परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरको अख्तियार (२) - भाग दुई

मानव जीवनका छ महत्वपूर्ण मोडहरू

आफ्‍नो जीवनकालमा, हरेक व्यक्ति नै महत्त्वपूर्ण मोडहरूको श्रृंखलामा पुग्‍छन्। व्यक्तिको जीवनको नियतिलाई निर्धारण गर्ने अत्यन्तै आधारभूत, र अत्यन्तै महत्त्वपूर्ण चरणहरू यिनै हुन्। हरेक व्यक्तिले आफ्‍नो जीवनकालमा पार गर्नैपर्ने यी मार्गचिन्‍हहरूको छोटकरी व्याख्या निम्‍नानुसार दिइएको छ।

पहिलो महत्वपूर्ण मोड: जन्‍म

व्यक्तिको जन्‍म कहाँ हुन्छ, तिनीहरू कुन परिवारमा जन्‍मन्छन्, उसको लिङ्ग, रूप, अनि जन्‍मको समय—व्यक्तिको जीवनको पहिलो महत्वपूर्ण मोडका विवरणहरू यिनै हुन्।

कसैले पनि यो मोडको कुनै निश्चित विवरण छनौट गर्न सक्दैन; ती सबै सृष्टिकर्ताले धेरै पहिले नै अग्रिम रूपमा निर्धारित गर्नुभएको हुन्छ। कुनै पनि हालतमा बाहिरी वातावरणले तिनलाई प्रभावित गर्दैन, अनि कुनै पनि मानव निर्मित तत्वहरूले यी तथ्यहरूलाई परिवर्तन गर्न सक्दैनन्, जसलाई सृष्टिकर्ताले पहिले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। व्यक्तिको जन्‍म हुनु भनेको त्यस व्यक्तिको लागि सृष्टिकर्ताले बन्दोबस्त गर्नुभएको नियतिको पहिलो चरणलाई उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ भन्‍ने हो। यी सबै कुराहरूलाई धेरै पहिले नै अग्रिम रूपमा उहाँले पूर्वनिर्धारित गरिसक्‍नुभएको हुनाले, तीमध्ये कुनै पनि कुरालाई परिवर्तन गर्ने शक्ति कसैसँग हुँदैन। व्यक्तिको पछिको नियति जस्तोसुकै भए तापनि, व्यक्तिको जन्‍मका परिस्थितिहरू पूर्वनिर्धारित हुन्छन्, र ती त्यस्तै रहन्छन्; तिनलाई व्यक्तिको जीवनको नियतिले कुनै पनि हालतमा प्रभावित गर्दैन, न त तिनले व्यक्तिको जीवनको नियतिमाथि रहेको सृष्टिकर्ताको सार्वभौमिकतालाई नै प्रभाव पार्छ।

१. सृष्टिकर्ताका योजनाहरूद्वारा एउटा नयाँ जीवन जन्‍मन्छ

पहिलो महत्वपूर्ण मोडको कुन विवरणलाई—जन्‍मने स्थान, उसको परिवार, उसको लिङ्ग, शारीरिक रूप, ऊ जन्‍मने समयमध्ये कुनलाई—व्यक्तिले छनौट गर्न सक्छ? अवश्य नै, व्यक्तिको जन्‍म एउटा निष्क्रिय घटना हो। कुनै व्यक्ति कुनै स्थानमा, कुनै निश्‍चित समयमा, कुनै निश्‍चित परिवारमा, कुनै निश्‍चित शारीरिक रूप लिएर अनायासै जन्‍मन्छ; कुनै व्यक्ति अनायासै कुनै निश्‍चित परिवारको सदस्य, कुनै निश्‍चित पारिवारिक वृक्षको हाँगा बन्छ। जीवनको यो पहिलो महत्वपूर्ण मोडमा व्यक्तिसँग कुनै विकल्‍प हुँदैन, बरु ऊ त सृष्टिकर्ताका योजनाहरू अनुसार निश्‍चित गरिएको वातावरणमा, व्यक्तिको जीवनकालसँग घनिष्ट रूपमा सम्‍बन्धित रहेको निश्‍चित परिवार, निश्‍चित लिङ्ग र स्वरूपमा, र निश्‍चित समयमा जन्मन्छ। यो महत्त्वपूर्ण बिन्दुमा व्यक्तिले के गर्न सक्छ? स्पष्टै छ, व्यक्तिको जन्मसम्‍बन्धी यीमध्ये कुनै पनि विवरणलाई व्यक्तिले छनौट गर्न पाउँदैन। सृष्टिकर्ताको पूर्वनिर्धारित योजना र उहाँको मार्गनिर्देशन नभएको भए, यो संसारमा नयाँ जन्‍मने जीवनलाई कहाँ जाने वा कहाँ बस्‍ने सो थाहा हुनेथिएन, उसको कुनै सम्‍बन्ध हुनेथिएन, ऊ कहीँको पनि हुनेथिएन, र उसको वास्तविक घर हुनेथिएन। तर सृष्टिकर्ताको कुशल बन्दोबस्तको कारणले गर्दा, यो नयाँ जीवनले बस्‍ने ठाउँ, आमाबाबु, उसले आफ्‍नो भन्‍न सक्‍ने ठाउँ, र इष्टमित्र पाउँछ, अनि त्यो जीवनले आफ्नो यात्रालाई अघि बढाउँछ। यो प्रक्रियाभरि, यस नयाँ जीवनको मूर्तरूप प्रकटीकरणलाई सृष्टिकर्ताको योजनाले निर्धारित गर्छ, अनि यसले पछि प्राप्त गर्ने सबै कुरा सृष्टिकर्ताले नै यसलाई दिनुहुन्छ। आफ्‍नो नाममा केही पनि नरहेको त्यत्तिकै तैरिरहेको शरीर, क्रमिक रूपमा देह र मासु, देख्‍न सकिने, मूर्त मानव प्राणी, परमेश्‍वरका सृष्टिहरूमध्ये एउटा बन्छ, जसले विचार गर्छ, सास फेर्छ, अनि तातो र चिसोको अनुभव गर्छ; जसले भौतिक संसारमा सृष्टि गरिएको प्राणीका सामान्य क्रियाकलापहरूमा सहभागिता जनाउन सक्छ; अनि जसले सृष्टि गरिएको मानवले जीवनमा अनुभव गर्नुपर्ने सबै कुराहरूलाई अनुभव गर्नेछ। व्यक्तिको जन्‍मलाई सृष्टिकर्ताले पूर्वनिर्धारण गर्नुको अर्थ उहाँले त्यस व्यक्तिलाई बाँच्‍नको लागि चाहिने सबै कुरा दिनुहुन्छ भन्‍ने हो; अनि त्यसरी नै, व्यक्ति जन्‍मिएको छ भन्‍ने तथ्यको अर्थ उसले बाँच्‍नको लागि चाहिने सबै कुरा सृष्टिकर्ताबाट प्राप्त गर्नेछ, अनि यसपछि, तिनीहरू सृष्टिकर्ताले दिनुभएको र सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा रहेको अर्को स्वरूपमा जिउनेछन् भन्‍ने हो।

२. किन फरक-फरक मानवजाति फरक-फरक परिस्‍थितिहरूमा जन्‍मन्छन्

मानिसहरूले प्रायजसो यदि तिनीहरूको पुनर्जन्‍म भयो भने, यो एउटा विशिष्ट परिवारमा हुनेछ भनेर कल्‍पना गर्न मन पराउँछन्; यदि तिनीहरू महिलाको रूपमा जन्‍मेका थिए भने, तिनीहरू हिउँजस्तै सेतो देखिन र तिनीहरूलाई सबैले माया गरुन् भन्ने चाहन्छन्, अनि तिनीहरू पुरुष थिए भने कुनै कुराको पनि कमी नभएको सारा संसार आफ्‍नो चुट्कीमा नियन्त्रण गर्ने राजकुमार बन्‍न चाहन्छन्। आफ्‍नो जन्‍मको बारेमा विभिन्‍न भ्रमहरू बोकी कष्ट भोग्‍नेहरू, अनि आफ्‍नो परिवार, आफ्‍नो रूप, आफ्‍नो लिङ्ग, अनि आफू जन्‍मेको समयप्रति अत्यन्तै असन्तुष्ट हुनेहरू पनि छन्। तैपनि मानिसहरूले तिनीहरू किन निश्‍चित परिवारमा जन्‍मे वा किन तिनीहरूको रूप निश्‍चित प्रकारको छ भन्‍ने कहिल्यै बुझ्दैनन्। तिनीहरूलाई तिनीहरू जहाँ जन्‍मे पनि वा तिनीहरूको रूप जस्तो भए पनि, तिनीहरूले विभिन्‍न भूमिका निर्वाह गर्नुपर्छ र सृष्टिकर्ताको व्यवस्थापनका फरक-फरक मिसनहरू पूरा गर्नुपर्छ, र यो उद्देश्य कहिल्यै परिवर्तन हुनेछैन भन्‍ने थाहा हुँदैन। सृष्टिकर्ताको नजरमा, व्यक्ति जन्‍मने स्थान, उसको लिङ्ग, र उसको शारीरिक रूप सबै अस्थायी कुराहरू हुन्। ती सारा मानवजातिप्रतिको उहाँको व्यवस्थापनको हरेक चरणका अत्यन्तै साना कणहरू, सूक्ष्‍म चिन्‍हहरूका श्रृंखला मात्रै हुन्। र व्यक्तिको वास्तविक गन्तव्य र परिणामलाई कुनै पनि निश्‍चित चरणमा भएको तिनीहरूको जन्‍मले होइन, बरु तिनीहरूले आफ्‍नो जीवनमा पूरा गर्ने मिसनले, र उहाँको व्यवस्थापन योजना पूरा भएपछि तिनीहरूमाथि सृष्टिकर्ताले गर्नुहुने न्यायले निर्धारित गर्छ।

हरेक प्रभावको लागि एउटा कारण हुन्छ, र कारणविना कुनै प्रभाव हुँदैन भन्‍ने भनाइ छ। तसर्थ, व्यक्तिको जन्‍म उसको वर्तमान जीवन र उसको पहिलेको जीवन दुवैसँग अत्यावश्यक रूपमा नै जोडिएको हुन्छ। यदि व्यक्तिको मृत्युले उसको हालको जीवन अवधिलाई समाप्त गर्छ भने, व्यक्तिको जन्‍म ताजा चक्रको सुरुवात हो; यदि पुरानो चक्रले व्यक्तिको अघिल्‍लो जीवनलाई प्रतिनिधित्व गर्छ भने, नयाँ चक्र स्वाभाविक रूपमा नै तिनीहरूको वर्तमान जीवन हो। व्यक्तिको जन्‍म उसको विगतको जीवनका साथै उसको वर्तमान जीवनसँग जोडिएको हुने हुनाले, व्यक्तिको जन्‍मसँग सम्‍बन्धित स्थान, परिवार, लिङ्ग, स्वरूप, र अरू त्यस्तै तत्वहरू सबै नै व्यक्तिको विगत र वर्तमान जीवनसँग सम्‍बन्धित हुन्छन्। यसको अर्थ के हो भने व्यक्तिको जन्‍म सम्‍बन्धी तत्वहरूलाई व्यक्तिको अघिल्‍लो जीवनले मात्रै प्रभाव पार्ने होइन, बरु तिनलाई त व्यक्तिको वर्तमान जीवनको नियतिले पनि निर्धारित गर्छ, जसले मानिसहरू किन विभिन्‍न परिस्‍थितिहरूमा जन्‍मन्छन् भन्‍ने कुरालाई स्पष्ट पार्छ: कति जना गरिब परिवारमा जन्‍मन्छन्, अरू धनी परिवारमा। कति जना सर्वसाधारण वर्गका हुन्‍छन्, अरू विशिष्ट घरानाका। कति जना दक्षिणमा जन्‍मन्छन्, अरू उत्तरमा। कति जना मरुभूमिमा जन्‍मन्छन्, अरू हराभरा जमिनमा। कतिपय मानिसहरूको जन्‍म हुँदा हर्ष, खुशी, र धूमधाम हुन्छ; अरूको जन्‍मले आँसु, संकष्ट, र विपत्ति ल्याउँछ। कति जना प्यारो बन्न जन्‍मन्छन्, अरू झारजस्तो पन्छाइनको लागि जन्‍मन्छन्। कति जना उत्कृष्ट विशेषताहरू लिएर जन्‍मन्छन्, अरू कुटिल मतिका भई जन्‍मन्छन्। कति जना हेर्दा सुन्दर देखिन्छन्, अरू कुरूप देखिन्छन्। कति जना आधारातमा जन्‍मन्छन्, अरू मध्य दिनको तातो घाममा जन्‍मन्छन्। … सबै वर्गका मानिसहरूको जन्‍म सृष्टिकर्ताले तिनीहरूका निम्ति साँचिराखिदिनुभएको नियतिद्वारा निर्धारित गरिन्छन्; तिनीहरूको जन्‍मले तिनीहरूको वर्तमान जीवनको नियतिका साथै तिनीहरूले निर्वाह गर्ने भूमिका अनि तिनीहरूले पूरा गर्ने मिसनलाई निर्धारित गर्छ। यो सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा हुन्छ, उहाँले नै यसलाई पूर्वनिर्धारित गर्नुभएको हुन्छ; पहिलेबाटै निर्धारित गरिएको यो नियतिबाट कोही पनि उम्कन सक्दैन, कसैले पनि आफ्‍नो जन्‍मलाई परिवर्तन गर्न सक्दैन, अनि कसैले पनि आफ्‍नो नियतिलाई छनौट गर्न सक्दैन।

दोस्रो महत्वपूर्ण मोड: हुर्कनु-बढ्नु

मानिसहरू जुन प्रकारको परिवारमा जन्‍मन्छन् त्यसको आधारमा, तिनीहरू घरको फरक-फरक वातावरणमा हुर्कन्छन् र तिनीहरूले आफ्‍ना आमाबाबुबाट फरक-फरक पाठहरू सिक्‍छन्। व्यक्ति कसरी वयस्क हुँदै जान्छ त्यसका अवस्थाहरूलाई यी तत्वहरूले निर्धारित गर्छन्, र हुर्कनु-बढ्नुले व्यक्तिको जीवनको दोस्रो महत्त्वपूर्ण समयबिन्दुलाई प्रतिनिधित्व गर्छ। अवश्य नै, यो समयबिन्दुको बारेमा पनि मानिसहरूसँग कुनै विकल्‍प हुँदैन। यो पनि निश्‍चित, पूर्वनिर्धारित हुन्छ।

१. सृष्टिकर्ताले हरेक व्यक्ति वयस्क हुनको लागि निश्‍चित अवस्थाहरूको योजना बनाउनुभएको हुन्छ

व्यक्तिले आफू हुर्कने क्रममा उसलाई शिक्षा दिने र प्रभाव पार्ने मानिस, घटना, वा काम-कुराहरूलाई छनौट गर्न सक्दैन। व्यक्तिले कस्तो ज्ञान वा सीपहरू प्राप्त गर्छ, उसले के-कस्ता बानी-व्यहोराको विकास गर्छ त्यसलाई उसले छनौट गर्न सक्दैन। व्यक्तिको आमाबाबु र इष्टमित्र को हुन्छन्, ऊ कस्तो प्रकारको वातावरणमा हुर्कन्छ त्यसको बारेमा व्यक्तिले केही पनि बोल्‍न पाउँदैन; व्यक्तिको वरिपरिका मानिस, घटना, र काम-कुराहरूसँगको उसको सम्‍बन्ध, र तिनले उसको विकासमा कसरी प्रभाव पार्छन्, यी सबै व्यक्तिको नियन्त्रणभन्दा बाहिरका कुराहरू हुन्। त्यसो भए, कसले यी कुराहरूको निर्णय गर्छ? कसले तिनको व्यवस्थापन गर्छ? मानिसहरूसँग यस विषयमा कुनै विकल्‍प नहुने हुनाले, तिनीहरूले यी कुराहरू आफ्‍नो लागि निर्णय गर्न नसक्‍ने हुँदा, र अवश्य पनि तिनले स्वाभाविक रूपमै आकार नलिने हुँदा, भन्नै पर्दैन, यी मानिसहरू, घटनाहरू, र काम-कुराहरूको निर्माण सृष्टिकर्ताकै हातमा छ। अवश्‍य नै, जसरी सृष्टिकर्ताले हरेक व्यक्तिको जन्‍मको खास परिस्‍थितिहरूको बन्दोबस्त गर्नुहुन्छ, त्यसरी नै उहाँले व्यक्ति कस्ता खास परिस्‍थितिहरूमा हुर्कन्छ भन्ने कुराको पनि बन्दोबस्त गर्नुहुन्छ। यदि व्यक्तिको जन्‍मले उसको वरिपरिका मानिसहरू, घटना, र काम-कुराहरूलाई परिवर्तन गर्छ भने, त्यस व्यक्तिको वृद्धि र विकासले पनि तिनलाई अवश्य नै प्रभाव पार्नेछ। उदाहरणको लागि, कतिपय मानिसहरू गरिब परिवारमा जन्‍मन्छन्, तर धनसम्पत्तिले घेरिएर हुर्कन्छन्; अरू सम्‍पन्‍न परिवारमा जन्‍मन्छन्, तर तिनीहरूको परिवारको सम्‍पत्तिमा ह्रास आएको कारणले, तिनीहरू गरिब वातावरणमा हुर्कन्छन्। कसैको जन्‍मलाई निश्‍चित नियमले सञ्चालित गर्दैन, र कुनै पनि व्यक्ति अपरिहार्य, निश्‍चित परिस्‍थितिहरूमा हुर्कँदैन। यी कुराहरू व्यक्तिले कल्‍पना वा नियन्त्रण गर्न सक्‍ने कुराहरू होइनन्; ती व्यक्तिको नियतिका उपजहरू हुन्, र व्यक्तिकै नियतिले तिनलाई निर्धारण गरेको हुन्छ। अवश्‍य नै, मूल रूपमा, यी कुराहरू हरेक व्यक्तिको लागि सृष्टिकर्ताले पूर्वनिर्धारित गरिदिनुभएको नियतिद्वारा निर्धारित हुन्छन्; व्यक्तिको नियतिमाथि सृष्टिकर्ताको सार्वभौमिकता अनि यसको निम्ति उहाँको योजनाद्वारा ती कुराहरू निर्धारित हुन्छन्।

२. मानिसहरू हुर्कने विभिन्‍न परिस्‍थितिहरूले फरक-फरक भूमिकाहरू पैदा गर्छन्

व्यक्तिको जन्‍मका परिस्‍थितिहरूले आधारभूत रूपमा तिनीहरू हुर्कने वातावरण र परिस्‍थितिहरूलाई स्थापित गर्छन्, त्यसै गरी, व्यक्ति जुन परिस्‍थितिहरूमा हुर्कन्छ ती उसको जन्‍मका परिस्‍थितिहरूका उपज हुन्। यस अवधिमा, व्यक्तिले भाषा सिक्‍न सुरु गर्छ, र व्यक्तिको मस्तिष्कले विभिन्‍न नयाँ कुराहरू भेट्ने र आत्मसात् गर्ने गर्छ, जुन प्रक्रियाको अवधिमा व्यक्ति निरन्तर वृद्धि भइरहेको हुन्छ। व्यक्तिले आफ्‍नो कानले सुन्‍ने, आफ्‍नो आँखाले देख्‍ने, र आफ्‍नो मस्तिष्कले लिने कुराहरूले बिस्तारै उसको भित्री संसारलाई भर्छ र चलायमान बनाउँछ। व्यक्तिको सम्पर्कमा आउने मानिसहरू, घटना, र विभिन्‍न कुराहरू; उसले सिक्‍ने सामान्य चेतना, ज्ञान, र सीपहरू; अनि व्यक्तिलाई सिकाइने वा उसको मस्तिष्कमा हालिने उसलाई प्रभाव पार्ने विचार-शैलीहरूले व्यक्तिको जीवनको नियतिलाई निर्देशित गर्नेछ र प्रभाव पार्नेछ। व्यक्तिले हुर्कने क्रममा सिक्‍ने भाषा र उसको विचार-शैलीलाई उसले आफ्‍नो जवान अवस्थामा बिताएको वातावरणबाट अलग गर्न सकिँदैन, र त्यो वातावरणमा आमाबाबु र दाजुभाइ वा दिदीबहिनी, अनि तिनीहरूका आसपासका अरू मानिसहरू, घटना, र विभिन्न कुराहरू पर्छन्। त्यसैले, व्यक्तिको विकासको क्रम ऊ हुर्कने वातावरणले निर्धारण गर्छ, र यो अवधिमा उसको सम्पर्कमा आउने मानिसहरू, घटना, र अन्य कुराहरूमा पनि निर्भर हुन्छ। व्यक्ति जुन अवस्थाहरूमा हुर्कन्छ त्यो धेरै पहिले नै अग्रिम रूपमा पूर्वनिर्धारित गरिएको हुने हुनाले, यो प्रक्रियाको अवधिमा ऊ जुन वातावरणमा हुर्कन्छ, त्यो पनि स्वाभाविक रूपमै पूर्वनिर्धारित गरिएको हुन्छ। व्यक्तिका विकल्‍प र रुचिहरूद्वारा यसको निर्णय गरिँदैन, बरु सृष्टिकर्ताका योजनाहरू अनुरूप, सृष्टिकर्ताका सावधानीपूर्ण बन्दोबस्त र व्यक्तिको जीवनको नियतिमाथिको उहाँको सार्वभौमिकताद्वारा निर्धारित गरिन्छ। तसर्थ, वृद्धि हुने क्रममा कुनै पनि व्यक्तिले भेट्ने मानिसहरू, अनि तिनीहरूको सम्पर्कमा आउने अन्य कुराहरू सबै नै सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तसँग स्वाभाविक रूपमै जोडिएका हुन्छन्। मानिसहरूले यस प्रकारका जटिल पारस्परिक सम्‍बन्धहरूलाई पूर्वानुमान गर्न सक्दैनन्, न त तिनीहरूले तिनलाई नियन्त्रण गर्न वा बुझ्‍न नै सक्‍छन्। व्यक्ति हुर्कने वातावरणलाई विभिन्‍न फरक-फरक कुराहरू र मानिसहरूले प्रभाव पार्छन्, र कुनै पनि मानिसले त्यस्ता सम्‍बन्धहरूको विशाल जालोलाई बन्दोबस्त गर्न वा योजनाबद्ध गर्न सक्दैन। सृष्टिकर्ता बाहेक कुनै पनि व्यक्ति वा थोकले सबै मानिसहरू, काम-कुरा अनि घटनाहरूको देखा पराइलाई नियन्त्रण गर्न सक्दैन, न त तिनीहरूले आफूलाई कायम गर्न वा तिनीहरू हराएर जाने प्रक्रियालाई नै नियन्त्रण गर्न सक्छन्, अनि यस्तै सम्‍बन्धहरूको विशाल जालोले नै व्यक्तिको विकासलाई सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएअनुसार आकार दिन्छ र मानिसहरू हुर्कने विभिन्‍न वातावरणहरूको निर्माण गर्छ। मानिसहरूले आफ्‍ना मिसन सफलतापूर्वक पूरा गर्न सकून् भनेर ठोस, बलिया जगहरू बसाल्दै, यसले नै सृष्टिकर्ताको व्यवस्थापन कार्यका लागि आवश्यक विभिन्‍न भूमिकाहरू निर्माण गर्छ।

तेस्रो महत्वपूर्ण मोड: स्वतन्त्रता

व्यक्ति बाल्यकाल, किशोरावस्था पार गरेर, क्रमिक रूपमा र अपरिहार्य रूपमा परिपक्‍वतामा पुगेपछि, उसले लिने अर्को चरण भनेको आफ्‍नो जवान अवस्थाबाट अलग भएर, आफ्‍ना बाबुआमालाई बिदा गर्नु अनि अगाडिको बाटोलाई स्वतन्त्र वयस्कको रूपमा सामना गर्नु हो। यस विन्दुमा, वयस्कले सामना गर्नै पर्ने सबै मानिसहरू, घटना, अनि अन्य कुराहरूलाई तिनीहरूले सामना गर्नुपर्छ, तिनीहरूका अघि आफै प्रस्तुत हुँदै आउने तिनीहरूको नियतिका सबै भागहरूलाई सामना गर्नुपर्छ। व्यक्तिले पार गरेर जानैपर्ने तेस्रो समयबिन्दु यही हो।

१. स्वतन्त्र बनिसकेपछि, व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई अनुभव गर्न थाल्छ

यदि व्यक्तिको जन्‍म र हुर्काइ व्यक्तिको नियतिको लागि जग बसाल्‍ने उसको जीवन यात्राको “तयारी अवधि” हो भने, व्यक्तिको स्वतन्त्रता उसको आफ्‍नो जीवनको नियतिसँगको उसको आत्मलापको सुरुवात हो। यदि व्यक्तिको जन्‍म र हुर्काइ तिनीहरूको जीवनको नियतिको लागि तिनीहरूले साँचेर राख्‍ने सम्पत्ति हो भने, व्यक्तिको स्वतन्त्रता उनीहरूले त्यो धन खर्चन सुरु गर्ने वा धन थप्‍न सुरु गर्ने समय हो। जब व्यक्तिले आफ्‍ना आमाबाबुलाई छोडेर स्वतन्त्र बन्छ, तब उसले सामना गर्ने सामाजिक अवस्थाहरू, र उसको निम्ति उपलब्‍ध हुने कामको प्रकार र जीविका दुवैलाई उसको नियतिले तय गर्छ र उसको आमाबाबुसँग यसको कुनै सम्‍बन्ध हुँदैन। कतिपय मानिसहरूले कलेजमा राम्रो विषय रोज्छन् अनि तिनीहरूले आफ्‍नो जीवन यात्रामा पहिलो विजयी छलाङ्ग मार्दै, दीक्षान्तपछि सन्तोषजनक जागिर पाउँछन्। कतिपय मानिसहरूले विभिन्‍न प्रकारका फरक-फरक सीप सिक्छन् र त्यसमा पोख्त हुन्छन् तैपनि तिनीहरूले आफ्‍नो निम्ति उपयुक्त जागिर कहिल्यै भेट्टाउँदैनन् वा आफूलाई उपयुक्त पद कहिल्यै पाउँदैनन्, जीविका प्राप्त गर्नु त परै जाओस्; तिनीहरूको जीवन यात्राको सुरुमा, तिनीहरू हरेक मोडमा ठक्‍कर खान्छन्, समस्याहरूद्वारा गाँजिएकोले तिनीहरूको भविष्य निराशाजनक बन्छ र तिनीहरूको जीवन अनिश्‍चित हुन्छ। कतिपय मानिसहरू आफ्‍ना अध्ययनमा लगनशील भएर लागिपर्छन्, तैपनि उच्‍च शिक्षा प्राप्त गर्ने हरेक मौकालाई लक्ष्यको नजिक पुगेर पनि गुमाउँछन्; सफलता हासिल गर्ने त तिनीहरूको नियतिमा नै लेखिएको छैन जस्तो देखिन्छ, तिनीहरूको जीवन यात्राको प्रारम्‍भिक आकाङ्क्षा हावामा बिलाएर जान्छ। अगाडिको बाटो सहज छ कि ढुङ्गैढुङ्गाको छ भन्‍ने कुरा थाहा नभएपछि, तिनीहरूले मानव नियति कति परिवर्तनशील हुँदो रहेछ भन्‍ने पहिलो पटक अनुभव गर्छन्, तसर्थ जीवनलाई अपेक्षा र भयको साथ लिन्छन्। कतिपय मानिसहरू त्यति शिक्षित नभए पनि, पुस्तकहरू लेख्छन् अनि निकै ख्याति कमाउँछन्; कतिपय मानिसहरू पूर्ण रूपमा असाक्षर भए पनि, व्यापारमा पैसा कमाउँछन् र आफ्‍नो लागि आफै कमाउन सक्छन्…। व्यक्तिले कुन पेशा अपनाउँछ, उसले कसरी दिनचर्या गर्छ: के यी कुराहरूमा मानिसहरूले असल कि खराब निर्णय गर्छन् भन्‍ने बारेमा तिनीहरूको कुनै नियन्त्रण हुन्छ र? के यी कुराहरू मानिसहरूको इच्‍छा र निर्णयहरू अनुरूप हुन्छन् र? धेरैजसो मानिसहरूका कामनाहरू यस्ता हुन्छन्: थोरै काम गरेर धेरै कमाइ गर्ने, घाम र झरीमा कडा परिश्रम नगर्ने, राम्रो लुगा लगाउने, जहाँसुकै भए पनि हाँसीखुशी बस्‍ने, अरूभन्दा माथि उठ्ने, र आफ्‍ना पुर्खाहरूका निम्ति इज्‍जत कमाउने। मानिसहरूले सिद्धताको आशा गर्छन्, तर जब तिनीहरूले आफ्‍नो जीवन यात्राका प्रथम पाइलाहरू चाल्छन्, तिनीहरूले बिस्तारै मानव नियति कति असिद्ध छ भन्‍ने महसुस गर्छन्, अनि कसैले आफ्‍नो भविष्यको लागि साहसिक योजनाहरू बनाउन सके पनि र उसले आँटिला कल्‍पनाहरू गर्न सके पनि, आफ्‍ना सपनाहरूलाई वास्तविक तुल्याउने क्षमता वा शक्ति कसैसँग छैन, र आफ्‍नो भविष्यलाई नियन्त्रण गर्ने हैसियत कसैसँग छैन भन्‍ने कुरालाई साँचो रूपमा पहिलो पटक बुझ्छन्। व्यक्तिका सपनाहरू अनि उसले सामना गर्नुपर्ने वास्तविकताहरूको बीचमा जहिल्यै पनि केही न केही दूरी हुन्छ; व्यक्तिले जे चाहेको हुन्छ त्यस्तो कहिल्यै हुँदैन, अनि त्यस्ता वास्तविकताहरूको सामना गरिसकेपछि, मानिसहरूले कहिल्यै पनि सन्तुष्टि वा तृप्ति हासिल गर्न सक्दैनन्। कतिपय मानिसहरूले आफ्‍नै नियति परिवर्तन गर्ने प्रयास स्वरूप, आफ्‍नो जीविका र भविष्यको खातिर, कल्‍पना गर्न सकिने कुनै पनि हदसम्‍म लागिपर्छन्, ठूला-ठूला प्रयासहरू गर्छन् र धेरै परित्यागहरू गर्छन्। तर अन्तिममा, तिनीहरूका आफ्‍नै कठिन परिश्रमद्वारा आफ्‍ना सपनाहरू र इच्‍छाहरूलाई पूरा गर्न सके भने पनि, तिनीहरूले आफ्‍नो नियति कहिल्यै परिवर्तन गर्न सक्दैनन्, अनि तिनीहरूले जति धेरै दृढताको साथ प्रयास गरे पनि, नियतिले तिनीहरूका निम्ति जे छुट्याएर राखिदिएको छ त्योभन्दा बढी तिनीहरूले प्राप्त गर्न सक्दैनन्। क्षमता, बौद्धिकता, र इच्‍छाशक्ति जे-जस्तो भए पनि, नियतिको अगाडि मानिसहरू सबै उस्तै हुन्, जसले ठूलो र सानो, उचा र नीच, श्रेष्ठ र तुच्छबीच कुनै भेदभाव गर्दैन। व्यक्तिले कुन पेशा अपनाउँछ, उसले बाँच्‍नको लागि के गर्छ, र उसले जीवनमा कति सम्पत्ति जम्मा गर्छ भन्ने कुरालाई उसका बाबुआमा, उसको प्रतिभा, उसका प्रयासहरू वा उसका महत्वाकांक्षाहरूले निर्धारित गर्दैनन्, ती कुरा त सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुहुन्छ।

२. आफ्‍ना बाबुआमालाई छोडेर जीवन-मञ्‍चमा उत्सुकताका साथ आफ्‍नो भूमिका खेल्‍न सुरु गर्नु

जब व्यक्ति परिपक्‍वतामा पुग्छ, ऊ आफ्‍ना बाबुआमालाई छोडेर आफै अघि बढ्न सक्छ, र यही विन्दुमा नै व्यक्तिले साँच्‍चै आफ्‍नो भूमिका निर्वाह गर्न सुरु गर्छ, बादल हट्छ अनि जीवनमा व्यक्तिको उद्देश्य बिस्तारै स्पष्ट हुँदै जान्छ। नाम मात्रको लागि, व्यक्ति आफ्‍नो बाबुआमासँग नजिकको सम्‍बन्धमा नै रहन्छ, तर आमाबाबुसँग व्यक्तिको जीवनको मिसन र उसले खेल्‍ने भूमिकाको कुनै सम्‍बन्ध नहुने भएकोले, सारगत हिसाबमा व्यक्ति क्रमिक रूपमा आत्मनिर्भर बन्दै जाँदा यो घनिष्ठ सम्‍बन्ध तोडिन्छ। जैविक दृष्टिकोणबाट हेर्दा, अवचेतन हिसाबले मानिसहरू आफ्‍ना बाबुआमामा आश्रित नभई बस्‍न सक्दैनन्, तर वस्तुगत रूपमा भन्दा, जब तिनीहरू पूर्ण रूपमा वृद्धि हुन्छन्, तिनीहरूको जीवन तिनीहरूका बाबुआमाको भन्दा पूर्ण रूपमा अलग हुन्छ र आफूले व्यक्तिगत रूपमा लिएका भूमिकाहरूलाई नै तिनीहरू निर्वाह गर्छन्। जन्‍म दिने र हुर्काउने बाहेक, अभिभावकको रूपमा रहेको आमाबाबुको जिम्‍मेवारी भनेको तिनीहरूलाई हुर्कनको निम्ति औपचारिक वातावरण दिनु मात्रै हो, किनभने सृष्टिकर्ताको पूर्वनिर्धारित योजनाले बाहेक व्यक्तिको नियतिमा अरू केहीले पनि प्रभाव पार्दैन। आफ्‍नो भविष्य कस्तो हुनेछ भनेर कसैले पनि नियन्त्रण गर्न सक्दैन; धेरै पहिले अग्रिम रूपमा नै यसको पूर्वनिर्धारण गरिएको हुन्छ, र व्यक्तिको बाबुआमाले समेत उसको नियति परिवर्तन गर्न सक्दैन। नियतिको बारेमा भन्दा, हरेक व्यक्ति स्वतन्त्र हुन्छ, र हरेकको आ-आफ्‍नै नियति हुन्छ। त्यसैले, कसैको बाबुआमाले उसको जीवनको नियतिलाई रोक्‍न वा उसले जीवनमा खेल्‍ने भूमिकामा अलिकति पनि प्रभाव पार्न सक्दैन। के भन्‍न सकिन्छ भने, व्यक्तिले जुन परिवारमा जन्‍मिने र जुन वातावरणमा हुर्कने नियति ल्याएर आएको हुन्छ, त्यो जीवनमा व्यक्तिको मिसनलाई पूरा गर्ने पूर्वसर्त बाहेक केही पनि होइन। तिनीहरूले कुनै पनि हालतमा व्यक्तिको जीवनको नियतिलाई निर्धारित गर्दैनन् वा जुन प्रकारको नियतिमा व्यक्तिले आफ्‍नो मिसन पूरा गर्छ त्यसलाई निर्धारित गर्दैनन्। यसरी, जीवनमा व्यक्तिको मिसनलाई हासिल गर्नमा उसलाई उसका बाबुआमाले सहयोग गर्न सक्दैनन्, त्यसै गरी, कसैका आफन्तले व्यक्तिलाई उसको जीवनको भूमिका निर्वाह गर्न सहयोग गर्न सक्दैनन्। व्यक्तिले आफ्‍नो मिसन कसरी पूरा गर्छ र उसले कस्तो प्रकारको जिउने वातावरणमा आफ्‍नो भूमिका निर्वाह गर्छ त्यसलाई पूर्ण रूपमा व्यक्तिको जीवनको नियतिले नै निर्धारित गर्छ। अर्को शब्‍दमा भन्दा, अरू कुनै पनि वस्तुगत अवस्थाहरूले व्यक्तिको मिसनलाई प्रभाव पार्न सक्दैन, जसलाई सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। सबै मानिसहरू तिनीहरू हुर्केको वातावरणमा नै परिपक्‍व हुन्छन्; त्यसपछि, क्रमिक रूपमा, तिनीहरू जीवनको आफ्‍नै मार्गमा हिँड्न सुरु गर्छन् अनि सृष्टिकर्ताले तिनीहरूका लागि योजना गरिदिनुभएका नियतिहरूलाई पूरा गर्छन्। स्वाभाविक रूपमा, अनायासै, तिनीहरू मानवजातिको विशाल समुद्रमा मिसिन्छन् अनि तिनीहरूको आफ्‍नै जीवनका पदहरू धारण गर्छन्, जहाँ सृष्टिकर्ताको पूर्वनिर्धारित नियतिको खातिर, उहाँको सार्वभौमिकताको खातिर, तिनीहरूले सृष्टि गरिएका प्राणीहरूका रूपमा आफ्ना जिम्‍मेवारीहरूलाई पूरा गर्न थाल्छन्।

चौथो महत्वपूर्ण मोड: विवाह

व्यक्तिको उमेर बढ्दै गएपछि र ऊ परिपक्‍व भएपछि, ऊ आफ्‍ना बाबुआमा र ऊ जन्‍मेको र हुर्केको वातावरणबाट अझै टाढा जान्छ, अनि जीवनको दिशा खोज्‍न र आफ्‍नो बाबुआमाको भन्दा फरक शैलीमा जीवनका आफ्‍नै उद्देश्यहरूको खोजी गर्न थाल्छ। यो समयमा, अबउप्रान्त उसलाई उसका बाबुआमाको खाँचो हुँदैन, बरु उसलाई उसले आफ्‍नो जीवन बिताउन सक्‍ने जीवनसाथी, अर्थात् पति वा पत्‍नीको खाँचो हुन्छ, जोसँग उसको नियति घनिष्ठ रूपमा गाँसिएको हुन्छ। त्यसैले, स्वतन्त्रतापछिको जीवनको पहिलो घटना विवाह हो, जुन व्यक्तिले पार गर्नैपर्ने चौथो महत्वपूर्ण मोड हो।

१. विवाहमा व्यक्तिगत छनौटको कुनै ठाउँ हुँदैन

विवाह व्यक्तिको जीवनको एउटा मुख्य घटना हो; व्यक्तिले विभिन्‍न प्रकारका जिम्‍मेवारीहरू लिन सुरु गर्ने, अनि विभिन्‍न प्रकारका मिसनहरू क्रमिक रूपमा पूरा गर्दै जाने समय यही नै हो। मानिसहरूले आफैले अनुभव गर्नुभन्दा पहिले विवाहको बारेमा अनेक किसिमका भ्रम बोकेका हुन्छन्, अनि यी भ्रमहरू निकै सुन्दर हुन्छन्। स्‍त्रीहरूले तिनीहरूको हुनेवाला श्रीमान निकै आकर्षक राजकुमार हुनेछ भन्‍ने कल्‍पना गर्छन्, अनि पुरुषहरूले हिउँजस्तै गोरी केटीलाई बिहे गर्नेछु भनेर कल्‍पना गरेका हुन्छन्। यी कल्‍पनाहरूले के देखाउँछ भने विवाहको लागि हरेक व्यक्तिसँग निश्‍चित आवश्यकताहरू, तिनीहरूका आफ्‍नै माग र मापदण्डहरू हुन्छन्। यो दुष्ट युगमा मानिसहरूलाई अटुट रूपमा विवाह सम्‍बन्धी विकृत सन्देश दिइन्छ, जसले थप मागहरू पैदा गर्छ र मानिसहरूलाई अनेक किसिमका बोझ अनि अनौठा आचरणहरू प्रदान गर्छ, तैपनि व्यक्तिले यसलाई जसरी बुझे पनि, यसप्रति व्यक्तिको आचरण जस्तो भए पनि, विवाह व्यक्तिगत छनौटको विषय होइन भन्‍ने कुरा विवाहको अनुभव गरिसकेको कुनै पनि व्यक्तिलाई थाहा हुन्छ।

व्यक्तिले आफ्‍नो जीवनमा धेरै मानिसहरूलाई भेट्टाउँछ, तर विवाहमा उसको जीवनसाथी को बन्‍नेछ भन्‍ने कसैलाई पनि थाहा हुँदैन। विवाहको विषयमा हरेकसँग तिनीहरूका आ-आफ्‍नै विचार र व्यक्तिगत अवधारणाहरू हुनेभए पनि, साँचो रूपमा अन्त्यमा तिनीहरूको जीवनसाथी को बन्‍नेछ भन्‍ने बारेमा कसैले पनि पूर्वानुमान गर्न सक्दैन, र व्यक्तिका आफ्‍नै विचारहरूको त्यति अर्थ हुँदैन। तैँले मन पराउने कुनै व्यक्तिलाई भेटिसकेपछि, तैँले त्यस व्यक्तिलाई पाउने प्रयास गर्न सक्छस्; तर उक्त व्यक्ति तँप्रति इच्‍छुक हुन्छ कि हुँदैन, तेरो जीवनसाथी बन्‍न सक्छ कि सक्दैन भन्‍ने कुरा तैँले निर्णय गर्ने कुरा होइन। तैँले माया गरेको मान्छे नै तेरो जीवनसाथी बन्‍नेछ भन्‍ने अनिवार्य छैन; अनि यसबीच, तैँले कहिल्यै अपेक्षा नगरेको व्यक्ति तेरो जीवनमा चुपचाप प्रवेश गर्न सक्छ अनि तेरो जीवनसाथी, तेरो नियतिको सबैभन्दा महत्त्वपूर्ण तत्व, तेरो अर्धाङ्ग बन्‍न सक्छ, जोसँग तेरो भाग्य अपरिहार्य रूपमा बाँधिन्छ। त्यसैले, संसारमा करोडौँ विवाहहरू हुनेभए पनि, हरेक विवाह फरक छ: कति विवाहहरूमा असन्तुष्टि छ, कतिमा भने खुशी छ; कति पूर्व र पश्चिम लाग्छन्, कति उत्तर र दक्षिण लाग्छन्; कति उत्तम जोडी बन्छन्, कति उस्तै सामाजिक स्तरका हुन्छन्; कति खुशी र सद्भावपूर्ण हुन्छन्, कति पीडा र शोकमा हुन्छन्; कतिले अरूप्रति डाहा पैदा गर्छन्, कतिलाई गलत रूपमा बुझिन्छ र आँखा तरिन्छ; कति आनन्दित हुन्छन्, कति आँसुमा डुब्छन् र हैरान हुन्छन्…। यी विभिन्‍न प्रकारका विवाहमा, मानिसले विवाहप्रति वफादारीता र जीवनपर्यन्त प्रतिबद्धता गर्छन्; तिनीहरूले प्रेम, घनिष्ठता, र नछुट्ने नाता, वा परित्याग र असमझदारी प्रकट गर्छन्। कतिले आफ्‍नो विवाह-सम्‍बन्धलाई धोका दिन्छन्, वा यसलाई घृणा समेत गर्छन्। विवाहले खुशी ल्याए पनि वा पीडा दिए पनि, विवाह सम्‍बन्धी हरेकको मिसन सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ र यो परिवर्तन हुनेछैन; यो मिसन हरेकले पूरा गर्नैपर्ने कुरा हो। हरेक विवाहको पछाडि रहने हरेक व्यक्तिको नियति अपरिवर्तनीय छ, जसलाई सृष्टिकर्ताले धेरै पहिले नै अग्रिम रूपमा पूर्वनिर्धारित गर्नुभएको हुन्छ।

२. विवाह दुवै पक्षका नियतिबाट पैदा हुन्छ

विवाह व्यक्तिको जीवनको एउटा महत्त्वपूर्ण मोड हो। यो व्यक्तिको नियतिको उपज हो र यो उसको नियतिको एउटा महत्त्वपूर्ण कडी हो; यो कुनै पनि व्यक्तिको व्यक्तिगत इच्‍छा वा रुचिमा स्थापित हुँदैन, र कुनै पनि बाहिरी तत्वहरूद्वारा यो प्रभावित हुँदैन, तर यो पूर्णतया दुवै पक्षहरूको नियतिद्वारा निर्धारित हुन्छ, दम्पतीका दुवै सदस्यहरूका नियति सम्‍बन्धी सृष्टिकर्ताको बन्दोबस्त र पूर्वनिर्धारणद्वारा निर्धारित हुन्छ। झट्ट हेर्दा, मानवजातिको निरन्तरता नै विवाहको उद्देश्य हो भन्‍नेजस्तो देखिन्छ, तर खासमा, विवाह भनेको आफ्‍नो मिसन पूरा गर्नको लागि व्यक्तिले पूरा गर्ने विधि बाहेक केही पनि होइन। विवाहमा, मानिसहरूले अर्को पुस्ता हुर्काउने भूमिका मात्रै निर्वाह गर्दैनन्; तिनीहरूले त विवाहलाई कायम राख्‍नको लागि निर्वाह गर्नुपर्ने विभिन्‍न भूमिकाहरू र ती भूमिकाहरूका लागि आवश्यक मिसनहरू सबैलाई अपनाउँछन्। व्यक्तिको जन्‍मले उसको वरिपरिका मानिसहरू, घटना, र अन्य कुराहरूलाई प्रभाव पार्ने हुँदा, उसको विवाहले पनि यी मानिसहरू, घटना, र अन्य कुराहरूलाई अपरिहार्य रूपमै प्रभाव पार्नुका साथसाथै तिनीहरू सबैलाई विभिन्‍न तरिकाले रूपान्तरण गर्नेछ।

जब कुनै व्यक्ति स्वतन्त्र बन्छ, उसले आफ्‍नै जीवन यात्रा सुरु गर्छ, जसले उसलाई उसको विवाहसँग सम्‍बन्ध राख्‍ने मानिसहरू, घटना, र अन्य कुराहरूतर्फ चरणबद्ध रूपमा डोर्‍याउँछ। त्यही समयमा, त्यस विवाहमा संलग्‍न हुने अर्को व्यक्ति तिनै मानिसहरू, घटनाहरू, र अन्य कुराहरूतर्फ चरणबद्ध रूपमा अघि बढिरहेको हुन्छ। सृष्टिकर्ताको सार्वभौमिकतामा, नियति जोडिएका दुई असम्बन्धित मानिसहरू क्रमिक रूपमा एउटै विवाहमा प्रवेश गर्छन् र आश्‍चर्यजनक रूपमा एउटै परिवारमा प्रवेश गर्छन् अर्थात् “एउटै डोरीमा झुण्डिरहेका दुई फट्याङ्ग्रा” जस्ता बन्छन्। त्यसैले, जब व्यक्ति विवाहमा प्रवेश गर्छ, उसको जीवन यात्राले उसको अर्धाङ्गलाई प्रभावित गर्छ र छुन्छ, अनि त्यसरी नै एउटा जीवनसाथीको जीवन यात्राले उसको आफ्‍नै जीवन नियतिलाई प्रभाव पार्नेछ र छुनेछ। अर्को शब्‍दमा भन्दा, मानिसहरूको नियति परस्पर रूपमा सम्‍बन्धित हुन्छन्, र कसैले पनि अरूबाट पूर्ण रूपमा स्वतन्त्र रहेर जीवनमा आफ्‍नो मिसनलाई पूरा गर्न वा आफ्‍नो भूमिका निर्वाह गर्न सक्दैन। व्यक्तिको जन्‍मले सम्‍बन्धहरूको ठूलो साङ्‍लालाई प्रभाव पार्छ; हुर्कने-बढ्ने क्रममा पनि सम्‍बन्धहरूको जटिल साङ्‍ला संलग्‍न हुन्छ; त्यसरी नै, विवाह पनि मानव सम्‍बन्धहरूको विशाल र जटिल जालोभित्र अस्तित्वमा रहन्छ र त्यसैमा यसलाई कायम राखिन्छ, जसमा त्यो जालोको हरेक सदस्य संलग्‍न हुन्छन् र त्यसले यसमा संलग्‍न हरेक व्यक्तिको नियतिलाई प्रभाव पार्छ। विवाह परिवारका दुवै सदस्यहरू, तिनीहरू हुर्केका परिस्‍थितिहरू, तिनीहरूको रूप, तिनीहरूको उमेर, तिनीहरूका गुणहरू, तिनीहरूका प्रतिभाहरू, वा अन्य कुनै पनि तत्वहरूको उपज होइन; बरु, यो त साझा मिसन र सम्‍बन्धित नियतिबाट पैदा हुन्छ। सृष्टिकर्ताले योजनाबद्ध गर्नुभएको र बन्दोबस्त गर्नुभएको मानव नियतिको उपज अर्थात विवाहको उत्पत्ति यही हो।

पाँचौं महत्वपूर्ण मोड: सन्तान

विवाह गरिसकेपछि, व्यक्तिले अर्को पुस्ताको सन्तान हुर्काउन सुरु गर्छ। आफूले कति जना र कस्ता बालबच्‍चा जन्‍माउने भन्‍ने बारेमा व्यक्तिले कुनै निर्णय गर्न सक्दैन; यो पनि सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएको व्यक्तिको नियतिद्वारा नै निर्धारित हुन्छ। व्यक्तिले पार गरेर जानैपर्ने पाँचौं महत्वपूर्ण मोड यही हो।

यदि कुनै व्यक्ति कसैको सन्तान बन्‍ने भूमिकालाई पूरा गर्नको लागि जन्‍मन्छ भने, उसले कसैको बाबुआमाको भूमिका पूरा गर्न अर्को पुस्ताको सन्तान हुर्काउँछ। भूमिकामा हुने यो परिवर्तनले व्यक्तिलाई फरक-फरक दृष्टिकोणबाट जीवनका फरक-फरक चरणहरूलाई अनुभव गराउँछ। यसले व्यक्तिलाई फरक-फरक जीवन अनुभव पनि प्रदान गर्छ जसद्वारा उसले सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍न पुग्छ, जसलाई सधैँ उही किसिमले लागू गरिन्छ, र जसद्वारा व्यक्तिले सृष्टिकर्ताको पूर्वनिर्धारित गन्तव्यलाई कसैले पनि नाघ्‍न सक्दैन वा परिवर्तन गर्न सक्दैन भन्‍ने तथ्यलाई बुझ्‍छ।

१. आफ्‍नो सन्तान के बन्‍छ भन्‍ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन

जन्‍म, हुर्काइ-बढाइ, विवाह सबैले फरक-फरक हदमा विभिन्‍न प्रकारका निराशाहरू ल्याउँछन्। कतिपय मानिसहरू आफ्‍ना परिवार वा आफ्‍नो शारीरिक रूपप्रति असन्तुष्ट हुन्छन्; कतिले आफ्‍ना बाबुआमालाई मन पराउँदैनन्; कति आफू हुर्केको वातावरणको बारेमा बेखुसी हुन्छन् र गुनासो गर्छन्। अनि धेरैजसो मानिसहरूका लागि, यी सबै निराशाहरूमध्ये विवाह सबैभन्दा बढी असन्तुष्टिपूर्ण हुन्छ। आफ्‍नो जन्‍म, हुर्काइ, वा विवाहको बारेमा व्यक्ति जति नै असन्तुष्ट भए पनि, यी कुराहरू पार गर्दै जानेहरू हरेकलाई थाहा हुन्छ कि तिनीहरू कहाँ र कहिले जन्‍मन्छन्, तिनीहरूको रूप कस्तो हुन्छ, तिनीहरूको आमाबाबु को हुनेछन्, र तिनीहरूको पति वा पत्‍नी को हुनेछन् भन्‍ने कुरा कसैले पनि छनौट गर्न सक्दैन, बरु तिनीहरूले त स्वर्गको इच्‍छालाई नै स्वीकार गर्नुपर्छ। तैपनि जब मानिसहरूले अर्को पुस्ताको सन्तान हुर्काउने समय हुन्छ, तब तिनीहरूले तिनीहरूका सन्तानले तिनीहरूको आफ्‍नै जीवनको अघिल्‍लो भागमा तिनीहरूले भोगेका निराशाहरू सबैलाई पूर्ति गर्नेछन् भन्‍ने आशा गर्दै, आफ्‍नो जीवनको पहिलो भागमा तिनीहरूले पूरा गर्न नसकेका सबै इच्‍छाहरू आफ्‍ना सन्तानमा लाद्छन्। त्यसकारण, मानिसहरू आफ्‍ना छोराछोरीका बारेमा अनेक किसिमका कल्‍पनाहरू गर्छन्: तिनीहरूका छोरीहरू अत्यन्तै सुन्दर हुनेछन्, तिनीहरूका छोरा आकर्षक भलाद्मी बन्‍नेछन्; तिनीहरूका छोरीहरू सभ्य र प्रतिभावान् बन्‍नेछन् र तिनीहरूका छोराहरू उत्कृष्ट विद्यार्थी र उत्कृष्ट खेलाडी बन्‍नेछन्; तिनीहरूका छोरीहरू विनम्र, चरित्रवान्, र समझदार बन्‍नेछन्, अनि तिनीहरूका छोराहरू बुद्धिमानी, सक्षम, र संवेदनशील बन्‍नेछन्। तिनीहरूले आफ्‍ना सन्तान, चाहे तिनीहरू छोरी हुन् वा छोरा, तिनीहरूले आफूभन्दा ठूलालाई आदर गर्नेछन्, आफ्‍ना बाबुआमाको वास्ता गर्नेछन्, हरेकले तिनीहरूलाई माया र तारिफ गर्नेछन् भन्‍ने आशा गरेका हुन्छन्…। यस विन्दुमा, जीवन सम्‍बन्धी तिनीहरूको आशा ताजा बन्छ, अनि मानिसहरूको हृदयमा नयाँ जोसको दियो बल्छ। मानिसहरूलाई थाहा छ, तिनीहरू यो जीवनमा शक्तिहीन र आशाविहीन छन्, भीडभन्दा राम्रो हुनको लागि तिनीहरूसँग अर्को मौका वा अर्को आशा हुनेछैन, र तिनीहरूसँग आफ्‍नो नियति स्वीकार गर्नेबाहेक केही उपाय नै छैन। त्यसैले तिनीहरूले आफ्‍ना सबै आशाहरू, आफ्‍ना पूरा नभएका इच्‍छा र आकांक्षाहरू अर्को पुस्तामा लाद्छन् र आशा गर्छन् कि तिनीहरूका सन्तानले तिनीहरूलाई तिनीहरूका सपनाहरू पूरा गर्न अनि तिनीहरूका इच्‍छाहरू हासिल गर्न सहयोग गर्न सक्छन्; तिनीहरूले आशा गर्छन् कि तिनीहरूका छोराछोरीहरूले परिवारको नाममा वैभव ल्याउनेछन्, तिनीहरू महत्त्वपूर्ण, धनी, अनि चर्चित बन्‍नेछन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरूले आफ्‍ना छोराछोरीको ऐश्‍वर्य उचाइमा पुगेको हेर्न चाहन्छन्। मानिसहरूका योजना र कल्‍पनाहरू त पूर्ण छन्; तर के तिनीहरूले जन्माउने सन्तानहरूको संख्या, तिनीहरूका छोराछोरीको रूप, क्षमता आदि इत्यादि तिनीहरूले निर्णय गर्ने कुरा होइन, तिनीहरूको हातमा त आफ्ना सन्तानको नियति समेत छैन भन्‍ने तिनीहरूलाई थाहा छैन र? मानिसहरू आफ्‍नो नियतिका मालिक होइनन्, तैपनि तिनीहरूले नयाँ पुस्ताको नियति परिवर्तन गर्ने आशा गर्छन्; तिनीहरू आफ्‍नै नियतिबाट उम्कन असमर्थ छन्, तैपनि तिनीहरूले आफ्‍ना छोराछोरीहरूको नियति नियन्त्रण गर्ने प्रयास गर्छन्। के तिनीहरू आफैले आफ्नो अधिक-मूल्याङ्कन गरिरहेका छैनन् र? के यो मानवीय मूर्खता र अज्ञानता होइन र? आफ्‍ना सन्तानको लागि मानिसहरू जुनसुकै हदसम्‍म जान्छन्, तर आखिरमा, व्यक्तिको योजना र इच्‍छाहरूले उसले कति जना सन्तान जन्‍माउँछ वा ती छोराछोरी कस्ता हुन्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्दैन। कतिपय मानिसहरूसँग सुक्‍को हुँदैन तैपनि धेरै जना सन्तान जन्‍माउँछन्; कतिपय मानिसहरू धनी हुन्छन् तैपनि एउटै बच्‍चा जन्‍माएका हुँदैनन्। कतिले छोरी चाहन्छन् तर त्यो इच्‍छा पूरा हुँदैन; कति जना छोरा चाहन्छन् तर छोरा जन्‍माउन सक्दैनन्। कतिका लागि छोराछोरी आशीर्वाद हुन्; अरूका लागि, ती श्राप हुन्। कतिपय दम्पतीहरू बुद्धिमान हुन्छन्, तैपनि सुस्त मस्तिष्क भएको बच्‍चा जन्‍माउँछन्; कतिपय आमाबाबु मेहनती र इमानदार हुन्छन्, तैपनि तिनीहरूले हुर्काउने सन्तान अल्छी हुन्छन्। कतिपय बाबुआमा दयालु र सीधा हुन्छन् तर तिनीहरूका छोराछोरी कुटिल र बदमास हुन्छन्। कतिपय बाबुआमाको मस्तिष्क र शरीर तन्दुरुस्त हुन्छ तर तिनीहरूले अपाङ्ग सन्तान जन्‍माउँछन्। कतिपय बाबुआमा साधारण र असफल हुन्छन्, तर तिनीहरूका छोराछोरीले ठूला-ठूला कुराहरू हासिल गर्छन्। कतिपय बाबुआमा न्यून प्रतिष्ठाका हुन्छन् तर तिनीहरूका छोराछोरीले उच्‍च प्रतिष्ठा प्राप्त गर्छन्। …

२. अर्को पुस्ताका सन्तान हुर्काइसकेपछि, मानिसहरूले नियति सम्‍बन्धी नयाँ बुझाइ प्राप्त गर्छन्

विवाह-बन्धनमा प्रवेश गर्ने धेरैजसो मानिसहरूले प्रायजसो तीस वर्षको हाराहारीमा विवाह गर्छन्, जुन जीवनको त्यो समय हो जुन बेला व्यक्तिले मानव नियतिको बारेमा कुनै बुझाइ प्राप्त गरेको हुँदैन। तर जब मानिसहरूले सन्तान हुर्काउन थाल्छन्, र तिनीहरूका सन्तान हुर्कन्छन्, तब तिनीहरूले नयाँ पुस्ताले पनि अघिल्‍लो पुस्ताकै जीवन र सबै अनुभवहरूलाई दोहोर्‍याएको देख्छन्, अनि तिनीहरूले नयाँ पुस्ताको जीवनमा तिनीहरूकै आफ्‍नो विगत प्रतिबिम्‍बित भएको देख्दा, नयाँ पुस्ताले हिँड्ने मार्ग पनि तिनीहरूको आफ्‍नो मार्गजस्तै योजना र छनौट गर्न नसकिने किसिमको रहेछ भन्‍ने महसुस गर्छन्। यो तथ्यलाई सामना गरेपछि, हरेक व्यक्तिको नियति पूर्वनिर्धारित हुन्छ भन्‍ने कुरालाई स्वीकार गर्नुबाहेक तिनीहरूसँग केही विकल्‍प हुँदैन, अनि तिनीहरूले महसुस समेत नगरीकन तिनीहरूका आफ्‍नै इच्‍छाहरूलाई बिस्तारै पन्छ्याउन थाल्छन्, अनि तिनीहरूको हृदयमा भएका लालसाहरू फुट्दै मरेर जान्छन्…। आधारभूत रूपमा जीवनका महत्त्वपूर्ण विन्दुहरूलाई पार गरिसकेपछि, यो अवधिमा मानिसहरूले जीवनको बारेमा नयाँ बुझाइ हासिल गरेका हुन्छन्, नयाँ आचरण धारण गरेका हुन्छन्। यस उमेरको व्यक्तिले भविष्यबाट के अपेक्षा गर्न सक्छ र उनीहरूले अपेक्षा गर्नको लागि उनीहरूसँग के नै आशा हुन्छ र? पचास वर्षकी कुन महिलाले अझै आकर्षक राजकुमारको सपना देखिरहेकी हुन्छे र? पचास वर्षको कुन पुरुषले अझै आफ्‍नी हिउँजस्तै गोरीको खोजी गरिरहेको हुन्छ र? आधा उमेरकी कुन महिलाले अझै कुरूप हाँसबाट सुन्दर चखेवीमा परिवर्तन हुने आशा गरिरहेकी हुन्छे र? के धेरैजसो वृद्ध पुरुषहरूमा जवान पुरुषहरूको जस्तै जीवन सम्‍बन्धी जोस हुन्छ र? समग्रमा भन्दा, चाहे पुरुष होस् वा स्‍त्री, यो उमेरको कुनै पनि व्यक्तिमा विवाह, परिवार, र सन्तानप्रति तुलनात्मक रूपमा तर्कसंगत, व्यवहारिक आचरण हुने सम्‍भावना बढी हुन्छ। त्यस्तो व्यक्तिसँग आधारभूत रूपमा कुनै विकल्‍प बाँकी हुँदैन, नियतिलाई चुनौती दिने कुनै हठ हुँदैन। मानव अनुभवको हकमा भन्दा, जब व्यक्ति यो उमेरमा पुग्छ, उसले स्वाभाविक रूपमै निश्‍चित आचरण विकास गर्छ: “व्यक्तिले नियतिलाई स्वीकार गर्नैपर्छ; आफ्‍ना छोराछोरीको पनि आ-आफ्‍नै नियति हुन्छ; मानव नियति स्वर्गले तोकेको हुन्छ।” यो संसारका सबै घटना, हैरानी, र कठिनाइहरूलाई सामना गरिसकेपछि पनि सत्यतालाई नबुझ्‍ने मानिसहरूले मानव जीवन सम्‍बन्धी तिनीहरूका अन्तर्दृष्टिलाई यी चार शब्‍दमा सारांशित गर्नेछन्: “नियति भनेको यही हो!” यो वाक्यले मानव नियति सम्‍बन्धी सांसारिक मानिसहरूको बुझाइ र तिनीहरूले निकालेको निष्कर्षलाई संक्षिप्त गर्ने भए तापनि, र यसले मानवजातिको विवशतालाई व्यक्त गर्ने र यसलाई वास्तविक र सही भनेर व्याख्या गर्न सकिने भए तापनि, यो सृष्टिकर्ताको सार्वभौमिकताको बुझाइभन्दा निकै टाढाको कुरा हो, र यो सृष्टिकर्ताको अख्‍तियारको ज्ञानको विकल्‍प हुँदै होइन।

३. नियतिमा विश्‍वास गर्नु सृष्टिकर्ताको सार्वभौमिकताको ज्ञानको विकल्प होइन

धेरै वर्षसम्‍म परमेश्‍वरलाई पछ्याइसकेपछि, नियतिसम्‍बन्धी तिमीहरूको ज्ञान र सांसारिक मानिसहरूको ज्ञानको बीचमा कुनै आधारभूत भिन्‍नता छ? के तिमीहरूले सृष्टिकर्ताको पूर्वनिर्धारित गन्तव्यलाई साँच्‍चै बुझेका र सृष्टिकर्ताको सार्वभौमिकतालाई साँच्‍चै चिनेका छौ? कतिपय मानिसहरूसँग “नियति भनेकै त्यही हो” भन्‍ने वाक्यको बारेमा उल्‍लेखनीय, गहन बुझाइ हुन्छ, तैपनि तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा अलिकति पनि विश्‍वास गर्दैनन्; परमेश्‍वरले नै मानव नियतिलाई बन्दोबस्त र योजनाबद्ध गर्नुहुन्छ भन्‍नेमा तिनीहरू विश्‍वास गर्दैनन्, र तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुन अनिच्‍छुक हुन्छन्। त्यस्ता मानिसहरूसित छालहरूसँगै यताउता हुत्तिँदै र बहावसँगै बहँदै समुद्रमा तैरिएझैँ, निष्क्रिय रूपले प्रतीक्षा गर्दै आफैलाई नियतिको हातमा समर्पित गर्नेबाहेक अन्य विकल्‍प हुँदैन। तैपनि तिनीहरू मानव नियति परमेश्‍वरको सार्वभौमिकताको अधीनमा छ भनी स्वीकार गर्दैनन्; तिनीहरूले आफै परमेश्‍वरको सार्वभौमिकता जान्‍न पहल गरेर परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्न, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन, नियतिको प्रतिरोध गर्न छोड्न, र परमेश्‍वरको हेरचाह, सुरक्षा र मार्गनिर्देशनमा जिउन सक्दैनन्। अर्को शब्‍दमा भन्दा, नियतिलाई स्वीकार गर्नु र सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनु एउटै कुरा होइन; व्यक्तिले नियतिमा विश्‍वास गर्छ भन्दैमा उसले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार्छ, चिन्छ, र जान्दछ भन्‍ने हुँदैन; नियतिमा विश्‍वास गर्नु भनेको यसको सत्यता र यसको सतही प्रकटीकरणलाई पहिचान गर्नु मात्रै हो। यो कुरा सृष्टिकर्ताले मानवजातिको नियतिमाथि कसरी शासन गर्नुहुन्छ भन्‍ने कुरा जान्‍नुभन्दा फरक छ, सृष्टिकर्ता यावत् थोकको नियतिमाथिको प्रभुत्वको स्रोत हुनुहुन्छ भन्‍ने कुरा पहिचान गर्नुभन्दा फरक छ, र अवश्य नै मानवजातिको नियतिसम्बन्धी सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुभन्दा कोसौँ टाढा छ। नियतिको बारेमा एकदमै भावुक भएर पनि, यदि व्यक्तिले नियतिमा विश्‍वास मात्रै गर्छ तर उसले मानवजातिको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍न र पहिचान गर्न, यसमा समर्पित हुन र यसलाई स्वीकार गर्न सक्दैन भने, उसको जीवन एउटा दुःखान्त हुनेछ, व्यर्थमा जिइएको, खोक्रो जीवन हुनेछ; यस्ता व्यक्तिहरू अझै पनि सृष्टिकर्ताको प्रभुत्वमा आउन, सबैभन्दा सच्‍चा अर्थमा सृष्टि गरिएको मानिस बन्‍न, अनि सृष्टिकर्ताको स्वीकृती प्राप्त गर्न असमर्थ हुनेछन्। सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा जान्‍ने र अनुभव गर्ने व्यक्ति सक्रिय स्थितिमा हुनुपर्छ, निष्क्रिय वा लाचार स्थितिमा हुनु हुँदैन। त्यस्तो व्यक्तिले सबै कुराहरूको नियति पूर्वनिर्धारित हुन्छ भन्‍ने कुरालाई स्वीकार गर्ने भए तापनि, उसले जीवन र नियतिसम्‍बन्धी यथार्थ परिभाषा धारण गर्नुपर्छ: हरेक जीवन सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा हुन्छ। जब व्यक्तिले आफूले हिँडेको बाटोलाई फर्केर हेर्छ, जब उसले आफ्‍नो यात्राको हरेक चरणलाई सम्‍झन्छ, तब उसले देख्छ कि उसको यात्रा कठिन वा सहज जेसुकै भए पनि, हरेक चरणमा परमेश्‍वरले नै उसलाई मार्गनिर्देशित गरिरहनुभएको थियो, र यसबारेमा योजना बनाइरहनुभएको थियो। व्यक्तिले थाहै नपाई उसलाई आजसम्‍म डोर्‍याउने त परमेश्‍वरको सावधानीपूर्ण बन्दोबस्त, उहाँको होसियार योजना नै थियो। सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्न सक्षम हुनु, उहाँमार्फत मुक्ति प्राप्त गर्न सक्षम हुनु—कस्तो सौभाग्य हुन्थ्यो! यदि नियतिप्रति व्यक्तिको मनोवृत्ति नकरात्मक छ भने, ऊ परमेश्‍वरले उसका लागि बन्दोबस्त गर्नुभएका सबै कुराहरूको प्रतिरोध गरिरहेको छ र उसमा समर्पित मनोवृत्ति छैन भन्‍ने प्रमाणित गर्छ। यदि मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकताप्रति व्यक्तिको मनोवृत्ति सकारात्‍मक छ भने, जब उसले आफ्‍नो यात्रालाई फर्केर हेर्छ, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई साँचो रूपले बुझ्छ, तब उसले परमेश्‍वरले बन्दोबस्त गर्नुभएका सबै कुरामा थप इमानदारीसाथ समर्पित हुने इच्‍छा गर्नेछ, र परमेश्‍वरलाई आफ्‍नो नियतिको योजना गर्न दिन र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न छाड्नको लागि उसमा थप सङ्कल्प र आत्मविश्‍वास हुनेछ। किनभने उसले बुझ्छ कि उसमा नियतिको बोध नहुँदा, उसले परमेश्‍वरको सार्वभौमिकतालाई नबुझ्दा, र ऊ कुहिरोभित्र लर्खराउँदै र ढलपलिँदै दृढताका साथ छामछुम गर्दै अघि बढ्दा, त्यो यात्रा अत्यन्तै कठिन, र अत्यन्तै हृदयविदारक हुन्छ। त्यसकारण, जब मानिसहरूले मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान गर्छन्, तब चलाखहरूले यसलाई जान्‍ने र स्वीकार गर्ने, आफूले आफ्‍नै दुई हातद्वारा सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका पीडादायी दिनहरूलाई बिदा गर्ने, र नियतिको विरुद्धमा संघर्ष गर्न र आफ्ना तथाकथित “जीवन लक्ष्यहरू” आफ्‍नै तरिकाले खोज्न छाड्ने निर्णय गर्छन्। जब कुनै व्यक्तिसँग परमेश्‍वर हुनुहुन्‍न, जब उसले उहाँलाई देख्‍न सक्दैन, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई स्पष्ट रूपमा पहिचान गर्न सक्दैन, तब हरेक दिन अर्थहीन, निरर्थक, दुःखदायी हुन्छ। व्यक्ति जहाँ भए पनि, उसको जागिर जे भए पनि, उसको दिनचर्याका माध्यमहरू र लक्ष्यहरूको खोजी कार्यले उसलाई हृदयमा अटुट चोट र चैनविनाको कष्टबाहेक अरू केही दिँदैनन्, यतिसम्‍म कि उसले आफ्‍नो विगतलाई फर्केर हेर्नसमेत सक्दैन। व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेपछि मात्रै, ऊ उहाँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित भएपछि मात्रै, र उसले साँचो मानव जीवनको खोजी गरेपछि मात्रै, क्रमिक रूपमा ऊ हृदयको सबै चोट र कष्टबाट स्वतन्त्र हुन, र जीवनको रिक्तताबाट मुक्त हुन थाल्छ।

४. सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनेहरूले मात्रै साँचो स्वतन्त्रता प्राप्त गर्न सक्छन्

मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान नगर्ने हुनाले, तिनीहरूले आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति परिवर्तन गर्ने व्यर्थ आशा गर्दै, सधैँ अवज्ञाकारी र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, अनि सधैँ परमेश्‍वरको अख्तियार र सार्वभौमिकता, र नियतिमा रहेका कुराहरूलाई पन्छाउन चाहन्छन्। तर तिनीहरू यसमा कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरूले हर मोडमा ठक्‍कर खान्छन्। व्यक्तिले आफ्‍नो जीवन खेर फाल्‍ने क्रममा, उसको अन्तस्करणमा हुने यो संघर्षले यति भयानक पीडा दिन्छ कि त्यसले उसको हड्डी नै गलाउँछ। यो पीडाको कारण के हो त? के यो परमेश्‍वरको सार्वभौमिकताको कारण हो कि व्यक्ति अभागी भएर जन्‍मेकोले गर्दा हो? अवश्य नै, दुवै सत्य होइन। आधारभूत रूपमा, मानिसहरूले लिने मार्गहरू, तिनीहरूले आफ्‍नो जीवन जिउन रोजेका शैलीहरूको कारण यस्तो हुन्छ। कतिपय मानिसहरूले यी कुराहरू महसुस नगरेका हुन सक्छन्। तर जब तैँले साँचो रूपमा जान्दछस्, जब तैँले मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भनेर साँचो रूपमा पहिचान गर्न पुग्छस्, जब तैँले परमेश्‍वरले तेरो लागि योजना गर्नुभएका र तेरो लागि निर्णय गर्नुभएका सबै कुराहरू अत्यन्तै धेरै फाइदा र सुरक्षाका हुन् भनी बुझ्छस्, तब तैँले आफ्नो पीडा हल्‍का हुन थालेको अनुभव गर्छस्, र तेरो सम्पूर्ण सारत्व शान्त, स्वतन्त्र र मुक्त हुन्छ। अधिकांश मानिसहरूका स्थितिहरूको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले व्यक्तिपरक हिसाबमा पहिलेजस्तो जिउन र आफ्‍नो पीडाबाट राहत पाउन नचाहने भए पनि, तिनीहरूले मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको व्यवहारिक मूल्य र अर्थलाई वस्तुपरक रूपमा स्वीकार गर्न सक्‍दैनन्; वस्तुगत हिसाबमा, तिनीहरू सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा पहिचान गर्न र यसमा समर्पित हुन सक्दैनन्, तिनीहरूले सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई कसरी खोजी र स्वीकार गर्ने भन्‍नेबारेमा जान्‍नु त परै जाओस्। त्यसैले, यदि मानिसहरूले मानव नियतिमाथि र सम्पूर्ण मानव मामलाहरूमाथि सृष्टिकर्ताको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई साँचो रूपमा पहिचान गर्न सक्दैनन् भने, यदि तिनीहरू सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा समर्पित हुन सक्दैनन् भने, तिनीहरू “आफ्‍नो नियति आफ्‍नै हातमा हुन्छ” भन्‍ने विचारद्वारा सञ्‍चालित हुन र बन्धनमा पर्न कठिन हुनेछैन। तिनीहरूले नियति र सृष्टिकर्ताको अख्तियारविरुद्धको आफ्नो तीव्र संघर्षको पीडालाई हटाउन कठिन हुनेछ, अनि, अवश्य पनि तिनीहरूले साँचो रूपमा स्वतन्त्र र मुक्त हुन, र परमेश्‍वरको आराधना गर्ने मानिस बन्‍न पनि कठिन नै हुनेछ। तर यो स्थितिबाट आफूलाई मुक्त गर्ने एउटा अत्यन्तै सरल तरिका छ र यो सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्‍नो जीवनका पहिलेका लक्ष्‍यहरूलाई बिदा गर्नु हो; आफ्‍नो पहिलेको जीवनशैली, जीवनसम्‍बन्धी दृष्टिकोण, खोजी, इच्‍छा, र आदर्शहरूलाई सारांशित र विश्‍लेषण गर्नु हो; त्यसपछि तिनलाई मानिसप्रतिको परमेश्‍वरका इच्‍छा र मापदण्डहरूसँग तुलना गरेर तीमध्ये कुनै कुरा परमेश्‍वरका इच्‍छा र मापदण्डहरूअनुरूप छ कि छैन, र तीमध्ये कुनै कुराले जीवनको सही मूल्य प्रदान गर्छ कि गर्दैन, व्यक्तिलाई सत्यतासम्‍बन्धी बृहत् बुझाइमा लैजान्छ कि लैजाँदैन, र व्यक्तिलाई मानवता र मानवजातिको स्वरूपमा जिउने तुल्याउँछ कि तुल्याउँदैन भनेर हेर्नु हो। जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्‍न लक्ष्यहरू र तिनीहरूका जिउने अनेक तरिकाहरूलाई बारम्‍बार अनुसन्धान र होसियारीसाथ विश्‍लेषण गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले राख्‍नुभएको मौलिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई भ्रष्ट तुल्याउने, तिनीहरूलाई नर्कतर्फ डोर्‍याउने पासोहरू हुन्। तैँले यो कुरालाई पहिचान गरिसकेपछि, तैँले गर्नुपर्ने काम भनेको जीवनसम्‍बन्धी तेरो पुरानो विचारलाई पन्छाउनु, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नु, र परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरो लागि बन्दोबस्तहरू गर्न दिनु हो; यो भनेको परमेश्‍वरका योजनाबद्ध कार्यहरू र अगुवाइमा मात्रै समर्पित हुने प्रयास गर्नु हो, व्यक्तिगत छनौटविना नै जिउनु, र परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्‍नु हो। यो कुरा सुन्दा सहज लाग्छ, तर गर्नचाहिँ कठिन छ। केही मानिसहरूले यसको पीडा सहन सक्छन्, अन्य व्यक्तिहरूले सक्दैनन्। केही व्यक्तिहरू अनुपालन गर्न इच्‍छुक हुन्छन्, अरूहरूचाहिँ अनिच्‍छुक हुन्छन्। जो अनिच्‍छुक छन् तिनीहरूमा त्यसो गर्ने इच्‍छा र सङ्कल्पको कमी हुन्छ; तिनीहरू परमेश्‍वरको सार्वभौमिकताको बारेमा स्पष्ट रूपमै सचेत हुन्छन्, तिनीहरूलाई मानव नियतिको योजना र बन्दोबस्त गर्ने परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरा पूर्ण रूपमा थाहा हुन्छ, तैपनि तिनीहरूले लात मार्दै संघर्ष गर्छन् र आफ्‍नो नियति परमेश्‍वरको हातमा राख्‍ने र परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुने कुरालाई स्वीकार गर्दैनन्; अझ भन्‍ने हो भने, तिनीहरूले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति खेद प्रकट गर्छन्। त्यसकारण, आफू कति सक्षम छु भनी हेर्न चाहने मानिसहरू सधैँ नै हुनेछन्; तिनीहरू आफ्‍नै दुई हातले आफ्‍नो नियति परिवर्तन गर्न, वा आफ्‍नै शक्तिले खुशी हासिल गर्न, परमेश्‍वरको अख्तियारको सीमाबाहिर गई परमेश्‍वरको सार्वभौमिकताभन्दा माथि उठ्न सकिन्छ कि सकिन्‍न भनी हेर्न चाहन्छन्। मानिसको दुःखान्त भनेको उसले खुशीयालीपूर्ण जीवन चाहनु होइन, उसले ख्याति र सम्पत्तिको खोजी गर्नु वा कुहिरोभित्र आफ्‍नै नियतिसँग संघर्ष गर्नु होइन, बरु उसले सृष्टिकर्ताको अस्तित्व देखिसकेपछि पनि, मानव नियतिमाथि सृष्टिकर्ताकै सार्वभौमिकता छ भन्‍ने तथ्य जानिसकेपछि पनि, अझै आफ्‍ना मार्गहरूलाई सुधार्न नसक्‍नु हो, आफ्‍ना खुट्टाहरूलाई दलदलबाट तान्‍न नसक्‍नु, र आफ्‍नो हृदयलाई कठोर बनाएर आफ्‍ना गल्तीहरूमै दृढ रहनु हो। ऊ त बरु अलिकति पछुतोसमेत नमानीकन, सृष्टिकर्ताको सार्वभौमिकताविरुद्ध हठी भएर लड्दै, नमिठो अन्त्य नआउञ्‍जेल प्रतिरोध गर्दै, हिलोमै लुटपुटिरहन्छ। जब ऊ पछारिन्छ र रक्ताम्मे हुन्छ, तब मात्र उसले आखिर हरेस खान्छ र पछि फर्कने निर्णय गर्छ। यो साँचो मानव व्यथा हो। त्यसैले, म भन्छु, समर्पित हुने निर्णय गर्नेहरू बुद्धिमान हुन्, र संघर्ष गर्ने र भाग्‍ने निर्णय गर्नेहरू वास्तवमै मूर्ख हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्