परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १ (भाग दुई)

परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌को बारेमा बुझ्‍नको निम्ति, तैँले सानो सुरुवात गर्नुपर्छ। तर कहाँबाट सानो सुरुवात गर्ने? सुरुवात गर्नको निम्ति, मैले बाइबलबाट केही अध्यायहरू छानेको छु। तल दिइएको जानकारीमा बाइबलका पदहरू समावेश गरिएका छन्, ती सबै परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् बारेको विषयसँग सम्बन्धित छन्। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्को बारेमा बुझ्‍नको निम्ति तिमीहरूलाई सहायता गर्नको निम्ति मैले विशेषगरी सन्दर्भ सामग्रीको रूपमा यी उद्धृत खण्डहरू भेटाएको छु। यिनीहरूमा सहभागी भएर, परमेश्‍वरले आफ्ना विगतका कामद्वारा कस्तो किसिमको परमेश्‍वरको स्वभाव प्रकट गर्नुभएको छ र उहाँको सारका कुन पक्षहरू मानिसका लागि अज्ञात छन् भन्‍ने कुरा देख्‍न सक्ने छौँ। यी अध्यायहरू पुराना हुन सक्छन्, तर हामीले सङ्‍गति गर्दै गरेको विषयचाहिँ मानिसहरूसँग नभएका र तिनीहरूले कहिल्यै नसुनेका केही नयाँ कुरा हो। तिमीहरूमध्ये केहीलाई यो कुरा अबोधगम्य लाग्‍न सक्छ—आदम र हव्वाको कुरा ल्याउनु र पछाडि फर्केर नोआको कुरा गर्नु त्यही कदमहरूलाई पुनः पछ्याउनु होइन र? तिमीहरूले जे सोचे तापनि, यस विषयमा सङ्‍गति गर्नको निम्ति यी अध्यायहरू धेरै नै लाभदायक छन् र आजको सङ्‍गतिको निम्ति तिनले शिक्षण मूलपाठ वा प्रत्यक्ष सामाग्रीहरूको काम गर्न सक्छन्। मैले यो सङ्‍गति सकुञ्‍जेलसम्ममा यी अध्यायहरू छान्‍नु पछाडिको मेरो अभिप्रायहरू तिमीहरूले बुझ्‍ने छौ। पहिले बाइबल पढेकाहरूले यी केही पदहरू पढेका हुन सक्छन्, तर तिनीहरूलाई नबुझेका हुन सक्छन्। पहिले, छोटकरीमा तिनीहरूको समीक्षा गरौँ, त्यसपछि हाम्रो सङ्‍गतिको दौरानमा हरेकलाई विस्तृतमा हेरौँ।

आदम र हव्वा मानवजातिका पुर्खा हुन्। हामीले बाइबलका पात्रहरूलाई उल्लेख गर्नुपर्‍यो भने, ती दुईबाट सुरु गर्नुपर्छ। अर्कोचाहिँ नोआ हो, मानवजातिको दोस्रो पुर्खा। तेस्रो पात्र को हो? (अब्राहाम।) के तिमीहरू सबैलाई अब्राहामको कथा थाहा छ? तिमीहरूमध्ये केहीलाई थाहा हुन सक्छ, तर अन्यलाई स्पष्ट थाहा नहुन सक्छ। चौथो पात्र को हो? सदोमको विनाशको कथामा कसको बारेमा उल्लेख छ? (लोत।) तर लोतलाई यहाँ उद्धृत गरिएको छैन। यसले कसलाई जनाउँछ? (अब्राहामलाई।) अब्राहामको कथामा उल्लेख गरिएको मुख्य कुराचाहिँ यहोवा परमेश्‍वरले भन्‍नुभएको कुरा हो। के तिमीहरू यसलाई देख्छौ? पाँचौँ पात्र को हो? (अय्यूब।) परमेश्‍वरले उहाँको अहिलेको कामको चरणमा अय्यूबको कथालाई धेरै उल्लेख गर्नुभएको छैन र? त्यसो भए के तिमीहरू यस कथालाई धेरै वास्ता गर्छौ? यदि तिमीहरू धेरै वास्ता गर्छौ भने, के तिमीहरूले बाइबलमा अय्यूबको कथालाई ध्यान दिएर पढेका छौ? अय्यूबले भनेका र गरेका कुराहरू के तिमीहरूलाई थाहा छ? तिमीहरू जसले यसलाई सबैभन्दा धेरै पढेका छौ, तिमीहरूले कति पटक पढेका छौ? के यसलाई अक्सर पढ्छौ? हङकङका दिदीबहिनीहरू हामीलाई भन। (हामी अनुग्रहको समयमा हुँदा मैले केही पटक पढेकी थिएँ।) त्यसपछि तिमीहरूले फेरि पढेका छैनौ? त्यो रोदनकारी छ। म तिमीहरूलाई भन्छु: परमेश्‍वरको कामको यस चरणमा उहाँले अय्यूबलाई धेरै पटक उल्लेख गर्नुभएको छ, जुनचाहिँ उहाँका अभिप्रायहरूको प्रतिबिम्ब हो। उहाँले अय्यूबलाई धेरै पटक उल्लेख गर्नुभयो तर यसले तिमीहरूको ध्यान खिचेन भन्‍ने कुरा यस कुराको प्रमाण हो कि तिमीहरूमा असल मानिसहरू र परमेश्‍वरको भय मान्‍ने तथा दुष्टबाट अलग रहने मानिसहरू बन्‍ने इच्छा छैन। किनकि परमेश्‍वरले उद्धृत गर्नुभएको अय्यूबको कथाको अपूर्ण धारणामा नै तिमीहरू सन्तुष्ट छौ। तिमीहरू केवल कथा बुझ्‍ने कुरामा नै सन्तुष्ट छौ, तर अय्यूब को हो र परमेश्‍वरले अय्यूबको बारेमा धेरै घटनाहरूमा उल्लेख गर्नुभएको कुरा पछाडिको उद्देश्यलाई वास्ता राख्दैनौ र विस्तृतमा बुझ्‍न खोज्दैनौ। यदि परमेश्‍वरले प्रशंसा गरेको त्यस्तो व्यक्तिको बारेमा तिमीहरूलाई चासो छैन भने, तिमीहरूले केमा ध्यान दिइरहेका छौ? परमेश्‍वरले उल्लेख गर्नुभएको यस्तो महत्त्वपूर्ण व्यक्तिको बारेमा तिमीहरूले वास्ता राख्दैनौ वा त्यसको बारेमा बुझ्ने कोसिस गर्दैनौ भने, परमेश्‍वरको वचनप्रतिको तिमीहरूको मनोवृत्तिको बारेमा त्यसले के भन्छ? के त्यो खेदजनक कुरा होइन? तिमीहरूमध्ये धेरै जना व्यवहारिक कुराहरूमा संलग्‍न हुँदैनौ वा सत्यताको खोजी गर्दैनौ भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन र? यदि तैँले सत्यताको खोजी गरिस् भने परमेश्‍वरले स्वीकार गर्नुभएका मानिसहरूमा र परमेश्‍वरले भन्‍नुभएका पात्रहरूका कथाहरूमा तैँले आवश्यक ध्यान दिने छस्। तँ तिनीहरूको मापदण्ड अनुसार जिउन सके पनि वा तँलाई तिनीहरूका कथाहरू हृदय-स्पर्शी लागे पनि, तँ छिटो गएर तिनीहरूको बारेमा पढ्नेछस्, तिनीहरूलाई बुझ्‍ने प्रयास गर्नेछस्, तिनीहरूको उदाहरण पछ्याउने तरिकाहरू खोज्‍नेछस् र तेरो क्षमताले भ्याएसम्म गर्नेछस्। सत्यताको चाहना राख्‍नेले यसरी नै काम गर्नुपर्छ। तर तथ्य यही हो कि यहाँ बसेका तिमीहरूमध्ये धेरैले अय्यूबको कथा कहिले पनि पढेका छैनौ—र यसले धेरै कुरा बताउँछ।

मैले भर्खरै छलफल गर्दै गरेको विषयमा फर्कौं। पुरानो करारको व्यवस्थाको युगसँग सम्बन्धित धर्मशास्त्रको यस खण्डमा, बाइबल पढ्ने धेरैजसो मानिसहरूलाई थाहा भएका उच्च प्रतिनिधिमूलक पात्रहरू बारेका निश्‍चित कथाहरूमा ध्यान दिने निर्णय मैले गरेको छु। यी पात्रहरू बारेका कथाहरू पढ्ने जो कोहीले तिनीहरूमाथि परमेश्‍वरले गर्नुभएको काम र तिनीहरूसँग परमेश्‍वरले बोल्‍नुभएका वचनहरू आजका मानिसहरूका निम्ति पनि मूर्त र सुलभ छन् भन्‍ने कुराको महसुस गर्न सक्नेछन्। जब तैँले बाइबलमा सङ्ग्रहित यी कथाहरू पढ्छस्, इतिहासका ती समयहरूमा परमेश्‍वरले आफ्नो काम कसरी गर्नुभयो र मानिसहरूसँग कस्तो व्यवहार गर्नुभयो भन्‍ने कुरा तैँले अझ राम्ररी बुझ्छस्। तर तैँले ती कथाहरू स्वयम् वा तिनमा भएका पात्रहरूमा ध्यान दे भनेर मैले यी अध्यायहरूको बारेमा आज छलफल गरेको होइन। बरु, यी पात्रहरूका कथाहरूद्वारा तैँले परमेश्‍वरको कामहरू र उहाँको स्वभावलाई सराहना गर्न सक् भनेर मैले यसो गरेको हुँ। यसले तँलाई परमेश्‍वरलाई सजिलै जान्‍न र बुझ्‍न, उहाँको वास्तविक पक्ष हेर्न सक्षम तुल्याउनेछ; यसले उहाँ बारेको तेरा अनुमान र धारणाहरूलाई हटाउनेछ र अस्पष्टताले ढाकेको विश्‍वासको बाटो मोड्न तँलाई मदत गर्ने छ। तँसँग बलियो जग नभएसम्म, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌लाई बुझ्‍ने कोसिसले निःसहाय, शक्तिहीन र कहाँबाट सुरु गर्ने कुरा थाहा नभएको अनिश्‍चिततातर्फ डोर्याउन सक्छ। यसले मलाई एउटा विधि र तरिकाको विकास गर्न प्रेरित गर्‍यो जसले परमेश्‍वरलाई अझ राम्ररी बुझ्‍न, परमेश्‍वरको इच्छालाई साँचो तरिकाले सराहना गर्न, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌लाई बुझ्‍नको निम्ति तेरो मदत गर्छ, र तँलाई परमेश्‍वरको अस्तित्व वास्तविक रूपमा अनुभव गर्न र मानवजातिप्रति उहाँको इच्छालाई सराहना गर्न दिन्छ। के यी सबै तिमीहरूकै फाइदाका लागि हुने छैनन् र? तिमीहरूले अहिले यी कथा र धर्मशास्त्रका खण्डहरू पुनः पढ्दा तिमीहरूका हृदयहरूमा के महसुस गर्छौ? के मैले छानेका धर्मशास्त्रका खण्डहरू अनावश्यक हुन् जस्तो तिमीहरूलाई लाग्छ? मैले भर्खरै तिमीहरूलाई भनेका कुराहरूलाई मैले पुनः जोड दिनुपर्छ: परमेश्‍वरले मानिसहरूमा आफ्नो काम कसरी गर्नुहुन्छ भन्‍ने कुरा देख्‍न र मानवजातिप्रति उहाँको मनोवृत्ति अझ राम्ररी बुझ्‍नको निम्ति तिमीहरूलाई मदत गर्नु नै तिमीहरूलाई यी पात्रहरूका कथाहरू पढ्‍न लगाउनुको उद्देश्य हो। तिमीहरूलाई यो समझ प्राप्त गर्नका निम्ति केले मदत गर्ने छ? विगतमा परमेश्‍वरले गर्नुभएको काम बुझ्‍ने र त्यसलाई परमेश्‍वरले अहिले गरिरहनुभएको कामसँग जोड्‍ने कार्यले उहाँका असङ्ख्य पक्षहरूको सराहना गर्न तिमीहरूलाई मदत गर्छ। यी असङ्ख्य पक्षहरू वास्तविक छन् र परमेश्‍वरलाई जान्‍न चाहने सबैले यी कुराहरू जान्‍नु र यिनीहरूको सराहना गर्नु पर्छ।

धर्मशास्त्रलाई उद्धृत गर्दै आदम र हव्वाको कथा सुरु गरौँ।

अ. आदम र हव्वा

१. आदमलाई परमेश्‍वरको आज्ञा

उत्पत्ति २:१५-१७ अनि यहोवा परमेश्‍वरले मानिसलाई लिनुभयो र अदनको बगैँचामा त्यसको हेरचाह गर्न र काटछाँट गर्न राख्‍नुभयो। अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।

यी पदहरूबाट तिमीहरूले के बुझ्यौ? धर्मशास्त्रको यस खण्डले तिमीहरूलाई कस्तो महसुस गराउँछ? मैले किन आदमलाई परमेश्‍वरले दिनुभएको आज्ञाको बारेमा कुरा गर्ने निर्णय गरेँ? के अहिले तिमीहरू हरेकको मनमा परमेश्‍वर र आदमको बिम्ब छ? तिमीहरूले कल्पना गर्ने कोसिस गर्न सक्छौ: यदि त्यस दृष्यमा तिमीहरू भएको भए, तिमीहरूलाई भित्रबाट परमेश्‍वर कस्तो हुनुहुन्थ्यो होला जस्तो लाग्छ? यस बारेको सोचाइले तिमीहरूलाई कस्तो महसुस गराउँछ? यो हृदयस्पर्शी र हृदयलाई आनन्दित गराउने तस्वीर हो। यसभित्र परमेश्‍वर र मानिस मात्र भएता पनि, उहाँहरू बीचको घनिष्ठताले तिमीहरूमा श्रद्धाको भाव भर्दछ: परमेश्‍वरको भरिपूर्ण प्रेम मानिसलाई सित्तैँमा दिइएको छ र यसले मानिसलाई घेर्छ; मानिस निर्दोष र शुद्ध छ अनि भारमुक्त र निर्धक्क रूपमा परमेश्‍वरको नजरमुनि आनन्दपूर्वक जिइरहेको छ; परमेश्‍वरले मानिस परमेश्‍वरको सुरक्षा र आशिष्‌मा बस्दा मानिसप्रति चासो देखाउनुहुन्छ; मानिसले गर्ने र भन्‍ने हरेक कुरा परमेश्‍वरसँग छुटाउनै नमिल्‍ने गरी जोडिएका छन् र तिनलाई परमेश्‍वरबाट अलग गर्न सकिन्‍न।

यसलाई परमेश्‍वरले मानिसको सृष्टिपछि उसलाई दिनुभएको पहिलो आज्ञा भन्‍न सकिन्छ। यस आज्ञाले के व्यक्त गर्दछ? यसले परमेश्‍वरको इच्छाको बारेमा व्यक्त गर्दछ, यसले मानवजातिप्रति उहाँका चिन्ताहरूको बारेमा पनि व्यक्त गर्दछ। यो परमेश्‍वरको पहिलो आज्ञा हो र यो परमेश्‍वरले मानिसको निम्ति चिन्ता व्यक्त गर्नुभएको पहिलो पटक पनि हो। यसको अर्थ, परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभएको बेलादेखि नै ऊप्रति आफ्नो जिम्मेवारी महसुस गर्नुभयो। उहाँको जिम्मेवारी के हो? उहाँले मानिसको सुरक्षा गर्नुपर्छ, मानिसको हेरचाह गर्नुपर्छ। मानिसले उहाँका वचनहरूमा भरोसा गर्न र तिनको आज्ञा पालन गर्न सक्छ भन्‍ने कुराको आशा उहाँ गर्नुहुन्छ। यो परमेश्‍वरले मानिसबाट आशा गर्नुभएको पहिलो कुरा पनि हो। यही आशामा परमेश्‍वर निम्न कुरा भन्‍नुहुन्छ: “तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।” यी सरल वचनहरूले परमेश्‍वरको इच्छाको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरले उहाँको हृदयमा मानिसप्रति चासो देखाउन थाल्‍नुभएको कुरालाई पनि यिनीहरूले प्रकट गर्छन्। सबै कुराहरूमध्ये, आदम मात्र परमेश्‍वरको प्रतिरूपमा बनाइएको थियो; परमेश्‍वरले जीवनको सास फुकिदिनुभएको जीवित प्राणी आदम मात्र थियो; ऊ परमेश्‍वरसँग हिँड्न र कुराकानी गर्न सक्थ्यो। यसैले परमेश्‍वरले उसलाई यो आज्ञा दिनुभयो। परमेश्‍वरले आफ्नो आज्ञामा मानिसले के गर्न सक्‍छ र के गर्न सक्दैन भन्‍ने कुराहरू एकदमै सरल तरिकाले बताउनुभयो।

यी केही सरल वचनहरूमा, हामीले परमेश्‍वरको हृदय देख्छौँ। तर कस्तो किसिमको हृदयले आफैँलाई देखाउँछ? के परमेश्‍वरको हृदयमा प्रेम छ? के त्यहाँ चासो छ? यी पदहरूमा, परमेश्‍वरको प्रेम र चासोलाई सराहना गर्न मात्र होइन तर घनिष्ठ रूपले महसुस पनि गर्न सकिन्छ। के तिमीहरू सहमत हुँदैनौ? मैले यसो भनेको सुनेर पनि, के तिमीहरू यिनीहरू सामान्य वचनहरू मात्र हुन् भन्‍ने सोच्छौ? जे भए पनि ती त्यति सामान्य पनि छैनन्, होइन र? के तिमीहरूलाई पहिले यसको बारेमा अवगत थियो? परमेश्‍वरले व्यक्तिगत रूपमा तँलाई यी वचनहरू भन्‍नुभयो भने, तैँले भित्री रूपमा कस्तो महसुस गर्ने थिइस्? यदि तँ मानव नभएको भए, यदि तेरो हृदय कठोर भएको भए, तैँले केही महसुस गर्न सक्‍ने थिइनस्, तैँले परमेश्‍वरको प्रेमलाई सराहना गर्न सक्‍ने थिइनस् र तैँले परमेश्‍वरको हृदय बुझ्‍ने कोसिस गर्ने थिइनस्। तर मानवीय चेत र विवेक भएको व्यक्ति भएको कारण तैँले फरक महसुस गर्ने थिइस्। तैँले न्यानोपन महसुस गर्ने थिइस्, तैँले वास्ता गरिएको र प्रेम गरिएको महसुस गर्ने थिइस् र तैँले सुख महसुस गर्ने थिइस्। के यो सही होइन? जब तैँले यी कुराहरूको अनुभव गर्छस्, तैँले परमेश्‍वरप्रति कस्तो व्यवहार गर्ने छस्? के तैँले परमेश्‍वरमा जोडिएको महसुस गर्ने छस्? के तैँले हृदयको गहिराइबाट परमेश्‍वरलाई प्रेम र सम्मान गर्ने छस्? के तेरो हृदय परमेश्‍वरको नजिक जाने छ? यसबाट तैँले मानिसको निम्ति परमेश्‍वरको प्रेम कति महत्त्वपूर्ण छ भ‍न्‍ने देख्‍न सक्छस्। तर मानिसले परमेश्‍वरको प्रेमको सराहना गर्नु र त्यसलाई बुझ्‍नु अझ जरुरी छ? वास्तवमा, परमेश्‍वरले आफ्नो कामको चरणमा उस्तै धेरै कुराहरू भन्‍नुहुन्‍न र? के आज परमेश्‍वरको हृदयको सराहना गर्ने मानिसहरू छन्? के तिमीहरूले मैले भर्खरै भनेका परमेश्‍वरका इच्छा बुझ्‍न सक्छौ? वास्तवमा यो यति ठोस, मूर्त र वास्तविक हुँदा पनि तिमीहरूले परमेश्‍वरको इच्छाको सराहना गर्न सक्दैनौ। त्यसैले तिमीहरूमा परमेश्‍वरको वास्तविक ज्ञान र समझ छैन भनेर म भन्छु। के यो साँचो होइन? तर अहिलेलाई यति मै छाडौँ।

२. परमेश्‍वरले हव्वालाई सृष्टि गर्नुहुन्छ

उत्पत्ति २:१८-२० अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो, मानिस एकलो रहन राम्रो होइन; म त्यसको निम्ति सहयोगी बनाउनेछु। अनि यहोवा परमेश्‍वरले जमिनबाट भूमिका हरेक जनावर र आकाशका हरेक पन्‍छी बनाउनुभयो; र त्यसले तिनलाई के नामले बोलाउँदो रहेछ भन्‍ने हेर्नलाई उहाँले तिनीहरूलाई आदमकहाँ ल्याउनुभयो: र आदमले हरेक जीवित प्राणीलाई जे नामले बोलायो, त्यसपछि त्यसको नाम त्यही रह्‍यो। अनि आदमले सबै चौपाया र आकाशका पन्‍छीहरू र भूमिका हरेक जनावरको नाम राखे; तर आदमको निम्ति सहयोगी भेटिएन।

उत्पत्ति २:२२-२३ अनि यहोवा परमेश्‍वरले पुरुषबाट जुन करङ लिनुभएको थियो त्यसबाट स्‍त्री बनाउनुभयो, र तिनलाई पुरुषकहाँ ल्याउनुभयो। अनि आदमले भने, यो त मेरै हड्डीहरूको हड्डी र मासुको मासु हो: तिनलाई स्‍त्री भनिनेछ किनभने तिनलाई पुरुषबाट लिइएको थियो।

धर्मशास्त्रको यस खण्डमा एउटा महत्त्वपूर्ण पङ्‍क्ति छ: “आदमले हरेक जीवित प्राणीलाई जे नामले बोलायो, त्यसपछि त्यसको नाम त्यही रह्‍यो।” यसैले, सबै जीवित प्राणीहरूको नाम कसले राख्यो? आदमले, परमेश्‍वरले होइन। यस पङ्‍क्तिले मानवजातिलाई एउटा तथ्य भन्छ: परमेश्‍वरले मानिसको सृष्टि गर्दा नै उसलाई बुद्धि दिनुभयो। यसको अर्थ, मानिसको बुद्धि परमेश्‍वरबाट आएको हो। यो एक निश्‍चितता हो। तर किन? परमेश्‍वरले आदमको सृष्टि गर्नुभएपछि, के आदम विद्यालय गयो? के उसलाई पढ्न आउँथ्यो? परमेश्‍वरले विभिन्‍न जीवित प्राणीहरू बनाउनुभएपछि, के आदमले यी सबै प्राणीहरूको पहिचान गर्‍यो? के परमेश्‍वरले उसलाई तिनीहरूको नाम के-के थिए भनी बताउनुभयो? परमेश्‍वरले उसलाई यी प्राणीहरूका नामहरू कसरी राख्‍ने भनेर पनि अवश्य सिकाउनुभएन। सत्य त्यही हो! त्यसो भए यी जीवित प्राणीहरूको नाम कसरी राख्‍ने र तिनीहरूलाई के नाम दिने भनेर आदमलाई कसरी थाहा भयो? यो आदमको सृष्टि गर्दा परमेश्‍वरले आदममा के कुरा थपिदिनुभयो भन्‍ने प्रश्‍नको जवाफसँग सम्बन्धित छ। यी तथ्यहरूले प्रमाणित गर्छन् कि परमेश्‍वरले मानिसको सृष्टि गर्नुहुँदा आफ्नो बुद्धि पनि उसमा थपिदिनुभयो। यो मुख्य बुँदा हो, त्यसैले ध्यान दिएर सुन। तिमीहरूले बुझ्‍नुपर्ने अर्को मुख्य बुँदा पनि छ: आदमले जीवित प्राणीहरूको नाम राखेपछि, ती नामहरू परमेश्‍वरको शब्दावलीमा स्थापित भए। म किन यो कुरा उल्लेख गर्छु? किनकि यसमा परमेश्‍वरको स्वभाव सामेल छ र यस बुँदाको थप व्याख्या मैले गर्नुपर्छ।

परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो, उसमा जीवनको सास फुकिदिनुभयो र उसलाई उहाँको बुद्धिबाट केही, उहाँको क्षमताहरू र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो दिनुभयो। परमेश्‍वरले मानिसलाई यी सबै कुराहरू दिनुभएपछि, मानिस केही कुराहरू स्वतन्त्र रूपमा गर्न सक्‍ने र आफैँले सोच्‍न सक्‍ने भयो। मानिसले सोचेको र गरेको कुरा परमेश्‍वरको नजरमा असल छ भने, परमेश्‍वरले त्यसको पुष्टि गर्नुहुन्छ र हस्तक्षेप गर्नुहुन्‍न। यदि मानिसले गरेको कुरा सही छ भने, परमेश्‍वरले यसलाई हुन दिनुहुन्छ। त्यसो भए, “आदमले हरेक जीवित प्राणीलाई जे नामले बोलायो, त्यसपछि त्यसको नाम त्यही रह्‍यो” वाक्यांशले के कुराको सङ्‍केत गर्छ? यसले विविध जीवित प्राणीहरूका कुनै पनि नामलाई परमेश्‍वरले परिवर्तन गर्नुपर्छ भन्‍ने लागेन भन्‍ने कुराको सङ्‍केत गर्दछ। कुनै प्राणीलाई आदमले जे नाम दियो, परमेश्‍वरले “त्यस्तै होस्” भनेर उक्त प्राणीको नामलाई स्वीकार गर्नुहुन्थ्यो। के यस विषयमा परमेश्‍वरले कुनै धारणा व्यक्त गर्नुभयो? होइन, उहाँले अवश्य नै गर्नुभएन। त्यसो भए, यसबाट तिमीहरूले के बुझ्छौ? परमेश्‍वरले मानिसलाई बुद्धि दिनुभयो र मानिसले परमेश्‍वरले दिनुभएको बुद्धिलाई कुराहरू गर्नको निम्ति प्रयोग गर्‍यो। यदि मानिसले गरेको कुरा परमेश्‍वरको नजरमा सकारात्मक छ भने, परमेश्‍वरले कुनै पनि न्याय वा आलोचना नगरी त्यसलाई पुष्टि गर्नुहुन्छ, मान्यता दिनुहुन्छ र स्वीकार गर्नुहुन्छ। यो कार्य कुनै पनि व्यक्ति वा दुष्ट आत्मा वा शैतानले गर्न सक्दैन। के तिमीहरूले यहाँ परमेश्‍वरको स्वभावको प्रकाश देख्‍छौ? के मानवजाति, भ्रष्ट व्यक्ति वा शैतानले तिनीहरूकै सामुन्‍ने आफ्नो नाममा कसैलाई केही गर्ने अनुमति दिन्छन् र? अवश्य नै दिँदैनन्! के तिनीहरूले अर्को व्यक्ति वा तिनीहरूभन्दा फरक अर्को शक्तिसँग यस स्थानको निम्ति लड्लान्? अवश्य नै तिनीहरूले यसो गर्ने छन्! यदि आदमसँग त्यति बेला कुनै भ्रष्ट व्यक्ति वा शैतान भएको भए, तिनीहरूले आदमले गरेको कुराको खण्डन गर्ने थिए। तिनीहरूमा स्वतन्त्र सोच्‍न सक्‍ने खुबी र आफ्नै अद्वितीय अन्तर्दृष्टि छ भन्‍ने कुरालाई प्रमाणित गर्नको निम्ति, आदमले गरेका सबै कुराहरूलाई तिनीहरूले पूर्ण रूपमा इन्कार गर्ने थिए: “तिमीले यसको नाम यस्तो राख्‍न चाहन्छौ? ठीकै छ, मचाहिँ यसलाई यो नामले बोलाउने छैन, म यसलाई त्यो नामले बोलाउँछु; तिमीले यसलाई टम भन्यौ तर म यसलाई ह्‍यारी भन्‍ने छु। म कति बाठो छु भन्‍ने कुरा मैले देखाउनुपर्छ।” यो कस्तो किसिमको स्वभाव हो? के असभ्य अहङ्कार होइन? अनि परमेश्‍वरचाहिँ कस्तो हुनुहुन्छ? के उहाँसँग यस्तो स्वभाव छ? के आदमले गरिरहेको कुरामा परमेश्‍वरले अनौठो आपत्ति जनाउनुभयो? यसको जवाफ प्रष्ट रूपमा “जनाउनु भएन” हुन्छ। परमेश्‍वरले प्रकट गर्नुहुने स्वभावमा तर्क-वितर्क गर्ने बानी, अहङ्कार वा स्व-धार्मिकताको कति पनि सङ्‍केत छैन। यति कुराचाहिँ यहाँ स्पष्ट छ। यो सानो कुरा जस्तो देखिन सक्छ, तर यदि तैँले परमेश्‍वरको सार बुझ्‍दैनस् भने, यदि तेरो हृदयले परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र परमेश्‍वरको मनोवृत्ति कस्तो छ भन्‍ने कुरा बुझ्‍ने प्रयास गर्दैन भने, तैँले परमेश्‍वरको स्वभाव बुझ्दैनस् वा परमेश्‍वरको स्वभावको अभिव्यक्ति र प्रकाश जान्‍ने छैनस्। के कुरा यही होइन? के मैले भर्खरै वर्णन गरेको कुरासँग तिमीहरू सहमत छौ? आदमले गरेका कार्यहरूको जवाफमा, परमेश्‍वरले भव्यतापूर्ण तरिकाले यस्तो घोषणा गर्नुभएन, “तैँले असल गरिस्, तैँले सही गरिस् र म सहमत छु!” उहाँको हृदयमा भने परमेश्‍वरले आदमले गरेको कामलाई स्वीकार गर्नुभयो, सराहना गर्नुभयो र प्रशंसा गर्नुभयो। सृष्टिदेखि यता परमेश्‍वरको निम्ति मानिसले उहाँको निर्देशनमा गरेको यो पहिलो कुरा थियो। परमेश्‍वरको साटोमा र परमेश्‍वरको खातिर, मानिसले यसो गरेको थियो। परमेश्‍वरको नजरमा, परमेश्‍वरले मानिसलाई दिनुभएको बुद्धिको कारण यसो भएको थियो। परमेश्‍वरले यसलाई असल, सकारात्मक कुराको रूपमा देख्‍नुभयो। आदमले त्यस बेला गरेको कुरा मानिसमा परमेश्‍वरको बुद्धिको पहिलो प्रस्फुटन हो। परमेश्‍वरको दृष्टिमा यो राम्रो प्रस्फुटन थियो। यहाँ मैले तिमीहरूलाई भन्‍न खोजेको कुरा यही हो कि परमेश्‍वरले मानवजाति उहाँलाई प्रस्फुटन गर्ने जीवित प्राणी बनोस् भन्‍ने उद्देश्यका खातिर नै परमेश्‍वरले मानिसलाई उहाँसँग जे छ तथा उहाँ जे हुनुहुन्छ त्यो र उहाँको बुद्धि प्रदान गर्नुभयो। उहाँको खातिर काम गर्ने यस्तै जीवित प्राणी देख्‍न परमेश्‍वरले चाहिरहनुभएको थियो।

३. परमेश्‍वरले आदम र हव्वाको निम्ति छालाका लुगा बनाउनुहुन्छ

उत्पत्ति ३:२०-२१ अनि आदमले आफ्नी पत्‍नीको नाउँ हव्वा राखे; किनभने तिनी सारा जीवितहरूकी आमा थिइन्। यहोवा परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।

यस तेस्रो खण्डलाई हेरौँ, जसले के उल्‍लेख गर्छ भने, आदमले हव्वालाई नाम दिनुको पछाडि वास्तवमा अर्थ छ। सृष्टि गरिएपछि, आदमसँग उसका आफ्नै विचारहरू थिए र उसले धेरै कुरा बुझ्थ्यो भन्‍ने यसले देखाउँछ। तर अहिलेको निम्ति, उसले के बुझ्यो र उसले कति बुझ्यो भन्‍ने कुराको हामी अध्ययन वा खोजी गर्न गइरहेका छैनौँ, किनकि तेस्रो खण्ड छलफल गर्नुको मेरो उद्देश्य त्यो होइन। त्यसो भए, मैले जोड दिन खोजेको मूल बुँदा के हो त? यस पङ्‌क्तिलाई हेरौँ, “यहोवा परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।” आजको हाम्रो सङ्‍गतिमा हामीले धर्मशास्त्रको यस पङ्‌क्तिको बारेमा छलफल गरेनौँ भने, यी वचनहरूका गहिरा आशयहरूलाई तिमीहरूले कहिल्यै पनि स्पष्ट रूपमा बुझ्न सक्दैनौ। सुरुमा, म केही सङ्केतहरू दिन्छु। तिमीहरू इच्छा गर्छौ भने, आदम र हव्वा बसोबास गरिरहेका अदनको बगैँचाको कल्पना गर। परमेश्‍वर तिनीहरूलाई भेट गर्न जानुहुन्छ, तर तिनीहरू नाङ्गै भएका कारण तिनीहरू लुक्छन्। परमेश्‍वरले तिनीहरूलाई देख्‍न सक्‍नुहुन्‍न र उहाँले तिनीहरूलाई बोलाउनुभएपछि, तिनीहरू भन्छन्, “हाम्रा शरीरहरू नाङ्‍गै भएका कारण हामीले तपाईंलाई भेट्ने हिम्मत गरेनौँ।” तिनीहरू नाङ्गै भएका कारण तिनीहरूले परमेश्‍वरलाई भेट्ने हिम्मत गर्दैनन्। त्यसो भए, यहोवा परमेश्‍वरले तिनीहरूको निम्ति के गर्नुहुन्छ? मूल पाठले भन्छ: “यहोवा परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।” यसबाट, परमेश्‍वरले तिनीहरूको लुगा बनाउनको निम्ति के प्रयोग गर्नुभयो भनेर के तिमीहरू बुझ्छौ? परमेश्‍वरले तिनीहरूको लुगा बनाउनको निम्ति जनावरको छाला प्रयोग गर्नुभयो। यसको अर्थ, मानिसले वस्त्रको रूपमा लगाऊन् भनेर परमेश्‍वरले जनावरको रौँको लुगा बनाउनुभयो। परमेश्‍वरले मानिसको निम्ति बनाउनुभएको पहिलो पहिरन यिनै थिए। आजको मापदण्डअनुसार जनावरको रौँको लुगा विलासी वस्तु हो र सबैले यसलाई किनेर लगाउन सक्दैनन्। यदि कसैले तँलाई सोध्छ: हाम्रा पुर्खाहरूले लगाएको पहिलो पहिरन के थियो? तैँले जवाफ दिन सक्छस्: जनावरको रौँको कपडा। त्यो रौँको लुगा कसले बनायो? तैँले यस्तो जवाफ दिन सक्छस्: यसलाई परमेश्‍वरले बनाउनुभयो! यो नै यहाँको मुख्य बुँदा हो: यो लुगा परमेश्‍वरले बनाउनुभएको थियो। के यो छलफल गर्न योग्य कुरा होइन? मेरो वर्णन सुनेपछि, के तिमीहरूको मनमा एउटा तस्विर आयो? कम्तीमा पनि मोटामोटी ढाँचा तिमीहरूमा हुनुपर्ने हो। मानिसको पहिलो पहिरन के थियो भन्‍ने कुरा तिमीहरूलाई थाहा होस् भनेर मैले यसो भनेको होइन। त्यसो भए कुरा के हो त? विषयचाहिँ जनावरको रौँको लुगा होइन, तर उहाँले यहाँ गर्नुभएका कुरामा परमेश्‍वरले प्रकट गर्नुभए अनुसार उहाँको स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई मानिसहरूले कसरी बुझ्छन् भन्‍ने कुराको हो।

“यहोवा परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।” यस दृश्यमा, परमेश्‍वरले आदम र हव्‍वासँग हुँदा कस्तो भूमिका लिनुभयो भन्‍ने हामी देख्छौँ? यस संसारमा दुई मानवजातिद्वारा मात्र परमेश्‍वरले आफैलाई कसरी प्रकट गर्नुहुन्छ? के उहाँले आफैलाई परमेश्‍वरको भूमिकामा प्रकट गर्नुहुन्छ? हङकङका दाजुभाइ र दिदीबहिनीहरू, जवाफ देऊ। (बाबुआमाको भूमिकामा।) दक्षिण कोरियाका भाइ-बहिनीहरू, परमेश्‍वर कस्तो भूमिकामा देखा पर्नुहुन्छ भनी तिमीहरू सोच्छौ? (परिवारको शिर।) ताइवानका भाइ-बहिनीहरू, तिमीहरू के सोच्छौ? (आदम र हव्वाको परिवारको सदस्यको भूमिका।) परमेश्‍वर आदम र हव्वाको परिवारको सदस्यको रूपमा देखा पर्नुहुन्छ भनेर तिमीहरूमध्ये केहीले सोच्छौ भने, केहीले परमेश्‍वर परिवारको शिरको रूपमा देखा पर्नुहुन्छ भनी भन्छन् र अन्यले उहाँ बाबुआमाको रूपमा देखा पर्नुहुन्छ भनी भन्छन्। यी सबै धेरै नै उचित छन्। तर म के भन्‍न खोज्दैछु भन्‍ने के तिमीहरू देख्छौ? परमेश्‍वरले यी दुई मानिसको सृष्टि गर्नुभयो र तिनीहरूलाई आफ्नै सङ्गीहरूको रूपमा व्यवहार गर्नुभयो। तिनीहरूको एक मात्र परिवारको रूपमा परमेश्‍वरले तिनीहरूको जीवनको हेरचाह गर्नुभयो र तिनीहरूको गाँस, बास र कपासका आवश्यकताहरू पूरा गर्नुभयो। यहाँ, परमेश्‍वर आदम र हव्वाको बाबुआमाको रूपमा देखापर्नुहुन्छ। जब परमेश्‍वरले यसो गर्नुहुन्छ, मानिसले परमेश्‍वर कति उच्च हुनुहुन्छ भन्‍ने देख्दैन; उसले परमेश्‍वरको सर्व-श्रेष्ठता, उहाँको रहस्य र विशेष गरी उहाँको क्रोध वा प्रतापलाई देख्दैन। उसले मानिसप्रतिको परमेश्‍वरको विनम्रता, उहाँको स्‍नेह, उहाँको चासो र उसको निम्ति उहाँको जिम्‍मेवारी र वास्ता मात्र देख्छ। आदम र हव्‍वासँग परमेश्‍वरले गर्नुभएको व्यवहारको आचरण र तरिका आमाबुबाले आफ्ना छोराछोरीहरूलाई गर्ने व्यवहारसँग मेल खान्छन्। आमाबाबुले आफ्ना छोरा-छोरीहरूलाई कसरी प्रेम, हेरचाह र वास्ता गर्छन् यो त्यस्तै पनि छ—वास्तविक, देख्‍न सकिने र मूर्त। आफैलाई उच्च र शक्तिशाली स्थानमा उठाउनुको साटो, परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसको लागि पहिरन बनाउन छालाको प्रयोग गर्नुभयो। यो जनावरको रौँको लुगा तिनीहरूको लाज ढाक्‍नको लागि थियो कि तिनीहरूलाई जाडोबाट बचाउनका लागि थियो त्यो महत्त्वपूर्ण छैन। मानिसको शरीर ढाक्‍ने यो पहिरन परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नै हातले बनाउनुभएको थियो भन्‍ने कुरा चाहिँ महत्त्वपूर्ण छ। परमेश्‍वरले गर्नुहुन्छ भनी मानिसहरूले कल्पना गरे जस्तो पहिरनलाई अस्तित्वमा ल्याउन वा अन्य आश्‍चर्यजनक माध्यमको प्रयोग गर्ने बारेमा सोच्‍नु भन्दा पनि परमेश्‍वरले गर्नुहुन्‍न होला वा उहाँले यसो गर्नु हुँदैन भनेर मानिसले सोच्‍ने किसिमको काम नै परमेश्‍वरले वैधानिक रूपमा गर्नुभयो। यो सानो कुरा जस्तो देखिन्छ—यो कुरा उल्लेखनीय छ भन्‍ने समेत कतिपय मानिसहरूलाई लाग्दैन—तर यसले उहाँको बारेमा अस्पष्ट धारणाहरू बोकेर परमेश्‍वरलाई पछ्याउने कुनै पनि व्यक्तिलाई उहाँको सच्चाइ र सुन्दरताको बारेमा अन्तर्दृष्टि प्राप्त गर्ने र उहाँको विश्‍वासयोग्यता र विनम्रता देख्‍ने तुल्याउँछ। यसले आफैलाई उच्च र शक्तिशाली ठान्‍ने अत्यन्तै अहङ्कारी मानिसहरूलाई परमेश्‍वरको सच्चाइ र विनम्रताको सामुन्‍ने आफ्ना घमण्डी शिरहरू लाजले झुकाउने बनाउँछ। यहाँ परमेश्‍वरको सच्चाइ र विनम्रताले मानिसहरूलाई परमेश्‍वर कति स्‍नेही हुनुहुन्छ भन्‍ने कुरा देख्‍न थप सक्षम बनाउँछ। यसको विपरीत, मानिसहरूले आफ्ना हृदयमा राखेका “अपार” परमेश्‍वर, “स्‍नेही” परमेश्‍वर र “सर्वशक्तिमान्” परमेश्‍वर तुच्छ र कुरूप बनेको छ र सानो छुवाइले पनि चकनाचूर हुन्छ। जब तैँले यो पद देख्छस् र यो कथा सुन्छस्, परमेश्‍वरले यस्तो कुरा गर्नुभएको कारण के तैँले परमेश्‍वरलाई तिरस्कार गर्छस्? केही मानिसहरूले त्यसो गर्लान्, तर अरूले फरक प्रतिक्रिया दिनेछन्। तिनीहरूले परमेश्‍वर सच्‍चा र स्‍नेही हुनुहुन्छ र परमेश्‍वरको सच्चाइ र सुन्दरताले नै तिनीहरूलाई द्रवीभूत पार्छ। तिनीहरूले परमेश्‍वरको वास्तविक पक्ष जति धेरै देख्छन्, तिनीहरूले त्यति नै धेरै परमेश्‍वरको प्रेमको साँचो अस्तित्व, आफ्ना हृदयमा परमेश्‍वरको महत्त्व, र उहाँ हरेक क्षण कसरी तिनीहरूको छेउमा खडा हुनुहुन्छ भन्‍ने कुराको सराहना गर्न सक्छन्।

अब, हाम्रो छलफललाई वर्तमानसँग जोडौँ। यदि परमेश्‍वरले आफूले सुरुमा सृष्टि गर्नुभएका मानिसहरूको निम्ति मानिसहरूले सोच्‍न वा अपेक्षा गर्न पनि हिम्मत गर्न नसक्‍ने यी विभिन्‍न साना कुराहरू गर्न सक्‍नुहुन्छ भने, के परमेश्‍वरले आजका मानिसहरूको निम्ति पनि यस्ता कुराहरू गर्न सक्‍नुहुन्छ? केहीले भन्छन्, “सक्‍नुहुन्छ!” किन सक्‍नुहुन्छ त? किनकि परमेश्‍वरको सार बहाना होइन र उहाँको सुन्दरता बहाना होइन। परमेश्‍वरको सार वास्तवमा नै अस्तित्वमा छ र यो अरूले थप्‍ने कुरा होइन, र फरक समय, ठाउँ र युगहरू अनुसार बदलिने कुरा होइन। मानिसहरूले सामान्य र नगण्य सोचेका कुराहरू गरेर मात्र परमेश्‍वरको सच्चाइ र सुन्दरतालाई साँचो रूपमा बाहिर ल्याउन सकिन्छ—यो यति सामान्य हुन्छ कि उहाँले यो कुरा गर्न सक्नुहुन्छ भन्‍ने कुरा मानिसहरूले सोच्‍न पनि सक्दैनन्। परमेश्‍वर कपटी हुनुहुन्न। उहाँको स्वभाव र सारमा कुनै पनि अतिशयोक्ति, भेष बदल्ने कुरा, घमण्ड वा अहङ्कार छैन। उहाँले कहिले पनि सेखी गर्नुहुन्‍न, तर उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई विश्‍वासयोग्यता र निष्कपटताका साथ प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, हेरचाह गर्नुहुन्छ, अगुवाइ गर्नुहुन्छ। परमेश्‍वरले गर्नुहुने कामलाई मानिसहरूले जति थोरै सराहना, अनुभव गरे पनि वा देखे पनि, उहाँले यो कार्य निश्‍चय नै गर्दै हुनुहुन्छ। परमेश्‍वरसँग यस्तो सार छ भन्‍ने कुरा जानेर के यसले परमेश्‍वरप्रति भएको मानिसहरूको प्रेमलाई प्रभाव पार्छ? के यसले परमेश्‍वरप्रति भएको तिनीहरूको भयलाई प्रभाव पार्छ? मलाई आशा छ तैँले परमेश्‍वरको वास्तविक पक्ष बुझेपछि, तँ अझ उहाँको नजिक जानेछस् र मानवजातिप्रतिको उहाँको प्रेम र वास्तालाई साँचो रूपले सराहना गर्न सक्‍नेछस्, साथै तेरो हृदय परमेश्‍वरलाई दिन सक्‍नेछस् र उहाँ बारेका सन्देह र शङ्काहरूदेखि छुटकारा पाउनेछस्। परमेश्‍वरले मानिसको निम्ति सबै कुरा चुपचाप गर्दैहुनुहुन्छ, सबै कुरा उहाँको निष्कपटता, विश्‍वासयोग्यता र प्रेमका साथ शान्तिपूर्वक तरिकाले गर्दैहुनुहुन्छ। तर उहाँले गर्नुहुने कुराहरूप्रति उहाँमा कुनै आशङ्का वा पछुतोहरू छैनन्, न त कसैले कुनै पनि तरिकाले उहाँले गर्नुभएका कुराको मूल्य चुकाउन नै आवश्यक छ वा मानवजातिबाट केही प्राप्त गर्ने अभिप्राय नै उहाँसँग छ। मानवजातिको साँचो विश्‍वास र प्रेम प्राप्त गर्नु नै उहाँले गर्नुभएका सबै कुराको एक मात्र उद्देश्य हो। र यसैको साथ, पहिलो विषयलाई म यहीँ अन्त गर्नेछु।

के यी छलफलहरूले तिमीहरूलाई सहायता गर्‍यो? ती कति सहयोगी भएका छन्? (हामीसँग परमेश्‍वरको प्रेमको बारेमा अझै धेरै बुझाइ र ज्ञान छ।) (सङ्‍गतिको यस विधिले हामीलाई भविष्यमा परमेश्‍वरको वचनको सराहना गर्न, उहाँका भावनाहरू र उहाँले ती कुराहरू भन्नुहुँदा उहाँले भन्‍नुभएका कुराहरू पछाडिका अर्थ बुझ्‍न र उहाँले त्यस समय कस्तो महसुस गर्नुभयो भन्‍ने कुरा बुझ्‍न मदत गर्न सक्छ।) के तिमीहरूमध्ये कोही यी वचनहरू पढेपछि परमेश्‍वरको वास्तविक अस्तित्वको बारेमा अझ उत्कट तवरले सजग छौ? के परमेश्‍वरको अस्तित्व खोक्रो र अस्पष्ट छैन रहेछ भन्‍ने अनुभव गर्छौ? तिमीहरूले यसको अनुभव गरेपछि, के तिमीहरूले परमेश्‍वर तिमीहरूको छेवैमा हुनुहुन्छ भन्‍ने महसुस गर्न सक्छौ? सायद अहिले त्यो अनुभूति त्यति स्पष्ट छैन वा तिमीहरूले अझै त्यसको महसुस गर्न सकेका छैनौ होला। तर एक दिन, जब तिमीहरूका हृदयमा साँचो रूपमा गहिरो बुझाइ र परमेश्‍वरको स्वभाव र सारको वास्तविक ज्ञान हुन्छ, तब तैँले परमेश्‍वर तेरो छेवैमा हुनुहुन्छ भन्‍ने अनुभूति गर्न सक्‍नेछस्—तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई कहिल्यै पनि साँचो रूपमा स्वीकार गरेको थिइनस्। र सत्य यही हो!

सङ्‍गतिको यस तरिकाको बारेमा तिमीहरूलाई के लाग्छ? के तिमीहरूले यसलाई बुझ्‍न सक्छौ? के तिमीहरूलाई परमेश्‍वरको काम र परमेश्‍वरको स्वभाव सम्बन्धी विषय ज्यादै भारी लाग्छ? तिमीहरूलाई कस्तो लाग्छ? (धेरै राम्रो, उत्साहित।) के कुराले तिमीहरूलाई राम्रो महसुस गरायो? तिमीहरू किन उत्साहित भयौ? (यो अदनको बगैँचामा अर्थात् परमेश्‍वरको छेउमा फर्केर गए जस्तै थियो।) “परमेश्‍वरको स्वभाव” मानिसहरूको निम्ति वास्तवमा अपरिचित विषय हो, किनकि तिमीहरूले प्रायजसो कल्पना गर्ने र पुस्तकहरूमा पढ्ने र सङ्गतिहरूमा सुन्‍ने कुराहरूले तिमीहरूलाई हात्ती छुने दृष्टिविहीन व्यक्तिहरू जस्तै महसुस गराएको छ—तिमीहरूले आफ्ना हातहरूले छामिरहेका मात्र छौ, तर वास्तवमा तिमीहरूले कल्‍पनामा वास्तविक चित्र उतार्न सक्दैनौ। अन्धाधुन्ध यताउता छामछुम गरेर यसले तँलाई परमेश्‍वरको बारेमा अपूर्ण बुझाइ पनि दिँदैन, उहाँ सम्‍बन्धी स्पष्ट अवधारणाको त कुरै नगरौँ; यसले परमेश्‍वरको स्वभाव र सारको उचित परिभाषा दिनबाट तँलाई रोकेर तेरो कल्पनालाई भड्काउने काम मात्र गर्छ र तेरो कल्पनाबाट उत्पन्‍न अनिश्‍चितताहरूले तेरो हृदयमा अपरिहार्य रूपमै शङ्काहरू भर्नेछ। जब तँ केही कुराको बारेमा निश्‍चित हुँदैनस् तर पनि बुझ्‍ने कोसिस गर्छस्, तब तेरो हृदयमा सधैँ विरोधाभासहरू तथा द्वन्द्व हुनेछन् र तँमा अशान्तिको भाव पनि हुनेछ, जसले तँलाई भ्रमित र अन्योलमा पार्नेछन्। परमेश्‍वरको खोजी गर्न, परमेश्‍वरलाई जान्‍न र उहाँलाई स्पष्ट देख्‍न खोज्‍ने चाहना गर्नु तर कहिले पनि जवाफ पत्ता लगाउन नसक्‍ने जस्तो देखिनु पीडादायी कुरा होइन र? अवश्य नै, यी वचनहरू भयसाथ परमेश्‍वरको आदर गर्न र उहाँलाई सन्तुष्ट तुल्याउन खोज्‍नेहरूको निम्ति लक्षित छन्। यस्ता कुराहरूमा ध्यान नदिने मानिसहरूको निम्ति यसले केही अर्थ राख्दैन, किनकि परमेश्‍वरको वास्तविकता र अस्तित्व केवल किंवदन्ती वा कल्पना हुन् भन्‍ने कुरा तिनीहरूले सबैभन्दा बढी आशा गरेको कुरा हो, ताकि तिनीहरूले आफूलाई जे मन लाग्छ त्यही गर्न सकून्, ताकि तिनीहरू सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण हुन सकून्, ताकि तिनीहरूले परिणामहरूको कुनै मतलब नै नराखी दुष्ट कामहरू गर्न सकून्, यसैले तिनीहरूले दण्डको सामना गर्न वा कुनै जिम्मेवारी बहन गर्न नपरोस्, ताकि परमेश्‍वरले दुष्ट काम गर्नेहरूका निम्ति भन्‍नुभएका कुराहरू तिनीहरूमा लागू नहोस्। यी मानिसहरू परमेश्‍वरको स्वभाव बुझ्‍नको निम्ति इच्छुक छैनन्। परमेश्‍वर र उहाँको बारेमा सबै कुरा जान्‍ने कोसिस गर्दागर्दै तिनीहरू बिरामी परेका छन् र थाकेका छन्। परमेश्‍वर अस्तित्वमा नभएको भए हुनेथियो भन्‍ने तिनीहरू रुचाउँछन्। यी मानिसहरूले परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू बहिष्कृत हुनेहरूमध्येमा पर्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्