परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने (भाग चार)
परमेश्वरको मनोवृत्तिलाई बुझ र परमेश्वर सम्बन्धी सबै गलत अवधारणाहरूलाई पन्छाओ
तिमीहरूले हाल विश्वास गरेको यो परमेश्वर कस्तो प्रकारको परमेश्वर हुनुहुन्छ? के तिमीहरूले यसबारेमा कहिल्यै सोचेका छौ? जब उहाँले कुनै दुष्ट व्यक्तिलाई दुष्ट कार्यहरू गरिरहेको देख्नुहुन्छ, तब के उहाँले त्यसलाई घृणा गर्नुहुन्छ? (हो, उहाँले घृणा गर्नुहुन्छ।) उहाँले अज्ञानी व्यक्तिले गल्तीहरू गरेको देख्दा उहाँको आचरण कस्तो हुन्छ? (दुःखित।) जब मानिसहरूले उहाँका भेटीहरू चोरेको देख्नुहुन्छ, तब उहाँको मनोवृत्ति कस्तो हुन्छ? (उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।) यो एकदमै स्पष्ट छ, हैन त? जब परमेश्वरले उहाँप्रतिको कसैको विश्वासमा अन्योलता भएको देख्नुहुन्छ अनि जसले सत्यताको खोजी बिलकुलै गरिरहेको हुँदैन, तब परमेश्वरको आचरण कस्तो हुन्छ? तिमीहरू त्यति निश्चित छैनौ, छौ त? “आचरणको रूपमा अन्योलता” पाप होइन, न त यसले परमेश्वरलाई ठेस पुर्याउँछ अनि मानिसहरूले यसलाई ठूलो गल्ती हो भन्ने पनि ठान्दैनन्। त्यसो भए, मलाई बताओ—यो अवस्थामा परमेश्वरको आचरण कस्तो हुन्छ? (उहाँ तिनीहरूलाई स्वीकार गर्न अनिच्छुक हुनुहुन्छ।) “स्वीकार गर्न अनिच्छुक”—यो कस्तो प्रकारको आचरण हो? यसको मतलब, परमेश्वरले यी मानिसहरूलाई हेयको दृष्टिले हेर्नुहुन्छ र तिनीहरूलाई घृणा गर्नुहुन्छ। उहाँले त्यस्ता मानिसहरूलाई निराकरण गर्ने शैली भनेको तिनीहरूलाई जानाजान बेवास्ता गर्नु हो। परमेश्वरको पद्धति भनेको तिनीहरूलाई पन्छाउनु हो, तिनीहरूसँग कुनै पनि काममा संलग्न नहुनु हो र यसमा अन्तर्दृष्टि, ज्योति, ताडना र अनुशासनको काम समावेश हुन्छन्। त्यस्ता मानिसहरूलाई परमेश्वरको काममा गन्ती नै गरिँदैन। उहाँको स्वभावलाई भड्काउने र उहाँका प्रशासनिक आदेशहरूलाई उल्लङ्घन गर्ने व्यक्तिहरूप्रति परमेश्वरको आचरण कस्तो हुन्छ? अत्यन्तै धेरै घृणाले भरिएको हुन्छ! उहाँको स्वभावलाई भड्काएकोमा पश्चात्ताप नगर्ने मानिसहरूप्रति परमेश्वर अत्यन्तै धेरै क्रोधित बन्नुहुन्छ। “क्रोधित” भनेको एक अनुभव, एक मनस्थिति भन्दा बढी केही पनि होइन; यसले एक स्पष्ट आचरणलाई जनाउँदैन। तथापि, यो अनुभवले—यो मनस्थितिले—त्यस्ता मानिसहरूको लागि कुनै एउटा परिणाम निम्त्याउनेछ; यसले परमेश्वरलाई चरम घृणाले भरिदिनेछ! यो चरम घृणाको परिणाम के हुन्छ त? यसको परिणाम के हुन्छ भने परमेश्वरले यी मानिसहरूलाई पन्छाउनुहुनेछ र वर्तमान समयमा तिनीहरूप्रति कुनै प्रतिक्रिया जनाउनुहुन्न। त्यसपछि उहाँले “शरदपछि” तिनीहरूलाई ठीक पार्नलाई प्रतीक्षा गर्नुहुन्छ। यसले के कुराको सङ्केत गर्छ? के यी मानिसहरूको परिणाम आउनेछ त? परमेश्वरले त्यस्ता मानिसहरूलाई परिणाम प्रदान गर्ने सोच कहिल्यै पनि बनाउनुभएन! त्यसकारण, परमेश्वरले त्यस्ता मानिसहरूप्रति अहिले कुनै प्रतिक्रिया जनाउनुभएन भने के त्यो पूर्णतया सामान्य कुरा हुँदैन र? (हो, यो सामान्य कुरा हुन्छ।) त्यस्ता मानिसहरूले के गर्ने तयारी गरिरहेको हुनुपर्छ त? तिनीहरूले तिनीहरूको व्यवहार र तिनीहरूले गरेका दुष्ट कार्यहरूका नकारात्मक परिणामहरू भोग्न तयार हुनुपर्छ। त्यस्तो व्यक्तिको लागि परमेश्वरको प्रतिक्रिया यही हो। त्यसकारण म अब स्पष्टसित त्यस्ता मानिसहरूलाई भन्छु: तिमीहरू आफ्ना भ्रममा अब फेरि कहिल्यै नअल्झिओ, र अभिलाषी चिन्तनमा अब फेरि कहिल्यै संलग्न नहोओ। परमेश्वर मानिसहरूप्रति अनिश्चितकालीन रूपमा नै भने सहनशील रहिरहनुहुनेछैन; उहाँले तिनीहरूका अपराधहरू वा अवज्ञाहरूलाई सधैँभरि सहनुहुनेछैन। केही मानिसहरूले भन्नेछन्, “मैले त्यस्ता केही मानिसहरू पनि देखेको छु र जब तिनीहरूले प्रार्थना गर्छन्, तिनीहरूले आफूलाई परमेश्वरले छोएको अनुभूति गर्छन् र तिनीहरू त्यसपछि नमीठोसित रुन्छन्। प्रायजसो तिनीहरू खुशी पनि हुन्छन्; तिनीहरू परमेश्वरको उपस्थिति र परमेश्वरको मार्गनिर्देशन पाएका मानिसहरू जस्ता देखिन्छन्।” यस्ता बकवास कुराहरू नबोल! नमीठो आँसु झार्दैमा, त्यसको अर्थ व्यक्तिलाई परमेश्वरले छोएको वा उसले परमेश्वरको उपस्थितिको आनन्द लिएको हो भन्ने जरुरी छैन, परमेश्वरको मार्गनिर्देशन पाएको भन्ने त कुरै छोडौं। यदि मानिसहरूले परमेश्वरलाई रिस उठाउँछन् भने के उहाँले अझै तिनीहरूलाई मार्गनिर्देशन दिनुहुन्छ त? छोटकरीमा, यदि परमेश्वरले कसैलाई हटाउने र परित्याग गर्ने निर्णय लिनुभएको छ भने त्यस्तो व्यक्तिको परिणाम समाप्त भइसकेको हुन्छ। तिनीहरूले प्रार्थना गर्दा तिनीहरूको भावना जति नै अनुकूल भए पनि, वा तिनीहरूको हृदयमा परमेश्वरमाथि जति नै विश्वास भए पनि, यो कुराले अब फेरि कहिल्यै पनि कुनै परिणाम दिँदैन। महत्त्वपूर्ण कुरा के छ भने परमेश्वरलाई यस प्रकारको विश्वासको आवश्यकता छैन; उहाँले यी मानिसहरूलाई पहिले नै तिरस्कार गरिसक्नुभएको छ। तिनीहरूलाई भविष्यमा कसरी निराकरण गर्ने भन्ने कुरा पनि त्यति महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण कुरा के छ भने यी मानिसहरूले परमेश्वरलाई रिस उठाएको क्षणमै तिनीहरूका परिणामहरू तय हुन्छन्। यदि परमेश्वरले त्यस्ता मानिसहरूलाई मुक्ति नदिने सोच बनाउनुभएको छ भने तिनीहरूलाई दण्ड दिइनको लागि पछाडि छोडिनेछ। परमेश्वरको आचरण यही हो।
परमेश्वरको सारमा प्रेमको एक अंश हुने भए तापनि अनि उहाँ प्रत्येक व्यक्तिप्रति कृपालु हुनुभए तापनि, मानिसहरूले उहाँको सार मान-मर्यादाको सार पनि हो भन्ने तथ्यलाई बेवास्ता गरेका र बिर्सेका छन्। उहाँमा प्रेम छ भन्नुको अर्थ मानिसहरूले उहाँमा कुनै भावना जागृत नगराईकनै उहाँलाई स्वतन्त्रतापूर्वक ठेस पुर्याउन सक्छन् भन्ने होइन, न त उहाँमा कृपा छ भन्ने तथ्यले नै उहाँले मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने बारेमा उहाँसँग कुनै सिद्धान्त नै छैन भन्ने जनाउँछ। परमेश्वर जीवित हुनुहुन्छ; उहाँ वास्तविक रूपमा अस्तित्वमा हुनुहुन्छ। उहाँ न त कल्पना गरिएको कठपुतली हुनुहुन्छ न त कुनै वस्तु नै हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुभएको हुनाले हामीले सधैँ उहाँको हृदयको आवाजलाई सावधानीपूर्वक सुन्नुपर्छ, उहाँको आचरणप्रति घनिष्ट रूपमा ध्यान दिनुपर्छ, र उहाँका भावनाहरूलाई बुझ्न थाल्नुपर्छ। हामीले परमेश्वरलाई परिभाषित गर्न मानवीय कल्पनाहरूको प्रयोग गर्नु हुँदैन, न त हामीले परमेश्वरलाई मानिसहरूप्रति मानवीय कल्पनाहरूको आधारमा मानवीय रूपले व्यवहार गराउन उहाँमा मानवीय सोचहरू र इच्छाहरू नै लाद्नु हुन्छ। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्वरलाई क्रोधित पार्दैछस्, उहाँको आक्रोशको परीक्षा लिँदैछस् र उहाँको मान-मर्यादालाई चुनौती दिँदैछस्! यसरी, तिमीहरूले यो कुराको गम्भीरतालाई बुझिसकेपछि, म तिमीहरू प्रत्येकलाई तिमीहरूको आफ्नो कार्यमा सावधान र विवेकी हुन आग्रह गर्छु। बोलीमा पनि सावधान र विवेकी होऊ—तिमीहरूले परमेश्वरप्रति कसरी व्यवहार गर्ने भन्ने बारेमा, तिमीहरू जति धेरै सावधान र विवेकी हुन्छौ त्यति नै धेरै राम्रो हुन्छ! जब तैँले परमेश्वरको मनोवृत्ति के-कस्तो छ भन्ने बुझ्दैनस्, तब तैँले जथाभाबी रूपमा बोल्ने नगर्नू, आफ्ना कार्यहरूमा लापरवाह नहुनू, अनि त्यतिकै नाम-वर्ग झुन्ड्याइदिने नगर्नू। अझै महत्त्वपूर्ण रूपमा, मनोमानी ढङ्गले कुनै पनि निष्कर्षहरू ननिकाल्नू। बरु, तैँले पर्खनुपर्छ र खोजी गर्नुपर्छ; यी कार्यहरू पनि परमेश्वरको डर मान्नु अनि दुष्टताबाट अलग रहनुको एक अभिव्यक्ति हुन्। सबैभन्दा मुख्य रूपमा, यदि तैँले यो कुरा हासिल गर्न सकिस् भने, अनि सबैभन्दा मुख्य रूपमा, यदि तँसँग यो आचरण छ भने, परमेश्वरले तँलाई तेरो मूर्खता, अज्ञानता र वस्तु वा घटनापछाडिका कारणहरूको बुझाइको अभावको लागि तँलाई दोष लगाउनुहुन्न। बरु, परमेश्वरलाई ठेस पुर्याउन डराउने तेरो आचरणको कारण, उहाँको इच्छाहरूको सम्मान अनि उहाँको आज्ञापालन गर्ने इच्छुकताको कारण, परमेश्वरले तँलाई सम्झनुहुनेछ, तँलाई मार्गनिर्देशन र अन्तर्ज्ञान प्रदान गर्नुहुनेछ, वा तेरो अपरिपक्वता र अज्ञानतालाई सहन गर्नुहुनेछ। यसको विपरीत, यदि तेरो आचरण चाहिँ अनादरकारी छ भने—आफूलाई मनलाग्दो रूपमा उहाँको मूल्याङ्कन गर्ने वा मनोमानी ढङ्गले उहाँका विचारहरू अनुमान वा परिभाषित गर्ने गरेमा—परमेश्वरले तँलाई दोषी ठहराउनुहुनेछ, तँलाई अनुशासनमा राख्नुहुनेछ अनि तँलाई सजाय समेत दिनुहुनेछ; वा उहाँले तेरो बारेमा टीकाटिप्पणी गर्न सक्नुहुनेछ। शायद यो टीकाटिप्पणी तेरो परिणामसँग सम्बन्धित हुनेछ। त्यसकारण, म एक पटक फेरि जोड दिन चाहन्छु: परमेश्वरबाट आउने कुराहरूको बारेमा तिमीहरू प्रत्येक सावधान र विवेकी हुनुपर्छ। जथाभाबी रूपमा बोल्ने नगर्नू अनि आफ्ना कार्यहरूमा लापरवाह नहुनू। केही कुरा बोल्नुभन्दा अगाडि, तैँले रोकिएर सोच्नुपर्छ: के यो मेरो कार्यले परमेश्वरलाई क्रोधित पार्छ? के यो कार्य गर्दा मैले परमेश्वरलाई श्रद्धा गरिरहेको हुन्छु? सामान्य कुराहरूमा पनि, तैँले यी प्रश्नहरूलाई हल गर्नुपर्छ र थप समय दिई तिनीहरूको बारेमा सोच्नुपर्छ। यदि तैँले सबै पक्षहरूमा, सबै कुराहरूमा, सबै समयहरूमा यी सिद्धान्तहरू अनुसार सच्चा रूपमा अभ्यास गर्छस् भने र खास गरी तैँले कुनै कुरा नबुझ्दा त्यस्तो आचरण अँगाल्छस् भने, परमेश्वरले सधैँ तँलाई मार्गनिर्देशन दिनुहुनेछ र तँलाई पछ्याउने मार्ग प्रदान गर्नुहुनेछ। मानिसहरूले जुनसुकै प्रकारको प्रदर्शन गरे तापनि परमेश्वरले तिनीहरूलाई स्पष्ट र सरल रूपमा हेर्नुहुन्छ, र उहाँले तेरा यी प्रदर्शनहरूको सही र उपयुक्त मूल्याङ्कन गरिदिनुहुनेछ। तैँले अन्तिम परीक्षाबाट गुज्रिसकेपछि परमेश्वरले तेरा सबै व्यवहारहरूलाई लिनुहुनेछ र तरो प्रतिफल निर्क्योल गर्नको लागि तिनीहरूलाई सारांशित गर्नुहुनेछ। यो नतिजाले शङ्काको छाँयासम्म पनि नहुने गरी प्रत्येक व्यक्तिलाई विश्वास दिलाउँछ। म तिमीहरूलाई यहाँ यो कुरा बताउन चाहन्छु: तिमीहरूको प्रत्येक कर्म, तिमीहरूको प्रत्येक कार्य अनि तिमीहरूको प्रत्येक सोचले तिमीहरूको नियति निर्धारण गर्छ।
मानिसहरूका परिणामहरूको निर्धारण कसले गर्छ?
छलफल गर्नुपर्ने अत्यन्तै महत्त्वको अर्को मामला छ, र त्यो मामला परमेश्वरप्रतिको तिमीहरूको आचरण हो। यो आचरण अति नै महत्त्वपूर्ण छ! यसले तिमीहरू अन्त्यमा विनाशको बाटोमा हिँड्नेछौ कि परमेश्वरले तिमीहरूको लागि तयार गर्नुभएको सुन्दर गन्तव्यतिर हिँड्नेछौ भन्ने कुराको निर्धारण गर्छ। राज्यको युगमा, परमेश्वरले यसअघि नै बीस वर्षभन्दा बढी समय काम गरिसक्नुभएको छ र सायद यी दुई दशकहरूको दौरान तिमीहरूले के-कस्तो कार्य-प्रदर्शन गर्यौ भन्ने बारेमा भित्र अन्तस्करणमा तिमीहरू अलिक अनिश्चित रहेका छौ होला। तथापि, परमेश्वरले उहाँको हृदयमा तिमीहरू प्रत्येकको वास्तविक र सत्यतापूर्ण अभिलेख राख्नुभएको छ। हरेक व्यक्तिले उहाँलाई पछ्याउन र उहाँका उपदेशहरू सुन्न, क्रमिक रूपमा झन्-झन् बढी सत्यता बुझ्न सुरु गरेको समयदेखि र हरेक व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्न सुरु गरेको समयसम्म, परमेश्वरले हरेक व्यक्तिमा लागू हुने हरप्रकारका व्यवहारहरूको अभिलेख राख्नुभएको छ। आफ्ना कर्तव्यहरू पूरा गर्ने र हरप्रकारका वातावरण र परीक्षाहरूको सामना गर्ने क्रममा, मानिसहरूको मनोवृत्ति कस्तो हुन्छ त? तिनीहरूले के-कसरी कार्य-प्रदर्शन गर्छन् त? तिनीहरूले आफ्नो हृदयमा परमेश्वरप्रति के-कस्तो अनुभव गर्छन् त? … परमेश्वरसँग यी सबै कुराहरूको हिसाब-किताब हुन्छ; उहाँसँग यी सबै कुराहरूको अभिलेख हुन्छ। सायद, तिमीहरूको दृष्टिकोणबाट, यी मामलाहरू अन्योलमा पार्ने खालका होलान्। तथापि, परमेश्वर जहाँ उभिनुभएको छ त्यहाँबाट ती कुराहरू सङ्लो पानी झैं छर्लङ्ग छन् र तिनमा धमिलोपनको अलिकति झल्को समेत छैन। यो यस्तो मामला हो जसले हरेक व्यक्तिको परिणाम निर्धारण गर्छ र हरेक व्यक्तिको नियति र भावी सम्भाव्यताहरूसँग सम्बन्ध राख्छ, र अझ बढी भन्ने हो भने, यो त्यही कुरा हो जहाँ परमेश्वरले उहाँका सबै प्रयासहरू लगाउनुहुन्छ; त्यसैले परमेश्वरले यसलाई कति पनि बेवास्ता गर्नुहुन्न, न त उहाँले कुनै हेलचेक्र्याइँलाई नै सहनुहुन्छ। परमेश्वरले उहाँलाई मानिसहरूले पछ्याएको सम्पूर्ण सिलसिलाको बारेमा टिपोट राख्दै, सुरुवातदेखि अन्त्यसम्म नै, मानवजातिको यो हिसाबकिताबको अभिलेख राख्दै हुनुहुन्छ। यो अवधिमा उहाँप्रति रहेको तेरो आचरणले तेरो नियति निर्धारण गरेको हुन्छ। के यो कुरा साँचो होइन र? के अब तँ परमेश्वर धर्मी हुनुहुन्छ भनेर विश्वास गर्छस् त? के उहाँका कार्यहरू उपयुक्त छन् त? के उहाँको बारेमा तिमीहरूको टाउकोमा अझै अन्य कुनै कल्पनाहरू छन् त? (छैनन्।) त्यसो भए, तिमीहरू मानिसहरूका परिणामहरू परमेश्वरद्वारा निर्धारण गरिने कुरा हुन् भन्छौ कि मानिसहरू आफैद्वारा निर्धारण गरिने कुरा हुन् भन्छौ त? (तिनीहरू परमेश्वरद्वारा निर्धारण गरिने कुरा हुन्।) तिनलाई निर्धारण गर्ने को हुनुहुन्छ त? (परमेश्वर।) तिमीहरू निश्चित भएका छैनौ, छौ त? हङ्कङ्बाट आउनुभएका भाइ-बहिनीहरू, जोडले बोल—कसले तिनको निर्धारण गर्नुहुन्छ? (तिनलाई मानिसहरू आफैले निर्धारण गर्छन्।) के मानिसहरू आफैले तिनको निर्धारण गर्छन् त? के त्यसको मतलब परमेश्वरसँग मानिसहरूका परिणामहरूको कुनै सम्बन्ध नै छैन भन्ने हुँदैन र? कोरियाबाट आउनुभएका भाइ-बहिनीहरू, जोडले बोल। (मानिसहरूका परिणामहरू तिनीहरूका सबै कार्य र कर्महरूको आधारमा र तिनीहरू जुन बाटोमा हिँडेका थिए सोही अनुरूप परमेश्वरले निर्धारण गर्नुहुन्छ।) यो एकदम वस्तुपरक जबाफ हो। यहाँ एक तथ्य छ जुन मैले तिमीहरू सबैलाई भन्नैपर्छ: परमेश्वरको मुक्तिको कामको सिलसिलामा उहाँले मानिसहरूको लागि एक मापदण्ड तय गर्नुभएको छ। यो मापदण्ड के हो भने तिनीहरूले परमेश्वरको वचनलाई सुन्नैपर्छ र तिनीहरू परमेश्वरको मार्गमा हिँड्नैपर्छ। मानिसहरूका परिणामहरूलाई मापन गर्ने मापदण्ड यही नै हो। यदि तैँले परमेश्वरको यो मापदण्ड अनुरूप अभ्यास गर्छस् भने, तैँले राम्रो परिणाम प्राप्त गर्न सक्छस्; यदि तैँले यस अनुरूप अभ्यास गर्दैनस् भने तैँले राम्रो परिणाम प्राप्त गर्न सक्दैनस्। त्यसो भए, यो परिणाम कसले निर्धारण गर्छ भनेर तैँले भन्छस् त? परिणाम निर्धारण गर्ने परमेश्वर मात्रै हुनुहुन्न, बरु यसमा त परमेश्वर र मानिस दुवै साथसाथ हुन्छन्। के यो सत्य हो त? (हो।) किन? किनभने मानवजातिको मुक्तिको लागि सक्रिय रूपमा संलग्न हुन र मानवजातिको लागि सुन्दर गन्तव्य तयार गर्न चाहनुहुने परमेश्वर नै हुनुहुन्छ; मानिसहरू त परमेश्वरको कामका वस्तुहरू हुन् र यो परिणाम, यो गन्तव्य तिनीहरूको लागि परमेश्वरले तयार गर्नुहुन्छ। यदि उहाँले काम गर्नको लागि कुनै वस्तुहरू नै थिएनन् भने उहाँले यो काम गर्नुपर्ने नै थिएन; यदि उहाँले यो काम गरिरहनुभएको हुँदैनथियो भने मानिसहरूले मुक्ति प्राप्त गर्ने अवसर नै पाउने थिएनन्। मुक्ति पाउनु पर्ने त मानिसहरूले नै हो, र मुक्ति प्राप्त गर्ने कार्य यो प्रक्रियाको निष्क्रिय भाग भएको भए तापनि परमेश्वर मानवजातिलाई मुक्ति दिने उहाँको काममा सफल हुनुहुनेछ कि हुनुहुनेछैन भन्ने कुरा निर्धारण गर्ने कार्यमा भूमिका खेल्ने कुरा भनेको तिनीहरूको आचरण नै हो। यदि परमेश्वरले तेरो लागि दिनुहुने मार्गनिर्देशन नभएको भए त, तैँले उहाँको मापदण्डको बारेमा जान्ने थिइनस्, न त तँसँग कुनै उद्देश्य नै हुनेथियो। यदि तँसँग यो मापदण्ड, यो उद्देश्य छ, तर पनि तैँले सहकार्य गर्दैनस् भने, यसलाई अभ्यास गर्दैनस् भने वा मूल्य तिर्दैनस् भने, तैँले यो परिणाम हासिल गर्नेछैनस्। यस कारणले गर्दा, म त भन्छु, व्यक्तिको परिणामलाई परमेश्वरबाट अलग गर्न सकिँदैन र यसलाई उक्त व्यक्तिबाट पनि अलग गर्न सकिँदैन। अब भने तिमीहरूले मानिसहरूका परिणामहरू कसले निर्धारण गर्छ भन्ने कुरा थाहा पायौ।
मानिसहरूले अनुभवको आधारमा परमेश्वरलाई परिभाषित गर्ने प्रवृत्ति हुन्छ
परमेश्वरलाई चिन्ने विषयको बारेमा कुराकानी गर्दा, के तिमीहरूले केही कुरा ख्याल गरेका छौ? के तिमीहरूले आजभोलि उहाँको मनोवृत्ति रूपान्तरित भएको छ भन्ने कुरा ख्याल गरेका छौ? के मानिसहरूप्रतिको उहाँको मनोवृत्ति अपरिवर्तनीय छ त? के उहाँले यसरी नै सधैँ सहन गर्नुहुन्छ र मानिसहरूलाई अनिश्चितकालसम्म उहाँको सबै प्रेम र कृपा प्रदान गर्नुहुन्छ त? यो मामलामा परमेश्वरको सार पनि समावेश छ। यसअघि उल्लेख गरिएका तथाकथित उडन्ते पुत्रको प्रश्नतर्फ फर्कौं। त्यो प्रश्न सोधिएपछि, तिमीहरूको जबाफ त्यति स्पष्ट थिएन; अर्को शब्दमा भन्दा, परमेश्वरका अभिप्रायहरूको बारेमा तिमीहरूसँग अझै पनि त्यति ठोस बुझाइ छैन। मानवजातिलाई परमेश्वरले प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाएपछि, तिनीहरूले उहाँलाई प्रेमको प्रतीकको रूपमा परिभाषित गरे; तिनीहरूले के विश्वास गर्छन् भने, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरूले जे-जस्तो व्यवहार गरे तापनि, तिनीहरूले परमेश्वरलाई जे-जस्तो व्यवहार गरे तापनि र तिनीहरू जति नै अवज्ञाकारी भए तापनि, यी कुनै पनि कुराले केही फरक पर्दैन किनकि परमेश्वरसँग प्रेम छ र उहाँको प्रेम असीमित र अपरिमेय छ; परमेश्वरसँग प्रेम छ, त्यसैले उहाँ मानिसहरूप्रति सहनशील हुन सक्नुहुन्छ; र परमेश्वरसँग प्रेम छ त्यसैले उहाँ मानिसहरूप्रति कृपालु हुन सक्नुहुन्छ, तिनीहरूको अपरिपक्वताप्रति कृपालु हुन सक्नुहुन्छ, तिनीहरूको अज्ञानताप्रति कृपालु हुन सक्नुहुन्छ, र तिनीहरूको अवज्ञाप्रति कृपालु हुन सक्नुहुन्छ। के वास्तवमै हुने भनेको यस्तै होइन त? केही मानिसहरूको हकमा, तिनीहरूले एक पटक वा धेरै पटक परमेश्वरको धैर्यता अनुभव गरिसकेपछि, तिनीहरूले यी अनुभवहरूलाई परमेश्वरबारे तिनीहरूको आफ्नै बुझाइको महत्त्वपूर्ण कडीको रूपमा लिन्छन् र तिनीहरूले तिनीहरूप्रति उहाँ सधैँ धैर्य र कृपालु रहनुहुनेछ भन्ने विश्वास गर्छन् र त्यसपछि तिनीहरूले आफ्नो जीवनको सिलसिलामा, परमेश्वरको यो धैर्यतालाई उहाँले तिनीहरूप्रति गर्ने व्यवहारको मापदण्डको रूपमा लिन्छन्। अन्य यस्ता व्यक्तिहरू पनि छन् जसले एकपल्ट परमेश्वरको सहनशीलताको अनुभव गरिसकेपछि सधैँभरि परमेश्वरलाई सहनशील भनेर परिभाषित गर्छन्—र तिनीहरूको मस्तिष्कमा, यो सहनशीलता अनिश्चितकालीन, निसर्त र पूर्णतया असैद्धान्तिक समेत हुन्छ। के यस्ता विश्वासहरू सही छन् त? परमेश्वरको सार वा परमेश्वरको स्वभावको मामला छलफल गरिने हरेक समय तिमीहरू चकित भएजस्तो देखिन्छौ। तिमीहरूलाई यस्तो अवस्थामा देख्दा म धेरै बेचैन हुन्छु। तिमीहरूले परमेश्वरको सारसम्बन्धी धेरै सत्यताहरू सुनेका छौ; तिमीहरूले उहाँको स्वभावको बारेमा पनि धेरै छलफलहरू सुनेका छौ। तथापि, तिमीहरूको मस्तिष्कमा, यी मामलाहरू र यी पक्षहरूको सत्यता केवल सिद्धान्त र लिखित शब्दहरूमा आधारित सम्झनाहरूका रूपमा मात्रै हुन्छन्; तिमीहरूको दैनिक जीवनमा, तिमीहरूमध्ये कसैले पनि परमेश्वरको स्वभावलाई यो जे हो सोही रूपमा कहिल्यै अनुभव गर्न वा देख्न सकेको छैन। यसर्थ, तिमीहरू सबै तिमीहरूको विश्वासमा बेवकुफ दिमागवाला छौ; तिमीहरू सबैले अन्धो भई विश्वास गरिरहेका छौ, यो हदसम्म कि तिमीहरूले परमेश्वरप्रति अनादरकारी आचरण राख्छौ र उहाँलाई बढारेर समेत पन्छाउँछौ। तिमीहरूले परमेश्वरप्रति यस प्रकारको आचरण राख्दा यसले कतातर्फ डोर्याउँछ? यसले तिमीहरूलाई सधैँ परमेश्वरको बारेमा निष्कर्ष निकाल्ने बाटोतर्फ डोर्याउँछ। तिमीहरूले एकपल्ट केही ज्ञान हासिल गरिसकेपछि, तिमीहरूले सन्तुष्टि महसुस गर्छौ, मानौँ तिमीहरूले परमेश्वरलाई उहाँको सम्पूर्णतामा नै प्राप्त गरिसक्यौ। त्यसपछि, तिमीहरूले परमेश्वर यस्तै हुनुहुन्छ भनेर निष्कर्ष निकाल्छौ र तिमीहरूले उहाँलाई स्वतन्त्रतापूर्वक चलायमान हुन दिँदैनौ। यस बाहेक, जब परमेश्वरले कुनै नयाँ कार्य गर्नुहुन्छ, तिमीहरूले उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई सजिलै अस्वीकार गर्छौ। एक दिन जब परमेश्वरले “म मानवजातिलाई अब फेरि कहिल्यै प्रेम गर्दिनँ; म अब फेरि कहिल्यै मानिसलाई कृपा प्रदान गर्नेछैनँ; तिनीहरूप्रति मसँग थप कुनै सहनशीलता वा धैर्यता छैन। म तिनीहरूप्रतिको चरम घृणा र द्वेषले घाँटीसम्म भरिएको छु” भनेर भन्नुहुन्छ, तब त्यस्ता भनाइहरूले मानिसहरूको हृदयको अन्तस्करणमा द्वन्द्व गराउनेछ। तिनीहरूमध्ये केहीले यसो समेत भन्नेछन्, “तपाईं अब उप्रान्त मेरो परमेश्वर हुनुहुन्न; तपाईं अब उप्रान्त मैले पछ्याउन चाहेको परमेश्वर हुनुहुन्न। यदि तपाईंले भन्ने कुरा यही हो भने तपाईं अब उप्रान्त मेरो परमेश्वर हुन लायक हुनुहुन्न र मैले तपाईंलाई पछ्याइराख्न जरुरी छैन। यदि तपाईं मलाई अब उप्रान्त कृपा, प्रेम र सहनशीलता प्रदान गर्नुहुन्न भने म तपाईंलाई पछ्याउन छोड्नेछु। यदि तपाईं मप्रति अनिश्चितकालीन रूपमा सहनशील हुनुहुन्छ भने, सधैँ मप्रति धैर्य हुनुहुन्छ भने, र तपाईंले मलाई तपाईं प्रेम हो, तपाईं धैर्यता हो र तपाईं सहनशीलता हो भनी हेर्न दिनुहुन्छ भने मात्रै म तपाईंलाई पछ्याउन सक्छु र तब मात्रै तपाईंलाई अन्त्यसम्म पछ्याउनको लागि मसँग आत्मविश्वास हुनेछ। मसँग तपाईंको धैर्यता र कृपा भएको हुँदा मेरा अवज्ञा र मेरा अपराधहरूलाई अनिश्चितकालीन रूपमा माफ र क्षमा गर्न सकिनेछ, र मैले जुनसुकै समय र जुनसुकै ठाउँमा पाप गर्न सक्छु अनि मैले जुनसुकै समय र जुनसुकै ठाउँमा कबुल गरेर माफ पाउन सक्छु, र मैले तपाईंलाई जुनसुकै समय र जुनसुकै ठाउँमा रिस उठाउन सक्छु। तपाईंले मेरो बारेमा कुनै पनि रायहरू राख्नु वा निष्कर्षहरू निकाल्नु हुँदैन।” तिमीहरूमध्ये हरेकले यस प्रकारको मामलाको बारेमा आत्मपरक तवरले वा सचेत रूपले नसोच्ने भए तापनि, जब तिमीहरूले परमेश्वरलाई तिमीहरूको पाप क्षमा गर्न प्रयोग गरिने औजार वा सुन्दर गन्तव्य प्राप्त गर्न प्रयोग गरिने वस्तुको रूपमा लिन्छौ, तब तिमीहरूले जीवित परमेश्वरलाई सूक्ष्म रूपले आफ्नो विपक्षमा, तिमीहरूको शत्रुको रूपमा राखेका हुन्छौ। मैले देख्न सक्ने कुरा यही हो। तैँले “म परमेश्वरमा विश्वास गर्छु,” “म सत्यताको खोजी गर्छु,” “म मेरो स्वभावलाई परिवर्तन गर्न चाहन्छु,” “म अन्धकारको प्रभावबाट स्वतन्त्र हुन चाहन्छु,” “म परमेश्वरलाई सन्तुष्ट पार्न चाहन्छु,” “म परमेश्वरप्रति समर्पित हुन चाहन्छु,” “म परमेश्वरप्रति बफादार हुन चाहन्छु, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्छु,” आदि इत्यादि कुरा निरन्तर भनिरहन सक्छस्। तथापि, तेरा शब्दहरू जतिसुकै नै मीठा लाग्ने भए तापनि, तैँले जति नै धेरै सिद्धान्तहरू जाने तापनि, र उक्त सिद्धान्त जति नै प्रभावशाली वा प्रतिष्ठित भए तापनि, यो मामलाको तथ्य कुरा के हो भने अहिले तिमीहरूमध्ये धेरै यस्ता छौ जसले आफूले ज्ञान हासिल गरेका नियमहरू, धर्मसिद्धान्तहरू, सिद्धान्तहरूलाई परमेश्वरको बारेमा निष्कर्ष निकाल्न कसरी प्रयोग गर्ने यसअघि नै जानिसकेका छौ र यसरी तिमीहरूले प्राकृतिक रूपमै उहाँलाई आफ्नो विपक्षमा उभ्याएका छौ। तैँले अक्षरहरू र सिद्धान्तहरूको ज्ञान हासिल गरेको हुनसक्ने भए तापनि तँ साँचो रूपले सत्यताको वास्तविकतामा प्रवेश गरेको छैनस्, त्यसैले, तैँले परमेश्वरको नजिक हुन, उहाँलाई चिन्न र उहाँलाई बुझ्न एकदमै कठिन छ। यो एकदमै खेदपूर्ण छ!
मैले एउटा भिडियोमा निम्न दृश्य देखेँ: केही दिदीबहिनीहरूसँग “वचन देहमा देखा पर्नुहुन्छ” पुस्तकको एक प्रति हुन्छ, र तिनीहरूले यसलाई एकदमै माथि उठाइरहेका थिए; तिनीहरूले उक्त पुस्तकलाई तिनीहरूमाझ, तिनीहरूको टाउकोमाथि उठाइरहेका थिए। यो केवल एक आकृति मात्र भएको भए तापनि, यसले मभित्र जे कुरा जागृत गरायो त्यो केवल आकृति थिएन; बरु, यसले मलाई के सोच्ने तुल्यायो भने हरेक व्यक्तिले तिनीहरूको हृदयमा जे कुरा माथि उठाएर राख्छन् त्यो परमेश्वरको वचन होइन, त्यो त परमेश्वरको वचनको पुस्तक हो। यो अत्यन्तै दुःखलाग्दो मामला हो। त्यस्तो कार्य परमेश्वरलाई माथि उठाएर राख्नु जस्तो दुरुस्त उस्तै कार्य होइन किनभने परमेश्वरको बारेमा तिमीहरूमा भएको बुझाइको कमी यस्तो हदसम्म पुगेको छ कि एकदमै स्पष्ट प्रश्न, एक अत्यन्तै मामुली मामलाले पनि तिमीहरूलाई तिमीहरूका आफ्नै धारणाहरू बनाउने तुल्याएको छ। जब म तिमीहरूलाई तिमीहरूका केही कुरा सोध्छु, तिमीहरूले अड्कल र तिमीहरूका आफ्ना कल्पनाहरूद्वारा जबाफ दिन्छौ; तिमीहरूमध्ये केहीले त शङ्कास्पद भाव धारण गर्छौ र मेरा प्रश्नहरूको जबाफ प्रश्नहरूबाटै दिन्छौ। यसले मलाई अझ स्पष्टसित भन्छ कि तिमीहरूले विश्वास गरेको परमेश्वर साँचो परमेश्वर हुनुहुन्न। परमेश्वरका वचनहरूलाई वर्षौंसम्म पढेपछि, तिमीहरूले फेरि पनि उहाँको बारेमा निष्कर्ष निकाल्नको लागि ती वचनहरू, उहाँका काम, र थप धर्मसिद्धान्तहरूलाई प्रयोग गर्छौ। यस बाहेक, तिमीहरूले कहिल्यै पनि परमेश्वरलाई बुझ्न समेत प्रयास गर्दैनौ; तिमीहरूले कहिल्यै पनि उहाँका अभिप्रायहरू पत्ता लगाउने, मानिसहरूप्रति उहाँको मनोवृत्ति बुझ्ने, वा परमेश्वरले कसरी सोच्नुहुन्छ, किन उहाँ दुःखी बन्नुहुन्छ, किन उहाँ रिसाउनुहुन्छ, किन उहाँले मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ, र यस्तै अन्य प्रश्नहरूको बोध गर्ने प्रयास गर्दैनौ। अझ भन्ने हो भने, अझै धेरै मानिसहरूले परमेश्वर सधैँ शान्त रहनुभएको छ किनभने उहाँले मानवजातिका विविध कार्यहरूलाई तिनीहरूको बारेमा कुनै पनि आचरण वा विचार नराखीकन केवल हेर्दै हुनुहुन्छ भन्ने विश्वास गर्छन्। मानिसहरूको अझै अर्को समूहले परमेश्वरले एउटै पनि आवाज निकाल्नुहुन्न किनभने उहाँले मौन रूपमा स्वीकृति जनाउनुभएको छ, चुपचाप रहनुभएको छ किनभने उहाँ प्रतीक्षा गरिरहनुभएको छ वा किनभने उहाँसँग कुनै आचरण नै छैन भन्ने विश्वास गर्छन्; तिनीहरूले ठान्छन् कि परमेश्वरको आचरणलाई यसअघि नै पुस्तकहरूमा विस्तृत रूपले व्याख्या गरिसकिएको छ र यसलाई यसको सम्पूर्णतामै मानवजातिलाई व्यक्त गरिसकिएको छ, त्यसैले यसको बारेमा बारम्बार मानिसहरूलाई बताइरहन जरुरी छैन। परमेश्वर शान्त रहनुभएको भए तापनि, उहाँसँग आचरण र दृष्टिकोणका साथै उहाँले मानिसहरूले पूरा गर्नैपर्ने सर्त राख्नुभएका मापदण्डहरू हुन्छन्। मानिसहरूले उहाँलाई बुझ्न वा उहाँको खोजी गर्न कोसिस नगरे तापनि, परमेश्वरको आचरण स्पष्ट छ। कुनै बेला जोश-जाँगरका साथ परमेश्वरलाई पछ्याएको तर त्यसपछि कुनै समयमा उहाँलाई त्यागेर छाडी हिँडेको कुनै व्यक्तिको बारेमा सोच। अचम्मको कुरो, यो व्यक्ति अहिले फर्कि आउने हो भने, परमेश्वरको दृष्टिकोण के हुनेछ, वा उहाँको आचरण के हुनेछ तिमीहरूलाई थाहा हुँदैन। के यो अत्यन्तै दुःखलाग्दो कुरो होइन र? तथ्य के हो भने यो एकदमै सतही मामला हो। यदि तिमीहरूले साँचो रूपले परमेश्वरको हृदयलाई बुझ्थ्यौ भने तिमीहरूले यस प्रकारको व्यक्तिप्रति उहाँको आचरण कस्तो हुन्छ भन्ने कुरा जान्नेथियौ, र तिमीहरूले अस्पष्ट जबाफ दिँदनथियौ। तिमीहरूलाई थाहै छैन, त्यसैले म तिमीहरूलाई कुरा बुझाउन चाहन्छु।
परमेश्वरको कामको दौरान भाग्ने व्यक्तिहरूप्रति परमेश्वरको आचरण
यस प्रकारका मानिसहरू जहाँतहीँ हुन्छन्: परमेश्वरको मार्गको बारेमा निश्चित भइसकेपछि, विविध कारणहरूले गर्दा, तिनीहरू चुपचाप गएँ है पनि नभनी, टाढा जान र तिनीहरूको हृदयले जे चाहन्छ त्यही गर्न छाडेर हिँड्छन्। हाललाई हामी यी व्यक्तिहरूले छाडेर हिँड्ने कारणहरूमा प्रवेश गर्नेछैनौं; हामी पहिले यस प्रकारको व्यक्तिप्रति परमेश्वरको आचरण कस्तो हुन्छ त भनेर हेर्नेछौं। यो एकदमै स्पष्ट छ! यी मानिसहरूले छाडी गएको क्षणदेखि, परमेश्वरको आँखामा तिनीहरूको विश्वासको अवधि समाप्त हुन्छ। यो उक्त एक व्यक्तिले अन्त्य गरेको होइन, यो त परमेश्वरले अन्त्य गर्नुभएको हो। उक्त व्यक्तिले परमेश्वरलाई छाडेर गयो भन्नुको अर्थ तिनीहरूले परमेश्वरलाई अस्वीकार गरे, तिनीहरूले उहाँलाई अब फेरि कहिल्यै चाहँदैनन् र तिनीहरूले परमेश्वरको मुक्ति अब फेरि कहिल्यै स्वीकार गर्दैनन् भन्ने हुन्छ। यस प्रकारका मानिसहरूले परमेश्वरलाई नचाहने भएको हुनाले, के तिनीहरूलाई उहाँले अझै चाहनुहुन्छ त? यस बाहेक, जब त्यस्ता मानिसहरूसँग यस प्रकारको आचरण, यो दृष्टिकोण हुन्छ र तिनीहरू परमेश्वरलाई छाडी जान दृढ बन्छन्, तब तिनीहरूले पहिले नै परमेश्वरको स्वभावलाई भड्काइसकेका हुन्छन्। तिनीहरू रिसले चूर नभएको र तिनीहरूले परमेश्वरलाई नसरापेको भए पनि, तिनीहरू दुष्ट र अतिशय व्यवहारमा संलग्न नभए तापनि र यी मानिसहरूले “जब मैले बाह्य रूपमा धीत मरूञ्जेल मजा लिइसकेको हुन्छु, वा जब मलाई अझै केही कुराको लागि परमेश्वरको आवश्यकता पर्छ, यदि यस्तो दिन आए, म फर्की आउनेछु वा परमेश्वरले मलाई बोलाउनुभयो भने म फर्की आउनेछु” भनेर सोचे तापनि वा तिनीहरूले “जब म बाह्य रूपमा चोटग्रस्त हुन्छु, वा जब मैले बाह्य संसार एकदमै अन्धकारमय र दुष्ट भएको देख्छु र म अब फेरि कहिल्यै जमानाअनुसार चल्न चाहन्न भने, म परमेश्वरकहाँ फर्की आउनेछु” भनेर भने तापनि यस्तो हुन्छ। यी मानिसहरूले तिनीहरू कहिले फर्की आउने भनेर तिनीहरूको मस्तिष्कमा हिसाबकिताब गरिसकेको हुने भए तापनि र तिनीहरूले फर्की आउने ढोका खुला राखे तापनि, तिनीहरूले महसुस गर्दैनन् कि चाहे तिनीहरूले जेसुकै विश्वास गरून् वा तिनीहरूले जे-जसरी नै योजना गरून् यो त केवल अभिलाषी सोच मात्र हुन्छ। तिनीहरूको सबैभन्दा ठूलो गल्ती भनेको परमेश्वरलाई छाडी जाने तिनीहरूको चाहनाले परमेश्वरलाई कस्तो अनुभव गर्ने तुल्याउँछ भन्ने बारेमा स्पष्ट नहुनु हो। तिनीहरूले परमेश्वरलाई छाडी जाने निर्णय गरेकै क्षणदेखि, उहाँले तिनीहरूलाई पूर्ण रूपमा परित्याग गर्नुहुन्छ; त्यति बेलासम्ममा, उहाँले त्यस्तो व्यक्तिको परिणाम निर्धारण गरिसक्नुभएको हुन्छ। त्यो परिणाम के हो त? त्यो परिणाम भनेको उक्त व्यक्ति मुसाहरूमध्ये एक बन्नेछ र तिनीहरूसँगै नासिएर जानेछ भन्ने हो। यसरी, मानिसहरूले यस प्रकारको अवस्था बारम्बार देख्छन्: कुनै व्यक्तिले परमेश्वरलाई छाड्छ तर त्यसपछि उसले कुनै दण्ड पाउँदैन। परमेश्वरले उहाँका आफ्नै सिद्धान्तहरू अनुसार कार्य सञ्चालन गर्नुहुन्छ; केही कुराहरू देख्न सकिन्छ भने अन्य कुराहरूचाहिँ परमेश्वरको हृदयभित्र निष्कर्षमा पुग्छन्, त्यसैले मानिसहरूले नतिजाहरू देख्न सक्दैनन्। मानिसहरूले देख्न सक्ने भाग नै वस्तुहरूको साँचो भाग हो भन्ने जरुरी छैन, तर त्यो अर्को भागमा—तैँले नदेख्ने भागमा—वास्तवमा परमेश्वरका साँचो हृदयस्पर्शी सोचहरू र निष्कर्षहरू हुन्छन्।
परमेश्वरको कामको अवधिमा भाग्ने मानिसहरू साँचो मार्ग त्याग्ने व्यक्तिहरू हुन्
परमेश्वरले उहाँको कामको दौरान भागेर जाने मानिसहरूलाई कसरी त्यस्तो गम्भीर दण्ड दिन सक्नुहुन्छ? उहाँ तिनीहरूप्रति किन त्यति रिसाउनुहुन्छ? सर्वप्रथम, हामीलाई परमेश्वरको स्वभाव भनेको महिमा र क्रोध हो भन्ने थाहा छ; उहाँ जो कसैले काटेर मार्ने भेडा होइन, उहाँ मानिसहरूले जसरी चाह्यो त्यसरी काबूमा रहने कठपुतली हुने कुरा त झन् परै जाओस्। उहाँ यता-उता गराउन सकिने रित्तो हावाको पोको पनि होइन। यदि तैँले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी सच्चा रूपमा विश्वास गर्छस् भने, तँसँग परमेश्वरको डर मान्ने हृदय हुनुपर्छ, अनि तैँले उहाँको सार क्रोधित पारिनु पर्ने कुरा होइन भनी जान्नुपर्छ। यस्तो क्रोध एउटा शब्दले, वा शायद एउटा विचारले, वा शायद कुनै प्रकारको दुष्ट व्यवहारले, वा शायद सामान्य व्यवहार—यस्तो व्यवहार जुन मानवीय आँखाहरू र आचारशास्त्रअनुसार ठीकै लाग्ने हुन्छन्—त्यसले समेत पैदा गराउन सक्छ; वा शायद यो क्रोधलाई कुनै धर्मसिद्धान्त वा सिद्धान्तले भड्काउँछ। तथापि, तैँले परमेश्वरलाई क्रोधित पारिसकेपछि तेरो अवसर गुमिसकेको हुन्छ, अनि तेरा आखिरी दिनहरू आइसकेका हुन्छन्। यो एकदम भयानक कुरा हो! यदि तैँले परमेश्वरलाई ठेस पुर्याउनु हुँदैन भन्ने कुरा बुझ्दैनस् भने, तँ परमेश्वरसँग डराउँदैनस्, र शायद तैँले नियमित रूपमा उहाँलाई ठेस पुर्याउँदै गरेको हुन सक्छस्। यति तँलाई कसरी परमेश्वरको डर मान्ने भन्ने कुरा थाहा छैन भने तैँले परमेश्वरको डर मान्न सक्दैनस्, र तँलाई कसरी आफूले आफूलाई परमेश्वरको मार्ग अर्थात परमेश्वरको डर मान्ने अनि दुष्टताबाट अलग रहने मार्गमा हिँड्ने बाटोमा लैजाने हो सो थाहा हुनेछैन। परमेश्वरलाई ठेस पुर्याउनु हुँदैन भन्ने तँलाई थाहा भइसकेपछि र तँ यसबारेमा सचेत भइसकेपछि, तैँले परमेश्वरको डर मान्ने अनि दुष्टताबाट अलग रहने भनेको के हो सो थाहा पाउनेछस्।
परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्नु भनेको तैँले कति सत्यता बुझेको छस्, तैँले कति परीक्षाहरूको अनुभव गरेको छस्, वा तँ कति अनुशासित छस् भन्ने बारेमा नै हुनु जरुरी छैन। बरु, यो त तँसँग तेरो हृदयमा परमेश्वरप्रति कस्तो प्रकारको आचरण छ र तैँले के सार व्यक्त गर्छस् भन्ने कुरामा निर्भर हुन्छ। मानिसहरूका सारहरू र तिनीहरूका आत्मपरक आचरणहरू—यी कुराहरू धेरै महत्त्वपूर्ण, धेरै निर्णायक छन्। जहाँसम्म परमेश्वरलाई परित्याग गर्ने र छोडेर जाने व्यक्तिहरूको सवाल छ, परमेश्वरप्रतिको तिनीहरूको निन्दनीय आचरण र सत्यतालाई घृणा गर्ने तिनीहरूको हृदयले यसअघि नै उहाँको स्वभावलाई क्रुद्ध पारिसकेको हुन्छ, जहाँसम्म उहाँको सवाल छ, उहाँले तिनीहरूलाई कहिल्यै पनि क्षमा गर्नुहुनेछैन। तिनीहरूले परमेश्वरको अस्तित्वको बारेमा जानेका छन्, तिनीहरूलाई उहाँ यसअघि नै आइसक्नुभएको छ भनी सूचित गरिसकिएको छ र तिनीहरूले परमेश्वरको नयाँ कामको पनि अनुभव गरिसकेका छन्। तिनीहरू प्रस्थान हुनुको कारण तिनीहरू भ्रममा परेकाले वा बेवकुफ भएकाले थिएन, तिनीहरूलाई जबरजस्ती छोडेर जान लगाउने कुरो त परै जाओस्। बरु, तिनीहरूले जानी-जानी नै र स्पष्ट विचारको साथ परमेश्वरलाई छोडेर जाने विकल्प रोजे। तिनीहरूको प्रस्थान तिनीहरूले बाटो बिराएको कारण थिएन, न त तिनीहरू परित्याग गरिएका नै थिए। त्यसकारण, परमेश्वरको नजरमा तिनीहरू झुण्डबाट हराएका भेडाहरू होइनन्, तिनीहरू बाटो बिराएका उडन्ते पुत्रहरू हुने कुरा त परै जाओस्। तिनीहरूले दण्डहीनताका साथ प्रस्थान गरे—त्यस्तो अवस्थाले, त्यस्तो परिस्थितिले परमेश्वरको स्वभावलाई भड्काउँछ, र यही भड्काइको कारण उहाँले तिनीहरूलाई निराशाजनक परिणामहरू दिनुहुन्छ। के यस प्रकारको परिणाम डरलाग्दो हुँदैन त? त्यसकारण, यदि मानिसहरूले परमेश्वरलाई चिन्दैनन् भने तिनीहरूले उहाँलाई ठेस पुर्याउन सक्छन्। यो सानो कुरो होइन! यदि मानिसहरूले परमेश्वरको आचरणलाई गम्भीर रूपमा लिँदैनन् भने र तिनीहरू अझै पनि तिनीहरू उहाँका हराएका भेडाहरू भएकोले उहाँ तिनीहरू फर्की आउने आशामा हुनुहुन्छ र उहाँले अझै पनि तिनीहरूले हृदय परिवर्तन गरून् भन्ने प्रतीक्षामा हुनुहुन्छ भन्ने विश्वास गर्छन् भने, तिनीहरू तिनीहरूको दण्डका दिनहरूबाट धेरै टाढा छैनन्। परमेश्वरले तिनीहरूलाई स्वीकार गर्न इन्कार मात्र गर्नुहुन्न—तिनीहरूले उहाँको स्वभावलाई भड्काएको त्यो दोस्रो पटक भएको हुँदा, मामला झनै भयानक हुन्छ! यी मानिसहरूको अनादरकारी आचरणहरूले यसअघि नै परमेश्वरका प्रशासनिक विधिहरूको उल्लङ्घन गरिसकेका छन्। के तिनीहरूलाई अझै उहाँले स्वीकार गर्नुहुन्छ त? परमेश्वरको हृदयमा, यो मामलाको सम्बन्धमा उहाँका सिद्धान्तहरू के हुन्छन् भने यदि कसैले साँचो मार्गको बारेमा निश्चितता हासिल गरेको छ तर पनि अझै उसले जानी-जानी नै र स्पष्ट विचारको साथ परमेश्वरलाई अस्वीकार गरी परमेश्वरबाट टाढा जान्छ भने, उहाँले त्यस्तो व्यक्तिको मुक्तिको बाटो बन्द गरिदिनुहुन्छ र उक्त व्यक्तिको लागि राज्यको प्रवेशद्वार अब उप्रान्त बन्द गरिनेछ। जब यस्तो व्यक्ति फेरि ढोका ढकढक्याउँदै आउँछ, परमेश्वरले ढोका उघार्नुहुनेछैन; उक्त व्यक्तिलाई सधैँको लागि ढोका बन्द गरी बाहिरै राखिनेछ। सायद तिमीहरूमध्ये केहीले बाइबलमा मोशाको कथा पढेका छौ होला। परमेश्वरद्वारा मोशाको अभिषेक भएपछि, तिनका कार्यहरूको कारण र अन्य विविध कुराहरूको कारण २५० जना अगुवाहरूले मोशाप्रति अवज्ञा व्यक्त गरे। तिनीहरूले कोप्रति समर्पित हुन अस्वीकार गरे त? मोशाप्रति होइन। तिनीहरूले परमेश्वरका बन्दोबस्तहरूप्रति समर्पित हुन अस्वीकार गरे; तिनीहरूले यस मामला सम्बन्धी परमेश्वरको कामप्रति समर्पित हुन अस्वीकार गरे। तिनीहरूले यसो भने: “तपाईंहरूले अति गर्नुभयो! महासभामा सबै जना पवित्र छन्, हरेक व्यक्ति पवित्र छन् र तिनीहरूमाझ यहोवा हुनुहुन्छ…।” के यी शब्द र पङ्तिहरू, मानव दृष्टिकोणबाट, धेरै गम्भीर छन् त? ती धेरै गम्भीर छैनन्! कम्तीमा पनि यी शब्दहरूको शाब्दिक अर्थ गम्भीर छैन। कानुनी अर्थमा, तिनीहरूले कुनै पनि कानुन उल्लङ्घन गर्दैनन्, किनभने सतही रूपमा, यो शत्रुतापूर्ण भाषा वा शब्दसंग्रह होइन, यसमा ईश्वरनिन्दाको सङ्केतार्थ हुने कुरा त परै जाओस्। यी त केवल सामान्य वाक्यहरू हुन्, त्योभन्दा बढ्ता केही होइनन्। त्यसो भए, किन यी शब्दहरूले परमेश्वरको त्यस्तो क्रोध भड्काउन सक्छन् त? किनभने ती शब्दहरू मानिसहरूलाई भनिएका थिएनन्, परमेश्वरलाई भनिएका थिए। तिनीहरूले व्यक्त गरेका मनोवृत्ति र स्वभाव नै ती कुराहरू हुन् जसले परमेश्वरको स्वभावलाई भड्काउँछन्, र तिनीहरूले चिढ्याउन नहुने परमेश्वरको स्वभावलाई चिढ्याउँछन्। अन्त्यमा ती अगुवाहरूका परिणामहरू के थिए, हामी सबैलाई थाहा छ। परमेश्वरलाई त्याग गरेका मानिसहरूको सम्बन्धमा भन्दा, तिनीहरूको दृष्टिकोण के हो त? तिनीहरूको आचरण के हो त? अनि किन तिनीहरूको दृष्टिकोण र आचरणले परमेश्वरलाई तिनीहरूसँग त्यस शैलीमा व्यवहार गर्ने तुल्याउँछ त? यसको कारण के हो भने, तिनीहरूले उहाँ परमेश्वर हुनुहुन्छ भन्ने जाने तापनि, तिनीहरूले अझै उहाँलाई धोका दिने विकल्प रोजे, अनि यसको कारण तिनीहरूलाई तिनीहरूको मुक्तिका सबै अवसरहरूबाट पूर्ण रूपमा वञ्चित गरिन्छ। बाइबलमा लेखिए झैं, “किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौं भने, त्यसउप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन।” के अब तिमीहरूले यो मामलाको बारेमा स्पष्ट बुझ्यौ त?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।