परमेश्‍वर स्वयम् अद्वितीय ८

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (२) - भाग एक

हामी हाम्रो पछिल्लो विषयको सङ्गतिलाई निरन्तरता दिनेछौं। हाम्रो गत सङ्‍गतिको विषय के थियो सो तिमीहरू सम्झन सक्छौ? (सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ।) के “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने विषय तिमीहरूलाई धेरै टाढाको विषय हो जस्तो महसुस हुन्छ? के यसको बारेमा तिमीहरूका हृदयमा पहिले नै कुनै मोटामोटी अवधारणा रहेको छ? यस विषयमा हाम्रो गत सङ्‍गतिको मुख्य केन्द्र बिन्दु के थियो भनेर कसैले एकछिन कुरा गर्न सक्छ? (परमेश्‍वरले गर्नुभएको सबै थोकको सृष्टिद्वारा उहाँले सबै थोक र मानवजातिको पालनपोषण गर्नुहुन्छ भन्‍ने म देख्छु। विगतमा, म सधैँ के सोच्थें भने, जब परमेश्‍वरले मानिसको निम्ति आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ, तब उहाँले आफ्‍ना चुनिएका मानिसहरूलाई मात्र आफ्नो वचन प्रदान गर्नुहुन्छ; तर मैले सबै थोकहरूमाथि शासन गर्ने व्यवस्थाद्वारा परमेश्‍वरले सारा मानवजातिको पालनपोषण गर्दै हुनुहुन्छ भन्‍ने कुरा बुझेको थिइनँ। यस सत्यताको बारेमा परमेश्‍वरले बताउनुभएपछि मात्र उहाँ सबै थोकको स्रोत हुनुहुन्छ, सबै थोकको जीवन उहाँले नै प्रदान गर्नुभएको हो, परमेश्‍वरले नै यी व्यवस्थाहरूको प्रबन्ध गर्नुहुन्छ र उहाँले नै सबै थोकको पालनपोषण गर्नुहुन्छ भन्‍ने कुरामा म सचेत भएँ। परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभएको तथ्यबाट म उहाँको प्रेम देख्छु।) पछिल्लो समय, हामीले मुख्य रूपमा परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको र उहाँले कसरी तिनीहरूको निम्ति व्यवस्था र सिद्धान्तहरू स्थापित गर्नुभयो भन्‍ने कुरा सङ्‍गति गरेका थियौँ। यस्ता व्यवस्था र सिद्धान्तहरूको अधीनमा सबै थोक परमेश्‍वरको प्रभुत्वमुनि र परमेश्‍वरको नजरभित्र जिउँछन्, मर्छन् र मानिससँग सहअस्तित्वमा रहन्छन्। हामीले सर्वप्रथम परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभएको र तिनीहरू वृद्धि हुने व्यवस्थाहरूका साथै तिनीहरूको वृद्धिको प्रक्षेप-पथ र ढाँचाहरूको निर्धारण गर्न उहाँले आफ्नै विधिको प्रयोग गर्नुभएको विषयमा कुरा गर्‍यौं। उहाँले यस भूमिमा सबै थोक जीवित रहने तरिकाहरू पनि निर्धारण गर्नुभयो ताकि तिनीहरू निरन्तर रूपमा बढ्न, वृद्धि हुन र अन्तर्निर्भर रहेर जीवित रहन सकून्। यस्ता विधि र व्यवस्थाहरूद्वारा यस भूमिमा सबै थोक सहजै र शान्तिपूर्वक तवरले अस्तित्वमा रहन र बढ्न सक्षम हुन्छन्, अनि त्यस्तो वातावरणमा मात्रै मानवजातिले परमेश्‍वरको मार्गनिर्देशनमा सधैँ अगाडि बढ्दै स्थिर घर र जिउने स्थिर अवस्था पाउन सक्छन्।

पछिल्लो समय, हामीले सबै थोकका लागि परमेश्‍वरले आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ भन्‍ने आधारभूत अवधारणाको बारेमा छलफल गर्‍यौं: सबै थोक मानवजातिको फाइदाको लागि अस्तित्वमा रहन र बाँच्‍न सकून् भनेर परमेश्‍वरले सबै थोकको निम्ति यसरी आवश्यक प्रबन्ध गर्नुहुन्छ। अर्को शब्दमा, परमेश्‍वरले निर्धारण गर्नुभएको व्यवस्थाको कारण यस्तो वातावरण अस्तित्वमा छ। यस्ता व्यवस्थाहरूलाई परमेश्‍वरले गर्नुभएको संरक्षण र शासन प्रबन्धको कारणले मात्र मानवजातिसँग अहिलेको जीवित रहने वातावरण छ। हामीले पछिल्लो समय गरेको कुराकानी र परमेश्‍वरसम्‍बन्धी ज्ञानको विषयमा विगतमा हामीले गरेको कुराकानीको बीचमा यो एउटा ठूलो फट्को हो। त्यो फट्को अस्तित्वमा रहनुको कारण के हो? यो यही हो कि हामीले विगतमा परमेश्‍वरलाई चिन्‍नेबारेमा कुरा गर्दा हामीले परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुने र व्यवस्थापन गर्नुहुने कार्यको दायराभित्र रहेर कुरा गरिरहेका थियौँ, अर्थात् परमेश्‍वरका चुनिएका मानिसहरूको मुक्ति र व्यवस्थापनको दायराभित्र रहेर कुरा गरिरहेका थियौँ र त्यस दायराभित्र हामीले परमेश्‍वरलाई चिन्‍ने, परमेश्‍वरका कार्यहरू, उहाँको स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको इच्छा र उहाँले कसरी मानिसलाई सत्य र जीवन प्रदान गर्नुहुन्छ भन्‍ने विषयमा कुरा गर्‍यौं। तर पछिल्लो समय, हामीले सुरु गरेको विषय बाइबलको विषयवस्तु र परमेश्‍वरले आफ्‍ना चुनिएका मानिसहरूलाई मुक्ति दिनेसम्‍बन्धी दायरामा सीमित थिएन। यो विषय यस दायराभन्दा बाहिर गयो, र यसमा बाइबलको अनि परमेश्‍वरले उहाँका चुनिएका मानिसहरूमा गर्नुहुने तीन चरणको कामको सीमाबाहिर गएर परमेश्‍वर स्वयम्‌को बारेमा छलफल गरियो। यसैले, जब तैँले मेरो सङ्‍गतिको यस भागलाई सुन्छस्, तैँले परमेश्‍वरसम्‍बन्धी तेरो ज्ञानलाई बाइबलमा र परमेश्‍वरका तीन चरणको काममा सीमित पार्नु हुँदैन। बरु, तैँले तेरो दृष्टिकोणलाई खुल्ला छोड्नुपर्छ; तैँले सबै थोकमा परमेश्‍वरका कार्यहरू र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, अनि उहाँले सबै थोकलाई कसरी नियन्त्रण र व्यवस्थापन गर्नुहुन्छ भन्‍ने कुरालाई देख्‍नुपर्छ। यस विधिमार्फत र यस जगमा, परमेश्‍वरले सबै थोकका निम्ति कसरी आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ भन्‍ने कुरा तैँले देख्‍न सक्छस्, जसले परमेश्‍वर सबै थोकको निम्ति जीवनको साँचो स्रोत हुनुहुन्छ, वास्तवमा यही नै परमेश्‍वर स्वयम्‌को साँचो पहिचान हो भन्‍ने कुरा बुझ्‍न मानवजातिलाई सक्षम तुल्याउँछ। भन्‍नुको अर्थ, परमेश्‍वरको पहिचान, हैसियत र अधिकार, उहाँका सबै थोक, उहाँलाई अहिले पछ्याउनेहरूको निम्ति मात्र होइनन्—तिमीहरू अर्थात् यस समूहका मानिसहरूको निम्ति मात्र होइनन्—तर सबै थोकको निम्ति हुन्। यसैले, सबै थोकको दायरा धेरै फराकिलो छ। सबै कुरामाथि परमेश्‍वरको शासनको दायरालाई जनाउन म “सबै थोक” को प्रयोग गर्छु किनकि परमेश्‍वरले शासन गर्नुहुने कुराहरू केवल तिमीहरूका आँखाले देख्‍न सक्‍ने कुराहरू मात्र होइनन्—तिनमा सबैले देख्‍न सक्‍ने भौतिक संसार मात्र होइन, तर मानव आँखाले देख्‍न नसक्‍ने यस भौतिक संसारबाहिरको अर्को संसार र त्योभन्दा पनि बाहिरका ग्रहहरू र बाहिरी अन्तरिक्ष पनि समावेश हुन्छ जहाँ मानवजाति बसोबास गर्न सक्दैन। सबै थोकमाथि परमेश्‍वरको प्रभुत्वको दायरा त्यही हो। उहाँको प्रभुत्वको दायरा धेरै फराकिलो छ; तिमीहरूले गर्नुपर्ने कामचाहिँ, तिमीहरू हरेकले बुझ्‍नुपर्ने, हेर्नुपर्ने र तिमीहरूले ज्ञान पाउनुपर्ने कुराहरूलाई तिमीहरूले बुझ्‍न, हेर्न र स्पष्ट हुन आवश्यक छ, र तिमीहरूले त्यसो गर्नैपर्छ। “सबै थोक” को दायरा वास्तवमा धेरै फराकिलो भए तापनि, तिमीहरूले देख्‍नै नसक्‍ने र तिमीहरू व्यक्तिगत सम्पर्कमा आउन नसक्‍ने दायराभित्रका कुराहरूको विषयमा म तिमीहरूलाई बताउनेछैन। म तिमीहरूलाई मानवजाति सम्पर्कमा आउन सक्‍ने, तिनीहरूले बुझ्‍न र बोध गर्न सक्‍ने क्षेत्रभित्रका कुराहरू मात्र बताउनेछु, ताकि “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने वाक्यांशको साँचो अर्थको बारेमा हरेक व्यक्ति सचेत हुन सकोस्। यसरी, तिमीहरूसँगको मेरो सङ्गतिका कुनै पनि वचनहरू खोक्रा हुनेछैनन्।

पछिल्लो समय, मानिसहरूले सबै थोकको निम्ति परमेश्‍वरले कसरी आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ भन्‍ने कुराको आधारभूत बुझाइ हासिल गर्न सकून् भनेर हामीले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने विषयको बारेमा सामान्य रूपरेखा प्रदान गर्नको निम्ति कथावाचन विधिको प्रयोग गर्‍यौं। तिमीहरूलाई यो आधारभूत अवधारणा सिकाउनुको उद्देश्य के हो त? यो परमेश्‍वरको काम बाइबल र उहाँका तीन चरणको कामभन्दा बाहिर फैलिएको छ भन्‍ने कुरा मानिसहरूलाई बुझाउनको निम्ति हो। मानवले देख्‍न नसक्‍ने र तिनीहरू सम्पर्कमा आउन नसक्‍ने धेरै काम उहाँले गरिरहनुभएको छ; यस्तो काम उहाँ आफैले व्यक्तिगत रूपमा गर्नुहुन्छ। यदि परमेश्‍वर आफ्नो व्यवस्थापनको काममा र आफ्ना चुनिएका मानिसहरूको नेतृत्व गर्ने काममा मात्रै लागिरहनुभएको थियो, र अर्को कुनै काममा संलग्‍न हुनुभएको थिएन भने, तिमीहरू सबैलगायत यस मानवजातिका लागि अगाडि बढ्ने कार्य धेरै कठिन हुनेथियो। यस मानवजाति र यस संसार निरन्तर रूपमा विकास हुन सक्‍नेथिएन। “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने वाक्यांशको महत्त्व यसैमा छ, जुन आज मैले तिमीहरूसँग गर्ने सङ्‍गतिको विषय हो।

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण

हामीले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने वचनसँग सम्बन्धित विभिन्‍न विषयहरू र धेरै विषयवस्तुको बारेमा छलफल गरेका छौँ, तर तिमीहरूलाई आफ्नो वचन उपलब्ध गराउने र तिमीहरूमाथि आफ्नो सजाय र न्यायको काम गर्नेबाहेक परमेश्‍वरले मानवजातिलाई के कुराहरू प्रदान गर्नुहुन्छ भन्‍नेबारेमा के तिमीहरूलाई हृदयदेखि नै थाहा छ? केही मानिसहरूले भन्‍न सक्छन्, “परमेश्‍वरले मलाई अनुग्रह र आशिष्‌हरू प्रदान गर्नुहुन्छ; उहाँले मलाई अनुशासन र आराम दिनुहुन्छ, अनि उहाँले मलाई हरसम्भव तरिकाले वास्ता र सुरक्षा प्रदान गर्नुहुन्छ।” अरूले भन्‍नेछन्, “परमेश्‍वरले मलाई दैनिक भोजन र पिउने कुरा प्रदान गर्नुहुन्छ”, अनि अरूले यसो समेत भन्‍नेछन्, “परमेश्‍वरले मलाई सबै कुरा प्रदान गर्नुभएको छ।” मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने यी कुराहरूप्रति तिमीहरूले तिमीहरूका आफ्नै शारीरिक जीवनका अनुभवसँग जोडेर प्रतिक्रिया दिन सक्छौ। परमेश्‍वरले हरेक व्यक्तिलाई धेरै कुराहरू प्रदान गर्नुहुन्छ, यद्यपि हामीले यहाँ छलफल गरिरहेको कुरा मानिसहरूका दैनिक आवश्यकताका दायरामा सीमित छैनन्, यसको उद्देश्य त हरेक व्यक्तिको दृष्टिकोणलाई विस्तार गर्न र परिस्थितिलाई बृहत् दृष्टिकोणबाट हेर्न लगाउनु हो। सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भने उहाँले सबै थोकको जीवन कसरी कायम राख्‍नुहुन्छ? अर्को शब्दमा भन्दा, आफ्ना सृष्टिका सबै थोकको अस्तित्व र यसलाई टेको दिने व्यवस्थाहरू कायम राख्‍नको निम्ति परमेश्‍वरले तिनीहरूलाई के दिनुहुन्छ, ताकि तिनीहरू निरन्तर अस्तित्वमा रहिरहून्? आजको हाम्रो छलफलको मुख्य बुँदा त्यही हो। मैले भनेको कुरा तिमीहरूले बुझ्यौ? तिमीहरूलाई यो विषय अत्यन्तै अपरिचित लाग्‍न सक्छ तर म अत्यन्तै गहन कुनै पनि धर्मसिद्धान्तहरूको बारेमा कुरा गर्नेछैनँ। म तिमीहरूले मेरा वचनहरू सुन र तीबाट समझ प्राप्त गर्न सक भन्‍ने कुरालाई सुनिश्‍चित गर्ने कोसिस गर्नेछु। तिमीहरूले कुनै बोझको अनुभव गर्नु आवश्यक छैन—तिमीहरूले ध्यान दिएर सुने पुग्छ। तथापि, यहाँ मैले फेरि एकपटक जोड दिनुपर्छ: मैले कुन विषयको बारेमा बोलिरहेको छु? मलाई भन। (सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ।) त्यसो भए परमेश्‍वरले सबै थोकका निम्ति कसरी आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ? “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भनेर भन्‍नको निम्ति परमेश्‍वरले सबै थोकलाई के कुरा उपलब्ध गराउनुहुन्छ? के तिमीहरूसँग यसको बारेमा केही अवधारणा र विचारहरू छन्? यस्तो देखिन्छ कि मैले तिमीहरूका मन र मस्तिष्कमा तिमीहरूलाई बिलकुल थाहा नभएको विषयमा छलफल गरिरहेको छु। तर म आशा गर्छु तिमीहरूले यस विषयलाई मैले परमेश्‍वरको बारेमा भन्‍ने कुरासँग जोड्न सक्‍नेछौ, अरू कुनै पनि ज्ञान, मानवीय संस्कृति वा अनुसन्धानसँग होइन। म परमेश्‍वरको बारेमा, परमेश्‍वर स्वयम्‌को बारेमा मात्र कुरा गर्दै छु। यो तिमीहरूलाई मेरो सल्लाह हो। म ढुक्‍क छु कि तिमीहरू यो कुरा बुझ्छौ!

परमेश्‍वरले मानवजातिलाई धेरै कुरा प्रदान गर्नुभएको छ। म मानिसहरूले देख्‍न सक्‍ने अर्थात् तिनीहरूले अनुभव गर्न सक्‍ने कुराबाट सुरु गर्नेछु। यी कुराहरूलाई मानिसहरूले आफ्नो हृदयले ग्रहण गर्न र बुझ्‍न सक्छन्। यसैले सर्वप्रथम, भौतिक संसारको बारेमा छलफल गर्दै परमेश्‍वरले मानवजातिको निम्ति उपलब्ध गराउनुभएका कुराहरूको बारेमा कुरा गर्दै सुरु गरौं।

१. हावा

सर्वप्रथम, मानिसले सास फेर्न सकोस् भनेर परमेश्‍वरले हावाको सृष्टि गर्नुभयो। हावा मानवजातिले दैनिक रूपमा सम्पर्क गर्न सक्‍ने पदार्थ हो र यो यस्तो कुरा हो जसमाथि मानव पलपल निर्भर हुन्छ, चाहे त्यो तिनीहरू सुतेको समय नै किन नहोस्। परमेश्‍वरले सृष्टि गर्नुभएको हावा मानवजातिको निम्ति अत्यन्तै महत्त्वपूर्ण छ: यो तिनीहरूको हरेक सास र जीवन स्वयम्‌को निम्ति अत्यावश्यक छ। महसुस गर्न मात्र सकिने र देख्‍न नसकिने यो पदार्थ आफ्नो सृष्टिका सबै थोकको निम्ति परमेश्‍वरले दिनुभएको पहिलो उपहार थियो। तर हावाको सृष्टि गर्नुभएपछि मेरो काम सकियो भनेर के परमेश्‍वर रोकिनुभयो? कि हावा कति सघन हुनुपर्छ भनेर उहाँले ध्यान दिनुभयो? हावामा के-के कुराहरू हुनुपर्छ भनेर के उहाँले ध्यान दिनुभयो? हावालाई बनाउँदा परमेश्‍वरले के सोच्दै हुनुहुन्थ्यो? परमेश्‍वरले हावा किन बनाउनुभयो र उहाँका तर्क के थियो? मानवलाई हावा चाहिन्छ—तिनीहरूले सास फेर्नुपर्छ। पहिलो कुरा, हावाको घनत्व मानव फोक्सोको निम्ति उपयुक्त हुनुपर्छ। कसैलाई हावाको घनत्व थाहा छ? वास्तवमा, मानिसहरूले यस प्रश्‍नको जवाफ सङ्ख्या वा तथ्याङ्कमा दिनुपर्ने कुनै खास आवश्यकता छैन र वास्तवमा जवाफ जान्‍नु पनि त्यति आवश्यक छैन—सामान्य जानकारी मात्र हुनु पर्याप्त छ। परमेश्‍वरले मानव फोक्सोले सास फेर्नको निम्ति सबैभन्दा उपयुक्त घनत्व भएको हावा बनाउनुभयो। अर्थात्, उहाँले हावा बनाउनुभयो ताकि सास फेर्दा त्यो मानव शरीरमा सजिलै पसोस् र सास फेर्दा त्यसले शरीरलाई असर नगरोस्। परमेश्‍वरले हावा बनाउँदा ध्यान दिनुभएका कुराहरू यिनै थिए। अब हामी हावामा के-के हुन्छन् भनेर कुरा गर्छौं। यसमा मानवको निम्ति विषालु कुराहरू मिसिएका छैनन् र यसले फोक्सो वा शरीरको कुनै पनि अङ्गलाई नोक्सान पुर्‍याउँदैन। परमेश्‍वरले यी सबै कुरामा ध्यान पुर्‍याउनुपरेको थियो। मानवले सास फेरेको हावा शरीरमा सजिलै छिरोस् र बाहिर निस्कोस् अनि सास भित्र तानेपछि हावाभित्र भएका तत्वहरूको गुण यस्तो किसिमको होस् कि त्यसले रगत र फोक्सोमा र समग्र शरीरमा भएको बेकार हावा उचित तरिकाले पाचन हुन सकोस् भन्‍ने कुरामा परमेश्‍वरले ध्यान दिनुपरेको थियो। यसका अतिरिक्त, हावामा कुनै पनि किसिमका विषालु तत्वहरूको मिसावट नहोस् भन्‍ने कुरामा पनि उहाँले ध्यान दिनुपरेको थियो। मैले यी दुई मानकहरूबारे तिमीहरूलाई बताउनुको लक्ष्य तिमीहरूलाई कुनै खास ज्ञान दिनु होइन, तर परमेश्‍वरले आफ्नो सृष्टिको हरेक थोक उहाँको आफ्नै सोचविचारअनुसार बनाउनुभयो र उहाँले सृष्टि गर्नुभएको हरेक कुरा सबैभन्दा उत्तम छ भनेर तिमीहरूलाई देखाउनको निम्ति हो। यसका अतिरिक्त, हावामा भएको धूलोको परिमाण; र पृथ्वीमा भएको धूलो, बालुवा र माटोको परिमाण; यसका साथै आकाशदेखि पृथ्वीमा झर्ने धूलोको परिमाणको सन्दर्भमा भन्दा—यी कुराहरूको व्यवस्थापन गर्ने, तिनीहरूलाई हटाउने वा तिनीहरूलाई विभाजन गर्ने पनि परमेश्‍वरका आफ्नै तरिकाहरू छन्। केही परिमाणको धूलो भए तापनि त्यसले मानिसको शरीरलाई हानि नपुर्‍याउने वा मानिसको सास फेर्ने कार्यलाई खतरा नपुर्‍याउने तरिकाले परमेश्‍वरले बनाउनुभएको छ र उहाँले धूलोका कणहरूलाई शरीरलाई हानि नहुने किसिमले बनाउनुभएको छ। के परमेश्‍वरले गर्नुभएको हावाको सृष्टि रहस्यमय छैन र? के यो उहाँको मुखबाट हावाको सास फुक्‍नुजस्तो सामान्य कुरा थियो र? (थिएन।) उहाँले सबैभन्दा सामान्य कुराको सृष्टि गर्नुहुँदा पनि परमेश्‍वरको रहस्य, उहाँको मनमस्तिष्कको कार्य गर्ने शैली र उहाँको सोच्‍ने तरिका र उहाँको बुद्धि, सबै कुरा समावेश भएको स्पष्ट देखिन्छ। के परमेश्‍वर व्यावहारिक हुनुहुन्‍न त? (हो, उहाँ व्यावहारिक हुनुहुन्छ।) यसको अर्थ यही हो कि सामान्य कुराहरूको सृष्टि गर्दा पनि परमेश्‍वरले मानवजातिको बारेमा सोचिरहनुभएको थियो। पहिलो कुरा, मानवले सास फेर्ने हावा सफा छ र यसमा भएका कुराहरू मानवलाई सास फेर्नको निम्ति उपयुक्त छन्, विषालु र मानवलाई हानि पुर्‍याउने किसिमका छैनन्; त्यसरी नै हावाको घनत्व पनि मानिसलाई सास फेर्नको निम्ति उपयुक्त छ। मानिसले निरन्तर तान्‍ने र छोड्ने यो हावा मानव शरीर, मानव देहको निम्ति आवश्यक छ। यसैले मानिसले स्वतन्त्र भएर अवरोध र चिन्ताविना नै सास फेर्न सक्छ। यसैले तिनीहरूले सामान्य रूपमा सास फेर्न सक्छन्। परमेश्‍वरले सुरुमा सृष्टि गर्नुभएको कुरा हावा नै हो, अनि यो मानव स्वासप्रश्‍वासको निम्ति अपरिहार्य छ।

२. तापक्रम

हामीले छलफल गर्ने दोस्रो कुरा तापक्रम हो। तापक्रम के हो भन्‍ने कुरा सबैलाई थाहा छ। तापक्रम मानव अस्तित्वको निम्ति चाहिने सुहाउँदो वातावरणको लागि आवश्यक कुरो हो। उदाहरणको लागि, यदि तापक्रम धेरै उच्‍च अर्थात् मानौँ तापक्रम चालीस डिग्री सेल्सियसभन्दा माथि छ भने के यसले मानवलाई धेरै कमजोर बनाउने थिएन र? के मानव यस्तो परिस्थितिमा जिउनु थकाइलाग्दो कुरा हुने थिएन र? अनि यदि तापक्रम अति न्यून थियो भने के हुनेथियो? मानौँ तापक्रम ऋणात्मक चालीस डिग्री सेल्सियस पुग्यो—मानवले यस्तो परिस्थितिलाई पनि सामना गर्न सक्दैन। यसैले, तापक्रमको दायरा मानव शरीरअनुकूल हुने गरी, तापक्रमको दायरा मिलाउने कुरामा परमेश्‍वरले विशेष ध्यान दिनुभयो, जुन लगभग ऋणात्मक तीस डिग्री सेल्सियस र चालीस डिग्री सेल्सियसको बीचमा पर्छ। उत्तरदेखि दक्षिणसम्मका भूभागहरूको तापक्रमहरू मूलभूत रूपमा यही दायरामा पर्छन्। धेरै ठन्डा क्षेत्रहरूको तापक्रम ऋणात्मक पचास वा साठी डिग्री सेल्सियसमा झर्न सक्छ। परमेश्‍वरले मानिसहरूलाई यस्ता क्षेत्रहरूमा बसाउनुहुन्‍न। त्यसो भए यी बरफिला क्षेत्रहरू किन अस्तित्वमा छन् त? परमेश्‍वरसँग उहाँको आफ्नै बुद्धि छ र यसको निम्ति उहाँका आफ्नै अभिप्रायहरू छन्। उहाँले तँलाई ती ठाउँहरूको नजिक जान लगाउनुहुन्‍न। धेरै ताता र धेरै चिसा ठाउँहरूलाई परमेश्‍वरले सुरक्षा दिनुभएको छ, अर्थात् परमेश्‍वरले मानिसलाई त्यहाँ बसोबास गराउने योजना बनाउनुभएन। यी ठाउँहरू मानवजातिका निम्ति होइनन्। तर परमेश्‍वरले पृथ्वीमा यस्ता ठाउँहरूलाई अस्तित्वमा किन ल्याउनुभयो त? यदि यी ठाउँहरूमा परमेश्‍वरले मानिसहरूलाई बसोबास गराउनुहुन्‍न वा मानिसहरू पनि त्यहाँ बाँच्‍दैनन् भने परमेश्‍वरले किन ती ठाउँहरूको सृष्टि गर्नुभयो त? त्यसमा परमेश्‍वरको बुद्धि लुकेको छ। त्यसको अर्थ, परमेश्‍वरले मानव जीवित रहने वातावरणको तापक्रमको दायरा उचित तवरले अङ्‍कित गर्नुभएको छ। यहाँ प्राकृतिक नियमले पनि काम गर्छ। परमेश्‍वरले तापक्रमलाई कायम राख्‍न र नियन्त्रण गर्न केही कुराहरूको सृष्टि गर्नुभयो। तिनीहरू के हुन् त? सबैभन्दा पहिलो, सूर्यले मानिसहरूलाई न्यानो पार्छ, तर यो न्यानोपन अत्यन्तै धेरै भयो भने मानिसहरूले सहन सक्छन् र? के कुनै व्यक्तिले सूर्यको नजिक जाने हिम्मत गर्छ? के सूर्यसम्म पुग्‍ने कुनै वैज्ञानिक उपकरण पृथ्वीमा छ? (छैन।) किन छैन? सूर्य अत्यन्तै तातो छ। त्यसको धेरै नजिक जाने कुनै पनि कुरा पग्लन्छ। यसैले, परमेश्‍वरले विशेष गरी मानवजातिमाथिको सूर्यको उचाइ र त्यसको दूरीलाई आफ्नो सावधानीपूर्वक गणना र आफ्नो मापदण्डअनुसार निर्धारण गर्ने काम गर्नुभयो। त्यसपछि, पृथ्वीका दक्षिणी र उत्तरी ध्रुव निर्धारण गर्नुभयो। यी क्षेत्रहरू पूर्ण रूपमा जमेका र हिउँले ढाकिएका छन्। के मानवजाति हिउँले ढाकिएको क्षेत्रमा बस्‍न सक्छ? के यी क्षेत्रहरू मानव अस्तित्वका निम्ति उपयुक्त छन्? छैनन्, त्यसैले मानिसहरू यी ठाउँहरूमा जाँदैनन्। मानिसहरू दक्षिणी र उत्तरी ध्रुवमा नजाने हुनाले तिनका हिमनदीहरू संरक्षित छन् र तिनले तापक्रम नियन्त्रण गर्ने आफ्नो उद्देश्यअनुसार काम गर्न सक्छन्। तिमीहरूले बुझ्यौ, होइन त? यदि दक्षिणी ध्रुव र उत्तरी ध्रुव नहुने हो भने सूर्यको निरन्तर तापले पृथ्वीका मानिसहरूलाई नष्ट पार्नेथियो। तर के परमेश्‍वरले यी दुई कुराहरूबाट मात्र तापक्रमलाई मानव अस्तित्वको दायराभित्र राख्‍नुहुन्छ त? होइन। सूर्यको तापलाई सोस्‍ने मैदानका घाँस, विभिन्‍न किसिमका रूखहरू, वनजङ्गलका सबै किसिमका बोटबिरुवाहरूजस्ता सबै किसिमका जीवित प्राणीहरू छन्, जसले सूर्यको तापीय ऊर्जालाई तटस्थ बनाई मानवजाति बस्‍ने वातावरणको तापक्रमलाई नियन्त्रण गर्छन्। नदी र तालहरूजस्ता पानीका स्रोतहरू पनि छन्। नदी र तालहरूले ओगट्ने क्षेत्रलाई कसैले पनि तय गर्दैन। पृथ्वीमा कति पानी हुनेछ भन्‍ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन, न त पानीको बहाव, त्यसको बहावको दिशा, त्यसको परिमाण वा त्यसको गतिलाई नै कसैले नियन्त्रण गर्न सक्छ। परमेश्‍वरलाई मात्र थाहा छ। जमिनमुनिको पानीदेखि लिएर जमिनमाथि देखिने नदी र तालहरूलगायत पानीका यी विविध स्रोतहरूले मानिस बस्‍ने वातावरणको तापक्रमको नियन्त्रण गर्न सक्छन्। पानीका स्रोतहरूबाहेक पर्वत, समथर भूभाग, घाटी र सिमसारजस्ता विभिन्‍न किसिमका भौगोलिक स्वरूपहरू पनि छन्, ती सबैले आफ्ना भौगोलिक दायरा र क्षेत्रको अनुपातअनुसार केही हदसम्म तापक्रमको नियन्त्रण गर्छन्। उदाहरणको लागि, यदि एउटा पर्वतको परिधि एक सय किलोमिटर छ भने उक्त एक सय किलोमिटरले एक सय किलोमिटर बराबरको उपयोगिताको योगदान दिन्छ। परमेश्‍वरले पृथ्वीमा कति वटा पर्वत शृङ्खला र घाटीहरू सृष्टि गर्नुभयो, यो परमेश्‍वरले नै विचार गर्नुभएको सङ्ख्या हो। अर्को शब्दमा भन्दा, परमेश्‍वरले सृष्टि गर्नुभएका हरेक थोकको अस्तित्वको पछाडि एउटा कथा छ र हरेक थोकमा परमेश्‍वरको बुद्धि र योजना छ। उदाहरणको निम्ति वनजङ्गल र विविध किसिमका सबै वनस्पतिलाई लिऔं—तिनीहरू अस्तित्वमा आउने र वृद्धि हुने क्षेत्रको दायरा र हद कुनै पनि मानवको नियन्त्रणभन्दा बाहिर छ र यी कुराहरूको बारेमा कसैले केही भन्‍न पाउँदैन। यसै गरी, ती कुराहरूले कति पानी सोस्‍न सक्‍छन् भन्‍ने कुरा कुनै पनि मानवले नियन्त्रण गर्न सक्दैन, न त उसले ती कुराहरूले सूर्यबाट कति तापीय ऊर्जा सोस्‍न सक्‍छन् भन्‍ने कुरा नै नियन्त्रण गर्न सक्छ। यी सबै कुरा परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुहुँदा बनाउनुभएको योजनाको दायराभित्र पर्छन्।

सबै कुरामा परमेश्‍वरले सावधानीपूर्वक योजना, विचार र प्रबन्ध गर्नुभएको कारणले मात्र मानिस यस्तो उचित तापक्रम भएको वातावरणमा बस्‍न सक्छ। यसैले, मानिसले आफ्ना आँखाले देख्‍ने हरेक कुरा, उदाहरणको लागि सूर्य, मानिसले प्रायजसो सुन्‍ने गरेका दक्षिणी र उत्तरी ध्रुवका साथै, जमिनमाथि र जमिनमुनि बस्‍ने तथा पानीमा बस्‍ने विविध प्रकारका जीवित प्राणीहरू, र वनजङ्गल र अन्य प्रकारका वनस्पतिद्वारा ढाकिएका ठाउँको परिमाण, र पानीका स्रोतहरू, विविध प्रकारका पानीका भागहरू, समुद्री पानी र सफा पानीका परिमाणहरू र विभिन्‍न किसिमका भौगोलिक वातावरणहरू—मानिसको अस्तित्वको निम्ति सामान्य तापक्रम कायम राख्‍न परमेश्‍वरले यी सबै कुराको प्रयोग गर्नुहुन्छ। यो निरपेक्ष छ। परमेश्‍वरले यो सबैको बारेमा गहन तरिकाले सोच्‍नुभएको कारणले मात्र मानिस यस्तो सुहाउँदो तापक्रम भएको वातावरणमा जिउन सकेको छ। यो धेरै चिसो पनि हुनु हुँदैन, धेरै तातो पनि हुनु हुँदैन: धेरै ताता ठाउँहरू, जहाँको तापक्रम मानव शरीरले अनुकूलन गर्न सक्‍नेभन्दा धेरै छ, ती ठाउँहरू निश्‍चय नै परमेश्‍वरले तिमीहरूका निम्ति छुट्याउनुभएको होइन। तापक्रम अत्यन्तै न्यून भएको अत्यन्तै चिसा ठाउँहरूमा पुगेपछि मानव केही मिनेटमै पूर्ण रूपमा जम्छन्, जसले गर्दा तिनीहरू बोल्‍न सक्दैनन्, तिनीहरूको मस्तिष्क जम्छ, तिनीहरूले सोच्‍न सक्दैनन् र तिनीहरू चाँडै निसासिन्छन्—यस्ता ठाउँहरूलाई पनि परमेश्‍वरले मानवजातिको लागि छुट्याउनुभएको होइन। मानवले जस्तोसुकै किसिमको अनुसन्धान गर्न चाहे तापनि, तिनीहरूले नवीन काम गर्न वा यस्ता सीमाहरूलाई तोड्न खोजे तापनि—मानिसहरूसँग जस्तोसुकै विचारहरू भए तापनि, तिनीहरूले मानव शरीरले अनुकूलन गर्न सक्‍ने सीमाहरूलाई नाघ्‍न सक्‍नेछैनन्। मानिसको निम्ति परमेश्‍वरले सृष्टि गर्नुभएका यी सीमाहरूलाई तिनीहरूले कदापि त्याग्‍न सक्‍नेछैनन्। यस्तो किन हुन्छ भने परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभएको हो र मानव शरीरले अनुकूलन गर्न सक्‍ने तापक्रम परमेश्‍वरलाई थाहा छ। तर मानव आफैलाई भने थाहा छैन। मानवलाई थाहा छैन भनेर म किन भन्छु त? मानवले कस्ता मूर्ख कुराहरू गरेका छन्? के धेरै मानिसहरूले उत्तरी र दक्षिणी ध्रुवलाई निरन्तर चुनौती दिने प्रयास गरेका छैनन् र? यस्ता मानिसहरूले सधैँ ती ठाउँहरूमा गएर जमिन कब्जा गर्ने चाहना गरेका छन्, ताकि तिनीहरूले त्यहाँ जरा गाड्न सकून्। त्यो निरर्थक कार्य हुनेछ। यदि तैँले पूर्ण रूपले ध्रुवहरूको अनुसन्धान गरेको छस् भने पनि, तैँले त्यसपछि के गर्छस् र? यदि तँ उक्त तापक्रममा अनुकूलन हुन सक्छस् र त्यहाँ बस्‍न सक्षम बन्छस् भने पनि, तैँले दक्षिणी र उत्तरी ध्रुवहरूको वर्तमान वातावरण “सुधार गरेमा” पनि, के यसले कुनै पनि तरिकाले मानवजातिलाई फाइदा पुर्‍याउँछ र? मानवजातिसँग ऊ बाँच्‍न सक्‍ने वातावरण छ, तापनि मानिसहरू चुपचाप र आज्ञाकारी भई बस्दैनन्, बरु आफू बाँच्‍न नसक्‍ने ठाउँहरूमा जाने जोखिम उठाउन जोड दिन्छन्। यसको अर्थ के हो त? तिनीहरूलाई यस्तो सुहाउँदो तापक्रमको जीवनदेखि न्यास्रो लागेको छ र तिनीहरू अधीर भएका छन्, अनि तिनीहरूले अति नै धेरै आशिष्‌हरू प्राप्त गरेका छन्। त्यसबाहेक, जीवनको लागि दिइएको यो नियमित वातावरणलाई मानवजातिले लगभग पूर्ण रूपमा नष्ट गरिसकेको छ, यसैले अब दक्षिणी ध्रुव र उत्तरी ध्रुवमा गएर अझ धेरै क्षति गर्न वा “नयाँ बाटो बनाउने‍” कुनै तरिका पत्ता लगाउने कुनै प्रकारको “अभियान” को खोजी गर्न सकिन्छ भन्‍ने तिनीहरूलाई लाग्छ। के यो मूर्खता होइन र? भन्‍नुको तात्पर्य, परमेश्‍वरले तिनीहरूको निम्ति सृष्टि गर्नुभएको सुन्दर घरलाई यस मानवजातिले तिनीहरूका पुर्खा शैतानको नेतृत्वमा लापरवाही र स्वेच्छाचारी तरिकाले नष्ट गर्दै एकपछि अर्को गर्दै निरन्तर मूर्खतापूर्ण काम गरिरहन्छ। यो शैतानले गरेको काम हो। यसबाहेक, पृथ्वीमा मानवजातिको अस्तित्व केही हदसम्म खतरामा परेको देखेर, धेरै मानिसहरूले चन्द्रमामा गएर त्यहाँ बाँच्‍ने तौरतरिका स्थापित गर्ने चाहना गर्दै त्यहाँ जाने उपायहरूको खोजी गर्छन्। तर अन्ततः चन्द्रमामा अक्सिजनको अभाव छ। के मानवजाति अक्सिजनविना बाँच्‍न सक्छ त? चन्द्रमामा अक्सिजनको अभाव भएको कारण मानिस त्यस ठाउँमा बस्‍न सक्दैन, तापनि मानिस त्यहाँ जाने आफ्नो चाहनामा दृढ छ। यस्तो व्यवहारलाई के भन्‍ने? यो पनि आत्मविनाश हो, होइन र? चन्द्रमा हावाविनाको स्थान हो र यसको तापक्रम मानव अस्तित्वको निम्ति सुहाउँदो छैन—यसैले, यो परमेश्‍वरले मानिसको निम्ति छुट्याउनुभएको ठाउँ होइन।

अहिलेको हाम्रो विषय, अर्थात् तापक्रम मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने कुरा हो। तापक्रम सबै मानव शरीरले अनुभव गर्ने कुरा हो, तर तापक्रमको सुरुवात कसरी भयो वा यसको कार्यभारी को हो र मानव अस्तित्वको निम्ति सुहाउँदो हुने गरी यसको नियन्त्रण कसले गर्छ भनेर कसैले सोच्दैन। अहिले हामी यही कुरा सिकिरहेका छौँ। के यसभित्र परमेश्‍वरको बुद्धि लुकेको छ? के यसभित्र परमेश्‍वरको कार्य रहेको छ? (छ।) परमेश्‍वरले मानव अस्तित्वको निम्ति सुहाउँदो तापक्रमसहितको वातावरण सृष्टि गर्नुभयो भन्‍ने कुरा विचार गर्दा, के यो सबै थोकका निम्ति आवश्यक कुराहरू उपलब्ध गराउने परमेश्‍वरका तरिकाहरूमध्ये एउटा होइन र? यो एउटा तरिका हो।

३. ध्वनि

तेस्रो कुरा के हो? यो पनि मानव अस्तित्वको सामान्य वातावरणको निम्ति आवश्यक हिस्सा हो र परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुहुँदा यसको निम्ति पनि बन्दोबस्त गर्नुपरेको थियो। यो परमेश्‍वर र हरेक मानवजातिको निम्ति अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यदि परमेश्‍वरले यस कुराको बन्दोबस्त नगर्नुभएको भए, यसले मानवजातिको अस्तित्वलाई धेरै बाधा दिनेथियो, अर्थात् यसले मानिसको जीवन र उसको देहको शरीरलाई यति धेरै प्रभाव पार्नेथियो कि त्यस्तो वातावरणमा मानवजाति बाँच्‍न सक्‍नेथिएन। त्यस्तो वातावरणमा त कुनै पनि जीवित प्राणी बाँच्‍न सक्‍नेथिएन भनेर भन्‍न सकिन्छ। त्यसैले, मैले बताइरहेको यो कुरा के हो त? म ध्वनिको बारेमा कुरा गरिरहेको छु। परमेश्‍वरले हरेक थोकको सृष्टि गर्नुभयो र हरेक कुरा परमेश्‍वरको हातभित्र जिउँछन्। परमेश्‍वरको सृष्टिका सबै थोक उहाँको नजरमा जीवित रहन्छन् र निरन्तर चलायमान हुन्छन्। मैले यसो भन्‍नुको तात्पर्य के हो भने, परमेश्‍वरले सृष्टि गर्नुभएका हरेक कुराहरूको अस्तित्वको मूल्य र अर्थ छ; अर्थात् हरेक थोकको अस्तित्वको महत्त्व छ। परमेश्‍वरको नजरमा, हरेक थोक जीवित छन्, र सबै थोक जीवित रहेका हुनाले, ती सबैले ध्वनि निकाल्छन्। उदाहरणको निम्ति, पृथ्वी निरन्तर घुमिरहेको छ, सूर्य निरन्तर घुमिरहेको छ र चन्द्रमा पनि निरन्तर घुमिरहेको छ। हरेक थोक वृद्धि हुन्छन्, बढ्छन् र चल्छन्, तिनीहरूले निरन्तर ध्वनि निकालिरहेका हुन्छन्। पृथ्वीमा अस्तित्वमा रहने परमेश्‍वरका सृष्टिका यी सबै थोक निरन्तर वृद्धि हुने, विकास हुने र चलायमान हुने गर्छन्। उदाहरणको निम्ति, पर्वतका जगहरू चलिरहेका र सरिरहेका हुन्छन् र समुद्रका गहिराइका सबै जीवित प्राणीहरू पौडिरहेका र चलिरहेका हुन्छन्। यसको अर्थ के हो भने, परमेश्‍वरको नजरमा सबै थोक स्थापित ढाँचाअनुसार अटुट रूपमा, निरन्तर चलिरहेका हुन्छन्। यसैले, यी सबै अन्धकारमा वृद्धि र विकास हुने र गुप्त रूपमा चल्ने कुराहरूले केलाई अस्तित्वमा ल्याउँछन् त? ध्वनि—ठूला, शक्तिशाली ध्वनिहरू। पृथ्वी ग्रहभन्दा बाहिर, सबै किसिमका ग्रहहरू निरन्तर चलिरहेका छन् र यी ग्रहहरूमा भएका जीवित प्राणी र जीवहरू निरन्तर वृद्धि हुने, विकास हुने र चल्ने गरिरहेका छन्। यसर्थ, जीवन भएका र जीवन नभएका सबै थोक परमेश्‍वरको नजरमा अगाडि बढिरहेका छन् र यस दौरान तिनीहरू सबैले ध्वनि उत्पादन गरिरहेका छन्। परमेश्‍वरले यी ध्वनिहरूको निम्ति पनि बन्दोबस्त गर्नुभएको छ र उहाँले यसो गर्नुपछाडिको कारण तिमीहरूलाई पहिले नै थाहा छ भन्‍ने मलाई विश्‍वास छ, छैन त? जब तँ कुनै हवाइजहाजको नजिक जान्छस्, तब त्यसको इन्जिनको गर्जनले तँलाई कस्तो असर पार्छ? यदि तँ लामो समयसम्म त्यसको नजिक बसिस् भने तेरा कानहरू बहिरा हुन्छन्। के तेरो हृदयले त्यस्तो कष्टप्रद अनुभूतिलाई सहन सक्छ? कमजोर हृदय भएका केही मानिसहरूले यसो गर्न सक्दैनन्। अवश्य नै, बलिया हृदय भएकाहरूले पनि लामो समयसम्म यसलाई सहन सक्दैनन्। भन्‍नुको तात्पर्य, चाहे यो कान होस् या हृदय होस्, ध्वनिले मानव शरीरमा पुर्‍याउने असर हरेक मानवको निम्ति अत्यन्तै महत्त्वपूर्ण हुन्छ र धेरै ठूला ध्वनिहरूले मानिसहरूलाई हानि पुर्‍याउँछन्। यसैले, परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुहुँदा र पछि तिनीहरूले सामान्य रूपले कार्य गर्न सुरु गरेपछि, चलायमान हुने सबै थोकको आवाज, अर्थात् यी आवाजहरूको निम्ति परमेश्‍वरले उचित प्रबन्ध गर्नुभयो। मानवजातिको निम्ति वातावरणको सृष्टि गर्ने क्रममा, परमेश्‍वरले ध्यान दिनुपरेको कुरामध्ये एउटा यो पनि हो।

सर्वप्रथम त, पृथ्वीको सतहमाथिको वायुमण्डलको उचाइले पनि ध्वनिलाई प्रभाव पार्छ। यसका अतिरिक्त, माटोमा भएका विभिन्‍न आकारका खाली ठाउँहरूले पनि ध्वनिलाई हेरफेर गर्छन् र प्रभाव पार्छन्। त्यसपछि विभिन्‍न भौगोलिक वातावरणका संगमहरूले पनि ध्वनिलाई प्रभाव पार्छन्। भन्‍नुको तात्पर्य, केही ध्वनिहरूलाई हटाउनको निम्ति परमेश्‍वरले निश्‍चित विधिहरूको प्रयोग गर्नुहुन्छ, ताकि मानव आफ्ना कान र हृदयले सहन सक्‍ने वातावरणमा बाँच्‍न सकोस्। नत्र त, मानवजातिको जीवनमा ठूलो बाधा बनेर र तिनीहरूको निम्ति गम्भीर समस्या उत्पन्‍न गरेर ध्वनिहरूले मानवजातिको अस्तित्वमा ठूलो बाधा-व्यवधान खडा गर्छन्। यसको अर्थ के हो भने जमिन, वायुमण्डल र विभिन्‍न किसिमका भौगोलिक वातावरणको सृष्टि गर्ने क्रममा परमेश्‍वरले विशेष ध्यान दिनुभयो र यी हरेकमा परमेश्‍वरको बुद्धि सामेल छ। यससम्‍बन्धी मानवजातिको बुझाइ धेरै विस्तृत हुनु आवश्यक छैन—यिनमा परमेश्‍वरका कार्यहरू समावेश छन् भन्‍ने कुरा जान्‍नु नै मानिसहरूको निम्ति पर्याप्त छ। अब तिमीहरूले मलाई भन, ध्वनिलाई एकदमै सटीक रूपमा मापन गरेर मानवजातिको बाँच्‍ने वातावरण र तिनीहरूको सामान्य जीवनलाई कायम गर्नको निम्ति परमेश्‍वरले गर्नुभएको यो काम आवश्यक थियो? (हो, थियो।) यो काम आवश्यक थियो, त्यसकारण, यस दृष्टिकोणले हेर्दा, के परमेश्‍वरले सबै थोकलाई आवश्यक कुराहरू उपलब्ध गराउनको निम्ति यो कामको प्रयोग गर्नुभयो भनेर भन्‍न सकिन्छ? परमेश्‍वरले मानवजातिको प्रावधानको निम्ति यस्तो शान्त वातावरणको सृष्टि गर्नुभयो ताकि मानव शरीर सामान्य तवरले कुनै बाधाको सामना नगरी यसभित्र बाँच्‍न सकोस् र मानवजाति सामान्य तवरले अस्तित्वमा रहन र जिउन सकोस्। त्यसो भए, के परमेश्‍वरले मानवजातिलाई आवश्यक कुराहरू उपलब्ध गराउनुहुने तरिकाहरूमध्ये एउटा यही होइन र? के यो परमेश्‍वरले गर्नुभएको अत्यन्तै महत्त्वपूर्ण कुरा थिएन र? (थियो।) यसको निकै ठूलो आवश्यकता थियो। अनि तिमीहरूले यसलाई कसरी बुझ्यौ त? यो परमेश्‍वरको कार्य हो भन्‍ने कुरालाई तिमीहरूले महसुस गर्न नसके तापनि वा त्यस बेला परमेश्‍वरले यसो गर्नुभएको हो भनेर तिमीहरूलाई थाहा नभए पनि, के परमेश्‍वरले यो कुरा गर्नु आवश्यक थियो भन्‍ने कुरालाई तिमीहरूले अझै पनि महसुस गर्न सक्छौ? के तिमीहरूले परमेश्‍वरको बुद्धि र उहाँले यसमा लगाउनुभएको वास्ता र सोचलाई महसुस गर्न सक्छौ? (हो, हामी सक्छौं।) यदि तिमीहरू यसलाई महसुस गर्न सक्छौ भने, यो नै पर्याप्त छ। परमेश्‍वरले आफ्नो सृष्टिका थोकहरू माझ धेरै कार्य गर्नुभएको छ जुन मानिसहरूले न त महसुस गर्न सक्छन् न त देख्‍न नै सक्छन्। तिमीहरूलाई परमेश्‍वरका कार्यहरूको बारेमा जानकारी दिनलाई मैले यो कुरा उठाएको हुँ, ताकि तिमीहरूले परमेश्‍वरलाई चिन्‍न सक। तिमीहरूलाई परमेश्‍वरको बारेमा जान्‍न र बुझ्‍नका निम्ति अझ राम्ररी सक्षम हुन सहयोग गर्न सक्‍ने सुराकहरू यिनै हुन्।

४. ज्योति

चौथो कुरा मानिसहरूका आँखासँग सम्बन्धित छ: ज्योति। यो पनि धेरै महत्त्वपूर्ण छ। जब तैँले चम्किलो ज्योति देख्छस्, र त्यसको चमक निश्‍चित तहमा पुगेपछि, त्यसले मानव आँखालाई अन्धो तुल्याउन सक्छ। मानव आँखा आखिर देहका आँखा न हुन्। आँखाले जलन सहन सक्दैनन्। के कसैले सूर्यलाई सिधा हेर्न सक्छ? केही मानिसहरूले यसो गर्ने प्रयास गरे र यदि तिनीहरूले घाममा लगाउने चस्मा लगाएका छन् भने त यसले ठीकै काम गर्छ—तर त्यसको निम्ति केही उपकरणको प्रयोग गर्नु आवश्यक हुन्छ। उपकरणहरूविना, मानिसको नाङ्गो आँखासँग सूर्यको सामना गर्ने र त्यसलाई सिधा हेर्ने क्षमता छैन। तैपनि, मानवजातिलाई ज्योति दिन परमेश्‍वरले सूर्यको सृष्टि गर्नुभयो, र यो ज्योति पनि उहाँले वास्ताको साथ बनाउनुभयो। परमेश्‍वरले सामान्य तवरले सूर्यको सृष्टि गरेर, त्यसलाई कतै राखी, त्यसको बेवास्ता गर्नुभएन; परमेश्‍वरले यसरी काम गर्नुहुन्‍न। उहाँ आफ्ना कार्यहरूमा धेरै होसियार हुनुहुन्छ, र तिनको बारेमा पूर्ण सावधानीका साथ सोच्‍नुहुन्छ। परमेश्‍वरले मानवजातिले देख्‍न सकून् भनेर आँखाको सृष्टि गर्नुभयो र मानिसले कुनै कुराहरूलाई देख्‍नको निम्ति ज्योतिको मापदण्ड पनि पहिले नै तोक्‍नुभयो। ज्योति धेरै मधुरो भएको भए, त्यो राम्रो हुनेथिएन। अँध्यारोमा मानिसहरूले आफ्नो अगाडिका आफ्नै औँलाहरू देख्‍न सक्दैनन्, तिनीहरूका आँखाले आफ्ना कार्य गुमाउँछन् र तिनले काम गर्दैनन्। तर धेरै चम्किलो ज्योतिले पनि मानिसहरूलाई त्यति नै देख्‍न नसक्‍ने बनाउँछ, किनकि चमक सहन नसकिने हुन्छ। यसैले, परमेश्‍वरले मानवजातिको अस्तित्वको वातावरणमा मानव आँखाको निम्ति उचित परिमाणको ज्योतिको प्रबन्ध गर्नुभएको छ, अर्थात् मानिसहरूको आँखालाई हानि नपुर्‍याउने वा नष्ट नगर्ने गरी र आँखाका कार्य पनि नगुम्‍ने गरी उचित परिमाणको ज्योतिको प्रबन्ध गर्नुभएको छ। यही कारणले गर्दा, परमेश्‍वरले सूर्य र पृथ्वीवरिपरि बादलका तहहरू थप्‍नुभयो र यही कारणले गर्दा नै मानिसहरूका आँखा वा छालालाई हानि पुर्‍याउने ज्योतिलाई हावाको घनत्वले छान्‍न सक्छ—यी सुहाउँदो परिमाणमा छन्। यसका अतिरिक्त, परमेश्‍वरले सृष्टि गर्नुभएका पृथ्वीका रङहरूले सूर्यको ज्योति र अन्य प्रकारका ज्योतिहरूलाई परावर्तन गर्छन् र तिनले मानव आँखाअनुकूल नभएका अत्यन्तै चम्किला ज्योतिलाई हटाउन सक्छन्। यसैले, मानिसहरू बाहिर हिँड्न र घाममा लगाउने अत्यन्तै गाढा चस्मा निरन्तर नलगाई आफ्नो जीवन अगाडि बढाउन सक्षम छन्। सामान्य परिस्थितिमा मानव आँखाले ज्योतिको असर नभोगीकनै आफ्नो दृष्टिक्षेत्रभित्रको कुरालाई देख्‍न सक्छन्। भन्‍नुको तात्पर्य, ज्योति अत्यन्तै चम्किलो वा धेरै मधुरो भयो भने पनि राम्रो हुँदैन। यदि धेरै मधुरो भयो भने मानिसका आँखामा क्षति पुग्छ र केही समयको प्रयोग पछि ती नष्ट हुन्छन्; यदि धेरै चम्किलो भयो भने मानव आँखाले सहन सक्दैन। त्यही ज्योति मानव आँखाले देख्‍नको निम्ति सुहाउँदो हुनुपर्छ र ज्योतिको कारण मानव आँखामा हुने क्षतिलाई परमेश्‍वरले विभिन्‍न विधिद्वारा कम गर्नुभएको छ; अनि यस ज्योतिले मानिसका आँखालाई फाइदा दिन वा कष्ट पुर्‍याउन सक्‍ने भए पनि, मानिसहरूले आँखाको प्रयोग गर्दै जीवनको अन्त्यसम्म पुग्‍नु पर्याप्त हुन्‍छ। के यस कुराको विषयमा परमेश्‍वरले सावधानीपूर्वक ध्यान दिनुभएको छैन र? तैपनि दियाबलस, शैतानले, यी सोचविचारहरूलाई आफ्नो मनमस्तिष्कमा नराखी कार्य गर्छ। शैतानको निम्ति, ज्योति कि त धेरै चम्किलो हुन्छ कि त धेरै मधुरो। शैतानले यसरी नै काम गर्छ।

परमेश्‍वरले मानवजातिको अस्तित्व अनुकूलन क्षमता बढाउनको लागि, मानव शरीरका सबै पक्षहरूको निम्ति—यसको दृष्टि, श्रवण शक्ति, स्वाद, श्‍वासप्रश्‍वास, अनुभव र अन्य कुराहरूको निम्ति—यी कुराहरू गर्नुभयो ताकि तिनीहरू सामान्य तवरले बाँच्‍न सकून् र त्यसलाई निरन्तरता दिन सकून्। अर्को शब्दमा भन्दा, परमेश्‍वरले सृष्टि गर्नुभएको जीवनको वर्तमान वातावरण नै मानवजातिको निम्ति सबैभन्दा सुहाउँदो र फाइदाजनक वातावरण हो। कतिपय मानिसहरूले के सोच्छन् भने, यसले त्यति धेरै फरक पार्दैन, यो सबै नै अति सामान्य कुरा हो। मानिसहरू ध्वनि, ज्योति र हावालाई आफ्नो जन्मसिद्ध अधिकार हो भन्‍ने ठान्‍छन्, जसलाई तिनीहरूले आफ्नो जन्मदेखि नै उपभोग गर्दै आएका छन्। तर तैँले उपभोग गर्न सकेका ती कुराहरूपछाडि परमेश्‍वरको काम लुकेको छ; यो कुरा मानवले बुझ्‍न आवश्यक छ, तिनीहरूले यो कुरा जान्‍नुपर्छ। तैँले यी कुराहरू बुझ्‍नु वा जान्‍नु आवश्यक छैन भनेर तैँले महसुस गरे तापनि, छोटकरीमा भन्‍नुपर्दा परमेश्‍वरले तिनको सृष्टि गर्ने क्रममा तिनीहरूलाई धेरै ध्यान दिनुभयो, उहाँसँग यसबारे योजना थियो र केही निश्‍चित विचार थियो। उहाँले मानवजातिको बारेमा दोस्रोपटक नसोची, मानवजातिलाई जिउनको निम्ति त्यतिकै वा सामान्य तवरले यस्तो वातावरणमा राख्‍नुभएको होइन। मैले यी हरेक साना कुराहरूको बारेमा धेरै ठूलो कुरा गरेको छु भन्‍ने तिमीहरूलाई लाग्‍न सक्छ, तर मेरो दृष्टिमा मानवजातिको निम्ति परमेश्‍वरले उपलब्ध गराउनुभएको हरेक कुरा मानवजातिको अस्तित्वको निम्ति आवश्यक छ। यसमा परमेश्‍वरको कार्य छ।

५. वायुप्रवाह

पाँचौ कुरा के हो? यो कुरा हरेक व्यक्तिको प्रत्येक दिनसँग घनिष्ट रूपमा सम्बन्धित छ। मानव जीवनसँग यसको सम्बन्ध यति नजिक छ कि यसको अभावमा मानव शरीर यस भौतिक संसारमा बाँच्‍नै सक्दैन। यो वायुप्रवाह हो। सायद यो “वायुप्रवाह” भन्‍ने नामपदलाई सुन्‍ने जोकोहीले पनि यसलाई बुझ्‍न सक्छ। त्यसो भए, वायुप्रवाह के हो त? “वायुप्रवाह” भनेको त वायुको बहने चाल त हो नि भनेर तिमीहरू भन्‍न सक्छौ। वायुप्रवाह मानव आँखाले देख्‍न नसकिने हावाको बहाव हो। यो ग्याँसहरू चल्ने एक तरिका पनि हो। तापनि, यस कुराकानीमा “वायुप्रवाह” ले मुख्य रूपमा केलाई जनाउँछ त? मैले भन्‍नेबित्तिकै तिमीहरूले बुझ्‍नेछौ। पृथ्वीले आफू घुम्दा पर्वत, समुद्र र सृष्टिका सबै थोक बोक्छ र यो घुम्दा गतिसहित घुम्छ। तैँले यस घुमाइलाई महसुस गर्न नसके तापनि पृथ्वीको परिक्रमा अस्तित्वमा छ। यस परिक्रमाले के पैदा गर्छ? जब तँ दौडन्छस्, तेरा कानको छेउबाट हावा बहँदैन र? यदि तँ दौडिँदा हावा उत्पन्‍न हुन्छ भने पृथ्वीले परिक्रमा गर्दा बतास किन चल्दैन र? जब पृथ्वीले परिक्रमा गर्छ, सबै थोक चलायमान हुन्छन्। पृथ्वी आफै चलायमान छ र यसले निश्‍चित गतिमा परिक्रमा गरिरहेको छ, र यसमा भएका हरेक थोक पनि निरन्तर वृद्धि र विकास भइरहेका छन्। यसर्थ, कुनै निश्‍चित गतिको चालले स्वभाविक रूपमा वायुप्रवाह उत्पन्‍न गर्छ। “वायुप्रवाह” को बारेमा मैले भन्‍न खोजेको अर्थ यही हो। यस वायुप्रवाहले मानव शरीरलाई केही हदसम्म प्रभाव पार्दैन र? तुफानलाई नै लिऔं: सामान्य तुफानहरू त्यति शक्तिशाली हुँदैनन्, तर जब तिनीहरू आउँछन्, मानिसहरू सिधा खडा हुन पनि सक्दैनन् र तिनीहरूलाई बतासमा हिँड्न कठिन हुन्छ। एक पाइला चाल्‍न पनि कठिन हुन्छ र केही मानिसहरूलाई त यसले हिँड्नै नसक्‍ने गरी कुनै कुरामा चेप्ट्याएर राख्छ। वायुप्रवाहले मानवजातिलाई प्रभाव पार्ने तरिकामध्ये एउटा यही हो। यदि सारा पृथ्वी समथर जमिनले ढाकेको भए, पृथ्वी र सबै थोकले परिक्रमा गर्दा मानव शरीरले त्यसबाट उत्पन्‍न वायुप्रवाहलाई पूर्ण रूपमा धान्‍न नसक्‍नेथियो। यस्तो परिस्थितिप्रति प्रतिक्रिया जनाउन अत्यन्तै कठिन हुन्छ। यदि वास्तवमा यस्तै हुँदो हो त यस्तो वायुप्रवाहले मानवजातिमाथि हानि मात्र पुर्‍याउँदैनथ्यो, यसले त पूर्ण विनाश नै गर्नेथियो। मानव यस्तो वातावरणमा बाँच्‍न सक्‍नेथिएन। यसैले परमेश्‍वरले त्यस्तो वायुप्रवाहको समाधानको निम्ति विभिन्‍न भौगोलिक वातावरणहरू बनाउनुभयो—विभिन्‍न वातावरणमा वायुप्रवाह कमजोर हुन्छ, यसको दिशा परिवर्तन हुन्छ, यसको गति बदलिन्छ र यसको तागत हेरफेर हुन्छ। त्यसैले मानिसहरूले पर्वत, ठूला हिमशृङ्खला, समथर जमिन, पहाड, बेँसी, उपत्यका, पठार र ठूला नदीहरूजस्ता फरकफरक भौगोलिक विशेषताहरू देख्‍न सक्छन्। यस्ता फरकफरक भौगोलिक विशेषताहरूको माध्यमद्वारा परमेश्‍वरले वायुप्रवाहको गति, दिशा र तागतलाई बदल्‍नुहुन्छ। यस विधिको माध्यमद्वारा उहाँले वायुप्रवाहलाई परिवर्तन वा हेरफेर गरी उचित गति, दिशा र तागत भएको हावामा परिणत गर्नुहुन्छ, ताकि मानवले जिउनको निम्ति सामान्य वातावरण पाउन सकोस्। के यसको आवश्यकता छ? (छ।) यसो गर्नु मानवको लागि कठिन देखिन्छ तर परमेश्‍वरको निम्ति यो सजिलो छ किनकि उहाँले सबै कुराहरूको अवलोकन गर्नुहुन्छ। उहाँको निम्ति, मानवको निम्ति सुहाउँदो वातावरणको सृजना गर्न योभन्दा सरल वा सहज हुनेथिएन। यसैले, परमेश्‍वरले सृजना गर्नुभएको यस्तो वातावरणमा उहाँको सृष्टिभित्रका हरेक कुराहरू अपरिहार्य छन्। हरेक कुराको अस्तित्वको मूल्य र आवश्यकता छ। तथापि, शैतान वा भ्रष्ट पारिएको मानवजातिले यस सिद्धान्तलाई बुझ्दैन। तिनीहरूले निरन्तर पर्वतहरूलाई समथर जमिनमा परिवर्तन गर्ने, गल्छीहरू पुर्ने र सिमेन्टको जङ्गल सृजना गर्नको निम्ति समथर जमिनमा गगनचुम्बी महलहरू बनाउने व्यर्थको सपना देख्दै विनाश, विकास र शोषण गर्ने काम गरिरहन्छन्। परमेश्‍वरको के आशा छ भने उहाँले तिनीहरूको निम्ति तयार पार्नुभएको यो सबैभन्दा सुहाउँदो वातावरणमा मानवजाति खुसीसाथ बाँच्‍न, खुसीसाथ वृद्धि हुन र हरेक दिन खुसीसाथ बिताउन सकोस्। यसैले मानवजाति बस्‍ने यो वातावरणलाई व्यवहार गर्ने कुरामा परमेश्‍वरले कहिल्यै पनि लापरवाही गर्नुभएको छैन। तापक्रमदेखि लिएर वायुसम्म, ध्वनिदेखि लिएर ज्योतिसम्म परमेश्‍वरले जटिल योजना र बन्दोबस्तहरू गर्नुभएको छ, ताकि मानिसहरूका शरीर र तिनीहरू बाँच्‍ने वातावरणलाई प्राकृतिक परिस्थितिहरूले बाधा नदेओस्, बरु यसको सट्टा, मानवजाति सामान्य तवरले अन्य कुराहरूसँग सामञ्‍जस्यपूर्ण सहअस्तित्वमा जिउन र वृद्धि हुन सकोस्। यी सबै कुराहरू परमेश्‍वरले यावत् थोक र मानवजातिको लागि उपलब्ध गराउनुभएको छ।

मानव अस्तित्वको निम्ति परमेश्‍वरले यी पाँच आधारभूत परिस्थितिहरूको बन्दोबस्त जुन तरिकाले गर्नुभएको छ त्यसमा के तिमीहरू परमेश्‍वरले कसरी मानवजातिलाई आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ भन्‍ने कुरा देख्‍न सक्छौ? (सक्छौं।) भन्‍नुको तात्पर्य, मानव अस्तित्वको निम्ति चाहिने सबै आधारभूत परिस्थितिहरूको सृष्टिकर्ता परमेश्‍वर नै हुनुहुन्छ र परमेश्‍वरले यी कुराहरूको बन्दोबस्त र नियन्त्रण पनि गर्दै हुनुहुन्छ; अहिले, मानव अस्तित्वको हजारौँ वर्षपछि पनि तिनीहरूलाई सबैभन्दा राम्रो र सबैभन्दा सुहाउँदो वातावरण प्रदान गर्दै परमेश्‍वरले अझ पनि तिनीहरू जिउने वातावरणमा निरन्तर फेरबदल गर्दै हुनुहुन्छ ताकि तिनीहरूको जीवन नियमित तरिकाले कायम राख्‍न सकियोस्। यस्तो परिस्थितिलाई कति लामो समयसम्म कायम राखिराख्‍न सकिन्छ? अर्को शब्दमा, परमेश्‍वरले कहिलेसम्म यस्तो वातावरण निरन्तर उपलब्ध गराइरहनुहुनेछ? परमेश्‍वरले आफ्नो व्यवस्थापनको कामलाई पूर्ण समापन नगरुञ्‍जेलसम्‍म यो जारी रहनेछ। त्यसपछि, परमेश्‍वरले मानवजातिको जिउने वातावरण परिवर्तन गर्नुहुनेछ। परमेश्‍वरले यी परिवर्तनहरू उही विधिहरूद्वारा वा फरक विधिहरूद्वारा गर्न सक्‍नुहुनेछ, तर अहिले मानिसहरूले जान्‍नुपर्ने कुरा के हो भने मानवजातिका आवश्यकताहरूको निम्ति परमेश्‍वरले निरन्तर विभिन्‍न कुराहरू उपलब्ध गराइरहनुभएको छ; मानव जिउने वातावरणको व्यवस्थापन गरिरहनुभएको छ; र त्यस वातावरणलाई संरक्षण, सुरक्षा र मर्मतसम्भार गर्ने कार्य गर्दै आइरहनुभएको छ। यस्तो वातावरण भएको हुँदा, परमेश्‍वरका चुनिएका मानिसहरू नियमित रूपले जिउन र परमेश्‍वरको मुक्ति, सजाय र न्याय स्वीकार गर्न सक्षम भएका छन्। परमेश्‍वरको सार्वभौमिकताको कारण सबै थोक निरन्तर अस्तित्वमा रहेका छन् र परमेश्‍वरका यस्तै प्रावधानहरूको कारण सारा मानवजाति निरन्तर अगाडि बढिरहेका छन्।

के हाम्रो सङ्गतिको यो अन्तिम भागले तिमीहरूमा केही नयाँ विचारहरू ल्यायो? के तिमीहरूलाई अब परमेश्‍वर र मानवजातिबीचको सबैभन्दा ठूलो भिन्‍नताको बारेमा थाहा भयो? अन्ततः सबै थोकको मालिक को हो? के त्यो मानिस हो? (होइन।) त्यसो भए, परमेश्‍वर र मानिसले सारा सृष्टिलाई गर्ने व्यवहारमा के फरक छ? (परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ र सबै थोकको बन्दोबस्त गर्नुहुन्छ, जबकि मानिसले ती कुराहरूको उपभोग गर्छ।) के तिमीहरू यसमा सहमत छौ? परमेश्‍वर र मानिसबीचको सबैभन्दा ठूलो भिन्‍नता यही हो कि परमेश्‍वरले सारा सृष्टिमाथि राज्य गर्नुहुन्छ र सारा सृष्टिको लागि आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ। उहाँ सबै थोकको स्रोत हुनुहुन्छ र परमेश्‍वरले सारा सृष्टिलाई आवश्यक कुराहरू उपलब्ध गराउनुहुँदा मानवजातिले त्यसको आनन्द उठाउँछ। भन्‍नुको तात्पर्य, मानिसले परमेश्‍वरले सबै थोकलाई प्रदान गर्नुहुने जीवन स्वीकार गर्दा, उसले सृष्टिका सबै थोकहरूको आनन्द उठाउँछ। परमेश्‍वर मालिक हुनुहुन्छ र मानवजातिले परमेश्‍वरले सबै थोक सृष्टि गर्नुहुँदा उत्पन्‍न फलहरूको आनन्द लिन्छ। त्यसो भए, परमेश्‍वरको सृष्टिका सबै थोकको दृष्टिकोणबाट हेर्दा, परमेश्‍वर र मानिसबीचको भिन्‍नता के हो त? परमेश्‍वरले सबै थोक कसरी वृद्धि हुन्छन् भन्‍ने नियमलाई स्पष्टसँग देख्‍न सक्‍नुहुन्छ र उहाँले ती नियमहरूमाथि नियन्त्रण र प्रभुत्व कायम गर्नुहुन्छ। यसर्थ, सबै थोक परमेश्‍वरको नजरभित्र छन् र उहाँको निगरानीको दायराभित्र छन्। के मानवजातिले यी सबै थोक देख्‍न सक्छ? मानवजातिले देख्‍न सक्‍ने कुरा उसको प्रत्यक्ष अगाडि भएको कुरामा सीमित छ। यदि तैँले पर्वत चढिस् भने तैँले त्यो पर्वत मात्र देख्छस्। तैँले त्यस पर्वतको अर्कोतिर के छ भन्‍ने देख्‍न सक्दैनस्। यदि तँ समुद्रको किनारामा गइस् भने तैँले समुद्रको एक छेउ मात्र देख्छस् र त्यस समुद्रको अर्को छेउ कस्तो देखिन्छ भन्‍ने तैँले थाहा पाउन सक्दैनस्। यदि तँ वनमा गइस् भने तैँले तेरो अगाडि र वरिपरि भएका वनस्पतिहरू देख्छस्, तर त्यसभन्दा पर के छ त्यो देख्‍न सक्दैनस्। मानवले माथि, टाढा र गहिराइमा भएका कुराहरू देख्‍न सक्दैनन्। तिनीहरूले प्रत्यक्ष आफूअगाडिका, तिनीहरूका दृष्टिक्षेत्रभित्रका कुराहरू मात्र देख्‍न सक्छन्। वर्षका चार ऋतुहरूलाई नियन्त्रण गर्ने नियम वा सबै थोक कसरी वृद्धि हुन्छन् भन्‍ने नियमको बारेमा मानवलाई थाहा भए तापनि तिनीहरूले सबै थोकको प्रबन्ध गर्न वा तिनलाई नियन्त्रण गर्न सक्दैनन्। तथापि परमेश्‍वरले आफ्नो सारा सृष्टिलाई त्यसरी नै हेर्नुहुन्छ जसरी उहाँ आफैले बनाउनुभएको यन्त्रलाई हेर्नुहुन्छ। उहाँ हरेक भाग र हरेक जडानसँग गहिरो गरी परिचित हुनुहुन्छ, तिनका सिद्धान्तहरू के-के हुन्, तिनका ढाँचाहरू के-के हुन् र तिनका उद्देश्यहरू के-के हुन्—परमेश्‍वरलाई यो सबै कुरा अत्यन्तै स्पष्टसँग थाहा छ। यसैले, परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ र मानिस, मानिस नै हो! मानिस विज्ञान र सारा कुराहरू नियमित गर्ने कानुनहरूको बारेमा आफ्नो अनुसन्धानको गहिराइमा जान सक्‍ने भए तापनि, त्यो अनुसन्धानको दायरा सीमित छ, जबकि परमेश्‍वरले सबै कुराको नियन्त्रण गर्नुहुन्छ। मानिसको निम्ति, परमेश्‍वरको नियन्त्रण अनन्त छ। परमेश्‍वरको सबैभन्दा सानो कार्यको अनुसन्धान गर्दा पनि साँचो परिणामहरू प्राप्त नगरीकनै मानिसको सम्पूर्ण जीवन खर्च हुन सक्छ। यसैले, यदि तैँले परमेश्‍वरको अध्ययन गर्न आफ्नो ज्ञान र आफूले सिकेको कुरा मात्र प्रयोग गर्छस् भने तँ कहिल्यै पनि परमेश्‍वरलाई चिन्‍न वा बुझ्‍न सक्षम हुनेछैनस्। तर यदि तैँले सत्यको खोजी र परमेश्‍वरको खोजी गर्ने मार्गको छनोट गर्छस् र उहाँलाई चिन्‍ने दृष्टिकोणबाट परमेश्‍वरलाई हेर्छस् भने, तैँले एकदिन, परमेश्‍वरका कार्यहरू र बुद्धि एकैपटक सबैतिर छन् भन्‍ने पहिचान गर्नेछस् र परमेश्‍वरलाई किन सबै कुराहरूको मालिक र सबै कुराहरूको जीवनको स्रोत भनिएको हो भन्‍ने जान्‍नेछस्। तैँले जति धेरै यस्तो बुझाइ प्राप्त गर्छस्, त्यति नै धेरै परमेश्‍वरलाई सारा कुराहरूको मालिक किन भनिएको हो भन्‍ने बुझ्‍नेछस्। तँलगायत सारा कुराहरू र हरेक कुराले निरन्तर रूपमा परमेश्‍वरको भरणपोषणको स्थिर प्रवाह प्राप्त गरिरहेका छन्। तैँले यस संसारमा र यस मानवजातिमाझ सारा कुराहरूको अस्तित्वलाई शासन, व्यवस्थापन र कायम गर्ने क्षमता र सार परमेश्‍वरबाहेक अरू कोहीसँग छैन भन्‍ने पनि स्पष्ट रूपले महसुस गर्न सक्‍नेछस्। जब तँ यस बुझाइमा आइपुग्छस्, तैँले परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्छ भनेर साँचो रूपले पहिचान गर्नेछस्। जब तँ यस बिन्दुमा आइपुग्छस्, तैँले साँचो रूपले परमेश्‍वरलाई स्वीकार गरेको र उहाँलाई तेरो परमेश्‍वर अनि तेरो मालिक हुन अनुमति दिएको हुनेछस्। जब तैँले यस्तो बुझाइ प्राप्त गरेको हुन्छस् र तेरो जीवन यस्तो बिन्दुमा पुगेको हुन्छ, परमेश्‍वरले अबउप्रान्त तेरो परीक्षा र न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई कुनै मापदण्ड नै दिनुहुनेछ, किनकि तैँले परमेश्‍वरलाई बुझ्‍नेछस्, उहाँको हृदयलाई चिन्‍नेछस् र तेरो हृदयमा परमेश्‍वरलाई साँचो रूपले स्वीकार गरेको हुनेछस्। सबै थोकमाथि परमेश्‍वरको प्रभुत्व हुन्छ र उहाँले ती सबैको व्यवस्थापन गर्नुहुन्छ भन्‍ने यी विषयहरूमा सङ्‍गति गर्नुपर्ने एउटा महत्त्वपूर्ण कारण यही हो। यसो गर्नुको अर्थ मानिसहरूलाई थप ज्ञान र बुझाइ दिनु हो—यो तिमीहरूलाई स्वीकार गर्न लगाउनु मात्र होइन, बरु तिमीहरूलाई परमेश्‍वरका कार्यहरूको बारेमा थप व्यावहारिक रूपले थाहा पाउन र बुझ्‍न लगाउनु हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्