परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने (भाग पाँच)

मानिसहरूको नियतिलाई परमेश्‍वरप्रतिको तिनीहरूको आचरणले निर्धारण गर्छ

परमेश्‍वर जीवित परमेश्‍वर हुनुहुन्छ, र मानिसहरूले फरक-फरक परिस्थितिहरूमा फरक-फरक व्यवहार गर्दा ती व्यवहारहरूप्रति उहाँको आचरण पनि फरक-फरक नै हुन्छ किनभने न त उहाँ कठपुतली नै हुनुहुन्छ न त उहाँ रित्तो हावाको झोक्का नै हुनुहुन्छ। परमेश्‍वरको मनोवृत्तिको बारेमा जान्नु मानवजातिको लागि मूल्यवान् खोजी हो। मानिसहरूले परमेश्‍वरको आचरणको बारेमा जानेर कसरी अलिअलि गर्दै परमेश्‍वरको स्वभावको ज्ञान प्राप्त गर्न र उहाँको हृदयलाई बुझ्न सक्छन् भन्ने कुरा सिक्नुपर्छ। जब तैँले क्रमिक रूपमा परमेश्‍वरको हृदयलाई बुझ्न थाल्छस् तब तैँले उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने उपलब्धि प्राप्त गर्नु धेरै गाह्रो कुरा हो भन्ने महसुस गर्नेछैनस्। अझ भन्ने हो भने, जब तैँले परमेश्‍वरलाई बुझ्छस् तब तैँले उहाँको बारेमा निष्कर्ष निकालिहाल्ने सम्भावना कम हुनेछ। जब तैँले उहाँको बारेमा निष्कर्ष निकालिहाल्ने काम बन्द गर्नेछस्, तब तैँले उहाँलाई ठेस पुर्‍याउने सम्भावना कम हुनेछ, अनि तैँले महसुस नै नगरीकन उहाँले तँलाई उहाँको बारेमा ज्ञान प्राप्त गर्नेतर्फ डोर्‍याउनुहुनेछ; यसले तेरो हृदयलाई उहाँप्रतिको श्रद्धाले भरिदिनेछ। त्यसपछि तैँले आफूले ज्ञान हासिल गरेका धर्मसिद्धान्तहरू, शाब्दिक अर्थहरू र सिद्धान्तहरूद्वारा परमेश्‍वरलाई परिभाषित गर्न छाड्नेछस्। यसको सट्टा, निरन्तर रूपमा सबै थोकमा परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्दै, तँ अचेतन रूपमै परमेश्‍वरको हृदय अनुरूपको व्यक्ति बन्नेछस्।

परमेश्‍वरको कामलाई मानिसहरूद्वारा देख्न र छुन सकिँदैन, तर जहाँसम्म उहाँको सवाल छ, हरेक व्यक्तिका कार्यहरूलाई—साथै उहाँप्रतिको तिनीहरूको आचरणलाई—परमेश्‍वरले महसुस मात्र गर्न सक्नुहुन्न बरु उहाँले तिनलाई देख्न समेत सक्नुहुन्छ। यो हरेकले पहिचान गर्नुपर्ने र स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। तैँले आफूलाई सधैँ सोधिराखेको हुन सक्छस्, “के यहाँ मैले जे गरिरहेको छु सो परमेश्‍वरलाई थाहा छ? के मैले अहिले जे सोचिरहेको छु सो उहाँलाई थाहा छ? शायद उहाँलाई थाहा छ, शायद उहाँलाई थाहा छैन।” यदि तैँले परमेश्‍वरलाई पछ्याउँदै र परमेश्‍वरमा विश्‍वास गर्दै तर उहाँको काम र उहाँको अस्तित्वको बारेमा शङ्का गर्दै यस प्रकारको दृष्टिकोण अपनाउँछस् भने ढिलो-चाँडो यस्तो दिन आउनेछ जुन दिन तैँले उहाँलाई रिस उठाउनेछस्, किनकि तँ अघिदेखि नै डरलाग्दो भीरको छेउमा हिँडिरहेको हुन्छस्। मैले धेरैलाई देखेको छु जो वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन् तैपनि तिनीहरूले सत्यताको वास्तविकतालाई हासिल गरेका छैनन्, तिनीहरूले परमेश्‍वरको इच्छालाई बुझ्ने कुरा त परै जाओस्। यस्ता मानिसहरूले आफ्नो जीवन र कदमा कुनै प्रगति गर्दैनन् र तिनीहरूले केवल सबैभन्दा सतही धार्मिक सिद्धान्तहरूलाई मात्र पालन गर्छन्। यस्तो हुन्छ किनभने त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू आफै जीवन हुन् भनेर कहिल्यै पनि मानेका हुँदैनन् र तिनीहरूले उहाँको अस्तित्वलाई कहिल्यै पनि सामना गरेका र स्वीकार गरेका हुँदैनन्। के तँ ठान्छस् त्यस्ता मानिसहरूलाई देख्दा परमेश्‍वर खुशीले गद-गद बन्‍नुहुन्छ? के तिनीहरूले उहाँलाई सान्त्वना दिन्छन्? यसरी मानिसहरूले परमेश्‍वरमा जे-जसरी विश्‍वास गर्छन् त्यसले तिनीहरूको नियतिलाई निर्धारण गर्छ। मानिसहरूले कसरी परमेश्‍वरको खोजी गर्छन् र तिनीहरू कसरी परमेश्‍वरकहाँ जान्छन् भन्ने विषयमा, मानिसहरूका आचरण प्राथमिक महत्त्वका हुन्छन्। परमेश्‍वरलाई उहाँ केवल तेरो टाउकोको पछाडि उडिरहने रित्तो हावाको पोको हो जस्तै गरेर बेवास्ता नगर्नू; तैँले विश्‍वास गर्ने परमेश्‍वरलाई सधैँ जीवित परमेश्‍वर, एक वास्तविक परमेश्‍वरको रूपमा सोच्नू। उहाँ माथि तेस्रो स्वर्गमा केही काम नभएर त्यत्तिकै बसेर समय बिताउँदै हुनुहुन्न। बरु, उहाँले त निरन्तर रूपमा हरेक व्यक्तिको हृदयभित्र हेरिरहनुभएको छ, तिमीहरू के गर्न लागेका छौ भनी अवलोकन गरिरहनुभएको छ, तिमीहरूका सानाभन्दा साना हरेक शब्द अनि सानाभन्दा साना हरेक कर्मलाई नियालिरहनुभएको छ, तैँले कसरी व्यवहार गर्छस् भनी नियालिरहनुभएको छ र उहाँप्रति तेरो मनोवृत्ति कस्तो छ भनी हेरिरहनुभएको छ। तँ आफूले आफूलाई परमेश्‍वरसमक्ष समर्पित गर्न इच्छुक भए पनि नभए पनि तेरा सबै व्यवहारहरू र तेरा भित्री सोचहरू र विचारहरू उहाँ समक्ष उदाङ्गो हुन्छन् र उहाँद्वारा हेरिएका हुन्छन्। तेरो व्यवहारको कारण, तेरा कर्महरूको कारण र उहाँप्रतिको तेरो आचरणको कारण, तेरो बारेमा परमेश्‍वरको राय र तँप्रतिको उहाँको आचरण निरन्तर परिवर्तन भइरहेको हुन्छ। म केही मानिसहरूलाई केही सल्लाह दिन चाहन्छु: उहाँ तँमा आशक्त हुनुपर्छ झैँ गरी, उहाँले तँलाई कहिल्यै छाड्न सक्नुहुन्न झैँ गरी, अनि तँप्रतिको उहाँको आचरण अटल रहेको र त्यो कहिल्यै परिवर्तन नै हुँदैन झैँ गरी, परमेश्‍वरको हातमा आफूलाई शिशु झैँ नराख्, अनि म तिमीहरूलाई सपना देख्न छोड्नू भनेर पनि सल्लाह दिन्छु। हरेक व्यक्तिप्रति व्यवहार गर्ने कुरामा परमेश्‍वर धर्मी हुनुहुन्छ, मानिसहरूलाई जित्ने र मुक्ति दिने कामको बारेको उहाँको विधिमा उहाँ इमान्दार हुनुहुन्छ। यो उहाँको व्यवस्थापन हो। उहाँले हरेक व्यक्तिलाई गम्भीरताका साथ व्यवहार गर्नुहुन्छ, उहाँले खेलाइने पाल्तु जन्तुलाई जस्तो व्यवहार गर्नुहुन्न। मानवप्रतिको परमेश्‍वरको प्रेम पुलपुलाउने वा बिगार्ने किसिमको हुँदैन, न त मानवजातिप्रतिको उहाँको कृपा र सहनशीलता नै आशक्तिपनयुक्त र अविवेकपूर्ण हुन्छन्। यसको विपरीत, मानवप्रतिको परमेश्‍वरको प्रेममा जीवनलाई चाहने, दया गर्ने र आदर गर्ने कुराहरू पर्छन्; उहाँको कृपा र सहनशीलताले तिनीहरूप्रतिको उहाँका अपेक्षाहरू व्यक्त गर्छन् र तिनीहरू मानवजातिलाई बाँच्नको लागि आवश्यक पर्ने कुराहरू हुन्। परमेश्‍वर जीवित हुनुहुन्छ र परमेश्‍वर वास्तविक रूपमै अस्तित्वमा हुनुहुन्छ; मानवजातिप्रतिको उहाँको आचरण सिद्धान्तमा आधारित छ, यो बिलकुलै पनि कट्टरपन्थी नियमहरूको सँगालो होइन, र यो परिवर्तन हुन सक्छ। मानवजातिप्रतिको उहाँका आशयहरू तिनीहरू उत्पन्न हुने परिस्थितिमा आधारित भएर अनि हरेक व्यक्तिको आचरण परिवर्तनसँगै क्रमिक रूपले परिवर्तन हुँदैछन् र समयसँगै रूपान्तरित हुँदैछन्। त्यसकारण, तैँले तेरो हृदयमा सम्पूर्ण स्पष्टताका साथ थाहा पाउनुपर्छ कि परमेश्‍वरको सार अपरिवर्तनीय छ, र उहाँको स्वभाव विभिन्न समयहरू र विभिन्न परिप्रेक्ष्यहरूमा बाहिर निस्कन्छ। तैँले यो कुरालाई गम्भीर कुरा हो भन्ने नठान्न सक्छस् र तैँले परमेश्‍वरले कसरी विभिन्न कुराहरू गर्नुहुन्छ भन्ने कुरा कल्पना गर्न आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्न सक्छस्। तथापि, केही समयहरू यस्ता हुन्छन् जुन बेला तेरो दृष्टिकोणको विपरीत ध्रुव चाहिँ सत्य हुन्छ र परमेश्‍वरलाई मापन गर्ने प्रयासमा तैँले तेरा आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्दै परमेश्‍वरलाई क्रोधित पारिसकेको हुन्छस्। यस्तो हुन्छ किनभने परमेश्‍वर तैँले सोचेको जस्तो गरी सञ्चालित हुनुहुन्न, न त तैँले भने जस्तो गरी नै उहाँले विभिन्न कुराहरूप्रति व्यवहार गर्नुहुन्छ। तसर्थ, म तँलाई तेरो वरिपरिका हरेक कुराहरू सामना गर्ने तरिकामा तँ सावधान र विवेकी हुनू अनि सबै कुराहरूमा परमेश्‍वरको मार्गमा हिँड्ने सिद्धान्त अर्थात् परमेश्‍वरको डर मान्ने अनि दुष्टताबाट अलग रहने सिद्धान्तको अनुसरण गर्न सिक्नू भनी स्मरण गराउँछु। तैँले परमेश्‍वरको इच्छा र परमेश्‍वरको आचरण सम्बन्धी कुराहरूको बारेमा दरिलो बुझाइ विकास गर्नुपर्छ, तैँले यी कुराहरू तँलाई सुनाउने अन्तर्ज्ञान पाएका मानिसहरू भेट्टाउनुपर्छ, र तैँले इमानदारीतापूर्वक खोजी गर्नुपर्छ। मनलाग्दो गरी उहाँको मूल्याङ्कन गर्दै, मनोमानी ढङ्गले उहाँका बारेमा निष्कर्षहरू निकाल्दै र उहाँले पाउनुपर्ने सम्मान नदिई उहाँप्रति व्यवहार गर्दै—तेरो विश्‍वासको परमेश्‍वरलाई कठपुतलीको रूपमा नहेर्नू। परमेश्‍वरले तेरो लागि मुक्ति ल्याउँदै गर्दा र उहाँले तेरो परिणाम निर्धारण गर्दै गर्दा, उहाँले तँलाई कृपा, वा सहनशीलता, वा न्याय र सजाय प्रदान गर्न सक्नुहुन्छ, तर जुनसुकै अवस्था भए पनि, तँप्रतिको उहाँको मनोवृत्ति अपरिवर्तनीय हुँदैन। यो कुरा उहाँप्रतिको तेरो आफ्नै आचरणको साथसाथै उहाँको बारेमा तेरो बुझाइमा निर्भर हुन्छ। परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान वा बुझाइको एक पक्षको आधारमा सधैँको लागि उहाँको परिभाषा नगर्। मृतक परमेश्‍वरमा विश्‍वास नगर्; जीवित परमेश्‍वरमा विश्‍वास गर्। यो कुरा सम्झी! मैले यहाँ केही सत्यताहरूका बारेमा—तिमीहरूले सुन्न आवश्यक रहेका सत्यताहरूका बारेमा—बताएको भए तापनि तिमीहरूको वर्तमान स्थिति र वर्तमान कदको परिप्रेक्ष्यमा, तिमीहरूको उत्साहलाई नमार्नका खातिर म हालको लागि तिमीहरूलाई ठूला सर्तहरू राख्दिनँ। त्यसो गर्नाले तिमीहरूको हृदय उदासपनले भरिनेछ र तिमीहरूले परमेश्‍वरप्रति अत्यन्तै निराश अनुभव गर्नेछौ। यसको सट्टामा, म आशा गर्छु, तिमीहरूले भविष्यमा आउने बाटो हिँड्दा तिमीहरूको हृदयमा भएको परमेश्‍वरप्रतिको प्रेम र परमेश्‍वरप्रतिको आदरपूर्ण आचरणलाई प्रयोग गर्न सक्नेछौ। परमेश्‍वरमा कसरी विश्‍वास गर्ने भन्ने मामलामा उल्झनमा नपर; यसलाई सबैभन्दा ठूला सवालहरूमध्ये एकको रूपमा लेओ। यसलाई आफ्नो हृदयमा राख, यसलाई अभ्यास गर र यसलाई वास्तविक जीवनसँग जोड; केवल ओठे सेवा मात्र नगर—किनभने यो मामला भनेको जीवन र मृत्युको मामला हो र त्यस्तो मामला हो जसले तेरो गन्तव्य निर्धारण गर्छ। यसलाई हँसी-मजाक वा बच्चाको खेलौनाको रूपमा नलेओ! मैले आज यी वचनहरू तिमीहरूसँग बाँडेपछि, तिमीहरूका मस्तिष्कले कतिको बुझाइ प्राप्त गरेका छन् भनी म आफै सोचिरहेको छु। आज मैले जे कुरा भनेँ सोबारेमा के तिमीहरूलाई सोध्न मन लागेका कुनै प्रश्‍नहरू छन्?

यी विषयहरू अलि नयाँ छन् र तिमीहरूका दृष्टिकोणहरू, तिमीहरूका सामान्य खोजीहरू र तिमीहरूले प्राय ध्यान दिने कुराहरूभन्दा अलि फरक भए तापनि, मलाई लाग्छ एकपल्ट केही समयको लागि तिमीहरूले तिनलाई सङ्गति गरिसकेपछि तिमीहरूले यहाँ मैले भनेका सबै कुराहरूको बारेमा आम बुझाइ प्राप्त गर्नेछौ। यी विषयहरू सबै नै धेरै नयाँ र तिमीहरूले पहिले कहिल्यै नसोचेका छन्, त्यसैले म आशा गर्छु कि तिनले कुनै पनि प्रकारले तिमीहरूको बोझलाई बढाउनेछैन। मैले आज तिमीहरूलाई डर देखाउनको लागि यी वचनहरू बोलिरहेको छैन, न त मैले तिमीहरूसँग काम-कार्यवाही गर्ने तरिकाको रूपमा नै तिनको प्रयोग गरिरहेको छु; बरु मेरो उद्देश्य त तिमीहरूलाई सत्यतासम्बन्धी वास्तविक तथ्यहरू बुझ्न मद्दत गर्नु हो। मानवजाति र परमेश्‍वरको बीचमा दरार विद्यमान रहेकोले, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, तिनीहरूले कहिल्यै पनि उहाँलाई बुझेका छैनन् वा उहाँको आचरणलाई चिनेका छैनन्। परमेश्‍वरको आचरणको बारेमा मानिसहरू आफ्ना सरोकारमा पनि कहिल्यै त्यति धेरै उत्साहित भएका छैनन्। बरु, तिनीहरूले त अन्धो भई विश्‍वास गर्दै अघि बढेका छन् र तिनीहरू परमेश्‍वरबारे तिनीहरूको ज्ञान र बुझाइमा लापरवाह रहेका छन्। त्यसकारण, तिमीहरूको लागि यी मामलाहरू स्पष्ट पार्न र तिमीहरूले विश्‍वास गरेका परमेश्‍वर कस्तो प्रकारको परमेश्‍वर हुनुहुन्छ साथै उहाँले के सोच्दै हुनुहुन्छ, विभिन्न प्रकारका मानिसहरूलाई व्यवहार गर्ने सम्बन्धमा उहाँको आचरण कस्तो हुन्छ, तिमीहरू उहाँका आवश्यक मापदण्डहरू पूरा गर्नबाट कति टाढा रहेका छौ, र तिमीहरूका कार्यहरू र उहाँले सर्त गर्नुभएका मापदण्डहरू बीचमा कति ठूलो भिन्नता रहेको छ भन्ने कुरा बुझ्न मद्दत गर्न म बाध्य भएको महसुस गर्छु। तिमीहरूलाई यी कुराहरूको जानकारी दिनुको लक्ष्य भनेको तिमीहरूलाई आफूले आफैलाई मापन गर्नको लागि नाप्ने गज दिनु हो ताकि तिमीहरूले तिमीहरू जुन बाटोमा छौ त्यो बाटोले कस्ता प्रकारका प्रतिफल निम्त्याएको छ, त्यो बाटोमा तिमीहरूले के कुरा प्राप्त गर्न सकेका छैनौ र कुन क्षेत्रमा तिमीहरूले संलग्नता जनाएकै छैनौ सो कुरा थाहा पाउनेछौ। तिमीहरूले तिमीहरूमाझ कुराकानी गर्दा प्रायः केही आम रूपमा छलफल गरिने विषयहरूको बारेमा कुरा गर्छौ जुन क्षेत्रको हिसाबमा एकदमै सङ्कुचित र विषयवस्तुको हिसाबमा एकदमै सतही हुन्छन्। तिमीहरूले छलफल गर्ने कुरा र परमेश्‍वरका अभिप्रायहरूको बीचमा साथसाथै तिमीहरूका छलफलहरू र परमेश्‍वरका सर्तका क्षेत्र र मापदण्डहरू बीचमा दूरी, दरार छ। यसरी अघि बढ्दा, समयसँगै तिमीहरू परमेश्‍वरको मार्गबाट बरालिएर धेरै टाढा पुग्ने हुनसक्छ। तिमीहरूले केवल परमेश्‍वरका वर्तमान वाणीहरूलाई लिएर तिनलाई आराधनाका थोकहरू बनाउँदैछौ र तिनलाई धार्मिक विधि र नियमहरूको रूपमा हेर्दैछौ। तिमीहरूले गरिरहेको सबै यही हो! वास्तविक तथ्यमा, परमेश्‍वरको लागि तिमीहरूको हृदयमा कुनै स्थान नै छैन र उहाँले कहिल्यै पनि तिमीहरूको हृदय साँचो रूपमा प्राप्त गर्नुभएको छैन। केही मानिसहरूले सोच्छन्, परमेश्‍वरलाई चिन्नु एकदमै गाह्रो छ र यही नै सत्यता हो। यो गाह्रो छ! यदि मानिसहरूलाई बाह्य रूपमा तिनीहरूको कर्तव्य निर्वाह गर्न र काम पूरा गर्न, र कठिन परिश्रम गर्न लगाइयो भने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न एकदमै सजिलो हुन्छ भन्ने ठान्नेछन् किनभने ती सबै कुराहरू मानव क्षमताको क्षेत्रभित्र पर्छन्। तथापि, जब परमेश्‍वरका अभिप्रायहरू र मानवजातिप्रति उहाँको आचरणतर्फ विषय परिवर्तन हुन्छ, तब हरेक व्यक्तिको दृष्टिकोणमा परिस्थिति अलि अप्ठ्यारो बन्छ। किनभने यसमा सत्यताबारे मानिसहरूको बुझाइ र वास्तविकतामा तिनीहरूको प्रवेश संलग्न हुन्छ, त्यसैले अवश्य पनि त्यसमा केही हदसम्म अप्ठ्यारो त हुन्छ नै! तैपनि, तँ पहिलो ढोकाबाट छिरिसकेपछि र तैले प्रवेश प्राप्त गर्न सुरु भएपछि, परिस्थिति क्रमिक रूपमा अलि सहज हुँदै जान्छ।

परमेश्‍वरको डर मान्ने कार्यको सुरुवात बिन्दु भनेको उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नु हो

केही क्षणअघि, कसैले एउटा प्रश्‍न उठायो: हामीले परमेश्‍वरको बारेमा अय्यूबभन्दा बढी जाने पनि, हामीले अझै उहाँलाई कसरी आदर गर्न सक्दैनौँ? हामीले यो मामलाको बारेमा पहिले नै अलिअलि कुरा गरिसक्यौँ, गरेनौँ त? हामीले वास्तवमा यो प्रश्‍नको सारको बारेमा पहिले पनि छलफल गरिसकेका छौँ जुन अय्यूबले त्यति बेला परमेश्‍वरको बारेमा जानेका नभए पनि तिनले अझै उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्थे र उहाँलाई स्वर्ग र पृथ्वी अनि सब थोकको मालिकको रूपमा लिन्थे भन्ने तथ्य हो। अय्यूबले परमेश्‍वरलाई शत्रु मान्दैनथे; बरु तिनले उहाँलाई सबै थोकको सृष्टिकर्ताको रूपमा आराधना गर्थे। आजभोलि किन मानिसहरूले परमेश्‍वरको यति धेरै प्रतिरोध गर्छन् त? किन तिनीहरू उहाँलाई आदर गर्न असक्षम छन् त? एउटा कारणचाहिँ तिनीहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन् र त्यस्तो गहन रूपमा जरा गाडेको शैतानी प्रकृतिको कारण तिनीहरू परमेश्‍वरको शत्रु बनेका छन्। यसरी, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि र परमेश्‍वरलाई स्वीकार गरे तापनि, तिनीहरूले अझै पनि परमेश्‍वरको प्रतिरोध गर्न सकेका हुन् र तिनीहरूले आफैलाई उहाँको विपक्षमा उभ्याउन सकेका हुन्। यो कुरा मानव प्रकृतिद्वारा निर्धारित हुन्छ। अर्को कारणचाहिँ तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्दै नगर्नु हो। यसको साटो, तिनीहरूले उहाँलाई मानवताको विरुद्धमा हुनुभएको मान्छन्, उहाँलाई तिनीहरूको शत्रुको रूपमा लिन्छन्, र तिनीहरूले आफूलाई परमेश्‍वरसँग मेलमिलापमा रहनै नसक्ने भएको ठान्छन्। यो कुरा त्यति सरल छ। के यो मामलालाई अघिल्लो सत्रमा छलफल गरिएको थिएन र? यसबारेमा सोच त: के कारण त्यही होइन र? तँमा परमेश्‍वरको बारेमा केही ज्ञान हुन सक्छ, तर यो ज्ञानमा के कुराहरू समावेश छन् त? के हरेक व्यक्तिले कुरा गरिरहेको मामला यही होइन र? के परमेश्‍वरले तँलाई भन्‍नुभएको यही होइन र? तँ यसको सैद्धान्तिक र धर्मसैद्धान्तिक पक्षहरूको बारेमा मात्र परिचित छस्—तर के तैँले कहिल्यै परमेश्‍वरको साँचो रूपको सराहना गरेको छस् त? के तँसँग आत्मपरक ज्ञान छ त? के तँसँग व्यावहारिक ज्ञान र अनुभव छ त? यदि परमेश्‍वरले तँलाई नबताउनुभएको भए, के तँलाई थाहा हुन्थ्यो त? तेरो सैद्धान्तिक ज्ञानले वास्तविक ज्ञानको प्रतिनिधित्व गर्दैन। संक्षिप्त रूपमा, तैँले यसलाई जति नै जाने तापनि वा तैँले जसरी यसलाई जानेको भए तापनि, तैँले परमेश्‍वरको वास्तविक ज्ञान हासिल नगरुञ्जेलसम्म, उहाँ तेरो शत्रु नै हुनुहुनेछ, र तैँले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सुरु नगरुञ्जेलसम्म, उहाँले तेरो विरोध नै गर्नुहुनेछ किनभने तँ शैतानको प्रतिमूर्ति होस्।

जब तँ ख्रीष्टसँगै हुन्छस्, तब सायद तैँले उहाँलाई प्रतिदिन तीन पटक खाना दिन सक्छस् होला वा सायद उहाँलाई चिया दिन र उहाँको जीवनका आवश्यकताहरूको ख्याल गर्न सक्छस् होला; तैँले ख्रीष्टलाई परमेश्‍वरको रूपमा व्यवहार गरेको जस्तो देखिनेछ। जब कुनै घटना घट्छ, तब मानिसहरूका दृष्टिकोणहरू सधैँ नै परमेश्‍वरको दृष्टिकोणको विरुद्ध हुन्छन्; मानिसहरू सधैँ नै परमेश्‍वरको दृष्टिकोणलाई बुझ्न र स्वीकार गर्न असफल हुन्छन्। तिनीहरू सतही रूपमा परमेश्‍वरसँग मिल्‍ने देखिए तापनि, यसको मतलब तिनीहरू उहाँको अनुरूप रहेका छन् भन्ने हुँदैन। केही घटना घट्नेबित्तिकै, मानवजातिको अवज्ञाको सत्यता बाहिर निस्किहाल्छ र यसरी मानिसहरू र परमेश्‍वरको बीचमा रहेको शत्रुता पुष्टि हुन्छ। यो शत्रुता परमेश्‍वरले मानिसहरूको विरोध गर्नुहुने शत्रुता होइन वा परमेश्‍वर तिनीहरूको शत्रु बन्न चाहनुभएको कुरा होइन, न त यो उहाँले तिनीहरूलाई उहाँको विपक्षमा उभ्याउनुभएको र तिनीहरूलाई सोही अनुरूप व्यवहार गर्नुभएको कुरा हो। बरु, यो त मानिसहरूको आत्मगत इच्छा र तिनीहरूको अर्धचेतन मस्तिष्कमा लुकेको परमेश्‍वरप्रतिको विरोधी सारको अवस्था हो। मानिसहरूले परमेश्‍वरबाट आउने सबै थोकलाई तिनीहरूको खोज अनुसन्धानको वस्तुहरूको रूपमा लिने भएकोले, परमेश्‍वरबाट आउने सबै थोक र परमेश्‍वरसँग सम्बन्धित हरेक कुराप्रति तिनीहरूको सर्वोपरि प्रतिक्रिया भनेको अनुमान गर्नु, शङ्का गर्नु र परमेश्‍वरसँग द्वन्द्व गर्ने र उहाँको विरोध गर्ने आचरणलाई चाँडो-चाँडो अपनाउनु हो। त्यसपछि चाँडै नै, तिनीहरूले नकारात्मक मनस्थितिलाई परमेश्‍वरसँग विवाद वा प्रतिस्पर्धा गर्न लैजान्छन् र तिनीहरू त्यस्ता परमेश्‍वर पछ्याउन लायक छन् कि छैनन् भनेर शङ्का गर्ने हदसम्म पुग्छन्। तिनीहरूको तर्क-चेतनाले तिनीहरूलाई यस्तो शैलीमा अघि बढ्नु हुँदैन भनेर भने पनि, तिनीहरूले त्यसो गर्ने योजना नहुँदा नहुँदै पनि अझै त्यसो गर्ने विकल्प नै रोज्नेछन् र तिनीहरूले कुनै हिचकिचाहटविना अन्त्यसम्म नै त्यसो गर्न जारी राख्नेछन्। उदाहरणको लागि, जब केही मानिसहरूले परमेश्‍वरको बारेमा अफवाह वा निन्दात्मक कुराहरू सुन्छन्, तब तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ त? तिनीहरूको पहिलो प्रतिक्रिया भनेको यी अफवाहहरू साँचो हुन् कि होइनन् र यी अफवाहहरू विद्यमान छन् कि छैनन् भनी सोच्नु र त्यसपछि पर्ख-र-हेरको मनोवृत्ति अपनाउनु हो। त्यसपछि तिनीहरू सोच्न थाल्छन्, “यो कुरालाई पुष्टि गर्ने उपाय नै छैन। के त्यो साँच्चै नै भएकै थियो त? यो अफवाह साँचो हो कि होइन?” यस्ता मानिसहरूले सतही रूपमा यस्तो कुरा नदेखाए तापनि, तिनीहरूले आफ्नो हृदयमा अघि नै शङ्का गर्न थालिसकेका हुन्छन्, र अघि नै परमेश्‍वरलाई इन्कार गर्न थालिसकेका हुन्छन्। यस प्रकारको आचरण र त्यस्तो दृष्टिकोणको सार के हो त? के यो धोका होइन र? तिनीहरूले यो मामलाको सामना नगरुञ्जेलसम्म, तैँले यी मानिसहरूको दृष्टिकोण कस्तो रहेछ भनी देख्‍न सक्दैनस्; तिनीहरू परमेश्‍वरको विपरीत छन् भन्ने देखिँदैनन् र तिनीहरूले परमेश्‍वरलाई दुस्मनको रूपमा लिन्छन् जस्तो लाग्दैन। तथापि, तिनीहरूले कुनै समस्या सामना गर्नेबित्तिकै, तिनीहरू तुरुन्तै शैतानको साथमा उभिन्छन् र परमेश्‍वरको विरोध गर्छन्। यसले के कुरा सङ्केत गर्छ त? यसले मानिसहरू र परमेश्‍वर परस्पर विरोधी छन् भन्ने सङ्केत गर्छ। परमेश्‍वरले मानवजातिलाई दुस्मनको रूपमा लिनुहुन्छ भन्ने होइन, बरु यो त मानवताको सार आफै परमेश्‍वरको विरुद्धमा छ भन्ने हो। कुनै व्यक्तिले उहाँलाई जति नै लामो समयसम्म पछ्याएको नै किन नहोस् वा तिनीहरूले जति ठूलो मूल्य तिरेको नै किन नहोस् र तिनीहरूले जस्तोसुकै प्रकारले परमेश्‍वरको प्रशंसा गरेका भए पनि, तिनीहरूले उहाँको प्रतिरोध गर्नबाट आफूलाई जे-जसरी रोकेको भए पनि र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न भनी जति नै जोडसँग आफूले आफैलाई आग्रह गरेको भए पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्दैनन्। के यो कुरा मानिसहरूको सारद्वारा निर्धारण हुँदैन र? यदि तैँले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्छस् र उहाँ नै परमेश्‍वर हुनुहुन्छ भनी साँचो रूपमा विश्‍वास गर्छस् भने, के तैँले उहाँप्रति अझै कुनै शङ्का गर्न सक्छस्? के तेरो हृदयले अझै उहाँको बारेमा प्रश्न चिन्ह खडा गर्न सक्छ? त्यस्तो कहिल्यै हुन सक्दैन, होइन र? यो संसारका प्रवृत्तिहरू एकदमै दुष्ट छन्, र यो मानवजाति पनि दुष्ट नै छ; त्यसैले, तँमा कसरी तिनीहरूको बारेमा कुनै धारणाहरू नहुन सक्छ त? तँ आफै नै त्यति दुष्ट छस्, त्यसैले तँमा कसरी त्यसको बारेमा कुनै धारणा छैन त? तर पनि, केही अफवाहहरू र केही निन्दाले परमेश्‍वरको बारेमा त्यस्ता विशाल धारणाहरू पैदा गर्न सक्छ र तँलाई यति धेरै कुराहरू कल्पना गर्ने तुल्याउँछ, जसले कदमा तँ कति अपरिपक्व छस् भन्ने देखाउँछ! केवल केही लामखुट्टेहरू र केही घिनलाग्दा झिँगोहरूको “भुनभुन” नै तँलाई छल गर्नको लागि काफी हुन्छ त? यो कस्तो प्रकारको व्यक्ति हो? यस्ता मानिसहरूको बारेमा परमेश्‍वरले के सोच्नुहुन्छ, तँलाई थाहा छ? परमेश्‍वरले तिनीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने बारेमा उहाँको आचरण वास्तवमा एकदमै स्पष्ट छ। यस्ता मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने व्यवहार भनेको तिनीहरूलाई जानाजान बेवास्ता गर्नु हो—उहाँको आचरण तिनीहरूलाई ध्यान दिनु होइन तर यी अज्ञानी मानिसहरूलाई गम्भीर रूपमा नलिनु हो। किन त्यस्तो हुन्छ त? किनभने उहाँको हृदयमा, परमेश्‍वरले उहाँसँग अन्त्यसम्म नै शत्रुवत रूपमा रहने कसम खाएका र उहाँसँग सामञ्जस्य हुने मार्गको खोजी गर्ने कहिल्यै योजना नगरेका यी व्यक्तिहरूलाई प्राप्त गर्ने योजना कहिल्यै पनि बनाउनुभएन। सायद मैले बोलेका यी वचनहरूले केही मानिसहरूलाई चोट पुर्‍यायो होला। तर, के मलाई तिमीहरूले यसरी नै तिमीहरूलाई चोट पुर्‍याउन दिन सधैँ इच्छुक हुन्छौ? तिमीहरू इच्छुक भए पनि नभए पनि, मैले भनेका हरेक कुराहरू सत्यता हुन्। यदि मैले सधैँ यसरी नै तिमीहरूलाई चोट पुर्‍याएँ र तिमीहरूका खतहरू उदाङ्गो पारिदिएँ भने, के यसले तिमीहरूले आफ्नो हृदयमा राखेको परमेश्‍वरको उच्च प्रतिरूपमा असर गर्नेछ? (यसले असर गर्नेछैन।) म सहमत छु, यसले असर गर्नेछैन, किनभने तिमीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्न। तिमीहरूको हृदयमा बसेको उच्च परमेश्‍वर—तिमीहरूले दह्रिलो गरी रक्षा र संरक्षण गर्ने परमेश्‍वर—परमेश्‍वर हुँदै होइन। बरु, ऊ त मानव कल्पनाद्वारा कल्पित कुरा हो; ऊ त अस्तित्वमा नै छैन। त्यसकारण, मैले यो प्रहेलिकाको जवाफ खुलासा गर्नु राम्रो हुन्छ; के यसले सम्पूर्ण सत्यता उदाङ्गो पार्दैन र? साँचो परमेश्‍वर त मानिसहरूले उहाँ यस्तो हुनुहुन्छ भनी कल्पना गरेझैँ हुनुहुन्न। म आशा गर्छु, तिमीहरू सबैले यो सत्यतालाई सामना गर्न सक्छौ र यसले परमेश्‍वरबारे तिमीहरूको ज्ञानमा सहयोग गर्छ।

परमेश्‍वरद्वारा स्वीकार नगरिएका व्यक्तिहरू

केही यस्ता मानिसहरू छन् जसको विश्‍वासलाई परमेश्‍वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन। अर्को शब्दमा भन्ने हो भने, परमेश्‍वरले तिनीहरूलाई उहाँलाई पछ्याउनेहरूको रूपमा पहिचान गर्नुहुन्न, किनभने उहाँले तिनीहरूका विश्‍वासको निम्ति तिनीहरूलाई स्याबासी दिनुहुन्न। यी मानिसहरूको सवालमा, तिनीहरूले परमेश्‍वरलाई जति नै धेरै वर्ष पछ्याएको भए तापनि, तिनीहरूका विचार र दृष्टिकोणहरू कहिल्यै परिवर्तन भएका हुँदैनन्; तिनीहरू अविश्‍वासीहरूका सिद्धान्तहरू र काम गर्ने तौरतरिकाहरूलाई अनि अविश्‍वासीहरूको अस्तित्व र विश्‍वास सम्बन्धी कानुनहरूलाई पालना गर्ने अविश्‍वासीहरू जस्ता हुन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको वचनलाई आफ्‍नो जीवनको रूपमा लिएका छैनन्, कहिल्यै पनि परमेश्‍वरको वचनलाई सत्यताको रूपमा विश्‍वास गरेका छैनन्, कहिल्यै पनि परमेश्‍वरबाट मुक्ति स्वीकार गर्न चाहेका छैनन्, र कहिल्यै पनि परमेश्‍वरलाई तिनीहरूको परमेश्‍वरको रूपमा पहिचान गरेका छैनन्। तिनीहरूले उहाँलाई केवल आत्मिक जीवन-आधारको रूपमा लिँदै परमेश्‍वरमाथिको विश्‍वासलाई कुनै प्रकारको अव्यवसायी सोखको रूपमा हेर्छन्; त्यसैले तिनीहरूले परमेश्‍वरको स्वभाव वा सारलाई प्रयास गरेर बुझ्‍न लायक कुरो नै सम्झँदैनन्। साँचो परमेश्‍वरसँग सम्‍बन्धित हुने सबै कुराहरूसँग यी मानिसहरूको कुनै सम्बन्ध हुँदैन; तिनीहरूसँग परवाह गर्ने रुचि नै हुँदैन, न त तिनीहरूलाई परवाह गर्न लगाउन नै सकिन्छ। यस्तो हुन्छ किनभने तिनीहरूको हृदयभित्रको अन्तस्करणमा एक तीव्र आवाज हुन्छ जसले तिनीहरूलाई सधैँ भन्ने गर्छ, “परमेश्‍वर अदृश्य र अस्पर्शनीय हुनुहुन्छ र उहाँ अस्तित्वमा हुनुहुन्‍न।” तिनीहरूले यस प्रकारको परमेश्‍वरलाई बुझ्ने प्रयास गर्नु तिनीहरूको प्रयत्नको लायक नै छैन भन्ने विश्‍वास गर्छन् र त्यसो गरेर तिनीहरूले आफूले आफैलाई मूर्ख बनाइरहेका हुन्छन्। तिनीहरू विश्‍वास गर्छन् कि तिनीहरूले कुनै पनि वास्तविक निर्णय नलिइकनै वा वास्तविक कार्यमा आफूलाई नलगाइकनै परमेश्‍वरप्रति केवल शब्दहरूद्वारा आभार प्रकट गरेर तिनीहरू निकै नै चलाख बनेका छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? उहाँले तिनीहरूलाई अविश्‍वासीहरूको रूपमा हेर्नुहुन्छ। केही मानिसहरूले सोध्छन्, “के अविश्‍वासीहरूले परमेश्‍वरका वचनहरू पढ्न सक्छन्? के तिनीहरूले तिनीहरूका कर्तव्यहरू पूरा गर्न सक्छन्? के तिनीहरूले ‘म परमेश्‍वरको लागि जिउँछु’ भन्ने वचन बोल्न सक्छन्?” मानिसहरूले प्रायजसो देख्ने कुरा भनेको मानिसहरूले सतही रूपमा प्रदर्शन गरेका कुराहरू हुन्; तिनीहरूले मानिसहरूका सारहरूलाई देख्दैनन्। तथापि, परमेश्‍वरले यी सतही प्रदर्शनहरूलाई हेर्नुहुन्न, उहाँले तिनीहरूको भित्री सारलाई मात्र हेर्नुहुन्छ। यसर्थ, यी मानिसहरूप्रति परमेश्‍वरले राख्नुहुने आचरण र परिभाषा यस्तै प्रकारका हुन्छन्। यी मानिसहरू भन्छन्, “परमेश्‍वरले किन यो गर्नुहुन्छ? परमेश्‍वरले किन त्यो गर्नुहुन्छ? म यो बुझ्न सक्दिनँ; म त्यो बुझ्न सक्दिनँ; यो मानव धारणाहरूसँग मेल खाँदैन; तैँले मलाई बताउनैपर्छ…।” यसको जबाफको रूपमा म सोध्छु, के यी कुराहरू तँलाई मैले बताउन जरुरी छ? के यी कुराहरू वास्तवमा तँसँग कुनै पनि हिसाबले सम्बन्धित छन्? तैँले तँ को होस् भन्ने ठान्छस्? तँ कहाँबाट आइस्? के तँ परमेश्‍वरलाई सुझाव दिन साँच्चै योग्य छस्? के तँ उहाँमा विश्‍वास गर्छस्? के उहाँले तेरो विश्‍वास स्वीकार गर्नुहुन्छ? परमेश्‍वरसँग तेरो विश्‍वासको कुनै सम्बन्ध नभएको हुनाले, उहाँका कामहरूमा तेरो के सरोकार छ? तँलाई आफू परमेश्‍वरको हृदयमा कहाँ छु भन्ने नै थाहा छैन, त्यसैले तँ कसरी उहाँसँगको वार्तालापमा संलग्न हुन योग्य छस्?

अर्तीका वचनहरू

के तिमीहरू यी टिप्पणीहरू सुनेपछि असहज महसुस गर्दैनौ? तिमीहरू कि त तिनलाई सुन्न कि त तिनलाई स्वीकार गर्न अनिच्छुक हुनसक्‍ने भए तापनि तिनीहरू सबै तथ्यहरू हुन्। कामको यो चरण भनेको परमेश्‍वरले काम गर्नको लागि हो, त्यसैले यदि तँ उहाँका अभिप्रायहरूप्रति सरोकार राख्दैनस् भने, उहाँको आचरणको बारेमा परवाह गर्दैनस् भने र उहाँको सार र स्वभावलाई बुझ्दैनस् भने, अन्ततः तँ अवसरबाट वन्‍चित हुने व्यक्ति बन्नेछस्। मेरा वचनहरू सुन्न गाह्रो भएकोमा दोष नदेओ, र तिनले तिमीहरूको उत्साहलाई चिस्याइदिएकोमा दोष नदेओ। म सत्यता बोल्छु, मेरो अभिप्राय तिमीहरूलाई निरुत्साहित गर्नु होइन। मैले तिमीहरूबाट जेसुकै मागे तापनि र यसलाई तिमीहरूले जे-जसरी गर्न तय गरिएको भए तापनि, म आशा गर्छु कि तिमीहरूले सही मार्ग हिँड्छौ र परमेश्‍वरको मार्ग पछ्याउँछौ र तिमीहरू सही मार्गबाट कहिल्यै पनि बरालिँदैनौ। यदि तँ परमेश्‍वरको वचन अनुरूप अघि बढ्दैनस् भने वा उहाँको मार्गलाई पछ्याउँदैनस् भने तैँले परमेश्‍वर विरुद्ध विद्रोह गर्दैछस् र सही मार्गबाट भट्किएको छस् भन्नेमा कुनै शङ्का हुँदैन। यसर्थ, मलाई लाग्छ, केही यस्ता मामलाहरू छन् जसको बारेमा मैले तिमीहरूलाई स्पष्ट पार्नुपर्ने हुन्छ र जसलाई मैले तिमीहरूलाई द्विविधारहित तवरमा, स्पष्ट रूपले र अनिश्चितताको कुनै पनि अवशेषविना विश्‍वास गर्ने तुल्याउनुपर्छ र मैले तिमीहरूलाई परमेश्‍वरको आचरणको बारेमा, उहाँका अभिप्रायहरूको बारेमा, उहाँले मानिसहरूलाई कसरी सिद्ध तुल्याउनुहुन्छ भन्ने बारेमा र उहाँले मानिसहरूका परिणामहरू निर्धारण गर्ने तौरतरिकाहरूको बारेमा स्पष्ट बुझाइ हासिल गर्न सहयोग गर्नुपर्छ। तिमीहरूले यो मार्गमा यात्रा सुरु गर्न असक्षम हुने कुनै दिन आएमा, कुनै उत्तरदायित्व वहन गर्दिनँ, किनभने यी वचनहरूलाई यसअघि नै तेरो सामने स्पष्ट रूपमा भनिसकिएको छ। जहाँसम्म तैँले तेरो आफ्नो परिणामलाई कसरी निराकरण गर्छस् भन्ने सवाल छ, यो यस्तो मामला हो जुन पूर्ण रूपमा तँमा निर्भर रहन्छ। विविध प्रकारका मानिसहरूका परिणामहरूको सम्बन्धमा भन्दा, परमेश्‍वरसँग फरक-फरक आचरणहरू छन्, तिनीहरूलाई तौलने उहाँका आफ्नै तरिकाहरू छन्, साथसाथै तिनीहरूको लागि आवश्यक पर्ने उहाँका आफ्नै मापदण्डहरू छन्। मानिसहरूका परिणामहरू तौलने उहाँका मापदण्डहरू यस्तो मापदण्ड हुन् जुन सबैको लागि न्यायसंगत हुन्छन्—यसको बारेमा कुनै सन्देह छैन! त्यसकारण, केही व्यक्तिहरूका डरहरू अनावश्यक छन्। के तिमीहरू अब ढुक्क महसुस गर्छौ? आजको लागि यति नै। फेरि भेटौँला!

अक्टोबर १७, २०१३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्