परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरको अख्तियार (१) - भाग दुई

२. मानिससँग करार स्थापित गर्न परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गर्नुहुन्छ

उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ। अनि परमेश्‍वरले भन्‍नुभयो, यो म र तिमीहरू र तिमीहरूसँग भएका हरेक जीवित प्राणीका बीच अनन्त पुस्तासम्मको निम्ति मैले बनाएको करारको चिनो हो: म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुनेछ।

उहाँले सबै थोक बनाइसक्‍नुभएपछि, सृष्टिकर्ताको अख्‍तियारलाई फेरि एक पटक इन्द्रेनीको करारमा पुष्टि र प्रदर्शन गरिन्छ

सृष्टिकर्ताको अख्‍तियार सबै प्राणीहरूका बीचमा सधैँ प्रदर्शन र प्रयोग गरिन्छ, र उहाँले सबै थोकको नियतिमाथि शासन मात्रै गर्नुहुन्‍न, बरु उहाँले त आफ्‍नै हातले सृष्टि गर्नुभएको विशेष प्राणी र फरक जीवन संरचना भएको र फरक जीवन शैलीमा अस्तित्वमा रहने मानवजातिलाई पनि शासन गर्नुहुन्छ। सबै थोक बनाइसकेपछि, सृष्टिकर्ताले आफ्‍नो अख्‍तियार र शक्ति व्यक्त गर्ने कार्यलाई थाती राख्‍नुभएन; उहाँको लागि, उहाँको हातबाट मानवजाति साँचो रूपमा जन्‍मिसकेपछि मात्रै सबै थोक र सम्पूर्ण मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्‍ने उहाँको अख्तियार औपचारिक रूपमा सुरु भयो। उहाँले मानवजातिलाई व्यवस्थापन गर्ने, र मानवजातिलाई शासन गर्ने अभिप्राय राख्‍नुभयो; उहाँले मानवजातिलाई मुक्ति दिने र मानवजातिलाई साँचो रूपमा प्राप्त गर्ने, सबै थोकलाई शासन गर्न सक्‍ने मानवजातिलाई प्राप्त गर्ने अभिप्राय राख्‍नुभयो; उहाँले त्यस्तो मानवजातिलाई उहाँको अख्‍तियारको अधीनमा जिउने र उहाँको अख्‍तियारलाई जान्‍न र पालना गर्न लगाउने अभिप्राय राख्‍नुभयो। तसर्थ, परमेश्‍वरले आफ्‍नो वचन प्रयोग गरेर मानिसको बीचमा आधिकारिक रूपमा आफ्‍नो अख्‍तियार व्यक्त गर्न सुरु गर्नुभयो, र आफ्‍नो वचनलाई प्रकट गर्न आफ्‍नो अख्‍तियारको प्रयोग गर्न थाल्‍नुभयो। अवश्‍य नै, यो प्रक्रियामा परमेश्‍वरको अख्तियारलाई सबै स्थानमा प्रदर्शन गरियो; मैले केही निश्‍चित, चिरपरिचित उदाहरणहरूलाई मात्रै छनौट गरेको छु, जसमार्फत तिमीहरूले परमेश्‍वरको अद्वितीयपन र उहाँको अद्वितीय अख्‍तियारलाई बुझ्‍न र जान्‍न सक्छौ।

उत्पत्ति ९:११-१३ को अनुच्‍छेद र परमेश्‍वरले गर्नुभएको संसारको सृष्टिको विवरण सम्‍बन्धी माथिका अनुच्‍छेदहरूमा समानता छ, तैपनि तिनमा भिन्‍नता पनि छ। समानता के हो? आफ्‍नो अभिप्रायअनुसार गर्नको लागि परमेश्‍वरले वचनको प्रयोग गर्नुभयो भन्‍ने अर्थमा समानता छ, र यहाँ उद्धृत गरिएका अनुच्‍छेदहरूले परमेश्‍वरले मानिससँग गर्नुभएको वार्तालापलाई जनाउँछ भन्‍ने अर्थमा भिन्‍नता छ, जसमा उहाँले मानिससँग करार स्थापना गर्नुभयो र करारमा के समावेश छ भन्‍ने कुरा मानिसलाई बताउनुभयो। मानिससँगको उहाँको वार्तालापको अवधिमा परमेश्‍वरको अख्तियारको यो प्रयोग हासिल गरियो, भन्‍नुको अर्थ, मानवजातिको सृष्टि हुनुभन्दा पहिले, परमेश्‍वरका वचनहरू उहाँले सृष्टि गर्न चाहनुभएका प्राणीहरूमा जारी गरिएका निर्देशन र आदेशहरू थिए। तर अब परमेश्‍वरको वचन सुन्‍नको लागि कुनै व्यक्ति थियो, त्यसकारण उहाँको वचन मानिससँगको वार्तालाप र मानिसलाई दिइएको अर्ती र सल्‍लाह पनि थियो। यसको साथै, परमेश्‍वरका वचनहरू उहाँको अख्तियार बोक्‍ने आज्ञाहरू थिए, जसलाई सबै थोकको सामुन्ने जारी गरिएको थियो।

यो अनुच्‍छेदमा परमेश्‍वरको कुन कार्यको विवरण दिइएको छ? जलप्रलयद्वारा उहाँले संसारलाई नष्ट गरिसक्‍नुभएपछि परमेश्‍वरले मानिससँग स्थापना गर्नुभएको करारलाई यो अनुच्‍छेदमा अभिलेख गरिएको छ; यसले मानिसलाई के बताउँछ भने परमेश्‍वरले संसारमा यस्तो विनाश फेरि ल्याउनुहुनेछैन, यसको लागि परमेश्‍वरले एउटा चिन्‍हको सृष्टि गर्नुभयो। यो चिन्‍ह के थियो? धर्मशास्‍त्रमा “म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुनेछ” भनेर भनिएको छ। यी सृष्टिकर्ताले मानवजातिसँग बोल्‍नुभएका मूल वचनहरू हुन्। उहाँले यी वचनहरू भन्‍नुभएपछि, मानिसको अघि एउटा इन्द्रेनी देखा पर्‍यो, र आजको दिनसम्‍म नै यो यस्तै रहिआएको छ। सबैले त्यस्तो इन्द्रेनी देखेको हुन्छ, र जब तँ यसलाई देख्छस्, यो कसरी देखा पर्छ के तँलाई थाहा छ? यसलाई प्रमाणित गर्न, वा यसको स्रोत पत्ता लगाउन, वा यो कहाँबाट आउँछ भन्‍ने पहिचान गर्न विज्ञानले सकेको छैन। किनभने इन्द्रेनी सृष्टिकर्ता र मानिसको बीचमा स्थापित गरिएको करारको चिन्‍ह हो; यसको लागि कुनै वैज्ञानिक आधार चाहिँदैन, यो मानिसले बनाएको होइन, न त मानिसले यसलाई परिवर्तन गर्न नै सक्छ। उहाँले आफ्‍ना वचनहरू बोल्‍नुभएपछिको यो सृष्टिकर्ताको अख्‍तियारको निरन्तरता हो। सृष्टिकर्ताले मानिससँगको आफ्‍नो करार र आफ्‍नो प्रतिज्ञालाई पालन गर्न आफ्‍नै निश्‍चित विधिको प्रयोग गर्नुभयो, त्यसकारण उहाँले स्थापना गर्नुभएको करारको चिन्‍हको रूपमा उहाँले इन्द्रेनीको प्रयोग गर्नुभएको कुरा स्वर्गीय अध्यादेश र नियम नै थियो जुन सदासर्वदा नै अपरिवर्तित रहनेछ, चाहे त्यो सृष्टिकर्ताको हकमा होस् वा सृष्टि गरिएको मानवजातिको हकमा। यो अपरिवर्तनीय नियम उहाँले सबै थोक सृष्टि गरिसक्‍नुभएपछिको सृष्टिकर्ताको अख्‍तियारको अर्को साँचो प्रकटीकरण हो भनेर भन्‍नुपर्छ, र सृष्टिकर्ताको अख्‍तियार र शक्ति असीमित छ भनेर भन्‍नैपर्छ; उहाँले इन्द्रेनीलाई चिन्‍हको रूपमा गर्नुभएको प्रयोग सृष्टिकर्ताको अख्‍तियारको निरन्तरता र विस्तार हो। यो परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गरेर गर्नुभएको अर्को काम थियो, र वचन प्रयोग गरेर परमेश्‍वरले मानिससँग स्थापना गर्नुभएको करारको चिन्‍ह थियो। उहाँले जे ल्याउने अठोट गर्नुभएको थियो, र यो जसरी पूरा गरिने र हासिल गरिनेथियो त्यसको बारेमा उहाँले मानिसलाई बताउनुभयो। यसरी उक्त कुरा परमेश्‍वरको मुखको वचन अनुसार पूरा भयो। त्यस्तो शक्ति परमेश्‍वरसँग मात्रै छ, र उहाँले यी वचनहरू बोल्‍नुभएपछिको हजारौँ वर्षपछि आज समेत, परमेश्‍वरको मुखले बोलेर आएको इन्द्रेनीलाई मानिसले हेर्न सक्छ। परमेश्‍वरले बोल्‍नुभएका यी वचनहरूका कारण, यो कुरा आजको दिनसम्‍मै तलमाथि नभई अपरिवर्तित रहेको छ। कसैले पनि यो इन्द्रेनीलाई हटाउन सक्दैन, कसैले पनि यसको नियम परिवर्तन गर्न सक्दैन, र यो केवल परमेश्‍वरको वचनको लागि मात्रै अस्तित्वमा रहन्छ। परमेश्‍वरको अख्‍तियार वास्तवमा यही नै हो। “परमेश्‍वरको वचन जत्ति असल छ उहाँ त्यति नै असल हुनुहुन्छ, र उहाँको वचन पूरा हुनेछ, अनि उहाँले जे हासिल गर्नुहुन्छ ती सदासर्वदा रहिरहन्छन्।” यस्ता वचनहरू यहाँ स्पष्ट रूपमा प्रकट हुन्छन्, र यो परमेश्‍वरको अख्‍तियार र शक्तिको स्पष्ट चिन्‍ह र विशेषता हो। त्यस्तो चिन्‍ह वा विशेषता सृष्टि गरिएको कुनै पनि प्राणीसँग छैन वा तिनमा देखिँदैन, न त सृष्टि नगरिएको कुनै प्राणीमा नै यो देखिन्छ। यो अद्वितीय परमेश्‍वरको स्वामित्वमा मात्रै छ, र यसले सृष्टिकर्तामा निहित पहिचान र सारलाई प्राणीहरूको पहिचान र सारबाट अलग गर्छ। यसको साथै, यो त्यस्तो चिन्‍ह र विशेषता हो जसलाई परमेश्‍वर स्वयम्‌ बाहेक सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले कहिल्यै नाघ्‍न सक्दैन।

मानिससँग परमेश्‍वरले आफ्‍नो करार स्थापना गर्नुभएको कार्य निकै महत्त्वपूर्ण थियो, जसलाई मानिससँग आफ्‍नो तथ्य व्यक्त गर्न र उहाँको इच्‍छा मानिसलाई बताउनको लागि प्रयोग गर्ने अभिप्राय उहाँको थियो। यसको लागि उहाँले मानिससँग करार स्थापना गर्नको लागि विशेष चिन्‍हको प्रयोग गर्दै अद्वितीय विधिको प्रयोग गर्नुभयो, जुन चिन्‍ह उहाँले मानिससँग स्थापित गर्नुभएको करारको प्रतिज्ञा थियो। त्यसोभए, के यो करारको स्थापना महान् घटना थियो? यो कति महान् थियो? करार यति विशेष हुनुको कारण ठ्याक्‍कै यही नै हो: यो मानिस-मानिसले एक-अर्काको बीचमा स्थापना गरेको करार थिएन, न त एउटा समूहले अर्को समूहसँग, वा एउटा देशले अर्को देशसँग स्थापना गरेको करार नै थियो, तर यो सृष्टिकर्ता र सम्पूर्ण मानवजातिको बीचमा स्थापना गरिएको करार थियो, र सृष्टिकर्ताले सबै थोक रद्द गर्नुहुने दिनसम्‍म यो मान्य रहनेछ। यो करार लागू गर्ने सृष्टिकर्ता नै हुनुहुन्छ, र यसलाई कायम राख्‍ने पनि सृष्टिकर्ता नै हुनुहुन्छ। छोटकरीमा भन्दा, मानवजातिसँग स्थापना गरिएको इन्द्रेनीको करारको सम्पूर्णता सृष्टिकर्ता र मानवजातिको बीचमा भएको कुराकानी अनुसार पूरा भयो र हासिल गरियो, र यो आजको दिनसम्‍मै त्यही अवस्थामा रहिआएको छ। प्राणीहरूले सृष्टिकर्ताको अख्‍तियारमा समर्पित हुने, त्यसको पालना गर्ने, त्यसमा विश्‍वास गर्ने, त्यसको कदर गर्ने, त्यसको साक्षी दिने, र त्यसलाई सम्‍मान गर्ने बाहेक के गर्न सक्छन्? किनभने त्यस्तो करार स्थापना गर्ने शक्ति अद्वितीय परमेश्‍वरमा बाहेक कसैसँग छैन। बारम्‍बार इन्द्रेनी देखा पर्नु भनेको सृष्टिकर्ता र मानवजातिको बीचमा गरिएको करारको बारेमा मानवजातिलाई गरिने घोषणा हो र त्यसप्रति ध्यानाकर्षण गर्न उसलाई गरिने बोलावट हो। सृष्टिकर्ता र मानवजातिको बीचमा गरिएको करार निरन्तर देखा पर्ने क्रममा, मानवजातिलाई इन्द्रेनी वा करार स्वयम्‌लाई होइन, तर सृष्टिकर्ताको अपरिवर्तनीय अख्‍तियारलाई देखाइन्छ। बारम्‍बार इन्द्रेनी देखा पर्नुले गुप्त ठाउँहरूमा सृष्टिकर्ताले गर्नुहुने अथाह र आश्‍चर्यजनक कार्यहरूलाई प्रदर्शन गर्छ, यसको साथै, यो कहिल्यै ओइलिएर नजाने, कहिल्यै परिवर्तन नहुने सृष्टिकर्ताको अख्‍तियारको महत्त्वपूर्ण प्रतिबिम्ब हो। के यो सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको अर्को पक्षको प्रदर्शन होइन र?

३. परमेश्‍वरका आशिष्‌हरू

उत्पत्ति १७:४-६ मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम अब्राम नै हुनेछ, तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु। र म तँलाई अत्यन्तै फलवन्त बनाउनेछु र तँबाट जातिहरू बनाउनेछु र तँबाट राजाहरू आउनेछन्।

उत्पत्ति १८:१८-१९ अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्। किनकि म उसलाई चिन्छु, कि उसले आफ्ना छोराछोरीहरू र आफ्नो घरानालाई उनलाई पछ्याउने आज्ञा दिनेछ र न्यायिक व्यवहार तथा न्याय गर्नको निम्ति तिनीहरूले यहोवाको मार्ग पालन गर्नेछन्; ताकि यहोवाले अब्राहामलाई भन्‍नुभएका कुरा उहाँले पूरा गर्नुभएको होस्।

उत्पत्ति २२:१६-१८ यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको छस् र तैँले तेरो छोरा अर्थात् तेरो एक मात्र छोरा मलाई नदिई आफूसँग राखेको छैनस्: आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌; किनभने तैँले मेरो वचन पालन गरेको छस्।

अय्यूब ४२:१२ त्यसैले यहोवाले अय्यूबको उत्तरार्धमा तिनको पूर्वार्धमा भन्दा बढी आशिष्‌ दिनुभयो: किनभने तिनीसित चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार पोथी गधा थिए।

सृष्टिकर्ताका वाणीहरूका अद्वितीय शैली र विशेषताहरू सृष्टिकर्ताको अद्वितीय पहिचान र अख्‍तियारका चिन्‍ह हुन्

धेरैले परमेश्‍वरका आशिष्‌हरू खोजी गर्न, र प्राप्त गर्न चाहन्छन्, तर सबैले यी आशिष्‌हरू प्राप्त गर्दैनन्, किनभने परमेश्‍वरका आफ्‍नै सिद्धान्तहरू छन्, र उहाँले उहाँको आफ्‍नै तरिकाले मानिसलाई आशिष्‌ दिनुहुन्छ। परमेश्‍वरले मानिससँग गर्नुहुने प्रतिज्ञाहरू, र उहाँले मानिसलाई दिनुहुने अनुग्रहको मात्रा मानिसका विचार र कार्यहरूअनुसार निर्धारित गरिन्छन्। त्यसो भए, परमेश्‍वरका आशिष्‌हरूद्वारा के देखाइन्छ? तिनमा मानिसहरूले के देख्‍न सक्छन्? यस बिन्दुमा, हामी परमेश्‍वरले कस्ता प्रकारका मानिसहरूलाई आशिष्‌ दिनुहुन्छ भन्ने बारेमा, र परमेश्‍वरले मानिसलाई आशिष्‌ दिने सम्‍बन्धी सिद्धान्तहरूको बारेमा छलफललाई पन्छाऔँ। बरु, परमेश्‍वरको अख्‍तियारलाई जान्ने उद्देश्यले, परमेश्‍वरको अख्‍तियारलाई जान्ने दृष्टिकोणबाट, परमेश्‍वरले मानिसलाई दिनुहुने आशिष्‌को बारेमा हामी हेरौं।

माथिका धर्मशास्‍त्रका चार वटै अनुच्‍छेदहरू परमेश्‍वरले मानिसलाई आशिष्‌ दिनुभएको बारेका विवरणहरू हुन्। तिनले अब्राहाम र अय्यूबजस्ता परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्नेहरूको विस्तृत व्याख्या गर्नुका साथै परमेश्‍वरले किन आफ्‍ना आशिष्‌हरू दिनुभयो त्यसका कारणहरू, र ती आशिष्‌हरूमा के कुरा समावेश थिए भन्ने विवरण प्रदान गर्छ। परमेश्‍वरका वाणीहरूको शैली र तरिका, र उहाँले जुन दृष्टिकोण र स्थानमा बसी बोल्‍नुभयो त्यसले मानिसहरूलाई आशिष्‌हरू दिनुहुने एउटै उहाँ र त्यस्ता आशिष्‌हरू प्राप्त गर्नेहरू फरक पहिचान, हैसियत र सारका हुन् भन्‍ने कुरा बुझाउँछ। यी वाणीहरूको शैली र तरिका, र जुन स्थानमा रही ती बोलिए त्यो सृष्टिकर्ताको पहिचान बोक्नुभएका परमेश्‍वरसँग मात्र सम्बन्धित अद्वितीय कुरा हुन्। उहाँमा अख्‍तियार र सामर्थ्यका साथसाथै सृष्टिकर्ताको सम्‍मान र प्रताप छ जसमा कुनै पनि मानिसले कुनै शङ्‍का गर्न सक्दैन।

सुरुमा हामी उत्‍पत्ति १७:४-६ लाई हेरौँ: “मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम अब्राम नै हुनेछ, तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु। र म तँलाई अत्यन्तै फलवन्त बनाउनेछु र तँबाट जातिहरू बनाउनेछु र तँबाट राजाहरू आउनेछन्।” यी वचनहरू परमेश्‍वरले अब्राहामसँग स्थापना गर्नुभएको करार, साथै परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌ थियो: परमेश्‍वरले अब्राहामलाई धेरै जातिका पिता बनाउँदै हुनुहुन्थ्यो, तिनलाई अत्यन्तै फलवान् तुल्याउँदै हुनुहुन्थ्यो, र तिनीद्वारा राष्ट्रहरू खडा हुनेवाला थिए, र तिनीबाटै राजाहरू आउनेवाला थिए। के यी वचनहरूमा तँ परमेश्‍वरको अख्‍तियारलाई देख्छस्? अनि कसरी तँ त्यस्तो अख्‍तियार देख्छस्? तँ परमेश्‍वरको अख्तियारको सारको कुन पक्षलाई देख्छस्? यी वचनहरूलाई ध्यान दिएर पढ्दा, परमेश्‍वरका वाणीहरूको बोलमा परमेश्‍वरको अख्‍तियार र पहिचान स्पष्ट रूपमा प्रकट गरिएको छ भन्‍ने कुरालाई पत्ता लगाउनु कठिन छैन। उदाहरणको लागि, जब परमेश्‍वरले “मेरो करार तँसितै छ, र तँ … बन्‍नेछस् … मैले तँलाई … बनाएको छु … म तँलाई … बनाउनेछु…,” भनी भन्‍नुभयो, “तँ बन्‍नेछस्” र “म बनाउनेछु,” जस्ता परमेश्‍वरको पहिचान र अख्तियारको स्वीकारोक्ति दिने शब्दावलीहरू एक हिसाबमा, सृष्टिकर्ताको विश्‍वसनीयताको सूचक हो; अर्को हिसाबमा, ती परमेश्‍वरले प्रयोग गर्नुभएका सृष्टिकर्ताको पहिचान निहित विशेष वचनहरू हुन्—साथै ती परम्परागत शब्दभण्डारका भाग हुन्। यदि कसैले अर्को व्यक्ति अत्यन्तै फलवान् हुनेछ, तिनीहरूबाट राष्ट्रहरू खडा हुनेछन्, र तिनीहरूबाट राजाहरू आउनेछन् भन्‍ने आशा गरेको छु भनी भन्छ भने, त्यो अवश्य नै एक प्रकारको कामना हो, प्रतिज्ञा वा आशिष्‌ होइन। त्यसकारण, मानिसहरूले “म तिमीलाई यस्तो र उस्तो बनाउनेछु, तिमीले यस्तो र उस्तो गर्नेछौ…,” भन्‍ने आँट गर्दैनन्, किनभने तिनीहरूसँग त्यस्तो शक्ति छैन भन्‍ने तिनीहरूलाई थाहा हुन्छ; यो तिनीहरूको हातमा हुँदैन, र तिनीहरूले यस्ता कुराहरू भने तापनि, तिनीहरूका वचनहरू तिनीहरूका इच्‍छा र अभिलाषाद्वारा उत्प्रेरित निरर्थक शब्‍दहरू हुनेछन्। यदि कसैले आफ्‍ना कामनाहरू पूरा गर्न सक्दैनन् भन्‍ने लाग्यो भने के तिनीहरूले यस्तो महान् शैलीमा बोल्‍ने आँट गर्छन्? हरेकले आफ्‍ना सन्तानको लागि सबैले राम्रै होस् भन्‍ने कामना गर्छन्, र तिनीहरू अघि बढ्नेछन् र ठूलो सफलता प्राप्त गर्नेछन् भन्‍ने आशा गर्छन्। “तिनीहरूमध्ये एक जना सम्राट भयो भने यो कति ठूलो सौभाग्यको कुरा हुनेथियो! यदि एक जना गभर्नर बन्यो भने त्यो पनि राम्रै हुनेथियो—राम्रै हुनेथियो जबसम्‍म तिनीहरू कुनै महत्त्वपूर्ण व्यक्ति हुन्छन्!” यी सबै मानिसहरूका कामनाहरू हुन्, तर मानिसहरूले आफ्‍ना सन्तानको लागि आशिष्‌हरूको कामना मात्रै गर्न सक्छन्, तिनीहरूका कुनै पनि प्रतिज्ञालाई पूरा गर्ने वा त्यसलाई यथार्थ तुल्याउन सक्दैनन्। आफ्‍ना हृदयमा, हरेकलाई त्यस्ता कुराहरू हासिल गर्ने शक्ति आफूसँग छैन भन्‍ने थाहा हुन्छ, किनभने तिनीहरूसँग भएको सबै कुरा तिनीहरूको नियन्त्रणभन्दा बाहिर हुन्छ, अनि कसरी तिनीहरूले अरूको नियतिमाथि हुकुम चलाउन सक्छन् र? परमेश्‍वरले यस्ता वचनहरू भन्‍न सक्‍नुको कारण के हो भने परमेश्‍वरमा त्यस्तो अख्‍तियार छ, र उहाँमा उहाँले मानिससँग गर्नुहुने सबै प्रतिज्ञाहरूलाई पूरा गर्ने र यथार्थ तुल्याउने, र उहाँले मानिसलाई दिनुहुने सबै आशिष्‌हरू पूरा गर्ने क्षमता छ। मानिसलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको थियो, र परमेश्‍वरको लागि कसैलाई अत्यन्तै फलवान् बनाउनु भनेको बच्‍चाको खेल हुनेथियो; कसैको सन्तानलाई सम्‍पन्‍न तुल्याउनको लागि उहाँले एउटै शब्‍द मात्र बोल्‍नु आवश्यक पर्थ्यो। त्यस्तो कुराको लागि उहाँले कहिल्यै पसिना बगाउने गरी काम गर्नुपर्दैनथियो, वा यसको लागि आफ्‍नो मस्तिष्कको प्रयोग गर्नुपर्ने, वा आफैलाई त्यसमा बाँधेर गाँठो पार्ने गर्नुपर्दैनथियो; परमेश्‍वरको शक्ति, परमेश्‍वरको अख्‍तियार यही नै हो।

उत्पत्ति १८:१८ मा “अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्” भन्‍ने पढिसकेपछि, के तिमीहरू परमेश्‍वरको अख्‍तियारलाई अनुभूति गर्न सक्छौ? के तिमीहरू सृष्टिकर्ताको असाधारणतालाई अनुभूति गर्न सक्छौ? के तिमीहरू सृष्टिकर्ताको सर्वोच्‍चतालाई अनुभूति गर्न सक्छौ? परमेश्‍वरका वचनहरू निश्‍चित छन्। आफ्‍नो सफलताको सुनिश्‍चितताको कारण, वा त्यसको प्रतिनिधित्व स्वरूप परमेश्‍वरले त्यस्ता वचनहरू बोल्‍नुहुन्‍न; बरु, ती परमेश्‍वरका वाणीहरूको अख्तियारको सबुत हुन्, र परमेश्‍वरको वचनहरूलाई पूरा गर्ने आज्ञा हुन्। तिमीहरूले यहाँ ध्यान दिनुपर्ने दुई वटा अभिव्यक्ति छन्। परमेश्‍वरले “अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्,” भनी भन्‍ने क्रममा, के यी वचनहरूमा कुनै अस्पष्टताको तत्व छ? के कुनै चिन्ताको तत्व छ? के कुनै डरको तत्व छ? परमेश्‍वरका वाणीहरूका “अवश्य नै हुनेछ” र “हुनेछ” भन्‍ने शब्‍दहरूको कारणले, मानिसमा निश्‍चित रूपमा हुने र उसमा प्रायजसो देखिने यी तत्वहरूले सृष्टिकर्तासँग कहिल्यै कुनै सम्‍बन्ध राखेका छैनन्। अरूलाई शुभकामना दिँदा कसैले पनि त्यस्ता वचनहरूको प्रयोग गर्ने आँट गर्दैनन्, कसैले पनि अरूलाई ठूलो र शक्तिशाली जाति दिने भनी आशिष्‌ दिन, वा पृथ्वीका सबै जातिले तिनमा आशिष्‌ पाउनेछन् भनेर प्रतिज्ञा गर्न कसैले पनि आँट गर्दैनन्। परमेश्‍वरका वचनहरू जति निश्‍चित छन्, तिनले कुनै कुरालाई त्यति नै प्रमाणित गर्छन्—र त्यो कुनै कुरा के हो? तिनले परमेश्‍वरसँग त्यस्तो अख्‍तियार छ, उहाँको अख्‍तियारले यी कुराहरू पूरा गर्न सक्छ, र ती पूरा हुनु अपरिहार्य छ भन्‍ने कुरालाई प्रमाणित गर्छन्। उहाँले अब्राहामलाई जे आशिष्‌ दिनुभएको थियो त्यसको बारेमा परमेश्‍वर आफ्‍नो हृदयमा सुनिश्‍चित हुनुहुन्थ्यो, उहाँमा अलिकति पनि हिचकिचाहट थिएन। यसको साथै, यसको पूर्णता उहाँका वचनहरू अनुसार नै हासिल हुनेथिए, र यसको पूर्णतालाई कुनै पनि शक्तिले परिवर्तन गर्न, रोक्‍न, हानी गर्न, वा बाधा दिन सक्‍नेथिएन। अरू जेसुकै भए तापनि, परमेश्‍वरका वचनहरू पूर्ण हुनु र पूरा हुनुलाई कुनै कुराले पनि रोक्‍न वा बाधा दिन सकेन। यो सृष्टिकर्ताको मुखबाट बोलिएका वचनहरूको शक्ति, र मानिसको इन्कारमा नरोकिने सृष्टिकर्ताको अख्तियार हो! यी वचनहरूलाई पढिसकेपछि, के तँलाई अझै शङ्‍का लाग्छ? यी वचनहरू परमेश्‍वरको मुखबाट बोलिएका थिए, र परमेश्‍वरका वचनहरूमा शक्ति, प्रताप, र अख्तियार छ। त्यस्तो शक्ति र अख्तियार, र तथ्यहरू पूरा हुने अपरिहार्यतालाई सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले प्राप्त गर्न सक्दैन, र सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई नाघ्‍न सक्दैन। सृष्टिकर्ताले मात्रै मानवजातिसँग त्यस्तो शैली र स्वरमा कुराकानी गर्न सक्‍नुहुन्छ, र उहाँका प्रतिज्ञाहरू खोक्रा शब्‍दहरू, वा फोकट घमण्ड होइनन्, तर कुनै पनि व्यक्ति, घटना, वा थोकले नाघ्‍न नसक्‍ने अद्वितीय अख्तियारको अभिव्यक्ति हुन् भन्‍ने कुरालाई यी तथ्यहरूले प्रमाणित गरेको छ।

परमेश्‍वरले बोल्‍नुभएका वचनहरू र मानिसले बोलेका वचनहरूका बीचमा के भिन्‍नता छ? जब तँ परमेश्‍वरले बोल्‍नुभएका यी वचनहरूलाई पढ्छस्, तैँले परमेश्‍वरका वचनहरू र परमेश्‍वरको अख्‍तियारको सामर्थ्यलाई अनुभूति गर्छस्। मानिसहरूले यस्ता शब्‍दहरू बोलेको सुन्दा तँलाई कस्तो अनुभूति हुन्छ? के तिनीहरू अत्यन्तै अहङ्कारी र घमण्डी छन्, तिनीहरू आफ्‍नै तमासा देखाइरहने मानिसहरू हुन् भन्‍ने तँलाई लाग्छ? तिनीहरूसँग यो शक्ति, तिनीहरूसँग त्यस्तो अख्‍तियार नभएको हुनाले, तिनीहरू त्यस्ता कुराहरू हासिल गर्न पूर्ण रूपमा असमर्थ छन्। तिनीहरू आफ्‍ना प्रतिज्ञाहरूप्रति त्यति ढुक्‍क छन् भने त्यसले तिनीहरूको वचनको हेलचेक्य्राइँपनलाई मात्रै देखाउँछ। यदि कसैले त्यस्ता शब्‍दहरू बोल्छन् भने, तिनीहरू निश्‍चय नै अहङ्कारी र अभिमानी छन्, र तिनीहरूले प्रधान स्‍वर्गदूतको स्वभावको एउटा उत्कृष्ट उदाहरणको रूपमा आफैलाई प्रकट गरिरहेका हुनेछन्। यी वचनहरू परमेश्‍वरको मुखबाट आएका हुन्; के तँ यहाँ कुनै अहङ्कारको तत्वको अनुभूति गर्छस्? के परमेश्‍वरका वचनहरू ठट्टा मात्रै हुन् भन्‍ने तँलाई लाग्छ? परमेश्‍वरका वचनहरू अख्‍तियार हुन्, परमेश्‍वरका वचनहरू तथ्य हुन्, र उहाँको मुखबाट वचनहरू उच्‍चारण गरिनुभन्दा पहिले, भन्‍नुको अर्थ, जब उहाँले कुनै काम गर्ने निर्णय गरिरहनुभएको हुन्छ, त्यो कुरा पहिले नै पूरा भइसकेको हुन्छ। परमेश्‍वरले अब्राहामलाई भन्‍नुभएका सबै कुरा परमेश्‍वरले अब्राहामसँग गर्नुभएको करार, र परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा नै थियो भनेर भन्‍न सकिन्छ। यो प्रतिज्ञा स्थापित गरिएको तथ्य, साथै पूरा गरिएको तथ्य थियो, र यी तथ्यहरू परमेश्‍वरको योजनाअनुसार परमेश्‍वरका सोचहरूमा क्रमिक रूपमा पूरा भए। त्यसकारण, परमेश्‍वरले त्यस्ता वचनहरू बोल्‍नुको अर्थ उहाँमा घमण्डी स्वभाव छ भन्‍ने हुँदैन, किनभने परमेश्‍वरले त्यस्ता कुराहरू हासिल गर्न सक्‍नुहुन्छ। उहाँमा यो शक्ति र अख्‍तियार छ, र उहाँ यी कार्यहरू हासिल गर्न पूर्ण रूपमा समर्थ हुनुहुन्छ, र तिनीहरूको परिपूर्णता पूर्ण रूपमा उहाँको क्षमताको दायराभित्रै छ। जब यस्ता वचनहरू परमेश्‍वरको मुखबाट उच्‍चारित हुन्छन्, ती परमेश्‍वरको साँचो स्वभावको प्रकाश र अभिव्यक्ति, परमेश्‍वरको सार र अख्‍तियारको अति उत्तम प्रकाश र प्रकटीकरण हुन्, र सृष्टिकर्ताको पहिचानको प्रमाणको रूपमा योभन्दा उचित र उपयुक्त अरू केही हुन सक्दैन। त्यस्ता वाणीहरूको शैली, स्वर, र शब्‍दहरू नै सृष्टिकर्ताको पहिचानका चिन्‍ह हुन्, र परमेश्‍वरको आफ्‍नै पहिचानको अभिव्यक्तिसँग ती अति उत्तम रूपले मिल्छन्; तिनमा कुनै बहाना, कुनै अशुद्धता हुँदैन; ती पूर्ण रूपमा र स्पष्ट रूपमा सृष्टिकर्ताको सार र अख्तियारका अति उत्तम प्रदर्शन हुन्। प्राणीहरूका हकमा कुरा गर्दा, तिनीहरूमा न त यो अख्‍तियार हुन्छ, न त यो सार नै, परमेश्‍वरले दिनुभएको शक्ति तिनीहरूमा हुने कुरा त परै जाओस्। यदि मानिसले त्यस्तो बानीबेहोरा प्रकट गर्छ भने, यो पक्‍कै पनि उसको भ्रष्ट स्वभावको प्रकटीकरण हो, र यसको जड भनेका मानिसको अहङ्कार र उग्र महत्वाकांक्षाको हस्तक्षेपपूर्ण प्रभाव, र मानिसहरूसँग छल गर्न र परमेश्‍वरलाई धोका दिन तिनीहरूलाई फुस्ल्याउन चाहने दियाबलस, शैतानको दुर्भावनापूर्ण अभिप्रायहरूको प्रकटीकरण नै हुन्। त्यस्तो भाषाबाट प्रकट गरिएको कुरालाई परमेश्‍वरले कसरी लिनुहुन्छ? तैँले उहाँको स्थान हडप्‍न चाहन्छस् र तैँले उहाँको नक्‍कल गरेर उहाँलाई प्रतिस्थापन गर्न चाहन्छस् भनेर परमेश्‍वरले भन्‍नुहुनेछ। जब तँ परमेश्‍वरका वाणीहरूको स्वरलाई अनुकरण गर्छस्, तेरो अभिप्राय भनेको मानिसहरूको हृदयमा भएको परमेश्‍वरको स्थानलाई प्रतिस्थापन गर्नु, अधिकारको हिसाबले परमेश्‍वरको स्वामित्वमा रहेको मानवजातिलाई हडप्‍नु भन्‍ने हुन्छ। यो त विशुद्ध र सरल रूपमा शैतान नै हो; यी त प्रधान स्‍वर्गदूतका सन्तानका कार्यहरू हुन्, जुन स्वर्गको लागि सह्य छैन! तिमीहरूका बीचमा, त्यस्तो कोही छ जसले मानिसहरूलाई बहकाउने र धोका दिने अभिप्रायले, र यस व्यक्तिका वचन र कार्यहरूले परमेश्‍वरको अख्‍तियार र सामर्थ्य बोकेका छन् जस्तो, यस व्यक्तिको सार र पहिचान अद्वितीय छ जस्तो, र यस व्यक्तिका वचनहरूको स्वर परमेश्‍वरको जस्तै छ जस्तो तिनीहरूलाई अनुभूति गराउँदै थोरै शब्‍दहरू निश्‍चित तरिकाले बोलेर परमेश्‍वरको कहिल्यै अनुकरण गरेका छन्? के तिमीहरूले कहिल्यै यस्तो गरेका छौ? के तिमीहरूले जुन कुरालाई सामर्थ्य र अख्‍तियार भनी ठानेका छौ त्यसद्वारा तिमीहरूको बोली-वचनमा परमेश्‍वरको स्वभाव छ जस्तै हाउभाउ देखाएर कहिल्यै परमेश्‍वरको स्वरलाई अनुकरण गर्ने प्रयास गरेका छौ? के तिमीहरूले कहिल्यै यसरी व्यवहार गरेका छौ, वा त्यसो गर्ने योजना बनाएका छौ? अब, जब तिमीहरू सृष्टिकर्ताको अख्‍तियारलाई साँचो रूपमा देख्छौ, बुझ्छौ र चिन्छौ, र तिमीहरूले जे गर्ने गर्थ्यौ, र तिमीहरूले आफैलाई जे प्रकट गर्ने गर्थ्यौ त्यसलाई हेर्दा, के तिमीहरूलाई असहज महसुस हुन्छ? के तिमीहरू आफ्‍नो नीचता र लाजमर्दो अवस्थालाई पहिचान गर्छौ? त्यस्ता मानिसहरूको स्वभाव र सारलाई विश्‍लेषण गरिसकेपछि, के तिनीहरू नरकका श्रापित सन्तान हुन् भनेर भन्‍न सकिँदैन र? के त्यस्ता कुराहरू गर्ने हरेकले आफैमाथि अपमान निम्त्याइरहेका हुन्छन् भनेर भन्‍न सकिन्छ? के तिमीहरू यसको प्रकृतिको गम्‍भीरतालाई पहिचान गर्छौ? यो कति गम्‍भीर छ? यस्तो व्यवहार गर्ने मानिसहरूको अभिप्राय भनेको परमेश्‍वरको अनुकरण गर्नु हो। तिनीहरू परमेश्‍वर बन्‍न चाहन्छन्, मानिसहरूलाई तिनीहरू आफूलाई परमेश्‍वरकै रूपमा आराधना गर्ने तुल्याउन चाहन्छन्। तिनीहरू मानिसहरूका हृदयमा रहेको परमेश्‍वरको स्थानलाई नष्ट गर्न, र मानिसको बीचमा काम गर्नुहुने परमेश्‍वरलाई हटाउन चाहन्छन्, र तिनीहरू मानिसहरूलाई नियन्त्रण गर्ने, मानिसहरूलाई नष्ट गर्ने, र तिनीहरूलाई पकडमा राख्‍ने उद्देश्य हासिल गर्न यसो गर्छन्। हरेकसँग यस्तै अवचेतन इच्‍छा र महत्वाकांक्षाहरू हुन्छन्, र हरेक नै यस प्रकारको भ्रष्ट शैतानी सार, शैतानी प्रकृतिमा जिउँछन्, जहाँ तिनीहरू परमेश्‍वरका शत्रु हुन्छन्, परमेश्‍वरलाई धोका दिन्छन्, र परमेश्‍वर नै बन्‍न चाहन्छन्। परमेश्‍वरको अख्तियार भन्‍ने विषयमा रहेको मेरो सङ्गतिपछि, के तिमीहरू अझै पनि परमेश्‍वरको नक्‍कल गर्ने वा परमेश्‍वरको अनुकरण गर्ने इच्‍छा गर्छौ वा आकांक्षा राख्छौ? के तिमीहरू अझै पनि परमेश्‍वर बन्‍ने इच्‍छा गर्छौ? के तिमीहरू अझै पनि परमेश्‍वर बन्‍ने चाहना गर्छौ? परमेश्‍वरको अख्‍तियारलाई मानिसले अनुकरण गर्न सक्दैन, र परमेश्‍वरको पहिचान र हैसियतलाई मानिसले नक्‍कल गर्न सक्दैन। परमेश्‍वरले बोल्‍नुहुने स्वरलाई तैँले अनुकरण गर्न सक्‍ने भए तापनि, तैँले परमेश्‍वरको सारलाई अनुकरण गर्न सक्दैनस्। तँ परमेश्‍वरको स्थानमा खडा हुन र परमेश्‍वरको नक्कल गर्न सक्‍ने भए तापनि, परमेश्‍वरले जे गर्ने अभिप्राय राख्‍नुहुन्छ त्यो गर्न तँ कहिल्यै सक्‍नेछैनस्, र तँ सबै थोकको शासन गर्न र त्यसमाथि हुकुम गर्न कहिल्यै सक्‍नेछैनस्। परमेश्‍वरको नजरमा, तँ सदासर्वदा सानो प्राणी हुनेछस्, र तेरा सीप र क्षमताहरू जति ठूलो भए तापनि, तँसँग जति वरदानहरू भए तापनि, तँ तेरो सम्पूर्णतामा सृष्टिकर्ताकै प्रभुत्वमा हुन्छस्। तैँले केही साहसिक शब्‍दहरू भन्‍न सक्‍ने भए तापनि, न त यसले तँसँग सृष्टिकर्ताको सार छ भन्‍ने कुरालाई देखाउन सक्छ, न त तँसँग सृष्टिकर्ताको अख्तियार छ भन्‍ने नै प्रस्तुत गर्न सक्छ। परमेश्‍वरको अख्तियार र शक्ति परमेश्‍वर स्वयमको सार हो। ती सिकेका वा बाहिरी रूपमा थपिएका होइनन्, तर ती परमेश्‍वर स्वयम्‌को अन्तर्निहित सार हुन्। त्यसैले सृष्टिकर्ता र प्राणीहरूका बीचको सम्‍बन्धलाई कहिल्यै पनि परिवर्तन गर्न सकिँदैन। प्राणीहरूमध्येकै एक भएकोले, मानिसले आफ्‍नो हैसियतलाई कायम राख्‍नुपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्‍ने, वा महामानव बन्‍ने, वा अरूभन्दा ठूलो हुन खोज्‍ने, वा परमेश्‍वर बन्‍ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। तारिफयोग्य कुरा, र प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो प्राणी बन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो।

सृष्टिकर्ताको अख्‍तियार समय, स्थान, वा भूगोलद्वारा सीमित छैन, र सृष्टिकर्ताको अख्‍तियारलाई गन्ती गर्न सकिँदैन

हामी उत्पत्ति २२:१७-१८ लाई हेरौँ। यो यहोवा परमेश्‍वरले बोल्‍नुभएको अर्को अनुच्‍छेद हो, जहाँ उहाँले अब्राहामलाई भन्‍नुभयो, “आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌; किनभने तैँले मेरो वचन पालन गरेको छस्।” यहोवा परमेश्‍वरले अब्राहामलाई धेरै पटक आशिष्‌ दिनुभएको हुनाले तिनका सन्तान वृद्धि हुनेवाला थिए—तर कति हदसम्‍म वृद्धि हुनेवाला थिए? धर्मशास्‍त्रमा बोलिएको हदसम्‍म: “आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह।” भन्‍नुको अर्थ, परमेश्‍वरले अब्राहामलाई आकाशका ताराहरू जत्तिकै धेरै, र समुद्रको किनारका बालुवाजत्तिकै प्रशस्त सन्तान दिन चाहनुभयो। परमेश्‍वरले अलङ्कारको प्रयोग गरी बोल्‍नुभयो, र यो अलङ्कारबाट परमेश्‍वरले अब्राहामलाई एक, दुई, वा हजार जना मात्रै होइन, बरु गन्ती गर्नै नसकिने सङ्ख्यामा सन्तान दिनुभयो, यतिसम्‍म कि तिनीहरू अनगिन्ती राष्ट्रहरू बन्‍नेवाला थिए, किनभने परमेश्‍वरले अब्राहामलाई तिनी धेरै जातिका पिता हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो। अब, उक्त सङ्ख्याको निर्णय मानिसले गरेको थियो कि परमेश्‍वरले गर्नुभएको थियो? के मानिसले उसको सन्तान कति जना हुन्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्छ? के यो उसको हातमा हुन्छ? उसले धेरै जना जन्‍माउनेछ कि जन्‍माउनेछैन भन्‍ने कुरा समेत मानिसको हातमा हुँदैन, “आकाशका ताराहरू, र समुद्र किनारको बालुवा।” धेरै हुने त कुरै नगरौँ। कसले आकाशका ताराहरू जत्तिकै धेरै सन्तानको चाहना गर्दैन र? दुःखको कुरा, परिस्थिति सधैँ तैँले चाहेजस्तै हुन्छ भन्‍ने छैन। मानिस जति सिपालु वा सक्षम भए पनि, यो उसको हातमा हुँदैन; परमेश्‍वरले प्रबन्ध गर्नुभएको भन्दा बाहिर कोही पनि खडा हुन सक्दैन। उहाँले तँलाई जति धेरै दिनुहुन्छ, तैँले त्यति नै बढी पाउनेछस्: यदि परमेश्‍वरले तँलाई थोरै दिनुहुन्छ भने, तँसँग कहिल्यै धेरै हुनेछैन, र यदि परमेश्‍वरले तँलाई धेरै दिनुभयो, तँसँग धेरै भयो भनेर तैँले अफसोस गर्नुपर्दैन। के यो यस्तै होइन र? योमध्ये धेरैजसो कुरा परमेश्‍वरकै हातमा हुन्छ, मानिसको हातमा होइन! मानिसलाई परमेश्‍वरले नै शासन गर्नुहुन्छ, र कसैलाई पनि छूट छैन!

जब परमेश्‍वरले “तेरा सन्तानलाई वृद्धि गर्नेछु,” भनी भन्‍नुभयो, यो परमेश्‍वरले अब्राहामसँग स्थापित गर्नुभएको करार थियो, र इन्द्रेनीको करारजस्तै, यो अनन्तसम्‍मको लागि हासिल गरिनेथियो, र यो परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पनि थियो। यो प्रतिज्ञालाई पूरा गर्न परमेश्‍वर मात्र योग्य र सक्षम हुनुहुन्छ। मानिसले यसलाई विश्‍वास गरे पनि वा नगरे पनि, मानिसले यसलाई स्वीकार गरे पनि वा नगरे पनि, र मानिसले यसलाई जसरी हेरे पनि र जसरी लिए पनि, यो सबै शब्‍द-शब्‍द गरी परमेश्‍वरले बोल्‍नुभएको वचन अनुसार नै पूरा हुनेछ। मानिसको इच्‍छा वा धारणाहरूमा आएको परिवर्तनको कारणले परमेश्‍वरको वचन परिवर्तन हुनेछैन, र कुनै व्यक्ति, घटना, वा कुरामा आएको परिवर्तनको कारणले यो परिवर्तन हुनेछैन। सबै थोक हराएर जान सक्छ, तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहनेछ। वास्तवमा, सबै थोक हराएर जाने दिन नै परमेश्‍वरका वचनहरू पूर्ण रूपमा पूरा हुने दिन हो, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमा सृष्टिकर्ताको अख्‍तियार छ, सृष्टिकर्ताको शक्ति छ, र उहाँले नै सबै थोक र सबै जीवनशक्तिलाई नियन्त्रण गर्नुहुन्छ; उहाँले शून्यताबाट कुनै थोक अस्तित्वमा ल्याउन, वा कुनै थोकलाई शून्यतामा हराउन सक्‍नुहुन्छ, र उहाँले सबै थोकको जीवितबाट मृतकमा हुने रूपान्तरणलाई नियन्त्रण गर्नुहुन्छ; परमेश्‍वरको लागि, कसैको बीउलाई वृद्धि गराउने जत्तिको सरल केही पनि हुन सक्दैन। यो मानिसको लागि परी-कथाजस्तै शानदार सुनिन सक्छ, तर परमेश्‍वरको लागि, उहाँले जुन कुरा गर्ने निर्णय र प्रतिज्ञा गर्नुहुन्छ त्यो काल्‍पनिक होइन, न त परी-कथा नै हो। बरु, यो त परमेश्‍वरले पहिले नै देखिसक्‍नुभएको तथ्य हो, र जसलाई अवश्य नै हासिल गर्न सकिन्छ। के तिमीहरू यसलाई बुझ्छौ? के अब्राहामका सन्तान अनगिन्ती थिए भनेर तथ्यहरूले प्रमाणित गर्छ? तिनीहरू कति धेरै अनगिन्ती थिए? के तिनीहरू परमेश्‍वरले बोल्‍नुभएका “आकाशका ताराहरू, र समुद्र किनारको बालुवा” जत्तिकै अनगिन्ती थिए? के तिनीहरू संसारका सबै राष्ट्रहरू र क्षेत्रहरूमा, हरेक ठाउँमा फैलिए? केद्वारा यो तथ्य हासिल गरियो? के यो परमेश्‍वरका वचनहरूको अख्‍तियारद्वारा हासिल गरिएको थियो? परमेश्‍वरका वचनहरू बोलिएको सयौँ वा हजारौँ वर्षसम्‍म, परमेश्‍वरका वचनहरू निरन्तर रूपमा पूरा भए, र ती अटुट रूपमा तथ्यमा परिवर्तन भइरहे; परमेश्‍वरका वचनहरूको सामर्थ्य, र परमेश्‍वरको अख्‍तियारको प्रमाण यही हो। जब सुरुमा परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्” अनि उज्यालो भयो। यो शीघ्र रूपमा भयो, यो छोटो समयमा पूरा भयो, र यसको उपलब्धि र पूर्णतामा कुनै ढिलाइ भएन; परमेश्‍वरका वचनहरूका प्रभावहरू तत्‍कालीन थिए। ती दुवै नै परमेश्‍वरको अख्तियारको प्रदर्शन थिए, तर जब परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिनुभयो, उहाँले मानिसलाई परमेश्‍वरको अख्तियारको सारको अर्को पक्ष, साथै सृष्टिकर्ताको अख्‍तियार गन्तीभन्दा बाहिरको कुरा हो भन्‍ने देखाउनुभयो, यसको साथै उहाँले मानिसलाई सृष्टिकर्ताको अख्‍तियारको अझै यथार्थ, अझै उत्कृष्ट पक्ष देखाउनुभयो।

परमेश्‍वरका वचनहरू उच्‍चारण गरिएपछि, परमेश्‍वरको अख्‍तियारले यो कार्यमा हुकुम चलाउँछ, र परमेश्‍वरको मुखले प्रतिज्ञा गरेको तथ्य क्रमिक रूपमा यथार्थ बन्‍न थाल्छ। परिणामस्वरूप, जसरी वसन्तको आगमनसँगै घाँसहरू हरिया बन्‍न थाल्छन्, फूलहरू फुल्‍न थाल्छन्, रूखका मुनाहरू पलाउन थाल्छन्, चराचुरुङ्गी गाउन थाल्छन्, हाँसहरू फर्केर आउँछन्, र भूमि मानिसहरूले भरिन्छन्, त्यसरी नै सबै थोकको बीचमा परिवर्तनहरू देखा पर्न थाल्छ…। वसन्तको आगमनसँगै सबै थोक नयाँ हुन्छन्, र यो सृष्टिकर्ताको आश्‍चर्यजनक कार्य हो। जब परमेश्‍वरले आफ्‍ना प्रतिज्ञाहरू हासिल गर्नुहुन्छ, स्वर्ग र पृथ्वीका सबै थोक नवीकरण हुन्छन् र परमेश्‍वरका विचारहरू अनुसार परिवर्तन हुन्छन्—कसैलाई पनि छूट छैन। जब परमेश्‍वरको मुखबाट प्रतिबद्धता वा प्रतिज्ञाको उच्‍चारण गरिन्छ, सबै थोक यसलाई पूरा गर्नमा लाग्छन् र यसलाई पूरा गर्नकै खातिर सबै थोकलाई चलाकीसाथ परिचालित गरिन्छ; सबै प्राणीहरू परमेश्‍वरकै प्रभुत्वमा योजनाबद्ध गरिन्छ र मिलाइन्छ, र तिनीहरूले आ-आफ्‍नै भूमिका निर्वाह गर्छन्, र आ-आफ्‍नै प्रकार्य पूरा गर्छन्। सृष्टिकर्ताको अख्‍तियारको प्रकटीकरण यही हो। यसमा तँ के देख्छस्? तँ परमेश्‍वरको अख्‍तियारलाई कसरी जान्दछस्? के परमेश्‍वरको अख्तियारको कुनै दायरा छ? के समयको सीमितता छ? के यसको निश्‍चित उचाइ, वा निश्‍चित लम्‍बाइ छ भनेर भन्‍न सकिन्छ? के यसको निश्‍चित आकार वा सामर्थ्य छ भनेर भन्‍न सकिन्छ? के यसलाई मानिसका आयामहरूबाट मापन गर्न सकिन्छ? परमेश्‍वरको अख्‍तियार घरी सक्रिय, घरी निष्क्रिय हुने हुँदैन, यो आउने र जाने गर्दैन, र उहाँको अख्तियार वास्तवमा कति महान् छ भनेर नाप्‍न सक्‍ने कोही पनि छैन। जति धेरै समय बिते पनि, जब परमेश्‍वरले कुनै व्यक्तिलाई आशिष्‌ दिनुहुन्छ, यो आशिष्‌ अघि बढिरहनेछ, र यसको निरन्तरताले परमेश्‍वरको अख्‍तियारको अतुलनीय साक्षी दिनेछ, र सृष्टिकर्ताको ननिभ्‍ने जीवनशक्तिको पुन: देखा पर्ने घटनालाई बारम्‍बार देख्‍न मानवजातिलाई समर्थ तुल्याउनेछ। उहाँको अख्तियारको हरेक प्रदर्शन सबै थोकमा, र मानवजातिमा प्रदर्शन गरिने उहाँको मुखका वचनहरूको सिद्ध प्रदर्शन हुन्। यसको साथै, उहाँको अख्‍तियारले हासिल गर्ने सबै कुरा अति उत्तम, अतुलनीय, र अत्यन्तै त्रुटिहीन छन्। के भन्‍न सकिन्छ भने, उहाँका विचारहरू, उहाँका वचनहरू, उहाँको अख्तियार, र उहाँले हासिल गर्नुहुने सबै कार्यहरू अतुलनीय रूपमा सुन्दर चित्र हुन्, र प्राणीहरूका लागि, यसको महत्त्व र मूल्यलाई स्पष्ट पार्न मानवजातिको भाषा असमर्थ छ। जब परमेश्‍वरले कुनै व्यक्तिलाई प्रतिज्ञा गर्नुहुन्छ, तिनीहरूको बारेमा सबै कुरा परमेश्‍वरको लागि उहाँको हातको पछाडिको भाग जत्तिकै परिचित हुन्छ, चाहे यो तिनीहरू कहाँ बस्‍छन् भन्‍ने होस् वा तिनीहरू कहाँ जान्छन् भन्‍ने नै होस्, तिनीहरूले प्रतिज्ञा प्राप्त गर्नुभन्दा पहिलेको वा पछिको तिनीहरूको पृष्ठभूमि होस्, वा तिनीहरूको जिउने वातावरणमा कति ठूलो कायापलट आएको छ त्यो नै होस्। परमेश्‍वरका वचनहरू बोलिएपछि जति धेरै समय बिते पनि, उहाँको लागि, ती भर्खरै उच्‍चारण गरिएका जस्तै हुन्छन्। भन्‍नुको अर्थ परमेश्‍वरसँग शक्ति छ, र उहाँसँग उहाँले मानवजातिसँग गर्नुहुने हरेक प्रतिज्ञाको लेखाजोखा राख्‍ने, नियन्त्रण गर्ने, र पूरा गर्ने अख्‍तियार छ, र प्रतिज्ञा जेसुकै भए तापनि, यो पूर्ण रूपमा पूरा हुन जति समय लागे पनि, यसको साथै, यसको पूर्णताले जति वृहत् दायरालाई छोए तापनि—उदाहरणको लागि, समय, भूगोल, जाति, र यस्तै इत्यादि—यो प्रतिज्ञा हासिल गरिनेछ र पूरा गरिनेछ, यसको साथै, यसलाई हासिल गर्न र पूरा गर्नको लागि उहाँलाई अलिकति समेत प्रयासको आवश्यकता पर्नेछैन। यसले केलाई प्रमाणित गर्छ? परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्र सम्पूर्ण ब्रह्माण्ड, र सम्पूर्ण मानवजातिलाई नियन्त्रण गर्नको लागि पर्याप्त छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। परमेश्‍वरले ज्योति बनाउनुभयो, तर त्यसको अर्थ परमेश्‍वरले ज्योतिको मात्रै व्यवस्थापन गर्नुहुन्छ भन्ने हुँदैन, वा उहाँले पानीको व्यवस्थापन गर्नुहुन्छ किनभने उहाँले पानी सृष्टि गर्नुभयो, र अरू सबै कुरा परमेश्‍वरसँग सम्‍बन्धित छैनन् भन्‍ने हुँदैन। के यो गलत बुझाइ हुँदैन र? परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌ सयौँ वर्षपछि मानिसको स्मरणबाट क्रमिक रूपमा विलीन भएको भए तापनि, परमेश्‍वरको लागि, यो प्रतिज्ञा अझै पनि उस्तै रहिरह्यो। यो अझै पनि हासिल गरिने प्रक्रियामा थियो, र यो कहिल्यै रोकिएको थिएन। परमेश्‍वरले कसरी आफ्‍नो अख्‍तियारको प्रयोग गर्नुभयो, कसरी सबै थोकलाई योजनाबद्ध र व्यवस्थित गरियो, र यस समय परमेश्‍वरले सृष्टि गर्नुभएको सबै थोकको बीचमा के-कस्ता सुन्दर घटनाहरू घटे सो मानिसले कहिल्यै जानेन वा सुनेन, तर परमेश्‍वरको अख्तियारको प्रदर्शनको हरेक सुन्दर भाग र उहाँका कार्यहरूको प्रकाशलाई सबै थोकका बीचमा हस्तान्तरण र बढाइ गरियो, सबै थोकले सृष्टिकर्ताको आश्‍चर्यजनक कार्यहरूलाई प्रदर्शन गरे र तिनको बारेमा बोले, र यावत् थोकमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको हरेक प्रचलित कथालाई सबै थोकले सदासर्वदा घोषणा गर्नेछन्। सबै थोकलाई शासन गर्ने परमेश्‍वरको अख्तियार, र परमेश्‍वरको शक्तिले सबै थोकलाई परमेश्‍वर सबै ठाउँमा र सबै समयमा उपस्थित हुनुहुन्छ भन्‍ने देखाउँछ। जब तैँले परमेश्‍वरको अख्तियार र शक्तिको सर्वव्यापकतालाई देखेको हुन्छस्, तब तैँले परमेश्‍वर सबै ठाउँ र सबै समयमा उपस्थित हुनुहुन्छ भन्‍ने देख्‍नेछस्। परमेश्‍वरको अख्तियार र शक्ति समय, भूगोल, स्थान, वा कुनै व्यक्ति, घटना वा थोकद्वारा सीमित छैनन्। परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्रले मानिसको कल्‍पनालाई नाघ्‍छ; मानिसले यसलाई बुझ्‍न सक्दैन, मानिसले यसलाई कल्‍पना गर्न सक्दैन, र यसलाई मानिसले कहिल्यै पनि पूर्ण रूपमा बुझ्‍न सक्नेछैन।

कतिपय मानिसहरूले अनुमान र कल्‍पना गर्न मन पराउँछन्, तर मानिसको कल्‍पना कति टाढा पुग्‍न सक्छ? के यो यस संसारभन्दा बाहिर जान सक्छ? के मानिसले परमेश्‍वरको अख्तियारको विश्‍वसनीयता र सटीकतालाई अनुमान गर्न र कल्‍पना गर्न सक्छ? के मानिसको अनुमान र कल्‍पनाले उसलाई परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्न दिन सक्छ? के तिनले मानिसलाई परमेश्‍वरको अख्‍तियारलाई साँचो रूपमा बुझाउन र त्यसमा समर्पित गराउन सक्छन्? मानिसको अनुमान र कल्‍पना मानिसको बौद्धिकताको उपज मात्रै हुन्, र परमेश्‍वरको अख्तियार सम्‍बन्धी मानिसको ज्ञानमा यसले अलिकति पनि सहयोग वा लाभ पुर्‍याउँदैन भन्‍ने कुरालाई तथ्यहरूले प्रमाणित गर्छ। केही विज्ञान सम्‍बन्धी काल्‍पनिक लेख पढिसकेपछि, कतिले चन्द्रमा वा ताराहरू कस्ता छन् भन्‍ने कुरा कल्‍पना गर्न सक्छन्। तैपनि, यसको अर्थ मानिसमा परमेश्‍वरको अख्‍तियारको कुनै बुझाइ छ भन्‍ने हुँदैन। मानिसको कल्‍पना केवल यही हो: कल्‍पना। यी कुराहरूका तथ्यहरूका बारेमा, भन्‍नुको अर्थ, परमेश्‍वरको अख्तियारसँगको तिनीहरूको सम्‍बन्धको बारेमा उसलाई केही थाहा हुँदैन। तँ चन्द्रमा नै पुगेको भए तापनि यसको के अर्थ? के यसले परमेश्‍वरको अख्तियारको बारेमा तँसँग बहुआयामिक बुझाइ छ भन्‍ने देखाउँछ र? के यसले तँ परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्रलाई कल्‍पना गर्न सक्छस् भन्‍ने देखाउँछ र? मानिसको अनुमान र कल्‍पनाले उसलाई परमेश्‍वरको अख्‍तियार जान्‍ने तुल्याउन नसक्‍ने हुँदा, मानिसले के गर्नुपर्छ त? सबैभन्दा बुद्धिमानी विकल्‍प भनेको अनुमान वा कल्‍पना नै नगर्नु हो, भन्‍नुको अर्थ, जब परमेश्‍वरको अख्‍तियारलाई जान्‍नेबारे कुरा आउँछ, मानिसले कहिल्यै कल्‍पनामा भर पर्नु हुँदैन र अनुमानमा भरोसा गर्नु हुँदैन। म तिमीहरूलाई यहाँ के बताउन चाहँदैछु त? परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको सारको ज्ञान तेरो कल्‍पनामा भर परेर हासिल गर्न सकिँदैन। परमेश्‍वरको अख्तियारलाई जान्‍नको लागि तँ कल्‍पनामा भर पर्न नसक्‍ने हुँदा, तैँले कुन तरिकाले परमेश्‍वरको अख्तियारको साँचो ज्ञान हासिल गर्न सक्छस्? यसो गर्ने तरिका भनेको परमेश्‍वरका वचनहरू खाने र पिउने कार्यद्वारा, सङ्गतिद्वारा, र परमेश्‍वरका वचनहरूको अनुभवद्वारा हो। यसरी, तैँले परमेश्‍वरको अख्तियारको क्रमिक अनुभव र प्रमाणीकरण पाउनेछस् र यसको बारेमा क्रमिक बुझाइ र बढ्दो ज्ञान प्राप्त गर्नेछस्। परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्ने एउटै मात्र तरिका यही नै हो; कुनै पनि छोटो बाटो छैन। तिमीहरूलाई कल्‍पना नगर भनेर अनुरोध गर्नु भनेको तिमीहरूलाई सर्वनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्‍न लगाउनु, वा तिमीहरूलाई कुनै कुरा गर्नबाट रोक्‍नु भन्‍ने होइन। विचार गर्न र कल्‍पना गर्नको लागि तिमीहरूले आफ्‍नो मस्तिष्कको प्रयोग नगर्नु भनेको अनुमान गर्न तर्कको प्रयोग नगर्नु, विश्‍लेषण गर्न ज्ञानको प्रयोग नगर्नु, विज्ञानलाई आधारको रूपमा प्रयोग नगर्नु तर यसको सट्टा, परमेश्‍वरका वचनहरूद्वारा, सत्यताद्वारा, तैँले जीवनमा भोग्‍ने सबै कुराद्वारा नै तैँले विश्‍वास गर्ने परमेश्‍वरसँग अख्‍तियार छ भन्‍ने कुरालाई बुझ्‍नु, पुष्टि गर्नु, र प्रमाणित गर्नु, तेरो भाग्यमाथि उहाँको सार्वभौमिकता छ, र सबै समयको उहाँको शक्तिले उहाँ साँचो परमेश्‍वर स्वयम् हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्छ भनी पुष्टि गर्नु हो। कुनै पनि व्यक्तिले परमेश्‍वरको बुझाइ हासिल गर्ने एक मात्र तरिका यही नै हो। कतिले यस उद्देश्यलाई हासिल गर्ने सरल तरिका भेट्टाउन चाहन्छ भनेर भन्छन्, तर के तिमीहरू त्यस्तो तरिकाको बारेमा विचार गर्न सक्छौ? म तँलाई भन्छु, विचार गर्नुपर्ने कुनै आवश्यकता छैन: अरू कुनै बाटो छैन! एउटै मात्र तरिका भनेको उहाँले व्यक्त गर्नुहुने हरेक वचन र उहाँले गर्नुहुने हरेक कार्यद्वारा परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विवेकशील र स्थिरताको साथ जान्‍नु र प्रमाणित गर्नु हो। परमेश्‍वरलाई जान्‍ने एउटै मात्र तरिका यही नै हो। किनभने परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, र परमेश्‍वरको सबै थोक खोक्रो र रित्तो होइन, तर वास्तविक हो।

सबै थोक र जीवित प्राणीहरूमाथि सृष्टिकर्ताको नियन्त्रण र प्रभुत्व छ भन्‍ने तथ्यले सृष्टिकर्ताको अख्‍तियारको साँचो अस्तित्वको बारेमा बताउँछ

त्यसै गरी, यहोवाले अय्यूबलाई आशिष्‌ दिनुभएको विवरण अय्यूबको पुस्तकमा उल्‍लेख गरिएको छ। परमेश्‍वरले अय्यूबलाई के आशिष्‌ दिनुभयो त? “त्यसैले यहोवाले अय्यूबको उत्तरार्धमा तिनको पूर्वार्धमा भन्दा बढी आशिष्‌ दिनुभयो: किनभने तिनीसित चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार पोथी गधा थिए” (अय्यूब ४२:१२)। मानिसको दृष्टिकोणबाट हेर्दा, अय्यूबलाई दिइएका कुराहरू के-के थिए? के ती मानवजातिका सम्पत्तिहरू थिए? के यी सम्पत्तिहरूद्वारा, अय्यूब त्यो युगमा अत्यन्तै धनी हुनेथिएन र? त्यसो भए, उनले त्यस्ता सम्पत्तिहरू कसरी प्राप्त गरे? केले उनको धन पैदा गर्‍यो? यसको बारेमा भनिरहनु पर्दैन—परमेश्‍वरको आशिषको कारणले गर्दा अय्यूबले ती प्राप्त गर्न पुगे। अय्यूबले यी सम्पत्तिहरूलाई कसरी हेरे, र परमेश्‍वरका आशिष्‌हरूलाई उनले कसरी लिए, त्यो हामीले यहाँ छलफल गर्ने कुरा होइन। जब परमेश्‍वरका आशिष्‌हरूको कुरा आउँछ, सबै मानिसहरू दिन-रात परमेश्‍वरको आशिष्‌ पाउन चाहन्छन्, तैपनि आफ्‍नो जीवनकालमा उसले कति धेरै सम्पत्ति प्राप्त गर्नेछ, वा उसले परमेश्‍वरबाट आशिष्‌हरू प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुरालाई मानिसले नियन्त्रण गर्न सक्दैन—यो निर्विवाद तथ्य हो! मानिसलाई कुनै पनि सम्पत्ति दिने, मानिसलाई कुनै पनि आशिष्‌ प्राप्त गर्न दिने अख्‍तियार र शक्ति परमेश्‍वरसँग छ, तैपनि परमेश्‍वरका आशिष्‌हरूको पनि सिद्धान्त हुन्छ। परमेश्‍वरले कस्ता प्रकारका मानिसहरूलाई आशिष्‌ दिनुहुन्छ त? अवश्य नै, उहाँलाई मन पर्ने मानिसहरूलाई उहाँले आशिष्‌ दिनुहुन्छ! अब्राहाम र अय्यूब दुवैलाई परमेश्‍वरले आशिष्‌ दिनुभएको थियो, तैपनि तिनीहरूले प्राप्त गरेका आशिष्‌हरू उस्तै थिएनन्। परमेश्‍वरले अब्राहामलाई बालुवा र तारा जत्तिकै अनगिन्ती सन्तान दिई आशिष्‌ दिनुभएको थियो। जब परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिनुभयो, एउटै मानिस र एउटै जातिका सन्तानहरूलाई उहाँले शक्तिशाली र सम्‍पन्‍न तुल्याउनुभयो। यसमा, परमेश्‍वरको अख्‍तियारले मानवजातिमाथि शासन गर्‍यो, जसले सबै थोक र जीवित प्राणीहरूका बीचमा परमेश्‍वरको सास फुकिदिनुभयो। परमेश्‍वरको अख्तियारको सार्वभौमिकतामा, मानवजाति परमेश्‍वरद्वारा निर्णय गरिएकै गतिमा, र परमेश्‍वरले निर्णय गर्नुभएकै क्षेत्रभित्र वृद्धि भयो र अस्तित्वमा रह्यो। निश्‍चित रूपमा, यो जातिको जीवनको क्षमता, विस्तारको गति, र आयु सबै नै परमेश्‍वरको बन्दोबस्तका भाग थिए, र यो सबैको सिद्धान्त परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञामा आधारित थियो। भन्‍नुको अर्थ, परिस्‍थिति जस्तोसुकै भए तापनि, परमेश्‍वरका प्रतिज्ञाहरू परमेश्‍वरको अख्तियारको बन्दोबस्तमा कुनै पनि अवरोधविना नै अघि बढ्छन् र पूरा हुन्छन्। परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञामा, संसारको परिवर्तनको बाबजुद पनि, युगको बाबजुद पनि, मानवजातिले भोगेका विपत्तिहरूको बाबजुद पनि, अब्राहामका सन्तानहरूले लोपको खतरा सामना गर्नेवाला थिएनन्, र तिनीहरूको जाति मरेर जानेवाला थिएन। तैपनि, परमेश्‍वरले अय्यूबलाई दिनुभएको आशिष्‌ले उनलाई अत्यन्तै धनी बनायो। परमेश्‍वरले तिनलाई जीवित प्राणीहरूको समूह, सास फेर्ने प्राणीहरू दिनुभयो, जसका विशेषतालाई पनि अर्थात् तिनीहरूको सङ्ख्या, तिनीहरूले सन्तान उत्पादन गर्ने गति, बाँच्‍ने दर, तिनीहरूको शरीरको बोसोको मात्रा, आदि इत्यादि कुराहरूलाई पनि परमेश्‍वरले नै नियन्त्रण गर्नुभएको थियो। यी जीवित प्राणीहरूसँग बोल्‍ने क्षमता नभए तापनि, तिनीहरू पनि सृष्टिकर्ताको बन्दोबस्तको हिस्सा नै थिए, र तिनीहरूको लागि परमेश्‍वरले गर्नुभएको बन्दोबस्तपछाडिको सिद्धान्त परमेश्‍वरले अय्यूबलाई प्रतिज्ञा गर्नुभएका आशिष्‌हरूमा आधारित थियो। परमेश्‍वरले अब्राहाम र अय्यूबलाई दिनुभएका आशिष्‌हरूमा, प्रतिज्ञा गरिएका कुरा फरक भए तापनि, सृष्टिकर्ताले जुन अख्‍तियारद्वारा सबै थोक र सबै जीवित प्राणीहरूलाई शासन गर्नुभयो, त्यो उही थियो। अब्राहाम र अय्यूबलाई परमेश्‍वरले दिनुभएका फरक-फरक प्रतिज्ञा र आशिष्‌हरूमा परमेश्‍वरको अख्तियार र शक्तिको हरेक विवरण व्यक्त गरिएका छन्, र त्यसले फेरि पनि मानवजातिलाई परमेश्‍वरको अख्तियार मानिसको कल्‍पनाभन्दा धेरै परको कुरा हो भनी देखाउँछ। यी विवरणहरूले फेरि पनि मानवजातिलाई के बताउँछ भने, यदि उसले परमेश्‍वरको अख्तियारलाई जान्‍न चाहन्छ भने, उसले परमेश्‍वरका वचनहरूद्वारा र परमेश्‍वरको कार्यको अनुभवद्वारा मात्रै यसलाई हासिल गर्न सक्छ।

सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकताको अख्तियारले मानिसलाई तथ्य देख्‍ने तुल्याउँछ: परमेश्‍वरको अख्तियार “अनि परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्, अनि उज्यालो भयो, अनि वायुमण्डल होस् भनी भन्‍नुभयो, वायुमण्डल भयो, र जमिन होस् भन्‍नुभयो, अनि जमिन भयो” भन्‍ने वचनहरूमा मात्रै अन्तर्निहित छैन, बरु योभन्दा पनि बढी, उहाँको अख्‍तियार त उहाँले कसरी ज्योतिलाई निरन्तर रहन दिनुभयो, वायुमण्डललाई हराउनबाट रोक्‍नुभयो, र जमिनलाई पानीबाट सदासर्वदा अलग राख्‍नुभयो भन्‍ने कुराका साथै उहाँले सृष्टि गर्नुभएका कुराहरूलाई अर्थात् ज्योति, वायुमण्डल, र भूमिलाई उहाँले कसरी शासन र व्यवस्थापन गर्नुभयो भन्ने कुरामा अन्तर्निहित छ। परमेश्‍वरले मानवजातिलाई दिनुभएको आशिष्‌मा तिमीहरू अरू के देख्छौ? अवश्य नै, परमेश्‍वरले अब्राहाम र अय्यूबलाई आशिष्‌ दिइसक्‍नुभएपछि, परमेश्‍वरका पाइलाहरू रोकिएनन्, किनभने उहाँले आफ्‍नो अख्तियारको प्रयोगलाई सुरु मात्रै गर्नुभएको थियो, र उहाँका हरेक वचनलाई यथार्थमा ल्याउने, उहाँले बोल्‍नुभएको हरेक कुरालाई वास्तविकता तुल्याउने अभिप्राय उहाँको थियो, त्यसकारण त्यसपछिका वर्षहरूमा उहाँले आफ्‍ना अभिप्रायका सबै कुराहरू निरन्तर गर्नुभयो। परमेश्‍वरसँग अख्‍तियार भएकोले, परमेश्‍वरले बोल्‍नु मात्रै आवश्यक छ, अनि औँला समेत नउठाई, सबै तत्व र थोकहरू हासिल हुन्छन् भन्‍नेजस्तो मानिसलाई लाग्न सक्छ। त्यस्ता कल्‍पनाहरू अलिक हास्यास्पद छन्! यदि तैँले वचनहरूको प्रयोग गरेर मानिससँग परमेश्‍वरले करार स्थापना गर्नुभएको, र वचनहरूको प्रयोग गरी परमेश्‍वरले सबै कुरा हासिल गर्नुभएको कुरालाई एकतर्फी दृष्टिकोणले मात्रै लिन्छस्, र सबै थोकको अस्तित्वमाथि परमेश्‍वरको अख्तियारले राख्‍ने प्रभुत्वका विभिन्‍न चिन्‍हहरू र तथ्यहरूलाई तँ देख्‍न असमर्थ छस् भने, परमेश्‍वरको अख्तियार सम्‍बन्धी तेरो बुझाइ अत्यन्तै खोक्रो र हास्यास्पद छ! यदि मानिसले परमेश्‍वर त्यस्तो हुनुहुन्छ भनी कल्‍पना गर्छ भने, परमेश्‍वरसम्‍बन्धी मानिसको ज्ञान असफल अवस्थातर्फ उन्मुख छ, र बन्द बाटोमा पुगेको छ, किनभने मानिसले कल्‍पना गरेको परमेश्‍वर आदेशहरू जारी गर्ने मेसिन बाहेक केही होइनन्, अख्‍तियार सहितका परमेश्‍वर होइनन्। अब्राहाम र अय्यूबको उदाहरणहरूबाट तैँले के देखेको छस्? के तैँले परमेश्‍वरको अख्तियार र शक्तिको वास्तविक पक्षलाई देखेको छस्? परमेश्‍वरले अब्राहाम र अय्यूबलाई आशिष्‌ दिनुभएपछि, परमेश्‍वर जहाँ हुनुहुन्थ्यो त्यहीँ बस्‍नुभएन, न त के परिणाम आउनेछ भनेर प्रतीक्षा गर्दै उहाँले आफ्‍ना दूतहरूलाई नै काम गर्न पठाउनुभयो। यसको विपरीत, परमेश्‍वरले आफ्‍ना वचनहरू उच्‍चारण गरिसक्‍ने बित्तिकै, परमेश्‍वरको अख्तियारको निर्देशनमा, परमेश्‍वरले गर्ने अभिप्राय राख्‍नुभएका कामलाई सबै थोकले अनुपालन गर्न थाले, र परमेश्‍वरलाई आवश्यक परेका मानिसहरू, थोकहरू, र वस्तुहरू तयार भए। भन्‍नुको अर्थ, परमेश्‍वरको मुखबाट वचनहरू उच्‍चारण गर्ने बित्तिकै, परमेश्‍वरको अख्तियारले सारा भूमिभरि काम गर्न थाल्यो, र उहाँले अब्राहाम र अय्यूबसँग गर्नुभएका प्रतिज्ञाहरूलाई हासिल गर्न र पूरा गर्न मार्ग तय गर्नुभयो, यसको साथै उहाँले अघि बढाउने योजना गर्नुभएका हरेक कदम र हरेक मुख्य चरणको लागि सम्पूर्ण उचित योजना र तयारीहरू गर्नुभयो। यो समय अवधिमा, उहाँले आफ्‍ना दूतहरूलाई मात्रै होइन, तर उहाँले सृष्टि गर्नुभएका सबै थोकलाई चलाउनुभयो। भन्‍नुको अर्थ परमेश्‍वरको अख्तियार प्रयोग गरिएको क्षेत्रमा दूतहरू मात्रै होइनन्, तर सृष्टिका सबै थोक समावेश थिए, जसलाई उहाँले पूरा गर्ने अभिप्राय राख्‍नुभएको कामको अनुपालन गर्नको लागि चलाउनुभयो; परमेश्‍वरको अख्तियार प्रयोग गरिएको निश्‍चित तरिकाहरू यिनै थिए। तिमीहरूका कल्‍पनाहरूमा, कति जनासँग परमेश्‍वरको अख्तियारको बारेमा निम्‍न बुझाइ हुन सक्छ: परमेश्‍वरसँग अख्तियार छ, र परमेश्‍वरसँग शक्ति छ, त्यसकारण परमेश्‍वर तेस्रो स्वर्गमा, वा निश्‍चित स्थानमा मात्रै रहनु आवश्यक हुन्छ, र कुनै पनि खास कार्य गर्नु आवश्यक हुँदैन, र परमेश्‍वरको कार्यको पूर्णता उहाँका विचारहरूमा नै पूर्ण हुन्छन्। कतिले के पनि विश्‍वास गर्न सक्छन्, परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिनुभएको भए तापनि, परमेश्‍वरले केही पनि गर्नु परेन, र उहाँले आफ्‍ना वचनहरू बोल्‍नु नै पर्याप्त थियो। के वास्तवमा यही भएको हो त? अवश्य नै होइन! परमेश्‍वरसँग अख्‍तियार र शक्ति भए तापनि, उहाँको अख्‍तियार साँचो र वास्तविक हो, रित्तो होइन। परमेश्‍वरको अख्तियार र शक्तिको विशुद्धता र वास्तविकता उहाँले गर्नुभएको सबै थोकको सृष्टिमा, सबै थोकमाथिको उहाँको नियन्त्रणमा, र उहाँले मानवजातिलाई अगुवाइ गर्ने र व्यवस्थापन गर्ने प्रक्रियामा क्रमिक रूपमा प्रकट र मूर्तरूप गरिन्छ। मानवजाति र सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकताको हरेक विधि, हरेक दृष्टिकोण, र हरेक विवरण, र उहाँले पूरा गर्नुभएको सबै काम, साथै सबै थोकबारे उहाँको बुझाइ—ती सबैले परमेश्‍वरको अख्‍तियार र शक्ति खोक्रा शब्‍दहरू होइनन् भन्‍ने कुरालाई ठेड रूपमा प्रमाणित गर्छ। उहाँको अख्‍तियार र शक्तिलाई सबै कुरामा अटुट रूपमा देखाइन्छ र प्रकट गरिन्छ। यी प्रकटीकरण र प्रकाशले परमेश्‍वरको अख्तियारको यथार्थ अस्तित्वबारे बताउँछन्, किनभने उहाँले आफ्‍नो कार्यलाई जारी राख्‍न र सबै थोकमाथि हुकुम चलाउन, र हरेक क्षणमा सबै थोकलाई शासन गर्नको लागि उहाँले आफ्‍नो अख्‍तियार र शक्तिको प्रयोग गरिरहनुभएको छ; उहाँको शक्ति र अख्तियारलाई न त स्वर्गदूतहरूले न त परमेश्‍वरका कुनै दूतहरूले नै प्रतिस्थापन गर्न सक्छन्। अब्राहाम र अय्यूबलाई के-कस्ता आशिषहरू दिने हो त्यसको निर्णय परमेश्‍वरले नै गर्नुभयो—यो परमेश्‍वरले नै गर्नुपर्ने निर्णय थियो। परमेश्‍वरका दूतहरूले अब्राहाम र अय्यूबलाई व्यक्तिगत रूपमा नै भेटेका भए तापनि, तिनीहरूका कार्य परमेश्‍वरका आज्ञाहरूमा आधारित थिए, र तिनीहरूका कार्यहरू परमेश्‍वरको अख्‍तियारको अधीनमा गरिएका थिए, त्यसरी नै, दूतहरू परमेश्‍वरको सार्वभौमिकताको अधीनमा थिए। परमेश्‍वरका दूतहरूले अब्राहामलाई भेट्छन् भन्‍ने मानिसले देखे तापनि, बाइबलका विवरणहरूमा यहोवा परमेश्‍वरले आफै केही गर्नुहुन्छ भन्‍ने नदेख्‍ने भए तापनि, वास्तवमा, शक्ति र अख्तियारको प्रयोग गर्ने एक मात्र व्यक्ति परमेश्‍वर स्वयम् नै हुनुहुन्छ, र यसले कुनै पनि मानिसमा शङ्का पैदा गर्दैन! तैँले स्वर्गदूतहरू र दूतहरूसँग महान् शक्ति भएको र तिनीहरूले आश्‍चर्यकर्महरू गरेको, वा तिनीहरूले परमेश्‍वरले आज्ञा गर्नुभएका केही कुराहरू गरेका देखेका भए तापनि, तिनीहरूका कार्यहरू परमेश्‍वरका आज्ञाहरू पालन गर्नको खातिर मात्रै हुन्, र ती कुनै पनि हालतमा परमेश्‍वरको अख्‍तियारको प्रदर्शन होइनन्—किनभने कुनै मानिस वा वस्तुमा सबै थोक सृष्टि गर्ने र सबै थोकलाई शासन गर्ने सृष्टिकर्ताको अख्तियार वा स्वामित्व छैन। त्यसकारण, कुनै पनि मानिस वा वस्तुले सृष्टिकर्ताको अख्‍तियारलाई प्रयोग गर्न वा प्रदर्शन गर्न सक्दैन।

सृष्टिकर्ताको अख्‍तियार अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने छ

पवित्र-शास्‍त्रका यी तीन भागमा तिमीहरूले के देखेका छौ? के परमेश्‍वरले आफ्‍नो अख्‍तियार प्रयोग गर्ने सिद्धान्त छ भन्‍ने तिमीहरूले देखेका छौ? उदाहरणको लागि, मानिससँग करार स्थापना गर्नको लागि परमेश्‍वरले इन्द्रेनीको प्रयोग गर्नुभयो—संसार नष्ट पार्नलाई उहाँले फेरि कहिल्यै जलप्रलयको प्रयोग गर्नुहुनेछैन भनी मानिसलाई बताउन उहाँले बादलहरूमा इन्द्रेनी राखिदिनुभयो। के आज मानिसहरूले देख्‍ने इन्द्रेनी परमेश्‍वरको मुखबाट बोलिएको त्यही इन्द्रेनी हो? के यसको प्रकृति र अर्थ परिवर्तन भएको छ? यो परिवर्तन भएको छैन भन्‍नेमा कुनै शङ्‍का छैन। परमेश्‍वरले यो कार्य गर्नको लागि आफ्‍नो अख्‍तियार प्रयोग गर्नुभयो, र उहाँले मानिससँग स्थापना गर्नुभएको करार आजको दिनसम्‍मै निरन्तर रहेको छ, र अवश्य नै, यो करारलाई परिवर्तन गर्ने समय परमेश्‍वरकै निर्णय हुनेछ। परमेश्‍वरले “बादलमा इन्द्रेनी राख्‍नेछु,” भनी भन्‍नुभएपछि, परमेश्‍वर आजको दिनसम्‍म सधैँ नै यही करारमा बाँधिएर रहनुभयो। तँ यसमा के देख्छस्? परमेश्‍वरमा अख्‍तियार र शक्ति भए तापनि, उहाँका कार्यहरूमा उहाँ अत्यन्तै दृढ र सिद्धान्त केन्द्रित हुनुहुन्छ, र आफ्‍नो वचनमा प्रतिबद्ध रहनुहुन्छ। उहाँको दृढता, र उहाँका कार्यहरूका सिद्धान्तहरूले सृष्टिकर्ताको उल्‍लङ्घन गर्न नसकिने गुण र सृष्टिकर्ताको अख्‍तियारको विजय गर्न नसकिने क्षमतालाई देखाउँछ। उहाँसँग सर्वोच्‍च अख्‍तियार भए तापनि, र सबै थोक उहाँकै प्रभुत्वमुनि भए तापनि, र उहाँसँग सबै थोकमाथि शासन गर्ने शक्ति भए तापनि, परमेश्‍वरले आफ्‍नै योजनालाई कहिल्यै नष्ट गर्ने वा भङ्ग गर्ने गर्नुभएको छैन, र उहाँले जब-जब आफ्‍नो अख्तियारको प्रयोग गर्नुहुन्छ, यो पूर्ण रूपमा उहाँका आफ्‍नै सिद्धान्तहरू अनुसार हुन्छ, र यसले उहाँको मुखबाट बोलिएको कुरालाई नै पछ्याउँछ, र उहाँको योजनाका चरण र उद्देश्यहरूलाई नै पछ्याउँछ। अवश्य नै, परमेश्‍वरले शासन गर्नुहुने सबै थोकले परमेश्‍वरको अख्तियार प्रयोग गरिने सिद्धान्तहरूलाई नै पालना गर्छन्, र उहाँको अख्‍तियारका प्रबन्धहरूबाट कुनै पनि मानिस वा वस्तुलाई छूट छैन, न त तिनीहरूले उहाँको अख्तियार प्रयोगका सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। परमेश्‍वरको नजरमा, जसले आशिष्‌ पाएका छन् तिनीहरूले उहाँको अख्तियारले ल्याएको सौभाग्य प्राप्त गर्छन्, र जो श्रापित छन् तिनीहरूले परमेश्‍वरकै अख्‍तियारको कारण आफ्‍ना दण्ड प्राप्त गर्छन्। परमेश्‍वरको अख्तियारको सार्वभौमिकताको अधीनमा, उहाँको अख्‍तियारको प्रयोगबाट कुनै पनि मानिस वा थोकलाई छूट छैन, न त तिनीहरूले उहाँको अख्‍तियार प्रयोग गरिने सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। सृष्टिकर्ताको अख्‍तियारलाई कुनै पनि कारकतत्वमा आउने परिवर्तनले परिवर्तन गर्न सक्दैन, त्यसरी नै, उहाँको अख्तियारको प्रयोग गरिने सिद्धान्तहरू कुनै पनि कारणले परिवर्तन हुँदैनन्। स्वर्ग र पृथ्वी ठूला-ठूला परिवर्तनहरू भएर जान सक्छन्, तर सृष्टिकर्ताको अख्‍तियार परिवर्तन हुनेछैन; सबै थोक लोप भएर जान सक्छन्, तर सृष्टिकर्ताको अख्‍तियार कहिल्यै हराउनेछैन। सृष्टिकर्ताको अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने अख्‍तियारको सार यही हो, र सृष्टिकर्ताको अद्वितीयपन यही नै हो!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्