परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरको पवित्रता (३) - भाग दुई

जब-जब शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ वा मानिसलाई अनियन्त्रित रूपमा हानि गर्छ, परमेश्‍वर हात बाँधेर बस्‍नुहुन्‍न, न त उहाँले चुन्‍नुभएकाहरूलाई बेवास्ता गर्ने वा आँखा चिम्‍लने नै गर्नुहुन्छ। शैतानले गर्ने सबै कुरालाई परमेश्‍वरले पूर्ण स्पष्टताको साथ बुझ्‍नुहुन्छ। शैतानले जेसुकै गरे तापनि, यसले जस्तोसुकै प्रचलन पैदा गरे पनि, शैतानले जे गर्ने प्रयास गर्दैछ त्यो सबै परमेश्‍वरलाई थाहा हुन्छ, र उहाँले चुन्‍नुभएकाहरूलाई परमेश्‍वरले त्याग्‍नुहुन्‍न। बरु, कुनै पनि ध्यान नखिचीकन—गोप्य रूपमा, चुपचाप—परमेश्‍वरले आवश्यक सबै कुरा गर्नुहुन्छ। जब परमेश्‍वरले कुनै व्यक्तिमा काम गर्न सुरु गर्नुहुन्छ, जब उहाँले कसैलाई चुन्‍नुभएको हुन्छ, उहाँले कसैलाई पनि यो समाचार घोषणा गर्नुहुन्‍न, न त उहाँले यसलाई शैतानको अघि नै घोषणा गर्नुहुन्छ, कुनै भव्य प्रदर्शन गर्ने कुरा त परै जाओस्। उहाँले आवश्यक परेको कुरा अत्यन्तै चुपचाप, अत्यन्तै प्राकृतिक रूपमा गर्नुहुन्छ। पहिले, उहाँले तेरो लागि परिवारको छनौट गर्नुहुन्छ; तेरो पारिवारिक पृष्ठभूमि, तेरा बाबुआमा, तेरा पुर्खाहरू—परमेश्‍वरले यो सबै अग्रिम रूपमा निर्धारित गर्नुहुन्छ। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले आवेगमा यी निर्णयहरू गर्नुहुन्‍न; बरु, उहाँले धेरै पहिले नै यो कार्य सुरु गर्नुभएको हुन्छ। परमेश्‍वरले तेरो लागि परिवार छनौट गरिसक्‍नुभएपछि, उहाँले तँ जन्‍मने मिति छनौट गर्नुहुन्छ। त्यसपछि, तँ जन्‍मेर संसारमा रुँदै आएको परमेश्‍वरले हेर्नुहुन्छ। उहाँले तँ जन्‍मेको हेर्नुहुन्छ, तैँले प्रथम शब्‍दहरू उच्‍चारण गरेको हेर्नुहुन्छ, तैँले हिँड्न सिक्दै गर्दा तँ लड्खडाउँदै बामे सरेको हेर्नुहुन्छ। सुरुमा तैँले एक कदम बढाउँछस् त्यसपछि अर्को कदम बढाउँछस् … अनि तँ कुद्‍न सक्‍ने, उफ्रन सक्‍ने, कुरा गर्न सक्‍ने, अनि तेरा भावनाहरूलाई व्यक्त गर्न सक्‍ने हुन्छस्। मानिसहरू हुर्कँदै जाने क्रममा, शैतानले तिनीहरू प्रत्येकलाई बाघले त्यसको सिकारलाई हेरेझैँ घुरेर हेरिरहन्छ। तर आफ्‍नो काम गर्ने क्रममा, परमेश्‍वर कहिल्यै पनि स्थान वा समयका कुनै पनि सीमितताहरूमा बाँधिनुहुन्‍न जुन मानिसहरू, घटना वा अन्य कुराहरूबाट आएका हुन्छन्; उहाँले जे गर्नुपर्छ र उहाँले जे गर्नु अत्यावश्यक छ त्यो उहाँले गर्नुहुन्छ। हुर्कने प्रक्रियामा, तैँले आफूलाई मन नपर्ने धेरै कुराहरूको अनुभव गर्न सक्छस्, जस्तै बिमार र निराशा। तर तँ यो मार्गमा हिँड्ने क्रममा, तेरो जीवन र तेरो भविष्य पूर्ण रूपमा परमेश्‍वरकै जिम्मामा हुन्छ। परमेश्‍वरले तँलाई तेरो जीवनभरि पुग्‍ने सच्‍चा प्रत्याभूति दिनुहुन्छ, किनभने उहाँ तेरो रखवारी गर्दै र तेरो हेरचाह गर्दै तेरै छेउमा बसिरहनुभएको हुन्छ। यो थाहै नपाई तँ हुर्कन्छस्। तँ नयाँ कुराहरूको सम्पर्कमा आउन थाल्छस् र यो संसारलाई र यो मानवजातिलाई चिन्‍न थाल्छस्। सबै कुरा तेरो लागि ताजा र नयाँ हुन्छ। तँलाई गर्न मन पर्ने केही कुराहरू हुन्छन्। तँ तेरो आफ्‍नै मानवताभित्र जिउँछस्, तँ तेरो आफ्‍नै क्षेत्रभित्र जिउँछस् र परमेश्‍वरको अस्तित्वको बारेमा तँलाई अलिकति पनि अनुभूति हुँदैन। तर तँ हुर्कने क्रममा परमेश्‍वरले हरेक पाइला हेर्नुहुन्छ, र तैँले हरेक कदम अगाडि बढाउँदा उहाँले तँलाई हेर्नुहुन्छ। तैँले ज्ञान सिकिरहेको बेला वा विज्ञान अध्ययन गरिरहेको बेलासमेत परमेश्‍वरले तँलाई एक पाइलासमेत कहिल्यै छोड्नुभएको हुँदैन। संसारलाई चिन्‍ने र यसमा संलग्‍न हुने क्रममा, तैँले तेरा आफ्‍नै आदर्शहरू स्थापना गरेको हुन्छस्, तेरा आफ्‍नै रुचिहरू हुन्छन्, तिमीहरूका आफ्‍नै चासोहरू हुन्छन् र तँसँग उच्‍च महत्त्वाकाङ्क्षाहरू पनि हुन्छन् भन्‍ने अर्थमा तँ अरू मानिसहरूजस्तै हुन्छस्। तेरो भविष्य कस्तो देखिनुपर्छ भन्‍ने खाका तयार गर्दै तैँले प्रायजसो आफ्‍नै भविष्यको बारेमा विचार गरिरहेको हुन्छस्। तर अघि बढ्ने क्रममा जेसुकै भए तापनि, यी सबै भइरहेको परमेश्‍वरले स्पष्ट रूपमा देख्‍नुहुन्छ। सायद तैँले आफ्‍नो विगतलाई बिर्सेको हुन सक्छस्, तर परमेश्‍वरको लागि, तँलाई राम्ररी बुझ्‍न सक्‍ने उहाँबाहेक कोही पनि छैन। तँ हुर्कँदै-बढ्दै, परिपक्‍व हुँदै परमेश्‍वरकै नजरमा रहेर जिउँछस्। यो अवधिमा, परमेश्‍वरको सबैभन्दा महत्त्वपूर्ण काम भनेको कसैले कहिल्यै पनि अनुभव नगर्ने, कसैले नजान्‍ने कुरा हो। परमेश्‍वरले अवश्य नै यसको बारेमा कसैलाई भन्‍नुहुन्‍न। त्यसो भए, यो सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? यो कुरा परमेश्‍वरले व्यक्तिलाई मुक्ति दिनुहुनेछ भन्‍ने प्रत्याभूति हो भनेर भन्‍न सकिन्छ। यसको अर्थ यदि परमेश्‍वरले उक्त व्यक्तिलाई मुक्ति दिन चाहनुहुन्छ भने, उहाँले त्यसो गर्नु नै हुन्छ। यो कार्य मानिस र परमेश्‍वर दुवैको लागि अत्यन्तै महत्त्वपूर्ण छ। यो के हो, के तँलाई थाहा छ? यस्तो लाग्छ, यसको बारेमा तिमीहरूसँग कुनै अनुभव, वा यसको कुनै अवधारणा छैन, त्यसकारण म आफै तिमीहरूलाई बताइदिनेछु। तँ जन्‍मेको समयदेखि अहिलेसम्‍म, परमेश्‍वरले तँमा धेरै काम गरिसक्‍नुभएको छ, तर उहाँले आफूले गर्नुभएको सबै कुराको विस्तृत विवरण तँलाई दिनुहुन्‍न। परमेश्‍वरले तँलाई सो कुरा जान्‍न दिनुभएन, न त उहाँले तँलाई यसबारे भन्‍नु नै भयो। तैपनि, मानवजातिको लागि, उहाँले गर्नुहुने सबै कुरा महत्त्वपूर्ण छन्। परमेश्‍वरको लागि त, यो उहाँले गर्नैपर्ने कुरा हो। उहाँको हृदयमा उहाँले गर्न आवश्यक रहेको कुनै महत्त्वपूर्ण कुरा छ जुन यी सबै कुराभन्दा अत्यन्तै बढी महत्त्वपूर्ण छ। अर्थात्, व्यक्ति जन्‍मेको समयदेखि वर्तमान दिनसम्‍म, परमेश्‍वरले तिनीहरूको सुरक्षाको प्रत्याभूति दिनु नै हुन्छ। जब तैँले यी वचनहरू सुन्छस्, तँलाई आफूले पूर्ण रूपमा नबुझेजस्तो लाग्‍न सक्छ। तैँले सोध्‍न सक्छस्, “के यो सुरक्षा त्यति महत्त्वपूर्ण छ र?” “सुरक्षा” को शाब्दिक अर्थ के हो? सायद तिमीहरूले यसलाई शान्ति भनेर बुझ्छौ वा सायद तिमीहरूले यसलाई कुनै पनि विपत्ति वा संकष्टको अनुभव कहिल्यै नगर्नु, राम्ररी जिउनु, सामान्य जीवन जिउनु भनेर बुझ्छौ होला। तर तिमीहरूले आफ्नो हृदयमा यो त्यति सरल छैन भन्‍ने जान्‍नैपर्छ। त्यसो भए, परमेश्‍वरले गर्नुपर्ने भनेर मैले भन्दै आइरहेको यो कुरा वास्तवमा के हो त? परमेश्‍वरको लागि सुरक्षाले केलाई जनाउँछ? के “सुरक्षा” को सामान्य अर्थ वास्तवमा नै प्रत्याभूति हो? होइन। त्यसो भए, परमेश्‍वरले गर्नुहुने यो कुरा के हो त? यो “सुरक्षा” को अर्थ तँलाई शैतानले निल्‍नेछैन भन्‍ने हो। के यो महत्त्वपूर्ण छ? शैतानले ननिल्‍नु—के यो तेरो सुरक्षासँग सम्‍बन्धित छ कि छैन? छ, यो तेरो व्यक्तिगत सुरक्षासँग सम्‍बन्धित छ, र त्योभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुन सक्दैन। शैतानले तँलाई निलिसकेपछि, तेरो प्राण र तेरो देह अबउप्रान्त परमेश्‍वरको स्वामित्वमा हुनेछैन। परमेश्‍वरले अबउप्रान्त तँलाई मुक्ति दिनुहुनेछैन। शैतानले निलेका प्राण र मानिसहरूलाई परमेश्‍वरले त्याग्‍नुहुन्छ। त्यसकारण म भन्छु, परमेश्‍वरले गर्नुहुने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो यस सुरक्षाको प्रत्याभूति दिनु, तँलाई शैतानले निल्‍नेछैन भनेर प्रत्याभूति दिनु हो। यो अत्यन्तै महत्त्वपूर्ण छ, होइन र? त्यसो भए, तिमीहरू किन उत्तर दिन सक्दैनौ? परमेश्‍वरको महान् दयालाई तिमीहरू महसुस गर्न सक्दैनौ भन्‍नेजस्तो देखिन्छ!

मानिसहरूको सुरक्षाको प्रत्याभूति दिने, तिनीहरूलाई शैतानले निल्‍नेछैन भन्‍ने प्रत्याभूति दिनेबाहेक परमेश्‍वरले धेरै कुरा गर्नुहुन्छ। कसैलाई चुनेर मुक्ति दिनुभन्दा पहिले उहाँले प्रशस्त मात्रामा तयारीको काम गर्नुहुन्छ। पहिलो, तँमा कस्तो प्रकारको चरित्र हुनेछ, तँ कस्तो प्रकारको परिवारमा जन्‍मनेछस्, तेरा बाबुआमा को हुनेछन्, तेरा दाजुभाइ-दिदीबहिनीहरू कति जना हुनेछन्, र तँ जन्‍मने परिवारको अवस्था, आर्थिक अवस्था, र परिस्थितिहरू के-कस्ता हुनेछन् त्यस बारेमा परमेश्‍वरले सावधानीपूर्ण तयारीहरू गर्नुहुन्छ। परमेश्‍वरका चुनिएका बहुसंख्यक मानिसहरू कस्तो परिवारमा जन्‍मन्छन् के तँलाई थाहा छ? के ती प्रतिष्ठित परिवारहरू हुन्? प्रतिष्ठित परिवारहरूमा जन्‍मने कोही पनि छैनन् भनेर हामी निश्‍चित रूपमा भन्‍न सक्दैनौँ। केही हुन सक्छन्, तर तिनीहरू अत्यन्तै थोरै छन्। के ती असाधारण सम्पत्ति भएका परिवारहरूमा, अरबपति वा खरबपति परिवारमा जन्‍मेका हुन्छन्? हुँदैनन्, तिनीहरू यस प्रकारका परिवारमा लगभग कहिल्यै जन्‍मेका हुँदैनन्। त्यसो भए, यीमध्ये धेरैजसो मानिसहरूका लागि परमेश्‍वरले कस्तो प्रकारको परिवारको बन्दोबस्त गर्नुहुन्छ? (साधारण परिवार।) अनि कस्ता परिवारलाई “साधारण परिवार” ठान्‍न सकिन्छ? तिनमा काम गरेर खाने परिवार—अर्थात्, बाँच्नको लागि ज्याला-मजदुरीमा भर पर्ने, आधारभूत आवश्यकताहरू पूरा गर्न सक्‍ने, र बढी सम्‍पन्‍न नभएकाहरू पर्छन्; तिनमा किसान परिवारहरू पनि पर्छन्। किसानहरू आफ्‍नो खानाको लागि अन्‍नपात रोप्छन्, खानको लागि तिनीहरूसँग अन्‍न अनि लाउनको लागि लुगा हुन्छ, र तिनीहरू भोकै बस्‍नु वा कठ्याङ्ग्रिनु पर्दैन। त्यसपछि स-साना व्यापार-व्यवसाय सञ्‍चालन गर्ने केही परिवारहरू छन्, र बाबुआमा बुद्धिजीवी भएका कतिपय परिवारहरू छन्, र यिनलाई पनि साधारण परिवारको रूपमा गन्ती गर्न सकिन्छ। कार्यालयमा काम गर्ने वा सानातिना पदमा रही सरकारी काम गर्ने केही बाबुआमा पनि छन्, जसलाई पनि प्रतिष्ठित परिवारमा गन्ती गर्न सकिँदैन। धेरैजसो मानिसहरू साधारण परिवारमा जन्‍मन्छन्, र यी सबैको चाँजोपाँजो परमेश्‍वरले नै मिलाउनुभएको हुन्छ। भन्‍नुको अर्थ, सबैभन्दा पहिलो कुरा, तिमीहरू जिउने यो वातावरण मानिसहरूले कल्‍पना गर्नेजस्तो अत्यधिक स्रोत-साधन नभएको परिवार हो, र परमेश्‍वरले तिमीहरूको लागि निर्णय गरिदिनुभएको परिवार यही हो, र बहुसंख्यक मानिसहरू यस प्रकारको पारिवारिक सीमितताहरूमा जिउँछन्। त्यसो भए, सामाजिक हैसियतको बारेमा चाहिँ के भन्‍ने त? बहुसंख्यक बाबुआमाका आर्थिक अवस्था मध्यम स्तरका छन् र तिनीहरूसँग उच्‍च सामाजिक हैसियत छैन—तिनीहरूको लागि एउटा व्यवसाय हुनु नै राम्रो कुरा हो। के तिनमा गभर्नरहरू पर्छन्? वा राष्ट्रका राष्ट्रपतिहरू पर्छन्? पर्दैनन्, हैन त? बढीमा तिनीहरू स-साना व्यापार-व्यवसायका व्यवस्थापकहरू वा स-साना व्यापार-व्यवसायका मालिकहरू हुन्छन्। तिनीहरूको सामाजिक हैसियत मध्यम स्तरको हुन्छ र तिनीहरूको आर्थिक अवस्था औसत हुन्छ। अर्को तत्व भनेको परिवारको जिउने वातावरण हो। सर्वप्रथम, यी परिवारहरूका बीचमा आफ्‍ना छोराछोरीलाई जोखाना हेर्ने र भविष्य बताउने मार्गमा हिँड्नको लागि स्पष्ट रूपमा प्रभाव पार्ने बाबुआमा हुँदैनन्; यस्ता कुराहरूमा संलग्‍न हुनेहरू एकदमै कम हुन्छन्। धेरैजसो बाबुआमा सामान्य नै हुन्छन्। यसको साथै परमेश्‍वरले मानिसहरूलाई चुन्‍नुहुन्छ, उहाँले तिनीहरूका लागि यस प्रकारको वातावरण तय गर्नुहुन्छ, जुन मानिसहरूलाई मुक्ति दिने उहाँको कामको लागि अत्यन्तै लाभदायक हुन्छ। झट्ट हेर्दा, परमेश्‍वरले मानिसको लागि विशेष रूपमा पृथ्वी नै हल्‍लाउने किसिमको केही पनि गर्नुभएको छैन जस्तो देखिन्छ; उहाँले आफूले गर्ने सबै कुराहरू नम्रताको साथ र मौनतामा चुपचाप र गोप्य रूपमा गर्नुहुन्छ। तर वास्तवमा, परमेश्‍वरले गर्नुहुने सबै कार्य तेरो मुक्तिको लागि जग बसाल्‍न, तेरो मुक्तिको लागि अगाडिको बाटो र आवश्यक सबै अवस्थाहरू तयार गर्नको लागि नै गर्नुहुन्छ। त्यसपछि, परमेश्‍वरले हरेक व्यक्तिलाई निश्‍चित समयमा उहाँको अघि ल्याउनुहुन्छ: तैँले परमेश्‍वरको आवाज सुन्‍ने बेला यही हो; तँ उहाँको सामुन्ने आउने बेला यही हो। यस्तो हुँदाको समयसम्‍म, कतिपय मानिसहरू पहिले नै बाबुआमा भइसकेका हुन्छन्, जबकि अरूचाहिँ कसैका छोराछोरीका रूपमै हुन्छन्। अर्को शब्‍दमा भन्दा, कतिपय मानिसहरूले विवाह गरेर छोराछोरी जन्‍माइसकेका हुन्छन्, तर अरूचाहिँ अझै पनि अविवाहित हुन्छन्, तिनीहरूले आफ्‍नो परिवार अहिलेसम्‍म सुरु गरेका हुँदैनन्। तर व्यक्तिको अवस्था जे-जस्तो भए पनि, तँलाई कहिले चुनिनेछ र उहाँको सुसमाचार र वचन तँकहाँ कहिले पुग्‍नेछ सोबारे परमेश्‍वरले पहिले नै समय तोकिसक्‍नुभएको हुन्छ। तैँले परमेश्‍वरको वचन सुन्‍न सक् भनेर परमेश्‍वरले तँकहाँ सुसमाचार ल्याइपुर्‍याउने परिस्‍थितिहरू, निश्‍चित व्यक्ति वा निश्‍चित प्रसंग तय गरिसक्‍नुभएको हुन्छ। परमेश्‍वरले तेरो लागि पहिले नै सम्पूर्ण अत्यावश्‍यक अवस्थाहरूको तयारी गरिसक्‍नुभएको हुन्छ। यसरी, यस्तो भइरहेको छ भन्‍ने मानिसलाई थाहा नभए पनि, मानिस उहाँको सामुन्ने आउँछ र परमेश्‍वरको परिवारमा फर्कन्छ। मानिसले थाहै नभई परमेश्‍वरलाई पछ्याउँछ र उहाँले मानिसको लागि तयार पार्नुभएको परमेश्‍वरको कार्यशैलीको हरेक चरणमा प्रवेश गर्दै उहाँको कार्यको हरेक चरणमा प्रवेश गर्छ। यस बेला मानिसको लागि काम-कुराहरू गर्ने क्रममा परमेश्‍वरले के-कस्ता तरिकाहरू प्रयोग गर्नुहुन्छ? सबभन्दा पहिले, मानिसले प्राप्त गर्ने वास्ता र सुरक्षा नै न्यूनतम कुरा हो। यसबाहेक, परमेश्‍वरले विभिन्‍न मानिसहरू, घटना, र काम-कुराहरू तय गर्नुहुन्छ ताकि ती कुराहरूद्वारा मानिसले उहाँको अस्तित्व र उहाँका कार्यहरू देख्‍न सकून्। उदाहरणको लागि, आफ्‍नो परिवारको कुनै व्यक्ति बिरामी भएकोले कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्। जब अरूले तिनीहरूलाई सुसमाचार प्रचार गर्छन्, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गर्छन्, र उक्त परिस्थितिको कारणले गर्दा परमेश्‍वरमाथिको यो विश्‍वास आउँछ। त्यसो भए, कसले यो परिस्थितिको बन्दोबस्त गर्‍यो त? (परमेश्‍वरले।) यस रोग-बिमारको माध्यमद्वारा, कतिपय परिवारमा हरेक व्यक्ति नै विश्‍वासी बन्छन्, अरू कतिमा चाहिँ परिवारका एक-दुई जना मानिसहरूले मात्रै विश्‍वास गर्छन्। झट्ट हेर्दा, तेरो परिवारको कुनै व्यक्ति बिरामी भयो भन्‍नेजस्तो देखिन्छ, तर यो वास्तवमा तँ परमेश्‍वरकहाँ आउन सक् भनेर तँलाई प्रदान गरिएको परिस्थिति हो—यो परमेश्‍वरको दया हो। कतिपय मानिसहरूका लागि परिवार कठिन हुँदा र तिनीहरूले कुनै शान्ति नपाउँदा, अवसर आफै आउँछ—कसैले सुसमाचार सुनाउँछ र भन्छ, “प्रभु येशूमा विश्‍वास गर अनि तिमीले शान्ति पाउनेछौ।” अनभिज्ञ भए पनि, तिनीहरूले अत्यन्तै प्राकृतिक परिस्‍थितिमा परमेश्‍वरलाई विश्‍वास गर्न पुग्छन्, के यो एक प्रकारको परिस्‍थिति होइन र? अनि तिनीहरूको परिवारमा शान्ति छैन भन्‍ने तथ्य परमेश्‍वरले तिनीहरूलाई दिनुभएको अनुग्रह नै होइन र? अन्य कारणहरूले परमेश्‍वरमा विश्‍वास गर्न पुग्‍ने कतिपय मानिसहरू पनि छन्। विश्‍वास गर्ने फरक-फरक कारणहरू र फरक-फरक तरिकाहरू छन्, तर तँलाई जुनसुकै कारणले उहाँमा विश्‍वास गर्ने तुल्याए पनि, यो सबै परमेश्‍वरले नै मिलाउनुभएको र मार्गनिर्देशित गर्नुभएको हो। सबभन्दा पहिले, परमेश्‍वरले तँलाई चुन्‍नको लागि र तँलाई उहाँको परिवारमा ल्याउनको लागि विभिन्‍न तरिकाहरू अपनाउनुहुन्छ। हरेक व्यक्तिलाई परमेश्‍वरले दिनुहुने अनुग्रह यही नै हो।

यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई उप्रान्त अनुग्रह र आशिष् मात्रै बर्साउनुहुन्‍न, न त उहाँले मानिसलाई अघि बढाउनको लागि मनाउनु नै हुन्छ। कार्यको यो चरणको अवधिमा, मानिसले अनुभव गरेको परमेश्‍वरको कार्यका सबै पक्षहरूबाट उसले के देखेको छ? मानिसले परमेश्‍वरको प्रेम र परमेश्‍वरको न्याय र सजाय देखेको छ। समयको यो अवधिमा, मानिसले क्रमिक रूपमा उहाँका अभिप्रायहरू जानून्, उहाँले बोल्नुहुने वचनहरूलाई र उहाँले मानिसलाई दिनुहुने सत्यतालाई जानून् भनेर परमेश्‍वरले मानिसको लागि प्रदान गर्नुहुन्छ, उसलाई सहायता गर्नुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, र अगुवाइ गर्नुहुन्छ। जब मानिस कमजोर हुन्छ, जब ऊ असहाय हुन्छ, जब उसको जाने बाटो कतै हुँदैन, तब मानिसको सानो कद क्रमिक रूपमा सामर्थ्यमा वृद्धि होस्, सकारात्मकतामा वृद्धि होस् र ऊ परमेश्‍वरसँग सहकार्य गर्न इच्छुक बनोस् भनेर परमेश्‍वरले मानिसलाई सान्त्वना दिन, सल्लाह दिन, र प्रोत्साहन दिन आफ्ना वचनहरूको प्रयोग गर्नुहुनेछ। तर जब मानिसले उहाँको उल्लङ्घन गर्छ वा उहाँको विरोध गर्छ, वा जब मानिसले आफ्नो भ्रष्टतालाई प्रकट गर्छ, परमेश्‍वरले मानिसलाई ताडना दिने र अनुशासनमा राख्ने क्रममा कुनै कृपा देखाउनुहुनेछैन। तैपनि, मानिसको मूर्खता, अज्ञानता, कमजोरी र अपरिपक्वताको लागि परमेश्‍वरले सहनशीलता र धैर्यता देखाउनुहुनेछ। यसरी, परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामद्वारा, मानिस क्रमिक रूपमा परिपक्व हुन्छ, वृद्धि हुन्छ, र परमेश्‍वरका अभिप्रायहरूलाई जान्न पुग्छ, निश्चित सत्यताहरूलाई जान्न पुग्छ, के-कस्ता कुराहरू सकारात्मक हुन् र के-कस्ता कुराहरू नकारात्‍मक हुन् सो जान्न पुग्छ, दुष्टता र अन्धकार के हुन् सो जान्न पुग्छ। परमेश्‍वरले मानिसलाई सधैँ ताडना दिने अनि अनुशासनमा राख्ने एउटै तरिका अपनाउनुहुन्न, न त उहाँले सधैँ सहनशीलता र धैर्यता मात्रै पनि देखाउनुहुन्छ। बरु उहाँले हरेक व्यक्तिको लागि तिनीहरूको फरक-फरक चरणमा र तिनीहरूको फरक-फरक कद र क्षमता अनुसार फरक तरिकाले प्रदान गर्नुहुन्छ। उहाँले मानिसको लागि धेरै कुराहरू धेरै मूल्य चुकाएर गर्नुहुन्छ; यी कुनै कुराहरू वा मूल्यको बारेमा मानिसले केही बुझ्दैन, तैपनि उहाँले गर्नुहुने सबै अभ्यास वास्तवमा हरेक व्यक्तिमा नै गरिन्छ। परमेश्‍वरको प्रेम व्यावहारिक छ: परमेश्‍वरको अनुग्रहद्वारा, मानिस एकपछि अर्को विपत्तिबाट बच्छ, र यस क्रममा परमेश्‍वरले मानिसको कमजोरीको लागि बारम्बार सहनशीलता देखाउनुहुन्छ। परमेश्‍वरको न्याय र सजायले मानिसहरूलाई मानवजातिको भ्रष्टता र शैतानी सारको बारेमा क्रमिक रूपमा थाहा पाउने तुल्याउँछ। परमेश्‍वरले प्रदान गर्ने कुरा, मानिसलाई उहाँले दिने अन्तर्दृष्टि र उहाँको अगुवाइ सबैले मानवजातिलाई झन्-झन् बढी सत्यताको सार बुझ्ने, र मानिसहरूलाई के खाँचो छ, तिनीहरूले कुन बाटो हिँड्नुपर्छ, तिनीहरू केको लागि जिउँछन्, तिनीहरूको जीवनको मूल्य र अर्थ, र अगाडिको बाटो कसरी हिँड्ने सो झन्-झन् बढी जान्ने तुल्याउँछ। परमेश्‍वरले गर्नुहुने यी सबै कुराहरूलाई उहाँको एउटै मूल उद्देश्यबाट अलग गर्न सकिँदैन। त्यसोभए यो उद्देश्य के हो? मानिसमा आफ्नो कार्य गर्नको लागि परमेश्‍वरले किन यी विधिहरूको प्रयोग गर्नुहुन्छ? उहाँले के परिणाम हासिल गर्न चाहनुहुन्छ? अर्को शब्दमा भन्दा, उहाँले मानिसमा के देख्न चाहनुहुन्छ? मानिसबाट उहाँले के प्राप्त गर्न चाहनुहुन्‍छ? मानिसको हृदय पुनर्जीवित हुन सकोस् भन्ने नै परमेश्‍वरले हेर्न चाहनुहुन्छ। मानिसमा उहाँले काम गर्नको लागि प्रयोग गर्नुहुने यी विधिहरू मानिसको हृदयलाई बिउँझाउन, मानिसको आत्मालाई बिउँझाउन, ऊ कहाँबाट आएको हो, कसले उसलाई अगुवाइ गरिरहनुभएको छ, सहयोग र भरणपोषण गरिरहनुभएको छ, र कसले मानिसलाई आजको दिनसम्म जिउन दिनुभएको छ सो बुझ्न मानिसलाई सक्षम गराउनको लागि गरिएका अटुट प्रयासहरू हुन्; ती मानिसलाई सृष्टिकर्ता को हुनुहुन्छ, उसले कसलाई आराधना गर्नुपर्छ, ऊ कुन मार्गमा हिँड्नुपर्छ, र मानिस कुन तरिकामा परमेश्‍वरको अघि आउनुपर्छ त्यो बारे मानिसलाई बुझ्ने तुल्याउने माध्यमहरू हुन्; ती मानिसले परमेश्‍वरको हृदयलाई जान्न सकोस्, परमेश्‍वरको हृदयलाई बुझ्न सकोस् र मानिसलाई मुक्ति दिनको लागि उहाँले गर्नुभएको कामको पछाडिको ठूलो वास्ता र विचारलाई बुझ्न सकोस् भनेर मानिसको हृदयलाई क्रमिक रूपमा पुनर्जीवित पार्ने माध्यमहरू हुन्। जब मानिसको हृदय पुनर्जीवित हुन्छ, मानिस उप्रान्त नीच, भ्रष्ट स्वभावमा जिउन चाहँदैन, बरु परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि सत्यताको खोजी गर्न चाहन्छ। जब मानिसको हृदय बिउँझिएको हुन्छ, मानिसले आफैलाई शैतानबाट पूर्ण रूपमा अलग गर्न सक्छ। उप्रान्त उसलाई शैतानले हानी गर्नेछैन, यसले उसलाई उप्रान्त नियन्त्रण गर्ने वा मूर्ख तुल्याउनेछैन। बरु, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट टाढा बस्ने क्षमता प्राप्त गर्दै, मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्रिय रूपमा परमेश्‍वरको कार्य र उहाँको वचनमा सहकार्य गर्न सक्छ। परमेश्‍वरको कार्यको मूल उद्देश्य यही नै हो।

हामीले शैतानको दुष्टताको बारेमा भर्खरै गरेको छलफलले सबैलाई मानिस अत्यन्तै ठूलो अप्रसन्‍नताको बीचमा जिउँछ र मानिसको जीवनलाई दुर्भाग्यले आक्रान्त पारेको छ भन्‍नेजस्तो अनुभव गराउँछ। तर अहिले मैले परमेश्‍वरको पवित्रता र उहाँले मानिसमा गर्नुहुने कामको बारेमा कुरा गर्दैगर्दा, त्यसले तिमीहरूलाई कस्तो अनुभव गराउँछ? (अत्यन्तै खुशी।) परमेश्‍वरले गर्नुहुने सबै कुरा, उहाँले मानिसको लागि परिश्रमको साथ बन्दोबस्त गर्नुहुने सबै कुरा निष्कलङ्क छन् भन्‍ने हामी देख्छौँ। परमेश्‍वरले गर्नुहुने सबै कुरा त्रुटि विहीन छन्, अर्थात् ती गल्तीरहित छन्, तिनमा कुनै सुधार गर्न, सुझाव दिन वा कुनै पनि परिवर्तन गर्न आवश्यक पर्दैन। हरेक व्यक्तिको लागि परमेश्‍वरले गर्नुहुने सबै कुरा शङ्‍काभन्दा बाहिर हुन्छन्; उहाँले हरेकलाई आफ्‍नै हातले डोर्‍याउनुहुन्छ, बितेर जाने हरेक क्षण उहाँले तेरो हेरचाह गर्नुहुन्छ र तँलाई कहिल्यै पनि छोड्नुभएको छैन। मानिसहरू यस प्रकारको वातावरणमा र यस प्रकारको पृष्ठभूमिमा हुर्कने क्रममा, के मानिसहरू वास्तवमा परमेश्‍वरकै हतकेलामा हुर्कन्छन् भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) त्यसो भए, के तिमीहरू अझै पनि रिक्तताको महसुस गर्छौ? के कसैले अझै पनि उदासपनको महसुस गर्छ? के परमेश्‍वरले मानवजातिलाई त्याग्‍नुभएको छ भन्‍ने कसैलाई लाग्छ? (लाग्दैन।) त्यसो भए, परमेश्‍वरले वास्तवमा के गर्नुभएको छ त? (उहाँले मानवजातिमाथि नजर राख्‍नुभएको छ।) परमेश्‍वरले आफूले गर्ने हरेक कुरामा महान् विचार र ध्यान लगाउनुहुन्छ भन्‍नेमा कुनै प्रश्‍न छैन। यति मात्र कहाँ हो र, आफ्‍नो कार्यलाई अघि बढाउने क्रममा, उहाँले त्यो सधैँ नै निसर्त गर्नुभएको छ। उहाँप्रति तँलाई अत्यन्तै गहन कृतज्ञताको महसुस गराउनको लागि उहाँले कहिल्यै पनि तिमीहरूमध्ये कसैलाई तेरो लागि उहाँले चुकाउनुभएको मूल्य जान्‍नुपर्छ भन्ने मापदण्ड तोक्नुभएको छैन। के परमेश्‍वरले तँलाई कहिल्यै यस्तो गर्न लगाउनुभएको छ? (छैन।) मानव जीवनको लामो मार्गमा, लगभग हरेक व्यक्तिले नै धेरै खतरनाक परिस्थितिहरूको अनुभव गरेको र धेरै परीक्षाहरूको सामना गरेको हुन्छ। किनभने शैतान सधैँ तँमाथि लगातार नजर लगाएर तेरै छेउमा खडा भइरहेको हुन्छ। जब विपत्तिले तँलाई प्रहार गर्छ, यसमा शैतान प्रकट हुन्छ; जब तँमाथि आपत्तिहरू आइपर्छन्, जब तेरो लागि कुनै पनि कुरा भनेजस्तो हुँदैन, जब तँ शैतानको जालोमा पर्छस्, यी कुराहरूबाट शैतानले निकै ठूलो आनन्द लिन्छ। परमेश्‍वरले के गरिरहनुभएको छ भन्‍ने विषयमा, बितेर जाने हरेक क्षणमा उहाँले तँलाई सुरक्षा दिइरहनुभएको हुन्छ, एकपछि अर्को दुर्भाग्यबाट र एकपछि अर्को विपत्तिबाट तँलाई तर्काइरहनुभएको हुन्छ। त्यसैकारणले म भन्छु कि मानिससँग भएको सबै कुरा—शान्ति र आनन्द, आशिष्‌ र व्यक्तिगत सुरक्षा—वास्तवमा परमेश्‍वरकै नियन्त्रणमा हुन्छ; उहाँले हरेक व्यक्तिको भाग्यलाई निर्देशित गर्नुहुन्छ र त्यसको निर्णय गर्नुहुन्छ। तर के कतिपय मानिसहरूले भनेजस्तै, परमेश्‍वरसँग आफ्‍नो हैसियतको बारेमा अत्यन्तै उच्‍च धारणा छ र? के परमेश्‍वरले तँलाई यस्तो घोषणा गर्नुहुन्छ, “म सबैभन्दा महान् छु। तिमीहरूमाथि हुकुम चलाउने म नै हुँ। तिमीहरूले मलाई कृपाको लागि बिन्ती गर्नैपर्छ, र अनाज्ञाकारीलाई मृत्युदण्ड दिइनेछ”? के परमेश्‍वरले मानवजातिलाई कहिल्यै यसरी धम्की दिनुभएको छ? (छैन।) के उहाँले कहिल्यै यसो भन्‍नुभएको छ, “मानवजाति भ्रष्ट छ, त्यसकारण तिनीहरूलाई मैले जसरी व्यवहार गरे पनि त्यसको कुनै मतलब हुँदैन, र तिनीहरूलाई जसरी व्यवहार गरे पनि हुन्छ; तिनीहरूको लागि मैले उचित बन्दोबस्त गरिरहनु पर्दैन”? के परमेश्‍वरले यसरी विचार गर्नुहुन्छ? के परमेश्‍वरले यसरी काम गर्नुभएको छ? (छैन।) यसको विपरीत, परमेश्‍वरले हरेक व्यक्तिलाई गर्ने व्यवहार तत्पर र जिम्‍मेवारीपूर्ण छ। उहाँले तँलाई तैँले आफैलाई व्यवहार गर्ने गरेको भन्दा अझै जिम्‍मेवारीपूर्ण व्यवहार गर्नुहुन्छ। के यो यस्तै होइन त? परमेश्‍वर लापरवाही साथ बोल्‍नुहुन्‍न, न त उहाँले आफ्‍नो उच्‍च हैसियतको तडकभडक गर्ने वा मानिसहरूलाई क्षुद्र रूपमा धोका दिने नै गर्नुहुन्छ। बरु उहाँ आफैले गर्न आवश्यक रहेका कुराहरूलाई उहाँले इमान्दारीपूर्वक र मौनतामा गर्नुहुन्छ। यी कुराहरूले मानिसमा आशिष्‌, शान्ति र आनन्द ल्याउँछ। तिनले मानिसलाई शान्तिपूर्ण तरिकाले र खुशीसाथ परमेश्‍वरको नजरमा र उहाँको परिवारमा ल्याउँछ; त्यसपछि तिनीहरू परमेश्‍वरको अघि जिउँछन् र सामान्य तर्क र सोचाइको साथ परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्छन्। त्यसोभए के आफ्‍नो काममा परमेश्‍वर कहिल्यै मानिसप्रति धोकेबाज हुनुभएको छ? के उहाँले कहिल्यै मानिसलाई केही मनोहर कुराहरूले पहिले झुक्याएर आफ्‍नो पिठ्यूँ फर्काई दयाको झूटो प्रदर्शन गर्नुभएको छ? (छैन।) के परमेश्‍वरले कहिल्यै एउटा कुरा भनेर अर्को कुरा गर्नुभएको छ? के परमेश्‍वरले कहिल्यै रित्ता प्रतिज्ञाहरू गरेर उहाँले तिनीहरूका लागि यसो गर्न सक्‍नुहुन्छ वा तिनीहरूलाई यसो गर्न सहायता गर्नुहुन्छ भनी मानिसहरूलाई भन्दै फाइँफुट्टी लगाएर, गायब हुनुभएको छ? (छैन।) परमेश्‍वरमा कुनै छल, कुनै झूट छैन। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै कुरामा उहाँ साँचो हुनुहुन्छ। मानिसहरूले भरोसा गर्ने एक मात्र व्यक्ति उहाँ नै हुनुहुन्छ; मानिसहरूले आफ्‍नो जीवन र आफूसँग भएका सबै कुरा सुम्‍पन सक्‍ने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। परमेश्‍वरमा कुनै छल नभएको हुनाले, के परमेश्‍वर नै सबैभन्दा इमानदार हुनुहुन्छ भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) अवश्‍य नै हामी भन्‍न सक्छौँ! परमेश्‍वरमा लागू गर्दा “इमानदार” भन्‍ने शब्‍द अत्यन्तै कमजोर, अत्यन्तै मानवीय हुने भएकोले, हामीले प्रयोग गर्नको लागि अर्को कुन शब्‍द छ? मानव भाषाका सीमितताहरू यस्तै छन्। परमेश्‍वरलाई “इमानदार” भनी भन्‍नु अलिक अनुचित भए तापनि, अहिलेको लागि हामी यही शब्‍दको प्रयोग गर्नेछौँ। परमेश्‍वर विश्‍वासयोग्य र इमानदार हुनुहुन्छ। त्यसोभए जब हामी यी पक्षहरूका बारेमा कुरा गर्छौं, हामीले केलाई उल्‍लेख गरिरहेका हुन्छौँ? के हामीले परमेश्‍वर र मानिसको बीचमा भएका भिन्‍नताहरू अनि परमेश्‍वर र शैतानको बीचमा रहेका भिन्‍नताहरूका बारेमा उल्‍लेख गरिरहेका हुन्छौँ? हो, हामी त्यसो भन्‍न सक्छौँ। किनभने मानिसले परमेश्‍वरमा शैतानको भ्रष्ट स्वभावको एउटै छाप समेत देख्‍न सक्दैन। के मैले यसो भन्‍नु सही छ? आमेन? (आमेन!) शैतानको कुनै पनि दुष्ट स्वभाव परमेश्‍वरमा प्रकट भएको छैन। परमेश्‍वरले गर्नुहुने र प्रकट गर्नुहुने सबै कुरा पूर्ण रूपमा लाभदायक छ र त्यसले मानिसलाई सहायता गर्छ, सम्पूर्ण रूपले मानिसलाई भरणपोषण गर्नको लागि ती गरिन्छ, ती जीवनले भरिपूर्ण छ र मानिसलाई पछ्याउने बाटो र लिने दिशा प्रदान गर्छ। परमेश्‍वर भ्रष्ट हुनुहुन्‍न, यसको साथै, परमेश्‍वरले गर्नुहुने सबै कुरालाई अहिले हेर्दा, के परमेश्‍वर पवित्र हुनुहुन्छ भनेर हामी भन्‍न सक्छौँ? परमेश्‍वरमा मानवजातिको कुनै पनि भ्रष्ट स्वभाव छैन, न त भ्रष्ट मानवजातिको शैतानी स्वभावसँग मिल्ने कुनै कुरा नै छ, यस दृष्टिकोणबाट हामी परमेश्‍वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ भनेर भन्‍न सक्छौँ। परमेश्‍वरले कुनै पनि भ्रष्टता प्रदर्शन गर्नुहुन्‍न, र उहाँले कार्य गर्नुहँदा उहाँको सार पनि प्रकट गर्नुहुन्छ जसले सम्पूर्ण रूपमा परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने कुरा पुष्टि गर्छ। के तिमीहरू यसलाई देख्छौ? परमेश्‍वरको पवित्र सारलाई जान्‍नको लागि, अब हामी यी दुई पक्षलाई हेरौँ: १) परमेश्‍वरमा भ्रष्ट स्वभावको कुनै छाप छैन; २) मानिसमा परमेश्‍वरले गर्नुहुने कार्यको सारले मानिसलाई परमेश्‍वरको आफ्‍नै सार देख्‍ने तुल्याउँछ, र यो सार पूर्ण रूपमा सकारात्मक छ। किनभने परमेश्‍वरको कार्यको हरेक भागले मानिसमा ल्याउने कुराहरू सबै सकारात्मक छन्। पहिलो, मानिस इमानदार होस् भन्‍ने माग परमेश्‍वर गर्नुहुन्छ—के यो सकारात्मक कुरा होइन र? परमेश्‍वरले मानिसलाई बुद्धि दिनुहुन्छ—के यो सकारात्मक छैन र? परमेश्‍वरले मानिसलाई असल र खराब छुट्याउन सक्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? उहाँले मानिसलाई मानव जीवनको अर्थ र मूल्य बुझ्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? उहाँले मानिसलाई सत्यता अनुसार मानिसहरू, घटना, र कुराहरूको सार देख्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? छ। अनि यो सबैको परिणाम के हो भने, मानिस उप्रान्त शैतानको धोकामा पर्दैन, उप्रान्त शैतानको हानी वा नियन्त्रणमा परिरहने छैन भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, यी कुराहरूले मानिसहरूलाई शैतानको भ्रष्टताबाट आफैलाई पूर्ण रूपमा मुक्त गरेर, क्रमिक रूपमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट टाढा बस्‍ने मार्गमा हिँड्ने तुल्याउँछ। यो मार्गमा तिमीहरू हिँडेर कति टाढा आइपुगेका छौ? यो भन्‍नु कठिन छ, छैन र? तर कम्तीमा पनि के अहिले तिमीहरूमा शैतानले मानिसलाई कसरी भ्रष्ट तुल्याउँछ, कुन-कुन कुराहरू दुष्ट हुन् र कुन-कुन कुराहरू नकारात्मक हुन् भन्‍ने बारेमा प्रारम्‍भिक बुझाइ छ? के तिमीहरू अहिले कम्तीमा पनि जीवनको सही मार्गमा हिँडिरहेका छौ? के यसो भन्‍नु सुरक्षित छ? पूर्ण रूपमा सुरक्षित छ।

परमेश्‍वरको पवित्रतासम्बन्धी केही कुरा छन् जसको बारेमा सङ्गति गर्नु नितान्त जरुरी छ। तिमीहरूले सुनेका र प्राप्त गरेका सबै कुराको आधारमा, तिमीहरूमध्ये कसले परमेश्‍वरको पवित्रता के हो भनेर भन्‍न सक्छौ? मैले बताएको परमेश्‍वरको पवित्रताले केलाई जनाउँछ? यसको बारेमा एकै क्षण विचार गर्। के परमेश्‍वरको पवित्रता उहाँको सत्यता हो? के परमेश्‍वरको पवित्रता उहाँको विश्‍वसनियता हो? के परमेश्‍वरको पवित्रता उहाँको निस्स्वार्थता हो? के यो उहाँको नम्रता हो? मानिसप्रतिको उहाँको प्रेम? परमेश्‍वरले मानिसलाई सित्तैँमा सत्यता र जीवन दिनुहुन्छ—के यो उहाँको पवित्रता हो? हो, यी सबै पवित्रता हुन्। परमेश्‍वरले प्रकट गर्नुहुने यो सबै कुरा अद्वितीय छ र यो भ्रष्ट मानवजातिको बीचमा अस्तित्वमा छैन, न त यसलाई मानवजातिमा नै देख्‍न सकिन्छ। शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रियाको अवधिमा यसको अलिकति छाप समेत देख्‍न सकिँदैन, न त शैतानको भ्रष्ट स्वभावमा न त शैतानको सार वा प्रकृतिमा नै देख्‍न सकिन्छ। परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबै अद्वितीय छ; परमेश्‍वर स्वयमसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसमा मात्रै यस प्रकारको सार छ। हाम्रो छलफलको यो विन्दुमा, के तिमीहरूले मानवजातिको बीचमा मैले भर्खरै व्याख्या गरेजत्तिको पवित्र कसैलाई देखेका छौ? (छैनौं।) त्यसो भए, के आदर्श, चर्चित, वा तिमीहरूले उपासना गर्ने मानवजातिका महान्‌ व्यक्तिहरूमाझ यति पवित्र कोही छ? (छैन।) त्यसो भए, हामीले परमेश्‍वरको पवित्रता अद्वितीय छ भनी भन्दा के यो अत्योक्ति हुन्छ? अवश्य नै यो अत्योक्ति हुँदैन। यस बाहेक, परमेश्‍वरको पवित्र अद्वितीयताको पनि व्यवहारिक पक्ष छ। के मैले अहिले जुन पवित्रताको बारेमा बताएँ त्यो र तिमीहरूले योभन्दा पहिले सोचेको वा कल्‍पना गरेको पवित्रताको बीचमा कुनै भिन्‍नता छ? (छ।) यसमा अत्यन्तै धेरै भिन्‍नता छ। मानिसहरूले पवित्रताको बारेमा कुरा गर्दा तिनीहरूले प्रायजसो केलाई जनाइरहेका हुन्छन्? (केही बाहिरी बानीबेहोरालाई।) जब मानिसहरूले बानीबेहोरा वा अरू कुनै कुरा पवित्र छ भनी भन्छन्, तब तिनीहरूले यसलाई शुद्ध वा अनुभव गर्दा मनोहर देखेर मात्रै यसो भन्छन्। तैपनि, यी कुराहरूमा अपरिहार्य रूपमै पवित्रताको साँचो सारको कमी हुन्छ—यो धर्मसिद्धान्तको पक्ष हो। यसबाहेक, मानिसहरूले आफ्‍नो मनमस्तिष्कमा बुझेको पवित्रताको व्यवहारिक पक्षले केलाई जनाउँछ? के यो धेरैजसो तिनीहरूले कल्‍पना वा मूल्याङ्कन गरेको कुरा हो? उदाहरणको लागि, कतिपय बौद्धमार्गीहरू अभ्यास गरिरहेको बेला मरेर जान्छन्, तिनीहरू सुतिरहेको बेला बितेर जान्छन्। कतिपय मानिसहरूले तिनीहरू पवित्र बनेर स्वर्ग उडी गएका हुन् भनेर भन्छन्। यो पनि कल्‍पनाको उपज नै हो। अरू त्यस्ता व्यक्तिहरू पनि छन्, जो स्वर्गबाट तैरिएर आउने परी पवित्र हुन्छ भनेर विचार गर्छन्। वास्तवमा, “पवित्र” भन्‍ने शब्‍द सम्‍बन्धी मानिसहरूको अवधारणा सधैँ नै खोक्रो कल्‍पना र सिद्धान्त मात्रै रहिआएका छन्, आधारभूत रूपमा जसको कुनै वास्तविक सार नहुनुका साथै पवित्रताको सारसँग पनि कुनै सम्‍बन्ध हुँदैन। पवित्रताको सार साँचो प्रेम हो, तर योभन्दा पनि बढी यो सत्यता, धार्मिकता र ज्योतिको सार हो। परमेश्‍वरमा लागू गरिएको खण्डमा मात्रै “पवित्र” भन्‍ने शब्‍द उपयुक्त हुन्छ; सृष्टिको कुनै पनि कुरा “पवित्र” भन्‍न योग्य छैन। मानिसले यो बुझ्‍नैपर्छ। अबउप्रान्त, “पवित्र” भन्‍ने शब्‍दलाई हामी परमेश्‍वरमा मात्रै लागू गर्नेछौँ। के यो उचित छ? (हो, यो उचित छ।)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्