परमेश्‍वर स्वयम् अद्वितीय १०

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (४) - भाग एक

आज हामी एउटा विशेष विषयमा कुराकानी गर्दैछौं। हरेक विश्‍वासीको लागि, जान्‍नुपर्ने, अनुभव गर्नुपर्ने, र बुझ्‍नुपर्ने मुख्य दुई वटा कुरा मात्रै छन्। यी दुई वटा कुरा के-के हुन्? पहिलो भनेको जीवनमा व्यक्तिको प्रवेश हो, र दोस्रोचाहिँ परमेश्‍वरलाई चिन्‍ने कार्यसँग सम्‍बन्धित छ। हामीले भर्खरै कुरा गर्दै आइरहेको विषयमा, अर्थात् परमेश्‍वरलाई चिन्‍ने विषयमा कुरा गर्दा, के यो हासिल गर्न सकिने कुरा हो भन्‍ने तिमीहरूलाई लाग्छ? यो वास्तवमा धेरैजसो मानिसहरूको पहुँचभन्दा बाहिरको कुरा हो भन्दा अत्योक्ति हुँदैन। तिमीहरू मेरा वचनहरूद्वारा विश्‍वस्‍त नहुन सक्छौ, तर म किन यसो भन्दैछु त? म यसो भन्दैछु किनभने पहिले मैले भनिरहेको कुरालाई तिमीहरूले सुन्दा, मैले जसरी वा जुन शब्‍दहरूद्वारा भने पनि, यी शब्‍दहरू केसँग सम्‍बन्धित छन् भन्‍ने कुरा तिमीहरू शाब्दिक र सैद्धान्तिक दुवै रूपमा बुझ्‍न सक्षम थियौ। तैपनि, तिमीहरू सबैलाई एउटा गम्‍भीर समस्या के थियो भने मैले किन त्यस्ता कुराहरू भनेँ वा मैले किन ती विषयमा कुरा गरेँ सो तिमीहरूले बुझेनौ। यो विषयको मुख्य कुरा नै यही हो। तसर्थ, तिमीहरूले यी कुराहरू सुनेपछि यसले परमेश्‍वर र उहाँका कार्यहरू सम्‍बन्धी तिमीहरूको बुझाइलाई केही थप गरेको र त्यसलाई समृद्ध बनाएको भए पनि, तिमीहरूलाई आफूले परमेश्‍वरलाई चिन्‍नको लागि अझै पनि कठिन प्रयास गर्नुपर्छ भन्‍ने लाग्छ। अर्थात्, मैले भनेका कुरा सुनेपछि, तिमीहरूमध्ये धेरैले यो कुरा मैले किन भनेँ वा परमेश्‍वरलाई चिन्‍ने कार्यसँग यसको सम्‍बन्ध के छ सो बुझ्दैनौ। परमेश्‍वरलाई चिन्‍ने कार्यसँगको यसको सम्‍बन्धलाई तिमीहरूले बुझ्‍न नसक्‍नुको कारण के हो भने तिमीहरूको जीवन अनुभव अत्यन्तै सतही छ। यदि परमेश्‍वरका वचनहरू सम्‍बन्धी मानिसहरूको ज्ञान र अनुभव अत्यन्तै सतही स्तरमा रहन्छ भने, उहाँ सम्‍बन्धी तिनीहरूको धेरैजसो ज्ञान अस्पष्ट र अमूर्त हुनेछ; यो सबै साधारण, धर्म-सैद्धान्तिक, र परिकल्पनापूर्ण हुनेछ। सिद्धान्तको हिसाबमा, यो तार्किक र उचित देखिन वा सुनिन सक्छ, तर धेरैजसो मानिसहरूको मुखबाट आउने परमेश्‍वरसम्‍बन्धी ज्ञान वास्तवमा खोक्रो हुन्छ। अनि यो खोक्रो हुन्छ भनेर म किन भन्दैछु त? किनभने परमेश्‍वरलाई चिन्‍ने विषयमा तैँले जे भन्छस् त्यसमा सत्यता र सटीकता छ कि छैन भन्‍ने बारेमा तँसँग वास्तवमा स्पष्ट बुझाइ नै छैन। त्यसकारण, परमेश्‍वरलाई चिन्‍ने बारेमा धेरैजसो मानिसहरूले धेरै जानकारी र विषयहरू सुने पनि, परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान अस्पष्ट र अमूर्त परिकल्पना र धर्मसिद्धान्तभन्दा बाहिर जानै बाँकी हुन्छ। त्यसो भए, यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ त? के तिमीहरूले त्यसबारेमा पहिले कहिल्यै विचार गरेका छौ? यदि कसैले सत्यताको खोजी गर्दैन भने, के तिनीहरूसँग सत्यता हुन सक्छ? यदि कसैले सत्यताको खोजी गर्दैन भने, तिनीहरू वास्तविकता विहीन हुन्छन् भन्‍नेमा कुनै प्रश्‍न हुँदैन, त्यसकारण अवश्य नै तिनीहरूसँग परमेश्‍वरका वचनहरूको बारेमा कुनै ज्ञान वा अनुभव हुँदैन। के परमेश्‍वरका वचनहरूको कुनै बुझाइ नभएका मानिसहरूले परमेश्‍वरलाई चिन्‍न सक्छन्? अवश्य सक्दैनन्; यी दुई कुरा अन्तर्निर्भर छन्। त्यसकारण, धेरैजसो मानिसहरू भन्छन्, “परमेश्‍वरलाई चिन्‍नु किन यति कठिन छ? जब म आफैलाई चिन्‍ने बारेमा कुरा गर्छु, म धेरै घण्टासम्‍म कुरा गर्न सक्छु, तर जब परमेश्‍वरलाई चिन्‍ने कुरा आउँछ, मसँग बोल्‍ने कुनै शब्‍द हुँदैन। मैले यस विषयमा थोरै कुरा बताउन सके पनि, मेरा शब्‍दहरू जबरजस्ती व्यक्त गरिएका हुन्छन् र ती व्यर्थका सुनिन्छन्। ती शब्दहरू बोल्दा म आफैलाई पनि अनौठो लाग्छ।” स्रोत यही हो। यदि तँलाई परमेश्‍वरलाई चिन्‍नु अत्यन्तै कठिन छ, उहाँलाई चिन्‍नको लागि धेरै प्रयासको आवश्यकता हुन्छ, वा तँसँग कुरा उठाउनको लागि कुनै विषयहरू छैनन् र अरूलाई र आफूलाई बताउन र प्रदान गर्नको लागि कुनै यथार्थ कुराको बारेमा विचार गर्न सक्दैनस् भन्‍ने लाग्छ भने, तँ परमेश्‍वरका वचनहरू अनुभव गरेको व्यक्ति होइनस् भन्ने प्रमाणित हुन्छ। परमेश्‍वरका वचनहरू के हुन्? के उहाँका वचनहरू परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसका अभिव्यक्तिहरू होइनन् र? यदि तैँले परमेश्‍वरका वचनहरूको अनुभव गरेको छैनस् भने, के तँसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको बारेमा कुनै ज्ञान हुन सक्छ र? अवश्य हुन सक्दैन। यी कुराहरू सबै अन्तर्सम्‍बन्धित छन्। यदि तँसँग परमेश्‍वरका वचनहरूको कुनै अनुभव छैन भने, तैँले परमेश्‍वरको इच्‍छालाई बुझ्‍न सक्दैनस्, न त तैँले उहाँको स्वभाव के हो, उहाँले के मन पराउनुहुन्छ, उहाँले केलाई घृणा गर्नुहुन्छ, मानिसहरू सम्‍बन्धी उहाँका मापदण्डहरू के-के हुन्, असल मानिसहरूप्रति उहाँको मनोवृत्ति कस्तो हुन्छ, र दुष्ट मानिसहरूप्रति उहाँको मनोवृत्ति कस्तो हुन्छ भन्ने नै जान्‍न सक्छस्; यो सबै तेरो लागि अवश्य नै अस्पष्ट र धूमिल हुन्छ। यदि त्यस्तो अस्पष्टतामा रही तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् भने, जब तैँले आफूलाई सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई पछ्याउनेहरूमध्ये एक भएको दाबी गर्छस्, तब के त्यस्ता दाबी यथार्थ हुन्छन् र? ती यथार्थ हुँदैनन्! त्यसकारण हामी परमेश्‍वरलाई चिन्‍ने बारेमा कुराकानी गर्ने कार्यलाई जारी राखौं।

तिमीहरू सबै आजको सङ्गतिको विषय सुन्‍न उत्सुक छौ, होइन त? यो “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने विषयसँग सम्‍बन्धित छ, जसको बारेमा हामीले हालै छलफल गर्दै आएका छौं। परमेश्‍वरले कसरी सबै थोकमाथि शासन गर्नुहुन्छ, उहाँले कुन माध्यमद्वारा त्यसो गर्नुहुन्छ, र परमेश्‍वरले सृष्टि गर्नुभएको यस पृथ्वीमा तिनीहरू अस्तित्वमा रहन सकून् भनेर उहाँले सबै थोकलाई कुन-कुन सिद्धान्तहरूका आधारमा व्यवस्थापन गर्नुहुन्छ सोबारेमा मानिसहरूलाई जानकारी दिन विभिन्‍न माध्यम र दृष्टिकोणहरूको प्रयोग गर्दै हामीले कसरी “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने बारेमा धेरै कुरा गरिसकेका छौं। परमेश्‍वरले मानवजातिको लागि कसरी भरणपोषण प्रदान गर्नुहुन्छ भन्‍ने बारेमा पनि हामीले धेरै कुरा गरेका छौं: उहाँले कस्तो माध्यमद्वारा त्यस्तो प्रबन्ध गर्नुहुन्छ, उहाँले मानिसहरूलाई कस्तो प्रकारको जिउने वातावरण प्रदान गर्नुहुन्छ, र उहाँले मानिसको लागि के-कस्ता माध्यमद्वारा अनि कुन-कुन सुरुवात विन्दुबाट एक स्थिर जिउने वातावरण प्रदान गर्नुहुन्छ। सबै थोकमाथिको परमेश्‍वरको प्रभुत्व र प्रशासन, अनि उहाँको व्यवस्थापनको बीचको सम्‍बन्धको बारेमा मैले प्रत्यक्ष रूपमा कुरा नगरेको भए तापनि, उहाँले सबै थोकलाई यसरी प्रशासन गर्नुका कारणहरू, साथै यसरी उहाँले मानवजातिलाई आपूर्ति र भरणपोषण प्रदान गर्नुहुने कारणहरूका बारेमा मैले अप्रत्यक्ष रूपमा बताएको छु। यी सबै उहाँको व्यवस्थापनसँग सम्‍बन्धित छन्। हामीले विभिन्‍न विषयवस्तुको बारेमा कुरा गर्‍यौं: वृहत् वातावरणदेखि मानिसहरूका आधारभूत आवश्यकता र आहारजस्ता स-साना कुराहरूसम्म; परमेश्‍वरले कसरी सबै थोकमाथि शासन गर्नुहुन्छ र तिनीहरूलाई क्रमिक रूपमा संचालन गराउनुहुन्छ भन्‍ने तथ्यदेखि उहाँले हरेक जातिका मानिसहरूका लागि सृष्टि गर्नुभएका सही र उचित जिउने वातावरणसम्म; र आदि इत्यादि कुराहरू। यो व्यापक विषयवस्तु पूर्णतः मानव कसरी देहमा जिउँछ भन्‍ने कुरासँग सम्‍बन्धित छ—अर्थात्, यो सबै नाङ्गो आँखाले देख्‍न सक्‍ने र मानिसहरूले अनुभव गर्न सक्‍ने भौतिक संसारका कुराहरूसँग सम्‍बन्धित छ, जस्तै पहाड-पर्वत, नदी-नाला, समुद्र, मैदान, र यस्तै अन्य कुराहरू। यी सबै देख्‍न र छुन सकिने कुरा हुन्। जब म हावा र तापक्रमको कुरा गर्छु, तिमीहरूले हावाको अनुभव गर्न आफ्‍नै सासको प्रयोग गर्न सक्छौ, र तापक्रम उच्‍च छ कि न्यून छ सो अनुभूति गर्न आफ्‍नो शरीरको प्रयोग गर्न सक्छौ। रूख, घाँस, र जङ्गलका चराचुरुङ्गी र जनावरहरू, आकाशमा उड्ने र जमिनमा हिँड्ने कुराहरू, अनि दुलोबाट निस्कने स-साना पशु-प्राणी सबैलाई मानिसहरूले आफ्‍नै आँखाले देख्‍न र आफ्‍नै कानले सुन्‍न सक्छन्। यी सबै कुराले छुने क्षेत्र निकै वृहत् भए पनि, परमेश्‍वरले सृष्टि गर्नुभएका सबै थोकमध्ये, तिनीहरूले भौतिक संसारलाई मात्रै प्रतिनिधित्व गर्छन्। भौतिक कुराहरू मानिसहरूले देख्‍ने र अनुभव गर्ने कुरा हुन्, भन्‍नुको अर्थ जब तैँले तिनलाई छुन्छस्, तैँले तिनको अनुभूति गर्छस्, र जब तैँले तिनलाई हेर्छस्, तेरो मस्तिष्कले तँलाई स्वरूप, चित्र देखाउँछ। ती यथार्थ र वास्तविक कुरा हुन्; तेरो लागि ती अमूर्त हुँदैनन्, बरु आकार भएका हुन्छन्। ती वर्गाकार वा गोलाकार, वा अग्ला वा होचा हुन सक्छन्, र हरेक वस्तुले तँलाई फरक अनुभूति प्रदान गर्छ। यी सबै कुराले सृष्टिको भौतिक पक्षलाई प्रतिनिधित्व गर्छन्। त्यसकारण, परमेश्‍वरको लागि “सबै थोकमाथि परमेश्‍वरको प्रभुत्व” भन्‍ने वाक्यांशको “सबै थोक” ले के-कस्ता कुराहरूलाई समावेश गर्छ त? त्यसले मानिसले देख्‍न र छुन सक्‍ने कुराहरू मात्रै समावेश गर्दैन; साथै, तिनले सबै अदृश्य र अस्पृश्य कुराहरू समावेश गर्छन्। सबै थोकमाथि परमेश्‍वरको प्रभुत्वको साँचो अर्थहरूमध्ये एउटा यही हो। ती कुराहरू मानवका निम्ति अदृश्य र अस्पृश्य भए पनि, परमेश्‍वरको लागि—जबसम्‍म तिनलाई उहाँका आँखाले अवलोकन गर्न सक्छन् र ती उहाँको सार्वभौमिकताको क्षेत्रभित्र पर्छन् तबसम्‍म—ती वास्तवमा अस्तित्वमा रहन्छन्। ती अमूर्त र अकल्‍पनीय भए पनि, र यस अलावा, मानवका लागि अदृश्य र अस्पृश्य भए पनि, परमेश्‍वरको निम्ति ती वास्तवमा नै र साँचो रूपमा नै अस्तित्वमा हुन्छन्। यो अर्को संसार हो जहाँ परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, र यो उहाँको प्रभुत्व भएको सबै थोकको अर्को क्षेत्र हो। आजको सङ्गतिको विषय यही हो: परमेश्‍वरले आत्मिक संसारमाथि कसरी शासन र प्रशासन गर्नुहुन्छ। यो विषयमा परमेश्‍वरले कसरी सबै थोकमाथि शासन गर्नुहुन्छ र तिनलाई व्यवस्थापन गर्नुहुन्छ भन्ने कुरा समेटिने हुनाले, यो भौतिक संसारभन्दा बाहिरको संसार अर्थात्, आत्मिक संसारसँग सम्‍बन्धित छ—तसर्थ, हामीले यो बुझ्‍नु अत्यन्तै महत्त्वपूर्ण छ। यस विषयवस्तुको बारेमा कुराकानी गरेर अनि बुझेर मात्रै मानिसहरूले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने शब्‍दहरूको साँचो अर्थलाई सच्‍चा रूपमा बुझ्‍न सक्छन्। यही कारण आज हामी यस विषयमा छलफल गर्न लागेका छौं; यसको उद्देश्य भनेको “परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, र परमेश्‍वरले सबै थोकको व्यवस्थापन गर्नुहुन्छ” भन्‍ने विषयलाई पूरा गर्नु हो। सायद, जब तिमीहरू यो विषय सुन्छौ, तिमीहरूलाई यो अनौठो वा बुझ्‍न नसकिने लाग्‍न सक्छ, तर तिमीहरूले जे-जस्तो अनुभव गरे पनि, आत्मिक संसार परमेश्‍वरले शासन गर्नुहुने सबै थोकको एउटा भाग भएको हुनाले, तिमीहरूले यस विषयमा बुझाइ प्राप्त गर्नैपर्छ। त्यस्तो बुझाइ प्राप्त गरिसकेपछि, तिमीहरूले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने वाक्यांशको गहन बोध, बुझाइ, र ज्ञान प्राप्त गर्नेछौ।

परमेश्‍वरले कसरी आत्मिक संसारलाई शासन र व्यवस्थापन गर्नुहुन्छ

भौतिक संसारको हकमा, जब-जब मानिसहरूले निश्‍चित कुराहरू वा घटनाहरूलाई बुझ्दैनन्, तब तिनीहरूले उचित जानकारीको खोजी गर्न वा ती कुराहरूको व्युत्पत्ति र पृष्ठभूमिको बारेमा पत्ता लगाउन विभिन्‍न माध्यमहरूको प्रयोग गर्न सक्छन्। तर जब हामीले आज कुरा गरिरहेको संसारको कुरा आउँछ—अर्थात्, भौतिक संसारभन्दा बाहिर अस्तित्वमा रहेको आत्मिक संसारको कुरा आउँछ—यसको बारेमा सिक्‍नको लागि मानिसहरूसँग कुनै माध्यम वा प्रणाली हुँदैन। म किन यसो भन्दैछु त? म यसो किन भन्दैछु भने, मानवजातिको संसारमा भौतिक संसारको हरेक कुरालाई मानिसको भौतिक अस्तित्वबाट अलग गर्न सकिँदैन, र मानिसहरूलाई भौतिक संसारको हरेक कुरालाई आफ्नो भौतिक जियाइ र भौतिक जीवनबाट अलग गर्न सकिँदैन भन्‍ने लाग्‍ने हुनाले, धेरैजसो मानिसहरूले तिनीहरूले देख्‍न सक्‍ने तिनीहरूका आँखा अगाडिका भौतिक कुराको बारेमा मात्रै जान्दछन् वा तिनलाई मात्रै देख्छन्। तैपनि, जब आत्मिक संसारको कुरा आउँछ—भन्‍नुको अर्थ, जब अर्को संसारका सबै थोकको कुरा आउँछ—धेरैजसो मानिसहरूले विश्‍वास गर्दैनन् भन्दा अत्योक्ति हुँदैन। मानिसहरूले यसलाई देख्‍न सक्दैनन्, र यसलाई बुझ्‍न वा यसको बारेमा कुनै कुरा पनि जान्‍न आवश्यक छैन भनी विश्‍वास गर्छन्, तिनीहरूले आत्मिक संसार कसरी भौतिक संसारभन्दा पूर्ण रूपमा फरक छ, र परमेश्‍वरको दृष्टिकोणमा खुला छ—मानवको लागि, यो गुप्त र बन्द भए पनि—भन्ने कुरा देख्ने-बुझ्ने वा विश्‍वास गर्नु त परै जाओस्, यसकारण मानिसहरूलाई यस संसारका विभिन्‍न पक्षहरूलाई बुझ्‍ने मार्ग भेट्टाउन निकै कठिन छ। मैले बताउन लागेको आत्मिक संसारका विभिन्‍न पक्षहरू परमेश्‍वरको प्रशासन र सार्वभौमिकतासँग मात्रै सम्‍बन्धित छ; म कुनै पनि रहस्य प्रकट गर्नेछैन, न त म तिमीहरूलाई तिमीहरूले जान्‍न चाहेका कुनै गुप्त कुराहरू नै बताउनेछु। यो कुरा परमेश्‍वरको सार्वभौमिकता, परमेश्‍वरको प्रशासन, र परमेश्‍वरको बन्दोबस्तसँग सम्‍बन्धित भएको हुनाले, तिमीहरूले जान्‍नु आवश्यक रहेको भागको बारेमा मात्रै म बोल्‍नेछु।

सुरुमा, म तिमीहरूलाई एउटा प्रश्‍न गर्छु: तिमीहरूको विचारमा, आत्मिक संसार भनेको के हो? समग्रमा भन्दा, यो भौतिक संसारभन्दा बाहिरको संसार हो, जुन मानिसहरूको लागि अदृश्य र अस्पृश्य दुवै छ। तैपनि तिमीहरूको कल्‍पनामा, आत्मिक संसार कस्तो प्रकारको संसार हुनुपर्छ? सायद, यसलाई देख्‍न नसकेको कारण, तिमीहरूले यसको बारेमा कल्‍पना गर्न सक्दैनौ। तैपनि, जब तिमीहरूले कुनै पौराणिक कथा सुन्छौ, तब तिमीहरूले यसको बारेमा विचार गरिरहेका हुन्छौ, र तिमीहरू यसको बारेमा विचार नगरी बस्नै सक्दैनौ। म किन यसो भन्दैछु त? सानो छँदा धेरै मानिसहरूलाई हुने केही घटना छन्: जब कसैले तिनीहरूलाई डरलाग्दो कथा—भूत वा आत्माको बारेमा कथा—बताउँछन्, तिनीहरू अत्यन्तै भयभीत हुन्छन्। तिनीहरू वास्तवमा किन भयभीत हुन्छन् त? किनभने तिनीहरूले यी कुराहरूको कल्‍पना गरिरहेका हुन्छन्; तिनीहरूले ती कुरालाई देख्‍न नसके पनि, तिनीहरूलाई ती कुराहरू तिनीहरूको कोठामा, कुनै गुप्त वा अँध्यारो कुनामा छन् भन्‍ने लाग्छ, र तिनीहरू यति भयभीत हुन्छन् कि तिनीहरूले सुत्‍ने आँट समेत गर्दैनन्। विशेष गरी राति, तिनीहरू कोठामा एकलै बस्‍न वा आँगनमा एकलै जान अत्यन्तै डराउँछन्। त्यो तिमीहरूको कल्‍पनाको आत्मिक संसार हो, र यो मानिसहरूले डरलाग्दो ठान्‍ने संसार हो। तथ्य के हो भने हरेकले कुनै हदसम्‍म यसको कल्पना गर्छन्, र यसलाई हरेकले थोरै अनुभव गर्न सक्छन्।

हामी आत्मिक संसारको बारेमा कुरा गर्दै यस विषयलाई सुरु गरौं। यो के हो त? म तिमीहरूलाई छोटो र सरल व्याख्या प्रदान गर्छु: आत्मिक संसार एक महत्त्वपूर्ण स्थान हो, जुन भौतिक संसारभन्दा फरक छ। यो महत्त्वपूर्ण छ भनेर म किन भन्छु त? हामी यसको बारेमा विस्तृत रूपमा छलफल गर्दैछौं। आत्मिक संसारको अस्तित्व अपरिहार्य रूपमा नै मानवजातिको भौतिक संसारसँग जोडिएको छ। यसले यावत् थोकमाथिको परमेश्‍वरको प्रभुत्वमा मानव जीवन र मृत्युको चक्रमा मुख्य भूमिका निर्वाह गर्छ; यसको भूमिका यही हो, र यसको अस्तित्व महत्त्वपूर्ण हुनुको एउटा कारण यही हो। यो पञ्‍च-इन्द्रियहरूले अनुभूति गर्न नसक्‍ने स्थान भएको हुनाले, आत्मिक संसार अस्तित्वमा छ कि छैन भन्‍ने कुरालाई कसैले पनि सटीक रूपमा मूल्याङ्कन गर्न सक्दैन। यसका विभिन्‍न पक्षहरू मानव अस्तित्वसँग घनिष्ठ रूपले जोडिएका हुन्छन्, जसको परिणामस्वरूप मानवजातिको जीवनक्रमलाई आत्मिक संसारले वृहत् प्रभाव पार्छ। यसमा परमेश्‍वरको सार्वभौमिकता संलग्‍न हुन्छ कि हुँदैन त? हुन्छ। जब म यसो भन्छु, तब तैँले यो विषयमा मैले किन छलफल गरिरहेको छु सो बुझ्छस्: किनभने यो परमेश्‍वरको सार्वभौमिकता, साथै उहाँको प्रशासनसँग सम्‍बन्धित छ। यस्तो संसारमा—मानिसहरूका लागि अदृश्य रहेको संसारमा—यसको हरेक स्वर्गीय उर्दी, आदेश, र प्रशासन प्रणाली भौतिक संसारको जुनसुकै राष्ट्रका कानूनहरू र प्रणालीहरूभन्दा निकै माथि हुन्छन्, र तिनलाई यो संसारमा जिउने कुनै पनि प्राणीले अवहेलना वा उल्‍लङ्घन गर्ने आँट गर्दैन। के यो परमेश्‍वरको सार्वभौमिकता र प्रशासनसँग सम्‍बन्धित छ त? आत्मिक संसारमा, स्पष्ट प्रशासनिक आदेशहरू, स्पष्ट स्वर्गीय उर्दीहरू, र स्पष्ट विधानहरू हुन्छन्। फरक-फरक स्तर र फरक-फरक क्षेत्रमा सहभागीहरूले आफ्‍ना कर्तव्यहरू कठोरताका साथ पालन गर्छन् र नीति र नियमहरूको पालन गर्छन्, किनभने स्वर्गीय उर्दीको उल्‍लङ्घन गर्दा हुने परिणाम के हुन्छ सो तिनीहरूलाई थाहा छ; परमेश्‍वरले कसरी दुष्टलाई दण्ड र असललाई इनाम दिनुहुन्छ, अनि कसरी उहाँले सबै थोकमाथि प्रशासन चलाउनुहुन्छ र शासन गर्नुहुन्छ सो तिनीहरूलाई स्पष्ट रूपमै थाहा छ। यसको साथै, तिनीहरूले कसरी उहाँले आफ्‍ना स्वर्गीय उर्दीहरू र विधानहरूलाई कार्यान्वयन गर्नुहुन्छ सो स्पष्ट रूपमै देख्छन्। के यी मानवजातिले वास गर्ने भौतिक संसारभन्दा फरक छन् त? तिनीहरू वास्तवमा अत्यन्तै फरक छन्। आत्मिक संसार भौतिक संसारभन्दा पूर्ण रूपमा फरक संसार हो। स्वर्गीय अध्यादेश र विधानहरू हुने भएकाले, यसले परमेश्‍वरको सार्वभौमिकता, प्रशासनलाई यसको अतिरिक्त उहाँको स्वभाव साथै उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई समावेश गर्छ। यो कुरा सुनेपछि, के तिमीहरूलाई मैले यस विषयमा बोल्‍नु अत्यन्तै आवश्यक छ भन्‍ने लागेन? के तिमीहरूलाई यसभित्रका रहस्यहरू जान्‍न मन लागेन? (हो, लाग्यो।) आत्मिक संसारको अवधारणा यही हो। यो भौतिक संसारसँगै सह-अस्तित्वमा हुने, र यो एकसाथ परमेश्‍वरको प्रशासन र सार्वभौमिकताको अधीनमा हुने भए पनि, यस संसारप्रतिको परमेश्‍वरको प्रशासन र सार्वभौमिकता भौतिक संसारको भन्दा निकै कठोर हुन्छ। जब विस्तृत विवरणहरूको कुरा आउँछ, हामीले आत्मिक संसार कसरी मानवजातिको जीवन र मृत्युको चक्रको कार्यसँग सम्‍बन्धित छ भन्ने कुराबाट सुरु गर्नुपर्छ, किनभने आत्मिक संसारका सत्वहरूको कामको मुख्य भाग यही हो।

मानवजातिमध्ये, म सबै मानिसहरूलाई तीन वटा प्रकारमा विभाजन गर्छु। पहिलो अविश्‍वासीहरू, अर्थात् धार्मिक आस्था विहीन मानिसहरू हुन्। तिनीहरूलाई अविश्‍वासी भनिन्छ। धेरैजसो अविश्‍वासीहरूले पैसामाथि मात्रै विश्‍वास गर्छन्; तिनीहरूले आफ्‍नै रुचिहरूलाई मात्रै प्राथमिकता दिन्छन्, तिनीहरू भौतिकवादी हुन्छन्, र भौतिक संसारमा मात्रै विश्‍वास गर्छन्—तिनीहरूले जीवन मृत्युको चक्रमा वा देवीदेवता र भूतहरूका बारेमा बताइने कुनै पनि कुरामा विश्‍वास गर्दैनन्। म यी मानिसहरूलाई अविश्‍वासीहरू भनी वर्गीकरण गर्छु, र पहिलो प्रकारका मानिसहरू तिनीहरू नै हुन्। दोस्रो प्रकारका मानिसहरूमा अविश्‍वासीहरू बाहेकका विभिन्‍न विश्‍वासका मानिसहरू पर्छन्। मानवजातिमध्ये, म यी विश्‍वासका मानिसहरूलाई विभिन्‍न मुख्य समूहमा विभाजन गर्छु: पहिलो यहूदी, दोस्रो क्याथोलिक, तेस्रो ख्रीष्टियान, चौथो मुस्लिम, र पाचौं बुद्ध धर्म मान्‍ने हुन्; पाँच प्रकारका मानिसहरू छन्। यी विश्‍वासका विभिन्‍न प्रकारका मानिसहरू हुन्। तेस्रो प्रकारमा परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू पर्छन्, र तिमीहरू यसैमा पर्छौ। त्यस्ता विश्‍वासीहरू आज परमेश्‍वरलाई पछ्याउने मानिसहरू हुन्। यी मानिसहरू दुई प्रकारमा विभाजित छन्: परमेश्‍वरका चुनिएका मानिसहरू, र सेवाकर्ताहरू। यी मुख्य प्रकारहरूलाई स्पष्ट रूपमा अलग गरिएका छन्। तसर्थ, मानवका प्रकार र दर्जालाई तिमीहरूले आफ्‍नो मनमा अब स्पष्ट रूपमा नै भिन्‍नता छुट्याउन सक्छौ, सक्दैनौ त? पहिलो प्रकारमा अविश्‍वासीहरू पर्छन्, र तिनीहरू को हुन् भनेर मैले भनिसकेँ। के आकाशको वृद्ध मानिसमाथि विश्‍वास गर्ने मानिसहरूलाई अविश्‍वासीहरूका रूपमा गन्ती गरिन्छ? धेरैजसो अविश्‍वासीहरूले आकाशको वृद्ध मानिसमा मात्रै विश्‍वास गर्छन्; तिनीहरूले बाली लगाउँदा र कटनी गर्दा भरोसा गर्ने यस व्यक्तिले नै बतास, वर्षा, चट्याङ्ग, र अन्य कुरालाई नियन्त्रण गर्छ भन्‍ने विश्‍वास तिनीहरूको हुन्छ—तैपनि जब परमेश्‍वरमाथिको विश्‍वासको बारेमा कुरा गरिन्छ, तिनीहरू उहाँमा विश्‍वास गर्न इच्‍छुक हुँदैनन्। के यसलाई विश्‍वास हुनु भनेर भन्‍न सकिन्छ? त्यस्ता मानिसहरू अविश्‍वासीहरूमा पर्छन्। तिमीहरूले यो कुरा बुझ्यौ, होइन त? यी वर्गहरूमा नझुक्‍किओ। दोस्रो प्रकारमा विश्‍वासका मानिसहरू पर्छन्, र तेस्रो प्रकारका मानिसहरू हाल परमेश्‍वरलाई पछ्याइरहेका मानिसहरू हुन्। त्यसो भए मैले किन सबै मानवलाई यी प्रकारमा विभाजित गरेँ त? (किनभने फरक-फरक प्रकारका मानिसहरूको अन्त्य र गन्तव्य पनि फरक-फरक नै हुन्छन्।) यसको एउटा पक्ष यही हो। जब यी विभिन्‍न जात र प्रकारका मानिसहरू आत्मिक संसारमा फर्कन्छन्, तिनीहरू प्रत्येक फरक-फरक स्थानमा जानेछन् र जीवन र मृत्युको चक्रको फरक-फरक नियमको अधीनमा रहनेछन्, त्यसैले मैले मानवलाई यी मुख्य प्रकारहरूमा विभाजित गरेको छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्