परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरको पवित्रता (३) - भाग एक

हामीले पछिल्लो पटक परमेश्‍वरको पवित्रता भन्‍ने विषयमा सङ्गति गरेका थियौँ। परमेश्‍वर स्वयम्‌को कुन पक्ष परमेश्‍वरको पवित्रतासँग सम्‍बन्धित छ? के यो परमेश्‍वरको सारसँग सम्‍बन्धित छ? (छ।) त्यसो भए, हामीले हाम्रो सङ्गतिमा छलफल गरेको परमेश्‍वरको सारको मुख्य पक्ष के हो? के यो परमेश्‍वरको पवित्रता हो? परमेश्‍वरको पवित्रता परमेश्‍वरको अद्वितीय सार हो। हाम्रो पछिल्लो सङ्गतिको मुख्य विषयवस्तु के थियो? (शैतानको दुष्टतालाई अर्थात्, ज्ञान, विज्ञान, परम्‍परागत संस्कृति, अन्धविश्‍वास, र सामाजिक प्रचलनको प्रयोग गरेर शैतानले कसरी मानिसलाई भ्रष्ट तुल्याउँछ सो पत्ता लगाउनु।) पछिल्लो समय हामीले छलफल गरेको मुख्य विषय यही थियो। शैतानले मानिसलाई भ्रष्ट तुल्याउनको लागि ज्ञान, विज्ञान, अन्धविश्‍वास, परम्‍परागत संस्कृति, र सामाजिक प्रचलनको प्रयोग गर्छ; शैतानले मानिसलाई भ्रष्ट तुल्याउने तरिकाहरू यिनै हुन्—जम्‍मा पाँच वटा। शैतानले मानिसलाई भ्रष्ट तुल्याउनको लागि यीमध्ये कुनलाई सबैभन्दा बढी प्रयोग गर्छ भन्‍ने तिमीहरूलाई लाग्छ? मानिसहरूलाई सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याउनको लागि यीमध्ये कुनलाई प्रयोग गरिन्छ? (परम्‍परागत संस्कृतिलाई। किनभने कन्फ्युसियस र मेन्सियस सिद्धान्तहरू जस्ता शैतानी दर्शनशास्‍त्रहरूले हाम्रो मनमस्तिष्कमा गहन रूपमा जरा गाडेका छन्।) त्यसो भए, कतिपय भाइबहिनीहरूले यसको उत्तर “परम्‍परागत संस्कृति” हो भन्‍ने ठान्छन्। के कसैसँग कुनै फरक उत्तर छ? (ज्ञान। ज्ञानले हामीलाई कहिल्यै पनि परमेश्‍वरको आराधना गर्न दिनेछैन। यसले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्छ, र परमेश्‍वरको नियमलाई इन्कार गर्छ। भन्‍नुको अर्थ, शैतानले हामीलाई सानै उमेरदेखि अध्ययन गर्न सुरु गर्नुपर्छ, र अध्ययन गरेर अनि ज्ञान प्राप्त गरेर मात्रै हामीले भविष्यको लागि राम्रो आशा र सुखद नियति प्राप्त गर्नेछौँ भनेर बताउँछ।) शैतानले तेरो भविष्य र नियतिलाई नियन्त्रण गर्नको लागि ज्ञानको प्रयोग गर्छ, अनि यसले तँलाई सधाएजस्तै गरी डोर्‍याउँछ; तँलाई लाग्छ, शैतानले यसरी नै मानिसलाई सबैभन्दा बढी गहन रूपमा भ्रष्ट तुल्याउँछ। त्यसो भए, तिमीहरूमध्ये अधिकांशलाई लाग्छ कि मानिसलाई सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याउनको लागि शैतानले ज्ञानको प्रयोग गर्छ। के अरू कसैसँग कुनै फरक राय छ? उदाहरणको लागि, विज्ञान वा सामाजिक प्रचलनको बारेमा के भन्छौ? के कसैले यिनलाई उत्तरको रूपमा पहिचान गर्छौ? (गर्छौं।) आज, म फेरि शैतानले मानिसलाई भ्रष्ट तुल्याउने पाँच तरिकाको बारेमा सङ्गति गर्नेछु, र मैले सङ्गति गरिसकेपछि, म तिमीहरूलाई केही प्रश्‍नहरू सोध्‍नेछु, ताकि हामीले शैतानले मानिसलाई सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याउनको लागि यीमध्ये कुन-कुन कुरालाई प्रयोग गर्छ सो दुरुस्त रूपमा देख्‍न सकौँ।

मानिसलाई शैतानले भ्रष्ट तुल्याउने पाँच तरिकाहरूमध्ये, हामीले उल्‍लेख गरेको पहिलो ज्ञान हो, त्यसकारण हाम्रो सङ्गतिको पहिलो विषयको रूपमा ज्ञानलाई लिऔँ। शैतानले ज्ञानलाई चारोको रूपमा प्रयोग गर्छ। ध्यान दिएर सुन्: ज्ञान भनेको एक प्रकारको चारो मात्रै हो। मानिसहरूलाई दिन प्रतिदिन कडा मेहनतसाथ पढ्न र आफूलाई सुधार गर्न, ज्ञानलाई हतियार बनाएर आफैलाई त्यसद्वारा सुसज्‍जित पार्न, र विज्ञानको प्रवेशद्वार खुला गर्न ज्ञानलाई प्रयोग गर्न बहकाइन्छ; अर्को शब्‍दमा भन्दा, तैँले जति धेरै ज्ञान हासिल गर्छस्, तैँले त्यति नै बढी बुझ्‍नेछस्। शैतानले मानिसहरूलाई यी सबै कुराहरू बताउँछ; त्यसले मानिसहरूलाई महत्त्वाकाङ्क्षा र अभिलाषाहरू बढाउँदै लैजान निर्देशन दिँदै तिनीहरूले ज्ञान सिक्‍ने क्रममा उत्कृष्ट आदर्शहरू लिनुपर्छ भनी बताउँछ। मानिसहरूलाई थाहै नभई शैतानले तिनीहरूलाई यस्ता विभिन्‍न सन्देशहरू दिन्छ अनि अचेतन रूपमै यी कुराहरू सही वा लाभदायक छन् भनी महसुस गर्ने तुल्याउँछ। अनजानमै मानिसहरूले यो मार्गमा पाइला चाल्छन्, अनजानमै तिनीहरू आफ्‍नै आदर्शहरू र महत्त्वाकाङ्क्षाहरूद्वारा डोरिँदै जान्छन्। चरणबद्ध रूपमा, अनजानमै तिनीहरूले शैतानद्वारा दिइएको ज्ञानबाट महान् वा चर्चित मानिसहरूको सोच्‍ने शैलीहरू सिक्छन्। तिनीहरूले नायकहरू ठानिने मानिसहरूका कार्यबाट पनि केही कुरा सिक्छन्। यी नायकहरूका कार्यहरूमा शैतानले मानिसको लागि के वकालत गरिरहेको हुन्छ? यसले मानिसको मनमस्तिष्कभित्र के हाल्न चाहन्छ? मानिस देशभक्त हुनैपर्छ, उसमा राष्ट्रिय अखण्डता हुनुपर्छ, र ऊ नायकी उत्साह भएको व्यक्ति हुनुपर्छ। नायकी व्यक्तित्वहरूको ऐतिहासिक कथा वा जीवनीहरूबाट मानिसले के सिक्छ? व्यक्तिगत वफादारीताको भाव धारण गर्न, इष्टमित्र र दाजुभाइको लागि जेसुकै गर्न तयार रहन। शैतानको यो ज्ञानभित्र, मानिसले अनजानमै धेरै कुराहरू सिक्छ, जुन सकारात्मक छँदै-छैनन्। मानिसको अनभिज्ञतामाझ, शैतानद्वारा तयार गरिएका बीउहरू मानिसहरूको अपरिपक्‍व मनमस्तिष्कहरूमा छरिन्छ। यी बीउहरूले तिनीहरूलाई महान् व्यक्ति बन्‍नुपर्छ, चर्चित बन्‍नुपर्छ, नायक बन्‍नुपर्छ, देशभक्त बन्‍नुपर्छ, आफ्‍नो परिवारलाई प्रेम गर्ने व्यक्ति बन्‍नुपर्छ, र साथीको लागि जे पनि गर्ने व्यक्ति बन्‍नुपर्छ र व्यक्तिगत वफादारीताको भाव धारण गर्नुपर्छ भन्‍ने अनुभूति गराउँछ। शैतानको प्रलोभनमा परेर, अनजानमै तिनीहरू त्यसले तिनीहरूका लागि तयार गरेको बाटोमा हिँड्छन्। यो बाटोमा ओरालो लाग्‍ने क्रममा, तिनीहरूले शैतानका जिउने नियमहरू पछ्याउन बाध्य हुन्छन्। पूर्ण रूपमा अनभिज्ञ रहेर, जिउनको लागि तिनीहरूले आफ्‍नै नियमहरू निर्माण गर्छन्, तर ती शैतानका नियमहरू बाहेक केही पनि हुँदैनन् जसलाई त्यसले तिनीहरूको मनमस्तिष्कमा जबरजस्ती हालिदिएको हुन्छ। शैतानले तिनीहरूलाई तिनीहरूको सिकाइ प्रक्रियामा तिनीहरूका आफ्‍नै उद्देश्यहरू हुर्काउन र तिनीहरूका आफ्‍नै जीवन लक्ष्यहरू, जिउने नियमहरू र जीवन दिशा निर्धारित गर्न लगाउँछ र यस क्रममा मानिसहरूलाई तिनीहरू प्रलोभनमा परुन्जेल अलि-अलि गरी कथाहरू, जीवनीहरू र सम्‍भव भएका अरू सबै माध्यमहरूको प्रयोग गरेर तिनीहरूको मनमस्तिष्कमा शैतानका कुराहरू हालिदिन्छ। यसरी, तिनीहरूको सिकाइको अवधिमा, कतिले साहित्य, कतिले अर्थशास्‍त्र, अरूले खगोलविज्ञान वा भूगोल मन पराउँछन्। अनि कतिपयले राजनीतिशास्त्र मन पराउँछन्, कतिले भौतिकविज्ञान मन पराउँछन्, कतिलाई रसायनशास्त्र मन पर्छ, अनि अझै अरूलाई ईश्‍वरशास्‍त्र मन पर्छ। यी सबै वृहत् समग्रता अर्थात् ज्ञानका भागहरू हुन्। तिमीहरूको हृदयमा, यी सबै कुराहरू वास्तवमा केसँग सम्‍बन्धित छन् भन्‍ने तिमीहरू प्रत्येकलाई थाहा छ; तिमीहरू प्रत्येक नै यसभन्दा पहिले तिनको सम्पर्कमा आएका थियौ। तिमीहरू प्रत्येकले नै ज्ञानका एउटा वा अर्को हाँगाहरूका बारेमा अटुट रूपमा कुरा गरिरहन सक्छौ। यसरी मानिसहरूको मनमा यो ज्ञान कति गहिरो गरी प्रवेश गरेको छ भन्‍ने कुरा स्पष्ट हुन्छ; मानिसहरूका हृदयमा यो ज्ञानले लिएको स्थान अनि तिनीहरूमा यसको प्रभाव कति गहन छ भन्‍ने कुरालाई स्पष्टै देख्‍न सकिन्छ। कसैले ज्ञानको एउटा क्षेत्रप्रति आत्मीयता विकास गरिसकेपछि, जब व्यक्तिले यसलाई गहन रूपमा प्रेम गरेको हुन्छ, तब तिनीहरूले अनजानमै महत्त्वाकाङ्क्षाहरूको विकास गर्छन्: कतिपय मानिसहरू लेखक बन्‍न चाहन्छन्, कति जना साहित्यकार बन्‍न चाहन्छन्, कति जना राजनीतिलाई पेसा बनाउन चाहन्छन्, र कति जना अर्थशास्‍त्रमा संलग्‍न भएर व्यापारी बन्‍न चाहन्छन्। त्यसै गरी नायकहरू, महान् वा चर्चित बन्‍न चाहने मानिसहरू पनि छन्। कुनै व्यक्ति जस्तो प्रकारको व्यक्ति बन्‍न चाहे पनि, तिनीहरूको लक्ष्य भनेको ज्ञान सिक्‍ने यो विधिलाई लिएर तिनीहरूका आफ्‍नै फाइदाको लागि, तिनीहरूका आफ्‍नै इच्‍छाहरू, तिनीहरूका आफ्‍नै महत्त्वाकाङ्क्षाहरूको लागि प्रयोग गर्नु हो। यो जति नै राम्रो सुनिए पनि—तिनीहरूले आफ्‍ना सपनाहरू हासिल गर्न, आफ्‍नो जीवन बरबाद नगर्न, वा निश्‍चित पेसा अपनाउन चाहे पनि नचाहे पनि—तिनीहरूले यी उच्च आदर्श र महत्त्वाकाङ्क्षाहरू लिन्छन्, तर वास्तवमा यो सबै केका लागि हो त? के तिमीहरूले यसभन्दा पहिले कहिल्यै यो प्रश्‍नको बारेमा विचार गरेका छौ? शैतानले किन यस्तो कार्य गर्छ? यी कुराहरूलाई मानिसको मनमस्तिष्कमा राखिदिनुमा शैतानको के उद्देश्य छ? यो प्रश्‍नको विषयमा तिमीहरूको हृदय स्पष्ट हुनैपर्छ।

अब हामी मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ भन्‍नेबारेमा कुरा गरौँ। पहिले, यी कुराहरूका बारेमा हामीसँग स्पष्ट बुझाइ हुनुपर्छ: ज्ञानद्वारा शैतानले मानिसलाई के दिन चाहन्छ? यसले मानिसलाई कस्तो बाटोमा डोर्‍याएर लैजान चाहन्छ? (परमेश्‍वरलाई विरोध गर्ने बाटोमा।) हो, निश्‍चय नै यही हो—परमेश्‍वरको विरोध गर्नु हो। त्यसपछि, तैँले देख्‍न सक्छस् कि मानिसहरूले ज्ञान प्राप्त गरेपछिको परिणाम यही हुन्छ अर्थात् तिनीहरूले परमेश्‍वरको विरोध गर्न थाल्छन्। त्यसो भए, शैतानका कुटिल मनसायहरू के-के हुन् त? यसबारेमा तिमीहरू स्पष्ट छैनौ, छौ त? मानिसले ज्ञान सिक्‍ने प्रक्रियामा, शैतानले सबै किसिमका विधिहरू प्रयोग गर्छ, चाहे यो कथाहरू सुनाउने, ज्ञानका केही अलगअलग टुक्राहरू दिने होस्, वा तिनीहरूलाई आफ्ना इच्‍छा वा महत्त्वाकाङ्क्षाहरू सन्तुष्ट पार्न दिने होस्। शैतानले तँलाई कुन बाटोमा डोर्‍याउन चाहन्छ? मानिसहरूले ज्ञान सिक्‍नु गलत होइन, यो पूर्ण रूपमा प्राकृतिक कुरा हो भन्‍ने ठान्छन्। यसलाई आकर्षक तरिकाले भन्दा, उच्‍च आदर्शहरू पाल्नु वा महत्त्वाकाङ्क्षाहरू राख्‍नु भनेको इच्‍छाशक्ति हुनु हो, र जीवनको सही मार्ग यही नै हुनुपर्छ। यदि मानिसहरूले आफ्‍ना आदर्शहरूलाई पूरा गर्न सक्छन्, वा सफलतापूर्वक करियर बनाउन सक्छन् भने के यो तिनीहरूका लागि वैभवशाली जिउने तरिका होइन र? यी कुराहरू गरेर, व्यक्तिले आफ्‍ना पुर्खाहरूलाई सम्‍मान गर्ने मात्रै होइन, इतिहासमा आफ्‍नो छाप छोडेर जाने मौका पनि पाउँछ—के यो असल कुरा होइन र? सांसारिक मानिसहरूको नजरमा यो असल कुरा हो, र तिनीहरूको लागि यो उचित र सकारात्मक हुनुपर्छ। तैपनि, के शैतानले कुटिल मनसायहरूद्वारा मानिसहरूलाई यस प्रकारको मार्गमा लगेपछि त्यो त्यतिमै सकिन्छ र? अवश्य नै सकिँदैन। वास्तवमा, मानिसका आदर्शहरू जति नै उच्‍च भए पनि, मानिसका इच्‍छाहरू जति नै यथार्थ वा ती जति नै न्यायसंगत भए पनि, मानिसले हासिल गर्न चाहने, मानिसले खोजी गर्ने सबै कुरा अपरिहार्य रूपमा दुईवटा शब्‍दसँग जोडिएको हुन्छ। यी दुई शब्‍द हरेक व्यक्तिको जीवनको लागि अत्यन्तै महत्त्वपूर्ण छन्, र शैतानले मानिसमा हालिदिन चाहेका कुरा पनि यिनै हुन्। यी दुई शब्‍द के-के हुन्? ती “ख्याति” र “प्राप्ति” हुन्। शैतानले अत्यन्तै सूक्ष्म प्रकारको विधि प्रयोग गर्छ, जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्दो हुन्छ, जुन त्यति उग्र प्रकृतिको हुँदैन, र जसमार्फत त्यसले मानिसहरूलाई अनजानैमा त्यसको जीवनशैली, र जिउने नियमहरू स्वीकार गर्न लगाउँछ, आफ्ना जीवन लक्ष्यहरू र जीवनको दिशा निर्धारण गर्न लगाउँछ, र यी सबै गरेपछि तिनीहरूभित्र अनजानैमा जीवनमा महत्त्वाकाङ्क्षाहरू हुर्कन पुग्छन्। जीवनका यी महत्त्वाकाङ्क्षाहरू जति भव्य देखिए पनि, ती अपरिहार्य रूपमै “ख्याति” र “प्राप्ति” सँग जोडिएका हुन्छन्। कुनै पनि महान् वा चर्चित व्यक्तिले, र वास्तवमा भन्‍ने हो भने सबै मानिसहरूले, जीवनमा पछ्याउने कुराहरू यी दुई शब्‍दहरू “ख्याति” र “प्राप्ति” सँग मात्रै गाँसिएका छन्। ख्याति र प्राप्ति पाइसकेपछि, ती कुरालाई तिनीहरूले पूँजीको रूपमा प्रयोग गरी उच्‍च प्रतिष्ठा र धेरै धनको आनन्द लिन, र जीवनको आनन्द लिन सक्छन् भनी मानिसहरू सोच्छन्। तिनीहरू ख्याति र प्राप्तिलाई सुखचैन खोजी गर्न र दैहिक आनन्द लिनलाई प्रयोग गर्न सकिने पूँजी हो भन्‍ने ठान्छन्। मानवजातिले अत्यन्तै लोभ गर्ने यो ख्याति र प्राप्तिको खातिर, मानिसहरूले स्वेच्‍छाले तर अनजानमा आफ्‍नो तन, मन, आफूसँग भएका सबै कुरा, आफ्नो भविष्य र भवितव्य सबै शैतानलाई सुम्पन्छन्। आफूले सुम्पेका सबै कुरा फिर्ता लिनु आवश्यक छ भन्‍ने कुराप्रति सधैँ अनजान रही, एक क्षण पनि नहिचकिचाई तिनीहरूले त्यसो गर्छन्। मानिसहरूले यसरी शैतानमा शरण लिएर त्यसप्रति निष्ठावान्‌ बनिसकेपछि के तिनीहरूले आफैलाई नियन्त्रण गर्ने कुनै क्षमता राख्‍न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसेपछि, त्यसउप्रान्त उसले जुन कुरा चम्किलो र धर्मी छ, वा जुन कुराहरू सुन्दर र असल छन् ती कुराहरूको खोजी गर्दैन। किनभने ख्याति र प्राप्तिको मानिसहरूलाई लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; ती कहिल्यै अन्त्य नहुने गरी मानिसहरूले आफ्‍नो जीवनभरि र अनन्तसम्‍म पनि पछ्याउने कुराहरू बन्छन्। के यो साँचो होइन र? कतिपय मानिसहरूले भन्छन् कि ज्ञान सिक्‍नु भनेको पुस्तकहरू पढ्नु वा समयअनुसार पछि नपर्न वा संसारद्वारा पछि नछोडिनको लागि आफूलाई थाहा नभएका एकदुई वटा कुरा सिक्‍नुबाहेक केही पनि होइन। हातमुख जोड्न सकियोस् भनेर, आफ्‍नै भविष्यको खातिर, वा आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि ज्ञान सिकिन्छ। के आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि मात्रै, खानेकुराको समस्या समाधान गर्नको लागि मात्रै, एक दशकसम्‍म कठिन अध्ययन गर्न सक्‍ने कुनै व्यक्ति छ? छैन, यस्तो कोही पनि छैन। त्यसो भए, कुनै व्यक्तिले किन यति वर्षसम्‍म यस्ता कठिनाइहरू सहन्छ? यो ख्याति र प्राप्तिको लागि नै हो। ख्याति र प्राप्तिले तिनीहरूलाई टाढा बसेर प्रतीक्षा गरिरहेको हुन्छ, तिनीहरूलाई इसारा गरिरहेको हुन्छ र तिनीहरू आफ्नो लगनशीलता, कठिनाइ र संघर्षले मात्र आफूलाई ख्याति र प्राप्ति दिलाउने मार्गमा डोर्‍याउन सक्छ भन्‍ने विश्‍वास गर्छन्। त्यस्तो व्यक्तिले आफ्नो भविष्यको लागि, आफ्नो भविष्यको आनन्दको लागि र उत्तम जीवन प्राप्त गर्नको लागि यस्ता कठिनाइहरू भोग्‍नुपर्छ। आखिर यो ज्ञान के हो—के तिमीहरू मलाई भन्‍न सक्छौ? के यो “आफ्नो देश, पार्टी, र धर्मलाई प्रेम गर” र “बुद्धिमान मान्छे परिस्थितिअनुसार चल्छ” भन्‍नेजस्ता शैतानले मानिसहरूमा हालिदिएका जीवन जिउने नियम र दर्शनहरू होइन र? के यो शैतानले मानिसमा हालिदिएका जीवनका “उच्‍च आदर्शहरू” होइन र? उदाहरणको लागि, महान् मानिसहरूका विचारहरू, चर्चित व्यक्तिहरूको निष्ठा वा पराक्रमी व्यक्तित्वहरूको साहसिक स्वभावलाई लिऊँ, वा मार्सल आर्ट उपन्यासका नायक र तरवारधारीहरूको वीरता र दयालुपनलाई लिऊँ—के यी सबै नै शैतानले यी आदर्शहरू हालिदिने तरिकाहरू होइनन् र? यी विचारहरूले एकपछि अर्को पुस्तालाई प्रभाव पार्छन्, र हरेक पुस्ताका मानिसहरूलाई यी विचारहरू स्वीकार गर्ने बनाउँछन्। तिनीहरूले “उच्‍च आदर्शहरू” को खोजीमा निरन्तर सङ्घर्ष गर्छन् र यसैको खातिर आफ्नो जीवन बलिदानसमेत गर्छन्। मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञान प्रयोग गर्ने माध्यम र तरिका यही हो। अनि, शैतानले मानिसहरूलाई यो मार्गमा डोर्‍याइसकेपछि, के तिनीहरूले परमेश्‍वरको आज्ञापालन र आराधना गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरका वचनहरू स्वीकार गर्न र पछ्याउन सक्छन्? बिलकुलै सक्दैनन्—किनभने तिनीहरू शैतानद्वारा बहकिइसकेका छन्। हामी शैतानले मानिसहरूमा हालिदिने ज्ञान, विचार र रायहरूलाई फेरि हेरौँ: के ती कुरामा परमेश्‍वरप्रतिको आज्ञापालन र आराधनाका सत्यताहरू हुन्छन्? के तिनमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने आचरण छ? के तिनमा परमेश्‍वरका वचनहरूको कुनै कुरा छ? के तिनमा सत्यतासँग सम्बन्धित कुनै कुरा छ? बिलकुलै छैन—यी कुराहरू छँदै छैनन्। के तिमीहरू शैतानले मानिसहरूमा हालिदिने यी कुराहरूमा सत्यता छैन भन्‍ने कुरामा निश्‍चित हुन सक्छौ? तिमीहरू निश्‍चित हुन आँट गर्दैनौ, तर केही छैन। मानिसहरूलाई लोभ्याएर दुष्टताको मार्गमा ल्याउन शैतानले प्रयोग गर्ने दुई मुख्य शब्‍दहरू “ख्याति” र “प्राप्ति” नै हुन् भनी तैँले पहिचान् गर्छस् भने, त्यो नै पर्याप्त हुन्छ।

अहिलेसम्‍म हामीले के-के छलफल गर्‍यौँ, छोटकरीमा पुनरावलोकन गरौँ: शैतानले मानिसलाई दह्रिलो गरी आफ्नो नियन्त्रणमा राख्‍नको लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) हो, शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्‍न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र त्यो बन्धन हटाउन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई व्यक्ति ख्याति र प्राप्तिविना बाँच्‍न सक्दैन भन्‍ने लाग्छ। तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अबउप्रान्त अगाडिको बाटो देख्‍न सक्दैनन्, अबउप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्दैनन्, र तिनीहरूको भविष्य कालो, मधुरो र मलिन बन्छ भन्‍ने लाग्छ। तर बिस्तारै एक दिन तिमीहरूले ख्याति र प्राप्ति मानिसलाई बाँध्‍नको लागि शैतानले प्रयोग गर्ने राक्षसी बन्धनहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा विरोध गर्नेछस् र तँलाई बाँध्‍न शैतानले प्रयोग गरेका बन्धनहरूलाई तैँले पूर्ण रूपमा विरोध गर्नेछस्। जब शैतानले तँमा हालिदिएका सबै कुराहरूलाई तैँले फ्याँक्‍न चाहने दिन आउँछ, तब तैँले शैतानसँगको तेरो सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँकहाँ ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र मानवजातिसँग परमेश्‍वरको निम्ति साँचो प्रेम र तृष्णा हुनेछ।

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ सोबारेमा हामीले भर्खरै कुराकानी गर्‍यौँ, त्यसैले अब हामी मानिसलाई भ्रष्ट तुल्याउन शैतानले विज्ञानको कसरी प्रयोग गर्छ भन्‍नेबारेमा सङ्गति गरौँ। सबभन्दा पहिले, शैतानले मानिसको उत्सुकता, विज्ञानको अन्वेषण गर्ने र रहस्यहरू जाँच्‍ने मानिसको इच्‍छालाई सन्तुष्ट पार्न विज्ञानको नाम प्रयोग गर्छ। विज्ञानको नाममा, शैतानले मानिसका भौतिक खाँचोहरू र जीवनको गुणस्तर निरन्तर सुधार गर्ने मानिसको माग पूरा गर्छ। तसर्थ, यही बहानामा शैतानले मानिसलाई भ्रष्ट तुल्याउन विज्ञानको प्रयोग गर्छ। के शैतानले यसरी विज्ञानको प्रयोग गरी मानिसको विचारलाई मात्र भ्रष्ट तुल्याउँछ कि मानिसको मनमस्तिष्कलाई नै भ्रष्ट तुल्याउँछ? हाम्रो वरिपरिका हामीले देख्‍ने र हाम्रो सम्पर्कमा आउने मानिसहरू, घटनाहरू र विभिन्‍न कुराहरूमध्ये, अरू के-केलाई भ्रष्ट तुल्याउन शैतानले विज्ञानको प्रयोग गर्छ? (प्राकृतिक वातावरणलाई।) सही हो। तिमीहरूलाई यसले गहन रूपमा हानि गरेको र गहन रूपमा असर पारेको छ जस्तो देखिन्छ। मानिसलाई धोका दिनको लागि विज्ञानका विभिन्‍न परिणाम र निष्कर्षहरू प्रयोग गर्नबाहेक, मानिसलाई परमेश्‍वरले दिनुभएको जिउने वातावरणलाई मनोमानी रूपमा विनाश र शोषण गर्न पनि शैतानले विज्ञानकै प्रयोग गर्छ। मानिसले वैज्ञानिक शोध-अध्ययन गरेमा मानिसको जिउने वातावरण र जीवनको गुणस्तर निरन्तर सुधार हुनेछ, र वैज्ञानिक विकासको उद्देश्य भनेकै मानिसहरूको दैनिक रूपमा बढ्दो भौतिक खाँचोहरू र तिनीहरूको जीवनको गुणस्तरमा निरन्तर सुधार गर्नुपर्ने आवश्यकता पूरा गर्नु हो भन्‍ने बहानामा त्यसले यसो गर्छ। शैतानले विज्ञानको विकास गर्नुको सैद्धान्तिक आधार यही हो। तैपनि, विज्ञानले मानवजातिमा के ल्याएको छ त? के हाम्रो जिउने वातावरण, र सारा मानवजातिको जिउने वातावरण, दूषित पारिएको छैन र? के मानिसले सास फेर्ने हावा दूषित पारिएको छैन र? के हामीले पिउने पानी दूषित पारिएको छैन र? के हामीले खाने खाना प्राङ्गारिक र प्राकृतिक छ र? धेरैजसो अन्‍न र सागसब्जीलाई आनुवांशिक संशोधन गरी, रासायनिक मलको प्रयोग गरेर उमारिन्छ र तीमध्ये केही त विज्ञानको प्रयोग गरी सिर्जना गरिएका फरक प्रजातिहरू पनि छन्। हामीले खाने सागसब्‍जी र फलफूलसमेत अब प्राकृतिक छैनन्। प्राकृतिक अन्डासमेत अब भेट्टाउन सजिलो छैन, र शैतानको तथाकथित विज्ञानले पहिले नै प्रशोधन गरेको कारण अन्डाहरूको स्वाद पहिलेजस्तो छैन। बृहत् चित्रलाई हेर्दा, सम्पूर्ण वायुमण्डललाई नष्ट र प्रदूषित गरिएको छ; हिमाल, तालतलैया, वनजङ्गल, खोलानाला, समुद्र, र जमिनमाथि एवं जमिनमुनिका सबै कुरालाई तथाकथित वैज्ञानिक उपलब्धिले तहसनहस पारेको छ। छोटकरीमा, परमेश्‍वरले मानवजातिलाई दिनुभएको जिउने वातावरण अर्थात प्राकृतिक वातावरणलाई सम्पूर्ण रूपमा तथाकथित विज्ञानले नष्ट र विनाश गरेको छ। जीवनको गुणस्तरको हिसाबमा, आफूले सधैँ आशा गरेका कुराहरू प्राप्त गर्ने र यसरी आफ्ना इच्‍छाहरू र देहलाई सन्तुष्ट पार्ने मानिसहरू धेरै छन्, तैपनि मानिस जिउने वातावरणलाई विज्ञानले ल्याएका विभिन्‍न “उपलब्धिहरू” ले नष्ट र विनाश गरेका छन्। एकपटक चोखो हावाको सास फेर्ने अधिकारसमेत हामीसँग अब रहेन। के यो मानवजातिको लागि शोक होइन र? यस प्रकारको स्थानमा जिउनुपर्दा, के मानिससँग अब कुरा गर्नको लागि कुनै खुशी बाँकी रहेको छ र? मानिस बस्‍ने यो स्थान र जिउने वातावरणलाई सुरुबाटै परमेश्‍वरले मानिसको लागि सृष्टि गर्नुभएको थियो। मानिसहरूले पिउने पानी, मानिसहरूले सास फेर्ने हावा, मानिसहरूले खाने विविध प्रकारका खानेकुरा, साथै बोटबिरुवा, सजीव प्राणीहरू, पहाड, तालतलैया र समुद्रसमेत—यस जीवित वातावरणको हरेक भाग परमेश्‍वरले मानिसलाई दिनुभएको थियो; यो प्राकृतिक छ, परमेश्‍वरले तय गर्नुभएको प्राकृतिक नियमअनुसार चलिरहेको छ। विज्ञान नै नभएको भए पनि, मानिसहरूले परमेश्‍वरप्रदत्त तौरतरिकाहरू अवलम्बन गर्नेथिए, तिनीहरूले मौलिक र प्राकृतिक अवस्थामा रहेका सबै कुराको आनन्द लिन सक्‍नेथिए, र तिनीहरू खुसी नै हुनेथिए। तर, अहिले यो सबैलाई शैतानले नष्ट र विनाश गरेको छ; मानिसहरू जिउने आधारभूत क्षेत्र अब मौलिक रहेन। तर यस्तो अवस्था केले पैदा गर्‍यो वा यो कसरी भयो भनी कसैले पहिचान गर्न सक्दैन, बरु धेरैभन्दा धेरै मानिसहरू विज्ञानको शरण पर्छन् र शैतानले तिनीहरूको मनमस्तिष्कमा घुसाइदिएको विचारहरूद्वारा यसलाई बुझ्छन्। के यो अत्यन्तै घृणास्पद र दयनीय कुरा होइन र? अहिले, शैतानले मानिसहरू अस्तित्वमा रहेको क्षेत्रका साथै तिनीहरू जिउने वातावरणलाई लिइसकेको छ र तिनीहरूलाई भ्रष्ट तुल्याई यो स्थितिमा पुर्‍याएको छ, र मानवजाति अटुट रूपमा यही मार्गमा विकसित भइरह्यो भने, के यी मानिसहरूलाई व्यक्तिगत रूपमा परमेश्‍वरले नष्ट गर्नु आवश्यक छ? यदि मानिसहरूले यहीअनुरूप विकास हुने कार्यलाई जारी राखे भने, तिनीहरूले कुन दिशा लिनेछन्? (तिनीहरू नष्ट पारिनेछन्।) तिनीहरू कसरी नष्ट पारिनेछन्? ख्याति र प्राप्तिसम्‍बन्धी मानिसहरूको लोभी खोजबाहेक, तिनीहरूले अटुट रूपमा वैज्ञानिक अन्वेषणलाई अघि बढाउँछन् र गहन शोध-अध्ययन गर्छन्, र त्यसपछि तिनीहरू आफ्‍नै भौतिक खाँचो र इच्‍छाहरू पूरा गर्न अनवरत रूपमा कार्य गर्छन्; यस्तो हुँदा, मानिसको लागि के-कस्ता परिणामहरू हुन्छन् त? सर्वप्रथम, पर्यावरणीय सन्तुलन बिग्रन्छ, र जब यस्तो हुन्छ, यो असन्तुलित वातावरणद्वारा मानिसहरूका शरीर, तिनीहरूका भित्री अङ्गहरूमा प्रतिकूल असर र क्षति पुग्छ, र संसारभरि विभिन्‍न प्रकारका सङ्क्रामक रोग र महामारीहरू फैलन्छन्। अहिलेको यो अवस्था मानिसले नियन्त्रण गर्नै नसक्‍ने भएको छ भन्‍ने कुरा के साँचो होइन र? अब तिमीहरूले यसलाई बुझिसकेका छौ, यदि मानवजातिले परमेश्‍वरलाई पछ्याउँदैन, बरु निरन्तर आफैलाई सम्पन्‍न तुल्याउन ज्ञान प्रयोग गर्दै, मानव जीवनको भविष्यको निरन्तर अन्वेषण गर्न विज्ञान प्रयोग गर्दै, निरन्तर बाँचिरहन यस प्रकारको विधि प्रयोग गर्दै, सधैँ यसरी नै शैतानलाई पछ्याउँछ भने, मानवजातिको अन्त्य कसरी हुन्छ, के तँ पहिचान गर्न सक्छस्? मानवजाति प्राकृतिक रूपमै लोप हुनेछ: एकएक कदम गर्दै मानवजाति विनाशतर्फ—आफ्नै विनाशतर्फ अघि बढ्छ। के यो आफैमाथि विनाश ल्याउनु होइन र? अनि, के यो वैज्ञानिक प्रगतिको परिणाम होइन र? यस्तो लाग्छ, विभिन्‍न कुराहरू पत्ता लगाउने प्रयास गर्दा, तिमीहरूले कुहिरोको धूमिल दृष्टिभित्र बसेर यसो गर्नुपरोस् भनी मान्छेको लागि शैतानले तयार गरेको जादुको ओखती अब विज्ञान नै हो; तैँले जति नै जोड गरी हेरे पनि, स्पष्ट रूपमा देख्‍न सक्दैनस्, अनि तैँले जति नै कठिन प्रयास गरे पनि, तैँले तिनलाई पत्ता लगाउन सक्दैनस्। तर, शैतानले तेरो अभिलाषालाई अझै बढाउन र तँलाई सधाएको जन्तुलाई झैं एकपछि अर्को कदम गर्दै अतलकुण्ड र मृत्युतर्फ डोर्‍याउन विज्ञानको नाम प्रयोग गरिरहन्छ। अवस्था यस्तो भएको हुँदा, मानिसहरूले त्यसलाई स्पष्टसित देख्‍नेछन्, मानिसको विनाश शैतानको हातले गराएको हो, र शैतान नै गिरोहको नाइके हो भनेर स्पष्टसित देख्‍नेछन्। के यो यस्तै होइन र? (हो, यो यस्तै हो।) शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउने दोस्रो तरिका यही हो।

शैतानले मानिसलाई भ्रष्ट तुल्याउने तेस्रो तरिका परम्‍परागत संस्कृति हो। परम्‍परागत संस्कृति र अन्धविश्‍वासको बीचमा विभिन्‍न समानताहरू छन्, तर भिन्‍नता के हो भने परम्‍परागत संस्कृतिमा निश्‍चित कथा, उपमा, र स्रोतहरू हुन्छन्। शैतानले मानिसहरूमा परम्‍परागत संस्कृति वा अन्धविश्‍वासका व्यक्तित्वहरूको गहन छाप छोड्न विभिन्‍न लोक कथा वा इतिहासका पुस्तकहरूमा देखा पर्ने कथाहरूको कल्‍पना र प्रतिपादन गरेको छ। उदाहरणको लागि, चीनमा “समुद्र तर्ने आठ जना अविनाशीहरू,” “पश्‍चिमतर्फको यात्रा,” सम्राट जेड, “अजिङ्गर राजालाई जित्ने नेझा,” र “देवताहरूको अभिषेक” जस्ता लोक कथाहरू छन्। के यिनले मानिसको मनमा गहिरो जरा गाडेका छैनन् र? तिमीहरूमध्ये कतिलाई यिनको विवरण थाहा नभए पनि, तिमीहरूलाई समग्र कथा थाहा छ, र तेरो हृदय र मनमा टाँस्‍सिने भनेको समग्र विषयवस्तु नै हो, यसरी तैँले तिनलाई बिर्सन सक्दैनस्। शैतानले धेरै पहिले नै मानिसका निम्ति तयार गरेका विभिन्‍न विचार वा दन्त्यकथाहरू यिनै हुन्, र फरक-फरक समयमा यसको प्रचार-प्रसार भएको छ। यी कुराहरूले प्रत्यक्ष रूपमा मानिसहरूको प्राणलाई हानी र नष्ट गर्छन् अनि मानिसहरूलाई एकपछि अर्को गरी मन्त्रमुग्‍ध पार्छ। भन्‍नुको अर्थ, तैँले त्यस्ता परम्‍परागत संस्कृति, कथाहरू, वा अन्धविश्‍वासका कुराहरूलाई स्वीकार गरिसकेपछि, ती तेरो मनमा स्थापित भइसकेपछि, र ती तेरो हृदयमा बसिसकेपछि, तँ मन्त्रको बन्धनमा परेको जस्तै हुनेछस्—तँ यी परम्‍परागत फन्दाहरू, यी विचार र परम्‍परागत कथाहरूको जालमा पर्छस् र त्यसकै प्रभावमा हुन्छस्। तिनले तेरो जीवन, जीवन सम्‍बन्धी तेरो दृष्टिकोण, र कुराहरूप्रतिको तेरो मूल्याङ्कनलाई प्रभाव पार्छन्। त्योभन्दा पनि बढी जीवनको साँचो मार्गको तेरो खोजीलाई तिनले प्रभाव पार्छन्: यो वास्तवमा नै दुष्ट मन्‍त्र हो। तैँले जसरी प्रयास गरे पनि, तैँले तिनलाई हटाउन सक्दैनस्; तैँले तिनलाई काट्छस् तर काटेर ढाल्‍न सक्दैनस्; तैँले तिनलाई प्रहार गर्छस् तर प्रहार गरेर तैँले तिनलाई धपाउन सक्दैनस्। यसको साथै, मानिसहरू अनजानमा यस प्रकारको मन्‍त्रमा परिसकेपछि, तिनीहरूले आफ्‍नो हृदयमा शैतानको स्वरूपलाई जगेर्ना गरेर अनजानमै शैतानको पूजा गर्न थाल्छन्। अर्को शब्‍दमा भन्दा, तिनीहरूले शैतानलाई तिनीहरूको मूर्ति, तिनीहरूले आराधना गर्ने र आदरको साथ हेर्ने वस्तुको रूपमा स्थापना गर्छन्, यहाँसम्‍म कि तिनीहरूले यसलाई परमेश्‍वरकै रूपमा लिन्छन्। अनजानमा, यी कुराहरूले मानिसहरूको बोलीवचन र कार्यहरूलाई नियन्त्रण गर्दै ती तिनीहरूको हृदयमा बस्छन्। यसको साथै, सुरुमा तैँले यी कथा र दन्त्यकथाहरू झूट हुन् भन्‍ने ठान्छस्, तर अनजानमै तिनीहरूलाई वास्तविक व्यक्तिहरू ठान्दै र तिनीहरूलाई वास्तविक, अस्तित्वमा रहेका थोकहरूका रूपमा परिवर्तन गर्दै तँ तिनीहरूका अस्तित्वलाई स्वीकार गर्छस्। तेरो अनभिज्ञतामा, तैँले यी विचारहरूलाई र यी कुराहरूको अस्तित्वलाई अवचेतन रूपमा ग्रहण गर्छस्। तैँले अवचेतन रूपमा दियाबलसहरू, शैतान, र मूर्तिहरूलाई तेरो आफ्‍नै घरमा र तेरो आफ्‍नै हृदयमा ग्रहण गर्छस्—यो वास्तवमा मन्त्र नै हो। के यी शब्‍दहरूले तिमीहरूलाई छोयो? (छोयो।) के तिमीहरूमध्ये कसैले बुद्धको लागि धूप बालेका र त्यसको पूजा गरेका छौ? (छौँ।) त्यसो भए, धूप बाल्‍नु र बुद्धको पूजा गर्नुको उद्देश्‍य के थियो? (शान्तिको लागि प्रार्थना गर्नु।) अहिले विचार गर्दा, शान्तिको लागि शैतानलाई प्रार्थना गर्नु कति मूर्खतापूर्ण थियो होइन र? के शैतानले शान्ति ल्याउँछ? (ल्याउँदैन।) के तिमीहरू त्यो बेला कति अनजान थियौ सो देख्‍छौ? त्यस किसिमको बानीबेहोरा मूर्ख, अज्ञानी र अबुझ हो, होइन र? शैतानले तँलाई कसरी भ्रष्ट तुल्याउने भन्‍ने बारेमा मात्रै चासो राख्छ। शैतानले तँलाई शान्ति दिन सक्दैन, केवल अस्थायी सहजता मात्रै दिन सक्छ। तर यो सहजता प्राप्त गर्नको लागि तैँले भाकल गर्नैपर्छ, र यदि तैँले शैतानलाई गरेको कबुल वा भाकल तोडिस् भने, त्यसले तँलाई कसरी सताउँछ त्यो तैँले देख्‍नेछस्। तँलाई भाकल गर्ने तुल्याउँदा त्यसले वास्तवमा तँलाई नियन्त्रण गर्न चाहन्छ। जब तिमीहरूले शान्तिको लागि प्रार्थना गर्‍यौ, के तिमीहरूले शान्ति प्राप्त गर्‍यौ? (गरेनौँ।) तिमीहरूले शान्ति प्राप्त गरेनौ, तर यसको विपरीत तिमीहरूको प्रयासले दुर्भाग्य र अटुट विपत्ति अर्थात् तिक्तताको साँच्‍चै सीमारहित सागर ल्यायो। शान्ति शैतानको राज्यक्षेत्रभित्र छैन, र सत्य यही हो। सामन्ती अन्धविश्‍वास र परम्‍परागत संस्कृतिले मानवजातिमा ल्याउने परिणाम यही हो।

शैतानले मानिसलाई भ्रष्ट पार्ने र नियन्त्रण गर्ने अन्तिम तरिका सामाजिक प्रचलन हो। “सामाजिक प्रचलन” मा चर्चित र महान व्यक्तित्वहरूको आराधनाका साथै चलचित्र र साङ्गीतिक आदर्शहरू, सेलिब्रेटी भक्ति, अनलाइन गेमजस्ता विविध क्षेत्रहरूलगायतका धेरै पक्षहरू हुन्छन्—यी सबै नै सामाजिक प्रचलनका भागहरू हुन्, र यसबारेमा विस्तृतमा कुरा गर्न आवश्यक छैन। हामी मानिसहरूमा सामाजिक प्रचलनले ल्याउने विचारहरू, तिनले मानिसहरूलाई संसारमा जे-जसरी व्यवहार गर्न लगाउँछन् ती तौरतरिकाहरू, र मानिसहरूमा तिनले ल्याउने जीवनका लक्ष्यहरू र दृष्टिकोणका बारेमा मात्रै कुरा गर्नेछौँ। यी अत्यन्तै महत्त्वपूर्ण छन्; तिनले मानिसहरूका सोचविचार र रायहरूलाई नियन्त्रण गर्न र प्रभाव पार्न सक्छन्। यी प्रचलनहरू एकपछि अर्को गर्दै उत्पन्‍न हुन्छन्, र ती सबैले मानिसहरूलाई विवेक, मानवता र तर्क गुमाउने तुल्याउँदै, तिनीहरूको नैतिकता र चरित्रको गुणस्तर झन्झन् कमजोर पार्दै, मानवजातिलाई निरन्तर नीच तुल्याउने दुष्‍प्रभाव ल्याउँछन्, यहाँसम्‍म कि धेरैजसो मानिसहरूमा अब कुनै इज्‍जत, कुनै मानवता छैन, न त तिनीहरूसँग कुनै विवेक न त कुनै नैतिकता नै छ भनेरसमेत भन्‍न सकिने अवस्था छ। त्यसो भए, यी सामाजिक प्रचलनहरू के हुन् त? ती तैँले नाङ्गो आँखाले देख्‍न नसक्‍ने प्रचलनहरू हुन्। जब कुनै नयाँ प्रचलन संसारभरि फैलन्छ, सायद मानिसहरूको सानो सङ्ख्या मात्रै प्रचलन निर्माणकर्ताहरूको रूपमा अग्रणी स्थानमा रहेको हुन्छ। तिनीहरूले कुनै नयाँ कुरा गरेर यसको सुरुवात गर्छन्, त्यसपछि कुनै प्रकारको विचार वा कुनै प्रकारको दृष्टिकोणलाई स्वीकार गर्छन्। तैपनि बहुसंख्यक मानिसहरू अवचेतन अवस्थामै यस प्रकारको प्रचनलद्वारा निरन्तर रूपमा तबसम्‍म सङ्क्रमित, आकर्षित हुनेछन्, र तिनीहरूले यसलाई आत्मसात् गर्नेछन्, जबसम्‍म तिनीहरू सबैले यसलाई अनजान रूपमा र अनायसै स्वीकार गर्दैनन्, यसमा डुब्दैनन् र यसद्वारा नियन्त्रित हुँदैनन्। एकपछि अर्को गर्दै त्यस्ता प्रचलनहरूले तन्दुरुस्त शरीर र मस्तिष्क नभएका, सत्यता के हो भनी थाहा नभएका, र सकारात्मक र नकारात्मक कुराहरूबीचमा भिन्‍नता छुट्याउन सक्‍ने क्षमता नभएका मानिसहरूलाई यी कुराहरूका साथै शैतानबाट आउने जीवनसम्‍बन्धी दृष्टिकोण र मूल्यमान्यताहरू खुशीसाथ स्वीकार गर्ने तुल्याउँछन्। जीवनलाई कसरी लिने भन्‍नेबारेमा शैतानले तिनीहरूलाई बताएका कुराहरू र शैतानले तिनीहरूलाई “दिएका” जिउने शैलीहरू तिनीहरूले स्वीकार गर्छन्, र त्यसलाई विरोध गर्ने तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त क्षमता नै, चेतना हुने कुरा त परै जाओस्। त्यसो भए, यस्ता प्रचलनहरूलाई कसरी पहिचान गर्न सकिन्छ? तिमीहरूले क्रमिक रूपमा बुझ्‍न सक भनेर मैले एउटा सरल उदाहरण छनौट गरेको छु। कसैलाई पनि धोका नदिऊँ भनेर मानिसहरूले विगतमा आफ्‍नो व्यापार सञ्‍चालन गर्थे; जोसुकैले खरिद गरे पनि तिनीहरूले मालसामान उही मूल्यमा बिक्री गर्थे। के यहाँ असल विवेक र मानवताको केही तत्व सम्प्रेषित गरिएको छैन र? जब मानिसहरूले यसरी असल नियतसाथ आफ्‍नो व्यापार सञ्‍चालन गर्थे, त्यस बेला तिनीहरूमा केही विवेक र केही मानवता थियो भनेर देख्‍न सकिन्छ। तर पैसासम्‍बन्धी मानिसको सधैँ बढिरहने मागसँगै, मानिसहरूले पत्तै नपाई पैसा, नाफा, र सुखचैनलाई झन्झन् बढी प्रेम गर्न थाले। के मानिसहरूले पैसालाई पहिलेभन्दा अहिले बढी प्राथमिकता दिँदैनन् र? जब मानिसहरूले पैसालाई अत्यन्तै महत्त्वपूर्ण रूपमा हेर्न थाल्छन्, तिनीहरूले आफ्‍नो मर्यादा, प्रसिद्धि, छवि र निष्ठालाई कम महत्त्व दिन्छन्, के तिनीहरूले त्यसो गर्दैनन् र? जब तँ व्यापारमा संलग्‍न हुन्छस्, तैँले अरूलाई मान्छे ठगेर धनी बनेको देख्छस्। त्यो पैसा नराम्रो तरिकाले कमाइएको भए पनि, तिनीहरू झन्झन् धनी बन्दै जान्छन्। तिनीहरूको परिवारले सबै कुराको मजा लिएको देख्दा, तँलाई नरमाइलो लाग्छ: “हामी सबै नै व्यापार गर्छौँ तर तिनीहरू धनी बने। मचाहिँ किन धेरै पैसा कमाउन सक्दिनँ? म अब यो सहन सक्दिनँ—मैले अझै धेरै पैसा कमाउन, कुनै न कुनै उपाय सोच्‍नुपर्छ।” त्यसपछि त, तैँले गर्ने सबै कुरा भनेकै कसरी धेरै पैसा कमाउने भनेर चिन्तन गर्नु मात्र हो। जब तैँले “पैसा त विवेकअनुसार, र कसैलाई पनि नठगीकन कमाउनुपर्छ” भन्‍ने विश्‍वासलाई त्यागिसकेको हुन्छस्, तब तेरो सोच तेरा आफ्नै स्वार्थहरूद्वारा सञ्‍चालित हुँदै क्रमिक रूपमा बदलिँदै जान्छ र सोहीअनुरूप तेरो कार्यपछाडिका सिद्धान्तहरू पनि बदलिँदै जान्छन्। जब तैँले कसैलाई पहिलोपटक ठग्छस्, तँलाई आफ्नो विवेकले गाली गरेको अनभूति हुन्छ, र तेरो हृदयले तँलाई भन्‍नेछ, “यो सकिएपछि, मैले कसैलाई ठगेको यो नै अन्तिमपटक हुनेछ। मान्छेहरूलाई सधैँ ठग्यो भने यसले प्रतिशोध ल्याउनेछ!” यो मानिसको विवेकको कार्य हो—यसले तँलाई असहज महसुस गराउने र तँलाई धिक्‍कार्ने गर्छ, ताकि तैँले कसैलाई ठग्दा तँलाई अस्वाभाविक महसुस होस्। तर तैँले कसैलाई सफलतापूर्वक धोका दिएपछि, तैँले आफूसँग अहिले पहिलेभन्दा धेरै पैसा भएको देख्छस्, र तँलाई आफ्नो लागि यो तरिका निकै लाभदायक हुन सक्छ भन्‍ने लाग्छ। तेरो हृदयमा भएको हल्‍का पीडाको बाबजुद पनि, तँलाई आफ्नो सफलतामा आफैलाई बधाई दिने मन हुन्छ, र आफैप्रति खुसी महसुस हुन्छ। पहिलोपटक, तैँले आफ्नो व्यवहार, आफ्नो ठग मार्गलाई स्वीकार गर्छस्। यस्तो ठगीद्वारा मानिस एकपटक दूषित भइसकेपछि, यो कुनै व्यक्ति जुवातासमा संलग्‍न भएपछि ऊ जुवाडे बन्‍नुजस्तै हुन्छ। तैँले अचेतन रूपमै, आफ्नो ठगी व्यवहारलाई अनुमोदन गर्छस् र त्यसलाई स्विकार्छस्। अचेतन रूपमै, तैँले ठगी कार्यलाई उचित व्यावसायिक बानीबेहोरा, र तेरो अस्तित्व र जीविकाको सबैभन्दा उपयोगी माध्यमको रूपमा लिन्छस्; तँलाई लाग्छ, यसो गरेर तैँले चाँडै नै सम्पत्ति कमाउन सक्छस्। यो एक प्रक्रिया हो: सुरुमा, मानिसहरूले यस प्रकारको बानीबेहोरालाई स्वीकार गर्न सक्दैनन्, र तिनीहरूले यस्तो बानीबेहोरा र अभ्यासलाई नीच दृष्टिले हेर्छन्। त्यसपछि तिनीहरूले आफै प्रयोग र परीक्षण गर्दै यो बानीबेहोरालाई आफै अभ्यास गरेर हेर्न थाल्छन्, अनि तिनीहरूको हृदय क्रमिक रूपमा रूपान्तरित हुन थाल्छ। यो कस्तो प्रकारको रूपान्तरण हो? यो प्रचलनको स्वीकृति र अङ्गीकार हो, सामाजिक प्रचलनले तँमा राखिदिएको यो विचारको स्वीकृति र अङ्गीकार हो। महसुसै नगरी, तैँले मानिसहरूसँग व्यापार गर्ने क्रममा नठग्दा खराब अनुभूति गर्न थाल्छस्; तैँले मानिसहरूलाई नठग्दा, तँलाई आफूले कुनै कुरा गुमाइरहेको भान हुन्छ। थाहै नपाई, यो ठगी तेरो प्राण, तेरो मेरुदण्ड, तेरो जीवनको सिद्धान्तरूपी अपरिहार्य व्यवहार बन्छ। मानिसले यो व्यवहार र यो सोचाइलाई स्वीकार गरिसकेपछि, के यसले उसको हृदयमा परिवर्तन ल्याएको हुँदैन र? तेरो हृदय परिवर्तन भएको हुन्छ, त्यसकारण के तेरो सत्यनिष्ठा पनि परिवर्तन भएको हुन्छ? के तेरो मानवता परिवर्तन भएको हुन्छ? के तेरो विवेक परिवर्तन भएको हुन्छ? तेरो सम्पूर्ण अस्तित्व, तेरो हृदयदेखि तेरो विचारसम्‍म, तेरो भित्रदेखि बाहिरसम्म परिवर्तन भएको हुन्छ, र यो एक गुणात्‍मक परिवर्तन हुन्छ। यो परिवर्तनले तँलाई परमेश्‍वरबाट झन्‍झन् टाढा तान्छ, र तँ झन्झन् बढी शैतानसँग नजिकिँदै जान्छस्; तँ झन्झन् बढी शैतानजस्तै बन्छस्, र यसको परिणामस्वरूप, शैतानको भ्रष्टताले तँलाई नरपिशाच बनाउँछ।

यी सामाजिक प्रचलनहरूलाई हेर्दा, के तँ मानिसहरूमा तिनको ठूलो प्रभाव हुन्छ भनेर भन्छस्? के तिनले मानिसहरूलाई गहन रूपले हानिकारक प्रभाव पार्छन्? तिनले मानिसहरूलाई गहन रूपले हानिकारक प्रभाव पार्छन्। यी हरेक सामाजिक प्रचलन प्रयोग गरी शैतानले मानिसको कुन पक्षलाई भ्रष्ट तुल्याउँछ? शैतानले विशेष गरी मानिसको विवेक, समझ, मानवता, नैतिकता र जीवनसम्‍बन्धी दृष्टिकोणलाई भ्रष्ट पार्छ। अनि, के यी सामाजिक प्रचलनहरूले मानिसहरूलाई क्रमिक रूपमा पतित र भ्रष्ट पार्दैन र? मानिसहरूलाई एकपटकमा एक कदम गरी दियाबलसहरूको गुँडसम्‍म लोभ्याउँदै ल्याउनको लागि शैतानले यी सामाजिक प्रचलनहरूको प्रयोग गर्छ, ताकि सामाजिक प्रचलनहरूमा व्यस्त भएका मानिसहरूले थाहै नपाई रुपियाँपैसा र भौतिक इच्‍छाहरू, दुष्टता र हिंसाको वकालत गरून्। यी कुराहरू मानिसको हृदयमा प्रवेश गरिसकेपछि, मानिस के बन्छ? मानिस दियाबलस, शैतान बन्छ! किन? मानिसको हृदयमा कुन मानसिक झुकाव हुन्छ? मानिसले केलाई आदर गर्छ? मानिसले दुष्टता र हिंसामा आनन्द लिन थाल्छ, अनि सुन्दरता वा भलाइप्रति कुनै प्रेम देखाउँदैन, शान्तिको त कुरै नगरौं। मानिसहरू सामान्य मानवताको सरल जीवन जिउन इच्‍छुक हुँदैनन्, बरु उच्‍च प्रतिष्ठा र धेरै सम्पत्तिको आनन्द लिन, आफ्‍नो देहलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी नराखी र तिनीहरूलाई रोक्‍ने कुनै बन्धन, बाधाविना देहका आनन्दमा मस्त हुन चाहन्छन्; अर्को शब्‍दमा भन्दा, तिनीहरूलाई जे इच्‍छा लाग्छ तिनीहरू त्यही गर्न चाहन्छन्। त्यसकारण, जब मानिस यस प्रकारका प्रचलनहरूमा डुबेको हुन्छ, के तैँले सिकेको ज्ञानले तँलाई आफैलाई मुक्त गर्न सहयोग गर्छ? के परम्‍परागत संस्कृति र अन्धविश्‍वाससम्‍बन्धी तेरो बुझाइले तँलाई यो भयानक अवस्थाबाट उम्‍कन सहयोग गर्न सक्छ? के मानिसलाई थाहा भएको परम्‍परागत नैतिकता र संस्कारले मानिसहरूलाई संयमता अभ्यास गर्न सहयोग गर्न सक्छ? उदाहरणको लागि, एनालेक्ट्स र ताओ ते चिङलाई लिऊँ। के यिनले मानिसहरूलाई यी दुष्ट प्रचलनहरूको दलदलबाट आफ्‍नो खुट्टा निकाल्‍न सहयोग गर्न सक्छन्? बिलकुलै सक्दैनन्। तसर्थ, मानिस झन्झन् दुष्ट, अहङ्कारी, हेपाहा, स्वार्थी, र दुर्भावनापूर्ण बन्दै जान्छ। मानिसहरूका बीचमा अब कुनै आत्मीयता छैन, परिवारका सदस्यहरूबीच अब कुनै प्रेम छैन, आफन्त र इष्टमित्रबीच अब कुनै समझदारी छैन; मानव सम्‍बन्धहरू हिंसाद्वारा चित्रण भइसकेका छन्। हरेक व्यक्तिले आफ्‍ना सङ्गी मानिसहरूमाझ जिउनको लागि हिंसाको प्रयोग गर्न खोज्छ; हिंसाकै प्रयोग गरी, तिनीहरूले आफ्‍नो दैनिक रोटी खोसेर लिन्छन्; हिंसाकै प्रयोग गरी, तिनीहरूले आफ्‍नो हैसियत र नाफा कमाउँछन्, र आफूले गर्न चाहेको जुनसुकै कुरा गर्न तिनीहरूले हिंसात्मक र दुष्ट मार्गहरूको प्रयोग गर्छन्। के यो मानवजाति अत्यन्तै भयानक छैन र? छ, एकदमै धेरै हदसम्म त्यस्तै छ: तिनीहरूले परमेश्‍वरलाई क्रूसमा टाँग्‍ने काम मात्रै गरेका छैनन्, उहाँलाई पछ्याउने सबैको हत्यासमेत गरेका छन्—किनकि मानिस अत्यन्तै दुष्ट छ। मैले भर्खरै भनेका यी सबै कुराहरू सुनिसकेपछि, शैतानले मानिसलाई भ्रष्ट तुल्याउने यो वातावरण, यो संसार, र यस प्रकारका मानिसहरूमाझ जिउन के तिमीहरूलाई अत्यन्तै डरलाग्दो लाग्दैन? (लाग्छ।) त्यसो भए, के तिमीहरूले आफैलाई कहिल्यै बिचरा ठानेका छौ? यो क्षणमा तिमीहरू अलिअलि यस्तो अनुभव गर्छौ, होइन र? (हो।) तिमीहरूको स्वर सुन्दा, तिमीहरूले यस्तो विचार गरिरहेजस्तो लाग्छ, “शैतानसँग मानिसलाई भ्रष्ट तुल्याउने धेरै र विभिन्‍न तरिकाहरू छन्। त्यसले हरेक अवसरको फाइदा उठाउँछ र हामी जता फर्के पनि त्यो त्यतै हुन्छ। के मानिसलाई अझै पनि मुक्ति दिन सकिन्छ?” के मानिसलाई अझै पनि मुक्ति दिन सकिन्छ? के मानिसले आफैलाई मुक्ति दिन सक्छ? (सक्दैन।) के सम्राट जेडले मानिसलाई बचाउन सक्छ? के कन्फ्युसियसले मानिसलाई बचाउन सक्छ? के गुवानिन वोधिसत्वले मानिसलाई बचाउन सक्छ? (सक्दैन।) त्यसो भए, कसले मानिसलाई बचाउन सक्छ? (परमेश्‍वरले।) तैपनि कतिपय मानिसहरूले आफ्‍नो हृदयमा यस्ता प्रश्‍नहरू उठाउनेछन्: “शैतानले हामीलाई यति घोर रूपमा, यति पागलपनको हदसम्म हानि गर्छ कि हामीसँग जीवन जिउने कुनै आशा नै हुँदैन, न त जीवन जिउने कुनै आत्मविश्‍वास नै हुन्छ। हामी सबै भ्रष्टतामाझ जिउँछौँ, र हरेक व्यक्तिले कुनै न कुनै तरिकाले परमेश्‍वरको विरोध गर्छ, र हाम्रो हृदय डुब्‍न सक्‍नेजति गहिराइमा डुबिसकेको छ। यसरी, शैतानले हामीलाई भ्रष्ट तुल्याइरहँदा परमेश्‍वर कहाँ हुनुहुन्छ? परमेश्‍वर के गरिरहनुभएको छ? परमेश्‍वरले हाम्रो लागि जे गरिरहनुभएको छ, त्यो हामीले कहिल्यै महसुस गर्दैनौँ!” कतिपय मानिसहरू अपरिहार्य रूपमै उदास र अलि निरुत्साहित महसुस गर्छन्, होइन र? तिमीहरूका लागि, यो अनुभव निकै गहिरो हुन्छ किनभने मानिसहरूलाई क्रमिक रूपमा बुझ्दै जाने, तिनीहरू आशाहीन छन् भनी झन्झन् बढी अनुभव गर्ने, तिनीहरूलाई परमेश्‍वरले त्याग्‍नुभएको छ भनी झन्झन् बढी महसुस गर्ने तुल्याउनको लागि मैले यो सबै भन्दै आइरहेको छु। तर चिन्ता नगर। “शैतानको दुष्टता” भन्‍ने हाम्रो आजको सङ्गतिको विषय हाम्रो मूल प्रसङ्ग होइन। तैपनि परमेश्‍वरको पवित्रताको सारको बारेमा कुरा गर्नको लागि, मानिस अहिले कस्तो अवस्थामा छ भन्‍नेबारे मानिसहरूलाई स्पष्ट तुल्याउन हामीले सुरुमा शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भन्‍नेबारेमा र शैतानको दुष्टताको बारेमा छलफल गर्नैपर्छ। यसबारेमा कुरा गर्नुको एउटा उद्देश्य भनेको मानिसहरूलाई शैतानको दुष्टताको बारेमा जान्‍ने मौका दिनु हो, जबकि अर्को उद्देश्यचाहिँ मानिसहरूलाई साँचो पवित्रता के हो सोबारे गहन बुझाइ प्राप्त गर्ने मौका दिनु हो।

पछिल्लोपटकको तुलनामा हामीले भर्खरै छलफल गरेका यी कुराहरूका बारेमा के मैले अझै विस्तृत रूपमा कुरा गरेको छैनँ र? के अहिले तिमीहरूको बुझाइ अलि गहन भयो त? (भयो।) मलाई थाहा छ, परमेश्‍वरको पवित्रता वास्तवमा के हो सो मैले भनूँ भनी अहिले धेरैजसो मानिसहरूले अपेक्षा गरिरहेका छन्, तर परमेश्‍वरको पवित्रताको बारेमा कुरा गर्ने क्रममा, म सुरुमा परमेश्‍वरले गर्नुहुने कामहरूका बारेमा कुरा गर्नेछु। तिमीहरू सबैले ध्यान दिएर सुन्‍नुपर्छ। त्यसपछि, म तिमीहरूलाई परमेश्‍वरको पवित्रता वास्तवमा के हो भनेर सोध्‍नेछु। म तिमीहरूलाई प्रत्यक्ष रूपमा भन्‍नेछैनँ, तर म तिमीहरूलाई यसबारे पत्ता लगाउने प्रयास गर्न दिनेछु; म तिमीहरूलाई यसबारे पत्ता लगाउने ठाउँ दिनेछु। यस तरिकाको बारेमा तिमीहरू के सोच्छौ? (यो राम्रो सुनिन्छ।) त्यसो भए, म अघि बढ्दै जानेछु, ध्यान दिएर सुन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्