परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरको अख्तियार (१) - भाग तीन

निम्‍न वचनहरू परमेश्‍वरको अख्‍तियारलाई जान्‍नको लागि अपरिहार्य छन्, र तिनीहरूका अर्थ तलको सङ्गतिमा दिइएको छ। पवित्र-शास्‍त्रको पढाइलाई हामी जारी राखौँ।

४. शैतानलाई परमेश्‍वरको आज्ञा

अय्यूब २:६ अनि यहोवाले शैतानलाई भन्नुभयो, हेर्, त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा।

शैतानले सृष्टिकर्ताको अख्‍तियारलाई भङ्ग गर्ने आँट कहिल्यै गरेको छैन, र यसले गर्दा, सबै थोक सुव्यवस्थामा जिउँछन्

यो अय्यूबको पुस्तकबाट लिइएको उद्धरण हो, र यी शब्‍दहरूमा “ऊ” ले अय्यूबलाई जनाउँछ। छोटो भए तापनि, यो वाक्यले विभिन्‍न विषयहरूलाई स्पष्ट पार्छ। यसले आत्मिक संसारमा परमेश्‍वर र शैतानको बीचमा भएको खास कुराकानीलाई व्याख्या गर्छ, र परमेश्‍वरका वचनहरू शैतानप्रति लक्षित थिए भनेर हामीलाई बताउँछ। परमेश्‍वरले विशेष गरी के भन्‍नुभएको थियो त्यसको विवरण पनि यसले दिन्छ। परमेश्‍वरका वचनहरू शैतानलाई दिइएको आज्ञा र आदेश थियो। यो आदेशका खास विवरणहरू अय्यूबको ज्यान बचाउने र शैतानले अय्यूबलाई गर्ने व्यवहारमा परमेश्‍वरले रेखा कोर्नुभएको कुरासँग सम्‍बन्धित छन्—शैतानले अय्यूबलाई ज्यान नलिई छाडिदिनुपर्नेथियो। यो वाक्यबाट हामीले थाहा पाउने पहिलो कुरा भनेको यी वचनहरू परमेश्‍वरले शैतानसँग बोल्‍नुभएका वचनहरू थिए भन्‍ने हो। अय्यूबको पुस्तकको मूल पाठले हामीलाई यी वचनहरूको पृष्ठभूमिको बारेमा बताउँछ: शैतानले अय्यूबलाई दोष दिन चाह्यो, त्यसकारण त्यसले उसलाई परीक्षा गर्न सक्‍नुभन्दा पहिले परमेश्‍वरको स्वीकृति लिनुपर्थ्यो। अय्यूबलाई परीक्षा गर्ने शैतानको अनुरोधलाई अनुमति दिने क्रममा, परमेश्‍वरले शैतानको सामुन्ने निम्‍न सर्त अघि सार्नुभयो: “अय्यूब तेरै हातमा छ; तर त्यसको ज्यान बचा।” यी वचनहरूको प्रकृति के हो त? ती स्पष्ट रूपमै आज्ञा, आदेश हुन्। यी वचनहरूको प्रकृतिलाई बुझिसकेपछि, यो आदेश जारी गर्ने परमेश्‍वर नै हुनुहुन्थ्यो, र यो आदेश पाउने र पालन गर्ने शैतान थियो भन्‍ने कुरालाई तैँले अवश्य बुझ्‍नुपर्छ। भन्न नपर्ला, यो आदेशमा, परमेश्‍वर र शैतानबीचको सम्‍बन्ध यी वचनहरू पढ्ने जोकोहीलाई स्पष्ट छ। अवश्‍य नै, यो आत्मिक संसारमा परमेश्‍वर र शैतानबीचको सम्‍बन्ध, र परमेश्‍वर र शैतानबीच भएको कुराकानीसम्बन्धी पवित्र-शास्‍त्रको अभिलेखअनुसार परमेश्‍वर र शैतानबीचको पहिचान र हैसियतको भिन्नता पनि हो, र यस खास उदाहरण र पाठ्य अभिलेखबाट मानिसले आजको मितिसम्‍म सिक्‍न सक्‍ने परमेश्‍वर र शैतानको पहिचान र अस्तित्व बीचमा रहेको पृथक भिन्‍नता पनि हो। यस बिन्दुमा, मैले के भन्‍नैपर्छ भने यी वचनहरूको अभिलेख परमेश्‍वरको पहिचान र हैसियतसम्‍बन्धी मानवजातिको ज्ञानको निम्ति महत्त्वपूर्ण दस्तावेज हो, र परमेश्‍वरसम्‍बन्धी मानवजातिको ज्ञानको लागि यसले महत्त्वपूर्ण जानकारी प्रदान गर्छ। सृष्टिकर्ता र शैतानबीच आत्मिक संसारमा भएको यो कुराकानीबाट मानिसले सृष्टिकर्ताको अख्‍तियारको थप एउटा निश्‍चित पक्षलाई बुझ्‍न सक्छ। यी वचनहरू सृष्टिकर्ताको अद्वितीय अख्‍तियारका अर्का गवाही हुन्।

बाहिरी रूपमा, यहोवा परमेश्‍वर शैतानसँगको कुराकानीमा सहभागी भइरहनुभएको छ। सारको हिसाबमा, यहोवा परमेश्‍वरले जुन आचरणका साथ बोल्‍नुहुन्छ, र उहाँ जुन स्थानमा खडा हुनुहुन्छ ती शैतानभन्दा उच्‍च छन्। भन्‍नुको अर्थ, यहोवा परमेश्‍वरले शैतानलाई आदेशको शैलीमा आज्ञा दिइरहनुभएको छ, र त्यसले के गर्नु हुन्छ र के गर्नु हुँदैन, अय्यूब पहिले नै त्यसको हातमा छ, र त्यसले अय्यूबलाई जसरी मन लाग्यो त्यसरी व्यवहार गर्न सक्छ भनी शैतानलाई भनिरहनुभएको छ—तर त्यसले अय्यूबको ज्यानचाहिँ लिनु हुँदैनथियो। यसको उपखण्ड के हो भने, अय्यूबलाई शैतानको हातमा सुम्पिइएको भए तापनि, उसको जीवन शैतानलाई दिइएको थिएन; परमेश्‍वरले अनुमति नदिनुभएसम्‍म कसैले पनि अय्यूबको जीवन परमेश्‍वरको हातबाट लिन सक्दैन। शैतानलाई दिइएको यो आज्ञामा परमेश्‍वरको आचरण स्पष्ट रूपमा व्यक्त गरिएको छ, र यो आज्ञाले यहोवा परमेश्‍वरले शैतानसँग कुन स्थानबाट कुराकानी गर्नुभयो त्यसलाई पनि प्रकट र खुलासा गर्छ। यसमा, यहोवा परमेश्‍वरसँग ज्योति, र हावा, अनि सबै थोक र जीवित प्राणीहरू सृष्टि गर्नुहुने परमेश्‍वरको, सबै थोक र सबै जीवित प्राणीहरूमाथि सार्वभौमिकता राख्‍नुहुने परमेश्‍वरको हैसियत मात्र होइन, बरु मानवजातिमाथि हुकुम चलाउनुहुने, र पातालहरूमाथि हुकुम चलाउनुहुने परमेश्‍वरको, सबै जीवित प्राणीहरूको जीवन र मृत्युलाई नियन्त्रण गर्नुहुने परमेश्‍वरको हैसियत पनि रहेको छ। आत्मिक संसारमा, परमेश्‍वरबाहेक कसले शैतानलाई त्यस्तो आदेश जारी गर्न सक्थ्यो र? अनि परमेश्‍वरले किन व्यक्तिगत रूपमा शैतानलाई आफ्‍नो आदेश जारी गर्नुभयो त? किनभने अय्यूबको जीवनलगायत मानिसको जीवन परमेश्‍वरकै नियन्त्रणमा छ। परमेश्‍वरले शैतानलाई अय्यूबको ज्यानमा हानि पुर्‍याउन, वा त्यसलाई लिन अनुमति दिनुभएन, र परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्न अनुमति दिनुहुँदा पनि, परमेश्‍वरले त्यस्तो आदेश जारी गर्न स्मरण गर्नुभयो, र फेरि पनि शैतानलाई अय्यूबको ज्यान नलिन आज्ञा गर्नुभयो। शैतानले परमेश्‍वरको अख्‍तियार भङ्ग गर्ने आँट कहिल्यै गरेको छैन, यति मात्र होइन, परमेश्‍वरका आदेशहरू र निश्‍चित आज्ञाहरूलाई सधैँ ध्यान दिएर सुनेको र पालन गरेको छ, र तिनलाई उल्‍लङ्घन गर्ने कहिल्यै आँट गरेको छैन, र अवश्य नै, परमेश्‍वरका कुनै पनि आज्ञाहरूलाई स्वतन्त्र रूपमा परिवर्तन गर्ने आँट गरेको छैन। परमेश्‍वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू यिनै थिए, त्यसकारण शैतानले यी सीमितताहरूलाई नाघ्‍ने आँट कहिल्यै गरेन। के यो परमेश्‍वरको अख्तियारको सामर्थ्य होइन र? के यो परमेश्‍वरको अख्तियारको साक्षी होइन र? परमेश्‍वरप्रति कस्तो व्यवहार गर्ने र परमेश्‍वरप्रति कस्तो दृष्टिकोण राख्ने भन्‍ने बारेमा मानवजातिलाई भन्दा शैतानलाई अझै बढी स्पष्ट रूपमा थाहा छ, त्यसकारण, आत्मिक संसारमा, शैतानले परमेश्‍वरको हैसियत र अख्‍तियारलाई स्पष्ट रूपमा देख्छ, र त्यसमा परमेश्‍वरको अख्तियारको सामर्थ्य र उहाँको अख्तियार प्रयोगको पछाडि रहेका सिद्धान्तहरूका बारेमा गहन कदर छ। यसले तिनलाई बेवास्ता गर्ने आँट गर्दै-गर्दैन, न त तिनलाई कुनै पनि हालतमा उल्‍लङ्घन गर्ने, वा परमेश्‍वरको अख्‍तियारलाई भङ्ग गर्ने कुनै काम गर्ने आँट नै गर्छ, र त्यसले कुनै पनि हालतमा परमेश्‍वरको क्रोधलाई चुनौती दिने आँट गर्दैन। त्यो प्रकृतिमा दुष्ट र अहङ्कारी भए तापनि, परमेश्‍वरले त्यसको लागि तय गर्नुभएका परिधि र सीमाहरूलाई नाघ्‍ने आँट शैतानले कहिल्यै गरेको छैन। करोडौँ वर्षसम्‍म, यसले यी परिधिहरूलाई कडाइको साथ पालन गरेको छ, परमेश्‍वरले त्यसलाई दिनुभएको हरेक आज्ञा र आदेशलाई पालन गरेको छ, र घेरालाई नाघ्‍ने आँट कहिल्यै गरेको छैन। यो दुर्भावनापूर्ण भए तापनि, शैतान भ्रष्ट मानवजातिभन्दा निकै बुद्धिमान् छ; त्यसलाई सृष्टिकर्ताको पहिचान थाहा छ, र त्यसका आफ्‍नै सीमाहरू थाहा छ। शैतानको “समर्पित” कार्यहरूबाट के देख्‍न सकिन्छ भने, परमेश्‍वरको अख्‍तियार र शक्ति स्वर्गीय अध्यादेशहरू हुन् जसलाई शैतानले नाघ्‍न सक्दैन, र परमेश्‍वरको अद्वितीयपन र अख्‍तियारकै कारणले सबै थोक सुव्यवस्थित रूपमा परिवर्तन हुन्छन् र वृद्धि हुन्छन्, परमेश्‍वरले स्थापना गर्नुभएको मार्गभित्र रही मानवजाति जिउन र वृद्धि हुन सक्छ, यो आदेशलाई असर गर्न सक्ने कुनै व्यक्ति वा वस्तु छैन, र यो नियमलाई परिवर्तन गर्न सक्‍ने कुनै व्यक्ति वा वस्तु छैन—किनभने तिनीहरू सबै सृष्टिकर्ताको हातबाट, र सृष्टिकर्ताको आदेश र अख्‍तियारबाट आउँछन्।

परमेश्‍वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्‍तियार छ

शैतानको विशेष पहिचानले गर्दा धेरै मानिसहरूलाई विभिन्‍न पक्षहरूको प्रकटीकरणमा बलियो रुचि प्रदर्शन गर्ने तुल्याएको छ। परमेश्‍वरजस्तै शैतानमा पनि अख्‍तियार छ, किनभने शैतानले पनि आश्‍चर्यकर्महरू देखाउन सक्छ, र मानवजातिको लागि असम्‍भव रहेका कुराहरू गर्न सक्छ भनी विश्‍वास गर्ने धेरै मूर्ख मानिसहरू समेत छन्। त्यसैले, परमेश्‍वरलाई आराधना गर्ने बाहेक, मानिसले आफ्‍नो हृदयमा शैतानको लागि पनि ठाउँ साँचेर राख्छ, र शैतानलाई परमेश्‍वरको रूपमा आराधना समेत गर्छ। यी मानिसहरू दयनीय र घृणास्पद दुवै छन्। तिनीहरूको अज्ञानताको कारण तिनीहरू दयनीय छन्, र तिनीहरूको विधर्म र अन्तर्निहित दुष्ट सारको कारण तिनीहरू घृणास्पद छन्। यस विन्दुमा, तिमीहरूलाई अख्‍तियार भनेको के हो, यो केको प्रतीक हो, र यसले केलाई प्रतिनिधित्व गर्छ सो बारेमा जानकारी दिनु अत्यावश्यक छ भन्‍ने मलाई लाग्छ। वृहत् रूपमा भन्दा, परमेश्‍वर स्वयम्‌ नै अख्‍तियार हुनुहुन्छ, उहाँको अख्‍तियार परमेश्‍वरको सर्वोच्‍चता र सारको प्रतीक हो, र परमेश्‍वर स्वयम्को अख्तियारले परमेश्‍वरको हैसियत र पहिचानलाई प्रतिनिधित्व गर्छ। यसो हुनाले, के शैतानले त्यो आफै परमेश्‍वर हो भनेर भन्‍ने आँट गर्छ? के शैतानले त्यसले नै सबै थोक सृष्टि गरेको हो, र सबै थोकमाथि त्यसको सार्वभौमिकता छ भनेर भन्‍ने आँट गर्छ? अवश्य यसले त्यसो भन्दैन! किनभने यसले सबै थोक सृष्टि गर्न सक्दैन; अहिलेको मितिसम्‍म, परमेश्‍वरले सृष्टि गर्नुभएको कुनै पनि थोक यसले बनाएको छैन, र जीवन भएको कुनै पनि कुरा सृष्टि गरेको छैन। त्योसँग परमेश्‍वरको अख्तियार नभएको हुनाले, त्यसमा परमेश्‍वरको हैसियत र पहिचान हुनु कहिल्यै सम्‍भव हुन सक्दैन, र यसलाई त्यसकै सारले निर्धारित गर्छ। के त्योसँग परमेश्‍वरको जस्तै शक्ति छ? अवश्य त्यसमा त्यस्तो शक्ति छैन! शैतानले गरेका कार्यहरूलाई, र शैतानले प्रदर्शन गरेका आश्‍चर्यकर्महरूलाई हामी के भन्छौँ? के यो शक्ति हो? के यसलाई अख्‍तियार भनेर भन्‍न सकिन्छ? अवश्य सकिँदैन! शैतानले दुष्टताको छाललाई निर्देशित गर्छ, र परमेश्‍वरको कार्यका हरेक पक्षलाई बिथोल्‍ने, बिगार्ने, र बाधा दिने गर्छ। विगतका हजारौँ वर्षदेखि, मानवजातिलाई भ्रष्ट तुल्याउने र दुर्व्यवहार गर्ने, र मानिस मृत्युको छायाको घाटीतर्फ हिँडोस् भनेर मानिसलाई प्रलोभनमा पार्ने र छल गर्ने गरेर भ्रष्टता र परमेश्‍वरलाई इन्कार गर्ने कार्यमा लगाउने बाहेक, के शैतानले त्यस्तो केही गरेको छ जसको लागि मानिसले त्यसलाई अलिकति समेत स्मरण गर्नु, तारिफ गर्नु, वा कदर गर्नु योग्य छ? यदि शैतानसँग अख्‍तियार र शक्ति भएको भए, के मानवजातिलाई यसद्वारा भ्रष्ट तुल्याइएको हुनेथियो? यदि शैतानसँग अख्‍तियार र शक्ति भएको भए, के मानवजातिलाई यसद्वारा हानि गरिएको हुनेथियो? यदि शैतानसँग शक्ति र अख्तियार भएको भए, के मानवजाति परमेश्‍वरलाई त्यागेर मृत्युको शरण परेको हुनेथियो? शैतानसँग कुनै अख्‍तियार वा शक्ति नभएको हुनाले, त्यसले गर्ने सबै कुराको सारको बारेमा हामीले के निष्कर्ष निकाल्‍नुपर्छ? शैतानले गर्ने सबै कुरा छल मात्रै हुन् भनेर परिभाषित गर्नेहरू पनि छन्, तैपनि त्यस्तो परिभाषा त्यति उपयुक्त छैन भन्‍ने मलाई विश्‍वास छ। के मानवजातिलाई भ्रष्ट तुल्याउने त्यसका दुष्ट कार्यहरू छल मात्रै हुन् त? अय्यूबलाई दुर्व्यवहार गर्नको लागि शैतानले प्रयोग गरेको दुष्टताको शक्ति, र तिनलाई दुर्व्यवहार गर्ने र तिनलाई निल्ने त्यसको तीव्र इच्‍छालाई छलद्वारा मात्रै हासिल गर्न सकिँदैन। फर्केर हेर्दा, पहाड-पर्वतभरि टाढा-टाढासम्‍म छरपष्ट भएका अय्यूबका बथान र बगालहरू एकै क्षणमा विलय भएका थिए; एकै क्षणमा, अय्यूबको भाग्य हराएर गयो। के त्यसलाई छलले मात्रै हासिल गर्न सकियो? शैतानले गर्ने सबै कुराको प्रकृति बिगार्ने, बिथोल्‍ने, नष्ट गर्ने, हानी गर्ने, दुष्टता, दुर्भावना, र अन्धकार जस्ता नकरात्मक शब्‍दहरूसँग सम्‍बन्धित छन् र तीसँग मिल्छन्, त्यसकारण घट्ने सबै अधार्मिकता र दुष्ट घटनाहरू अपरिहार्य रूपमा नै शैतानका कार्यहरूसँग जोडिएका हुन्छन्, र त्यसलाई शैतानको दुष्ट सारबाट अलग गर्न सकिँदैन। शैतान जति नै “शक्तिशाली” भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्‍वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठ भई पालन गर्नु हो: परमेश्‍वरको सेवामा हुनु, र परमेश्‍वरको लागि भिन्न धार प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्‍तियारसँग जोडिएको छैन; त्यो परमेश्‍वरको सेवा गर्ने मेसिनजस्तै परमेश्‍वरको हातमा खेलिरहेको हुन्छ!

शैतानको साँचो रूपलाई बुझिसकेपछि, अख्‍तियार भनेको के हो धेरै मानिसहरूले अझै बुझ्दैनन्, त्यसकारण म तँलाई बताउँछु! अख्‍तियार स्वयम्‌लाई परमेश्‍वरको शक्तिको रूपमा व्याख्या गर्न सकिन्छ। पहिलो, अख्‍तियार र शक्ति दुवै सकारात्मक छन् भनेर निश्‍चितताको साथ भन्‍न सकिन्छ। कुनै पनि नकारात्मक कुरासँग तिनको कुनै सम्‍बन्ध छैन, र सृष्टि गरिएका वा सृष्टि नगरिएका कुनै पनि प्राणीसँग ती सम्‍बन्धित छैनन्। परमेश्‍वरको शक्तिले जीवन र जीवन-शक्ति भएको कुनै पनि स्वरूपको कुराहरूलाई सृष्टि गर्न सक्छ, र यसलाई परमेश्‍वरको जीवनले नै निर्धारित गरेको हुन्छ। परमेश्‍वर जीवन हुनुहुन्छ, त्यसकारण उहाँ सबै जीवित प्राणीहरूको स्रोत हुनुहुन्छ। यसको साथै, परमेश्‍वरको अख्‍तियारले हरेक जीवित प्राणीलाई परमेश्‍वरको हरेक वचन पालन गर्ने तुल्याउँछ, अर्थात् परमेश्‍वरको मुखबाट निस्केका वचनहरू अनुसार अस्तित्वमा आउने, र परमेश्‍वरको आज्ञा अनुसार जिउने र सन्तान उत्पादन गर्ने तुल्याउँछ, जसपछि परमेश्‍वरले सबै जीवित प्राणीहरूमाथि शासन गर्नुहुन्छ र हुकुम चलाउनुहुन्छ, र कहिल्यै पनि त्यसमा तलमाथि हुनेछैन, सदासर्वदा नै। कुनै पनि व्यक्ति वा वस्तुमा यी कुराहरू छैन; सृष्टिकर्तामा मात्रै त्यस्तो शक्ति छ र उहाँले मात्रै त्यस्तो शक्ति बोक्‍नुहुन्छ, त्यसैले यसलाई अख्तियार भनिन्छ। सृष्टिकर्ताको अद्वितीयपन यही नै हो। त्यसैले, चाहे यो “अख्‍तियार” शब्‍द मात्रै होस् वा यो अख्तियारको सार होस्, प्रत्येकलाई सृष्टिकर्तासँग मात्रै सम्‍बन्धित गर्न सकिन्छ, किनभने यो सृष्टिकर्ताको अद्वितीय पहिचान र सारको प्रतीक हो, र यसले सृष्टिकर्ताको पहिचान र हैसियतलाई प्रतिनिधित्व गर्छ; सृष्टिकर्ता बाहेक, कुनै पनि व्यक्ति वा थोकलाई “अख्‍तियार” भन्‍ने शब्दसँग सम्‍बन्धित गर्न सकिँदैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको अर्थ-अनुवाद यही नै हो।

शैतानले अय्यूबमाथि लोभी नजरले हेरेको भए तापनि, परमेश्‍वरको अनुमतिविना त्यसले अय्यूबको शरीरको एउटा रौँ समेत छुने आँट गरेन। शैतान अन्तर्निहित रूपमा दुष्ट र निर्दयी भए तापनि, परमेश्‍वरले त्यसको लागि उहाँको आदेश जारी गरिसक्‍नुभएपछि, परमेश्‍वरको आज्ञालाई पालना गर्ने बाहेक त्योसँग केही विकल्‍प थिएन। यसरी, जब त्यो अय्यूबकहाँ आयो त्यो भेडाको बीचमा ब्‍वाँसो झैँ अनियन्त्रित भएको भए तापनि, परमेश्‍वरले त्यसको निम्ति तोकिदिनुभएका सीमितताहरूलाई बिर्सने आँट त्यसले गरेन, परमेश्‍वरका आदेशहरूलाई उल्‍लङ्घन गर्ने आँट गरेन, र त्यसले गरेको सबै कुरामा, शैतानले परमेश्‍वरका वचनहरूका सिद्धान्त र सीमितताहरूबाट दायाँ-बायाँ गर्ने आँट गरेन—के यो तथ्य होइन र? यसबाट के देख्‍न सकिन्छ भने शैतानले यहोवा परमेश्‍वरका कुनै पनि वचनहरूलाई अवहेलना गर्ने आँट गर्दैन। शैतानको लागि, परमेश्‍वरको मुखबाट निस्केको हरेक वचन आदेश र स्वर्गीय कानुन, परमेश्‍वरको अख्तियारको अभिव्यक्ति हो—किनभने परमेश्‍वरको वचनको पछाडि परमेश्‍वरका आदेशहरूलाई उल्‍लङ्घन गर्नेहरू, र स्वर्गीय कानुनहरूलाई अवज्ञा गर्ने र विरोध गर्नेहरूलाई दिइने परमेश्‍वरका दण्डहरू सङ्केत गरिएको हुन्छ। यदि त्यसले परमेश्‍वरका आदेशहरू उल्‍लङ्घन गर्‍यो भने, परमेश्‍वरको अख्‍तियारलाई नाघेको र स्वर्गीय नियमहरूलाई विरोध गरेको परिणामहरूलाई त्यसले स्वीकार गर्नैपर्छ भन्‍ने कुरा शैतानलाई स्पष्टै थाहा छ। यी परिणामहरू आखिर के-के हुन् त? अवश्य नै, ती परमेश्‍वरले त्यसलाई दिनुहुने दण्ड हुन्। अय्यूबप्रति शैतानले गरेका कार्यहरू त्यसले मानिसलाई कति भ्रष्ट तुल्याएको छ भन्‍ने कुराको सानो टुक्रा मात्रै थियो, र जब शैतानले यी कार्यहरू गरिरहेका थिए, परमेश्‍वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू र उहाँले जारी गर्नुभएका आदेशहरू त्यसले गर्ने सबै कुराको पछाडिका सिद्धान्तहरूको सानो टुक्रा मात्रै थियो। यसको साथै, यस विषयमा शैतानको भूमिका र स्थान परमेश्‍वरको व्यवस्थापनको कार्यमा रहेको त्यसको भूमिका र स्थानको सानो भाग मात्रै थियो, र अय्यूबलाई परीक्षा गर्ने क्रममा शैतानले गरेको परमेश्‍वरको पूर्ण आज्ञापालन परमेश्‍वरको व्यवस्थापन कार्यमा कसरी शैतानले परमेश्‍वरलाई अलिकति विरोध गर्ने आँट पनि गरेन त्यसको सानो भाग मात्रै थियो। यी साना भागहरूले तिमीहरूलाई के चेतावनी दिन्छ? शैतान लगायत सबै थोकको बीचमा, सृष्टिकर्ताले तय गर्नुभएका स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्‍लङ्घन गर्न सक्‍ने कुनै व्यक्ति वा थोक छैन, र यी स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्‍लङ्घन गर्ने आँट कुनै व्यक्ति वा थोकले गर्दैन, किनभने तिनलाई अवज्ञा गर्नेहरूलाई सृष्टिकर्ताले दिनुहुने दण्डलाई कुनै व्यक्ति वा थोकले परिवर्तन गर्न वा त्यसबाट उम्‍कन सक्दैन। सृष्टिकर्ताले मात्रै स्वर्गीय नियम र अध्यादेशहरू जारी गर्न सक्‍नुहुन्छ, तिनलाई लागू गर्ने शक्ति सृष्टिकर्तासँग मात्रै छ, र सृष्टिकर्ताको शक्तिलाई मात्रै कुनै व्यक्ति वा थोकले भङ्ग गर्न सक्दैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियार यही नै हो, र यो अख्‍तियार सबै थोकको बीचमा सबैभन्दा सर्वोच्‍च छ, त्यसकारण “परमेश्‍वर सबैभन्दा महान् हुनुहुन्छ र दोस्रो नम्बरमा शैतान छ” भनेर भन्‍नु असम्‍भव छ। अद्वितीय अख्तियार निहित भएको सृष्टिकर्ता बाहेक, अरू कुनै परमेश्‍वर छैन!

के अहिले तिमीहरूसँग परमेश्‍वरको अख्तियार सम्‍बन्धी नयाँ ज्ञान छ? सबभन्दा पहिले, के भर्खरै उल्‍लेख गरेको परमेश्‍वरको अख्‍तियार र मानिसको शक्तिको बीचमा भिन्‍नता छ? के भिन्‍नता छ? कतिपय मानिसहरूले यी दुईलाई तुलना गर्न सकिँदैन भनेर भन्छन्। त्यो सही कुरा हो! मानिसहरूले यी दुई बीचमा तुलना गर्न सकिँदैन भनेर भन्‍ने भए तापनि, मानिसका विचार र धारणाहरूमा, मानिसको शक्तिलाई नै प्रायजसो अख्‍तियार हो भन्‍ने ठानिन्छ, र यी दुईलाई प्रायजसो सँग-सँगै राखेर तुलना गरिन्छ। यहाँ के भइरहेको छ? के मानिसहरूले लापरवाहीको साथ एउटालाई अर्कोको सट्टा प्रयोग गरेर गल्ती गरिरहेका छैनन् र? यी दुई सम्‍बन्धित छैनन्, र तिनीहरूको बीचमा कुनै तुलना हुन सक्दैन, तैपनि मानिसहरू त्यसो नगरी बस्‍न सक्दैनन्। यसलाई कसरी समाधान गर्ने? यदि तँ साँच्‍चै ने समाधान पाउन चाहन्छस् भने, यसको एउटै मात्र तरिका भनेको परमेश्‍वरको अद्वितीय अख्‍तियारलाई बुझ्‍नु र जान्‍नु हो। सृष्टिकर्ताको अख्तियारलाई बुझेर जानिसकेपछि, तैँले मानिसको शक्ति र परमेश्‍वरको अख्‍तियारलाई समान रूपमा उल्‍लेख गर्नेछैनस्।

मानिसको शक्तिले केलाई जनाउँछ? सरल रूपमा भन्दा, यो त्यो क्षमता वा सीप हो जसले मानिसको भ्रष्ट स्वभाव, इच्‍छा र महत्वाकांक्षाहरूलाई त्यसको अधिकतम हदसम्म विस्तार हुने वा हासिल गर्ने तुल्याउँछ। के यो अख्‍तियारको रूपमा गन्ती हुन्छ त? मानिसको महत्वाकांक्षा र इच्‍छाहरू जति तीव्र वा लाभदायक भए तापनि, व्यक्तिमा अख्‍तियार छ भनेर भन्‍न सकिँदैन; बढीमा, यो फाइँफुट्टी र सफलता मानिसको बीचमा शैतानको तमासाको प्रदर्शन मात्रै हो; बढीमा, यो एउटा स्वाँग मात्रै हो जसमा शैतानले परमेश्‍वर बन्‍ने आफ्‍नो महत्वाकांक्षा पूरा गर्नका लागि त्यसको आफ्‍नै पुर्खाले जस्तो व्यवहार गर्छ।

अहिले तैँले परमेश्‍वरको अख्‍तियारलाई खास गरी कसरी हेर्छस्? अहिले यी वचनहरूको बारेमा सङ्गति गरिसकिएको हुनाले, तँसँग परमेश्‍वरको अख्तियारको बारेमा नयाँ ज्ञान हुनुपर्ने हो। त्यसैले म तिमीहरूलाई सोध्छु: परमेश्‍वरको अख्तियार केको प्रतीक हो? के यो परमेश्‍वर स्वयम्‌को पहिचानको प्रतीक हो? के यो परमेश्‍वरको स्वयम्‌को शक्तिको प्रतीक हो? के यो परमेश्‍वर स्वयम्‌को अद्वितीय हैसियतको प्रतीक हो? सबै थोकमध्येमा, केमा तैँले परमेश्‍वरको अख्‍तियार देखेको छस्? तैँले यो कसरी देखिस्? मानिसले अनुभव गर्ने चार ऋतुहरूको हकमा कुरा गर्दा, के कसैले वसन्त, ग्रीष्म, शरद, र शिशिरको बीचमा हुने परिवर्तनको नियमलाई परिवर्तन गर्न सक्छ? वसन्तमा, रूखका मुनाहरू उम्रन्छन् र फक्रन्छन्; ग्रीष्ममा ती पातहरूले भरिन्छन्; शरदमा तिनीहरूले फल फलाउँछन्, र शिशिरमा पातहरू झर्छन्। के कसैले यो नियमलाई परिवर्तन गर्न सक्छ? के यसले परमेश्‍वरको अख्तियारको एउटा पक्षलाई झल्‍काउँछ? परमेश्‍वरले “उज्यालो होस्,” भनी भन्‍नुभयो र उज्यालो भयो। के यो उज्यालो अझै अस्तित्वमा छ? के कारणले यो अझै अस्तित्वमा छ? निश्‍चय नै, परमेश्‍वरका वचनहरूको कारणले, र परमेश्‍वरको अख्‍तियारको कारणले यो अस्तित्वमा छ। के परमेश्‍वरले सृष्टि गर्नुभएको हावा अझै अस्तित्वमा छ? के मानिसले फेर्ने सास परमेश्‍वरबाट आउँछ? के परमेश्‍वरबाट आउने कुराहरूलाई कसैले खोस्‍न सक्छ? के कसैले तिनीहरूका सार र कार्यगत गुणलाई परिवर्तन गर्न सक्छ? के परमेश्‍वरले तय गर्नुभएको रात र दिनलाई, र परमेश्‍वरले व्यवस्थित गर्नुभएको दिन र रातको नियमलाई कसैले उल्ट्याउन सक्छ? के शैतानले त्यस्तो कुरा गर्न सक्छ? यदि तँ राती सुत्दैनस्, र रातलाई दिनको रूपमा लिन्छस् भने पनि, त्यो अझै पनि रातको समय नै हुन्छ; तैँले आफ्‍नो दैनिकीलाई परिवर्तन गर्न सक्छस्, तर रात र दिन परिवर्तन हुने नियमलाई तैँले परिवर्तन गर्न सक्दैनस्—यस तथ्यलाई कुनै पनि व्यक्तिले परिवर्तन गर्न सक्दैन, होइन र? के गोरु जोतेजस्तो सिंहलाई खेत जोत्‍न लगाउन सक्‍ने कोही छ? के हात्तीलाई गधामा परिवर्तन गर्न सक्‍ने कोही छ? के कुखुरोलाई चीलजस्तो आकाशमा वेग हान्‍ने बनाउन सक्‍ने कोही छ? के ब्‍वाँसोलाई भेडाजस्तो घाँस खाने बनाउन सक्‍ने कोही छ? (छैन।) के पानीको माछालाई सुक्‍खा जमिनमा जिउने बनाउन सक्‍ने कोही छ? मानिसहरूले त्यसो गर्न सक्दैनन्। किन सक्दैनन्? किनभने परमेश्‍वरले माछालाई पानीमा बस्‍ने आज्ञा दिनुभयो, त्यसकारण तिनीहरू पानीमा बस्छन्। जमिनमा तिनीहरू बाँच्‍नेछैनन्, मर्नेछन्; तिनीहरूले परमेश्‍वरको आज्ञाका सीमितताहरूलाई भङ्ग गर्न सक्दैनन्। सबै थोकसँग तिनीहरूको अस्तित्व सम्‍बन्धी नियम र सीमितता हुन्छ, र तिनीहरू प्रत्येकसँग तिनीहरूको आ-आफ्‍नै प्राकृतिक गुणहरू हुन्छन्। यी सृष्टिकर्ताले निर्धारित गर्नुभएको हो, र यसलाई कुनै पनि मानिसले परिवर्तन गर्न र नाघ्‍न सक्दैन। उदाहरणको लागि, सिंह सधैँ नै मानिसको समुदायबाट टाढा, जङ्गलमा बस्‍नेछ, र जसरी गोरु मानिससँग जिउँछ र मानिसको लागि काम गर्छ त्यसरी त्यो कहिल्यै पनि आज्ञाकारी र बफादार हुन सक्दैन। हात्ती र गधा दुवै जनावर हुन् र दुवैका चार खुट्टा हुन्छन्, र तिनीहरू हावामा सास फेर्ने प्राणीहरू हुन्, तैपनि तिनीहरू फरक-फरक प्रजाति हुन्, किनभने तिनीहरूलाई परमेश्‍वरले नै फरक-फरक प्रकारमा विभाजित गर्नुभएको थियो, तिनीहरू प्रत्येकसँग तिनीहरूका आ-आफ्‍नै प्राकृतिक गुणहरू हुन्छन्, त्यसकारण तिनीहरूलाई कहिल्यै पनि एक-आपसमा साट्न सकिनेछैन। कुखुरोसँग चीलको जस्तै दुई खुट्टा र पखेटाहरू हुने भए तापनि, त्यो कहिल्यै पनि हावामा उड्न सक्‍नेछैन; बढीमा त्यो रूखसम्‍म उड्न सक्छ—यसलाई त्यसको प्राकृतिक गुणले नै निर्धारित गरेको हुन्छ। अवश्य नै, यी सबै परमेश्‍वरको अख्‍तियारका आदेशहरूका कारणले भएका हुन्।

आज मानवजातिको विकासमा, मानवजातिको विज्ञानले प्रगति गरिरहेको छ भनेर भन्‍न सकिन्छ, र मानिसको वैज्ञानिक अन्वेषणका उपलब्धिहरू उल्‍लेखनीय छन् भनेर व्याख्या गर्न सकिन्छ। मानिसको क्षमता झन्-झन् ठूलो हुँदै वृद्धि भइरहेको छ भनेर भन्‍नुपर्छ, तर मानिसले हासिल गर्न नसकेको एउटा वैज्ञानिक सफलता छ: मानवजातिले हवाई जहाज, विमान वाहक, र परमाणु बम बनाएको छ, मानवजाति अन्तरिक्षमा गएर चन्द्रमामा हिँडेको छ, इन्टरनेटको आविष्कार गरेको छ, र उच्‍च प्रविधिको जीवनशैली जिउन पुगेको छ, तैपनि मानवजातिले जीवित, सास फेर्ने थोक बनाउन सक्दैन। हरेक जीवित प्राणीका प्राकृतिक गुण र तिनीहरू जिउने नियम, र हरेक जीवित थोकको जीवन र मृत्युको चक्र—यी सबै नै मानवजातिको विज्ञानको शक्तिभन्दा बाहिर छन्, र तिनलाई यसले नियन्त्रण गर्न सक्दैन। यस विन्दुमा, मानिसको विज्ञानले हासिल गरेका उचाइहरू जति नै माथि भए पनि, सृष्टिकर्ताका कुनै पनि विचारहरूसँग यो अतुलनीय छ, र सृष्टिकर्ताले गर्नुभएको सृष्टिको आश्‍चर्यता र उहाँको अख्तियारको सामर्थ्यलाई यसले पत्ता लगाउन सक्दैन। पृथ्वीमा धेरै समुद्रहरू छन्, तैपनि तिनीहरू आफ्‍ना सीमितताहरूलाई नाघेर कहिल्यै पनि स्वेच्छाले भूमिमा आएका छैनन्, किनभने तिनीहरू प्रत्येकको लागि परमेश्‍वरले नै सीमाहरू तोक्‍नुहुन्छ; उहाँले तिनीहरूलाई जहाँ रहने आज्ञा दिनुभयो तिनीहरू त्यहीँ बसे, र परमेश्‍वरको अनुमतिविना तिनीहरू स्वतन्त्रतापूर्वक हलचल गर्न सक्दैनन्। परमेश्‍वरको अनुमतिविना, तिनीहरूले एक-अर्कालाई अतिक्रमण गर्न सक्दैनन्, र परमेश्‍वरले भन्‍नुहुन्छ भने मात्रै तिनीहरू हलचल गर्न सक्छन्, र तिनीहरू कहाँ जान्छन् र बस्छन् सो कुरा परमेश्‍वरको अख्‍तियारले नै निर्धारित गर्छ।

यसलाई सरल रूपमा भन्दा, “परमेश्‍वरको अख्‍तियार” को अर्थ यो कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने हुन्छ। कुनै कुरा गर्ने निर्णय गर्ने अधिकार परमेश्‍वरसँग छ, र उहाँले जसरी चाहनुहुन्छ यो त्यही अनुरूप गरिन्छ। सबै थोकको नियम परमेश्‍वरकै हातमा छ, मानिसको हातमा होइन; न त यसलाई मानिसले परिवर्तन नै गर्न सक्छ। यसलाई मानिसको इच्‍छाले हलचल गर्न सक्दैन, बरु यो परमेश्‍वरका विचारहरू, परमेश्‍वरको बुद्धि, र परमेश्‍वरका आदेशहरूद्वारा नै परिवर्तन हुन्छ; यो कुनै पनि मानिसले इन्कार गर्न नसक्‍ने तथ्य हो। स्वर्ग र पृथ्वी अनि यावत् थोक, ब्रह्माण्ड, ताराले भरिएको आकाश, वर्षका चार ऋतु, मानिसले देख्‍न सक्‍ने र देख्‍न नसक्‍ने कुरा—परमेश्‍वरको अख्‍तियारको अधीनमा, परमेश्‍वरका आदेशहरू अनुसार, परमेश्‍वरका आज्ञाहरू अनुसार, र सृष्टिको सुरुवातका नियमहरू अनुसार नै ती सबै अस्तित्वमा रहन्छन्, काम गर्छन्, र कुनै पनि गल्ती विना नै परिवर्तन हुन्छन्। कुनै एक व्यक्ति वा वस्तुले तिनीहरूको नियम परिवर्तन गर्न, वा तिनले काम गर्ने अन्तर्निहित तरिकालाई परिवर्तन गर्न सक्दैन; ती परमेश्‍वरको अख्‍तियारको कारणले नै अस्तित्वमा आए, र परमेश्‍वरको अख्‍तियारकै कारणले ती नाश हुन्छन्। परमेश्‍वरको अख्‍तियार यही नै हो। यतिसम्‍म भनिसकिएको हुनाले, के तैँले परमेश्‍वरको अख्‍तियार परमेश्‍वरको पहिचान र हैसियतको प्रतीक हो भन्‍ने अनुभूति गर्न सक्छस्? के कुनै पनि सृष्टि गरिएको वा नगरिएको प्राणीमा परमेश्‍वरको अख्‍तियार निहित हुन सक्छ? के यसलाई कुनै व्यक्ति, थोक, वा वस्तुले अनुकरण गर्ने, नक्‍कल गर्ने, वा प्रतिस्थापन गर्ने गर्न सक्छ?

सृष्टिकर्ताको पहिचान अद्वितीय छ, र तैँले बहुईश्‍वरवादको विचारलाई पालना गर्नु हुँदैन

शैतानका सीप र क्षमताहरू मानिसको भन्दा ठूलो भए तापनि, त्यसले मानिसले गर्न नसक्‍ने कुराहरू गर्न सक्‍ने भए तापनि, चाहे तैँले शैतानले जे गर्छ त्यसको ईर्ष्या वा चाहना गरे पनि, चाहे यी कुराहरूलाई तैँले मन नपराउने वा घृणा गर्ने भए पनि, चाहे तँ तिनलाई देख्‍न सक्‍ने भए पनि नभए पनि, र चाहे शैतानले जति नै धेरै हासिल गर्न सके पनि, वा त्यसले जति मानिसलाई त्यसको आराधना गर्न र प्रतिष्ठित गर्न लगाउन छल गर्न सके पनि, र चाहे तैँले त्यसलाई जे-जसरी परिभाषित गरे पनि, तैँले त्यससँग परमेश्‍वरको अख्‍तियार र शक्ति छ भनेर सायद भन्‍न सक्दैनस्। तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ, परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, यसको साथै, परमेश्‍वरसँग मात्रै अख्‍तियार छ, सबै थोकलाई नियन्त्रण गर्ने र शासन गर्ने शक्ति परमेश्‍वरसँग मात्रै छ। शैतानसँग मानिसहरूलाई धोका दिने क्षमता छ र त्यसले परमेश्‍वरको अनुकरण गर्न सक्छ, परमेश्‍वरले प्रदर्शन गर्नुहुने चिन्‍ह र आश्‍चर्यकर्महरू अनुकरण गर्न सक्छ, अनि त्यसले परमेश्‍वरका जस्तै कुराहरू गरेको छ भन्दैमा, तैँले गलत रूपमा परमेश्‍वर अद्वितीय हुनुहुन्‍न, ईश्‍वरहरू धेरै छन्, यी फरक-फरक ईश्‍वरहरूसँग ठूला वा साना सीपहरू छन्, र तिनीहरूले चलाउने शक्तिको क्षेत्रमा भिन्‍नताहरू छन् भनेर विश्‍वास गर्छस्। तिनीहरूको आगमनको क्रम र तिनीहरूको उमेरको आधारमा तैँले तिनीहरूको महानताको क्रम मिलाउँछस्, र परमेश्‍वरबाहेक अरू ईश्‍वरहरू पनि छन् भनेर तैँले गलत रूपमा विश्‍वास गर्छस्, अनि परमेश्‍वरको शक्ति र अख्‍तियार अद्वितीय छैनन् भन्‍ने ठान्छस्। यदि तँसँग त्यस्ता विचारहरू छन् भने, यदि तैँले परमेश्‍वरको अद्वितीयपनलाई पहिचान गर्दैनस्, परमेश्‍वरसँग मात्रै अख्‍तियार छ भन्‍ने विश्‍वास गर्दैनस् भने, र तैँले बहुईश्‍वरवादलाई मात्रै मान्छस् भने, तँ प्राणीहरू मध्येको नीच प्राणी होस्, तँ शैतानको साँचो मूर्तरूप होस्, र तँ पूर्ण रूपमा दुष्ट व्यक्ति होस्! यी वचनहरू भनेर मैले तिमीहरूलाई के सिकाउने प्रयास गरिरहेको छु, के तिमीहरू बुझ्छौ? समय, स्थान, वा तेरो पृष्ठभूमि जेसुकै भए तापनि, तैँले परमेश्‍वर र अरू कुनै व्यक्ति, थोक, वा वस्तुमा झुक्‍किनु हुँदैन। परमेश्‍वरको अख्‍तियार र परमेश्‍वर स्वयम्‌को सार जति जान्‍न नसकिने र पहुँच प्राप्त गर्न नसकिने छ भन्‍ने तँलाई लागे पनि, चाहे तेरो धारणा र कल्‍पनासँग शैतानका जति कार्य र वचनहरू मिले पनि, चाहे तेरो लागि ती जति नै चित्तबुझ्‍दो भए पनि, मूर्ख नबन्, यी अवधारणाहरूप्रति अन्योल नबन्, परमेश्‍वरको अस्तित्वलाई इन्कार नगर्, परमेश्‍वरको पहिचान र हैसियतलाई इन्कार नगर्, परमेश्‍वरलाई तेरो हृदयको ढोकाबाट बाहिर निकालेर परमेश्‍वरको सट्टा शैतानलाई तेरो परमेश्‍वर बनाउन नले। तिमीहरूले त्यसो गर्नुका परिणामहरू के हुनेछन् त्यसको कल्‍पना गर्न सक्छौ भन्‍नेमा मलाई कुनै शङ्का छैन!

मानवजाति भ्रष्ट तुल्याइएको भए तापनि, ऊ अझै पनि सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा जिउँछ

शैतानले मानवजातिलाई हजारौँ वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ। त्यसले असीमित मात्रामा दुष्टता ल्याएको छ, एकपछि अर्को पुस्तालाई धोका दिएको छ, र संसारमा भयानक अपराधहरू गरेको छ। त्यसले मानिसलाई दुर्व्यवहार गरेको छ, मानिसलाई धोका दिएको छ, मानिसलाई परमेश्‍वरको विरोध गर्न प्रलोभनमा पारेको छ, र बारम्‍बार परमेश्‍वरको व्यवस्थापन योजनालाई अलमल्याउने र दुर्बल तुल्याउने दुष्ट कार्यहरू गरेको छ। तैपनि, परमेश्‍वरको अख्‍तियारमा, सबै थोक र जीवित प्राणीहरू परमेश्‍वरले तय गर्नुभएका नियम र व्यवस्थाहरूलाई नै निरन्तर पालना गर्छन्। परमेश्‍वरको अख्‍तियारको तुलनामा, शैतानको दुष्ट प्रकृति र उच्छृङ्खलता अत्यन्तै कुरूप, अत्यन्तै घिनलाग्दो र तुच्छ, र अत्यन्तै सानो र असहाय छ। शैतान परमेश्‍वरले सृष्टि गर्नुभएको सबै थोकको बीचमा हिँड्ने भए तापनि, परमेश्‍वरले हुकुम चलाउनुहुने मानिस, कामकुरा, र वस्तुहरूमा यसले अलिकति पनि परिवर्तन ल्याउन सक्दैन। हजारौँ वर्ष बितिसकेको छ, र मानवजातिले अझै पनि परमेश्‍वरले दिनुभएको ज्योति र हावाको आनन्द लिन्छ, परमेश्‍वर स्वयम्‌ले फुकिदिनुभएको सासद्वारा सास फेर्छ, परमेश्‍वरले सृष्टि गर्नुभएका फूल, चराचुरुङ्गी, माछा र कीरा-फट्याङ्ग्रामा रमाउँछ, र परमेश्‍वरले प्रदान गर्नुभएका सबै थोकमा आनन्द लिन्छ; दिन र रात अझै पनि आउने-जाने क्रम जारी छ; सधैँ झैँ चार ऋतु परिवर्तन भइरहन्छ; आकाशमा उड्ने हाँस शिशिरमा बिदा हुन्छन्, तैपनि अर्को वसन्तमा फर्कन्छन्; पानीमा बस्‍ने माछाले कहिल्यै पनि तिनीहरूको घर, अर्थात् खोलानाला र ताल-तलैयालाई छोड्दैन; ग्रीष्म याममा पृथ्वीका झ्याउँकिरीहरू आफ्‍नो हृदयबाट गीत गाउँछन्; शरद याममा घाँस-पातभित्रबाट किरकिर गर्ने फट्याङ्ग्रोले बताससँगै समय-समयमा मन्द स्वरमा गुनगुनाउँछ; पानी-हाँसहरू बथानमा भेला हुन्छन्, जबकी चीलहरू एकला-एकलै रहन्छन्; सिंहका समूहले सिकार खेलेर आफ्‍नो पेट पाल्छन्; बाह्रसिङ्गे मृग घाँस-पात र फूलहरूबाट टाढा जाँदैनन्…। सबै थोकका बीचमा रहेका हरेक प्रकारका जीवित प्राणी बिदा हुन्छन् र फर्कन्छन्, त्यसपछि फेरि बिदा हुन्छन्, आँखाको एक निमेषमा करोडौँ परिवर्तन भइरहन्छ—तर परिवर्तन नहुने भनेका तिनीहरूका प्राकृतिक गुण र अस्तित्व सम्‍बन्धी नियमहरू हुन्। ती परमेश्‍वरको बन्दोबस्‍त र पालनपोषणमा जिउँछन्, र कसैले पनि तिनीहरूको प्राकृतिक गुणलाई परिवर्तन गर्न सक्दैन, न त अस्तित्व सम्‍बन्धी तिनीहरूका नियमहरूलाई नै कसैले बिगार्न सक्छ। सबै थोकको बीचमा जिउने मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको र छल गरेको भए तापनि, परमेश्‍वरले बनाउनुभएको पानीलाई, र परमेश्‍वरले बनाउनुभएको हावालाई, अनि परमेश्‍वरले बनाउनुभएको सबै थोकलाई मानिसले अझै त्याग्‍न सक्दैन, र परमेश्‍वरले सृष्टि गर्नुभएको यो क्षेत्रमा नै मानिस अझै जिउँछ र वृद्धि हुन्छ। मानवजातिको प्राकृतिक गुण परिवर्तन भएको छैन। मानिसले अझै पनि हेर्नको लागि आफ्‍नो आँखा, सुन्‍नको लागि आफ्‍नो कान, विचार गर्नको लागि आफ्‍नो मस्तिष्क, बुझ्‍नको लागि उसको हृदय, हिँड्नको लागि आफ्‍ना हात-खुट्टा, काम गर्नका लागि आफ्‍ना हातमा भर पर्छ, र यस्तै इत्यादि; उसले परमेश्‍वरको बन्दोबस्‍तलाई स्वीकार गर्न सकोस् भनेर परमेश्‍वरले मानिसलाई दिनुभएका सबै प्राकृतिक गुणहरू अपरिवर्तित नै रहन्छन्, परमेश्‍वरसँग मानिसले जुन अङ्गहरूको प्रयोग गरी सहकार्य गर्छ ती परिवर्तन भएका छैनन्, सृष्टि गरिएको प्राणीको रूपमा रहेको कर्तव्य निभाउने मानवजातिको अङ्ग परिवर्तन भएको छैन, मानवजातिका आत्मिक खाँचोहरू परिवर्तन भएका छैनन्, आफ्‍नो व्युत्पत्ति पत्ता लगाउने मानवजातिको इच्‍छा परिवर्तन भएको छैन, सृष्टिकर्ताद्वारा मुक्ति पाउने मानवजातिको तृष्णा परिवर्तन भएको छैन। मानवजातिका वर्तमान परिस्‍थितिहरू यस्तै छन्, जो परमेश्‍वरको अख्‍तियारको अधीनमा जिउँछन्, र जसले शैतानद्वारा ल्याइएका खूनी विनाशलाई भोगेको छ। मानवजाति शैतानको दमनमा परेको छ, र ऊ उप्रान्त सृष्टिको प्रारम्‍भका आदम र हव्‍वा होइन, तर ज्ञान, कल्‍पना, धारणाहरू र यस्तै इत्यादि जस्ता परमेश्‍वरको विरोध गर्ने कुराहरूले भरिएको छ, र भ्रष्ट शैतानी स्वभावले भरिएको छ, तैपनि, परमेश्‍वरको नजरमा मानवजाति अझै पनि उहाँले सृष्टि गर्नुभएको त्यही मानवजाति नै हो। मानवजातिलाई अझै पनि परमेश्‍वरले शासन गर्नुहुन्छ र योजनाबद्ध गर्नुहुन्छ, र ऊ परमेश्‍वरले तय गर्नुभएको मार्गभित्रै अझै जिउँछ, त्यसकारण परमेश्‍वरको नजरमा, शैतानले भ्रष्ट पारेको मानवजाति भोको पेट, अलिक ढिलो प्रतिक्रिया, पहिलेजस्तो राम्रो स्मरणशक्ति नभएको, र अलिक बूढो अवस्थामा फोहोर-मैलाले ढाकिएको मात्रै छ—तर मानिसका सबै कार्यगत गुण र प्राकृतिक गुणहरूमा कुनै क्षति पुगेको छैन। परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्‍नुभएको मानवजाति यही नै हो। यो मानवजातिले सृष्टिकर्ताको बोलावटलाई सुन्‍ने, र सृष्टिकर्ताको आवाजलाई सुन्‍ने बाहेक केही पनि गर्नु पर्दैन, अनि ऊ खडा हुनेछ र यो आवाज कहाँबाट आयो त्यो पत्ता लगाउन हतार गर्नेछ। यो मानवजातिले सृष्टिकर्ताको रूपलाई हेर्ने बाहेक केही गर्नु पर्दैन, अनि उसले आफैलाई परमेश्‍वरमा समर्पित गर्नको लागि अरू कसैलाई सुन्‍नेछैन, र सबैलाई बिर्सनेछ, र उहाँको लागि आफ्‍नो जीवन समेत दिनेछ। जब मानवजातिका हृदयले सृष्टिकर्ताको हृदयविदारक वचनहरू बुझ्छ, मानवजाति शैतानलाई इन्कार गरेर सृष्टिकर्ताको पक्षमा आउनेछ; जब मानवजातिले आफ्‍नो शरीरबाट फोहोर-मैला पूर्ण रूपमा धोएको हुन्छ, र फेरि एक पटक सृष्टिकर्ताको बन्दोबस्‍त र पालनपोषण प्राप्त गरेको हुन्छ, मानवजातिको स्मरण फर्केको हुनेछ, र यस पटक मानवजाति सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा फर्केको हुनेछ।

डिसेम्‍बर १४, २०१३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्