परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरको अख्तियार (२) - भाग तीन

छैटौं महत्त्वपूर्ण मोड: मृत्यु

धेरै दौडधूप, धेरै निराशा र विफलताहरूपछि, धेरै आनन्द र शोक अनि उतारचढावपछि, बिर्सनै नसक्‍ने धेरै वर्षहरूपछि, ऋतुहरू आए-गएको हेरेपछि, पत्तै नपाई व्यक्तिले आफ्‍नो जीवनका महत्त्वपूर्ण मोडहरूलाई पार गरिसकेको हुन्छ, अनि एकै क्षणमा उसले आफैलाई जिन्दगीको गोधूलि वर्षहरूमा पुगिसकेको पाउँछ। व्यक्तिको शरीरभरि समयका छापहरू लागेका हुन्छन्: व्यक्ति त्यसउप्रान्त सीधा उभिन सक्दैन, उसको कालो कपाल सेतो भइसकेको हुन्छ, कुनै बेला चम्‍किलो र स्पष्ट देखिने आँखा अँध्यारो र धमिलो बन्छ, अनि नरम, कोमल छाला चाउरी पर्छ र त्यसमा दाग-धब्बा देखिन्छन्। व्यक्तिको श्रवण शक्ति कमजोर बन्छ, उसका दाँतहरू हल्‍लिन्छन् अनि झर्छन्, उसका प्रतिक्रिया सुस्त बन्छन्, उसका हलचल मन्द हुन्छन्…। यस विन्दुमा, व्यक्तिले आफ्‍नो जवानीका जोशिला वर्षहरूलाई बिदा गरेर आफ्‍नो जीवनको गोधूलि अर्थात वृद्ध अवस्थामा प्रवेश गर्नुपर्छ। यसपछि, हामीले मानव जीवनको अन्तिम विन्दु, मृत्युको सामना गर्नेछौं।

१. मानिसलाई जीवन र मृत्यु दिने शक्ति सृष्टिकर्तासँग मात्रै छ

व्यक्तिको जन्‍मलाई उसको अघिल्‍लो जीवनले निर्धारित गरेको हुन्छ भने व्यक्तिको मृत्युले त्यो नियतिलाई टुङ्ग्याउँछ। व्यक्तिको जन्‍म यो जीवनमा उसको मिसनको सुरुवात हो भने उसको मृत्युले त्यो मिसनको अन्त्यलाई जनाउँछ। व्यक्तिको जन्‍मको लागि सृष्टिकर्ताले निश्‍चित परिस्‍थितिहरू निर्धारित गर्नुभएको हुँदा, अवश्य नै उहाँले उसको मृत्युको लागि पनि निश्‍चित परिस्‍थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ। अर्को शब्‍दमा भन्दा, कोही पनि संयोगले जन्‍मँदैन, कसैको मृत्यु पनि अचानक आउँदैन, अनि जन्‍म र मृत्यु दुवै व्यक्तिको अघिल्‍लो जीवन र वर्तमान जीवनसँग अत्यावश्यक रूपमा जोडिएका हुन्छन्। व्यक्तिको जन्‍म र मृत्यु दुवैका परिस्‍थितिहरूलाई सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएको हुन्छ; व्यक्तिको नियति, व्यक्तिको प्रारब्ध यही हो। व्यक्तिको जन्‍म सम्‍बन्धी विभिन्‍न व्याख्याहरू रहेको हुनाले, यो कुरा पनि सही नै हो कि व्यक्तिको मृत्यु स्वाभाविक रूपमै यसका आफ्‍नै, विशेष परिस्‍थितिहरूमा हुनेछ। मानिसहरूका आयुहरू फरक-फरक हुनु अनि तिनीहरूको मृत्युको तरिका र समयहरू पनि फरक-फरक हुनुको कारण यही नै हो। कतिपय मानिसहरू बलियो र स्वस्थ हुन्छन्, तैपनि तिनीहरू जवानीमै मर्छन्; अरू चाहिँ कमजोर र बिरामी भइरहने हुन्छन्, तैपनि तिनीहरू वृद्ध अवस्थासम्‍म बाँच्‍छन् र शान्तिसाथ मरेर जान्छन्। केही मानिसहरू अस्वाभाविक कारणले मर्छन्, अरूहरू स्वाभाविक रूपमा मर्छन्। कतिपयले घरबाट टाढा हुँदा आफ्‍नो जीवन त्याग्छन्, अरूहरूले आफ्‍ना प्रियजन आफ्‍नै छेउ हुँदा आफ्‍ना आँखाहरू अन्तिम पटक चिम्‍लिन्छन्। कतिपय मानिसहरू मध्याकाशमा मर्छन्, अरूहरू पृथ्वीमुनि मर्छन्। कतिपय मानिसहरू पानीमा डुब्छन्, अरूहरू विपत्तिमा बेपत्ता हुन्छन्। कोही बिहान मर्छन्, अरूहरू राती। … हरेक व्यक्तिले प्रतिष्ठापूर्ण जन्‍म, शानदार जीवन, अनि वैभवपूर्ण मृत्यु चाहन्छ, तर कसैले पनि आफ्‍नो नियति नाघेर जान सक्दैन, कोही पनि सृष्टिकर्ताको सार्वभौमिकताबाट उम्‍कन सक्दैन। मानव नियति यही हो। मानिसले आफ्‍नो भविष्यको लागि अनेक किसिमका योजनाहरू बनाउन सक्छ, तर कसैले पनि आफ्‍नो जन्‍म र संसारबाट आफू बिदा हुने तरिका र समयको योजना बनाउन सक्दैन। मानिसहरूले मृत्युको आगमनबाट बच्‍न र त्यसलाई रोक्‍न सक्दो कोशिश गर्छन्, तैपनि तिनीहरूले थाहै नपाई मृत्यु चुपचाप नजिक आइपुग्छ। कसैले पनि आफू कहिले वा कहाँ बित्ने हो थाहा पाउँदैन, यो कहाँ हुनेछ भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। स्पष्ट रूपमा जीवन र मृत्युको शक्ति मानवजातिमा छैन, प्राकृतिक संसारको कुनै प्राणीमा छैन, तर सृष्टिकर्तामा छ, जसको अख्‍तियार अद्वितीय छ। मानवजातिको जीवन र मृत्यु प्राकृतिक संसारको कुनै नियमको उपज होइन, यो त सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको परिणाम हो।

२. सृष्टिकर्ताको सार्वभौमिकतालाई नचिन्‍ने व्यक्ति मृत्युको भयले त्रसित हुनेछ

जब व्यक्ति पाको उमेरमा प्रवेश गर्छ, उसले सामना गर्ने चुनौती भनेको परिवारको भरणपोषण गर्नु वा जीवनमा आफ्‍नो ठूलो लक्ष्‍यलाई पूरा गर्नु होइन, बरु आफ्‍नो जीवनलाई कसरी बिदा गर्नु, आफ्‍नो जीवनको अन्त्यलाई कसरी सामना गर्नु, आफ्‍नो जीवनको वाक्यमा कसरी पूर्ण विराम थप्‍नु हो। झट्ट हेर्दा, मृत्युलाई मानिसहरूले त्यति ध्यान दिँदैनन् भन्‍ने जस्तो देखिए तापनि, यो विषयलाई अन्वेषण गर्नबाट कोही पनि अछुतो रहँदैन, किनभने मृत्युपारि मानिसहरूले बुझ्‍न वा अनुभव गर्न नसक्‍ने, तिनीहरूलाई केही पनि थाहा नभएको अर्को संसार छ कि छैन भन्‍ने कसैलाई पनि थाहा हुँदैन। यसले मानिसहरूलाई मृत्युको सामना गर्नको लागि, तिनीहरूले जसरी सामना गर्नुपर्ने हो त्यसरी त्यसको सामना गर्नको लागि डराउने तुल्याउँछ; बरु, तिनीहरूले त यो विषयबाट पन्छिन सक्दो प्रयास गर्छन्। तसर्थ, यसले हरेक व्यक्तिलाई मृत्युको भयले भरिदिन्छ, अनि हरेक व्यक्तिको हृदयमा अटुट छाया हालिदिदै जीवनको यो अपरिहार्य तथ्यमा रहस्यको पर्दा थपिदिन्छ।

जब व्यक्तिले आफ्‍नो शरीर ह्रास हुँदै गइरहेको अनुभव गर्छ, जब उसले आफू मृत्युको नजिक आइरहेको अनुभव गर्छ, तब उसलाई शब्‍दले नै व्याख्या गर्न नसकिने डर, अस्पष्ट भयको आभास हुन्छ। मृत्युको डरले व्यक्तिलाई झन् एकलो र झन् विवश भएको अनुभव गराउँछ, र यस विन्दुमा, व्यक्तिले आफैलाई प्रश्‍न गर्छ: मानिस कहाँबाट आयो? मानिस कहाँ जाँदैछ? के मानिस आफ्‍नो जीवन आफ्‍नै अगाडि झलक्‍क बितेर गएको हेर्दै यसरी नै मर्छ? के मानिसको जीवनको समाप्तिलाई सङ्केत गर्ने अवधि यही हो? आखिरमा, जीवनको अर्थ के हो? आखिर, जीवनको मूल्य के नै छ र? के यो ख्याति र धनसँग सम्‍बन्धित छ? के यो परिवार हुर्काउनुसँग सम्‍बन्धित छ? … व्यक्तिले यी निश्‍चित प्रश्‍नहरूको बारेमा विचार गरे पनि नगरे पनि, व्यक्तिले मृत्युको बारेमा जति गहन रूपमा डर माने पनि, हरेक व्यक्तिको हृदयमा सधैँ नै रहस्यहरूलाई जाँच्‍ने इच्‍छा, जीवनको बोध नभएको भावना हुन्छ, र यी कुराहरूको साथमा, संसारको बारेमा भावुकता, बिदा भएर जाने अनिच्‍छा पनि मिसिएको हुन्छ। मानिसले केको डर मान्छ, मानिसले केको खोजी गर्छ, केको बारेमा ऊ भावुक हुन्छ र उसले के कुरालाई छोड्न अनिच्छुक हुन्छ त्यसलाई सायद कसैले पनि स्पष्ट रूपमा बुझ्‍न सक्दैन …

मानिसहरूले मृत्युको डर मान्‍ने हुनाले, तिनीहरूमा धेरै नै चिन्ता हुन्छ; तिनीहरूले मृत्युको डर मान्‍ने हुनाले, मानिसहरूले छोड्न नसक्‍ने कुराहरू धेरै नै हुन्छन्। जब तिनीहरू मर्न लागेका हुन्छन्, कतिपय मानिसहरू यो वा त्यो कुराको बारेमा फिक्री गर्छन्; चिन्ता गरेर तिनीहरू मृत्युले ल्याउने कष्ट र भयलाई मेट्न सक्छन् झैँ गरी, जीवितहरूसँग घनिष्ठता कायम गरेर, तिनीहरू मृत्युको साथमा आउने विवशता र एकलोपनबाट उम्कन सक्छन् झैँ गरी तिनीहरू आफ्‍ना छोराछोरी, आफ्‍ना प्रियजन, आफ्‍नो सम्पत्तिको बारेमा चिन्ता गर्छन्। मानव हृदयको अन्तस्करणमा अस्पष्ट डर, प्रियजनहरूबाट अलग हुने, आफ्‍नो नजरले नीलो आकाशलाई कहिल्यै देख्‍न नपाउने, भौतिक संसारमा फेरि कहिल्यै हेर्न नपाउने कुराको डर हुन्छ। प्रियजनहरूको साथमा रहने बानी परेको एकलो आत्मा आफ्‍नो पकडलाई छोडेर अज्ञात र अपरिचित संसारको लागि एकलै बिदा हुन अनिच्छुक हुन्छ।

३. ख्याति र सम्पत्तिको खोजीमा बिताएको जीवनले व्यक्तिलाई मृत्युको मुखमा बिलखबन्दमा पार्छ

आफ्‍नो नाममा केही पनि नलिई आएको एकलो आत्माले सृष्टिकर्ताको सार्वभौमिकता र पूर्वनिर्धारित गन्तव्यको कारण बाबुआमा र परिवार, मानवजातिको सदस्य बन्‍ने, मानव जीवन अनुभव गर्ने र संसारलाई देख्‍ने मौका पाउँछ। यो आत्माले सृष्टिकर्ताको सार्वभौमिकताको अनुभव गर्ने, सृष्टिकर्ताको सृष्टिको आश्‍चर्यपनलाई जान्‍ने, अनि, योभन्दा पनि बढी, सृष्टिकर्ताको अख्तियारलाई जान्‍ने र त्यसको अधीनमा रहने मौका पनि प्राप्त गर्छ। तैपनि धेरैजसो मानिसहरूले वास्तविक रूपमा यो दुर्लभ र क्षणिक मौकाको फाइदा उठाउँदैनन्। व्यक्तिले आफ्‍नो जीवनभरिको ऊर्जा नियतिको विरुद्ध युद्ध गर्दै रित्याउँछ, आफ्‍नो सम्पूर्ण समय परिवारको पालनपोषण गर्न अनि धन र मान-सम्‍मानको बीचमा यता र उता दौडधूप गर्नमा व्यस्त रहनको लागि नै खर्च गर्छ। मानिसहरूले बहुमूल्य ठान्‍ने कुराहरू परिवार, सम्पत्ति, र ख्याति हुन्, अनि तिनीहरूले यी कुराहरूलाई जीवनको सबैभन्दा बहुमूल्य कुराहरूका रूपमा लिन्छन्। सबै मानिसहरूले आफ्‍नो नियतिको बारेमा गुनासो गर्छन्, तैपनि तिनीहरूले जाँच गर्न र बुझ्‍न अत्यन्तै महत्त्वपूर्ण रहेका कुराहरू अर्थात मानिस किन जीवित छ, मानिस कसरी जिउनुपर्छ, जीवनको मूल्य र अर्थ के हो भन्नेजस्ता कुराहरूलाई आफ्‍नो मनबाट पछाडि धकेल्छन्। तिनीहरू जति धेरै बाँचे पनि, तिनीहरूको जवानी उडेर गइञ्‍जेल अनि तिनीहरूको कपाल फुलेर अनुहार चाउरी परुञ्‍जेल, तिनीहरूले आफ्‍नो सम्पूर्ण जीवन ख्याति र सम्पत्ति कमाउनको लागि दौडधूप गर्दै बिताउँछन्। ख्याति र सम्पत्तिले व्यक्तिलाई वृद्धावस्थाबाट बचाउन सक्दैन, पैसाले तिनीहरूको हृदयको रित्तोपनलाई भर्न सक्दैन, जन्‍म, वृद्धावस्था, बिरामी अनि मृत्युको नियमबाट कसैलाई पनि छूट छैन, नियतिले साँचिराखेको कुराबाट कोही पनि उम्‍कन सक्दैन भन्‍ने नदेखुञ्‍जेल तिनीहरू यसरी नै जिइरहन्छन्। जीवनको अन्तिम विन्दुको सामना गर्न बाध्य भएपछि मात्रै तिनीहरूले साँचो रूपमा बुझ्‍छन्: व्यक्तिसँग धेरै धन र व्यापक सम्पत्ति भए पनि, व्यक्ति सौभाग्यशाली र उच्‍च ओहोदाको भए पनि ऊ मृत्युबाट उम्‍कन सक्दैन, बरु उसले त उसको पहिलेकै स्थिति अर्थात् आफ्‍नो नाममा केही पनि नभएको एकलो आत्माको स्थितिमा फर्कनुपर्छ। जब मानिसहरूका बाबुआमा हुन्छन्, तब तिनीहरूले तिनीहरूका बाबुआमा सबै थोक हुन् भन्‍ने विश्‍वास गर्छन्; जब मानिसहरूसँग सम्पत्ति हुन्छ, तब तिनीहरू पैसा व्यक्तिको मुख्य आधार हो, व्यक्ति जिउने माध्यम यही हो भन्‍ने ठान्छन्; जब मानिसहरूसँग प्रतिष्ठा हुन्छ, तब तिनीहरूले यसलाई दह्रिलो गरी पक्रिराख्छन् अनि यसको खातिर आफ्‍नो ज्यान जोखिममा पार्छन्। यो संसारलाई छोडेर जान लागेपछि मात्रै मानिसहरूले महसुस गर्छन् कि तिनीहरूले जुन कुराहरूको खोजी गर्दै आफ्‍नो जीवन बिताए ती क्षणिक बादल बाहेक केही पनि होइनन्, तिनीहरूले ती कुनै पनि कुरालाई पक्रिरहन सक्दैनन्, तिनीहरूले ती कुनै पनि कुरालाई आफूसँग लैजान सक्दैनन्, तिनीहरूलाई तीमध्ये कुनै पनि कुराले मृत्युबाट छूट दिलाउन सक्दैन, तीमध्ये कुनै पनि कुराले एकलो आत्मालाई यसको फिर्ती यात्रामा साथ वा प्रेरणा दिन सक्दैन; सबैभन्दा मुख्य कुरा त, यीमध्ये कुनै पनि कुराले व्यक्तिलाई बचाउन र तिनीहरूलाई मृत्यु नाघेर जान सक्‍ने तुल्याउँदैन। व्यक्तिले भौतिक संसारमा प्राप्त गर्ने ख्याति र सम्पत्तिले अस्थायी सन्तुष्टि, क्षणिक सुख, सहजताको झूटो आभास दिन्छ; यस प्रक्रियामा, तिनको कारण व्यक्तिले आफ्‍नो बाटो गुमाउँछ। त्यसकारण, मानवजातिको विशाल समुद्रमा, हृदयको शान्ति, सान्त्वना, र सौहार्दताको तृष्‍णा गर्दै चहलपहल गर्ने क्रममा मानिसहरूलाई एकपछि अर्को छालले पुर्दै जान्छ। जब मानिसहरूले अहिलेसम्‍म आफूले बुझ्‍नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्‍नहरूको उत्तर पत्ता लगाउन बाँकी हुन्छ—तिनीहरू कहाँबाट आए, तिनीहरू किन जीवित छन्, तिनीहरू कहाँ जाँदैछन्, आदि इत्यादि—तब तिनीहरू ख्याति र सम्पत्तिको लोभमा पर्छन्, त्यसद्वारा तिनीहरू भ्रममा पर्छन् र त्यसैको नियन्त्रणमा हुन्छन्, अनि अपरिवर्तनीय रूपले हराउँछन्। समय उडेर जान्छ; आँखा झिमिक्‍क गर्दा वर्षौं बितेर गइसकेको हुन्छ, अनि व्यक्तिले महसुस गर्दासम्म उसले आफ्‍नो जीवनका उत्कृष्ट वर्षहरूलाई बिदा गरिसकेको हुन्छ। जब व्यक्ति संसारबाट बिदा हुन लागेको हुन्छ, तब क्रमिक रूपमा उसले संसारका हरेक कुरा उडेर गइरहेको, कुनै बेला आफ्ना रहेका सम्पत्तिहरू अबउप्रान्त पक्रिरहन नसक्ने महसुस गर्छ; त्यसपछि उसले कुनै पनि व्यक्ति आफ्‍नो नाममा केही पनि नलिई संसारमा भर्खरै आइपुगेको बिलौना गर्ने शिशु जस्तै हो भन्‍ने कुरालाई साँचो रूपमा बुझ्छ। यस विन्दुमा, व्यक्ति उसले जीवनमा के गरेको छ, जिउँदो हुनुको मूल्य के हो, यसको अर्थ के हो, व्यक्ति किन संसारमा आउँछ भन्‍ने कुरालाई गहन रूपमा सोच्‍न बाध्य हुन्छ। अनि यस विन्दुमा व्यक्तिले साँच्‍चै अर्को जीवन छ कि छैन, स्वर्ग साँच्‍चै अस्तित्वमा छ कि छैन, वास्तवमा दण्ड हुन्छ कि हुँदैन भन्‍ने कुरालाई अझै बढी जान्‍न चाहन्छ…। व्यक्ति मृत्युको जति नजिक पुग्छ, जीवन वास्तवमा के हो भन्‍ने बारेमा उसले त्यति नै बढी बुझ्न चाहन्छ; व्यक्ति मृत्युको जति नजिक पुग्छ, उसको हृदय त्यति नै रित्तो देखिन्छ; व्यक्ति मृत्युको जति नजिक पुग्छ, उसले त्यति नै बढी विवशताको महसुस गर्छ; अनि त्यसरी नै प्रतिदिन मृत्यु सम्‍बन्धी उसको डर पनि बढ्दै जान्छ। मानिसहरू मृत्युको नजिक जाने क्रममा तिनीहरूमा त्यस्ता भावनाहरू प्रकट हुनुका मुख्य दुई कारण छन्: पहिलो, तिनीहरूले तिनीहरूको जीवन निर्भर रहेको ख्याति र सम्पत्ति गुमाउन लागेका हुन्छन्, तिनीहरूले संसारमा देख्‍न सकिने सबै कुरालाई छोडेर जान लागेका हुन्छन्; अनि दोस्रो, तिनीहरूले अपरिचित, रहस्यमय, अज्ञात संसारलाई एकलै सामना गर्न लागेका हुन्छन्, जहाँ पाइला टेक्‍न तिनीहरू डराउँछन्, जहाँ तिनीहरूको कुनै पनि प्रियजन र सहयोगको आधार छैन। यी दुई कारणले गर्दा, मृत्युको सामना गर्ने हरेकले असहज महसुस गर्छन्, आत्तिन्छन् र विवशताको अनुभूति गर्छन्, जसको अनुभव तिनीहरूले पहिले कहिल्यै गरेका हुँदैनन्। कुनै व्यक्ति वास्तवमा यस विन्दुमा आइपुगेपछि मात्रै तिनीहरूले महसुस गर्छन् कि जब व्यक्तिले पृथ्वीमा पाइला टेक्छ, उसले बुझ्‍नुपर्ने पहिलो कुरा भनेको मानवजाति कहाँबाट आउँछ, मानिसहरू किन जीवित छन्, मानव नियति कसले नियन्त्रण गर्छ, र मानव अस्तित्वको लागि कसले भरणपोषण गर्छ र यसमाथि कसको सार्वभौमिकता छ भन्‍ने हो। यो ज्ञान नै व्यक्ति जिउने साँचो माध्यम, मानव अस्तित्वको लागि अत्यावश्यक आधार हो—आफ्‍नो परिवारको कसरी भरणपोषण गर्ने वा ख्याति र सम्पत्ति कसरी हासिल गर्ने सो सिक्‍नु होइन, भीडबाट कसरी माथि उठ्ने सो सिक्‍नु अनि जीवनमा अझै बढी सम्‍पन्‍न जीवन कसरी जिउने सो सिक्‍नु होइन, कसरी उत्कृष्ट बन्ने र अरूसँग सफलतापूर्वक प्रतिस्पर्धा गर्ने भन्‍ने बारेमा सिक्‍ने कुरा हुने त परै जाओस्। मानिसहरूले आफ्‍नो जीवनभर जुन बाँच्‍ने सीपहरू सिकेर पोख्त भएका हुन्छन् ती सीपहरूले प्रशस्त भौतिक सहजताहरू प्रदान गर्ने भए पनि, तिनले व्यक्तिको हृदयमा कहिल्यै पनि साँचो शान्ति र प्रेरणा दिँदैनन्, बरु तिनले त मानिसहरूलाई सधैँ आफ्‍नो दिशा गुमाउने, आफैलाई नियन्त्रण गर्न कठिन गराउने, अनि जीवनको अर्थबारे सिक्‍ने हरेक मौकालाई गुमाउने तुल्याउँछ; बाँच्‍ने सम्‍बन्धी यी सीपहरूले उपयुक्त रूपमा मृत्युको सामना कसरी गर्ने भन्‍नेबारेमा भित्री चिन्ता पैदा गर्छ। मानिसहरूको जीवन यसरी बरबाद हुन्छन्। हरेक व्यक्तिलाई जीवनभरिको लागि उहाँको सार्वभौमिकताको अनुभव गर्न र त्यसलाई जान्‍ने मौका दिएर सृष्टिकर्ताले हरेक व्यक्तिलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ, तैपनि मृत्यु नजिक आएपछि मात्रै, यसको कालो छाया देखिएपछि मात्रै व्यक्तिले ज्योति देख्‍न थाल्छ—अनि त्यो बेलासम्‍म ढीला भइसकेको हुन्छ!

मानिसहरूले पैसा र ख्यातिको पछि दौडेरै आफ्‍नो जीवन बिताउँछन्; तिनीहरूले यी खोक्रा कुराहरूलाई जीवनको एउटै मात्र आधार ठानेर यसरी पक्रन्छन् कि मानौं ती पाएपछि तिनीहरूले मृत्युबाट छूट पाएर बाँचिरहन सक्छन्। तर तिनीहरूले आफू मर्न लागेपछि मात्रै कुराहरू तिनीहरूबाट कति टाढा छन्, मृत्युको सामु तिनीहरू कति कमजोर छन्, तिनीहरू कति सजिलै चकनाचूर हुन्छन्, जाने ठाउँ कतै नभएकाले तिनीहरू कति एकलो र विवश छन् भन्‍ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्यातिले जीवन किन्‍न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको मान-मर्यादा जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्‍न सक्दैन, ख्यातिले मृत्यु मेट्न सक्दैन, न त पैसाले न त ख्यातिले व्यक्तिको आयु केवल एक मिनेट वा केवल एक सेकेन्ड नै बढाउन सक्छ भन्‍ने महसुस गर्छन्। मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू जिउनको लागि त्यति नै तड्पिन्छन्; मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू मृत्युको आगमनप्रति त्यति नै भयभीत हुन्छन्। यस विन्दुमा मात्रै तिनीहरूले महसुस गर्छन् कि तिनीहरूको जीवन तिनीहरूको स्वामित्वमा, तिनीहरूको नियन्त्रणमा छैन, र व्यक्ति जिउँछ कि मर्छ भन्‍ने बारेमा उसले कुनै भनाइ राख्न सक्दैन—यो सबै व्यक्तिको नियन्त्रणभन्दा बाहिरको कुरा हो।

४. सृष्टिकर्ताको प्रभुत्वमा आऊ अनि चुपचाप मृत्युको सामना गर

व्यक्तिको जन्‍म भएकै क्षणमा, एउटा एकल आत्माले पृथ्वीमा आफ्‍नो अनुभव सुरु गर्छ, सृष्टिकर्ताले यसको लागि बन्दोबस्त गरिदिनुभएको सृष्टिकर्ताको अख्तियार सम्बन्धमा आफ्नो अनुभव सुरु गर्छ। यो अवश्य पनि त्यो व्यक्ति—त्यो आत्मा—को लागि सृष्टिकर्ताको सार्वभौमिकताको बारेमा ज्ञान प्राप्त गर्ने, उहाँको अख्‍तियारलाई जान्‍ने र यसलाई व्यक्तिगत रूपमा अनुभव गर्ने उत्कृष्ट अवसर हो। मानिसहरूले आफ्‍नो जीवन सृष्टिकर्ताले तिनीहरूको लागि सृजित गर्नुभएका नियतिका नियमहरूभित्र रहेर जिउँछन्, अनि विवेक भएको कुनै पनि विवेकशील व्यक्तिको लागि तिनीहरूको जीवनको दशकौं अवधिमा सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्नु अनि उहाँको अख्तियारलाई जान्‍नु त्यति कठिन कुरा होइन। त्यसकारण, हरेक व्यक्तिको लागि आफ्नो दशकौंको जीवन अनुभवहरूमार्फत सबै मानव नियतिहरू पूर्वनिर्धारित हुन्छन् भनी पहिचान गर्न सहज हुनुपर्छ, अनि जिउँदो हुनुको अर्थ के हो सो बुझ्‍न वा सारांशित गर्न सहज हुनुपर्छ। व्यक्तिले जीवन सम्‍बन्धी यी पाठहरूलाई अङ्गाल्‍न थालेपछि, उसले क्रमिक रूपमा जीवन कहाँबाट आउँछ सो बुझ्‍न थाल्नेछ, हृदयलाई वास्तवमा के कुराको खाँचो छ, के कुराले व्यक्तिलाई जीवनको साँचो मार्गमा डोर्‍याउँछ, र मानव-जीवनको मिसन र लक्ष्य के हुनुपर्छ सो जान्‍न थाल्‍नेछ। यदि व्यक्तिले सृष्टिकर्ताको आराधना गर्दैन भने, यदि व्यक्ति उहाँको प्रभुत्वमा आउँदैन भने, जब मृत्युको सामना गर्ने बेला हुन्छ—जब व्यक्तिको आत्माले फेरि एक पटक सृष्टिकर्ताको सामना गर्न लागेको हुन्छ—तब उसको हृदय असीमित भय र आतङ्कले भरिएको हुनेछ भन्‍ने कुरा व्यक्तिले क्रमिक रूपमा पहिचान गर्न थाल्‍नेछ। यदि व्यक्ति संसारमा आएको धेरै दशक भइसकेको छ तैपनि उसले मानव जीवन कहाँबाट आउँछ भन्ने कुरा बुझेको छैन, उसले मानव भाग्य कसको हातमा छ भन्‍ने समेत बुझेको छैन भने, उसले शान्त भएर मृत्युको सामना गर्न सक्‍नेछैन भन्‍नेमा कुनै आश्‍चर्य हुँदैन। मानव जीवन सम्‍बन्धी आफ्‍नो दशकौंको अनुभवहरूमा सृष्टिकर्ताको सार्वभौमिकताको ज्ञान प्राप्त गरेको व्यक्ति जीवनको अर्थ र मूल्य सम्‍बन्धी सही बुझाइ भएको व्यक्ति हो। त्यस्तो व्यक्तिसँग सृष्टिकर्ताको सार्वभौमिकता सम्‍बन्धी साँचो अनुभव र बुझाइको साथमा जीवनको उद्देश्य सम्‍बन्धी गहन ज्ञान हुन्छ, अनि यसबाहेक, ऊ सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुन सक्छ। त्यस्तो व्यक्तिले परमेश्‍वरले मानवजाति सृष्टि गर्नुको अर्थ बुझ्छ, मानिसले सृष्टिकर्ताको आराधना गर्नुपर्छ भन्‍ने बुझ्छ, मानिससँग भएका सबै कुरा सृष्टिकर्ताबाट नै आउँछ र भविष्यमा चाँडै नै एक दिन ती सबै उहाँकहाँ नै फर्कन्छन् भन्‍ने बुझ्छ। यस प्रकारको व्यक्तिले मानिसको जन्‍मलाई सृष्टिकर्ताले नै बन्दोबस्त गर्नुहुन्छ र मानिसको मृत्युमाथि उहाँकै सार्वभौमिकता छ, अनि जीवन र मृत्यु दुवैलाई सृष्टिकर्ताको अख्तियारले पूर्वनिर्धारित गरेको हुन्छ भन्‍ने बुझ्छ। त्यसकारण, जब व्यक्तिले यी कुराहरूलाई साँचो रूपमा बुझेको हुन्छ, ऊ मृत्युलाई शान्त भएर सामना गर्न, आफ्‍ना सारा सांसारिक सम्पत्तिहरूलाई चुपचाप पन्छ्याएर त्यसपछि आउने सबै कुराहरूलाई खुशीसाथ स्वीकार गर्न र त्यसमा समर्पित हुन, अनि सृष्टिकर्ताले बन्दोबस्त गर्नुभएको जीवनको अन्तिम घडीसँग अन्धाधुन्ध डराएर त्यसको विरुद्ध संघर्ष गर्नुको सट्टा त्यसलाई सोही रूपमा स्वागत गर्न सक्षम हुन्छ। यदि व्यक्तिले जीवनलाई सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्ने र उहाँको अख्‍तियारलाई चिन्‍ने अवसरको रूपमा लिन्छ भने, यदि व्यक्तिले आफ्‍नो जीवनलाई सृष्टि गरिएको मानवजातिको रूपमा आफ्‍नो कर्तव्य निभाउने अनि आफ्‍नो मिसन पूरा गर्ने दुर्लभ अवसरको रूपमा लिन्छ भने, ऊसँग अवश्य नै जीवन सम्‍बन्धी सही दृष्टिकोण हुनेछ, अवश्य नै उसले सृष्टिकर्ताले आशिष दिनुभएको र डोर्‍याउनुभएको जीवन जिउनेछ, ऊ अवश्य नै सृष्टिकर्ताको ज्योतिमा हिँड्नेछ, उसले अवश्य नै सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नेछ, ऊ अवश्य नै उहाँको प्रभुत्वको अधीनमा आउनेछ, र ऊ अवश्य नै उहाँका आश्‍चर्यजनक कार्यहरूको साक्षी, उहाँको अख्तियारको साक्षी बन्‍नेछ। भन्नै पर्दैन, त्यस्तो व्यक्तिलाई सृष्टिकर्ताले अवश्य पनि प्रेम र स्वीकार गर्नुहुन्छ, अनि त्यस्तो व्यक्तिले मात्र मृत्युप्रति शान्त मनोवृत्ति देखाउन र जीवनको अन्तिम घडीलाई आनन्दसाथ स्वीकार गर्न सक्छ। मृत्युप्रति यस्तै प्रकारको आचरण देखाउने एक जना व्यक्ति अय्यूब हुन्। अय्यूब जीवनको अन्तिम विन्दुलाई खुशीसाथ स्वीकार गर्ने अवस्थामा थिए, अनि आफ्‍नो जीवन यात्रालाई सहज समाप्तिमा ल्याएर आफ्‍नो जीवनको मिसनलाई पूरा गरेपछि, तिनी सृष्टिकर्ताको क्षेत्रमा फर्किए।

५. जीवनमा अय्यूबले गरेको खोजी र प्राप्तिले तिनलाई शान्त भएर मृत्युको सामना गर्ने तुल्यायो

पवित्रशास्‍त्रमा अय्यूबको बारेमा यस्तो लेखिएको छ: “यसरी अय्यूब वृद्ध र दीर्घायु भएर मरे” (अय्यूब ४२:१७)। यसको अर्थ के हो भने, जब अय्यूबको मृत्यु भयो, तिनीसँग कुनै पछुतो थिएन र तिनले कुनै पीडाको महसुस गरेनन्, बरु यो संसारबाट स्वाभाविक रूपमै तिनी बिदा भए। अय्यूब जीवित हुँदा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मानिस थिए भन्‍ने सबैलाई थाहा छ। तिनका कार्यहरूलाई परमेश्‍वरले तारिफ गर्नुभयो र अरूले यादगार बनाए, अनि तिनको जीवन सायद अरू सबैको भन्दा बढी बहुमूल्य र महत्त्वपूर्ण थियो भनेर भन्‍न सकिन्छ। पृथ्वीमा अय्यूबले परमेश्‍वरका आशिष्‌हरूको उपभोग गरे र उहाँले तिनलाई धर्मी भनेर भन्‍नुहुन्थ्यो, अनि तिनलाई परमेश्‍वरले पनि परीक्षा गर्नुभयो र शैतानले पनि जाँच गर्‍यो। तिनी परमेश्‍वरको साक्षीको रूपमा खडा भए र उहाँद्वारा धर्मी व्यक्ति भनिन योग्य बने। परमेश्‍वरले तिनलाई परीक्षा गर्नुभएको दशकौंपछि, तिनले पहिलेको भन्दा अझै बहुमूल्य, अर्थपूर्ण, स्थिर, र शान्तिपूर्ण जीवन जिए। तिनका धर्मी कार्यहरूको कारण, परमेश्‍वरले तिनलाई जाँच्‍नुभयो, र तिनका धर्मी कार्यहरूले गर्दा नै, परमेश्‍वर तिनको सामु आउनुभयो र तिनीसँग प्रत्यक्ष रूपमा कुरा गर्नुभयो। तसर्थ, तिनलाई जाँच गरिएपछिका वर्षहरूमा, अय्यूबले जीवनको मूल्यलाई अझै ठोस रूपमा बुझे र सराहना गरे, सृष्टिकर्ताको सार्वभौमिकताको अझै गहन बुझाइ प्राप्त गरे, अनि सृष्टिकर्ताले कसरी उहाँका आशिष्‌हरू दिनुहुन्छ र फिर्ता लिनुहुन्छ भन्‍नेबारेमा अझै सटीक र ठोस ज्ञान प्राप्त गरे। सृष्टिकर्ताको सार्वभौमिकतालाई बुझ्ने र चुपचाप मृत्युको सामना गर्ने अझै उत्तम स्थानमा अय्यूबलाई राख्दै, यहोवा परमेश्‍वरले अय्यूबलाई पहिलेभन्दा अझै बढी आशिष्‌हरू दिनुभयो भनेर अय्यूबको पुस्तकले उल्‍लेख गरेको छ। त्यसकारण, जब अय्यूबले वृद्ध भएर मृत्युको सामना गर्नुपर्‍यो, तब तिनी आफ्‍नो सम्पत्तिको बारेमा पक्‍कै पनि चिन्तित भएनन्। तिनीसँग कुनै चिन्ता थिएन, पछुताउनुपर्ने केही थिएन, र अवश्य नै तिनले मृत्युको डर मानेनन्, किनभने तिनले आफ्‍नो सारा जीवन परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा हिँड्दै बिताएका थिए। आफ्‍नै अन्त्यको बारेमा चिन्ता गर्नुपर्ने कुनै कारण तिनीसँग थिएन। आजका कति मानिसहरूले आफ्नो मृत्युको सामना गर्दा पूर्ण रूपमा अय्यूबले गरेजस्तै गर्न सक्छन्? किन त्यस्तो सरल बाह्य सहनशीलता कायम गर्न सक्‍ने कोही पनि छैन? एउटै मात्र कारण छ: अय्यूबले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दै, त्यसको पहिचान गर्दै, अनि त्यसमा समर्पित हुँदै आफ्‍नो जीवन जिए, र यही विश्‍वास, पहिचान, र समर्पणद्वारा नै तिनले जीवनका महत्त्वपूर्ण मोडहरू पार गरे, आफ्‍ना आखिरी वर्षहरू बिताए, र आफ्‍नो जीवनको अन्तिम बिन्दुलाई स्वागत गरे। अय्यूबले जे-जस्तो अनुभव गरे तापनि, तिनको जीवनका खोजी र लक्ष्‍यहरू पीडापूर्ण थिएनन्, बरु सुखद थिए। सृष्टिकर्ताले तिनलाई दिनुभएका आशिष्‌हरू र तारिफको कारण मात्र तिनी खुसी थिएनन्, बरु अझै महत्त्वपूर्ण रूपमा, तिनी त आफ्ना खोजी र जीवनका लक्ष्‍यहरूको कारण खुशी थिए, परमेश्‍वरको डर मानेर अनि दुष्टताबाट अलग बसेर प्राप्त गरेको सृष्टिकर्ताको सार्वभौमिकतासम्‍बन्धी बढ्दो ज्ञान र साँचो बुझाइको कारण खुशी थिए, र यसको साथै सृष्टिकर्ताको सार्वभौमिकताको एक पात्रको रूपमा परमेश्‍वरको आश्‍चर्यजनक कार्यको बारेमा तिनको व्यक्तिगत अनुभव, अनि मानिस र परमेश्‍वरको सहअस्तित्व, मित्रता र पारस्‍परिक समझदारीसम्‍बन्धी कोमल तर बिर्सनै नसकिने अनुभव र यादहरूको कारण खुशी थिए। सृष्टिकर्ताको इच्‍छालाई जानेपछि प्राप्त हुने सान्त्वना र आनन्दको कारण, र उहाँ महान्, अचम्‍मका, प्रेमिलो र विश्‍वासयोग्य हुनुहुन्छ भन्‍ने जानेर पैदा हुने श्रद्धाको कारण अय्यूब खुशी थिए। अय्यूबले कुनै पनि कष्टविनै मृत्युको सामना गर्न सके किनभने मरेपछि तिनी सृष्टिकर्ताकहाँ फर्केर जानेछन् भन्‍ने तिनलाई थाहा थियो। जीवनमा तिनले गरेको खोजी र प्राप्तिले नै तिनलाई शान्तिसाथ मृत्युको सामना गर्ने तुल्यायो, सृष्टिकर्ताले आफ्नो जीवन फिर्ता लिने अपेक्षालाई शान्तिसाथ सामना गर्ने तुल्यायो, साथै सृष्टिकर्ताको अघि विशुद्ध र चिन्तारहित रूपमा खडा हुने तुल्यायो। के आजका मानिसहरूले अय्यूबले पाएजस्तो खुशी हासिल गर्न सक्छन्? के तिमीहरूसँग त्यसो गर्नको लागि आवश्यक अवस्थाहरू छन्? आजभोलिका मानिसहरूसँग यस्ता अवस्थाहरू भए पनि, किन तिनीहरू अय्यूबजस्तो खुशी भएर जिउन सक्दैनन्? किन तिनीहरू मृत्युको डरको कष्टबाट उम्‍कन सक्दैनन्? मृत्युको सामना गर्दा, कतिपय मानिसहरू डरले पिसाब फेर्छन्; अरूहरू काँप्छन्, बेहोस हुन्छन्, स्वर्ग र मानिसविरुद्ध प्रहार गर्छन्; कतिपय त विलाप गर्ने र रुनेसमेत गर्छन्। कुनै पनि हालतमा यी कुराहरू अचानक मृत्यु नजिकिँदा देखिने प्राकृतिक प्रतिक्रिया होइनन्। मानिसहरूले यस्तो लाजमर्दो किसिमले व्यवहार गर्नुको मुख्य कारण के हो भने, मानिसहरूले आफ्‍नो भित्री हृदयमा मृत्युको डर मान्छन्, तिनीहरूसँग परमेश्‍वरको सार्वभौमिकता र उहाँको बन्दोबस्तको स्पष्ट ज्ञान र बुझाइ छैन, ती कुराहरूप्रति तिनीहरू साँचो रूपमा समर्पित हुने त कुरै छाडौँ। मानिसहरूले यस्तो प्रतिक्रिया दिन्छन् किनभने तिनीहरू अरू केही चाहँदैनन्, केवल सबै कुरा आफैले बन्दोबस्त र सञ्‍चालन गर्न, आफ्‍नो नियति, आफ्‍नो जीवन र मृत्यु आफै नियन्त्रण गर्न चाहन्छन्। त्यसकारण, मानिसहरू कहिल्यै पनि मृत्युको डरबाट उम्‍कन सक्दैनन् भन्‍नेमा कुनै आश्‍चर्य छैन।

६. सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेर मात्रै व्यक्ति उहाँको क्षेत्रमा फर्कन सक्छ

जब व्यक्तिसँग परमेश्‍वरको सार्वभौमिकता र उहाँको बन्दोबस्तहरूको स्पष्ट ज्ञान र अनुभव हुँदैन, नियति र मृत्युसम्‍बन्धी उसको ज्ञान अवश्य नै अस्पष्ट हुनेछ। मानिसहरूले सबै कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने स्पष्ट देख्‍न सक्दैनन्, सबै कुरा परमेश्‍वरको नियन्त्रण र सार्वभौमिकताको अधीनमा छ भन्‍ने महसुस गर्दैनन्, र त्यस्तो सार्वभौमिकता त्याग्‍न वा त्यसबाट उम्‍कन मानिस सक्दैन भन्‍ने कुरा स्वीकार गर्दैनन्। यही कारणले गर्दा, तिनीहरूले मृत्युको सामना गर्ने समय आउँदा, तिनीहरूका आखिरी शब्‍द, चिन्ता, र अफसोसहरू कहिल्यै अन्त्य हुँदैनन्। तिनीहरू अत्यन्तै धेरै भार, अत्यन्तै धेरै अनिच्‍छा, र अत्यन्तै धेरै अन्योलले थिचिएका हुन्छन्। यसले तिनीहरूलाई मृत्युको डर मान्‍ने तुल्याउँछ। यस संसारमा जन्‍मने कुनै पनि व्यक्तिको लागि, जन्‍म अत्यावश्यक र मृत्यु अपरिहार्य छ; यी घटनाक्रमहरूभन्दा माथि कोही पनि उठ्न सक्दैन। यदि व्यक्तिले यो संसारबाट पीडारहित रूपमा बिदा हुन चाहन्छ भने, यदि ऊ जीवनको अन्तिम बिन्दुलाई अनिच्‍छा वा चिन्तारहित रूपमै सामना गर्न सक्‍ने हुन चाहन्छ भने, यसको एउटै मात्र तरिका भनेको कुनै पनि अफसोस नराख्‍नु हो। अनि कुनै अफसोसविना बिदा हुने एउटै तरिका भनेको सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नु, उहाँको अख्‍तियारलाई जान्‍नु, र तिनमा समर्पित हुनु हो। यसरी मात्रै व्यक्ति मानव कलह, दुष्टता र शैतानको बन्धनबाट टाढा बस्‍न सक्छ, र यसरी मात्रै उसले अय्यूबको जस्तो सृष्टिकर्ताद्वारा मार्गनिर्देशित र आशिषित, मुक्त र स्वतन्त्र जीवन, मूल्यवान् र अर्थपूर्ण जीवन, इमानदार र खुला हृदय भएको जीवन जिउन सक्छ। यसरी मात्रै व्यक्ति सृष्टिकर्ताले दिनुभएको परीक्षा र अभावरूपी कष्टहरू र सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्छ। यसरी मात्रै व्यक्तिले आफ्‍नो जीवनभरि अय्यूबले जस्तै सृष्टिकर्ताको आराधना गर्न र उहाँको स्याबासी हासिल गर्न सक्छ, र उहाँको आवाजलाई सुन्‍न र उहाँ प्रकट हुनुभएको देख्‍न सक्छ। यसरी मात्रै हामी अय्यूबजस्तै कुनै पनि पीडा, चिन्ता, पछुतोविना नै खुशीसाथ जिउन र मर्न सक्छौं। यसरी मात्रै व्यक्ति अय्यूबजस्तै ज्योतिमा जिउन, र ज्योतिमा आफ्‍नो जीवनको हर मोड पार गर्न, ज्योतिमा आफ्‍नो यात्रा सहजसाथ पूरा गर्न, सफलतापूर्वक आफ्‍नो मिसन पूरा गर्न—सृष्टि गरिएको प्राणीको रूपमा सृष्टिकर्ताको सार्वभौमिकतालाई अनुभव गर्न, सिक्‍न, र जान्‍न—अनि ज्योतिमै बितेर जान, र सृष्टि गरिएको मानवजातिको रूपमा, उहाँको स्याबासी पाएर सदासर्वदाको लागि सृष्टिकर्ताको छेउमा खडा हुन सक्छ।

सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍ने अवसर नगुमाओ

माथि व्याख्या गरिएका छ वटा मोडहरू सृष्टिकर्ताले तय गर्नुभएका महत्त्वपूर्ण चरणहरू हुन्, जसलाई आफ्‍नो जीवनमा हर सामान्य व्यक्तिले पार गर्नुपर्छ। मानवीय दृष्टिकोणबाट हेर्दा, यी हरेक मोड वास्तविक छन्, कुनैबाट पनि उम्‍कन सकिँदैन, अनि यी सबै सृष्टिकर्ताको पूर्वनिर्धारित गन्तव्य र सार्वभौमिकतासँग सम्‍बन्धित छन्। त्यसकारण, मानवको लागि, यी हरेक मोड महत्त्वपूर्ण नाका हुन्, र अब तिमीहरू प्रत्येकले ती प्रत्येक मोडलाई कसरी सफलतापूर्वक पार गर्ने भन्‍ने गम्‍भीर प्रश्‍नको सामना गर्छौ।

मानव जीवनका धेरै दशकहरूको अवधि लामो पनि होइन, छोटो पनि होइन। जन्‍मदेखि बीस वर्षसम्मको अवधि झिमिक्क गर्दा बितेर जान्छ, अनि जीवनको यो मोडमा व्यक्तिलाई वयस्क मानिने भए पनि, यस उमेर समूहका मानिसहरूलाई मानव जीवन र मानव नियतिको बारेमा लगभग केही पनि थाहा हुँदैन। तिनीहरूले थप अनुभव प्राप्त गर्दै जाँदा, तिनीहरू क्रमिक रूपमा आधा उमेरमा प्रवेश गर्छन्। तीस र चालीसको दशकमा पुगेका मानिसहरूले जीवन र नियतिसम्‍बन्धी कलिला अनुभव प्राप्त गर्छन्, तर यी कुराहरूसम्बन्धी तिनीहरूको विचार अझै पनि अत्यन्तै अस्पष्ट हुन्छ। कतिपय मानिसहरूले चालीस वर्षको उमेर पुगेपछि मात्रै परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजाति र ब्रह्माण्डलाई बुझ्‍न, र मानव जीवन र मानव नियतिको अर्थ के हो भनी बुझ्‍न सुरु गर्छन्। कतिपय मानिसहरू धेरै पहिलेदेखि परमेश्‍वरलाई पछ्याउँदै आएका र अहिले आधा उमेर पुगिसकेको भए तापनि, तिनीहरूसँग अझै पनि परमेश्‍वरको सार्वभौमिकताको सटीक ज्ञान र परिभाषा हुँदैन, साँचो समर्पणको त कुरै नगरौं। कतिपय मानिसहरूले आशिष्‌ प्राप्त गर्नेबाहेक अरू केही कुराको वास्ता गर्दैनन्, र तिनीहरू धेरै वर्ष बाँचिसकेका भए तापनि, तिनीहरूले मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको तथ्यलाई अलिकति पनि जानेका वा बुझेका हुँदैनन्, र तिनीहरूले परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनेसम्‍बन्धी व्यवहारिक पाठतर्फ सानो कदमसमेत चालेका हुँदैनन्। त्यस्ता मानिसहरू पूर्ण रूपमा मूर्ख हुन्छन्, र तिनीहरूको जीवन व्यर्थमा जिइएको हुन्छ।

यदि मानव जीवनका अवधिहरूलाई मानिसहरूको जीवन अनुभव र मानव नियतिसम्‍बन्धी ज्ञानको हदअनुसार विभाजित गर्ने हो भने, तिनीहरूलाई समग्रमा तीन चरणमा विभाजित गर्न सकिन्छ। पहिलो चरण जवानीको चरण हो, जसमा जन्‍मेदेखि आधा उमेरसम्‍मका, वा जन्‍मदेखि तीस वर्षको उमेरसम्‍मका वर्षहरू पर्छन्। दोस्रो चरण परिपक्‍वताको चरण हो, जुन आधा उमेरदेखि वृद्ध अवस्थासम्‍म, वा तीसदेखि साठी वर्षसम्‍मको अवधि हो। अनि तेस्रो चरणचाहिँ व्यक्तिको परिपक्‍व अवधि हो, जुन वृद्ध अवस्था, अर्थात् साठी वर्षदेखि सुरु भएर व्यक्ति संसारबाट बिदा भइञ्‍जेलसम्‍म जारी रहन्छ। अर्को शब्‍दमा भन्दा, जन्‍मदेखि आधा उमेरसम्‍म, धेरैजसो मानिसहरूको नियति र जीवनसम्‍बन्धी ज्ञान अरूका विचारहरूको अनुकरण गर्ने कार्यमा नै सीमित हुन्छ, र यसमा लगभग कुनै वास्तविक, व्यवहारिक सार हुँदैन। यो अवधिमा, जीवनसम्‍बन्धी व्यक्तिको दृष्टिकोण र व्यक्तिले संसारमा आफ्‍नो मार्ग जसरी निर्माण गर्छ त्यो अलि सतही र मूर्खतापूर्ण हुन्छ। यो व्यक्तिको किशोर अवस्थाको अवधि हो। व्यक्तिले जीवनका सबै आनन्द र शोकहरू चाखिसकेपछि मात्रै उसले नियतिको बारेमा वास्तविक बुझाइ प्राप्त गर्छ, र—अर्धचेतन रूपमा, आफ्‍नो अन्तस्करणमा—नियति उल्ट्याउन नसकिने तथ्यलाई क्रमिक रूपमा बुझ्‍न, र मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकता वास्तवमै अस्तित्वमा छ भनेर बिस्तारै महसुस गर्छ। व्यक्तिको परिपक्‍वताको अवधि यही हो। जब व्यक्तिले नियतिको विरुद्ध संघर्ष गर्न छोडेको हुन्छ, र जब ऊ त्यसउप्रान्त कलहतिर लाग्‍न इच्‍छुक हुनुको सट्टा, आफ्नो जीवनमा कस्तो नियति छ त्यसलाई जान्‍ने, स्वर्गको इच्‍छाप्रति समर्पित हुने, जीवनमा आफूले प्राप्त गरेका उपलब्धि र गल्तीहरूलाई सारांशित गर्ने, र आफ्नो जीवनमाथि सृष्टिकर्ताले गर्नुहुने न्यायको प्रतीक्षा गर्ने गर्छ, तब ऊ आफ्‍नो परिपक्‍व अवधिमा प्रवेश गर्छ। यी अवधिहरूको बेला मानिसहरूले प्राप्त गर्ने फरकफरक अनुभव र उपलब्धिहरूलाई ध्यानमा राख्दा, सामान्य परिस्‍थितिहरूमा, सृष्टिकर्ताको सार्वभौमिकतालाई व्यक्तिले चिन्‍ने मौका त्यति धेरै हुँदैन। यदि व्यक्ति साठी वर्षसम्‍म बाँच्छ भने, परमेश्‍वरको सार्वभौमिकतालाई जान्‍नको लागि उसँग लगभग तीस वर्ष जति हुन्छ; यदि व्यक्तिले लामो समय अवधि चाहन्छ भने, उसको आयु लामो भए मात्र, ऊ एक शताब्दी बाँच्‍न सक्छ भने मात्र त्यो कुरा सम्‍भव हुन्छ। त्यसैले म भन्छु, मानव अस्तित्वका सामान्य नियमहरूअनुसार, व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नेसम्‍बन्धी विषयलाई पहिलोपटक सामना गरेपछि त्यो सार्वभौमिकताको तथ्यलाई उसले पूर्ण रूपमा पहिचान गर्न सकुञ्‍जेल, अनि त्यो समयदेखि ऊ यसमा समर्पित हुन सकुञ्‍जेलसम्‍मको प्रक्रिया निकै लामो हुने भए तापनि, यदि व्यक्तिले वास्तवमा वर्षहरूको गन्ती गर्छ भने, उसले यी इनामहरू प्राप्त गर्ने मौकाको रूपमा तीस वा चालीस वर्षभन्दा बढी समय पाउँदैन। प्रायजसो, मानिसहरू आशिष्‌ प्राप्त गर्ने आफ्‍ना इच्‍छा र महत्वाकांक्षाहरूमा बहकिएर जान्छन्, त्यसैले तिनीहरूले मानव जीवनको सार कहाँ छ भनी देख्‍दैनन् र सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नुको महत्त्व बुझ्दैनन्। मानव जीवन र सृष्टिकर्ताको सार्वभौमिकतालाई अनुभव गर्नको लागि मानव संसारमा प्रवेश गर्ने यो बहुमूल्‍य अवसरलाई त्यस्ता मानिसहरूले बहुमूल्य ठान्दैनन्, र सृष्टि गरिएको प्राणीले सृष्टिकर्ताको व्यक्तिगत मार्गनिर्देशन प्राप्त गर्नु कति बहुमूल्‍य छ भनी तिनीहरूले महसुस गर्दैनन्। त्यसैले म भन्छु, परमेश्‍वरको कार्य शीघ्र रूपमा समाप्त होस् भन्‍ने चाहना गर्ने, उहाँको वास्तविक व्यक्तित्वलाई तुरुन्तै देख्‍न सकूँ र सकेसम्म चाँडो आशिष्‌हरू प्राप्त गर्न सकूँ भनेर परमेश्‍वरले जतिसक्दो चाँडो मानिसको अन्त्यको बन्दोबस्त गरून् भन्‍ने इच्‍छा गर्ने मानिसहरू—तिनीहरू सबैभन्दा खराब अवज्ञाको दोषी हुन्छन् र तिनीहरू घोर मूर्ख हुन्छन्। यसबीच, आफ्‍नो सीमित समय अवधिमा सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍ने यो अद्वितीय अवसरको फाइदा लिनेहरू नै मानिसहरूमाझ रहेका बुद्धिमानहरू, सबैभन्दा बढी मानसिक तीक्ष्णता भएकाहरू हुन्। यी दुई फरक इच्‍छाहरूले दुई अत्यन्तै फरक दृष्टिकोण र खोजीको खुलासा गर्छन्: आशिष्‌ खोज्‍नेहरू स्वार्थी र नीच हुन्छन् र तिनीहरू परमेश्‍वरको इच्‍छालाई कुनै ध्यान दिँदैनन्, कहिल्यै पनि परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्‍ने प्रयास गर्दैनन्, यसमा समर्पित हुने इच्‍छा कहिल्यै गर्दैनन्, बरु आफूलाई जस्तो मन लाग्यो त्यस्तै तवरमा जिउन चाहन्छन्। तिनीहरू अनुचित चरित्रहीनहरू हुन्, र मानिसहरूको यही वर्गलाई नै नष्ट गरिनेछ। परमेश्‍वरलाई चिन्‍न खोज्‍नेहरू आफ्‍ना इच्‍छाहरूलाई पन्छाउन सक्छन्, परमेश्‍वरको सार्वभौमिकता र परमेश्‍वरको बन्दोबस्तमा समर्पित हुन इच्‍छुक हुन्छन्, र परमेश्‍वरको अख्तियारको अधीनमा बस्‍ने र परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट पार्ने प्रकारका मानिसहरू बन्‍ने प्रयास गर्छन्। यस्ता मानिसहरू ज्योति र परमेश्‍वरका आशिष्‌हरूको माझमा जिउँछन्, र तिनीहरूलाई अवश्य नै परमेश्‍वरले स्याबासी दिनुहुनेछ। जेसुकै भए पनि, मानव छनौट व्यर्थ छ, र परमेश्‍वरको कामको लागि कति लामो समय लाग्छ भन्‍नेबारे मानिसहरूले केही पनि भन्‍न पाउँदैनन्। आफैलाई परमेश्‍वरको कृपामा सुम्पेर उहाँको सार्वभौमिकतामा समर्पित हुनु नै मानिसहरूको लागि उचित हुन्छ। यदि तैँले आफैलाई उहाँको कृपामा समर्पित गर्दैनस् भने, तैँले के गर्न सक्छस् र? के यसको परिणामस्वरूप परमेश्‍वरले कुनै घाटा बेहोर्नुहुनेछ र? यदि तैँले आफैलाई उहाँको कृपामा समर्पित गर्दैनस्, बरु आफैलाई मालिक बनाउने प्रयास गर्छस् भने, तैँले मूर्ख निर्णय गरिरहेको छस्, र आखिरमा घाटा बेहोर्ने तँ नै हुनेछस्। मानिसहरूले जतिसक्दो चाँडो परमेश्‍वरसँग सहकार्य गरे भने मात्रै, तिनीहरूले उहाँको योजनाबद्ध कार्यलाई स्वीकार गर्न, उहाँको अख्‍तियारलाई जान्‍न, र तिनीहरूका लागि उहाँले गर्नुभएका सबै कुरा बुझ्‍न हतार गर्छन् भने मात्रै, तिनीहरूसित आशा हुनेछ। यसरी मात्रै तिनीहरूको जीवन व्यर्थमा जिइएको हुनेछैन, र तिनीहरूले मुक्ति प्राप्त गर्नेछन्।

मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई कसैले परिवर्तन गर्न सक्दैन

मैले भर्खरै बताएको सबै कुरा सुनिसकेपछि, के नियतिसम्‍बन्धी तिमीहरूको विचार परिवर्तन भएको छ? मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता रहेको तथ्यलाई तिमीहरू कसरी बुझ्छौ? यसलाई सरल रूपमा भन्दा, परमेश्‍वरको अख्तियारअन्तर्गत हरेक व्यक्तिले उहाँको सार्वभौमिकता र बन्दोबस्तलाई सक्रिय वा निष्क्रिय रूपमा स्वीकार गर्छ, र जीवन जिउने क्रममा व्यक्तिले जसरी संघर्ष गरे पनि, उसले जति धेरै कुटिल मार्गहरू हिँडे पनि, आखिरमा ऊ सृष्टिकर्ताले तिनीहरूका लागि कोर्नुभएको नियतिको परिक्रमापथमै फर्कनेछ। यो सृष्टिकर्ताको अख्‍तियारको अजेयता र उहाँको अख्तियारले ब्रह्माण्डलाई नियन्त्रण र शासन गर्ने तरिका हो। यही अजेयता, नियन्त्रण र शासनको यही स्वरूप नै ती नियमहरूको लागि जिम्मेवार छ जसले यावत् थोकको जीवन नियन्त्रण गर्छन्, हस्तक्षेपविनै बारम्‍बार मानिसहरूलाई पुनर्जन्‍म लिन दिन्छन्, अनि दिनहुँ र वर्षौंवर्ष संसारलाई नियमित रूपमा घुमाउँछन् र अघि बढाउँछन्। तिमीहरूले यी सबै तथ्यहरूलाई देखेका छौ र सतही रूपमा भए पनि वा गहन रूपमा भए पनि तिमीहरूले तिनलाई बुझेका छौ, र तिमीहरूको बुझाइको गहिराइ सत्यतासम्‍बन्धी तिमीहरूको अनुभव र ज्ञान, र परमेश्‍वरसम्‍बन्धी तिमीहरूको ज्ञानमा निर्भर रहन्छ। तैँले सत्यताको वास्तविकतालाई कति राम्ररी जान्दछस्, तैँले परमेश्‍वरका वचनहरूलाई कति धेरै अनुभव गरेको छस्, र तैँले परमेश्‍वरको सार र स्वभावलाई कति राम्ररी जान्दछस्—यी सबैले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तसम्‍बन्धी तेरो बुझाइको गहिराइलाई प्रतिनिधित्व गर्छन्। के परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तको अस्तित्व मानवजाति त्यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुरामा निर्भर हुन्छ? के परमेश्‍वरमा यो अख्‍तियार छ भन्‍ने तथ्य मानवजाति यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुराद्वारा निर्धारित हुन्छ? परिस्‍थिति जस्तोसुकै भए पनि परमेश्‍वरको अख्तियार अस्तित्वमा रहन्छ। हर परिस्थितिमा, परमेश्‍वरले आफ्‍ना विचार र कामनाहरूअनुसार मानव नियति र सबै कुराहरू नियन्त्रित र व्यवस्थित गर्नुहुन्छ। मानव परिवर्तनको परिणामस्वरूप यो परिवर्तन हुँदैन; यो मानिसको इच्‍छाबाट स्वतन्त्र हुन्छ, समय, स्थान, र भूगोलमा आएको कुनै परिवर्तनले यसलाई हेरफेर गर्न सक्दैन, किनभने परमेश्‍वरको अख्तियार नै उहाँको सार हो। मानिसले परमेश्‍वरको सार्वभौमिकतालाई जान्‍न र स्वीकार गर्न सक्छ कि सक्दैन, र यसमा मानिस समर्पित हुन सक्छ कि सक्दैन—यीमध्ये कुनै पनि विचारले मानव नियतिमाथि रहेको परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई रत्तीभर परिवर्तन गर्न सक्दैन। भन्‍नुको अर्थ, परमेश्‍वरको सार्वभौमिकताप्रति मानिसले जस्तोसुकै मनोवृत्ति लिए तापनि, मानव नियति र यावत् थोकमाथि परमेश्‍वरकै सार्वभौमिकता छ भन्‍ने तथ्यलाई यसले परिवर्तन गर्नै सक्दैन। यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा समर्पित भइनस् भने पनि, तेरो भाग्यमाथि अझै पनि उहाँकै नियन्त्रण रहिरहन्छ; तैँले उहाँको सार्वभौमिकतालाई जान्‍न सकिनस् भने पनि, उहाँको अख्‍तियार अस्तित्वमै रहिरहन्छ। परमेश्‍वरको अख्तियार र मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्य मानव इच्‍छाबाट स्वतन्त्र छन्, र मानिसका रुचि र निर्णयहरूअनुसार ती परिवर्तन हुँदैनन्। परमेश्‍वरको अख्तियार जुनसुकै ठाउँ, जुनसुकै घडी, र जुनसुकै क्षणमा हुन्छ। स्वर्ग र पृथ्वी नासिएर जालान्, तर उहाँको अख्‍तियार कहिल्यै नाश हुनेछैन, किनभने उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँसँग अद्वितीय अख्‍तियार छ, र उहाँको अख्‍तियार मानिसहरू, घटनाहरू, वा वस्तुहरूद्वारा, स्थान वा भूगोलद्वारा नियन्त्रित वा सीमित छैन। हरसमय, परमेश्‍वरले आफ्‍नो अख्‍तियार प्रयोग गर्नुहुन्छ, आफ्‍नो शक्ति देखाउनुहुन्छ, उहाँले सधैँझैँ आफ्‍नो व्यवस्थापन कार्यलाई जारी राख्‍नुहुन्छ; हरसमय, उहाँले सधैँझैँ यावत् थोकमाथि शासन गर्नुहुन्छ, यावत् थोकको लागि बन्दोबस्त गर्नुहुन्छ, यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। तथ्य यही हो; अनन्त समयदेखि नै यो अपरिवर्तनीय सत्य रहिआएको छ!

परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहनेहरूको लागि उचित मनोवृत्ति र अभ्यास

परमेश्‍वरको अख्तियार र मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई मानिसले कस्तो मनोवृत्तिले जान्‍नु र लिनुपर्छ? हरेक व्यक्तिको अघि खडा हुने वास्तविक समस्या यही हो। वास्तविक जीवनका समस्याहरू सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्‍नु र बुझ्‍नुपर्छ? जब तैँले यी समस्याहरू सामना गर्छस् तर तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने तँलाई थाहा हुँदैन, तब समर्पित हुने तेरो अभिप्रायलाई, समर्पित हुने तेरो इच्‍छालाई, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रतिको तेरो समर्पणको वास्तविकतालाई प्रदर्शित गर्न तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नुपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्‍नुपर्छ। “प्रतीक्षा गर्नु” भनेको परमेश्‍वरको समय प्रतीक्षा गर्नु हो, उहाँले तेरो निम्ति बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू र कामकुराहरू प्रतीक्षा गर्नु हो, उहाँको इच्‍छा आफै तँकहाँ क्रमिक रूपमा प्रकट हुने प्रतीक्षा गर्नु हो। “खोजी गर्नु” भनेको उहाँले योजना गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरूमार्फत तँप्रतिका परमेश्‍वरका विचारपूर्ण अभिप्रायहरू अवलोकन गर्नु र बुझ्‍नु हो, तिनीहरूमार्फत सत्यता बुझ्‍नु हो, मानिसहरूले हासिल गर्नैपर्ने कुराहरू र तिनीहरूले पालना गर्नैपर्ने मार्गहरूलाई बुझ्‍नु हो, र परमेश्‍वरले मानिसहरूमा के-कस्ता नतिजाहरू प्राप्त गर्न र तिनीहरूमा के-कस्ता उपलब्धिहरू हासिल गर्न चाहनुहुन्छ भनेर बुझ्‍नु हो। “समर्पित हुनु” ले चाहिँ अवश्य नै परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरू स्वीकार गर्नुलाई जनाउँछ, उहाँको सार्वभौमिकता स्वीकार गर्नु र यसमार्फत सृष्टिकर्ताले कसरी मानिसको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, उहाँले कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, र मानिसभित्र उहाँले कसरी सत्यताको काम गर्नुहुन्छ भनेर जान्‍नुलाई जनाउँछ। परमेश्‍वरका बन्दोबस्तहरू र सार्वभौमिकताको अधीनमा रहेका यावत् थोकले प्राकृतिक नियमहरू पालना गर्छन्, र यदि तैँले परमेश्‍वरलाई तेरो लागि सबै कुराहरू बन्दोबस्त गर्न र नियन्त्रण गर्न दिने सङ्कल्प गर्छस् भने, तैँले प्रतीक्षा गर्न सिक्‍नैपर्छ, तैँले खोजी गर्न सिक्‍नैपर्छ, र तैँले समर्पित हुन सिक्‍नैपर्छ। परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहने हरेक व्यक्तिले अपनाउनुपर्ने मनोवृत्ति यही हो, परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तलाई स्वीकार गर्न चाहने हरेक व्यक्तिमा हुनुपर्ने आधारभूत गुण यही हो। त्यस्तो मनोवृत्ति धारण गर्नको लागि, त्यस्तो गुण प्राप्त गर्नको लागि, तैँले अझै बढी परिश्रम गर्नैपर्छ। तैँले साँचो वास्तविकतामा प्रवेश गर्न सक्‍ने एउटै मार्ग यही हो।

परमेश्‍वरलाई आफ्नो अद्वितीय मालिकको रूपमा स्वीकार गर्नु नै मुक्ति पाउने पहिलो कदम हो

परमेश्‍वरको अख्तियार सम्‍बन्धी सत्यताहरू हरेक व्यक्तिले गम्‍भीर रूपमा लिनुपर्ने, आफ्‍नो हृदयबाट अनुभव गर्नुपर्ने र बुझ्‍नुपर्ने सत्यताहरू हुन्; किनभने यी सत्यताहरूले हरेक व्यक्तिको जीवनमा प्रभाव पार्दछन्; हरेक व्यक्तिको विगत, वर्तमान, र भविष्यमा प्रभाव पार्दछन्; हरेक व्यक्तिले जीवनमा पार गर्नैपर्ने महत्त्वपूर्ण घडीहरूमा प्रभाव पार्दछन्; परमेश्‍वरको सार्वभौमिकता सम्‍बन्धी मानिसको ज्ञान र परमेश्‍वरको अख्तियारलाई व्यक्तिले सामना गर्नुपर्ने मनोवृत्तिमा प्रभाव पार्दछन्; अनि, स्वाभाविक रूपमै, हरेक व्यक्तिको अन्तिम गन्तव्यलाई प्रभाव पार्दछन्। त्यसकारण, तिनलाई जान्‍न र बुझ्‍नको लागि जीवनभरको मोल आवश्यक पर्छ। जब तैंले परमेश्‍वरको अख्तियारलाई प्रत्यक्ष रूपमा हेर्छस्, जब तैँले उहाँको सार्वभौमिकतालाई स्वीकार गर्छस्, तब तैँले क्रमिक रूपमा परमेश्‍वरको अख्तियारको अस्तित्व सम्‍बन्धी सत्यतालाई महसुस गर्नेछस् र बुझ्‍नेछस्। तर यदि तैँले परमेश्‍वरको अख्तियारलाई कहिल्यै पहिचान गर्दैनस् र उहाँको सार्वभौमिकतालाई कहिल्यै स्वीकार गर्दैनस् भने, तँ जति वर्ष बाँचे पनि, तैँले परमेश्‍वरको सार्वभौमिकताको अलिकति ज्ञान पनि प्राप्त गर्नेछैनस्। यदि तैँले परमेश्‍वरको अख्तियारलाई साँचो रूपमा जान्दैनस् र बुझ्दैनस् भने, तैँले दशकौंसम्‍म परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तँ बाटोको अन्त्यमा पुग्दा तँसँग आफ्‍नो जीवनको लागि देखाउने कुरा केही पनि हुँदैन, अनि स्वाभाविक रूपमै तँसँग मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकताको अलिकति ज्ञान समेत हुनेछैन। के यो अत्यन्तै दुःखलाग्दो कुरा होइन र? त्यसैले, तैँले जीवनमा जति नै धेरै हिँडिसकेको भए पनि, तँ अहिले जति नै उमेरको भए पनि, तेरो बाँकी यात्रा जति नै लामो भए पनि, तैँले सर्वप्रथम परमेश्‍वरको अख्तियारलाई पहिचान गरेर त्यसलाई गम्‍भीर रूपमा लिनैपर्छ, अनि परमेश्‍वर तेरो अद्वितीय मालिक हुनुहुन्छ भन्‍ने तथ्यलाई स्वीकार गर्नैपर्छ। मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता सम्‍बन्धी यी सत्यताहरूको स्पष्ट एवं सही ज्ञान र बुझाइ हरेक व्यक्तिले सिक्‍नुपर्ने अनिवार्य पाठ हुन्; यो पाठ मानव जीवनलाई जान्‍ने र सत्यतालाई प्राप्त गर्ने चाबी हो। परमेश्‍वरलाई चिन्‍ने जीवन, यसको अध्ययनको आधारभूत पाठ्यक्रम यही नै हो, जसलाई हरेकले प्रत्येक दिन सामना गर्नुपर्छ अनि जसबाट कोही पनि उम्‍कन सक्दैन। यदि यो लक्ष्यमा पुग्‍नको लागि कसैले छोटो बाटो लिन चाहन्छ भने, म तँलाई अहिले नै भन्छु, यो असम्‍भव छ! यदि तँ परमेश्‍वरको सार्वभौमिकताबाट उम्‍कन चाहन्छस् भने, त्यसको सम्‍भावना त झन् अझै कम छ! परमेश्‍वर मानिसको एक मात्र प्रभु हुनुहुन्छ, मानव नियतिको एक मात्र मालिक परमेश्‍वर नै हुनुहुन्छ, त्यसकारण मानिसले आफ्‍नो नियति आफै नियन्त्रण गर्न असम्‍भव छ, ऊसले नियतिबाहिर पाइला टेक्न असम्‍भव छ। व्यक्तिका क्षमताहरू जति नै ठूला भए पनि, उसले अरूको नियतिलाई प्रभाव पार्न सक्दैन, त्यसलाई योजनाबद्ध गर्ने, व्यवस्थित गर्ने, नियन्त्रण गर्ने, वा परिवर्तन गर्ने कुरा त परै जाओस्। परमेश्‍वर स्वयम्, अद्वितीय उहाँले मात्रै मानिसको लागि सबै कुरा नियन्त्रण गर्नुहुन्छ, किनभने मानव नियतिमाथि सार्वभौमिकता राख्‍ने अद्वितीय अख्‍तियार उहाँसँग मात्रै छ, र त्यसैले सृष्टिकर्ता मात्रै मानिसको अद्वितीय मालिक हुनुहुन्छ। सृष्टि गरिएका मानवजातिमाथि मात्रै होइन, कुनै पनि मानिसले देख्‍न नसक्‍ने सृष्टि नगरिएका प्राणीहरू, तारामण्डल, आकाशमण्डलमाथि समेत परमेश्‍वरको अख्तियारको सार्वभौमिकता छ। यो निर्विवाद तथ्य हो, साँचो रूपमा अस्तित्वमा रहेको तथ्य हो, जसलाई कुनै पनि व्यक्ति वा वस्तुले परिवर्तन गर्न सक्दैन। यदि तिमीहरूमध्ये कोही अझै पनि आफूसँग केही विशेष सीप वा क्षमता छ भन्‍ने विश्‍वास गर्दै, र सौभाग्यले आफ्नो वर्तमान परिस्‍थितिहरूलाई परिवर्तन गर्न वा ती परिस्थितिहरूबाट उम्‍कन सक्छु भन्‍ने ठान्दै, हाल अवस्था वा काम-कुराहरू जे-जस्तो रूपमा छन् त्यसप्रति असन्तुष्ट छौ भने, यदि तिमीहरूले आफ्‍नो नियतिलाई मानव प्रयासको माध्यमद्वारा परिवर्तन गरेर आफूलाई आफ्ना साथीसंगीहरूभन्दा राम्रो देखाउने र ख्याति र सम्पत्ति कमाउने प्रयास गर्छौ भने, म तँलाई भन्छु, तैँले आफ्‍नै लागि परिस्थिति कठिन तुल्याइरहेको छस्, तैँले दु:ख पाउन मात्र खोजिरहेको छस्, तैँले आफ्‍नै चिहान खनिरहेको छस्! ढिलो-चाँडो, एक दिन तैँले आफूले गलत निर्णय गरेछु र आफ्ना प्रयासहरू व्यर्थ भएछन् भन्‍ने पत्ता लगाउनेछस्। नियति विरुद्ध संघर्ष गर्ने तेरो महत्वाकांक्षा, तेरो इच्‍छा, अनि तेरो आफ्‍नै खराब आचरणले तँलाई फर्की आउनै नसकिने ओरालो बाटोतर्फ डोर्‍याउनेछ, अनि यसको लागि तैँले तीतो मूल्य चुकाउनेछस्। हाल तैँले यी परिणामहरूको गम्‍भीरतालाई नदेख्‍ने भए तापनि, परमेश्‍वर नै मानव नियतिका मालिक हुनुहुन्छ भन्‍ने सत्यतालाई अझै गहन रूपमा अनुभव गर्दै र बुझ्दै जाने क्रममा, तैँले बिस्तारै मैले आज बोलेको कुरा र यसको वास्तविक अर्थहरूलाई महसुस गर्दै जानेछस्। तँसँग साँचो रूपमा हृदय र आत्मा छ कि छैन अनि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् कि होइनस् भन्‍ने कुरा परमेश्‍वरको सार्वभौमिकता र सत्यताप्रति तैँले कस्तो मनोवृत्ति राख्छस् त्यसमा भर पर्छ। यसले स्वाभाविक रूपमै तैँले परमेश्‍वरको अख्तियारलाई साँचो रूपमा चिन्‍न र बुझ्‍न सक्छस् कि सक्दैनस् भन्‍ने कुरालाई निर्धारित गर्छ। यदि तैँले आफ्‍नो जीवनमा परमेश्‍वरको अख्तियारलाई पहिचान गरी स्वीकार गर्नु त कता हो कता, परमेश्‍वरको सार्वभौमिकता र उहाँको बन्दोबस्तहरूलाई समेत कहिल्यै बुझेको छैनस् भने, तँ सम्पूर्ण रूपले बेकम्‍मा हुनेछस्, अनि तैँले लिएको मार्ग र तैँले रोजेको विकल्पको कारण तँ निसन्देह परमेश्‍वरको घृणा र तिरस्कारको पात्र हुनेछस्। तर परमेश्‍वरको कार्यमा उहाँको परीक्षालाई स्वीकार गर्न सक्ने, उहाँको सार्वभौमिकतालाई स्वीकार गर्न सक्ने, उहाँको अख्तियारमा समर्पित हुन सक्‍ने, अनि क्रमिक रूपमा उहाँका वचनहरूको वास्तविक अनुभव प्राप्त गर्न सक्ने व्यक्तिहरूले परमेश्‍वरको अख्तियारको वास्तविक ज्ञान, उहाँको सार्वभौमिकताको वास्तविक बुझाइ प्राप्त गरेका हुनेछन्; तिनीहरू साँचो रूपमा सृष्टिकर्ताको अधीनमा रहेका हुनेछन्। त्यस्ता मानिसहरू मात्रै साँचो रूपमा उद्धार गरिएका हुनेछन्। तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतालाई जानेको हुनाले, तिनीहरूले यसलाई स्वीकार गरेको हुनाले, मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकताको तथ्यप्रतिको तिनीहरूको बुझाइ, यसप्रतिको तिनीहरूको समर्पणता वास्तविक र सटीक हुन्छ। जब तिनीहरूले मृत्युको सामना गर्छन्, अय्यूबको जस्तै तिनीहरूको मन पनि मृत्युले भयभीत हुँदैन, अनि कुनै पनि व्यक्तिगत छनौट, कुनै पनि व्यक्तिगत इच्‍छाहरूविना नै तिनीहरू सबै कुरामा परमेश्‍वरको योजनाबद्ध कार्य र उहाँका बन्दोबस्तहरूमा समर्पित हुन्छन्। त्यस्तो व्यक्ति मात्रै सृष्टि गरिएको साँचो मानवजातिको रूपमा सृष्टिकर्ताको क्षेत्रमा फर्केर जान सक्छ।

डिसेम्‍बर १७, २०१३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्