परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरको धर्मी स्वभाव (भाग एक)

तिमीहरूले परमेश्‍वरको अख्तियारको बारेमा रहेको अघिल्‍लो सङ्गति सुनिसकेका हुनाले, म आश्‍वस्त छु कि तिमीहरू यस विषयमा धेरै राम्रा वचनहरूले सुसज्‍जित छौ। तिमीहरूले कति स्वीकार गर्न, बोध गर्न र बुझ्‍न सक्छौ भन्‍ने कुरा सबै तिमीहरूले यसमा कति धेरै प्रयास गर्छौ भन्‍ने कुरामा निर्भर हुन्छ। तिमीहरू यस विषयमा गम्भीरतासाथ संलग्‍न हुन सक्छौ भन्‍ने मेरो आशा छ; तिमीहरू यसमा कुनै पनि हालतमा आधा हृदयले संलग्‍न हुनु हुँदैन! अब, के परमेश्‍वरको अख्तियारलाई जान्‍नु परमेश्‍वरको सम्पूर्णतालाई जान्‍नु सरह हो? के भन्‍न सकिन्छ भने परमेश्‍वरको अख्तियारलाई जान्‍नु भनेको परमेश्‍वर स्वयम्‌ अद्वितीयलाई चिन्‍ने कार्यको सुरुवात हो, र यो पनि भन्‍न सकिन्छ, परमेश्‍वरको अख्तियारलाई जान्‍नु भनेको व्यक्ति पहिले नै परमेश्‍वर स्वयम्‌ अद्वितीयको सारलाई जान्‍ने ढोकाभित्र प्रवेश गरिसकेको छ। यो बुझाइ परमेश्‍वरलाई चिन्‍ने कार्यको एउटा भाग हो। त्यसो भए, अर्को भाग के हो त? आज मैले सङ्गति गर्न चाहेको विषय यही हो—परमेश्‍वरको धर्मी स्वभाव।

आजको विषयको बारेमा सङ्गति गर्नको लागि मैले बाइबलबाट दुई वटा खण्डहरू छनौट गरेको छु: पहिलो, परमेश्‍वरले सदोमलाई नष्ट गर्नुभएको घटनासँग सम्‍बन्धित छ, जुन घटनाको विवरण उत्‍पत्ति १९:१-११ र उत्‍पत्ति १९:२४-२५ मा पाइन्छ; दोस्रो, परमेश्‍वरले निनवेलाई छुटकारा दिनुभएको घटनासँग सम्‍बन्धित छ, जुन घटनाको विवरण योना १:१-२ मा पाइन्छ, यसको साथै योनाको पुस्तकको तेस्रो र चौथो अध्यायमा पनि यसको बारेमा उल्‍लेख गरिएको छ। म अनुमान गर्छु कि यी दुई खण्डहरूका बारेमा मैले जे बताउनु छ त्यसलाई सुन्‍न तिमीहरू सबैले प्रतीक्षा गरिरहेका छौ। मैले जे भन्छु त्यो प्राकृतिक रूपमा नै परमेश्‍वर स्वयम्‌लाई चिन्‍नु र उहाँको सारलाई चिन्‍नुको दायराभन्दा बाहिर जान सक्दैन, तर आजको सङ्गतिको मुख्य ध्यान केमा केन्द्रित हुनेछ त? के तिमीहरूमध्ये कसैलाई थाहा छ? परमेश्‍वरको अख्तियार सम्‍बन्धी मेरो सङ्गतिको कुन-कुन भागहरूले तिमीहरूको ध्यान खिचे? त्यस्तो अख्‍तियार र शक्ति भएको एउटै उहाँ परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ भनेर मैले किन भनेँ? त्यसो भनेर मैले के कुरालाई स्पष्ट पार्न चाहेँ? यसबाट तिमीहरूले के सिकेको म चाहन्थेँ? के परमेश्‍वरको अख्तियार र शक्ति उहाँको सारलाई जसरी व्यक्त गरिन्छ त्यसको एउटा पक्ष हुन्? के ती उहाँको सारको भाग, अर्थात् उहाँको पहिचान र हैसियतलाई प्रमाणित गर्ने भाग हुन्? यी प्रश्‍नहरूबाट मूल्याङ्कन गरेर, के तिमीहरूले मैले के भन्‍न लागेको छु सो बताउन सक्छौ? तिमीहरूले के बुझेको म चाहन्छु? यस विषयमा ध्यान दिएर विचार गर।

परमेश्‍वरलाई जिद्दी भई विरोध गर्दा, मानिसलाई परमेश्‍वरको क्रोधले नष्ट गर्छ

सर्वप्रथम, हामी परमेश्‍वरले सदोमलाई नष्ट गर्नुभएको घटनाको बारेमा व्याख्या गर्ने, धर्मशास्‍त्रका विभिन्‍न खण्डहरूलाई हेरौँ।

उत्पत्ति १९:१-११ अनि साँझमा दुई स्वर्गदूतहरू सदोममा आए; र लोत सदोमको प्रवेशद्वारमा बसेका थिए: तिनीहरूलाई देखेर लोत तिनीहरूलाई भेट्न खडा भए; अनि तिनले निहुरेर दण्डवत् गरे; अनि तिनले भने, हेर्नुहोस्, मेरा मालिकहरू, म बिन्ती गर्छु, आफ्ना दासको घरमा आउनुहोस् र सारा रात बिताउनुहोस्, र आफ्ना खुट्टाहरू धुनुहोस्, सबेरै उठ्नुहोस् र आफ्नो बाटो लाग्‍नुहोस्। तब तिनीहरूले भने, हुन्‍न; तर हामी सारा रात सडकमा गुजार्नेछौँ। अनि उनले तिनीहरूलाई धेरै कर लगाए; अनि तिनीहरू तिनीमाथि जाइलागे, र उनको घरमा पसे; र उनले तिनीहरूको निम्ति भोज तयार पारे, खमिर नहालेको रोटी बनाए र तिनीहरूले खाए। तर तिनीहरू सुत्‍नु अगाडि सहरका मानिसहरू, सदोमका वृद्ध र जवान चारैतिरका सबै मानिसहरू समेतले वरिपरिबाट घरलाई घेरे: अनि तिनीहरूले लोतलाई बोलाएर तिनलाई भने, आज राती तिम्रोमा आएका मानिसहरू कता छन्? तिनीहरूलाई हामीकहाँ ल्याऊ ताकि हामीले तिनीहरूलाई चिन्‍न सकौँ। अनि लोत बाहिर ढोकामा तिनीहरूकहाँ गए र आफ्नो पछाडिको ढोका बन्द गरे र भने, दाजुभाइहरू, म तपाईंहरूसँग बिन्ती गर्छु यति धेरै दुष्ट नबन्‍नुहोस्। हेर्नुहोस्, अहिले मसँग दुई छोरीहरू छन् जसले कुनै पनि पुरुषलाई चिनेका छैनन्; म बिन्ती गर्छु कि म तिनीहरूलाई बाहिर तपाईंहरूकहाँ ल्याउँछु र तपाईंहरूले आफ्ना आँखाले राम्रो लाग्‍ने काम तिनीहरूलाई गर्नुहोस्: यी मानिसहरूलाई मात्रै केही नगरिदिनुहोस्; किनकि तिनीहरू मेरो घरको छायामा आएका छन्। अनि तिनीहरूले भने, पछि हट्। र तिनीहरूले फेरि भने, यो मान्छे यहाँ बस्‍न आयो र ऊ हाम्रो न्यायाधीश बन्‍न खोज्छ: अब हामी तिनीहरूसँग भन्दा नराम्रो व्यवहार तँसँग गर्छौं। अनि तिनीहरूले त्यस मानिस, लोतलाई धकेले र ढोका फोर्नलाई नजिक आए। तर ती मानिसहरूले आफ्ना हात अगाडि बढाए र लोतलाई घरभित्र आफू भएका ठाउँमा ल्याए अनि ढोका बन्द गरे। अनि घरका ढोकामा भएका साना र ठूला मानिसहरूलाई अन्धा तुल्याइदिए: फलस्वरूप तिनीहरू ढोका फेला पार्न नसकेर थाके।

उत्पत्ति १९:२४-२५ त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।

यी खण्डहरूबाट, सदोमको दुष्टता र भ्रष्टता पहिले नै मानिस र परमेश्‍वर दुवैको लागि घृणास्पद हदमा पुगिसकेको थियो, त्यसकारण परमेश्‍वरको नजरमा त्यो सहर नष्ट गरिन योग्य भइसकेको थियो भन्‍ने कुरालाई देख्‍नु त्यति कठिन छैन। तर यो सहरलाई नष्ट गरिनुभन्दा पहिले यो सहरभित्र के भयो? यी घटनाहरूबाट मानिसहरूले कस्तो प्रेरणा पाउन सक्छन्? यी घटनाहरूप्रतिको परमेश्‍वरको मनोवृत्तिले मानिसहरूलाई उहाँको स्वभावको बारेमा के देखाउँछ? सम्पूर्ण कथालाई बुझ्‍नको लागि, हामी धर्मशास्‍त्रमा के अभिलेख गरिएको छ त्यसलाई ध्यान दिएर पढौं …

सदोमको भ्रष्टता: मानिसको लागि रिसउठ्दो, परमेश्‍वरको लागि क्रोधित तुल्याउने

त्यो रात, लोतले परमेश्‍वरका दुई जना सन्देशवाहकहरूलाई स्वागत गरे र तिनीहरूको लागि भोज तयार गरे। खानपान गरिसकेपछि, तिनीहरू सुत्‍न लागेको बेला, सहरभरिका मानिसहरू आएर लोतको वासस्थान घेरे र तिनलाई बोलाए। धर्मशास्‍त्रले अभिलेख गरेअनुसार, तिनीहरू भन्दै थिए, “आज राती तिम्रोमा आएका मानिसहरू कता छन्? तिनीहरूलाई हामीकहाँ ल्याऊ ताकि हामीले तिनीहरूलाई चिन्‍न सकौँ।” कसले यी शब्‍दहरू बोले? कसको लागि यी शब्दहरू बोलिए? यी शब्‍दहरू लोतको वासस्थानबाहिर चिच्याइएका र लोतले सुनून् भनेर बोलिएका सदोमका मानिसहरूका शब्‍दहरू थिए। यी शब्‍दहरू सुन्दा कस्तो लाग्छ? के तँ क्रोधित हुन्छस्? के यी शब्‍दहरूले तँलाई घृणाको महसुस गराउँछ? के तँमा रिस उम्लेर आइरहेको हुन्छ? के यी शब्‍दहरूमा शैतानको दुर्गन्ध आउँदैन र? के यी शब्‍दहरू मार्फत, तैँले यस सहरमा भएको दुष्टता र अन्धकारलाई अनुभूति गर्न सक्छस्? के तैँले यी मानिसहरूले बोलेका शब्‍दहरूबाट तिनीहरूको व्यवहारका क्रूरता र जङ्गलीपनलाई अनुभूति गर्न सक्छस्? के तैँले तिनीहरूको बानीबेहोरामार्फत तिनीहरूको भ्रष्टताको गहिराइलाई अनुभूति गर्न सक्छस्? के तिनीहरूको बोलाइको विषयवस्तुमार्फत, तिनीहरूको दुष्ट प्रकृति र जङ्गली स्वभाव तिनीहरूको नियन्त्रणभन्दा बाहिर गइसकेको थियो भन्‍ने देख्‍नु कठिन छैन। लोतबाहेक, यस सहरको एक-एक व्यक्ति शैतानभन्दा फरक थिएन; अर्को नयाँ व्यक्ति देख्दा मात्रै पनि यी मानिसहरूलाई ती व्यक्तिहरूलाई हानि गर्ने र निल्‍ने चाहना जाग्यो…। यी कुराहरूले सहरको भयानक र भयङ्कर प्रकृतिका साथै यस सहर वरिपरि रहेको मृत्युको रापको अनुभूति मात्रै दिँदैनन्, बरु यिनले त यसको दुष्टता र हत्यारापनको अनुभूति पनि दिन्छन्।

अमानवीय डाँकुहरू, मानव प्राणलाई निल्‍ने उग्र इच्‍छाले भरिएका मानिसहरूको आमने-सामने हुँदा, लोतले कस्तो प्रतिक्रिया दिए? धर्मशास्‍त्रअनुसार: “म तपाईंहरूसँग बिन्ती गर्छु यति धेरै दुष्ट नबन्‍नुहोस्। हेर्नुहोस्, अहिले मसँग दुई छोरीहरू छन् जसले कुनै पनि पुरुषलाई चिनेका छैनन्; म बिन्ती गर्छु कि म तिनीहरूलाई बाहिर तपाईंहरूकहाँ ल्याउँछु र तपाईंहरूले आफ्ना आँखाले राम्रो लाग्‍ने काम तिनीहरूलाई गर्नुहोस्: यी मानिसहरूलाई मात्रै केही नगरिदिनुहोस्; किनकि तिनीहरू मेरो घरको छायामा आएका छन्।” लोतले यी शब्‍दहरूद्वारा यसो भन्न खोजिरहेका थिए: सन्देशवाहकहरूलाई सुरक्षित गर्नको लागि तिनी आफ्‍नी दुई छोरीलाई त्याग्‍न तयार थिए। कुनै पनि तर्कशील हिसाबमा, यी मानिसहरूले लोतका सर्तहरूमा सहमति जनाई दुई सन्देशवाहकलाई केही पनि नगर्नुपर्थ्यो; आखिर, सन्देशवाहकहरू तिनीहरूका लागि पूर्ण रूपमा अपरिचित थिए, तिनीहरूसँग कुनै सम्‍बन्ध नभएका र तिनीहरूका रुचिहरूमा कहिल्यै पनि कुनै हानि नपुर्‍याएका मानिसहरू थिए। तैपनि, तिनीहरूका दुष्ट प्रकृतिद्वारा उत्प्रेरित भएर, तिनीहरूले यस विषयलाई त्यत्तिकै छोडेनन्, बरु तिनीहरूका प्रयासलाई अझै तीव्र बनाए। यहाँ, तिनीहरू बीचको अर्को कुराकानीले मानिसहरूलाई निःसन्देह रूपमा नै यी मानिसहरूका साँचो, क्रूर प्रकृतिको बारेमा थप ज्ञान प्रदान गर्न सक्छ, यसको साथै यसले मानिसहरूलाई परमेश्‍वरले किन यस सहरलाई नष्ट गर्न चाहनुभयो भन्‍ने बारेमा स्पष्ट हुन र बुझ्‍न पनि सहयोग गर्छ।

त्यसो भए, तिनीहरूले यसपछि के भने त? बाइबलमा यस्तो लेखिएको छ: “पछि हट्। र तिनीहरूले फेरि भने, यो मान्छे यहाँ बस्‍न आयो र ऊ हाम्रो न्यायाधीश बन्‍न खोज्छ: अब हामी तिनीहरूसँग भन्दा नराम्रो व्यवहार तँसँग गर्छौं। अनि तिनीहरूले त्यस मानिस, लोतलाई धकेले र ढोका फोर्नलाई नजिक आए।” तिनीहरूले किन लोतको ढोका फोर्न चाहन्थे? कारण के थियो भने तिनीहरू ती दुई सन्देशवाहकहरूलाई हानि गर्न अत्यन्तै आतुर थिए। यी सन्देशवाहकहरू किन सदोम आएका थिए त? तिनीहरू त्यहाँ आउनुको उद्देश्य लोत र तिनको परिवारलाई बचाउनु थियो, तर यो सहरका मानिसहरूले तिनीहरू आधिकारिक पद ग्रहण गर्न आएका हुन् भनेर गलत रूपमा सोचेका थिए। सन्देशवाहकहरूको उद्देश्यको बारेमा नसोधीकन, यो सहरका मानिसहरूले पूर्ण अनुमानकै आधारमा मात्रै यी दुई सन्देशवाहकलाई जङ्गली तवरले हानि गर्ने इच्‍छा गरे; तिनीहरूले तिनीहरूसँग कुनै सम्‍बन्ध नै नभएका दुई जना मानिसहरूलाई हानि गर्न चाहे। यो सहरका मानिसहरूले तिनीहरूका मानवता र तर्कलाई पूर्ण रूपमा गुमाएका थिए भन्‍ने कुरा स्पष्टै छ। तिनीहरूको पागलपन र जङ्गलीपन पहिले नै मानिसहरूलाई हानि गर्ने र निल्‍ने शैतानको दुष्ट प्रकृतिभन्दा फरक थिएन।

यी मानिसहरूलाई हस्तान्तरण गर् भनेर जब तिनीहरूले लोतलाई भने, तब लोतले के गरे त? पाठबाट हामीलाई थाहा हुन्छ कि लोतले तिनीहरूलाई हस्तान्तरण गरेनन्। के लोतले परमेश्‍वरका यी दुई सन्देशवाहकलाई चिनेका थिए? अवश्य थिएनन्! तैपनि, किन तिनले यी दुई मानिसहरूलाई बचाउन सके? के तिनलाई तिनीहरू के गर्न आएका थिए भन्ने थाहा थियो? तिनीहरू आउनुको कारणबारे तिनी अनभिज्ञ रहेको भए पनि, तिनलाई तिनीहरू परमेश्‍वरका सेवक हुन् भन्‍ने थाहा थियो, त्यसकारण तिनले तिनीहरूलाई आफ्‍नो घरमा लगे। परमेश्‍वरका यी सेवकहरूलाई तिनले “प्रभु” भन्‍ने पदवीले बोलाउन सके भन्‍ने कुराले लोत सदोमका अरू मानिसहरूजस्ता नभई परमेश्‍वरलाई निरन्तर पछ्याउने व्यक्ति थिए भन्‍ने देखाउँछ। त्यसकारण, जब परमेश्‍वरका सन्देशवाहकहरू तिनीकहाँ आए, तिनले आफ्‍नै ज्यान जोखिममा पारी यी दुई सेवकलाई आफ्‍नो घरमा लगे; यस अलाबा, यी दुई सेवकलाई सुरक्षित राख्नको लागि उनले आफ्‍नी दुई छोरी दिने प्रस्ताव पनि गरे। यो लोतको धर्मी कार्य थियो; यो लोतको प्रकृति र सारको ठोस अभिव्यक्ति थियो, र परमेश्‍वरले लोतलाई बचाउन आफ्‍ना सेवकहरू पठाउनुको कारण पनि यही थियो। खतराको सामना गर्दा, लोतले अन्य केही कुराको परवाह नगरिकन यी दुई सेवकको सुरक्षा गरे; यी सेवकहरूको सुरक्षाको सट्टामा उनले आफ्‍ना दुई छोरी दिने प्रयास पनि गरे। लोतबाहेक, के यो सहरमा यस्तै कार्य गर्ने अरू कुनै व्यक्ति थियो? तथ्यहरूले प्रमाणित गर्छ—अहँ, त्यहाँ अरू कोही थिएन! त्यसकारण, लोतबाहेक, सदोमभित्रका हरेक व्यक्ति नै विनाशको निसाना थियो भन्‍नेमा कुनै द्विविधा छैन, र त्यो सही नै थियो—तिनीहरू त्यसैको योग्य थिए।

परमेश्‍वरको क्रोध भड्काएकोले सदोम पूर्णतया भस्‍म हुन्छ

जब सदोमका मानिसहरूले यी दुई सेवकलाई देखे, तिनीहरूले तिनीहरू आउनुको कारण सोधेनन्, न त कसैले तिनीहरू परमेश्‍वरको इच्‍छाको बारेमा प्रचार गर्न आएका हुन् कि भनेर नै सोधे। यसको विपरीत, तिनीहरूले भीड जम्‍मा गरे अनि, स्पष्टीकरणको प्रतीक्षा नगरीकन, यी दुई सेवकलाई पक्रन जङ्गली कुकुर वा घातक ब्‍वाँसाहरूजस्तो गरी आए। के यी घटनाहरू घट्दा परमेश्‍वरले हेर्नुभयो? यस प्रकारको मानव व्यवहार, यस प्रकारको घटनाप्रति परमेश्‍वरले आफ्‍नो हृदयमा के सोचिरहनुभएको थियो? परमेश्‍वरले यस सहरलाई नष्ट गर्ने निर्णय गर्नुभयो; उहाँ हिचकिचाउने वा प्रतीक्षा गर्नेवाला हुनुहुन्नथ्यो, न त उहाँ थप कुनै धैर्यता नै देखाउनेवाला हुनुहुन्थ्यो। उहाँको दिन आइसकेको थियो, त्यसकारण उहाँ आफूले गर्न चाहेको काम गर्न तयार हुनुभयो। तसर्थ, उत्‍पत्ति १९:२४-२५ ले भन्छ, “त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।” यी दुई पदले यो सहरलाई परमेश्‍वरले के-कसरी नष्ट गर्नुभयो साथै परमेश्‍वरले के-कस्ता कुराहरू नष्ट गर्नुभयो भन्‍नेबारेमा बताउँछन्। सबभन्दा पहिले, परमेश्‍वरले यो सहरलाई आगोले जलाउनुभयो, र यो आगोको मात्रा सारा मानिसहरूलाई नष्ट गर्न र जमिनबाट उम्रने सबै कुरा नष्ट गर्नको निम्ति पर्याप्त थियो भनी बाइबलले वर्णन गरेको छ। भन्‍नुको अर्थ, स्वर्गबाट झरेको उक्त आगोले सहरलाई मात्र होइन, यसभित्र बसोबास गरिरहेका मानिसहरू र सबै जीवित प्राणीहरूलाई पनि कुनै नाम-निशान नै नरहने गरी नष्ट गर्‍यो। यो सहर नष्ट गरिएपछि, उक्त भूमि जीवित प्राणी रहित भयो; त्यहाँ कुनै जीवन बाँकी थिएन, न त जीवनको कुनै लक्षण नै बाँकी थियो। यो सहर एक उजाड स्थान, घातक मौनताले भरिएको एक रित्तो स्थान बनेको थियो। यस ठाउँमा अबउप्रान्त परमेश्‍वरको विरुद्ध कुनै दुष्ट कार्यहरू हुनेवाला थिएनन्, कुनै हत्या वा रगत बगाउने कार्य हुनेवाला थिएनन्।

परमेश्‍वरले किन यो सहरलाई यति सम्पूर्ण तवरले जलाउन चाहनुभयो त? तिमीहरू यहाँ के देख्‍न सक्छौ? के परमेश्‍वरले मानवजाति र प्रकृति, अर्थात् उहाँको आफ्‍नै सृष्टि यसरी नष्ट भएको हेर्न सक्‍नुभयो त? स्वर्गबाट झारिएको आगोबाट तैँले यहोवा परमेश्‍वरको रिस पत्ता लगाउन सक्छस् भने, उहाँले गर्नुभएको विनाशका निसानाहरू र सहरलाई जुन हदसम्‍म नष्ट गरिएको थियो त्यस हदको आधारमा मूल्याङ्कन गर्दा, उहाँको क्रोध कति ठूलो थियो भनी देख्‍नु त्यति कठिन हुँदैन। जब परमेश्‍वरले कुनै सहरलाई घृणा गर्नुहुन्छ, उहाँले यसमाथि आफ्‍नो दण्डको वर्षा गराउनुहुन्छ। जब परमेश्‍वरलाई कुनै सहरदेखि घिन लागेर आउँछ, उहाँले मानिसहरूलाई उहाँको रिसको बारेमा जानकारी दिन बारम्‍बार चेतावनी दिनुहुन्छ। तैपनि, जब परमेश्‍वरले कुनै सहरलाई समाप्त गर्ने र नष्ट गर्ने निर्णय गर्नुहुन्छ—अर्थात्, जब उहाँको क्रोध र प्रतापलाई क्रुद्ध पारिएको हुन्छ—उहाँले थप कुनै दण्ड वा चेतावनी दिनुहुन्‍न। बरु, उहाँले यसलाई सीधै नष्ट गर्नुहुनेछ। उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुनेछ। यो परमेश्‍वरको धर्मी स्वभाव हो।

परमेश्‍वरप्रति सदोमको निरन्तर शत्रुता र विरोधपछि, उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुन्छ

अहिले हामीले परमेश्‍वरको धर्मी स्वभावको बारेमा आम बुझाइ प्राप्त गरिसकेको हुनाले, हामी हाम्रो ध्यान सदोम सहरतर्फ फर्काउन सक्छौँ—एउटा यस्तो स्थानतर्फ जसलाई परमेश्‍वरले पापको सहरको रूपमा देख्‍नुभयो। यो सहरको सारलाई बुझेर, हामी परमेश्‍वरले किन यसलाई नष्ट गर्न चाहनुभयो र उहाँले यसलाई किन यति पूर्ण रूपमा नष्ट गर्नुभयो भन्‍ने कुरा बुझ्‍न सक्छौँ। यसबाट, हामीले परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्‍न सक्छौँ।

मानव दृष्टिकोणबाट हेर्दा, सदोम मानिसको इच्‍छा र मानिसको दुष्टतालाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्‍ने सहर थियो। हरेक रात सङ्गीत र नृत्यद्वारा मनोहर र मोहित गराउने यसको सम्‍पन्‍नताले मानिसहरूलाई मोह र पागलपनमा पार्थ्यो। यसको दुष्टताले मानिसहरूको हृदयलाई बिगार्दै जान्थ्यो र तिनीहरूलाई मोहित पारी भ्रष्टतामा लैजान्थ्यो। यो अशुद्ध र दुष्ट आत्‍माहरूले व्याप्त सहर थियो; यो सहर पाप र हत्याले भरिएको थियो र हावा रक्ताम्मे, सडिएर दुर्गन्धित भएको थियो। यो यस्तो सहर थियो जसले मानिसहरूको आङ सिरिङ्ङ पार्थ्यो, यस्तो सहर जहाँ व्यक्ति सन्त्रासले खुम्चन्थ्यो। यो सहरका कसैले पनि—चाहे पुरुष हुन् वा स्त्री, जवान हुन् वा वृद्ध—साँचो मार्गको खोजी गर्दैनथिए; कसैले पनि ज्योतिको चाहना गर्दैनथिए वा पापबाट टाढा जाने इच्‍छा गर्दैनथिए। तिनीहरू शैतानको नियन्त्रण, शैतानको भ्रष्टता र छलको दबाबमा जिउँथे। तिनीहरूले आफ्‍नो मानवता गुमाएका थिए, तिनीहरूले आफ्‍नो समझ गुमाएका थिए, र तिनीहरूले मानिसको अस्तित्वको मूल लक्ष्यलाई गुमाएका थिए। तिनीहरूले परमेश्‍वरको विरोध गर्दै अनगिन्ती दुष्कर्महरू गरेका थिए; तिनीहरूले उहाँको अगुवाइलाई इन्कार गर्थे र उहाँको इच्‍छाको विरोध गर्थे। तिनीहरूका दुष्कर्महरूले नै यी मानिसहरूलाई, यो सहर र यसभित्रका हरेक जीवित प्राणीलाई एक-एक कदम गरी विनाशको मार्गमा लगिरहेको थियो।

यी दुई खण्डले परमेश्‍वरका दुई जना सेवक सहरमा आइपुगेपछि यिनीहरूप्रति सदोमका मानिसहरूको व्यवहारको विवरण दिएको तर ती मानिसहरूको भ्रष्टताको हदको बारेमा सारा विवरणहरू अभिलेख नगरेको भए तापनि, सदोमका मानिसहरू कति हदसम्‍म भ्रष्ट, दुष्ट र परमेश्‍वरका विरोधी थिए भनी प्रकट गर्ने एउटा सरल तथ्य छ। यसले यो सहरका मानिसहरूको साँचो रूप र सारलाई पनि खुलासा गर्छ। यी मानिसहरूले परमेश्‍वरका चेतावनीहरूलाई स्वीकार गर्न नमानेका मात्र होइन, तिनीहरूले त उहाँको दण्डको डर पनि मानेनन्। यसको विपरीत, तिनीहरूले परमेश्‍वरको रिसको गिल्‍ला गरे। तिनीहरूले अन्धाधुन्ध परमेश्‍वरको विरोध गरे। उहाँले जे गर्नुभए पनि वा जसरी गर्नुभए पनि, तिनीहरूको भ्रष्ट प्रकृति झन्-झन् तीव्र मात्रै हुँदै गयो, र तिनीहरूले बारम्‍बार परमेश्‍वरको विरोध गरे। सदोमका मानिसहरू परमेश्‍वरको अस्तित्व, उहाँको आगमन, उहाँको दण्ड, र त्योभन्दा पनि बढी उहाँका चेतावनीहरूप्रति शत्रुवत् थिए। तिनीहरू अत्यन्तै अहङ्कारी थिए। तिनीहरूले निल्‍न सकिने र हानि गर्न सकिने सबै मानिसहरूलाई निल्थे र हानि गर्थे, र तिनीहरूले परमेश्‍वरका सेवकहरूलाई पनि त्यस्तै व्यवहार गर्थे। सदोमका मानिसहरूले गरेका सारा दुष्कर्महरूको विषयमा कुरा गर्दा, परमेश्‍वरका सेवकहरूलाई हानि गर्ने कार्य त एउटा सानो झलक मात्रै थियो, र त्यसरी प्रकट भएको तिनीहरूको दुष्ट प्रकृति विशाल समुद्रको सानो थोपाजस्तो मात्रै थियो। त्यसकारण, परमेश्‍वरले तिनीहरूलाई आगोद्वारा नष्ट गर्ने निर्णय गर्नुभयो। परमेश्‍वरले बाढीको प्रयोग गर्नुभएन, न त उहाँले यस सहरलाई नष्ट गर्न आँधीबेहरी, भूकम्प, सुनामी, वा अरू कुनै तरिकाको नै प्रयोग गर्नुभयो। यस सहरलाई नष्ट गर्नको लागि परमेश्‍वरले आगोको प्रयोग गर्नुभएको तथ्यले के सङ्केत गर्‍यो? यसको अर्थ सहरको पूर्ण विनाश भयो भन्ने हो; यसको अर्थ सहर पृथ्वीबाट र अस्तित्वबाट पूर्ण रूपमा विलय भयो भन्‍ने हो। यहाँ, “विनाश” ले सहरको स्वरूप र संरचना वा बाहिरी स्वरूप विलय हुनुलाई मात्रै जनाउँदैन; यसको अर्थ पूर्ण रूपमा नष्ट गरिइसकेपछि, सहरभित्रका मानिसहरूको आत्मा पनि अस्तित्वमा रहेन भन्ने हुन्छ। सरल रूपमा भन्दा, त्यस सहरसँग सम्‍बन्धित सबै मानिसहरू, घटना र थोकहरू सबै नष्ट भए। त्यस सहरका मानिसहरूको निम्ति अर्को कुनै जीवन वा पुनर्जन्‍म हुनेवाला थिएन; परमेश्‍वरले तिनीहरूलाई उहाँको सृष्टिको मानवताबाट सारा अनन्तसम्‍मको लागि विलय गर्नुभएको थियो। आगोको प्रयोगले यस स्थानमा पापको अन्त्य भयो, र त्यहाँ पाप नियन्त्रित भयो भन्‍ने अर्थ दिन्छ; यो पाप अस्तित्वमा नरहने र नफैलनेवाला थियो। यसको अर्थ, शैतानको दुष्टताले यसको भरणपोषणको भूमि साथै बस्‍न र जिउन स्थान दिने समाधि स्थल गुमाएको थियो। परमेश्‍वर र शैतानको युद्धमा, परमेश्‍वरले आगोको प्रयोग गर्नु उहाँको विजयको छाप हो, ‍जसद्वारा शैतानलाई चिन्हांकित गरिन्छ। सदोमको विनाश मानिसलाई भ्रष्ट तुल्याउँदै र निल्दै परमेश्‍वरको विरोध गर्ने शैतानको महत्वाकांक्षाको एउटा ठूलो भूल हो, त्यसैगरी यो मानवजातिको विकास क्रममा मानिसले परमेश्‍वरको अगुवाइ इन्कार गरेको र आफैलाई पापकर्ममा डुबाएको त्यो समयको लाजको प्रतीक पनि हो। यसको साथै, यो परमेश्‍वरको धर्मी स्वभावको साँचो प्रकाशको विवरण हो।

जब परमेश्‍वरले स्वर्गबाट पठाउनुभएको आगोले सदोमलाई खरानीमा बदल्यो, तब यसको अर्थ “सदोम” नामको सहर, साथै सहरभित्रको सबै कुरा अस्तित्वबाट हट्यो भन्‍ने हुन्छ। यसलाई परमेश्‍वरको रिसले नष्ट गर्‍यो, यो परमेश्‍वरको क्रोध र प्रतापभित्र विलय भयो। परमेश्‍वरको धर्मी स्वभावको कारण, सदोमले यसको धर्मी दण्ड र यसको उचित अन्त्य प्राप्त गर्‍यो। सदोमको अस्तित्वको अन्त्य हुनुको कारण यसको दुष्टता थियो, र यस सहर वा यसमा बसोबास गरेका मानिसहरूमध्ये कसैलाई पनि वा यस सहरभित्र हुर्केको कुनै पनि प्राणीलाई फेरि कहिल्यै नहेर्ने परमेश्‍वरको इच्‍छाको कारणले पनि यसो भएको थियो। “यस सहरलाई फेरि कहिल्यै नहेर्ने” परमेश्‍वरको इच्‍छा उहाँको क्रोध, साथै उहाँको प्रताप पनि हो। परमेश्‍वरले यस सहरलाई जलाउनुभयो किनभने यसको दुष्टता र पापले उहाँमा यसप्रति रिस, घृणा र तिरस्कारको अनुभूति गरायो र यसलाई वा यसभित्रका कुनै पनि मानिसहरू वा जीवित प्राणीहरूलाई फेरि कहिल्यै नहेर्ने इच्‍छा जगायो। यो सहर डढेर खरानी मात्र बाँकी रहेपछि, यो परमेश्‍वरको नजरमा साँच्‍चै नै अस्तित्व विहीन बन्यो; यसको बारेमा रहेको उहाँको याद पनि गयो, हट्यो। यसको अर्थ के हो भने, स्वर्गबाट पठाइएको आगोले सारा सदोमलाई मात्रै नष्ट गरेन, न त यसले पापले भरिएका सहरका मानिसहरूलाई मात्रै नष्ट गर्‍यो, न त सहरभित्रका पापले कलङ्कित सबै कुराहरूलाई मात्रै नष्ट गर्‍यो; यी कुराहरूबाहेक, आगोले मानवजातिको दुष्टता र परमेश्‍वरको विरुद्धमा रहेको विरोधको यादलाई पनि नष्ट गर्‍यो। यो सहरलाई जलाउनु पछाडि परमेश्‍वरको उद्देश्य यही थियो।

यो मानवजाति अत्यन्तै भ्रष्ट बनेको थियो। यी मानिसहरूलाई परमेश्‍वर को हुनुहुन्छ वा तिनीहरू स्वयम्‌ कहाँबाट आएका थिए भन्‍ने थाहा थिएन। यदि तैँले तिनीहरूलाई परमेश्‍वरको बारेमा उल्‍लेख गर्थिस् भने, तिनीहरूले आक्रमण, मानहानि, र ईश्‍वर-निन्दा गर्नेथिए। परमेश्‍वरका सेवकहरू उहाँको चेतावनी फैलाउन आउनुहुँदा समेत, यी भ्रष्ट मानिसहरूले कुनै पश्‍चात्तापको सङ्केत नदेखाएको र तिनीहरूको दुष्ट व्यवहारलाई नत्यागेको मात्र होइन, बरु यसको विपरीत, तिनीहरूले त निर्धक्‍क भई परमेश्‍वरका सेवकहरूलाई हानि गरे। तिनीहरूले जे व्यक्त गरे र प्रकट गरे त्यो परमेश्‍वरप्रतिको तिनीहरूको चरम शत्रुवत् प्रकृति र सार थियो। हामी देख्न सक्छौँ कि परमेश्‍वरको विरुद्धमा यी भ्रष्ट मानिसहरूको विरोध जसरी सत्यताको बुझाइको कमीबाट आउने निन्दा वा गिल्‍ला मात्रै थिएन, त्यसरी नै यो तिनीहरूको भ्रष्ट स्वभावको प्रकाश मात्रै पनि थिएन। तिनीहरूको दुष्ट व्यवहारको कारण न त मूर्खता थियो न त अज्ञानता नै; तिनीहरू धोकामा परेकाले तिनीहरूले यस्तो कार्य गरेका थिएनन्, र अवश्य पनि तिनीहरूलाई बहकाइएकाले तिनीहरूले यसो गरेका थिएनन्। तिनीहरूको व्यवहार कुख्यात रूपमा परमेश्‍वरको विरुद्धमा गरिने निडर शत्रुताको कार्य, विरोध, र झगडाको स्तरमा पुगेको थियो। यसमा कुनै शङ्का छैन, यस प्रकारको मानव आचरणले परमेश्‍वरलाई क्रोधित तुल्याउनेवाला नै थियो, र यसले उहाँको स्वभावलाई क्रोधित तुल्याउनेछ—क्रोधित तुल्याउनै नहुने स्वभावलाई। त्यसकारण, परमेश्‍वरले प्रत्यक्ष र खुलेआम रूपमा उहाँको क्रोध र उहाँको प्रताप व्यक्त गर्नुभयो; यो उहाँको धर्मी स्वभावको साँचो प्रकाश थियो। पापले भरिपूर्ण यस्तो सहरको सामना गर्दा, परमेश्‍वरले यसलाई जतिसक्दो चाँडो नष्ट गर्ने, यसभित्रका मानिसहरू र तिनीहरूको सम्पूर्ण पापलाई सबैभन्दा पूर्ण तवरले नष्ट गर्ने, यस सहरका मानिसहरूलाई अस्तित्व विहीन तुल्याउने र यस ठाउँको पापलाई वृद्धि हुनबाट रोक्‍ने इच्‍छा गर्नुभयो। यस कार्यलाई सबैभन्दा छिटो र सबैभन्दा पूर्ण तवरले गर्ने तरिका भनेको यसलाई आगोले जलाउनु थियो। सदोमका मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति परित्याग वा अवहेलना थिएन। बरु, उहाँले त यी मानिसहरूलाई दण्ड दिन, प्रहार गर्न, र पूर्ण रूपमा नष्ट गर्न आफ्‍नो क्रोध, प्रताप र अख्‍तियारको प्रयोग गर्नुभयो। तिनीहरूप्रतिको उहाँको मनोवृत्ति भौतिक विनाश गर्नु मात्रै थिएन बरु आत्माको विनाश, अनन्त विनाश गर्नु पनि थियो। परमेश्‍वरले “अस्तित्वबाट मेटिनु” भन्‍ने शब्‍दहरूद्वारा जे भन्‍न चाहनुहुन्छ त्यसको साँचो अर्थ यही हो।

परमेश्‍वरको क्रोध लुकेको अनि मानिसको लागि अज्ञात भए पनि यसले कुनै उल्‍लङ्घन सहँदैन

मानवजाति जति नै मूर्ख र अज्ञानी भए पनि, परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई गर्नुहुने व्यवहार मुख्यतया कृपा र सहनशीलतामा आधारित छ। अर्कोतर्फ, धेरैजसो समय र धेरैजसो घटनाहरूमा उहाँको क्रोध लुकाइएको हुन्छ, यो मानिसको लागि अज्ञात हुन्छ। परिणामस्वरूप, परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको मानिसले देख्न कठिन हुन्छ, र उहाँको क्रोधलाई बुझ्‍न पनि कठिन नै हुन्छ। त्यसो भएको हुँदा, मानिसले परमेश्‍वरको क्रोधलाई हल्‍कासित लिन्छ। जब मानिसले परमेश्‍वरको अन्तिम कार्य र मानिसको लागि उहाँको सहनशीलता र पापक्षमाको सामना गर्छ—अर्थात्, जब परमेश्‍वरको अन्तिम पटकको कृपा र उहाँको अन्तिम चेतावनी मानवजातिमा आइपर्छ—यदि मानिसहरूले अझै पनि परमेश्‍वरको विरोध गर्नको लागि उही विधिहरूको प्रयोग गर्छन् भने र पश्‍चात्ताप गर्न, तिनीहरूका मार्गहरूलाई सुधार्न र उहाँको कृपालाई स्वीकार गर्न कुनै पनि प्रयास गर्दैनन् भने, परमेश्‍वरले तिनीहरूलाई अबउप्रान्त उहाँको सहनशीलता र धैर्यता प्रदान गर्नुहुनेछैन। यसको विपरीत, यस पटक परमेश्‍वरले आफ्‍नो कृपा फिर्ता लिनुहुनेछ। यसपछि, उहाँले आफ्‍नो क्रोध मात्रै बर्साउनुहुनेछ। जसरी उहाँले मानिसहरूलाई दण्ड दिन र नष्ट गर्नको लागि फरक-फरक विधिहरूको प्रयोग गर्नुहुन्छ त्यसरी नै उहाँले फरक-फरक तरिकाले आफ्‍नो क्रोध प्रकट गर्न सक्‍नुहुन्छ।

सदोम सहरलाई नष्ट गर्नको लागि परमेश्‍वरले गर्नुभएको आगोको प्रयोग मानवजाति वा अरू कुनै पनि कुरालाई पूर्ण रूपमा नष्ट गर्ने उहाँको सबैभन्दा शीघ्र तरिका हो। सदोमका मानिसहरूलाई जलाउँदा यसले तिनीहरूका भौतिक शरीरलाई मात्र नष्ट गरेन; यसले तिनीहरूका आत्मा, तिनीहरूका प्राण र तिनीहरूका शरीरको सम्पूर्णता नष्ट गर्‍यो र त्यस सहरका मानिसहरूलाई भौतिक संसार र मानिसको निम्ति अदृश्य रहेको संसार दुवैमा अस्तित्व विहीन हुने कुरा सुनिश्‍चित गर्‍यो। परमेश्‍वरले आफ्‍नो क्रोधलाई प्रकाश पार्ने र व्यक्त गर्ने एउटा तरिका यही हो। जसरी यो प्राकृतिक रूपमा परमेश्‍वरको धर्मी स्वभावको सारको प्रकाश हो त्यसरी नै प्रकाश र अभिव्यक्तिको यो शैली परमेश्‍वरको क्रोधको सारको एउटा पक्ष हो। जब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ, उहाँले न त कुनै कृपा वा प्रेमिलो दयालुपन नै प्रकट गर्नुहुन्छ, न त त्यसपछि उहाँले उहाँको सहनशीलता वा धैर्यतालाई नै देखाउनुहुन्छ; उहाँलाई निरन्तर धैर्य रहिरहन, फेरि उहाँको कृपा प्रदान गर्न, फेरि एक पटक उहाँको सहनशीलता प्रदान गर्नको लागि उहाँलाई मनाउन सक्‍ने कुनै व्यक्ति, वस्तु वा कारण नै छैन। यी कुराहरूको स्थानमा, क्षणिक हिचकिचाहटविना नै परमेश्‍वरले आफ्‍नो इच्‍छाअनुसार आफ्‍नो क्रोध र प्रताप प्रकट गर्नुहुन्छ। उहाँले आफ्‍नै चाहनाहरू अनुसार यी कुराहरू शीघ्र र शुद्ध रूपमा गर्नुहुन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध र प्रताप निकाल्ने तरिका यही हो, जसलाई मानिसले चिढ्याउनु हुँदैन, र यो उहाँको धर्मी स्वभावको एउटा पक्षको अभिव्यक्ति पनि हो। जब परमेश्‍वरले मानिसप्रति चिन्ता र प्रेम देखाइरहेको मानिसहरूले देख्छन्, तिनीहरूले उहाँको क्रोधलाई पत्ता लगाउन, उहाँको प्रतापलाई देख्‍न वा उल्‍लङ्घनप्रति उहाँको असहनशीलतालाई महसुस गर्न सक्दैनन्। यी कुराहरूले मानिसहरूलाई सधैँ परमेश्‍वरको धर्मी स्वभाव भनेको कृपा, सहनशीलता र प्रेम मात्रै हो भनेर विश्‍वास गर्ने तुल्याउँछ। तैपनि, जब कसैले परमेश्‍वरले कुनै सहरलाई नष्ट गर्नुभएको वा मानवजातिलाई तिरस्कार गर्नुभएको देख्छ, तब मानिसको विनाशमा उहाँको प्रचुर रिस अनि उहाँको प्रतापले मानिसहरूलाई उहाँको धर्मी स्वभावको अर्को पक्षको झलक देखाउँछ। उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता यही हो। कुनै पनि उल्‍लङ्घन नसहने परमेश्‍वरको स्वभावले सृष्टि गरिएको कुनै पनि प्राणीको कल्‍पनालाई नाघ्छ, अनि सृष्टि नगरिएका प्राणीहरूमाझ, यसलाई हस्तक्षेप गर्न वा यसलाई प्रभाव पार्न सक्‍ने कोही छैन; यसको नक्कल गर्न वा अनुकरण गर्न सक्‍ने कुरा त परै जाओस्। तसर्थ, परमेश्‍वरको स्वभावको यो पक्ष नै मानवजातिले सबैभन्दा बढी जान्‍नुपर्ने कुरा हो। परमेश्‍वर स्वयम्‌मा मात्रै यस प्रकारको स्वभाव छ, र परमेश्‍वर स्वयम्‌ले मात्रै यस प्रकारको स्वभाव धारण गर्नुभएको छ। उहाँले दुष्ट्याइँ, अन्धकार, विद्रोहीपन र शैतानको दुष्ट कार्यहरूलाई, अर्थात् मानवजातिलाई भ्रष्ट बनाउने र भस्‍म गर्ने कार्यहरूलाई तिरस्कार गर्नुहुने भएकोले, उहाँको विरुद्धमा रहेका सबै पापकर्महरूलाई उहाँले तिरस्कार गर्नुहुने भएकोले अनि उहाँको पवित्र र निष्कलङ्क सारको कारण परमेश्‍वरमा यस प्रकारको धर्मी स्वभाव हुन्छ। यही कारणले गर्दा उहाँले सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीले खुलेआम उहाँको विरोध गरेको वा उहाँसँग होडबाजी गरेको पीडा सहनुहुनेछैन। उहाँले कुनै बेला कृपा देखाउनुभएको वा उहाँले चुन्‍नुभएको व्यक्तिले समेत उहाँको स्वभावलाई एक पटक चिढ्याउनु र उहाँका धैर्यता र सहनशीलताका सिद्धान्तहरूलाई भङ्ग मात्रै गर्नुपर्छ, अनि अलिकति कृपा वा हिचकिचाहटविना नै उहाँले कुनै पनि उल्‍लङ्घन सहन नगर्ने आफ्‍नो धर्मी स्वभावलाई खुला छाडी प्रकट गर्नुहुनेछ।

परमेश्‍वरको क्रोध न्यायका सबै शक्ति र सबै सकारात्मक कुराहरूको निम्ति सुरक्षा हो

परमेश्‍वरका बोली-वचन, विचार र कार्यहरूका यी उदाहरणहरूलाई बुझेर, के तैँले परमेश्‍वरको धर्मी स्वभाव, अर्थात् मानिसको अपमान नसहने स्वभावलाई बुझ्‍न सक्छस्? छोटकरीमा भन्दा, तैँले यसलाई जति धेरै बुझ्‍न सके पनि, यो परमेश्‍वर स्वयम्‌को स्वभावको एउटा पक्ष हो, र यो उहाँमा मात्र पाइने अद्वितीय कुरा हो। उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता नै उहाँको अद्वितीय सार हो; परमेश्‍वरको क्रोध उहाँको अद्वितीय स्वभाव हो; परमेश्‍वरको प्रताप उहाँको अद्वितीय सार हो। परमेश्‍वरको रिसपछाडिको सिद्धान्त भनेको उहाँको पहिचान र हैसियतको प्रदर्शन हो, जुन उहाँमा मात्रै छ। यो सिद्धान्त अद्वितीय परमेश्‍वर स्वयम्‌को सारको प्रतीक पनि हो भनेर भनिरहनु पर्दैन। परमेश्‍वरको स्वभाव उहाँको आफ्‍नै अन्तर्निहित सार हो, जुन समयको बहावद्वारा परिवर्तन हुँदै-हुँदैन, न त भौगोलिक अवस्थितिद्वारा नै बदलिन्छ। उहाँको अन्तर्निहित स्वभाव नै उहाँको अन्तर्निहित सार हो। उहाँले जसमाथि आफ्‍नो काम गर्नुभए तापनि, उहाँको सार परिवर्तन हुँदैन, न त उहाँको धर्मी स्वभाव नै परिवर्तन हुन्छ। जब कसैले परमेश्‍वरलाई रिस उठाउँछ, तब परमेश्‍वरले जे प्रकट गर्नुहुन्छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो; त्यस बेला उहाँको रिसको पछाडिको सिद्धान्त परिवर्तन हुँदैन, न त उहाँको अद्वितीय पहिचान र हैसियत नै परिवर्तन हुन्छ। उहाँको सारको परिवर्तनको कारण वा उहाँको स्वभावबाट फरक-फरक तत्वहरू उत्पन्‍न हुने कारणले उहाँ रिसाउनुहुन्‍न, बरु उहाँ विरुद्ध मानिसले गरेको विरोधले उहाँको स्वभावलाई चिढ्याउने हुनाले उहाँ रिसाउनुहुन्‍छ। मानिसद्वारा परमेश्‍वरलाई हुने खुल्ला उक्साहट परमेश्‍वरको आफ्‍नै पहिचान र हैसियतप्रतिको गम्भीर चुनौती हो। परमेश्‍वरको दृष्टिकोणमा, जब मानिसले उहाँलाई चुनौती दिन्छ, तब मानिसले उहाँसँग होडबाजी गरिरहेको हुन्छ र उहाँको रिसको परीक्षा लिइरहेको हुन्छ। जब मानिसले परमेश्‍वरको विरोध गर्छ, जब मानिसले परमेश्‍वरसँग होडबाजी गर्छ, जब मानिसले निरन्तर रूपमा परमेश्‍वरको रिसको परीक्षा लिन्छ—र पापको बिगबिगी बढ्ने समयमा यस्तो हुन्छ—तब परमेश्‍वरको क्रोध प्राकृतिक रूपमै प्रकट हुनेछ र आफै प्रस्तुत हुनेछ। त्यसकारण, परमेश्‍वरले आफ्‍नो क्रोध प्रकट गर्नु भनेको सारा दुष्ट शक्तिहरू अस्तित्वमा रहन छोड्नेछन् भन्‍ने कुराको प्रतीक हो, र यो सारा शत्रुवत् शक्तिहरूलाई नष्ट गरिनेछ भन्‍ने कुराको पनि प्रतीक हो। यो परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको क्रोधको अद्वितीयपन हो। जब परमेश्‍वरको गरिमा र पवित्रतालाई चुनौती दिइन्छ, जब न्यायका शक्तिहरूमा मानिसले बाधा पुर्‍याउँछ र उसले तिनलाई देख्दैन, तब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुनेछ। परमेश्‍वरको सारको कारणले गर्दा, परमेश्‍वरसँग लड्ने, र उहाँसँग संघर्ष गर्ने र होडबाजी गर्ने पृथ्वीका ती सबै शक्तिहरू दुष्ट, भ्रष्ट र अन्यायी हुन्; तिनीहरू शैतानबाट आउँछन् र शैतानकै स्वामित्वमा हुन्छन्। परमेश्‍वर न्यायी हुनुहुन्छ र ज्योतिमय एवं कुनै त्रुटि नभएको पवित्र हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको क्रोध वर्षिएपछि दुष्ट, भ्रष्ट र शैतानको स्वामित्वमा रहेका सबै कुराहरू लोप हुनेछन्।

परमेश्‍वरको क्रोध खन्याउने कार्य उहाँको धर्मी स्वभावको अभिव्यक्तिको एउटा पक्ष भए तापनि, परमेश्‍वरको रिसले कुनै पनि हालतमा अन्धाधुन्ध यसको निशाना तोक्दैन, न त यो सिद्धान्त विहीन नै छ। यसको विपरीत, परमेश्‍वर रिस गर्नमा छिटो हुनुहुन्‍न, न त उहाँले आफ्‍नो क्रोध र प्रताप हल्का रूपमा नै प्रकाश गर्नुहुन्छ। अझ भन्ने हो भने, परमेश्‍वरको क्रोध नियन्त्रित र संयमित हुन्छ; यसलाई प्रचुर रिसमा जल्‍ने वा आफ्‍नो रिसको आवेगमा पर्ने मानिसको बानीसँग तुलना गर्न सकिँदैन। मानिस र परमेश्‍वरको बीचमा भएका धेरै कुराकानीलाई बाइबलमा लेखिएका छन्। कुराकानीहरूमा संलग्‍न कतिपय व्यक्तिगत मानिसहरूका शब्‍दहरू सतही, अज्ञानी र अपरिपक्‍व थिए, तर परमेश्‍वरले तिनीहरूलाई प्रहार गरेर लडाउनुभएन, न त उहाँले तिनीहरूलाई दोषी नै ठहराउनुभयो। विशेष रूपमा, अय्यूबको परीक्षाको बेलामा, अय्यूबका तीन जना साथीहरू र अरूले अय्यूबसँग बोलेका शब्‍दहरू सुनिसक्‍नुभएपछि यहोवा परमेश्‍वरले तिनीहरूलाई कस्तो व्यवहार गर्नुभयो? के उहाँले तिनीहरूलाई दोषी ठहराउनुभयो? के उहाँ तिनीहरूप्रति क्रोधित हुनुभयो? उहाँले त्यस्तो केही पनि गर्नुभएन! बरु उहाँले अय्यूबलाई तिनीहरूका लागि बिन्ती गरिदिन र तिनीहरूका लागि प्रार्थना गरिदिन लगाउनुभयो, अनि परमेश्‍वर स्वयम्‌ले तिनीहरूको गल्तीलाई मनमा राख्‍नुभएन। यी सबै घटनाहरूले भ्रष्ट र अज्ञानी मानवजातिलाई परमेश्‍वरले व्यवहार गर्ने प्राथमिक मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ। त्यसकारण, परमेश्‍वरको क्रोध पोखाइनु भनेको कुनै पनि हालतमा उहाँको मनस्थितिको अभिव्यक्ति होइन, न त यो उहाँले आफ्‍ना भावनाहरू पोख्ने तरिका नै हो। मानिसको गलत बुझाइको विपरीत, परमेश्‍वरको क्रोध रिसको पूर्ण प्रस्फुटन होइन। उहाँले आफ्‍नो मनस्थितिलाई नियन्त्रण गर्न नसक्‍ने हुनाले वा उहाँको रिस चरम विन्दुमा पुगेको र यसलाई पोखाइनै पर्ने भएकोले परमेश्‍वरले आफ्‍नो क्रोध पोखाउनुहुन्‍न। यसको विपरीत, उहाँको क्रोध उहाँको धर्मी स्वभावको प्रदर्शन र सच्‍चा अभिव्यक्ति हो, र यो उहाँको पवित्र सारको रूपक प्रकाश हो। परमेश्‍वर क्रोध हुनुहुन्छ, र उहाँले कुनै पनि उल्‍लङ्घन सहनुहुन्‍न—यसो भन्‍नुको अर्थ, परमेश्‍वरको रिसले कारणहरूका बीचमा भिन्‍नता छुट्याउन सक्दैन वा यो सिद्धान्तहीन छ भन्‍ने होइन; कारणहरूका बीचमा भिन्‍नता नछुट्याउने प्रकारको प्रचुर रिसको असैद्धान्तिक, अनियमित आवेगलाई पूर्ण रूपमा दाबी गर्ने भनेको भ्रष्ट मानवजाति नै हो। मानवजातिसँग हैसियत भइसकेपछि, उसले प्रायजसो आफ्‍नो मनस्थितिलाई नियन्त्रण गर्न कठिन हुनेछ, त्यसकारण आफ्‍नो असन्तुष्टिलाई व्यक्त गर्ने र आफ्‍ना भावनाहरूलाई पोखाउने अवसरहरूको फाइदा लिनमा उसले आनन्द लिन्छ; आफ्‍नो क्षमतालाई प्रकट गर्न र उसको हैसियत र पहिचान सर्वसाधारण मानिसहरूको भन्दा फरक छ भनी अरूलाई देखाउन, उसले कुनै पनि स्पष्ट कारणविना नै प्रायजसो प्रचुर रिस पोखाउनेछ। अवश्य नै, कुनै पनि हैसियत नभएका भ्रष्ट मानिसहरूले पनि प्रायजसो नियन्त्रण गुमाउँछन्। तिनीहरूको निजी चासोहरूमा पर्ने क्षतिद्वारा नै प्रायजसो तिनीहरूको रिस पैदा भएको हुन्छ। तिनीहरूको आफ्‍नै हैसियत र गरिमालाई सुरक्षित गर्नको लागि, तिनीहरूले प्रायजसो आफ्‍ना भावनाहरू पोखाउँछन् र आफ्नो अहङ्कारी स्वभावलाई प्रकट गर्छन्। पापको अस्तित्वको प्रतिरक्षा गर्न र त्यसलाई सदर गर्नको लागि मानिस रिसको आवेगमा आउनेछ र आफ्‍ना भावनाहरू पोखाउनेछ, र यी कार्यहरू मानिसले आफ्‍नो असन्तुष्टि व्यक्त गर्ने तरिकाहरू हुन्; तिनीहरू अशुद्धताहरू, युक्ति र षड्यन्त्रहरू, र मानिसको भ्रष्टता र दुष्टताले भरिएका हुन्छन्, अनि सबै कुराभन्दा बढी, तिनीहरू मानिसका उग्र महत्वाकांक्षा र इच्‍छाहरूले भरिएका हुन्छन्। जब दुष्टतासँग न्यायको टक्‍कर हुन्छ, तब मानिसको रिस न्यायको अस्तित्वको प्रतिरक्षा गर्न वा यसलाई सदर गर्नको लागि निस्किँदैन; यसको विपरीत, जब न्यायका शक्तिहरूलाई चुनौती दिइन्छ, सताइन्छ र आक्रमण गरिन्छ, तब मानिसको मनोवृत्ति भनेको यसलाई बेवास्ता गर्ने, उम्केर जाने वा लुरुक्‍क भएर जाने किसिमको हुन्छ। तैपनि, दुष्टका शक्तिहरूको सामना गर्दा, मानिसले मिलनसार हुने, झुक्ने र सुमसुमाउने मनोवृत्ति देखाउँछ। त्यसकारण, मानिसको अभिव्यक्ति दुष्ट शक्तिहरू उम्कने बाटो, देहीय मानिसको उच्छृंखल र रोक्‍नै नसकिने दुष्ट बानीबेहोराको अभिव्यक्ति हो। तैपनि, जब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ, दुष्ट शक्तिहरू रोकिनेछन्, मानिसलाई हानि गर्ने सारा पाप नियन्त्रित हुनेछन्, परमेश्‍वरको कार्यमा वाधा पुर्‍याउने सबै शत्रुवत् शक्तिहरूलाई स्पष्ट, अलग र श्रापित तुल्याइनेछ, जबकि परमेश्‍वरको विरोध गर्ने शैतानका सबै मतियारहरूलाई दण्ड दिइनेछ र उखालेर फ्याँकिनेछ। तिनीहरूको स्थानमा, परमेश्‍वरको कार्य कुनै पनि बाधाहरूविना अघि बढ्नेछ, समय-तालिकाअनुसार नै परमेश्‍वरको व्यवस्थापन चरणबद्ध रूपमा निरन्तर विकसित हुनेछ, अनि परमेश्‍वरका चुनिएका मानिसहरू शैतानको बाधा र छलबाट मुक्त हुनेछन्, जबकी परमेश्‍वरलाई पछ्याउनेहरूले शान्त र शान्तिपूर्ण अवस्थितिहरूमा परमेश्‍वरको नेतृत्व र भरणपोषण प्राप्त गर्नेछन्। परमेश्‍वरको क्रोध सारा दुष्ट शक्तिहरूलाई वृद्धि र व्याप्त हुनबाट रोक्‍ने सुरक्षा हो, र यो न्यायसंगत र सकारात्मक सारा कुराहरूको अस्तित्व र वृद्धिलाई रक्षा गर्ने, अनि तिनीहरूलाई थिचोमिचो र विनाशबाट अनन्त रूपमा संरक्षण गर्ने सुरक्षा पनि हो।

परमेश्‍वरले सदोम नष्ट गर्नुभएको घटनामा के तिमीहरूले उहाँको क्रोधको सारलाई देख्‍न सक्छौ? के उहाँको क्रोधमा अन्य कुनै कुरा समावेश छ? के परमेश्‍वरको क्रोध शुद्ध छ? मानिसका शब्‍दहरू प्रयोग गरी भन्दा, के परमेश्‍वरको क्रोधमा अन्य तत्वहरूको मिश्रण छ? उहाँको क्रोधको पछाडि कुनै धोका हुन्छ? के कुनै षड्यन्त्र हुन्छ? के कुनै अकथनीय रहस्यहरू हुन्छन्? म तिमीहरूलाई कडाइका साथ र सत्यनिष्ठा पूर्वक बताउन सक्छु: परमेश्‍वरको क्रोधमा त्यस्तो कुनै भाग छैन जसले शङ्का पैदा गर्न सक्छ। उहाँको रिस शुद्ध, अन्य तत्वहरूको मिश्रण नभएको विशुद्ध रिस हो जसमा अरू कुनै अभिप्राय वा उद्देश्य हुँदैन। उहाँको रिसपछाडिका कारणहरू शुद्ध, निष्खोट र आलोचना गर्न नसकिने हुन्छ। यो उहाँको पवित्र सारको प्राकृतिक प्रकाश र प्रकटीकरण हो; यो सारा सृष्टिको कुनै पनि थोकमा नभएको कुरा हो। यो परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको भाग हो, र यो सृष्टिकर्ताको सार र उहाँको सृष्टिको सारबीचमा रहेको स्पष्टै देखिने भिन्‍नता पनि हो।

कुनै व्यक्ति अरूलाई देख्दा रिसाए पनि वा तिनीहरूको पछाडि रिसाए पनि, हरेक व्यक्तिको रिसको फरक अभिप्राय र उद्देश्य हुन्छ। सायद तिनीहरूले आफ्‍नो प्रतिष्ठा निर्माण गरिरहेका हुन्छन्, वा सायद तिनीहरूले तिनीहरूका आफ्‍नै रुचिहरूको प्रतिरक्षा गरिरहेका हुन्छन्, तिनीहरूको इज्‍जत वा मान-सम्‍मान कायम राखिरहेका हुन्छन्। कतिले आफ्‍नो रिसलाई काबुमा राख्‍ने प्रयास गर्छन् भने, अरूचाहिँ बढी हतार गर्छन् र कुनै पनि नियन्त्रण नगरी आफ्नो रिस जता मन लाग्यो त्यतै पोखाउँछन्। छोटकरीमा भन्दा, मानिसको रिस उसको भ्रष्ट स्वभावबाट आउँछ। यसको उद्देश्य जे भए पनि, यो उसको देह र प्रकृतिबाट आएको हुन्छ; न्याय वा अन्यायसँग यसको कुनै सम्‍बन्ध हुँदैन किनभने मानिसको प्रकृति र सारको कुनै पनि कुरा सत्यतासँग मिल्दैन। त्यसकारण, भ्रष्ट मानवजातिको रिस र परमेश्‍वरको क्रोधलाई उही रूपले उल्‍लेख गर्नु हुँदैन। शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसको बानीबेहोरा भ्रष्टतालाई रक्षा गर्ने इच्‍छाबाट सुरु हुन्छ, र यो वास्तवमा नै भ्रष्टतामा आधारित हुन्छ, यसमा कुनै अपवाद छैन; त्यसकारण, सिद्धान्तको हिसाबले मानिसको रिस जति नै उचित देखिए पनि मानिसको रिसलाई परमेश्‍वरको क्रोधसँग उही रूपमा उल्‍लेख गर्न सकिँदैन। जब परमेश्‍वरले आफ्‍नो क्रोध वर्षाउनुहुन्छ, तब दुष्ट शक्तिहरू नियन्त्रित हुन्छन् र दुष्ट कुराहरू नष्ट हुन्छन्, जबकि न्यायसंगत र सकारात्मक कुराहरूले परमेश्‍वरको हेरचाह र सुरक्षा प्राप्त गर्न पुग्छन् र तिनीहरूलाई निरन्तर रहन दिइन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ किनभने अन्यायी, नकारात्मक र दुष्ट कुराहरूले न्यायसंगत र सकारात्मक कुराहरूको सामान्य क्रियाकलाप र विकासलाई रोक्‍ने, बिथोल्ने वा नष्ट गर्ने गर्छन्। परमेश्‍वरको रिसको उद्देश्य भनेको उहाँको आफ्‍नै हैसियत र पहिचानलाई सुरक्षा गर्नु होइन, बरु न्यायसंगत, सकारात्मक, सुन्दर र असल कुराहरूलाई रक्षा गर्नु हो, मानवजातिको सामान्य अस्तित्वको नियम र सुव्यवस्थालाई सुरक्षा गर्नु हो। परमेश्‍वरको क्रोधको मूल कारण यही हो। परमेश्‍वरको क्रोध उहाँको स्वभावको अत्यन्तै उचित, प्राकृतिक र साँचो प्रकाश हो। उहाँको क्रोधमा कुनै गोप्‍य अभिप्रायहरू हुँदैनन्, न त कुनै छल वा षड्यन्त्र नै हुन्छन्, इच्‍छाहरू, धूर्तता, शत्रुभाव, हिंसा, दुष्टता वा भ्रष्ट मानवजातिको अरू कुनै पनि साझा गुणहरू हुने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुभन्दा पहिले, उहाँले हरेक मामलाको सारलाई निकै स्पष्ट र पूर्ण रूपमा बुझिसक्‍नुभएको हुन्छ, र उहाँले पहिले नै यथार्थ, स्पष्ट परिभाषा र निष्कर्षहरू तयार गरिसक्‍नुभएको हुन्छ। यसैले, उहाँले गर्ने सबै कुरामा परमेश्‍वरको उद्देश्य उहाँको मनोवृत्ति जस्तै स्पष्ट हुन्छ। उहाँ बेवकुफ, अन्धो, आवेगशील, वा लापरवाह हुनुहुन्‍न, र उहाँ अवश्य नै सिद्धान्तहीन हुनुहुन्‍न। परमेश्‍वरको क्रोधको व्यावहारिक पक्ष यही हो, र परमेश्‍वरको क्रोधको यही व्यवहारिक पक्षकै कारण मानवजातिले आफ्नो सामान्य अस्तित्व प्राप्त गरेको छ। परमेश्‍वरको क्रोधविना, मानवजाति अस्वाभाविक जीवन परिस्थितिहरूमा ओर्लनेथिए र न्यायसंगत, सुन्दर र असल सबै कुराहरू नष्ट हुनेथिए र अस्तित्वमा हुनेथिएनन्। परमेश्‍वरको क्रोधविना, सृष्टि गरिएका प्राणीहरूका कानूनहरू र नियमहरू तोडिनेथिए वा पूर्ण रूपमा उल्ट्याइने थिए। मानिसको सृष्टि भएदेखि नै, परमेश्‍वरले मानवजातिको सामान्य अस्तित्वलाई रक्षा गर्न र दिगो राख्‍नको लागि निरन्तर रूपमा आफ्‍नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। उहाँको धर्मी स्वभावमा क्रोध र प्रताप हुने भएकोले, सारा दुष्ट मानिसहरू, वस्तु र चीजबीजहरू, अनि मानवजातिको सामान्य अस्तित्वलाई बाधा र हानी गर्ने सबै कुराहरूलाई उहाँको क्रोधको परिणामस्वरूप दण्डित, नियन्त्रित र नष्ट गरिन्छ। विगतका कैयौँ सहस्राब्दीको अवधिमा, परमेश्‍वरको विरोध गर्ने र मानवजातिको व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यमा शैतानका मतियार अनि नोकरहरूका रूपमा काम गर्ने सबै प्रकारका अशुद्ध र दुष्ट आत्‍माहरूलाई प्रहार गरी ढाल्‍न र नष्ट गर्नको लागि परमेश्‍वरले निरन्तर रूपमा आफ्‍नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। यसरी, मानिसको मुक्ति सम्‍बन्धी परमेश्‍वरको कार्य सधैँ नै उहाँकै योजना अनुसार अघि बढेको छ। भन्‍नुको अर्थ, परमेश्‍वरको क्रोधको अस्तित्वको कारणले गर्दा, मानिसका सबैभन्दा धर्मी अभियानहरू कहिल्यै नष्ट भएका छैनन्।

अब परमेश्‍वरको क्रोधको सारको बारेमा तिमीहरूले बुझिसकेको हुनाले, तिमीहरूसँग शैतानको दुष्टतालाई कसरी छुट्याउने सो बारेमा निश्‍चय नै अझै राम्रो बुझाइ हुनुपर्छ!

शैतान मानवीय, न्यायसंगत र चरित्रवान् देखिए पनि, शैतानको सार निर्दयी र दुष्ट छ

शैतानले मानिसहरूलाई छल गरेर आफ्‍नो प्रतिष्ठा निर्माण गर्छ, र यसले बारम्बार आफैलाई धार्मिकताको अग्रगामी र आदर्शको रूपमा स्थापित गर्छ। धार्मिकताको रक्षा गर्ने झूटो बहाना गर्दै, यसले मानिसहरूलाई हानि गर्छ, तिनीहरूको प्राण निल्छ, अनि मानिसलाई अचेत बनाउन, धोका दिन र उक्साउन हरेक किसिमका माध्यमहरूको प्रयोग गर्छ। यसको उद्देश्य भनेको मानिसलाई यसका दुष्ट चाल स्वीकार गर्न र त्यसमा साथ दिन लगाउनु, परमेश्‍वरको अख्तियार र सार्वभौमिकताको विरोध गर्ने कार्यमा आफूसँगै मानिसलाई संलग्‍न गराउनु हो। तैपनि, जब कसैले यसका युक्तिहरू र षड्यन्त्रहरूलाई देख्छ र यसका खराब विशेषताहरूलाई देख्छ, अनि जब कसैले यसद्वारा निरन्तर कुल्चिइन र यसद्वारा मूर्ख तुल्याइन वा यसको वशमा निरन्तर पर्न, वा यसैसँग दण्डित र नष्ट हुन चाहँदैन, तब त्यसको वास्तविक अनुहार प्रकट गर्नको लागि, अर्थात् दुष्ट, आक्रामक, कुरूप र जङ्गली अनुहार प्रकट गर्नको लागि पहिले सन्तका जस्तै लाग्ने त्यसका विशेषताहरू परिवर्तन गर्छ र त्यसको झूटो मकुन्डोलाई च्यात्छ। त्यसलाई पछ्याउन इन्कार गर्ने र त्यसका दुष्ट शक्तिहरूको विरोध गर्नेहरू सबैलाई नाश गर्ने बाहेक यसले अरू केही चाहँदैन। यस विन्दुमा, शैतानले त्यसपछि फेरि विश्‍वासयोग्य, भद्र स्वरूप धारण गरिरहन सक्दैन; बरु, भेडाको भेषमा लुकेको यसको वास्तविक कुरूप र दुष्ट विशेषताहरू प्रकट हुन्छन्। शैतानका युक्तिहरूको वास्तविकता बाहिर आइसकेपछि र यसका साँचो विशेषताहरूको खुलासा भइसकेपछि, यो रिसले चूर हुनेछ र आफ्नो जङ्गलीपनलाई प्रकट गर्नेछ। यसपछि, मानिसहरूलाई हानि गर्ने र निल्‍ने यसको इच्‍छा झन्-झन् तीव्र मात्रै हुँदै जानेछ। किनभने जब मानिस सत्यतामा बिउँझिन्छ तब यो रिसले चूर हुन्छ, अनि स्वतन्त्रता र ज्योतिको तृष्णा गर्ने अनि त्यसको कैदबाट मुक्त हुने मानिसको आकाङ्क्षाप्रति त्यसले शक्तिशाली प्रतिकारको भावना विकसित गर्छ। त्यसको रिसको अभिप्राय भनेको त्यसको दुष्टताको प्रतिरक्षा गर्न र त्यसलाई कायम गराउनको लागि हो, र यो त्यसको जङ्गली प्रकृतिको साँचो प्रकटीकरण पनि हो।

हरेक मामलामा, शैतानको बानीबेहोराले यसको दुष्ट प्रकृतिलाई उदाङ्गो पार्छ। शैतानले मानिसमा गर्ने सबै दुष्ट कार्यहरूमध्ये—मानिसलाई बहकाएर त्यसको पछि लाग्‍ने तुल्याउने त्यसको प्रारम्भिक प्रयासदेखि, यसले मानिसलाई त्यसका दुष्कर्महरूमा घिस्याउँदै लगेर गरेको शोषणसम्म, अनि यसका साँचो विशेषताहरूलाई उदाङ्गो पारिसकिएपछि र मानिसले यसलाई पहिचान गरेर त्यागिसकेपछि मानिस विरुद्धको यसको प्रतिकारसम्‍म—यीमध्ये एउटै पनि कार्यले शैतानको दुष्ट सारलाई उदाङ्गो पार्न चुक्दैन, न त सकारात्मक कुराहरूसँग शैतानको कुनै सम्‍बन्ध छैन र सारा दुष्ट कुराहरूको स्रोत शैतान नै हो भन्‍ने तथ्य प्रमाणित गर्न नै चुक्छ। त्यसका हरेक कार्यहरूले त्यसको दुष्टतालाई रक्षा गर्छ, त्यसका दुष्ट कार्यहरूको निरन्तरता कायम राख्छ, न्यायसंगत र सकारात्मक कुराहरूको विरुद्धमा जान्छ, र मानवजातिको सामान्य अस्तित्वका कानूनहरू र व्यवस्थालाई नष्ट गर्छ। शैतानका यी कार्यहरू परमेश्‍वरको विरुद्ध छन्, र तिनीहरूलाई परमेश्‍वरको क्रोधले नष्ट गर्नेछ। शैतानको आफ्‍नै रिस भए तापनि, यसको रिस भनेको यसको दुष्ट प्रकृतिलाई पोखाउने माध्यम मात्रै हो। शैतान किन भड्किन्छ र क्रोधित हुन्छ त्यसको कारण यही हो: त्यसका अकथनीय युक्तिहरूलाई खुलासा गरिएको छ; त्यसका षड्यन्त्रहरूलाई सहजै जान दिइएको छैन; परमेश्‍वरको प्रतिस्थापन गर्ने र परमेश्‍वरको रूपमा काम गर्ने यसको उग्र महत्वाकांक्षा र इच्‍छालाई प्रहार र अवरुद्ध गरिएको छ; अनि सारा मानवजातिलाई नियन्त्रण गर्ने यसको लक्ष्य अहिले व्यर्थ र कहिल्यै हासिल गर्न नसकिने भएको छ। शैतानका षड्यन्त्रहरूलाई पूरा हुन नदिने र शैतानको दुष्टताको फैलावट र उच्छृङ्खलतालाई विफल तुल्याउने भनेको परमेश्‍वरले समय-समयमा धेरै पटक आह्‍वान गर्नुभएको उहाँको क्रोध नै हो। यही कारणले गर्दा, शैतानलाई परमेश्‍वरको क्रोधप्रति घृणा र डर दुवै छ। जब-जब परमेश्‍वरको क्रोध बाहिर निस्कन्छ, यसले शैतानको साँचो खराब स्वरूपलाई पर्दाफास गर्ने मात्र होइन, शैतानका दुष्ट इच्‍छाहरूलाई ज्योतिमा प्रकट पनि गर्छ, र त्यस प्रक्रियामा, मानवजाति विरुद्धका शैतानका रिसहरू उदाङ्गो पारिन्छन्। शैतानको रिसको प्रस्फुटन यसको दुष्ट प्रकृतिको साँचो प्रकाश र यसका युक्तिहरूको प्रकटीकरण हो। अवश्य नै, शैतानलाई रिस उठ्दा हरेक पटक यसले दुष्ट कुराहरूको विनाश र सकारात्मक कुराहरूको सुरक्षा र निरन्तरतालाई उद्घोष गर्छ; यसले परमेश्‍वरको क्रोधलाई उल्‍लङ्घन गर्न सकिँदैन भन्‍ने सत्यता उद्घोष गर्छ!

परमेश्‍वरको धर्मी स्वभावलाई जान्‍नको लागि अनुभव र कल्‍पनामा भर पर्नु हुँदैन

जब तैँले परमेश्‍वरको न्याय र सजायको सामना गरिरहेको हुन्छस्, के तैँले परमेश्‍वरको वचन अशुद्ध छ भनेर भन्‍नेछस्? के तैँले परमेश्‍वरको रिसको पछाडि कथा लुकेको छ, र यो अशुद्ध छ भनेर भन्‍नेछस्? के तैँले उहाँको स्वभाव पूर्ण रूपमा धर्मी नै छ भन्‍ने छैन भन्दै परमेश्‍वरको निन्दा गर्नेछस्? परमेश्‍वरका हरेक कार्यहरूको सामना गर्ने क्रममा, तँ पहिले परमेश्‍वरको धर्मी स्वभाव अरू कुनै तत्वहरूबाट मुक्त छ, यो पवित्र र त्रुटि विहीन छ भन्‍ने कुरामा निश्‍चित हुनैपर्छ। यी कार्यहरूमा परमेश्‍वरले मानवजातिलाई प्रहार गर्ने, दण्ड दिने र विनाश गर्ने कार्यहरू पर्दछन्। परमेश्‍वरको हरेक कार्यहरू विना कुनै अपवाद पूर्ण रूपमा उहाँको अन्तर्निहित स्वभाव र उहाँको योजनाअनुसार नै हुन्छन्, र तिनमा मानवजातिको ज्ञान, परम्परा र दर्शनको कुनै पनि भाग समावेश हुँदैन। परमेश्‍वरको हरेक कार्य उहाँको स्वभाव र सारको अभिव्यक्ति हो, जुन भ्रष्ट मानवजातिको स्वामित्वमा रहेको कुनै पनि कुरासँग सम्‍बन्धित हुँदैन। मानवजातिप्रतिको परमेश्‍वरको प्रेम, कृपा र सहनशीलता मात्रै त्रुटि विहीन, विशुद्ध र पवित्र छन् भन्ने धारणा मानवजातिमा छ, तर परमेश्‍वरको रिस र उहाँको क्रोध पनि त्यस्तै विशुद्ध छन् भनेर कसैलाई पनि थाहा छैन; यसको साथै, परमेश्‍वरले किन कुनै पनि उल्‍लङ्घन सहनुहुन्‍न, वा उहाँको रिस किन यति ठूलो छ भन्‍ने जस्ता प्रश्‍नहरूमा कसैले पनि चिन्तन गरेका छैनन्। यसको विपरीत, कतिपयले परमेश्‍वरको क्रोधलाई भ्रष्ट मानवजातिको रिसाहा स्वभाव जस्तै हो भनी ठान्छन्, अनि परमेश्‍वरको रिस भनेको भ्रष्ट मानवजातिको रिस त हो नि भनेर गलत बुझ्छन्। तिनीहरूले परमेश्‍वरको रिस मानवजातिको भ्रष्ट स्वभावको प्राकृतिक प्रकाश जस्तै हो र परमेश्‍वरको क्रोध प्रकट हुनु भनेको कुनै चित्त नबुझ्‍ने परिस्थिति आइपर्दा भ्रष्ट मानिसहरूमा आउने रिस जस्तै हो भनेर गलत अनुमान गर्छन्, र परमेश्‍वरको क्रोध बाहिर आउनु भनेको उहाँको मनस्थितिको अभिव्यक्ति हो भन्‍ने विश्‍वास गर्छन्। म आशा गर्छु, यो सङ्गतिपछि तिमीहरू प्रत्येकमा परमेश्‍वरको धर्मी स्वभावको बारेमा अबउप्रान्त कुनै पनि भ्रमहरू, कल्‍पनाहरू वा अनुमानहरू हुनेछैनन्। मलाई आशा छ, मेरा वचनहरू सुनिसकेपछि तिमीहरूको हृदयमा परमेश्‍वरको धर्मी स्वभावको क्रोधको साँचो पहिचान हुनसक्छ, परमेश्‍वरको क्रोध सम्‍बन्धी पहिलेका कुनै पनि गलत बुझाइहरूलाई तिमीहरूले पन्छाउन सक्छौ, अनि तिमीहरूले परमेश्‍वरको क्रोधको सार सम्‍बन्धी तिमीहरूका आफ्ना गलत विश्‍वासहरू र दृष्टिकोणहरू परिवर्तन गर्न सक्छौ। यसको साथै, मलाई आशा छ, तिमीहरूको हृदयमा परमेश्‍वरको स्वभाव सम्‍बन्धी यथार्थ परिभाषा हुनसक्छ, परमेश्‍वरको धर्मी स्वभावको बारेमा तिमीहरूसँग अब उप्रान्त कुनै शङ्का हुनेछैन, र परमेश्‍वरको साँचो स्वभावमा तिमीहरूले कुनै पनि मानवीय तर्क वा कल्‍पनाहरूलाई लाद्‍ने छैनौँ। परमेश्‍वरको धर्मी स्वभाव परमेश्‍वरको आफ्‍नै साँचो सार हो। यो मानिसले लेखेको वा आकार दिएको कुरा होइन। उहाँको धर्मी स्वभाव भनेको उहाँको धर्मी स्वभाव नै हो र सृष्टिको कुनै पनि कुरासँग यसको सम्‍बन्ध वा सरोकार छैन। परमेश्‍वर स्वयम्‌ भनेको परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ। उहाँ कहिल्यै पनि सृष्टिको हिस्सा बन्‍नुहुनेछैन, र उहाँ सृष्टि गरिएको प्राणीको सदस्य बन्‍नुभयो भने पनि, उहाँको अन्तर्निहित स्वभाव र सार परिवर्तन हुनेछैन। त्यसकारण, परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै वस्तुलाई चिन्‍नुजस्तो होइन; परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै पनि कुरालाई चिरफार गर्नु होइन, न त यो व्यक्तिलाई बुझ्‍नु जस्तो नै हो। यदि मानिसले परमेश्‍वरलाई चिन्‍नको लागि वस्तुलाई चिन्‍ने वा व्यक्तिलाई बुझ्‍ने आफ्‍नो अवधारणा वा विधिको प्रयोग गर्छ भने, तैँले कहिल्यै पनि परमेश्‍वरसम्‍बन्धी ज्ञान हासिल गर्न सक्‍नेछैनस्। परमेश्‍वरलाई चिन्‍ने कार्य अनुभव वा कल्‍पनामा निर्भर हुँदैन, त्यसकारण तैँले परमेश्‍वरमा कहिल्यै पनि आफ्‍नो अनुभव वा कल्‍पना लाद्‍नु हुँदैन; तेरो अनुभव र कल्‍पना जति नै अमूल्य भए तापनि, ती अझै पनि सीमित नै हुन्छन्। यति मात्र कहाँ हो र, तेरो कल्‍पना तथ्यहरूसँग मेल खाँदैन, सत्यतासँग मेल खाने त कुरै नगरौँ, अनि यो परमेश्‍वरको साँचो स्वभाव र सारसँग पनि मिल्दैन। यदि तँ परमेश्‍वरको सारलाई बुझ्‍नको लागि आफ्‍नो कल्‍पनामा भर पर्छस् भने तँ कहिल्यै पनि सफल हुनेछैनस्। एउटै मार्ग यही हो: परमेश्‍वरबाट आउने सबै कुरालाई स्वीकार गर्, त्यसपछि यसलाई क्रमिक रूपमा अनुभव गर् र बुझ्। तेरो सहकार्यको कारण अनि सत्यताप्रतिको तेरो भोक र तिर्खाको कारण उहाँलाई साँचो रूपमा बुझ्‍न र चिन्‍नको लागि परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिने दिन पनि आउनेछ। अनि यससँगै, हाम्रो कुराकानीको यो खण्डलाई हामी यहीँ समाप्त गरौँ ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्