परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरको धर्मी स्वभाव (भाग दुई)

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ

यसपछि “परमेश्‍वरले निनवेलाई मुक्ति दिनुभएको” बाइबलीय कथा आउँछ।

योना १:१-२ अब यहोवाको यसो भन्‍ने वचन अमित्तैका छोरा योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र त्यसको विरुद्ध चिच्या; किनभने तिनीहरूको दुष्टता मेरो सामने आएको छ।

योना ३ अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्। त्यसैले योना उठे, र यहोवाको वचनअनुसार निनवे गए। अब निनवे तीन दिनको यात्रा लाग्‍ने एउटा अत्यन्त ठूलो सहर थियो। अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ। त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्। कतै परमेश्‍वर मोडिनुहुन्छ र उहाँले मन फर्काउनुहुन्छ र उहाँ आफ्नो भयानक क्रोधबाट फर्कन सक्नुहुन्छ र हामी नष्ट नहौँला भनी कसले भन्‍नसक्छ? अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन।

योना ४ तर यसले योनालाई अत्यन्त अप्रसन्न तुल्यायो र तिनी निकै रिसाए। अनि तिनले यहोवासँग प्रार्थना गरे र भने, हे यहोवा, म तपाईंलाई बिन्ती गर्छु, के म मेरो देशमा हुँदा नै मेरो भनाई यही थिएन र? यसकारण, म पहिले तर्शीशतिर भागेर गएँ: किनभने मलाई थाहा थियो कि तपाईं अनुग्रही, दयालु, रिसाउनमा धिमा, अति कृपालु र खराबी गर्नबाट मन बदल्ने परमेश्‍वर हुनुहुन्छ। यसकारण अब, हे यहोवा, म तपाईंलाई बिन्ती गर्छु, मेरो जीवन लिनुहोस्; किनभने म जिउनुभन्दा त मर्नु नै बेस हुन्छ। त्यसपछि यहोवाले भन्नुभयो, के तैँले रिस गर्न मिल्छ? त्यसैले सहर के हुन्छ भनी नदेखेसम्म योना सहर बाहिर गए र सहरको पूर्वतिर एउटा छाप्रो बनाएर यसको छहारीमा बसे। अनि यहोवा परमेश्‍वरले एउटा लौका उमार्नुभयो र तिनलाई तिनको क्लेशबाट छुटकारा दिन यसलाई योनाभन्दा माथितिर आउन लगाउनुभयो, ताकि यो तिनको टाउकोमाथि छहारी हुन सकोस्। त्यसैले योना त्यो लौकासँग निकै प्रसन्न भए। तर भोलिपल्ट एकाबिहानै परमेश्‍वरले एउटा कीरा ल्याउनुभयो र यसले लौकालाई खाइदियो र यो ओइलायो। अनि सूर्य उदाएपछि, परमेश्‍वरले भयानक पूर्वीय बतास पठाउनुभयो; र घाम योनाको शिरमाथि पर्‍यो, ऊ मूर्छा पर्‍यो र मर्ने इच्छा गर्दै यसो भन्यो, म त जिउनुभन्दा मर्नु नै उत्तम हुन्छ। अनि परमेश्‍वरले योनालाई भन्नुभयो, के तँ लौकाको निम्ति रिसाउन उचित छ? तिनले भने, म मृत्युसम्म नै रिसाउँछु। त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसको माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेलाई मैले बचाउनु पर्दैन र?

निनवेको कथाको सार-संक्षेप

“परमेश्‍वरले निनवेलाई मुक्ति दिनुभएको” कथा छोटो भए पनि, यसले परमेश्‍वरको धर्मी स्वभावको अर्को पक्षको झलक देखाउँछ। त्यो पक्ष के हो, सो बुझ्‍नको लागि हामीले धर्मशास्‍त्रमा फर्केर गई परमेश्‍वरले आफ्‍नो कामको सिलसिलामा गर्नुभएको एउटा कार्यलाई पुनरावलोकन गर्नुपर्छ।

सुरुमा हामी यस कथाको सुरुवातलाई हेरौँ: “अब यहोवाको यसो भन्‍ने वचन अमित्तैका छोरा योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र त्यसको विरुद्ध चिच्या; किनभने तिनीहरूको दुष्टता मेरो सामने आएको छ” (योना १:१-२)। धर्मशास्‍त्रको यस खण्डमा हामी थाहा पाउँछौँ कि यहोवा परमेश्‍वरले योनालाई निनवे सहर जाने आदेश दिनुभयो। उहाँले योनालाई किन यो सहरमा जान आदेश दिनुभयो त? यस विषयमा बाइबलले स्पष्ट रूपमा बताएको छ: यो सहरका मानिसहरूको दुष्टता यहोवा परमेश्‍वरको सामुन्ने आएको थियो, त्यसकारण उहाँले के गर्ने अभिप्राय राख्‍नुभएको छ भन्नेबारे तिनीहरूसामु घोषणा गर्नको निम्ति उहाँले योनालाई पठाउनुभयो। योना को थिए भनी बताउने कुनै अभिलेख नभए तापनि, अवश्य नै यो कुरा परमेश्‍वरलाई चिन्‍ने कार्यसँग सम्‍बन्धित छैन, त्यसकारण तिमीहरूले उक्त मानिस योनालाई चिन्‍नु आवश्यक छैन। परमेश्‍वरले योनालाई के गर्न आदेश दिनुभयो र परमेश्‍वरले त्यसो गर्नुका कारण के थिए सो मात्रै तिमीहरूले बुझ्‍नु आवश्यक छ।

यहोवा परमेश्‍वरको चेतावनी निनवेवासीकहाँ पुग्छ

हामी योनाको पुस्तकको तेस्रो अध्यायको दोस्रो खण्डमा जाऔँ: “अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ।” यी वचन निनवेवासीलाई भन्‍नू भनी यहोवा परमेश्‍वरले योनालाई प्रत्यक्ष रूपमा दिनुभएका वचनहरू हुन्, त्यसकारण अवश्य नै, यहोवाले निनवेवासीलाई भन्‍न चाहनुभएका वचन यिनै हुन्। यी वचनले मानिसहरूलाई के बताउँछ भने, परमेश्‍वरले त्यस सहरका मानिसहरूलाई तिरस्कार गर्न र घृणा गर्न थाल्‍नुभएको थियो किनभने तिनीहरूको दुष्टता उहाँको नजरमा आएको थियो, त्यसकारण उहाँले त्यस सहरलाई नष्ट गर्न चाहनुहुन्थ्यो। तैपनि, परमेश्‍वरले त्यस सहरलाई नष्ट गर्नुभन्दा पहिले, निनवेवासीकहाँ एउटा घोषणा गर्दै हुनुहुन्थ्यो, साथै तिनीहरूलाई तिनीहरूको दुष्टताको निम्ति पश्‍चात्ताप गर्ने र नयाँ सुरुवात गर्ने मौका दिन चाहँदै हुनुहुन्थ्यो। यो अवसर चालीस दिनसम्‍म रहनेवाला थियो, त्योभन्दा बढी होइन। अर्को शब्‍दमा भन्दा, यदि चालीस दिनभित्र त्यस सहरका मानिसहरूले पश्‍चात्ताप गरेनन्, आफ्ना पापहरू स्वीकार गरेनन्, र तिनीहरू परमेश्‍वरको सामुन्ने भक्तिभावले लम्पसार परेनन् भने, परमेश्‍वरले त्यस सहरलाई सदोमलाई जस्तै नष्ट गर्नेवाला हुनुहुन्थ्यो। यहोवा परमेश्‍वरले निनवेका मानिसहरूलाई यही कुरा बताउन चाहनुभयो। स्पष्टै छ, यो त्यति सरल घोषणा थिएन। यसले यहोवा परमेश्‍वरको रिसलाई मात्रै व्यक्त गरेन, बरु यस सहरभित्र बसोबास गर्ने मानिसहरूको लागि एउटा गम्भीर चेतावनीको रूपमा काम गर्दै यसले निनवेवासीप्रतिको उहाँको मनोवृत्ति पनि व्यक्त गर्‍यो। यो चेतावनीले तिनीहरूलाई आफ्ना दुष्कर्महरूको कारण तिनीहरूले यहोवा परमेश्‍वरको घृणा बटुलेका छन् र यसले तुरुन्तै तिनीहरूमाथि विनाश ल्याउनेछ भन्‍ने कुरा बतायो। त्यसकारण, निनवे सहरको हरेक निवासीको जीवन निकट खतरामा परेको थियो।

यहोवा परमेश्‍वरको चेतावनीप्रति निनवेको र सदोमको प्रतिक्रियाबीच आकाश-पातालको भिन्नता

परास्त हुनु भनेको के हो? बोलीचालीको शब्‍दमा, यसको अर्थ अबउप्रान्त अस्तित्वमा नरहनु भन्‍ने हुन्छ। तर कस्तो तरिकाले? कसले सम्पूर्ण सहरलाई परास्त गर्न सक्छ? अवश्‍य नै मानिसले त्यस्तो काम गर्नु असम्‍भव हुन्छ। निनवेका मानिसहरू त्यति मूर्ख थिएनन्; तिनीहरूले यो घोषणा सुन्‍नेबित्तिकै तिनीहरूको दिमागमा योजना फुरिहाल्यो। तिनीहरूले यो घोषणा परमेश्‍वरबाट आएको हो भनी थाहा पाइहाले, परमेश्‍वरले आफ्‍नो काम गर्दैहुनुहुन्छ भन्‍ने जानिहाले, र तिनीहरूको दुष्टताले यहोवा परमेश्‍वरलाई क्रोधित तुल्याएको छ र उहाँको रिस तिनीहरूमाथि पोखिएको छ, त्यसकारण तिनीहरू चाँडै नै सहरसँगै नष्ट हुनेवाला छन् भन्‍ने थाहा पाइहाले। यहोवा परमेश्‍वरको चेतावनी सुनेपछि त्यस सहरका मानिसहरूले कस्तो प्रतिक्रिया दिए त? राजादेखि सर्वसाधारणसम्‍मले कस्तो प्रतिक्रिया देखाए सोबारे बाइबलले विशेष विवरण दिएको छ। धर्मशास्‍त्रमा निम्‍न वचनहरू लेखिएका छन्: “त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।”

यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका मानिसहरूले सदोमका मानिसहरूको भन्दा ठीक विपरीत मनोवृत्ति देखाए—सदोमका मानिसहरूले एकपछि अर्को दुष्ट कार्य गर्दै खुलेआम परमेश्‍वरको विरोध गरेका थिए भने, यी वचनहरू सुनिसकेपछि निनवेवासीले यस विषयलाई बेवास्ता गरेनन्, न त विरोध नै गरे। बरु, तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरे र उपवासको घोषणा गरे। यहाँ “विश्‍वास गरे” भन्‍ने शब्‍दको अर्थ के हो? यो शब्‍दले विश्‍वास र समर्पणतालाई जनाउँछ। यदि यस शब्‍दलाई व्याख्या गर्नको लागि हामीले निनवेवासीको वास्तविक व्यवहारलाई नै प्रयोग गर्‍यौं भने, यसको अर्थ परमेश्‍वरले आफूले जे भन्‍नुभएको छ त्यो गर्न सक्‍नुहुन्छ र गर्नुहुन्छ भनी तिनीहरू विश्‍वास गर्थे, र तिनीहरू पश्‍चात्ताप गर्न तत्पर थिए भन्ने हुन्छ। के निनवेका मानिसहरू आउन लागेको विपत्तिप्रति डराए? तिनीहरूको हृदयमा डर पैदा गर्ने कुरा तिनीहरूको विश्‍वास नै थियो। त्यसो भए, निनवेवासीको विश्‍वास र डरलाई प्रमाणित गर्नको लागि हामी के कुराको प्रयोग गर्न सक्छौँ त? यो, बाइबलले भनेजस्तै छ: “… उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए।” भन्‍नुको अर्थ निनवेवासीले साँचो रूपमा विश्‍वास गर्थे, र यही विश्‍वासद्वारा डर आएको थियो, जसले तिनीहरूलाई पश्‍चात्ताप गर्ने र भाङ्ग्रा लगाउने तुल्यायो। तिनीहरूले पश्‍चात्ताप गर्न सुरु गरेका छन् भन्‍ने कुरालाई तिनीहरूले यसरी नै प्रस्तुत गरे। सदोमका मानिसहरूको ठीक विपरीत रूपमा, निनवेवासीले परमेश्‍वरको विरोध त गरेनन् नै, बरु तिनीहरूले त आफ्‍नो व्यवहार र कार्यद्वारा आफ्‍नो पश्‍चात्तापलाई स्पष्ट रूपमा पनि देखाए। अवश्य नै, यो कार्य सर्वसाधारणले मात्रै होइन, सारा निनवेका मानिसले गरे—राजा पनि यसको अपवाद थिएनन्।

निनवेका राजाको पश्‍चात्तापले यहोवा परमेश्‍वरको स्याबासी जित्छ

जब निनवेका राजाले यो खबर सुने, तिनी आफ्‍नो सिंहासनबाट उठे, आफ्‍नो वस्‍त्र फुकाए, भाङ्ग्रा लगाए र खरानीमा बसे। त्यसपछि उनले सहरको कसैलाई पनि केही कुरा चाख्‍ने अनुमति छैन, र कुनै पनि भेडा, गोरु वा अरू कुनै पनि चौपायालाई चर्ने वा पानी पिउने अनुमति छैन भनेर घोषणा गरे। मानिस र चौपाया सबैले भाङ्ग्रा लगाउनुपर्नेथियो, र मानिसहरूले परमेश्‍वरसँग हृदयदेखि बिन्ती गर्नुपर्नेथियो। तिनीहरू प्रत्येकले आफ्ना दुष्ट मार्गहरूलाई छाड्नुपर्छ र आफ्ना हातका हिंसालाई त्याग्‍नुपर्छ भनेर पनि राजाले घोषणा गरे। यी श्रृंखलाबद्ध कार्यहरूबाट मूल्याङ्कन गर्दा, निनवेका राजाको हृदयमा साँचो पश्‍चात्ताप थियो भन्‍ने स्पष्ट हुन्छ। उनले गरेका श्रृंखलाबद्ध कार्यहरूले—आफ्‍नो सिंहासनबाट उठ्नु, लुगा फुकाल्नु, भाङ्ग्रा लगाउनु र खरानीमा बस्‍नुजस्ता कार्यहरूले—मानिसहरूलाई निनवेका राजाले आफ्‍नो राजकीय हैसियतलाई त्यागेर सर्वसाधारण मानिसहरूसँगै भाङ्ग्रा लगाइरहेका थिए भन्‍ने बताउँछ। भन्‍नुको अर्थ, यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका राजाले आफ्‍नो दुष्ट मार्गलाई जारी राख्‍न आफ्‍नो राजकीय पदलाई ओगटिरहेनन् वा आफ्ना हातका हिंसालाई जारी राख्‍ने कार्य गरेनन्; बरु, तिनले आफ्‍नो अख्‍तियारलाई पन्छाए र यहोवा परमेश्‍वरको अघि पश्‍चात्ताप गरे। यस क्षणमा निनवेका राजाले राजाको रूपमा पश्‍चात्ताप गरिरहेका थिएनन्; तिनी परमेश्‍वरको सामान्य प्रजाको रूपमा पश्‍चात्ताप गर्न र आफ्‍ना पापहरू स्वीकार गर्न परमेश्‍वरको सामुन्ने आएका थिए। यसको अलावा, उनले सारा सहरलाई आफूले जस्तै यहोवा परमेश्‍वरको सामुन्ने पश्‍चात्ताप गर्न र तिनीहरूका पापहरू स्वीकार गर्न लगाए; यसको साथै, तिनीसँग कसरी यसो गर्ने भन्‍नेबारे खास योजना थियो, जुन कुरालाई धर्मशास्‍त्रका खण्डहरूमा देखिन्छ: “न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: … र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।” त्यस सहरका शासकका रूपमा, निनवेका राजासँग सर्वोच्‍च प्रतिष्ठा र शक्ति थियो, र उनले आफूले चाहेको जे पनि गर्न सक्थे। यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, उनले त्यस विषयलाई बेवास्ता गर्न वा एकलै पश्‍चात्ताप गर्न र आफ्‍ना पापहरू स्वीकार गर्न सक्थे; त्यस सहरका मानिसहरूले पश्‍चात्ताप गर्ने निर्णय गर्छन् कि गर्दैनन् भन्‍ने विषयलाई उनले पूर्ण रूपमा बेवास्ता गर्न सक्थे। तैपनि, निनवेको राजाले त्यसो गरेनन्। उनले आफ्‍नो सिंहासनबाट उठेर, भाङ्ग्रा लगाई खरानीमा बसेर पश्‍चात्ताप गरी यहोवा परमेश्‍वरको सामुन्ने आफ्‍ना पापहरू स्वीकार मात्रै गरेनन्, बरु उनले त त्यस सहरका सबै मानिस र चौपायालाई पनि त्यसै गर्ने आदेश दिए। तिनले मानिसहरूलाई “परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्” भन्ने आज्ञा पनि दिए। यो श्रृंखलाबद्ध कार्यहरूमार्फत, निनवेका राजाले शासकले पूरा गर्नुपर्ने कार्यलाई साँचो रूपमा पूरा गरे। तिनले गरेको श्रृंखलाबद्ध कार्य मानव इतिहासको कुनै पनि राजाले हासिल गर्नु कठिन थियो, र वास्तवमै, अरू कुनै पनि राजाले यी कुरा हासिल गरेनन्। यी कार्यलाई मानव इतिहासका अभूतपूर्व कार्यहरू भन्‍न सकिन्छ, र यी कार्य मानवजातिले स्मरण र अनुकरण गर्न योग्य छन्। मानवको उदय भएदेखि नै, हरेक राजाले आफ्‍ना प्रजालाई परमेश्‍वरको प्रतिरोध र विरोध गर्न नेतृत्व गरेका थिए। कसैले कहिल्यै पनि आफ्‍ना प्रजालाई आफ्नो दुष्टताको निम्ति छुटकाराको खोजी गर्न, यहोवा परमेश्‍वरबाट माफी प्राप्त गर्न र आउन लागेको दण्डबाट जोगिन परमेश्‍वरलाई बिन्ती गर्ने कार्यमा नेतृत्व गरेका थिएनन्। तैपनि, निनवेका राजाले आफ्‍ना प्रजालाई परमेश्‍वरकहाँ फर्कन, तिनीहरूका आ-आफ्‍ना दुष्ट मार्गलाई त्यागेर तिनीहरूका हातका हिंसालाई त्याग्‍न अगुवाइ गर्न सके। यसको साथै, उनले आफ्‍नो सिंहासन समेत पन्छाउन सके, परिणामस्वरूप, यहोवा परमेश्‍वरले आफ्‍नो मन परिवर्तन गर्नुभई खेद अनुभूति गर्नुभयो, आफ्नो क्रोधलाई त्याग्‍नुभयो, अनि त्यस सहरका मानिसहरूलाई विनाशबाट जोगाउँदै बाँच्‍न दिनुभयो। राजाका यी कार्यहरूलाई मानव इतिहासमा बिरलै हुने आश्‍चर्यकर्म नै भन्न सकिन्छ, र भ्रष्ट मानवजातिले पश्‍चात्ताप गरेको र परमेश्‍वरको अघि आफ्‍ना पापहरू स्वीकार गरेको नमुना उदाहरण समेत भन्‍न सकिन्छ।

परमेश्‍वरले निनवेवासीका हृदयभित्र इमानदार पश्‍चात्ताप देख्‍नुहुन्छ

परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका राजा र उनका प्रजाले श्रृंखलाबद्ध कार्यहरू गरे। यी कार्य र तिनीहरूका व्यवहारको प्रकृति कस्तो थियो? अर्को शब्‍दमा भन्दा, तिनीहरूको आचरणको सम्पूर्णताको सार कस्तो थियो? तिनीहरूले जे गरे सो किन गरे त? परमेश्‍वरको नजरमा तिनीहरूले इमानदारीसाथ पश्‍चात्ताप गरेका थिए किनभने तिनीहरूले परमेश्‍वरलाई सच्‍चा बिन्ती गरेर उहाँसामु आफ्ना पाप स्वीकार गरेका मात्र होइनन्, बरु आफ्‍ना दुष्ट आचरणलाई पनि त्यागेका थिए। तिनीहरूले यस्तो कार्य गरे किनभने परमेश्‍वरका वचन सुनिसकेपछि, तिनीहरू अत्यन्तै भयभीत भए र उहाँले जे भन्‍नुभएको छ सो गर्नुहुनेछ भनेर तिनीहरूले विश्‍वास गरे। उपवास बसेर, भाङ्ग्रा लगाएर अनि खरानीमा बसेर, तिनीहरूले आफ्‍ना मार्गलाई सुधार गर्ने र दुष्टताबाट अलग बस्‍ने आफ्नो इच्‍छा व्यक्त गरे, अनि यहोवा परमेश्‍वरलाई उहाँको निर्णय र तिनीहरूमाथि विपत्ति बर्साउने कार्यलाई फिर्ता लिन बिन्ती गर्दै, उहाँलाई उहाँको रिस रोक्‍न प्रार्थना गरे। यदि हामीले तिनीहरूका सबै व्यवहारलाई जाँच्यौँ भने, तिनीहरूले आफ्ना पहिलेका दुष्कर्महरू यहोवा परमेश्‍वरका निम्ति घृणास्पद थिए र आफूहरूलाई उहाँले किन चाँडै नाश पार्न लाग्‍नुभएको हो भनेर बुझिसकेका थिए भन्ने हामी देख्न सक्छौँ। यही कारणले गर्दा, तिनीहरू सबैले पूर्ण पश्‍चात्ताप गर्ने, दुष्ट मार्गहरू छाड्ने र आफ्‍ना हातका हिंसालाई त्याग्‍ने इच्‍छा गरे। अर्को शब्‍दमा भन्दा, यहोवा परमेश्‍वरको घोषणाबारे थाहा पाएपछि तिनीहरू प्रत्येकले हृदयभित्र डर अनुभूति गरे; तिनीहरूले आफ्‍ना दुष्ट व्यवहारलाई रोके र त्यसपछि फेरि कहिल्यै पनि यहोवा परमेश्‍वरलाई अत्यन्तै घृणास्पद लाग्ने ती कार्य गरेनन्। यसको साथै, तिनीहरूले यहोवा परमेश्‍वरलाई तिनीहरूका विगतका पाप क्षमा गर्न र तिनीहरूलाई तिनीहरूका विगतका कार्यहरूअनुसार व्यवहार नगर्न बिन्ती गरे। यदि यहोवा परमेश्‍वरलाई फेरि कहिल्यै क्रोधित नतुल्याउनु सम्‍भव छ भने, तिनीहरू फेरि कहिल्यै पनि दुष्टतामा संलग्‍न नहुन र यहोवा परमेश्‍वरका निर्देशनहरू अनुसार कार्य गर्न तत्पर थिए। तिनीहरूको पश्‍चात्ताप सच्‍चा र पूर्ण थियो। यो तिनीहरूको हृदयभित्रबाट आएको थियो अनि यो सच्‍चा र स्थायी थियो।

राजादेखि सर्वसाधारणसम्‍मका, निनवेका सारा मानिसहरूले यहोवा परमेश्‍वर तिनीहरूप्रति रिसाउनुभएको छ भन्‍ने थाहा पाएपछि, तिनीहरू प्रत्येकले त्यसपछि गरेका हरेक कार्य र तिनीहरूको आचरणलाई, साथै तिनीहरूले गरेका हरेक निर्णय र छनौटलाई परमेश्‍वरले स्पष्ट र सरल रूपमा देख्‍न सक्‍नुभयो। तिनीहरूका व्यवहारअनुसार परमेश्‍वरको हृदय परिवर्तन भयो। त्यस क्षणमा परमेश्‍वरको मनस्थिति कस्तो थियो? बाइबलले तेरो लागि त्यो प्रश्‍नको उत्तर दिन सक्छ। धर्मशास्‍त्रमा यी वचनहरू लेखिएका छन्: “अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन।” परमेश्‍वरले आफ्‍नो मन परिवर्तन गर्नुभएको भए पनि, उहाँको मनस्थितिमा केही पनि जटिलता थिएन। उहाँ केवल आफ्‍नो रिसलाई व्यक्त गर्ने अवस्थाबाट आफ्‍नो रिसलाई शान्त पार्ने अवस्थामा जानुभयो, र त्यसपछि निनवे सहरमाथि विपत्ति नल्याउने निर्णय गर्नुभयो। निनवेवासीलाई विपत्तिबाट बचाउने परमेश्‍वरको निर्णय त्यति छिटो आउनुको कारण परमेश्‍वरले हरेक निनवेवासीको हृदय अवलोकन गर्नु हो। उहाँले तिनीहरूले आफ्‍नो हृदयको अन्तस्करणमा के कुरालाई राखेका छन् भन्‍ने देख्‍नुभयो: तिनीहरूका इमानदार पश्‍चात्ताप र तिनीहरूका पाप स्वीकार, उहाँमाथिको तिनीहरूका इमानदार विश्‍वास, तिनीहरूका दुष्ट कार्यले उहाँको स्वभावलाई कसरी क्रोधित तुल्याएको छ भन्‍नेबारेमा तिनीहरूको गहन अनुभूति, र यहोवा परमेश्‍वरबाट आउन लागेको दण्डको डर। यसको साथै, यहोवा परमेश्‍वरले तिनीहरूको प्रार्थना पनि सुन्‍नुभयो, जुन तिनीहरूले आफूहरू यो विपत्तिबाट बच्‍न सकौँ भनेर, उहाँलाई अबउप्रान्त आफूहरूसँग नरिसाउन बिन्ती गर्दै आफ्‍नो हृदयको अन्तस्करणबाट गरेका थिए। जब परमेश्‍वरले यी सबै तथ्यलाई अवलोकन गर्नुभयो, अलि-अलि गर्दै उहाँको रिस हराएर गयो। उहाँको रिस पहिले जति नै धेरै भए पनि, उहाँले यी मानिसहरूले हृदयको गहिराइमा गरेको इमानदार पश्‍चात्तापलाई देख्नुभएपछि यसले उहाँको हृदय छोयो, त्यसकारण उहाँले तिनीहरूमाथि विपत्ति ल्याउन सक्‍नुभएन, र उहाँ तिनीहरूसित रिसाउन छोड्नुभयो। बरु, उहाँले तिनीहरूलाई आफ्‍नो कृपा र सहनशीलता दिने कार्यलाई जारी राख्‍नुभयो र तिनीहरूलाई मार्गनिर्देशित गर्ने र तिनीहरूलाई भरणपोषण गर्ने कार्यलाई जारी राख्‍नुभयो।

यदि परमेश्‍वरमाथिको तेरो विश्‍वास साँचो छ भने, तैँले अक्सर उहाँको हेरचाह प्राप्त गर्नेछस्

निनवेका मानिसहरूप्रति परमेश्‍वरले आफ्‍ना अभिप्राय परिवर्तन गर्नुहुँदा यसमा कुनै हिचकिचाहट वा कुनै अस्पष्ट वा धमिलो कुरा समावेश थिएन। बरु, यो त विशुद्ध रिसबाट विशुद्ध सहनशीलतामा भएको रूपान्तरण थियो। यो, परमेश्‍वरको सारको साँचो प्रकाश हो। आफ्‍ना कार्यहरूमा परमेश्‍वर कहिल्यै पनि ढलपल हुने वा हिचकिचाउने गर्नुहुन्‍न; उहाँका कार्य पछाडिका सिद्धान्त र उद्देश्य सबै स्पष्ट र पारदर्शी, विशुद्ध र त्रुटिविहीन हुन्छन्, तिनमा कुनै पनि चालबाजी वा युक्तिहरू मिश्रित भएका हुँदैनन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सारमा कुनै पनि अन्धकार वा दुष्टता हुँदैन। निनवेवासीका दुष्ट कार्यहरू उहाँको नजरमा परेको हुनाले परमेश्‍वर तिनीहरूप्रति रिसाउनुभयो; त्यसबेला उहाँको रिस उहाँको सारबाट आएको थियो। तथापि, परमेश्‍वरले आफ्‍नो रिस नियन्त्रण गरेर निनवेका मानिसहरूलाई फेरि एक पटक सहनशीलता प्रदान गर्नुभएको बेला, उहाँले प्रकट गर्नुभएका सबै कुरा पनि उहाँको आफ्‍नै सार नै थिए। सम्पूर्ण रूपमा यो परिवर्तन परमेश्‍वरप्रतिको मानिसको मनोवृत्तिमा आएको परिवर्तनको कारणले गर्दा थियो। यो पूरै समयावधिमा, परमेश्‍वरको चिढ्याउन नसकिने स्वभाव परिवर्तन भएन, परमेश्‍वरको सहनशील सार परिवर्तन भएन, अनि परमेश्‍वरको प्रेमिलो र कृपालु सार परिवर्तन भएन। जब मानिसहरूले दुष्ट कार्यहरू गर्छन् र परमेश्‍वरलाई रिस उठाउँछन्, उहाँले तिनीहरूमाथि आफ्‍नो रिस वर्साउनुहुन्छ। जब मानिसहरूले साँचो रूपमा पश्‍चात्ताप गर्छन्, परमेश्‍वरको हृदय परिवर्तन हुनेछ, अनि उहाँको रिस हट्नेछ। जब मानिसहरूले जिद्दी भई परमेश्‍वरको निरन्तर विरोध गर्छन्, उहाँको रिस रोकिनेछैन, र तिनीहरू नष्ट भइञ्‍जेलसम्म तिनीहरूमाथि उहाँको क्रोध एक-एक गरी आइरहनेछ। परमेश्‍वरको स्वभावको सार यही हो। परमेश्‍वरले क्रोध वा कृपा र प्रेमिलो दयालुपन जे व्यक्त गरिरहनुभएको भए तापनि, परमेश्‍वरको स्वभावको प्रकाशमार्फत कुनचाहिँलाई व्यक्त गरिन्छ भन्‍ने कुरा मानिसले आफ्‍नो हृदयभित्र राख्‍ने परमेश्‍वरप्रतिको चालचलन, बानीबेहोरा, र मनोवृत्तिले नै तय गर्छ। यदि परमेश्‍वरले कुनै व्यक्तिमा निरन्तर आफ्‍नो रिस पोखाउनुहुन्छ भने, त्यस व्यक्तिको हृदयले परमेश्‍वरको विरोध गर्छ भन्‍ने कुरामा कुनै शङ्का हुँदैन। यो व्यक्तिले साँचो रूपमा कहिल्यै पनि पश्‍चात्ताप गरेको, परमेश्‍वरको अघि आफ्‍नो शिर निहुराएको वा परमेश्‍वरमाथि साँचो विश्‍वास गरेको हुँदैन, त्यसकारण त्यस्ता व्यक्तिहरूले परमेश्‍वरको कृपा र सहनशीलतालाई कहिल्यै प्राप्त गरेका हुँदैनन्। यदि कसैले बारम्बार परमेश्‍वरको हेरचाह, कृपा, र सहनशीलता प्राप्त गर्छ भने, निःसन्देह यो व्यक्तिको हृदयमा परमेश्‍वरमाथिको साँचो विश्‍वास हुन्छ, र तिनीहरूको हृदयले परमेश्‍वरको विरोध गर्दैन। यो व्यक्तिले बारम्बार परमेश्‍वरसामु साँचो रूपमा पश्‍चात्ताप गर्छ; त्यसकारण, यो व्यक्तिमा बारम्बार परमेश्‍वरको अनुशासन आइपर्ने भए तापनि, उहाँको क्रोध कहिल्यै आइपर्नेछैन।

यो छोटो विवरणले मानिसहरूलाई परमेश्‍वरको हृदय, उहाँको सारको यथार्थपन, उहाँको रिस र उहाँको हृदय परिवर्तन कारणविहीन हुँदैन भन्‍ने कुरा देख्‍न सहयोग गर्छ। उहाँ क्रोधित हुनुहुँदा र उहाँको हृदय परिवर्तन भएको बेला परमेश्‍वरले प्रदर्शन गर्नुभएका फरक-फरक आचरणले मानिसहरूलाई परमेश्‍वरको सारका यी दुई पक्ष, अर्थात् उहाँको रिस र उहाँको सहनशीलताबीचमा ठूलो भिन्‍नता छ भन्‍ने विश्‍वास दिलाउँछन्—तर यस ठूलो भिन्‍नताको बाबजुद, निनवेवासीको पश्‍चात्तापप्रति परमेश्‍वरको मनोवृत्तिले मानिसहरूलाई फेरि उहाँको साँचो स्वभावको अर्को पक्षलाई देखाउँछ। परमेश्‍वरको परिवर्तन भएको हृदयले साँच्‍चै नै मानवजातिलाई फेरि पनि उहाँको कृपा र प्रेमिलो दयालुपनको सत्यता, र परमेश्‍वरको सारको साँचो प्रकाशलाई देख्‍ने तुल्याउँछ। परमेश्‍वरको कृपा र प्रेमिलो दयालुपन मिथ्या होइनन्, न त ती कुनै झूटो हल्‍ला नै हुन् भन्‍ने कुरालाई स्वीकार गर्नेबाहेक मानवजातिसँग कुनै विकल्‍प छैन। किनभने त्यतिबेला परमेश्‍वरको अनुभूति साँचो थियो, र उहाँको हृदय परिवर्तन पनि साँचो थियो—परमेश्‍वरले वास्तवमा मानवजातिमाथि फेरि पनि आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्नुभयो।

निनवेवासीले हृदयमा गरेको साँचो पश्‍चात्तापले परमेश्‍वरको कृपा जित्छ र आफ्नो परिणामलाई परिवर्तन गर्छ

परमेश्‍वरको हृदय परिवर्तन र उहाँको क्रोधबीच कुनै विरोधाभास थियो? अवश्य थिएन! किनभने परमेश्‍वरले त्यस खास समयमा प्रस्तुत गर्नुभएको सहिष्णुताको आफ्नै कारण थियो। त्यो कारण के हुन सक्छ? त्यो, बाइबलमा दिइएकै कारण हो: “हरेक व्यक्तिले आफ्ना दुष्ट मार्ग छाडे” र “तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।”

यो “दुष्ट मार्ग” ले एक-दुईवटा दुष्ट कार्यलाई जनाउँदैन, यसले त मानिसहरूको व्यवहार पैदा हुने दुष्ट स्रोतलाई जनाउँछ। “आफ्‍नो दुष्ट मार्गबाट फर्कून्” भनेको यस्ता कार्य गर्ने मानिसहरूले फेरि कहिल्यै यस्ता कार्य गर्नेछैनन् भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, तिनीहरूले फेरि कहिल्यै यस्तो दुष्ट व्यवहार गर्नेछैनन्; तिनीहरूको कार्यको विधि, स्रोत, उद्देश्य, अभिप्राय र सिद्धान्त सबै परिवर्तन भएका छन्; तिनीहरूले आफ्‍नो हृदयमा आनन्द र खुसी ल्याउनको लागि ती विधि र सिद्धान्तहरूलाई फेरि कहिल्यै प्रयोग गर्नेछैनन्। “आफ्‍नो हातमा भएका हिंसाबाट फर्कून्” भन्‍ने पदावलीको “फर्कून्” भन्‍ने शब्‍दले विगतलाई छोड्नु, वा पन्छाउनु, विगतसँग पूर्ण रूपमा सम्‍बन्ध तोड्नु र फेरि कहिल्यै पछि नफर्कनु भन्‍ने अर्थ दिन्छ। जब निनवेका मानिसहरूले आफ्‍ना हातका हिंसालाई त्यागे, यसले तिनीहरूको साँचो पश्‍चात्तापलाई प्रमाणित र प्रतिनिधित्व गर्‍यो। परमेश्‍वरले मानिसहरूको बाहिरी रूपका साथै तिनीहरूको हृदयलाई अवलोकन गर्नुहुन्छ। जब परमेश्‍वरले निनवेवासीको हृदयको साँचो पश्‍चात्तापलाई कुनै प्रश्‍न नउठाई अवलोकन गर्नुभयो र तिनीहरूले आफ्‍ना दुष्ट मार्गलाई र आफ्नो हातका हिंसालाई त्यागिसकेको अवलोकन गर्नुभयो, तब उहाँले आफ्‍नो हृदय परिवर्तन गर्नुभयो। भन्‍नुको अर्थ, यी मानिसहरूको आचरण र बानीबेहोरा अनि काम गर्ने विभिन्‍न तौरतरिका, साथै तिनीहरूले आफ्ना हृदयमा गरेको साँचो पश्‍चात्ताप र पाप स्वीकारको कारणले गर्दा परमेश्‍वरले आफ्‍नो हृदय परिवर्तन गर्नुभयो, आफ्‍ना अभिप्रायलाई परिवर्तन गर्नुभयो, आफ्‍नो निर्णयलाई फिर्ता लिएर तिनीहरूलाई दण्ड नदिने वा नष्ट नगर्ने निर्णय गर्नुभयो। तसर्थ, निनवेका मानिसहरूले आफ्‍नो निम्ति फरक परिणाम हासिल गरे। तिनीहरूले आफ्‍नै जीवनलाई छुटकारा दिनका साथै परमेश्‍वरको कृपा र सहनशीलता जिते, त्यसैबेला परमेश्‍वरले आफ्‍नो क्रोधलाई पनि त्याग्‍नुभयो।

परमेश्‍वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ

परमेश्‍वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा लगाई खरानी घसेर बस्‍नेबित्तिकै, उहाँको हृदय कोमल हुन थाल्यो अनि उहाँले आफ्‍नो मन परिवर्तन गर्न थाल्‍नुभयो। उहाँले तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुहुँदा—तिनीहरूले आफ्‍नो पापको स्वीकार र पश्‍चात्ताप गर्नुभन्दा पहिले—परमेश्‍वर तिनीहरूसँग अझै रिसाउनुभएको थियो। तिनीहरूले पश्‍चात्तापका श्रृंखलाबद्ध कार्यहरू गरिसकेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्‍वरको रिस, कृपा र सहनशीलतामा परिवर्तन भयो। एउटै घटनामा परमेश्‍वरको स्वभावका यी दुई पक्ष एकैसाथ प्रकाश भएको भए पनि ती विरोधाभासपूर्ण भने छैनन्। त्यसैले, यस्तो विरोधाभास नहुनुलाई कसरी बुझ्‍नु र जान्‍नुपर्छ? निनवेका मानिसहरूले पश्‍चात्ताप गरेपछि परमेश्‍वरले यी दुई विपरीत ध्रुवीय सारलाई व्यक्त र प्रकट गर्नुभयो, अनि मानिसहरूलाई परमेश्‍वरको सारको यथार्थता र चिढ्याउन नसकिने गुण देख्‍न दिनुभयो। मानिसहरूलाई निम्‍न कुराहरू बताउन परमेश्‍वरले आफ्‍नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्‍वरले मानिसहरूलाई सहनुहुन्‍न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्‍न भन्‍ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्‍वरसामु साँचो रूपले पश्‍चात्ताप गर्छन्, र बिरलै आफ्‍ना दुष्ट मार्गहरू छाड्छन् र आफ्ना हातका हिंसालाई त्याग्छन् भन्ने हो। अर्को शब्‍दमा भन्दा, जब परमेश्‍वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नेछ भन्ने आशा गर्नुहुन्छ, अनि वास्तवमै उहाँ मानिसको साँचो पश्‍चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताको साथ आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्‍नुहुनेछ। भन्‍नुको अर्थ, मानिसको दुष्ट चालले परमेश्‍वरको क्रोध प्राप्त गर्छ, जबकि परमेश्‍वरको कुरा सुन्‍ने र उहाँको अघि साँचो रूपमा पश्‍चात्ताप गर्नेहरूलाई, आफ्‍ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्‍नो हातका हिंसा त्याग्‍न सक्‍नेहरूलाई परमेश्‍वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो, त्यसमा परमेश्‍वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्‍वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छँदैछैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्‍चात्ताप नै हो। जबसम्‍म मानिसहरू आफ्‍ना दुष्ट मार्ग छाड्छन् र आफ्‍ना हातको हिंसालाई त्याग्छन्, तबसम्‍म तिनीहरूप्रति परमेश्‍वरले आफ्‍नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ।

सृष्टिकर्ताको धर्मी स्वभाव यथार्थ र स्पष्ट छ

जब निनवेका मानिसहरूप्रति परमेश्‍वरको हृदय परिवर्तन भयो, तब के उहाँको कृपा र सहनशीलता देखावटी थियो? अवश्य थिएन! त्यसोभए परमेश्‍वरले यो एउटा परिस्थितिको सामना गर्ने क्रममा उहाँको स्वभावका यी दुई पक्षमा एकदेखि अर्कोमा भएको परिवर्तनले के देखाएको छ? परमेश्‍वरको स्वभाव पूर्ण रूपमा सिङ्गो छ—यो विभाजित छैन। उहाँले मानिसहरूप्रति रिस वा कृपा र सहनशीलता जे व्यक्त गरिरहनुभएको भए तापनि, यी सबै उहाँको धर्मी स्वभावका अभिव्यक्ति हुन्। परमेश्‍वरको स्वभाव जीवन्त र स्पष्ट छ, र अवस्था जे-जसरी विकसित हुन्छन्, त्यसरी नै उहाँले आफ्‍ना विचार र मनोवृत्तिलाई परिवर्तन गर्नुहुन्छ। निनवेवासीप्रति उहाँको मनोवृत्तिको रूपान्तरणले मानवजातिलाई उहाँसँग उहाँका आफ्‍नै सोचाइ र विचार छन् भनेर बताउँछ; उहाँ रोबट वा माटोको मूर्ति हुनुहुन्‍न, जीवित परमेश्‍वर हुनुहुन्छ। उहाँ निनवेका मानिसहरूप्रति त्यसरी नै रिसाउन सक्‍नुहुन्थ्यो जसरी उहाँले तिनीहरूको मनोवृत्तिको कारण तिनीहरूको विगतलाई क्षमा गरिदिन सक्‍नुभयो। उहाँले निनवेवासीमाथि दुर्दशा ल्याउने निर्णय गर्न सक्‍नुहुन्थ्यो, र तिनीहरूको पश्‍चात्तापको कारण उहाँले आफ्‍नो निर्णय परिवर्तन पनि गर्न सक्‍नुहुन्थ्यो। मानिसहरू त्यसरी नै कठोर रूपमा नियमहरू लागू गर्न अनि त्यस्ता नियमहरू परमेश्‍वरलाई सीमांकित र परिभाषित गर्न प्रयोग गर्न चाहन्छन्, जसरी तिनीहरू परमेश्‍वरको स्वभाव बुझ्‍ने प्रयास गर्न सूत्रहरू प्रयोग गर्न चाहन्छन्। त्यसकारण, जहाँसम्म मानव सोचको कुरो छ, तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले सोच्नुहुन्न, न त उहाँसँग कुनै अत्यावश्यक विचारहरू नै हुन्छन्। तर वास्तवमा, वस्तु र वातावरणमा आउने परिवर्तनअनुसार परमेश्‍वरका विचारहरू अटुट रूपान्तरणको अवस्थामा हुन्छन्। यी विचार रूपान्तरण हुँदै गर्दा, परमेश्‍वरको सारका फरक-फरक पक्षहरू प्रकट हुन्छन्। रूपान्तरणको यो प्रक्रियाको अवधिमा, परमेश्‍वरमा परिवर्तित हृदय भएकै क्षणमा, उहाँले मानवजातिलाई जे देखाउनुहुन्छ त्यो उहाँको जीवनको यथार्थ अस्तित्व हो, र उहाँको धर्मी स्वभाव गतिशील जीवनशक्तिले भरिपूर्ण छ। यसको साथै, परमेश्‍वरले आफ्नो क्रोध, कृपा, प्रेमिलो दयालुपन, र सहनशीलताको अस्तित्वको सत्यता मानवजातिसामु प्रमाणित गर्नको लागि आफ्‍नै साँचो प्रकाशहरू प्रयोग गर्नुहुन्छ। अवस्था जे-जसरी विकसित हुन्छन्, त्यसैअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा उहाँको सारलाई प्रकट गरिनेछ। उहाँमा सिंहको क्रोध अनि आमाको कृपा र सहनशीलता छ। उहाँको धर्मी स्वभावले कुनै पनि व्यक्तिलाई कुनै पनि सवाल उठाउन, उल्लंघन गर्न, परिवर्तन गर्न, वा बिगार्न दिँदैन। सबै मामिला र सबै थोकमध्ये परमेश्‍वरको धर्मी स्वभावलाई—अर्थात्, उहाँको क्रोध र कृपालाई—कुनै पनि समय र कुनै पनि स्थानमा प्रकट गर्न सकिन्छ। उहाँले सारा सृष्टिको हरेक कुनामा यी पक्षको अत्यावश्यक प्रकटीकरण गर्नुहुन्छ, र बितेर जाने हरेक क्षणमा उहाँले तिनलाई जीवन्त शक्तिको साथ कार्यान्वयन गर्नुहुन्छ। परमेश्‍वरको धर्मी स्वभाव समय वा स्थानद्वारा सीमित छैन; अर्को शब्‍दमा भन्दा, उहाँको धर्मी स्वभाव समय वा स्थानका पाबन्दीअनुसार यान्त्रिक रूपमा होइन, बरु पूर्ण सहजताको साथ र सबै समय र स्थानमा व्यक्त वा प्रकट गरिन्छ। जब तैँले परमेश्‍वरको हृदय परिवर्तन भएको र उहाँले आफ्‍नो क्रोध व्यक्त गर्न छोड्नुभई निनवे सहरलाई नष्ट गर्नबाट पछि हट्नुभएको देख्छस्, के तँ परमेश्‍वर कृपालु र प्रेमिलो मात्र हुनुहुन्छ भनेर भन्‍न सक्छस्? के परमेश्‍वरको क्रोध खोक्रो शब्‍दहरूले बनेको छ भनेर भन्‍न सक्छस्? जब परमेश्‍वर भीषण क्रोधले चूर बन्‍नुहुन्छ र उहाँले आफ्‍नो कृपा फिर्ता लिनुहुन्छ, तब के तँ उहाँले मानवजातिप्रति कुनै साँचो प्रेमको अनुभूति गर्नुहुन्‍न भनेर भन्‍न सक्छस्? यो भीषण क्रोध मानिसहरूका दुष्ट कार्यहरूको प्रतिक्रिया स्वरूप परमेश्‍वरले व्यक्त गर्नुहुन्छ; उहाँको क्रोध त्रुटिपूर्ण छैन। मानिसहरूले गरेको पश्‍चात्तापको प्रतिक्रिया स्वरूप परमेश्‍वरको हृदय उत्प्रेरित हुन्छ, र यही पश्‍चात्तापले नै उहाँको हृदयमा परिवर्तन ल्याउँछ। जब उहाँ उत्प्रेरित हुनुहुन्छ, जब उहाँको हृदय परिवर्तन हुन्छ, र जब उहाँले मानिसप्रति आफ्‍नो कृपा र सहनशीलता देखाउनुहुन्छ, यी सबै पूर्ण रूपमा त्रुटिविहीन हुन्छन्; ती चोखो, विशुद्ध, निष्खोट र मिश्रणरहित हुन्छन्। जसरी उहाँको कृपा, कृपाभन्दा अरू केही पनि होइन, त्यसरी नै परमेश्‍वरको सहनशीलता ठ्याक्‍कै त्यही हो: सहनशीलता। उहाँको स्वभावले मानिसको पश्‍चात्ताप र उसको चालचलनमा आउने अन्तरहरूअनुसार क्रोध वा कृपा र सहनशीलतालाई प्रकट गर्छ। उहाँले जे प्रकट गर्नुभए पनि र जे व्यक्त गर्नुभए पनि, यी सबै विशुद्ध र प्रत्यक्ष हुन्छन्; यसको सार सृष्टिको जुनसुकै कुराको सारभन्दा पृथक हुन्छ। जब परमेश्‍वरले आफ्ना कार्यहरूका अन्तर्निहित सिद्धान्तहरू व्यक्त गर्नुहुन्छ, ती कुनै पनि त्रुटि वा दागमुक्त हुन्छन्, अनि उहाँका सोच, विचार र उहाँले गर्नुहुने हरेक निर्णय र हरेक कार्य पनि त्यस्तै हुन्छन्। परमेश्‍वरले त्यसरी निर्णय गर्नुभएको हुनाले र त्यसरी कार्य गर्नुभएको हुनाले, आफ्‍ना काम-कार्यवाहीहरूलाई पनि त्यसरी नै पूरा गर्नुहुन्छ। उहाँका काम-कार्यवाहीहरूको स्रोत त्रुटिविहीन र निष्खोट भएकै कारणले ती सही र त्रुटिविहीन छन्। परमेश्‍वरको क्रोध त्रुटिविहीन छ। त्यसरी नै, परमेश्‍वरको कृपा र सहनशीलता—जुन सारा सृष्टिको बीचमा कसैसँग पनि छैन—पवित्र र त्रुटिविहीन छन्, र तिनले ध्यानपूर्वक गरिने सोचविचार र अनुभवलाई सामना गर्न सक्छन्।

निनवेको कथासम्‍बन्धी तेरो बुझाइबाट, के अब तिमीहरू परमेश्‍वरको धर्मी स्वभावको सारको अर्को पक्षलाई देख्छौ? के तिमीहरू परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको अर्को पक्षलाई देख्छौ? के मानवजातिमाझ कसैसँग यस प्रकारको स्वभाव छ? के कसैमा यस प्रकारको क्रोध अर्थात् परमेश्‍वरको क्रोध छ? के कसैसँग परमेश्‍वरसँग भएको जस्तो कृपा र सहनशीलता छ? सृष्टिमध्ये कसले त्यति भयङ्कर क्रोध आह्‍वान गरी मानवजातिलाई नष्ट गर्ने वा त्यसमाथि विपत्ति ल्याउने निर्णय गर्न सक्छ? मानिसलाई कृपा प्रदान गर्न, सहन र क्षमा गर्न, र यसरी मानिसलाई नष्ट गर्ने आफ्‍नो पहिलेको निर्णयलाई परिवर्तन गर्न को योग्य छ? सृष्टिकर्ताले आफ्‍नै अद्वितीय विधि र सिद्धान्तमार्फत आफ्‍नो धर्मी स्वभाव व्यक्त गर्नुहुन्छ, र उहाँ कुनै पनि मानिस, घटना, वा कुराले लादेको नियन्त्रण वा प्रतिबन्धको अधीनमा हुनुहुन्‍न। उहाँको अद्वितीय स्वभाव भएकोले, कसैले पनि उहाँका सोचाइ र विचारलाई परिवर्तन गर्न सक्दैन, न त कसैले उहाँलाई मनाउन र उहाँका कुनै पनि निर्णयलाई परिवर्तन गर्न नै सक्छ। सारा सृष्टिमा अस्तित्वमा रहेका बानीबेहोरा र विचारहरूको सम्पूर्णता उहाँको धर्मी स्वभावको न्यायअन्तर्गत अस्तित्वमा हुन्छन्। कसैले पनि उहाँले क्रोध वा कृपामध्ये के अभ्यास गर्नुहुन्छ सो नियन्त्रण गर्न सक्दैन; सृष्टिकर्ताको सारले मात्रै—वा अर्को शब्‍दमा भन्दा, सृष्टिकर्ताको धर्मी स्वभावले मात्रै—यसको निर्णय गर्न सक्छ। सृष्टिकर्ताको धर्मी स्वभावको अद्वितीय प्रकृति यही हो!

निनवेका मानिसहरूप्रति भएको परमेश्‍वरको मनोवृत्ति रूपान्तरणलाई विश्‍लेषण गरेर अनि बुझेर, के तिमीहरूले उहाँको धर्मी स्वभावभित्र पाइने कृपालाई व्याख्या गर्न “अद्वितीय” शब्‍दको प्रयोग गर्न सक्छौ? परमेश्‍वरको क्रोध उहाँको अद्वितीय धर्मी स्वभावको सारको एउटा पक्ष हो भनेर हामीले यसअघि नै भनेका थियौँ। अब म यी दुईवटा पक्षलाई—परमेश्‍वरको क्रोध र कृपालाई—उहाँको धर्मी स्वभावको रूपमा परिभाषित गर्नेछु। परमेश्‍वरको धर्मी स्वभाव पवित्र छ; यसले चिढ्याएको वा सवाल उठाएको सहँदैन; यो सृष्टि गरिएका वा सृष्टि नगरिएका प्राणी कसैमा पनि नहुने कुरा हो। यो, परमेश्‍वरमा मात्र लागू हुने अद्वितीय र एकमात्र कुरा हो। भन्‍नुको अर्थ परमेश्‍वरको क्रोध पवित्र र चिढ्याउन नसकिने छ। त्यसरी नै, परमेश्‍वरको धर्मी स्वभावको अर्को पक्ष—परमेश्‍वरको कृपा—पवित्र छ र यसलाई चिढ्याउन सकिँदैन। सृष्टि गरिएका वा सृष्टि नगरिएका कुनै पनि प्राणीले उहाँका काममा परमेश्‍वरलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न सक्दैन, न त कसैले सदोमको विनाश वा निनवेको मुक्तिमा उहाँलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न नै सक्थ्यो। परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको साँचो अभिव्यक्ति यही हो।

मानवजातिप्रति सृष्टिकर्ताका सच्‍चा भावनाहरू

मानिसहरू प्रायजसो परमेश्‍वरलाई चिन्‍नु त्यति सजिलो कुरा होइन भन्छन्। तैपनि, म भन्छु परमेश्‍वरलाई चिन्‍नु त्यति कठिन कुरा होइन, किनभने मानिसले देखोस् भनेर परमेश्‍वरले बारम्‍बार आफ्‍ना कार्यहरू देखाउनुहुन्छ। मानवजातिसँगको आफ्‍नो कुराकानीलाई उहाँले कहिल्यै पनि रोक्‍नुभएको छैन, अनि उहाँले आफूलाई मानिसबाट कहिल्यै पनि ढाकछोप गर्नुभएको छैन, न त उहाँले आफूलाई लुकाउनु नै भएको छ। उहाँका सोचाइ, विचार, वचन अनि कार्य सबै नै मानवजातिका निम्ति प्रकट गरिन्छन्। त्यसकारण, जबसम्‍म मानिसले परमेश्‍वरलाई चिन्‍ने चाहना गर्छ, उसले उहाँलाई सबै किसिमका माध्यम र तरिकाबाट बुझ्‍न र चिन्‍न सक्छ। मानिसले परमेश्‍वर जानी-जानी ऊबाट टाढा हुनुभएको छ, उहाँले जानी-जानी आफूलाई मानवजातिबाट लुकाउनुभएको छ, उहाँलाई बुझ्‍न र चिन्‍न मानिसलाई दिने कुनै अभिप्राय उहाँसँग छैन भनेर अन्धाधुन्ध विचार गर्नुको कारण के हो भने, परमेश्‍वर को हुनुहुन्छ भन्‍ने कुरा उसलाई थाहा छैन, न त उसले परमेश्‍वरलाई बुझ्‍ने इच्‍छा नै गर्छ। त्योभन्दा पनि बढी, मानिसले सृष्टिकर्ताका विचार, वचन वा कार्यप्रति चासो नै दिँदैन…। साँचो रूपमा भन्दा, सृष्टिकर्ताका वचन वा कार्यहरूलाई ध्यान दिन र बुझ्‍नको लागि यदि व्यक्तिले आफ्‍नो फुर्सतको समय मात्रै प्रयोग गर्छ भने पनि, र सृष्टिकर्ताका विचार र उहाँको हृदयको आवाजलाई तिनीहरूले थोरै मात्रै ध्यान दिन्छन् भने पनि, सृष्टिकर्ताका विचार, वचन र कार्य स्पष्ट र पारदर्शी छन् भन्‍ने कुराको महसुस गर्न त्यो व्यक्तिलाई कठिनाइ हुनेछैन। त्यसरी नै, सृष्टिकर्ता सधैँ मानिसको बीचमा हुनुहुन्छ, उहाँ सधैँ मानिस र सम्पूर्ण सृष्टिसँग कुराकानी गर्नुहुन्छ, र उहाँले हरेक दिन नयाँ-नयाँ कार्यहरू गरिरहनुभएको छ भन्‍ने महसुस गर्न त्यति धेरै प्रयासको आवश्यकता पर्नेछैन। उहाँको सार र स्वभाव मानिससँगको उहाँको कुराकानीमा व्यक्त हुन्छन्; उहाँका सोचाइ र विचारलाई पूर्ण रूपमा उहाँका कार्यहरूमा प्रकट गरिन्छन्; उहाँले मानवजातिलाई सँधैभरि साथ दिनुहुन्छ र अवलोकन गर्नुहुन्छ। उहाँले आफ्‍ना शान्त वचनहरूद्वारा मानवजाति र सारा सृष्टिसँग बोल्‍नुहुन्छ: “म स्वर्गहरूमा छु, अनि म मेरा सृष्टिको बीचमा छु। म नियालिरहेको छु; म पर्खिरहेको छु; म तेरो छेउमा छु…।” उहाँका हात न्यानो र दह्रिला छन्; उहाँका पाइलाहरू हल्‍का छन्; उहाँको आवाज कोमल र शिष्ट छ; सारा मानवजातिलाई अङ्गाल्दै, उहाँको रूप बितेर जान्छ र परिवर्तन हुन्छ; उहाँको मुहार सुन्दर र कोमल छ। उहाँ कहिल्यै छोडेर जानुभएको छैन, कहिल्यै हराउनुभएको छैन। दिन-रात उहाँ मानवजातिको साथ कहिल्यै नछोड्ने अटुट मित्र हुनुहुन्छ। उहाँले निनवे सहरलाई बचाउनुहुँदा, मानवजातिको निम्ति उहाँको समर्पित हेरचाह र विशेष स्‍नेह, साथै मानिसको निम्ति उहाँको सच्‍चा चिन्ता र प्रेम एक-एक गरी प्रकट गरिए। विशेष गरी, यहोवा परमेश्‍वर र योनाबीचको कुराकानीले उहाँ स्वयमले सृष्टि गर्नुभएको मानवजातिप्रति सृष्टिकर्ताको स्‍नेहशीलतालाई पूर्ण रूपमा प्रकट गर्‍यो। तैँले वचनहरूद्वारा मानवजातिको निम्ति परमेश्‍वरका सच्‍चा भावनाहरूबारे गहन बुझाइ प्राप्त गर्न सक्छस् …

निम्‍न खण्डलाई योनाको पुस्तक ४:१०-११ मा समावेश गरिएको छ: “त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेलाई मैले बचाउनु पर्दैन र?” यी, परमेश्‍वर र योनाबीचको कुराकानीबाट अभिलेख गरिएका यहोवा परमेश्‍वरका वास्तविक वचन हुन्। यो कुराकानी छोटो भए तापनि, मानवजातिको निम्ति सृष्टिकर्ताको वास्ता अनि मानवजातिलाई त्याग्‍ने उहाँको अनिच्‍छाले भरिएको छ। यी वचन आफ्‍नो सृष्टिको लागि परमेश्‍वरले आफ्‍नो हृदयमा राख्‍नुहुने साँचो मनोवृत्ति र भावनाका अभिव्यक्ति हुन्। मानिसले बिरलै सुनेका स्पष्ट र सटीक यी वचनद्वारा, परमेश्‍वरले मानवजातिको निम्ति आफ्‍ना साँचो अभिप्रायहरूलाई उल्‍लेख गर्नुहुन्छ। यो कुराकानीले निनवेका मानिसहरूप्रति परमेश्‍वरले राख्‍नुभएको मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ—तर यो कस्तो प्रकारको मनोवृत्ति हो? तिनीहरूले पश्‍चात्ताप गर्नुभन्दा पहिले र पछि निनवेका मानिसहरूप्रति उहाँले राख्‍नुभएको मनोवृत्ति, र उहाँले मानवजातिलाई व्यवहार गर्ने मनोवृत्ति यही नै हो। यी वचनभित्र उहाँका विचार र उहाँको स्वभाव छन्।

यी वचनहरूमा परमेश्‍वरका के-कस्ता विचार प्रकट गरिएका छन्? पढ्ने क्रममा तैँले विवरणहरूलाई ध्यान दिइस् भने, उहाँले “दया” शब्‍दको प्रयोग गर्नुहुन्छ भन्‍ने कुरालाई पहिचान गर्न तँलाई कठिनाइ हुनेछैन; यो शब्‍दको प्रयोगले मानवजातिप्रति परमेश्‍वरको साँचो मनोवृत्तिलाई देखाउँछ।

शाब्दिक अर्थको हिसाबमा हेर्दा, मानिसहरूले “दया” शब्‍दलाई फरक-फरक तरिकाले अर्थ लगाउन सकिन्छ: पहिलो, यसको अर्थ “प्रेम गर्नु र रक्षा गर्नु, कुनै कुराप्रति कोमलताको अनुभव गर्नु” भन्‍ने हुन्छ; दोस्रो, यसको अर्थ “घनिष्ठताको साथ प्रेम गर्नु” भन्‍ने हुन्छ; र अन्तिम, यसको अर्थ “कुनै कुरालाई चोट पुऱ्याउन अनिच्छुक हुनु र त्यसो गरेको सहन नसक्‍नु” भन्‍ने हुन्छ। छोटकरीमा, यो शब्‍दले कोमल स्‍नेह र प्रेम, साथै कसैलाई वा कुनै कुरालाई छोड्न अनिच्‍छुक हुनु भन्‍ने आशय दिन्छ; यसले मानिसप्रति परमेश्‍वरको कृपा र सहनशीलतालाई जनाउँछ। परमेश्‍वरले यो शब्‍दको प्रयोग गर्नुभयो, जुन मानिसले आम रूपमा बोल्‍ने शब्‍द नै हो, तैपनि यसले मानवजातिप्रति परमेश्‍वरको हृदयको आवाज अनि उहाँको मनोवृत्तिलाई खुलासा गर्न सक्छ।

निनवे सहर सदोमका मानिसहरू जत्तिकै भ्रष्ट, दुष्ट, र हिंसात्मक मानिसहरूले भरिएको भए तापनि, तिनीहरूको पश्‍चात्तापले गर्दा परमेश्‍वरले हृदय परिवर्तन गर्नुभयो र तिनीहरूलाई नष्ट नगर्ने निर्णय गर्नुभयो। परमेश्‍वरका वचन र निर्देशनलाई तिनीहरूले जसरी लिए त्यो सदोमका नागरिकहरूको भन्दा ठीक विपरीत मनोवृत्तिको प्रदर्शन थियो, त्यसो हुनाले र परमेश्‍वरप्रतिको तिनीहरूको निष्कपट समर्पणता अनि आफ्‍ना पापप्रति तिनीहरूको निष्कपट पश्‍चात्तापलगायत सबै कुराप्रति तिनीहरूको साँचो र हृदयबाट निस्केको आचरणले गर्दा परमेश्‍वरले फेरि एक पटक आफ्‍नो हृदयको दया व्यक्त गर्नुभयो र सो तिनीहरूलाई दिनुभयो। परमेश्‍वरले मानवजातिलाई जे दिनुहुन्छ त्यसलाई र मानवजातिको निम्ति उहाँको दयालाई कसैले नक्‍कल गर्नु असम्‍भव छ, र मानवजातिप्रति परमेश्‍वरको कृपा, सहनशीलता, वा निष्कपट भावना कुनै व्यक्तिमा हुनु असम्‍भव छ। के तैँले महान् पुरुष वा स्‍त्री, वा महामानव ठानेको कुनै व्यक्ति छ, जसले उच्‍च स्थानबाट महान् पुरुष वा स्त्रीले जस्तो बोल्छ, वा उच्‍च स्थानबाट मानवजाति वा सृष्टिलाई यस्तो प्रकारको अभिव्यक्ति दिन्छ? मानवजातिमा त्यस्तो को छ जसले मानवजातिको अवस्थालाई आफ्‍नो हत्केलालाई जत्तिकै जान्‍न सक्छ? मानवजातिको अस्तित्वको भार र जिम्‍मेवारीलाई कसले बहन गर्न सक्छ? सहरको विनाशको घोषणा गर्न को योग्य छ? अनि सहरलाई क्षमा दिन को योग्य छ? कसले आफ्‍नो सृष्टिको हेरचाह गर्छु भनी भन्‍न सक्छ? सृष्टिकर्ताले मात्रै सक्‍नुहुन्छ! यस मानवजातिप्रति सृष्टिकर्तासँग मात्रै स्‍नेह छ! यस मानवजातिलाई सृष्टिकर्ताले मात्रै करुणा र स्‍नेह देखाउनुहुन्छ। सृष्टिकर्तासँग मात्रै यस मानवजातिप्रति साँचो, नतोडिने स्‍नेह छ। त्यसरी नै, सृष्टिकर्ताले मात्रै यस मानवजातिलाई कृपा दिन र आफ्‍ना सम्पूर्ण सृष्टिको हेरचाह गर्न सक्‍नुहुन्छ। मानिसको हरेक कार्यमा उहाँको ढुकढुकी चल्छ र उहाँलाई पीडा हुन्छ: मानिसको दुष्टता र भ्रष्टताप्रति उहाँ रिसाउनुहुन्छ, व्याकुल र दुःखित बन्‍नुहुन्छ; मानिसको पश्‍चात्ताप र विश्‍वासप्रति उहाँ प्रसन्‍न, आनन्दित, क्षमाशील र उल्लसित बन्‍नुहुन्छ; उहाँका हरेक सोचाइ र विचार मानिसकै निम्ति अस्तित्वमा हुन्छन् र सेरोफेरोमा घुम्छ; उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ सो सम्पूर्ण रूपले मानवजातिको खातिर व्यक्त गरिन्छ; उहाँका भावनाहरूको सम्पूर्णता मानवजातिको अस्तित्वसँग गुँथिएको छ। मानवजातिको खातिर, उहाँ यताउता यात्रा गर्नुहुन्छ र दौडधूप गर्नुहुन्छ; उहाँले चुपचाप आफ्‍नो जीवनको एक-एक टुक्रा दिनुहुन्छ; उहाँले आफ्‍नो जीवनको हरेक मिनेट र सेकेन्ड दिनुहुन्छ…। उहाँको आफ्‍नै जीवन कति दयालाग्दो छ भन्‍ने उहाँले कहिल्यै जान्‍नुभएको छैन, तैपनि आफैले सृष्टि गर्नुभएको मानवजातिलाई उहाँले सधैँ हेरचाह गर्नुभएको छ…। आफूसँग भएको सबै कुरा उहाँले यी मानवजातिलाई दिनुहुन्छ…। उहाँले सर्तरहित र प्रतिफल पाउने आशा नै नगरिकन आफ्‍नो कृपा र सहनशीलता दिनुहुन्छ। जीवनसम्‍बन्धी उहाँको बन्दोबस्‍तलाई प्राप्त गर्दै मानवजाति उहाँको आँखा अगाडि नै बाँचिरहन सकून् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ। मानवजाति एक दिन उहाँको सामने समर्पित हुन सकून् र मानिसको अस्तित्वलाई पालनपोषण गर्ने अनि सारा सृष्टिलाई जुटाउने उहाँ नै हुनुहुन्छ भन्‍ने कुरा पहिचान गरून् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ।

सृष्टिकर्ताले मानवजातिप्रतिको आफ्ना साँचो भावनाहरू व्यक्त गर्नुहुन्छ

यहोवा परमेश्‍वर र योनाबीचको यो कुराकानी मानवजातिप्रति सृष्टिकर्ताको साँचो भावनाको अभिव्यक्ति हो भन्‍ने कुरामा कुनै शङ्‍का छैन। एकतर्फ, यसले मानिसहरूलाई सृष्टिकर्ताले उहाँको सार्वभौमिकताको अधीनमा रहेका सारा सृष्टिलाई बुझ्नुहुन्‍छ भन्‍नेबारे जानकारी दिन्छ; किनभने यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको छ, “अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेलाई मैले बचाउनु पर्दैन र?” अर्को शब्‍दमा भन्दा, निनवेसम्‍बन्धी परमेश्‍वरको बुझाइ कुनै पनि हालतमा सतही थिएन। उहाँलाई उक्त सहरमा बस्‍ने जीवित प्राणीहरूको सङ्ख्या मात्रै थाहा थिएन (जसमा मानिसहरू र चौपाया पनि पर्छन्), उहाँलाई त कति जनाले देब्रे र दाहिने हात छुट्याउन सक्दैनन्—अर्थात्, कति जना बालबालिका र जवान छन् भन्‍ने पनि थाहा थियो। यो मानवजातिसम्‍बन्धी परमेश्‍वरको पूर्ण बुझाइको ठोस प्रमाण हो। अर्कोतर्फ, यस कुराकानीले मानिसहरूलाई मानवजातिप्रति सृष्टिकर्ताको मनोवृत्तिबारे अर्थात् सृष्टिकर्ताको हृदयमा मानवजातिको बोझ कति छ भन्नेबारे जानकारी दिन्छ। यो कुरा यहोवा परमेश्‍वरले भन्‍नुभएको जस्तै हो: “तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि … त्यो ठूलो सहर निनवेलाई मैले बचाउनु पर्दैन र?” यी यहोवा परमेश्‍वरले योनाप्रति लक्षित गरी बोल्‍नुभएका धिक्‍कारका शब्‍द हुन्, तर ती सबै सत्य छन्।

योनालाई निनवेका मानिसहरूप्रति यहोवा परमेश्‍वरले दिनुभएका वचन घोषणा गर्ने जिम्‍मेवारी दिइएको भए तापनि, तिनले यहोवा परमेश्‍वरका अभिप्रायलाई बुझेका थिएनन्, न त तिनले त्यस सहरका मानिसहरूप्रति उहाँको चिन्ता र अपेक्षालाई नै बुझेका थिए। यस हप्कीद्वारा परमेश्‍वरले तिनलाई के बताउन चाहनुभएको थियो भने, मानवजाति परमेश्‍वरको आफ्‍नै हातका उपज हुन्, र हरेक व्यक्तिमा उहाँले कठोर प्रयत्न गर्नुभएको छ, हरेक व्यक्तिले आफ्‍नो काँधमा परमेश्‍वरका अपेक्षाहरू बोक्छन्, र हरेक व्यक्तिले परमेश्‍वरको जीवनको आपूर्ति प्राप्त गर्छन्; हरेक व्यक्तिको लागि परमेश्‍वरले कठिन प्रयासको मूल्य चुकाउनुभएको थियो। यो हप्कीले योनालाई उनले जसरी लौकालाई बहुमूल्य ठानेका थिए, त्यसरी नै परमेश्‍वरले पनि मानवजातिलाई, जुन उहाँको आफ्‍नै हातको काम हो, त्यसलाई बहुमूल्य ठान्‍नुहुन्छ भन्‍ने कुरा पनि बतायो। परमेश्‍वरले कुनै पनि हालतमा, वा सम्‍भव भएको अन्तिम क्षणसम्‍म मानवजातिलाई हल्का रूपमा त्याग्‍नुहुनेथिएन, वा कम्तीमा पनि सहरभित्र धेरै बालबालिका र निर्दोष चौपाया भएको कारण त्यसो गर्नुहुनेथिएन। आफ्ना दाहिने र देब्रे हात चिन्‍न नसक्‍ने परमेश्‍वरको सृष्टिका यी साना र अज्ञानी उपजहरूसँग व्यवहार गर्ने क्रममा, परमेश्‍वरले त्यति हतार गरेर तिनीहरूको जीवन समाप्त गर्नुहुनेथियो र तिनीहरूको परिणामलाई निर्धारण गर्नुहुनेथियो भन्‍ने कुरा त अझै अपत्यारिलो हुनेथियो। परमेश्‍वरले तिनीहरू हुर्के-बढेको हेर्ने आशा गर्नुहुन्थ्यो; तिनीहरू आफ्ना अग्रजहरूकै मार्गमा नहिँडून्, तिनीहरूले फेरि यहोवा परमेश्‍वरको चेतावनी सुन्‍न नपरून्, र निनवेको विगतको गवाही दिऊन् भन्‍ने चाहना उहाँको थियो। त्यसरी नै, पश्‍चात्ताप गरेपछिको निनवेलाई हेर्ने, पश्‍चात्ताप पछिको निनवेको भविष्यलाई हेर्ने, र सबैभन्दा महत्त्वपूर्ण कुरा, निनवे फेरि पनि परमेश्‍वरको कृपामा जिएको हेर्ने इच्‍छा परमेश्‍वरको थियो। त्यसकारण, परमेश्‍वरको नजरमा, दाहिने र देब्रे हात नचिन्‍ने ती सृष्टिका प्रजाहरू नै निनवेको भविष्य थिए। जसरी तिनीहरूले परमेश्‍वरको अगुवाइमा निनवेको विगत र भविष्यको गवाही दिने महत्त्वपूर्ण कर्तव्यलाई काँधमा बोकेर हिँड्नेवाला थिए, तिनीहरूले निनवेको तुच्‍छ विगतको बोझलाई पनि काँधमा बोक्‍नेवाला थिए। आफ्‍नो साँचो भावनाहरूको यस घोषणामा, यहोवा परमेश्‍वरले समग्र मानवताप्रतिको सृष्टिकर्ताको कृपालाई पूर्ण रूपमा प्रस्तुत गर्नुभयो। यसले मानवजातिलाई “सृष्टिकर्ताको कृपा” रित्तो वाक्यांश होइन, न त यो खोक्रो प्रतिज्ञा नै हो; यसमा ठोस सिद्धान्त, विधि र उद्देश्यहरू छन् भन्‍ने कुरा देखायो। परमेश्‍वर साँचो र वास्तविक हुनुहुन्छ, र उहाँले कुनै पनि झूट वा छलकपट प्रयोग गर्नुहुन्‍न, र यसरी नै हरेक समय र युगमा मानवजातिमाथि उहाँको कृपा अटुट रूपमा बर्सिरहन्छ। तैपनि, आजको दिनसम्‍म नै, योनासँगको सृष्टिकर्ताको कुराकानी उहाँले मानवजातिलाई किन कृपा देखाउनुहुन्छ, उहाँले मानवजातिलाई कसरी कृपा देखाउनुहुन्छ, मानवजातिप्रति उहाँ कति सहनशील हुनुहुन्छ र मानवजातिप्रति उहाँका साँचो भावनाहरू कस्ता छन् भन्नेबारे एउटै, विशेष मौखिक अभिव्यक्ति हो। यस कुराकानीको क्रममा यहोवा परमेश्‍वरले बोल्‍नुभएको संक्षिप्त वचनले अभिन्‍न समग्रताको रूपमा मानवजातिप्रति उहाँका सोचहरूलाई व्यक्त गर्छ; ती सोच मानवजातिप्रतिको उहाँको हृदयको मनोवृत्तिको साँचो अभिव्यक्ति हुन्, र ती मानवजातिप्रति उहाँले प्रशस्‍त कृपा प्रदान गर्नुभएको छ भन्‍ने कुराको ठोस प्रमाण पनि हुन्। उहाँको कृपा मानवजातिका पुराना पुस्ताहरूमा मात्रै प्रदान गरिएको छैन, बरु सधैँ झैँ एकपछि अर्को पुस्ता गरी मानवजातिका नयाँ सदस्यहरूलाई पनि प्रदान गरिएको छ। मानवजातिको निश्‍चित कुना र निश्‍चित युगमा परमेश्‍वरको क्रोध बारम्‍बार वर्षिने भए पनि, परमेश्‍वरको कृपा कहिल्यै रोकिएको छैन। आफ्‍नो कृपाद्वारा, उहाँले आफ्‍नो सृष्टिको एकपछि अर्को पुस्तालाई अगुवाइ र नेतृत्व गर्नुहुन्छ, र सृष्टिको एकपछि अर्को पुस्तालाई पालनपोषण र भरणपोषण दिनुहुन्छ, किनभने मानवजातिप्रति उहाँको साँचो भावना कहिल्यै परिवर्तन हुनेछैन। यो यहोवा परमेश्‍वरले भन्‍नुभएको जस्तै छ: “… निनवेलाई मैले बचाउनु पर्दैन र?” उहाँले आफ्‍नो सृष्टिलाई जहिल्यै पनि बहुमूल्य ठान्‍नुभएको छ। यो, सृष्टिकर्ताको धर्मी स्वभावको कृपा हो, र यो सृष्टिकर्ताको पूर्ण अद्वितीयपन पनि हो!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्