परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरको अख्तियार (१) - भाग एक

मेरा विगतका धेरै सङ्गतिहरू परमेश्‍वरको कार्य, परमेश्‍वरको स्वभाव, र परमेश्‍वर स्वयम्‌सँग सम्‍बन्धित थिए। यी सङ्गतिहरूलाई सुनिसकेपछि, के तिमीहरूले परमेश्‍वरको स्वभावको बुझाइ र ज्ञान प्राप्त गर्‍यौ भन्‍ने तिमीहरूलाई लाग्छ? तिमीहरूले कति मात्रामा बुझाइ र ज्ञान प्राप्त गर्‍यौ? के तिमीहरू यसलाई सङ्ख्यामा बताउन सक्छौ? के यी सङ्गतिहरूले तिमीहरूलाई परमेश्‍वरको बारेमा गहन बुझाइ प्रदान गर्‍यो? के यो बुझाइलाई परमेश्‍वरसम्‍बन्धी साँचो ज्ञान हो भनेर भन्‍न सकिन्छ? के परमेश्‍वरसम्‍बन्धी यो ज्ञान र बुझाइलाई परमेश्‍वरको सम्पूर्ण सार, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको ज्ञान हो भनेर भन्‍न सकिन्छ? सकिँदैन, अवश्य नै सकिँदैन! किनभने यी सङ्गतिहरूले परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबैको पूर्ण बुझाइ प्रदान नगरी आंशिक बुझाइ मात्रै प्रदान गर्‍यो। यी सङ्गतिहरूले तिमीहरूलाई विगतमा परमेश्‍वरले गर्नुभएको कामलाई आंशिक रूपमा बुझ्‍न सक्षम तुल्यायो; यी सङ्गतिहरूमार्फत, तिमीहरूले परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, साथै उहाँले गर्नुभएका सबै कुरापछाडिका शैली र विचारलाई हेर्‍यौ। तर यो परमेश्‍वरको शाब्दिक, मौखिक बुझाइ मात्रै हो, र यसमध्ये कति वास्तविक हुन् भन्‍ने कुराप्रति तिमीहरू आफ्‍नो हृदयमा अनिश्‍चित नै रहन्छौ। यस्ता कुराहरूसम्‍बन्धी मानिसहरूको बुझाइमा कुनै वास्तविकता छ कि छैन भन्‍ने कुरालाई मुख्यतया केले निर्धारित गर्छ त? तिनीहरूको वास्तविक अनुभवहरूको अवधिमा तिनीहरूले परमेश्‍वरको कति वचन र स्वभावलाई अनुभव गरेका छन्, र यी वास्तविक अनुभवहरूको अवधिमा तिनीहरूले कति देख्‍न सके र जान्‍न सके त्यसले नै यसलाई निर्धारित गर्छ। के कसैले यस्ता शब्‍दहरू बोलेका छन्: “विगतका धेरै सङ्गतिहरूले हामीलाई परमेश्‍वरले गर्नुभएका कार्यहरू, परमेश्‍वरका विचारहरू, अनि यति मात्र होइन, मानवजातिप्रति परमेश्‍वरको आचरण र उहाँका कार्यहरूको आधारका साथसाथै उहाँका कार्यहरूका सिद्धान्तहरूको बारेमा हामीलाई बुझ्‍ने मौका दियो; त्यसकारण के हामीले परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको सम्पूर्णतालाई जानेका छौं”? के यसो भन्‍नु सही छ? स्पष्टै छ, यो सही छैन। यसो भन्‍नु सही छैन भनेर म किन भन्दैछु? परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई उहाँले गर्नुभएका कामहरूमा र उहाँले बोल्‍नुभएका वचनहरूमा व्यक्त गरिन्छ। परमेश्‍वरले गर्नुभएको कार्य र उहाँले बोल्‍नुभएका वचनहरूमार्फत, मानिसले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई हेर्न सक्छ, तर यसो भन्‍नुको अर्थ ती कार्य र वचनले मानिसलाई परमेश्‍वरको स्वभाव, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको आंशिक बुझाइ मात्र हासिल गर्न सक्षम गराउँछ भन्‍ने मात्रै हो। यदि मानिसले परमेश्‍वरको बारेमा अझै महान् र अझै उल्‍लेखनीय बुझाइ प्राप्त गर्न चाहन्छ भने, मानिसले परमेश्‍वरको अझै बढी वचन र कार्यलाई अनुभव गर्नुपर्छ। परमेश्‍वरका वचनहरूलाई वा कार्यको केही भागलाई अनुभव गर्ने क्रममा मानिसले परमेश्‍वरको आंशिक बुझाइ मात्रै प्राप्त गर्ने भए पनि, के यो आंशिक बुझाइले परमेश्‍वरको साँचो स्वभावलाई प्रतिनिधित्व गर्छ त? के यसले परमेश्‍वरको सारलाई प्रतिनिधित्व गर्छ त? अवश्‍य नै यसले परमेश्‍वरको साँचो स्वभाव, र परमेश्‍वरको सारलाई प्रतिनिधित्व गर्छ; त्यसबारेमा कुनै शङ्का छैन। परमेश्‍वरले आफ्‍नो कार्य गर्ने स्थान वा ठाउँ वा त्यसो गर्ने शैली, वा उहाँ मानिसकहाँ जुन रूपमा प्रकट हुनुभए पनि, वा उहाँले आफ्‍नो इच्‍छा जसरी प्रकट गर्नुभए पनि, उहाँले प्रकट गर्नुहुने र व्यक्त गर्नुहुने सबै कुराले परमेश्‍वर स्वयम्‌लाई, परमेश्‍वरको सारलाई र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई प्रतिनिधित्व गर्छ। उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसद्वारा, र उहाँको साँचो पहिचानमा परमेश्‍वरले आफ्‍नो कार्य गर्नुहुन्छ; यो पूर्णतया सत्य छ। तैपनि आज, उहाँका वचनहरूद्वारा, र प्रचार सुन्दा तिनीहरूले जे सुन्छन् त्यसमार्फत मानिसहरूले परमेश्‍वरको बारेमा आंशिक बुझाइ मात्रै हासिल गर्ने भए पनि, केही हदसम्‍म यो बुझाइलाई सैद्धान्तिक ज्ञान मात्रै भन्‍न सकिन्छ। तिमीहरूको वास्तविक स्थितिहरूलाई ध्यानमा राखेर हेर्दा, यदि तिमीहरू प्रत्येक आफ्‍नो वास्तविक अनुभवहरूमा यसबाट गुज्रन्छौ, र यसलाई अलि-अलि गरी जान्दछौ भने मात्रै तिमीहरूले सुनेका, देखेका, वा जानेका र बुझेका परमेश्‍वरसम्‍बन्धी बुझाइ वा ज्ञानलाई आज तिमीहरूको हृदयमा पुष्टि गर्न सक्छौ। यदि मैले यी वचनहरूमा सङ्गति नगरेको भए, के तिमीहरूले आफ्ना अनुभवहरूबाट मात्रै परमेश्‍वरको साँचो ज्ञान हासिल गर्नसक्थ्यौ र? दुःखको कुरा, त्यसो गर्नु अत्यन्तै कठिन हुनेथियो। किनभने कसरी अनुभव गर्ने सो कुरा जान्‍नको लागि मानिसहरूसँग पहिले परमेश्‍वरको वचन हुनैपर्छ। मानिसहरूले परमेश्‍वरको जति धेरै वचन खान्छन्, तिनीहरूले अनुभव गर्ने सङ्ख्या पनि त्यति नै हुन्छ। परमेश्‍वरको वचनले अगाडिको मार्गमा डोर्‍याउँछ, र मानिसलाई उसको अनुभवमा मार्गनिर्देशित गर्छ। छोटकरीमा भन्दा, केही साँचो अनुभव हुनेहरूका लागि, विगतका यी धेरै सङ्गतिहरूले तिनीहरूलाई सत्यताको अझै गहन बुझाइ, र परमेश्‍वरसम्‍बन्धी अझै यथार्थ ज्ञान हासिल गर्न सहयोग गर्नेछ। तर जोसँग कुनै अनुभव छैन, वा जसले भर्खरै आफ्‍नो अनुभवलाई सुरु गरेको छ, वा भर्खरै वास्तविकतालाई छुन सुरु गरेको छ, उनीहरूको लागि यो ठूलो जाँच हो।

विगतका धेरै सङ्गतिहरूको मुख्य विषयवस्तु “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्” सँग सम्‍बन्धित थिए। मैले बताएका सबै कुराको मुख्य र केन्द्रीय भागहरूमा तिमीहरूले के देख्यौ? जसले काम गर्नुभयो, जसले यी स्वभावहरू प्रकट गर्नुभयो, उहाँ अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ जसको यावत् थोकमाथि सार्वभौमिकता छ भन्‍ने कुरालाई के तिमीहरू यी सङ्गतिहरूबाट पहिचान गर्न सक्छौ? यदि तिमीहरूको उत्तर सक्छौँ भन्‍ने हो भने, केले तिमीहरूलाई यस्तो निष्कर्षमा पुर्‍याउँछ? यो निष्कर्ष निकाल्‍ने क्रममा, तिमीहरूले कतिवटा पक्षहरूलाई ध्यान दियौ? के कसैले मलाई बताउन सक्छ? विगतका केही सङ्गतिहरूले तिमीहरूलाई गहन रूपमा प्रभाव पारे, र परमेश्‍वरसम्‍बन्धी तिमीहरूको ज्ञानको लागि तिमीहरूको हृदयमा नयाँ सुरुवात प्रदान गरे भन्‍ने मलाई थाहा छ, जुन एकदम राम्रो कुरा हो। तर पहिलेको तुलनामा परमेश्‍वरसम्‍बन्धी तिमीहरूको बुझाइले निकै ठूलो फड्को मारेको भए तापनि, परमेश्‍वरको पहिचानसम्‍बन्धी तिमीहरूको परिभाषाले व्यवस्थाको युगका यहोवा परमेश्‍वर, अनुग्रहको युगका प्रभु येशू, र राज्यको युगका सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍ने नामहरूलाई उछिन्‍न बाँकी नै छ। भन्‍नुको अर्थ, “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्” सम्‍बन्धी यी सङ्गतिहरूले तिमीहरूलाई परमेश्‍वरले कुनै बेला बोल्‍नुभएका वचनहरू, र परमेश्‍वरले कुनै बेला गर्नुभएको काम, र परमेश्‍वरले कुनै बेला प्रकट गर्नुभएको उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ त्यसको बारेमा केही बुझाइ प्रदान गरेको भए पनि, तिमीहरूले “परमेश्‍वर” भन्‍ने शब्‍दको साँचो परिभाषा र सटीक अभिमुखीकरण प्रदान गर्न सक्दैनौ। न त तिमीहरूसँग परमेश्‍वर स्वयम्‌को हैसियत र पहिचानको, अर्थात्, यावत् थोकको बीचमा र सम्पूर्ण ब्रह्माण्डभरिमा परमेश्‍वरको हैसियतको साँचो र सटीक अभिमुखीकरण नै छ। किनभने परमेश्‍वर स्वयम्‌ र परमेश्‍वरको स्वभावसम्‍बन्धी अघिल्‍लो सङ्गतिमा, सबै विषयवस्तु बाइबलमा समावेश गरिएका परमेश्‍वरका अघिल्‍ला अभिव्यक्ति र प्रकाशहरूमा आधारित थियो। तैपनि, मानवजातिलाई उहाँले गर्नुभएको व्यवस्थापन र मुक्तिको अवधिमा, वा त्यसभन्दा बाहिर परमेश्‍वरले प्रकट र व्यक्त गर्नुभएका उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ त्यस कुरालाई पत्ता लगाउनु मानिसको लागि कठिन छ। त्यसकारण, विगतमा उहाँले गर्नुभएको कार्यमा प्रकट गरिएका उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ त्यसलाई तिमीहरूले बुझे पनि, परमेश्‍वरको पहिचान र हैसियतसम्‍बन्धी तिमीहरूको परिभाषा “अद्वितीय परमेश्‍वर, जसको यावत् थोकमाथि सार्वभौमिकता छ” सम्‍म पुग्‍न निकै धेरै बाँकी छ, र यो “सृष्टिकर्ता” भन्‍ने शब्‍दभन्दा फरक छ। विगतका धेरै सङ्गतिहरूले सबैलाई उस्तै अनुभूति गरायो: मानिसले कसरी परमेश्‍वरका विचारहरूलाई जान्‍न सक्छ? यदि कसैले वास्तवमै जान्‍नु थियो भने, त्यो व्यक्ति अवश्य नै परमेश्‍वर हुनेथियो, किनभने परमेश्‍वर स्‍वयम्‌ले मात्रै आफ्‍ना विचारहरू जान्‍नुहुन्छ, र परमेश्‍वर स्‍वयम्‌ले मात्रै उहाँले गर्ने सबै कुराको आधार र तरिकालाई जान्‍नुहुन्छ। त्यसरी तिमीहरूले परमेश्‍वरको पहिचानलाई चिन्नु तार्किक र उचित हो भन्‍नेजस्तो देखिन्छ, तर परमेश्‍वरको स्वभाव र कार्यद्वारा यो वास्तवमा परमेश्‍वर स्वयम्‌को काम हो, मानिसको काम होइन, मानिसले परमेश्‍वरको खातिर गर्न सक्‍ने काम होइन भनेर कसले साँच्‍चै भन्‍न सक्छ? यस प्रकारको कार्य परमेश्‍वरकै सार र शक्ति भएको एउटै उहाँको सार्वभौमिकताको अधीनमा हुन्छ भन्‍ने कसले देख्‍न सक्छ? भन्‍नुको अर्थ, कुन-कुन चरित्रहरू वा सारद्वारा उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, जसमा परमेश्‍वरको पहिचान छ, र यावत् थोकमाथि जसको सार्वभौमिकता छ भनेर तिमीहरू भन्‍न सक्छौ? के तिमीहरूले त्यसको बारेमा पहिले कहिल्यै विचार गरेका छौ? छैनौ भने, यसले एउटा तथ्यलाई प्रमाणित गर्छ: विगतका धेरै सङ्गतिहरूले तिमीहरूलाई परमेश्‍वरले गर्नुभएको आफ्‍नो कामको इतिहासको टुक्रा, र त्यस कार्य अवधिका परमेश्‍वरका तरिका, प्रकटीकरण, र प्रकाशको बारेमा केही बुझाइ मात्रै दिएको छ। त्यस्तो बुझाइले तिमीहरू प्रत्येकलाई कार्यका यी दुई चरणहरू पूरा गर्नुहुने भनेको तिमीहरूले सधैँ पछ्याउनैपर्ने तिमीहरूले विश्‍वास गर्ने र पछ्याउने परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ भन्‍ने कुरा निश्‍चित रूपमै पहिचान गर्ने तुल्याउँछ, तैपनि उहाँ संसारको सृष्टिदेखि नै अस्तित्वमा हुनुभएका र अनन्तसम्‍म अस्तित्वमा रहिरहनुहुने परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरालाई तिमीहरूले अझै पहिचान गर्न सक्दैनौ, न त उहाँ सारा मानवजातिलाई डोर्‍याउनुहुने र तिनीहरूमाथि सार्वभौमिकता राख्‍नुहुने परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरालाई नै तिमीहरू पहिचान गर्न सक्छौ। तिमीहरूले अवश्य नै यो समस्याको बारेमा विचार गरेका छैनौ। चाहे यहोवा हुनुभए पनि वा प्रभु येशू हुनुभए पनि, सार र प्रकटीकरणको कुन-कुन पक्षहरूद्वारा तिमीहरू उहाँ तिमीहरूले पछ्याउनुपर्ने परमेश्‍वर मात्रै हुनुहुन्‍न, बरु उहाँ त मानवजातिलाई हुकुम गर्नुहुने र मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुने, यसको साथै, स्वर्ग र पृथ्वी अनि यावत् थोकमाथि सार्वभौमिकता भएका अद्वितीय परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ भन्‍ने कुरालाई तिमीहरू पहिचान गर्न सक्छौ? कुन-कुन माध्यमहरूद्वारा तिमीहरू आफूले जसलाई विश्‍वास गर्छौ र पछ्याउँछौ उहाँ यावत् थोकमाथि सार्वभौमिकता राख्‍नुहुने परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ भन्‍ने कुरालाई पहिचान गर्छौ? कुन-कुन माध्यमहरूद्वारा तिमीहरू आफूले विश्‍वास गर्ने परमेश्‍वरलाई मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्‍नुहुने परमेश्‍वरसँग जोड्छौ? के कुराले तिमीहरूलाई तिमीहरू जुन परमेश्‍वरलाई विश्‍वास गर्छौ उहाँ अद्वितीय परमेश्‍वर हुनुहुन्छ, जो स्वर्गमा र पृथ्वीमा, अनि यावत् थोकमाझ हुनुहुन्छ भनेर पहिचान गर्ने तुल्याउँछ? यो त्यो समस्या हो जसलाई म अर्को खण्डमा समाधान गर्नेछु।

तिमीहरूले कहिल्यै नउठाएका वा सोच्‍नै नसक्‍ने समस्याहरू नै तिमीहरूले परमेश्‍वरलाई चिन्‍नको लागि सबैभन्दा महत्त्वपूर्ण हुन सक्छन्, र तिनमा मानिसले बुझ्‍न नसक्ने सत्यताहरू खोज्‍न सकिन्छ। जब यी समस्याहरू तिमीहरूमा आइपर्छन् र तिमीहरूले तिनलाई सामना गर्न र तिनको बारेमा निर्णय गर्नुपर्ने हुन्छ, यदि तिमीहरूको मूर्खता र अज्ञानताको कारण, वा तिमीहरूका अनुभवहरू अत्यन्तै सतही भएको कारण अनि तिमीहरूमा परमेश्‍वरसम्‍बन्धी साँचो ज्ञानको कमी भएको कारण तिमीहरूले तिनलाई पूर्ण रूपमा निराकरण गर्न सक्दैनौ भने, परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासको मार्गमा ती सबैभन्दा ठूलो वाधा र सबैभन्दा ठूलो अवरोध बन्‍नेछन्। त्यसकारण, यो विषयमा तिमीहरूसँग सङ्गति गर्नु अत्यन्तै आवश्यक छ भन्‍ने मलाई लाग्छ। तिमीहरूको अहिलेको समस्या के हो, के त्यो तिमीहरूलाई थाहा छ? के मैले बताएका समस्याहरूका बारेमा तिमीहरू स्पष्ट छौ? के यी तिमीहरूले सामना गर्ने समस्याहरू हुन्? के यी तिमीहरूले नबुझ्‍ने समस्याहरू हुन्? के यी तिमीहरूमा कहिल्यै नआएका समस्याहरू हुन्? के यी समस्याहरू तिमीहरूका लागि महत्त्वपूर्ण छन्? के यी वास्तवमा नै समस्याहरू हुन्? यो विषय तिमीहरूको लागि अन्योलताको निकै ठूलो स्रोत हो, जसले तिमीहरू जुन परमेश्‍वरमा विश्‍वास गर्छौ उहाँको बारेमा तिमीहरूमा साँचो बुझाइ छैन, र तिमीहरूले उहाँलाई गम्‍भीर रूपमा लिँदैनौ भन्‍ने देखाउँछ। कतिपय मानिसहरूले यसो भन्छन्, “उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने मलाई थाहा छ, त्यसकारण, म उहाँलाई पछ्याउँछु, किनभने उहाँका वचनहरू परमेश्‍वरको अभिव्यक्ति हो। त्यही नै पर्याप्त छ। थप कुन प्रमाणको आवश्यकता छ र? अवश्य नै हामीले परमेश्‍वरको बारेमा शङ्‍काहरू गर्नुपर्दैन? अवश्य नै हामीले परमेश्‍वरको जाँच गर्नु हुँदैन? अवश्य नै हामीले परमेश्‍वरको सार र परमेश्‍वर स्वयम्‌को पहिचानबारेमा प्रश्‍न उठाउनुपर्दैन?” तिमीहरूले यस्तो विचार गरे पनि नगरे पनि, तिमीहरूलाई परमेश्‍वरको बारेमा अन्योल तुल्याउन, वा तिमीहरूलाई उहाँको जाँच गर्ने तुल्याउन म त्यस्ता प्रश्‍नहरू अघि सार्दिनँ, परमेश्‍वरको पहिचान र सारको बारेमा तिमीहरूलाई शङ्‍का दिलाउने कुरा त परै जाओस्। बरु, परमेश्‍वरको सारको बारेमा अझै ठूलो बुझाइ, र परमेश्‍वरको हैसियतको बारेमा अझै ठूलो निश्‍चयता र विश्‍वासको लागि तिमीहरूलाई प्रोत्साहन गर्न मैले त्यसो गर्दैछु, ताकि परमेश्‍वरलाई पछ्याउने तिमीहरू सबैको हृदयमा परमेश्‍वर मात्रै रहनुभएको होस्, ताकि सृष्टिकर्ता, यावत् थोकका शासक, अद्वितीय परमेश्‍वर स्वयम्को रूपमा परमेश्‍वरको मौलिक प्रतिष्ठालाई हरेक प्राणीको हृदयमा पुनर्स्थापित गर्न सकियोस्। मैले सङ्गति गर्न लागेको विषय पनि यही नै हो।

अब, बाइबलको निम्‍न खण्डबाट पढेर हामी सुरु गरौं।

१. परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ

उत्पत्ति १:३-५ अनि परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्: अनि उज्यालो भयो। अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो: अनि परमेश्‍वरले उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। अनि परमेश्‍वरले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्‍नुभयो। अनि साँझ र बिहान पहिलो दिन थियो।

उत्पत्ति १:६-७ अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्। अनि परमेश्‍वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो: अनि त्यस्तै भयो।

उत्पत्ति १:९-११ अनि परमेश्‍वरले भन्‍नुभयो, वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले सुक्खा भूमिलाई पृथ्वी; र एक ठाउँमा जम्मा भएको पानीलाई समुद्रहरू भन्‍नुभयो: अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो। अनि परमेश्‍वरले भन्‍नुभयो, भूमिले घाँस उमारोस्, बीउ फलाउने बोट-बिरुवाहरू र आफ्नै प्रजातिका फल फलाउने बीउ भएका फलका रुखहरू पृथ्वीमा उमारोस्: अनि त्यस्तै भयो।

उत्पत्ति १:१४-१५ अनि परमेश्‍वरले भन्‍नुभयो, अन्तरिक्षमा दिनलाई रातबाट छुट्याउने ज्योतिहरू होऊन्; र तिनीहरू ऋतु, दिन र वर्षहरू छुट्याउने चिन्ह होऊन्: र पृथ्वीमा ज्योति दिनलाई आकाशको अन्तरिक्षमा ती ज्योतिहरू होऊन्: अनि त्यस्तै भयो।

उत्पत्ति १:२०-२१ अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूले जीवन भएका प्रशस्त चल्‍ने प्राणीहरू र पृथ्वीमाथि खुला आकाशमा उड्ने पक्षीहरू उत्पन्न गरोस्। अनि परमेश्‍वरले ठूला ह्वेल माछाहरू, जसलाई पानीहरूले तिनीहरूका प्रजातिअनुसार प्रशस्त मात्रामा उत्पन्‍न गरे, र चल्‍ने हरेक जीवित प्राणीहरू र हरेक प्रजातिका पखेटा भएका पक्षीहरू बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।

उत्पत्ति १:२४-२५ अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्वीले तिनीहरूका प्रजातिअनुसारका जीवित प्राणीहरू, चौपायाहरू र घस्रने जन्तुहरू र प्रजातिअनुसारका जनावरहरू उत्पन्‍न गरोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले प्रजातिअनुसार पृथ्वीको जन्तु, तिनीहरूका प्रजातिअनुसारका चौपायाहरू बनाउनुभयो र पृथ्वीमा घस्रने हरेक जन्तुहरूलाई तिनीहरूकै प्रजातिअनुसार बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।

पहिलो दिन, परमेश्‍वरको अख्‍तियारले गर्दा मानवजातिको दिन र रात पैदा र खडा हुन्छन्

हामी पहिलो परिच्छेदलाई हेरौं: “अनि परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्: अनि उज्यालो भयो। अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो: अनि परमेश्‍वरले उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। अनि परमेश्‍वरले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्‍नुभयो। अनि साँझ र बिहान पहिलो दिन थियो” (उत्पत्ति १:३-५)। यस अनुच्‍छेदले सृष्टिको सुरुवात गर्नुहुने परमेश्‍वरको पहिलो कार्य, र साँझ परेर बिहान भएपछि उहाँले पूरा गर्नुभएको पहिलो दिनलाई व्याख्या गर्छ। तर त्यो असाधारण दिन थियो: परमेश्‍वरले सबै थोकका लागि उज्यालो तयार गर्नुभयो, यसका साथै, उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। त्यही दिन, परमेश्‍वरले बोल्‍न सुरु गर्नुभयो, अनि उहाँको वचन र अख्‍तियार सँगसँगै अस्तित्वमा रहे। सबै थोकमा उहाँको अख्तियार देखा पर्न थाल्यो, र उहाँका वचनको परिणामस्वरूप उहाँको शक्ति सबै थोकमा फैलियो। त्यो दिनदेखि, उहाँको वचन, उहाँको अख्‍तियार, र उहाँको शक्तिको कारण सबै थोकले आकार लिए र खडा भए, अनि परमेश्‍वरको वचन, उहाँको अख्‍तियार, र उहाँकै शक्तिको कारण ती सुचारु हुन थाले। जब परमेश्‍वरले “उज्यालो होस्,” भन्‍नुभयो तब उज्यालो भयो। परमेश्‍वरले कार्यहरूको कुनै सिलसिला सुरुवात गर्नुभएन; उहाँका वचनको परिणामस्वरूप ज्योति देखा पऱ्यो। त्यो, परमेश्‍वरले दिन भन्‍नुभएको ज्योति थियो, र मानिस आज पनि आफ्‍नो अस्तित्वको लागि यसैमा भर पर्छ। परमेश्‍वरको आज्ञाद्वारा यसको सार र मूल्य कहिल्यै परिवर्तन भएका छैनन्, र यी कहिल्यै पनि हराएका छैनन्। यसको अस्तित्वले परमेश्‍वरको अख्‍तियार र शक्तिलाई प्रदर्शन गर्छ, र सृष्टिकर्ताको अस्तित्वलाई घोषणा गर्छ। यसले बारम्‍बार सृष्टिकर्ताको पहिचान र हैसियतलाई पुष्टि गर्छ। यो अस्पृश्य वा भ्रामक कुरा होइन, तर मानिसले देख्‍न सक्‍ने यथार्थ ज्योति हो। त्यस समयपछि, यो रित्तो संसार जसमा “पृथ्वी आकारविनाको र शून्य थियो; र गहिराइमाथि अन्धकार थियो,” पहिलो भौतिक कुरा पैदा गरियो। यो कुरा परमेश्‍वरको मुखबाट निस्केका वचनहरूबाट आयो, र उहाँको अख्तियार र परमेश्‍वरका वाणीहरूका कारण यावत् थोकको सृष्टिको पहिलो कार्य देखा पर्‍यो। त्यसपछि चाँडै, परमेश्‍वरले ज्योति र अन्धकारलाई अलग हुने आदेश दिनुभयो…। परमेश्‍वरको वचनको कारण सबै कुरा परिवर्तन भए र पूर्ण भए…। परमेश्‍वरले यो ज्योतिलाई “दिन” भन्‍नुभयो र अन्धकारलाई “रात” भन्‍नुभयो। त्यो बेला, परमेश्‍वरले सृष्टि गर्न चाहनुभएको संसारमा पहिलो साँझ र पहिलो बिहान उत्पन्‍न गरियो, र त्यो पहिलो दिन हो भनेर परमेश्‍वरले भन्‍नुभयो। त्यो दिन सृष्टिकर्ताले गर्नुभएको यावत् थोकको सृष्टिको पहिलो दिन थियो, र यावत् थोकको सृष्टिको प्रारम्‍भ थियो, अनि उहाँले सृष्टि गर्नुभएको यो संसारमा सृष्टिकर्ताको अख्‍तियार र शक्तिलाई प्रदर्शन गरिएको त्यो पहिलो पटक थियो।

यी वचनहरूमार्फत, मानिसले परमेश्‍वरको अख्‍तियार र वचन, र शक्तिलाई देख्‍न सक्छ। परमेश्‍वरसँग मात्रै त्यस्तो शक्ति हुने भएकोले, उहाँमा मात्रै त्यस्तो अख्‍तियार छ; परमेश्‍वरसँग त्यस्तो अख्‍तियार हुने भएकोले, उहाँसँग मात्रै त्यस्तो शक्ति छ। के कुनै पनि मानिस वा वस्तुमा यस्तो अख्‍तियार र शक्ति हुन सक्छ? के तिमीहरूको हृदयमा यसको उत्तर छ? के परमेश्‍वरबाहेक, सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीमा त्यस्तो अख्‍तियार छ? के तिमीहरूले कुनै पुस्तक वा प्रकाशनमा यस्तो उदाहरण कहिल्यै देखेका छौ? के कसैले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गऱ्यो भन्‍ने कुनै अभिलेख छ? अरू कुनै पनि पुस्तक वा अभिलेखहरूमा यो कुरा देखा पर्दैन; अवश्य नै, परमेश्‍वरले सानदार संसार सृष्टि गर्नुभएको कुरासित सम्बन्धित आधिकारिक र शक्तिशाली वचनहरू यिनै हुन्, जसलाई बाइबलमा समावेश गरिएका छन्; यी वचनले परमेश्‍वरको अद्वितीय अख्‍तियार र पहिचानलाई उल्‍लेख गर्छन्। के त्यस्तो अख्तियार र शक्तिलाई परमेश्‍वरको अद्वितीय पहिचानका प्रतीक हुन् भनी भन्‍न सकिन्छ? के ती परमेश्‍वरमा, केवल परमेश्‍वरमा मात्रै छन् भनेर भन्‍न सकिन्छ? परमेश्‍वरसँग मात्रै त्यस्तो अख्‍तियार र शक्ति छ भन्‍ने कुरामा कुनै शङ्का छैन! कुनै पनि सृष्टि गरिएको वा नगरिएको प्राणीमा यो अख्‍तियार र शक्ति हुन सक्दैन वा त्यसलाई तिनले प्रतिस्थापन गर्न सक्दैनन्! के यो अद्वितीय परमेश्‍वर स्वयंको एउटा चरित्र हो? के तिमीहरूले यसलाई देखेका छौ? यी वचनले परमेश्‍वरमा अद्वितीय अख्‍तियार, र अद्वितीय शक्ति छ, उहाँको पहिचान र हैसियत सर्वोच्‍च छ भन्‍ने तथ्यलाई तुरुन्तै र स्पष्ट रूपमा बुझ्‍न मानिसहरूलाई सक्षम तुल्याउँछन्? माथिको सङ्गतिबाट, तिमीहरूले जुन परमेश्‍वरलाई विश्‍वास गर्छौ उहाँ अद्वितीय हुनुहुन्छ भनेर के तिमीहरू भन्‍न सक्छौ?

दोस्रो दिन, परमेश्‍वरको अख्तियारले पानीलाई व्यवस्थित पार्छ, र वायुमण्डल बनाउँछ, र मानव अस्तित्वको लागि सबैभन्दा आधारभूत ठाउँ देखा पर्छ

हामी बाइबलको दोस्रो परिच्छेदलाई पढौँ: “अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्। अनि परमेश्‍वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो: अनि त्यस्तै भयो” (उत्पत्ति १:६-७)। परमेश्‍वरले “पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्” भनी भन्‍नुभएपछि के-कस्ता परिवर्तनहरू आए? पवित्र-शास्‍त्रमा यसो भनिएको छ: “अनि परमेश्‍वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो।” परमेश्‍वरले बोल्‍नुभएपछि र यसो गर्नुभएपछि के परिणाम आयो? यसको उत्तर परिच्छेदको अन्तिम भागमा छ: “अनि त्यस्तै भयो।”

यी दुई छोटा वाक्यले सानदार घटनाको विवरण दिन्छन्, र अचम्‍मको दृश्यलाई व्याख्या गर्छन्—अद्भुत कार्य जसमा परमेश्‍वरले पानीलाई व्यवस्थित गर्नुभयो, र मानिस अस्तित्वमा रहन सक्‍ने ठाउँ सृष्टि गर्नुभयो …

यस चित्रमा, एकै क्षणमा परमेश्‍वरको आँखाअघि पानी र वायुमण्डल देखा पर्छन्, र तिनलाई परमेश्‍वरको अख्‍तियारले विभाजित गर्छ, र परमेश्‍वरले तय गर्नुभएको शैलीमा ती “माथि” र “तल” गरी अलग हुन्छन्। भन्‍नुको अर्थ, परमेश्‍वरले सृष्टि गर्नुभएको वायुमण्डलले तलको पानीलाई मात्रै ढाकेन, यसले त माथिको पानीलाई पनि अड्यायो…। यसमा, मानिसले अक्‍क न बक्‍क भई हेर्ने, र उहाँको अख्‍तियारको शक्ति र सृष्टिकर्ताले जसरी पानीलाई हलचल गरी आदेश दिनुभयो, र वायुमण्डल सृष्टि गर्नुभयो त्यस दृश्यको वैभवप्रतिको प्रशंसामा अचम्‍मित हुनेबाहेक केही पनि गर्न सक्दैन। परमेश्वरले आफ्नो वचन, शक्ति, र अख्‍तियारमार्फत अर्को महान् उपलब्धि हासिल गर्नुभयो। के यो सृष्टिकर्ताको अख्‍तियारको शक्ति होइन र? परमेश्‍वरका कार्यहरूलाई व्याख्या गर्न हामी धर्मशास्‍त्रका खण्डहरू प्रयोग गरौं: परमेश्‍वरले आफ्ना वचन बोल्‍नुभयो, र यी वचनले गर्दा पानीहरूबीच वायुमण्डल सृजना भयो। यसै समयमा, उहाँका यिनै वचनहरूले गर्दा अन्तरिक्षमा ठूलो परिवर्तन आयो, र यो सामान्य अर्थको परिवर्तन थिएन, बरु यो त यस्तो प्रकारको प्रतिस्थापन थियो जसमा शून्यताबाट केही थोक बन्यो। यो, सृष्टिकर्ताका विचारहरूद्वारा जन्मियो, र सृष्टिकर्ताले बोल्‍नुभएका वचनहरूको कारण शून्यताबाट केही थोक बन्यो, यसका साथै त्यसपछि यो, सृष्टिकर्ताको खातिर नै अस्तित्वमा रही खडा भइरहनेवाला थियो, र सृष्टिकर्ताका विचारअनुसार यो हलचल, परिवर्तन, र नवीकरण हुनेवाला थियो। सृष्टिकर्ताले सम्पूर्ण संसारको सृष्टि गर्ने क्रममा गर्नुभएको दोस्रो कार्यलाई यो अनुच्‍छेदले व्याख्या गर्छ। यो, सृष्टिकर्ताको अख्‍तियार र शक्तिको अर्को अभिव्यक्ति, सृष्टिकर्ताको अर्को अग्रगामी कार्य थियो। संसारको जग बसालिएपछि सृष्टिकर्ताले बिताउनुभएको दोस्रो दिन यही थियो, र यो उहाँको लागि सुन्दर दिन थियो: उहाँ ज्योतिको बीचमा हिँड्‍डुल गर्नुभयो, उहाँले वायुमण्डल ल्याउनुभयो, पानीलाई व्यवस्थित गरी सञ्चालित गर्नुभयो, र त्यस नयाँ दिन उहाँका कार्य, र शक्तिलाई काममा प्रयोग गरियो …

के परमेश्‍वरले आफ्ना वचनहरू बोल्‍नुभन्दा पहिले पानीहरूबीच वायुमण्डल थियो? अवश्य नै थिएन! परमेश्‍वरले “पानीहरूको बीचमा वायुमण्डल होस्” भनी भन्‍नुभएपछि के भयो? उहाँको अभिप्रायका कुराहरू देखा परे; पानीहरूको बीचमा वायुमण्डल सृजना भयो, र उहाँले “त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्” भनी भन्‍नुभएको कारणले पानी अलग भयो। यसरी परमेश्‍वरको वचनलाई पछ्याएर उहाँको अख्‍तियार र शक्तिको परिणामस्वरूप यावत् थोकबीच दुई नयाँ थोक, दुईवटा भर्खरै जन्‍मेका कुरा देखा परे। यी दुई नयाँ कुरा देखा परेको घटनाबारे तिमीहरूलाई कस्तो अनुभूति हुन्छ? के तिमीहरू सृष्टिकर्ताको शक्तिको महानता अनुभव गर्छौ? के तिमीहरू सृष्टिकर्ताको अद्वितीय र असाधारण सामर्थ्य अनुभव गर्छौ? परमेश्‍वरको अख्‍तियारले गर्दा त्यस्तो सामर्थ्य र शक्तिको महानता आएको हो, र यो अख्‍तियार परमेश्‍वर स्वयमको प्रतिनिधित्व अनि उहाँको अद्वितीय विशेषता हो।

के यो परिच्छेदले तिमीहरूलाई फेरि एक पटक परमेश्‍वरको अद्वितीयपनको प्रगाढ अनुभूति दियो? वास्तवमा, यो पर्याप्तताभन्दा टाढाको कुरा हो; सृष्टिकर्ताको अख्‍तियार र शक्ति योभन्दा धेरै अघिसम्म फैलिन्छन्। उहाँमा कुनै पनि प्राणीको भन्दा बेग्लै सार भएकोले मात्रै उहाँसँग अद्वितीयपन छ भन्‍ने होइन, बरु उहाँको अख्‍तियार र शक्ति सबैभन्दा असाधारण, असीमित, सर्वोत्कृष्ट, र सबैभन्दा माथि रहेकोले गर्दा हो, र अझ भन्ने हो भने, उहाँको अख्‍तियार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसले जीवन पैदा गर्ने, आश्‍चर्यकर्महरू उत्पन्‍न गर्ने, र हरेक सानदार र असाधारण मिनेट र सेकेन्ड रचना गर्ने भएकोले हो। यसका साथै, आफूले सृष्टि गर्नुहुने जीवनलाई उहाँ शासन गर्न सक्‍नुहुन्छ र आफूले सृष्टि गर्नुहुने आश्‍चर्यकर्महरू, हरेक मिनेट र सेकेन्डमाथि सार्वभौमिकता राख्‍न उहाँ सक्‍नुहुन्छ।

तेस्रो दिन, परमेश्‍वरका वचनले पृथ्वी र समुद्रलाई जन्‍म दिन्छन्, र परमेश्‍वरको अख्‍तियारले संसारलाई जीवनद्वारा भरिपूर्ण तुल्याउँछ

यसपछि हामी उत्‍पत्ति १:९-११ को पहिलो वाक्यलाई पढौँ: “अनि परमेश्‍वरले भन्‍नुभयो, वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्।” परमेश्‍वरले “वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्” भनी भन्‍नुभएपछि के-कस्ता परिवर्तनहरू आए? यो स्थानमा ज्योति र वायुमण्डलबाहेक के थियो? पवित्रशास्‍त्रमा यस्तो लेखिएको छ: “अनि परमेश्‍वरले सुक्खा भूमिलाई पृथ्वी; र एक ठाउँमा जम्मा भएको पानीलाई समुद्रहरू भन्‍नुभयो: अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो।” भन्‍नुको अर्थ, त्यो स्थानमा अब भूमि र समुद्र थिए, अनि भूमि र समुद्र अलग गरिएका थिए। परमेश्‍वरको मुखबाट आएको आज्ञाद्वारा यी नयाँ कुरा देखा परे, “अनि त्यस्तै भयो।” के यसो गर्ने क्रममा परमेश्‍वरले हतारमा गर्नुभयो भनेर पवित्रशास्‍त्रले बताउँछ? के उहाँ शारीरिक परिश्रममा सहभागी हुनुभयो भनेर यसले बताउँछ? त्यसोभए, परमेश्‍वरले कसरी यो गर्नुभयो त? परमेश्‍वरले कसरी यी नयाँ कुरा पैदा गर्नुभयो? स्पष्टै छ, यी सबै हासिल गर्न, यसलाई पूर्णरूपमा सृष्टि गर्न परमेश्‍वरले वचनहरू प्रयोग गर्नुभयो।

माथिका तीनवटा परिच्छेदमा, हामीले तीनवटा महान् घटना घटेको बारेमा जान्यौं। यी तीन महान् घटना परमेश्‍वरका वचनले नै घटाएका थिए र अस्तित्वमा ल्याएका थिए, र उहाँकै वचनको कारण, एकपछि अर्को गर्दै परमेश्‍वरको आँखाको अगाडि यी घटना देखा परे। त्यसकारण “परमेश्‍वर बोल्‍नुहुन्छ, र यो पूरा हुनेछ; उहाँले आज्ञा गर्नुहुन्छ, र यो दृढ रूपमा खडा हुनेछ” भन्‍ने यी वचनहरू खोक्रा होइनन् भनेर बुझ्न सकिन्छ। परमेश्वरका विचारहरू पैदा हुनेबित्तिकै उहाँको सार पुष्टि हुन्छ, र जब उहाँले बोल्‍नलाई आफ्‍नो मुख खोल्‍नुहुन्छ, उहाँको सार पूर्ण रूपमा प्रतिबिम्बित हुन्छ।

हामी यो परिच्छेदको अन्तिम वाक्यलाई निरन्तरता दिऔँ: “अनि परमेश्‍वरले भन्‍नुभयो, भूमिले घाँस उमारोस्, बीउ फलाउने बोट-बिरुवाहरू र आफ्नै प्रजातिका फल फलाउने बीउ भएका फलका रुखहरू पृथ्वीमा उमारोस्: अनि त्यस्तै भयो।” जब परमेश्‍वरले बोल्‍दैहुनुहुन्थ्यो, उहाँका विचारहरूलाई पछ्याउँदै यी सबै कुरा अस्तित्वमा आए, र एकै क्षणमा, विभिन्‍न प्रकारका जीवनका स-साना रूपहरूले आ-आफ्‍ना शिर माटोबाट फुत्त-फुत्त निकालिरहेका थिए, र आफ्‍नो शरीरका अलि-अलि धूलो टकटक्याउनुभन्दा पहिले तिनीहरूले संसारप्रति शिर हल्‍लाउँदै र मुस्कुराउँदै एकअर्कालाई उत्सुकताका साथ अभिवादन गरिरहेका थिए। तिनीहरूलाई सृष्टिकर्ताले दिनुभएको जीवनको निम्ति तिनीहरूले उहाँलाई धन्यवाद दिए, र तिनीहरू यावत् थोकका भाग हुन्, र सृष्टिकर्ताको अख्‍तियारलाई प्रदर्शन गर्नको लागि तिनीहरूले आफ्‍नो जीवन समर्पित गर्नेछन् भनेर संसारलाई घोषणा गरे। परमेश्‍वरको वचन बोलिएपछि, भूमि हराभरा र हरियाली भयो, मानिसले उपभोग गर्न सक्‍ने सबै प्रकारका जडीबुटी जमिन फुटाएर उम्री निस्के अनि पहाड र समथर जमिन रूख र वनजङ्गलले भरिए…। जीवनको कुनै पनि नामनिशानै नभएको यो बाँझो जमिन प्रशस्त घाँसपात, जडीबुटी र रूख-बिरुवाले भरिए र हरियालीले ढाक्यो…। घाँसको मीठो बास्ना र माटोको सुगन्ध हावामा फैलियो, र हावाको बहावसँगै वनस्पतिका श्रेणीहरूले क्रमैसँग सास फेर्न थाले, र वृद्धि हुने प्रक्रिया सुरु गरे। यसका साथै, परमेश्‍वरका वचनहरूले गर्दा र उहाँका विचारहरूलाई पछ्याउँदै, सबै वनस्पतिले वृद्धि हुने, फुल्‍ने, फल फलाउने, र वृद्धि हुँदै जाने अनवरत जीवन चक्रलाई सुरु गरे। तिनीहरूले आ-आफ्‍नो जीवनको मार्गलाई पूर्ण रूपमा पालना गर्न थाले र सबै थोकबीच आ-आफ्‍नो भूमिका निर्वाह गर्न थाले…। सृष्टिकर्ताकै वचनको कारण ती जन्‍मे, र जिए। तिनीहरूले सृष्टिकर्ताको कहिल्यै नटुङ्गिने बन्दोबस्‍त र पालनपोषण प्राप्त गर्थे, र सृष्टिकर्ताको अख्‍तियार र शक्तिलाई प्रदर्शन गर्नको लागि तिनीहरू भूमिको हरेक कुनामा दृढताको साथ सधैँ बाँच्थे, र सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको जीवनशक्ति तिनीहरूले सधैँ प्रदर्शन गर्थे …

सृष्टिकर्ताको जीवन असाधारण छ, उहाँका विचारहरू असाधारण छन्, र उहाँको अख्‍तियार असाधारण छ, त्यसकारण, जब उहाँका वचनहरू उच्‍चारण गरिए, यसको अन्तिम परिणाम “अनि त्यस्तै भयो” भन्‍ने थियो। स्पष्टै छ, परमेश्‍वरले आफ्‍नै हातले काम गर्नु आवश्यक छैन; उहाँले हुकुम गर्न आफ्‍ना विचार र आदेश दिन उहाँका वचनहरू मात्रै प्रयोग गर्नुहुन्छ, र यसरी कामकुरा हासिल गरिन्छन्। त्यो दिन, परमेश्‍वरले पानीहरूलाई एउटै ठाउँमा भेला गर्नुभयो, र सुक्खा जमिन देखा पर्न लगाउनुभयो, यसपछि परमेश्‍वरले भूमिबाट घाँसपात उमार्नुभयो, र बीउहरू फलाउने जडीबुटी, फल फलाउने बोटबिरुवा वृद्धि भए, अनि परमेश्‍वरले ती प्रत्येकलाई तिनका प्रकारअनुसार वर्गीकरण गर्नुभयो, र प्रत्येकलाई आ-आफ्‍नै बीउ उत्पन्‍न गर्ने तुल्याउनुभयो। यी सबै नै परमेश्‍वरका विचार र उहाँको वचनका आज्ञाहरूअनुसार प्रकट भए, र एकपछि अर्को गर्दै नयाँ संसारमा देखा परे।

परमेश्वरले आफ्‍नो कामको आरम्‍भ गर्नुभन्दा पहिले नै, आफूले जे हासिल गर्ने अभिप्राय राख्‍नुभएको थियो, त्यसको चित्र उहाँको मनमा थियो, र त्यो चित्रको विषयवस्तुबारे बोल्‍नका लागि आफ्‍नो मुख खोली यी कुरा हासिल गर्न जब परमेश्‍वर तयार हुनुभयो, उहाँको अख्‍तियार र शक्तिको कारण सबै थोकमा परिवर्तन आउन थाल्यो। परमेश्‍वरले त्यो जसरी गर्नुभए पनि, वा उहाँले आफ्‍नो अख्‍तियारको प्रयोग जसरी गर्नुभएको भए पनि, उहाँको योजनाअनुरूप र उहाँका वचनहरूले गर्दा चरणबद्ध रूपमा सबै कुरा हासिल गरिए, र उहाँकै वचन र अख्‍तियारद्वारा एकपछि अर्को गर्दै, स्वर्ग र पृथ्वीबीच परिवर्तनहरू आए। यी सबै परिवर्तन र घटनाहरूले सृष्टिकर्ताको अख्‍तियार, र जीवनको शक्तिको असाधारणपन र महानतालाई प्रदर्शन गरे। उहाँका सोचहरू सरल विचार, वा रित्तो चित्र होइनन्, ती त जीवनशक्ति र असाधारण ऊर्जासहितका अख्तियार हुन्, र सबै थोकलाई परिवर्तन हुन, पुनर्जीवित हुन, नवीकरण हुन, र नष्ट हुन लगाउने शक्ति हुन्। यसैले, उहाँकै विचारहरूले गर्दा सबै थोक सुचारु हुन्छन्, यसका साथै उहाँको मुखका वचनहरूको कारणले यी सबै हासिल गरिन्छन् …

सबै थोक देखा पर्नुभन्दा पहिले, परमेश्‍वरका सोचहरूमा निकै पहिले नै पूर्ण योजना निर्मित भइसकेको थियो, र धेरै पहिले नै नयाँ संसारलाई हासिल गरिसकिएको थियो। तेस्रो दिन, भूमिमा अनेक किसिमका वनस्पति देखा परेका भए तापनि, यो संसारको सृष्टि गर्ने आफ्‍नो कार्यका चरणहरूलाई रोक्‍ने कुनै कारण परमेश्‍वरसँग थिएन; उहाँको अभिप्राय आफ्ना वचनहरू निरन्तर रूपमा बोल्‍ने, हरेक नयाँ कुराको सृष्टि हासिल गरिराख्ने थियो। उहाँ बोल्‍नुहुन्थ्यो, उहाँले आफ्‍ना आज्ञाहरू जारी गर्नुहुन्थ्यो, र आफ्‍नो अख्तियार प्रयोग गर्नुहुन्थ्यो र आफ्‍नो शक्ति देखाउनुहुन्थ्यो, र उहाँले सृष्टि गर्ने अभिप्राय राख्‍नुभएका सबै थोक र मानवजातिको लागि तयारी गर्न उहाँले योजना बनाउनुभएको सबै कुरा तयारी गर्नुभयो …

चौथो दिन, परमेश्‍वरले फेरि आफ्‍नो अख्तियार प्रयोग गर्नुहुँदा मानवजातिका ऋतु, दिन र वर्षहरू अस्तित्वमा आउँछन्

सृष्टिकर्ताले आफ्‍नो योजना हासिल गर्नका लागि आफ्‍ना वचनहरू प्रयोग गर्नुभयो, र यसरी उहाँले आफ्‍नो योजनाका प्रारम्‍भिक तीन दिन बिताउनुभयो। यी तीन दिनको अवधिमा, उहाँ व्यस्त हुनुभएको, वा आफूलाई रित्याउनुभएको देखिएन; यसको विपरीत, उहाँले आफ्‍नो योजनाका प्रारम्‍भिक सुन्दर तीन दिन बिताउनुभयो, र संसारलाई आमूल परिवर्तन गर्ने महान् कार्य सम्पन्न गर्नुभयो। उहाँकै आँखाअगाडि एउटा नयाँ संसार देखा पऱ्यो, र एक-एक गरी, उहाँका विचारहरूमा लुकेको सुन्दर दृश्य आखिरमा उहाँका वचनहरूमा प्रकट भयो। हरेक नयाँ कुरा देखा परेको घटना नयाँ बालकको जन्‍मजस्तै थियो, र कुनै बेला आफ्‍ना विचारहरूमा रहेको, तर अहिले जीवन्त बनाइएको चित्रप्रति सृष्टिकर्ता प्रसन्‍न हुनुभयो। त्यसबेला, उहाँको हृदयले भरपूर सन्तुष्टि हासिल गऱ्यो, तर उहाँको योजनाको सुरुवात मात्रै भएको थियो। आँखा झिमिक्‍क गर्दा, नयाँ दिन आइपुगेको थियो—र सृष्टिकर्ताको योजनाको अर्को पृष्ठमा के थियो त? उहाँले के भन्‍नुभयो? उहाँले कसरी आफ्‍नो अख्तियारको प्रयोग गर्नुभयो? यसबीच, यो नयाँ संसारमा के-कस्ता नयाँ कुरा आए? हाम्रो नजर सृष्टिकर्ताको मार्गनिर्देशनलाई पछ्याउँदै, उहाँले सबै थोक सृष्टि गर्नुभएको चौथो दिनमा केन्द्रित हुन्छ, जुन अर्को एक नयाँ सुरुवातको दिन थियो। सृष्टिकर्ताको लागि, अवश्य नै त्यो अर्को सुन्दर दिन थियो भन्‍नेमा कुनै शङ्का छैन, र त्यो दिन आजको मानवजातिको लागि निकै महत्त्वपूर्ण दिन थियो। अवश्य नै, त्यो अतुलनीय मूल्य भएको दिन थियो। कसरी त्यो सुन्दर थियो, कसरी त्यो त्यति महत्त्वपूर्ण थियो, र त्यो कसरी अतुलनीय मूल्यको थियो? हामी सुरुमा सृष्टिकर्ताले बोल्‍नुभएका वचनहरूलाई सुनौं …

“अनि परमेश्‍वरले भन्‍नुभयो, अन्तरिक्षमा दिनलाई रातबाट छुट्याउने ज्योतिहरू होऊन्; र तिनीहरू ऋतु, दिन र वर्षहरू छुट्याउने चिन्ह होऊन्: र पृथ्वीमा ज्योति दिनलाई आकाशको अन्तरिक्षमा ती ज्योतिहरू होऊन्” (उत्पत्ति १:१४-१५)। सुक्खा जमिन र यसमा भएका वनस्पतिलाई सृष्टि गरिसकेपछि सृष्टिका थोकहरूले प्रकट गरेको परमेश्‍वरको अख्तियारको यो अर्को प्रयोग थियो। परमेश्‍वरको लागि यस्तो कार्य उहाँले पहिले नै गर्नुभएको जत्तिकै सहज थियो, किनभने उहाँमा त्यस्तो शक्ति छ; उहाँ आफ्ना वचनजस्तै असल हुनुहुन्छ, र उहाँको वचन पूरा हुनेछ। परमेश्‍वरले आकाशमा ज्योतिहरू देखा पर्ने आदेश दिनुभयो, अनि ती ज्योतिहरू आकाश र पृथ्वीमा मात्रै चम्किएनन्, तर तिनले दिन र रात, ऋतु, दिन, र वर्षहरूको चिन्‍हका रूपमा पनि काम गरे। यसरी, परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुभएपछि, आफूले हासिल गर्न चाहनुभएको हरेक कार्य उहाँको इच्छाअनुसार र उहाँले तोक्नुभएको तरिकामा नै पूरा भए।

आकाशका ज्योतिहरू आकाशका तत्व हुन् जसले ज्योति दिन सक्छन्; तिनले आकाश र जमिन अनि समुद्रलाई ज्योति दिन सक्छन्। परमेश्‍वरले आज्ञा गर्नुभएको ताल र आवृत्तिअनुसार ती परिक्रमा गर्छन्, र जमिनमा फरक-फरक समय अवधिमा चम्‍कन्छन्, र यसरी ज्योतिहरूको घुम्‍ने चक्रले भूमिको पूर्व र पश्‍चिममा दिन र रात पैदा गर्छ, र ती दिन र रातका चिन्‍हहरू मात्रै होइनन्, तर यी फरक-फरक चक्रहरूमार्फत तिनीहरूले मानवजातिका चाडपर्व र विभिन्‍न प्रकारका विशेष दिनहरूलाई पनि सङ्केत गर्छन्। परमेश्‍वरले जारी गर्नुभएका ती चार ऋतु अर्थात वसन्त, ग्रीष्म, शरद, र शिशिर ऋतुका सर्वोत्तम पूरक र सहयोगी हुन्, जसका साथमा ज्योतिहरूले मानवजातिका औंसी-पूर्णे, दिनहरू, र वर्षहरूको नियमित र सटीक चिन्‍हहरूका रूपमा मैत्रीपूर्ण रूपमा काम गर्छन्। खेतीपातीको उदयपछि मात्रै परमेश्‍वरले सृष्टि गर्नुभएका ज्योतिहरूले पैदा गर्ने औंसी-पूर्णे, दिन, र वर्षको विभाजनलाई मानवजातिले बुझ्‍न र थाहा पाउन थालेको भए तापनि, वास्तवमा आज मानिसले बुझ्‍ने औंसी-पूर्णे, दिन र वर्ष धेरै पहिले सबै थोकलाई परमेश्‍वरले सृष्टि गर्नुभएको चौथो दिनमा नै पैदा हुन थालेका थिए, र मानिसले अनुभव गर्ने वसन्त, ग्रीष्म, शरद, र शिशिरको परिवर्तन भइरहने चक्र पनि धेरै पहिले परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको चौथो दिनमा नै सुरु भएको थियो। परमेश्‍वरले सृष्टि गर्नुभएका ज्योतिहरूले मानिसलाई रात र दिनको बीचमा नियमित रूपमा सटीक र स्पष्ट तरिकामा भिन्‍नता छुट्याउन, र दिनहरूको गन्ती गर्न, र औंसी-पूर्णे र वर्षको हिसाब लगाउन सक्षम तुल्यायो। (पूर्णिमाको दिन एक महिना पूरा हुन्थ्यो, र यसबाट मानिसले ज्योतिहरूको प्रकाशले नयाँ चक्रलाई सुरु गर्छ भन्‍ने थाहा पायो; अर्धचन्द्रको दिन आधा महिना पूरा हुन्थ्यो, जसले नयाँ औंसी-पूर्णेको सुरुवात भएको छ भनेर मानिसलाई बताउँथ्यो, यसद्वारा औंसी-पूर्णेको चक्रमा कति दिन र कति रात हुन्छ, एउटा ऋतुमा कतिवटा पूर्णिमा पर्छन्, र एक वर्षमा कतिवटा ऋतु हुन्छन् भनेर जान्‍न सकिन्थ्यो, र यी सबैलाई ठूलो नियमितताको साथ प्रकट गरिए।) त्यसकारण, ज्योतिहरूको चक्रले सङ्केत गर्ने औंसी-पूर्णे, दिन, र वर्षहरूको हिसाब मानिसले सहजै गर्न सक्थ्यो। यस विन्दुयता मानवजाति र सबै थोक अचेतन रूपमै रात र दिनको सुव्यवस्थित परिवर्तन अनि ज्योतिको चक्रले पैदा गर्ने ऋतुहरूको फेरबदलबीच जिए। चौथो दिन, सृष्टिकर्ताले ज्योतिहरू सृष्टि गर्नुको महत्त्व यही नै थियो। यसरी नै, सृष्टिकर्ताको यो कार्यको उद्देश्य र महत्त्वलाई अझै पनि उहाँको अख्‍तियार र शक्तिबाट अलग गर्न सकिँदैनथियो। त्यसकारण, परमेश्‍वरले बनाउनुभएका ज्योति र तिनीहरूले मानिसमा चाँडै ल्याउने महत्त्व नै सृष्टिकर्ताको अख्‍तियारको प्रयोगको अर्को उल्‍लेखनीय उपलब्धि थियो।

मानवजाति अहिलेसम्‍म देखा नपरेको यो नयाँ संसारमा, सृष्टिकर्ताले चाँडै नै सृष्टि गर्न लाग्‍नुभएको जीवनको लागि साँझ र बिहान, वायुमण्डल, भूमि र समुद्र, घाँसपात, जडीबुटी र विभिन्‍न प्रकारका रूख र ज्योति, ऋतु, दिन र वर्षहरू तयार गर्नुभएको थियो। उहाँले सृष्टि गर्नुभएको हरेक नयाँ थोकमा उहाँको अख्‍तियार र शक्ति व्यक्त गरिएका थिए, र अलिकति भिन्‍नताविना नै, र अलिकति अन्तरालविना नै उहाँका वचन र उपलब्धिहरू एकसाथ आए। यी सबै नयाँ कुरा प्रकट हुनु र जन्‍मनु नै सृष्टिकर्ताको अख्‍तियार र शक्तिको प्रमाण थियो: उहाँ आफ्नो वचन जत्ति नै असल हुनुहुन्छ, अनि उहाँको वचन पूरा हुनेछ, र उहाँले जे हासिल गर्नुहुन्छ ती सदासर्वदा रहिरहन्छन्। यो तथ्य कहिल्यै परिवर्तन भएको छैन: विगतमा यो जस्तो थियो, आज पनि त्यस्तै छ, र अनन्तकालसम्‍म यो यस्तै रहनेछ। जब तिमीहरू पवित्र-शास्‍त्रका ती वचनलाई फेरि एक पटक हेर्छौ, के ती तिमीहरूलाई ताजा लाग्छ? के तिमीहरूले नयाँ विषयवस्तु देखेका छौ, र नयाँ कुराहरू पत्ता लगाएका छौ? यस्तो हुनुको कारण के हो भने सृष्टिकर्ताका कार्यहरूले तिमीहरूको हृदयलाई छोएका छन्, र उहाँको अख्‍तियार र शक्तिसम्‍बन्धी तिमीहरूको ज्ञानको दिशालाई निर्देशित गरेका छन्, र सृष्टिकर्तासम्बन्धी तिमीहरूको बुझाइको लागि ढोका खोलेका छन्, र उहाँका कार्य र अख्तियारले यी वचनहरूमा जीवन प्रदान गरेका छन्। त्यसकारण, यी वचनमा मानिसले सृष्टिकर्ताको अख्‍तियारको वास्तविक र स्पष्ट अभिव्यक्तिलाई देखेको छ, सृष्टिकर्ताको सर्वोच्‍चतालाई साँचो रूपमा देखेको छ, र सृष्टिकर्ताको अख्तियार र शक्तिको असाधारणपन देखेको छ।

सृष्टिकर्ताको अख्‍तियार र शक्तिले एकपछि अर्को गर्दै आश्‍चर्यकर्म पैदा गर्छन्; उहाँले मानिसको ध्यान खिच्नुहुन्छ, र मानिस उहाँको अख्तियारको प्रयोगबाट उत्पन्न चकित पार्ने कार्यहरूलाई छक्‍क परेर नहेरी बस्नै सक्दैन। उहाँको असाधारण शक्तिले एकपछि अर्को गर्दै प्रसन्‍नता ल्याउँछ, र मानिस आदर, श्रद्धा र हर्षमा चकित पर्छ र उल्लासित हुन्छ; यसका साथै, मानिस भौतिक रूपमै प्रभावित हुन्छ र उसमा आदर, श्रद्धा, र घनिष्ठता पैदा हुन्छ। सृष्टिकर्ताका अख्‍तियार र कार्यहरूले मानिसको आत्मामा निकै महान् प्रभाव र शोधनकारी असर पार्छन्, यसका साथै, तिनले मानिसको आत्मालाई तृप्त गर्छन्। सबै थोकमध्ये उहाँका हरेक विचार, हरेक वाणी र उहाँको अख्तियारको हरेक प्रकटीकरण उत्कृष्ट कार्य हो, र यो, सृष्टि गरिएको मानवजातिको गहन बुझाइ र ज्ञानको निम्ति सबैभन्दा योग्य महान् कार्य हो। जब हामी सृष्टिकर्ताका वचनहरूबाट उत्पन्न हरेक प्राणीको गन्ती गर्छौं, तब हाम्रो आत्मा उहाँको शक्तिको आश्‍चर्यतातर्फ तानिन्छ, र हामीले आफूलाई उहाँका पाइलाहरूलाई अर्को दिनसम्‍म अर्थात् परमेश्‍वरद्वारा सबै थोक सृष्टि गरिएको पाँचौं दिनसम्म पछ्याइरहेका पाउँछौं।

सृष्टिकर्ताका थप कार्यहरू हेर्ने क्रममा, हामी निरन्तर रूपमा पवित्रशास्‍त्रको एकपछि अर्को परिच्छेद पढ्दै जाऔं।

पाँचौं दिन, विभिन्‍न प्रकारका र विविध रूपका जीवनले फरक-फरक तरिकामा सृष्टिकर्ताको अख्‍तियारलाई प्रदर्शन गर्छन्

पवित्रशास्‍त्रले भन्छ, “अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूले जीवन भएका प्रशस्त चल्‍ने प्राणीहरू र पृथ्वीमाथि खुला आकाशमा उड्ने पक्षीहरू उत्पन्न गरोस्। अनि परमेश्‍वरले ठूला ह्वेल माछाहरू, जसलाई पानीहरूले तिनीहरूका प्रजातिअनुसार प्रशस्त मात्रामा उत्पन्‍न गरे, र चल्‍ने हरेक जीवित प्राणीहरू र हरेक प्रजातिका पखेटा भएका पक्षीहरू बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” (उत्पत्ति १:२०-२१)। त्यस दिन, परमेश्‍वरले पानीका प्राणीहरू र आकाशका पक्षीहरू सृष्टि गर्नुभयो भनेर पवित्रशास्‍त्रले स्पष्ट रूपमा भन्छ, भन्‍नुको अर्थ, उहाँले विभिन्‍न प्रकारका माछा र चराचुरुङ्गी सृष्टि गर्नुभयो, र तिनीहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुभयो। यसरी, पृथ्वी, आकाश, र पानी परमेश्‍वरको सृष्टिले भरिपूर्ण भए …

परमेश्‍वरका वचनहरू बोलिएपछि, उहाँका वचनद्वारा नै सबै ताजा नयाँ जीवन फरक-फरक रूपमा जीवित भई निस्के। ती आफ्‍नो स्थानको लागि तँछाड-मछाड गर्दै, आनन्दले उफ्रँदै, उल्लासित हुँदै आए…। सबै रूप र आकारका माछाहरू पानीमा पौडन थाले; बालुवाबाट हरप्रकारका खपटे माछाहरू निस्किए; कत्ला भएका, खपटो भएका, र मेरुदण्ड नभएका प्राणीहरू फरक-फरक आकारमा तुरुन्तै बढ्दै निस्के, चाहे ती ठूला हुन् वा साना, लामा हुन् वा छोटा। त्यसरी नै विभिन्‍न प्रकारका समुद्री वनस्पति तेज रूपमा वृद्धि भए, ती विभिन्‍न प्रकारका समुद्री प्राणीका चाललाई प्रभाव पार्दै, मन्द पानीलाई तरङ्गित तुल्याउँदै लहरिए, मानौं तिनले तिनीहरूलाई यसो भन्दैथिए: “खुट्टा झट्का! तेरा साथीहरूलाई ले! किनभने तँ अब फेरि कहिल्यै एकलो हुनेछैनस्!” परमेश्‍वरले सृष्टि गर्नुभएका विभिन्‍न जीवित प्राणीहरू पानीमा देखा परेको क्षणदेखि नै हरेक नयाँ जीवनले धेरै लामो समयदेखि अचल रहेको पानीमा जीवनशक्ति ल्यायो, र नयाँ युगलाई आरम्‍भ गऱ्यो…। यस विन्दुपछि, तिनीहरूले एकअर्कामा अडेस लिँदै बसे, र एकअर्कालाई साथ दिए, र एकअर्काको बीचमा कुनै दूरी राखेनन्। पानी यसको अङ्गालोभित्र रहेका हरेक जीवनलाई पालनपोषण गर्दै यसमा भएका प्राणीहरूकै निम्ति अस्तित्वमा रह्यो, र हरेक प्राणी पानीले दिने पोषणको खातिर अस्तित्वमा रह्यो। हरेकले अर्कोलाई जीवन प्रदान गऱ्यो, यसका साथै, हरेकले त्यही शैलीमा सृष्टिकर्ताको सृष्टिको आश्‍चर्यता र महानता, र उहाँको अख्‍तियारको सर्वोत्कृष्ट शक्तिको गवाही दियो …

जसरी समुद्र त्यसउप्रान्त कहिल्यै शान्त रहेन, त्यसरी नै आकाश पनि जीवनले भरिन थाल्यो। एकपछि अर्को गर्दै, ठूला-साना चराचुरुङ्गीहरू जमिनबाट आकाशतिर उडे। समुद्रका प्राणीहरूभन्दा फरक रूपमा, तिनीहरूसँग तिनीहरूका स-साना र सुन्दर स्वरूपलाई ढाक्‍ने पखेटा र प्वाँखहरू थिए। तिनीहरूका प्वाँखहरूको सुन्दर वस्त्र र सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएका विशेष क्षमता र सीपहरूलाई घमण्ड र गर्वका साथ प्रदर्शन गर्दै तिनीहरूले आफ्‍ना पखेटाहरू फरफराए। तिनीहरू स्वतन्त्रताका साथ उडे, र कुशलतापूर्वक आकाश र पृथ्वी, घाँसे मैदान र वन-जङ्गलहरूबीच वेग मार्दै उडे…। तिनीहरू आकाशका प्रिय थिए, तिनीहरू सबै थोकका प्रिय थिए। तिनीहरू चाँडै नै आकाश र पृथ्वीलाई जोड्ने बन्धन बन्‍नेवाला थिए, र तिनीहरूले नै सबै थोकलाई सन्देशहरू दिनेवाला थिए…। तिनीहरू गाउँथे, आनन्दले यताउता उडिहिँड्थे, कुनै बेला रित्तो रहेको यस संसारमा तिनीहरूले नै हर्ष, खुसी, र जीवन्तता ल्याए…। सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको जीवनको लागि तिनीहरूले आफ्‍ना स्पष्ट, सुमधुर गीतको प्रयोग गरे, आफ्‍नो हृदयका वचनहरू प्रयोग गरे। सृष्टिकर्ताको सृष्टिको सिद्धता र आश्‍चर्यपनलाई प्रदर्शन गर्न तिनीहरू हर्षका साथ नाचे, र तिनीहरूले आफ्‍नो सम्पूर्ण जीवन उहाँले तिनीहरूलाई दिनुभएको विशेष जीवनमार्फत उहाँको अख्तियारको गवाही दिने कार्यमा नै अर्पण गर्नेवाला थिए …

चाहे ती पानीमा हुन् वा आकाशमा, जीवित प्राणीहरूको यो प्रचुरता सृष्टिकर्ताको आज्ञाद्वारा जीवनका विभिन्‍न स्वरूपमा अस्तित्वमा रह्यो, र सृष्टिकर्ताको आज्ञाद्वारा तिनीहरू आ-आफ्नो प्रजातिअनुसार एकसाथ भेला भए—र यो व्यवस्था, यो नियमलाई कुनै पनि प्राणीले परिवर्तन गर्न सक्दैनथ्यो। न त सृष्टिकर्ताले तिनीहरूको लागि तय गर्नुभएका सीमाहरूभन्दा बाहिर जाने आँट तिनीहरूले कहिल्यै गरे, न त त्यसो गर्न नै सके। सृष्टिकर्ताले तोक्‍नुभएअनुसार, तिनीहरू जिए र वृद्धि भए अनि सृष्टिकर्ताले अघि सार्नुभएको जीवनका दिशा र नियमहरूलाई तिनीहरूले कडाइका साथ पालना गरे, र उहाँका नबोलिएका आज्ञाहरू र उहाँले तिनीहरूलाई दिनुभएका स्वर्गीय आदेश र ज्ञानहरूलाई आजको दिनसम्‍मै सचेत रूपमा पालना गरिरहे। तिनीहरूले आफ्‍नै विशेष तरिकामा सृष्टिकर्तासँग कुराकानी गरे, र उहाँको आशयलाई बुझ्‍न पुगे, र उहाँका आज्ञाहरूलाई पालना गरे। सृष्टिकर्ताको अख्‍तियारलाई कसैले कहिल्यै भङ्ग गरेन, र उहाँका विचारहरूभित्र नै उहाँको सार्वभौमिकता र आज्ञा तिनीहरूलाई जारी गरिएका थिए; कुनै पनि वचन जारी गरिएन, तर कुनै पनि भाषिक विशेषता नभएको र मानवजातिको भन्दा फरक रहेको सृष्टिकर्ताको अद्वितीय अख्‍तियारले नै मौन रूपमा सबै थोकलाई नियन्त्रण गऱ्यो। यस प्रकारको विशेष तरिकामा गरिएको सृष्टिकर्ताको अख्तियारको प्रयोगले मानिसलाई उहाँको अद्वितीय अख्‍तियारबारे नयाँ ज्ञान प्राप्त गर्न, र त्यसलाई नयाँ तरिकाले अर्थ्याउन बाध्य तुल्यायो। यहाँ, मैले तिमीहरूलाई भन्नैपर्छ कि यो नयाँ दिनमा सृष्टिकर्ताको अख्‍तियारको प्रयोगले उहाँको अद्वितीयपनलाई फेरि एक पटक प्रदर्शित गऱ्यो।

यसपछि, हामी पवित्रशास्‍त्रको यो परिच्छेदको अन्तिम वाक्यलाई हेरौं: “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।” यसको अर्थ के हो भन्‍ने तिमीहरूलाई लाग्छ? परमेश्‍वरका भावनाहरू यिनै वचनभित्र समावेश छन्। आफूले सृष्टि गर्नुभएका सबै थोक उहाँकै वचनको कारण अस्तित्वमा आएको, खडा भएको, अनि क्रमिक रूपमा परिवर्तन हुन सुरु गरेको परमेश्‍वरले हेर्नुभयो। यो समयमा, उहाँले आफ्‍ना वचनद्वारा बनाउनुभएका कुराप्रति र उहाँले हासिल गर्नुभएका विभिन्‍न कार्यप्रति के उहाँ सन्तुष्ट हुनुहुन्थ्यो? यसको उत्तर “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” भन्‍ने हो। तिमीहरू यहाँ के देख्छौ? “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” ले केलाई प्रतिनिधित्व गर्छ? यो केको प्रतीक हो? यसको अर्थ परमेश्वरले आफूले योजना बनाउनुभएका र निर्धारित गर्नुभएका कुरालाई हासिल गर्ने, हासिल गर्नको लागि तय गर्नुभएका लक्ष्यहरूलाई हासिल गर्ने शक्ति र बुद्धि उहाँसँग छ भन्‍ने हुन्छ। जब परमेश्‍वरले प्रत्येक काम पूरा गर्नुभयो, के उहाँलाई पछुतो लाग्यो? यसको उत्तर अझै पनि “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” भन्‍ने नै हो। अर्को शब्‍दमा भन्नुपर्दा, उहाँलाई कुनै पछुतो नलागेको मात्रै होइन, तर यसको सट्टा उहाँ सन्तुष्ट हुनुभयो। उहाँलाई कुनै पछुतो भएन भन्‍नुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरको योजना सिद्ध छ, उहाँका शक्ति र बुद्धि सिद्ध छन्, र उहाँको अख्‍तियारद्वारा मात्रै त्यस्तो सिद्धता हासिल गर्न सकिन्छ भन्‍ने हो। जब मानिसले कुनै काम गर्छ, के उसले पनि परमेश्‍वरले जस्तै यसलाई हेरेर असल देख्‍न सक्छ? के मानिसले गर्ने सबै कुरामा उसले सिद्धता हासिल गर्न सक्छ? के मानिसले कुनै कुरा सदा अनन्तसम्‍मको लागि पूरा गर्न सक्छ? मानिसले “कुनै पनि कुरा सिद्ध हुँदैन, अलिक उत्तम मात्रै हुन्छ” भनेजस्तै, उसले गर्ने कुनै कुराले पनि सिद्धता हासिल गर्न सक्दैन। जब परमेश्वरले आफूले गर्नुभएको र हासिल गर्नुभएका सबै कुरा असल देख्‍नुभयो, उहाँले बनाउनुभएका सबै कुरा उहाँकै वचनले तय गरेको थियो, भन्‍नुको अर्थ, जब “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” उहाँले बनाउनुभएका सबैले स्थायी स्वरूप लिएका थिए, प्रकारअनुसार वर्गीकरण भएका थिए, र सदा अनन्तको लागि निश्‍चित स्थान, उद्देश्य र कार्य दिइएको थियो। यसका साथै, सबै थोकको बीचमा तिनीहरूको भूमिका, र सबै थोकमाथिको परमेश्‍वरको व्यवस्थापनको अवधिमा तिनीहरूले गर्नैपर्ने यात्रा उहाँले पहिले नै नियुक्त गरिसक्‍नुभएको थियो, र ती अपरिवर्तनीय थिए। यो, सृष्टिकर्ताले सबै थोकका लागि दिनुभएको स्वर्गीय नियम थियो।

“त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” यी सरल, कम रूपमा बुझिएका, धेरै पटक बेवास्ता गरिएका वचनहरू, परमेश्‍वरले सारा प्राणीलाई दिनुभएका स्वर्गीय नियम र स्वर्गीय अध्यादेशका वचनहरू हुन्। ती सृष्टिकर्ताको अख्‍तियारको अर्को मूर्तरूप हो, जुन अझै बढी व्यावहारिक, र अझै बढी गहन छ। सृष्टिकर्ताले आफ्‍ना वचनहरूद्वारा आफूले हासिल गर्न तय गर्नुभएका सबै कुरालाई प्राप्त मात्रै गर्न सक्‍नुभएन, र उहाँले प्राप्त गर्न तय गर्नुभएका सबै हासिल मात्रै गर्न सक्‍नुभएन, तर आफूले सृष्टि गर्नुभएका सबैलाई आफ्‍नै हातले नियन्त्रण गर्न, र आफ्‍नो अख्‍तियारको अधीनमा आफूले बनाउनुभएका सबै थोकलाई शासन गर्न पनि सक्‍नुभयो, यसका साथै सबै व्यवस्थित र क्रमबद्ध थिए। सबै कुरा उहाँकै वचनद्वारा सङ्ख्यामा वृद्धि भए, अस्तित्वमा रहे, र नाश भए, यसका साथै, उहाँको अख्‍तियारद्वारा नै ती उहाँले अघि सार्नुभएको नियमको बीचमा अस्तित्वमा रहे, र यसमा कसैलाई छूट थिएन! “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” भनी भनिएकै क्षण यो नियमको सुरुवात भयो र सृष्टिकर्ताले रद्द गर्नुहुने दिनसम्‍मै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर यो अस्तित्वमा रहिरहन्छ, निरन्तर रहन्छ, र सुचारु भइरहन्छ! सबै थोक सृष्टि गर्ने र सबै थोकलाई आज्ञा गरी अस्तित्वमा ल्याउने उहाँको क्षमतामा मात्रै होइन, तर सबै थोकलाई शासन गर्ने र तिनमाथि सार्वभौमिकता राख्‍ने, र सबै थोकमाथि जीवन र जीवनशक्ति प्रदान गर्ने उहाँको क्षमतामा, साथै, उहाँले बनाउनुभएको संसारमा आफ्‍नो योजनामा सृष्टि गर्नुभएको यावत् थोक सिद्ध आकार, र सिद्ध जीवन संरचना, अनि सिद्ध भूमिकासहित सदा अनन्तको लागि देखा पर्ने र अस्तित्वमा रहने तुल्याउने उहाँको क्षमतामा पनि सृष्टिकर्ताको अद्वितीय अख्तियार प्रकट भयो। त्यसरी नै सृष्टिकर्ताका विचारहरू कुनै पनि सीमाका अधीनमा थिएनन्, समय, स्थान, वा भूगोलद्वारा सीमित थिएनन् भन्‍ने तरिकामा पनि यसको प्रकटीकरण भयो। सृष्टिकर्ताको अख्तियारजस्तै, उहाँको अद्वितीय पहिचान पनि अनन्‍तदेखि अनन्‍तसम्‍म अपरिवर्तित रहन्छ। उहाँको अख्तियार सधैँ नै उहाँको अद्वितीय पहिचानको प्रतिनिधित्व र प्रतीक हुनेछ, र उहाँको अख्‍तियार उहाँको पहिचानसँग एकसाथ सदासर्वदा रहिरहन्छ!

छैटौं दिन, सृष्टिकर्ता बोल्‍नुहुन्छ, र उहाँको मस्तिष्कमा भएका हरेक प्रकारका प्राणी एकपछि अर्को गर्दै देखा पर्छ

चालै नपाई, सबै थोक सृष्टि गर्नुहुने सृष्टिकर्ताको कार्य पाँचौं दिनसम्‍म जारी रह्यो, र यसपछि तुरुन्तै सृष्टिकर्ताले सबै थोक सृष्टि गर्ने आफ्‍नो कार्यको छैटौं दिनलाई स्वागत गर्नुभयो। यो दिन अर्को नयाँ सुरुवात, र अर्को असाधारण दिन थियो। त्यसोभए, यो नयाँ दिनको अघिल्‍लो साँझ सृष्टिकर्ताको योजना के थियो त? उहाँले के-कस्ता नयाँ प्राणीहरू पैदा गर्नुहुनेथियो, सृष्टि गर्नुहुनेथियो? सुन, सृष्टिकर्ताको आवाज त्यही हो …

“अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्वीले तिनीहरूका प्रजातिअनुसारका जीवित प्राणीहरू, चौपायाहरू र घस्रने जन्तुहरू र प्रजातिअनुसारका जनावरहरू उत्पन्‍न गरोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले प्रजातिअनुसार पृथ्वीको जन्तु, तिनीहरूका प्रजातिअनुसारका चौपायाहरू बनाउनुभयो र पृथ्वीमा घस्रने हरेक जन्तुहरूलाई तिनीहरूकै प्रजातिअनुसार बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” (उत्पत्ति १:२४-२५)। के-कस्ता जीवित प्राणीहरू समावेश छन्? पवित्रशास्‍त्रले भन्छ: पालिने पशुहरू, र घस्रने जन्तुहरू, र प्रजाति-प्रजातिका वन-पशुहरू। भन्‍नुको अर्थ, यो दिन पृथ्वीमा सबै प्रकारका प्राणी मात्रै थिएनन्, तर तिनीहरू सबैलाई प्रकारअनुसार वर्गीकरण पनि गरिएका थिए, त्यसरी नै, “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।”

अघिल्‍ला पाँच दिनको अवधिमा जस्तै, सृष्टिकर्ताले उस्तै शैलीमा बोल्‍नुभयो र आफूले चाहेका जीवित प्राणीहरू जन्मने आदेश दिनुभयो, र तिनीहरू आ-आफ्‍नै प्रकारअनुसार पृथ्वीमा देखा परे। जब सृष्टिकर्ताले आफ्‍नो अख्‍तियार प्रयोग गर्नुहुन्छ, उहाँले बोल्‍नुभएको कुनै पनि वचन व्यर्थ हुँदैन, र त्यसैअनुसार छैटौं दिनमा उहाँले सृष्टि गर्ने अभिप्राय राख्‍नुभएका हरेक जीवित प्राणी तोकिएको समयमा देखा परे। सृष्टिकर्ताले “पृथ्वीले तिनीहरूका प्रजातिअनुसारका जीवित प्राणीहरू उत्पन्‍न गरोस्” भनी भन्‍नुभएपछि, पृथ्वी तुरुन्तै जीवनले भरिपूर्ण भयो, र भूमिमा अचानक सबै प्रकारका जीवित प्राणीहरू प्रकट भए…। घाँसे मैदानमा, आफ्‍नो पुच्छर यताउता हल्‍लाउने गाईका बथानहरू एकपछि अर्को गर्दै देखा परे, भ्या-भ्या गर्ने भेडाहरू बथान-बथानमा जम्‍मा भए, र घोडाहरू हिं-हिं आवाज निकाल्दै दौडन थाले…। एकै क्षणमा, शान्त घाँसे मैदानको ठूलो क्षेत्र जीवनले भरिपूर्ण भयो…। यी विभिन्‍न प्रकारका चौपायाहरू देखा परेका घटना शान्त घाँसे मैदानमा देखिएको सुन्दर दृश्य थियो, र तिनले असीमित जीवनशक्ति ल्याए…। तिनीहरू एकअर्कामा आश्रित हुँदै घाँसे मैदानका साथी, र घाँसे मैदानका मालिक बन्‍नेवाला थिए; त्यसरी नै तिनीहरू यी भूमिका रक्षक र हेरचाह गर्नेहरू बन्‍नेवाला थिए, जुन तिनीहरूको स्थायी बासस्थान हुनेवाला थिए, र जसले तिनीहरूलाई चाहिने सबै कुरा, तिनीहरूको अस्तित्वको लागि अनन्त पोषणको स्रोत प्रदान गर्नेवाला थिए …

यी विभिन्‍न चौपाया अस्तित्वमा आएकै दिन, सृष्टिकर्ताको वचनद्वारा एकपछि अर्को गर्दै असंख्य कीराफट्याङ्ग्रा देखा परे। सबै प्राणीहरूमध्ये तिनीहरू सबैभन्दा साना जीवित प्राणीहरू थिए, तैपनि तिनीहरूको जीवनशक्ति सृष्टिकर्ताको आश्‍चर्यजनक सृष्टि थियो, र तिनीहरू आइपुगेको समय अत्यन्तै ढिलो भएको थिएन…। कतिले आफ्‍ना स-साना पखेटाहरू चलाउँथे, अरू भने बिस्तारै घस्रिन्थे; कति उफ्रन्थे र फड्को मार्थे, अरू मुस्किलले हिँड्थे; कति अघि दगुर्थे, कति तुरुन्तै पछि हट्थे; कति दायाँबायाँ गर्दै घस्रन्थे, अरू माथि-तल गर्दै उफ्रन्थे…। सबै आफ्‍नो लागि घर खोज्‍ने प्रयासमा व्यस्त थिए: कतिले घाँसको बीचमा ठाउँ तयार पारे, कतिले भूँइमा दुलो खन्‍नलागे, कति जङ्गलको बीचमा लुकेका रूखहरूतर्फ उडे…। आकारमा साना भए तापनि, खाली पेटको पीडा सहन तिनीहरू इच्‍छुक थिएनन्, र आफ्‍नो घर भेट्टाइसकेपछि, तिनीहरू आफ्‍नो लागि खानेकुरा खोज्‍न हतारमा निस्के। कति कलिलो मुना खान घाँसको बोटमा चढे, कतिले मुखभरि माटो लिए र निकै स्वादिलो मान्दै र खुसी हुँदै पेटसम्‍म पुग्‍ने गरी निले (तिनीहरूका लागि, माटोसमेत स्वादिलो खानेकुरा हो); कति जङ्गलहरूबीच लुकेका थिए, तर तिनीहरूले विश्राम गरेनन्, किनभने चमकदार गाढा हरिया पातहरूभित्रको भोजनले तिनीहरूलाई रसिलो खाना प्रदान गर्थ्यो…। कीराफट्याङ्ग्राहरूले तृप्त भएपछि पनि आफ्‍नो क्रियाकलापलाई रोकेनन्; तिनीहरू कदमा साना भए पनि, तिनीहरूमा अथाह ऊर्जा र असीमित जोस थियो, त्यसकारण सबै प्राणीमध्ये तिनीहरू नै सबैभन्दा सक्रिय र मेहनती थिए। तिनीहरूले कहिल्यै अल्छी गरेनन्, र तिनीहरू कहिल्यै विश्राममा भुलेनन्। तिनीहरूको भोक तृप्त भएपछि, आफ्‍नो भविष्यको लागि, भोलिको दिनको लागि व्यस्त रहँदै र दौडधूप गर्दै, आफ्‍नो अस्तित्वको लागि आफ्‍नो परिश्रममा तिनीहरू लागिरहे…। तिनीहरूले आफैलाई प्रोत्साहन गर्न र उत्साह दिइरहनको लागि विभिन्‍न प्रकारका धुन र तालमा गीतहरू गुनगुनाउथे। तिनीहरूले हरेक दिन, हरेक वर्षलाई अद्वितीय तुल्याउँदै घाँस-पात, रूख-पात, र हरेक इन्च माटोमा आनन्द थपे…। तिनीहरूले आफ्‍नै भाषा र तौर-तरिकाद्वारा सबै जीवित प्राणीहरूकहाँ जानकारी प्रसारण गरे। तिनीहरूले आफ्‍नै विशेष जीवनशैलीको प्रयोग गर्दै सबै कुरामा चिन्‍ह लगाउँथे, जसमा तिनीहरूले आफ्‍ना छाप छोड्थे…। माटो, घाँस-पात, र वन-जङ्गलसँग तिनीहरूको सम्‍बन्ध घनिष्ठ थियो, र तिनीहरूले माटो, घाँस-पात, र वन-जङ्गलमा जोस र जीवनशक्ति ल्याए। तिनीहरूले सबै जीवित प्राणीहरूकहाँ सृष्टिकर्ताको प्रोत्‍साहन र अभिवादन ल्याए …

आफूले सृष्टि गरेका सबै थोकमाथि सृष्टिकर्ताले नजर लगाउनुभयो, र यस क्षणमा उहाँको नजर वन-जङ्गल र पहाड-पर्वतमा रोकियो, उहाँको मन त्यसमा केन्द्रित भयो। उहाँका वचनहरू उच्‍चारण गरिएपछि, घना जङ्गलमा, र पहाडहरूमा एक प्रकारका प्राणीहरू देखा परे जुन पहिले कहिल्यै देखिएका थिएनन्: ती परमेश्‍वरको मुखले बोल्नुभएका वन-पशुहरू थिए। चाँडै नै, तिनीहरूले आफ्‍ना शिर हल्‍लाए र आफ्‍ना पुच्छर हल्‍लाए, हरेकका आ-आफ्‍नै अद्वितीय अनुहार थिए। कतिको भुवादार वस्‍त्र थियो, कति कवचधारी थिए, कति तीखा दाँत भएका थिए, कतिको पङ्क्तिबद्ध दाँत थिए, कति लामो घाँटी भएका थिए, कति छोटो पुच्छर भएका थिए, कति ठूला-ठूला आँखा भएका थिए, कति कमजोर नजरका थिए, कतिले घाँस खान निहुरिनुपर्थ्यो, कतिले मुखभरि रगत बोकेका हुन्थे, कति दुई खुट्टाले बुरुक्‍क-बुरुक्‍क उफ्रन्थे, कति चार खुरले हिँड्थे, कतिले रुखको टुप्पामा बसेर टाढा-टाढा हेर्थे, कति जङ्गलमा पस्रेर पर्खन्थे, कति विश्राम गर्नलाई गुफाहरू खोज्थे, कति समथर भूमिमा दौडँदै उल्‍लसित भइरहेका हुन्थे, कति वन-जङ्गलमा सिकारको खोजी गरिरहेका हुन्थे…; कति गर्जिरहेका हुन्थे, कति कुकुर रोएझैँ कराइरहेका हुन्थे, कति भुकिरहेका हुन्थे, कति रोइरहेका हुन्थे…; कति उच्‍च स्वरका थिए, कति मध्यम स्वरका, कति पूर्ण स्वरका, कति स्पष्ट र सुमधुर थिए…; कति डरलाग्दा थिए, कति सुन्दर थिए, कति घिनलाग्दा थिए, कति समाऊँ-समाऊँ लाग्दा थिए, कति भयानक थिए, कति मोहक थिए…। पालैपालो, तिनीहरू प्रत्येक देखा परे। तिनीहरू कति उच्‍च र शक्तिशाली छन्, स्वतन्त्र, एकअर्कालाई एक नजर हेर्ने झमेलामा नपरी एकअर्काको परवाह नगर्ने खालका छन्…। ती सबै सृष्टिकर्ताद्वारा दिइएको जीवन, र आफ्‍नै जङ्गलीपन र जनावरपन वहन गर्दै, वन-जङ्गलमा र पहाड-पर्वतमा देखा परे। सबैभन्दा घृणित, त्यति अभिमानले भरिएका—तिनीहरूलाई कसले पहाड-पर्वत र वन-जङ्गलका साँचो मालिकहरू तुल्यायो? सृष्टिकर्ताले तिनीहरू देखा पर्ने घटनाको प्रबन्ध गर्नुभएको क्षणदेखि नै, तिनीहरूले वन-जङ्गल र पहाड-पर्वतलाई “दाबी गरे”, किनभने सृष्टिकर्ताले पहिले नै तिनीहरूको सीमामा मोहर लगाइक्‍नुभएको थियो र तिनीहरूको अस्तित्वको क्षेत्रलाई निर्धारित गरिसक्‍नुभएको थियो। तिनीहरू मात्रै पहाड-पर्वत र वन-जङ्गलका साँचो प्रभुहरू थिए, अनि त्यही कारणले गर्दा नै तिनीहरू त्यति उग्र, त्यति घृणित थिए। सबै प्राणीमध्ये तिनीहरू नै साँचो रूपमा जङ्गली, पाशविक, र सधाउन नसकिने थिए, र खासमा यही कारणले नै तिनीहरूलाई “वन-पशुहरू” भनियो। तिनीहरूलाई सधाउन सकिँदैनथियो, त्यसैले तिनीहरूलाई पाल्‍न सकिँदैनथियो, र तिनीहरू मानवजातिसँग मिलेर बस्‍न वा मानवजातिको खातिर परिश्रम गर्न सक्दैनथिए। तिनीहरूलाई पाल्‍न नसकिने, तिनीहरूले मानवजातिको लागि काम गर्न नसक्‍ने भएकाले नै तिनीहरू मानवजातिबाट टाढा बस्‍नुपर्थ्यो, र मानिस तिनीहरूको नजिक जान सक्दैनथियो। तिनीहरू मानवजातिबाट टाढा बस्‍नुपर्ने भएकोले र मानिस तिनीहरूको नजिक जान नसक्‍ने भएकोले, सृष्टिकर्ताले तिनीहरूलाई प्रदान गर्नुभएको जिम्‍मेवारी अर्थात् पहाड-पर्वत र वन-जङ्गललाई रक्षा गर्ने काम तिनीहरूले पूरा गर्न सके। तिनीहरूको जङ्गलीपनले पहाड-पर्वतलाई सुरक्षा दियो र वन-जङ्गलको रखवारी गऱ्यो, र यो तिनीहरूको अस्तित्व र सन्तान उत्पादनको लागि सबैभन्दा उत्तम सुरक्षा र सुनिश्‍चितता थियो। यसका साथै, तिनीहरूको जङ्गलीपनले सबै थोकको बीचमा सन्तुलन कायम राख्यो र यसको सुनिश्‍चितता प्रदान गर्‍यो। तिनीहरूको आगमनले पहाड-पर्वत र वन-जङ्गललाई सहयोग र सुरक्षा मिल्यो; तिनीहरूको आगमनले अचल र रित्तो पहाड-पर्वत र वन-जङ्गलमा असीमित जोस र जीवन-शक्ति ल्यायो। यस विन्दुदेखि यता, पहाड-पर्वत र वन-जङ्गल तिनीहरूको स्थायी वासस्थान बने, र तिनीहरूले कहिल्यै आफ्‍नो घर गुमाउनेवाला थिएनन्, किनभने तिनीहरूकै लागि नै पहाड-पर्वत र वन-जङ्गल देखा परेका र अस्तित्वमा आएका थिए; वन-पशुहरूले आफ्‍नो कर्तव्य पूरा गर्नेवाला थिए र तिनलाई सुरक्षित गर्नको लागि आफूले सक्‍ने सबै गर्नेवाला थिए। त्यसरी नै, वन-पशुहरूले तिनीहरूको क्षेत्रलाई कायम राख्‍न, र सृष्टिकर्ताले स्थापित गर्नुभएका सबै थोकमा सन्तुलन कायम राख्‍न तिनीहरूको पाशविक प्रकृतिलाई निरन्तर प्रयोग गर्नको लागि सृष्टिकर्ताले दिनुभएका आदेशहरूलाई कडाइका साथ पालन गर्नेवाला थिए, र सृष्टिकर्ताको अख्‍तियार र शक्तिलाई प्रदर्शन गर्नेवाला थिए!

सृष्टिकर्ताको अख्‍तियारको अधीनतामा, सबै थोक सिद्ध छन्

चराचुरुङ्गी र माछा, रूख-बिरुवा र फूलहरूजस्ता चल्‍न सक्‍ने र चल्‍न नसक्‍नेलगायत, र छैटौं दिनमा बनाइएका चौपाया, कीराफट्याङ्ग्रा, र वन-पशुहरूलगायत, परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोक—परमेश्‍वरको नजरमा ती सबै असल थिए, यसका साथै, परमेश्‍वरको नजरमा उहाँको योजनाअनुसार, यी कुरा सबैले सिद्धताको शिखर प्राप्त गरेका थिए र तिनीहरू परमेश्‍वरले हासिल गर्न चाहनुभएका मापदण्डहरूमा पुगेका थिए। सृष्टिकर्ताले चरणबद्ध रूपमा आफ्‍नो योजनाअनुरूप नै आफ्‍नो अभिप्रायको काम गर्नुभयो। उहाँले एकपछि अर्को गर्दै सृष्टि गर्ने अभिप्राय राख्‍नुभएका कुराहरू देखा परे, र हरेक कुराको देखा पराइ सृष्टिकर्ताको अख्‍तियारको प्रतिबिम्‍ब, उहाँको अख्‍तियारको मूर्तता थियो; यो मूर्तताको कारण, सारा जीव सृष्टिकर्ताको अनुग्रह र बन्दोबस्‍तप्रति आभारी नभई बस्‍न सकेनन्। परमेश्‍वरका आश्‍चर्यजनक कार्यहरू आफै प्रकट हुने क्रममा, यो संसार एक-एक गरी परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराद्वारा भरिपूर्ण भए, र यो लथालिङ्गपन र अन्धकारबाट स्पष्टता र ज्योतिमा, मृत्युको सन्नाटादेखि जीवन्त र असीमित जीवनशक्तिमा परिवर्तन भयो। सृष्टिका सबै थोकमाझ, ठूलादेखि सानासम्‍म, सानादेखि अति सूक्ष्‍मसम्‍म, सृष्टिकर्ताको अख्‍तियार र शक्तिले सृष्टि नगरेको केही पनि थिएन, र हरेक जीवको अस्तित्वको अद्वितीय र अन्तर्निहित आवश्यकता र मूल्य थियो। तिनीहरूको आकार र संरचनामा रहेका भिन्‍नताहरूको बाबजुद पनि, तिनीहरूलाई सृष्टिकर्ताले उहाँको अख्तियारको अधीनमा रही जिउने गरी बनाउनुभएको थियो। कहिलेकाहीँ मानिसहरूले एउटा अत्यन्तै कुरूप कीरा देख्छन्, अनि भन्छन्, “त्यो कीरा अत्यन्तै भयानक छ, त्यसकारण यस्तो कुरूप थोक परमेश्‍वरले बनाउनुभएको हुँदै-होइन—उहाँले त्यस्तो कुरूप थोक सृष्टि गर्न सक्‍नुहुन्‍न।” कस्तो मूर्ख सोच! तिनीहरूले त यसो भन्‍नुपर्ने हो, “यो कीरा यति कुरूप भए पनि, परमेश्‍वरले नै यसलाई बनाउनुभएको हो, त्यसकारण पक्‍कै पनि यसको आफ्‍नै अद्वितीय उद्देश्य हुनुपर्छ।” परमेश्‍वरका विचारहरूमा, आफूले सृष्टि गर्नुभएका विभिन्‍न जीवित प्राणीहरूलाई उहाँले हरेक स्वरूप र हरेक प्रकारका प्रकार्य र प्रयोजनहरू दिने अभिप्राय राख्‍नुभएको थियो, त्यसकारण परमेश्‍वरले बनाउनुभएका कुराहरू एकै प्रकारका थिएनन्। तिनीहरूको बाहिरी रूपदेखि भित्री बनावटसम्‍म, तिनीहरूको जिउने शैलीदेखि तिनीहरूले ओगट्ने स्थानसम्‍म—हरेक कुरा फरक छ। गाईसँग गाईकै रूप हुन्छ, गधासँग गधाकै रूप हुन्छ, मृगसँग मृगकै रूप हुन्छ, र हात्तीसँग हात्तीकै रूप हुन्छ। कुनचाहिँ सबैभन्दा राम्रो देखिन्छ, र कुनचाहिँ सबैभन्दा कुरूप देखिन्छ भनेर के तैँले भन्‍न सक्छस्? कुनचाहिँ सबैभन्दा उपयोगी छ, र कुनको अस्तित्व सबैभन्दा कम आवश्यक छ भनेर के तैँले भन्‍न सक्छस्? कतिपय मानिसहरूलाई हात्तीको रूप मन पर्छ, तर जमिनमा खेती गर्नको लागि कसैले पनि हात्तीको प्रयोग गर्दैन; कतिलाई सिंह र बाघको रूप मन पर्छ, किनभने तिनीहरूका रूप सबै थोकभन्दा आकर्षक देखिन्छन्, तर के तँ तिनलाई घरपालुवा जनावरको रूपमा राख्‍न सक्छस्? छोटकरीमा भन्नुपर्दा, जब सृष्टिका असंख्य थोकको कुरा आउँछ, मानिसले सृष्टिकर्ताको अख्तियारलाई काम गर्न दिनुपर्छ, भन्‍नुको अर्थ, सृष्टिकर्ताले यावत् थोकको निम्ति तय गर्नुभएको क्रमलाई काम गर्न दिनुपर्छ; सबैभन्दा बुद्धिमानी आचरण यही हो। सृष्टिकर्ताका मौलिक अभिप्रायहरूको खोजी गर्ने, र त्यसको पालना गर्ने आचरण मात्रै सृष्टिकर्ताको अख्‍तियारको साँचो स्वीकार र सुनिश्‍चितता हो। यो, परमेश्‍वरको नजरमा असल हो, त्यसकारण, मानिसले गल्ती भेट्टाउनुको कारण के हो त?

यसरी, सृष्टिकर्ताको अख्‍तियारअन्तर्गतका यावत् थोकले सृष्टिकर्ताको सार्वभौमिकताको नयाँ जयगान गाउनुपर्छ, उहाँले नयाँ दिनमा गर्नुभएको कामको लागि सानदार शुभारम्भ गर्नुपर्छ, र यस क्षणमा सृष्टिकर्ताले उहाँको व्यवस्थापन कार्यमा नयाँ पृष्ठ पनि खोल्‍नुहुनेछ। वसन्तमा मुना उम्रने, ग्रीष्ममा पाक्‍ने, शरदमा कटनी गर्ने, र शिशिरमा भण्डारण गर्नेसम्‍बन्धी सृष्टिकर्ताले तोक्‍नुभएको नियमअनुसार, सबै थोकले सृष्टिकर्ताको व्यवस्थापन योजनालाई प्रतिबिम्‍बित गर्नेछन्, र तिनीहरूले आफ्नो नयाँ दिन, नयाँ सुरुवात, र नयाँ जीवन यात्रालाई स्वागत गर्नेछन्। सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा हरेक दिनलाई स्वागत गर्नको लागि तिनीहरू जिइरहनेछन् र अनवरत रूपमा वृद्धि हुँदै जानेछन् …

सृष्टि गरिएको र सृष्टि नगरिएको कुनै पनि प्राणीले सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन

उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने परमेश्‍वरले सबै थोक सृष्टि गर्न वचनको प्रयोग गर्नुभयो। उहाँले तिनीहरूलाई जसरी सृष्टि गर्नुभए तापनि, तिनीहरूलाई जुन कारणले सृष्टि गर्नुभए तापनि, सबै थोक उहाँकै वचनको कारण हुन आए र दृढ भई खडा भए र अस्तित्वमा रहे; सृष्टिकर्ताको अद्वितीय अख्‍तियार यही नै हो। संसारमा मानवजाति देखा पर्नुभन्दा पहिलेको समयमा, सृष्टिकर्ताले मानवजातिको लागि सबै थोक सृष्टि गर्न आफ्‍नो शक्ति र अख्तियार प्रयोग गर्नुभयो, र मानवजातिको लागि जिउने उपयुक्त वातावरण तयार गर्नको लागि आफ्ना अद्वितीय विधिहरूको प्रयोग गर्नुभयो। उहाँले गर्नुभएका सबै कुरा मानवजातिको तयारीको लागि थियो, जसले चाँडै नै उहाँको सास प्राप्त गर्नलागेका थिए। भन्‍नुको अर्थ, मानवजातिको सृष्टि गरिनुभन्दा पहिलेको समयमा, मानवजातिभन्दा फरक रहेका सबै प्राणीमा, स्वर्ग, ज्योति, समुद्र र भूमिजस्ता ठूला कुराहरूमा, र पशु-प्राणी र चराचुरुङ्गीजस्ता साना कुरामा, साथै नाङ्गो आँखाले देख्‍न नसकिने विभिन्‍न प्रकारका ब्याक्टेरियालगायत कीरा-फट्याङ्ग्रा र सूक्ष्मजीवमा परमेश्‍वरको अख्‍तियार प्रदर्शन गरिएको थियो। हरेकलाई सृष्टिकर्ताको वचनले जीवन दिएको थियो, सृष्टिकर्ताकै वचनको कारण सबै कुरा सङ्ख्यामा वृद्धि भए, र उहाँकै वचनको कारण सबै कुरा नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा जिए। तिनीहरूले सृष्टिकर्ताको सास प्राप्त नगरेका भए तापनि, आफ्ना विभिन्‍न रूप र संरचनाद्वारा नै सृष्टिकर्ताद्वारा तिनीहरूलाई दिइएको जीवन-शक्ति प्रदर्शन गरे; सृष्टिकर्ताले मानवजातिलाई दिनुभएको बोल्‍न सक्‍ने क्षमता तिनीहरूले प्राप्त नगरे तापनि, सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको जीवन व्यक्त गर्ने तरिका तिनीहरू सबैले प्राप्त गरे, जुन मानिसको भाषाभन्दा फरक थियो। सृष्टिकर्ताको अख्‍तियारले अचल देखिने भौतिक वस्तुलाई त्यो कहिल्यै हराएर नजाओस् भनेर जीवनशक्ति मात्र दिँदैन, तर उहाँले हरेक जीवित प्राणीलाई सन्तान पैदा गरेर वृद्धि हुने प्राकृतिक गुण पनि दिनुहुन्छ, ताकि तिनीहरू कहिल्यै हराएर नजाऊन्, ताकि सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएका बाँच्‍नेसम्‍बन्धी नियम र सिद्धान्तहरूलाई तिनीहरूले एकपछि अर्को पुस्ता गर्दै हस्तान्तरण गर्दै जाऊन्। सृष्टिकर्ताले आफ्‍नो अख्‍तियार जुन किसिमले प्रयोग गर्नुहुन्छ त्यसले बृहत् वा सूक्ष्‍म दृष्टिकोणलाई कठोरताको साथ पालना गर्दैन, र यो कुनै पनि रूपमा सीमित छैन; उहाँले ब्रह्माण्डका सञ्चालनलाई आदेश दिन र सबै थोकको जीवन र मृत्युमाथि सार्वभौमिकता राख्‍न सक्‍नुहुन्छ, यसका साथै, सबै थोकले उहाँकै सेवा गरून् भनेर तिनलाई मिलाउनुहुन्छ; उहाँले पहाड-पर्वत, नदीनाला, र तालतलैयाले कसरी काम गर्छन् तिनलाई व्यवस्थापन गर्न, र तिनीहरूभित्र भएका कुराहरूलाई शासन गर्न सक्‍नुहुन्छ, त्यसबाहेक, उहाँ सबै थोकलाई जे चाहिन्छ त्यो प्रदान गर्न सक्‍नुहुन्छ। मानवजातिबाहेक सबै थोकको बीचमा सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको प्रकटीकरण यही नै हो। त्यस्तो प्रकटीकरण जीवनकालको लागि मात्रै होइन; यो कहिल्यै सकिँदैन, न त यसले विश्राम नै गर्छ, र यसलाई कुनै पनि व्यक्ति वा थोकले परिवर्तन गर्न वा क्षति पुऱ्याउन सक्दैन, न त कुनै पनि व्यक्ति वा थोकले यसलाई थप्‍न वा घटाउन नै सक्छ—किनभने कसैले पनि सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन, त्यसकारण सृष्टिकर्ताको अख्‍तियारलाई सृष्टि गरिएको कुनै पनि प्राणीले प्रतिस्थापन गर्न सक्दैन; सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई प्राप्त गर्न सक्दैन। उदाहरणको लागि, परमेश्‍वरका दूतहरू र स्वर्गदूतहरूलाई लिऊँ। तिनीहरूसँग परमेश्‍वरको शक्ति छैन, सृष्टिकर्ताको अख्तियार हुने कुरा त परै जाओस्, र तिनीहरूमा सृष्टिकर्ताको सार नभएको कारण तिनीहरूमा परमेश्‍वरको शक्ति र अख्‍तियार हुँदैन। परमेश्‍वरका दूत र स्वर्गदूतहरूजस्ता सृष्टि नगरिएका प्राणीहरूले परमेश्‍वरको सट्टामा केही कुरा गर्न सक्‍ने भए तापनि, परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्। तिनीहरूसँग मानिसमा नभएका केही शक्ति भए तापनि, परमेश्‍वरको अख्‍तियार छैन, अर्थात् सबै थोक सृष्टि गर्ने, सबै थोकमाथि हुकुम गर्ने, र सबै थोकमाथि सार्वभौमिकता राख्‍ने परमेश्‍वरको अख्‍तियार तिनीहरूसँग छैन। त्यसकारण, परमेश्‍वरको अद्वितीयतालाई सृष्टि नगरिएको प्राणीले प्रतिस्थापन गर्न सक्दैन, त्यसरी नै, सृष्टि नगरिएको कुनै पनि प्राणीले परमेश्‍वरको अख्‍तियार र शक्तिलाई प्रतिस्थापन गर्न सक्दैन। के बाइबलमा, परमेश्‍वरको कुनै दूतले सबै थोक सृष्टि गर्‍यो भनेर तैँले पढेको छस्? परमेश्‍वरले सबै थोक सृष्टि गर्नको लागि किन आफ्नो कुनै पनि दूत वा स्वर्गदूतलाई खटाउनुभएन? किनभने तिनीहरूसँग परमेश्‍वरको अख्‍तियार थिएन, त्यसकारण परमेश्‍वरको अख्‍तियार प्रयोग गर्ने क्षमता तिनीहरूसँग थिएन। सबै प्राणी जस्तै, तिनीहरू सबै नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा, र सृष्टिकर्ताको अख्तियारको अधीनमा छन्, त्यसरी नै, सृष्टिकर्ता तिनीहरूका परमेश्‍वर र तिनीहरूका सार्वभौम हुनुहुन्छ। तिनीहरूमध्ये हरेकको बीचमा—चाहे ती कुलीन वा नीच होऊन्, ठूलो शक्ति भएको वा सानो शक्ति भएका होऊन्—सृष्टिकर्ताको अख्‍तियारलाई नाघ्‍न सक्‍ने एउटै छैन, त्यसकारण, तिनीहरूका बीचमा, सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्‍ने एउटै छैन। तिनीहरूलाई कहिल्यै पनि परमेश्‍वर भनिनेछैन, र तिनीहरू कहिल्यै पनि सृष्टिकर्ता बन्‍न सक्‍नेछैनन्। यी अपरिवर्तनीय सत्यता र तथ्य हुन्!

माथिको सङ्गतिबाट, के हामी निम्‍न कुरालाई जोड दिन सक्छौं त: सबै थोकका सृष्टिकर्ता र शासक, जोसँग अद्वितीय अख्‍तियार र अद्वितीय शक्ति छ, उहाँलाई मात्र अद्वितीय परमेश्‍वर भन्‍न सकिन्छ? यस बिन्दुमा, त्यस्तो प्रश्‍न अत्यन्तै गहन छ भन्‍ने तिमीहरूलाई लाग्‍न सक्छ। तिमीहरू एक क्षणको लागि यसलाई बुझ्‍न सक्दैनौ, र यसभित्रको सारलाई बुझ्‍न सक्दैनौ, त्यसकारण अहिलेको लागि तिमीहरूलाई उत्तर दिनु कठिन छ भन्‍ने लाग्छ। त्यस हकमा, मैले मेरो सङ्गतिलाई जारी राख्‍नुपर्छ। त्यसपछि, म तिमीहरूलाई परमेश्‍वरको स्वामित्वमा मात्रै रहेको अख्‍तियार र शक्तिको विभिन्‍न पक्षका वास्तविक कामहरू देख्‍ने तुल्याउनेछु, यसरी म तिमीहरूलाई परमेश्‍वरको अद्वितीयपन, र उहाँको अद्वितीय अख्‍तियार भनेको के हो त्यसलाई साँचो रूपमा बुझ्‍ने, कदर गर्ने, र जान्‍ने तुल्याउनेछु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्