परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २ (भाग छ)

मलाई विश्‍वास छ कि, अय्यूबको गवाही र उनको सम्बन्धमा रहेका विभिन्न पक्षका विवरण सुनेपछि, अधिकांश मानिसले अगाडिको मार्गका लागि योजनाहरू बनाउनेछन्। त्यसरी नै म विश्‍वास गर्छु कि चिन्ता र डरले भरिएका प्रायजसो मानिसले बिस्तारै शरीर र मनमा शान्ति पाउन थाल्नेछन् र अलिअलि गर्दै आराम महसुस गर्न थाल्नेछन् …

तलका खण्डहरू पनि अय्यूबसम्‍बन्धी विवरण हुन्। हामी पढ्दै जाऔं।

४. अय्यूबले कानद्वारा परमेश्‍वरको बारेमा सुन्छन्

अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई देख्दिनँ: उहाँ जानु हुन्छ, तर म उहाँलाई देख्दिनँ।

अय्यूब २३:८-९ हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्‍न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ तर म उहाँलाई देख्‍न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ।

अय्यूब ४२:२-६ मलाई थाहा छ तपाईंले सबै थोक गर्न सक्‍नुहुन्छ, अनि तपाईंदेखि कुनै पनि विचारलाई रोक्‍न सकिन्‍न। कसले ज्ञानविना मेरा सल्लाहलाई लुकाउँछ? यसैले मैले नबुझ्‍ने कुरा मैले बोलेको छु; मेरो निम्ति अत्यन्तै अचम्मका कुराहरू, जुन मलाई थाहा थिएन। सुन्‍नुहोस्, म तपाईंलाई बिन्ती गर्छु, अनि म बोल्‍नेछु: म तपाईंसँग माग गर्छु र तपाईंलाई मप्रति घोषणा गर्छु। मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्‍चाताप गर्छु।

परमेश्‍वरले आफैलाई अय्यूबको सामु प्रकट नगर्नुभएको भए पनि, अय्यूबले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दछन्

यी शब्दले जोड दिएको कुरा के हो? यसमा एउटा तथ्य छ भन्‍ने तिमीहरूमध्ये कसैलाई थाहा छ? सर्वप्रथम, अय्यूबले परमेश्‍वर हुनुहुन्छ भनेर कसरी थाहा पाए? अनि, परमेश्‍वरले नै स्वर्ग, पृथ्वी र सबै थोकमाथि शासन गर्नुहुन्छ भनी तिनले कसरी जाने? यो एउटा खण्डले यी दुई प्रश्‍नको उत्तर दिन्छ: “मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्‍चाताप गर्छु” (अय्यूब ४२:५-६)। यी शब्दबाट हामी के सिक्छौं भने परमेश्‍वरलाई आफ्नै आँखाले देख्नुको सट्टा अय्यूबले परमेश्‍वरबारे पौराणिक कथाबाट जानेका थिए। यीनै परिस्थितिमा तिनी परमेश्‍वरलाई पछ्याउने मार्गमा हिँड्न थाले, अनि पछि तिनले आफ्नो जीवनलगायत सबै कुरामा परमेश्‍वरको अस्तित्व भएको पुष्टि गरे। यहाँ एउटा इन्कार गर्न नसकिने तथ्य छ—त्यो के हो त? परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग रहने मार्गमा लाग्न सके पनि अय्यूबले परमेश्‍वरलाई कहिल्यै देखेका थिएनन्। यस कुरामा तिनी आजका मानिसजस्तै थिएनन् र? अय्यूबले कहिल्यै परमेश्‍वरलाई देखेका थिएनन्, यसको अर्थ, तिनले परमेश्‍वरबारे सुनेको भए पनि, परमेश्‍वर कहाँ हुनुहुन्छ? अथवा परमेश्‍वर कस्तो हुनुहुन्छ? वा परमेश्‍वरले के गर्दै हुनुहुन्छ? यी कुरा तिनलाई थाहा थिएन। यी सबै व्यक्तिपरक तथ्य हुन्; निष्पक्ष रूपमा भन्नुपर्दा, तिनले परमेश्‍वरलाई पछ्याएको भए पनि परमेश्‍वर कहिल्यै तिनको अगि देखा पर्नुभएन वा तिनीसँग बोल्नुभएन। के यो तथ्य होइन र? परमेश्‍वरले अय्यूबसँग बोल्‍नुभएको थिएन वा तिनलाई कुनै आज्ञा दिनुभएको थिएन, तैपनि अय्यूबले परमेश्‍वरको अस्तित्व र सबै कुरामा रहेको उहाँको सार्वभौमिकतालाई देखेका थिए, र अय्यूबले कानले सुनेर परमेश्‍वरबारे पौराणिक कथाहरूबाट थाहा पाएपछि परमेश्‍वरको भय मान्‍ने र खराबीबाट अलग बस्‍ने जीवन बिताउन थालेका थिए। अय्यूबले परमेश्‍वरलाई पछ्याउने कार्यको सुरुवात र प्रक्रिया यही थियो। तर तिनले परमेश्‍वरको जति नै भय माने पनि र खराबीबाट जति नै अलग बसे पनि, आफ्नो निष्ठामा जति नै अडिग भए पनि, परमेश्‍वर अझै तिनीकहाँ देखापर्नुभएन। हामी यो खण्ड पढौं। तिनले भने, “हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई देख्दिनँ: उहाँ जानु हुन्छ, तर म उहाँलाई देख्दिनँ” (अय्यूब ९:११)। यी शब्दका अर्थ के हुन् भने अय्यूबले आफ्नो वरिपरि परमेश्‍वरको अनुभव गरेका हुन सक्छन् वा नहुन सक्छन्—तर तिनले परमेश्‍वरलाई कहिल्यै पनि देख्‍न सकेका थिएनन्। कहिलेकहीँ तिनले परमेश्‍वर तिनको अगिअगि जानुभएको, वा उहाँले काम गर्नुभएको, वा अगुवाइ गर्नुभएको कल्पना गर्थे, तर त्यस्तो घटनाबारे कहिल्यै जानेका थिएनन्। परमेश्‍वर मानिसकहाँ त्यसबेला आउनुहुन्छ जब उसले आशा गरेको हुँदैन; परमेश्‍वर कहिले आफूकहाँ आउनुहुन्छ वा कहाँ उसको सामने आउनुहुन्छ सो उसलाई थाहा हुँदैन, किनकि मानिसले परमेश्‍वरलाई देख्न सक्दैन, यसैले मानिसको लागि परमेश्‍वर ऊबाट लुक्नुभएको छ।

परमेश्‍वर अय्यूबबाट लुक्नुभएको तथ्यले उहाँमाथिको तिनको विश्‍वासलाई हल्लाएन

तलको धर्मशास्त्रको खण्डमा त्यसपछि अय्यूब भन्छन्, “हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्‍न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ तर म उहाँलाई देख्‍न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ” (अय्यूब २३:८-९)। यस विवरणमा हामी के थाहा पाउछौं भने अय्यूबका अनुभवअनुसार परमेश्‍वर पूर्ण रूपमा तिनीबाट लुक्नुभएको थियो; परमेश्‍वर खुल्लमखुल्ला तिनीकहाँ देखापर्नुभएको थिएन, न त उहाँले तिनीसँग खुल्लमखुल्ला कुनै वचन नै बोल्नुभएको थियो, तर पनि अय्यूब आफ्नो हृदयमा परमेश्‍वरको अस्तित्वप्रति विश्‍वस्त थिए। तिनले सधैँ परमेश्‍वर तिनको अगिअगि हिँडिरहनुभएको हुन सक्छ, वा तिनको छेउमा काम गरिरहनुभएको हुन सक्छ, र तिनले परमेश्‍वरलाई देख्न नसके पनि परमेश्‍वर तिनको छेउमा हुनुहुन्छ, अनि तिनीसँग सम्‍बन्धित सबैथोक सञ्चालन गर्दैहुनुहुन्छ भन्‍ने विश्‍वास गर्थे। अय्यूबले कहिल्यै परमेश्‍वरलाई देखेका थिएनन्, तर तिनी आफ्नो विश्‍वासमा दृढ रहन सक्षम थिए, जुन अरू कुनै व्यक्तिले गर्न सकेन। किन अरू मानिसले त्यसो गर्न सकेनन्? किनकि परमेश्‍वर अय्यूबसँग बोल्नुभएन वा तिनको सामु देखा पर्नुभएन, र यदि तिनले साँच्चै विश्‍वास नगरेको भए तिनी अघि बढ्न सक्‍नेथिएनन्, न त परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग बस्ने मार्गमा नै लाग्न सक्थे। के यो सत्य होइन? जब तँ अय्यूबले भनेका यी वचनहरू पढ्छस् तब तँलाई कस्तो लाग्छ? के तँलाई अय्यूबको सिद्धता र सोझोपन र परमेश्‍वरको सामु तिनको धार्मिकता साँचो हो, र परमेश्‍वरको तर्फबाट अतिशयोक्ति होइन भन्‍ने लाग्छ? परमेश्‍वरले अय्यूबलाई अन्य मानिसहरूसँग झैं व्यवहार गर्नुभयो र तिनको सामु देखा पर्नुभएन वा कुरा गर्नुभएन, तैपनि अय्यूब अझै पनि आफ्नो निष्ठामा अडिग रहे, तिनले अझै पनि परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास राखे र यसबाहेक, परमेश्‍वरलाई चिढ्याउँछु कि भन्‍ने डरको कारण तिनले बारम्बार होमबलि चढाए र परमेश्‍वरलाई प्रार्थना गरे। परमेश्‍वरले नदेखे पनि उहाँको भय मान्ने अय्यूबको क्षमतामा, तिनले सकारात्मक कुराहरूलाई कति धेरै प्रेम गर्थे, र तिनको विश्‍वास कत्तिको दृढ र वास्तविक थियो भन्‍ने कुरा देख्छौं। तिनले परमेश्‍वर तिनीबाट लुक्नुभयो भन्दैमा परमेश्‍वरको अस्तित्वलाई इन्कार गरेनन्, न त परमेश्‍वरलाई कहिल्यै नदेखेका कारण आफ्नो विश्‍वास गुमाए र परमेश्‍वरलाई त्यागे। बरु, सबै थोकमाथिको शासनसम्बन्धी परमेश्‍वरको लुकेको कामको बीचमा तिनले परमेश्‍वरको अस्तित्वलाई बुझेका थिए अनि परमेश्‍वरको सार्वभौमिकता र शक्ति महसुस गरे। परमेश्‍वरलाई नदेखे पनि तिनी सोझो हुन छाडेनन्, न त परमेश्‍वर तिनको अगाडि कहिल्यै देखा नपर्नुभएको कारणले नै तिनले परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग बस्ने मार्गलाई नै त्यागे। परमेश्‍वर आफ्नो अस्तित्व प्रमाणित गर्न तिनको अघि देखा परून् भनेर अय्यूबले कहिल्यै अनुरोध गरेनन्, किनकि तिनले सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई देखिसकेका थिए र अरूले प्राप्त नगरेका आशिष्‌ र अनुग्रह आफूले प्राप्त गरेका छन् भन्‍ने विश्‍वास गरे। परमेश्‍वर तिनीबाट लुक्नुभएको भए पनि परमेश्‍वरमाथिको तिनको विश्‍वास कहिल्यै डगमगाएन। यसैले, तिनले अरू कसैले नपाएको फसल कटनी गरे: परमेश्‍वरको अनुमोदन र परमेश्‍वरको आशिष्।

अय्यूबले परमेश्‍वरको नाउँलाई धन्यको भन्छन् र आशिष वा विपत्तिबारे सोच्दैनन्

त्यहाँ एउटा तथ्य छ जसलाई धर्मशास्त्रमा उल्‍लेख गरिएको अय्यूबका कथाहरूमा कहीँ पनि समावेश गरिएको छैन, र आज हामी यही तथ्यमा ध्यान केन्द्रित गर्नेछौं। अय्यूबले कहिल्यै पनि आफ्नो आँखाले परमेश्‍वरलाई देखेका थिएनन् वा आफ्नै कानले परमेश्‍वरका वचनहरू सुनेका थिएनन्, तैपनि अय्यूबको हृदयमा परमेश्‍वरका निम्ति एउटा स्थान थियो। परमेश्‍वरप्रति अय्यूबको दृष्टिकोण कस्तो थियो? यो पहिले उल्‍लेख गरिएको जस्तै हो, “यहोवाको नाउँको प्रशंसा होस्।” तिनले विनासर्त, जस्तोसुकै परिस्थिति भए पनि र कुनै कारणविना परमेश्‍वरको नाउँलाई धन्यको भने। हामी देख्छौं कि अय्यूबले आफ्नो हृदय परमेश्‍वरलाई दिएका थिए, र त्यसलाई परमेश्‍वरद्वारा नियन्त्रण गर्न दिएका थिए; तिनका सबै सोच, सबै निर्णय, आफ्नो हृदयमा बनाएका सबै योजना परमेश्‍वरको अघि उदाङ्गो राखिएका थिए, र परमेश्‍वरबाट लुकाइएका थिएनन्। तिनको हृदय परमेश्‍वरको विरोधमा खडा थिएन, र तिनले परमेश्‍वरसँग कहिल्यै पनि तिनको निम्ति केही गरिदिन वा केही कुरा दिन आग्रह गरेनन्, र परमेश्‍वरको आराधनाबाट कुनै पनि कुरा प्राप्त गर्ने अति नै बढी चाहनाहरू राखेनन्। अय्यूबले परमेश्‍वरसँग व्यापारको कुरा गरेनन्, र कुनै बिन्ती वा मागहरू गरेनन्। तिनले परमेश्‍वरको नाउँको प्रशंसा गर्नुको कारण सबै थोकमाथि शासन गर्ने परमेश्‍वरको महान् शक्ति र अख्तियारका निम्ति थियो, र त्यो तिनले आशिष पाएको वा विपत्तिले प्रहार गरेको कुरामा निर्भर थिएन। परमेश्‍वरले मानिसहरूलाई आशिष दिनुभए पनि वा तिनीहरूमाथि विपत्ति ल्याउनुभए पनि, उहाँको शक्ति र अख्तियार परिवर्तन हुँदैन, यसैले कुनै व्यक्तिका परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ भन्‍ने तिनलाई विश्‍वास थियो। परमेश्‍वरको सार्वभौमिकताको कारण मानिसले परमेश्‍वरद्वारा आशिष पाउँछ, र जब मानिसमाथि विपत्ति आइलाग्‍छ, त्यो पनि परमेश्‍वरको सार्वभौमिकताकै कारणले हो। परमेश्‍वरको शक्ति र अख्तियारले मानिसको सम्बन्धका सबै कुरामाथि शासन र प्रबन्ध गर्छ; मानिसको भाग्यका परिवर्तनहरू परमेश्‍वरको शक्ति र अख्तियारका प्रकटीकरण हुन्, र व्यक्तिको दृष्टिकोण जस्तै भए पनि परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ। अय्यूबले आफ्‍नो जीवनकालमा यही कुरा अनुभव गरे, र यही कुरा थाहा पाए। अय्यूबका सबै विचार र कार्य परमेश्‍वरको कानमा पुगे र उहाँसामु आइपुगे, र उहाँले त्यसलाई महत्त्वपूर्ण कुराको रूपमा हेर्नुभयो। परमेश्‍वरले अय्यूबको यो ज्ञानको कदर गर्नुभयो, र त्यस्तो हृदय भएकोमा अय्यूबलाई मूल्यवान् ठान्नुभयो। त्यो हृदयले सधैँ परमेश्‍वरको आज्ञालाई पर्खन्थ्यो र चाहे जुनै समय वा ठाउँ होस्, सबै स्थानहरूमा आफूमाथि आइपरेको जुनसुकै कुरालाई त्यसले स्वागत गर्थ्यो। अय्यूबले परमेश्‍वरसँग कुनै माग गरेनन्। तिनले परमेश्‍वरबाट आएका सबै प्रबन्धहरू पर्खने, स्वीकार गर्ने, सामना गर्ने, र पालन गर्ने माग आफैसँग गरे; त्यसो गर्नु आफ्नो कर्तव्य हो भन्‍ने विश्‍वास तिनले गरेका थिए, र परमेश्‍वरले पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो। अय्यूबले कहिल्यै पनि परमेश्‍वरलाई देखेका थिएनन्, न त उहाँले बोल्नुभएको कुनै वचन नै सुनेका थिए, न त तिनलाई कुनै आदेश दिइएको थियो, न कुनै शिक्षा दिइएको थियो, न त तिनलाई कुनै निर्देशन दिइएको थियो। आजका शब्दमा भन्नुपर्दा, परमेश्‍वरले सत्यताको सम्बन्धमा तिनलाई कुनै ज्ञान, मार्गनिर्देशन वा प्रावधान नदिनुभएको अवस्थामा पनि, तिनमा परमेश्‍वरप्रति त्यस्तो ज्ञान र आचरण हुनु—त्यो बहुमूल्य कुरा थियो, र तिनले त्यस्तो कुरा प्रकट गर्नु परमेश्‍वरका लागि पर्याप्त थियो, र तिनको गवाहीलाई परमेश्‍वरले प्रशंसा र कदर गर्नुभयो। अय्यूबले कहिल्यै परमेश्‍वरलाई देखेका थिएनन् वा परमेश्‍वरले व्यक्तिगत तवरमा कुनै शिक्षा दिनुभएको सुनेका थिएनन्, तर परमेश्‍वरका निम्ति तिनको हृदय र तिनी स्वयम्‌ पनि ती व्यक्तिहरूभन्दा धेरै बहुमूल्य थिए जो परमेश्‍वरको सामु गहन सिद्धान्तको हिसाबमा मात्र कुरा गर्न सक्थे, जसले केवल बलिदानहरू चढाएका कुरामा मात्र घमन्ड गर्थे, जोसँग परमेश्‍वरबारे कहिल्यै पनि साँचो ज्ञान थिएन, र जो कहिल्यै पनि परमेश्‍वरको भय मान्दैनथे। किनभने अय्यूबको हृदय शुद्ध र परमेश्‍वरबाट लुकेको थिएन, र तिनको मानवता इमानदार र दयालु थियो, र तिनले न्याय र सकारात्मक कुरालाई प्रेम गर्थे। यस्तो हृदय र मानवता भएको मानिसले मात्र परमेश्‍वरको मार्ग अनुसरण गर्नसक्थ्यो, र परमेश्‍वरको भय मान्न र खराबीबाट अलग बस्न सक्थ्यो। त्यस्ता व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई देख्न सक्थ्यो, उहाँको अख्तियार र शक्तिलाई देख्न सक्थ्यो, र उहाँको सार्वभौमिकता र प्रबन्धहरूको आज्ञापालन गर्न सक्थ्यो। केवल त्यस्तो मानिसले मात्र परमेश्‍वरको नाउँको प्रशंसा गर्न सक्दछ। त्यो किनभने परमेश्‍वरले तिनलाई आशिष् दिनुहुन्छ कि तिनीमाथि विपत्ति ल्याउनुहुन्छ भन्‍ने कुरालाई तिनले हेरेनन्; किनकि सबै कुरा परमेश्‍वरकै हातले नियन्त्रण गर्छ, र मानिसले चिन्ता गर्नु भनेको मूर्खता, अज्ञानता र तर्कहीनताको चिन्‍ह हो, सबै कुरामा परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यमा शङ्का गर्नु र परमेश्‍वरसँग नडराउनुको चिन्‍ह हो भन्ने तिनी जान्दथे। अय्यूबको ज्ञान परमेश्‍वरले चाहनुभएको जस्तै थियो। त्यसोभए के अय्यूबसँग परमेश्‍वरबारे तिमीहरूमा भन्दा बढी सैद्धान्तिक ज्ञान थियो? त्यस समयमा परमेश्‍वरका काम र वाणीहरू थोरै थिए, त्यसकारण परमेश्‍वरको ज्ञान प्राप्त गर्न सजिलो कुरा थिएन। अय्यूबले त्यस्तो उपलब्धि गर्नु निकै ठूलो कुरा थियो। तिनले परमेश्‍वरको कामको अनुभव गरेका थिएनन्, न त उहाँ बोल्नुभएको सुनेका थिए, न परमेश्‍वरको अनुहार देखेका थिए। परमेश्‍वरप्रति तिनले त्यस्तो आचरण राख्न सक्षम हुनुको कारण पूर्णतया तिनको मानवता र तिनको व्यक्तिगत खोजी नै थियो, जुन मानवता र खोजी आजका मानिसहरूमा छैनन्। त्यसकारण, त्यस युगमा, परमेश्‍वरले भन्नुभयो, “तिनी जस्तो सिद्ध र सोझो, पृथ्वीमा कोही पनि छैन।” त्यो युगमा परमेश्‍वरले अघिबाटै तिनको बारेमा त्यस्तो मूल्याङ्कन गरिसक्नुभएको थियो, र त्यस्तै निष्कर्षमा पुग्नुभएको थियो। आज यो कतिको सत्य हुनेछ?

परमेश्‍वर मानिसबाट लुक्नुभएको भए पनि, सबै थोकमा भएका उहाँका कामहरू नै उहाँलाई जान्नका निम्ति पर्याप्त छन्

अय्यूबले परमेश्‍वरको अनुहार देखेका थिएनन् वा परमेश्‍वरले बोल्नुभएका वचनहरू सुनेका थिएनन्, व्यक्तिगत रूपमा तिनले परमेश्‍वरको कामको अनुभव गर्ने त कुरै नगरौं, यद्यपि तिनका परीक्षाहरूको समयमा परमेश्‍वरप्रतिको तिनको भय र गवाहीलाई सबैले देखे अनि परमेश्‍वरले ती कुराहरूलाई मन पराउनुभयो, त्यसमा उहाँ प्रसन्न हुनुभयो र उहाँले त्यसको प्रशंसा गर्नुभयो, र मानिसहरूले तिनको ईर्ष्या गरे, र सराहना गरे, अनि त्योभन्दा बढी तिनीहरूले प्रशंसा गाए। तिनको जीवनबारे महान् वा असाधारण कुरा केही पनि थिएन: एउटा सामान्य व्यक्तिले जस्तै तिनले सामान्य जीवन जिए, जो बिहान सूर्य उदाउँदा काम गर्न बाहिर जान्थे र सूर्य अस्ताएपछि आराम गर्न घर फर्कन्थे। भिन्नता यति छ कि तिनको जीवनका धेरै साधारण दशकहरूमा, तिनले परमेश्‍वरको मार्गबारे अन्तर्दृष्टि प्राप्त गरे, र अन्य कुनै व्यक्तिले कहिल्यै थाहा नपाएको परमेश्‍वरको महान् शक्ति र सार्वभौमिकताबारे थाहा पाए र बुझे। तिनी कुनै साधारण व्यक्तिभन्दा चतुर थिएनन्, तिनको जीवन खासै दृढ थिएन, यसबाहेक न त तिनीसँग कुनै विशेष सीप नै थिए। तापनि तिनमा जे थियो त्यो तिनको व्यक्तित्व थियो जुन इमानदार, दयालु र सोझो थियो, एउटा यस्तो व्यक्तित्व जसले निष्पक्षता, धार्मिकता र सकारात्मक कुराहरू मन पराउँथ्यो—यस्ता कुनै पनि कुरा साधारण मानिसहरूमा हुँदैनन्। तिनले प्रेम र घृणाबीच भिन्नता छुट्याउँथे, तिनमा न्यायको अनुभूति थियो, तिनी नझुक्ने र दृढ थिए, र आफ्नो सोचविचारमा तिनले विस्तृत रूपमा सावधानीसाथ ध्यान दिन्थे। यसरी पृथ्वीमा बिताएको तिनको साधारण समयमा तिनले परमेश्‍वरले गर्नुभएका सबै असाधारण कामहरू देखे, र परमेश्‍वरको महानता, पवित्रता र धार्मिकता देखे, र मानिसका निम्ति परमेश्‍वरको चासो, अनुग्रह र सुरक्षा देखे, र सर्वोच्च परमेश्‍वरको सम्मान र अख्तियार देखे। कुनै पनि सामान्य मानिसले प्राप्त गर्न नसक्ने यी थोकहरू अय्यूबले प्राप्त गर्न सक्नुको पहिलो कारण भनेको तिनमा एउटा शुद्ध हृदय थियो, र तिनको हृदय परमेश्‍वरको स्वामित्वमा थियो, र सृष्टिकर्ताद्वारा डोऱ्याइएको थियो। दोस्रो कारण तिनको खोजी थियो: निर्दोष र सिद्ध हुन खोज्थे, र स्वर्गको इच्छा पालन गर्ने, परमेश्‍वरद्वारा प्रेम गरिएको र खराबीबाट अलग बस्‍ने व्यक्ति बन्‍न चाहने तिनको खोजी हुन्थ्यो। परमेश्‍वरलाई देख्न वा परमेश्‍वरका वचनहरू सुन्न नसकेका बेला तिनमा यी कुराहरू थिए र तिनी ती कुराका पछि लागे। तिनले परमेश्‍वरलाई कहिल्यै नदेखेका भए पनि ती साधनहरू जानेका थिए जसद्वारा परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, र त्यो बुद्धिलाई पनि बुझेका थिए जसद्वारा परमेश्‍वरले त्यसो गर्नुहुन्छ। तिनले परमेश्‍वरले बोल्नुभएका वचनहरू कहिल्यै पनि सुनेका थिएनन्, तापनि मानिसलाई इनाम दिने र मानिसबाट फिर्ता लिने सबै काम परमेश्‍वरबाटै हुँदछ भनी जानेका थिए। तिनको जीवनका वर्षहरू कुनै साधारण व्यक्तिको भन्दा फरक थिएनन्, तापनि तिनले आफ्नो जीवनको सामान्यताद्वारा सबै कुरामाथि भएको परमेश्‍वरको सार्वभौमिकतासम्बन्धी तिनको ज्ञानलाई असर पार्न दिएनन्, वा उहाँको भय मान्ने र खराबीबाट अलग रहने मार्गको अनुसरण गर्ने कुरालाई प्रभावित हुन दिएनन्। तिनको नजरमा सबै थोकका नियमहरू परमेश्‍वरका कार्यहरूले भरिएका थिए, र परमेश्‍वरको सार्वभौमिकतालाई व्यक्तिको जीवनको कुनै पनि भागमा देख्न सकिन्छ। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तर तिनले परमेश्‍वरका कामहरू जताततै छन् भनी बुझ्न सके र पृथ्वीमा तिनको सामान्य समयमा तिनले आफ्नो जीवनको हरेक कुनामा परमेश्‍वरका असाधारण र अचम्मका कामहरू देख्न र महसुस गर्न सके, र तिनले परमेश्‍वरको अचम्मका प्रबन्धहरू देख्न सके। परमेश्‍वरको गोप्यता र मौनताले अय्यूबलाई उहाँको काम बुझ्न बाधा दिएनन्, न त ती कुराले सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्ने तिनको ज्ञानलाई नै प्रभावित गरे। तिनको जीवन, तिनको दैनिक जीवनको अवधिमा, परमेश्‍वरका सार्वभौमिकता र व्यवस्थाहरूको पूर्णता थियो, जो सबै थोकहरूमा लुक्नुभएको छ। तिनको दैनिक जीवनमा तिनले परमेश्‍वरको हृदयको आवाज र परमेश्‍वरका वचनहरू पनि सुने र बुझे, जो सबै कुराको बीचमा मौन हुनुहुन्छ, तापनि उहाँले सबै कुराका नियमहरू सञ्चालन गर्दै आफ्नो हृदयको आवाज र बोल्नुभएका वचनहरू व्यक्त गर्नुहुन्छ। यसैले तिमीहरू देख्‍न सक्छौ कि यदि मानिसहरूमा अय्यूबको जस्तै मानवता र खोजी छन् भने तिनीहरूले पनि अय्यूबले जस्तै अनुभूति र ज्ञान प्राप्त गर्न सक्छन्, अनि सबैथोकमाथि भएको परमेश्‍वरको सार्वभौमिकताबारे अय्यूबले जस्तै समझ र ज्ञान प्राप्त गर्न सक्छन्। परमेश्‍वर अय्यूबको सामु देखापर्नुभएको थिएन वा तिनीसँग बोल्नुभएको थिएन, तर तिनी सिद्ध र सोझो हुन, अनि परमेश्‍वरको भय मान्न र खराबीबाट अलग बस्न सके। अर्को शब्दमा, परमेश्‍वर मानिसको सामु देखापर्नुभएन वा बोल्नुभएन भने पनि सबै थोकका बीचमा परमेश्‍वरले गर्नुभएका कामहरू र सबै थोकमाथि रहेको उहाँको सार्वभौमिकता नै परमेश्‍वरको अस्तित्व, शक्ति र अख्तियार हो भनेर थाहा पाउन मानिसका निम्ति पर्याप्त हुन्छ, र मानिसलाई परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग रहने मार्गको अनुसरण गर्न लगाउन परमेश्‍वरको शक्ति र अख्तियार पर्याप्त हुन्छ। अय्यूबजस्ता साधारण व्यक्तिले परमेश्‍वरको भय मान्न र खराबीबाट अलग रहन सके भने, परमेश्‍वरलाई पछ्याउने प्रत्येक साधारण व्यक्तिले पनि त्यसो गर्न सक्नुपर्दछ। यी शब्दहरू तार्किक अनुमान जस्तो लाग्न सक्‍ने भए पनि यस कुराले कामकुराहरूका नियमहरूलाई उल्लङ्घन गर्दैन। यद्यपि तथ्यहरू अपेक्षाहरूसँग मेल खाएनन्: परमेश्‍वरको भय मान्नु र खराबीबाट अलग बस्नु, यो केवल अय्यूबका लागि मात्र संरक्षण गरिएको कुरा हो जस्तो देखिन्छ। “परमेश्‍वरको भय मान्नु र खराबीबाट अलग बस्नु” भन्ने कुरा उल्‍लेख गर्नेबित्तिकै मानिसहरूले यो केवल अय्यूबले मात्र गर्नुपर्ने कुरा हो भन्‍ने सोच्छन्, मानौं परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग बस्ने कुरा अय्यूबको नाउँमा लेखिएको छ र अरू मानिससँग त्यसको केही सम्बन्ध छैन। यसको कारण स्पष्ट छ: अय्यूबसँग मात्र त्यस्तो व्यक्तित्व थियो जो इमानदार, दयालु र सोझो थियो; र जसले निष्पक्षता, धार्मिकता र सकारात्मक कुरालाई प्रेम गर्थे, त्यसैले अय्यूब मात्र परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग बस्ने मार्गमा हिँड्न सके। तिमीहरूले यहाँ सूचित अर्थलाई बुझेको हुनुपर्छ—किनकि इमानदार, दयालु र सोझो मानवता भएको, निष्पक्षता र धार्मिकतालाई प्रेम गर्ने, र सकारात्मक मानवता भएको कोही पनि नभएको हुनाले कसैले पनि परमेश्‍वरको भय मान्दैन र कोही पनि दुष्टताबाट अलग रहन सक्दैन, त्यसकारण मानिसहरूले कहिल्यै पनि परमेश्‍वरको आनन्द प्राप्त गर्न सक्दैन वा परीक्षाहरूको बीचमा दृढ भएर खडा हुन सक्दैन। यसको अर्थ यो पनि हो कि, अय्यूबबाहेक, सबै मानिस अझै पनि शैतानद्वारा बाँधिएका छन् र त्यसको पासोमा छन्; तिनीहरू सबैलाई यसले दोष लगाउँछ, आक्रमण गर्छ र दुर्व्यवहार गर्छ। तिनीहरू सबैलाई शैतानले निल्न खोज्छ, र तिनीहरू सबै स्वतन्त्रताविहीन छन्, शैतानले कैदी बनाएका बन्दीहरू हुन्।

यदि मानिसको हृदयमा परमेश्‍वरप्रति दुस्मनी छ भने, उसले कसरी परमेश्‍वरको भय मान्न र खराबीबाट अलग रहन सक्छ?

आजका मानिसहरूसँग अय्यूबको जस्तै मानवता नभएको हुनाले, तिनीहरूको प्रकृति र सार के हो, र परमेश्‍वरप्रति तिनीहरूको दृष्टिकोण कस्तो छ? के तिनीहरू परमेश्‍वरसित डराउँछन्? के तिनीहरू खराबीबाट टाढा बस्छन्? जो परमेश्‍वरसँग डराउँदैनन् वा खराब कुराहरूबाट अलग बस्‍न सक्दैनन्, तिनीहरूलाई दुईटा शब्दमा व्याख्या गर्न सकिन्छ: “परमेश्‍वरका शत्रुहरू।” तिमीहरूले प्रायजसो यी दुई शब्द बोल्छौ, तर तिमीहरूलाई कहिल्यै पनि त्यसको वास्तविक अर्थ थाहा हुँदैन। “परमेश्‍वरका शत्रुहरू” भन्ने शब्दहरूको सार छ: यी शब्‍दहरूले मानिसलाई परमेश्‍वरले शत्रुको रूपमा हेर्नुहुन्छ भनेर होइन, तर मानिसले परमेश्‍वरलाई शत्रुको रूपमा हेर्छ भनेर बताइरहेका छन्। सर्वप्रथम, जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, तीमध्ये कुन चाहिँमा आफ्नै उद्देश्य, प्रेरणा र महत्त्वाकाङ्क्षाहरू हुँदैनन्? तिनीहरूको एउटा भागले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने र उहाँको अस्तित्वलाई देख्‍ने भए पनि, उहाँमाथिको तिनीहरूको विश्‍वासमा अझै ती अभिप्रायहरू हुन्छन्, र उहाँमा विश्‍वास गर्नुको तिनीहरूको अन्तिम लक्ष्य भनेको उहाँको आशिष्‌ र तिनीहरूले चाहेको कुरा प्राप्त गर्नु हो। मानिसहरूको जीवनका अनुभवहरूमा भने मैले परमेश्‍वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, र उहाँले चाहिँ मलाई के दिनुभएको छ भनेर तिनीहरूले प्रायजसो आफैसँग विचार गर्ने गर्छन्? मैले यसमा थप्नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष्‌ पाएको छु? यस समयमा मैले धेरै थोक दिएको छु, धेरै दौडधूप गरेको छु, र धेरै दुःख भोगेको छु—के त्यसको सट्टामा परमेश्‍वरले मलाई कुनै पनि प्रतिज्ञा गर्नुभएको छ? के उहाँले मेरा असल कामहरू याद गर्नुभएको छ? मेरो अन्त्य कस्तो हुनेछ? के म परमेश्‍वरको आशिष् पाउन सक्छु? … प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाबकिताब गर्दछ, र तिनीहरूले आफ्‍ना अभिप्राय, महत्त्वाकाङ्क्ष र लेनदेनले भरिएका मागहरू परमेश्‍वरसँग गर्छन्। भन्नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत उद्देश्यका लागि निरन्तर परमेश्‍वरसँग तर्क गर्दछ, अनि उसले चाहेको कुरा परमेश्‍वरले दिन सक्नुहुन्छ कि सक्‍नुहुन्न भनी हेर्न परमेश्‍वरबाट एउटा अभिव्यक्ति निकाल्ने कोसिस गर्दछ। यसको साथै, परमेश्‍वरको पछि लाग्दा पनि मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि उहाँसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरिरहेको छ, र उसलाई औँलो दिँदा डुँडुलो निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिइरहेको हुन्छ। मानिसले परमेश्‍वरसँग सौदाबाजी गर्नुका साथसाथै तर्क पनि गर्दछ, अनि कति जना यस्ता मानिसहरू पनि हुन्छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा कमजोर, निष्क्रिय र आफ्नो काममा सुस्त हुन्छन् अनि परमेश्‍वरबारे गुनासै-गुनासो गर्छन्। मानिसले पहिलो पटक परमेश्‍वरमा विश्‍वास गर्नथालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत, हरेक समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्‍वरबाट आशिष् र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, र परमेश्‍वरको जिम्मेवारीचाहिँ मानिसको सुरक्षा र वास्ता गर्नु अनि उसको निम्ति प्रबन्ध गरिदिनु हो। “परमेश्‍वरमाथिको विश्‍वास” बारे उहाँमा विश्‍वास गर्नेहरू सबैको आधारभूत बुझाइ यस्तै हुन्छ, र परमेश्‍वरमा विश्‍वास गर्नुपर्ने अवधारणाबारे तिनीहरूको सबैभन्दा गहिरो बुझाइ यस्तै हुन्छ। मानिसको प्रकृति र सारदेखि उसको व्यक्तिपरक खोजसम्म, परमेश्‍वरको भयसँग सम्बन्धित कुनै कुरा छैन। मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने उद्देश्यसँग परमेश्‍वरको आराधना गर्नुको सम्भवतः कुनै सम्बन्ध छैन। भन्नुको अर्थ, परमेश्‍वरमा विश्‍वास गर्दा उहाँको भय मान्नु र आराधना गर्नु पनि आवश्यक छ भन्‍ने कुरा मानिसले कहिल्यै विचार गरेको छैन, न त बुझेको नै छ। यस्ता अवस्थाहरूलाई विचार गर्दा, मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो? यो यही हो कि मानिसको हृदय द्वेषपूर्ण छ, उसले मनमा धोखा र छल राख्छ, निष्पक्षता र धार्मिकता, साथै जे सकारात्मक छ त्यो मन पराउँदैन, र यो हृदय घृणित र लोभी छ। मानिसको हृदय परमेश्‍वरको निम्ति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो हृदय, परमेश्‍वरलाई पटक्कै दिएको छैन। परमेश्‍वरले कहिल्यै मानिसको साँचो हृदय देख्नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै भएको छ। परमेश्‍वरले जति नै ठूलो मोल तिर्नुभए पनि वा उहाँले जति धेरै काम गर्नुभए पनि, वा उहाँले मानिसका निम्ति जति धेरै प्रबन्ध गर्नु भए पनि, मानिस अन्धो नै रहन्छ र ती सबैप्रति पूर्ण रूपमा उदासीन हुन्छ। मानिसले आफ्नो हृदय परमेश्‍वरलाई कहिल्यै दिएको छैन, उसले केवल आफ्नो हृदयलाई ध्यान दिन, र आफ्नै निर्णयहरू गर्न चाहन्छ—जसको सार के हो भने, मानिसले परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग रहने बाटो पछ्याउन वा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्न चाहँदैन, न त उसले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा आराधना गर्न चाहन्छ। आज मानिसको अवस्था यस्तै छ। अब हामी फेरि अय्यूबलाई हेरौं। सबैभन्दा पहिला, के तिनले परमेश्‍वरसँग सम्झौता गरे? के तिनले परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग बस्ने दृढ अडानको पछि तिनको कुनै अभिप्राय थियो? त्यस समय, के परमेश्‍वरले कसैसँग आउनेवाला अन्त्यबारे कुरा गर्नुभएको थियो? त्यसबेला, परमेश्‍वरले कसैलाई पनि अन्त्यको बारेमा प्रतिज्ञा गर्नुभएन, र यही पृष्ठभूमिमा अय्यूबले परमेश्‍वरको भय माने र खराबीबाट अलग बस्न सके। के आजका मानिसहरू अय्यूबको दाँजोमा खडा हुन सक्छन्? त्यहाँ असमानता धेरै छ; तिनीहरू फरक समूहमा पर्छन्। अय्यूबसँग परमेश्‍वरबारे त्यति धेरै ज्ञान नभएको भए पनि, तिनले आफ्नो हृदय परमेश्‍वरलाई दिएका थिए र त्यो परमेश्‍वरको स्वामित्वमा थियो। तिनले परमेश्‍वरसँग कहिल्यै पनि कुनै सम्झौता गरेनन्, र तिनको कुनै उग्र चाहना थिएन वा तिनले परमेश्‍वरसित कुनै मागहरू राखेनन्; बरु, तिनले यो विश्‍वास गर्थे, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ।” आफ्‍नो जीवनको धेरै वर्षको अवधिमा परमेश्‍वरको भय मानेर अनि खराबीबाट अलग रहेर तिनले यही देखेका र प्राप्त गरेका थिए। त्यसै गरी, तिनले यी शब्दहरूले प्रतिनिधित्व गर्ने नतिजाहरू पनि प्राप्त गरेका थिए: “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र खराबीचाहिँ ग्रहण नगर्ने?” यी दुई वाक्य तिनले आफ्नो जीवनका अनुभवहरूमा परमेश्‍वरप्रति आज्ञाकारी हुने आचरणको परिणामस्वरूप देखेका र थाहा पाएका थिए, र यिनै कुरा तिनका सबैभन्दा शक्तिशाली हतियार थिए जसद्वारा तिनले शैतानका परीक्षाहरूमा विजय पाएका थिए, र ती, तिनी परमेश्‍वरको गवाह दिन दृढ भएर खडा हुने आधार थिए। यस स्थितिमा, के तिमीहरू अय्यूबलाई एक प्रेमिलो व्यक्तिको रूपमा कल्पना गर्छौ? के तिमीहरू त्यस्तो व्यक्ति बन्ने आशा गर्छौ? के तिमीहरू शैतानका परीक्षाहरूबाट गुज्रनुपर्छ कि भनी डराउँछौ? के तिमीहरू परमेश्‍वरसित आफू पनि अय्यूबको जस्तै परीक्षाहरूमा पर्न सकूँ भनी प्रार्थना गर्ने सङ्कल्प गर्छौ? कुनै शङ्कै छैन, धेरैजसो मानिसहरूले यस्ता कुराहरूका लागि प्रार्थना गर्ने आँट गर्दैनन्। त्यसैले यो स्पष्ट छ कि तिमीहरूको विश्‍वास अति नै सानो छ; अय्यूबको तुलनामा तिमीहरूको विश्‍वास उल्लेख गर्नु पनि अयोग्य छ। तिमीहरू परमेश्‍वरका शत्रु हौ, तिमीहरू परमेश्‍वरसँग डराउँदैनौ, तिमीहरू परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा अडिग हुन सक्दैनौ, र शैतानको आक्रमण, आरोप र परीक्षाहरूमाथि तिमीहरू विजयी हुन सक्दैनौ। कुन कुराले तिमीहरूलाई परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न योग्य बनाउँछ? अय्यूबको कथा सुनेपछि र मानिसलाई बचाउने परमेश्‍वरको अभिप्राय र मानिसको मुक्तिको अर्थ बुझिसकेपछि, के तिमीहरूसँग अब अय्यूबले जस्तै परीक्षाहरू स्वीकार गर्ने विश्‍वास छ? के तैंले आफैलाई परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग बस्ने मार्गमा लगाउने थोरै सङ्कल्प गर्नुपर्दैन र?

परमेश्‍वरका परीक्षाहरूबारे कुनै शङ्का नगर

अय्यूबको परीक्षा समाप्त भएपछि तिनीबाट गवाही प्राप्त गरेपश्चात्, परमेश्‍वरले अय्यूबजस्ता मानिसहरूको एउटा समूह—वा एकभन्दा बढी समूहहरू—प्राप्त गर्ने सङ्कल्प गर्नुभयो, तापनि फेरि शैतानलाई आफूसित बाजी लगाएर अय्यूबका निम्ति प्रयोग गरिएको युक्तिद्वारा कुनै पनि व्यक्तिलाई परीक्षा, आक्रमण र दुर्व्यवहार गर्न नदिने दृढ सङ्कल्प गर्नुभयो। परमेश्‍वरले शैतानलाई फेरि मानिसप्रति त्यसो गर्ने अनुमति दिनुभएन—जो कमजोर, मूर्ख र अनजान छ—शैतानले अय्यूबलाई परीक्षा गर्नु नै पर्याप्त थियो! शैतानलाई त्यसले चाहेअनुसार मानिसहरूसित दुर्व्यवहार गर्न नदिनु परमेश्‍वरको कृपा हो। परमेश्‍वरका लागि, अय्यूबले शैतानको परीक्षा र दुर्व्यवहार भोग्नु नै पर्याप्त थियो। परमेश्‍वरले शैतानलाई फेरि त्यस्तो कुनै कार्य गर्ने अनुमति दिनुभएन, किनकि परमेश्‍वरलाई पछ्याउने सबै मानिसहरूका जीवन र सबै थोक उहाँद्वारा शासित र प्रबन्ध गरिएको हुन्छ, र परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई शैतानको इच्छाअनुसार प्रभावित गर्ने अधिकार त्योसँग छैन—तिमीहरूले यो कुरा स्पष्ट बुझ्नुपर्छ! परमेश्‍वरले मानिसको कमजोरीको वास्ता राख्नुहुन्छ, र उसको मूर्खता र अज्ञानतालाई बुझ्नुहुन्छ। मानिसलाई पूर्ण रूपमा बचाउनका लागि, परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पनुपर्छ, तैपनि परमेश्‍वर कहिल्यै पनि शैतानले मानिसलाई मूर्ख बनाएको र दुर्व्यवहार गरेको देख्न चाहनुहुन्न, र मानिसलाई सधैँ दुःख भोगेको देख्न चाहनुहुन्न। मानिस परमेश्‍वरद्वारा सृष्टि गरिएको थियो, र परमेश्‍वरले उसका सबै कुरामाथि शासन गर्नुहुन्छ र प्रबन्ध गर्नुहुन्छ भन्‍ने कुरा स्वर्गले नियुक्त गरेको र पृथ्वीले स्वीकार गरेको कुरा हो; यो परमेश्‍वरको जिम्मेवारी हो, र यो त्यही अख्तियार हो जसद्वारा परमेश्‍वरले सबै कुरामाथि शासन गर्नुहुन्छ! परमेश्‍वरले शैतानलाई मानवजातिसित जानी-जानी दुर्व्यवहार र उसलाई दुरुपयोग गर्ने अनुमति दिनुहुन्न, उहाँले मानवजातिलाई बहकाउन शैतानलाई विभिन्न युक्तिहरू प्रयोग गर्न दिनुहुन्न, र यसबाहेक, उहाँले शैतानलाई मानवजातिमाथि रहेको परमेश्‍वरको सार्वभौमिकतामा हस्तक्षेप गर्ने अनुमति दिनुहुन्न, न त त्यसलाई ती सबै नियम कुल्चने र नाश गर्ने, मानवजातिलाई व्यवस्थापन गर्ने र बचाउने परमेश्‍वरको महान् कार्यबारे बोल्‍ने अनुमति दिनुहुन्छ! परमेश्‍वरले जसलाई बचाउन चाहनुहुन्छ, र जसले परमेश्‍वरबारे गवाही दिन सक्छन्, तिनीहरू नै परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापन योजनाको केन्द्र र सर्वोत्कृष्ट परिणाम हुन्, साथै उहाँको छ हजार वर्षको कामको उहाँका प्रयासहरूको मूल्य हुन्। परमेश्‍वरले कसरी तिनीहरूलाई सहजै शैतानको हातमा दिन सक्नुहुन्छ र?

मानिसहरू प्रायजसो परमेश्‍वरको जाँचको बारेमा चिन्ता गर्छन् र डराउँछन्, तैपनि तिनीहरू जहिल्यै पनि शैतानको पासोमा र खतरनाक क्षेत्रमा जिइरहेका हुन्छन् जसमा तिनीहरूलाई शैतानले आक्रमण र दुर्व्यवहार गर्छ—तापनि तिनीहरू डराउँदैनन्, र निश्‍चिन्त छन्। के हुँदैछ? परमेश्‍वरमाथिको मानिसको विश्‍वास उसले देख्न सक्ने कुराहरूमा मात्र सीमित छ। उसमा मानिसप्रतिको परमेश्‍वरको प्रेम र चासो, वा उहाँको कोमलता र विचारप्रति थोरै पनि कदर छैन। तर परमेश्‍वरको परीक्षा, न्याय र सजाय, अनि महिमा र क्रोधबारे सानो भ्रम र डरको कारण मानिससँग परमेश्‍वरका असल अभिप्रायहरूबारे थोरै पनि बुझाइ छैन। परीक्षाहरूबारे उल्लेख गर्नेबित्तिकै, मानिसहरू परमेश्‍वरको गोप्य उद्देश्य छ कि भन्‍ने महसुस गर्छन् र कसै-कसैले त परमेश्‍वरले दुष्ट योजनाहरू राख्नुहुन्छ भन्‍नेसमेत विश्‍वास गर्छन्, तर परमेश्‍वरले तिनीहरूलाई वास्तवमा के गर्नुहुनेछ भनी जान्दैनन्; त्यसकारण, तिनीहरूले परमेश्‍वरका सार्वभौमिकता र व्यवस्थाहरूप्रतिको आज्ञाकारिताबारे कुरा गर्छन्, साथसाथै तिनीहरू मानिसमाथि परमेश्‍वरको सार्वभौमिकता र मानिसको निम्ति उहाँका प्रबन्धहरूको विरोध गर्न आफूले गर्नसक्ने सबै कुरा गर्छन्, किनकि तिनीहरू के विश्‍वास गर्छन् भने, यदि तिनीहरू होसियार भएनन् भने तिनीहरू परमेश्‍वरद्वारा बहकिनेछन्, यदि तिनीहरूले आफ्नै भाग्यलाई बलियोसँग समात्दैनन् भने तिनीहरूसित भएका सबै कुरा परमेश्‍वरले लिन सक्नुहुनेछ, र तिनीहरूको जीवनसमेत अन्त्य हुनेछ। मानिस शैतानको शिविरमा छ, तर ऊ शैतानद्वारा दुर्व्यवहार हुने बारेमा कहिल्यै चिन्तित हुँदैन, अनि उसलाई शैतानले दुर्व्यवहार गर्छ, तर शैतानले कैद गर्ला भनी कहिल्यै डराउँदैन। उसले परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्छु भनेर भनिरहन्छ, तर उसले कहिल्यै परमेश्‍वरमा विश्‍वास गरेको हुँदैन वा परमेश्‍वरले मानिसलाई साँच्चै शैतानको पन्जाबाट बचाउनुहुनेछ भनी विश्‍वास गरेको हुँदैन। यदि, मानिस अय्यूबजस्तै, परमेश्‍वरको योजना र प्रबन्धको अधीनमा रहन सक्यो भने, यदि उसले आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरको हातमा दिन सक्छ भने, के मानिसको अन्त्य पनि अय्यूबको जस्तै हुनेछैन र, अर्थात् के उसले परमेश्‍वरका आशिषहरू प्राप्त गर्नेछैन र? यदि मानिसले परमेश्‍वरको नियमलाई स्वीकार गर्न र यसमा ऊ समर्पित हुन सक्छ भने, गुमाउनुपर्ने के छ र? यसैले, म सल्लाह दिन्छु कि तिमीहरू आफ्ना कार्यहरूमा होसियार होओ, र तिमीहरूमाथि आउनेवाला सबै कुराप्रति सतर्क बस। विवेकहीन वा लापरवाही नहोओ, अनि परमेश्‍वर र मानिसहरूसँग, उहाँले तेरो निम्ति प्रबन्ध गर्नुभएका वस्तुहरू र थोकहरूसित तेरो तातो रगतमा वा तेरो स्वाभाविकतामा भर पर्दै वा तेरा कल्पना र धारणाअनुसार व्यवहार नगर्; परमेश्‍वरको क्रोध जगाउनदेखि बच्नलाई तिमीहरू आफ्ना कार्यहरूमा सतर्क हुनैपर्छ, र तिमीहरूले प्रार्थना गर्नैपर्छ र अझ बढी खोजी गर्नैपर्छ। यो कुरा याद राख!

त्यसपछि, हामी अय्यूब तिनका परीक्षाहरूपछि कस्ता थिए भनी हेर्नेछौं।

५. आफ्ना परीक्षापछि अय्यूब

अय्यूब ४२:७-९ अनि यस्तो भयो, यहोवाले अय्यूबसँग यी वचनहरू बोल्नुभएपछि, यहोवाले एलीपज तेमानीलाई भन्नुभयो, मेरो क्रोध तँ र तेरा मित्रहरूको विरुद्ध दन्केको छ: किनभने मेरो सेवक अय्यूबले बोलेजस्तो तिमीहरूले मेरोबारे ठीक कुरा बोलेका छैनौ। यसकारण, अहिले नै आफूसँग सात वटा साँढे र सात वटा भेडाहरू लैजाओ, र मेरो सेवक अय्यूबकहाँ जाओ, आफ्नो निम्ति होम बलि चढाऊ, र मेरो सेवक अय्यूबले तिमीहरूको निम्ति प्रार्थना गरिदिनेछ: किनभने म त्यसलाई ग्रहण गर्नेछु: नत्र तिमीहरूले मेरो सेवक अय्यूबले जस्तै मेरो बारेमा ठीक नबोलेकोमा म तिमीहरूसँग तिमीहरूको मूर्खताअनुसार व्यवहार गर्छु। त्यसैले एलीपज तेमानी, बिल्दाद शुही र सोपर नमाती गए र यहोवाले आज्ञा गरेबमोजिम गरे: यहोवाले अय्यूबलाई पनि ग्रहण गर्नुभयो।

अय्यूब ४२:१० अनि अय्यूबले आफ्ना मित्रहरूको निम्ति प्रार्थना गरेपछि यहोवाले तिनलाई बन्धनमुक्त गराउनुभयो: यहोवाले अय्यूबलाई पहिले तिनीसँग भएको भन्दा दुई गुणा बढी दिनुभयो।

अय्यूब ४२:१२ त्यसैले यहोवाले अय्यूबको पछिल्लो समयलाई तिनको सुरुको समयभन्दा बढी आशिष्‌ दिनुभयो: किनभने तिनीसित चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधा थिए।

अय्यूब ४२:१७ यसरी अय्यूब वृद्ध र दीर्घायु भएर मरे।

परमेश्‍वरसित डराउने र खराबीबाट अलग बस्‍नेहरूलाई उहाँ कदरका साथ हेर्नुहुन्छ, अनि मूर्खहरूलाई तुच्छ व्यक्तिको रूपमा हेर्नुहुन्छ

अय्यूब ४२:७-९ मा, परमेश्‍वरले अय्यूब उहाँको दास हुन् भनी भन्‍नुभएको छ। अय्यूबलाई उल्‍लेख गर्न उहाँले “दास” भन्‍ने शब्दको प्रयोग गर्नुभएको तथ्यले, उहाँको हृदयमा रहेको अय्यूबको महत्त्वलाई दर्साउँछ; परमेश्‍वरले अय्यूबलाई कुनै सम्‍मानजनक नामले नबोलाउनुभएको भए पनि, यो पदवीले परमेश्‍वरको हृदयभित्र रहेको अय्यूबको महत्त्वमा कुनै असर पारेको थिएन। यहाँ “दास” भन्‍ने शब्‍द परमेश्‍वरले अय्यूबलाई दिनुभएको उपनाम हो। “मेरो दास अय्यूब” भनी परमेश्‍वरले धेरै पटक उल्‍लेख गर्नुभएको तथ्यले, अय्यूबसँग उहाँ कति धेरै प्रसन्‍न हुनुहुन्थ्यो भन्ने देखाउँदछ, र परमेश्‍वरले “दास” भन्ने शब्दपछाडिको अर्थबारे कुरा नगर्नुभएको भए पनि, “दास” भन्ने शब्दको परिभाषालाई धर्मशास्त्रको यस खण्डको उहाँका वचनहरूबाट देख्‍न सकिन्छ। एलीपज तेमानीको बारेमा परमेश्‍वरले सर्वप्रथम यसो भन्नुभयो: “मेरो क्रोध तँ र तेरा मित्रहरूको विरुद्ध दन्केको छ: किनभने मेरो सेवक अय्यूबले बोलेजस्तो तिमीहरूले मेरोबारे ठीक कुरा बोलेका छैनौ।” यी वचनहरू, अय्यूबको परीक्षा गर्नुभएपछि तिनले भनेका र गरेका सबै कुरा सही र सत्य हुन् भनी परमेश्‍वरले स्वीकार गर्नुभएको छ भनी मानिसहरूलाई खुला रूपमा बताउनुभएको र अय्यूबले गरेका र भनेका सबै कुराको सटीकता र सहीपनलाई उहाँले खुला रूपमा पुष्टि गर्नुभएको पहिलो पटकका कुरा हुन्। परमेश्‍वर एलीपज र अरूसँग तिनीहरूका गलत र अनुचित कुराहरूको कारण रिसाउनुभएको थियो, किनकि अय्यूबले जस्तै तिनीहरूले परमेश्‍वरको उपस्थिति देख्न सकेका थिएनन् वा उहाँले तिनीहरूको जीवनमा बोल्नुभएका वचनहरू सुन्न सकेका थिएनन्, तापनि अय्यूबसँग परमेश्‍वरबारे त्यस्तो सही ज्ञान थियो, तिनीहरूले भने परमेश्‍वरबारे अन्धाधुन्ध अनुमान मात्र गर्न सक्थे, यस क्रममा तिनीहरूले गर्ने सबै कुरामा परमेश्‍वरको इच्छाको उल्लङ्घन गर्थे र उहाँको धैर्यको जाँच गर्थे। फलस्वरूप, अय्यूबले गरेका र भनेका सबै कुरालाई स्वीकार गर्दै परमेश्‍वर अरूप्रति क्रोधित हुनुभयो, किनकि उहाँले तिनीहरूमा वास्तविक रूपमा परमेश्‍वरको कुनै डर देख्न नसक्नुभएको मात्र होइन, तर तिनीहरूले भनेका कुराहरूमा पनि परमेश्‍वरको कुनै डर सुन्नुभएन। त्यसकारण परमेश्‍वरले तिनीहरूलाई निम्न कुराको माग गर्नुभयो: “यसकारण, अहिले नै आफूसँग सात वटा साँढे र सात वटा भेडाहरू लैजाओ, र मेरो सेवक अय्यूबकहाँ जाओ, आफ्नो निम्ति होम बलि चढाऊ, र मेरो सेवक अय्यूबले तिमीहरूको निम्ति प्रार्थना गरिदिनेछ: किनभने म त्यसलाई ग्रहण गर्नेछु: नत्र … म तिमीहरूसँग तिमीहरूको मूर्खताअनुसार व्यवहार गर्छु।” यस खण्डमा परमेश्‍वरले एलीपज र अरूलाई तिनीहरूका पापबाट छुटकारा गराउने केही कुरा गर्नू भन्दैहुनुहुन्छ, किनकि तिनीहरूको मूर्खता यहोवा परमेश्‍वरको विरुद्धमा पाप थियो र यसरी तिनीहरूले आफ्ना गल्तीहरू समाधान गर्न होमबलि चढाउनुपर्नेथियो। होमबलिहरू प्रायजसो परमेश्‍वरलाई नै चढाइन्थ्यो, तर त्यसमा अनौठो कुरा के थियो भने ती होमबलि अय्यूबलाई चढाउनुपर्नेथियो। अय्यूबलाई परमेश्‍वरले स्विकार्नुभयो, किनकि तिनले आफ्नो परीक्षाको बेला परमेश्‍वरको गवाही दिएका थिए। यसैबीच, अय्यूबका यी साथीहरूलाई तिनको परीक्षाको समयमा प्रकट गरिए, तिनीहरू आफ्नो मूर्खताको कारण परमेश्‍वरद्वारा दण्डित भए र तिनीहरूले परमेश्‍वरको क्रोधलाई उक्साए, र उहाँले दण्ड दिनुपऱ्यो—अय्यूबको सामु होमबलि चढाउन लगाई दण्ड दिनुपर्थ्यो—त्यसपछि अय्यूबले तिनीहरूप्रतिको परमेश्‍वरको दण्ड र क्रोध हटाउन प्रार्थना गरे। परमेश्‍वरको उद्देश्य तिनीहरूलाई सर्ममा पार्नु थियो, किनकि उनीहरू परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग बस्ने मानिसहरू थिएनन् र तिनीहरूले अय्यूबको निष्ठाको निन्दा गरेका थिए। एकातिर, परमेश्‍वरले तिनीहरूलाई उहाँले तिनीहरूका कार्यहरू स्वीकार गर्नुहुन्न, तर अय्यूबलाई महान् रूपमा स्वीकार गर्नुहुन्छ र तिनमा आनन्दित हुनुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो; अर्कोतिर, उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो भने, उहाँद्वारा स्वीकार भएमा मानिस परमेश्‍वरसामु उच्च पारिन्छ, मानिसलाई उसको मूर्खताका कारण परमेश्‍वरले घृणा गर्नुहुन्छ, अनि त्यसले परमेश्‍वरलाई चिढ्याउँछ, र परमेश्‍वरको नजरमा ऊ तुच्छ र घृणित हुन्छ। परमेश्‍वरले दुई प्रकारका मानिसबारे दिनुभएका परिभाषा यिनै हुन्, यी दुई प्रकारका मानिसप्रतिको परमेश्‍वरका आचरण यिनै हुन्, र परमेश्‍वरले यी दुई प्रकारका मानिसबारे बताउनुभएको मूल्य र स्थिति यिनै हुन्। परमेश्‍वरले अय्यूबलाई उहाँको दास भनेर बोलाउनुभएको भए पनि, उहाँको नजरमा यी दास प्रिय थिए र तिनलाई अरूका निम्ति प्रार्थना गर्ने र तिनीहरूका गल्तीहरू क्षमा गर्ने अधिकार दिइएको थियो। यी दासले परमेश्‍वरसँग सिधा कुरा गर्नसक्थे र उहाँसामु सीधै आउन सक्थे, र तिनको प्रतिष्ठा अरूको भन्दा उच्च र सम्‍मानजनक थियो। परमेश्‍वरले भन्नुभएको “दास” शब्दको वास्तविक अर्थ यही नै हो। अय्यूबले परमेश्‍वरको भय मानेकाले र खराबीबाट अलग बसेकाले तिनलाई यो विशेष सम्मान दिइएको थियो, र अरूले परमेश्‍वरको डर मान्‍ने र तिनीहरू दुष्टताबाट अलग नबस्‍ने भएकाले उहाँले तिनीहरूलाई दास भनी बोलाउनुभएन। परमेश्‍वरका अति नै फरक यी व्यवहारहरू दुई थरीका मानिसप्रतिको उहाँका आचरण हुन्: जसले परमेश्‍वरको भय मान्छन् र खराबीबाट अलग बस्छन तिनीहरूलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ र उहाँको नजरमा बहुमूल्य ठहरिन्छन्, अर्कोतिर परमेश्‍वरको भय नमान्ने र खराबीबाट अलग बस्न नसक्ने मूर्खहरूले परमेश्‍वरको कृपा प्राप्त गर्न सक्दैनन्; परमेश्‍वरले तिनीहरूलाई प्रायः घृणा र निन्दा गर्नुहुन्छ, अनि तिनीहरू परमेश्‍वरको नजरमा तुच्छ ठहरिन्छन्।

परमेश्‍वरले अय्यूबलाई अख्तियार प्रदान गर्नुहुन्छ

अय्यूबले आफ्ना साथीहरूका लागि प्रार्थना गरे र पछि, अय्यूबको प्रार्थनाको कारण, परमेश्‍वरले तिनीहरूसँग तिनीहरूको मूर्खताअनुसार व्यवहार गर्नुभएन—उहाँले तिनीहरूलाई कुनै दण्ड दिनुभएन वा तिनीहरूको कुनै प्रतिकार गर्नुभएन। त्यस्तो किन भयो? किनकि परमेश्‍वरका दास अय्यूबले तिनीहरूका लागि गरेका प्रार्थनाहरू उहाँको कानमा पुगेका थिए; परमेश्‍वरले तिनीहरूलाई क्षमा दिनुभयो, किनकि उहाँले अय्यूबका प्रार्थनाहरू स्वीकार गर्नुभयो। त्यसोभए, हामी यसमा के देख्छौं? जब परमेश्‍वरले कसैलाई आशिष् दिनुहुन्छ, उहाँले तिनीहरूलाई केवल भौतिक थोकहरू मात्र होइन तर धेरै इनामहरू दिनुहुन्छ: परमेश्‍वरले तिनीहरूलाई अधिकार पनि दिनुहुन्छ, अरूका लागि प्रार्थना गर्ने अधिकार दिनुहुन्छ, र ती व्यक्तिहरूका अपराधहरू भुलिदिनुहुन्छ र ती वास्ता गर्नुहुन्न, किनभने उहाँले यी प्रार्थनाहरू सुन्नुहुन्छ। परमेश्‍वरले अय्यूबलाई यही अधिकार दिनुभयो। अय्यूबको प्रार्थनाद्वारा तिनीहरूको निन्दा रोक्न यहोवा परमेश्‍वरले ती मूर्ख मानिसहरूलाई सर्ममा पार्नुभयो—जुन अवश्य पनि, एलीपज र अरूका लागि उहाँको विशेष दण्ड थियो।

अय्यूबले फेरि एकपल्ट परमेश्‍वरबाट आशिष्‌ पाउँछन्, र शैतानले फेरि कहिल्यै तिनीमाथि आरोप लगाएन

यहोवा परमेश्‍वरका वाणीहरूमध्ये “मेरो सेवक अय्यूबले बोलेजस्तो तिमीहरूले मेरोबारे ठीक कुरा बोलेका छैनौ” भन्ने वचनहरू पनि छन्। अय्यूबले भनेको कुरा के थियो? यसबारे हामीले पहिल्यै कुरा गरेका थियौं, साथै अय्यूबको पुस्तकमा धेरै पृष्ठका वचनहरूलाई अय्यूबले बोलेका कुराहरूका रूपमा उल्लेख गरिएका छन्। यी सबै धेरै पृष्ठका वचनहरूमा, अय्यूबले एकै पटक पनि परमेश्‍वरबारे कुनै गुनासो वा शङ्काहरू गरेनन्। तिनी केवल परिणाम पर्खन्छन्। यो पर्खाइ नै तिनको आज्ञाकारी आचरण थियो, अनि यसको र तिनले परमेश्‍वरलाई भनेका वचनहरूको फलस्वरूप, तिनी परमेश्‍वरद्वारा स्वीकार गरिए। जब तिनले परीक्षाहरू सहे र कठिनाइ भोगे, परमेश्‍वर तिनको साथमा हुनुभयो, र उहाँको उपस्थितिले तिनको कठिनाइ कम नभएको भए पनि, उहाँले जे देख्ने इच्छा गर्नुभएको थियो त्यो देख्नुभयो र उहाँले सुन्ने इच्छा गर्नुभएको कुरा सुन्नुभयो। अय्यूबको प्रत्येक शब्द र कामहरू परमेश्‍वरको आँखा र कानमा पुगे; परमेश्‍वरले सुन्नुभयो, र देख्नुभयो—यो तथ्य हो। परमेश्‍वरसम्बन्धी अय्यूबको ज्ञान, र त्यसबेला, त्यस समय अवधिमा तिनको हृदयमा परमेश्‍वरबारे रहेका विचारहरू, वास्तवमा आजका मानिसहरूको जस्तो सुस्पष्ट थिएनन्, तर त्यस समयको सन्दर्भमा, परमेश्‍वरले अझै पनि तिनले भनेका सबै कुरालाई मान्यता दिनुभयो, किनकि तिनको आचरण र तिनको हृदयमा रहेका विचार, साथै तिनले व्यक्त र प्रकट गरेका कुराहरू उहाँका मापदण्डका लागि पर्याप्त थिए। अय्यूब परीक्षामा परेका बेला, तिनले आफ्नो हृदयमा सोचेका र सङ्कल्प गरेका कुराले परमेश्‍वरलाई एउटा परिणाम देखाए, जुन परमेश्‍वरको लागि सन्तोषजनक थियो। त्यसपछि परमेश्‍वरले अय्यूबको परीक्षा हटाउनुभयो र अय्यूब तिनका समस्याहरूबाट मुक्त भए। तिनका परीक्षाहरू हटे र ती फेरि तिनीमाथि आइलागेनन्। अय्यूब पहिले नै परीक्षाहरूमा परेका थिए र ती परीक्षाको बेला तिनी दृढ भएर खडा भएका थिए, र शैतानमाथि पूर्ण विजयी भएका थिए। यसैले परमेश्‍वरले तिनलाई आशिष्‌हरू दिनुभयो जुन पाउन तिनी योग्य थिए। अय्यूब ४२:१०, १२ मा उल्लेख गरिएअनुसार, अय्यूबलाई फेरि आशिष्‌ दिइयो र तिनले पहिलेको भन्दा बढी आशिष्‌ पाए। त्यस समयमा शैतान पछि हटेकोथियो, र केही पनि भनेन वा गरेन, र त्यसबेलादेखि उसो अय्यूबलाई शैतानले कुनै हस्तक्षेप वा आक्रमण गरेन, र अय्यूबले परमेश्‍वरबाट पाएका आशिषहरूको विरुद्धमा शैतानले कुनै आरोप लगाएन।

अय्यूबले आफ्नो जीवनको पछिल्लो आधा समय परमेश्‍वरका आशिषहरूमाझ बिताउँछन्

त्यसबेला परमेश्‍वरका आशिषहरू केवल भेडा, गाईवस्तु, ऊँट, भौतिक सम्पत्ति आदिमा मात्र सीमित रहेको भए पनि, उहाँले आफ्‍नो हृदयबाटै अय्यूबलाई दिन चाहनुभएका आशिषहरू तीभन्दा बढी थिए। त्यसबेला, के उहाँले अय्यूबलाई दिन चाहनुभएका अनन्त प्रतिज्ञाहरू उल्लेख गरिएका थिए? परमेश्‍वरले अय्यूबलाई दिनुभएका आशिषहरूमा, उहाँले तिनको अन्त्यबारे चर्चा गर्नुभएन वा त्यसबारे कुरा उठाउनुभएन। परमेश्‍वरको हृदयमा अय्यूबले जेजस्तो महत्त्व राखेका वा स्थान ओगटेका भए पनि सारांशमा भन्नुपर्दा, परमेश्‍वर उहाँका आशिषहरूमा अत्यन्तै होसियार हुनुभएको थियो। परमेश्‍वरले अय्यूबको अन्त्यको घोषणा गर्नुभएन। यसको अर्थ के हो? त्यसबेला, जब परमेश्‍वरको योजना मानिसको अन्त्यको घोषणा गर्ने स्थितिमा पुग्न बाँकी नै थियो, जब त्यो योजना अझै उहाँको कामको अन्तिम चरणमा प्रवेश गर्न बाँकी नै थियो, तब परमेश्‍वरले मानिसलाई भौतिक आशिषहरू मात्र प्रदान गर्दै अन्त्यको कुनै उल्लेख गर्नुभएन। यसको अर्थ यही हो कि अय्यूबको जीवनको पछिल्लो आधा भाग परमेश्‍वरका आशिषहरूमाझ बितेको थियो, जुन कुराले तिनलाई अरू मानिसहरूभन्दा फरक बनायो—तर तिनीहरूझैं तिनी बुढा भए, र कुनै पनि सामान्य मानिसजस्तै तिनले संसारबाट बिदा लिने दिन आयो। त्यसैले यो उल्लेख गरिएको छ कि “यसरी अय्यूब वृद्ध र दीर्घायु भएर मरे” (अय्यूब ४२:१७)। यहाँ “पूरा बुढेसकालमा दीर्घायु भएर मरे” भन्नुको अर्थ के हो? परमेश्‍वरले मानिसहरूको अन्त्यको घोषणा गर्नुभन्दा अघिको युगमा, उहाँले अय्यूबको जीवनको आयु निर्धारित गर्नुभयो, र जब तिनको उमेर पुग्यो तब उहाँले तिनलाई यस संसारबाट स्वाभाविक रूपमा बिदा हुने अनुमति दिनुभयो। अय्यूबले दोस्रो आशिष् पाएकादेखि तिनको मृत्युसम्म परमेश्‍वरले कुनै कठिनाइ थप्नुभएन। परमेश्‍वरका लागि, अय्यूबको मृत्यु स्वाभाविक र आवश्यक थियो; त्यो अति सामान्य कुरा थियो, र न त न्याय थियो, न त दण्ड नै थियो। अय्यूबले आफू जीवित छँदा परमेश्‍वरको आराधना गरे अनि उहाँको भय माने; तिनको मृत्युपछि कस्तो प्रकारको अन्त्य भयो भन्ने सम्बन्धमा परमेश्‍वरले केही पनि भन्नुभएन, न त यसबारे कुनै टिप्पणी गर्नुभयो। परमेश्‍वरसित आफूले भन्‍ने र गर्ने कुरामा गहन औचित्यको भाव हुन्छ, र उहाँका वचनहरूका विषयवस्तु र सिद्धान्तहरू उहाँको कामको चरण र उहाँले काम गरिरहनुभएको युगअनुरूप हुन्छ। अय्यूबजस्तो कुनै व्यक्तिको निम्ति परमेश्‍वरले आफ्नो हृदयमा कस्तो किसिमको अन्त्य सोच्नुभएकोथियो? के परमेश्‍वरले आफ्नो हृदयमा कुनै पनि प्रकारको निर्णय गर्नुभएको थियो? अवश्य पनि उहाँले गर्नुभएको थियो! यति हो कि त्यो, मानिसको निम्ति अज्ञात थियो; परमेश्‍वरले त्यो कुरा मानिसलाई बताउन चाहनुभएन, न त मानिसलाई त्यो बताउने उहाँको कुनै अभिप्राय थियो। यसरी सतही रूपमा भन्नुपर्दा, अय्यूब पूरा बुढेसकालमा दीर्घायु भएर मरे, र अय्यूबको जीवन त्यस्तो थियो।

अय्यूबले आफ्‍नो जीवनकालमा जिएको मूल्य

के अय्यूबले मूल्यवान् जीवन जिए? मूल्य कहाँ थियो? किन तिनले मूल्यवान् जीवन बिताए भनेर भनिन्छ? मानिसको निम्ति तिनको मूल्य के थियो? मानिसको दृष्टिकोणबाट तिनले त्यो मानवजातिको प्रतिनिधित्व गरे जसलाई परमेश्‍वर मुक्ति दिन चाहनुहुन्छ, जसले शैतान र संसारका मानिसहरूको सामु परमेश्‍वरको गम्भीर गवाही दिन्छन्। तिनले त्यो कर्तव्य पूरा गरे जुन परमेश्‍वरको एक सृष्टिले पूरा गर्नुपर्दछ, एउटा उदाहरण बसाले, र परमेश्‍वरले मुक्ति दिन चाहनुभएका ती सबै जनाको नमुनाको रूपमा काम गरे, मानिसहरूलाई परमेश्‍वरमाथि भरोसा राखेर शैतानमाथि विजयी हुन सम्भव छ भनेर देखाए। परमेश्‍वरका लागि तिनको मूल्य के थियो? परमेश्‍वरका लागि, अय्यूबको जीवनको मूल्य उहाँको भय मान्ने, उहाँको आराधना गर्ने, उहाँका कामहरूको गवाही दिने, र उहाँका कार्यहरूको प्रशंसा गर्ने, उहाँका निम्ति सान्त्वना र आनन्द दिन सक्ने तिनको क्षमतामा निहित छ; परमेश्‍वरका लागि अय्यूबको जीवनको मूल्य यसमा पनि थियो कि आफ्नो मृत्यु हुनुभन्दा अघि अय्यूबले परीक्षाहरूको सामना गरे अनि शैतानमाथि विजय पाए, अनि शैतान र संसारका मानिसहरूसामु परमेश्‍वरको गहन गवाही दिए, त्यसरी मानवजातिको बीचमा परमेश्‍वरले महिमा प्राप्त गर्नुभयो, उहाँको हृदयलाई सान्त्वना मिल्यो र उहाँको उत्सुक हृदयलाई परिणाम देखाए र आशा प्रदान भयो। तिनको गवाहीले परमेश्‍वरको गवाही भई दृढ भएर खडा हुन सक्ने सामर्थ्य र मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्‍वरको काममा उहाँको तर्फबाट शैतानलाई लाजमा पार्ने एउटा उदाहरण प्रस्तुत गऱ्यो। के यो अय्यूबको जीवनको मूल्य होइन र? अय्यूबले परमेश्‍वरको हृदयलाई सान्त्वना दिए, परमेश्‍वरलाई महिमा प्राप्त गर्नुको प्रसन्नताको पूर्वानुभव गराए, र परमेश्‍वरको व्यवस्थापन योजनाका लागि एउटा राम्रो सुरुवात प्रदान गरे। त्यस समयदेखि, अय्यूबको नाउँ परमेश्‍वरले महिमा प्राप्त गर्नुको प्रतीक र शैतानमाथिको मानवजातिको विजयको चिन्‍ह बन्यो। अय्यूब आफ्नो जीवनकालमा जुन कुरामा जिए त्यसलाई र साथै शैतानमाथिको तिनको उल्लेखनीय विजयलाई परमेश्‍वरले सदासर्वदा कदर गर्नुहुनेछ, र तिनको सिद्धता, सोझोपन र परमेश्‍वरको भयलाई भावी पुस्ताहरूले श्रद्धा र अनुकरण गर्नेछ। परमेश्‍वरले तिनलाई सधैँ एक निष्खोट, चम्किलो मोतीलाई झैं मोल गर्नुहुनेछ र त्यसरी नै तिनी मानिसद्वारा पनि मूल्यवान् ठानिने योग्यका छन्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्