परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने (भाग दुई)

परमेश्‍वरको मार्गमा हिँड: परमेश्‍वरको डर मान र दुष्टताबाट अलग बस

एउटा भनाइ छ जसलाई तिमीहरूले टिपेर राख्नुपर्छ। मलाई विश्‍वास छ यो भनाइ एकदमै महत्त्वपूर्ण छ किनभने हरेक दिन यो भनाई धेरै पटक मेरो मस्तिष्कमा आइरहन्छ। त्यसो किन हुन्छ? यस्तो हुन्छ किनभने हरेक पल्ट मैले कसैको सामना गर्दा, हरेक पल्ट मैले कसैको कथा सुन्दा र हरेक पल्ट मैले कसैले परमेश्‍वरमा विश्‍वास गरेको अनुभव वा गवाही गरेको सुन्दा, म सधैँ उक्त व्यक्ति परमेश्‍वरले चाहनुहुने प्रकारको व्यक्ति वा परमेश्‍वरलाई मन पर्ने प्रकारको व्यक्ति हो कि होइन भनी मेरो हृदयमा निर्धारण गर्न यो भनाइको प्रयोग गर्छु। त्यसो भए: यो भनाइ के हो त? म अब तिमीहरू सबैलाई उत्साहित तुल्याउँछु। जब मैले यो भनाइलाई खुलासा गर्छु, तब तिमीहरू सायद निरुत्साहित हुन्छौ होला किनभने केहीले वर्षौंसम्‍म यो भनाइलाई ओठे सेवामात्र प्रदान गर्दै आइरहेका छन्। तर मैले कहिल्यै पनि यो भनाइलाई केवल ओठे सेवा मात्र प्रदान गरेको छैन। यो भनाइले मेरो हृदयमा बास गरेको छ। त्यसो भए, के हो त यो भनाइ? यो भनाइ यही हो: “परमेश्‍वरको मार्गमा हिँड: परमेश्‍वरको डर मान र दुष्टताबाट अलग बस।” के यो औधी नै सरल वाक्यांश होइन र? तथापि, यसको सरलताको बाबजुद, साँचो रूपमा यी शब्दहरूको गहन बुझाइ भएका मानिसहरूले के महसुस गर्छन् भने, यी शब्दहरू गहन छन्, यो भनाइ व्यक्तिको अभ्यासको लागि अत्यन्तै मूल्यवान् छ, यो भनाइ सत्यताको वास्तविकता बोकेको जीवन सम्‍बन्धी भाषाबाट लिइएको पङ्‌क्ति हो, यो भनाइले परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्ने व्यक्तिहरूको जीवनभरिको लक्ष्यलाई प्रतिनिधित्व गर्छ र परमेश्‍वरका अभिप्रायहरूको बारेमा ध्यान दिने जोकोहीले जीवनभर पछ्याउनुपर्ने मार्ग हो। त्यसो भए, तिमीहरूलाई के लाग्छ: के यो भनाइ सत्यता होइन र? यो भनाइमा त्यस्तो महत्त्व छ कि छैन त? साथै, सायद तिमीहरूमध्ये केहीले यो भनाइको बारेमा सोचिरहेका छौ र यसलाई बुझ्ने प्रयास गरिरहेका छौ होला, र सायद तिमीहरूमध्ये कतिलाई त यसको बारेमा शङ्का पनि लाग्छ होला: के यो भनाइ अत्यन्तै महत्त्वपूर्ण हो त? के यो अत्यन्तै महत्त्वपूर्ण छ त? के यसलाई यति धेरै जोड दिनु जरुरी छ त? तिमीहरूमध्ये केहीलाई त यो भनाइ खासै मन पर्दैन होला किनभने परमेश्‍वरको मार्गलाई लिनु अनि त्यसलाई यो भनाइमा लागू गर्नु भनेको अत्यन्तै सरलीकरण गर्नु हो भन्‍ने तिमीहरूलाई लाग्छ। परमेश्‍वरले भन्नुभएका सबैलाई लिएर त्यसलाई एउटै भनाइमा समेट्नु—के त्यसो गर्नु भनेको परमेश्‍वरलाई अति नै महत्त्वहीन तुल्याउनु होइन र? के त्यो त्यस्तै होइन र? हुनसक्छ, तिमीहरूमध्ये धेरैजसोले यी शब्दहरूको गहन महत्त्वलाई पूर्ण रूपमा बुझ्दैनौ। तिमीहरू सबैले यो भनाइलाई टिपेर राखे तापनि, तिमीहरूले यसलाई आफ्नो हृदयमा सम्हालेर राख्ने मनसाय राखेका छैनौ; तिमीहरूले केवल यसलाई फुर्सदको बेलामा हेरौँला र सोचौँला भनी आफ्नो स्मरण पुस्तिकामा लेखेर राखेका छौ। तिमीहरूमध्ये केही त यो भनाइलाई कण्ठ गर्ने झमेलामा समेत पर्दैनौ, यसलाई असल प्रयोजनमा लगाउने कुरा त परै जाओस्। तर म किन यो भनाइको बारेमा बताउन चाहन्छु त? तिमीहरूको दृष्टिकोण जे-जस्तो भए पनि र तिमीहरूले जे-जस्तो सोचे पनि, मैले यो भनाइको बारेमा बताउनुपर्‍यो किनभने परमेश्‍वरले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्ने सवालमा यो भनाइ अत्यन्तै सान्दर्भिक छ। यो भनाइको बारेमा तिमीहरूको वर्तमान बुझाइ जे-जस्तो भए पनि वा यो भनाइलाई तिमीहरूले जे-जसरी लिए पनि, म तिमीहरूलाई अझै पनि भन्छु: यदि मानिसहरूले यो भनाइका शब्दहरूलाई अभ्यास गर्न सक्छन् र अनुभव गर्न सक्छन् भने र तिनीहरूले परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मापदण्ड पूरा गर्छन् भने, तिनीहरू संघर्ष गरेर बाँच्‍ने मानिसहरू बन्ने निश्‍चित हुन्छ र तिनीहरूले राम्रा परिणामहरू प्राप्त गर्ने निश्चित हुन्छ। तथापि, यदि तैंले यो भनाइद्वारा प्रस्तुत गरिएको मापदण्डलाई पूरा गर्न सकिनस् भने तेरो परिणाम अज्ञात हुन्छ भनेर भन्न सकिन्छ। यसरी, तिमीहरूको आफ्नै मानसिक तयारीको लागि, र परमेश्‍वरले तिमीहरूलाई मापन गर्नको लागि कस्ता प्रकारका मापदण्डहरू प्रयोग गर्नुहुन्छ भन्ने कुरा थाहा पाउन सक भनेर म यो भनाइको बारेमा बोल्छु। मैले भर्खर भनेझैँ, यो भनाइ परमेश्‍वरले मानवतालाई दिनुहुने मुक्तिको लागि अत्यन्तै सान्दर्भिक छ, साथसाथै उहाँले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्ने कुरासँग पनि अत्यन्तै सान्दर्भिक छ। यो भनाइ कसरी सान्दर्भिक छ त? तिमीहरू साँच्चै यसबारेमा जान्न चाहन्छौ, त्यसैले आज हामी यसबारेमा कुरा गर्नेछौँ।

मानिसहरूले परमेश्‍वरको डर मान्छन् कि मान्दैनन् र दुष्टताबाट अलग बस्छन् कि बस्दैनन् भनेर जाँच्नको लागि परमेश्‍वरले विविध परीक्षाहरूको प्रयोग गर्नुहुन्छ

हरेक युगमा, मानिसहरूमाझ काम गर्दा, परमेश्‍वरले तिनीहरूमाथि केही वचनहरू अर्पण गर्नुहुन्छ र तिनीहरूलाई केही सत्यताहरू बताउनुहुन्छ। यी सत्यताहरूले मानिसहरूले पछ्याउनुपर्ने मार्ग, तिनीहरूले हिँड्नुपर्ने मार्ग, तिनीहरूलाई परमेश्‍वरको डर मान्न अनि दुष्टताबाट अलग रहन सक्षम तुल्याउने मार्ग अनि मानिसहरूले आफ्‍नो जीवनमा र तिनीहरूको जीवन यात्राको क्रममा अभ्यास गर्नुपर्ने तथा अनुसरण गर्नुपर्ने मार्गको काम गर्छन्। यिनै कारणहरूले गर्दा परमेश्‍वरले मानवजाति समक्ष यी वाणीहरू व्यक्त गर्नुहुन्छ। परमेश्‍वरबाट आउने यी वचनहरूलाई मानिसहरूद्वारा पालना गरिनुपर्छ र तिनीहरूको पालना गर्नु भनेकै जीवन प्राप्त गर्नु हो। यदि व्यक्तिले तिनलाई पालना गर्दैन भने, तिनको अभ्यास गर्दैन भने, र आफ्नो जीवनमा परमेश्‍वरका वचनहरू अनुसार जिउँदैनन् भने, त्यो व्यक्तिले सत्यतालाई अभ्यास गरिरहेको हुँदैन। अझ भन्ने हो भने, यदि मानिसहरूले सत्यताको अभ्यास गरिरहेका छैनन् भने, तिनीहरूले परमेश्‍वरको डर मानिरहेका हुँदैनन् अनि तिनीहरू दुष्टताबाट अलग बसिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न नै सकिरहेका हुन्छन्। परमेश्‍वरलाई सन्तुष्ट पार्न नसक्ने मानिसहरूले उहाँको स्याबासी प्राप्त गर्न सक्दैनन्, अनि त्यस्ता व्यक्तिहरूसँग कुनै परिणाम नै हुँदैन। त्यसो भए, आफ्‍नो कामको सिलसिलामा, परमेश्‍वरले कसरी कुनै व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ त? परमेश्‍वरले कुनै व्यक्तिको परिणाम निर्धारण गर्न के-कस्ता विधिहरू प्रयोग गर्नुहुन्छ त? सायद यस क्षण तिमीहरू अझै अस्पष्ट छौ होला, तर जब म तिमीहरूलाई उक्त प्रक्रियाको बारेमा बताउँछु, यो कुरा एकदमै स्पष्ट हुनेछ किनभने तिमीहरूमध्ये धेरैले यसलाई पहिले नै आफैले अनुभव गरिसकेका छौ।

परमेश्‍वरले आफ्‍नो कामको सिलसिलामा सुरुवातदेखि नै हरेक व्यक्तिको लागि—तिमीहरूले उहाँलाई पछ्याउने हरेक व्यक्तिको लागि पनि भन्न सक्छौ—परीक्षाहरू तय गर्नुभएको छ र यी परीक्षाहरू विविध आकारहरूमा आउँछन्। आफ्ना परिवारहरूबाट इन्कारको परीक्षा अनुभव गरेकाहरू छन्, प्रतिकूल वातावरणको परीक्षा अनुभव गरेकाहरू छन्, पक्राउ पर्ने वा यातना पाउने परीक्षा अनुभव गरेकाहरू छन्, विविध विकल्पहरूको सामना गर्ने परीक्षा अनुभव गरेकाहरू छन्, र पैसा र हैसियतको परीक्षा सामना गरेकाहरू छन्। सामान्य रूपमा भन्दा, तिमीहरूमध्ये हरेकले हरेक प्रकारका परीक्षाहरू सामना गरेका छौ। परमेश्‍वरले किन यसरी काम गर्नुहुन्छ? किन उहाँले हरेकलाई यस प्रकारले व्यवहार गर्नुहुन्छ? उहाँले कस्तो प्रकारको नतिजाको खोजी गर्नुहुन्छ? मैले तिमीहरूलाई बताउन चाहने मुख्य कुरा यसप्रकार छ: परमेश्‍वरले उक्त व्यक्ति परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति हो कि होइन भनेर हेर्न चाहनुहुन्छ। यसको अर्थ के हो भने, परमेश्‍वरले तँलाई कुनै परीक्षा दिनुहुँदा र तँलाई कुनै परिस्थिति वा अन्य कुराहरूसँग सामना गराउनुहुँदा, उहाँको अभिप्राय भनेको तँ उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् कि होइनस् भनेर जाँच गर्नु हो। यदि कुनै व्यक्तिले कुनै भेटी राख्ने कर्तव्यको सामना गर्छ र उक्त कर्तव्यले उसलाई परमेश्‍वरको भेटीको सम्पर्कमा पुर्‍याउँछ भने, के तैंले यसलाई परमेश्‍वरले बन्दोबस्त गर्नुभएको अवस्था भन्छस्? निःसन्देह, हो। तैँले सामना गर्ने हरेक कुरा परमेश्‍वरले बन्दोबस्त गर्नुभएको हो। जब तैँले यो कुराको सामना गर्छस्, तैँले के-कस्ता विकल्पहरू रोज्छस्, तैँले कसरी अभ्यास गर्छस् र तँमा के-कस्ता सोच-विचारहरू छन् सो हेर्दै परमेश्‍वरले तँलाई गुप्त रूपमा अवलोकन गर्नुहुनेछ। परमेश्‍वरले सबैभन्दा बढी ध्यान दिनुहुने कुरा भनेको अन्तिम नतिजा हो किनभने यही नतिजाले यो खास परीक्षामा तैँले उहाँका मापदण्डहरू पूरा गरेको छस् कि छैनस् भनेर मापन गर्न उहाँलाई सहयोग गर्छ। तथापि, जब मानिसहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूलाई किन यस्तो अवस्थाको सामना गर्न लगाइँदैछ, परमेश्‍वरले तिनीहरू मार्फत के-कस्ता मापदण्डहरू पूरा भएको अपेक्षा गर्नुहुन्छ, उहाँले तिनीहरूमा के हेर्न चाहनुहुन्छ वा उहाँले तिनीहरूबाट के प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुरा तिनीहरूले प्रायः सोच्दैनन्। जब मानिसहरूले यो समस्याको सामना गर्छन्, तिनीहरूले केवल यस्तो सोच्छन्, “यो मलाई सामना गर्न लगाइएको अवस्था हो; म सावधान हुनुपर्छ, लापरवाह होइन! चाहे जेसुकै होस्, यो परमेश्‍वरको भेटी हो, र मैले यसलाई छुनु हुँदैन।” यस्ता सरल सोच-विचारहरूद्वारा सुसज्जित भएर मानिसहरूले आफूले आफ्ना कर्तव्यहरू पूरा गरेका छौँ भन्‍ने विश्‍वास गर्छन्। के यो परीक्षाको नतिजाले परमेश्‍वरलाई सन्तुष्टि दिन्छ कि दिँदैन? अघि बढ र यसबारेमा कुरा गर। (यदि मानिसहरूले आफ्नो हृदयमा परमेश्‍वरको डर मान्छन् भने तिनीहरूले आफूलाई परमेश्‍वरको भेटीको सम्पर्कमा आउन दिने कुनै कर्तव्यको सामना गर्दा, तिनीहरूले परमेश्‍वरको स्वभावमा ठेस पुर्‍याउन कति सजिलो छ भन्‍ने सोच्छन् र त्यसले तिनीहरू सावधानीसाथ अघि बढ्छन् भन्‍ने कुरालाई सुनिश्चित गराउँछ।) तेरो जबाफ सही पथमा छ, तर अझै पनि सही ठाउँसम्म पुगेको छैन। परमेश्‍वरको मार्गमा हिँड्नु भनेको सतही नियमहरू पालना गर्नु होइन; बरु, यो भनेको त तैँले कुनै समस्याको सामना गर्दा तैँले सबैभन्दा पहिले यसलाई परमेश्‍वरद्वारा व्यवस्था गरिएको अवस्था, उहाँले तँलाई प्रदान गर्नुभएको उत्तरदायित्व, वा उहाँले विश्‍वासका साथ तँलाई सुम्पिनुभएको कार्यको रूपमा लिनु हो। यो समस्याको सामना गर्दा तैँले यसलाई परमेश्‍वरले तँलाई गर्नुभएको परीक्षाको रूपमा हेर्नुपर्छ। तैंले यो समस्या सामना गर्दा, तँसँग तेरो हृदयमा एक मापदण्ड हुनुपर्छ अनि तैँले यो कुरा परमेश्‍वरबाट आएको हो भनी सोच्नुपर्छ। तैँले कसरी यसलाई यस्तो तरिकाले निराकरण गर्न सकिन्छ जसबाट तैँले आफू परमेश्‍वरप्रति बफादार रहेरै आफ्नो उत्तरदायित्व निभाउन सक्छस् र साथसाथै कसरी उहाँलाई क्रोधित नतुल्याई वा उहाँको स्वभावलाई ठेस नपुर्‍याई यो कुरा गर्न सकिन्छ भनेर सोच्नुपर्छ। केही क्षण पहिले, हामीले भेटीको सुरक्षा गर्ने बारेमा कुरा गर्‍यौं। यो मामलामा भेटीको कुरा संलग्न छ र यसले तेरो कर्तव्य र उत्तरदायित्वको कुरालाई पनि छुन्छ। तँ यो उत्तरदायित्वप्रति कर्तव्यले बाँधिएको छस्। तथापि, यो समस्याको सामना गर्दा, के कुनै प्रलोभनको पनि सामना गर्नुपर्छ? पर्छ! यो प्रलोभन कहाँबाट आउँछ? यो प्रलोभन शैतानबाट आउँछ, र यो प्रलोभन मानिसहरूको दुष्ट, भ्रष्ट स्वभावहरूबाट पनि आउँछ। यसमा प्रलोभन भएको हुनाले, यो मामलामा मानिसहरूले दिनैपर्ने साक्षी दिनुपर्ने कार्य समावेश हुन्छ जुन तेरो उत्तरदायित्व र कर्तव्य पनि हो। केही मानिसहरू भन्छन्, “यो त एकदमै सानोतिनो कुरा हो; के यसलाई यति ठूलो बनाउन आवश्यक छ र?” हो, आवश्यक छ! यस्तो किन हो भने परमेश्‍वरको मार्गमा रहिरहनको लागि, हामीले हामीमाथि वा हाम्रो वरिपरि घटित हुने कुनै पनि कुरालाई त्यसै छाड्न सक्दैनौँ, चाहे त्यो सानो कुरा नै किन नहोस्; हामीले यसलाई ध्यान दिनुपर्छ भनेर सोचे पनि वा नसोचे पनि, जबसम्म हामीले कुनै कुरालाई सामना गरिरहन्छौँ तबसम्म त्यसलाई हामीले छाड्नु हुँदैन। घटित हुने सबै कुराहरूलाई परमेश्‍वरले हामीलाई प्रदान गर्नुभएको परीक्षाको रूपमा लिइनुपर्छ। घटित हुने कुराहरूलाई यसप्रकार हेर्ने तरिकाको बारेमा तँलाई कस्तो लाग्छ? यदि तँसँग यस प्रकारको आचरण छ भने यसले एउटा कुरालाई पुष्टि गर्छ: भित्र अन्तस्करणमा तैँले परमेश्‍वरको डर मान्छस् र तँ दुष्टताबाट अलग रहन इच्छुक छस्। यदि तँसँग परमेश्‍वरलाई सन्तुष्ट पार्ने यस्तो चाहना छ भने, तैँले जे अभ्यास गर्छस् त्यो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग रहने मापदण्डभन्दा त्यति टाढा हुँदैन।

मानिसहरूले त्यति धेरै ध्यान नदिने र प्रायः नबताउने कुराहरू मामुली तुच्छ वस्तुहरू मात्र हुन्, सत्यता अभ्यास गर्ने कुरासँग जसको कुनै सम्बन्ध हुँदैन भनी विश्‍वास गर्ने व्यक्तिहरू बारम्बार भेटिन्छन्। यस्तो मामला सामना गर्दा तिनीहरूले यस बारेमा त्यति सोचविचार गर्दैनन् र यसलाई त्यत्तिकै जान दिन्छन्। तैपनि, वास्तविक यथार्थमा यो मामला त्यो पाठ थियो जसलाई तैँले अध्ययन गर्नुपर्छ—कसरी परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने सम्बन्धी पाठ। अझ भन्ने हो भने, यो मामला देखा परी तैँले यसको सामना गर्नु पर्दा परमेश्‍वरले के गरिरहनुभएको हुन्छ भन्ने कुरा जान्नमा तँ अझ बढी चिन्तित हुनुपर्छ। तेरो हरेक वचन र कर्म अवलोकन गर्दै, तैँले गर्ने हरेक काम-कुरा हेर्दै र तेरा सोच-विचारहरूमा आउने परिवर्तन हेर्दै परमेश्‍वर ठीक तेरो छेउमा रहनुहुन्छ—यही नै परमेश्‍वरको काम हो। केही मानिसहरूले सोध्छन्, “यदि त्यो सत्य हो भने किन मैले त्यस्तो अनुभूति गरेको छैन त”? तैँले यस्तो अनुभूति गरेको छैनस् किनभने आफ्नो प्राथमिक मार्गको रूपमा परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा तँ अडिग रहेको छैनस्, त्यसैले तैँले मानिसहरूमा परमेश्‍वरले गर्नुहुने सूक्ष्म कामको अनुभूति गर्न सक्दैनस् जुन आफै मानिसहरूको विविध सोच विचारहरू र कार्यहरूमा देखा पर्छ। तँ ताल न बेतालको छस्! मुख्य मामला के हो? सानोतिनो मामला के हो? परमेश्‍वरको मार्गमा हिँड्नेसँग सम्‍बन्धित मामला मुख्य र मामुलीमा विभाजित छैन, ती सबै नै महत्त्वपूर्ण कुरा हुन्—तर के तिमीहरू यो कुरालाई स्वीकार गर्न सक्छौ? (हामी स्वीकार गर्न सक्छौँ।) दैनिक मामलाको रूपमा केही मामला छन् जसलाई मानिसहरूले मुख्य र महत्त्वपूर्ण कुराको रूपमा हेर्छन् र अन्य मामलालाई मामुली तुच्छ कुराको रूपमा हेरिन्छ। मानिसहरूले प्रायः यी मुख्य मामलाहरूलाई धेरै नै महत्त्वपूर्ण कुराको रूपमा हेर्छन् र तिनलाई परमेश्‍वरले नै पठाउनुभएको ठान्छन्। तथापि, जब यी मुख्य मामलाहरू देखा पर्छन् तब मानिसहरूको अपरिपक्व कद र तिनीहरूको कमजोर क्षमताको कारण, तिनीहरू परमेश्‍वरको इच्छा परिपूर्ति गर्न प्रायः असक्षम हुन्छन्, तिनीहरूले कुनै पनि प्रकाश प्राप्त गर्न सक्दैनन् र तिनीहरूले कुनै पनि मूल्यवान् ज्ञान हासिल गर्न सक्दैनन्। जहाँसम्म मामुली मामलाहरूको सवाल छ, तिनलाई मानिसहरूले उपेक्षा गर्छन् र तिनलाई अलिअलि गर्दै त्यत्तिकै छाडिन्छ। यसरी, मानिसहरूले परमेश्‍वरको अगाडि जाँच गरिने र उहाँद्वारा परीक्षा लिइने धेरै अवसरहरू गुमाएका छन्। परमेश्‍वरले तेरो लागि बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू, वस्तुहरू र परिस्थितिहरूलाई तैँले सधैँ बेवास्ता गर्नुको अर्थ के हुन्छ? यसको अर्थ परमेश्‍वरले तँलाई सिद्ध तुल्याउने कार्यलाई अनि उहाँको नेतृत्वलाई तैँले हरेक दिन, हरेक क्षण निरन्तर रूपमा इन्कार गरिरहेको हुन्छस्। जब परमेश्‍वरले तेरो लागि कुनै परिस्थितिको बन्दोबस्त गर्नुहुन्छ, तब उहाँले गोप्य रूपमा हेरिरहनुभएको हुन्छ, तेरो हृदयभित्र हेरिरहनुभएको हुन्छ, तेरा सोच-विचारहरू र चिन्तनहरू अवलोकन गरिरहनुभएको हुन्छ, तैँले कसरी सोच्छस् भनेर हेरिरहनुभएको हुन्छ र तैँले कसरी कार्य गर्नेछस् भनी हेर्न प्रतीक्षा गरिरहनुभएको हुन्छ। यदि तँ हेलचेक्र्याइँ गर्ने व्यक्ति होस् भने—जो परमेश्‍वरको मार्ग, उहाँका वचनहरू, वा सत्यताप्रति कहिल्यै पनि गम्भीर भएको छैन भने—परमेश्‍वरले तेरो लागि निश्चित वातावरणको बन्दोबस्त गर्नुहुँदा उहाँले जे पूरा गर्न चाहनुहुन्छ वा तैँले जुन मापदण्डहरू पूरा गर्छस् भनी उहाँले अपेक्षा गर्नुहुन्छ सोबारेमा तँ सचेत हुनेछैनस् वा तैँले कुनै ध्यान दिनेछैनस्। न त तैँले आफूले सामना गर्ने मानिसहरू, घटनाहरू, र वस्तुहरू के-कसरी सत्यता वा परमेश्‍वरको इच्छासँग सम्बन्धित छन् भन्ने कुरा नै जान्दछस्। तैँले यस्ता बारम्‍बार दोहोरिने परिस्थितिहरू र बारम्‍बार दोहोरिने परीक्षाहरू सामना गरेपछि, परमेश्‍वरले तँमा कुनै नतिजा नदेख्‍नुभएपछि, उहाँ कसरी अघि बढ्नुहुन्छ? बारम्‍बार दोहोरिने परीक्षाहरू सामना गरेपछि, तैँले तेरो हृदयमा परमेश्‍वरलाई ठूलो बनाएको छैनस्, न त तैँले परमेश्‍वरले तेरो लागि बन्दोबस्त गर्नुभएका परिस्थितिहरूलाई तिनीहरू जेका लागि हुन् सो रूपमा अर्थात् परमेश्‍वरले लिनुभएका परीक्षाहरू र जाँचहरूको रूपमा नै देखेको छस्। बरु, एकपछि अर्को गरी, तैँले तेरो लागि परमेश्‍वरले उपलब्ध गराउनुभएका अवसरहरूलाई अस्वीकार गरेको छस्, तिनीहरूलाई बारम्बार उम्केर जान दिएको छस्। के यो मानिसहरूले प्रदर्शन गर्ने चरम अवज्ञा होइन र? (हो।) के यसको कारण परमेश्‍वरलाई चोट पुग्‍नेछ? (पुग्‍नेछ।) गलत। परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछैन! मैले यस्तो कुरा भनेको सुन्दा तिमीहरू एकपल्ट फेरि चकित भएका छौ। तिमीहरूले यस्तो सोचिरहेका छौ होला: “के परमेश्‍वरले सधैँ ठेस पुगेको अनुभूति गर्नुहुन्छ भनेर यसभन्दा अघि भनिएको थिएन र? के परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछैन त? त्यसो भए परमेश्‍वरले कहिले ठेस पुगेको अनुभूति गर्नुहुन्छ त?” छोटकरीमा, यो परिस्थितिमा परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछैन। त्यसो भए, माथि चित्रण गरिएको प्रकारको व्यवहारप्रति परमेश्‍वरको कस्तो व्यवहार हुन्छ? जब मानिसहरूले परमेश्‍वरले पठाउनुभएको परीक्षा र जाँचहरू अस्वीकार गर्छन्, र जब तिनीहरू तीबाट पछि हट्छन्, तब त्यस्ता व्यक्तिहरूप्रति परमेश्‍वरको एउटै आचरण हुन्छ। त्यो कस्तो आचरण हो? परमेश्‍वरले त्यस प्रकारको व्यक्तिलाई उहाँको हृदयको अन्तस्करणबाटै तिरस्कार गर्नुहुन्छ। यो “तिरस्कार” शब्दको अर्थ दुई तहको हुन्छ। मैले कसरी यसलाई मेरो आफ्नो दृष्टिकोणबाट बताउनुपर्छ? भित्री गहन अर्थमा, “तिरस्कार” शब्दले घृणा र द्वेषको भाव बोक्छ। यसको अर्को तहको अर्थ के हो त? यो त्यो भाग हो जसले कुनै कुरालाई त्याग गरेको जनाउँछ। तिमीहरू सबैलाई “त्याग गर्नु” भनेको के हो थाहा छ, होइन त? सार-संक्षेपमा, “तिरस्कार” शब्दले त्यस शैलीमा व्यवहार गर्ने मानिसहरूप्रति परमेश्‍वरको आखिरी प्रतिक्रिया र आचरणको प्रतिनिधित्व गर्छ; यो तिनीहरूप्रतिको चरम द्वेष र घृणा हो र यसर्थ, तिनीहरूलाई त्याग गर्ने निर्णय गरिन्छ। कहिल्यै पनि परमेश्‍वरको मार्गमा नहिँडेको र कहिल्यै पनि परमेश्‍वरको डर नमानेको र दुष्टताबाट टाढा नबसेको व्यक्तिप्रति परमेश्‍वरले गर्नुहुने अन्तिम निर्णय यही हो। के अब तिमीहरू सबैले मैले अघि बताएको त्यो भनाइको महत्त्वलाई देख्न सक्छौ त?

के तिमीहरूले अब परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्न प्रयोग गर्नुहुने विधिको बारेमा बुझ्यौ? (उहाँले हरेक दिन विभिन्न परिस्थितिहरूको बन्दोबस्त गर्नुहुन्छ।) “उहाँले विभिन्न परिस्थितिहरूको बन्दोबस्त गर्नुहुन्छ”—यी कुराहरू मानिसहरूले महसुस गर्न र छुन सक्ने कुराहरू हुन्। त्यसो भए, यो कुरा गर्नुको पछाडि परमेश्‍वरको आशय के हो त? उहाँको अभिप्राय भनेको हरेक व्यक्तिलाई विभिन्न समयमा र विभिन्न स्थानहरूमा विविध प्रकारका परीक्षाहरू प्रदान गर्नु हो। परीक्षाको अवधिमा व्यक्तिका के-कस्ता पक्षहरूलाई जाँच गरिन्छ त? तैँले व्यक्तिगत रूपमा सामना गर्ने, सुन्ने, देख्ने र अनुभव गर्ने हरेक मामलामा तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् कि होइनस् भन्ने कुरालाई परीक्षाले निर्धारण गर्छ। हरेक व्यक्तिले यस प्रकारको परीक्षाको सामना गर्नेछ किनभने परमेश्‍वर सबै मानिसहरूप्रति न्यायसंगत हुनुहुन्छ। तिमीहरूमध्ये केहीले भन्छौ, “मैले वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आइरहेको छु, तैपनि किन मैले कुनै पनि परीक्षाहरूको सामना गरेको छैन त?” तैँले आफूले कुनै पनि परीक्षाहरूको सामना नगरेको महसुस गर्छस् किनभने जब-जब परमेश्‍वरले तेरो लागि परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ तब तैँले यसलाई गम्भीर रूपमा लिएको छैनस् र परमेश्‍वरको मार्गमा हिँड्न चाहेको छैनस्। यसरी, तँलाई परमेश्‍वरका परीक्षाहरूको अत्तो-पत्तो हुँदैन। केही मानिसहरू भन्छन्, “मैले केही परीक्षाहरूको सामना गरेको छु, तर उचित रूपमा कसरी अभ्यास गर्ने हो सो मलाई थाहा छैन। मैले अभ्यास गरेको बेलामा पनि, म परमेश्‍वरका परीक्षाहरूको दौरान खरो उत्रेको छु कि छैन मलाई थाहा हुँदैन।” यस प्रकारको अवस्थामा रहेका मानिसहरूको सङ्ख्या अवश्य पनि कम छैन। त्यसो भए, परमेश्‍वरले मानिसहरूको मापन गर्ने मापदण्ड के हो त? यो मैले केही क्षणअघि भनेको जस्तै हो: तैँले गर्ने, सोच्ने र व्यक्त गर्ने हरेक कुरामा तैँले परमेश्‍वरको डर मान्छस् कि मान्दैनस् र तँ दुष्टताबाट अलग बस्छस् कि बस्दैनस् भन्ने हो। यसरी तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् कि होइनस् भनी निर्धारण गरिन्छ। के यो अवधारणा सरल छ, कि छैन त? भन्नलाई त यो एकदमै सरल छ, तर के यसलाई अभ्यास गर्न सजिलो छ त? (यो त्यति सजिलो छैन।) यो किन त्यति सजिलो छैन त? (किनभने मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र कसरी परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ भन्ने कुरा तिनीहरूले जान्दैनन्, त्यसैले जब तिनीहरूले यी मामलाहरूको सामना गर्छन् तब तिनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्नको लागि कसरी सत्यताको खोजी गर्ने भन्ने नै थाहा हुँदैन। तिनीहरूले परमेश्‍वरको डर मान्ने वास्तविकता धारण गर्नुभन्दा पहिले तिनीहरूले विविध परीक्षाहरू, शोधनहरू, सजायहरू, र न्यायहरूमार्फत गुज्रनुपर्छ।) तिमीहरूले त्यसरी पनि भन्न सक्छौ, तर जहाँसम्म तिमीहरूको सवाल छ, परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु तिमीहरूको लागि अहिल्‍यै यहीँ नै सहजै गर्न सकिने कार्य हो भन्‍ने जस्तो देखिन्छ। मैले किन यसो भन्दैछु त? म यसो भन्दैछु किनभने तिमीहरूले धेरै उपदेशहरू सुनेका छौ र सत्यताको वास्तविकताबाट कम मलजल प्राप्त गरेका छैनौ; यसले तिमीहरूलाई सैद्धान्तिक र बौद्धिक रूपमा कसरी परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने भन्ने कुरा बुझ्ने तुल्याएको छ। जहाँसम्म परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कुरालाई वास्तविक रूपमा कसरी अभ्यास गर्ने भन्‍ने सवाल छ, यो ज्ञान अति नै सहयोगी भएको छ र यसले तिमीहरूलाई यस्तो उपलब्धि सजिलै हासिल गर्न सकिन्छ कि जस्तो महसुस गर्ने तुल्याएको छ। त्यसो भए, किन मानिसहरूले त्यो उपलब्धि कहिल्यै हासिल गर्न सक्दैनन् त? किनभने मानिसहरूको प्रकृति र सारले परमेश्‍वरको डर मान्दैन र यसले दुष्टता मन पराउँछ। वास्तविक कारण यही हो।

परमेश्‍वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो

“परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु” भन्ने यो भनाइ कहाँबाट आयो भनी तिमीहरूलाई प्रश्‍न गर्दै म सुरु गर्न चाहन्छु। (अय्यूबको पुस्तकबाट आएको हो।) हामीले अय्यूबको बारेमा बताइसकेको हुनाले, तिनको बारेमा छलफल गरौँ। अय्यूबको समयमा, के परमेश्‍वरले मानवजातिको मुक्ति र विजयको काम गर्दैहुनुहुन्थ्यो? हुनुहुन्नथ्यो! के कुरा त्यही होइन र? साथै, जहाँसम्म अय्यूबको सवाल छ, त्यति बेला तिनीसँग परमेश्‍वरको बारेमा कति ज्ञान थियो त? (त्यति धेरै थिएन।) अहिले तिमीहरूसँग भएको ज्ञानको तुलनामा अय्यूबसँग परमेश्‍वरको धेरै ज्ञान थियो कि थोरै थियो? किन तिमीहरू जबाफ दिन आँट गर्दैनौ? यो त जबाफ दिन एकदमै सजिलो प्रश्न हो। थोरै! अवश्य नै त्यही हो। आजभोलि तिमीहरू परमेश्‍वरको आमने-सामने छौ र परमेश्‍वरका वचनहरूको आमने-सामने छौ; तिमीहरूसँग परमेश्‍वरको बारेमा अय्यूबसँग भएको भन्दा एकदमै धेरै ज्ञान छ। मैले किन यो कुरा ल्याएँ त? यी कुराहरू भन्नुको मेरो उद्देश्य के हो त? म तिमीहरूलाई एउटा तथ्य बताउन चाहन्छु, तर त्यसो गर्नुभन्दा पहिले, म तिमीहरूलाई एउटा प्रश्न गर्न चाहन्छु: अय्यूबले परमेश्‍वरको बारेमा एकदमै थोरै मात्र जान्दथे, तैपनि तिनले परमेश्‍वरको डर मान्थे र तिनी दुष्टताबाट अलग बस्थे; आजभोलिका मानिसहरू त्यसो गर्न किन असफल हुन्छन् त? (तिनीहरू गहन रूपले भ्रष्ट भएका छन्।) “गहन रूपले भ्रष्ट”—यो सतही घटना हो जसले समस्या पैदा गराइरहेको छ, तर म यसलाई कहिल्यै पनि त्यसरी हेर्दिनँ। तिमीहरूले प्रायजसो बारम्बार प्रयोग गरिने धर्मसिद्धान्तहरू र शब्दहरू लिन्छौ जस्तै “गहन रूपले भ्रष्ट”, “परमेश्‍वर विरुद्ध विद्रोह गर्ने”, “परमेश्‍वरप्रति बफादारी विहीनता”, “अवज्ञा”, “सत्यता मन नपराउने”, आदि इत्यादि, र यी चिरपरिचित शब्दावलीहरूलाई हरेक सवालको सार व्याख्या गर्न प्रयोग गर्छौ। यो अभ्यास गर्ने त्रुटिपूर्ण तरिका हो। फरक प्रकृतिका मामलाहरू व्याख्या गर्न उही जबाफको प्रयोग गर्नाले यसबाट अपरिहार्य रूपले सत्यता र परमेश्‍वरको बारेमा निन्दापूर्ण शङ्काहरू बढाउँछ; मलाई यस प्रकारका जबाफहरू सुन्न मन छैन। यसबारेमा लामो समयसम्म र दह्रिलो रूपमा सोच! तिमीहरूमध्ये कसैले पनि यस मामलामा सोचविचार गरेका छैनौ, तर म हरेक दिन यसलाई देख्न सक्छु, र हरेक दिन म यसलाई अनुभव गर्न सक्छु। यसरी, तिमीहरूले काम गर्दै गर्दा मैले हेरिरहेको हुन्छु। जब तिमीहरूले कुनै काम-कुरा गरिरहेका हुन्छौ, तब तिमीहरूले यसको सार अनुभव गर्न सक्दैनौ, तर जब म हेर्छु, तब म यसको सार देख्न सक्छु र मैले यसको सारलाई पनि अनुभव गर्न सक्छु। त्यसो भए, यो सार के हो त? किन आजभोलि मानिसहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनन् त? तिमीहरूका जबाफहरूले यो समस्याको सार व्याख्या गर्न सक्दैनन्, न त तिनले यो समस्याको हल नै गर्न सक्छन्। यस्तो किन हो भने यसको एउटा स्रोत हुन्छ जसको बारेमा तिमीहरूलाई थाहा छैन। यो स्रोत के हो त? मलाई थाहा छ, तिमीहरू यसबारेमा सुन्न चाहन्छौ, त्यसैले म तिमीहरूलाई यो समस्याको त्यस स्रोतको बारेमा बताउनेछु।

परमेश्‍वरले काम गर्न सुरु गर्नुभएदेखि उहाँले मानवजातिलाई कसरी लिनुभएको छ? परमेश्‍वरले तिनीहरूलाई उद्धार गर्नुभयो; उहाँले मानिसहरूलाई उहाँको परिवारका सदस्यहरूको रूपमा, उहाँको कामका वस्तुहरूको रूपमा, उहाँले विजय गर्न र उद्धार गर्न चाहनुभएका व्यक्तिहरूको रूपमा, र उहाँले सिद्ध तुल्याउन चाहनुभएका व्यक्तिहरूको रूपमा हेर्नुभएको छ। उहाँको कामको सुरुवातमा मानवताप्रति परमेश्‍वरको आचरण यही थियो। तर परमेश्‍वरप्रति मानिसहरूको आचरण चाहिँ कस्तो थियो त? मानिसहरूका लागि परमेश्‍वर अपरिचित हुनुहुन्थ्यो, र तिनीहरूले परमेश्‍वरलाई पराईको रूपमा लिन्थे। यो पनि भन्न सकिन्छ कि तिनीहरूको परमेश्‍वरप्रतिको आचरणले सही नतिजाहरू ल्याएनन् र परमेश्‍वरलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा तिनीहरूसँग स्पष्ट बुझाइ थिएन। यसरी, तिनीहरूले उहाँलाई जसरी मन लाग्यो त्यसरी व्यवहार गर्थे, र तिनीहरूले जस्तो मन लाग्यो त्यस्तो गर्थे। के तिनीहरूसँग परमेश्‍वरको बारेमा कुनै रायहरू थिए त? सुरुमा, तिनीहरूसँग कुनै रायहरू थिएनन्; तिनीहरूको तथाकथित रायहरूमा उहाँ बारेका केही निश्चित धारणाहरू र पूर्वानुमानहरू मात्र समावेश थिए। तिनीहरूले तिनीहरूका आफ्ना धारणाहरूसँग मेल खाने कुराहरू स्वीकार गरे र जब कुनै कुरा तिनीहरूका धारणाहरूसँग मेल खाँदैनथियो तब तिनीहरूले त्यसलाई सतही रूपमा पालन गर्थे, तर भित्री अन्तस्करणमा तिनीहरूले द्वन्द्व महसुस गर्थे र तिनीहरूले यसलाई अस्वीकार गर्थे। सुरुवातमा परमेश्‍वर र मानिसहरू बीचको सम्बन्ध यस्तै थियो: परमेश्‍वरले तिनीहरूलाई पारिवारिक सदस्यहरूको रूपमा हेर्नुहुन्थ्यो तैपनि तिनीहरूले उहाँलाई पराईको रूपमा व्यवहार गर्थे। तथापि, परमेश्‍वरको कामको अवधिपछि भने, मानिसहरूले उहाँले के उपलब्धि हासिल गर्ने प्रयास गर्दैहुनुहुन्थ्यो भन्ने कुरा बुझे र उहाँ साँचो परमेश्‍वर हुनुहुँदोरहेछ भन्ने थाहा पाए; तिनीहरूले परमेश्‍वरबाट के प्राप्त गर्न सक्दा रहेछन् भन्ने कुरा पनि थाहा पाए। उक्त समयमा मानिसहरूले परमेश्‍वरलाई कसरी लिन्थे त? तिनीहरूले उहाँलाई जीवन-रक्तको रूपमा हेर्थे र उहाँको अनुग्रह, आशीर्वाद, र प्रतिज्ञाहरू प्राप्त गर्ने आशा गर्थे। उक्त समयमा, परमेश्‍वरले मानिसहरूलाई कसरी लिनुहुन्थ्यो त? उहाँले तिनीहरूलाई उहाँको विजयको लक्ष्यको रूपमा लिनुहुन्थ्यो। परमेश्‍वरले तिनीहरूको न्याय गर्न, तिनीहरूलाई जाँच गर्न, र तिनीहरूलाई परीक्षाहरूमार्फत गुज्रन लगाउन वचनहरूको प्रयोग गर्न चाहनुहुन्थ्यो। तथापि, जहाँसम्म त्यति बेलाका मानिसहरूको सवाल छ, तिनीहरूको लागि परमेश्‍वर केवल एक वस्तु हुनुहुन्थ्यो जसलाई तिनीहरूले तिनीहरूका आफ्ना लक्ष्यहरू प्राप्त गर्नको लागि प्रयोग गर्न सक्थे। मानिसहरूले परमेश्‍वरबाट जारी भएका सत्यताले तिनीहरूमाथि विजय गर्न र तिनीहरूलाई उद्धार गर्न सक्छ भन्ने देखे, तिनीहरूले प्राप्त गर्न चाहेका कुराहरू उहाँबाट प्राप्त गर्नसक्ने साथसाथै तिनीहरूले चाहेका गन्तव्यहरू हासिल गर्ने अवसर हो भन्ने देखे। यसको फलस्वरूप, तिनीहरूको हृदयमा अलिअलि इमानदारीताको विकास भयो, र तिनीहरू परमेश्‍वरलाई पछ्याउन इच्छुक भए। समय बित्यो, अनि तिनीहरूले परमेश्‍वरको बारेमा प्राप्त गरेका सतही र धर्म-सैद्धान्तिक ज्ञानको कारण, यो भन्न सकिन्छ कि, मानिसहरू परमेश्‍वरसँग र उहाँले बोल्नुभएका वचनहरू, उहाँका प्रवचनहरू, उहाँले जारी गर्नुभएका सत्यताहरू र उहाँको कामसँग “परिचित” हुँदै गए। त्यसकारण, तिनीहरू परमेश्‍वर अब उप्रान्त अपरिचित हुनुहुन्न, र तिनीहरूले यसअघि नै परमेश्‍वरसँग सामञ्जस्य हुने पथमा पाइला चालिसकेका छन् भन्ने गलत बुझाइमा रहेका थिए। हालसम्म, मानिसहरूले सत्यतासम्बन्धी धेरै उपदेशहरू सुनिसकेका छन् र ठूलो मात्रमा परमेश्‍वरको कामको अनुभव गरेका छन्। तथापि, विविध कारक-तत्वहरू र परिस्थितिहरूको हस्तक्षेप र बाधाहरूको कारण, धेरैजसो मानिसहरू सत्यतालाई अभ्यास गर्न सफल हुँदैनन्, न त तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न नै सक्षम हुन्छन्। मानिसहरू बढ्दो रूपमा सुस्त बन्दै गइरहेका छन् र तिनीहरूमा बढ्दो रूपमा आत्मविश्‍वासको कमी देखिँदै गइरहेको छ। तिनीहरूलाई आफ्ना परिणामहरू अज्ञात छन् भन्ने बढ्दो अनुभूति भइरहेको छ। तिनीहरू अतिव्ययी विचारहरू लिई आउन आँट गर्दैनन् र तिनीहरू प्रगति गर्न खोज्दैनन्; तिनीहरू केवल मन नलागी-नलागी पछ्याउँदै हिँड्छन्, एक-एक कदम गर्दै अघि बढ्छन्। मानिसहरूको वर्तमान अवस्थाको सम्बन्धमा भन्दा, तिनीहरूप्रति परमेश्‍वरको आचरण कस्तो छ त? उहाँ तिनीहरूलाई केवल सत्यता प्रदान गर्न चाहनुहुन्छ र तिनीहरूको मन-मस्तिष्कमा उहाँको मार्ग छिराउन चाहनुहुन्छ र त्यसपछि विभिन्न तरिकाले तिनीहरूको परीक्षा लिनको लागि विविध परिस्थितिहरूको बन्दोबस्त गर्न चाहनुहुन्छ। उहाँको लक्ष्य भनेको यी वचनहरू, यी सत्यताहरू, र उहाँको कामलाई लिएर कुनै यस्तो परिणाम निकाल्नु हो जसबाट मानिसहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्षम होऊन्। मैले देखेका धेरैजसो मानिसहरूले केवल परमेश्‍वरका वचनहरूलाई लिन्छन् र तिनलाई धर्मसिद्धान्तहरू, कागजमा रहेका अक्षरहरू, पालना गर्नुपर्ने नियमहरूको रूपमा मात्र हेर्छन्। तिनीहरूका कार्य र वाणीहरूमा, वा तिनीहरूले परीक्षा सामना गर्दा, परमेश्‍वरको मार्गलाई पालना गर्नुपर्ने मार्गको रूपमा लिँदैनन्। यो कुरा विशेष रूपमा त्यो बेला साँचो हुन्छ जब मानिसहरूले कुनै ठूलो परीक्षा सामना गर्छन्: मैले कुनै पनि त्यस्तो मानिस देखेको छैन जसले परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने दिशातर्फ अभ्यास गरेको छ। त्यसकारण, मानिसप्रति परमेश्‍वरको आचरण एकदमै घृणा र विरक्तपनले भरिएको हुन्छ। उहाँले तिनीहरूलाई बारम्बार परीक्षाहरू दिनुभएको भए तापनि, सयौँ पल्ट नै दिनुभएको भए तापनि, तिनीहरूमा अझै पनि कुनै स्पष्ट आचरण हुँदैन जसको मद्दतले तिनीहरूको संकल्‍प प्रदर्शन गर्न सकियोस्: “म परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न चाहन्छु!” मानिसहरूमा यो संकल्प नभएको हुनाले र तिनीहरूले यस प्रकारको प्रदर्शन नगरेको हुनाले, तिनीहरूप्रति परमेश्‍वरको वर्तमान आचरण विगतको जस्तो छैन जुन बेला उहाँले तिनीहरूलाई कृपा, सहनशीलता, क्षमाशीलता, र धैर्यता प्रदान गर्नुहुन्थ्यो। यसको साटो, उहाँ मानवताबाट औधी नै निराश हुनुभएको छ। यस्तो निराशा कसले गरायो त? मानिसहरूप्रति परमेश्‍वरको आचरण कोमाथि निर्भर हुन्छ? यो त उहाँलाई पछ्याउने हरेक व्यक्तिमा भर पर्छ। आफ्‍नो कामको धेरै वर्षहरूको सिलसिलामा, परमेश्‍वरले मानिसहरूले पूरा गर्नको लागि धेरै आवश्यक मापदण्डहरू बनाउनुभएको छ र तिनीहरूको लागि धेरै परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको छ। तैपनि, तिनीहरूले जे-जसरी कार्य-प्रदर्शन गरेको भए तापनि, परमेश्‍वरप्रति तिनीहरूको जे-जस्तो आचरण भएको भए तापनि, मानिसहरू स्पष्टसित परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने लक्ष्य अनुरूप अभ्यास गर्न ‍असफल भएका छन्। यसर्थ, म सारांशमा एक शब्दावली प्रदान गर्नेछु र यस शब्दावलीलाई मानिसहरू किन परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने परमेश्‍वरको मार्गमा हिँड्न सक्दैनन् भन्ने बारेमा हामीले भर्खरै भनेका सबै कुराहरूको व्याख्या गर्न प्रयोग गर्नेछु। यो शब्दावली के हो त? यो शब्दावली हो: परमेश्‍वरले मानिसलाई उहाँको मुक्तिको वस्तुको रूपमा र उहाँको कामको वस्तुको रूपमा लिनुहुन्छ; मानिसहरूले परमेश्‍वरलाई तिनीहरूको दुस्मन र तिनीहरूको प्रतिवादको रूपमा लिन्छन्। के तैँले अब यो मामलाको बारेमा स्पष्ट बुझिस् त? मानवजातिको आचरण कस्तो छ, परमेश्‍वरको आचरण कस्तो छ, र मानिसहरू र परमेश्‍वर बीचको सम्बन्ध कस्तो छ भन्ने कुरा एकदमै स्पष्ट छ। तिमीहरूले जति नै धेरै प्रवचनहरू सुनिसकेको भए तापनि, ती कुराहरू जसको बारेमा तिमीहरू आफैले आफ्ना निष्कर्षहरू निकालेका छौ, जस्तै परमेश्‍वरप्रति बफादार हुने, परमेश्‍वरप्रति समर्पित हुने, परमेश्‍वरसँग सामञ्जस्य हुने मार्गको खोजी गर्ने, परमेश्‍वरको लागि सारा जीवन खर्च गर्न चाहना गर्ने र परमेश्‍वरको लागि जिउने चाहना गर्ने—मलाई त लाग्छ, यी कुराहरू सचेत रूपमा परमेश्‍वरको मार्गमा अर्थात परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्ने उदाहरणहरू होइनन् बरु यी कुराहरू त त्यस्ता माध्यमहरू हुन् जसबाट तिमीहरूले केही निश्चित लक्ष्यहरू प्राप्त गर्छौ। ती लक्ष्यहरू प्राप्त गर्न तिमीहरूले मन नलागी-नलागी केही नियमहरू पालना गर्छौ र ठ्याक्कै भन्ने हो भने यी नियमहरूले नै मानिसहरूलाई परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गबाट टाढा लैजान्छ र त्यसले फेरि एकपल्ट परमेश्‍वरलाई मानवजातिको विपक्षमा उभ्याउँछ।

आजको विषय अलि गहकिलो छ, तर जे-जस्तो भए तापनि, मलाई अझै के आशा छ भने, जब तिमीहरू आउनेवाला अनुभवहरूबाट र आउनेवाला समयहरूबाट गुज्रनेछौ, तब तिमीहरूले मैले भर्खरै तिमीहरूलाई भनेका कुराहरू गर्न सक्‍नेछौ। परमेश्‍वरलाई केवल रित्तो हावाको एउटा पोकोको रूपमा नलेओ—मानौँ कि उहाँ तिमीहरूको लागि काम लाग्ने हुनुभयो भने उहाँ अस्तित्वमा हुनुहुन्छ, तर उहाँ तिमीहरूको लागि काम लाग्ने हुनुभएन भने उहाँको अस्तित्वमा हुनुहुन्न। एक पल्ट तैँले तेरो अर्धचेतन मस्तिष्कमा त्यस्तो सोच ल्याइसकेपछि, तैँले परमेश्‍वरलाई पहिले नै क्रोधित तुल्याइसकेको हुनेछस्। सायद यसो भन्ने मानिसहरू पनि छन् होलान्, “मैले परमेश्‍वरलाई केवल रित्तो हावाको एउटा पोकोको रूपमा लिएको छैन। म सधैँ उहाँलाई प्रार्थना गर्छु र म सधैँ उहाँलाई सन्तुष्ट पार्ने प्रयास गर्छु र मैले गर्ने हरेक काम-कुराहरू परमेश्‍वरले तोक्‍नुभएका क्षेत्रहरू, मापदण्डहरू र सिद्धान्तहरूभित्र पर्छन्। निश्चय नै मैले मेरा आफ्नै सोच-विचारहरू अनुरूप अभ्यास गरिरहेको छैन।” हो, तैँले अभ्यास गरिरहेको यो तरिका सही छ! तैपनि, जब तैँले कुनै समस्याको सामना गर्छस् तब तँलाई के लाग्छ? जब तैँले कुनै मामलाको सामना गर्छस्, तब तैँले कसरी अभ्यास गर्छस्? केही मानिसहरूले उहाँलाई प्रार्थना गरेको बेलामा र उहाँलाई बिन्ती गरेको बेलामा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्ने महसुस गर्छन् तर त्यसपछि जब तिनीहरूले कुनै समस्याको सामना गर्छन् तब तिनीहरूले आफ्नै सोच-विचारहरू निकाल्छन् र तिनै सोच-विचारहरूको पालना गर्न चाहन्छन्। यसको मतलब तिनीहरूले परमेश्‍वरलाई केवल रित्तो हावाको एउटा पोकोको रूपमा लिन्छन् र त्यस्तो अवस्थाले परमेश्‍वरलाई तिनीहरूको मस्तिष्कभित्र अस्तित्व विहीन तुल्याइदिन्छ। मानिसहरूले के विश्‍वास गर्छन् भने, जब तिनीहरूलाई उहाँको आवश्यकता पर्छ तब परमेश्‍वर अस्तित्वमा हुनुपर्छ, तर तिनीहरूलाई उहाँको आवश्यकता नपरेको बेलामा उहाँ अस्तित्वमा हुनु हुँदैन। तिनीहरूका आफ्नै सोच-विचारहरूको आधारमा अभ्यास गर्नु नै काफी हुन्छ भनी मानिसहरूले विचार गर्छन्। तिनीहरूले तिनीहरूलाई जे मन लाग्यो त्यही गर्न सक्छन् भन्ने विश्‍वास गर्छन्; तिनीहरूले परमेश्‍वरको मार्गको खोजी गर्नुपर्छ भन्ने विश्‍वास नै गर्दैनन्। जहाँसम्म अहिले यस प्रकारको अवस्थामा भएका र यस प्रकारको स्थितिमा अल्झिएका मानिसहरूको सवाल छ, के तिनीहरू खतराको पछि लागेका छैनन् र? केही मानिसहरू भन्छन्, “म खतराको पछि लागेको भए पनि नभए पनि मैले यतिका वर्षसम्म विश्‍वास गरेको छु, र मलाई विश्‍वास छ परमेश्‍वरले मलाई छाड्नुहुन्न किनभने उहाँले त्यसो गर्न सक्नुहुन्न।” अरू भन्छन्, “म मेरी आमाको गर्भमा भएदेखि नै मैले प्रभुमा विश्‍वास गरेको छु। चालीस वा पचास वर्ष पुगिसकेको छ, त्यसैले समयको हिसाबमा त, परमेश्‍वरद्वारा बचाइनका लागि म सबैभन्दा योग्य छु र बाँच्‍नको लागि सबैभन्दा योग्य म नै छु। यी चार वा पाँच दशकहरूमा, मैले मेरो परिवार र मेरो जागिर छाडेको छु र मैले पैसा, हैसियत, आनन्द, र परिवारसँगको समयजस्ता मसँग भएका सबै कुराहरू त्याग गरेको छु। मैले स्वादिला खानेकुराहरू त्यति धेरै खाएको छैन, मैले धेरै मनोरञ्जनहरूको आनन्द लिएको छैन, मैले धेरै रोचक ठाउँहरू भ्रमण गरेको छैन र मैले सामान्य मानिसहरूले सहन समेत नसक्ने कष्टहरू सहेको छु। यदि यी कुराहरूको फलस्वरूप परमेश्‍वरले मलाई मुक्ति दिन सक्नुहुन्न भने मलाई अन्यायपूर्ण ढङ्गले व्यवहार गरिएको हुनेछ र म यस प्रकारको परमेश्‍वरमा विश्‍वास गर्न सक्दिनँ।” के यस प्रकारको दृष्टिकोण भएका मानिसहरू धेरै छन्? (धेरै छन्।) ठीकै छ, त्यसो भए, आज म तिमीहरूलाई एउटा तथ्य बुझ्न मद्दत गर्नेछु: त्यस्तो दृष्टिकोण भएका मानिसहरूले आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरिरहेका हुन्छन्। किनभने तिनीहरूले तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा आफ्नो आँखा छोपिरहेका हुन्छन्। वास्तवमै परमेश्‍वरले मानिसहरूलाई पूरा गर्न अनिवार्य गर्नुभएका मापदण्डहरूको स्थान यिनै कल्पनाहरूले, साथसाथै तिनीहरूका आफ्नै निष्कर्षहरूले लिन्छन् र यी कुराले तिनीहरूलाई परमेश्‍वरका वास्तविक अभिप्रायहरू स्वीकार गर्नबाट रोक्छन्। यसले तिनीहरूलाई उहाँको साँचो अस्तित्व अनुभूति गर्न असक्षम तुल्याउँछ र यसले तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू पनि गुमाउने तुल्याउँछ, यसरी तिनीहरूले परमेश्‍वरको प्रतिज्ञाको कुनै अंश वा हिस्सा गुमाउँछन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्