परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरको अख्तियार (२) - भाग एक

आज हामी “परमेश्‍वर स्वयम् अद्वितीय” शीर्षकको हाम्रो सङ्गतिलाई निरन्तरता दिनेछौं। हामीले पहिले नै यस विषयमा दुईवटा सङ्गति गरिसक्यौं, पहिलो परमेश्‍वरको अख्तियारसँग सम्‍बन्धित थियो र दोस्रो परमेश्‍वरको धर्मी स्वभावसँग सम्‍बन्धित थियो। यी दुईवटा सङ्गतिलाई सुनिसकेपछि, के तपाईंहरूले परमेश्‍वरको पहिचान, ओहदा र सारको बारेमा नयाँ बुझाइ प्राप्त गर्नुभयो? के यी बुझाइहरूले तपाईंहरूलाई परमेश्‍वरको अस्तित्वको सत्यतासम्‍बन्धी थप ठोस ज्ञान र सुनिश्‍चितता प्राप्त गर्न सहायता गरेका छन्? आज “परमेश्‍वरको अख्तियार” भन्‍ने विषयलाई विस्तार गर्ने मेरो योजना छ।

बृहत् र सूक्ष्‍म दृष्टिकोणहरूबाट परमेश्‍वरको अख्तियारलाई बुझ्ने

परमेश्‍वरको अख्तियार अद्वितीय छ। यो परमेश्‍वर स्वयम्‌को चारित्रिक अभिव्यक्ति, विशेष सार, र पहिचान हो, जुन सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीमा छैन; सृष्टिकर्तामा मात्रै यस प्रकारको अख्‍तियार छ। यसो भन्‍नुको अर्थ, सृष्टिकर्ता—अद्वितीय परमेश्‍वरलाई मात्रै यसरी व्यक्त गर्न सकिन्छ र उहाँमा मात्रै यो सार छ। त्यसो भए, हामीले किन परमेश्‍वरको अख्‍तियारको बारेमा कुरा गर्नुपर्छ त? कसरी परमेश्‍वर स्वयम्‌को अख्तियार मानिसले आफ्‍नो मनमा विचार गर्ने “अख्‍तियार” भन्दा फरक छ? यसमा के विशेष छ? यसको बारेमा यहाँ कुरा गर्नु किन विशेष रूपमा महत्त्वपूर्ण छ? तिमीहरू प्रत्येकले यो विषयलाई ध्यानपूर्वक विचार गर्नुपर्छ। धेरैजसो मानिसहरूका लागि, “परमेश्‍वरको अख्‍तियार” भनेको बुझ्‍नको लागि निकै प्रयासको आवश्यकता पर्ने अस्पष्ट विचार हो, अनि यस सम्‍बन्धी जुनसुकै छलफल अमूर्त हुने सम्‍भावना हुन्छ। त्यसकारण, मानिसले प्राप्त गर्न सक्‍ने परमेश्‍वरको अख्‍तियारको ज्ञान र परमेश्‍वरको अख्‍तियारको सारको बीचमा सधैँ नै भिन्नता रहेको हुनेछ। यो भिन्नतालाई मिलान गर्नका लागि, मानिसहरूको पहुँचभित्र रहेका अनि तिनीहरूको वास्तविक जीवनमा तिनीहरूले बुझ्‍ने क्षमताभित्र रहेका मानिसहरू, घटनाहरू, काम-कुरा, र विभिन्‍न प्रक्रियाहरूद्वारा परमेश्‍वरको अख्‍तियारलाई हरेकले क्रमिक रूपमा बुझ्‍नुपर्छ। “परमेश्‍वरको अख्‍तियार” भन्‍ने वाक्यांश बुझ्‍न नसकिने जस्तो देखिए तापनि, परमेश्‍वरको अख्तियार अमूर्त छैन। उहाँ मानिसलाई हरेक दिन डोर्‍याउँदै, उसको जीवनको हरेक क्षणमा उपस्थित हुनुहुन्छ। तसर्थ, वास्तविक जीवनमा, हरेक व्यक्तिले परमेश्‍वरको अख्‍तियारको सबैभन्दा मूर्त पक्षलाई अवश्य देख्‍नेछ र अनुभव गर्नेछ। यो मूर्त पक्ष नै परमेश्‍वरको अख्तियार साँचो अर्थमा अस्तित्वमा छ भन्ने कुराको पर्याप्त प्रमाण हो, र यसले व्यक्तिलाई परमेश्‍वरमा त्यस्तो अख्‍तियार रहेछ भन्‍ने तथ्यलाई पहिचान गर्न र बुझ्न सम्पूर्ण अवसर दिन्छ।

परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुभयो, र उहाँले नै यसलाई सृष्टि गर्नुभएको हुनाले, यावत् थोकमाथि उहाँकै प्रभुत्व छ। यावत् थोकमाथि उहाँको प्रभुत्व हुने बाहेक, उहाँले सबै थोक नियन्त्रण गर्नुहुन्छ। “परमेश्‍वरमा सबै थोकको नियन्त्रण छ” भन्‍ने यो अवधारणाको अर्थ के हो? यसलाई कसरी व्याख्या गर्न सकिन्छ? वास्तविक जीवनमा यो कसरी लागू हुन्छ? परमेश्‍वरमा सबै थोकको नियन्त्रण छ भन्‍ने तथ्यलाई बुझेमा यसले कसरी उहाँको अख्‍तियारको बुझाइमा डोर्‍याउन सक्छ? “परमेश्‍वरमा सबै थोक नियन्त्रण छ” भन्‍ने यही वाक्यांशबाट नै हामीले के देख्‍नुपर्छ भने परमेश्‍वरले न त ग्रहहरूको एउटा भाग, न त सृष्टिको एउटा भाग, न त मानवजातिको एउटा भागलाई मात्रै नियन्त्रण गर्नुहुन्छ तर उहाँले त सबै कुरालाई नियन्त्रण गर्नुहुन्छ: विशालदेखि सूक्ष्मसम्म, देख्‍न सकिनेदेखि अदृश्यसम्‍म, आकाशमण्डलका ताराहरूदेखि पृथ्वीका जीवित प्राणीहरूसम्‍म, साथै नाङ्गो आँखाले देख्‍न नसकिने र अन्य स्वरूपमा अस्तित्वमा रहने सूक्ष्म जीवहरूसम्‍म। परमेश्‍वरको “नियन्त्रणमा रहेका” “सबै कुराहरू” को सटीक परिभाषा यही नै हो; उहाँको अख्‍तियारको कार्यक्षेत्र, उहाँको सार्वभौमिकता र शासनको प्रसार यही नै हो।

यस मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले नै, आकाशमण्डल—स्वर्गमा भएका सबै ग्रहहरू र ताराहरू—पहिले नै अस्तित्वमा थिए। बृहत् स्तरमा, यी स्वर्गीय पिण्डहरू परमेश्‍वरको नियन्त्रणमा रही आफ्‍ना अस्तित्वको लागि नियमित रूपमा परिक्रमा गरिरहन्छन्, चाहे त्यो जति नै वर्ष भइसकेको होस्। कुनै निश्‍चित समयमा कुन ग्रह कहाँ जान्छ; कुन ग्रहले कुन काम, र कहिले गर्छ; कुन ग्रहले कुन परिक्रमा पथमा चक्‍कर लगाउँछ, र कहिले यो हराउँछ वा प्रतिस्थापित हुन्छ—यी सबै कुराहरू सानोभन्दा सानो गल्तीविना नै अघि बढिरहन्छन्। ग्रहहरूको स्थान र तिनीहरूबीचको दूरीले निश्‍चित ढाँचालाई पछ्याउँछन्, र यी सबैलाई सटीक आँकडाद्वारा व्याख्या गर्न सकिन्छ; तिनीहरूले यात्रा गर्ने मार्ग, परिक्रमा पथको गति र ढाँचा, तिनीहरू विभिन्‍न स्थानमा रहने समय—यी सबैलाई विशेष नियमहरूद्वारा सटीक रूपमा गणना र व्याख्या गर्न सकिन्छ। युगौंदेखि ग्रहहरूले अलिकति दायाँ-बायाँ नगरिकन यी नियमहरू पालना गरेका छन्। तिनीहरूको परिक्रमा पथ वा तिनीहरूले पछ्याउने ढाँचालाई कुनै पनि शक्तिले परिवर्तन गर्न वा भङ्ग गर्न सक्दैन। तिनीहरूको चाल नियन्त्रण गर्ने विशेष नियमहरू र तिनीहरूलाई व्याख्या गर्ने सटीक आँकडा सृष्टिकर्ताको अख्‍तियारद्वारा पूर्वनिर्धारित गरिएका हुनाले, सृष्टिकर्ताको सार्वभौमिकता र नियन्त्रण अन्तर्गत तिनीहरूले आफ्‍नै तरिकाले यी नियमहरूको पालना गर्छन्। बृहत् स्तरमा, मानिसले केही ढाँचा, केही आँकडा, र केही अनौठा र व्याख्या गर्न नसकिने नियम वा प्रक्रियाहरूलाई पत्ता लगाउनु कठिन छैन। परमेश्‍वरको अस्तित्वलाई मानवजातिले स्वीकार गर्दैन न त सृष्टिकर्ताले सबै थोक बनाउनुभयो र तीमाथि उहाँकै प्रभुत्व छ भन्‍ने नै स्वीकार गर्छ, साथै उसले सृष्टिकर्ताको अख्‍तियारको अस्तित्वलाई पहिचान गर्दैन, तथापि मानव वैज्ञानिक, खगोलशास्त्री, र भौतिकशास्‍त्रीहरूले ब्रह्माण्डमा यावत् थोकको अस्तित्व, र तिनीहरूको चाललाई निर्धारण गर्ने सिद्धान्त र ढाँचाहरू सबैलाई व्यापक र अदृश्य अन्धकारका उर्जाले शासन गर्दै नियन्त्रण गरेको छ भन्‍ने कुरालाई झन्-झन् बढी पत्ता लगाइरहेका छन्। यो तथ्यले मानिसलाई यी चालका ढाँचाहरूको बीचमा सबै कुरालाई योजनाबद्ध गर्नुहुने सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने कुराको सामना र स्वीकार गर्न बाध्य गर्छ। उहाँको शक्ति असाधारण छ, अनि उहाँको साँचो मुहारलाई कसैले देख्‍न नसके पनि, उहाँले हरेक क्षणमा हरेक कुरालाई शासन र नियन्त्रण गर्नुहुन्छ। उहाँको सार्वभौमिकताको स्तरमा कुनै पनि मानिस वा शक्ति पुग्न सक्दैन। यो तथ्यलाई ध्यानमा राख्दै, यावत् थोकको अस्तित्व शासन गर्ने नियमहरूलाई मानिसले नियन्त्रण गर्न सक्दैन, कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन भन्‍ने कुरालाई मानिसले पहिचान गर्नुपर्छ; मानिसले यी नियमहरूलाई पूर्ण रूपमा बुझ्‍न सक्दैन, र ती प्राकृतिक रूपमा नै भइरहेका हुँदैनन्, तर सार्वभौमबाट नियन्त्रित हुन्छन् भन्‍ने कुरालाई पनि उसले स्वीकार गर्नैपर्छ। यी सबै नै मानवजातिले बृहत् स्तरमा बुझ्‍न सक्‍ने परमेश्‍वरको अख्‍तियारका अभिव्यक्तिहरू हुन्।

सूक्ष्‍म स्तरमा, मानिसले पृथ्वीमा देख्‍न सक्‍ने सारा पहाड-पर्वत, नदी-नाला, ताल-तलैया, समुद्र अनि ठूला भूमिहरू, उसले अनुभव गर्ने सबै ऋतु, वनस्पति, पशु-प्राणी, सूक्ष्‍म जीव, र मानिस लगायत पृथ्वीमा बसोबास गर्ने सबै थोक परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणको अधीनमा छन्। परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणमा, उहाँकै सोचहरू अनुसार सबै थोक अस्तित्वमा आउँछन् वा हराउँछन्; तिनीहरूको अस्तित्वलाई शासन गर्ने नियमहरू उत्पन्‍न हुन्छन्, अनि त्यही नियमहरूलाई पालना गर्दै तिनीहरू बढ्छन् र फैलिन्छन्। कुनै पनि मानवजाति वा थोक यी नियमहरूभन्दा माथि छैन। किन यसो भयो? एउटै मात्र उत्तर यही हो: यो परमेश्‍वरको अख्‍तियारको कारणले गर्दा हो। अथवा, अर्को तरिकाले भन्दा, यो परमेश्‍वरको सोच र परमेश्‍वरका वचनहरूले गर्दा भएको हो; परमेश्‍वर स्वयम्‌को व्यक्तिगत कार्यहरूको कारणले गर्दा हो। यसको अर्थ के हो भने यी नियमहरूलाई उत्पन्‍न गर्ने परमेश्‍वरको अख्‍तियार र परमेश्‍वरको मन हुन्, जुन उहाँका सोचहरू अनुसार स्थानान्तरण र परिवर्तन हुन्छन्, अनि उहाँकै योजनाको खातिर स्थानान्तर र परिवर्तन हुन्छन् वा हराएर जान्छन्। उदाहरणको लागि, महामारीलाई लिऊँ। कुनै पनि चेतावनीविना नै ती फैलिन्छन्। तिनको उत्पत्ति कहाँ भयो वा त्यसो हुनुको कारण के हो सो कसैलाई थाहा हुँदैन, र जब महामारी कुनै निश्‍चित स्थानमा पुग्छ, अभिशप्त भइसकेकाहरू त्यो विपत्तिबाट उम्कन सक्दैनन्। महामारीहरू घातक वा हानिकारक जीवाणुहरूको फैलावटको कारण पैदा हुन्छन् भन्‍ने मानव विज्ञानले बुझ्छ, र तिनीहरूको गति, सर्ने क्षेत्र, र विधिलाई मानव विज्ञानले अनुमान वा नियन्त्रण गर्न सक्दैन। मानिसहरूले सम्‍भव भएको हरेक माध्यमद्वारा महामारीलाई रोक्‍ने भए तापनि, यो फैलिएपछि कुन-कुन मानिसहरू वा पशु-प्राणीलाई निश्चित रूपमा प्रभाव पार्छ भन्‍ने कुरालाई तिनीहरूले नियन्त्रण गर्न सक्दैनन्। मानिसहरूले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको, त्यसको रोकथाम गर्ने, प्रतिरोध गर्ने र त्यसको अनुसन्धान गर्ने मात्रै हो। तर कुनै पनि व्यक्तिगत महामारीको सुरुवात वा अन्त्यको मूल कारण कसैलाई पनि थाहा हुँदैन, र कसैले पनि तिनलाई नियन्त्रण गर्न सक्दैन। महामारीको सुरुवात र फैलावटको सामना गर्न थालेपछि, मानिसहरूले अपनाउने सुरुवाती उपाय खोपको विकास गर्नु हो, तर खोप तयार हुनुभन्दा पहिले नै महामारी प्रायजसो आफै हराएर जान्छ। महामारीहरू किन आफै हराएर जान्छन्? कतिपयले किटाणुहरूलाई नियन्त्रणमा ल्याइयो भनेर भन्छन्, अरूले मौसम परिवर्तनको कारण ती मरेर जान्छन् भनेर भन्छन्…। यी अनेक किसिमका अनुमानहरू न्यायसङ्गत भए पनि नभए पनि, विज्ञानले कुनै व्याख्या दिन सक्दैन र कुनै सटीक उत्तर दिन सक्दैन। मानवजातिले यी अनुमानहरूलाई मात्रै होइन, तर महामारीहरू सम्‍बन्धी मानवजातिको बुझाइको कमी र डरलाई पनि महत्त्वपूर्ण ठान्‍नुपर्छ। अन्तिम विश्‍लेषणमा, किन महामारीहरू सुरु हुन्छन् वा ती किन अन्त्य हुन्छन् भन्‍ने कसैलाई थाहा हुँदैन। मानवजातिले विज्ञानमा मात्रै विश्‍वास गर्ने, यसमा मात्रै पूर्ण रूपमा भरोसा गर्ने, र सृष्टिकर्ताको अख्‍तियारलाई पहिचान नगर्ने वा उहाँको सार्वभौमिकतालाई स्वीकार नगर्ने भएकाले, तिनीहरूले कहिल्यै पनि कुनै उत्तर पाउने छैनन्।

परमेश्‍वरको सार्वभौमिकता अन्तर्गत, उहाँको अख्‍तियार र उहाँको व्यवस्थापनको कारण नै यावत् थोक जन्‍मिन्छन्, जिउँछन्, र नाश हुन्छन्। कतिपय थोकहरू चुपचाप आउँछन् र जान्छन्, अनि मानिसले तिनीहरू कहाँबाट आए भनेर भन्‍न वा तिनले पछ्याउने ढाँचाहरूलाई बुझ्‍न सक्दैन, ती किन आए र गए त्यसको कारणहरू बुझ्‍न त झनै सक्दैनन्। यावत् थोकमध्ये आउने र जाने कुराहरूलाई मानिसले आफ्‍नै आँखाले देख्‍न सक्‍ने, र आफ्‍नो कानले सुन्‍न सक्‍ने अनि उसको शरीरले अनुभव गर्न सक्‍ने भए तापनि; यी सबैले मानिसमा प्रभाव पार्ने भए पनि, र विभिन्‍न प्रक्रियाहरूको सापेक्षित असामान्यता, नियमितता वा अनौठोपनलाई समेत मानिसले अवचेतन रूपमा बुझ्‍ने भए तापनि, तिनको पछाडि के रहेको छ भन्‍ने उसलाई थाहा हुँदैन, जुन सृष्टिकर्ताको इच्‍छा र मन हो। यी प्रक्रियाका पछाडि धेरै कथाहरू छन्, विभिन्‍न गुप्त सत्यताहरू छन्। मानिस सृष्टिकर्ताबाट बरालिएर धेरै टाढा गएको हुनाले र सृष्टिकर्ताको अख्‍तियारले नै सबै थोक शासन गर्छ भन्‍ने तथ्यलाई उसले स्वीकार नगर्ने हुनाले, सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकता अन्तर्गत घट्ने सबै कुरालाई उसले कहिल्यै जान्‍ने र बुझ्‍ने छैन। अधिकांश विषयमा, परमेश्‍वरको नियन्त्रण र सार्वभौमिकताले मानिसको कल्‍पना, मानिसको ज्ञान, मानिसको बुझाइ, अनि मानिसको विज्ञानले प्राप्त गर्न सक्‍ने कुराको परिधिहरूलाई नाघ्‍छ; यो सृष्टि गरिएको मानवजातिको समझभन्दा बाहिर छ। केही मानिसहरू भन्छन्, “तपाईं आफैँ परमेश्‍वरको सार्वभौमिकताको साक्षी बसेको हुनुहुन्न भने, सबै कुरा उहाँकै अख्‍तियार अन्तर्गत छ भनेर तपाईं कसरी विश्‍वास गर्न सक्नुहुन्छ?” देख्‍नु भनेको सधैँ विश्‍वास गर्नु हो भन्‍ने होइन, न त यो सधैँ पहिचान गर्नु र बुझ्‍नु भन्‍ने नै हो। त्यसो भए, विश्‍वास कहाँबाट आउँछ त? म निश्चित भएर भन्‍न सक्छु, “कुराहरूको वास्तविकता र मूल कारणहरू सम्‍बन्धी मानिसहरूको बुझाइ, अनि अनुभवको मात्रा र गहिराइबाट नै विश्‍वास आउँछ।” यदि तपाईं परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्नुहुन्छ, तर तपाईंले यावत् थोकमाथिको परमेश्‍वरको नियन्त्रण र परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्‍नु त के पहिचान समेत गर्न सक्नुहुन्न भने, परमेश्‍वरमा यस प्रकारको अख्तियार छ र परमेश्‍वरको अख्तियार अद्वितीय छ भन्‍ने कुरालाई तपाईंको हृदयले कहिल्यै पनि स्वीकार गर्ने छैन। तपाईंले सृष्टिकर्तालाई कहिल्यै पनि साँचो रूपमा तपाईंको प्रभु र तपाईंको परमेश्‍वर भनी स्वीकार गर्नुहुने छैन।

मानवजातिको नियति र ब्रह्माण्डको नियतिलाई सृष्टिकर्ताको सार्वभौमिकताबाट अलग गर्न सकिँदैन

तिमीहरू सबै वयस्क हौ। तिमीहरूमध्ये कोही आधा उमेरका छौ; कोही वृद्ध अवस्थामा प्रवेश गरिसकेका छौ। तिमीहरू परमेश्‍वरमा विश्‍वास नगर्नेदेखि उहाँमा विश्‍वास गर्ने भएका छौ, अनि परमेश्‍वरमा विश्‍वास गर्नेदेखि उहाँको वचनलाई स्वीकार गर्ने अनि उहाँको काम अनुभव गर्ने भएका छौ। परमेश्‍वरको सार्वभौमिकताको बारेमा तिमीहरूमा कति ज्ञान छ? तिमीहरूले मानव नियति सम्‍बन्धी के अन्तर्ज्ञान प्राप्त गरेका छौ? के कसैले जीवनमा चाहेको सबै कुरा हासिल गर्न सक्छ? तिमीहरूको अस्तित्वका केही दशकहरूको अवधिमा तिमीहरूले कामना गरेजस्तै के-कति कुराहरू हासिल गर्न सक्यौ? तिमीहरूले कहिल्यै अनुमान नगरेका के-कति घटनाहरू घटेका छन्? के-कति कुराहरू मनोहर आश्‍चर्यका रूपमा आउँछन्? मानिसहरूले अवचेतन रूपमा सही क्षणको प्रतीक्षा गर्दै, स्वर्गको इच्‍छाको प्रतीक्षा गर्दै, के-कति कुराहरूलाई अझै तिनले फल फलाउनेछन् भनेर प्रतीक्षा गर्छन्? के-कति कुराहरूले मानिसहरूलाई विवश र असफल भएको अनुभव गर्ने तुल्याउँछन्? तिनीहरूको जीवनमा सबै कुरा तिनीहरूले चाहना गरेझैँ हुनेछ, तिनीहरूले खानेकुरा वा लत्ताकपडाको बारेमा चाहना गर्नु पर्नेछैन, तिनीहरूको सम्‍पत्तिमा शानदार वृद्धि हुनेछ भन्‍ने अपेक्षा गर्दै सबै आफ्‍नो नियतिको बारेमा आशावादी हुन्छन्। दुःखकष्ट र विपत्तिहरूले गाँजेको गरिब र दबिएको जीवन कसैले पनि चाहँदैन। तर यी कुराहरूलाई मानिसहरूले अगाडि नै देख्‍न वा नियन्त्रण गर्न सक्दैनन्। सायद कतिपयको लागि, विगत भनेको अनुभवहरूको एउटा पोको मात्रै हो; स्वर्गको इच्‍छा के हो भन्‍ने तिनीहरूले कहिल्यै सिक्दैनन्, न त तिनीहरूले यो के हो भन्‍ने कुरालाई नै मतलब गर्छन्। तिनीहरू मानवजातिको नियतिको बारेमा वा मानिसहरू किन जीवित छन् वा तिनीहरू कसरी जिउनुपर्छ भन्‍ने बारेमा वास्तै नगरीकन दिन-प्रतिदिन पशुजस्तै केही नसोची आफ्‍नो जीवन जिउँछन्। त्यस्ता मानिसहरू मानव नियतिको बारेमा केही नबुझीकन नै वृद्ध उमेरमा पुग्छन्, अनि तिनीहरूलाई आफ्नो मृत्युको घडीसम्‍मै जीवन के हो, थाहै हुँदैन। त्यस्ता मानिसहरू मरेतुल्य हुन्; तिनीहरू आत्माविनाका प्राणीहरू हुन्; तिनीहरू पशुहरू हुन्। मानिसहरू सृष्टिभित्रै जिउने भए तापनि र संसारले तिनीहरूका भौतिक आवश्यकताहरूलाई पूरा गर्ने गरी विभिन्‍न तरिकाले तिनीहरूले आनन्द लिने भए तापनि, र यो भौतिक संसार अटुट रूपमा विस्तार हुँदैछ भन्‍ने तिनीहरूले देखे पनि, भौतिक कुराहरूसँग तिनीहरूको आफ्‍नै अनुभवको अर्थात्, तिनीहरूको हृदय र तिनीहरूको आत्माले के आभास र अनुभव गर्छ त्यसको कुनै सम्‍बन्ध छैन, र कुनै पनि भौतिक कुराले अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। अनुभव भनेको व्यक्तिले आफ्‍नो अन्तस्करणमा पहिचान गर्ने, नाङ्गो आँखाले देख्‍न नसक्‍ने कुरा हो। यो पहिचान मानव जीवन र मानव नियति सम्‍बन्धी व्यक्तिको बुझाइ र उसको दृष्टिकोणमा रहेको हुन्छ। अनि यसले व्यक्तिलाई प्रायजसो, एक अदृश्य मालिकले मानिसकै लागि सबै थोकको व्यवस्थापन गरिरहनुभएको छ, सबै कुरा योजनाबद्ध तुल्याइरहनुभएको छ भन्‍ने कुरा बोध गराउँछ। यी सबै कुराहरूका बीचमा, व्यक्तिले नियतिको बन्दोबस्त र योजनाबद्ध कार्यलाई स्वीकार गर्ने बाहेक केही गर्न सक्दैन; सृष्टिकर्ताले तय गर्नुभएको अगाडिको मार्गलाई, व्यक्तिको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्ने बाहेक व्यक्तिले केही गर्न सक्दैन। यो निर्विवाद तथ्य हो। नियतिको बारेमा व्यक्तिले जस्तोसुकै अन्तर्दृष्टि र आचरण राखे पनि, कसैले पनि यो तथ्यलाई परिवर्तन गर्न सक्दैन।

हरेक दिन तँ कहाँ जानेछस्, तैँले के गर्नेछस्, तैँले कसलाई वा केलाई भेट्नेछस्, तैँले के भन्‍नेछस्, तँलाई के हुनेछ—के यीमध्ये कुनैको बारेमा पनि पूर्वानुमान गर्न सकिन्छ र? यी सबै घटनाहरूलाई मानिसहरूले पूर्वानुमान गर्न सक्दैनन्, यी परिस्थितिहरू कसरी विकास हुन्छन् भनेर नियन्त्रण गर्ने कुरा त परै जाओस्। जीवनमा, यस्ता पूर्वानुमान गर्न नसकिने घटनाहरू सधैँ नै घट्ने गर्छन्; ती दैनिक जीवनका घटनाहरू हुन्। यस्ता दैनिक घटनाहरू र ती घट्ने तरिकाहरू वा तिनले पछ्याउने ढाँचाहरू सबै, कुनै कुरा पनि संयोगवश हुँदैनन्, हरेक घटनाको प्रक्रिया, हरेक घटनाको अपरिहार्य प्रकृति मानव इच्‍छाद्वारा परिवर्तन गर्न सकिँदैन भनी मानवजातिलाई दिइएका अटुट ताकिताहरू हुन्। हरेक घटनाले मानवजातिलाई सृष्टिकर्ताको चेतावनी दिन्छ र मानवजातिले आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन भन्‍ने सन्देश दिन्छ। हरेक घटना आफ्‍नो नियति आफ्‍नै हातमा लिने मानवजातिको उन्मत्त एवं निरर्थक महत्वाकांक्षा र इच्‍छाको खण्डन हो। ती प्रत्येक घटना अन्तमा तिनीहरूको नियति कसले सञ्चालन र नियन्त्रण गर्छ भनी मानवजातिलाई पुनर्विचार गर्न बाध्य पार्ने, एकपछि अर्को गर्दै तिनीहरूको अनुहारमा प्रहार गरिएका थप्पडहरू हुन्। अनि मानिसहरूका महत्वाकांक्षा र इच्‍छाहरू बारम्‍बार विफल र चकनाचूर तुल्याइएपछि, स्वभावैले तिनीहरूले नियतिमा जे छ त्यसलाई अचेतन रूपमै स्वीकार्न पुग्छन्—यो वास्तविकता, स्वर्गको इच्‍छा अनि सृष्टिकर्ताको सार्वभौमिकताको स्वीकार हो। यी दैनिक घटनाहरूदेखि सम्पूर्ण मानव जीवनको नियतिसम्‍म यस्तो कुनै कुरा नै छैन जसले सृष्टिकर्ताका योजनाहरू र उहाँको सार्वभौमिकतालाई प्रकट नगरेको होस्; “सृष्टिकर्ताको अख्‍तियारलाई नाघ्‍न सकिँदैन” भन्‍ने सन्देश नदिने केही पनि छैन, “सृष्टिकर्ताको अख्‍तियार सर्वोच्‍च छ” भन्‍ने अनन्त सत्य व्यक्त नगर्ने कुनै कुरा नै छैन।

मानवजाति र ब्रह्माण्डका नियतिहरू सृष्टिकर्ताको सार्वभौमिकतासँग घनिष्ट रूपले गाँसिएका र सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूसँग अभिन्न रूपले जोडिएका हुन्छन्; आखिरमा, तिनीहरू सृष्टिकर्ताको अख्‍तियारसँग अभिन्न हुन्छन्। सबै कुराहरूका नियमहरूमा, मानिसले सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र उहाँको सार्वभौमिकतालाई बुझ्‍न पुग्छ; सबै कुराहरूको अस्तित्वका नियमहरूमा, उसले सृष्टिकर्ताको शासनलाई जान्‍न पुग्छ; सबै कुराहरूका नियतिहरूमा, उसले सृष्टिकर्ताले कसरी तिनीहरूउपर आफ्‍नो सार्वभौमिकता र नियन्त्रण प्रयोग गर्नुहुन्छ सो निष्कर्ष निकाल्न पुग्छ; अनि मानवजाति र यावत् थोकका जीवन चक्रहरूमा मानिसले साँच्‍चै नै यी यावत् थोक र जीवित प्राणीहरूका निम्ति सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूको अनुभव गर्न पुग्छ, कसरी ती योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूले सारा सांसारिक कानुनहरू, नियमहरू, र संस्थाहरू, अन्य सारा शक्तिहरू र सामर्थ्यहरूलाई नाघ्छन् भन्‍ने कुरा देख्‍न पुग्छ। त्यसो हुनाले, सृष्टिकर्ताको सार्वभौमिकतालाई कुनै पनि सृष्टि गरिएको प्राणीले उल्‍लङ्घन गर्न सक्दैन, सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएका घटनाहरू र काम-कुराहरूलाई कुनै पनि शक्तिले खोस्‍न वा उल्ट्याउन सक्दैन भन्‍ने कुरा स्वीकार गर्न मानवजाति बाध्य छ। यिनै ईश्‍वरीय व्यवस्था र नियमहरूमा नै मानवजाति अनि यावत् थोक जिउँछन् र एक पुस्तादेखि अर्को पुस्तासम्‍म वृद्धि हुँदै जान्छन्। के सृष्टिकर्ताको अख्‍तियारको साँचो मूर्त रूप यही होइन र? वस्तुगत नियमहरूमा मानिसले सबै घटना र यावत् थोकमा सृष्टिकर्ताको सार्वभौमिकता र पूर्वनिर्धारणलाई देख्‍ने भए तापनि, ब्रह्माण्डमाथि रहेको सृष्टिकर्ताको सार्वभौमिकताको सिद्धान्तलाई कति जना मानिसहरूले बुझ्‍न सक्छन्? कति मानिसहरूले तिनीहरूको आफ्नै नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तलाई साँचो रूपमा बुझ्‍न, पहिचान गर्न, स्वीकार गर्न, र तिनमा समर्पित हुन सक्छन्? यावत् थोकमाथि सृष्टिकर्ताको सार्वभौमिकताको तथ्यमा विश्‍वास गरिसकेपछि, कसले मानिसको जीवनको नियतिलाई पनि सृष्टिकर्ताले तय गर्नुहुन्छ भन्‍ने कुरालाई साँचो रूपमा विश्‍वास र पहिचान गर्न सक्छ? कसले मानिसको नियति सृष्टिकर्ताको हत्केलामा छ भन्‍ने तथ्यलाई साँचो रूपमा बुझ्‍न सक्छ? उहाँले मानवजातिको नियतिलाई शासन र नियन्त्रण गर्नुहुन्छ भन्‍ने तथ्यलाई ध्यानमा राख्दै, मानवजातिले सृष्टिकर्ताको सार्वभौमिकतामाथि कस्तो आचरण राख्‍नुपर्छ? अहिले यो तथ्यको सामना गर्ने हरेक मानवजातिले आफ्‍नो लागि गर्नैपर्ने निर्णय त्यही नै हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्