्थ लाग्‍ने कुरा गर्नुभएन। उहाँले सिधा कुरा गर्दै शैतानलाई सोध्‍नुभयो: “के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।” परमेश्‍वरको प्रश्‍नमा निम्‍न अर्थहरू छन्: शैतानले सबै ठाउँ घुम्‍ने गरेको र अय्यूबको बारेमा चियो गर्ने गरेको परमेश्‍वरलाई थाहा थियो। यसले अय्यूबलाई धेरैपटक परीक्षा र हमला गरेको थियो र त्यो परमेश्‍वरमाथिको तिनको विश्‍वास र परमेश्‍वरप्रतिको भय स्थिर रहिरहन सक्दैन भनी प्रमाणित गर्न तिनीमाथि विनाश ल्याउने उपायको खोजीमा थियो। अय्यूबले परमेश्‍वरलाई त्यागुन् र त्यसले तिनलाई परमेश्‍वरको हातबाट खोस्‍न सकोस् भनेर शैतानले अय्यूबलाई भताभुङ्ग पार्ने अवसरहरू पनि खोज्यो। तैपनि परमेश्‍वरले अय्यूबको हृदयभित्र हेर्नुभयो र तिनलाई अति सिद्ध र धर्मी, र परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्तिको रूपमा देख्‍नुभयो। अय्यूब सिद्ध र इमानदार मानिस हुन् जो परमेश्‍वरको भय मान्छ र दुष्टताबाट अलग बस्छ, अय्यूबले कहिल्यै परमेश्‍वरलाई त्याग्दैनन् र शैतानको पछि लाग्दैनन् भनी शैतानलाई बताउन परमेश्‍वरले एउटा प्रश्‍नको प्रयोग गर्नुभयो। परमेश्‍वरबाट अय्यूबको मूल्याङ्कन सुनेपछि शैतानमा अपमानको साथमा क्रोध उत्पन्‍न भयो अनि अय्यूबलाई खोसेर लिन त्यो अझ अधीर भयो, किनकि शैतानले कहिल्यै पनि कुनै व्यक्ति सिद्ध र इमानदार हुन सक्छ, वा उनीहरू परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छन् भनी विश्‍वास गरेको थिएन। यसको साथै, शैतानले मानिसमा भएको सिद्धता र इमानदारितालाई पनि घृणा गर्थ्यो, र परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्‍ने मानिसहरूलाई घिनाउँथ्यो। यसैले अय्यूब १:९-११ मा यो लेखिएको छ, “त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछ।” परमेश्‍वर शैतानको द्वेषपूर्ण प्रकृतिसँग राम्ररी परिचित हुनुहुन्थ्यो, र शैतानले धेरै अघिदेखि अय्यूबमाथि विनाश ल्याउने योजना गरिरहेको छ भन्‍ने कुरा उहाँलाई राम्ररी थाहा थियो, यसैले परमेश्‍वरले अय्यूब सिद्ध र इमानदार छन्, तिनी परमेश्‍वरसँग डराउँछन् र दुष्टताबाट अलग बस्छन् भनी शैतानलाई फेरि बताउँदै त्यसलाई ठीक बाटोमा ल्याउन, त्यसको वास्तविक अनुहार देखाउन चाहनुभयो, र अय्यूबलाई आक्रमण गर्न र परीक्षामा पार्न दिनुभयो। अर्को शब्दमा भन्दा, परमेश्‍वरले जानीजानी अय्यूब सिद्ध र इमानदार छन्, र तिनी परमेश्‍वरसँग डराउँछन् र दुष्टताबाट अलग बस्छन् भनी जोड दिनुभयो, र यसरी अय्यूब सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति भएकोमा शैतानले घृणा र क्रोध गरेको कारण उहाँले शैतानलाई अय्यूबमाथि आक्रमण गर्ने अनुमति दिनुभयो। परिणामस्वरूप, परमेश्‍वरले अय्यूब सिद्ध र इमानदार, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति हुन् भन्‍ने देखाएर शैतानलाई लज्‍जित पार्नुहुनेथ्यो, र यसरी शैतान पूर्ण रूपले अपमानित र पराजित हुनेथ्यो। त्यसपछि, शैतानले अब अय्यूबको सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको भय, वा दुष्टताबाट अलग बस्‍ने तिनको आचरणको बारेमा फेरि कहिल्यै शङ्का गर्ने वा आरोप लगाउनेथेन। यसरी, परमेश्‍वरको जाँच र शैतानको परीक्षा करिबकरिब अपरिहार्य नै थियो। परमेश्‍वरको जाँच र शैतानको परीक्षाको सामना गर्न सक्‍ने व्यक्ति अय्यूब मात्र थिए। यस वार्तालापपछि, शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति प्रदान गरियो। यसरी शैतानको आक्रमणको पहिलो चरण सुरु भयो। यी आक्रमणहरूको निसाना अय्यूबको सम्पत्ति थियो, किनकि शैतानले अय्यूबको विरुद्धमा निम्‍न आरोप लगाएको थियो: “के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? … तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ।” फलस्वरूप, परमेश्‍वरले शैतानलाई अय्यूबका सबै कुरा खोस्‍ने अनुमति दिनुभयो—परमेश्‍वरले शैतानसँग कुरा गर्नुको उद्देश्य यही थियो। यद्यपि, परमेश्‍वरले शैतानसँग एउटा सर्त राख्‍नुभयो: “त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा” (अय्यूब १:१२)। परमेश्‍वरले यही सर्तमा शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति दिनुभयो र अय्यूबलाई शैतानको हातमा राख्‍नुभयो, र उहाँले शैतानका लागि यो सीमा तोकिदिनुभयो: उहाँले शैतानलाई अय्यूबको कुनै हानि नगर्न आज्ञा दिनुभयो। अय्यूब सिद्ध र इमानदार छन् भनी परमेश्‍वरले पहिचान गर्नुभएको थियो, र उहाँको सामु अय्यूबको सिद्धता र इमानदारिता शङ्का गर्न नसकिने छ, परीक्षामा पर्दा तिनी खडा हुन सक्छन् भन्‍ने विश्‍वास उहाँलाई थियो, त्यसैले परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति दिनुभयो, तर शैतानलाई केही सीमाहरू तोकिदिनुभयो: शैतानलाई अय्यूबका सबै सम्पत्ति खोस्‍ने अनुमति दिइयो, तर त्यसले तिनीमाथि औंला उठाउन सक्दैनथ्यो। यसको अर्थ के हो? यसको अर्थ के हो भने, त्यसबेला परमेश्‍वरले अय्यूबलाई पूर्ण रूपमा शैतानको हातमा दिनुभएन। शैतानले आफूले चाहेको जुनसुकै तरिकाले अय्यूबको परीक्षा गर्न सक्थ्यो, तर त्यसले अय्यूबलाई चोट पुर्‍याउन सक्दैनथ्यो—तिनको टाउकोको एउटा कपालसमेत छुन सक्दैनथ्यो—किनकि मानिसका सबै कुरा परमेश्‍वरद्वारा नियन्त्रित हुन्छ, र किनकि मानिस बाँच्छ कि मर्छ भन्‍ने कुराको निर्णय परमेश्‍वरले गर्नुहुन्छ। शैतानसँग यो अनुमति छैन। परमेश्‍वरले शैतानलाई यो कुरा भन्‍नुभएपछि शैतानलाई त्यो काम सुरु गर्न आतुरी भयो। त्यसले अय्यूबलाई परीक्षा गर्न सबै माध्यमहरू प्रयोग गर्‍यो, र केही समयपछि नै अय्यूबले परमेश्‍वरले तिनलाई दिनुभएका कैयौँ भेडा र गोरुहरू र सबै सम्पत्ति गुमाइसकेका थिए…। यसरी परमेश्‍वरको परीक्षा तिनीमाथि आइपर्‍यो।

बाइबलले हामीलाई अय्यूबको परीक्षा कहाँबाट उत्पत्ति भयो भन्‍नेबारेमा बताउने भए पनि, ती परीक्षाहरूको शिकार भएका अय्यूब आफैलाई के भइरहेको छ भन्‍ने थाहा थियो? अय्यूब केवल एक मरणशील मानिस थिए; अवश्य नै, तिनलाई आफ्नो वरिपरि प्रकट भइरहेको घटनाको बारेमा केही पनि थाहा थिएन। तैपनि, तिनमा भएको परमेश्‍वरको भयका साथै तिनको सिद्धता र सोझोपनले तिनलाई आफूमाथि परमेश्‍वरको परीक्षा आएको छ भन्‍ने थाहा दिलायो। आत्मिक क्षेत्रमा के भएको थियो भन्‍ने तिनलाई थाहा थिएन, न त यी परीक्षाहरूका पछाडि रहेका परमेश्‍वरका अभिप्रायहरूको बारेमा नै तिनलाई थाहा थियो। तर उनीमाथि जे आइपरे पनि, तिनी आफ्नो सिद्धता र सोझोपनमा दृढ रहनुपर्छ, र परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा रहनुपर्छ भन्‍ने कुरा तिनलाई थाहा थियो। यी मामिलाहरूप्रतिको अय्यूबको मनोवृत्ति र प्रतिक्रियालाई परमेश्‍वरले स्पष्ट रूपमा देख्‍नुभएको थियो। परमेश्‍वरले के देख्‍नुभयो? उहाँले परमेश्‍वरको भय मान्‍ने अय्यूबको हृदय देख्‍नुभयो, किनकि सुरुदेखि अय्यूबको परीक्षा गरिएको बेलासम्‍म, अय्यूबको हृदय परमेश्‍वरप्रति खुला थियो, त्यो परमेश्‍वरको सामु उदाङ्गो पारिएको थियो, र अय्यूबले आफ्नो सिद्धता वा सोझोपन त्याग गरेनन्, न त तिनले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग नै त्यागे, न त्यसबाट तर्केर नै गए—परमेश्‍वरका निम्ति योभन्दा बढी सन्तोषजनक अरू कुनै कुरा थिएन। यसपछि हामी अय्यूब कस्ता परीक्षाहरूमार्फत गुज्रे, र तिनले यी जाँचहरूको सामना कसरी गरे सो हेर्नेछौँ। अब हामी धर्मशास्‍त्रबाट केही पढौँ।

ग. अय्यूबको प्रतिक्रिया

अय्यूब १:२०-२१ त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे, अनि तिनले भने, म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु: यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।

अय्यूब आफूसित भएका सबै थोक फर्काउन आफै तयार हुने अवस्था परमेश्‍वरप्रतिको तिनको भयबाट आउँछ

परमेश्‍वरले शैतानलाई “त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा,” भन्‍नुभएपछि, शैतान त्यहाँबाट गयो र त्यसको लगत्तै अय्यूब अचानक र भयङ्कर आक्रमणको शिकार भए: सुरुमा, तिनका गोरु र गधाहरू लुटिए र तिनका केही नोकरहरू मारिए; त्यसपछि तिनका भेडा र अन्य नोकरचाकर आगोमा भस्म भए। त्यसपछि, तिनका ऊँटहरू लगियो र तिनका अझ धेरै नोकरचाकरको हत्या गरियो। अन्त्यमा, तिनका छोराछोरीहरूको ज्यान लिइयो। यो चरणबद्ध आक्रमण अय्यूबले पहिलो परीक्षाको अवधिमा भोगेका यातनाहरू थिए। परमेश्‍वरको आज्ञाअनुसार, यी आक्रमणहरूको अवधिमा शैतानले अय्यूबका सम्पत्ति र छोराछोरीहरूलाई मात्र लक्षित गर्‍यो, तर अय्यूब स्वयम्‌लाई हानि गरेन। यद्यपि, अय्यूब धेरै सम्पत्ति भएको धनी मानिसबाट तुरुन्तै केही पनि नभएको व्यक्तिमा परिणत भए। कसैले पनि यो स्तब्ध पार्ने गरी अचानक गरिएको प्रहार सामना गर्न सक्दैनथ्यो वा त्यसप्रति उचित प्रतिक्रिया देखाउन सक्दैनथ्यो, तर अय्यूबले आफ्नो असाधारण पक्ष प्रकट गरे। धर्मशास्‍त्रले निम्‍न विवरण प्रदान गर्छ: “त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे।” आफ्ना छोराछोरीहरू र सबै सम्पत्ति गुमाएको खबर सुनेपछि अय्यूबले दिएको पहिलो प्रतिक्रिया यही थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनी स्तब्ध भएको वा डरले ग्रस्त भएको देखिएका थिएनन्, तिनले क्रोध वा घृणा प्रकट गर्ने कुरा त परै जाओस्। त्यसपछि तँ के देख्छस् भने, आफ्नो हृदयमा तिनले यो बुझिसकेका थिए कि ती विपत्तिहरू संयोगले आएका होइनन्, वा ती मानिसको हातद्वारा भएका होइनन्, वा त्यो प्रतिशोध वा दण्डको आगमन त झन् हुनै सक्दैन। बरु, यहोवाको परीक्षा तिनीमाथि आएको थियो; तिनको सम्पत्ति र छोराछोरीहरू लिन चाहने यहोवा नै हुनुहुन्थ्यो। त्यस बेला अय्यूब एकदम शान्त र स्पष्ट विचारका थिए। तिनको सिद्ध र सोझो मानवताले तिनलाई आफूमा परेका विपत्तिहरूबारे तर्कसंगत र स्वाभाविक रूपमा सही विचार र निर्णय गर्न सक्षम तुल्यायो, र यसको परिणामस्वरूप तिनले असाधारण शान्तिका साथ व्यवहार गरे: “त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे।” “आफ्‍नो खास्टो च्याते” भन्‍नुको अर्थ तिनी वस्‍त्रहीन थिए, र तिनीसित केही थिएन भन्‍ने हुन्छ। “आफ्‍नो कपाल खौरे” भन्‍नुको अर्थ तिनी नवजात शिशुको रूपमा परमेश्‍वरको सामु फर्के; “भूँइमा लम्पसार परे र आराधना गरे” भन्‍नुको अर्थ तिनी संसारमा नाङ्गै आएका थिए, र आज तिनीसित केही थिएन, तिनी नवजात शिशुजस्तो बनेर परमेश्‍वरको सामु फर्केका थिए। आफूमाथि परिआएका सबै कुराहरूप्रति अय्यूबको जुन मनोवृत्ति थियो, त्यो परमेश्‍वरको कुनै पनि प्राणीले हासिल गर्न सक्दैनथ्यो। यहोवामाथिको तिनको विश्‍वास विश्‍वासको क्षेत्रभन्दा पनि माथि पुगेको थियो; परमेश्‍वरप्रतिको तिनको भय, परमेश्‍वरप्रतिको तिनको आज्ञाकारिता यही थियो; तिनले परमेश्‍वरलाई उहाँले तिनलाई दिनुभएको निम्ति मात्र धन्यवाद दिएनन्, तिनीबाट उहाँले खोस्‍नुभएको निम्ति पनि धन्यवाद दिए। यसबाहेक, तिनले आफ्नो जीवनसहित आफ्नो स्वामित्वमा भएका सम्पूर्ण कुराहरू आफै परमेश्‍वरकहाँ फर्काउन सके।

परमेश्‍वरप्रतिको अय्यूबको भय र आज्ञाकारिता मानवजातिका लागि एउटा उदाहरण हो, र तिनको सिद्धता र सोझोपन मानिसमा हुनैपर्ने मानवताको चरम सीमा थिए। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तैपनि तिनले परमेश्‍वर साँच्‍चै नै हुनुहुन्छ भनी बुझे, र यो कुरा बुझेकाले नै तिनले परमेश्‍वरको भय माने, र परमेश्‍वरप्रतिको तिनको भयको कारण तिनले परमेश्‍वरको आज्ञापालन गर्न सके। तिनले आफूसँग भएका सबै थोकहरूमाथि परमेश्‍वरलाई स्वतन्त्र रूपमा नियन्त्रण गर्न दिए, तैपनि तिनले गुनासो गरेनन्, र परमेश्‍वरको सामु घोप्टो परे, र त्यस बेला यदि परमेश्‍वरले तिनको देह लिनुभयो भने पनि तिनले कुनै गुनासो नगरी खुसीसाथ उहाँलाई त्यसो गर्न दिनेथेँ भनी भने। तिनको सम्पूर्ण आचरण तिनको सिद्ध र सोझो मानवताको उपज थियो। भन्‍नुको अर्थ, तिनको निर्दोषता, इमानदारिता र दयाको परिणामस्वरूप, अय्यूब परमेश्‍वरको अस्तित्वसम्बन्धी आफ्नो बुझाइ र अनुभवमा अटल थिए, र यही आधारमा तिनले आफ्नै लागि मापदण्ड तय गरे अनि परमेश्‍वरले तिनलाई अगुवाइ गर्नुभएअनुसार र सबै थोकमाझ तिनले देखेका परमेश्‍वरका कार्यहरूअनुसार परमेश्‍वरको सामु आफ्नो सोचविचार, व्यवहार, आचरण र कार्य सिद्धान्तहरूलाई यही मापदण्डअनुरूप बनाए। समय बित्दै जाँदा, तिनका अनुभवहरूले तिनमा परमेश्‍वरप्रतिको साँचो र वास्तविक भय उत्पन्‍न गरायो र तिनलाई दुष्टताबाट अलग बस्‍ने बनायो। अय्यूबले दह्रिलो गरी पक्रेको निष्ठाको स्रोत यही थियो। अय्यूबमा निष्कपट, निर्दोष र दयालु मानवता थियो, र तिनीसँग परमेश्‍वरको भय मान्‍ने, परमेश्‍वरको आज्ञापालन गर्ने र दुष्टताबाट अलग बस्‍ने वास्तविक अनुभव थियो, साथै “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ” भन्‍ने ज्ञान पनि थियो। यी कुराहरूको कारणले गर्दा मात्र तिनी शैतानको त्यस्तो डरलाग्दो आक्रमणमाझ आफ्नो गवाहीमा दृढ भएर खडा हुन सकेका थिए, र त्यही कारणहरूले गर्दा मात्रै तिनले आफूमाथि परमेश्‍वरका जाँचहरू आइलाग्दा परमेश्‍वरलाई निराश नपार्न र सन्तोषजनक जबाफ दिन सके। त्यो पहिलो परीक्षाको अवधिमा अय्यूबको आचरण एकदम इमानदार किसिमको भए तापनि, पछिका पुस्ताहरूले जीवनभर प्रयत्‍न गरेपछि पनि यस्तो इमानदारी प्राप्त गर्ने निश्‍चित थिएन, न त उनीहरूमा माथि वर्णन गरिएको अय्यूबको आचरण हुन्छ भन्‍ने जरुरी नै थियो। आज, अय्यूबको इमानदार आचरणको सामना गर्नुपर्दा, र परमेश्‍वरमा विश्‍वास गर्ने र परमेश्‍वरलाई पछ्याउने दाबी गर्नेहरूले चिच्याउँदै परमेश्‍वरसामु देखाएको “पूर्ण आज्ञापालन र मृत्युपर्यन्त बफादारिता” को सङ्कल्पसँग तुलना गर्दा, के तिमीहरूलाई गहन रूपमा लाज हुन्छ कि हुँदैन?

जब तँ पवित्रशास्‍त्रमा अय्यूब र तिनको परिवारले भोगेका सबै कुराहरू पढ्छस्, तब तेरो प्रतिक्रिया कस्तो हुन्छ? के तँ आफ्ना विचारमा हराउँछस्? के तँ स्तब्ध हुन्छस्? के अय्यूबमाथि आइपरेका परीक्षाहरूलाई “डरलाग्दो” भनेर वर्णन गर्न सकिन्छ? अर्को शब्दमा भन्दा, धर्मशास्‍त्रमा वर्णन गरिएका अय्यूबका परीक्षाहरू पढ्दा नै भयावह लाग्छन्, वास्तविक जीवनमा त झन् ती कस्ता थिए होलान्! त्यसरी तँ देख्छस् कि अय्यूबमाथि आइपरेको कुरा एउटा “अभ्यास प्रशिक्षण” थिएन, तर वास्तविक “लडाइँ” थियो, जसमा वास्तविक “बन्दुकहरू” र “गोलीहरू” थिए। तर कसको हातद्वारा तिनी परीक्षाहरूमा पारिएका थिए? अवश्य नै, ती शैतानको काम थिए, र शैतानले आफ्नै हातले यी काम गरेको थियो। यसको बावजूद पनि, यी कुराहरू गर्ने अधिकार परमेश्‍वरले दिनुभएको थियो। के परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा कुन माध्यमद्वारा गर्नुपर्छ भनी बताउनुभएको थियो? उहाँले बताउनुभएको थिएन। परमेश्‍वरले केवल एउटा सर्त राख्‍नुभयो जुन शैतानले पालन गर्नुपर्थ्यो, र त्यसपछि अय्यूबमाथि परीक्षा आयो। जब अय्यूबमाथि परीक्षा आयो, त्यसले मानिसहरूलाई शैतानको दुष्टता र कुरूपता, मानिसप्रति त्यसको द्वेष र घृणा, अनि परमेश्‍वरसँगको त्यसको शत्रुताको ज्ञान दियो। यसमा हामी देख्छौँ कि त्यो परीक्षा कतिसम्म क्रूर थियो भन्‍ने कुरा शब्दहरूमा वर्णन गर्नै सकिँदैन। यो भन्‍न सकिन्छ कि शैतानले मानिससित जुन द्वेषपूर्ण प्रकृतिले दुर्व्यवहार गर्‍यो त्यो प्रकृति र त्यसको कुरूप अनुहार त्यो क्षणमा पूर्ण रूपमा प्रकट भएको थियो। शैतानले यो मौका अर्थात् परमेश्‍वरको अनुमतिमा प्रदान गरिएको मौकालाई उग्र र क्रूर रूपमा अय्यूबलाई दुर्व्यवहार गर्न प्रयोग गर्‍यो, र त्यो क्रूरताको तरिका र तह आजका मानिसहरूका निम्ति पूर्ण रूपमा अकल्पनीय र असहनीय छ। अय्यूब शैतानको परीक्षामा परेका थिए र यो परीक्षाको अवधिमा तिनी आफ्नो साक्षीमा दृढ रहे भनेर भन्‍नुभन्दा पनि परमेश्‍वरले तिनका निम्ति तय गर्नुभएका परीक्षाहरूमा अय्यूबले आफ्नो सिद्धता र इमानदारिताको रक्षा गर्न, र परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको रक्षा गर्न शैतानसँग प्रतिस्पर्धा गरे भन्‍नु उपयुक्त हुन्छ। यस प्रतिस्पर्धामा, अय्यूबले अत्यन्तै धेरै मूल्यका भेडा र गाईवस्तुहरू गुमाए, तिनले आफ्नो सबै सम्पत्ति गुमाए, र तिनले आफ्ना छोराछोरीहरू गुमाए। तर तिनले आफ्नो सिद्धता, इमानदारी वा परमेश्‍वरप्रतिको डरलाई त्यागेनन्‌। अर्को शब्दमा भन्‍ने हो भने, शैतानसँगको यो प्रतिस्पर्धामा, अय्यूबले आफ्नो सिद्धता, इमानदारी र परमेश्‍वरप्रतिको डर गुमाउनुभन्दा पनि आफ्‍नो सम्पत्ति र छोराछोरी गुमाउन रुचाए। तिनले मानिस हुनु भनेको के हो त्यसको जड समात्‍न रुचाए। अय्यूबले आफ्नो सम्पत्ति गुमाएको सम्पूर्ण प्रक्रियाको बारेमा धर्मशास्‍त्रले संक्षिप्त विवरण प्रदान गर्छ, र साथै अय्यूबको आचरण र मनोवृत्ति बारेमा पनि वर्णन गर्छ। यी जटिल, संक्षिप्त विवरणहरूले अय्यूब यस परीक्षाको सामना गर्दा लगभग शान्त थिए भन्‍ने भाव प्रदान गर्छ, तर वास्तवमा जे भएको थियो त्यो घटनालाई पुन: सिर्जित गर्ने हो भने—यस क्रममा शैतानको द्वेषपूर्ण प्रकृतिलाई पनि ध्यानमा राखियो भने—स्थितिहरू यी वाक्यहरूमा वर्णन गरेझैँ सरल वा सजिलो हुनेथिएनन्। वास्तविकता अत्यन्तै क्रूर थियो। मानवजाति र परमेश्‍वरले स्विकार्नुहुने सबैसित शैतानले त्यस स्तरको विनाश र घृणाद्वारा व्यवहार गर्छ। यदि परमेश्‍वरले शैतानलाई अय्यूबको हानि नगर्नू भनी नभन्‍नुभएको भए, निश्‍चय नै शैतानले तिनलाई कुनै पछुतो नगरी मार्नेथ्यो। कुनै पनि मानिसले परमेश्‍वरको आराधना गरेको शैतान चाहँदैन, न त परमेश्‍वरको नजरमा धर्मी र सिद्ध साथै सोझो व्यक्तिले परमेश्‍वरको भय मानेको र खराबीबाट अलग बसेको नै त्यो चाहन्छ। मानिसहरू परमेश्‍वरसित डराउनु र दुष्टताबाट अलग रहनुको अर्थ तिनीहरूले शैतानलाई त्याग्‍नु र त्यसबाट अलग बस्‍नु हो, त्यसैले शैतानले परमेश्‍वरको अनुमतिको फाइदा उठायो र कुनै दया नगरी अय्यूबमाथि आफ्नो क्रोध र घृणा पोखायो। यसरी, अय्यूबले मनमस्तिष्कदेखि देहसम्म, भित्रदेखि बाहिरसम्म भोगेको यातना कति ठूलो थियो भनी तैँले देख्छस्। आज हामी त्यसबेला अवस्था कस्तो थियो भनी देख्दैनौँ र बाइबल विवरणहरूबाट त्यस बेला पीडामा पर्दा अय्यूबका भावनाहरू कस्ता थिए भन्‍ने संक्षिप्त झलक मात्र प्राप्त गर्न सक्छौँ।

अय्यूबको अटल इमानदारिताले शैतानलाई सर्ममा पार्छ र त्यो आत्तिएर भाग्छ

अनि, अय्यूब त्यस यातनामा पर्दा परमेश्‍वरले के गर्नुभयो? परमेश्‍वरले अवलोकन गर्नुभयो, र हेर्नुभयो, र परिणामको प्रतीक्षा गर्नुभयो। जब परमेश्‍वरले अवलोकन गर्नुभयो र हेर्नुभयो, उहाँले कस्तो महसुस गर्नुभयो? उहाँले निश्‍चय पनि शोक महसुस गर्नुभयो। तर आफूले अनुभूति गरेको शोकको कारण, के परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति दिनुभएकोमा पछुतो गर्नुभयो? यसको उत्तर हो, गर्नुभएन, उहाँले त्यस्तो पछुतो महसुस गर्नुभएन। किनकि अय्यूब सिद्ध र सोझो छन्, र तिनी परमेश्‍वरको भय मान्छन् र दुष्टताबाट अलग बस्छन् भन्‍ने कुरामा उहाँ पूर्ण विश्‍वास गर्नुहुन्थ्यो। परमेश्‍वरले शैतानलाई केवल परमेश्‍वरको सामु अय्यूबको धार्मिकता जाँच गर्न, र त्यसको आफ्नै दुष्टता र घृणितपन प्रकट गर्ने अवसर प्रदान गर्नुभएको थियो। यसबाहेक, यो घटना अय्यूबले संसारका मानिसहरू, शैतान र परमेश्‍वरलाई पछ्याउने सबैको सामु समेत आफ्नो धार्मिकता र आफूले परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने गरेको बारेमा गवाही दिने मौका थियो। के अन्तिम परिणामले अय्यूबप्रतिको परमेश्‍वरको मूल्याङ्कन ठीक र त्रुटिरहित थियो भन्‍ने प्रमाणित गर्‍यो? के अय्यूबले साँच्‍चै शैतानलाई पराजित गरे? यहाँ हामी अय्यूबले बोलेका मुख्य वचनहरू पढ्छौँ, र ती वचनहरू तिनले शैतानलाई पराजित गरेको प्रमाण हुन्। तिनले भने: “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु।” यो परमेश्‍वरप्रतिको अय्यूबको आज्ञाकारिताको मनोवृत्ति हो। त्यसपछि तिनले भने: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” अय्यूबले बोलेका यी वचनहरूले के प्रमाणित गर्छन् भने, परमेश्‍वरले मानिसको हृदयको गहिराइलाई अवलोकन गर्नुहुन्छ, उहाँले मानिसको मनमस्तिष्कभित्र देख्‍न सक्‍नुहुन्छ, र ती वचनहरूले प्रमाणित गर्छन् कि उहाँले अय्यूबलाई गर्नुभएको अनुमोदन गल्तीरहित थियो, परमेश्‍वरले अनुमोदन गर्नुभएको यी व्यक्ति धर्मी थिए। “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” यी वचनहरू परमेश्‍वरका लागि अय्यूबको गवाही हुन्। यी साधारण वचनहरूले नै शैतानलाई भयभीत पार्‍यो, त्यसलाई सर्ममा पार्‍यो र त्यो आत्तिएर भाग्यो, र त्यसबाहेक, त्यसले शैतानलाई साङ्ला लगायो र त्यसलाई कुनै स्रोतसाधनविहीन अवस्थामा छोडिदियो। त्यसै गरी, यी वचनहरूले शैतानलाई यहोवा परमेश्‍वरले गर्नुभएका कार्यहरूको अद्‌भुतता र सामर्थ्य महसुस गरायो र परमेश्‍वरको मार्गद्वारा सञ्‍चालित हृदय भएको व्यक्तिको असाधारण चमत्कार महसुस गरायो। त्यसबाहेक, ती वचनहरूले परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग रहने मार्गमा लागेको सानो र तुच्छ व्यक्तिले देखाएको शक्तिशाली जीवनशक्ति शैतानलाई देखाए। यसरी पहिलो प्रतिस्पर्धामा शैतानको हार भयो। “यसबाट शिक्षा” पाए पनि शैतानले अय्यूबलाई छोड्ने विचार गरेको थिएन, न त त्यसको द्वेषपूर्ण प्रकृतिमा कुनै परिवर्तन नै आएको थियो। शैतानले अय्यूबमाथि हमला गर्न कोसिस गर्‍यो, र फेरि एकपटक परमेश्‍वरको सामु आयो …

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्