परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने (भाग तीन)

परमेश्‍वरले के-कसरी मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ र उहाँले त्यसो गर्नको लागि प्रयोग गर्नुहुने मापदण्डहरू

तैँले कुनै पनि दृष्टिकोण वा निष्कर्षहरू तय गर्नुअघि, तँप्रति परमेश्‍वरको कस्तो आचरण छ र उहाँले के सोचिरहनुभएको छ भन्ने कुरा तैँले पहिले जान्नुपर्छ, अनि त्यसपछि तैँले तेरो आफ्नो सोच सही छ कि छैन भनेर निर्णय गर्न सक्छस्। परमेश्‍वरले व्यक्तिको परिणाम निर्धारण गर्नको लागि समयलाई मापनको एक इकाइको रूपमा कहिल्यै पनि प्रयोग गर्नुभएको छैन, न त उहाँले कहिल्यै कुनै व्यक्तिले कति धेरै कष्ट सहेको छ भन्ने कुरामा नै त्यस्तो निर्धारणलाई आधारित गर्नुभएको छ। त्यसो भए, परमेश्‍वरले कुनै व्यक्तिको परिणाम निर्धारण गर्नको लागि केलाई मापदण्डको रूपमा प्रयोग गर्नुहुन्छ त? समयको आधारमा परिणाम निर्धारण गर्दा नै यो मानिसहरूको धेरैजसो धारणाहरूसँग मेल खाने हुनेथियो। यस अलावा, तिमीहरूले यस्ता व्यक्तिहरू प्रायः देखिरहन्छौ जसले कुनै एक समय एकदमै धेरै सुम्पेको थियो, धेरै अर्पण गरेको थियो, ठूलो मूल्य चुकाएको थियो र एकदमै ठूलो कष्ट सहेको थियो। तिमीहरूको हेर्ने शैलीअनुसार त यिनीहरू ती व्यक्तिहरू हुन् जसलाई परमेश्‍वरले मुक्ति दिन सक्‍नुहुन्छ। यी मानिसहरूले प्रदर्शन गर्ने र जिउने सबै कुराहरू व्यक्तिको परिणाम निर्धारण गर्नको लागि परमेश्‍वरले तय गर्नुभएका मापदण्डहरू सम्बन्धी मानिसहरूका धारणाहरूसँग दुरुस्त रूपमा मिल्छ। तिमीहरूले जेसुकै विश्‍वास गरे पनि, म यी उदाहरणहरूलाई एक-एक गरी सूचीबद्ध गर्दिन। संक्षिप्त रूपमा भन्दा, परमेश्‍वरको आफ्नै सोचभित्रको मापदण्डमा नभएको कुनै पनि कुरा मानव कल्पनाबाट आएको हुन्छ र त्यस्ता सबै कुराहरू मानव धारणहरू हुन्। यदि तैँले तेरा आफ्नै धारणा र मिथ्या कल्पनाहरूमै अन्धो भई जिद्दी गर्छस् भने, परिणाम के होला त? यो कुरा स्पष्ट छ, यसको परिणाम भनेको परमेश्‍वरले तँलाई तिरस्कार गर्नु मात्र हुन सक्छ। यस्तो हुन्छ किनभने तैँले सधैँ परमेश्‍वरको अगाडि तेरा आफ्ना योग्यताहरूलाई शानसाथ देखाउँछस्, उहाँसँग प्रतिस्पर्धा गर्छस् र उहाँसँग तर्कवितर्क गर्छस् तर तैँले साँचो रूपले उहाँको सोचलाई बुझ्ने कोसिस गर्दैनस्, न त तैँले उहाँको इच्छालाई वा मानवजातिप्रति उहाँको आचरणलाई नै बुझ्ने कोसिस गर्छस्। यस शैलीमा अघि बढेर तैँले सबैभन्दा माथि आफैलाई सम्मान गरिरहेको हुन्छस्; यसले परमेश्‍वरलाई ठूलो बनाउँदैन। तैँले आफैमाथि विश्‍वास गर्छस्; तैँले परमेश्‍वरमाथि विश्‍वास गर्दैनस्। त्यस्ता व्यक्तिहरूलाई परमेश्‍वर चाहनुहुन्न, न त उहाँले तिनीहरूलाई मुक्ति नै प्रदान गर्नुहुन्छ। यदि तैँले यस प्रकारको दृष्टिकोणलाई छाड्न सक्छस् भने, र अझ भन्ने हो भने, यदि तैँले विगतमा आफूले धारण गरेका यी गलत दृष्टिकोणहरूलाई सच्याउँछस् भने, यदि तँ परमेश्‍वरका आवश्यक मापदण्डहरू अनुरूप अघि बढ्न सक्छस् भने, यदि तैँले अब उप्रान्त परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गलाई अभ्यास गर्न सक्छस् भने, यदि तैँले परमेश्‍वरलाई सबै थोकमा सबैभन्दा ठूला एकमात्र परमेश्‍वरको रूपमा सम्मान गर्न सक्छस् र तैँले तँ आफैलाई र परमेश्‍वरलाई परिभाषित गर्नको लागि तेरा आफ्नै मिथ्या कल्पनाहरू, दृष्टिकोणहरू वा विश्‍वासहरूको प्रयोग गर्नबाट आफूलाई रोक्न सक्छस् भने र त्यसको सट्टामा यदि तैँले सबै सन्दर्भमा परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्छस् भने, तैँले मानवताप्रति उहाँको आचरणको बारेमा अनुभूति र बुझाइ प्राप्त गर्छस् भने र उहाँका मापदण्डहरू पूरा गरी उहाँलाई सन्तुष्ट पार्छस् भने, त्यो एकदमै राम्रो हुनेछ! यसले के सङ्केत गर्नेछ भने, तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्न लागेको छस्।

यदि परमेश्‍वरले मानिसहरूका विविध सोचहरू, विचारहरू र दृष्टिकोणहरूलाई तिनीहरूका परिणामहरू निर्धारण गर्ने मापदण्डहरूको रूपमा प्रयोग गर्नुहुन्न भने, उहाँले मानिसहरूका परिणामहरू निर्धारण गर्नको लागि कस्ता प्रकारका मापदण्डहरू प्रयोग गर्नुहुन्छ त? उहाँले तिनीहरूका परिणामहरू निर्धारण गर्नको लागि परीक्षाहरूको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्नको लागि प्रयोग गर्नुहुने परीक्षाहरूको लागि दुईवटा मापदण्डहरू हुन्छन्: पहिलो हो, मानिसहरूले भोग्ने परीक्षाहरूको संख्या र दोस्रो हो, यी परीक्षाहरूले मानिसहरूमा ल्याउने नतिजाहरू। यी दुई सूचकहरूले नै कुनै व्यक्तिको परिणाम स्थापित गर्छन्। अब हामी यी दुई मापदण्डहरूको बारेमा विस्तृत छलफल गरौँ।

सुरुमा भन्दा, जब कुनै व्यक्तिले परमेश्‍वरले दिनुभएको परीक्षाको सामना गर्छ (नोट: तेरो आँखामा यो परीक्षा सामान्य कुरा, भन्न पनि योग्य नहुने कुरा हुन सक्छ), तब उहाँले तँलाई यो त तँमाथि उहाँका हातहरू राख्नुभएको हो र यो परिस्थिति तेरो लागि उहाँले नै बन्दोबस्त गर्नुभएको हो भनेर स्पष्ट रूपमै सचेत गराउनुहुन्छ। तँ कदमा अपरिपक्व रहेकै अवस्थामा, परमेश्‍वरले तँलाई जाँच्नको लागि परीक्षाहरूको बन्दोबस्त गर्नुहुन्छ र यी परीक्षाहरू तेरो कद अनुरूप, तैँले जे बुझ्न सक्छस् सोही अनुरूप हुनेछन् र तैँले जे सहन गर्न सक्छस् सोही अनुरूप हुनेछन्। तेरो कुन भागलाई जाँच गरिनेछ त? परमेश्‍वरप्रतिको तेरो आचरणको। के यो आचरण धेरै महत्त्वपूर्ण छ त? अवश्य पनि यो महत्त्वपूर्ण छ। यो विशेष महत्त्वको छ! मानिसहरूमा हुने यो आचरण नै परमेश्‍वरले चाहनुहुने नतिजा हो, त्यसैले उहाँको लागि त, यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। नत्रभने त परमेश्‍वरले यस्ता काममा संलग्न भई मानिसहरूमा आफ्ना प्रयत्नहरू खर्च गर्नुहुन्नथ्यो। यी परीक्षाहरूमार्फत परमेश्‍वरले उहाँप्रतिको तेरो आचरण हेर्न चाहनुहुन्छ; उहाँ तँ सही मार्गमा छस् कि छैनस् भनी हेर्न चाहनुहुन्छ। तैँले परमेश्‍वरको डर मान्छस् कि मान्दैनस् र तँ दुष्टताबाट अलग बस्छस् कि बस्दैनस् भनेर पनि उहाँले हेर्न चाहनुहुन्छ। त्यसकारण, कुनै खास समयमा तैँले सत्यताको धेरै वा थोरै कुरा बुझेको भए पनि नभए पनि, तैँले परमेश्‍वरको परीक्षाहरूको सामना गर्नुपर्नेछ, अनि तैँले बुझ्ने सत्यताको मात्राको वृद्धिसँगै उहाँले तेरो लागि सान्दर्भिक परीक्षाहरू बन्दोबस्त गर्न जारी राख्नुहुनेछ। जब तैँले फेरि पनि परीक्षाको सामना गर्छस्, परमेश्‍वरले तेरो दृष्टिकोण, तेरा विचारहरू, उहाँप्रतिको तेरो आचरणमा हस्तक्षेप गरिएको अवधिमा कुनै प्रगति भएको छ कि छैन सो हेर्न चाहनुहुनेछ। केही मानिसहरूले यस्तो विचार गर्छन्, “परमेश्‍वरले किन मानिसहरूको आचरण हेर्न चाहनुहुन्छ त? के उहाँले तिनीहरूले के-कसरी सत्यताको अभ्यास गर्छन् भनेर यसअघि नै देखिसक्नुभएको हुँदैन र? किन अझै पनि उहाँले तिनीहरूको आचरण हेर्न चाहनुहुन्छ?” यो त बकवास कुरा हो! परमेश्‍वरले यस शैलीमा काम गर्नुहुने हुनाले त्यसभित्र उहाँको इच्छा पक्कै हुनुपर्छ। परमेश्‍वरले निरन्तर रूपमा नजिकबाट मानिसहरूलाई अवलोकन गर्नुहुन्छ, तिनीहरूको शब्द र कार्य, तिनीहरूको हरेक कर्म र चाललाई हेर्नुहुन्छ; उहाँले तिनीहरूको हरेक सोच र विचारलाई समेत अवलोकन गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा घट्ने हरेक घटनालाई—तिनीहरूका असल कर्महरू, तिनीहरूका गल्तीहरू, तिनीहरूका अपराधहरू, तिनीहरूका विद्रोहहरू र धोकाहरू समेतलाई—प्रमाणको रूपमा टिपेर राख्नुहुन्छ त्यसलाई तिनीहरूका परिणामहरू निर्धारण गर्न प्रयोग गर्नुहुन्छ। चरणबद्ध रूपमा, जब परमेश्‍वरको काम उच्च तहमा जान्छ, तब तैँले अझै बढी सत्यताहरू सुन्नेछस् र तैँले अझ सकारात्मक कुरा र जानकारीहरू स्वीकार गर्न पुग्नेछस् र तैँले अझ बढी सत्यताको वास्तविकता प्राप्त गर्नेछस्। यो प्रक्रियाभरि नै, तेरो लागि परमेश्‍वरले तय गर्नुभएका आवश्यक मापदण्डहरू बढ्दै जानेछन् र ती मापदण्डहरू बढ्दै जाँदा उहाँले तेरो लागि अझ गम्भीर परीक्षाहरूको बन्दोबस्त गर्नुहुनेछ। उहाँको लक्ष्य भनेको यस बीचमा उहाँप्रतिको तेरो आचरणमा कुनै प्रगति भएको छ कि छैन भनेर जाँच गर्नु हो। अवश्य पनि, जब यस्तो हुन्छ, तब तैँले धारण गर्नैपर्ने भनेर परमेश्‍वरले तोक्‍नुभएको दृष्टिकोण तेरो सत्यताको वास्तविकताको बुझाइसँग मेल खानेछ।

तेरो कद क्रमिक रूपले बढ्दै जाँदा, परमेश्‍वरले तैँले पूरा गर्नैपर्ने भनेर तोक्‍नुभएको मापदण्ड पनि बढ्दै जानेछ। तँ अझै पनि अपरिपक्व भएको बेलामा, उहाँले तैंले पूरा गर्नको लागि तल्लो तहको मापदण्ड तय गर्नुहुनेछ; जब तेरो कद अलि ठूलो हुन्छ, तब उहाँले तेरो मापदण्डलाई अलि माथिल्लो तहमा लैजानुहुनेछ। तर तैँले सबै सत्यताहरूको बारेमा बुझाइ हासिल गरिसकेपछि परमेश्‍वरले के गर्नुहुनेछ? उहाँले तँलाई अझ ठूला परीक्षाहरूको सामना गर्न लगाउनुहुनेछ। यी परीक्षाहरूमाझ, परमेश्‍वरले तँबाट प्राप्त गर्न चाहनुभएको कुरा, उहाँले तँबाट देख्न चाहनुभएको कुरा भनेको उहाँको बारेमा अझ गहन बुझाइ, उहाँको बारेमा वास्तविक आदर हो। यो समयमा, तेरो लागि उहाँले तोक्‍नुभएका मापदण्डहरू तेरो कद अपरिपक्व भएको बेलाका मापदण्डहरूभन्दा अझ माथिल्लो तहका र “अझ कठोर” (नोट: मानिसहरूले तिनलाई कठोर भनी मान्लान् तर परमेश्‍वरले वास्तवमा तिनलाई उचित मान्नुहुन्छ) हुनेछन्। जब परमेश्‍वरले मानिसहरूको परीक्षा लिइरहनुभएको हुन्छ, तब उहाँले कस्तो प्रकारको वास्तविकता सृजना गर्न खोजिरहनुभएको हुन्छ? उहाँले मलाई तिमीहरूको हृदय देओ भनेर निरन्तर रूपमा मानिसहरूलाई भनिरहनुभएको हुन्छ। केही मानिसहरूले भन्नेछन्, “मैले त्यो कसरी दिन सक्छु? मैल त मेरो कर्तव्य पूरा गरिसकेको छु; मैले मेरो घर र जीविका छाडिसकेको छु र मैले आफैलाई समर्पण गरिसकेको छु। के यी सबै मैले मेरो हृदय परमेश्‍वरलाई दिएको उदाहरणहरू होइनन् र? मैले अन्यथा कसरी परमेश्‍वरलाई हृदय दिन सक्छु त? के यी शैलीहरू वास्तवमा मैले परमेश्‍वरलाई हृदय दिने शैलीहरू नहुन सक्छन् त? परमेश्‍वरको निश्‍चित मापदण्ड के हो त?” यो मापदण्ड एकदमै सरल छ। वास्तवमा, आफ्नो परीक्षाहरूको विविध चरणहरूको दौरान विभिन्न हदसम्म परमेश्‍वरलाई यसअघि नै हृदय दिइसकेका केही मानिसहरू छन्, तर अधिकांश मानिसहरूले कहिल्यै पनि परमेश्‍वरलाई हृदय दिँदैनन्। जब परमेश्‍वरले तेरो परीक्षा लिनुहुन्छ, तब उहाँले तेरो हृदय उहाँसँग छ कि, देहसँग छ वा शैतानसँग छ भनेर हेर्नुहुन्छ। जब परमेश्‍वरले तेरो परीक्षा लिनुहुन्छ, तब उहाँले तँ उहाँको विपक्षमा उभिएको छस् कि उहाँ अनुरूप हुने अवस्थामा उभिएको छस् भनेर हेर्नुहुन्छ, र उहाँले तेरो हृदय उहाँको पक्षमा छ कि छैन भनेर हेर्नुहुन्छ। तँ अपरिपक्व छस् र तैँले परीक्षाहरूको सामना गरिरहेको छस् भने, तँमा थोरै आत्मविश्‍वास हुन्छ र तैँले परमेश्‍वरका अभिप्रायहरू परिपूर्ति गर्नको लागि वास्तवमा के गर्नुपर्छ भन्ने कुरा जान्दैनस् किनभने सत्यतासम्बन्धी तेरो बुझाइ सीमित हुन्छ। तथापि, यदि तैँले अझै पनि साँचो रूपले र इमानदारीता पूर्वक परमेश्‍वरलाई प्रार्थना गर्न सक्छस् भने, र यदि तँ परमेश्‍वरलाई हृदय दिन, उहाँलाई तेरो प्रभु बनाउन इच्छुक बन्न सक्छस् भने र तैँले सबैभन्दा अमूल्य भनी विश्‍वास गरेका तेरा सबै कुराहरू उहाँमा अर्पण गर्न इच्छुक बन्न सक्छस् भने, तैँले यसअघि नै परमेश्‍वरलाई तेरो हृदय दिइसकेको हुनेछस्। तैँले अझ बढी उपदेशहरू सुन्दै जाँदा र अझ बढी सत्यता बुझ्दै जाँदा, तेरो कद पनि क्रमिक रूपमा बढ्दै जानेछ। यो समयमा, परमेश्‍वरका सर्तहरूका मापदण्डहरू तँ अपरिपक्व भएको अवस्थामा भएका मापदण्हरूजस्तो दुरुस्तै हुनेछैनन्; उहाँले तँबाट अलि माथिल्लो तहको मापदण्ड पूरा गर्ने सर्त राख्नुहुनेछ। मानिसहरूले क्रमिक रूपमा परमेश्‍वरलाई हृदय दिँदै जाँदा, तिनीहरूको हृदय बिस्तारै उहाँको नजिक जान्छ; मानिसहरू परमेश्‍वरको नजिक हुँदै जाँदा, तिनीहरूको हृदयले उहाँको झन् बढी आदर गर्दै जानेछ। परमेश्‍वरले त्यस्तै हृदय चाहनुहुन्छ।

जब परमेश्‍वरले कसैको हृदय प्राप्त गर्न चाहनुहुन्छ, तब उहाँले उक्त व्यक्तिलाई असंख्य परीक्षाहरूबाट गुज्रन लगाउनुहुन्छ। यी परीक्षाहरूको दौरान, यदि परमेश्‍वरले उक्त व्यक्तिको हृदय प्राप्त गर्नुभएन भने वा उक्त व्यक्तिसँग कुनै आचरण रहेको देख्नुभएन भने—यसको मतलब, यदि परमेश्‍वरले उक्त व्यक्तिले उहाँको आदर गर्ने गरी अभ्यास वा व्यवहार गरेको देख्नुभएन भने र यदि उहाँले उक्त व्यक्तिमा दुष्टताबाट अलग बस्ने आचरण र संकल्प देख्नुभएन भने—असंख्य परीक्षाहरूपछि परमेश्‍वरले तिनीहरूप्रतिको आफ्‍नो धैर्यतालाई फिर्ता गर्नुहुन्छ र उहाँले तिनीहरूलाई त्यसपछि फेरि सहन गर्नुहुनेछैन। उहाँले उक्त व्यक्तिलाई फेरि कहिल्यै परीक्षा गर्नुहुनेछैन, र उहाँले तिनीहरूसँग फेरि कहिल्यै काम गर्नुहुनेछैन। त्यसो भए, यसले उक्त व्यक्तिको परिणामको बारेमा के कुराको सङ्केत गर्छ त? यसको अर्थ तिनीहरूको कुनै परिणाम हुँदैन भन्ने हो। सायद उक्त व्यक्तिले कुनै दुष्कर्म गरेको छैन होला, सायद तिनीहरूले कुनै पनि विध्वंसात्मक कार्य गरेका छैनन् होला र कुनै बाधा-व्यवधान खडा गरेका छैनन् होला। सायद तिनीहरूले खुला रूपमा परमेश्‍वरको प्रतिरोध गरेका छैनन् होला। तैपनि, उक्त व्यक्तिको हृदय परमेश्‍वरबाट लुकेर रहेको हुन्छ; तिनीहरूसँग कहिल्यै पनि परमेश्‍वरप्रति स्पष्ट आचरण र दृष्टिकोण रहेको हुँदैन र परमेश्‍वरले तिनीहरूको हृदय उहाँलाई दिइएको छ भनेर स्पष्टसित देख्न सक्नुहुन्न वा तिनीहरूले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न खोजिरहेका छन् भनेर देख्न सक्नुहुन्न। परमेश्‍वरले त्यस्ता व्यक्तिहरूप्रति धैर्यता गुमाउनुहुन्छ र तिनीहरूको लागि फेरि कहिल्यै कुनै मूल्य चुकाउनुहुनेछैन, कुनै कृपा प्रदान गर्नुहुनेछैन, वा तिनीहरूमा काम गर्नुहुनेछैन। त्यस्तो व्यक्तिको परमेश्‍वरमा विश्‍वास गर्ने जीवन यसअघि नै समाप्त भइसकेको हुन्छ। किनभने परमेश्‍वरले तिनीहरूलाई दिनुभएका सबै परीक्षाहरूमा परमेश्‍वरले आफूले चाहनुभएका कुनै पनि नतिजाहरू प्राप्त गर्नुभएको हुँदैन। यसरी, यस्ता धेरै मानिसहरू छन् जसमा मैले कहिल्यै पनि पवित्र आत्माको अन्तर्दृष्टि वा ज्योति देखेको छैनँ। कसरी यसलाई देख्न सकिन्छ त? यी मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका होलान् र सतही रूपमा तिनीहरूले जोशका साथ व्यवहार गरेका होलान्; तिनीहरूले धेरै पुस्तकहरू पढेका छन्, धेरै मामलाहरू सम्हालेका छन्, एक दर्जन स्मरण पुस्तिकाहरू भरेका छन्, र अत्यन्तै धेरै वचनहरू र धर्मसिद्धान्तहरूमा पोख्त भएका छन्। तैपनि तिनीहरूमा कहिल्यै पनि देख्‍न सकिने प्रगति भएको छैन, परमेश्‍वरप्रतिको तिनीहरूको दृष्टिकोण अदृश्य रहन्छ, र तिनीहरूको आचरण अझै अस्पष्ट छ। अर्को शब्दमा भन्दा, तिनीहरूको हृदयलाई देख्न सकिँदैन; ती सधैँभरि बेरिएका र सिल गरिएका हुन्छन्—ती परमेश्‍वरबाट टाढा हुने गरी सिल गरिएका हुन्छन्। फलस्वरूप, उहाँले तिनीहरूको साँचो हृदय देख्नुभएको छैन, उहाँले यी मानिसहरूमा उहाँप्रतिको साँचो आदर देख्नुभएको छैन, र त्योभन्दा बढी के हो भने, उहाँले यी मानिसहरू उहाँको मार्गमा कसरी हिँड्छन् भन्ने कुरा देख्नुभएकै छैन। यदि परमेश्‍वरले अहिलेसम्म त्यस्ता मानिसहरूलाई प्राप्त गर्नुभएको छैन भने, के उहाँले भविष्यमा तिनीहरूलाई प्राप्त गर्न सक्नुहुन्छ त? उहाँले तिनीहरूलाई प्राप्त गर्न सक्नुहुन्न। के उहाँले प्राप्त गर्नै नसकिने कुराको लागि जोड दिइरहनुहुन्छ त? उहाँले जोड दिइरहनुहुन्न! त्यसो भए, त्यस्ता मानिसहरूप्रति परमेश्‍वरको वर्तमान आचरण कस्तो हुन्छ त? (उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ र तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ।) उहाँले तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ! परमेश्‍वरले त्यस्ता मानिसहरूलाई ध्यान दिनुहुन्‍न; उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। तिमीहरूले यी वचनहरूलाई एकदमै चाँडो र एकदमै सही रूपले कण्ठस्थ पारिसकेका छौ। यस्तो लाग्छ तिमीहरूले जे सुनेका छौ त्यसलाई बुझिसकेका छौ!

केही मानिसहरू छन् जो परमेश्‍वरलाई पछ्याउन सुरु गर्दा अपरिपक्व र अज्ञानी हुन्छन्; तिनीहरूले परमेश्‍वरको इच्छालाई बुझ्न सक्दैनन्, न त तिनीहरूले उहाँमा विश्‍वास गर्नु भनेको के हो भन्ने नै बुझ्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने मानव कल्पित र गलत तरिका अपनाउँछन्। जब त्यस्ता मानिसहरूले परीक्षाहरूको सामना गर्छन्, तिनीहरू यसको बारेमा सचेत नै हुँदैनन्; तिनीहरू परमेश्‍वरको मार्गनिर्देशन र अन्तर्दृष्टिको बारेमा स्तब्ध रहन्छन्। तिनीहरूले परमेश्‍वरलाई तिनीहरूको हृदय दिनु भनेको के हो वा परीक्षाको दौरान खरो उत्रनु भनेको के हो भन्ने नै जान्दैनन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई सीमित समय मात्र प्रदान गर्नुहुन्छ र उक्त समयमा उहाँले तिनीहरूलाई उहाँका परीक्षाहरूको प्रकृतिको बारेमा र उहाँका अभिप्रायहरू के हुन् भन्ने बारेमा बुझ्न दिनुहुन्छ। पछि गएर, यी मानिसहरूले तिनीहरूका दृष्टिकोणलाई प्रदर्शित गर्नुपर्छ। यो चरणमा रहेका व्यक्तिहरूको लागि परमेश्‍वरले अझै प्रतीक्षा गरिरहनुभएको हुन्छ। केही दृष्टिकोण भएका तर अझै दुबिधामा रहेका, परमेश्‍वरलाई तिनीहरूको हृदय दिन चाहने तर त्यसो गर्न स्वीकार गरी नसकेकाहरू, र केही आधारभूत सत्यताहरूलाई अभ्यास गरिसकेपछि पनि ठूला परीक्षाहरूको सामना गर्दा लुक्न प्रयास गर्ने र हार मान्ने व्यक्तिहरूको हकमा—तिनीहरूप्रति परमेश्‍वरको आचरण कस्तो हुन्छ त? उहाँले अझै पनि तिनीहरूबाट केही कुराको अपेक्षा गर्नुहुन्छ र नतिजा चाहिँ तिनीहरूको आचरण र कार्य-प्रदर्शनमा भर पर्छ। यदि मानिसहरू प्रगति गर्ने कार्यमा सक्रिय हुँदैनन् भने परमेश्‍वरले के गर्नुहुन्छ? उहाँले तिनीहरूलाई त्याग गर्नुहुन्छ। किनभने परमेश्‍वरले तँलाई त्याग गर्नुभन्दा पहिले तैँले आफूले आफैलाई त्यागिसकेको हुन्छस्। यसरी, आफूलाई त्याग गरिएकोमा तैँले परमेश्‍वरलाई दोष लगाउन सक्दैनस्। तैँले परमेश्‍वरको विरुद्ध गुनासो पालेर राख्‍नु गलत हो।

व्यावहारिक प्रश्‍नले मानिसहरूमा ल्याउने विविध लज्जास्पद अवस्थाहरू

अर्को प्रकारको व्यक्ति पनि छ जसको परिणाम सबैभन्दा बढी दुःखद हुन्छ; यस्तो प्रकारको व्यक्तिको बारेमा मलाई कुरा गर्न त्यति मन लाग्दैन। तिनीहरूले परमेश्‍वरको दण्ड पाएकोले वा तिनीहरूमाथि उहाँका सर्तहरू कठोर भएकोले अनि यसको कारण तिनीहरूको परिणाम दुःखद भएकोले ती दुःखद भएका होइनन्; बरु तिनीहरूले त आफूले आफैलाई त्यसो गर्ने भएकाले ती दुःखद भएका हुन्। आम भनाइमा भनिएझैँ, तिनीहरूले आफ्नो चिहान आफै खन्छन्। कस्तो प्रकारको मानिसले यस्तो गर्छ त? यी मानिसहरू सही मार्गमा हिँड्दैनन् र तिनीहरूका परिणामहरू अग्रिम रूपमा खुलासा हुन्छन्। परमेश्‍वरका नजरमा त्यस्ता मानिसहरू उहाँको घृणाको सबैभन्दा ठूला पात्रहरू हुन्। मानव दृष्टिकोणमा, यस्ता मानिसहरू सबैभन्दा दयनीय हुन्छन्। जब त्यस्ता मानिसहरूले परमेश्‍वरलाई पछ्याउन सुरु गर्छन् तब तिनीहरू एकदमै उत्साही हुन्छन्; तिनीहरूले धेरै मूल्य तिर्छन्, तिनीहरूमा परमेश्‍वरको कामको भावी सम्भावनाहरूको बारेमा राम्रो दृष्टिकोण हुन्छ र तिनीहरूको आफ्नो भविष्यको बारेमा तिनीहरूसँग प्रशस्तै कल्पना हुन्छ। तिनीहरूमा परमेश्‍वरप्रति आत्मविश्‍वास हुन्छ र तिनीहरू उहाँले मानिसहरूलाई पूर्ण बनाउनुहुन्छ र तिनीहरूलाई तेजस्वी गन्तव्यमा पुर्‍याउनुहुन्छ भन्ने कुरामा विश्‍वास गर्छन्। तथापि, कुनै कारणवश, परमेश्‍वरको कामको सिलसिलामा यी मानिसहरू भाग्छन्। यो “भाग्छन्” भन्ने पदावलीले यहाँ केलाई जनाउँछ त? यसको मतलब हो, तिनीहरू गएँ है पनि नभनीकन, अलिकति पनि आवाज ननिकालीकन, त्यत्तिकै हराउँछन्; तिनीहरूले एक शब्द पनि नबोली छाडेर जान्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गरे तापनि तिनीहरूले कहिल्यै पनि साँचो रूपले विश्‍वासको मार्गमा जरा गाड्दैनन्। यसरी, तिनीहरूले जति नै धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरे तापनि, तिनीहरू अझै पनि परमेश्‍वरबाट टाढा भाग्न सक्छन्। केही मानिसहरू व्यापार व्यवसायमा लाग्नको लागि छाडेर जान्छन्, केही आफ्‍नो जीवन जिउनको लागि छाडेर जान्छन्, केही धनी बन्नलाई छाडेर जान्छन्, र केही विवाह गर्न र बच्चाबच्ची जन्‍माउनलाई छाडेर जान्छन्…। यसरी छाडेर जानेहरूमा, केही यस्ता हुन्छन् जसलाई पछि विवेकले आक्रमण गर्छ र तिनीहरू फर्की आउन चाहन्छन्, र अरूहरूले चाहिँ जीवन जिउने क्रममा कठिनाइ भोग्छन् र वर्षौंवर्ष संसारमा भौँतारिरहन्छन्। यसरी भौँतारिनेहरूले एकदमै धेरै कष्ट झेल्छन् र तिनीहरूले के विश्‍वास गर्छन् भने, संसारमा रहनु अत्यन्तै पीडादायक हुन्छ र तिनीहरूलाई परमेश्‍वरबाट अलग गर्न सकिँदैन। तिनीहरू आराम, शान्ति, र खुशी प्राप्त गर्नको लागि परमेश्‍वरको घरमा फर्कन चाहन्छन्, र तिनीहरू विपत्तिबाट उम्‍कनको लागि वा मुक्ति पाउन र सुन्दर गन्तव्य प्राप्त गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्ने कार्यलाई जारी राख्न चाहन्छन्। किनभने तिनीहरूले परमेश्‍वरको प्रेम असीमित हुन्छ र उहाँको अनुग्रह अक्षय हुन्छ भन्ने विश्‍वास गर्छन्। तिनीहरूले सोच्छन्, कुनै व्यक्तिले जेसुकै गरेको भए तापनि, परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुपर्छ र तिनीहरूको विगतलाई सहन गर्नुपर्छ। यी मानिसहरूले तिनीहरू फर्की आएर आफ्‍ना कर्तव्यहरू निर्वाह गर्न चाहन्छन् भनी बारम्‍बार भन्‍ने गर्छन्। यस्ता केही मानिसहरू पनि छन् जसले मण्डलीलाई आफ्ना केही सरसामानहरू दिन्छन् र यसले परमेश्‍वरको घरमा फर्की आउने बाटो बनाउनेछ भन्ने आशा गर्छन्। यस्ता मानिसहरूप्रति परमेश्‍वरको आचरण कस्तो हुन्छ त? उहाँले कसरी तिनीहरूका परिणामहरू निर्धारण गर्नुपर्छ त? बोल्नलाई अप्ठ्यारो नमान्। (मलाई लाग्यो, परमेश्‍वरले यस प्रकारको मानिसलाई स्वीकार गर्नुहुन्छ, तर भर्खरै तपाईंको कुरा सुनिसकेपछि, मलाई लाग्छ, उहाँले सायद स्वीकार गर्नुहुन्न।) तेरो तर्क भन्। (त्यस्ता मानिसहरू तिनीहरूको परिणाम मृत्युचाँहि नहोस् भनेर मात्रै परमेश्‍वरसमक्ष आउँछन्। तिनीहरू साँचो इमानदारिताले परमेश्‍वरमा विश्‍वास गर्न आउँदैनन्; तिनीहरू आउँछन् किनकि परमेश्‍वरको काम चाँडै नै समाप्त हुँदैछ भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, त्यसैले तिनीहरूले आएर आशिष् लिन सक्छन् भन्ने भ्रममा तिनीहरू परेका हुन्छन्।) यी मानिसहरूले इमानदारी पूर्वक परमेश्‍वरमा विश्‍वास गर्दैनन्, त्यसैले उहाँले तिनीहरूलाई स्वीकार गर्नुहुन्‍न भनेर तैँले भन्दैछस्, होइन त? (हो।) (मेरो बुझाइ के छ भने त्यस्ता मानिसहरू केवल अवसरवादीहरू हुन्, र तिनीहरूले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्दैनन्।) तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका हुँदैनन्; तिनीहरू अवसरवादीहरू हुन्। राम्रो भनाइ! यी अवसरवादीहरू हरेक व्यक्तिले घृणा गर्ने खालका मानिसहरू हुन्। तिनीहरू जुन दिशातिर हावा बग्यो त्यतैतिर बहन्छन् र तिनीहरूले केही कुरा पाउने अवस्था नभएसम्म तिनीहरूलाई कुनै पनि काम-कुरा गर्न लगाउन सकिँदैन, त्यसकारण, अवश्य नै तिनीहरू घिनलाग्दा छन्! अरू कोही दाजुभाइ वा दिदी-बहिनीसँग बाँड्न मन लागेको कुनै राय छ कि? (परमेश्‍वरले तिनीहरूलाई अब उप्रान्त स्वीकार गर्नुहुनेछैन किनभने उहाँको काम पूरा हुन लागेको छ र अब मानिसहरूका परिणामहरू तय गर्ने समय भएको छ। यस्तो समयमा तिनीहरू फर्की आउन चाहन्छन्—तिनीहरू वास्तवमा सत्यताको खोजी गर्न चाहेकोले वा बाह्य कारक-तत्वहरूको प्रभावमा परेर फर्की आउन चाहेका होइनन्। यदि तिनीहरूसँग साँच्चै नै सत्यताको खोजी गर्ने अभिप्राय हुन्थ्यो भने त, तिनीहरू परमेश्‍वरको कामको बीचैबाट भागेर हिँड्ने थिएनन्।) अन्य कुनै राय छ कि? (तिनीहरूलाई स्वीकार गरिनेछैन। वास्तवमा, परमेश्‍वरले तिनीहरूलाई पहिले नै अवसरहरू दिइसक्‍नुभएको भए पनि तिनीहरूले उहाँप्रति बेपरवाह आचरण धारण गर्न जिद्दी गरेका हुन्छन्। यी मानिसहरूको अभिप्राय जे-जस्तो भए तापनि र तिनीहरूले साँचो रूपले पश्‍चात्ताप गरे तापनि, परमेश्‍वरले अझै तिनीहरूलाई फर्की आउन दिनुहुनेछैन। किनभने उहाँले तिनीहरूलाई धेरै अवसरहरू दिनुभए पनि तिनीहरूले आफ्नो आचरण देखाइसकेका हुन्छन्: तिनीहरूले परमेश्‍वरलाई छाडेर जान चाहेका हुन्छन्। यस कारणले गर्दा, यदि तिनीहरूले अहिले फर्केर आउने कोसिस गरे भने, परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्नुहुनेछैन।) (परमेश्‍वरले यस प्रकारका व्यक्तिलाई स्वीकार गर्नुहुनेछैन भन्‍ने कुरामा म सहमत छु किनभने यदि कुनै व्यक्तिले लामो समय अवधिसम्म साँचो मार्गलाई देखेको छ, परमेश्‍वरको कामलाई अनुभव गरेको छ, तर अझै पनि ‍उसले संसारमा फर्कन र शैतानलाई अँगालो हाल्न सक्छ भने, यो त परमेश्‍वरप्रति अत्यन्तै ठूलो धोका हुन्छ। परमेश्‍वरको सार भनेको कृपा र प्रेम भए पनि, यो त उक्त सार कस्तो प्रकारको व्यक्तिप्रति लक्षित छ भन्ने कुरामा निर्भर रहन्छ। यदि उक्त व्यक्ति आरामको खोजी गर्दै वा आशा गर्न सकिने कुनै कुराको खोजी गर्दै परमेश्‍वरको सामुन्ने आउँछ भने तिनीहरू परमेश्‍वरमा इमानदारीताका साथ विश्‍वास गर्ने प्रकारका व्यक्ति होइनन् र त्यस्ता मानिसहरूप्रति परमेश्‍वरको कृपा सीमित हुन्छ।) यदि परमेश्‍वरको सार कृपा हो भने, किन उहाँले यस प्रकारको व्यक्तिलाई अलिकति थप कृपा प्रदान गर्नुहुन्न त? थप कृपा पाएपछि, के यस प्रकारको व्यक्तिले अवसर प्राप्त गर्दैनथ्यो र? विगतमा, मानिसहरूले बारम्बार भन्ने गर्थे कि परमेश्‍वरले हरेक व्यक्तिले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ र उहाँ कसैले पनि विनाश भोग्न परोस् भन्ने चाहनुहुन्न; यदि सय भेडाहरूमध्ये एउटा भेडा हरायो भने परमेश्‍वरले उनान्सय वटालाई छाडेर हराएको एउटा भेडाको खोजी गर्नुहुन्छ। अब अहिले, यी मानिसहरूको कुरा आउँदा, के परमेश्‍वरले तिनीहरूलाई स्वीकार गरी तिनीहरूको इमानदारीतापूर्ण विश्‍वासको हिसाबमा तिनीहरूलाई दोस्रो मौका दिनुपर्छ त? यो वास्तवमा गाह्रो प्रश्न होइन; यो एकदमै सरल छ! यदि तिमीहरूले परमेश्‍वरलाई साँचो रूपमा बुझ्छौ भने र तिमीहरूसँग उहाँको बारेमा वास्तविक ज्ञान छ भने, त्यति धेरै व्याख्या गर्न जरुरी छैन—र त्यति धेरै अनुमान गर्न पनि जरुरी छैन, हैन त? तिमीहरूका जबाफहरू सही मार्गमा छन्, तर ती जबाफहरू अझै परमेश्‍वरको आचरणसम्म पुगेका छैनन्।

भर्खरै तिमीहरूमध्ये केहीले यस प्रकारको व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्न सक्‍नुहुन्‍न भन्ने निश्चितता व्यक्त गर्‍यौ। अरू भने स्पष्ट थिएनन् र तिनीहरूले परमेश्‍वरले स्वीकार गर्न पनि वा नगर्न पनि सक्नुहुन्छ भन्ने सोचे—यो आचरण अलिक मध्यमार्गी छ। तिमीहरूमध्ये केहीले यस प्रकारको व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुभएको होस् भन्‍ने आशाको दृष्टिकोण राख्यौ—यो आचरण अझै बढी अस्पष्ट छ। तिमीहरूमध्ये आफूले सोचेको कुरामा निश्चित हुनेहरूले के विश्‍वास गर्छौ भने, परमेश्‍वरले धेरै लामो समयसम्म काम गर्नुभएको छ र उहाँको काम पूरा भएको छ त्यसैले यी मानिसहरूप्रति उहाँ सहनशील हुनु जरुरी छैन; त्यसैले तिमीहरू उहाँले तिनीहरूलाई स्वीकार गर्नुहुनेछैन भन्‍ने सोच्छौ। तिमीहरूमध्ये अझ बढी मध्यमार्गीहरू के विश्‍वास गर्छौ भने, यी मामलाहरूलाई व्यक्तिगत परिस्थिति अनुरूप सम्हाल्नुपर्छ; यदि यी मानिसहरूका हृदय परमेश्‍वरबाट अलग गर्न नसकिने छ भने र यदि तिनीहरूले साँचो रूपले परमेश्‍वरमा विश्‍वास गर्छन् र सत्यताको खोजी गर्छन् भने, परमेश्‍वरले तिनीहरूका पहिलेका कमजोरी र त्रुटिहरूलाई बिर्सनुपर्छ—उहाँले यी मानिसहरूलाई क्षमा गर्नुपर्छ, तिनीहरूलाई दोस्रो मौका दिनुपर्छ, र तिनीहरूलाई उहाँको घरमा फर्की आउन र उहाँको मुक्ति स्वीकार गर्न दिनुपर्छ। तथापि, यदि यी मानिसहरू पछि फेरि भागेर जान्छन् भने, परमेश्‍वरले त्यसपछि फेरि तिनीहरूलाई चाहनुहुन्न र यी मानिसहरूको परित्याग गर्नुलाई अन्याय मान्न सकिँदैन। अर्को समूह छ जसले त्यस्तो व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुभएको होस् भन्‍ने आशा गर्छ। यो समूह परमेश्‍वरले त्यसो गर्नुहुन्छ कि हुन्न भन्नेमा त्यति निश्चित छैन। यदि तिनीहरू उहाँले त्यस प्रकारको व्यक्तिलाई स्वीकार गर्नुहुन्छ भन्ने कुरा विश्‍वास गर्छन् तर परमेश्‍वरले त्यसो गर्नुहुन्न भने, उक्त दृष्टिकोण परमेश्‍वरको दृष्टिकोणसँग अलि मेल नखाने जस्तो देखिन्छ। यदि तिनीहरू उहाँले त्यस प्रकारको व्यक्तिलाई स्वीकार गर्नुहुन्न भन्ने कुरामा विश्‍वास गर्छन् तर परमेश्‍वरले मानिसहरूप्रति उहाँको प्रेम असीमित छ भनी भन्नुहुन्छ र उहाँ त्यस प्रकारको व्यक्तिलाई अर्को मौका प्रदान गर्न इच्छुक हुनुहुन्छ भनी भन्नुहुन्छ भने, के यो मानव अज्ञानतालाई उदाङ्गो पारेको उदाहरण हुँदैन र? जुनसुकै अवस्थामा पनि, तिमीहरू सबैका आ-आफ्नै दृष्टिकोणहरू हुन्छन्। यी दृष्टिकोणहरूले तिमीहरूका सोच-विचारहरूभित्र रहेको ज्ञानलाई प्रतिनिधित्व गर्छन्; तिनीहरू सत्यता र परमेश्‍वरको इच्छासम्बन्धी तिमीहरूको बुझाइको गहिराइको प्रतिबिम्ब पनि हुन्। यस्तो भन्नु सही हो, होइन त? तिमीहरूसँग यो मामलाको बारेमा रायहरू हुनु एकदमै राम्रो कुरा हो! तथापि, तिमीहरूका रायहरू सही छन् कि छैनन् भन्ने प्रश्‍न अझै पनि बाँकी रहेको छ। तिमीहरू अलिअलि चिन्तित छौ, होइन त? “त्यसो भए, के सही हो त? म स्पष्टसित देख्न सक्दिनँ, र परमेश्‍वरले के सोचिरहनुभएको छ भन्ने कुरा दुरुस्त रूपमा मलाई थाहा छैन र उहाँले मलाई केही पनि भन्नुभएको छैन। उहाँले के सोचिरहनुभएको छ भन्‍ने कुरा म कसरी जान्‍न सक्छु? मानवजातिप्रति परमेश्‍वरको आचरण भनेको प्रेम हो। विगतमा उहाँले लिनुभएको आचरणको आधार हेर्ने हो भने, उहाँले त्यस्तो व्यक्तिलाई स्वीकार गर्नुपर्छ, तर म परमेश्‍वरको वर्तमान आचरणप्रति त्यति स्पष्ट छैनँ; म यो मात्र भन्न सक्छु कि सायद उहाँले उक्त व्यक्तिलाई स्वीकार गर्नुहुनेछ होला, र सायद स्वीकार गर्नुहुनेछैन होला।” यो त हास्यास्पद छ, छैन त? यो प्रश्नले साँच्चै नै तिमीहरूको दिमागमै हिर्काएको छ। यदि तिमीहरूसँग यो मामलाको बारेमा उपयुक्त दृष्टिकोण छैन भने, तिमीहरूको मण्डलीले वास्तवमा यस्तो व्यक्तिको सामना गर्दा तिमीहरूले के गर्नेछौ? यदि तिमीहरूले परिस्थितिलाई सही रूपमा सम्हाल्दैनौ भने, तिमीहरूले परमेश्‍वरलाई ठेस पुर्‍याउन सक्छौ। के यो खतरनाक मामला होइन र?

भर्खरै मैले उठाएको मामलाको सम्बन्धमा किन मैले तिमीहरूको रायहरू माग्न चाहेँ त? म तिमीहरूका दृष्टिकोणहरू जाँच गर्न चाहन्थेँ, तिमीहरूसँग परमेश्‍वरको बारेमा कति ज्ञान रहेछ र तिमीहरूले उहाँका अभिप्रायहरू र मनोवृत्तिको बारेमा कति बुझ्छौ भनी जाँच गर्न चाहन्थेँ। जबाफ के हो त? जबाफ तिमीहरूका दृष्टिकोणहरू नै हुन्। तिमीहरूमध्ये केही एकदमै रूढिवादी छौ र तिमीहरूमध्ये केहीले चाहिँ अनुमान गर्न तिमीहरूको कल्पनालाई प्रयोग गर्दैछौ। “अनुमान गर्नु” भनेको के हो त? यसको अर्थ परमेश्‍वरले कसरी सोच्नुहुन्छ भन्ने कुरा देख्न नसक्नु अनि परमेश्‍वरले कुनै न कुनै किसिमले त सोच्नुहुन्छ भन्दै आधारहीन अड्कल काट्नु हो; तिमीहरू सही छौ कि छैनौ भन्ने कुरा वास्तवमा तिमीहरू आफैलाई थाहा छैन, त्यसैले तिमीहरूले अस्पष्ट दृष्टिकोण राख्छौ। यस तथ्यको सामना गर्दा, तिमीहरूले के देखेका छौ त? परमेश्‍वरलाई पछ्याउँदा, मानिसहरूले विरलै मात्र परमेश्‍वरको इच्छाको बारेमा ध्यान दिन्छन् र तिनीहरूले कमै मात्र उहाँका सोचहरू र मानिसहरूप्रतिको उहाँको आचरणको बारेमा परवाह गर्छन्। मानिसहरूले परमेश्‍वरका सोचहरूको बारेमा बुझ्दैनन्, त्यसैले उहाँका अभिप्रायहरू र स्वभावको बारेमा प्रश्नहरू गर्दा, तिमीहरू द्विविधामा पर्छौ; तिमीहरू गहन अनिश्चिततामा पर्छौ, र तिमीहरूले कि त अनुमान लगाउँछौ कि त झटारो हान्छौ। यो कस्तो प्रकारको आचरण हो? यसले एउटा तथ्य प्रमाणित गर्छ: परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसहरूले उहाँलाई रित्तो हावाको एक पोकोको रूपमा र एक मिनेट अस्तित्वमा रहने अर्को मिनेट अस्तित्वमा नरहने कुनै वस्तुको रूपमा लिन्छन्। मैले यसलाई किन यसरी भनेँ त? किनभने जब तिमीहरूले कुनै समस्याको सामना गर्छौ तब तिमीहरूलाई परमेश्‍वरको इच्छाको बारेमा थाहै हुँदैन। किन तिमीहरूलाई उहाँको इच्छाको बारेमा थाहै हुँदैन त? अहिले मात्र होइन, बरु सुरुदेखि अन्त्यसम्म नै, के यो समस्याप्रतिको परमेश्‍वरको आचरणको बारेमा तिमीहरूलाई थाहा छैन त? तैँले यसलाई बुझ्न सक्दैनस् र तँलाई परमेश्‍वरको मनोवृत्तिको बारेमा थाहा छैन, तर के तैँले यसको बारेमा त्यति सोचेको छस् त? के तैँले यसको बारेमा जान्ने प्रयास गरेको छस् त? के तैँले यसको बारेमा सङ्गति गरेको छस् त? छैनस्! यसले एउटा तथ्य पुष्टि गर्छ: वास्तविकताको परमेश्‍वरसँग तेरो विश्‍वासको परमेश्‍वरको कुनै सम्बन्ध छैन। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा, तैँले केवल आफ्ना अभिप्रायहरू र तेरा अगुवाहरूका अभिप्रायहरूको बारेमा मात्र चिन्तन गर्छस्; परमेश्‍वरको इच्छाको खोजी बिलकुलै नगरी तैँले परमेश्‍वरका वचनहरूको सतही र धर्मसैद्धान्तिक अर्थहरूलाई मात्र सोचविचार गर्छस्। अवस्था यही हो, होइन र? यो मामलाको सार एकदमै भयानक छ! वर्षौंपछि मैले परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरू देखेको छु। तिनीहरूको मनभित्र तिनीहरूको विश्‍वासले परमेश्‍वरलाई केमा रूपान्तरित गरेको छ त? केही मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर केवल एक रित्तो हावाको पोको हुनुहुन्छ। यी मानिसहरूसँग परमेश्‍वरको अस्तित्व बारेका प्रश्नहरूको कुनै जबाफ हुँदैन किनभने तिनीहरूले उहाँको उपस्थिति वा अनुपस्थिति न त अनुभव गर्न सक्छन् न त महसुस नै गर्न सक्छन्, यसको बारेमा स्पष्टसँग देख्ने वा बुझ्ने कुरा त परै जाओस्। अर्धचेतन रूपमा, यी मानिसहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्न भनी सोच्छन्। अन्य मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर एक मानव हुनुहुन्छ। यी मानिसहरूले सोच्छन् कि तिनीहरूले गर्न नसक्ने सबै कुराहरू उहाँले पनि गर्न सक्नुहुन्न र तिनीहरूले जसरी सोच्छन् उहाँले पनि त्यसरी नै सोच्नुहुन्छ। परमेश्‍वर सम्‍बन्धी तिनीहरूको परिभाषा भनेको “एक अदृश्य र अस्पर्शनीय व्यक्ति” भन्‍ने हुन्छ। मानिसहरूको एक अर्को समूह पनि छ जसले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर एक कठपुतली हुनुहुन्छ; यी मानिसहरूले परमेश्‍वरमा कुनै भावनाहरू नै हुँदैनन् भनी विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वर त एक माटोको मूर्ति हुनुहुन्छ अनि कुनै समस्याको सामना गर्दा परमेश्‍वरसँग कुनै आचरण, दृष्टिकोण वा विचारहरू नै हुँदैनन् भन्‍ने सोच्छन्; तिनीहरू परमेश्‍वर मानवजातिको निगाहमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। मानिसहरूले आफूलाई जसरी विश्‍वास गर्न मन लाग्यो त्यसरी नै विश्‍वास गर्छन्। यदि उनीहरूले उहाँलाई ठूलो बनाए भने उहाँ ठूलो हुनुहुन्छ; यदि उनीहरूले उहाँलाई सानो बनाए भने उहाँ सानो हुनुहुन्छ। जब मानिसहरूले पाप गर्छन् अनि तिनीहरूलाई परमेश्‍वरको कृपा, सहनशीलता र प्रेमको आवश्‍यकता पर्छ, तब तिनीहरू परमेश्‍वरले कृपा प्रदान गर्नुपर्छ भन्‍ने ठान्छन्। यी मानिसहरूले आफ्नै मनभित्र “परमेश्‍वर” को आविष्कार गर्छन् र उक्त “परमेश्‍वर” लाई तिनीहरूका मागहरू पूरा गर्न तथा तिनीहरूका सबै चाहनाहरू सन्तुष्ट पार्न लगाउँछन्। यी मानिसहरू जुनसुकै समय र ठाउँमा भए तापनि र तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरूले परमेश्‍वरप्रतिको तिनीहरूको व्यवहारमा अनि तिनीहरूको विश्‍वासमा यही कल्पनालाई अँगाल्नेछन्। अनि यस्ता खालका मानिसहरू पनि छन् जो परमेश्‍वरको स्वभावलाई क्रोधित पारिसकेपछि पनि अझै परमेश्‍वरले तिनीहरूलाई बचाउन सक्नुहुन्छ भनी विश्‍वास गर्छन् किनभने परमेश्‍वरको प्रेम असीमित छ र उहाँको स्वभाव धर्मी छ अनि व्यक्तिले परमेश्‍वरलाई जति ठेस पुर्‍याए पनि उहाँले त्यो कुरालाई सम्झनुहुनेछैन भन्‍ने तिनीहरू ठान्छन्। तिनीहरूले के सोच्छन् भने मानवीय त्रुटिहरू, मानवीय उल्‍लङ्घनहरू अनि मानवीय अवज्ञाहरू व्यक्तिको स्वभावको क्षणिक अभिव्यक्तिहरू भएका हुनाले परमेश्‍वरले मानिसहरूलाई मौका दिनुहुन्छ र तिनीहरूप्रति सहनशील र धैर्य रहनुहुन्छ; तिनीहरू परमेश्‍वरले आफूलाई पहिलेजस्तै प्रेम गर्नुहुन्छ भनी विश्‍वास गर्छन्। यसरी, तिनीहरूले मुक्ति प्राप्त गर्ने उच्च आशा राख्छन्। वास्तवमा, मानिसहरूले परमेश्‍वरमा जसरी विश्‍वास गरे तापनि, जबसम्म तिनीहरूले सत्यताको खोजी गरिरहेका हुँदैनन् तबसम्म उहाँले तिनीहरूप्रति नकारात्मक आचरण राख्नुहुन्छ। यस्तो किन हुन्छ भने, परमेश्‍वरप्रति तेरो विश्‍वासको सिलसिलामा, तैँले परमेश्‍वरका वचनहरूको पुस्तक लिएर यसलाई अमूल्य सम्पत्तिको रूपमा लिए पनि, अनि यसलाई हरेक दिन अध्ययन र वाचन गरे पनि, तैँले वास्तविक परमेश्‍वरलाई एकातिर पन्छाएर राख्छस्। तैँले उहाँलाई केवल रित्तो हावा वा केवल एक व्यक्तिको रूपमा लिन्छस्—तिमीहरूमध्ये केहीले उहाँलाई कठपुतली भन्दा बढ्ता ठान्दैनौ। मैले किन यसरी यो कुरा राखेँ त? मैले त्यसो गरें किनभने मैले जे देख्दैछु त्यो अनुसार, तिमीहरूले कुनै समस्या वा केही परिस्थितिको सामना गरे पनि नगरे पनि, तेरो अर्धचेतनमा रहेका कुराहरू, तैँले भित्रैबाट उत्पन्न गरेका कुराहरू र परमेश्‍वरका वचनहरू वा सत्यताको खोजीको बीचमा कहिल्यै पनि कुनै सम्बन्ध नै रहेको छैन। तैँले तँ आफूले जे सोचिराखेको छस्, तेरो दृष्टिकोण जे छ त्यो मात्र जान्दछस्, अनि तैँले तेरा आफ्नै विचारहरू र रायहरूलाई जबरजस्ती परमेश्‍वरमा लाद्छस्। तेरो मनमा, ती कुराहरू परमेश्‍वरका दृष्टिकोणहरू बन्छन्, अनि तैँले ती दृष्टिकोणहरूलाई आफूले अटल रूपमा पालना गर्ने मापदण्डहरू बनाउँछस्। समयसँगै, यसरी अघि बढ्दै जाँदा यसले तँलाई परमेश्‍वरबाट टाढाभन्दा टाढा पुर्‍याउँछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्