परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरको पवित्रता (२) - भाग दुई

परमेश्‍वरको पवित्रताको बारेमा कुरा गर्दा, यो परिचित विषय भए तापनि, यो त्यस्तो विषय हो जसको बारेमा कुरा गर्दा कतिपय मानिसहरूको लागि यो अलि अमूर्त र अलि गहन र तिनीहरूको पहुँचभन्दा बाहिरको कुरा हुन सक्छ। तर चिन्तित हुने कुनै कारण छैन। म तिमीहरूलाई परमेश्‍वरको पवित्रता के हो त्यो बुझ्‍न सहयोग गर्नेछु। कुनै पनि व्यक्ति कस्तो प्रकारको व्यक्ति हो भनेर बुझ्‍नको लागि, तिनीहरूले के गर्छन् अनि तिनीहरूको कार्यका परिणामहरू के हुन् सो हेर, त्यसपछि तिमीहरूले त्यस व्यक्तिको सारलाई देख्‍न सक्‍नेछौ। के यस कुरालाई यसरी भन्‍न सकिन्छ? (सकिन्छ।) त्यसो भए, हामी पहिले यो दृष्टिकोणबाट परमेश्‍वरको पवित्रताको बारेमा सङ्गति गरौँ। शैतानको सार दुष्ट छ, र मानिसप्रतिका शैतानका कार्यहरू तिनीहरूलाई अटुट रूपमा भ्रष्ट तुल्याउनका लागि हुँदै आएका छन् भनेर भन्‍न सकिन्छ। शैतान दुष्ट छ, त्यसकारण त्यसले भ्रष्ट तुल्याएका मानिसहरू पनि अवश्य नै दुष्ट छन्, होइन र? के कसैले “शैतान भ्रष्ट छ, तर सायद त्यसले भ्रष्ट तुल्याएको कुनै व्यक्ति पवित्र छ होला” भनेर भन्छ र? त्यो त एउटा मजाक हुनेथियो, होइन र? के त्यस्तो कुरा सम्‍भव छ त? (छैन।) शैतान दुष्ट छ, र त्यसको दुष्टताभित्र अत्यावश्यक र व्यवहारिक पक्ष दुवै छ। यो बकम्फुसे गफ मात्रै होइन। हामी शैतानलाई बदनाम गर्ने प्रयास गरिरहेका छैनौँ; हामीले सत्यता र वास्तविकताको बारेमा सङ्गति मात्रै गरिरहेका छौँ। यो विषयको वास्तविकतामा सङ्गति गर्दा यसले कतिपय मानिसहरूलाई वा मानिसहरूको निश्‍चित समूहलाई चोट पुर्‍याउन सक्छ, तर यसमा कुनै दुर्भावनापूर्ण अभिप्राय छैन; सायद तिमीहरूले आज यो सुन्‍नेछौ र केही असहजता महसुस गर्नेछौ, तर एक दिन चाँडै, जब तिमीहरू यसलाई पहिचान गर्न सक्छौ, तब तिमीहरूले आफैलाई घृणा गर्नेछौ, र मैले आज तिमीहरूलाई बताएको कुरा तिमीहरूका लागि अत्यन्तै उपयोगी र अत्यन्तै बहुमूल्य रहेको तिमीहरूले अनुभव गर्नेछौ। शैतानको सार दुष्ट छ, त्यसकारण के हामी शैतानका कार्यहरूका परिणामहरू पनि अपरिहार्य रूपमा नै दुष्ट छन्, वा कम्तीमा पनि ती त्यसको दुष्टतासँग जोडिएका छन् भनेर भन्‍न सक्छौँ? (सक्छौँ।) त्यसो भए, शैतानले कसरी मानिसलाई भ्रष्ट तुल्याउँदै हिँड्छ? शैतानले संसारमा र मानवजातिको बीचमा गर्ने दुष्टतामध्ये, यसको कुन-कुन पक्षहरूलाई मानिसहरूले देख्‍न र अनुभूति गर्न सक्छन्? के तिमीहरूले यसको बारेमा पहिले कहिल्यै विचार गरेका थियौ? तिमीहरूले यसको बारेमा त्यति विचार नगरेको हुन सक्छौ, त्यसकारण म धेरै वटा मुख्य बुँदाहरूलाई अघि सार्न चाहन्छु। शैतानले प्रस्तावित गरेको क्रमिक विकासको सिद्धान्तको बारेमा सबैलाई थाहा छ, होइन र? यो मानिसले अध्ययन गर्ने ज्ञानको क्षेत्र हो, होइन त? (हो।) त्यसकारण, शैतानले मानिसलाई भ्रष्ट तुल्याउन सुरुमा ज्ञानको प्रयोग गर्छ अनि यसले तिनीहरूको मनमस्तिष्कमा ज्ञान छिराउन यसका आफ्‍नै शैतानी विधिहरूको प्रयोग गर्छ। त्यसपछि यसले ज्ञान, विज्ञान, रहस्यमय तत्वहरू वा मानिसहरूले अन्वेषण गर्न चाहने विषयहरू सम्‍बन्धी तिनीहरूको चासोलाई बढाउँदै, मानिसलाई भ्रष्ट तुल्याउन विज्ञानको प्रयोग गर्छ। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने अरू कुराहरू भनेका परम्‍परागत संस्कृति र अन्धविश्‍वास हुन्, अनि त्यसपछि सामाजिक चालचलनहरू हुन्। यी सबै कुराहरू मानिसहरूले आफ्‍नो दैनिक जीवनमा भोग्‍ने कुराहरू हुन्, अनि यी सबै मानिसहरूकै समीपमा अस्तित्वमा रहेका हुन्छन्; तिनीहरू सबै तिनीहरूले देख्‍ने कुराहरू, तिनीहरूले सुन्‍ने कुराहरू, तिनीहरूले छुने कुराहरू, अनि तिनीहरूले अनुभव गर्ने कुराहरूसँग जोडिएका हुन्छन्। हरेक मानवजातिले यी कुराहरूद्वारा घेरिएर आफ्‍नो जीवन जिउँछन्, तिनीहरूले चाहे पनि तीबाट उम्‍कन वा आफैलाई तिनबाट मुक्त गर्न तिनीहरू सक्दैनन् भनेर भन्‍न सकिन्छ। यी कुराहरूको सामुन्ने, मानवजाति विवश छ, अनि मानिसले गर्न सक्‍ने भनेको तिनीहरूद्वारा प्रभावित हुनु, सङ्क्रमित हुनु, नियन्त्रित हुनु र बाँधिनु मात्रै हो; ती कुराहरूबाट आफैलाई मुक्त गर्न मानिस असमर्थ छ।

१. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ

सबैभन्दा पहिले, हामी ज्ञानको बारेमा कुरा गर्नेछौँ। के ज्ञान भनेको सबैले सकारात्मक ठान्‍ने गरेको कुरा हो? मानिसहरूले कम्तीमा पनि, “ज्ञान” भन्‍ने शब्‍दको अर्थ नकारात्मक होइन, सकारात्मक हो भन्‍ने सोच्छन्। त्यसो भए, शैतानले मानिसलाई भ्रष्ट तुल्याउनको लागि ज्ञानको प्रयोग गर्छ भनेर किन हामी यहाँ उल्‍लेख गरिरहेका छौँ त? के क्रमिक विकासको सिद्धान्त ज्ञानको एउटा पक्ष होइन र? के न्यूटनको वैज्ञानिक नियमहरू ज्ञानकै भाग होइनन् र? पृथ्वीको गुरुत्वाकर्षण बल पनि ज्ञानकै भाग हो, होइन र? (हो।) त्यसो भए, किन मानवजातिलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने कुराहरूमाझ ज्ञानलाई सूचीकृत गरिन्छ? यसमा तिमीहरूको दृष्टिकोण के छ? के ज्ञानमा एक थोपा सत्यता समेत हुन्छ र? (हुँदैन।) त्यसो भए, ज्ञानको सार के हो त? मानिसले प्राप्त गर्ने सबै ज्ञान कुन आधारमा सिकिन्छ? के यो क्रमिक विकासको सिद्धान्तमा आधारित छ? के मानिसले अन्वेषण र सङ्कलन गरेर हासिल गरेको ज्ञान नास्तिकतामा आधारित छैन र? के परमेश्‍वरसँग यीमध्ये कुनै पनि ज्ञानको सम्‍बन्ध छ? के यो परमेश्‍वरलाई आराधना गर्ने कार्यसँग जोडिएको छ? के यो सत्यतासँग जोडिएको छ? (छैन।) त्यसो भए, मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ त? मैले भर्खरै भनेँ, यो कुनै पनि ज्ञान परमेश्‍वरको आराधना गर्ने कार्यसँग वा सत्यतासँग जोडिएको छैन। कतिपय मानिसहरूले यसको बारेमा यस्तो विचार गर्छन्: “सत्यतासँग ज्ञानको कुनै सम्‍बन्ध नहुन सक्छ, तर यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैन।” यसबारे तिमीहरूको दृष्टिकोण के छ? के व्यक्तिले आफ्‍नो खुशी उसको आफ्‍नै हातले निर्माण गर्नुपर्छ भनेर तँलाई ज्ञानले सिकायो? के ज्ञानले तँलाई मानिसको नियति उसको आफ्‍नै हातमा हुन्छ भनेर सिकायो? (सिकायो।) यो कस्तो प्रकारको गफ हो? (यो दुष्ट कुरा हो।) एकदम ठीक! यो दुष्ट कुरा हो! ज्ञान भनेको छलफल गर्नको लागि एउटा जटिल विषय हो। ज्ञानको क्षेत्र ज्ञानभन्दा बढी केही पनि होइन भनेर तिमीहरूले उल्‍लेख गर्न सक्छौ। त्यो त परमेश्‍वरलाई आराधना नगरीकन अनि परमेश्‍वरले सबै थोक बनाउनुभएको हो भन्‍ने नबुझीकन त्यसैको आधारमा सिकिएको ज्ञानको क्षेत्र हो। जब मानिसहरूले यस प्रकारको ज्ञानको अध्ययन गर्छन्, तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता सबै थोकमाथि छ भन्‍ने कुरालाई देख्‍दैनन्; तिनीहरूले परमेश्‍वर सबै थोकका मालिक हुनुहुन्छ वा उहाँले सबै थोकको व्यवस्थापन गरिरहनुभएको छ भन्‍ने कुरालाई देख्दैनन्। बरु, तिनीहरूले अटुट रूपमा ज्ञानको क्षेत्रलाई अनुसन्धान र अन्वेषण मात्रै गर्छन्, अनि ज्ञानकै आधारमा उत्तरहरूको खोजी मात्रै गर्छन्। तर, मानिसहरूले परमेश्‍वरमा विश्‍वास नगरी अनुसन्धान मात्रै गर्छन् भने, तिनीहरूले कहिल्यै पनि साँचो उत्तरहरू भेट्टाउनेछैनन् भन्‍ने कुरा साँचो होइन र? ज्ञानले तँलाई दिने भनेको जीविका, जागिर, आम्दानी मात्रै हो, ताकि तँ भोकै बस्‍न नपरोस्; तर यसले तँलाई कहिल्यै पनि परमेश्‍वरलाई आराधना गर्ने तुल्याउनेछैन, अनि यसले तँलाई दुष्टताबाट कहिल्यै अलग राख्‍नेछैन। मानिसहरूले ज्ञानको जति धेरै अध्ययन गर्छन्, त्यति नै बढी परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने, तिनीहरूका अध्ययनहरूमा परमेश्‍वरलाई अध्ययनको विषय बनाउने, परमेश्‍वरलाई परीक्षा गर्ने, र परमेश्‍वरको विरोध गर्ने तिनीहरूले इच्‍छा गर्नेछन्। त्यसैले, अहिले हामी ज्ञानले मानिसहरूलाई के सिकाइरहेको छ भन्‍ने देख्छौँ? यो सबै शैतानको सिद्धान्त हो। के भ्रष्ट मानिसहरूका बीचमा शैतानले फैलाएको अस्तित्वका सिद्धान्त र नियमहरूले सत्यतासँग कुनै सम्‍बन्ध राख्छन? सत्यतासँग तिनीहरूको कुनै सम्‍बन्ध छैन, र वास्तवमा, ती सत्यताभन्दा विपरीत छन्। मानिसहरू प्रायजसो भन्‍ने गर्छन्, “जीवन चलायमान छ” र “भात स्टील हो भने मानिस फलाम, एक छाक नखाँदा जान खोज्छ प्राण”; यस्ता भनाइहरू के हुन् त? ती भ्रम हुन्, अनि तिनलाई सुन्दा दिक्‍क लागेर आउँछ। मानिसको तथाकथित ज्ञानमा, शैतानले निकै नै त्यसको जिउने सिद्धान्त र त्यसका सोचाइ हालिदिएको हुन्छ। अनि शैतानले यसो गर्ने क्रममा, मानिसले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्न, सबै थोकमाथि र मानिसको भाग्यमाथिको परमेश्‍वरको प्रभुत्वलाई इन्कार गर्न सकोस् भनेर त्यसले मानिसलाई त्यसको सोचाइ, सिद्धान्त, र दृष्टिकोण अपनाउने तुल्याउँछ। त्यसकारण मानिसले प्रगतिको अध्ययन गर्ने क्रममा र उसले अझै बढी ज्ञान प्राप्त गर्ने क्रममा, उसले परमेश्‍वरको अस्तित्व अस्पष्ट भएको अनुभव गर्छ, र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने समेत उसले अनुभव गर्नछोड्छ। शैतानले मानिसको मनमस्तिष्कमा केही निश्‍चित दृष्टिकोण, धारणा, र विचारहरू हालिदिएको हुनाले, जब शैतानले मानिसभित्र यो विष हालिसकेको हुन्छ, तब के मानिस शैतानद्वारा फुस्ल्याइएको र भ्रष्ट पारिएको हुँदैन र? अब तिमीहरू के भन्छौ, आजका मानिसहरू के कुराको आधारमा जिउँछन्? के तिनीहरू शैतानले तिनीहरूमा हालिदिएको ज्ञान र विचाहरूद्वारा जिउँदैनन् र? अनि, यो ज्ञान र यी विचारहरूभित्र लुकेका कुराहरू—के ती शैतानका दर्शन र विषहरू होइनन् र? मानिस शैतानका दर्शन र विषहरूद्वारा जिउँछ। अनि, शैतानका दर्शन र विषहरूको केन्द्रबिन्दुमा के हुन्छ? शैतानले आफूले जस्तै मानिसलाई पनि परमेश्‍वरलाई इन्कार गर्न, विरोध गर्न र उहाँविरुद्ध उभिन लगाउँछ; मानिसलाई भ्रष्ट तुल्याउनुपछाडि रहेको शैतानको लक्ष्य यही हो, र यही नै शैतानले मानिसलाई भ्रष्ट तुल्याउने माध्यम पनि हो।

हामी ज्ञानको सबैभन्दा सतही पक्षलाई सम्‍बोधन गर्दै सुरु गर्नेछौँ। के भाषाहरूका व्याकरण र शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छ त? के शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छ त? शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैनन्; ती त मानिसहरूले बोल्‍नको लागि प्रयोग गर्ने साधन हुन् र ती मानिसहरूले परमेश्‍वरसँग कुराकानी गर्ने साधन पनि हुन्, वर्तमानमा, परमेश्‍वरले भाषा र शब्‍दहरूद्वारा नै मानिसहरूसँग कुराकानी गर्नुहुन्छ भन्‍ने कुरालाई उल्‍लेख गरिरहनु नपर्ला। ती साधनहरू हुन्, अनि ती अत्यावश्यक कुराहरू हुन्। एक जोड एक दुई हुन्छ, र दुई गुणा दुई चार हुन्छ; के यो ज्ञान होइन र? तर के यसले तँलाई भ्रष्ट तुल्याउन सक्छ? यो आम ज्ञान हो—यो एक निश्‍चित ढाँचा हो—र यसले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्दैन। त्यसो भए कस्तो प्रकारको ज्ञानले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ? भ्रष्ट तुल्याउने ज्ञान भनेको शैतानका दृष्टिकोण र विचारहरूसँग मिश्रित भएको ज्ञान हो। शैतानले ज्ञानको माध्यमद्वारा यी दृष्टिकोण र विचारहरूलाई मानवजातिमा हालिदिन खोज्छ। उदाहरणको लागि, कुनै निबन्धमा, लिखित शब्‍दहरू आफै गलत हुँदैनन्। लेखकले लेख लेख्दा जुन दृष्टिकोण र अभिप्रायले लेख्छ त्यसमा, र साथसाथै तिनीहरूको विचारको विषयवस्तुमा समस्या हुन्छ। यी कुराहरू आत्माका कुराहरू हुन्, अनि तिनले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्। उदाहरणको लागि, यदि तैँले टेलिभिजन कार्यक्रम हेरिरहेको थिइस् भने, यसका के-कस्ता कुराहरूले मानिसहरूको दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन्? के कलाकारले जे भन्छ त्यसले, शब्‍दहरू स्वयम्‌ले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्? (सक्दैनन्।) के-कस्ता कुराहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँछन्? कार्यक्रमको मूल विचार र विषयवस्तुले यसो गर्ने गर्छ, जसले निर्देशकको दृष्टिकोणहरूलाई प्रतिनिधित्व गर्छ। यी दृष्टिकोणहरूमा रहेको जानकारीले मानिसहरूको हृदय र मनलाई बहकाउन सक्छ। त्यस्तै हो नि होइन र? मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञानको प्रयोग गर्छ भन्‍ने सम्‍बन्धी मेरो छलफलमा मैले केलाई उल्‍लेख गरिरहेको छु सो अब तिमीहरूलाई थाहा भयो। तिमीहरूले गलत रूपमा बुझ्‍नेछैनौ, होइन त? त्यसकारण अर्को पटक तैँले उपन्यास वा निबन्ध पढ्दा, के तैँले लिखित शब्‍दहरूमा व्यक्त गरिएका विचारहरूले मानवजातिलाई भ्रष्ट तुल्याउँछन् कि मानवजातिमा योगदान दिन्छन् भनी मूल्याङ्कन गर्न सक्छस्? (सक्छु, थोरै हदसम्‍म।) यो बिस्तारै अध्ययन र अनुभव गर्नुपर्ने कुरा हो, र यो तुरुन्तै सहज रूपमा बुझिने कुरा होइन। उदाहरणको लागि, ज्ञानको क्षेत्र अनुसन्धान गर्ने वा अध्ययन गर्ने क्रममा, ज्ञानका कतिपय सकारात्मक पक्षहरूले मानिसहरूलाई तिनीहरू के कुराबाट अलग बस्‍नुपर्छ भन्‍ने कुरा जान्‍न सक्षम तुल्याउँदै, त्यस क्षेत्रको आधारभूत ज्ञान बुझ्‍न सहायता गर्न सक्छ। उदाहरणको लागि, “विद्युत्” लाई लिऊँ—यो ज्ञानको एउटा क्षेत्र हो, होइन र? विद्युतले मानिसहरूलाई झट्का लगाउन र चोट पुर्‍याउन सक्छ भन्‍ने तँलाई थाहा थिएन भने, के तँ अज्ञानी हुनेथिइनस् र? तर तैँले ज्ञानको यो क्षेत्रलाई बुझिसकेपछि, विद्युतीय करेन्ट बग्‍ने वस्तुहरूलाई छुने बारेमा तँ लापरवाह हुनेछैनस्, अनि विद्युतको प्रयोग कसरी गर्ने भन्‍ने बारेमा तँलाई थाहा हुनेछ। यी दुवै सकारात्मक कुराहरू हुन्। ज्ञानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भन्‍ने विषयमा हामीले के छलफल गर्दै आइरहेका थियौँ भन्‍ने बारेमा के तँ अब स्पष्ट छस्? संसारमा विभिन्‍न प्रकारका ज्ञान अध्ययन गरिन्छ, र तिनलाई आफ्‍नो लागि अलग गर्नको लागि तिमीहरूले आफै समय निकाल्नुपर्छ।

२. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी विज्ञानको प्रयोग गर्छ

विज्ञान के हो? के हरेक व्यक्तिले आफ्‍नो मनमा विज्ञानलाई उच्‍च आदरको साथ हेर्ने र अत्यन्तै गहन ठान्‍ने गर्दैनन् र? विज्ञानलाई उल्‍लेख गर्दा, के मानिसहरूले यस्तो अनुभव गर्दैनन् र: “यो सर्वसाधारण मानिसहरूको पहुँचभन्दा बाहिरको कुरा हो; यो वैज्ञानिक शोधकर्ता वा विशेषज्ञहरूले मात्रै छुन सक्‍ने विषय हो; हामीजस्ता साधारण मानिसहरूसँग यसको कुनै सम्‍बन्ध हुँदैन”? के सर्वसाधारण मानिसहरूसँग यसको कुनै सम्‍बन्ध हुन्छ? (हुन्छ।) मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी विज्ञानको प्रयोग गर्छ? यहाँको हाम्रो छलफलमा, हामी मानिसहरूले आफ्‍नो जीवनमा बारम्‍बार भोग्‍ने कुराहरूका बारेमा मात्रै कुरा गर्नेछौँ, र अरू विषयहरूलाई बेवास्ता गर्नेछौँ। “वंशाणु” भन्‍ने एउटा शब्‍द छ। के तिमीहरूले यसको बारेमा सुनेका छौ? तिमीहरू यो शब्‍दप्रति परिचित छौ, छैनौ त? के विज्ञानद्वारा नै वंशाणु पत्ता लगाइएको थिएन र? मानिसहरूको लागि वंशाणुले खास के अर्थ दिन्छ? के तिनले मानिसहरूलाई शरीर रहस्यमय कुरा हो भन्‍ने अनुभव गराउँदैन र? जब मानिसहरूलाई यो विषयमा परिचित गराइन्छ, के त्यस्ता मानिसहरू हुनेछैनन् र, जो झन्-झन् बढी जान्‍न र थप विवरण पाउन चाहन्छन्, विशेष गरी, जिज्ञासु मानिसहरू? यी जिज्ञासु मानिसहरूले यस विषयमा आफ्‍नो ऊर्जा केन्द्रित गर्नेछन् र तिनीहरूसँग अरू काम नहुँदा, तिनीहरूले यसकै बारेमा थप जान्‍नका लागि पुस्तक-पुस्तिकामा र इन्टरनेटमा जानकारीको खोजी गर्नेछन्। विज्ञान के हो त? सरल रूपमा भन्दा, विज्ञान भनेको मानिस जिज्ञासु भएका कुराहरू, अज्ञात कुराहरू, अनि परमेश्‍वरले नबताउनुभएका कुराहरू सम्‍बन्धी विचार र सिद्धान्तहरू हुन्; विज्ञान भनेको मानिसले अन्वेषण गर्न चाहने रहस्यहरू सम्‍बन्धी विचार र सिद्धान्तहरू हुन्। विज्ञानको क्षेत्र के हो त? तिमीहरूले यो अलि वृहत् छ भनेर भन्‍न सक्छौ; मानिसको रुचि जुन कुरामा छ उसले ती हरेकलाई अनुसन्धान र अध्ययन गर्छ। विज्ञान भनेको यिनै कुराहरूको बारेमा विवरण र नियमहरू अनुसन्धान गर्नु र स्वीकार्य सिद्धान्तहरूलाई अघि सार्नु हो, जसले सबैलाई “यी वैज्ञानिकहरू वास्तवमै सानदार छन्! तिनीहरूलाई यी कुराहरू बुझ्‍न चाहिने धेरै कुरा थाहा छ!” भनी सोच्‍ने तुल्याउँछ। वैज्ञानिकहरूप्रति तिनीहरूसँग धेरै नै सम्‍मान हुन्छ, हुँदैन त? विज्ञानको अनुसन्धान गर्ने मानिसहरू, तिनीहरूको दृष्टिकोण कस्तो हुन्छ त? के तिनीहरूले ब्रह्माण्डको अनुसन्धान गर्न, तिनीहरूको रुचिको क्षेत्रका रहस्यमय कुराहरूको अनुसन्धान गर्न चाहँदैनन् र? यसको अन्तिम परिणाम के हुन्छ त? कतिपय विज्ञानमा, मानिसहरूले अनुमानको आधारमा निष्कर्ष निकाल्छन्, अनि अरूमा निष्कर्षहरू निकाल्‍नको लागि तिनीहरू मानव अनुभवहरूमा भर पर्छन्। विज्ञानको अझै अरू क्षेत्रहरूमा, ऐतिहासिक र पृष्ठभूमि अवलोकनहरूका आधारमा मानिसहरूले निष्कर्ष निकाल्छन्। के यो यस्तै हो नि, होइन त? त्यसो भए, विज्ञानले मानिसहरूका लागि के गर्छ त? विज्ञानले मानिसहरूलाई भौतिक संसारमा भएका वस्तुहरूलाई देख्‍ने तुल्याउने, र मानिसको जिज्ञासालाई मेटाउने काम मात्रै गर्छ, तर यसले मानिसलाई परमेश्‍वरले कुन नियमहरूद्वारा सबै कुराहरूमा प्रभुत्व राख्‍नुहुन्छ सो देख्न सक्षम तुल्याउँदैन। मानिसले विज्ञानमा उत्तरहरू भेट्टाउँछ भन्‍ने देखिन्छ, तर ती उत्तरहरू बुझ्‍न गाह्रो हुन्छ र त्यसले अस्थाई सन्तुष्टि मात्रै ल्याउँछ, जुन मानिसको हृदयलाई भौतिक संसारमा सीमित गर्ने सन्तुष्टि हो। मानिसले आफूहरूले विज्ञानबाट उत्तरहरू प्राप्त गरेको अनुभव गर्छन्, त्यसकारण जुनसुकै समस्याहरू पैदा भए पनि त्यस समस्यालाई प्रमाणित गर्न र स्वीकार गर्नको लागि तिनीहरूले आफ्ना वैज्ञानिक दृष्टिकोणहरू प्रयोग गर्छन्। मानिसको हृदय विज्ञानको प्रलोभनमा पर्छ र यो यति हदसम्म त्यसको पकडमा पर्छ कि ऊसँग परमेश्‍वरलाई चिन्‍ने, परमेश्‍वरको आराधना गर्ने, अनि सबै कुराहरू उहाँबाट नै आउँछ अनि उत्तरहरूको लागि मानिसले उहाँलाई नै हेर्नुपर्छ भनी विश्‍वास गर्ने मन नै हुँदैन। के यो यस्तै होइन त? व्यक्तिले विज्ञानमा जति धेरै विश्‍वास गर्छ, तिनीहरू त्यति नै धेरै मूर्ख बन्छन् अनि तिनीहरूले हरेक कुराको वैज्ञानिक समाधान हुन्छ, अनुसन्धानले जुनसुकै समस्यालाई पनि समाधान गर्नसक्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरको खोजी गर्दैनन् र तिनीहरूले उहाँ अस्तित्वमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दैनन्; परमेश्‍वरमा लामो समयदेखि विश्‍वास गर्ने कतिपय मानिसहरूले समस्याको सामना गर्दा खोजी गरेर उत्तरहरू पत्ता लगाउन कम्प्युटर प्रयोग गर्छन्; वैज्ञानिक दृष्टिकोणहरू प्रयोग गर्दै समस्या समाधान गर्ने प्रयास गर्न तिनीहरूले सबै प्रकारका सामग्रीहरू हेर्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन्, परमेश्‍वरका वचनहरूले मानवजातिका सबै समस्याहरू समाधान गर्न सक्छन् भनेर विश्‍वास गर्दैनन्, तिनीहरूले मानवजातिका अनगिन्ती समस्याहरूलाई सत्यताको दृष्टिकोणले हेर्दैनन्। जस्तोसुकै समस्याको सामना गरे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरसँग प्रार्थना गर्दैनन् वा परमेश्‍वरका वचनहरूमा सत्यताको खोजी गरेर समाधान पहिल्याउने प्रयास गर्दैनन्। धेरै मामिलाहरूमा, तिनीहरू ज्ञानले नै समस्या समाधान गर्न सक्छ भन्‍ने विश्‍वास गर्न रुचाउँछन्; तिनीहरूको लागि, विज्ञान नै अन्तिम उत्तर हो। त्यस्ता मानिसहरूको हृदयमा परमेश्‍वर पटक्‍कै रहनुहुन्‍न। तिनीहरू गैरविश्‍वासीहरू हुन्, र परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी तिनीहरूको दृष्टिकोण वैज्ञानिक विधिहरूको प्रयोग गरी परमेश्‍वरलाई जाँच्‍ने प्रयास गरिरहेका धेरै जना विशिष्ट शिक्षाविद र वैज्ञानिकहरूको भन्दा फरक हुँदैन। उदाहरणको लागि, धेरै धार्मिक विशेषज्ञहरू छन्, जसले जहाज अडिएको पर्वतमा गएर जहाजको अस्तित्वलाई प्रमाणित गरेका छन्। तर जहाजको स्वरूपमा तिनीहरूले परमेश्‍वरको अस्तित्वलाई देख्दैनन्। तिनीहरूले कथा र इतिहासमा मात्रै विश्‍वास गर्छन्; यो तिनीहरूको वैज्ञानिक अनुसन्धान र भौतिक संसारको अध्ययनको परिणाम हो। चाहे त्यो सूक्ष्‍मजीव विज्ञान होस्, खगोल विज्ञान होस् वा भूगोल होस्, यदि तैँले भौतिक कुराहरूको अनुसन्धान गरिस् भने, तैँले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ वा सबै कुरामाथि उहाँको सार्वभौमिकता छ भन्‍ने कुरालाई निर्धारित गर्ने परिणाम कहिल्यै पनि भेट्टाउनेछैनस्। त्यसो भए विज्ञानले मानिसको लागि के गर्छ त? के यसले मानिसलाई परमेश्‍वरबाट अलग गर्दैन र? के यसले मानिसहरूलाई परमेश्‍वरलाई केवल अध्ययनहरूमा सीमित गर्ने तुल्याउँदैन र? के यसले मानिसहरूलाई परमेश्‍वरको अस्तित्व, र सम्प्रभुताको बारेमा अझै बढी शङ्कालु बनाई परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन लगाउँदैन र? परिणाम यही नै हुन्छ। अनि, मानिसलाई भ्रष्ट तुल्याउनका लागि विज्ञानको प्रयोग गर्दा, शैतानले कुन उद्देश्य हासिल गर्न खोजिरहेको हुन्छ? यसले मानिसहरूलाई धोका दिन र तिनीहरूलाई सुस्त बनाउनको लागि वैज्ञानिक निष्कर्षहरूको प्रयोग गर्न, अनि तिनीहरूले परमेश्‍वरको अस्तित्वको खोजी नगरून् वा त्यसमा विश्‍वास नगरून् भनेर मानिसहरूको हृदयलाई पक्रिराख्‍नको लागि अस्पष्ट उत्तरहरूको प्रयोग गर्न चाहन्छ। यही कारणले गर्दा, शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने मार्गहरूमध्ये एउटा विज्ञान हो भनेर म भन्छु।

३. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी परम्‍परागत संस्कृतिको प्रयोग गर्छ

परम्‍परागत संस्कृतिको भागको रूपमा लिइने कुराहरू धेरै छन् कि छैनन्? (छन्।) यो “परम्‍परागत संस्कृति” को अर्थ के हो? कतिले भन्छन्, यो पुर्खाहरूदेखि चल्दैआएको कुरा हो—यो एउटा पक्ष हो। प्रारम्‍भदेखि नै, जीवनका शैलीहरू, रीतिरिवाज, भनाइ र नियमहरूलाई परिवारहरू, प्रजातीय समूहहरू र सम्पूर्ण मानवजातिमा समेत हस्तान्तरण गरिँदै आएको छ, र ती मानिसहरूको विचारहरूमा बसिसकेका छन्। मानिसहरूले तिनलाई तिनीहरूको जीवनको अभिन्न भाग ठान्छन् र ती जीवनकै भाग हुन् जस्तै गरी पालन गर्दै तिनलाई नियमहरू नै मान्छन्। वास्तवमा, तिनीहरूले यी कुराहरूलाई कहिल्यै परिवर्तन गर्न वा त्याग्‍न चाहँदैनन्, किनभने ती तिनीहरूका पितापुर्खाहरूबाट चल्दैआएका थिए। परम्‍परागत संस्कृतिका अरू पक्षहरू पनि छन् जुन मानिसहरूको मेरुदण्डमै गाडिएर रहेका छन्, जस्तै कन्फ्युसियस र मेन्सियसबाट हस्तान्तरण गरिँदै आएका कुराहरू, र चिनियाँ ताओवाद र कन्फ्युसियसवादले मानिसहरूलाई सिकाउने कुराहरू। के यो यस्तै हो नि, होइन त? परम्‍परागत संस्कृतिमा के-कस्ता कुराहरू समावेश हुन्छन्? के यसमा मानिसहरूले मनाउने चाडपर्वहरू पर्छन्? उदाहरणको लागि: वसन्त पर्व, लालटिन पर्व, चिहान बढार्ने दिवस, ड्र्यागन-डुङ्गा पर्व, साथै भूतप्रेत पर्व र मध्य-शरद पर्व। कतिपय परिवारहरूले घरको वृद्ध-वृद्धा निश्‍चित उमेरमा पुग्दा, वा बच्‍चा एक महिना वा एक सय दिनको उमेरमा पुग्दा समेत उत्सव मनाउँछन्। अनि आदि इत्यादि कुराहरू छन्। यी सबै परम्‍परागत चाडपर्वहरू हुन्। के यी चाडपर्वहरूमा परम्‍परागत संस्कृति अन्तर्निहित छैन र? परम्‍परागत संस्कृतिको मूल-तत्व के हो? के परमेश्‍वरलाई आराधना गर्ने कार्यसँग यसको कुनै सम्‍बन्ध छ? के मानिसहरूलाई सत्यताको अभ्यास गर्न लगाउनुसँग यसको कुनै सम्‍बन्ध छ? के मानिसहरूले परमेश्‍वरलाई बलिदान चढाउनको लागि, परमेश्‍वरको वेदीमा गएर उहाँका शिक्षाहरू प्राप्त गर्नको लागि कुनै चाडपर्वहरू छन्? के यस्ता कुनै चाडपर्व छन्? (छैनन्।) यी सबै चाडपर्वमा मानिसहरूले के गर्छन्? आधुनिक समयमा तिनलाई खाने, पिउने, र रमाइलो गर्ने समयको रूपमा हेरिन्छ। परम्‍परागत संस्कृतिको अन्तर्निहित स्रोत के हो? परम्‍परागत संस्कृति कोबाट आउँछ? यो शैतानबाट आउँछ। यी परम्‍परागत चाडपर्वहरूका पछाडि, शैतानले मानिसको मनमस्तिष्कमा निश्‍चित कुराहरू घुसाइदिन्छ। यी कुराहरू के-के हुन्? मानिसहरूले आफ्‍ना पितापुर्खाको स्मरण गर्ने कुरा निश्‍चित गर्नु—के तीमध्ये एउटा त्यही हो? उदाहरणको लागि, चिहान बढार्ने दिवसमा, मानिसहरूले चिहानहरू सफा गर्छन् र तिनीहरूलाई नबिर्सनको लागि, तिनीहरूका पितापुर्खालाई बलिदान चढाउँछन्। यसको साथै, शैतानले मानिसहरूले देशभक्त बन्‍ने कुरा स्मरण गरून् भन्‍ने सुनिश्‍चित गर्छ, जसको एउटा उदाहरण ड्र्यागन-डुङ्गा पर्व हो। मध्य शरद पर्वचाहिँ केसँग सम्‍बन्धित छ? (परिवारको पुनर्मिलन।) परिवारको पुनर्मिलनको पृष्ठभूमि के हो? यसको कारण के हो? यो भावनात्मक रूपमा संचार गर्न र जोडिनको लागि हो। अवश्य नै, चाहे यो नयाँ वर्षको पूर्णिमाको रातको पर्व होस् वा लालटिन पर्व होस्, यी चाडपर्वहरू मान्‍नुका कारणहरूलाई व्याख्या गर्ने विभिन्‍न तरिका छन्। यी कारणहरूलाई व्यक्तिले जसरी व्याख्या गरे तापनि, ती हरेक नै तिनीहरू परमेश्‍वरबाट टाढा जाऊन् अनि परमेश्‍वर हुनुहुन्छ भन्‍ने नजानून्, र तिनीहरूले कि त आफ्‍ना पितापुर्खालाई कि त शैतानलाई बलिदान चढाऊन्, वा तिनीहरूको देहका इच्‍छाहरूका खातिर खाऊन्, पिऊन्, र रमाइलो गरून् भनेर मानिसहरूको मनमस्तिष्कमा त्यसको दर्शन र त्यसको सोचाइ घुसाउने शैतानको तरिका हो। यी हरेक चाडपर्वहरू मनाउने क्रममा, शैतानका विचार र दृष्टिकोणहरूले मानिसहरूको मनमस्तिष्कमा थाहै नपाई गहिरो जरा गाड्छन्। जब मानिसहरू चालीस, पचासको दशक वा त्योभन्दा बढी उमेरका हुन्छन्, शैतानका यी विचार र दृष्टिकोणहरूले तिनीहरूको हृदयमा पहिले नै गहिरो जरा गाडिसकेको हुन्छ। यसको साथै, यी विचारहरू सही हुन् कि गलत, कुनै भिन्नता नछुट्टयाईकन र कुनै सन्देह नगरीकन, तिनलाई अर्को पुस्तामा हस्तान्तरण गर्नको लागि मानिसहरूले सक्दो प्रयास गर्छन्। यो यस्तै हो नि, होइन र? (हो।) परम्‍परागत संस्कृति र यी चाडपर्वहरूले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ? तिमीहरूलाई थाहा छ? (मानिसहरू यी परम्‍पराहरूका नियमहरूको बन्धन र परिधिमा पर्छन्, त्यसकारण तिनीहरूमा परमेश्‍वरलाई खोज्‍ने समय वा ऊर्जा नै हुँदैन।) यो एउटा पक्ष हो। उदाहरणको लागि, नयाँ वर्षको पूर्णिमा पर्व सबैले मनाउँछन्—यदि तैँले मनाइनस् भने, के तँलाई दुःख लाग्दैन र? के तैँले तेरो हृदयमा राख्‍ने कुनै अन्धविश्‍वासहरू छन्? सायद तँलाई यस्तो लाग्छ होला, “मैले नयाँ वर्ष मनाइनँ, र नयाँ वर्षको पूर्णिमा नै खराब दिन भयो भने, के बाँकी पूरै वर्ष खराब हुँदैन र”? के तँ असहज र अलि डराएको महसुस गर्दैनस् र? त्यस्ता मानिसहरू पनि छन् जसले वर्षौंदेखि आफ्‍ना पितापुर्खालाई बलिदान चढाएका छैनन् र जसले सपनामा अचानक एक जना मृतक मानिसले पैसा मागेको देख्छन्। तिनीहरूलाई कस्तो महसुस हुन्छ? “मरिसकेको यो व्यक्तिलाई पैसा चाहिएको रहेछ, कति दुःखको कुरा! म तिनीहरूका लागि कागजका केही रकम जलाउनेछु। यदि मैले त्यसो गरिन भने, त्यो ठीक हुनेछैन। यसले हामी जिउँदाहरूलाई समस्या दिन सक्छ—दशा कहिले लाग्छ, कसले भन्‍न सक्छ र?” तिनीहरूसँग आफ्नो हृदयमा डर र चिन्ताको यो सानो बादल सधैँ नै हुन्छ। कसले तिनीहरूलाई यसरी चिन्ता गराउँछ? यो चिन्ताको स्रोत शैतान नै हो। के मानिसलाई शैतानले भ्रष्ट तुल्याउने तरिकाहरूमध्ये एउटा यही होइन र? तँ बहकाउमा परेर त्यसप्रति समर्पित र राजी बन् भनेर तँलाई नियन्त्रण गर्न, तँलाई धम्की दिन, र तँलाई बन्धनमा पार्न यसले फरक-फरक माध्यम र बहानाहरूको प्रयोग गर्छ; शैतानले मानिसलाई यसरी नै भ्रष्ट तुल्याउँछ। प्रायजसो जब मानिसहरू कमजोर हुन्छन् वा जब तिनीहरूलाई परिस्थितिको बारेमा स्पष्ट ज्ञान हुँदैन, तब तिनीहरूले लापरवाहीको साथ कुनै बेवकुफी काम गर्छन्; अर्थात्, तिनीहरू अनजानमा शैतानको पकडमा पर्छन् अनि अचेतन रूपमा काम गर्न सक्छन्, तिनीहरूले आफूले के गर्दैछु भन्‍ने समेत थाहै नपाई काम गर्न सक्छन्। शैतानले मानिसलाई यसरी नै भ्रष्ट तुल्याउँछ। अहिले गहिरो गरी जरा गाडेको परम्‍परागत संस्कृतिबाट टाढा हुन अनिच्छुक केही मानिसहरू पनि छन्, जसले यसलाई त्याग्‍नै सक्दैनन्। विशेष गरी, तिनीहरू कमजोर र निष्क्रिय हुँदा तिनीहरूले आफ्‍नो हृदयमा सहजता ल्याउनको लागि यस्ता चाडपर्वहरू मनाउने इच्‍छा गर्छन् र तिनीहरूले यसरी शैतानलाई भेट्न र शैतानलाई फेरि सन्तुष्ट तुल्याउन चाहन्छन्। परम्‍परागत संस्कृतिको पृष्ठभूमि के हो? के यी दृश्यहरूको पछाडि शैतानको कालो हातले तारहरू तानिरहेको हुन्छ? के शैतानको दुष्ट प्रकृतिले चालबाजी र नियन्त्रण गरिरहेको हुन्छ? के यी सबै कुरालाई शैतानले प्रभाव पारिरहेको हुन्छ? (हुन्छ।) जब मानिसहरू परम्‍परागत संस्कृतिमा जिउँछन् र यस प्रकारका परम्‍परागत चाडपर्वहरू मान्छन्, तब के यो त्यही वातावरण हो जसमा तिनीहरूलाई शैतानले मूर्ख र भ्रष्ट तुल्याउँछ, र यसको साथै, तिनीहरू शैतानद्वारा मूर्ख बनिन र भ्रष्ट तुल्याइन पाउँदा खुशी हुन्छन् भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) यो तिमीहरू सबैले स्वीकार गर्ने, तिमीहरू सबैले जानेको कुरा हो।

४. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी अन्धविश्‍वासको प्रयोग गर्छ

तिमीहरू “अन्धविश्‍वास” भन्‍ने शब्‍दप्रति परिचित छौ, होइन त? अन्धविश्‍वास र परम्‍परागत संस्कृतिको बीचमा केही सम्‍बन्धहरू छन्, तर आज हामी तिनको बारेमा कुरा गर्नेछैनौँ। बरु, म सबैभन्दा प्रचलित अन्धविश्‍वासहरूको बारेमा छलफल गर्नेछु: जोखना हेर्ने, भविष्य-बताउने, धूप बाल्‍ने र बुद्धको पूजा गर्ने। कतिपय मानिसहरूले जोखना हेराउने अभ्यास गर्छन्, अरूले बुद्धको पूजा गर्छन् र धूप बाल्छन्, अरूले भने आफ्‍नो भविष्य हेर्न लगाउँछन् वा कसैलाई आफ्नो अनुहारका विशेषताहरूलाई हेरेर त्यसको आधारमा आफ्नो भविष्य बताउन लगाउँछन्। तिमीहरूमध्ये कति जनाले आफ्नो भविष्य बताउन वा अनुहार पढ्न लगाएका छौ? यो धेरैजसो मानिसहरूले रुचि राख्‍ने कुरा हो, होइन र? (हो।) किन? भविष्य-बताउने कार्य र जोखनाबाट मानिसहरूले कस्तो फाइदा पाउँछन्? यसबाट तिनीहरूले कस्तो प्रकारको सन्तुष्टि प्राप्त गर्छन्? (उत्सुकता।) के यो उत्सुकता मात्रै हो त? मैले देखे अनुसार, यो उत्सुकता नै हो भन्‍ने छैन। जोखना हेर्ने र भविष्य-बताउने कार्यको लक्ष्य के हो? यसो किन गरिन्छ? भविष्य देख्‍नको लागि होइन र? कतिपय मानिसहरूले भविष्यको अनुमान गर्नको लागि आफ्‍नो अनुहार पढ्न लगाउँछन्, अरूले तिनीहरूको भविष्य राम्रो छ कि छैन भनेर थाहा पाउन यसो गर्छन्। कतिपय मानिसहरूले तिनीहरूको विवाह कस्तो हुनेछ भनेर यसो गर्छन्, र अरूले आगामी वर्षले कस्तो सौभाग्य ल्याउनेछ भनेर यसो गर्छन्। कतिपय मानिसहरूले तिनीहरूको र तिनीहरूका छोराछोरीको भविष्यको सफलता हेर्नको लागि आफ्‍नो अनुहार पढाउँछन्, अनि कतिपय व्यापारीहरूले तिनीहरूले कति पैसा कमाउनेछन् भन्‍ने हेर्न र तिनीहरूले के-कस्ता कार्यहरू गर्नुपर्छ सोबारेमा अनुहार-पढ्नेबाट मार्गनिर्देशन लिन त्यसो गर्छन्। त्यसो भए, उत्सुकता मेटाउनको लागि मात्रै यसो गरिन्छ त? जब मानिसहरूले तिनीहरूको अनुहार पढ्न लगाउँछन् वा यस्ता कुराहरू गर्छन्, यो तिनीहरूको आफ्‍नै भविष्यको व्यक्तिगत लाभको लागि हो; यी सबै तिनीहरूको आफ्‍नै नियतिसँग घनिष्ठ रूपमा सम्‍बन्धित छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। यीमध्ये कुनै कुरा उपयोगी छ त? (छैन।) यो किन उपयोगी छैन त? के यी कुराहरूबाट केही ज्ञान प्राप्त गर्नु राम्रो कुरा होइन र? यी अभ्यासहरूले तिमीहरूलाई कहिले समस्या आइपर्छ भन्‍ने जान्‍न सहयोग गर्न सक्छ, र यदि तिमीहरूले यी समस्याहरू आउनुभन्दा पहिले नै तिनको बारेमा थाहा पायौ भने, के तिमीहरू तीबाट बच्‍न सक्दैनौ र? यदि तैँले तेरो भविष्य बताउन लगाएको छस् भने, यसले तँलाई भूलभूलैयाको बीचमा कसरी सही बाटो पत्ता लगाउने भन्‍ने देखाउन सक्छ, ताकि तैँले आउने वर्षमा तेरो सौभाग्यको आनन्द लिन सक् अनि तेरो व्यापारबाट तैँले निकै सम्पत्ति कमाउन सक्। त्यसो भए, यो उपयोगी छ कि छैन त? यो उपयोगी छ कि छैन भन्‍ने कुराको कुनै सम्‍बन्ध हामीसँग छैन, र आजको हाम्रो सङ्गतिमा यो विषय समावेश हुनेछैन। मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी अन्धविश्‍वासको प्रयोग गर्छ? मानिसहरू सबैले आफ्‍नो नियति जान्‍न चाहन्छन्, त्यसकारण शैतानले तिनीहरूलाई प्रलोभनमा पार्न तिनीहरूकै उत्सुकताको प्रयोग गर्छ। मानिसहरू तिनीहरूलाई भविष्यमा के हुनेछ र अगाडि कस्तो बाटो छ भन्‍ने कुरा जान्‍नको लागि जोखना हेर्ने, भविष्य-बताउने, र अनुहार पढ्ने कार्यमा संलग्‍न हुन्छन्। तैपनि, आखिरमा मानिसहरूले त्यति धेरै चिन्ता गर्ने नियति र भविष्य कसको हातमा हुन्छ? (परमेश्‍वरको हातमा।) यी सबै कुरा परमेश्‍वरको हातमा छन्। यी विधिहरूको प्रयोग गर्ने क्रममा, मानिसहरूले के जानून् भन्‍ने शैतान चाहन्छ? शैतानले त्यसलाई उनीहरूको भविष्य थाहा छ, र त्यसलाई ती कुराहरू थाहा मात्रै छैन त्यसले त तिनलाई नियन्त्रण समेत गर्न सक्छ भनेर मानिसहरूलाई बताउनको लागि अनुहार पढ्ने र भविष्य-बताउने कार्यको प्रयोग गर्छ। मानिसहरूले त्यसमाथि अन्धविश्‍वास गर्न सकून् र त्यसका हरेक वचन पालन गरून् भनेर मानिसहरूलाई नियन्त्रण गर्न शैतानले यो मौकाको फाइदा लिन र यी विधिहरूको प्रयोग गर्न चाहन्छ। उदाहरणको लागि, यदि तैँले अनुहार पढ्न लगाइस्, र भविष्य बताउनेले आफ्‍नो आँखा बन्द गरेर तँलाई विगत केही दशकमा के भएको थियो सो स्पष्ट रूपमा बताउँछ भने, तैँले आफूभित्र कस्तो अनुभव गर्छस्? तैँले तत्कालै यस्तो अनुभव गर्नेछस्, “उसले साँच्‍चै ठीक भन्यो! मैले यसभन्दा अघि कहिल्यै कसैलाई पनि मेरो विगतको बारेमा बताएको छैन, उसलाई यो कसरी थाहा भयो? यस भविष्य बताउने व्यक्तिलाई म साँच्‍चै सम्‍मान गर्छु!” के तेरो विगतको बारेमा जान्‍नु शैतानको लागि अत्यन्तै सजिलो हुँदैन र? तँ आज जहाँ छस् परमेश्‍वरले नै तँलाई यहाँसम्‍म डोर्‍याउनुभएको छ, अनि यस अवधिमा शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउँदै आएको र तँलाई पछ्याउँदै आएको छ। तेरो जीवनका दशकहरू बितेर जानु शैतानको लागि केही पनि होइन र यी कुराहरू जान्‍नु शैतानको लागि कठिन छैन। शैतानले भन्‍ने सबै कुरा सही छन् भनी जब तैँले जान्दछस्, के तैँले आफ्‍नो हृदय त्यसलाई सुम्पिरहेको हुँदैनस् र? के तेरो भविष्य र तेरो नियति नियन्त्रण गर्नको लागि तँ त्यसैमा भर परिरहेको हुँदैनस् र? एकै क्षणमा, तेरो हृदयले त्यसको लागि केही सम्‍मान वा श्रद्धाको अनुभव गर्नेछ, र कतिपय मानिसहरूको हकमा, यति बेलासम्‍म त्यसले तिनीहरूको आत्मा खोसिसकेको हुन्छ। अनि तैँले भविष्य बताउनेलाई तुरुन्तै सोध्‍नेछस्: “अब मैले के गर्नुपर्छ? आउँदो वर्षमा म केबाट जोगिनुपर्छ? के-कस्ता कुराहरू मैले गर्नु हुँदैन?” त्यसपछि उसले भन्‍नेछ, “तपाईं त्यहाँ जानु हुँदैन, तपाईंले यसो गर्नु हुँदैन, निश्‍चित रङ्गको लुगा नलगाउनुहोस्, निश्‍चित ठाउँहरूमा तपाईं अलि कम जानुपर्छ, निश्‍चित कुराहरू अझै बढी गर्नुपर्छ…।” के त्यसले भन्‍ने सबै कुरालाई तैँले तुरुन्तै हृदयमा राख्दैनस् र? तैँले परमेश्‍वरको वचनहरूलाई भन्दा उसका वचनहरूलाई तुरुन्तै कण्ठ गरिहाल्छस्। किन तैँले तिनलाई त्यति चाँडै कण्ठ गर्छस्? किनकि तँ राम्रो भविष्यको लागि शैतानमा भर पर्न चाहन्छस्। के त्यसले तेरो हृदयलाई यही बेला पकडमा पार्छ होइन र? जब यसका भविष्यवाणीहरू एकपछि अर्को गर्दै पूरा हुन्छन्, के तँलाई अर्को वर्षले कस्तो भविष्य ल्याउनेछ भनेर पत्ता लगाउन त्यसकहाँ नै फर्केर जाने मन हुँदैन र? (हुन्छ।) शैतानले तँलाई जे गर्न भन्छ तैँले त्यो गर्नेछस् अनि जे कुराबाट अलग बस्‍नू भनेर त्यसले भन्छ तँ त्यसबाट अलग बस्‍नेछस्। यसरी, के तैँले त्यसले बताउने सबै कुराको पालना गरिरहेको हुँदैनस् र? तुरुन्तै, तँ त्यसको अङ्गालोमा पर्नेछस्, धोकामा पर्नेछस्, अनि त्यसको नियन्त्रणमा आउनेछस्। यस्तो हुन्छ किनभने त्यसले जे भन्छ त्यो सत्य हो भनेर तैँले विश्‍वास गर्छस् र त्यसले तेरो विगतको जीवन, तेरो अहिलेको जीवन, र भविष्यले के ल्याउनेछ सो त्यसलाई थाहा छ भनेर तैँले विश्‍वास गर्छस्। मानिसहरूलाई नियन्त्रण गर्नको लागि शैतानले प्रयोग गर्ने विधि यही नै हो। तर वास्तविकतामा, कसले नियन्त्रण गर्नुहुन्छ? परमेश्‍वर स्वयम्‌ले नियन्त्रण गर्नुहुन्छ, शैतानले होइन। यस हकमा शैतानले अनजान मानिसहरूलाई छल गरेर, भौतिक संसारलाई मात्र देख्‍न सक्‍ने मानिसहरूलाई छल गरेर आफूमा विश्‍वास गर्ने र भरोसा गर्ने तुल्याउनको लागि आफ्नो चतुर षड्यन्त्रको प्रयोग गरिरहेको हुन्छ। त्यसपछि, तिनीहरू शैतानको पकडमा पर्छन् र त्यसको हरेक वचन पालन गर्छन्। तर जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई पछ्याउन चाहन्छन् तब के त्यसले त्यसको पकडलाई खुकुलो पार्छ र? शैतानले त्यसो गर्दैन। यस अवस्थामा, के मानिसहरू साँच्‍चै शैतानको पकडमा परिरहेका हुन्छन्? (हुन्छन्।) के यस विषयमा शैतानको बानीबेहोरा लाज विहीन छ भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) हामी किन त्यसो भन्दैछौँ? किनभने यी कपटपूर्ण र छलपूर्ण रणनीतिहरू हुन्। शैतान लाज विहीन छ र त्यसले मानिसहरूलाई भ्रममा पारेर तिनीहरूलाई तिनीहरूका सबै कुरा त्यसले नियन्त्रण गर्छ र त्यसले तिनीहरूको नियतिसमेत नियन्त्रण गर्छ भनेर विचार गर्ने तुल्याउँछ। यसले अनजान मानिसहरूलाई पूर्ण रूपमा त्यसको पालन गर्ने तुल्याउँछ। तिनीहरू एक-दुई वटा शब्दहरूमै मूर्ख बन्छन्। स्तम्भित भई, मानिसहरू त्यसको अघि घुँडा टेक्छन्। त्यसो भए, तँलाई त्यसमा विश्‍वास गर्ने तुल्याउनको लागि शैतानले कस्तो प्रकारको विधि प्रयोग गर्छ, त्यसले के भन्छ? उदाहरणको लागि, तेरो परिवारमा कति जना मानिसहरू छन् भनेर तैँले शैतानलाई बताएको नहुन सक्छस्, तर पनि कति जना मानिसहरू छन् र तेरो बाबुआमा र छोरा-छोरीको उमेर कति हो भनेर त्यसले तँलाई बताउन सक्छ। यसभन्दा पहिले शैतानको बारेमा तैँले अविश्‍वास र शङ्का गरेको हुनसक्‍ने भए तापनि, त्यसले यी कुराहरू बताएको सुनेपछि, के तँलाई यो अलिक विश्‍वासयोग्य रहेछ भन्‍ने लाग्दैन र? त्यसपछि शैतानले तँलाई हालैको समयमा तेरो काम कति कठिन थियो, तैँले पाउन योग्य पहिचान तेरा हाकिमहरूले तँलाई दिएका छैनन् र सधैँ तेरो विरुद्धमा काम गरिरहेका छन्, र आदि इत्यादि भनेर बताउन सक्छ। त्यो सुनेर, तैँले यस्तो विचार गर्नेछस्, “त्यो एकदम ठीक हो! कामका कुराहरू त्यति सहजरूपमा अघि बढिरहेको छैनन्”। त्यसकारण, तँ शैतानलाई अझै बढी विश्‍वास गर्छस्। त्यसपछि तँलाई धोका दिन, तँलाई अझै बढी विश्‍वास गर्ने तुल्याउनको लागि त्यसले अर्को केही कुरा भन्‍नेछ। अलि-अलि गर्दै, तैँले आफूलाई त्यसलाई विरोध गर्न वा त्यसको बारेमा शङ्का गर्न नसक्‍ने अवस्थामा पाउनेछस्। शैतानले केही स-साना छलहरू, अत्यन्तै साना छलहरू समेत प्रयोग गर्छ, अनि यसरी त्यसले तँलाई अलमल्याउँछ। तँ जति अलमलिन्छस्, तैँले तेरो खास स्थितिलाई पत्ता लगाउन सक्‍नेछैनस्, के गर्ने भन्‍ने तँलाई थाहा हुनेछैन, अनि शैतानले जे भन्छ तैँले त्यसैलाई पछ्याउन थाल्‍नेछस्। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने “सानदार” विधि यही हो, जसले तँलाई अनजानमै त्यसको फन्दामा पर्ने र त्यसको प्रलोभनमा पर्ने तुल्याउँछ। मानिसहरूले असल ठानेका एक-दुई वटा कुराहरू शैतानले तँलाई बताउँछ, त्यसपछि त्यसले तँलाई के गर्ने र केबाट टाढा बस्‍ने भनेर बताउँछ। यसरी, पत्तै नपाई तँ छलमा पर्छस्। जब तँ त्यस्तो छलमा पर्छस्, तेरो लागि सबै कुरा कठिन बन्छ; शैतानले के भन्यो र त्यसले तँलाई के गर्न भन्यो तैँले निरन्तर त्यही मात्रै सोचिरहेको हुनेछस्, र थाहै नपाई तँ यसद्वारा नियन्त्रित भएको हुनेछस्। किन यसो हुन्छ त? किनभने मानवजातिमा सत्यताको कमी छ, त्यसले गर्दा ऊ दह्रिलो गरी खडा भएर शैतानको प्रलोभन र परीक्षालाई इन्कार गर्न सक्दैन। शैतानको दुष्टता र यसको धोका, षड्यन्त्र, र बदख्‍वाइँलाई सामना गर्दा, मानवजाति अत्यन्तै अनजान, अपरिपक्‍व र कमजोर हुन्छ, होइन र? के शैतानले मानिसलाई भ्रष्ट तुल्याउने मार्गहरूमध्ये एउटा यही होइन र? (हो।) शैतानका विभिन्‍न विधिहरूले मानिसलाई अलि-अलि गर्दै थाहै नपाई धोका दिन्छ र छल गर्छ, किनभने तिनीहरूमा सकारात्मक र नकारात्मकको बीचमा भिन्‍नता छुट्याउने क्षमताको कमी छ। तिनीहरूमा शैतानमाथि विजय गर्ने यो कद र क्षमताको कमी छ।

५. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी सामाजिक प्रचलनको प्रयोग गर्छ

कहिले सामाजिक प्रचलन अस्तित्वमा आयो? के ती वर्तमान दिनमा मात्रै अस्तित्वमा आए? शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन थालेपछि सामाजिक प्रचलन अस्तित्वमा आयो भनेर भन्‍न सकिन्छ। सामाजिक प्रचलनमा के समावेश हुन्छ? (वस्‍त्रको स्टाइल र शृङ्गार।) प्रायजसो मानिसहरूको सम्पर्कमा आउने कुराहरू यिनै हुन्। वस्‍त्रको स्टाइल, फेसन, र प्रचलन—यी कुराहरूले एउटा सानो पक्षलाई निर्माण गर्छ। के अरू कुनै कुरा छन्? के मानिसहरूको चलनचल्तीमा आउने प्रचलित वाक्य वा भनाइहरू पनि गनिन्छन्? के मानिसहरूले चाहने जीवनशैली पनि यसमा गनिन्छ? के मानिसहरूले मन पराउने सङ्गीतका उत्कृष्ट कलाकार, सेलिब्रेटी, म्यागजिन, र उपन्यास पनि यसमा पर्छ? (पर्छ।) तिमीहरूको विचारमा, सामाजिक प्रचलनको कुन पक्षले मानिसलाई भ्रष्ट तुल्याउन सक्छ? यीमध्ये कुन प्रचलनले तिमीहरूलाई सबैभन्दा बढी लोभ्याउँछ? कतिपय मानिसहरूले यसो भन्छन्: “हामी सबै निश्‍चित उमेरमा पुगिसकेका छौं, हामी पचास वा साठीको दशकमा, सत्तरी वा असीको दशकमा छौं, र अबउप्रान्त हामी यी प्रचलनहरूमा उपयुक्त हुन सक्दैनौं र तिनले हाम्रो ध्यान त्यति खिच्दैन।” के यो सही हो? अरू भन्छन्: “हामी सेलिब्रेटीको पछि लाग्दैनौं, त्यो त बीस-पच्‍चीस वर्षका जवानहरूले गर्ने कुरा हो; हामी फेसनका कपडाहरू लगाउँदैनौं, त्यो त आफ्‍नो रूपको ख्याल गर्नेहरूले गर्ने कुरा हो।” त्यसो भए, यीमध्ये कुनचाहिँले तिमीहरूलाई भ्रष्ट तुल्याउन सक्छ? (प्रचलित भनाइहरूले।) के यी भनाइहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्? म एउटा उदाहरण दिनेछु, अनि यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ कि तुल्याउँदैन सो तिमीहरूले देख्‍न सक्छौ: “दुनियाँ पैसाको इसारामा चल्छ”; के यो प्रचलन हो? तिमीहरूले उल्‍लेख गरेको फेसन र खानपानसम्‍बन्धी प्रचलनको तुलनामा, के यो अझै खराब छैन र? “दुनियाँ पैसाको इसारामा चल्छ” भन्‍ने भनाइ शैतानको दर्शन हो, र यो सारा मानवजातिमा, हरेक मानव समाजमा हाबी छ। यो हरेक व्यक्तिको हृदयमा हालिएको हुनाले यो प्रचलन बनेको छ भनेर भन्‍न सकिन्छ। सुरुदेखि नै, मानिसहरूले यो भनाइलाई स्वीकार गरेनन्, तर जब तिनीहरू वास्तविक जीवनको सम्पर्कमा आए तिनीहरूले यसलाई मौन रूपमा स्वीकार गरे, अनि यी शब्‍दहरू वास्तवमा साँचो छन् भन्‍ने अनुभव गर्न सुरु गरे। के मानिसलाई भ्रष्ट तुल्याउने शैतानको प्रक्रिया यही होइन र? शायद मानिसहरूले यो भनाइलाई एउटै हदमा बुझ्दैनन्, तर आफ्‍नो वरिपरि घटेका घटनाहरू र आफ्‍ना व्यक्तिगत अनुभवहरूको आधारमा यो भनाइलाई हरेकले फरक-फरक हदमा अर्थ्याएका र स्वीकार गरेका छन्। के त्यो यस्तै होइन र? यो भनाइको बारेमा कसैसँग जतिसुकै अनुभव भए तापनि, निजको हृदयमा यसले पार्न सक्‍ने नकारात्मक प्रभाव के हो त? तिमीहरू प्रत्येक लगायत मानिसहरूको मानव स्वभावबाट यो संसारमा केही न केही कुरा प्रकट हुन्छ। यो के हो त? यो पैसाको आराधना हो। के यसलाई कसैको हृदयबाट हटाउनु कठिन छ त? यो अत्यन्तै कठिन छ! मानिसलाई शैतानले दिएको भ्रष्टता अवश्य नै गहन छ भन्‍ने देखिन्छ! शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न पैसाको प्रयोग गर्छ, र तिनीहरूलाई भ्रष्ट पारी पैसाको पूजा गर्ने र भौतिक कुराहरूको मान गर्ने बनाउँछ। अनि, यस्तो पैसा पूजा कसरी मानिसहरूमा प्रकट हुन्छ त? के कुनै पैसा भएन भने तिमीहरू यो संसारमा बाँच्‍न सक्‍दैनौ, पैसाविना एक दिन कटाउन समेत असम्‍भव हुन्छ भन्‍ने अनुभव गर्छौ त? मानिसहरूको सम्‍मान जस्तै, तिनीहरूको हैसियत तिनीहरूसँग कति पैसा छ भन्‍नेमा आधारित हुन्छ। गरिबको ढाड लाजले कुप्रो हुन्छ, तर धनीले आफ्‍नो उच्‍च प्रतिष्ठाको आनन्द लिन्छ। तिनीहरू ठाडो गरी अभिमानका साथ उभिन्छन् अनि उच्‍च स्वरमा बोल्छन् र अहङ्कारी रूपमा जिउँछन्। यो भनाइ र प्रवृत्तिले मानिसहरूकहाँ के ल्याउँछ? के धेरैजसो मानिसहरूले पैसाको लागि जे पनि बलि चढाउन सक्छन् भन्‍ने कुरा साँचो होइन र? के धेरै मानिसहरूले पैसाको पछि लाग्‍ने क्रममा आफ्‍नो गौरव र इज्‍जत गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाको लागि आफ्‍नो कर्तव्य निभाउने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता हासिल गर्ने र मुक्ति पाउने मौका गुमाउनु मानिसहरूको लागि नोक्सानीहरूमध्येकै सबैभन्दा ठूलो नोक्‍सानी होइन र? के मानिसहरूलाई त्यस हदसम्‍म भ्रष्ट तुल्याउनको लागि यो विधि र यो भनाइको प्रयोग गर्न शैतान कुटिल छैन र? के यो दुर्भावनापूर्ण छल होइन र? तँमा यस प्रसिद्ध भनाइलाई इन्कार गर्नेदेखि लिएर यसलाई सत्यताको रूपमा स्वीकार गर्ने सम्‍मको परिवर्तन हुँदै जाँदा, तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा पर्छ, अनि त्यसकारण, तँ अपरिहार्य रूपमै यो भनाइअनुसार जिउन पुग्छस्। यो भनाइले तँलाई कुन हदसम्‍म प्रभाव पारेको छ? तैँले साँचो मार्ग चिनेको हुनसक्छस्, र तँलाई सत्यता थाहा हुनसक्छ, तर यसलाई खोजी गर्न तँ शक्तिहीन छस्। परमेश्‍वरका वचनहरू नै सत्यता हो भन्‍ने तँलाई स्पष्ट रूपमा थाहा हुनसक्छ, तर तँ सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउन वा कष्ट भोग्‍न अनिच्‍छुक छस्। बरु, अन्त्यसम्‍मै परमेश्‍वरलाई विरोध गर्नको लागि तैँले तेरो आफ्‍नै भविष्य र गन्तव्यलाई बलिदान दिनेछस्। परमेश्‍वरले जे भन्‍नुभए पनि, परमेश्‍वरले जे गर्नुभए पनि, तँप्रतिको परमेश्‍वरको प्रेम कति गहन र कति महान् छ भन्‍ने तैँले बुझे पनि, तँ हठी भई तेरो आफ्‍नै मार्गमा हिँड्न र यस भनाइको लागि मूल्य चुकाउन जिद्दी गर्छस्। भन्‍नुको अर्थ, यो भनाइले तँलाई छलिसकेको र तेरा विचारहरूलाई नियन्त्रण गरिसकेको छ, यसले तेरो व्यवहारमाथि आधिपत्य जमाइसकेको छ र तैँले धनसम्पत्तिको खोजीलाई त्याग्‍नुको सट्टा यसैलाई तेरो नियतिमाथि शासन गर्न दिन्छस्। मानिसहरूले यसरी व्यवहार गर्न सक्‍नु, तिनीहरू शैतानको भनाइको नियन्त्रण र चालबाजीमा पर्न सक्‍नु—के यसको अर्थ मानिस शैतानद्वारा छलिएको र भ्रष्ट पारिएको छ भन्‍ने हुँदैन र? के शैतानको दर्शन र मानसिकता अनि शैतानको स्वभावले तेरो हृदयमा जरा गाडिसकेको छैन र? जब तैँले अन्धाधुन्ध रूपमा धनसम्पत्तिको खोजी गर्छस्, अनि सत्यताको खोजीलाई त्याग्छस्, तब के शैतानले तँलाई छल्ने लक्ष्य हासिल गरिसकेको हुँदैन र? अवस्था ठ्याक्‍कै यही हो। त्यसो भए, शैतानले तँलाई छल्दा र भ्रष्ट तुल्याउँदा, के तँ त्यो महसुस गर्न सक्छस्? के तैँले यसलाई अनुभव गर्न सक्छस् त? तैँले सक्दैनस्। यदि तैँले शैतानलाई आफ्नै अगाडि उभिएको देख्‍न सक्दैनस्, वा अँध्यारोमा काम गर्ने शैतान नै हो भन्‍ने महसुस गर्दैनस् भने, के तँ शैतानको दुष्टतालाई देख्‍न सक्षम हुन्छस् त? के तैँले मानवजातिलाई शैतानले कसरी भ्रष्ट तुल्याउँछ भनेर जान्‍न सक्छस् त? शैतानले मानिसलाई हरेक समय र हरेक स्थानमा भ्रष्ट तुल्याउँछ। शैतानले मानिसको लागि यो भ्रष्टताको विरुद्ध प्रतिरक्षा गर्ने कार्य असम्‍भव तुल्याउँछ र मानिसलाई यसको विरुद्ध विवश तुल्याउँछ। तँ अनजान भएको अवस्थामा र आफूलाई के भइरहेको छ सो तँलाई थाहा नभएको अवस्थामा शैतानले तँलाई त्यसका विचारहरू, त्यसका दृष्टिकोणहरू र त्यसबाट आउने दुष्ट कुराहरू स्वीकार गर्ने तुल्याउँछ। मानिसहरूले यी कुराहरूलाई स्वीकार गर्छन् अनि तीप्रति तिनीहरूमा कुनै घृणा हुँदैन। तिनीहरूले यी कुराहरूलाई सम्पत्ति जस्तै मनमा सजाएर आफूसँगै राखिरहन्छन् र तिनीहरूले यी कुराहरूलाई आफूमाथि चालबाजी र खेलबाड गर्न दिन्छन्; यसरी मानिसहरू शैतानको शक्तिअन्तर्गत जिउँछन्, र तिनीहरूले अचेतन रूपमै शैतानको आज्ञापलन गर्छन्, र यसरी मानिसलाई भ्रष्ट तुल्याउने शैतानको कार्य झन्‍झन् गहिरो बन्दै जान्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्