परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरको पवित्रता (२) - भाग एक

भाइ-बहिनीहरू, आज हामी एउटा भजन गाऔं। तिमीहरूलाई मन पर्ने र तिमीहरूले नियमित रूपमा गाउने गरेको भजन निकाल। (हामी परमेश्‍वरको वचनको भजन गाउनेछौँ: “खोट विनाको शुद्ध प्रेम।”)

१ प्रेम एउटा दागबिनाको, शुद्ध भावना हो। प्रेम, महसुस र हेरचाह गर्न आफ्नो हृदय प्रयोग गर। प्रेमले सर्त, अवरोध वा दूरी तय गर्दैन। प्रेम, महसुस र हेरचाह गर्न आफ्नो हृदय प्रयोग गर। यदि प्रेम गर्छौ भने धोका दिने, गनगन गर्ने, पिठ्युँ फर्काऊने, बदलामा केही पाउन खोज्नेछैनौ। यदि प्रेम गर्छौ भने बलिदान गर्नेछौ, कठिनाइ स्वीकार्नेछौ र परमेश्‍वरसँग मिल्नेछौ।

२ प्रेममा कुनै शङ्का, धूर्तता, छल हुँदैन। प्रेम, महसुस र हेरचाह गर्न आफ्नो हृदय प्रयोग गर। प्रेममा कुनै लेनदेन वा केही अशुद्ध कुरा हुँदैन। प्रेम, महसुस र हेरचाह गर्न आफ्नो हृदय प्रयोग गर। यदि प्रेम गर्छौ भने धोका दिने, गनगन गर्ने, पिठ्युँ फर्काऊने, बदलामा केही पाउन खोज्नेछैनौ। यदि प्रेम गर्छौ भने बलिदान गर्नेछौ, कठिनाइ स्वीकार्नेछौ र परमेश्‍वरसँग मिल्नेछौ। उहाँको निम्ति आफ्नो परिवार, यौवन, भविष्य र विवाह त्याग्नेछौ; उहाँको निम्ति सबै त्याग्नेछौ। नत्र तिम्रो प्रेम, प्रेम नै होईन, बरू छल, उहाँप्रति धोका हो। यदि प्रेम गर्छौ भने धोका दिने, गनगन गर्ने, पिठ्युँ फर्काऊने, बदलामा केही पाउन खोज्नेछैनौ। यदि प्रेम गर्छौ भने बलिदान गर्नेछौ, कठिनाइ स्वीकार्नेछौ र परमेश्‍वरसँग मिल्नेछौ।

यो भजन राम्रो छनौट थियो। के तिमीहरू सबैलाई यो गाउन मन पर्छ? यो गाइसकेपछि तिमीहरू के अनुभव गर्छौ? के तिमीहरू आफूभित्र यस प्रकारको प्रेम अनुभव गर्न सक्छौ? (अहिलेसम्‍म सकेको छैन।) तँलाई यसको कुन शब्‍दले सबैभन्दा गहन रूपमा छुन्छ? (प्रेममा कुनै सर्त हुँदैन, कुनै अवरोध हुँदैन र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन र केही कुरा पनि अपवित्र हुँदैन। तर म आफैभित्र अझै धेरै अशुद्धता, अनि परमेश्‍वरसँग लेनदेनको प्रयास गर्ने मेरा धेरै भागहरूलाई म देख्छु। मैले साँच्‍चै शुद्ध र निष्खोट प्रकारको प्रेम प्राप्त गरेको छैन।) यदि तैँले शुद्ध, निष्खोट प्रेम प्राप्त गरेको छैनस् भने, तेरो प्रेमको हद के हो त? (म खोजी गर्न इच्‍छा गरिरहेको, तृष्णा गरिरहेको अवस्थामा मात्रै छु।) तेरो आफ्‍नै कदको आधारमा र तेरो आफ्‍नै अनुभवबाट बोलेर, तैँले कति हदसम्‍म प्राप्त गरेको छस्? के तँमा छल छ? के तँमा गुनासाहरू छन्? के तँसँग तेरो हृदयभित्र मागहरू छन्? के तैँले परमेश्‍वरबाट चाहने र इच्‍छा गर्ने कुराहरू छन्? (छन्, मसँग मभित्र यी कलङ्कित कुराहरू छन्।) के-कस्ता परिस्‍थितिहरूमा ती बाहिर निस्कन्छन्? (जब परमेश्‍वरले मेरो लागि मिलाउनुभएको परिस्थिति मेरा धारणाहरूसँग मिल्दैन, वा जब मेरा इच्‍छाहरू पूरा भएका हुँदैनन्: त्यस्ता क्षणहरूमा, म यस प्रकारको भ्रष्ट स्वभाव प्रकट गर्छु।) ताइवानबाट आएका तिमी भाइ-बहिनीहरू, के तिमीहरू पनि प्रायजसो यो भजन गाउने गर्छौ? तिमीहरूले “खोट विनाको शुद्ध प्रेम” लाई कसरी बुझ्छौ त्यसको बारेमा के तिमीहरू अलिकति बताउन सक्छौ? परमेश्‍वरले किन प्रेमलाई यसरी व्याख्या गर्नुहुन्छ? (मलाई यो भजन औधी मन पर्छ किनभने यसबाट यही प्रेम नै पूर्ण प्रेम हो भन्‍ने म देख्‍न सक्छु। तैपनि, त्यो मापदण्डलाई पूरा गर्नको लागि मैले अझै निकै बाटो हिँड्नुछ, अनि साँचो प्रेम प्राप्त गर्नबाट म अझै निकै टाढा छु। उहाँको वचनले मलाई दिने सामर्थ्यद्वारा र प्रार्थनाद्वारा मैले प्रगति र सहकार्य गर्न सकेका केही कुराहरू छन्। तैपनि, जब म निश्‍चित जाँचहरू वा प्रकाशहरूको सामना गर्छु, तब मलाई मेरो भविष्य वा नियति नै छैन, मेरो गन्तव्य नै छैन भन्‍ने लाग्छ। त्यस्ता क्षणहरूमा, म अत्यन्तै कमजोर अनुभव गर्छु, अनि यो समस्याले मलाई प्राय: बिथोल्छ।) “भविष्य र नियति” भनेर तैँले आखिरमा केलाई उल्‍लेख गरिरहेको छस्? के तैँले उल्‍लेख गरिरहेको कुनै विशेष कुरा छ? के यो कुनै चित्र वा तैँले कल्‍पना गरेको कुनै कुरा हो, वा के तेरो भविष्य वा नियति तैँले वास्तवमा देख्‍न सक्‍ने कुरा हो? के यो वास्तविक वस्तु हो? तिमीहरू प्रत्येकले यसको बारेमा विचार गर भन्‍ने म चाहन्छु: तिमीहरूको भविष्य र नियतिको लागि तिमीहरूले गर्ने चिन्ताले केलाई जनाउँछ? (यो मुक्ति पाउन सक्‍नु हो ताकि म बाँच्‍न सकूँ।) तिमी अरू भाइबहिनीहरू, तिमीहरूले पनि “खोट विनाको शुद्ध प्रेम” सम्‍बन्धी तिमीहरूको बुझाइको बारेमा थोरै कुरा गर। (जब व्यक्तिसँग यो हुन्छ, तिनीहरूको आफ्‍नै व्यक्तिगत अस्तित्वबाट आउने कुनै अशुद्धता हुँदैन, अनि तिनीहरू आफ्‍नो भविष्य र नियतिद्वारा नियन्त्रित हुँदैनन्। परमेश्‍वरले तिनीहरूसँग जसरी व्यवहार गर्नुभए तापनि, तिनीहरू परमेश्‍वरको कार्य र उहाँको योजनाबद्ध कार्यलाई पूर्ण रूपमा पालन गर्न, अनि उहाँलाई अन्त्यसम्‍मै पछ्याउन सक्छन्। परमेश्‍वरप्रतिको यस प्रकारको प्रेम मात्रै शुद्ध र निष्खोट प्रेम हो। आफैलाई यसको तुलनामा नाप्‍ने क्रममा, मैले के पत्ता लगाएको छु भने, परमेश्‍वरलाई विश्‍वास गरेको विगत केही वर्षमा मैले आफैलाई खर्च गरेको वा केही निश्‍चित कुराहरूलाई पन्छाएको जस्तो देखिए पनि, मैले उहाँलाई साँचो रूपमा मेरो हृदय दिन सकेको रहेनछु। जब परमेश्‍वरले मलाई उदाङ्गो पारिदिनुहुन्छ, मैले मुक्ति पाउन सक्दिनँ भन्‍ने मलाई लाग्छ, अनि म नकारात्मक स्थितिमा जिउँछु। मैले मेरो कर्तव्य पूरा गरिरहेको छु भन्‍ने देख्छु, तर यसको साथमा, म परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेको छु, म मेरो सारा हृदयले परमेश्‍वरलाई प्रेम गर्न असमर्थ छु, अनि मेरो गन्तव्य, मेरो भविष्य, अनि मेरो नियति सधैँ मेरो मनमै हुन्छन्।) तिमीहरूले यो भजनको केही बुझाइ प्राप्त गरेका छौ, अनि यो र तिमीहरूको वास्तविक अनुभवको बीचमा केही सम्‍बन्धहरू स्थापित गरेका छौ भन्‍ने देखिन्छ। तैपनि, “खोट विनाको शुद्ध प्रेम” भन्‍ने भजनका हरेक वाक्यांशहरूको बारेमा तिमीहरूसँग स्वीकार्यताका फरक-फरक हद छन्। कतिपय मानिसहरूले यो त इच्‍छाशक्तिसँग सम्‍बन्धित छ भन्‍ने ठान्छन्, कतिपय मानिसहरूले आफ्‍नो भविष्यलाई पन्छ्याउने प्रयास गरिरहेका छन्, कतिपय मानिसहरूले आफ्‍नो परिवारजनलाई छाड्न खोजिरहेका छन्, अनि कतिपय मानिसहरूले केही पनि प्राप्त नगर्ने प्रयास गरिरहेका छन्। अझै अरूले आफूमा कुनै छल, कुनै गुनासो नराख्‍ने, र परमेश्‍वरको विरुद्ध विद्रोह नगर्ने बाध्यकारी व्यवस्था आफैले गरिरहेका छन्। परमेश्‍वरले किन यस प्रकारको प्रेम प्रस्तावित गर्नुहुन्छ र मानिसहरूले उहाँलाई यसरी प्रेम गरून् भन्‍ने बाध्यकारी व्यवस्था गर्नुहुन्छ? के यो मानिसहरूले प्राप्त गर्न सक्‍ने प्रकारको प्रेम हो? भन्‍नुको अर्थ, के मानिसहरूले यसरी प्रेम गर्न सक्छन्? मानिसहरूले आफूले यसो गर्न सक्दैनौँ भन्‍ने कुरा बुझ्न सक्छन्, किनभने तिनीहरूमा यस प्रकारको प्रेमको कुनै पनि सङ्केत नै छैन। जब मानिसहरूमा यो कुरै हुँदैन, अनि जब तिनीहरूलाई आधारभूत रूपमै प्रेमको बारेमा थाहा हुँदैन, परमेश्‍वरले तिनीहरूसँग यी वचनहरू बोल्‍नुहुन्छ, र यी वचनहरू तिनीहरूका लागि अपरिचित हुन्छन्। मानिसहरू यस संसारमा र भ्रष्ट स्वभावमा जिउने हुनाले, यदि मानिसहरूमा यस प्रकारको प्रेम थियो भने, वा यदि व्यक्तिमा यस प्रकारको प्रेम, अर्थात् तिनीहरूलाई कुनै अनुरोध र कुनै माग नगर्ने प्रेम, आफैलाई समर्पित गर्ने र कष्ट सामना गर्ने र आफूसँग भएको सबै कुरा त्याग्‍ने तुल्याउने प्रेम हुन सक्थ्यो भने, यस प्रकारको प्रेम भएको कुनै पनि व्यक्तिलाई अरू मानिसहरूले के ठान्थे? के त्यस्तो व्यक्ति सिद्ध हुने थिएन र? (हुने थियो।) के यस्तो सिद्ध व्यक्ति यो संसारमा अस्तित्वमा छ? यो संसारमा यस्तो प्रकारको व्यक्ति अस्तित्वमा छँदै-छैन। यो त निरपेक्ष कुरा हो। त्यसकारण, आफ्‍ना अनुभवहरूद्वारा कतिपय मानिसहरूले यी शब्‍दहरू अनुसार आफैलाई मापन गर्नको लागि निकै ठूलो प्रयास गर्छन्। तिनीहरूले आफैसँग जुध्छन्, आफैलाई नियन्त्रित गर्छन्, अनि तिनीहरूले आफूलाई निरन्तर त्याग समेत गर्छन्: तिनीहरूले कष्ट भोग्छन् अनि आफैलाई आफ्ना धारणाहरू त्याग्‍ने तुल्याउँछन्। तिनीहरूले आफ्नो विद्रोहीपन, अनि तिनीहरूका आफ्‍नै इच्‍छा र चाहनाहरूलाई त्याग्छन्। तर अन्त्यमा, तिनीहरूले आफ्‍नो मापनलाई बढाउन सक्दैनन्। किन त्यसो हुन्छ? मानिसहरूले पछ्याउने मापदण्ड प्रदान गर्न परमेश्‍वरले यी कुराहरू भन्‍नुहुन्छ, ताकि परमेश्‍वरले तिनीहरूको लागि व्यवस्था गर्नुभएको मापदण्डलाई मानिसहरूले जानून्। तर मानिसहरूले यो तुरुन्तै हासिल गरिहालून् भनेर परमेश्‍वरले कहिल्यै भन्‍नुहुन्छ र? के यो हासिल गर्नको लागि मानिसहरूसँग कति समय छ भनेर परमेश्‍वरले कहिल्यै भन्‍नुहुन्छ र? (भन्‍नुहुन्‍न।) के मानिसहरूले उहाँलाई यसरी नै प्रेम गर्नुपर्छ भनेर परमेश्‍वरले कहिल्यै भन्‍नुहुन्छ र? के यो पाठको यो अनुच्छेदले त्यसो भन्छ? अहँ, यसले त्यसो भन्दैन। आफूले जुन प्रेमको बारेमा उल्‍लेख गरिरहनुभएको थियो परमेश्‍वरले मानिसहरूलाई त्यही मात्रै बताइरहनुभएको छ। मानिसहरूले परमेश्‍वरलाई यसरी प्रेम गर्न सक्छन् कि सक्दैनन् अनि परमेश्‍वरलाई यस्तो व्यवहार गर्न सक्छन् कि सक्दैनन् भन्‍ने बारेमा कुरा गर्दा, मानिसहरूका निम्ति परमेश्‍वरका मापदण्डहरू के-के हुन् त? त्यसमा तुरुन्तै पुगिहाल्‍नु आवश्यक छैन, किनभने त्यो मानिसहरूको क्षमताभन्दा बाहिरको कुरा हुनेछ। यसरी प्रेम गर्नको लागि मानिसहरूले कस्तो प्रकारका शर्तहरू पूरा गर्नुपर्छ त्यसको बारेमा के तिमीहरूले कहिल्यै विचार गरेका छौ? यदि मानिसहरूले बारम्‍बार यी वचनहरू पढे भने के तिनीहरूमा क्रमिक रूपमा यो प्रेम हुनेछ? (हुनेछैन।) त्यसो भए, शर्तहरू के-के हुन् त? पहिलो, परमेश्‍वरको बारेमा रहेका शङ्काहरूबाट मानिसहरू कसरी मुक्त हुन सक्छन्? (इमानदार मानिसहरूले मात्रै यो कुरा हासिल गर्न सक्छन्।) छलबाट मुक्त हुने बारेमा के कुरा छ नि? (तिनीहरू पनि इमानदार मानिसहरू नै हुनुपर्छ।) परमेश्‍वरसँग लेनदेन नगर्ने व्यक्ति बन्‍ने कुरा नि? यो पनि इमानदार व्यक्ति हुनुकै एक हिस्सा हो। चतुरताबाट मुक्त हुने बारेमा के छ नि? प्रेममा कुनै विकल्‍प छैन भनेर भन्‍नुको अर्थ के हो? के यी सबै कुरा इमानदार व्यक्ति हुनुसँग नै सम्‍बन्धित छन् त? यहाँ धेरै विवरणहरू छन्। परमेश्‍वरले यस प्रकारको प्रेमको बारेमा यसरी बोल्‍न सक्‍नु र परिभाषित गर्नुले केलाई प्रमाणित गर्छ? के परमेश्‍वरमा यस प्रकारको प्रेम छ भनेर हामी भन्‍न सक्छौँ? (सक्छौं।) तिमीहरूले यसलाई कहाँ देख्छौ? (मानिसप्रति परमेश्‍वरको प्रेममा।) के मानिसप्रतिको परमेश्‍वरको प्रेम शर्तपूर्ण छ? के परमेश्‍वर र मानिसको बीचमा अवरोध वा दूरी छन्? के मानिसको बारेमा परमेश्‍वरसँग शङ्काहरू छन्? (छैन।) परमेश्‍वरले मानिसको अवलोकन गर्नुहुन्छ र मानिसलाई बुझ्‍नुहुन्छ; उहाँले मानिसलाई साँचो रूपमा बुझ्‍नुहुन्छ। के परमेश्‍वर मानिसप्रति छली हुनुहुन्छ? (हुनुहुन्‍न।) परमेश्‍वरले यो प्रेमको बारेमा यति सिद्ध रूपमा बताउनुभएको हुनाले, के उहाँको हृदय र उहाँको सार पनि त्यत्तिकै सिद्ध हुन सक्छन्? (सक्छन्।) निस्सन्देह नै ती सिद्ध हुन्छन्; जब मानिसहरूको अनुभव निश्‍चित हदमा पुग्छ, तब तिनीहरूले यस्तो महसुस गर्छन्। के मानिसहरूले कहिल्यै यसरी प्रेमलाई परिभाषित गरेका छन्? के-कस्ता परिस्‍थितिहरूमा मानिसले प्रेमलाई परिभाषित गरेको छ? मानिसले कसरी प्रेमको बारेमा बताउँछ? के मानिसले दिने वा प्रदान गर्ने अर्थमा प्रेमको बारेमा बताउँदैन र? (हो।) प्रेमको यो परिभाषा सरलीकृत छ; यसमा सारको कमी छ।

परमेश्‍वरले दिनुभएको प्रेमको परिभाषा र परमेश्‍वरले प्रेमको बारेमा बोल्ने तरिका उहाँको सारको एउटा पक्षसँग जोडिएका हुन्छन्, तर यो कुन पक्ष हो? पछिल्लो समय हामीले एउटा निकै महत्त्वपूर्ण विषयमा सङ्गति गर्यौं, मानिसहरूले पहिले पनि धेरै पटक छलफल गरेको एउटा विषयमा। यो विषयमा परमेश्‍वरमाथिको विश्‍वासको क्रममा प्रायजसो बोलिने शब्‍द समावेश छ, तैपनि यो सबैले परिचित र अपरिचित दुवै ठान्‍ने शब्‍द हो। म किन यसो भन्छु? यो मानिसका भाषाहरूबाट आउने शब्‍द हो; तैपनि, मानिसहरूमाझ यसको परिभाषा पृथक र अस्पष्ट दुवै छ। यो शब्‍द के हो? (पवित्रता।) पवित्रता: पछिल्लो समय हामीले सङ्गति गरेको हाम्रो विषय त्यही थियो। हामीले यो विषयको एउटा भागको बारेमा सङ्गति गर्‍यौं। हाम्रो गत सङ्गतिबाट, के सबैले परमेश्‍वरको पवित्रताको सारको बारेमा केही नयाँ बुझाइ प्राप्त गर्‍यो? यो बुझाइको कुन-कुन पक्षहरूलाई तिमीहरू पूर्ण रूपमा नयाँ ठान्छौ? अर्थात्, यो बुझाइभित्रको वा यी वचनहरूभित्रको के कुराले तिमीहरूलाई परमेश्‍वरको पवित्रता सम्‍बन्धी तिमीहरूको बुझाइ मैले सङ्गतिको अवधिमा बताएको परमेश्‍वरको पवित्रताभन्दा फरक वा भिन्‍न रहेछ भन्‍ने अनुभव गरायो? यसको बारेमा तिमीहरूसँग कुनै धारणा छ? (परमेश्‍वर भन्‍नुहुन्छ, उहाँले आफ्‍नो हृदयमा अनुभव गर्नुहुन्छ; उहाँका वचनहरू निष्खोट छन्। यो पवित्रताको एउटा पक्षको प्रकटीकरण हो।) (परमेश्‍वर मानिसप्रति क्रोधित हुनुहुँदा पनि त्यहाँ पवित्रता हुन्छ; उहाँको क्रोध खोटरहित हुन्छ।) (परमेश्‍वरको पवित्रताको कुरा गर्दा, उहाँको धर्मी स्वभावभित्र परमेश्‍वरको क्रोध र उहाँको कृपा दुवै छ भन्‍ने म बुझ्छु। यसले मलाई अत्यन्तै दह्रिलो प्रभाव पार्‍यो। हाम्रो गत सङ्गतिमा, परमेश्‍वरको धर्मी स्वभाव अद्वितीय छ भन्‍ने पनि उल्‍लेख गरिएको थियो—विगतमा मैले यो बुझेको थिइन। परमेश्‍वरले जे सङ्गति गर्नुभएको थियो त्यो सुनेर मात्रै परमेश्‍वरको क्रोध मानिसको रिस भन्दा फरक छ भन्‍ने मैले बुझेँ। परमेश्‍वरको क्रोध सकारात्मक कुरा हो र यो सिद्धान्तमा आधारित हुन्छ; परमेश्‍वरको अन्तर्निहित सारको कारण यसलाई बाहिर निकालिन्छ। परमेश्‍वरले कुनै नकारात्मक कुरा देख्‍नुहुन्छ, त्यसैले उहाँले आफ्‍नो क्रोध पोखाउनुहुन्छ। यो सृष्टि गरिएको कुनै पनि प्राणीमा नहुने कुरा हो।) आजको हाम्रो विषय परमेश्‍वरको पवित्रता हो। परमेश्‍वरको धर्मी स्वभावको बारेमा सबै मानिसहरूले केही कुरा सुनेका र सिकेका छन्। यसको साथै, धेरैजसो मानिसहरूले परमेश्‍वरको पवित्रता र परमेश्‍वरको धर्मी स्वभाव एउटै हुन् जस्तो गरी कुरा गर्छन्; परमेश्‍वरको धर्मी स्वभाव पवित्र छ भनेर तिनीहरू भन्छन्। “पवित्र” भन्‍ने शब्‍द अवश्य नै कसैको लागि पनि अपरिचित छैन—यो आम रूपमा प्रयोग गरिने शब्‍द हो। तर त्यो शब्‍दभित्रका अर्थहरूको हकमा, मानिसहरूले परमेश्‍वरको पवित्रताका के-कस्ता अभिव्यक्तिहरूलाई देख्‍न सक्छन्? मानिसहरूले पहिचान गर्न सक्‍ने के कुरा परमेश्‍वरले प्रकट गर्नुभएको छ? दुःखको कुरा, यो कुरा कसैलाई थाहा छैन। परमेश्‍वरको स्वभाव धर्मी छ, तर यदि तैँले परमेश्‍वरको धर्मी स्वभावलाई लिएर यो पवित्र छ भनी भन्छस् भने, त्यो अलिक अस्पष्ट, अलिक अलमल्‍ल पार्नेजस्तो देखिन्छ; यस्तो किन? तँ परमेश्‍वरको स्वभाव धर्मी छ भनेर भन्छस्, वा तँ उहाँको स्वभाव पवित्र छ भनेर भन्छस्, त्यसो भए तिमीहरू आफ्नो हृदयमा कसरी परमेश्‍वरको पवित्रताको चरित्र चित्रण गर्छौ, तिमीहरूले यसलाई कसरी बुझ्छौ? भन्‍नुको अर्थ, परमेश्‍वरले जे प्रकट गर्नुभएको छ, वा उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, के त्यसलाई मानिसहरूले पवित्र भनी पहिचान गर्छन्? के तिमीहरूले यसको बारेमा पहिले विचार गरेका थियौ? मैले के देखेको छु भने मानिसहरू प्रायजसो आम रूपमा प्रयोग गरिएका शब्‍दहरू लिएर आउँछन् वा तिनीहरूसँग बारम्‍बार बोलिएका वाक्यांशहरू हुन्छन्, तैपनि तिनीहरूले के भनिरहेका छन् सो समेत तिनीहरूलाई थाहा हुँदैन। हरेकले यसरी नै भन्छन्, अनि आदत अनुसार नै तिनीहरूले यसो भन्छन्, त्यसकारण यो तिनीहरूको लागि तय गरिएको शब्‍द बन्छ। तैपनि, यदि तिनीहरूले विवरणहरूलाई अनुसन्धान गरे र वास्तवमै अध्ययन गरे भने, तिनीहरूले साँचो अर्थ के हो वा यसले केलाई जनाउँछ भन्‍ने आफूलाई थाहा रहेनछ भन्‍ने पत्ता लगाउनेछन्। “पवित्र” भन्‍ने शब्‍दजस्तै, कसैलाई पनि तिनीहरूले उहाँको पवित्रताको प्रसंगमा बोल्दा परमेश्‍वरको सारको ठीक कुन पक्षलाई जनाइँदैछ भन्‍ने थाहा हुँदैन, अनि “पवित्र” भन्‍ने शब्‍दलाई परमेश्‍वरको अनुरूप कसरी गर्ने भन्‍ने पनि कसैलाई थाहा हुँदैन। मानिसहरू तिनीहरूको हृदयमा अन्योलग्रस्त छन्, अनि परमेश्‍वरको पवित्रता सम्‍बन्धी तिनीहरूको पहिचान धमिलो र अस्पष्ट छ। परमेश्‍वर कसरी पवित्र हुनुहुन्छ भन्‍ने बारेमा कोही पनि त्यति स्पष्ट छैनन्। आज हामी “पवित्र” भन्‍ने शब्‍दलाई परमेश्‍वरको अनुरूप गर्नको लागि यस विषयमा सङ्गति गर्नेछौँ ताकि मानिसहरूले परमेश्‍वरको पवित्रताको खास विषयवस्तुलाई देख्‍न सकून्। यसले कतिपय मानिसहरूलाई आदतको रूपमा र लापरवाही रूपमा यो शब्‍दको प्रयोग गर्नबाट र कुनै कुराको अर्थ के हो, ती सही र ठीक हो कि होइनन् सो थाहा नभईकनै ती कुराहरू भनिदिने कार्य गर्नबाट रोक्‍नेछ। मानिसहरू सधैँ यसरी बोलेका छन्; तैँले यसरी नै बोलेको छस्, उसले यसरी नै बोलेको छ, तसर्थ यो बोल्‍ने आदत नै बनेको छ। यस कार्यले अनजानमा त्यस्तो शब्‍दलाई कलङ्कित तुल्याउँछ।

झट्ट हेर्दा, “पवित्र” भन्‍ने शब्‍द बुझ्‍न अत्यन्तै सजिलो छ भन्‍ने जस्तो देखिन्छ, होइन र? कम्तीमा पनि मानिसहरूले “पवित्र” भन्‍ने शब्दको अर्थ शुद्ध, नबिग्रिएको, सम्‍मानजनक, र चोखो हो भन्‍ने विश्‍वास गर्छन्। हामीले भर्खरै गाएको “खोट विनाको शुद्ध प्रेम” भन्‍ने भजनको “पवित्रता” भन्‍ने शब्‍दलाई “प्रेम” सँग जोडेर हेर्नेहरू पनि छन्। यो सही छ; यो यसको एउटा भाग हो। परमेश्‍वरको प्रेम उहाँको सारको एउटा भाग हो, तर यो यसको सम्पूर्णता होइन। तैपनि मानिसहरूका धारणाहरूमा, तिनीहरूले यो शब्‍दलाई हेर्छन् अनि यसलाई तिनीहरू आफैले चोखो र शुद्ध भनी हेर्ने कुराहरूसँग, वा तिनीहरू आफैले व्यक्तिगत रूपमा नबिग्रिएको वा निष्खोट भनी ठानेका कुराहरूसँग जोडेर हेर्ने गर्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूले कमलको फूल शुद्ध हुन्छ, र यो फोहोरी हिलोबाट निष्खोट भई फुल्छ भनेर भनेका छन्। त्यसकारण मानिसहरूले “पवित्र” भन्‍ने शब्‍दलाई कमलको फूलमा लागू गर्न थाले। कतिपय मानिसहरूले मनगढन्ते प्रेम कथाहरूलाई पवित्र भन्‍ने ठान्छन्, वा तिनीहरूले कुनै काल्‍पनिक, वा विस्मयकारी व्यक्तित्वहरूलाई पवित्र रूपमा हेर्न सक्छन्। यसको साथै, कतिपय मानिसहरूले बाइबलमा उल्‍लेख गरिएका मानिसहरू, वा आत्मिक पुस्तकहरूमा उल्‍लेख गरिएका अरू मानिसहरू, जस्तै परमेश्‍वरले उहाँको काम गर्नुहुँदा कुनै बेला उहाँलाई पछ्याउने सन्तहरू, प्रेरितहरू, वा अरू मानिसहरूले आत्मिक अनुभवहरू पाएका थिए र ती अनुभवहरू पवित्र थिए भन्‍ने ठान्छन्। यी सबै मानिसहरूले कल्‍पना गरेका कुराहरू हुन्; यी मानिसहरूले राख्‍ने गरेका धारणाहरू हुन्। किन मानिसहरूले यस्ता धारणाहरू राख्छन्? यसको कारण अत्यन्तै सरल छ: मानिसहरू भ्रष्ट स्वभावको बीचमा जिउँछन् अनि दुष्टता र भ्रष्टताको संसारमा बस्छन्, त्यसैले यसो भएको हो। तिनीहरूले देख्‍ने हरेक कुरा, तिनीहरूले छुने हरेक कुरा, तिनीहरूले अनुभव गर्ने हरेक कुरा शैतानको दुष्टता र भ्रष्टता हुन्, साथसाथै ती शैतानको प्रभावमा रहेका मानिसहरूका बीचमा पैदा हुने षड्यन्त्र, आपसी मतभेद, र युद्ध हुन्। त्यसकारण, परमेश्‍वरले मानिसहरूमा आफ्‍नो काम गर्नुहुँदा पनि, अनि उहाँले तिनीहरूसँग बोल्‍नुहुँदा र उहाँको स्वभाव र सार प्रकट गर्नुहुँदा पनि, तिनीहरूले परमेश्‍वरको पवित्रता र सारलाई देख्‍न वा जान्‍न सक्दैनन्। परमेश्‍वर पवित्र हुनुहुन्छ भनेर मानिसहरूले प्रायजसो भन्‍ने गर्छन्, तर तिनीहरूमा साँचो बुझाइको कमी छ; तिनीहरूले खोक्रा शब्‍दहरू मात्रै बोलिरहेका हुन्छन्। मानिसहरू अशुद्धता र भ्रष्टताको बीचमा जिउने हुनाले, अनि तिनीहरू शैतानको अधिकार क्षेत्रमा रहेका हुनाले, र तिनीहरूले ज्योति नदेख्‍ने हुनाले, तिनीहरूलाई सकारात्मक विषयहरूको बारेमा केही पनि थाहा नभएको हुनाले, यसको साथै, तिनीहरूले सत्यतालाई नजान्‍ने हुनाले, “पवित्र” को अर्थ के हुन्छ कसैलाई पनि साँचो रूपमा थाहा छैन। त्यसो भए, के यो भ्रष्ट मानवताको बीचमा कुनै पवित्र कुराहरू वा पवित्र मानिसहरू छन् त? हामी निश्चित रूपमा यसो भन्‍न सक्छौँ: छैनन्, किनभने परमेश्‍वरको सार मात्रै पवित्र छ।

पछिल्लो समय, हामीले परमेश्‍वरको सार कसरी पवित्र छ त्यसको एउटा पक्षको बारेमा सङ्गति गर्‍यौं। यसले परमेश्‍वरको पवित्रताको बारेमा ज्ञान हासिल गर्नको लागि मानिसहरूलाई केही उत्प्रेरणा प्रदान गर्‍यो, तर यो पर्याप्त छैन। यसले परमेश्‍वरको पवित्रता पूर्ण रूपमा जान्‍न मानिसहरूलाई पर्याप्त रूपमा समर्थ तुल्याउन सक्दैन, न त यसले परमेश्‍वरको पवित्रता अद्वितीय छ भन्‍ने बुझ्‍न नै तिनीहरूलाई पर्याप्त रूपमा समर्थ तुल्याउन सक्छ। यसको साथै, यसले परमेश्‍वरमा पूर्ण रूपमा सम्‍मिलित भएको पवित्रताको साँचो अर्थ बुझ्‍न मानिसहरूलाई पर्याप्त रूपमा समर्थ तुल्याउन सक्दैन। त्यसकारण, हामीले हाम्रो सङ्गतिलाई यही विषयमा जारी राख्‍नु आवश्यक छ। पछिल्लो समय, हाम्रो सङ्गतिले तीन वटा विषयहरूलाई सम्‍बोधन गरेको थियो, त्यसकारण अब हामीले चौथो विषयको बारेमा छलफल गर्नुपर्छ। पवित्र-शास्‍त्रबाट पाठ गरेर हामी यसको सुरुवात गर्नेछौं।

४. शैतानको परीक्षा

मत्ती ४:१-४ तब उजाड स्थानमा दुष्टबाट परीक्षा गरिनलाई आत्माले येशूलाई लानुभयो। र उहाँले चालीस दिन र चालीस रात उपवास बसिसक्‍नुभएपछि, उहाँ भोकाउनुभयो। अनि परीक्षा गर्ने उहाँकहाँ आयो र भन्यो, यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्। तर उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, यस्तो लेखिएको छ, मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।

यिनै वचनहरूद्वारा दियाबलसले सुरुमा प्रभु येशूलाई परीक्षा गर्ने प्रयास गर्‍यो। दियाबलसले भनेको कुराको विषयवस्तु के हो? (“यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्।”) दियाबलसले बोलेका यी वचनहरू निकै सरल छन्, तर के तिनको सारमा कुनै समस्या छ? दियाबलसले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने,” तर त्यसको हृदयमा, त्यसलाई येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने थाहा थियो कि थिएन? उहाँ ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने त्यसलाई थाहा थियो कि थिएन? (त्यसलाई थाहा थियो।) त्यसो भए त्यसले किन “यदि तपाईं” भनेर भन्यो? (त्यसले परमेश्‍वरलाई परीक्षा गर्ने प्रयास गरिरहेको थियो।) तर त्यसले त्यसो गर्नुको उद्देश्य के थियो? त्यसले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने।” त्यसको हृदयमा त्यसलाई येशू ख्रीष्‍ट परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने थाहा थियो, त्यसको हृदयमा त्यो यसबारे अत्यन्तै स्पष्ट थियो, तर यो कुरा जाने तापनि, के त्यो उहाँमा समर्पित भयो र के त्यसले उहाँको आराधना गर्‍यो? (गरेन।) त्यसले के गर्न चाह्यो? प्रभु येशूलाई रिस उठाउन, अनि त्यसका अभिप्रायहरू अनुसार उहाँलाई मूर्ख बनाई काम गर्न लगाउनको लागि त्यसले यो तरिका र यी वचनहरू प्रयोग गर्न चाहन्थ्यो। के दियाबलसका वचनहरूको पछाडि लुकेको अर्थ यही होइन र? शैतानको हृदयमा, त्यसलाई प्रभु येशू ख्रीष्ट उहाँ नै हुनुहुन्छ भन्‍ने स्पष्टै थाहा थियो, तैपनि त्यसले यी वचनहरू बोल्यो। के यो शैतानको प्रकृति होइन र? शैतानको प्रकृति के हो? (धूर्त, दुष्ट बन्‍नु, र परमेश्‍वरको निम्ति कुनै श्रद्धा नहुनु।) परमेश्‍वरप्रति कुनै श्रद्धा नहुनुबाट के-कस्ता परिणामहरू आउँछन्? के त्यसले परमेश्‍वरलाई आक्रमण गर्न चाहँदैन थियो र? यसले परमेश्‍वरलाई आक्रमण गर्न यो तरिकाको प्रयोग गर्न चाहन्थ्यो, त्यसैले त्यसले भन्यो: “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्”; के यो शैतानको दुष्ट अभिप्राय होइन र? त्यसले वास्तवमा के गर्ने प्रयास गरिरहेको थियो? त्यसको उद्देश्य अत्यन्तै स्पष्ट छ: त्यसले प्रभु येशू ख्रीष्टको हैसियत र पहिचानलाई इन्कार गर्नको लागि यो तरिकाको प्रयोग गरिरहेको थियो। शैतानले यी वचनहरूबाट यसो भन्‍न खोजिरहेको थियो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटीमा परिवर्तन गर्नुहोस्। यदि तपाईंले त्यसो गर्न सक्‍नुहुन्‍न भने, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यसकारण तपाईंले अब उप्रान्त आफ्‍नो काम गर्नु हुँदैन।” के यही होइन त? त्यसले परमेश्‍वरलाई आक्रमण गर्नको लागि यो तरिकाको प्रयोग गर्न चाहन्थ्यो, त्यसले परमेश्‍वरको कार्यलाई चकनाचूर पार्न र नष्ट गर्न चाहन्थ्यो; शैतानको दुराशय यही हो। त्यसको दुराशय नै त्यसको प्रकृतिको स्वभाविक अभिव्यक्ति हो। प्रभु येशू ख्रीष्ट परमेश्‍वरका पुत्र हुनुहुन्छ, परमेश्‍वर स्वयम्‌को देहधारण हुनुहुन्छ भन्‍ने त्यसलाई थाहा भएको भए पनि त्यसले यस प्रकारको कार्य नगरी त्यो बस्‍न सकेन र परमेश्‍वरलाई नजिकबाटै पिछा गर्ने, उहाँलाई निरन्तर आक्रमण गर्ने र परमेश्‍वरको कार्यलाई भङ्ग गर्न र तोड्नको लागि धेरै प्रयास गर्ने गरिरह्यो।

अब हामी, शैतानले बोलेको यो वाक्यलाई विश्‍लेषण गरौँ: “यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्।” ढुङ्गाहरूलाई रोटीमा परिवर्तन गर्नु—के यसको कुनै अर्थ छ? यदि खानेकुरा छ भने, त्यसैलाई किन नखाने? किन ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नु आवश्यक छ? के यसको कुनै अर्थ छैन भनेर भन्‍न सकिन्छ? यो बेला प्रभु येशू उपवास बसिरहनुभएको भए तापनि, अवश्य नै उहाँसँग खानको लागि खानेकुरा थियो? (उहाँसँग थियो।) त्यसो भए, यहाँ हामी शैतानका वचनहरूको मूर्खतालाई देख्‍न सक्छौं। शैतानको सबै विश्‍वासघात र बदख्वाइँको बाबजुत पनि, हामी त्यसको मूर्खता र निरर्थकतालाई देख्छौं। शैतानले त्यस्ता विभिन्‍न कुराहरू गर्छ जसद्वारा तैँले त्यसको दुर्भावनापूर्ण प्रकृतिलाई देख्‍न सक्छस्; त्यसले परमेश्‍वरको कार्यलाई तोड्ने विभिन्‍न कुराहरू गरिरहेको देख्‍न सक्छस्, अनि यसलाई देखेर, तैँले त्यो घृणास्पद र रिस उठ्दो छ भन्‍ने अनुभव गर्छस्। तर, अर्कोतर्फ, के त्यसका वचनहरू र कार्यहरूका पछाडि तैँले मूर्खतापूर्ण, हास्यास्पद प्रकृतिलाई देख्दैनस्? शैतानको प्रकृति सम्‍बन्धी प्रकाश यही हो; त्यसको प्रकृति नै यही भएकोले, त्यसले यस्तै प्रकारको काम गर्नेछ। आजका मानिसहरूका लागि, शैतानका यी वचनहरू निरर्थक र हाँसउठ्दो छन्। तर शैतानले त्यस्ता वचनहरू बोल्‍न सक्छ। के त्यो अज्ञानी र विवेकहीन छ भनेर हामी भन्‍न सक्छौँ? शैतानको दुष्टता जताततै छ र यसलाई निरन्तर रूपमा प्रकट गरिँदैछ। अनि प्रभु येशूले त्यसलाई कसरी जवाफ दिनुभयो? (“मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।”) के यी वचनहरूमा कुनै शक्ति छ? (छ।) तिनमा शक्ति छ भनेर हामी किन भन्छौँ? किनभने यी वचनहरू सत्यता हुन्। अब, के मानिस रोटीले मात्रै बाँच्‍न सक्छ? प्रभु येशू चालीस दिन र चालीस रातसम्‍म उपवास बस्‍नुभयो। के उहाँ भोकले मर्नुभयो? उहाँ भोकले मर्नुभएन, त्यसकारण उहाँलाई यस्ता कुराहरू भनेर ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नको लागि उहाँलाई उक्साउन शैतान उहाँकहाँ गयो: “यदि तपाईंले ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नुभयो भने, खानका लागि तपाईंसँग यी कुराहरू हुनेछैनन् र? त्यसपछि तपाईंले उपवास बस्‍नु पर्दैन, भोकै बस्‍नु पर्दैन, होइन र?” तर प्रभु येशूले भन्‍नुभयो, “मानिस रोटीले मात्र बाँच्‍दैन,” जसको अर्थ मानिस भौतिक शरीरमा जिए तापनि, उसको भौतिक शरीरलाई बाँच्‍न र सास फेर्न दिने त खाने कुरा होइन, बरु परमेश्‍वरको मुखबाट उच्चारित हरेक वचनहरू हुन्। एकतर्फ, यी वचनहरू सत्य हुन्; परमेश्‍वरमा तिनीहरूले भरोसा गर्न सक्छन् अनि सत्यता उहाँ नै हुनुहुन्छ भन्‍ने अनुभव गराउँदै यी वचनहरूले मानिसहरूलाई विश्‍वास दिलाउँछ। अर्कोतर्फ, के यी वचनहरूको व्यवहारिक पक्ष छ? चालीस दिन र चालीस रात उपवास बसिसकेपछि, के प्रभु येशू अझै खडा हुनुहुन्नथ्यो र, अझै जीवित हुनुहुन्नथ्यो र? के यो वास्तविक उदाहरण होइन र? उहाँले चालीस दिन र चालीस रातसम्‍म कुनै पनि खानेकुरा खानुभएको थिएन, तर उहाँ अझै पनि जीवितै हुनुहुन्थ्यो। यो उहाँका वचनहरूको सत्यतालाई पुष्टि गर्ने शक्तिशाली प्रमाण हो। यी वचनहरू सरल छन्, तैपनि प्रभु येशूको हकमा भन्दा, शैतानले उहाँको परीक्षा गर्दा मात्रै उहाँले ती बोल्‍नुभयो कि ती पहिले नै प्राकृतिक रूपमै उहाँको भाग बनिसकेका थिए? यसलाई अर्को तरिकाले भन्दा, परमेश्‍वर नै सत्यता हुनुहुन्छ, अनि परमेश्‍वर नै जीवन हुनुहुन्छ, तर के परमेश्‍वरको सत्यता र जीवन त्यसपछि थपिएका कुराहरू थिए? के ती पछिका अनुभवबाट पैदा भएका थिए? होइन—परमेश्‍वरमा ती अन्तर्निहित रूपमै छन्। भन्‍नुको अर्थ, सत्यता र जीवन परमेश्‍वरका सार हुन्। उहाँलाई जेसुकै भए तापनि, उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यता नै हो। यो सत्यता, यी वचनहरूले—उहाँको बोलीको विषयवस्तु लामो भए पनि छोटो भए पनि—मानिसलाई जिउन सक्षम तुल्याउन सक्छन् र तिनले मानिसलाई जीवन दिन्छन्; तिनले मानिसहरूलाई सत्यता अनि मानव जीवनको मार्गको बारेमा स्पष्टता हासिल गर्न, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास राख्‍न सक्षम तुल्याउँछन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले प्रयोग गर्नुभएका यी वचनहरूको स्रोत सकारात्मक छ। त्यसकारण के हामी यो सकारात्मक कुरा पवित्र छ भनेर भन्‍न सक्छौँ? (सक्छौँ।) शैतानका ती वचनहरू शैतानको प्रकृतिबाट आउँछन्। शैतानले त्यसको दुष्टता र त्यसको दुर्भावनापूर्ण स्वभाव जताततै, निरन्तर रूपमा प्रकट गर्छ। अब, के शैतानले प्राकृतिक रूपमै यिनलाई प्रकट गर्छ? के कसैले त्यसलाई यसो गर्न निर्देशन दिन्छ? के कसैले त्यसलाई सहायता गर्छ? के कसैले त्यसलाई बाध्य गर्छ? गर्दैन। यी सबै कुराहरू त्यसले आफ्‍नै इच्‍छाले प्रकट गर्छ। यो शैतानको दुष्ट प्रकृति हो। परमेश्‍वरले जे गर्नुभए पनि र उहाँले यो जसरी गर्नुभए पनि, शैतानले उहाँलाई नजिकबाट पछ्याउँछ। शैतानले भन्‍ने र गर्ने यी कुराहरूको सार र साँचो प्रकृति नै शैतानको सार हो—त्यो सार जुन दुष्ट र दुर्भावनापूर्ण छ। अब हामीले पढ्दै जाने क्रममा, शैतानले अरू के भन्यो? हामी पढौँ।

मत्ती ४:५-७ त्यसपछि दुष्टले उहाँलाई पवित्र सहरमा लैजान्छ र उहाँलाई मन्दिरको शिरमा खडा गराउँछ अनि उहाँलाई भन्छ, यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने आफैलाई तल फाल्नुहोस्: किनकि यस्तो लेखिएको छ, उहाँले स्वर्गदूतहरूलाई तेरो लागि अह्राउनुहुनेछ: र तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उठाउनेछन्, नत्रता कुनै पनि बेला तिमीले तिम्रो खुट्टा ढुङ्गामा ठोकाउँछौ। येशूले त्यसलाई भन्‍नुभयो, यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।

सुरुमा हामी शैतानले यहाँ बोलेको वचनहरूलाई नै हेरौं। शैतानले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने आफैलाई तल फाल्नुहोस्,” अनि यसले पवित्र-शास्‍त्रबाट उद्धृत गर्‍यो: “उहाँले स्वर्गदूतहरूलाई तेरो लागि अह्राउनुहुनेछ: र तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उठाउनेछन्, नत्रता कुनै पनि बेला तिमीले तिम्रो खुट्टा ढुङ्गामा ठोकाउँछौ।” जब तँ शैतानका वचनहरू सुन्छस् तँलाई कस्तो अनुभव हुन्छ? के ती अत्यन्तै मूर्खतापूर्ण छैनन् र? ती मूर्खतापूर्ण, निरर्थक, र घृणास्पद छन्। म किन यसो भन्छु? शैतानले प्रायजसो मूर्ख कुराहरू गर्छ, अनि त्यसले आफैलाई अत्यन्तै चलाख ठान्छ। परमेश्‍वरको कामको योजनालाई तोड्ने आफ्‍नो उद्देश्य हासिल गर्ने प्रयास गर्दै उहाँलाई आक्रमण गर्न र उहाँलाई परीक्षा गर्न यी वचनहरूलाई परमेश्‍वरकै विरुद्ध प्रयोग गर्न त्यसले प्रायजसो धर्मशास्‍त्रका खण्डहरू उद्धृत गर्छ, चाहे त्यो परमेश्‍वर स्वयम्‌ले बोल्‍नुभएको वचन नै किन नहोस्। के शैतानले बोलेका यी वचनहरूमा तैँले कुनै कुरा देख्‍न सक्छस्? (शैतानले दुष्ट अभिप्रायहरू राख्छ।) शैतानले गर्ने सबै कुरामा, त्यसले सधैँ मानवजातिलाई परीक्षा गर्न खोजेको छ। शैतान सोझो रूपमा बोल्दैन, तर परीक्षा, छल, र प्रलोभनको प्रयोग गरेर घुमाउरो पारामा बोल्छ। परमेश्‍वर पनि अज्ञानी, मूर्ख, अनि मानिसजस्तै काम-कुराहरूको साँचो रूपलाई स्पष्ट रूपमा छुट्याउन नसक्‍ने हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दै, शैतानले उहाँ सामान्य मानवजाति नै हुनुहुन्छ झैँ गरी परमेश्‍वरको परीक्षा गर्छ। शैतानले के ठान्छ भने, परमेश्‍वर र मानिस दुवैले त्यसको सारलाई अनि त्यसको धोका र त्यसको कुटिल अभिप्रायलाई देख्‍न सक्‍दैनन्। के शैतानको मूर्खता यही होइन र? यसको साथै, शैतानले धर्मशास्‍त्रका खण्डहरूबाट उद्धृत गर्दा त्यसले विश्‍वसनीयता दिलाउँछ र तैँले त्यसका वचनहरूमा भएको कुनै पनि त्रुटिलाई भेट्टाउन वा मूर्ख हुनबाट बच्न सक्‍नेछैनस् भन्‍ने विश्‍वास गर्दै, खुलस्त रूपमा धर्मशास्‍त्रका खण्डहरू उद्धृत गर्छ। के शैतानको बेवकुफी र मूर्खता यही होइन र? यो मानिसहरूले सुसमाचार फैलाउँदा अनि परमेश्‍वरको साक्षी दिँदाको जस्तै छ: के कहिलेकहीँ गैर-विश्‍वासीहरूले पनि शैतानले जस्तै कुरा गर्दैनन् र? के मानिसहरूले यस्तै कुरा भनेको तिमीहरूले सुनेका छौ? त्यस्ता कुराहरू सुन्दा तँलाई कस्तो महसुस हुन्छ? के तँलाई वाक्‍क लाग्छ? (हो।) जब तँलाई वाक्‍क लाग्छ, तब के तँलाई द्वेष र घृणाको पनि महसुस हुन्छ? जब तँमा यस्ता भावनाहरू आउँछन् तब के तैँले शैतान र शैतानले मानिसमा हालिदिने भ्रष्ट स्वभाव दुष्ट छन् भन्‍ने पहिचान गर्न सक्छस्? तेरो हृदयमा, तैँले कहिल्यै यस्तो महसुस गर्छस्: “जब शैतान बोल्छ, त्यसले आक्रमण र परीक्षा गर्न त्यसो गर्छ; शैतानका वचनहरू निरर्थक, हाँसउठ्दो, मूर्खतापूर्ण, र घिनलाग्दा छन्; तैपनि, परमेश्‍वरले कहिल्यै पनि त्यसरी बोल्‍ने वा काम गर्ने गर्नुहुन्‍न, अनि वास्तवमा नै उहाँले कहिल्यै पनि त्यसो गर्नुभएको छैन”? अवश्य नै, यस परिस्थितिमा मानिसहरूले यसलाई हल्‍का रूपमा मात्रै अनुभूति गर्न सक्छन्, अनि तिनीहरू परमेश्‍वरको पवित्रतालाई बुझ्‍न नसक्‍ने नै रहन्छन्। त्यस्तै होइन र? तिमीहरूको हालको कदद्वारा, तिमीहरूले यो मात्रै अनुभव गर्छौ: “परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो सबै सत्यता हो, त्यो हाम्रो लागि फाइदाजनक छ, अनि हामीले त्यसलाई स्वीकार गर्नैपर्छ।” तिमीहरूले यसलाई स्वीकार गर्न सके पनि नसके पनि, तैँले परमेश्‍वरको वचन सत्य छ अनि परमेश्‍वर सत्य हुनुहुन्छ भनेर भन्छस् भन्‍नेमा कुनै अपवाद छैन, तर सत्य आफै नै पवित्र छ अनि परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने तँलाई थाहा छैन।

त्यसकारण, शैतानका यी वचनहरूप्रति येशूको प्रतिक्रिया के थियो? येशूले त्यसलाई भन्‍नुभयो: “यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।” के येशूले भन्‍नुभएका यी वचनहरूमा सत्यता छ? तिनमा अवश्य नै सत्यता छ। झट्ट हेर्दा, यी वचनहरू मानिसहरूले पछ्याउनुपर्ने आज्ञा, सरल वाक्य मात्रै हुन्, तैपनि, मानिस र शैतान दुवैले प्रायजसो यी वचनहरूलाई उल्‍लङ्घन गरेका छन्। त्यसैले, प्रभु येशूले शैतानलाई भन्‍नुभयो, “तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू,” किनभने शैतानले ठूलो प्रयत्नका साथ प्रायजसो यसै गर्थ्यो। शैतानले निर्धक्‍कसाथ र कुनै लाज विना यसो गर्यो भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको डर नमान्‍नु अनि त्यसको हृदयमा परमेश्‍वरको श्रद्धा नराख्‍नु, शैतानको प्रकृति र सारमा नै छ। शैतानले परमेश्‍वरको छेउमा खडा भएर उहाँलाई देख्‍न सक्दा समेत, त्यसले परमेश्‍वरलाई परीक्षा नगरीकन बस्‍न सकेन। त्यसकारण, येशूले शैतानलाई भन्‍नुभयो, “तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।” परमेश्‍वरले धेरै पटक शैतानलाई भन्‍नुभएका वचनहरू यिनै हुन्। त्यसकारण, के यो वाक्यलाई वर्तमान दिनमा लागू गर्नु उचित हुन्छ? (हुन्छ, किनभने हामीले पनि बारम्बार परमेश्‍वरको परीक्षा गर्छौं।) किन मानिसहरूले बारम्बार परमेश्‍वरको परीक्षा गर्छन्? के मानिसहरू भ्रष्ट शैतानिक स्वभावले भरिएकाले यस्तो भएको हो? (हो।) के शैतानका वचनहरू मानिसहरूले प्रायजसो भन्‍ने कुराभन्दा माथि छन्? अनि कस्ता परिस्थितिहरूमा मानिसहरूले यी वचनहरू बोल्छन्? मानिसहरूले यस्ता कुराहरू जुनसुकै समय र स्थानमा भन्दै आइरहेका छन् भनेर भन्‍न सकिन्छ। यसले मानिसहरूको स्वभाव शैतानको भ्रष्ट स्वभावभन्दा फरक छैन भन्‍ने कुरा प्रमाणित गर्छ। प्रभु येशूले एक-दुई वटा सरल वचनहरू, अर्थात् सत्यतालाई प्रतिनिधित्व गर्ने वचनहरू, मानिसहरूलाई चाहिने वचनहरू बोल्‍नुभयो। तैपनि, यस परिस्थितिमा, के शैतानसँग तर्क गर्नको लागि प्रभु येशूले त्यसरी बोलिरहनुभएको थियो? उहाँले शैतानलाई जे भन्‍नुभयो के त्यसमा कुनै आक्रामक कुरा थियो? (थिएन।) प्रभु येशूले आफ्‍नो हृदयमा शैतानको परीक्षाको बारेमा कस्तो महसुस गर्नुभयो? के उहाँले एकदमै मन नपर्ने र घृणाको अनुभव गर्नुभयो? प्रभु येशूले एकदमै मन नपर्ने र घृणाको अनुभव गर्नुभयो, तैपनि उहाँले शैतानसँग तर्क गर्नुभएन, उहाँले कुनै पनि ठूलो सिद्धान्तहरूको बारेमा बोल्‍ने कुरा त परै जाओस्। किन त्यसो भयो? (किनभने शैतान सधैँ यस्तै हो; त्यो कहिल्यै परिवर्तन हुन सक्दैन।) के शैतानले तर्क गर्न सक्दैन भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) के परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर शैतानले पहिचान गर्नसक्छ? परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर शैतानले कहिल्यै पहिचान गर्नेछैन अनि परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर त्यसले कहिल्यै स्वीकार गर्नेछैन; यो त्यसको प्रकृति हो। शैतानको प्रकृतिको अझै अर्को पक्ष पनि छ, जुन घृणित छ। यो के हो? प्रभु येशूलाई परीक्षा गर्ने प्रयासको क्रममा, शैतानले आफू सफल नभए पनि, त्यसो गर्ने प्रयास गर्नेछु भनी विचार गर्‍यो। त्यसलाई दण्ड हुने भए पनि, त्यसले परीक्षा गर्ने निर्णय गर्‍यो। त्यसो गरेर त्यसले कुनै पनि फाइदा प्राप्त नगरे पनि आखिरसम्‍मै आफ्‍नो प्रयासमा दृढ रहँदै र परमेश्‍वरको विरुद्धमा खडा हुँदै त्यसले परीक्षा गर्‍यो। यो कस्तो प्रकारको प्रकृति हो? के यो दुष्टता होइन र? यदि परमेश्‍वरलाई उल्‍लेख गर्दा मानिस क्रोधित हुन्छ अनि रिसले चूर हुन्छ भने, के उसले परमेश्‍वरलाई देखेको हुन्छ? के परमेश्‍वर को हुनुहुन्छ भन्‍ने उसलाई थाहा हुन्छ? परमेश्‍वर को हुनुहुन्छ भन्‍ने उसलाई थाहा हुँदैन, उहाँमा विश्‍वास गर्दैन, अनि परमेश्‍वर ऊसँग बोल्‍नुभएको हुँदैन। परमेश्‍वरले उसलाई कहिल्यै कष्ट दिनुभएको छैन भने, किन ऊ रिसाउँछ? के हामी यो व्यक्ति दुष्ट छ भनेर भन्‍न सक्छौँ? सांसारिक चलनचल्ती, खुवाइ पियाइ, अनि सुख-चैनको खोजी, अनि सेलिब्रेटीहरूको पछि दगुर्ने—यीमध्ये कुनै पनि कुराले त्यस्तो मानिसलाई झिज्याउँदैन। तैपनि, “परमेश्‍वर” भन्‍ने शब्‍द, वा परमेश्‍वरको वचनको सत्यतालाई उल्‍लेख गर्ने बित्तिकै, ऊ रिसले चूर भइहाल्छ। के यसले दुष्ट प्रकृति हुनुलाई जनाउँदैन र? यो मानिसको दुष्ट प्रकृति हो भनेर प्रमाणित गर्न यो नै पर्याप्त छ। अब तिमीहरूको आफ्‍नै बारेमा भनौँ, सत्यताको बारेमा उल्‍लेख गर्दा वा मानवजातिलाई परमेश्‍वरले गर्नुभएका परीक्षाहरू वा मानिसको विरुद्ध परमेश्‍वरका न्यायका वचनहरूको बारेमा उल्‍लेख गर्दा, तिमीहरूलाई घृणा लागेको छ: तिमीहरूलाई कति पनि मन नपरेको, र तिमीहरूले त्यस्ता कुराहरू सुन्‍न नचाहेको त्यस्तो कुनै समयहरू छन्? तिमीहरूको हृदयले सोच्‍ला: “के सबै मानिसहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर भन्दैनन् र? यीमध्ये कतिपय वचनहरू सत्यता होइनन्! स्पष्ट रूपमा नै ती मानिसप्रति परमेश्‍वरले दिनुभएको चेतावनीका वचनहरू मात्रै हुन्!” कतिपय मानिसहरूले आफ्‍नो हृदयमा अत्यन्तै धेरै घृणाको अनुभव समेत गरेर विचार गर्न सक्छन्: “यसको बारेमा त दिनहुँ बताइन्छ—उहाँका परीक्षाहरू, उहाँको न्याय, यो कहिले सकिन्छ? हामीले कहिले असल गन्तव्य प्राप्त गर्नेछौँ?” यो अनुचित रिस कहाँबाट आउँछ भन्‍ने थाहा छैन। यो कस्तो प्रकारको प्रकृति हो? (दुष्ट प्रकृति।) यसलाई शैतानको दुष्ट प्रकृतिले निर्देशित र अगुवाइ गर्छ। शैतानको दुष्ट प्रकृति र मानिसको भ्रष्ट स्वभावलाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, उहाँले कहिल्यै पनि मानिसहरूसँग विवाद गर्ने वा तिनीहरूका विरुद्ध ईख राख्‍ने गर्नुहुन्‍न, अनि मानिसहरूले मूर्खतापूर्ण काम गर्दा उहाँले कहिल्यै पनि कोलाहल मच्‍चाउनुहुन्‍न। परमेश्‍वरले वस्तुहरूप्रति र मानवजातिप्रति उस्तै दृष्टिकोणहरू राख्‍नुभएको तैँले कहिल्यै देख्‍नेछैनस्, यसको साथै, समस्याहरूलाई सम्‍हाल्‍नका लागि उहाँले मानवजातिको दृष्टिकोण, ज्ञान, विज्ञान, दर्शनशास्‍त्र वा कल्‍पनाको प्रयोग गरेको तैँले कहिल्यै देख्‍नेछैनस्। बरु, परमेश्‍वरले गर्नुहुने सबै कुरा अनि उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यतासँग गाँसिएको हुन्छ। अर्थात्, उहाँले भन्‍नुभएको हरेक वचन अनि उहाँले गर्नुभएको हरेक कार्य सत्यतासँग बाँधिएको हुन्छ। यो सत्यता कुनै आधारहीन कल्‍पनाको उपज होइन; परमेश्‍वरले उहाँको सार र उहाँको जीवनको सद्गुणद्वारा यो सत्यता र यी वचनहरूलाई व्यक्त गर्नुहुन्छ। यी वचनहरू अनि परमेश्‍वरले गर्नुभएको हरेक कुराको सार सत्यता नै भएकोले, परमेश्‍वरको सार पवित्र छ भनेर हामी भन्‍न सक्छौं। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले भन्‍नुहुने अनि गर्नुहुने सबै कुराले मानिसहरूमा जीवन-शक्ति र ज्योति ल्याउँछ, मानिसहरूलाई सकारात्मक कुराहरू अनि ती सकारात्मक कुराहरूको वास्तविकतालाई देख्‍ने तुल्याउँछ, अनि मानवजातिको लागि मार्ग देखाउँछ ताकि तिनीहरू सही मार्गमा हिँड्न सकून्। यी सबै कुराहरूलाई परमेश्‍वरको सार र उहाँको पवित्रताको सारले निर्धारित गरेका हुन्छन्। तिमीहरू अहिले यो देख्छौ, देख्‍दैनौ त? अब, हामी पवित्र-शास्‍त्रबाट अर्को पाठ गरी अघि बढ्नेछौँ।

मत्ती ४:८-११ फेरि, दुष्टले उहाँलाई एकदमै अग्लो पहाडमा लैजान्छ र संसारका राज्यहरू र तिनको महिमा देखाउँछ; अनि उहाँलाई भन्यो, यदि तपाईंले लम्‍पसार परेर मेरो आराधना गर्नुभयो भने, म तपाईंलाई यी सबै थोक दिनेछु। तब येशूले त्यसलाई भन्‍नुभयो, यहाँबाट गइहाल्, शैतान: किनकि यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू। तब दुष्टले उहाँलाई छोड्यो र स्वर्गदूतहरू आएर उहाँको सेवा गरे।

अघिल्‍ला दुई षड्यन्त्रमा असफल भइसकेपछि दियाबलस शैतानले फेरि अर्को प्रयास गर्‍यो: त्यसले संसारका सबै राज्यहरू र तिनको वैभव प्रभु येशूलाई देखायो अनि मलाई आराधना गर्नुहोस् भनी उहाँलाई भन्यो। यो परिस्थितिबाट तिमीहरूले दियाबलसको साँचो विशेषताहरूको बारेमा के देख्‍न सक्छौ? के दियाबलस शैतान पूर्णतया लाज विहीन छैन र? (छ।) यो कसरी लाज विहीन छ? परमेश्‍वरले नै सबै थोक सृष्टि गर्नुभएको थियो, तैपनि शैतानले फर्केर परमेश्‍वरलाई सबै थोक देखायो अनि भन्यो, “यी सबै राज्यहरूका सम्पत्ति र वैभवलाई हेर्नुहोस्। यदि तपाईंले मलाई आराधना गर्नुभयो भने ती सबै म तपाईंलाई दिनेछु।” के यो भूमिकालाई पूर्ण रूपमा उल्ट्याउने कार्य होइन र? के शैतान लाज विहीन छैन र? परमेश्‍वरले नै सबै थोक बनाउनुभयो, तर के उहाँले आफ्‍नै आनन्दको लागि सबै थोक बनाउनुभयो र? परमेश्‍वरले सबै कुरा मानवजातिलाई दिनुभयो, तर शैतानले यी सबै जफत गर्न चाहन्थ्यो अनि यो सबै जफत गरिसकेपछि, त्यसले परमेश्‍वरलाई भन्यो, “मेरो आराधना गर्नुहोस्! मलाई आराधना गर्नुहोस् अनि यो सबै म तपाईंलाई दिनेछु।” यो शैतानको कुरूप अनुहार हो; यो पूर्ण रूपमा लाज विहीन छ! शैतानलाई “लाज” भन्‍ने शब्‍दको अर्थ समेत थाहा छैन। यो त्यसको दुष्टताको अर्को उदाहरण मात्रै हो। त्यसलाई लाज के हो भन्‍ने समेत थाहा छैन। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो र उहाँले सबै थोकलाई व्यवस्थापन गर्नुहुन्छ अनि तीमाथि उहाँकै प्रभुत्व छ भन्‍ने शैतानलाई स्पष्टै थाहा छ। सबै थोक मानिसको होइन, अनि शैतानको त झन् हुँदै होइन, तर ती सबै परमेश्‍वरको स्वामित्वमा छन्, तैपनि दियाबलस शैतानले निर्धक्‍कसाथ ती सबै थोक परमेश्‍वरलाई दिनेछु भनी भन्यो। के यो शैतानले फेरि मूर्खतापूर्ण र लाजमर्दो तरिकाले कार्य गरेको अर्को उदाहरण होइन र? यसले परमेश्‍वरलाई शैतानको अझै बढी घृणा गर्ने तुल्याउँछ, तुल्याउँदैन र? तैपनि शैतानले जस्तोसुकै प्रयास गरे पनि, के प्रभु येशू मूर्ख हुनुभयो त? प्रभु येशूले के भन्‍नुभयो? (“तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।”) के यी वचनहरूको व्यवहारिक अर्थ छ? (छ।) कस्तो प्रकारको व्यवहारिक अर्थ? हामीले शैतानको बोलीमा त्यसको दुष्टता र लाज विहीनतालाई देख्छौं। तसर्थ यदि मानिसले शैतानको आराधना गर्‍यो भने, परिणाम के हुनेछ? के तिनीहरूले सबै राज्यहरूको सम्पत्ति र वैभव प्राप्त गर्नेछन्? (गर्नेछैनन्।) तिनीहरूले के प्राप्त गर्नेछन्? के मानवजाति शैतानजस्तै लाज विहीन र हाँसउठ्दो बन्‍नेछ? (हो।) त्यसो भए तिनीहरू शैतानभन्दा फरक हुनेछैनन्। त्यसकारण, प्रभु येशूले यी वचनहरू भन्‍नुभयो, जुन हरेक मानवजातिको लागि महत्त्वपूर्ण छन्: “तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।” यसको अर्थ के हो भने, यदि तैँले प्रभुलाई बाहेक, परमेश्‍वर स्वयम्‌लाई बाहेक, अर्कोलाई सेवा गरिस् भने, यदि तैँले दियाबलस शैतानको आराधना गरिस् भने, तँ पनि शैतानजस्तै त्यही दुष्कर्ममा डुब्‍नेछस्। त्यसपछि तँ शैतानको लाज विहीनता र त्यसको दुष्टतामा सहभागी हुनेछस्, अनि शैतानले जस्तै तैँले पनि परमेश्‍वरलाई परीक्षा गर्नेछस् र परमेश्‍वरलाई आक्रमण गर्नेछस्। त्यसपछि तेरो लागि परिणाम के हुनेछ? तँलाई परमेश्‍वरले घृणा गर्नुहुनेछ, परमेश्‍वरले प्रहार गर्नुहुनेछ, नास गर्नुहुनेछ। कुनै सफलता विना नै धेरै पटक शैतानले प्रभु येशूलाई परीक्षा गरिसकेपछि, के त्यसले फेरि प्रयास गर्‍यो त? शैतानले फेरि प्रयास गरेन, अनि त्यसपछि त्यो गयो। यसले के प्रमाणित गर्छ? यसले शैतानको दुष्ट प्रकृति, त्यसको बदख्‍वाइँ, अनि त्यसको मूर्खता र निरर्थकता परमेश्‍वरको सामुन्ने उल्‍लेख गर्न समेत योग्य छैनन् भन्‍ने प्रमाणित गर्छ। प्रभु येशूले केवल तीन वाक्यले शैतानलाई हराउनुभयो, त्यसपछि लाजले अनुहार देखाउन नसकी आफ्‍नो पुच्छर लुरुक्‍क पारेर, त्यो दगुरेर गयो, अनि प्रभु येशूलाई फेरि कहिल्यै परीक्षा गरेन। प्रभु येशूले शैतानको यो परीक्षालाई जित्‍नुभएको हुनाले, अब उहाँले आफूले गर्नुपर्ने र उहाँको अघि राखिएको कार्यलाई उहाँले सहजै जारी राख्‍न सक्‍नुभयो। के प्रभु येशूले यो परिस्थितिमा गर्नुभएको र भन्‍नुभएको सबै कुरालाई वर्तमान दिनमा लागू गर्ने हो भने त्यसले हरेक मानवजातिको लागि कुनै व्यवहारिक अर्थ दिन्छ? (दिन्छ।) कस्तो प्रकारको व्यवहारिक अर्थ? के शैतानलाई हराउनु सहज कुरा थियो? के मानिसहरूसँग शैतानको दुष्ट प्रकृतिको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ? के मानिसहरूसँग शैतानका परीक्षाहरूको बारेमा ठीक बुझाइ हुनुपर्छ? (हुनुपर्छ।) जब तैँले आफ्‍नो जीवनमा शैतानका परीक्षाहरूको अनुभव गर्छस्, यदि तैँले शैतानका दुष्ट प्रकृतिलाई देख्‍न सक्थिस् भने, के तँ त्यसलाई हराउन सक्‍नेथिइनस्? यदि तँलाई शैतानको मूर्खता र निरर्थकताको बारेमा थाहा थियो भने, के तँ अझै पनि शैतानको पक्षमा खडा भएर परमेश्‍वरलाई आक्रमण गर्नेथिइस्? शैतानको बदख्‍वाइँ र लाज विहीनता तँ मार्फत कसरी प्रकट हुन्छ भन्‍ने तैँले बुझिस् भने—यदि तैँले यी कुराहरूलाई स्पष्ट रूपमा पहिचान गरिस् र बुझिस् भने—के तँ अझै पनि यसरी परमेश्‍वरलाई आक्रमण र परीक्षा गर्नेथिइस्? (होइन, हामी गर्नेथिएनौँ।) तिमीहरूले के गर्नेथियौ? (हामीले शैतानको विरुद्धमा विद्रोह गरेर त्यसलाई धपाउनेथियौँ।) के यसो गर्नु सजिलो छ? यो सजिलो छैन। यसो गर्नको लागि, मानिसहरूले बारम्‍बार प्रार्थना गर्नैपर्छ, तिनीहरूले आफैलाई बारम्बार परमेश्‍वरको अघि राख्‍नुपर्छ अनि आफैलाई जाँच्‍नुपर्छ। अनि तिनीहरूले परमेश्‍वरको अनुशासन र उहाँको न्याय अनि सजाय तिनीहरूमाथि आउन दिनुपर्छ। यसरी मात्रै मानिसहरूले आफूलाई क्रमिक रूपमा शैतानको धोका र नियन्त्रणबाट मुक्त गर्न सक्‍नेछन्।

अब, शैतानले बोलेका यी वचनहरूलाई हेरेर, हामी शैतानको सार निर्माण गर्ने कुराहरूलाई सारांशित गर्नेछौँ। पहिलो, सामान्यतया शैतानको सार दुष्ट छ भनेर भन्‍न सकिन्छ, जुन परमेश्‍वरको पवित्रताको विपरीत हो। शैतानको सार दुष्ट छ भनेर म किन भन्छु त? यस प्रश्‍नको उत्तर दिनको लागि, मानिसहरूलाई शैतानले जे गर्छ त्यसका परिणामहरूलाई छानबिन गर्नुपर्छ। शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ र नियन्त्रण गर्छ, अनि मानिसले शैतानको भ्रष्ट स्वभावको अधीनमा काम गर्छ, अनि ऊ शैतानले भ्रष्ट तुल्याएका मानिसहरूको संसारमा जिउँछ। पत्तै नपाई मानवजातिलाई शैतानले नियन्त्रण गर्छ र आफूमा समाहित गराउँछ; त्यसकारण, मानिसमा शैतानको भ्रष्ट स्वभाव हुन्छ, जुन शैतानको प्रकृति हो। शैतानले भनेको र गरेको सबै कुराबाट, के तिमीहरूले त्यसको अहङ्कार देखेका छौ? के तिमीहरूले त्यसको धोका र बदख्‍वाइँ देखेका छौ? शैतानको अहङ्कार प्राथमिक रूपमा कसरी देखिन्छ? के शैतानलाई सधैँ परमेश्‍वरको स्थान लिने इच्‍छा हुन्छ? शैतानले सधैँ परमेश्‍वरको कार्य, र परमेश्‍वरको स्थानलाई ढलाएर आफ्‍नो निम्ति लिन चाहन्छ, ताकि मानिसहरूले शैतानलाई पछ्याऊन्, साथ दिऊन्, र आराधना गरून्; शैतानको अहङ्कारी प्रकृति यही नै हो। जब शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ, तिनीहरूले के गर्नुपर्छ भनेर त्यसले तिनीहरूलाई सीधै भन्छ र? जब शैतानले परमेश्‍वरको परीक्षा गर्छ, तब के त्यसले आएर “मैले तँलाई परीक्षा गर्न लागेको छु, म तँलाई आक्रमण गर्नेछु” भनेर भन्छ र? त्यसले अवश्य नै यसो भन्दैन। त्यसो भए, शैतानले कुन विधिको प्रयोग गर्छ? यसले प्रलोभनमा पार्छ, परीक्षा गर्छ, आक्रमण गर्छ, अनि पासोहरू थाप्छ, र धर्मशास्‍त्रका खण्डहरूलाई समेत उद्धृत गर्छ। शैतानले आफ्ना कुटिल उद्देश्यहरूलाई हासिल गर्न र आफ्ना अभिप्रायहरूलाई पूरा गर्न विभिन्‍न तरिकाले बोल्छ र कार्य गर्छ। शैतानले यसो गरेपछि, मानिसमा प्रकट हुने कुराबाट के देख्‍न सकिन्छ? के मानिसहरू पनि अहङ्कारी बन्दैनन् र? मानिसले हजारौँ वर्षदेखि शैतानको भ्रष्टतालाई भोगेको छ, त्यसकारण मानिस अहङ्कारी, धोकेबाज, दुर्भावनापूर्ण, र तर्क विहीन बनेको छ। यी सबै कुराहरू शैतानको प्रकृतिको कारण आएका हुन्। शैतानको प्रकृति नै दुष्ट भएको हुनाले, त्यसले मानिसलाई यो दुष्ट प्रकृति दिएको छ अनि मानिसमा यस दुष्ट, भ्रष्ट स्वभाव ल्याएको छ। त्यसकारण, मानिस भ्रष्ट शैतानी स्वभावमा जिउँछ, अनि शैतानले जस्तै, उसले परमेश्‍वरको विरोध गर्छ, परमेश्‍वरलाई आक्रमण गर्छ, अनि उहाँको परीक्षा गर्छ, यहाँसम्‍म कि मानिसले परमेश्‍वरलाई आराधना गर्नै सक्दैन अनि उसँग परमेश्‍वरलाई श्रद्धा गर्ने हृदय नै हुँदैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्