परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरको पवित्रता (१) - भाग दुई

अब हामीले शैतानको विषयमा रहेको हाम्रो छलफललाई सिध्याएका छौँ, त्यसैले हामी हाम्रो परमेश्‍वरसम्बन्धी कुराकानीमा फर्कौं। परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको अवधिमा, परमेश्‍वरले प्रत्यक्ष रूपमा बोल्‍नुभएका वचनहरूमध्ये अत्यन्तै थोरै मात्र बाइबलमा उल्लेख गरिएको थियो, र बाइबलमा उल्लेख गरिएका वचनहरू अत्यन्तै सरल छन्। त्यसैले, हामी सुरुबाट आरम्भ गरौं। परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुभयो र त्यसपछि परमेश्‍वरले मानिसको जीवनलाई निर्देशित गर्दै आउनुभएको छ। चाहे ती मानवजातिलाई आशिष् दिने कार्य हुन्, चाहे मानिसहरूका निम्ति व्यवस्था र आज्ञाहरू सृजना गर्ने काम हुन्, वा चाहे जीवनको निम्ति विभिन्‍न नियमहरू बनाउने कार्य नै हुन्—के तिमीहरूलाई यी कार्यहरू गर्नुमा परमेश्‍वरको अपेक्षित लक्ष्य के हो भन्‍ने थाहा छ? पहिलो, परमेश्‍वरले गर्नुहुने सबै कार्य मानवजातिको भलाइको निम्ति हो भनी के तिमीहरू निश्‍चयताका साथ भन्‍न सक्छौ? यो तिमीहरूका निम्ति भव्य तर खोक्रा वचनहरूजस्तो लाग्‍न सक्छ, तर त्यसभित्रको विस्तृत विवरण जाँच गर्ने हो भने, परमेश्‍वरले गर्नुहुने सबै कार्यको लक्ष्य मानिसलाई एक सामान्य जीवन जिउन अगुवाइ गर्नु वा मार्गदर्शन दिनु होइन र? चाहे मानिसलाई उहाँका नियमहरू अनुसरण गर्न लगाउने होस् वा उहाँको व्यवस्था पालन गर्न लगाउने कुरा होस्, मानिस पतन भएर शैतानको आराधना गर्ने नहोस् र शैतानले उसलाई हानि नगरोस् भन्‍ने नै परमेश्‍वरको लक्ष्य हो; यो अत्यन्तै आधारभूत कुरा हो, र सबैभन्दा सुरुमा यही कुरा नै गरिएको थियो। सबैभन्दा सुरुमा, जब मानिसले परमेश्‍वरको इच्छा बुझेको थिएन, त्यो बेला परमेश्‍वरले केही सरल व्यवस्था र नियमहरू बनाउनुभयो र कल्पना गर्न सकिने सबै कुरा समावेश हुने नीतिनियमहरू बनाउनुभयो। यी नीतिनियमहरू सरल छन्, तैपनि तिनीहरूभित्र परमेश्‍वरको इच्छा समावेश छन्। परमेश्‍वरले मानवजातिलाई मूल्यवान् ठान्‍नुहुन्छ, स्‍नेह गर्नुहुन्छ र अत्यन्त धेरै प्रेम गर्नुहुन्छ। त्यसो भए के हामी परमेश्‍वरको हृदय पवित्र छ भनी भन्‍न सक्छौँ? के हामी उहाँको हृदय सफा छ भनी भन्‍न सक्छौँ? (सक्छौं।) के परमेश्‍वरका कुनै थप अभिप्रायहरू छन्? (छैनन्।) के यो उहाँको लक्ष्य सही र सकारात्मक छ? परमेश्‍वरको कामको सिलसिलामा, उहाँले बनाउनुभएका सबै नीतिनियमहरूले मानिसमा सकारात्मक प्रभाव पारेका छन्, मानिसलाई अगुवाइ गरिरहेका छन्। के परमेश्‍वरको मनमस्तिष्कमा कुनै स्वार्थी विचारहरू छन्? मानिसको सन्दर्भमा के परमेश्‍वरका अन्य कुनै थप लक्ष्यहरू छन्? के परमेश्‍वरले मानिसलाई कुनै किसिमले प्रयोग गर्न चाहनुहुन्छ? अलिकति पनि चाहनुहुन्‍न। परमेश्‍वरले जे भन्‍नुहुन्छ, त्यही गर्नुहुन्छ, र उहाँका वचन र कार्यहरू उहाँको हृदयमा भएका उहाँका विचारहरूसँग मिल्छन्। कुनै कलङ्कित उद्देश्य, कुनै स्वार्थी विचारहरू छैनन्। उहाँले गर्नुहुने कुनै कुरा पनि उहाँको आफ्नै निम्ति होइन; उहाँले गर्नुहुने सबै कुरा मानिसकै निम्ति गर्नुहुन्छ, कुनै पनि निजी उद्देश्यहरू छैनन्। उहाँसँग मानिसमाथिका योजना र अभिप्रायहरू भए तापनि, ती कुनै पनि उहाँको आफ्नै निम्ति होइनन्। उहाँले गर्नुहुने सबै कुरा नितान्त रूपमा मानवजातिको निम्ति, मानवजातिको सुरक्षाको निम्ति, मानवजातिलाई गलत बाटोमा लाग्‍नबाट बचाउनको निम्ति छन्। के उहाँको यो हृदय अनमोल छैन र? के तैँले शैतानमा यस्तो अमूल्य हृदयको सानोभन्दा सानो अंशसमेत देख्‍न सक्छस् र? तैँले शैतानमा यसको सानो अंश पनि देख्‍न सक्दैनस्, तैँले यो विलकुलै देख्‍न सक्दैनस्। परमेश्‍वरले गर्नुहुने सबै कुरा स्वाभाविक रूपमा नै प्रकट हुन्छ। अब हामी परमेश्‍वरले काम गर्नुहुने तरिकालाई हेरौँ; उहाँले आफ्नो काम कसरी गर्नुहुन्छ? के उहाँले यी नीतिनियमहरू र उहाँका वचनहरूलाई पट्टी मन्त्रले[क] टाउकोको पट्टी कसेझैँ हरेक मानिसको टाउकोमा कसेर हरेक मानवजातिमाथि थोपरिदिनुहुन्छ र? के उहाँले यस किसिमले काम गर्नुहुन्छ? (गर्नुहुन्‍न।) त्यसो भए उहाँले आफ्नो काम कसरी गर्नुहुन्छ त? के उहाँले धम्की दिनुहुन्छ? उहाँ तिमीहरूसँग बोल्‍नुहुँदा के उहाँले घुमाउरो कुरा गर्नुहुन्छ? (गर्नुहुन्‍न।) जब तैँले सत्यतालाई बुझ्दैनस्, परमेश्‍वरले तँलाई कसरी अगुवाइ गर्नुहुन्छ? उहाँले तँमा प्रकाश देखाउनुहुन्छ, यसो गर्नु सत्यतासँग मेल खाँदैन भनी स्पष्ट पारिदिनुहुन्छ, र तैँले के गर्नुपर्छ भनी बताइदिनुहुन्छ। परमेश्‍वरले काम गर्नुहुने यी तरिकाहरूबाट, परमेश्‍वरसँग तेरो कस्तो किसिमको सम्बन्ध छ भन्‍ने तँलाई लाग्छ? के परमेश्‍वर तेरो पहुँचभन्दा बाहिर हुनुहुन्छ भन्‍ने तँलाई लाग्छ? (होइन।) परमेश्‍वरले काम गर्नुहुने तरिका देखिसकेपछि तँलाई कस्तो महसुस हुन्छ? परमेश्‍वरका वचनहरू विशेष रूपमा वास्तविक छन्, र मानिससँगको उहाँको सम्बन्ध विशेष रूपमा सामान्य छ। परमेश्‍वर तेरो अत्यन्तै नजिक हुनुहुन्छ; परमेश्‍वर र तेरो बीचमा कुनै दूरी छैन। जब परमेश्‍वरले तँलाई अगुवाइ गर्नुहुन्छ, जब उहाँले तेरो भरणपोषण गर्नुहुन्छ, तँलाई मद्दत र समर्थन गर्नुहुन्छ, तब तैँले परमेश्‍वर कति प्रिय हुनुहुन्छ भन्‍ने तथ्यका साथै उहाँले उत्प्रेरित गर्नुहुने भक्ति महसुस गर्छस्; तैँले उहाँ कति प्रेमिलो हुनुहुन्छ भनी महसुस गर्छस्, तैँले उहाँको न्यानोपनलाई महसुस गर्छस्। तर जब परमेश्‍वरले तेरो भ्रष्‍टताको निन्दा गर्नुहुन्छ, वा तैँले उहाँको विरोध गरेको कारण उहाँले तेरो न्याय गर्नुहुन्छ र तँलाई अनुशासनमा राख्‍नुहुन्छ, तब उहाँले कुन विधि प्रयोग गर्नुहुन्छ? के उहाँले तँलाई वचनहरूद्वारा निन्दा गर्नुहुन्छ? के उहाँले तँलाई तेरो वातावरणद्वारा र मानिस, मामिला, र वस्तुहरूद्वारा अनुशासनमा राख्‍नुहुन्छ? (हो।) परमेश्‍वरले तँलाई कुन हदसम्म अनुशासनमा राख्‍नुहुन्छ? के परमेश्‍वरले मानिसलाई शैतानले हानि पुर्‍याउने हदसम्म नै अनुशासनमा राख्‍नुहुन्छ? (होइन। परमेश्‍वरले मानिसलाई उसले सहन सक्‍ने हदसम्म मात्र अनुशासनमा राख्‍नुहुन्छ।) परमेश्‍वरले भद्र, कोमल, प्रेमिलो र वास्ता गर्ने तरिकाले काम गर्नुहुन्छ, जुन असाधारण रूपमा होसियार र उचित तरिका हो। उहाँको तरिकाले तँमा तीव्र भावनात्मक प्रतिक्रिया उत्पन्‍न गर्दैन, जस्तै: “परमेश्‍वरले मलाई यसो गर्न दिनुपर्छ” वा “परमेश्‍वरले मलाई त्यसो गर्न दिनुपर्छ।” परमेश्‍वरले तँलाई त्यस्तो मानसिक वा भावनात्मक तीव्रता दिनुहुन्‍न जसले गर्दा परिस्थिति असहनीय होस्। यस्तै हुन्छ, होइन र? जब तैँले परमेश्‍वरको न्याय र सजायका वचनहरूलाई स्वीकार गर्छस् तब तैँले कस्तो महसुस गर्छस्? जब तैँले परमेश्‍वरको अख्तियार र शक्तिको अनुभूति गर्छस्, तब तैँले कस्तो महसुस गर्छस्? के तैँले परमेश्‍वर ईश्‍वरीय र उल्लङ्‍घन गर्न नसकिने हुनुहुन्छ भन्‍ने महसुस गर्छस्? के यस्ता समयहरूमा तँ र परमेश्‍वरबीचमा दूरी भएको महसुस गर्छस्? के तैँले परमेश्‍वरको भय महसुस गर्छस्? होइन—बरु तैँले परमेश्‍वरप्रति भयपूर्ण आदर महसुस गर्छस्। के परमेश्‍वरको कामको कारण मानिसहरूले यी सबै कुराहरू महसुस गर्दैनन् र? यदि काम गर्ने शैतान भएको भए के तिनीहरूले यी सबै कुराहरू महसुस गर्नेथिए? बिलकुलै गर्नेथिएनन्। परमेश्‍वरले मानिसलाई निरन्तर भरणपोषण गर्न, मानिसलाई मद्दत गर्न आफ्ना वचनहरू, आफ्नो सत्यता र आफ्नो जीवन प्रयोग गर्नुहुन्छ। जब मानिस कमजोर हुन्छ, जब मानिसले निराश महसुस गर्छ, तब परमेश्‍वर निश्‍चय नै कठोर भएर बोल्‍नुहुन्‍न: “निराश महसुस नगर्। निराश हुनुपर्ने के कुरा छ र? किन तँ कमजोर छस्? कमजोर हुनुपर्ने कारण के छ र? तँ सधैँ यति कमजोर हुन्छस्, र तँ सधैँ नकारात्मक हुन्‍छस्। जीवित हुनुको अर्थ के छ र? जा गएर मर् र त्यसलाई सिध्याइदे!” के परमेश्‍वरले यस किसिमले काम गर्नुहुन्छ? (गर्नुहुन्‍न।) के परमेश्‍वरसँग यस किसिमले काम गर्ने अख्तियार छ? हो, उहाँसँग छ। तैपनि परमेश्‍वरले यस किसिमले काम गर्नुहुन्‍न। उहाँको सार, उहाँको पवित्रताको सारको कारण परमेश्‍वरले यस किसिमले काम गर्नुहुन्‍न। मानिसको निम्ति उहाँको प्रेम, उहाँले मानिसलाई बहुमूल्य ठान्‍नुहुने, र स्‍नेह गर्नुहुने कुरालाई एक वा दुई वाक्यहरूमा स्पष्‍टसँग व्यक्त गर्न सकिँदैन। यो मानिसको घमण्डले ल्याएको कुरा होइन, यो त परमेश्‍वरले वास्तविक अभ्यासद्वारा ल्याउनुहुने कुरा हो; यो परमेश्‍वरको सारको प्रकाश हो। परमेश्‍वरले काम गर्नुहुने यी सबै तरिकाहरूबाट के मानिसले परमेश्‍वरको पवित्रतालाई देख्‍न सक्छ? परमेश्‍वरका असल अभिप्रायहरूलगायत, परमेश्‍वरले मानिसमाथि ल्याउन चाहनुभएका प्रभावहरूलगायत, मानिसमा काम गर्न परमेश्‍वरले अपनाउनुहुने विभिन्‍न तरिकाहरूलगायत, उहाँले गर्नुहुने प्रकारको कामलगायत, उहाँ मानिसले जे बुझेको चाहनुहुन्छ सोलगायत परमेश्‍वरले काम गर्नुहुने यी सबै तौरतरिकाहरूमा—परमेश्‍वरका यी असल अभिप्रायहरूमा तैँले कुनै दुष्‍टता वा छल देखेको छस्? (छैन।) त्यसो भए, परमेश्‍वरले गर्नुहुने सबै कुरामा, परमेश्‍वरले भन्‍नुहुने सबै कुरामा, उहाँले आफ्नो हृदयमा विचार गर्नुहुने सबै कुरामा, साथै उहाँले प्रकट गर्नुहुने उहाँका सबै सारहरूमा—के हामी परमेश्‍वरलाई पवित्र भन्‍न सक्छौँ? (सक्छौं।) के कुनै मानिसले संसारमा वा आफैभित्र यो पवित्रतालाई देखेको छ? के परमेश्‍वरबाहेक तैँले यसलाई कुनै मानवजाति वा शैतानमा देखेको छस्? (छैन।) यहाँसम्मको हाम्रो छलफलको आधारमा के हामी परमेश्‍वरलाई अद्वितीय, पवित्र परमेश्‍वर स्‍वयम्‌ भनी भन्‍न सक्छौँ? (सक्छौँ।) परमेश्‍वरका वचनहरू, मानिसमा परमेश्‍वरले काम गर्नुहुने तरिका, मानिसलाई परमेश्‍वरले बताउनुहुने कुरा, मानिसलाई परमेश्‍वरले स्मरण गराउनुहुने कुरा, उहाँले दिनुहुने परामर्श र उत्साहलगायत परमेश्‍वरले मानिसलाई दिनुहुने सबै कुरा—यो सबै एउटै सारबाट उत्पन्‍न हुन्छ र त्यो हो परमेश्‍वरको पवित्रता। यदि यस किसिमको पवित्र परमेश्‍वर नहुनुभएको भए, कुनै पनि मानिसले उहाँले गर्नुहुने काम गर्न उहाँको स्थान लिन सक्‍नेथिएन। यदि परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण रूपमा शैतानको हातमा सुम्पिदिनुभएको भए, आज तिमीहरू सबै जना कस्तो अवस्थामा हुनेथियौ भनी के तिमीहरूले कहिल्यै विचार गरेका छौ? के तिमीहरू सबै जना यहाँ पूर्ण र सुरक्षित भएर बसिरहेका हुन्थ्यौ? के तिमीहरूले पनि यसो भन्थ्यौ: “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ”? के तिमीहरू दुस्‍साहस, निर्धक्‍क र गर्वसाथ परमेश्‍वरको अगाडि विनालाज यस्ता वचनहरू बोल्‍न सक्थ्यौ? कुनै शङ्का छैन, तिमीहरूले अवश्य नै यसो गर्नेथियौ! मानिसप्रतिको शैतानको मनोवृत्तिले मानिसलाई शैतानको प्रकृति र सार परमेश्‍वरको भन्दा पूर्ण रूपमा फरक छ भनी देख्‍न मद्दत गर्छ। शैतानको सारमा त्यस्तो के कुरा छ, जुन परमेश्‍वरको पवित्रताभन्दा विपरीत हुन्छ? (शैतानको दुष्‍टता।) शैतानको दुष्‍ट प्रकृति परमेश्‍वरको पवित्रताको विपरीत छ। अधिकांश मानिसहरूले परमेश्‍वरको प्रकाश र परमेश्‍वरको पवित्रताको यो सारलाई पहिचान गर्न नसक्‍नुको कारण के हो भने, तिनीहरू शैतानको राज्यक्षेत्रमा, शैतानको भ्रष्‍टता र शैतानको घेराबन्दीमा जिउँछन्। तिनीहरूलाई पवित्रता भनेको के हो वा पवित्रताको परिभाषा कसरी दिने भन्‍ने थाहा छैन। तैँले परमेश्‍वरको पवित्रतालाई बुझे तापनि, तैँले यो परमेश्‍वरको पवित्रता हो भनी निश्‍चित रूपमा परिभाषित गर्न सक्दैनस्। यो परमेश्‍वरको पवित्रता सम्बन्धमा मानिसको ज्ञानमा निहित रहेको असमानता हो।

मानिसमा हुने शैतानको कामलाई के कुराले चित्रण गर्छ? तिमीहरूले यो कुरा तिमीहरूका आफ्नै अनुभवहरूमार्फत सिक्‍न सक्‍नुपर्छ—यो शैतानको ठेट विशेषता हो, त्यसले बारम्बार गर्ने काम र त्यसले प्रत्येक मानिसमा गर्न प्रयास गर्ने काम हो। सायद तिमीहरूले यो विशेषता देख्‍न सक्दैनौ, त्यसैले तिमीहरूले शैतान डरलाग्दो र घृणास्पद छ भनी महसुस गर्दैनौ। यो विशेषता के हो भन्‍ने कसैलाई थाहा छ? (त्यसले मानिसलाई लोभ्याउँछ, प्रलोभन देखाउँछ र परीक्षा गर्छ।) त्यो सही कुरा हो; यो विशेषता प्रकट हुने विभिन्‍न तरिकाहरू यिनै हुन्। शैतानले मानिसलाई भ्रममा पार्ने, आक्रमण गर्ने र दोष लगाउने पनि गर्छ—यी सबै त्यसका प्रकटीकरणहरू हुन्। के अरू पनि छन्? (त्यसले झूट बोल्छ।) शैतानलाई ठग्‍न र झूट बोल्‍न स्वाभाविक रूपमा नै आउँछ। त्यसले यी कुराहरू निरन्तर गरिरहन्छ। त्यसै गरी, हाकिमी पारा देखाउने, उक्साउने, जबरजस्ती काम गराउने, अह्राउखटाउ गर्ने, जबरजस्ती अरूको मालमत्ता खोस्‍नेजस्ता कुराहरू पनि छन्। अब म तिमीहरूलाई केही कुरा वर्णन गर्नेछु, जसले अन्त्यमा तिमीहरूको रौँ ठाडो बनाइदिनेछ तर तिमीहरूलाई तर्साउनलाई मैले यो गरिरहेको छैन। परमेश्‍वरले मानिसमा काम गर्नुहुन्छ र उहाँले मानिसलाई आफ्नो मनोवृत्ति र आफ्नो हृदयमा प्रिय ठान्‍नुहुन्छ। तर अर्कोतर्फ, शैतानले भने मानिसलाई कति पनि प्रिय ठान्दैन, र त्यसले आफ्नो पूरै समय मानिसलाई कसरी हानि पुर्‍याउने भनेर मात्रै सोचिरहन्छ। के त्यसले यस्तै गर्दैन त? जब त्यसले मानिसलाई हानि पुर्‍याउने विषयमा सोचिरहन्छ, के त्यसको मन आतुरीमा हुन्छ? (हुन्छ।) त्यसैले मानिसमा शैतानले गर्ने कामको बारेमा विचार गरिरहँदा, मसँग शैतानको द्वेषपूर्ण र दुष्‍ट प्रकृतिलाई राम्ररी वर्णन गर्ने दुई वटा वाक्यांशहरू छन्, यसले शैतानको घृणितपनलाई बुझ्‍न तिमीहरूलाई साँच्‍चिकै सहयोग गर्न सक्छ: शैतान मानिसको नजिक आउँदा त्यसले सधैँ हरेक मानिसमा जबरजस्ती बास गर्न र उसलाई वशमा राख्‍न चाहन्छ, यति हदसम्‍म कि त्यसले मानिसलाई पूर्ण नियन्त्रण गर्न र ठूलो हानि पुर्‍याउन सकोस्, ताकि त्यसले आफ्नो लक्ष्य हासिल गर्न र आफ्नो दुष्‍ट अभिलाषा पूरा गर्न सकोस्। “जबरजस्ती बास गर्नु” भनेको के हो? के यो तेरो सहमतिमा हुने कुरा हो कि तेरो सहमतिविना हुने कुरा हो? के यो तँलाई थाहा हुने गरी हुन्छ कि तँलाई थाहा नहुने गरी हुन्छ? जबाफचाहिँ के हो भने यो तँलाई पूर्ण रूपमा थाहै नहुने गरी हुन्छ! यो तँलाई थाहा नभएको परिस्थितिमा हुन्छ, सायद त्यसले तँलाई केही नभनीकन वा केही नगरीकन, कुनै आधारविना, कुनै सन्दर्भविना हुन्छ—शैतान तेरो वरिपरि घुमिरहन्छ, तँलाई घेरिरहन्छ। त्यसले शोषण गर्ने अवसर खोजिरहन्छ र त्यसपछि त्यसले तँमा जबरजस्ती बास गर्छ, तँलाई आफ्नो बनाउँछ, तँलाई पूर्ण रूपमा अधीन गर्ने आफ्नो उद्देश्य हासिल गर्छ र तँमाथि पीडापूर्ण हानि पुर्‍याउँछ। मानिसलाई परमेश्‍वरबाट खोसी टाढा लैजान संघर्ष गर्ने क्रममा शैतानको सबैभन्दा ठेट अभिप्राय र आचरण यही हो। जब तिमीहरूले यो कुरा सुन्छौ तब तिमीहरूलाई कस्तो महसुस हुन्छ? (हामी हृदयमा त्रसित र भयभीत हुन्छौँ।) के तिमीहरू घृणाको महसुस गर्छौ? (गर्छौं।) यो घृणाको महसुस गर्ने क्रममा, के तिमीहरूलाई शैतान लाज नभएको हो भन्‍ने लाग्छ? जब शैतान लाज नभएको हो भनी तिमीहरू सोच्छौ, तब तिमीहरूलाई के आफ्‍ना वरपरका त्यस्ता मानिसहरूप्रति घिन लाग्छ जो सधैँ तिमीहरूलाई नियन्त्रण गर्न चाहन्छन्, जो आफ्नो सामाजिक स्थिति र स्वार्थहरूको दुष्‍ट अभिलाषा बोकिहिँड्छन्? (हो।) त्यसो भए, शैतानले मानिसलाई जबरजस्ती आफ्नो बनाउन र जबरजस्ती मानिसमा बास गर्न कस्ता विधिहरू अपनाउँछ त? के तिमीहरू यस विषयमा स्पष्‍ट छौ त? जब तिमीहरूले “जबरजस्ती बास गर्ने” र “आफ्नो बनाउने” यी दुई पदावलीहरू सुन्छौ, तब तिमीहरूले घृणा महसुस गर्छौ र यी पदावलीहरूको दुष्‍टताको भाव अनुभूति गर्न सक्छौ। शैतानले तेरो सहमति वा तेरो जानकारीविना नै तँलाई आफ्नो बनाउँछ, तँमा जबरजस्ती बास गर्छ, र तँलाई भ्रष्‍ट बनाउँछ। तैँले आफ्नो हृदयमा के कुरा अनुभूति गर्न सक्छस्? के तँ घृणा र तिरस्कारको अनुभूति गर्छस्? (हो।) जब शैतानका यस्ता कार्यहरूप्रति तँलाई घृणा र तिरस्कारको महसुस हुन्छ, तब तँमा परमेश्‍वरप्रति कस्तो अनुभूति हुन्छ? (कृतज्ञता।) तँलाई मुक्ति दिनुभएकोमा परमेश्‍वरप्रति कृतज्ञता। त्यसो भए अब, यसै क्षणमा, के तँ आफूसँग भएका सबै थोक र तँ आफू जो होस् त्यो सबैलाई परमेश्‍वरले पूर्ण स्वामित्व र नियन्त्रणमा लिनुभएको चाहन्छस्? (चाहन्छु।) तैँले यस्तो जबाफ कुन सन्दर्भमा दिन्छस्? के शैतानले तँलाई जबरजस्ती अधीनमा पार्छ र आफ्नो बनाउँछ भनी डराएर नै तैँले “हुन्छ” भन्छस्? (हो।) तँसँग यस्तो किसिमको मानसिकता हुनु हुँदैन; यो सही कुरा होइन। तँ नडरा, किनकि परमेश्‍वर यहाँ हुनुहुन्छ। डराउनुपर्ने कुनै कुरा छैन। तैँले शैतानको दुष्‍ट सारलाई बुझिसकेपछि, तँमा परमेश्‍वरको प्रेम, परमेश्‍वरको असल अभिप्राय, परमेश्‍वरको करुणा, मानिसप्रति उहाँको सहिष्णुता, उहाँको धर्मी स्वभावका विषयमा सही बुझाइ वा गहन वास्ता हुनुपर्छ। शैतान अत्यन्त घृणित छ, तैपनि यदि यसले अझै पनि परमेश्‍वरप्रतिको तेरो प्रेमलाई र परमेश्‍वरमाथिको तेरो निर्भरता र भरोसालाई उत्प्रेरित गर्दैन भने तँ कस्तो किसिमको व्यक्ति होस्? के तँ त्यसरी आफूलाई शैतानद्वारा हानि पुर्‍याउन दिन इच्छुक छस्? शैतानको दुष्‍टता र घृणितपनलाई हेरिसकेपछि, हामी फर्केर परमेश्‍वरमा नजर लगाउँछौं। के परमेश्‍वरसम्बन्धी तेरो ज्ञानमा अहिले कुनै परिवर्तन आएको छ? परमेश्‍वर पवित्र हुनुहुन्छ भनी के हामी भन्‍न सक्छौँ? परमेश्‍वरमा कुनै दोष छैन भनी के हामी भन्‍न सक्छौँ? “परमेश्‍वर अद्वितीय पवित्रता हुनुहुन्छ”—के परमेश्‍वर यो पदवीअनुसार जिउन सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) अनि, मानिससँग भएको परमेश्‍वरसम्बन्धी यस बुझाइबमोजिम जिउन सक्‍ने व्यक्ति, के यो संसार र यावत् थोकमाझ केवल परमेश्‍वर मात्र हुनुहुन्‍न र? अरू पनि छन् त? (छैनन्।) त्यसो भए, ठ्याक्‍कैसँग भन्दा, परमेश्‍वरले मानिसलाई के कुरा दिनुहुन्छ त? के उहाँले तँलाई थाहा नहुने गरी अलिकति मात्र वास्ता, सरोकार र चासो दिनुहुन्छ? परमेश्‍वरले मानिसलाई के कुरा दिनुभएको छ? परमेश्‍वरले मानिसलाई जीवन दिनुभएको छ, मानिसलाई सबै थोक दिनुभएको छ, र मानिसबाट कुनै कुराको अपेक्षा नगरीकन, कुनै पनि गोप्य मनसाय नराखीकन निसर्त रूपमा यी सबै कुराहरू मानिसलाई दिनुभएको छ। उहाँले मानिसलाई अगुवाइ गर्न र मार्गदर्शन दिन सत्यता, उहाँका वचनहरू र उहाँको जीवन प्रयोग गर्नुहुन्छ, मानिसलाई शैतानको हानिबाट टाढा र शैतानको परीक्षा र बहकाउबाट टाढा लैजानुहुन्छ, र यसरी मानिसलाई शैतानको दुष्‍ट प्रकृति र घृणित मुहार देख्‍ने अवसर दिनुहुन्छ। के मानिसको निम्ति परमेश्‍वरको प्रेम र वास्ता साँचो छ? के यो तिमीहरू प्रत्येकले अनुभव गर्न सक्‍ने कुरा हो? (हो।)

अहिलेसम्मको तिमीहरूको जीवनलाई फर्केर हेर; तेरो विश्‍वासको सबै वर्षहरूमा परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूलाई नियालेर हेर्। यसले तँमा पैदा गर्ने भावनाहरू गहन भए पनि सतही भए पनि, के यो तेरो निम्ति सबैभन्दा आवश्यक कुरा होइन र? के तैँले प्राप्त गर्नुपर्ने सबैभन्दा आवश्यक कुरा यही थिएन र? (यही थियो।) के यो सत्य होइन र? के यो जीवन होइन र? (हो।) के परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुभएपछि उहाँले तँलाई दिनुभएका सबै कुराहरूको सट्टामा तँबाट कुनै कुरा माग्‍नुभएको छ? (छैन।) त्यसो भए परमेश्‍वरको उद्देश्य के हो त? परमेश्‍वरले किन यसो गर्नुहुन्छ? के परमेश्‍वरले तँमा जबरजस्ती बास गर्ने उद्देश्य राख्‍नुभएको छ? (छैन।) के परमेश्‍वर मानिसको हृदयभित्र सिंहासन आरोहण गर्न चाहनुहुन्छ? (हो।) त्यसो भए, परमेश्‍वरले आफ्नो सिंहासन आरोहण गर्ने र शैतानले बलपूर्वक तँमा बास गर्ने कुराको बीचमा के भिन्‍नता छ? परमेश्‍वर मानिसको हृदय प्राप्‍त गर्न चाहनुहुन्छ, उहाँ मानिसको हृदयमा बास गर्न चाहनुहुन्छ—यसको अर्थ के हो त? के यसको अर्थ परमेश्‍वरले मानिसलाई आफ्नो कठपुतली, आफ्नो यन्त्र बनाउन चाहनुहुन्छ भन्‍ने हो? (होइन।) त्यसो भए परमेश्‍वरको उद्देश्य के हो त? के परमेश्‍वरले मानिसको हृदयमा बास गर्न चाहनुहुने र शैतानले बलपूर्वक मानिसमा बास गर्ने र उसलाई आफ्नो बनाउने कुराको बीचमा कुनै भिन्‍नता छ? (छ।) के भिन्‍नता छ? के तँ मलाई स्पष्‍टसँग बताउन सक्छस्? (शैतानले जबरजस्ती गर्छ भने परमेश्‍वरले मानिसलाई स्वेच्छामा छोड्नुहुन्छ।) के भिन्‍नता यही हो त? परमेश्‍वरले तेरो हृदयलाई के गर्न प्रयोग गर्नुहुन्छ? परमेश्‍वर तँमा बास गर्नुको प्रयोजन के हो? “परमेश्‍वर मानिसको हृदयमा बास गर्नुहुन्छ” भन्‍ने कुरालाई तिमीहरूले आफ्नो हृदयमा कसरी बुझ्छौ? परमेश्‍वरको विषयमा हामीले जसरी कुराकानी गर्छौँ त्यसमा हामी निष्पक्ष हुनैपर्छ, अन्यथा मानिसहरूले सधैँ गलत रूपमा मात्र बुझ्‍नेछन् र यस्तो विचार गर्नेछन्: “परमेश्‍वर सधैँ ममा बास गर्न चाहनुहुन्छ। उहाँ केको लागि ममा बास गर्न चाहनुहुन्छ? म आफूमा कोही बास गरेको चाहँदिनँ, म आफै मेरो मालिक बन्‍न चाहन्छु। तपाईं भन्‍नुहुन्छ, शैतान मानिसहरूमा बास गर्छ तर परमेश्‍वर पनि मानिसहरूमा बास गर्नुहुन्छ। के यो उस्तै कुरा होइन र? कोही पनि ममा बास गरेको म चाहँदिनँ। म, म आफै रहन चाहन्छु!” यहाँ के कुरा फरक छ? यसको बारेमा केही विचार गर। म तिमीहरूलाई सोध्छु, के “परमेश्‍वर मानिसमा बास गर्नुहुन्छ” भन्‍ने वाक्य खोक्रो वाक्यांश हो? के परमेश्‍वर मानिसमा बास गर्नुहुन्छ भन्‍नुको अर्थ उहाँ तेरो हृदयमा बास गर्नुहुन्छ र तेरो हरेक वचन र चाललाई नियन्त्रण गर्नुहुन्छ भन्‍ने हो? यदि उहाँले तँलाई बस् भन्‍नुहुन्छ भने के तँ खडा हुने आँट गर्दैनस् र? यदि उहाँले तँलाई पूर्वतिर जा भन्‍नुहुन्छ भने के तँ पश्‍चिमतिर जाने आँट गर्दैनस् र? के “बास” ले यस्तै भाव बुझाउँछ त? (होइन, यस्तो बुझाउँदैन। परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यसअनुसार मानिस जिएको उहाँ चाहनुहुन्छ।) परमेश्‍वरले मानिसको व्यवस्थापन गर्नुभएका यी सारा वर्षहरूभरि, अहिलेको यो अन्तिम चरणसम्म मानिसमा उहाँले गर्नुभएका सारा काममा, उहाँले बोल्‍नुभएका सबै वचनहरूले मानिसमा कस्तो प्रभाव हासिल गरून् भन्‍ने अभिप्राय राखिएको छ? के यो मानिस परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसअनुसार जियोस् भन्‍ने हो? “परमेश्‍वरले मानिसको हृदयमा बास गर्नुहुन्छ” भन्‍ने वाक्यको शाब्दिक अर्थलाई हेर्दा, परमेश्‍वरले मानिसको हृदय लिनुहुन्छ र त्यसमा बास गर्नुहुन्छ र उहाँ बाहिर निस्कनुहुन्‍न जस्तो देखिन्छ; यस्तो लाग्छ, उहाँ मानिसको हृदयको मालिक बन्‍नुहुन्छ र उहाँले आफ्‍नो इच्छामा मानिसको हृदयमा प्रभुत्व जमाउन र यसलाई आफू खुशी चलाउन सक्‍नुहुन्छ, ताकि परमेश्‍वरले मानिसलाई जे गर्न भन्‍नुहुन्छ, उसले त्यही गर्नुपर्छ। यस अर्थमा त, प्रत्येक व्यक्ति परमेश्‍वर बन्छ र उहाँको सार र स्वभाव हासिल गर्छ जस्तो देखिन्छ। त्यसैले यस सन्दर्भमा, के मानिसले पनि परमेश्‍वरका कार्यहरू गर्न सक्छ? के “बास गर्नु” लाई यस किसिमले परिभाषित गर्न सकिन्छ? (सकिँदैन।) त्यसो भए यो के हो त? म तिमीहरूलाई सोध्छु: परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै वचनहरू र सत्यता के परमेश्‍वरको सार अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकाश हो? (हो।) यो निश्‍चय नै साँचो हो। तर के परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै वचनहरू उहाँ स्वयम्‌ले अभ्यास गर्नु र उहाँमा निहित हुनु अत्यावश्‍यक छ त? यस विषयमा केही विचार गर। जब परमेश्‍वरले मानिसको न्याय गर्नुहुन्छ, किन उहाँले न्याय गर्नुहुन्छ? यी वचनहरू कसरी अस्तित्वमा हुन आए? उहाँले मानिसको न्याय गर्नुहुँदा बोल्‍नुहुने यी वचनहरूको विषयवस्तु के हुन्? यी के कुरामा आधारित छन्? के यी वचनहरू मानिसको भ्रष्‍ट स्वभावमा आधारित छन्? (हो।) के परमेश्‍वरले मानिसउपर गर्नुहुने न्यायले परमेश्‍वरको सारमा आधारित प्रभाव हासिल गरेको छ? (छ।) के परमेश्‍वरद्वारा मानिसमा बास” एउटा खोक्रो वाक्यांश हो? निश्‍चय नै होइन। त्यसो भए, किन परमेश्‍वरले मानिसलाई यी वचनहरू भन्‍नुहुन्छ? यी वचनहरू भन्‍नुमा उहाँको उद्देश्य के हो? के उहाँले यी वचनहरूलाई मानिसको जीवनको रूपमा काम गर्ने गरी प्रयोग गर्न चाहनुहुन्छ? (चाहनुहुन्छ।) परमेश्‍वरले यी वचनहरूमा बोल्‍नुभएको यो सत्यतालाई मानिसको जीवनको रूपमा काम गर्ने गरी प्रयोग गर्न चाहनुहुन्छ। जब मानिसले यो सत्यता र परमेश्‍वरको वचनको सबै कुरा ग्रहण गर्छ र तिनीहरूलाई आफ्नो जीवनको रूपमा रूपान्तरित गर्छ, के त्यसपछि मानिसले परमेश्‍वरको आज्ञापालन गर्न सक्छ? के त्यसपछि मानिसले परमेश्‍वरको भय मान्‍न सक्छ? के त्यसपछि मानिसले दुष्‍टताबाट अलग बस्‍न सक्छ? जब मानिस यो अवस्थामा पुग्‍छ, के त्यसपछि मानिसले परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थापनलाई पालन गर्न सक्छ? के त्यसपछि मानिस आफूलाई परमेश्‍वरको अख्तियारमा समर्पण गर्ने अवस्थामा हुन्छ? जब मानिसहरू अय्यूब वा पत्रुसजस्तै आफ्नो बाटोको अन्तिम बिन्दुमा पुग्छन्, जब तिनीहरूको जीवन परिपक्‍वतामा पुगेको मान्‍न सकिन्छ, जब तिनीहरूसँग परमेश्‍वरको साँचो बुझाइ हुन्छ—के शैतानले अझै पनि तिनीहरूलाई बहकाउन सक्छ? के शैतानले अझै पनि तिनीहरूमा बास गर्न सक्छ? के अझै पनि शैतानले तिनीहरूलाई जबरजस्ती आफ्नो बनाउन सक्छ? (सक्दैन।) त्यसो भए यो कस्तो किसिमको व्यक्ति हो त? के यो परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गरिसक्‍नुभएको व्यक्ति हो? (हो।) यो तहको अर्थमा, परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गरिसक्‍नुभएको व्यक्तिलाई तिमीहरू कसरी हेर्छौ? परमेश्‍वरको दृष्टिकोणबाट, यी परिस्थितिहरूमा, उहाँ यो व्यक्तिको हृदयमा अघिबाटै बास गर्नुभएको हुन्छ। तर यो व्यक्तिले कस्तो महसुस गर्छ? परमेश्‍वरका वचनहरू, परमेश्‍वरको अख्तियार, र परमेश्‍वरको मार्ग के यो मानिसभित्रको जीवन बन्छ? अनि के यो जीवनले मानिसको सम्पूर्ण अस्तित्वमा बास गर्छ? के उसले जिउने कुराहरू र उसको सार परमेश्‍वरलाई सन्‍तुष्‍ट बनाउन पर्याप्‍त बन्छन्? परमेश्‍वरको दृष्टिकोणबाट, के यो क्षणमा उहाँ मानिसको हृदयमा बास गर्नुभएको हुन्छ? (हुन्छ।) तिमीहरूले यो तहको अर्थलाई अहिले कसरी बुझ्छौ? के परमेश्‍वरका आत्मा तँमा बास गर्नुहुन्छ? (होइन। परमेश्‍वरको वचन हामीमा बास गर्नुहुन्छ।) परमेश्‍वरको मार्ग र वचन तेरो जीवन बनेको छ, र सत्यता तेरो जीवन बनेको छ। यो समयमा, मानिसले परमेश्‍वरबाट आएको जीवन प्राप्‍त गरेको हुन्छ, तर हामी यो जीवन परमेश्‍वरको जीवन हो भनी भन्‍न सक्दैनौं। अर्को शब्दमा, मानिसले परमेश्‍वरको वचनबाट प्राप्‍त गर्ने जीवनलाई हामी परमेश्‍वरको जीवन भन्‍न सक्दैनौं। त्यसैले, मानिसले परमेश्‍वरलाई जति लामो समयदेखि पछ्याएको भए तापनि, मानिसले परमेश्‍वरबाट जतिसुकै वचन प्राप्‍त गरेको भए तापनि मानिस कहिल्यै पनि परमेश्‍वर बन्‍न सक्दैन। परमेश्‍वरले एक दिन “म तेरो हृदयमा बास गर्छु, अब तैँले मेरो जीवन प्राप्‍त गर्छस्” भनेर भन्‍नुभए तापनि, के तँ त्यसपछि परमेश्‍वर भएको महसुस गर्छस् त? (गर्दिनँ।) त्यसो भए, तँ के बन्छस् त? के तँमा परमेश्‍वरप्रति पूर्ण आज्ञापालन हुनेछैन र? के तेरो हृदय परमेश्‍वरले तँलाई दिनुभएको जीवनले भरिपूर्ण भएको हुँदैन र? परमेश्‍वरले मानिसको हृदयमा बास गर्नुभएपछि के हुनेछ भन्‍ने कुराको यो सामान्य प्रकटीकरण हुनेछ। यथार्थ यही हो। त्यसलाई यो दृष्टिकोणबाट नियाल्दा, के मानिस परमेश्‍वर बन्‍न सक्छ त? जब मानिस परमेश्‍वरका सबै वचनहरूको वास्तविकताअनुसार जिउन सक्षम हुन्छ, र परमेश्‍वरको भय मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने व्यक्ति बन्छ, तब के मानिसमा परमेश्‍वरको जीवन सार र पवित्रता हुन सक्छ? बिलकुलै हुन सक्दैन। जे सुकै भए तापनि, यी सबै कुरा भनिसकेपछि र गरिसकेपछि पनि मानिस, मानिस नै हुन्छ। तँ सृष्‍टि गरिएको प्राणी होस्; जब तैँले परमेश्‍वरबाट परमेश्‍वरको वचन र परमेश्‍वरको मार्ग प्राप्‍त गरिसकेको हुन्छस्, तँमा परमेश्‍वरका वचनहरूबाट आउने जीवन मात्र हुन्छ, तँ परमेश्‍वरद्वारा प्रशंसा गरिने व्यक्ति बन्छस्, तर तँमा कहिल्यै परमेश्‍वरको जीवन सार हुँदैन, र तँमा परमेश्‍वरको पवित्रता हुने कुरा त झन् सोच्दै नसोचे हुन्छ।

अब हामीले भर्खरै छलफल गरेको विषयमा फर्कनेछौ। यो छलफलको अवधिमा, मैले तिमीहरूलाई प्रश्‍न सोधेँ—के अब्राहाम पवित्र हुन्? के अय्यूब पवित्र हुन्? (होइनन्।) यो “पवित्रता” ले परमेश्‍वरको सार र स्वभावको प्रतिनिधित्व गर्छ तर मानिसमा यी कुराको अत्यन्तै धेरै कमी हुन्छ। मानिससँग परमेश्‍वरको सार वा परमेश्‍वरको स्वभाव छैन। मानिसले परमेश्‍वरका वचनहरूको सबै कुरा अनुभव गरिसकेको र तिनीहरूको वास्तविकताद्वारा सुसज्‍जित भइसकेको भए तापनि मानिसले कहिल्यै पनि परमेश्‍वरको पवित्र सारलाई प्राप्‍त गर्न सक्दैन; मानिस, मानिस नै हो। तिमीहरू बुझ्छौ, हो? त्यसो भए, अब यो वाक्यांश: “परमेश्‍वरले मानिसको हृदयमा बास गर्नुहुन्छ” भन्‍नेबारेमा तिमीहरूको बुझाइ के छ? (यो परमेश्‍वरको वचन, परमेश्‍वरको शैली र उहाँको सत्यता मानिसको जीवन बन्छ भन्‍ने हो।) तिमीहरूले यी वचनहरू कण्ठस्थ गरेका छौ। म आशा गर्छु कि तिमीहरूसँग गहन बुझाइ हुनेछ। कतिपय मानिसहरूले सोध्‍न सक्छन्, “परमेश्‍वरका सन्देशबाहक र स्वर्गदूतहरू पवित्र छैनन् भनी किन भन्‍ने?” यो प्रश्‍नको बारेमा तिमीहरू के सोच्छौ? सायद तिमीहरूले यसबारेमा पहिले कहिल्यै विचार गरेका छैनौ होला। म एउटा सरल उदाहरण प्रयोग गर्नेछु: जब तैँले रोबोटलाई चालू गर्छस्, तब त्यसले नाच्‍ने र बोल्‍ने दुवै गर्न सक्छ, अनि त्यसले के भन्‍छ भनी तैँले बुझ्न सक्छस्। तैँले त्यसलाई सुन्दर र जीवन्त छ भन्‍न सक्छस्, तर त्यसले बुझ्‍न सक्‍नेछैन किनकि त्यससँग जीवन छैन। जब तैँले त्यसको ऊर्जाको स्रोतलाई बन्द गर्छस्, के त्यो अझै हलचल गर्न सक्छ? जब यो रोबोटलाई सक्रिय बनाइन्छ, तब तैँले त्यसलाई जीवन्त र सुन्दर देख्‍न सक्छस्। यो सारगत कुरा हो कि देखावटी हो भनेर तैँले त्यसको मूल्याङ्कन गर्छस्, तर चाहे जे सुकै होस्, तैँले त्यो हलचल गरिरहेको देख्छस्। तर जब तैँले त्यसको ऊर्जाको स्रोतलाई बन्द गर्छस्, तब के तैँले त्यसमा कुनै किसिमको व्यक्तित्व देख्छस्? के तैँले त्यसमा कुनै किसिमको सारतत्व देख्छस्? मैले भन्‍न खोजेको कुराको अर्थलाई के तैँले बुझ्छस्? अर्थात्, यो रोबोट हलचल गर्न सक्छ र रोकिन त सक्छ, तर तैँले त्यसमा कुनै किसिमको सारतत्व छ भनी कहिल्यै वर्णन गर्न सक्दैनस्। के यो यथार्थ होइन र? अब, हामी यसको बारेमा थप कुराकानी गर्नेछैनौं। तिमीहरूसँग अर्थको सामान्य बुझाइ यतिसम्म भए पर्याप्‍त हुन्छ। हामी हाम्रो सङ्गतिलाई यहीँ अन्त्य गरौँ। जयमसीह!

डिसेम्‍बर १७, २०१३

फूटनोट:

क. “पट्टी मन्त्र” एउटा मन्त्र हो जुन भिक्षु ताङ सन्जाङले ‘पश्‍चिमतर्फको यात्रा’ नामक चिनियाँ उपन्यासमा प्रयोग गरेका छन्। उनले सन वुकोङलाई नियन्त्रण गर्न यो मन्त्रको प्रयोग गर्छन्। यसको लागि उनले तिनको टाउकोवरिपरि एउटा धातुको पट्टी बाँधिदिन्छन्, तिनलाई त्यो पट्टीले गम्‍भीर रूपमा टाउको दुखाउँछ, अनि मन्त्र प्रयोग गरी तिनलाई नियन्त्रणमा ल्याउँछन्। यो कुनै व्यक्तिलाई बाँध्‍ने वस्तुको व्याख्या गर्ने एउटा उपमा बनेको छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्