परमेश्‍वर स्वयम् अद्वितीय १०

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (४) - भाग चार

मानवजातिप्रति परमेश्‍वरका मापदण्डहरू

१. परमेश्‍वर स्वयम्‌को पहिचान र हैसियत

हामी “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने विषय, साथै “परमेश्‍वर अद्वितीय परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ” भन्‍ने विषयको अन्त्यमा आइपुगेका छौं। त्यसो भएको हुनाले, हामीले यी कुराहरूको सारांश प्रदान गर्नु आवश्यक छ। हामीले कस्तो किसिमको सारांश प्रदान गर्नुपर्छ? यो परमेश्‍वर स्वयम्‌सँग सम्‍बन्धित निष्कर्ष हो। त्यसो भएको हुनाले, परमेश्‍वरको हरेक पक्ष, साथै मानिसहरूले परमेश्‍वरलाई कसरी विश्‍वास गर्छन् त्यससँग यसको अपरिहार्य सम्‍बन्ध हुनुपर्छ। त्यसैले, मैले पहिले तिमीहरूलाई सोध्‍नुपर्छ: यी प्रवचनहरू सुनिसकेपछि, तिमीहरूको मनको आँखामा, परमेश्‍वर को हुनुहुन्छ त? (सृष्टिकर्ता।) तिमीहरूको मनको आँखामा, परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ। के अरू कुनै कुरा छ? परमेश्‍वर सबै थोकका प्रभु हुनुहुन्छ। के यी शब्‍दहरू उचित छन्? (छन्।) सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा उहाँले नै सृष्टि गर्नुभएको हो, अस्तित्वमा भएका सबै कुरामाथि उहाँले नै प्रशासन चलाउनुहुन्छ, र अस्तित्वमा भएका सबै थोकमाथि उहाँले नै शासन गर्नुहुन्छ, र अस्तित्वमा भएका सबै थोकलाई उहाँले नै भरणपोषण गर्नुहुन्छ। परमेश्‍वरको हैसियत यही हो, र उहाँको पहिचान यही हो। सबै थोक र अस्तित्वमा रहेका सबै कुराको लागि, परमेश्‍वरको साँचो पहिचान भनेको सबै सृष्टिको सृष्टिकर्ता र शासक हो। परमेश्‍वरको पहिचान यही हो, र उहाँ सबै थोकका बीचमा अद्वितीय हुनुहुन्छ। परमेश्‍वरका कुनै पनि सृष्टिहरूले—चाहे तिनीहरू मानवजातिका बीचमा होऊन् वा आत्मिक संसारमा होऊन्—परमेश्‍वरको पहिचान र हैसियतलाई अनुकरण गर्न वा प्रतिस्थापन गर्नको लागि कुनै पनि माध्यम वा बहानाको प्रयोग गर्न सक्दैनन्, किनभने सबै थोकको बीचमा यो पहिचान, शक्ति, अख्तियार, र सृष्टिमाथि शासन गर्ने यो क्षमता भएको एक मात्रै हुनुहुन्छ: हाम्रा अद्वितीय परमेश्‍वर स्वयम्। उहाँ सबै थोकमाझ जिउनुहुन्छ र घुमफिर गर्नुहुन्छ; उहाँ सबैभन्दा उच्‍च स्थानमा, सबै थोकभन्दा माथि उठ्न सक्‍नुहुन्छ। मानिस बनेर, देह र रगतकाहरूमध्ये एक बनेर, मानिसहरूको आमने-सामने आएर अनि तिनीहरूसँग खुशी र दुःख बाँडेर उहाँले आफैलाई नम्र तुल्याउन सक्‍नुहुन्छ, यसको साथै उहाँले अस्तित्वमा रहेका सबै थोकको नियति र यो सबै अघि बढ्ने दिशा निर्धारण गर्दै अस्तित्वमा रहेका सबै थोकमाथि हुकुम चलाउनुहुन्छ। यसको साथै, उहाँले सारा मानवजातिको नियतिलाई मार्गनिर्देशित गर्नुहुन्छ, र मानवजातिको दिशा तय गर्नुहुन्छ। यस्तो परमेश्‍वरलाई सबै मानवजातिले आराधना गर्नुपर्छ, आज्ञापालन गर्नुपर्छ, र चिन्‍नुपर्छ। यसरी, तँ मानवजातिको जुनसुकै समूह वा प्रकारमा भए तापनि, परमेश्‍वरलाई विश्‍वास गर्नु, परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरलाई श्रद्धा गर्नु, उहाँको सार्वभौमिकतालाई स्वीकार गर्नु र तेरो भाग्यको लागि उहाँका बन्दोबस्तहरूलाई स्वीकार गर्नु कुनै पनि व्यक्ति र कुनै पनि जीवित प्राणीको लागि एउटै मात्र विकल्‍प हो, अर्थात् अत्यावश्यक छनौट हो। परमेश्‍वरको अद्वितीयपनमा, मानिसहरूले उहाँको अख्‍तियार, उहाँको धर्मी स्वभाव, उहाँको सार देख्छन् अनि उहाँले सबै थोकलाई भरणपोषण गर्ने माध्यमहरू सबै पूर्ण रूपमा अद्वितीय रहेको देख्छन्; यो अद्वितीयपनले परमेश्‍वर स्वयम्‌को साँचो पहिचानलाई निर्धारित गर्छ, र यसले उहाँको हैसियतलाई पनि निर्धारित गर्छ। त्यसकारण, सारा सृष्टिको बीचमा, परमेश्‍वरको अनुकरण गर्ने प्रयास असम्‍भव भएझैँ आत्मिक संसारमा वा मानवजातिको बीचमा रहेको कुनै पनि जीवित प्राणीले परमेश्‍वरको स्थानमा खडा हुने इच्‍छा गर्थ्यो भने, त्यस कार्यमा सफलता मिल्न असम्‍भव हुनेथियो। तथ्य यही नै हो। यस्तो सृष्टिकर्ता र शासक, जोसँग परमेश्‍वर स्‍वयम्‌को पहिचान, शक्ति, र हैसियत छ, मानवजातिप्रति उहाँका मापदण्डहरू के-के छन् त? यो कुरा सबैको लागि स्पष्ट हुनुपर्ने हो, र यसलाई सबैले याद गर्नुपर्ने हो; यो परमेश्‍वर र मानिस दुवैको लागि अत्यन्तै महत्त्वपूर्ण छ।

२. परमेश्‍वरप्रति मानवजातिका विभिन्‍न मनोवृत्तिहरू

मानिसहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्छन् त्यसले तिनीहरूको भवितव्यका साथै परमेश्‍वरले कसरी तिनीहरूसित व्यवहार गर्नुहुन्छ र तिनीहरूको निराकरण गर्नुहुन्छ त्यसलाई निर्धारित गर्छ। यस विन्दुमा, म मानिसहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्छन् त्यसका केही उदाहरणहरू दिन्छु। हामी सुनौं र तिनीहरूले परमेश्‍वरको सामुन्ने गर्ने व्यवहारको तरिका र मनोवृत्ति सही छन् कि छैनन् हेरौं। हामी निम्‍न सात प्रकारका मानिसहरूका आचरणको बारेमा विचार गरौं।

१) एक प्रकारको व्यक्ति छ, परमेश्‍वरप्रति जसको मनोवृत्ति निश्‍चित रूपमा मूर्ख किसिमको छ। यी मानिसहरूले परमेश्‍वर बोधिसत्त्व वा मानव ज्ञानका पवित्र प्राणी हुनुहुन्छ, र मानिसले भेट्दा तीन पटक निहुरेर दण्डवत् गर्नुपर्छ, र हरेक पटक खानपान गर्दा धूप बाल्‍नुपर्छ भन्‍ने ठान्छन्। परिणामस्वरूप, तिनीहरू जब-जब उहाँको अनुग्रहप्रति अत्यन्तै आभारी हुन्छन् र उहाँप्रति कृतज्ञताको अनुभूति गर्छन्, तिनीहरूले प्रायजसो यस्तै आवेगपूर्ण कार्य गर्छन्। त्यसरी तिनीहरूले आफूले आज विश्‍वास गर्ने परमेश्‍वरले, आफूले आफ्‍नो हृदयमा अत्यन्तै चाहना गरेको पवित्र प्राणीले जस्तै, भेट हुँदा तीन पटक ढोग्‍ने र हरेक खानामा धूप बाल्‍ने कार्यलाई स्वीकार गरून् भन्‍ने चाहना गर्छन्।

२) कतिपय मानिसहरूले परमेश्‍वरलाई सबै जीवित प्राणीलाई कष्टबाट मुक्त गर्न र तिनीहरूलाई मुक्ति दिन सक्‍ने जीवित बुद्धको रूपमा हेर्छन्; तिनीहरूले उहाँलाई कष्टको सागरबाट तिनीहरूलाई टाढा लैजान सक्‍ने जीवित बुद्धको रूपमा हेर्छन्। परमेश्‍वरमाथिको यी मानिसहरूको विश्‍वासमा यिनीहरूले उहाँलाई बुद्धलाई जस्तै आराधना गर्ने कार्य पर्छ। तिनीहरूले धूप बाल्‍ने, प्रणाम गर्ने, वा भेटी दिने कार्य नगर्ने भए तापनि, अन्तस्करणमा तिनीहरूलाई के लाग्छ भने परमेश्‍वर बुद्ध जस्तै हुनुहुन्छ जसले तिनीहरूलाई दयालु र परोपकारी बन्‍न अनुरोध गर्नुहुन्छ, तिनीहरूले कुनै पनि जीवित प्राणी नमारून्, अरूलाई मनपरी नभनून्, इमानदार देखिने जीवन जिऊन्, र कुनै गलत कार्य नगरून् भन्‍ने चाहनुहुन्छ। यी कुराहरू नै उहाँले तिनीहरूबाट चाहनुहुने सबै कुरा हुन् भन्‍ने तिनीहरूको विश्‍वास हुन्छ; तिनीहरूको हृदयको परमेश्‍वर यही नै हो।

३) कतिपय मानिसहरूले परमेश्‍वरलाई कुनै महान् वा चर्चित व्यक्तिलाई जस्तो आराधना गर्छन्। उदाहरणको लागि, यो महान् व्यक्तिले जुन माध्यमद्वारा बोल्छ, उसले जस्तो शैलीमा बोल्छ, उसले जे-जस्ता शब्‍द र शब्‍दभण्डारको प्रयोग गर्छ, उसको स्वर, उसको हातको हाउभाउ, उसका विचार र कार्यहरू, उसको कार्यशैली—तिनीहरूले यी सबै कुराको नक्‍कल गर्छन्, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको यात्रामा तिनीहरूले पूर्ण रूपमा उत्पन्‍न गर्नुपर्ने कुराहरू यिनै हुन्छन्।

४) कतिपय मानिसहरूले परमेश्‍वरलाई सम्राटको रूपमा हेर्छन्, अनि उहाँ अरू सबैभन्दा माथि हुनुहुन्छ र कसैले पनि उहाँलाई ठेस पुर्‍याउन सक्दैन—अनि तिनीहरूलाई यदि कसैले त्यसो गर्‍यो भने, त्यस व्यक्तिलाई दण्ड दिइनेछ भन्‍ने लाग्छ। तिनीहरूले त्यस्तो सम्राटलाई आराधना गर्छन् किनभने सम्राटहरूले तिनीहरूको हृदयमा निश्‍चित ठाउँ ओगटेका हुन्छन्। यी मानिसहरूलाई ती सम्राटहरूका विचार, व्यवहार, अख्‍तियार, र प्रकृति—तिनीहरूका रुचि र व्यक्तिगत जीवनसमेत—सबै नै आफूले बुझ्‍नैपर्ने कुरा हुन् भन्‍ने लाग्छ; ती कुराहरू तिनीहरूले चासो दिने समस्या र विषयहरू बन्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरलाई सम्राटको रूपमा आराधना गर्छन्। त्यस्तो किसिमको विश्‍वास हास्यास्पद छ।

५) परमेश्‍वरको अस्तित्वको बारेमा कतिपय मानिसहरूसँग विशेष विश्‍वास हुन्छ, र यो विश्‍वास प्रगाढ र अटल हुन्छ। तैपनि परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान सतही हुने भएकोले, र तिनीहरूसँग उहाँका वचनहरूको त्यति धेरै अनुभव नहुने भएकोले, तिनीहरूले उहाँलाई मूर्तिलाई जस्तो पूजा गर्छन्। यही मूर्ति नै तिनीहरूको हृदयमा बसेको परमेश्‍वर हुन्छ; तिनीहरूलाई यो मूर्ति तिनीहरूले डर मान्‍नुपर्ने र दण्डवत् गर्नुपर्ने, र तिनीहरूले पछ्याउनैपर्ने र अनुकरण गर्नैपर्ने कुरा हो भन्‍ने लाग्छ। परमेश्‍वरलाई तिनीहरूले आफूले आफ्‍नो जीवनभरि पछ्याउनुपर्ने मूर्तिको रूपमा हेर्छन्। तिनीहरूले परमेश्‍वरले बोल्‍नुहुने शैलीको नक्‍कल गर्छन् अनि बाहिरी रूपमा परमेश्‍वरले मन पराउनुहुनेहरूको अनुकरण गर्छन्। तिनीहरूले प्रायजसो सोझो, शुद्ध, र इमानदार देखिने काम-कुराहरू गर्छन्, र तिनीहरूले यस मूर्तिलाई अलग हुनै नसकिने मित्र वा सहकर्मीलाई झैँ गरेर समेत पछ्याउँछन्। तिनीहरूको विश्‍वासको रूप यस्तै हुन्छ।

६) एक प्रकारका मानिसहरू यस्ता छन्, जसले परमेश्‍वरका धेरै वचनहरू पढे पनि र धेरै प्रचार सुने पनि, भित्र हृदयमा तिनीहरूले के अनुभूति गर्छन् भने परमेश्‍वरप्रति तिनीहरूले गर्ने व्यवहारको एउटै सिद्धान्त भनेको तिनीहरू जहिल्यै पनि चापलुसी र चाकडी गर्ने हुनुपर्छ, वा तिनीहरूले अवास्तविक तरिकाले परमेश्‍वरको प्रशंसा गर्नुपर्छ र उहाँको तारिफ गर्नुपर्छ। तिनीहरू के विश्‍वास गर्छन् भने परमेश्‍वर तिनीहरूलाई त्यस्तो व्यवहार गर्न लगाउनुहुने परमेश्‍वर हुनुहुन्छ। यसअलावा, तिनीहरूले के विश्‍वास गर्छन् भने, यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूले कुनै पनि समयमा उहाँलाई रिस उठाउन सक्छन् वा उहाँको विरुद्धमा पाप गर्न पुग्‍छन्, र यो पापको परिणामस्वरूप, परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ। तिनीहरूले आफ्‍नो हृदयमा राख्‍ने परमेश्‍वर यस्तै हुन्छ।

७) अनि त्यसपछि अधिकांश मानिसहरू यस्ता छन्, जसले परमेश्‍वरमा आत्मिक भरण-पोषण प्राप्त गर्छन्। किनभने तिनीहरू यो संसारमा जिउँछन्, तिनीहरू शान्ति वा खुशी रहित छन्, र तिनीहरूले अरू कतै पनि सान्त्वना पाउँदैनन्; तिनीहरूले परमेश्‍वरलाई भेटेपछि, तिनीहरूले उहाँका वचनहरू देखेपछि र सुनेपछि, तिनीहरूले आफ्‍नो हृदयमा गोप्य आनन्द र हर्षलाई बास दिन थाल्छन्। यस्तो हुन्छ किनभने तिनीहरूलाई विश्‍वास हुन्छ कि तिनीहरूले बल्ल तिनीहरूको आत्मालाई खुशी पार्ने स्थान भेटेका छन्, र तिनीहरूले तिनीहरूलाई आत्मिक भरण-पोषण दिनुहुने परमेश्‍वरलाई बल्ल भेटेका छन्। तिनीहरूले परमेश्‍वरलाई ग्रहण गरेर उहाँलाई पछ्याउन थालेपछि, तिनीहरू खुशी हुन्छन्, र तिनीहरूको जीवन भरिपूर्ण हुन्छ। तिनीहरूले अब उप्रान्त पशुजस्तो दिवा-स्वप्न देख्दै अघि बढ्ने अविश्‍वासीहरूजस्तो व्यवहार गर्दैनन्, र जीवनमा तिनीहरूले अपेक्षा गर्ने कुनै कुरा छ भन्‍ने अनुभूति गर्छन्। तसर्थ, तिनीहरूलाई यस परमेश्‍वरले तिनीहरूको आत्मिक आवश्यकताहरूलाई धेरै रूपमा सन्तुष्ट तुल्याउन सक्‍नुहुन्छ र तिनीहरूको मन र आत्मा दुवैमा तिनीहरूलाई ठूलो खुशी दिन सक्‍नुहुन्छ भन्‍ने लाग्छ। थाहै नपाई, तिनीहरू त्यस्तो आत्मिक भरण-पोषण दिनुहुने, र तिनीहरूका आत्मामा र तिनीहरूको परिवारका सबै सदस्यहरूमा खुशी ल्याउनुहुने परमेश्‍वरलाई छोड्नै नसक्‍ने अवस्थामा पुग्छन्। तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासले आत्मिक भरण-पोषण बाहेक अरू केही पनि ल्याउनु आवश्यक छैन भन्‍ने विश्‍वास गर्छन्।

के तिमीहरूमध्ये कसैसँग परमेश्‍वरप्रति यी माथि उल्लेखित मनोवृत्तिहरू छन्? (छन्।) यदि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा, व्यक्तिको हृदयमा तीमध्ये कुनै मनोवृत्ति छ भने, के तिनीहरू साँचो रूपमा परमेश्‍वरको अघि आउन सक्छन्? यदि व्यक्तिको हृदयमा यीमध्ये कुनै मनोवृत्ति छ भने, के तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्? के त्यस्तो व्यक्तिले अद्वितीय परमेश्‍वर स्वयम्‌लाई विश्‍वास गर्छ? (गर्दैन।) तैँले अद्वितीय परमेश्‍वर स्वयम्‌लाई विश्‍वास गर्दैनस् भने, तैँले कसलाई विश्‍वास गर्छस्? यदि तैँले जसलाई विश्‍वास गर्छस् त्यो अद्वितीय परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्न भने, सायद तैँले मूर्तिमा, वा महान् व्यक्तिमा, वा बोधिसत्त्वमा विश्‍वास गर्छस् होला, वा तैँले आफ्‍नो हृदयमा भएको बुद्धलाई आराधना गर्छस् होला। यसअलावा, सायद तैँले साधारण व्यक्तिमा विश्‍वास गर्छस् होला। छोटकरीमा भन्दा, परमेश्‍वरप्रतिको मानिसहरूको विभिन्‍न प्रकारका विश्‍वास र मनोवृत्तिको कारण, तिनीहरूले आफ्नो हृदयमा आफ्‍नै ज्ञानको परमेश्‍वरलाई राख्छन्, परमेश्‍वरमाथि आफ्‍नै कल्‍पनाका कुरा लाद्छन्, परमेश्‍वरसम्‍बन्धी तिनीहरूका आफ्‍नै मनोवृत्ति र कल्‍पनाहरूलाई अद्वितीय परमेश्‍वर स्वयम्‌सँग राख्छन्, अनि त्यसपछि तिनलाई पवित्र ठान्छन्। परमेश्‍वरप्रति मानिसहरूको यस्तो अनुचित मनोवृत्ति हुनुको अर्थ के हो त? यसको अर्थ तिनीहरूले साँचो परमेश्‍वर स्वयम्‌लाई इन्कार गरेका छन् र एउटा झूटो ईश्‍वरको आराधना गरिरहेका छन् भन्‍ने हुन्छ; यसले के सङ्केत गर्छ भने परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, तिनीहरूले उहाँलाई इन्कार गरिरहेका छन् र उहाँको विरोध गरिरहेका छन्, र तिनीहरूले साँचो परमेश्‍वरको अस्तित्वलाई इन्कार गरिरहेका छन्। यदि मानिसहरूले निरन्तर त्यस्तो विश्‍वास नै लिइरहन्छन् भने, तिनीहरूले के-कस्ता परिणामहरूको सामना गर्नेछन् त? त्यस्तो विश्‍वासद्वारा, के तिनीहरू परमेश्‍वरका मापदण्डहरूलाई पूरा गर्ने कार्यको नजिक पुग्न सक्‍नेछन् त? (अहँ, तिनीहरूले त्यसो गर्न सक्‍नेछैनन्।) यसको विपरीत, तिनीहरूका धारणा र कल्‍पनाहरूको कारण, तिनीहरू परमेश्‍वरको मार्गबाट झन्-झन् टाढा बरालिँदै जानेछन्, किनभने तिनीहरूले खोज्‍ने दिशा परमेश्‍वरले तिनीहरूलाई हिँड्न लगाउनुभएको दिशाको विपरीत हुन्छ। के तिमीहरूले कहिल्यै “उत्तर जाने रथमा चढेर दक्षिण जानु” भन्‍ने कथा सुनेका छौ? यो पनि उत्तर जाने रथमा चढेर दक्षिण जानु जस्तै हुन सक्छ। यदि मानिसहरूले त्यस्तो लट्याङपट्याङ तरिकाले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तैँले जति कठिन प्रयास गर्छस्, तँ परमेश्‍वरबाट त्यति नै टाढा जानेछस्। त्यसैले, म तँलाई सल्‍लाह दिन्छु: तँ अघि बढ्नुभन्दा पहिले, सुरुमा तँ सही दिशामा गइरहेको छस् कि छैनस्, पत्ता लगा। आफ्‍ना प्रयासहरूमा विशेष ध्यान दे, र आफैलाई यो प्रश्‍न सोध्, “के मैले विश्‍वास गर्ने परमेश्‍वर सबै थोकका शासक हुनुहुन्छ? के मैले विश्‍वास गर्ने परमेश्‍वर आत्मिक भरण-पोषण दिने व्यक्ति मात्रै हुनुहुन्छ? के उहाँ मेरो मूर्ति मात्रै हुनुहुन्छ? मैले विश्‍वास गरेको यो परमेश्‍वरले मलाई के गर्न लगाउनुभएको छ? के मैले गर्ने सबै कुरालाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ? के मेरा सबै कार्य र खोजीहरू परमेश्‍वरलाई चिन्‍ने कार्यअनुरूप छन्? के ती उहाँले मलाई दिनुभएका मापदण्डहरू अनुरूप छन्? के मैले हिँड्ने मार्गलाई परमेश्‍वरले पहिचान र स्वीकृत गर्नुभएको छ? के उहाँ मेरो विश्‍वासप्रति सन्तुष्ट हुनुहुन्छ?” तैँले प्रायजसो र बारम्‍बार आफैलाई यी प्रश्‍नहरू सोध्‍नुपर्छ। यदि तँ परमेश्‍वरको ज्ञानको खोजी गर्न चाहन्छस् भने, तँ उहाँलाई सन्तुष्ट पार्ने कार्यमा सफल हुनुभन्दा पहिले तँसँग स्पष्ट विवेक र स्पष्ट उद्देश्यहरू हुनुपर्छ।

उहाँको सहनशीलताको परिणामस्वरूप, के परमेश्‍वरले मैले भर्खरै कुरा गरेका यी अनुचित मनोवृत्तिहरूलाई मन नभई-नभई स्वीकार गर्नुहुने कुरा सम्भव छ? के परमेश्‍वरले यी मानिसहरूका मनोवृत्तिहरूको तारिफ गर्न सक्‍नुहुन्छ? (सक्‍नुहुन्‍न।) मानव र उहाँको पछि लाग्‍नेहरूका निम्ति परमेश्‍वरका मापदण्डहरू के-के हुन्? मानिसहरूसँग कस्तो प्रकारको मनोवृत्ति होस् भन्‍ने उहाँ चाहनुहुन्छ, के त्यसको बारेमा तँसँग स्पष्ट ज्ञान छ? यस विन्दुमा, मैले धेरै कुरा बताइसकेको छु; मैले परमेश्‍वर स्वयम्‌को विषयमा, साथै उहाँका कार्य र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको बारेमा धेरै कुरा बताइसकेको छु। परमेश्‍वरले मानिसहरूबाट के प्राप्त गर्न चाहनुहुन्छ के त्यो तिमीहरूलाई थाहा छ? उहाँले तँबाट के चाहनुहुन्छ के त्यो तँलाई थाहा छ? बोल्। यदि अनुभवहरू र अभ्यासबाट तिमीहरूले पाएको ज्ञान अझै पनि कम्ती छ वा अझै पनि सतही छ भने, यी वचनहरू सम्‍बन्धी तिमीहरूको ज्ञानको बारेमा तिमीहरूले केही भन्‍न सक्छौ। के तिमीहरूसँग सारांश ज्ञान छ? परमेश्‍वरले मानिसलाई के माग्‍नुहुन्छ? (यी विभिन्‍न कुराकानीको अवधिमा, परमेश्‍वरले हामीलाई हामीले उहाँलाई चिन्‍नुपर्छ, उहाँका कार्यहरूलाई जान्‍नुपर्छ, उहाँ नै सबै थोकको जीवनको स्रोत हुनुहुन्छ भन्‍ने जान्‍नुपर्छ, र उहाँको हैसियत र पहिचानको बारेमा परिचित हुनुपर्छ भन्‍ने मापदण्ड सिकाउनुभएको छ।) अनि, जब परमेश्‍वरले उहाँलाई चिन्नू भनी मानिसहरूलाई भन्नुहुन्छ, तब अन्तिम परिणाम के हुन्छ त? (तिनीहरूले परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ, र मानव सृष्टि गरिएका प्राणी हुन् भन्‍ने बुझ्छन्।) जब मानिसहरूले यस्तो ज्ञान प्राप्त गर्छन्, तब परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिमा, कर्तव्य पूरा गर्ने तिनीहरूको काममा, वा तिनीहरूको जीवनको स्वभावमा के-कस्ता परिवर्तनहरू आउँछन्? के तिमीहरूले यसबारेमा कहिल्यै विचार गरेका छौ? के परमेश्‍वरलाई चिनेपछि अनि उहाँलाई बुझेपछि, तिनीहरू असल मानिसहरू बन्छन् भनेर भन्‍न सकिन्छ? (परमेश्‍वरमाथिको विश्‍वासमा असल व्यक्ति बन्‍ने प्रयास समावेश हुँदैन। बरु, यो त मापदण्ड अनुरूपको परमेश्‍वरको सृष्टि बन्‍ने र इमानदार व्यक्ति बन्‍ने कार्यको खोजी हो।) के अरू कुनै कुरा छ? (परमेश्‍वरलाई साँचो रूपमा र सही तरिकाले चिनिसकेपछि, हामीले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्छौं; हामीलाई थाहा हुन्छ कि परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुन्छ, हामी सृष्टि गरिएका प्राणी हौं, हामीले परमेश्‍वरलाई आराधना गर्नुपर्छ, र हामीले हाम्रो उचित स्थानमा बस्‍नुपर्छ।) एकदम राम्रो! हामी अरू केही व्यक्तिहरूबाट सुनौं। (हामी परमेश्‍वरलाई चिन्छौं, र अन्तिममा परमेश्‍वरमा साँचो रूपले समर्पित हुने, परमेश्‍वरको आदर गर्ने, र दुष्टताबाट अलग बस्‍ने मानिसहरू बन्‍न सक्छौं।) त्यो सही कुरा हो!

३. परमेश्‍वरको मापदण्ड अनुरूप मानवजातिले उहाँप्रति राख्नुपर्ने आचरण

वास्तवमा, परमेश्‍वरले मानवजातिलाई त्यति धेरै मापदण्ड दिनुहुन्न—वा, कम्तीमा, उहाँले मानिसहरूले कल्‍पना गरेजत्तिको मापदण्ड तोक्नुहुन्न। यदि परमेश्‍वरले कुनै वचनहरू नबोल्‍नुभएको भए, र यदि उहाँले उहाँको स्वभाव वा कुनै कामहरू व्यक्त नगर्नुभएको भए, तिमीहरूको निम्ति परमेश्‍वरलाई चिन्‍ने कार्य अत्यन्तै कठिन हुनेथियो, किनभने मानिसहरूले उहाँको अभिप्राय र इच्‍छाको बारेमा अनुमान गर्नुपर्ने हुनेथियो; यो कार्य गर्न अत्यन्तै कठिन हुनेथियो। तैपनि, आफ्‍नो कार्यको अन्तिम चरणमा, परमेश्‍वरले धेरै वचन बोल्‍नुभएको छ, धेरै काम गर्नुभएको छ, र मानिसहरूका लागि धेरै मापदण्डहरू तय गर्नुभएको छ। उहाँका वचनहरू, र उहाँका धेरै काममा, उहाँले मानिसहरूलाई उहाँले के मन पराउनुहुन्छ, के कुरालाई घृणा गर्नुहुन्छ, र तिनीहरू कस्तो प्रकारका मानिसहरू बन्‍नुपर्छ भन्नेबारेमा जानकारी दिनुभएको छ। यी कुराहरूलाई बुझिसकेपछि, मानिसहरूसँग परमेश्‍वरका मापदण्डहरूका बारेमा आफ्‍नो हृदयमा सटीक परिभाषा हुनुपर्छ, किनभने तिनीहरूले परमेश्‍वरलाई अस्पष्टतामा विश्‍वास गर्दैनन् र तिनीहरूले अबदेखि अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरलाई अस्पष्टता वा सुन्यतामाझ नै विश्‍वास गर्छन्। बरु, तिनीहरूले उहाँका वाणीहरूलाई सुन्‍न सक्छन्, उहाँका आवश्यक मापदण्डहरूलाई बुझ्‍न सक्छन्, र तिनलाई हासिल गर्न सक्छन्, अनि तिनीहरूले जान्‍नुपर्ने र बुझ्‍नुपर्ने सबै कुरा तिनीहरूलाई बताउनको लागि परमेश्‍वरले मानवजातिकै भाषा प्रयोग गर्नुहुन्छ। आज, यदि मानिसहरूलाई परमेश्‍वर को हुनुहुन्छ र उहाँले तिनीहरूबाट के चाहनुहुन्छ भन्‍ने थाहा छैन भने; यदि तिनीहरूलाई व्यक्तिले किन परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ भन्‍ने कुरा थाहा छैन, अथवा उहाँलाई कसरी विश्‍वास गर्ने वा उहाँसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा थाहा छैन भने—यसमा एउटा समस्या रहेको छ। भर्खरै, तिमीहरू प्रत्येकले एउटा खास क्षेत्रको बारेमा बतायौ; तिमीहरूलाई केही कुराहरू थाहा छ, यी कुराहरू विशिष्ट हुन् कि आम हुन् भन्‍ने थाहा छ। तैपनि, म तिमीहरूलाई परमेश्‍वरले मानवजातिको लागि तय गर्नुभएका सही, पूर्ण, र विशिष्ट मापदण्डहरू बताउन चाहन्छु। ती केवल केही शब्‍दहरूमा छन्, र ती अत्यन्तै सरल छन्; सायद तिमीहरूलाई तिनको बारेमा पहिले नै थाहा भएको हुन सक्छ। मानवजाति र परमेश्‍वरलाई पछ्याउनेहरूका लागि परमेश्‍वरका सही आवश्यक मापदण्डहरू यसप्रकार छन्। उहाँलाई पछ्याउनेहरूका लागि उहाँले पाँच वटा मापदण्डहरू तय गर्नुभएको छ: साँचो विश्‍वास, निष्ठावान बफादारितापूर्ण अनुसरण, पूर्ण समर्पणता, सच्‍चा ज्ञान, र हृदयस्पर्शी श्रद्धाभाव।

परमेश्‍वरले, यी पाँच वटा कुराहरूमा, मानिसहरूले अब उप्रान्त आफ्ना कल्‍पनाहरू वा अस्पष्ट र अमूर्त दृष्टिकोणहरूको प्रयोग गरी उहाँलाई प्रश्‍न नगरून् वा उहाँलाई नपछ्याऊन् भन्ने मापदण्ड तय गर्नुभएको छ; तिनीहरूले परमेश्‍वरलाई कुनै पनि कल्‍पनाहरू वा धारणाहरूका आधारमा पछ्याउनु हुँदैन। उहाँलाई पछ्याउने हरेकले उहाँलाई आधा मनले वा प्रतिबद्धताविना होइन बरु बफादार भई पछ्याऊन् भन्‍ने मापदण्ड तय गर्नुभएको छ। जब परमेश्‍वरले तैँले कुनै मापदण्डहरू पूरा गर्न तय गर्नुहुन्छ, तँलाई जाँच्‍नुहुन्छ, तेरो न्याय गर्नुहुन्छ, तँलाई निराकरण गर्नुहुन्छ र तँलाई छिँवल्‍नुहुन्छ, वा तँलाई अनुशासनमा राख्‍ने र प्रहार गर्ने गर्नुहुन्छ, तब तँ उहाँमा पूर्ण रूपमा समर्पित हुनुपर्छ। तैँले अभिप्राय सोध्‍ने वा सर्तहरू अघि सार्ने गर्नु हुँदैन, तैँले कारणहरूका बारेमा त झन् कुरा नगरेकै बेस। तेरो आज्ञापालन निरपेक्ष हुनुपर्छ। परमेश्‍वरसम्‍बन्धी ज्ञान नै मानिसहरू सबैभन्दा पछि पर्ने क्षेत्र हो। तिनीहरूले परमेश्‍वरमा प्रायजसो उहाँसँग सम्‍बन्धित नरहेका भनाइहरू, वाणीहरू, र वचनहरू लाद्छन्, तिनीहरू त्यस्ता वचनहरू परमेश्‍वरसम्‍बन्धी ज्ञानको सबैभन्दा सटीक परिभाषा हुन् भन्‍ने विश्‍वास गर्छन्। मानव कल्‍पनाहरू, तिनीहरूका आफ्‍नै तर्क, र तिनीहरूका आफ्‍नै ज्ञानबाट आएका यी भनाइहरू परमेश्‍वरको सारसँग कहीँ कतै सम्‍बन्धित छैनन् भन्‍नेबारे तिनीहरूलाई अलिकति पनि थाहा हुँदैन। यसैले, जब परमेश्‍वरले मानिसहरूमा होस् भनी चाहनुभएको ज्ञानको बारेमा कुरा आउँछ, उहाँले तँलाई उहाँ र उहाँका वचनहरूलाई मात्रै चिन् भनेर भन्‍नुहुन्‍न, बरु उहाँको बारेमा रहेको तेरो ज्ञान पनि सही हुनुपर्छ भनेर भन्‍नुहुन्छ। तैँले एउटै वाक्य मात्रै भन्‍न सक्छस्, वा तँलाई थोरै मात्र थाहा छ भने पनि, यो थोरै ज्ञान सही र साँचो हुन्छ, र परमेश्‍वर स्वयम्‌को सार अनुरूप हुन्छ। किनभने परमेश्‍वरले उहाँमाथि गरिएको कुनै पनि अवास्तविक वा अनुचित प्रशंसा वा तारिफलाई तिरस्कार गर्नुहुन्छ। त्योभन्दा पनि बढी, उहाँले आफूसित मानिसहरूले हावाजस्तो व्यवहार गरेको घृणा गर्नुहुन्छ। मानिसहरूले परमेश्‍वरको विषयमा छलफल गर्दा, तथ्यहरूको बारेमा विचारै नगरीकन मनोमानी ढङ्गले अनि कुनै पनि हिचकिचाहटविना आफूलाई उचित लागेको कुरा बोलेको देख्दा उहाँले घृणा गर्नुहुन्छ; यसको साथै, उहाँले परमेश्‍वरलाई चिन्छु भनी विश्‍वास गर्ने र उहाँसँग सम्‍बन्धित विषयहरूमा छलफल गर्दा कुनै नियन्त्रण अनि कुनै सीमा नराखीकन छलफल गर्दै उहाँ सम्‍बन्धी आफ्‍नो ज्ञानको सेखी गर्नेहरूलाई उहाँले घृणा गर्नुहुन्छ। यसभन्दा अघि उल्‍लेख गरिएका पाँच मापदण्डहरूमध्ये अन्तिम हृदयस्पर्शी श्रद्धाभाव थियो: उहाँलाई पछ्याउनेहरू सबैप्रतिको परमेश्‍वरको अन्तिम मापदण्ड यही हो। जब कसैसँग परमेश्‍वरसम्‍बन्धी सही र साँचो ज्ञान हुन्छ, तब तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा श्रद्धा गर्न र दुष्टबाट अलग बस्‍न सक्षम हुन्छन्। यो श्रद्धाभाव तिनीहरूको हृदयको अन्तस्करणबाट आउँछ; यो श्रद्धाभाव स्वेच्छाले दिइन्छ, र यो परमेश्‍वरको दबाबको परिणाम होइन। परमेश्‍वरले उहाँप्रति तैँले कुनै राम्रो आचरण, चालचलन, वा बाहिरी बानीबेहोराको उपहार दिनुपर्छ भनेर माग गर्नुहुन्‍न; उहाँले बरु तैँले तेरो हृदयको अन्तस्करणबाट उहाँलाई श्रद्धा गर् र उहाँको डर मान् भनेर भन्‍नुहुन्छ। त्यस्तो श्रद्धाभाव तेरो जीवनको स्वभावका परिवर्तनहरू, परमेश्‍वरबारे ज्ञान प्राप्ति र परमेश्‍वरका कार्यहरूको बुझाइ, परमेश्‍वरको सारको बुझाइ, अनि तँ परमेश्‍वरका सृष्टिहरूमध्ये एक होस् भन्‍ने तेरो स्वीकारको परिणामस्वरूप प्राप्त हुन्छ। त्यसकारण, यहाँ श्रद्धाभावलाई परिभाषित गर्नको लागि मैले “हृदयस्पर्शी” भन्‍ने शब्‍द प्रयोग गर्नुको उद्देश्य मानिसहरूले परमेश्‍वरप्रतिको आफ्नो श्रद्धाभाव आफ्नै हृदयको अन्तस्करणबाट आउनुपर्छ भनी बुझून् भन्‍ने हो।

अब यी पाँच मापदण्डहरूका बारेमा विचार गर: के तिमीहरूमध्ये कोही प्रथम तीन वटा हासिल गर्न सक्‍नेहरूमा पर्छौ? यसद्वारा, मैले साँचो विश्‍वास, निष्ठावान तरिकाले पछ्याउने, र पूर्ण समर्पणताको कुरा गरिरहेको छु। के तिमीहरू यी कार्यहरू गर्न सक्‍ने मध्येमा पर्छौ? यदि मैले सबै पाँच वटै भनेँ भने, अवश्य तिमीहरूमध्ये कोही पनि हुनेथिएनौ, तर मैले यो सङ्ख्यालाई तीन वटामा घटाएको छु। तिमीहरूले यी कुराहरू हासिल गरेका छौ कि छैनौ विचार गर। के “साँचो विश्‍वास” हासिल गर्न सहज छ? (अहँ, सहज छैन।) यो सजिलो छैन, किनभने मानिसहरूले प्रायजसो परमेश्‍वरमाथि प्रश्‍न उठाउँछन्। अनि “निष्ठावान रूपमा पछ्याउने” बारेमा नि? यो “निष्ठावान” ले केलाई जनाउँछ? (आधा मनले होइन, तर पूरा मनले पछ्याउनु।) आधा मनले होइन, तर पूरा मनले पछ्याउनु। तिमीहरूले ठ्याक्कै मिलायौ! त्यसो भए, के तिमीहरू यो मापदण्ड हासिल गर्न सक्छौ त? तिमीहरूले अझै कठिन प्रयास गर्नुपर्छ, होइन त? यस क्षणमा, यो मापदण्डमा तिमीहरू सफल हुन बाँकी नै छ। “पूर्ण समर्पणता” को बारेमा के भन्छौ—के तिमीहरूले त्यो हासिल गरेका छौ? (छैनौं।) तिमीहरूले त्यो पनि हासिल गरेका छैनौ। तिमीहरू बारम्‍बार अनाज्ञाकारी र विद्रोही बन्छौ; तिमीहरूले प्रायजसो सुन्दैनौ, आज्ञापालन गर्न चाहँदैनौ, वा सुन्‍न चाहँदैनौ। मानिसहरूले जीवनमा प्रवेश प्राप्त गरेपछि पूरा गर्ने सबैभन्दा आधारभूत तीन वटा मापदण्ड यिनै हुन्, तर तिमीहरूले ती हासिल गर्न अझै बाँकी नै छ। तसर्थ, अहिले, के तिमीहरूसँग ठूलो सम्भावना छ? आज, मैले यी वचनहरू बोलेको सुनेपछि, के तिमीहरूलाई चिन्ता लाग्यो? (हो।) तिमीहरूलाई चिन्ता लाग्‍नु ठीक कुरा हो। चिन्ताबाट जोगिने प्रयास नगर। म तिमीहरूको खातिर चिन्तित हुन्छु। म अन्य दुई मापदण्डको कुरा गर्नेछैन; अवश्य नै, यहाँ उपस्थित कसैले पनि तिनलाई हासिल गर्न सक्दैनन्। तिमीहरू व्याकुल छौ। त्यसो भए, के तिमीहरूले आफ्ना उद्देश्यहरू निर्धारित गरेका छौ? तिमीहरूले कुन उद्देश्यहरूले, र कुन दिशामा खोजी र प्रयास गर्नुपर्छ? के तिमीहरूसँग उद्देश्य छ? म सरल रूपमा भन्छु: तिमीहरूले यी पाँच मापदण्ड हासिल गरिसकेपछि, तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट पारिसकेका हुनेछौ। ती प्रत्येक नै व्यक्तिको जीवन प्रवेशको परिपक्‍वताको सूचक, साथै अन्तिम उद्देश्य हो। यदि मैले विस्तृत रूपमा बताउनको लागि यीमध्ये एउटालाई लिएँ, र तिमीहरूलाई यो पूरा गर्न लगाएँ भने, यसलाई हासिल गर्न सहज हुनेथिएन; तिमीहरूले निश्‍चित हदसम्‍म कठिनाइ भोग्‍नुपर्छ र निश्‍चित हदसम्‍म प्रयास गर्नुपर्छ। तिमीहरूसँग कस्तो मानसिकता हुनुपर्छ त? यो शल्यक्रिया टेबलमा जानको लागि प्रतीक्षा गरिरहेको क्यान्सर बिरामीको जस्तै हुनुपर्छ। म किन यसो भन्दैछु? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छस् भने, र यदि तँ परमेश्‍वरलाई प्राप्त गर्न र उहाँको सन्तुष्टि प्राप्त गर्न चाहन्छस् भने, तैँले निश्‍चित हदसम्‍म पीडा नभोगुञ्‍जेलसम्‍म र निश्‍चित मात्रामा प्रयास नगरुन्जेलसम्‍म, तैँले यी कुराहरूलाई हासिल गर्न सक्‍नेछैनस्। तिमीहरूले धेरै प्रचार सुनिसक्यौ, तर यसलाई सुन्दैमा यसको अर्थ यो प्रवचन तेरो भयो भन्‍ने हुँदैन; तैँले यसलाई अवशोषण गर्नुपर्छ र तेरो स्वामित्वमा भएको कुनै कुरामा परिणत गर्नुपर्छ। तैँले यसलाई तेरो जीवनमा समाहित गर्नुपर्छ र तेरो अस्तित्वमा समावेश गर्नुपर्छ र यसरी तैँले यी वचनहरू र प्रचारलाई तेरो जिउने शैलीलाई अगुवाइ गर्न र तेरो जीवनमा अस्तित्वका मूल्य र अर्थ ल्याउन दिनुपर्छ। जब त्यस्तो हुन्छ, तब तिमीहरूले यी वचनहरू सुनेको कुराको अर्थ रहन्छ। यदि मैले बोलेका वचनहरूले तेरो जीवनमा कुनै सुधार ल्याउँदैनन् वा तेरो अस्तित्वमा कुनै मूल्य थप्‍दैनन् भने, तैँले ती वचनहरू सुनेको कुनै अर्थ हुँदैन। तिमीहरूले यो कुरा बुझ्यौ, होइन त? यो कुरा बुझिसकेपछि, यसपछि के हुन्छ भन्‍ने कुरा तिमीहरूकै हातमा छ। तिमीहरूले काम गर्नैपर्छ! तिमीहरू सबै कुरामा इमानदार हुनैपर्छ! यता न उताको नबन; समय बितेको बित्यै छ! तिमीहरूमध्ये धेरैजसोले परमेश्‍वरलाई एक दशकभन्दा बढी समयदेखि विश्‍वास गर्दै आएका छौ। विगतका यी दश वर्षको अवधिलाई फर्केर हेर। तिमीहरूले कति हासिल गरेका छौ? अनि यो जीवनकालमा तिमीहरूले जिउने कति दशक समय बाँकी छ? तिमीहरूसँग त्यति धेरै समय छैन। परमेश्‍वरको कामले तिमीहरूलाई प्रतीक्षा गर्छ कि गर्दैन, उहाँले तिमीहरूलाई मौका दिनुभएको छ कि छैन, वा उहाँले फेरि एउटै काम गर्नुहुनेछ कि गर्नुहुनेछैन भन्‍ने बारेमा बिर्सिदेओ—यी कुराहरूका बारेमा कुरै नगर। के तिमीहरूले आफ्‍नो जीवनको विगतका दश वर्षको मार्गलाई उल्ट्याउन सक्छौ? बितेर जाने हरेक दिनसँगै, र तिमीहरूले चाल्‍ने हरेक कदमसँगै, तिमीहरूसँग एक-एक दिन कम हुँदै जान्छ। समयले कसैलाई पर्खँदैन! यदि तैँले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासलाई तेरो जीवनको सबैभन्दा ठूलो कुराको रूपमा लिइस्, खाना, वस्त्र, वा अन्य कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण ठानिस् भने मात्रै यसबाट तँलाई प्राप्ति हुनेछ। यदि तैँले तँसँग समय हुँदा मात्रै विश्‍वास गर्छस्, र तेरो विश्‍वासमा तेरो सम्पूर्ण ध्यान समर्पित गर्न सक्दैनस् भने, अनि यदि तँ सधैँ अन्योलताको दलदलमा हुन्छस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तिमीहरू यो कुरा बुझ्छौ, होइन त? आजको लागि हामी यहीँ रोकिनेछौँ। अर्को पटक भेटौँला!

फेब्रवरी १५, २०१४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्