परमेश्‍वर स्वयम् अद्वितीय ८

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (२) - भाग दुई

परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेयपदार्थ

हामीले भर्खरै वातावरणको एक भागको बारेमा, विशेष गरी, परमेश्‍वरले संसारको सृष्टि गर्नुहुँदा उहाँले तयार गर्नुभएको मानव अस्तित्वको निम्ति आवश्यक सर्तहरूको बारेमा सामान्य छलफल गर्‍यौं। हामीले पाँच कुराहरू, अर्थात् वातावरणका पाँच तत्वहरूको बारेमा कुरा गर्‍यौं। हाम्रो अर्को विषय हरेक मानवको भौतिक जीवनसँग घनिष्ठ रूपले सम्बन्धित छ, अनि यो कुरा उक्त जीवनसँग अझ प्रासङ्गिक छ र अघिल्‍ला पाँचको तुलनामा यसले जीवनको लागि आवश्यक पर्ने अवस्थाहरूलाई अझै राम्ररी पूरा गर्छ। स्पष्ट रूपमा भन्‍नुपर्दा, यो मानिसहरूले खाने खाना हो। परमेश्‍वरले मानिसको सृष्टि गर्नुभयो र उसलाई जीवनको निम्ति सुहाउँदो वातावरणमा राख्‍नुभयो; त्यसपछि मानिसलाई खाना र पानीको आवश्यकता पर्‍यो। मानिसलाई यसको आवश्यकता थियो, अनि परमेश्‍वरले उसको निम्ति त्यसैअनुकूल तयारी गर्नुभयो। यसैले, परमेश्‍वरको कामको हरेक चरण र उहाँले गर्ने हरेक कुरा बोलिने खोक्रा वचनहरू होइनन्, तर वास्तविक, व्यावहारिक कदम हुन्। के खाना मानिसहरूको दैनिक जीवनको अपरिहार्य कुरा होइन र? के खाना हावाभन्दा महत्त्वपूर्ण कुरा हो? ती बराबर महत्त्वका छन्। ती दुवै कुरा मानवजातिको अस्तित्व र मानव जीवनको सुरक्षित निरन्तरताको निम्ति आवश्यक परिस्थिति र पदार्थहरू हुन्। कुन बढी महत्त्वपूर्ण छ—हावा कि पानी? तापक्रम कि खाना? तिनीहरू सबै उत्तिकै महत्त्वपूर्ण छन्। मानिसहरूले तीमध्ये एउटालाई छान्‍न सक्दैनन् किनकि तिनीहरू तीमध्ये कुनै एकविना पनि रहन सक्दैनन्। यो वास्तविक र व्यावहारिक विषय हो, तैँले विभिन्‍न कुराहरूबीचमा छनौट गर्ने कुरा होइन। तँलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ। जब तैँले खाना देख्छस्, तँ सोच्छस्, “म खानाविना रहन सक्दिनँ!” तर तँलाई सृष्टि गरिएपछि लगतै तँलाई खानाको आवश्यकता छ भन्‍ने तँलाई थाहा थियो त? तँलाई थाहा थिएन, तर परमेश्‍वरलाई थाहा थियो। जब तँ भोकाइस् र खानलाई रुखमा फल र जमिनमा अन्‍न देखिस्, तब मात्र तैँले आफूलाई खानाको आवश्यकता भएको महसुस गरिस्। जब तँलाई तिर्खा लाग्यो र तैँले मूलको पानी देखिस् तब मात्र, अर्थात् तैँले पिएपछि मात्र तँलाई पानी चाहिने रहेछ भन्‍ने महसुस गरिस्। परमेश्‍वरले मानवजातिको निम्ति पहिले नै पानी तयार पार्नुभएको थियो। कसैले दिनको तीन छाक वा दुई वा त्यसभन्दा बढी छाक खाओस् वा नखाओस्, तर संक्षिप्तमा भन्दा खाना मानवको दैनिक जीवनको लागि अपरिहार्य कुरा हो। यो मानव शरीरको सामान्य अस्तित्वलाई निरन्तर कायम गर्न आवश्यक पर्ने कुरामध्ये एक हो। त्यसो भए, खाना कहाँबाट आउँछ त? सर्वप्रथम त यो माटोबाट आउँछ। माटो परमेश्‍वरले मानवजातिको लागि पहिले नै तयार गर्नुभएको थियो र रूख र घाँसहरूको निम्ति मात्र नभएर यो धेरै किसिमका वनस्पतिहरूको अस्तित्वको निम्ति सुहाउँदो छ। परमेश्‍वरले मानवजातिको निम्ति सबै किसिमका अन्‍न र अन्य विविध खानाका बीउहरू तयार पार्नुभयो, र रोप्‍नको लागि उहाँले मानवजातिलाई सुहाउँदो माटो र जमिन दिनुभयो र यी कुराहरूबाट मानवजातिले खाना प्राप्त गर्छ। विभिन्‍न किसिमका खानाहरू के-के हुन् त? तिमीहरूलाई सायद यो कुरा पहिले नै थाहा छ। सर्वप्रथम, धेरै किसिमका अन्‍नहरू छन्। अन्‍नका विभिन्‍न प्रकारहरू के-के हुन्? गहुँ, झुप्पे कोदो, लस्सादार कोदो, ठूलो कागुनो र अन्य प्रकारका भुस भएका अन्‍न। अनाज पनि विभिन्‍न प्रकारका हुन्छन्, दक्षिणदेखि उत्तरसम्म विभिन्‍न प्रजातिका हुन्छन्: जौ, गहुँ, उवा, फापर आदि-इत्यादि। फरकफरक क्षेत्रहरू फरकफरक प्रजातिका निम्ति उचित हुन्छन्। धान पनि धेरै किसिमका हुन्छन्। दक्षिणमा यसका आफ्नै प्रजातिहरू हुन्छन्, जुन दक्षिणका मानिसहरूलाई सुहाउने किसिमका लामा हुन्छन्, किनकि त्यहाँको मौसम न्यानो हुन्छ, अर्थात् त्यहाँका रैथाने मानिसहरूले इन्डिका धानजस्तै धेरै नटाँसिने प्रजातिहरू खानुपर्ने हुन्छ। तिनीहरूले टाँसिने किसिमका चामल खान सक्दैनन्, नत्र तिनीहरूले आफ्नो भोक गुमाउनेछन् र त्यसलाई पचाउन सक्दैनन्। उत्तरका मानिसहरूले टाँसिने चामल खान्छन्, किनकि उत्तर सधैँ चिसो हुन्छ त्यसैले त्यहाँका मानिसहरूले बढी टाँसिने कुराहरू खानुपर्छ। त्यस्तै गरी, सिमीका पनि धेरै प्रजातिहरू छन्, जुन जमिनमाथि फल्छन् र आलु, सुठुनी, पिँडालु र अन्य धेरै कन्दमूल तरकारीहरूचाहिँ जमिनमुनि फल्छन्। आलु उत्तरमा फल्छ, त्यहाँको आलु उच्‍च गुणस्तरको हुन्छ। मानिसहरूसँग खाने अन्‍न नहुँदा प्रमुख खानाको रूपमा आलुले तिनीहरूलाई दैनिक तीन छाक खाना उपलब्ध गराउँछ। आलुलाई सञ्‍चित खानाको रूपमा पनि प्रयोग गर्न सकिन्छ। सुठुनीको गुणस्तर आलुको भन्दा नराम्रो हुन्छ तर त्यसलाई पनि दैनिक तीन छाक खाना टार्नको निम्ति प्रयोग गर्न सकिन्छ। अन्‍न पाउन कठिन हुँदा मानिसहरूले सुठुनी खाएर भोक मेटाउँछन्। दक्षिणका मानिसहरूले अक्सर पिँडालु खान्छन् र यसलाई पनि यसरी नै प्रयोग गर्न सकिन्छ र यसले पनि प्रमुख भोजनको काम गर्छ। विभिन्‍न किसिमका फरकफरक बालीहरू यिनै हुन्, जुन मानिसहरूका दैनिक खानपानका आवश्यक भाग हुन्। मानिसहरूले चाउचाउ, बफाएका रोटी, भात र चामलका चाउचाउ बनाउन विभिन्‍न किसिमका अन्‍नहरूको प्रयोग गर्छन्। परमेश्‍वरले मानवजातिको निम्ति प्रशस्त मात्रामा यी विभिन्‍न किसिमका अन्‍नहरू दिनुभएको छ। यति धेरै प्रजातिहरू किन छन् भन्‍ने कुरा परमेश्‍वरको इच्छाको कुरा हो: ती उत्तर, दक्षिण, पूर्व र पश्‍चिमका फरकफरक माटो र मौसममा उम्रनको निम्ति उपयुक्त छन्; जबकि तिनका विभिन्‍न बनावट र तिनमा निहित विभिन्‍न तत्त्वहरू मानव शरीरका विभिन्‍न बनावट र त्यसमा निहित विभिन्‍न तत्त्वहरूसँग मेल खान्छन्। यी अन्‍नहरू खाएर मात्र मानिसहरूले आफ्नो शरीरको निम्ति आवश्यक विभिन्‍न पोषक तत्त्व र पदार्थहरूलाई कायम गर्न सक्छन्। उत्तरी खाना र दक्षिणी खाना फरक छन्, तर तिनमा भिन्‍नता भन्‍दा पनि समानता ज्यादा छन्। दुवैले मानव शरीरका नियमित आवश्यकता तृप्त गर्न सक्छन् र यसको सामान्य अस्तित्वलाई टेवा पुर्‍याउँछन्। यसैले, हरेक क्षेत्रमा प्रशस्त प्रजातिहरूको उत्पादन हुन्छ, किनकि मानवको भौतिक शरीरलाई ती फरकफरक खानाहरूले आपूर्ति गर्ने कुराहरूको आवश्यकता हुन्छ—शरीरको सामान्य अस्तित्वको निम्ति तिनलाई माटोमा उम्रिएका विभिन्‍न खानाहरूको आपूर्ति आवश्यक पर्छ ताकि तिनीहरूले सामान्य मानव जीवन बाँच्‍न सकून्। छोटकरीमा, परमेश्‍वर मानवजातिप्रति अत्यन्तै विचारशील हुनुभएको छ। मानिसहरूलाई परमेश्‍वरले दिनुभएका विभिन्‍न खानाहरू विविधताविहीन छैनन्—यसको विपरीत, तिनीहरू अत्यन्तै व्यापक छन्। यदि मानिसहरूले अनाज खान चाहे भने, तिनीहरूले अनाज खान सक्छन्। केही मानिसहरू गहुँभन्दा धान मन पराउँछन् र गहुँ मन नपराएको कारण तिनीहरूले धान खान सक्छन्। लामा र छोटा दाना भएकालगायत धान धेरै प्रकारका हुन्छन्—अनि हरेक प्रकारका धानले मानिसको भोक मेटाउन सक्छन्। यसैले, यदि मानिसहरूले यी अन्‍नहरू खाए भने—तिनीहरूले आफ्नो खानालाई अनावश्यक रूपमा छनौट नगरेसम्म—तिनीहरूलाई पोषक तत्त्वको अभाव हुँदैन र तिनीहरू नमरेसम्म स्वस्थ भएर बाँच्छन् भन्‍ने सुनिश्‍चितता हुन्छ। परमेश्‍वरले मानवजातिलाई खाना उपलब्ध गराउनुहुँदा उहाँको मनमा यही विचार थियो। मानव शरीर यी कुराहरूविना रहन सक्दैन—के यो वास्तविकता होइन र? यी त मानिस आफैले समाधान गर्न नसक्‍ने व्यावहारिक समस्याहरू हुन्, तर ती समस्याहरूको लागि परमेश्‍वर तयार हुनुहुन्थ्यो: उहाँले ती समस्याहरूको बारेमा पहिले नै सोच्‍नुभयो र मानवजातिको निम्ति तयारीहरू गर्नुभयो।

तर परमेश्‍वरले मानवजातिलाई यति मात्रै दिनुभएन—उहाँले मानवजातिलाई सागसब्जीहरू पनि दिनुभयो! भातसँग यदि तैँले अरू केही पनि खाइनस् भने, तैँले पर्याप्त पोषक तत्त्वहरू नपाउन सक्छस्। अर्कोतिर, तैँले आफ्नो खानासँग खानको लागि केही सागसब्‍जी पकाइस् वा सलाद मिसाइस् भने, तरकारीमा भएका भिटामिनहरू र तिनका विभिन्‍न तत्त्वहरू र अन्य पोषक तत्त्वहरूले तेरो शरीरको आवश्यकतालाई प्राकृतिक रूपमा तृप्त गर्छन्। अनि मानिसहरूले खाना खाइसकेपछि अर्को खाना खानुभन्दा पहिले केही फलफूल पनि खान सक्छन्, सक्दैनन् र? कहिलेकाहीँ, मानिसहरूलाई अझ बढी तरल पदार्थहरू वा अन्य पोषक तत्त्वहरू वा अन्य स्वादहरूको आवश्यकता पर्दछ र यी आवश्यकता पूरा गर्नको लागि फलफूल वा तरकारीहरू छन्। उत्तर, दक्षिण, पूर्व र पश्‍चिममा माटो र मौसमहरू फरकफरक हुने हुनाले, तिनीहरूले विभिन्‍न प्रजातिका तरकारी र फलफूलहरू उत्पादन गर्छन्। दक्षिणको मौसम अत्यधिक तातो हुने हुनाले, त्यहाँ पाइने धेरैजसो फलफूल र तरकारीहरू चिसो पार्ने किसिमका हुन्छन्, र तिनलाई खाएपछि तिनले मानव शरीरमा चिसो र तातोको सन्तुलन ल्याउन सक्छन्। तुलनात्मक रूपमा, उत्तरमा कम प्रजातिका तरकारी र फलफूलहरू पाइन्छन्, तथापि स्थानीय मानिसहरूले उपभोग गर्नको निम्ति यी पर्‍याप्त हुन्छन्। तैपनि, हालका वर्षहरूमा समाजमा भएका विकासहरू र तथाकथित सामाजिक प्रगतिका साथै उत्तर, दक्षिण, पूर्व र पश्‍चिमलाई जोड्ने सञ्‍चार र यातायातको कारण उत्तरका मानिसहरूले केही दक्षिणी फलफूल र तरकारीहरू वा दक्षिणका क्षेत्रीय उत्पादनहरू खान सकेका छन् र तिनीहरू वर्षका सबै चार ऋतुमा त्यसो गर्न सक्छन्। यसले मानिसहरूका भोक र भौतिक चाहनाहरूलाई तृप्त पार्न सक्षम भए तापनि, यसले थाहै नपाई तिनीहरूको शरीरमा विभिन्‍न हदसम्म हानि पुर्‍याउँछ। यस्तो किन हुन्छ भने मानवजातिका लागि परमेश्‍वरले तयार पार्नुभएका खानेकुराहरूमा दक्षिणका मानिसहरूले खानुपर्ने खाना, फलफूल र तरकारीहरू पनि छन्, र उत्तरका मानिसहरूले खानुपर्ने भनी तयार पारिएका खाना, फलफूल र तरकारीहरू पनि छन्। भन्‍नुको तात्पर्य, यदि तँ दक्षिणमा जन्मेको होस् भने तैँले दक्षिणका खानेकुरा खानु उचित हुन्छ। दक्षिणको मौसम फरक भएको हुनाले परमेश्‍वरले विशेष रूपले यी खाना, फलफूल र तरकारीहरू तयार पार्नुभएको छ। उत्तरका मानिसका शरीरका निम्ति आवश्यक पर्ने खाना उत्तरमै पाइन्छ। तथापि मानिसहरूको भोक खन्चुवा प्रवृत्तिको छ, थाहै नपाई तिनीहरूले आफैलाई नयाँ सामाजिक चलनको छालमा बगाउँछन् र अचेतन रूपमै यी नियमहरूको उल्लङ्‍घन गर्छन्। मानिसहरूले आफ्नो जीवन विगतमा भन्दा असल भएको महसुस गरे तापनि, यस किसिमको सामाजिक प्रगतिले धेरैभन्दा धेरै मानिसहरूको शरीरमा थाहै नपाई भित्रभित्रै हानि पुर्‍याइरहेको हुन्छ। परमेश्‍वर यस्तो देख्‍न चाहनुहुन्‍न र उहाँले मानवजातिलाई यी खाना, फलफूल र तरकारीहरू उपलब्ध गराउनुहुँदा उहाँसँग यस्तो उद्देश्य थिएन। मानव आफैले परमेश्‍वरका व्यवस्थाहरू उल्लङ्‍घन गरेर वर्तमान अवस्था सृजना गरेका हुन्।

यी सबैका अतिरिक्त, परमेश्‍वरले मानवजातिको लागि उपलब्ध गराउनुभएको प्रशस्‍तता वास्तवमै प्रचुर मात्रामा छ र हरेक ठाउँको आफ्‍नै स्थानीय उत्पादन छ। उदाहरणको निम्ति, केही ठाउँमा रातो खजूर प्रशस्‍त हुन्छ (जसलाई जुजुबे भनेर पनि चिनिन्छ), अरू ठाउँमा प्रशस्‍त ओखर हुन्छ र अझै अरू ठाउँमा बदाम वा यस्तै अन्य विभिन्‍न किसिमका फलहरू प्रशस्‍त हुन्छन्। यी सबै भौतिक कुराहरूले मानव शरीरलाई चाहिने पोषक तत्त्वहरू प्रदान गर्छन्। तर परमेश्‍वरले मानवजातिलाई ठीक परिमाण र ठीक समयमा वर्षको ऋतुअनुसार यी कुराहरूको आपूर्ति गर्नुहुन्छ। मानवजातिले भौतिक आनन्दको लालच गर्छ र ऊ खन्चुवा छ, जसले गर्दा परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुहुँदा स्थापित गर्नुभएका मानव वृद्धिका प्राकृतिक नियमहरूलाई उसले सहजै भङ्ग गर्न र नोक्सानी पुर्‍याउन सक्छ। उदाहरणको रूपमा चेरीलाई लिऔं। ती जुन महिनातिर पाक्छन्। सामान्य परिस्थितिमा अगष्ट महिनासम्ममा चेरीहरू केही पनि बाँकी रहँदैनन्। तिनलाई दुई महिना मात्र ताजा राख्‍न सकिन्छ तर वैज्ञानिक प्रविधिहरूको प्रयोग गरेर अहिले मानिसहरूले त्यस अवधिलाई बाह्र महिनासम्म, चेरीको अर्को मौषमसम्म पनि लम्ब्याउन सक्षम छन्। यसको अर्थ यही हो कि वर्षभरि चेरीहरू पाइन्छन्। के यो घटना सामान्य हो र? (होइन।) त्यसो भए चेरी खाने सबैभन्दा राम्रो समय कुन हो त? त्यो जुनदेखि अगस्टसम्मको अवधि हो। यो समय काटेपछि तिनलाई जति ताजा राखे पनि तिनको स्वाद उस्तै हुँदैन, न त मानव शरीरलाई आवश्यक पर्ने कुरा नै तिनले दिन्छन्। मिति सकिएपछि तैँले जुनसुकै रसायन हाले तापनि प्राकृतिक रूपमा फल्दाको अवस्थामा तिनमा पाइने सबै गुण हाल्न सक्‍नेछैनस्। यसका अतिरिक्त, मानवमा ती रसायनले गर्ने हानिलाई जति नै प्रयास गरे तापनि कसैले पनि समाधान वा परिवर्तन गर्न सक्दैन। त्यसो भए, वर्तमान बजार अर्थव्यवस्थाले मानिसहरूमा के ल्याउँछ त? मानिसहरूको जीवन अझ राम्रो भएजस्तो देखिन्छ, एक क्षेत्रदेखि अर्को क्षेत्रसम्मको यातायात धेरै सुविधाजनक भएको छ र मानिसहरूले चार ऋतुमध्ये कुनै पनि समयमा सबै किसिमका फलफूलहरू खान सक्छन्। उत्तरका मानिसहरू नियमित रूपमा दक्षिणका केराहरू, क्षेत्रीय व्यञ्‍जनहरू, फलफूल वा अन्य खानाहरू खान सक्छन्। तर परमेश्‍वरले मानवजातिलाई दिन चाहनुभएको जीवन यो होइन। यस प्रकारको बजार अर्थव्यवस्थाले मानिसहरूको जीवनमा केही फाइदा ल्याउन त सक्ला, तर यसले हानि पनि ल्याउँछ। बजारमा प्रशस्त पाइने भएको कारण धेरै मानिसहरूले मैले मुखमा के हालिरहेको छु भन्‍ने कुरा नै नसोची खान्छन्। यो व्यवहारले प्रकृतिको नियमहरूलाई उल्लङ्‍घन गर्छ र यो मानिसहरूको स्वास्थ्यको लागि हानिकारक हुन्छ। यसैले, बजार अर्थव्यवस्थाले मानिसहरूमा साँचो खुसी ल्याउन सक्दैन। तिमीहरू आफै हेर। के बजारमा अङ्गुर चारै ऋतुमा बेचिन्‍न र? वास्तवमा, अङ्गुरहरू टिपेपछि धेरै छोटो समयको निम्ति मात्र ताजा रहन्छन्। यदि तैँले त्यसलाई अर्को वर्षको जुनसम्म राखिस् भने, त्यसलाई अझ पनि अङ्गुर नै भनिन्छ र? कि त्यसलाई “फोहोर” भन्दा राम्रो होला? त्यसमा ताजा अङ्गुरका तत्त्वहरूको अभाव हुने मात्र नभएर—त्यसमा धेरै रसायनहरू पनि मिसिएका हुन्छन्। एक वर्षपछि त्यो ताजा रहँदैन र त्यसमा भएका पोषक तत्त्वहरू पहिले नै गइसकेका हुन्छन्। जब मानिसहरूले अङ्गुर खान्छन्, तिनीहरूले यस्तो महसुस गर्छन्, “हामी कति भाग्यमानी! तीस वर्षअगाडि के हामीले यस मौसममा अङ्गुर खान पाउथ्यौं त? चाहेर पनि खान पाउँदैनथ्यौं! अहिले जीवन धेरै राम्रो भएको छ!” के यो वास्तवमै सुख हो त? यदि तँ इच्छुक छस् भने तैँले रसायनद्वारा संरक्षण गरिएको अङ्गुरको बारेमा अनुसन्धान गरेर ती केले बनेका रहेछन् र ती तत्वहरू मानवको लागि हितकर छन् कि छैनन् भनेर हेर्न सक्छस्। व्यवस्थाको युगमा, जब इस्राएलीहरूले मिश्र छाडेर यात्रा गरिरहेका थिए, परमेश्‍वरले तिनीहरूलाई बट्टाई र मन्‍न दिनुभयो। तर के परमेश्‍वरले तिनीहरूलाई खानाको संरक्षण गर्ने अनुमति दिनुभयो त? तिनीहरूमध्ये केही अदूरदर्शी थिए र अर्को दिन पाइन्‍न भनी डराएर तिनीहरूले पछिको लागि केही छुट्याएर राखे। त्यसपछि के भयो? अर्को दिन, त्यो कुहिएको थियो। परमेश्‍वरले तँलाई केही मात्रामा साँचेर राख्‍न दिनुहुन्‍न, किनकि तँ भोको हुनेछैनस् भन्‍ने सुनिश्‍चितता दिने गरी उहाँले तयारीहरू गर्नुभएको हुन्छ। तर मानवजातिमा त्यो आत्मविश्‍वास छैन, न त तिनीहरूसँग परमेश्‍वरप्रति साँचो विश्‍वास नै छ। तिनीहरूले सधैँ आफैलाई आफ्नो तजबिजमा केही हेरफेर गर्ने स्वतन्त्रता दिन चाहन्छन् र मानवजातिको निम्ति तयारीहरू गर्दा परमेश्‍वरले गर्नुभएको सारा वास्ता र ध्यानलाई तिनीहरूले कहिल्यै पनि देख्‍न सक्दैनन्। तिनीहरूले यो कुरा महसुस गर्न सक्दैनन्, यसैले तिनीहरूले आफ्नो विश्‍वास पूर्ण रूपमा परमेश्‍वरमा राख्‍न सक्दैनन्, अनि तिनीहरूले सधैँ यस्तो सोच्छन्: “परमेश्‍वरका कार्यहरू भरोसा गर्न योग्य छैनन्! परमेश्‍वरले हामीलाई चाहिएको कुरा दिनुहुन्छ कि हुन्‍न वा त्यो कहिले दिनुहुन्छ भन्‍ने कुरा कसलाई थाहा छ र! यदि म भोको भएँ र परमेश्‍वरले पोषण उपलब्ध गराउनुभएन भने, म भोकै पर्दिनँ र? के मलाई पोषक तत्त्वको अभाव हुँदैन र?” हेर त मानिसको आत्मविश्‍वास कति झीनो छ!

अन्‍न, फलफूल, सागसब्‍जी र सबै किसिमका बदामजस्ता खानेकुराहरू—यी सबै शाकाहारी भोजनहरू हुन्। ती शाकाहारी भोजन भए तापनि, तिनमा मानव शरीरका आवश्यकता पूरा गर्ने पर्याप्त पोषक तत्त्वहरू हुन्छन्। तापनि, परमेश्‍वरले यसो भन्‍नुभएन: “म मानवजातिलाई यी खानेकुराहरू मात्र दिन्छु। तिनीहरूले यी खानेकुराहरू मात्र खाऊन्।” परमेश्‍वर त्यहाँ रोकिनुभएन, तर मानवजातिको निम्ति धेरै थप स्वादिष्ठ खानेकुराहरू तयार गर्ने कार्यमा लाग्‍नुभयो। यी खानेकुराहरू के-के हुन् त? ती तिमीहरूले खान र देख्‍न सक्‍ने विभिन्‍न किसिमका माछा र मासु हुन्। उहाँले मानिसको निम्ति धेरै किसिमका माछा र मासु दुवै तयार पार्नुभयो। माछा पानीमा बस्छ र पानीमा बस्‍ने माछाको मासुको तत्त्व जमिनमा बस्‍ने जनावरहरूको भन्दा फरक हुन्छ र त्यसले मानिसलाई फरक पोषक तत्त्वहरू प्रदान गर्छ। माछामा मानव शरीरभित्र चिसो र तातो नियन्त्रण गर्ने गुणहरू पनि हुन्छ, जसले मानिसलाई ठूलो फाइदा दिन्छ। तर स्वादिष्ठ खानेकुराहरू धेरै खानु हुँदैन। मैले पहिले नै भनिसकेँ, परमेश्‍वरले मानवजातिलाई ठीक समयमा ठीक परिमाणमा खानेकुरा दिनुभएको छ, ताकि उहाँले प्रदान गर्नुभएका कुराहरूलाई मानिसहरूले सामान्य रूपमा र ऋतु र समयअनुसार उचित तवरले उपभोग गर्न सकून्। अब, पन्छी वर्गमा कस्ता किसिमका खानेकुराहरू समावेश छन् त? कुखुरा, बट्टाई, परेवा र यस्तै अन्य पन्छीहरू। धेरै मानिसहरूले हाँस र रजहाँस पनि खान्छन्। परमेश्‍वरले यी सबै किसिमका मासुहरू उपलब्ध गराउनुभएको भए तापनि, व्यवस्थाको युगमा उहाँले आफ्‍ना चुनिएका मानिसहरूलाई निश्‍चित मापदण्डहरू दिनुभयो र तिनीहरूका आहारामा विशेष सीमाहरू तोक्‍नुभयो। आजभोलि यी सीमाहरू व्यक्तिगत स्वाद र व्यक्तिगत व्याख्यामा भर पर्छन्। यी विविध मासुहरूले मानव शरीरलाई विविध पोषक तत्त्वहरू प्रदान गर्छन्, प्रोटिन र फलामको आवश्यकता पूर्ति गर्छन्, रगतलाई समृद्ध बनाउँछन्, मांसपेशी र हाडहरूलाई बलिष्ठ बनाउँछन् र शरीरको शक्ति निर्माण गर्छन्। मानिसहरूले जसरी पकाएर खाए तापनि यी मासुहरूले तिनीहरूका खानाका स्वादलाई सुधार्छन् र तिनीहरूका खाने रुचि बढाउनुका साथै तिनीहरूका पेटलाई तृप्त पनि पार्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त यी खानाहरूले मानव शरीरलाई आवश्यक दैनिक पोषक तत्त्वहरू पूर्ति गर्छन्। परमेश्‍वरले मानवजातिको निम्ति खाना तयार गर्नुहुँदा यी कुराहरूमा ध्यान दिनुभयो। तरकारी र मासु—के यो प्रशस्त छैन र? तर मानवजातिको निम्ति सबै खानेकुरा उपलब्ध गराउनुको पछाडि परमेश्‍वरको उद्देश्य के छ भन्‍ने कुरा मानिसहरूले बुझ्‍नुपर्छ। के यो मानिसहरूलाई खानेकुरामा चाहिनेभन्दा बढी लिप्त गराउनलाई थियो? मानिस यी भौतिक चाहनाहरू तृप्त गर्ने प्रयासमा अल्झियो भने के हुन्छ? के उसले चाहिनेभन्दा बढी पोषण प्राप्त गर्दैन र? के अत्यन्तै धेरै पोषणले मानव शरीरलाई धेरै किसिमले सताउँदैन र? (सताउँछ।) यही कारणले गर्दा, परमेश्‍वरले ठीक समयमा ठीक परिमाण दिनुहुन्छ र मानिसलाई मानिसहरूको आनन्दको निम्ति फरकफरक समय र ऋतुहरूमा फरकफरक किसिमका खानाहरू दिनुहुन्छ। उदाहरणको लागि, धेरै गर्मी ग्रीष्म ऋतुपछि मानिसहरूको शरीरमा धेरै ताप र रोगजन्य सुक्खापन तथा आर्द्रता जम्मा हुन्छ। जब शरद् ऋतु आउँछ, धेरै किसिमका फलफूलहरू पाक्छन् र जब मानिसहरूले ती फलफूलहरू खान्छन् तिनीहरूको शरीरमा भएको आर्द्रता बाहिर निस्कन्छ। यस समयमा, गाईवस्तु र भेडाहरू पनि बलिया भएका हुन्छन्, यसैले मानिसहरूले यस बेला पोषणको निम्ति धेरै मासु खानुपर्छ। विविध किसिमका मासु खाएर मानिसहरूको शरीरले हिउँदको जाडो सहन सहयोग पुर्‍याउने शक्ति र न्यानोपन प्राप्त गर्छ, फलस्वरूप तिनीहरू सुरक्षित र स्वस्थ रहेर हिउँद कटाउन सक्षम हुन्छन्। मानवजातिलाई के कुरा कहिले उपलब्ध गराउने, अनि उहाँले कहिले विभिन्‍न कुराहरूलाई वृद्धि गराउनुहुनेछ, फल फलाउनुहुनेछ र ती फललाई पकाउनुहुनेछ भन्‍ने कुरालाई परमेश्‍वरले अत्यन्तै वास्ता र सूक्ष्मताका साथ नियन्त्रण र समन्वय गर्नुहुन्छ। यो “परमेश्‍वरले मानिसलाई दैनिक जीवनमा आवश्यक पर्ने खाना कसरी तयार गर्नुहुन्छ” भन्‍ने वाक्यसँग सम्बन्धित छ। विभिन्‍न किसिमका खानाका अतिरिक्त, परमेश्‍वरले पानीका स्रोतहरू पनि उपलब्ध गराउनुभएको छ। खाना खाएपछि मानिसहरूले पानी पनि पिउनुपर्छ। के फलफूल मात्रै पर्याप्त छ त? मानिसहरू फलफूलले मात्र बाँच्‍न सक्दैनन्, यसबाहेक केही मौसममा त फलफूल नै हुँदैन। यसैले, मानवजातिको पानीसम्‍बन्धी समस्यालाई कसरी समाधान गर्न सकिन्छ त? जमिनमाथि र मुनि ताल, नदी र मूलहरूलगायतका पानीका धेरै स्रोतहरूको तयारी गरेर परमेश्‍वरले यसको समाधान गर्नुभएको छ। यी पानीका स्रोतहरू प्रदूषित नहुन्जेलसम्म र मानिसहरूले तिनलाई हेरफेर वा नष्ट नगरुन्जेलसम्म ती पिउनयोग्य हुन्‍छन्। अर्को शब्दमा, मानवजातिको भौतिक शरीरको जीवन धान्‍ने खानाका स्रोतहरूको सम्बन्धमा परमेश्‍वरले एकदमै स्पष्ट, अत्यन्तै सही र अत्यन्तै उचित तयारीहरू गर्नुभएको छ, ताकि मानिसहरूको जीवन केही कुराको अभावविना सम्पन्‍न र भरपूर होस्। यो मानिसहरूले महसुस गर्न सक्‍ने र देख्‍न सक्‍ने कुरा हो।

यसका अतिरिक्त, परमेश्‍वरले सबै थोकमाझ केही बोटबिरुवा, जनावर र विभिन्‍न किसिमका जडीबुटीहरूको सृष्टि गर्नुभयो, जसले मानव शरीरका चोट वा बिमारीहरू निको पार्ने काम गर्छन्। उदाहरणको निम्ति, कसैलाई आगोले पोल्यो वा दुर्घटनावश उसले आफैलाई तातो पानीले जलायो भने के गर्नुपर्छ? के तैँले जलेको भागलाई पानीले धुन सक्छस्? के तैँले त्यसलाई कुनै पुरानो कपडाले बाँध्‍न सक्छस्? यदि तैँले त्यसो गरिस् भने घाउमा पीप भरिन वा सङ्क्रमण हुन सक्छ। उदाहरणको लागि, यदि कसैलाई ज्वरो आयो वा चिसो लाग्यो; काम गर्दा चोट लाग्यो; गलत कुरा खाएर पेट खराब भयो; जीवनशैली वा भावनात्मक कुराहरूको कारण विकास हुने रक्तवाहिनी नलीसँग सम्बन्धित रोग, मनोविज्ञानसँग सम्बन्धित वा भित्री अङ्गहरूसँग सम्बन्धित रोगहरू लाग्यो; यदि यस्तो भयो भने तिनीहरूका रोगहरू निको पार्नका लागि त्यसैअनुरूपका वनस्पतिहरू छन्। रक्त सञ्‍चारमा सुधार गर्ने र दूषित कुरा हटाउने, पीडा कम गर्ने, रक्तस्राव रोक्‍ने, दुखाइ कम गर्ने, छालालाई निको पारेर सामान्य अवस्थामा फर्काउन र रक्त गतिहीनता हटाउने र शरीरबाट विषाक्त कुराहरू बाहिर निकाल्ने—छोटकरीमा भन्दा, दैनिक जीवनमा यी वनस्पतिहरूका प्रयोगहरू छन्। मानिसहरूले तिनको प्रयोग गर्न सक्छन् र आवश्यक परेको बेला प्रयोग गर्न सकियोस् भनेर नै परमेश्‍वरले मानव शरीरको लागि यिनीहरू तयार गर्नुभएको हो। तीमध्ये कतिपयको बारेमा परमेश्‍वरले मानिसलाई संयोगवश पत्ता लगाउन दिनुभयो, जबकि बाँकी कुराहरूको बारेमा भने कि त परमेश्‍वरले छनौट गर्नुभएका मानिसहरूले पत्ता लगाए कि त उहाँले तारतम्य मिलाउनुभएका विशेष घटनाहरूको कारण आफै पत्ता लाग्यो। यी वनस्पतिहरू भेटिएपछि, मानवजातिले तिनलाई पुस्ताहरूमा हस्तान्तरण गरे अनि धेरै मानिसहरूलाई तिनको बारेमा थाहा भयो। परमेश्‍वरले सृष्टि गर्नुभएका यी वनस्पतिहरूका मूल्य र अर्थ छन्। सारांशमा, यी सबै थोक परमेश्‍वरबाट आएका, उहाँले मानवजातिको अस्तित्वको वातावरण तयार गर्ने क्रममा उहाँले तयार गर्नुभएका र रोप्‍नुभएका कुराहरू हुन्। तिनीहरू अत्यावश्यक छन्। के परमेश्‍वरका सोचविचार प्रक्रियाहरू मानवजातिका भन्दा विस्तृत छन्? जब तँ परमेश्‍वरले गर्नुभएका सबै थोक देख्छस्, के तैँले परमेश्‍वरको व्यवहारिक पक्षलाई अनुभूति गर्छस्? परमेश्‍वरले गुप्त रूपमा काम गर्नुहुन्छ। परमेश्‍वरले यी सबैको सृष्टि मानिस संसारमा आउनुभन्दा अगाडि नै, उहाँले मानिसलाई सम्पर्क गर्नुभन्दा अगाडि नै गर्नुभयो। सबै कुरा मानवजातिलाई ध्यानमा राखेर, मानिसको अस्तित्वको खातिर र तिनीहरूको अस्तित्वलाई सोचेर गरिएका थिए, ताकि मानवजाति तिनीहरूको निम्ति तयार पारिएको यस सम्पन्‍न र प्रचुर भौतिक संसारमा खुसीसाथ खाना र वस्‍त्रको चिन्ता नगरी कुनै कुराको अभावविना बाँचोस्। यस्तो वातावरणमा मानवजाति निरन्तर प्रजनन गर्न र जिउन सक्छ।

परमेश्‍वरका सबै ठूला र साना कार्यहरूमध्ये, के त्यहाँ कुनै महत्त्व वा अर्थ नभएको कुनै कार्य छ? उहाँले गर्ने सबै कुराको महत्त्व वा अर्थ हुन्छ। हामी छलफललाई सामान्य विषयको साथमा सुरु गरौं। मानिसले प्रायः सोध्छन्: कुन पहिले उत्पत्ति भयो, कुखुरा वा अण्डा? (कुखुरा।) कुखुरा पहिले उत्पत्ति भएको हो, यसमा कुनै शङ्का छैन! किन कुखुराको पहिले उत्पत्ति भएको हो? किन पहिले अण्डाको उत्पत्ति हुन सकेन? के कुखुरा अण्डाबाट निस्किने होइन र? एक्‍काइस दिनपछि, चल्ला कोरलिन्छ र त्यसपछि त्यो कुखुराले अझै धेरै अण्डाहरू पार्छ र ती अण्डाहरूबाट थप कुखुराहरू निस्कन्छन्। त्यसैले कुखुरा र अण्डामा कुन पहिले उत्पत्ति भयो? तिमीहरूले पूर्ण निश्‍चयताका साथ “कुखुरा” भन्‍ने जवाफ दिन्छौ। तर किन तिमीहरूको यो जवाफ हुन्छ त? (बाइबलले भन्छ कि परमेश्‍वरले चरा र जनावरहरूको सृष्टि गर्नुभयो।) त्यसैले, तिमीहरूको जवाफ बाइबलमा आधारित छ। तर म तिमीहरूको आफ्नै बुझाइको बारेमा कुरा गर्न चाहन्छु, ताकि म तिमीहरूसँग परमेश्‍वरका कार्यहरूको बारेमा कुनै व्यवहारिक ज्ञान छ कि भनी देख्‍न सकूँ। अब, के तिमीहरू आफ्नो जवाफमा ढुक्‍क छौ, कि छैनौ? (परमेश्‍वरले कुखुराको सृष्टि गर्नुभयो, त्यसपछि यसलाई प्रजननको क्षमता प्रदान गर्नुभयो, जसको अर्थ ओथारो बसी अण्डा कोरल्ने क्षमता हो।) यो व्याख्या केही हदसम्म सही छ। कुखुराको पहिले उत्पत्ति भयो र त्यसपछि अण्डाको। यो निश्‍चित हो। यो विशेष रूपले गहन रहस्य होइन, तर संसारका मानिसहरूले तैपनि यसलाई गहन भएको विचार गर्छन् र यसलाई दार्शनिक सिद्धान्तहरूको साथमा सुल्झाउने प्रयास गर्छन्, जुन कहिल्यै पनि निष्कर्षमा पुग्दैन। यो कुरा मानिसहरूलाई परमेश्‍वरले आफूलाई सृष्टि गर्नुभएको हो भनी थाहा नभएको बेलाको जस्तै हो। तिनीहरूलाई यो आधारभूत सिद्धान्त थाहा छैन, न त तिनीहरूसँग अण्डा वा कुखुरामा कुन पहिले उत्पत्ति भएको भन्‍नेबारेमा स्पष्ट विचार नै छ। उनीहरूलाई कुन पहिले उत्पत्ति भएको हुनुपर्छ भन्‍ने कुरा थाहा छैन, त्यसैले उनीहरू कहिल्यै पनि जवाफ पत्ता लगाउन सक्षम हुँदैनन्। कुखुरा पहिले उत्पत्ति भएको कुरा काफी प्राकृतिक छ। यदि कुखुराभन्दा पहिले नै त्यहाँ अण्डा भइदिएको भए, त्यो असाधारण हुन्थ्यो! यो यति सरल कुरा हो—निश्‍चय नै कुखुराको पहिले उत्पत्ति भएको हो। यो उच्‍च ज्ञान आवश्यक पर्ने प्रश्‍न होइन। परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुभयो, ताकि मानिसले यसको आनन्द उठाउन सकोस्। एकपटक कुखुरा अस्तित्वमा आएपछि, अण्डाले प्रकृतिको मार्ग पालन गर्दछ। के यो सहज समाधान होइन त? यदि अण्डाको पहिले सृष्टि भएको भए, के यसलाई कोरल्नको लागि कुखुरा चाहिने थिएन र? सीधै कुखुराको सृष्टि गर्नु थप सहज समाधान हो। यो तरिकाले, कुखुराले अण्डा पार्न सक्थ्यो र यसभित्रका कुखुराहरूलाई कोरल्न सक्थ्यो र मानिसहरूले खानको लागि कुखुरा पाउँथे। कति सजिलो! परमेश्‍वरले गर्नुहुने कार्यहरू कति सफा र स्वच्छ छन्, बिलकुलै जटिल छैनन्। अण्डा कहाँबाट उत्पत्ति भयो? यो कुखुराबाट आउँछ। कुखुराविना कुनै पनि अण्डा हुन सक्दैन। परमेश्‍वरले सृष्टि गर्नुभएको कुरा सजीव वस्तु हो! मानवजाति विवेकहीन र हास्यास्पद छ, जो सधैँ यस्ता साधारण कुराहरूमा अल्झिरहन्छ र हास्यास्पद भ्रमहरूमा पुग्छ। मानिस कस्तो बच्‍चाजस्तो छ! अण्डा र कुखुराको सम्बन्ध स्पष्ट छ: कुखुराको पहिले उत्पत्ति भएको हो। यो नै सबैभन्दा सही व्याख्या हो, यो नै यसलाई बुझ्ने सबैभन्दा सही तरिका हो र यो नै सबैभन्दा सही जवाफ हो। यो नै सही हो।

हामीले भर्खरै कुन-कुन विषयहरूमा छलफल गर्‍यौं? हामीले मानवजाति बसोबास गर्ने वातावरण र परमेश्‍वरले त्यो वातावरणको लागि जे गर्नुभयो र उहाँले जे-जस्तो तयारी गर्नुभयो सोबारेमा कुरा गर्दै छलफल सुरु गर्‍यौं। हामीले उहाँले के व्यवस्थित गर्नुभयो; परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुभएका सृष्टिका वस्तुहरूबीचको सम्बन्ध; र परमेश्‍वरले आफूले सृष्टि गर्नुभएका यी कुराहरूले मानवजातिलाई हानि गर्नबाट रोक्‍न यी सम्बन्धहरूलाई कसरी व्यवस्थित गर्नुभयो भन्‍ने विषयमा छलफल गर्यौं। परमेश्‍वरले उहाँको सृष्टिभित्र भएका विभिन्‍न कारक तत्त्वहरूबाट मानवजातिको वातावरणमा हुन सक्‍ने हानिलाई न्यूनीकरण गर्नुभयो, जसले सबै कुराहरूलाई आ-आफ्नो उच्‍चतम उद्देश्य पूरा गर्न र मानवजातिलाई लाभदायक तत्त्वहरूसहितको उपयोगी वातावरण निर्माण गर्नमा मदत गर्छ, र यसबाट मानवजाति यस्तो वातावरणमा अनुकूलन गर्न र जीवन र प्रजननको चक्रलाई लगातार जारी राख्‍न सक्षम बन्छ। अर्को कुरा, हामीले मानव शरीरलाई आवश्यक पर्ने खाना—मानवजातिको दैनिक खाद्य र पेयपदार्थको बारेमा कुरा गर्‍यौं। यो मानवजाति बाँच्‍नको लागि आवश्यक पर्ने अवस्था पनि हो। भन्‍नुको मतलब, मानव शरीर सास फेरेर मात्र, घाम, हावा वा उपयुक्त तापक्रमहरूले मात्र बाँच्न सक्दैन। मानवजातिले आफ्नो पेट पनि भर्न आवश्यक हुन्छ र परमेश्‍वरले कुनै कुराको पनि नजरअन्दाज नगरी तिनीहरूले पेट भर्न सक्‍ने वस्तुहरूको स्रोत तयार पार्नुभयो, र तिनीहरू नै मानवजातिको खानाको स्रोत हुन्। जब तैँले यस्तो प्रशस्त र यथेष्ट उत्पादन—मानवजातिको खाद्य र पेयपदार्थको स्रोत—देखेको हुन्‍छस्, के तँ परमेश्‍वर नै मानवजाति र उहाँको सृष्टिका सबै वस्तुहरूको लागि आपूर्तिको स्रोत हुनुहुन्छ भनेर भन्‍न सक्छस्? यदि सृष्टिको समयमा, परमेश्‍वरले निश्‍चित सङ्ख्यामा रूखहरू वा घाँस वा कुनै पनि संख्यामा अन्य जीवित वस्तुहरू सृष्टि गर्नुभएको भए र यदि यी विभिन्‍न जीवित वस्तुहरू र बिरुवाहरू गाई र भेडाले खानको लागि वा वनघोडा, मृग र अन्य विभिन्‍न प्रकारका जनावरहरूले खानको लागि मात्र भएको भए, र यसै गरी सिंहहरूले वनघोडा र मृगजस्ता जन्तुहरू र बाघहरूले भेडा र सुँगुरजस्ता जन्तुहरू खान्थे भने—तर मानवको लागि खानलाई उपयुक्त कुरा एउटा पनि नभएको भए, के त्यसले काम गर्थ्यो त? त्यसले काम गर्दैनथ्यो। मानवजाति धेरै समयसम्म बाँच्न सक्षम हुँदैनथ्यो। मानवले पातहरू मात्र खाने भएको भए के हुन्थ्यो? के त्यसले काम गर्थ्यो त? के मानिसले भेडाको लागि बनेको घाँस खान सक्थ्यो? तिनीहरूले थोरै खाएका भए त यसले हानि गर्दैनथ्यो होला, तर यदि तिनीहरूले यस्तो कुरा लामो समयसम्म खाएको भए, तिनीहरूको पेटले यसलाई सहन सक्दैनथ्यो र मानिसहरू लामो समयसम्म बाँच्दैनथे। यसमा यस्ता कुराहरू पनि छन् जुन जनावरहरूले खान सक्छन् तर मानवहरूका लागि ती विषालु छन्—जनावरहरूले तिनीहरूलाई कुनै पनि नराम्रो परिणामविना नै खान सक्छन्, तर ती कुरा मानवहरूको लागि त्यस्तै हुँदैनन्। भन्‍नुको मतलब, परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, त्यसैले परमेश्‍वरलाई नै सबैभन्दा उत्तम रूपमा मानव शरीरको सिद्धान्त र संरचनाका साथै मानवलाई के आवश्यक हुन्छ भन्‍ने ज्ञान छ। परमेश्‍वरलाई शरीरको संरचना र यसभित्रका विभिन्‍न तत्त्वहरू, यसका आवश्यकताहरू र यसका आन्तरिक अङ्गहरूका कार्यहरू र तिनीहरूले विभिन्‍न पदार्थहरू कसरी सोस्छन्, हटाउँछन् र पचाउँछन् भन्‍ने कुरा सबैभन्दा स्पष्ट रूपमा थाहा छ। मानवलाई यो कुरा थाहा हुँदैन; कहिलेकाहीँ तिनीहरूले अति लापर्बाहीपूर्वक खान्छन् वा लापर्बाहीपूर्वक स्व-हेरचाह गर्छन्, जसको ज्यादा मात्राले केवल असन्तुलन गराउँछ। यदि तैँले परमेश्‍वरले तेरो लागि तयार गर्नुभएका कुराहरू साधारण तरिकाले खाइस् वा उपभोग गरिस् भने, तँमा कुनै पनि स्वास्थ्य समस्या हुनेछैन। यदि तैँले कहिलेकाहीँ खराब मनस्थितिको अनुभव गरिस् वा तँमा रक्त गतिहीनता भएमा समेत, यसले कुनै समस्या पार्नेछैन। तैँले निश्‍चत प्रकारका वनस्पति मात्र खानु आवश्यक हुन्छ र गतिरोध हट्नेछ। परमेश्‍वरले यी सबै कुराहरूको लागि तयारी गर्नुभएको छ। त्यसैले, परमेश्‍वरको नजरमा, मानवजाति अन्य सबै जीवित वस्तुहरूभन्दा धेरै माथिको हो। परमेश्‍वरले प्रत्येक प्रकारको वनस्पतिको लागि वातावरण तयार गर्नुभयो र उहाँले प्रत्येक प्रकारको जनावरको लागि खाना र वातावरण तयार गर्नुभयो, तर मानवजातिलाई वातावरणसम्बन्धी सबैभन्दा कठोर आवश्यकता हुन्छ र ती आवश्यकताहरूलाई नजरअन्दाज गर्न सकिँदैन; यदि तिनीहरूलाई नजरअन्दाज गरिएको भए, मानवजाति सामान्य तवरमा निरन्तर विकसित हुन, बाँच्न र प्रजनन गर्न सक्षम हुँदैनथ्यो। यो कुरा हृदयदेखि नै सबैभन्दा राम्रोसँग थाहा हुने परमेश्‍वर नै हुनुहुन्छ। जब परमेश्‍वरले यो काम गर्नुभयो, उहाँले अन्य कुनै पनि कुरामा भन्दा यसमा बढी महत्त्व दिनुभयो। सम्भवतः तैँले आफूले देख्‍ने र जीवनमा आनन्द लिने कुनै कुरा वा तँसँग जन्मदेखि भएका तैँले देख्‍ने र आनन्द लिने केही मामुली कुराहरूको महत्त्व अनुभूत गर्न तँ सक्षम छैनस् होला, तर परमेश्‍वरले तेरो लागि वर्षौँपहिले नै वा गोप्य रूपमा तयारीहरू गरिसक्‍नुभएको छ। सम्भव भएको सबैभन्दा बढी हदसम्म, परमेश्‍वरले मानवजातिको लागि प्रतिकूल वा मानव शरीरमा हानि गर्न सक्‍ने सबै नकारात्मक तत्त्वहरूलाई हटाउनुभएको वा साम्य पार्नुभएको छ। यसले के देखाउँछ त? के यसले उक्त समयमा परमेश्‍वरले मानवजातिलाई बनाउनुहुँदा उनीहरूप्रति रहेको उहाँको मनोवृत्तिलाई देखाउँछ? त्यो मनोवृत्ति के थियो? परमेश्‍वरको मनोवृत्ति सावधान र इमानदार प्रकृतिको थियो र यसले उहाँको बाहेक अरू कुनै पनि शत्रुबल वा बाह्य कारक वा अवस्थाहरूद्वारा हुने हस्तक्षेप सहन गर्दैनथ्यो। यसमा उक्त समय मानवजातिलाई सृष्टि गर्ने र व्यवस्थित गर्ने परमेश्‍वरको मनोवृत्ति देख्‍न सकिन्छ। अनि, परमेश्‍वरको मनोवृत्तिचाहिँ के हो त? बाँच्नको लागि वातावरण र मानवजातिले आनन्द लिने जीवनका साथै तिनीहरूको दैनिक खाद्य तथा पेयपदार्थ र दैनिक आवश्यकताहरूमार्फत, हामीले मानवजातिप्रति परमेश्‍वरको उत्तरदायित्वको मनोवृत्ति देख्‍न सक्छौं, जुन उहाँले मानिसको सृष्टि गर्नुभएदेखि नै कायम गर्दै आउनुभएको छ, यसको साथै उक्त समयमा मानवजातिलाई बचाउने उहाँको दृढ़ सङ्कल्प पनि देख्‍न सक्छौँ। के यी वस्तुहरूमा परमेश्‍वरको आधिकारिकता देख्‍न सकिने किसिमको छ? अनि उहाँको अद्‌भूतता नि? उहाँको अथाहपन? उहाँको सर्वशक्तिमान्‌ता? परमेश्‍वरले सबै मानवजातिको लागि आवश्यक कुराहरू प्रदान गर्न, साथै उहाँको सृष्टिका सबै थोकलाई भरणपोषण गर्नको लागि आफ्नो बुद्धिमान् र सर्वशक्तिमान् शैली प्रयोग गर्नुहुन्छ। अब मैले तँलाई धेरै कुरा भनिसकेको छु, के तँ भन्‍न सक्छस् कि सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ? (सक्छु।) त्यो निश्‍चय नै हो। के तँलाई कुनै शङ्का छ? (छैन।) सबै कुराको लागि परमेश्‍वरले गर्नुभएको प्रावधान नै सबै कुराहरूको लागि जीवनको स्रोत उहाँ नै हुनुहुन्छ भन्‍ने देखाउन पर्याप्त छ, किनभने सबै थोकलाई अस्तित्वमा रहन, जीवन जिउन, प्रजनन गर्न र निरन्तर रूपमा अघि बढिरहन सक्षम पार्ने उक्त प्रावधानको स्रोत उहाँ नै हुनुहुन्छ र परमेश्‍वर स्वयम्‌बाहेक अरू कुनै पनि स्रोत विद्यमान छैन। परमेश्‍वरले सबै थोकका सबै आवश्यकता र मानवजातिका पनि सबै आवश्यकता पूरा गर्नुहुन्छ, चाहे ती मानिसहरूका सबैभन्दा आधारभूत वातावरणीय आवश्यकताहरू हुन्, चाहे उनीहरूका दैनिक जीवनका आवश्यकताहरू हुन्, वा चाहे उहाँले मानिसहरूका आत्मालाई प्रदान गर्नुहुने सत्यताका आवश्यकता नै हुन्। हरेक प्रकारले परमेश्‍वरको पहिचान र उहाँको हैसियत मानवजातिको लागि ठूलो महत्त्वको हुन्छ; सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर मात्र हुनुहुन्छ। भन्‍नुको मतलब, परमेश्‍वर नै यो संसार अर्थात् मानिसले देख्‍न र अनुभव गर्न सक्‍ने यो संसारका शासक, मालिक र प्रदायक हुनुहुन्छ। मानवजातिको लागि, के यो परमेश्‍वरको पहिचान होइन र? यसमा कुनै पनि झूटो कुरा छैन। त्यसैले, जब तैँले आकाशमा चराहरू उडिरहेको देख्छस्, तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वरले उड्न सक्‍ने सबै कुराको सृष्टि गर्नुभयो। त्यसै गरी पानीमा पौडने जीवित वस्तुहरू पनि छन् र तिनीहरूको बाँच्ने आफ्नै तरिका हुन्छ। माटोमा बाँच्ने बिरुवाहरूले वसन्तमा कोपिला र मुना हाल्छन्, त्यसपछि फल लाग्छ र शरदमा पातहरू झर्न थाल्छन् र शिशिरमा ती बिरुवाहरूले जाडो छिचोल्ने तयारी गर्दा तिनीहरूका सबै पात झरिसकेका हुन्छन्। यो नै तिनीहरूको बाँच्ने तरिका हो। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो र हरेक वस्तु भिन्‍न स्वरूप र भिन्‍न तरिकामा बाँच्छ र हरेकले बाँच्ने कुरामा आफ्नो जीवनशक्ति र स्वरूप प्रदर्शन गर्न विभिन्‍न तरिकाहरू प्रयोग गर्छ। विभिन्‍न वस्तुहरू जे-जसरी बाँच्दै रहे पनि, तिनीहरू सबै परमेश्‍वरको नियमअन्तर्गत हुन्छन्। परमेश्‍वरले जीवनका सबै विभिन्‍न स्वरूप र जीवित वस्तुहरूमाथि शासन गर्नुको उद्देश्य के हो त? के यो मानवजातिको जीवनको लागि हो? उहाँले जीवनका सबै नियमहरू नियन्त्रण गर्नुहुन्छ, र यो सबै मानवजातिको जीवन-अस्तित्वको लागि गर्नुहुन्छ। यसले परमेश्‍वरको लागि मानवजातिको जीवन कति महत्त्वपूर्ण छ भनी देखाउँछ।

मानवजातिको सामान्य तवरमा बाँच्ने र प्रजनन गर्ने क्षमता परमेश्‍वरको लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसकारण, परमेश्‍वरले मानवजाति र उहाँको सृष्टिका सबै थोकको लागि निरन्तर आवश्यक कुराहरू प्रदान गरिरहनुभएको छ। उहाँले सबै थोकलाई विभिन्‍न तरिकाले र सबै थोकको जीवन-अस्तित्व कायम हुने गरी आवश्यक कुराहरू प्रदान गर्नुहुन्छ, उहाँले मानवताको साधारण जीवन-अस्तित्व कायम गर्दै मानवजातिलाई निरन्तर अघि बढ्न सक्षम बनाउनुहुन्छ। यो आजको हाम्रो सङ्गतिका दुई पक्षहरू हुन्। यी दुई पक्षहरू के-के हुन् त? (बृहत दृष्टिकोणबाट, परमेश्‍वरले वातावरणको सृष्टि गर्नुभयो जसमा मानिस बाँच्छ। यो पहिलो पक्ष हो। अनि परमेश्‍वरले मानवजातिको लागि आवश्यक पर्ने र उसले हेर्न र छुन सक्‍ने भौतिक वस्तुहरू पनि तयार गर्नुभयो।) हामीले हाम्रो मुख्य विषयलाई यी दुई पक्षहरूमार्फत सङ्गति गरेका छौँ। हाम्रो मुख्य विषय के हो त? (सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ।) अब तँलाई यो विषयको मेरो सङ्गतिमा किन यति धेरै विषयहरू छन् भन्‍नेबारेमा केही बुझाइ भएको हुनुपर्छ। के यसमा मुख्य विषयसँग असम्बन्धित कुनै छलफल भएको छ त? बिलकुलै छैन! सायद, यी कुराहरू सुनिसकेपछि, तिमीहरूमध्ये केहीले केही बुझाइ हासिल गरेका छौ र अहिले यी वचनहरू वजनदार र एकदमै महत्त्वपूर्ण भएको महसुस गर्छौ होला, तर अन्यसँग भने केही शाब्दिक बोध मात्र हुन सक्छ र उनीहरूले यी वचनहरू आफैमा महत्त्वपूर्ण नभएको महसुस गर्न सक्छन्। हालको क्षणमा तिमीहरूले यसलाई जे-जसरी बुझेको भए तापनि, जब तिमीहरूको अनुभव कुनै निश्‍चित दिनमा आइपुग्छ, जब तिमीहरूको बुझाइ कुनै निश्‍चित बिन्दुमा पुग्छ, अर्थात्, जब परमेश्‍वरका कार्यहरू र परमेश्‍वर स्वयम्‌को बारेमा तिमीहरूको ज्ञान निश्‍चत स्तरमा पुग्छ, तब तिमीहरूले परमेश्‍वरका कार्यहरूको बारेमा गहन र सच्‍चा साक्षी दिन आफ्नै शब्दहरू प्रयोग गर्नेछौ, र ती शब्दहरू व्यवहारिक हुनेछन्।

मलाई लाग्छ, तिमीहरूको हालको बुझाइ अझै काफी सतही र शाब्दिक छ, तर मेरो सङ्गतिका यी दुई पक्षहरू सुनिसकेपछि, के तिमीहरूले कम्तीमा पनि परमेश्‍वरले मानवजातिको लागि आवश्यक कुराहरू प्रदान गर्न कस्ता विधिहरू प्रयोग गर्नुहुन्छ वा परमेश्‍वरले मानवजातिलाई के-कस्ता कुराहरू प्रदान गर्नुहुन्छ भनेर पहिचान गर्न सक्छौ? के तिमीहरूसँग आधारभूत अवधारणा, आधारभूत बुझाइ छ? (छ।) तर के मैले सङ्गति गरेका यी दुई पक्षहरू बाइबलसँग सम्बन्धित छन्? के तिनीहरू राज्यको युगमा हुने परमेश्‍वरको न्याय र सजायसँग सम्बन्धित छन्? (छैनन्।) त्यसो भए, मैले किन तिनीहरूको बारेमा सङ्गती गरेँ त? के यो, मानिसहरूले परमेश्‍वरलाई चिन्‍नको लागि ती कुराहरू बुझ्नैपर्ने भएकोले हो? (हो।) यी कुराहरूको बारेमा जान्‍नु एकदमै आवश्यक छ र यी कुराहरूलाई बुझ्नु पनि एकदमै जरुरी छ। तैँले परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा बुझ्न खोज्दा, आफूलाई बाइबलमा सीमित नगर् र आफूलाई परमेश्‍वरले मानिसमाथि गर्नुहुने न्याय र सजायमा सीमित नगर्। मैले यो भन्‍नुको उद्देश्य के हो? परमेश्‍वर केवल उहाँले चुन्‍नुभएका मानिसहरूको मात्र परमेश्‍वर हुनुहुन्‍न भनेर मानिसहरूलाई थाहा दिनु हो। तैँले हाल परमेश्‍वरलाई पछ्याउँछस् र उहाँ तेरो परमेश्‍वर हुनुहुन्छ, तर के उहाँलाई नपछ्याउनेहरूको पनि उहाँ परमेश्‍वर हुनुहुन्छ त? के परमेश्‍वर उहाँलाई नपछ्याउने सबै मानिसहरूको परमेश्‍वर हुनुहुन्छ? के परमेश्‍वर सबै थोकको परमेश्‍वर हुनुहुन्छ? (हुनुहुन्छ।) त्यसो भए, के परमेश्‍वरका काम कार्बाहीहरूको दायरा केवल उहाँलाई पछ्याउनेहरूमा मात्र सीमित हुन्छ त? (होइन।) उहाँका काम कार्बाहीहरूको दायरा के हो त? सबैभन्दा सानो स्तरमा, उहाँका काम कार्बाहीहरूको दायराले सबै मानवजाति र सृष्टिका सबै कुराहरू समेट्छ। उच्‍चतम स्तरमा यसले सम्पूर्ण ब्रह्माण्ड समेट्छ जुन मानिसहरूले देख्‍न सक्दैनन्। त्यसैले, हामीले भन्‍न सक्छौं कि परमेश्‍वरले सबै मानवजातिमाझ आफ्ना काम कार्बाही गर्नुहुन्छ र यो कुरा मानिसलाई परमेश्‍वर स्वयम्‌को बारेमा सम्पूर्ण रूपमा जान्‍न दिन काफी हुन्छ। यदि तँ परमेश्‍वरलाई चिन्‍न, उहाँको बारेमा साँचो रूपमा जान्‍न, उहाँलाई साँचो रूपमा बुझ्न चाहन्छस् भने, आफूलाई केवल परमेश्‍वरको कार्यका तीन चरणहरूमा वा उहाँले विगतमा गर्नुभएका कार्यका कथाहरूमा सीमित नगर्। यदि तैँले उहाँलाई त्यो तरिकाले जान्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरमाथि सीमितता लगाउँदै छस्, उहाँलाई नियन्त्रण गर्दै छस्। तैँले परमेश्‍वरलाई एकदमै सानो केही कुराको रूपमा हेर्दै छस्। त्यसो गर्नाले मानिसहरूलाई कसरी प्रभाव पर्न सक्छ? तँ कहिल्यै पनि परमेश्‍वरको अद्‌भूतता वा सर्वोच्‍चता जान्‍न सक्षम हुनेछैनस्, न त उहाँको शक्ति र सर्वशक्तिमान्‌ता र उहाँको अख्तियारको क्षेत्रको बारेमा नै जान्‍न सक्‍नेछस्। यस्तो बुझाइले परमेश्‍वर नै सबै थोकको शासक हुनुहुन्छ भन्‍ने तथ्‍यलाई स्वीकार्ने तेरो क्षमताका साथै परमेश्‍वरको साँचो परिचय र हैसियतसम्बन्धी तेरो ज्ञानलाई प्रभावित तुल्याउनेछ। अर्को शब्दमा, यदि परमेश्‍वरसम्‍बन्धी तेरो बुझाइको दायरा सीमित भएमा, तैँले प्राप्त गर्ने सक्‍ने कुरा पनि सीमित नै हुन्छ। त्यस कारणले गर्दा, तैँले आफ्नो दायरा फराकिलो पार्नुपर्छ र आफ्ना क्षितिजहरू विस्तार गर्नुपर्छ। तैँले यो कुरालाई सम्पूर्ण रूपमा बुझ्ने कोसिस गर्नुपर्छ—परमेश्‍वरको कार्यको दायरा, उहाँको व्यवस्थापन, उहाँको शासन, अनि उहाँले व्यवस्थापन र शासन गर्नुहुने सबै कुराहरू। यी कुराहरूमार्फत तैँले परमेश्‍वरका कार्यहरूको बरेमा बुझ्न सक्‍नुपर्छ। यस्तो बुझाइ भएमा, तैँले थाहै नपाई, परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, तिनीहरूको व्यवस्थापन गर्नुहुन्छ र तिनीहरूलाई आवश्यक कुराहरू प्रदान गर्नुहुन्छ भन्‍ने कुरा महसुस गर्नेछस् र तैँले आफू पनि यी सबै थोकको एक हिस्सा र एक सदस्य भएको पनि साँचो रूपले महसुस गर्नेछस्। परमेश्‍वरले सबै थोकका लागि आवश्यक कुराहरू प्रदान गर्नुहुने भएकोले, तैँले पनि परमेश्‍वरको शासन र प्रावधान स्वीकार गरिरहेको छस्। यो एक तथ्य हो जसलाई कसैले पनि नकार्न सक्दैन। सबै थोक परमेश्‍वरको शासनअन्तर्गत आफ्नै नियमहरूको अधीनमा हुन्छन् र परमेश्‍वरको शासनअन्तर्गत, सबै थोकसँग बाँच्नको लागि आफ्नै नियमहरू हुन्छन्। मानवजातिको नियति र आवश्यकताहरू पनि परमेश्‍वरको शासन र प्रावधानसँग बाँधिएका हुन्छन्। त्यस कारणले गर्दा नै, परमेश्‍वरको प्रभुत्व र शासनअन्तर्गत, मानवजाति र सबै थोक अन्तर्सम्‍बन्धित, अन्तर्निर्भर र अन्तर्जडित हुन्छन्। यो नै परमेश्‍वरले सबै थोक सृष्टि गर्नुको उद्देश्य र महत्त्व हो।

फेब्रुवरी २, २०१४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्