परमेश्‍वरको कार्य र मानिसको अभ्यास (भाग दुई)

जब परमेश्‍वरको काम र उहाँको व्यवस्थापन निश्‍चित विन्दुमा पुग्छ, तब उहाँको हृदयअनुसारकाहरू उहाँका मागहरूलाई पूरा गर्न सक्षम हुन्छन्। परमेश्‍वरले आफ्ना मापदण्डहरूअनुसार र मानिस जुन कुरा हासिल गर्न सक्षम छ त्यहीअनुसार मानिसबाट मागहरू गर्नुहुन्छ। आफ्‍नो व्यवस्थापनबारे कुरा गर्ने क्रममा, उहाँले मानिसको लागि मार्ग पनि देखाउनुहुन्छ र मानिसलाई जीवित रहने मार्ग प्रदान गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन र मानिसको अभ्यास दुवै एउटै चरणका काम हुन् र दुवैलाई एकसाथ अघि बढाइन्छ। परमेश्‍वरको व्यवस्थापनको कुरा मानिसको स्वभावको परिवर्तनसँग सम्‍बन्धित छ र मानिसले गर्नुपर्ने कुरा र मानिसको स्वभावको परिवर्तन परमेश्‍वरको कामसँग सम्‍बन्धित छ; यी दुई अलग हुन सक्‍ने कुनै समय छैन। मानिसको अभ्यास चरणबद्ध रूपमा परिवर्तन भइरहेको छ। यो यसैले हो किनभने मानिसलाई परमेश्‍वरले गर्नुभएका मागहरू पनि परिवर्तन भइरहेका छन् र किनभने परमेश्‍वरको काम सँधै परिवर्तन भइरहेको छ र प्रगति भइरहेको छ। यदि मानिसको अभ्यास धर्मसिद्धान्तको जालमा नै रहिरहन्छ भने, उसमा परमेश्‍वरको काम र अगुवाइको कमी छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ; यदि मानिसको अभ्यास कहिल्यै परिवर्तन हुँदैन वा गहिराइमा जाँदैन भने, मानिसको अभ्यास मानिसको इच्‍छाअनुसार गरिएको छ र यो सत्यको अभ्यास होइन भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ; यदि पाइला चाल्‍नको लागि मानिससँग कुनै मार्ग छैन भने, ऊ पहिले नै शैतानको हातमा परिसकेको छ र शैतानद्वारा नियन्त्रित छ, जसको अर्थ ऊ दुष्ट आत्‍माहरूद्वारा नियन्त्रित छ भन्‍ने हुन्छ। यदि मानिसको अभ्यास गहिराइमा जाँदैन भने, परमेश्‍वरको काम विकास हुनेछैन र यदि परमेश्‍वरको काममा कुनै परिवर्तन छैन भने, मानिसको प्रवेश रोकिनेछ; यो अपरिहार्य छ। परमेश्‍वरको सारा काममा, यदि मानिसले सँधै यहोवाको व्यवस्थालाई नै पालन गरिरहन्थ्यो भने, परमेश्‍वरको काम अघि बढ्न सक्दैनथियो, सम्पूर्ण युगलाई समाप्त गर्न सम्‍भव हुने त परै जाओस्। यदि मानिसले सँधै क्रूसलाई नै पक्रिराख्यो र धैर्यता र नम्रतालाई अभ्यास गर्‍यो भने, परमेश्‍वरको काम निरन्तर अघि बढ्नु असम्‍भव हुनेथियो। व्यवस्थालाई मात्रै पालन गर्ने वा क्रूसलाई मात्रै पक्रिने र धैर्यता र नम्रताको अभ्यास गर्ने मानिसहरूका बीचमा छ हजार वर्षको व्यवस्थापनलाई समाप्त गर्न सकिँदैन। बरु, परमेश्‍वरको व्यवस्थापनको सम्पूर्ण कार्यलाई आखिरी दिनहरूका तिनीहरूकै बीचमा समाप्त गरिन्छ, जसले परमेश्‍वरलाई चिन्छन्, जो शैतानका पकडबाट उम्केका छन्, जसले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गरेका छन्। परमेश्‍वरको कार्यको अपरिहार्य दिशा यही नै हो। धार्मिक मण्डलीहरूको अभ्यास पुरानो भइसकेको छ भनेर किन भनिन्छ? किनभने तिनीहरूले जे अभ्यास गर्छन् त्यो आजको कामभन्दा अलग छ। अनुग्रहको युगमा, तिनीहरूले जे अभ्यास गर्थे त्यो सही थियो, तर युग बितिसकेको र परमेश्‍वरको काम परिवर्तन भइसकेको हुनाले, तिनीहरूको अभ्यास क्रमिक रूपमा पुरानो भइसकेको छ। यसलाई नयाँ कार्य र नयाँ ज्योतिले पछाडि छोडिसकेको छ। आफ्‍नो मूल जगको आधारमा, पवित्र आत्माको काम धेरै चरण गहिरो गरी अघि बढिसकेको छ। तैपनि ती मानिसहरू परमेश्‍वरको कार्यको मूल चरणमा नै अझै पनि अड्किएर बसेका छन् र अझै पनि तिनीहरू पुराना अभ्यासहरू र पुरानो ज्योतिमा नै टाँसिन्छन्। तीन वा पाँच वर्षमा नै परमेश्‍वरको काम निकै परिवर्तन हुन सक्छ, त्यसकारण २,००० वर्षको अवधिमा के अझै ठूलो परिवर्तन आउनेथिएन र? यदि मानिसमा कुनै नयाँ ज्योति वा अभ्यास छैन भने, यसको अर्थ उसले पवित्र आत्माको कार्यलाई पछ्याएको छैन भन्‍ने हुन्छ। यो मानिसको असफलता हो; परमेश्‍वरको नयाँ कार्यको अस्तित्वलाई इन्कार गर्न सकिँदैन किनभने आज यसभन्दा पहिले पवित्र आत्माको काम पाएकाहरू अझै पनि पुरानो अभ्यासहरूलाई नै पालन गर्छन्। पवित्र आत्माको काम सँधै अघि बढिरहेको छ र पवित्र आत्माको प्रवाहमा हुनेहरू सबैले गहन रूपमा प्रगति गरिरहेको र चरणबद्ध रूपमा परिवर्तन भइरहेको हुनुपर्छ। तिनीहरू एउटा चरणमा रोकिनुहुँदैन। पवित्र आत्‍माको कार्यलाई नजान्‍नेहरू मात्रै उहाँको मूल कार्यमा रहने थिए र पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्दैन थिए। अनाज्ञाकारीहरू मात्रै पवित्र आत्माको कार्यलाई प्राप्त गर्न असमर्थ हुने थिए। यदि मानिसको अभ्यासले पवित्र आत्माको नयाँ कार्यको गतिलाई पछ्याउन सक्दैन भने, मानिसको अभ्यास निश्‍चित रूपमा नै आजको कामबाट अलग हुन्छ र आजको कामसँग मिल्दैन। यीजस्ता पुराना भइसकेका मानिसहरू परमेश्‍वरको इच्‍छालाई हासिल गर्न असमर्थ छन्, तिनीहरू आखिरमा परमेश्‍वरका गवाहीको रूपमा खडा हुन सक्‍ने मानिसहरू बन्‍नु त परै जाओस्। यसको साथै, सम्पूर्ण व्यवस्थापन कार्यलाई त्यस्ता मानिसहरूको समूहमा समाप्त गर्न सकिँदैन। कुनै बेला यहोवाको व्यवस्थालाई पक्रिनेहरू र कुनै बेला क्रूसको लागि कष्ट भोग्‍नेहरूका लागि, यदि तिनीहरूले आखिरी दिनहरूका कार्यको चरणलाई स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूले गरेका सबै कुरा व्यर्थ र बेकामको हुनेछन्। पवित्र आत्माको कामको सबैभन्दा स्पष्ट अभिव्यक्ति भनेको विगतमा लुप्त नभई, यहाँ र अहिलेलाई अङ्गाल्‍नु हो। आजको कार्यको गतिलाई पछ्याउन नसक्‍नेहरू, र आजको अभ्यासबाट अलग भएकाहरू नै पवित्र आत्माको कार्यलाई विरोध गर्ने र स्वीकार नगर्नेहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको वर्तमान कामलाई अवहेलना गर्छन्। तिनीहरू विगतको ज्योतिलाई पक्रेर बस्‍ने भए तापनि, तिनीहरूले पवित्र आत्माको कामलाई जान्दैनन् भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन। मानिसको अभ्यासको परिवर्तनबारे, विगत र आजको अभ्यासका भिन्‍नताहरूबारे, अघिल्‍लो युगमा अभ्यासलाई कसरी अघि बढाइन्थ्यो भन्‍ने बारेमा र आज यो कसरी गरिन्छ त्यसबारे किन यति धेरै कुरा भएका छन्? मानिसको अभ्यासका त्यस्ता विभाजनहरूबारे सँधै बताइन्छ किनभने पवित्र आत्माको काम निरन्तर रूपमा अघि बढिरहेको छ र मानिसको अभ्यास पनि निरन्तर रूपमा परिवर्तन हुनु आवश्यक छ। यदि मानिस एउटै चरणमा अड्केर बस्‍छ भने, यसले परमेश्‍वरको नयाँ कार्य र नयाँ ज्योतिको गतिलाई पछ्याउन ऊ असक्षम छ भन्‍ने कुरालाई प्रमाणित गर्छ; व्यवस्थापनसम्‍बन्धी परमेश्‍वरको योजना परिवर्तन भएको छैन भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। पवित्र आत्‍माको प्रवाहबाट बाहिर हुनेहरूले तिनीहरू सही छन् भन्‍ने सँधै विचार गर्छन् तर वास्तवमा, तिनीहरूमा धेरै पहिले नै परमेश्‍वरको काम रोकियो र पवित्र आत्‍माको कार्य तिनीहरूमा छैन। परमेश्‍वरको कामलाई धेरै पहिले नै अर्को समूहका मानिसहरूमा स्थानान्तर गरिएको छ, जुन समूहमा उहाँले आफ्‍नो नयाँ कार्यलाई पूरा गर्ने अभिप्राय राख्‍नुहुन्छ। धर्ममा हुनेहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्न असमर्थ छन् र तिनीहरू विगतका पुरानो कार्यलाई मात्रै पक्री राख्छन्, त्यसैले परमेश्‍वरले यी मानिसहरूलाई त्याग्‍नुभएको छ र यो नयाँ कार्यलाई स्वीकार गर्ने मानिसहरूमा नै उहाँले आफ्‍नो काम गर्नुहुन्छ। यी मानिसहरू उहाँको नयाँ कार्यमा सहकार्य गर्ने मानिसहरू हुन् र यसरी मात्रै उहाँको व्यवस्थापनलाई पूरा गर्न सकिन्छ। परमेश्‍वरको व्यवस्थापन सँधै अघि बढिरहन्छ र मानिसको अभ्यास सँधै माथि उठिरहेको छ। परमेश्‍वरले सँधै काम गरिरहनुहुन्छ र मानिस सँधै खाँचोमा हुन्छ, त्यसरी दुवै आ-आफ्‍नो शीर्ष विन्दुमा पुग्‍छन् र परमेश्‍वर र मानिसले पूर्ण एकतालाई हासिल गर्छन्। परमेश्‍वरको कार्यको पूर्णताको अभिव्यक्ति यही हो र परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको अन्तिम परिणाम यही नै हो।

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यहीअनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन् र पवित्र आत्‍माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा र पवित्र आत्‍माको कुनै पनि कार्यविहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू र परमेश्‍वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन् र यो समय अवधिमा परमेश्‍वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ। पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्‍माको प्रवाहभित्र नै जिउनेछन् र तिनीहरूले पवित्र आत्‍माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्‍छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ र सत्यतालाई अभ्यास गर्न इच्‍छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ र दण्डसमेत दिन सक्‍नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्‍वरले जिम्‍मेवारी लिनुहुनेछ। उहाँको नामलाई महिमित पार्ने र उहाँको वचनलाई अभ्यास गर्न इच्‍छुक हुनेहरूले उहाँका आशिषहरूलाई प्राप्त गर्नेछन्; उहाँको आज्ञा उल्‍लङ्घन गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन् र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ र आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नुहुँदैन। परमेश्‍वरले मानिसलाई दिनुभएको एउटै मात्र माग यही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन् र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्‍नै मनभित्र जिउँछन् र आफ्‍नै मस्तिष्कको विश्‍लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्तअनुसार गर्नेबाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्‍वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थितिविहीन छन्, यसको साथै परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्मबाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधबारे कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मबारे कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरको वर्तमान इच्‍छाबारे तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन् र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जोसँग सत्यताको लागि कुनै प्रेम छैन र जसलाई पवित्र आत्माले घृणा र इन्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रु बन्छन् र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र? यी मानिसहरूको दुष्कर्मलाई उल्‍लेख गर्दा, कतिपय मानिसहरू तिनीहरूलाई सराप्‍न आतुर हुन्छन्, जबकि परमेश्‍वरले भने तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ। मानिसको लागि, तिनीहरूका कार्यहरू परमेश्‍वरको नामसँग सम्‍बन्धित छन् भन्‍ने जस्तो देखिन्छ तर वास्तवमा परमेश्‍वरको लागि, उहाँको नाम वा उहाँको गवाहीसँग तिनीहरूको कुनै सम्‍बन्ध हुँदैन। यी मानिसहरूले जेसुकै गरे तापनि, यो, परमेश्‍वरसँग सम्‍बन्धित हुँदैन: यो उहाँको काम र उहाँको हालको काम दुवैसँग सम्‍बन्धित छैन। यी मानिसहरूले आफैलाई अपमानित गर्छन् र शैतानलाई प्रकट गर्छन्; तिनीहरू दुष्ट काम गर्नेहरू हुन् जसले क्रोधको दिनको लागि सञ्चय गरिरहेका छन्। आज, तिनीहरूको कार्यहरूको बाबजुत, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनलाई बाधा दिएनन् र परमेश्‍वरको नयाँ कार्यसँग कुनै सम्‍बन्ध राखेनन् भने, त्यस्ता मानिसहरू सम्‍बन्धित दण्डमा पर्नेछैनन्, किनभने क्रोधको दिन आउन बाँकी नै छ। धेरै कुरा छन् जुन परमेश्‍वरले पहिले नै निराकरण गरिसक्‍नुपर्ने हो भनी मानिसहरूले विश्‍वास गर्छन् र ती दुष्ट काम गर्नेहरूलाई जति सक्दो चाँडो दण्ड दिइनुपर्छ भन्‍ने तिनीहरू विचार गर्छन्। तर परमेश्‍वरको व्यवस्थापनको काम अहिलेसम्‍म अन्त्यमा आइपुगेको छैन र क्रोधको दिन आउन बाँकी नै भएकोले, अधर्मीहरूले अझै आफ्‍ना अधर्मी कार्यहरूलाई जारी राख्छन्। कतिले भन्छन्, “धर्ममा हुनेहरू पवित्र आत्माको उपस्थिति वा कामरहित हुन्छन् र तिनीहरूले परमेश्‍वरको नामलाई बदनाम गर्छन्; त्यसकारण तिनीहरूको लापरवाही आचरणलाई अझै सहिरहनुको सट्टा परमेश्‍वरले तिनीहरूलाई किन नष्ट गर्नुहुन्‍न?” यी मानिसहरू, जो शैतानका प्रकटीकरण हुन् र जसले देहलाई व्यक्त गर्छन्, यिनीहरू अज्ञानी, नीच मानिसहरू हुन्; तिनीहरू मूर्ख मानिसहरू हुन्। परमेश्‍वरले मानिसहरूको बीचमा आफ्‍नो काम कसरी गर्नुहुन्छ भन्‍ने बारेमा बुझ्‍नुभन्दा पहिले तिनीहरूले परमेश्‍वरको क्रोधको आगमनलाई अवलोकन गर्दैनन् र तिनीहरू सबैलाई पूर्ण रूपमा विजय गरिएपछि, ती दुष्ट काम गर्नेहरू सबैले आफ्‍नो दण्ड पाउनेछन् र क्रोधको दिनबाट तिनीहरूमध्ये एक जना पनि उम्कन सक्‍नेछैनन्। अहिले मानिसलाई दण्ड दिने समय होइन तर विजयको कामलाई अघि बढाइने समय हो, तैपनि परमेश्‍वरको व्यवस्थापनलाई बिगार्ने मानिसहरू छन् भने, त्यस्तो अवस्थामा, तिनीहरूको कार्यहरूको गम्भीरताको आधारमा तिनीहरूलाई दण्ड दिइनेछ। मानवजातिमाथि परमेश्‍वरको व्यवस्थापनको अवधिमा, पवित्र आत्माको प्रवाहभित्र हुनेहरूको सम्‍बन्ध परमेश्‍वरसँग हुन्छ। पवित्र आत्माद्वारा घृणा गरिएका र इन्कार गरिएकाहरू शैतानको प्रभावमा जिउँछन् र तिनीहरूले जे कुरालाई अभ्यास गर्छन् त्यसले परमेश्‍वरसँग कुनै सम्‍बन्ध राख्दैन। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्ने र परमेश्‍वरसँग सहकार्य गर्नेहरू मात्रै परमेश्‍वरसँग सम्‍बन्धित हुन्छन्, किनभने परमेश्‍वरको कार्यलाई यसलाई स्वीकार गर्नेहरूतर्फ मात्रै लक्षित गरिन्छ र सबै मानिसहरूप्रति यो लक्षित गरिँदैन, चाहे तिनीहरूले यसलाई स्वीकार गरून् वा नगरून्। परमेश्‍वरले गर्नुहुने कामको सँधै लक्ष्य हुन्छ र यो आवेगमा गरिँदैन। तिनीहरू जो शैतानसँग सम्‍बन्धित छन् तिनीहरू परमेश्‍वरको गवाही दिनको लागि योग्य छैनन्, परमेश्‍वरसँग सहकार्य गर्नको लागि तिनीहरू योग्य हुने कुरा त परै जाओस्।

पवित्र आत्माको कामको हरेक चरणलाई पनि मानिसको गवाहीको आवश्यकता पर्छ। कार्यको हरेक चरण परमेश्‍वर र शैतानबीचको युद्ध हो र युद्धको निशाना शैतान हो, जबकि यस कार्यद्वारा सिद्ध पारिने मानिस नै हो। परमेश्‍वरको कार्यले फल फलाउँछ कि फलाउँदैन भन्‍ने कुरा मानिसले परमेश्‍वरको निम्ति दिने गवाहीको तरिकामा भर पर्छ। उहाँलाई पछ्याउनेहरूबाट परमेश्‍वरले यही गवाहीको माग गर्नुहुन्छ; यो शैतानको सामु दिइने गवाही हो र उहाँको कार्यको प्रभावहरूको प्रमाण पनि हो। परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन तीन चरणमा विभाजित छन् र हरेक चरणमा, मानिसलाई उचित मागहरू गरिन्छ। यसको साथै, युगहरू बितेर जाने र अघि बढ्ने क्रममा, सारा मानवजातिको निम्ति परमेश्‍वरको मागहरू झन्-झन् उच्‍च हुँदै जान्छन्। यस प्रकारले, चरणबद्ध रूपमा, परमेश्‍वरको व्यवस्थापनको यो कार्य यसको शिखरमा पुग्छ, तब मानिसले “वचन शरीरमा देखा पर्नुभएको” तथ्यलाई देख्छ र यसरी गवाही दिनेसम्‍बन्धी मानिसका मागहरू जस्तै, मानिसका मागहरू पनि अझै उच्‍च बन्छ। परमेश्‍वरसँग साँचो रूपमा सहकार्य गर्न मानिस जति सक्षम हुन्छ, परमेश्‍वरले त्यति नै महिमा प्राप्त गर्नुहुन्छ। मानिसको सहकार्य भनेको उसले दिनुपर्ने गवाही हो र उसले दिने गवाही मानिसको अभ्यास हो। त्यसकारण, परमेश्‍वरको कार्यले पर्याप्त प्रभाव पार्छ कि पार्दैन र यो साँचो गवाही हुन सक्छ कि सक्दैन भन्‍ने कुरा अपरिहार्य रूपमा नै मानिसको सहकार्य र गवाहीसँग जोडिएका हुन्छन्। जब काम समाप्‍त हुन्छ, भन्‍नुको अर्थ जब परमेश्‍वरको सबै व्यवस्थापन यसको समाप्तिमा पुग्छ, मानिसले उच्‍च गवाही दिनु आवश्यक हुनेछ र जब परमेश्‍वरको कार्य यसको समाप्तिमा पुग्छ, मानिसको अभ्यास र प्रवेश यसको शीर्ष विन्दुमा पुग्‍नेछ। विगतमा, मानिसले व्यवस्था र आज्ञाहरू पालन गर्नुपर्थ्यो र ऊ धैर्य र नम्र हुनुपर्थ्यो। आज, मानिसले परमेश्‍वरका सारा प्रबन्धहरूलाई पालन गर्नुपर्छ र उसँग परमेश्‍वरको सर्वोच्‍च प्रेम हुनुपर्छ र अन्तिममा संकष्टको बीचमा पनि उसले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ। यिनीहरू परमेश्‍वरले आफ्‍नो सम्पूर्ण व्यवस्थापनमा चरणबद्ध रूपमा मानिसलाई दिनुहुने मागहरूका तीनवटा चरणहरू हुन्। परमेश्‍वरको कार्यको हरेक चरण पछिल्‍लोभन्दा अझै गहन हुन्छ र हरेक चरणमा मानिसलाई दिइने मागहरू पछिल्‍लोभन्दा अझै गहन हुन्छ र यसरी, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनले आकार लिँदै जान्छ। मानिसलाई दिइएका मागहरू अझै उच्‍च छन् भन्‍ने ठीक त्यही कारणले मानिसको स्वभाव परमेश्‍वरले माग गर्नुभएका मापदण्डहरूको नजिक आउँछ, त्यसपछि मात्रै सारा मानवजाति शैतानको प्रभावबाट तबसम्‍म क्रमिक रूपमा टाढा हुन्छ, जबसम्‍म परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुँदैन र सारा मानवजाति शैतानको प्रभावबाट बचाइएको हुँदैन। जब त्यो समय आउँछ, तब परमेश्‍वरको काम यसको अन्त्यमा पुगेको हुनेछ र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्नको लागि त्यसउप्रान्त परमेश्‍वरसँगको मानिसको सहकार्य हुनेछैन र सारा मानवजाति परमेश्‍वरको ज्योतिमा जिउनेछ र त्यसपछि, परमेश्‍वरविरुद्ध कुनै विद्रोह वा विरोध हुनेछैन। परमेश्‍वरले मानिसबाट मागहरू पनि गर्नुहुनेछैन र मानिस र परमेश्‍वरको बीचमा अझै मैत्रीपूर्ण सहकार्य हुनेछ, जुन एकसाथ मानिस र परमेश्‍वरको जीवन अर्थात् परमेश्‍वरको व्यवस्थापन पूर्ण रूपमा समाप्त भएपछि र शैतानका पकडहरूबाट परमेश्‍वरद्वारा मानिसलाई पूर्ण रूपमा बचाइएपछिको जीवन हुनेछ। परमेश्‍वरका पाइलाहरूलाई नजिकबाट पछ्याउन नसक्‍नेहरू त्यस्तो जीवन प्राप्त गर्न असमर्थ हुन्छन्। तिनीहरूले आफैलाई अन्धकारमा खसाएका हुनेछन्, जहाँ तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई नपछ्याउने, परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँका सबै कार्यलाई पालन नगर्ने मानिसहरू हुन्। मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा, उसले परमेश्‍वरका पाइलाहरूलाई चरण-चरण गरी नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” साँचो मार्गको खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई जान्‍नेहरू तिनीहरू मात्रै हुन्। अक्षरहरू र सिद्धान्तहरूलाई दासले जस्तो पछ्याउने मानिसहरू पवित्र आत्‍माको कार्यद्वारा हटाइएकाहरू हुन्। समयको हरेक अवधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ र हरेक अवधिमा, मानिसको बीचमा नयाँ सुरुवात हुनेछ। यदि मानिस “यहोवा नै परमेश्‍वर हुनुहुन्छ” र “येशू नै ख्रीष्‍ट हुनुहुन्छ” भन्‍ने सत्यताहरू, जुन तिनीहरूको सम्‍बन्धित युगहरूमा मात्रै लागू हुने सत्यताहरू हुन्, तिनलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कार्यमा कहिल्यै पनि लागिरहन सक्दैन र पवित्र आत्‍माको कार्यलाई प्राप्त गर्न ऊ सँधैको लागि असमर्थ हुनेछ। परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, मानिसले अलिकति पनि शङ्का नगरिकन पछ्याउँछ र उसले नजिकबाट पछ्याउँछ। यसरी, मानिसलाई कसरी पवित्र आत्‍माले हटाउन सक्‍नुहुन्छ? परमेश्‍वरले जे गर्नुभए तापनि, जबसम्‍म मानिस यो पवित्र आत्माको काम हो भन्‍ने कुरामा निश्‍चित हुन्छ र आशङ्का नगरिकन पवित्र आत्‍माको काममा सहकार्य गर्छ र परमेश्‍वरका मागहरूलाई पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पाइलाहरू कहिल्यै अडिएका छैनन् र उहाँको व्यवस्थापन कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ र उहाँ कहिल्यै रोकिनुहुन्‍न। तर मानिस फरक छ: पवित्र आत्माको कामलाई थोरै मात्रामा प्राप्त गर्नेबाहेक केही पनि गर्न नसकेपछि, उसले यसलाई यसरी व्यवहार गर्छ मानौँ यो कहिल्यै परिवर्तन हुनेछैन; थोरै ज्ञान प्राप्त गरिसकेपछि, ऊ अघि बढेर परमेश्‍वरको नयाँ कामका पाइलाहरूलाई पछ्याउँदैन; परमेश्‍वरको थोरै कामलाई बाहेक केही नदेखेपछि, उसले तुरुन्तै परमेश्‍वरलाई काठको आकृतिको रूपमा निर्धारित गर्छ र उसले आफ्‍नो अगाडि देखेको यही रूपमा नै परमेश्‍वर सँधै रहिरहनुहुनेछ अर्थात् विगतमा यो यस्तै थियो र भविष्यमा पनि यस्तै नै रहनेछ भन्‍ने विश्‍वास गर्छ; सतही ज्ञानबाहेक केही पनि प्राप्त नगरेपछि, मानिस यति घमण्‍डी हुन्छ कि उसले आफैलाई बिर्सन्छ र अस्तित्वमा नै नभएको ईश्‍वरको स्वभाव र अस्तित्वलाई घोषणा गर्न थाल्छ; अनि पवित्र आत्माको कामको एउटा चरणबारे निश्‍चित भएपछि, परमेश्‍वरको नयाँ कामलाई घोषणा गर्ने व्यक्ति जस्तोसुकै प्रकारको भए तापनि, मानिसले यसलाई स्वीकार गर्दैन। पवित्र आत्माको नयाँ कामलाई स्वीकार गर्न नसक्‍ने मानिसहरू यिनीहरू नै हुन्; यिनीहरू अत्यन्तै रूढिवादी छन् र नयाँ कुराहरूलाई स्वीकार गर्न असमर्थ छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई इन्कार पनि गर्नेहरू हुन्। “यहोवामा मात्रै विश्‍वास गरेर येशूमा विश्‍वास नगरेकोमा” इस्राएलीहरू गलत थिए भन्‍ने विश्‍वास मानिसले गर्छ, तैपनि अधिकांश मानिसहरूले “यहोवामा मात्रै विश्‍वास गर्ने र येशूलाई इन्कार गर्ने” साथै “मसीहको आगमनको लागि उत्कट इच्‍छा गर्ने तर येशू भनिने मसीहलाई इन्कार गर्ने” भूमिकालाई निर्वाह गर्छन्। त्यसैले, पवित्र आत्माको कार्यको एउटा चरणलाई स्वीकार गरिसकेपछि पनि मानिसहरू अझै शैतानको अधिकार-क्षेत्रमा जिउँछन् र अझै परमेश्‍वरका आशिषहरूलाई प्राप्त गर्दैनन् भन्‍ने कुरामा कुनै आश्‍चर्य मान्‍नुपर्दैन। के यो मानिसको विद्रोहीपनको परिणाम होइन र? आजको नयाँ काममा लागिरहन नसकेका संसारभरिका इसाईहरू तिनीहरू भाग्यमानी बन्‍नेछन्, परमेश्‍वरले तिनीहरूका हरेक कामनाहरूलाई पूरा गर्नुहुनेछ भन्‍ने मान्यता राख्दै आशामा टाँसिरहेका छन्। तैपनि परमेश्‍वरले तिनीहरूलाई तेस्रो स्वर्गमा किन लैजानुहुनेछ सो तिनीहरूले निश्‍चित रूपमा भन्‍न सक्दैनन्, न त येशू कसरी तिनीहरूलाई लिन सेतो बादलको सवारीमा आउनुहुनेछ भन्‍ने बारेमा नै तिनीहरू निश्‍चित छन्, तिनीहरूले कल्‍पना गरेको दिनमा येशू सेतो बादलमा साँच्‍चै आइपुग्‍नुहुनेछ भनेर तिनीहरूले पूर्ण निश्‍चयताको साथ भन्‍न सक्‍नु त परै जाओस्। तिनीहरू पूर्णरूपमा चिन्तित र अलमलमा छन्; परमेश्‍वरले हरेक सम्प्रदायका, केही साना मुठ्ठीभरका विविध मानिसहरू प्रत्येकलाई लानुहुन्छ कि लानुहुन्‍न त्यो कुरा तिनीहरूलाई समेत थाहा छैन। परमेश्‍वरले अहिले, वर्तमान युगमा गर्नुहुने काम, परमेश्‍वरको इच्‍छा—यीमध्ये कुनै पनि कुराबारे तिनीहरूलाई केही पनि थाहा छैन र तिनीहरूले आफ्‍ना औंलामा दिनहरू गन्‍नेबाहेक केही पनि गर्न सक्दैनन्। अन्त्यसम्‍मै थुमाका पाइलाहरूलाई पछ्याउनेहरूले मात्रै अन्तिम आशिष प्राप्त गर्न सक्छन्, जबकि अन्त्यसम्‍मै पछ्याउन नसक्‍ने तैपनि सबै प्राप्त गरेका छौं भनी विश्‍वास गर्ने ती “चलाख मानिसहरू” परमेश्‍वरको देखापर्ने घटनालाई देख्‍न असमर्थ हुन्छन्। तिनीहरू प्रत्येकले आफूलाई पृथ्वीको सबैभन्दा बाठो व्यक्ति हुँ भनी विश्‍वास गर्छन् र परमेश्‍वरको कार्यको निरन्तर विकासलाई कुनै पनि कारणविना छोट्याउँछन् र परमेश्‍वरले तिनीहरूलाई अर्थात् “परमेश्‍वरप्रति उच्‍च बफादारीता हुनेहरू, परमेश्‍वरलाई पछ्याउनेहरू र परमेश्‍वरका वचनहरूलाई पालना गर्नेहरू”-लाई स्वर्गमा लैजानुहुनेछ भनी पूर्ण सुनिश्‍चितताको साथ विश्‍वास गर्छन् भन्‍ने देखिन्छ। परमेश्‍वरले बोल्‍नुभएका वचनहरूप्रति तिनीहरूसँग “उच्‍च बफादारीता” भए तापनि, तिनीहरूका वचन र कार्यहरू अझै अत्यन्तै घृणित छन् किनभने तिनीहरूले पवित्र आत्‍माको कामलाई विरोध गर्छन् र धोका र छल गर्छन्। अन्तिमसम्‍मै नपछ्याउनेहरू, पवित्र आत्‍माको कार्यमा नलागिरहनेहरू र पुरानो काममा मात्रै टाँसिरहनेहरूले परमेश्‍वरप्रति बफादारीता हासिल गर्न असफल मात्रै भएका छैनन् तर यसको विपरीत तिनीहरू परमेश्‍वरलाई विरोध गर्नेहरू बनेका छन्, नयाँ युगद्वारा इन्कार गरिएकाहरू बनेका छन् र जो दण्डित हुनेछन्। के तिनीहरूभन्दा दयनीय अरू कोही छ? धेरैले यो विश्‍वास गर्छन् कि पुरानो व्यवस्थालाई इन्कार गर्ने र नयाँ कार्यलाई स्वीकार गर्नेहरू विवेकहीन हुन्। “विवेक”-को मात्रै कुरा गर्ने र पवित्र आत्‍माको कामलाई नजान्‍ने यी मानिसहरूको आशालाई तिनीहरूका आफ्‍नै विवेकले हटाइदिनेछ। परमेश्‍वरको काम धर्मसिद्धान्तद्वारा बाँधिँदैन र यो उहाँको आफ्‍नै काम हुन सक्‍ने भए तापनि, परमेश्‍वरले यसलाई पक्रिराख्‍नुहुन्‍न। इन्कार गरिनुपर्ने कुरालाई इन्कार गरिन्छ, हटाइनुपर्ने कुरालाई हटाइन्छ। तैपनि परमेश्‍वरको व्यवस्थापन कार्यको एउटै मात्र सानो भागलाई पक्रिराखेर मानिसले आफैलाई परमेश्‍वरको शत्रुता तुल्याउँछ। के यो मानिसको मूर्खता होइन र? के यो मानिसको अज्ञानता होइन र? मानिसहरू जति बढी डरपोक र अनावश्यक रूपमा सतर्क छन् किनभने तिनीहरू परमेश्‍वरका आशिषहरू प्राप्त गर्न डराउँछन्, त्यति नै बढी तिनीहरू महान् आशिषहरूलाई प्राप्त गर्न र अन्तिम आशिष प्राप्त गर्न असमर्थ हुन्छन्। समर्पित भएर व्यवस्थालाई पालन गर्नेहरू सबैले व्यवस्थाप्रति उच्‍च बफादारीता देखाउँछन् र तिनीहरूले व्यवस्थाप्रति जति धेरै त्यस्तो बफादारीता देखाउँछन्, तिनीहरू परमेश्‍वरलाई त्यति नै बढी विरोध गर्ने विद्रोहीहरू हुन्छन्। अहिले व्यवस्थाको युग नभएर राज्यको युग भएकोले, आजको काम र विगतको कामलाई समान रूपमा उल्‍लेख गर्न सकिँदैन, न त विगतको कामलाई नै आजको कामसँग तुलना गर्न सकिन्छ। परमेश्‍वरको काम परिवर्तन भएको छ र मानिसको अभ्यास पनि परिवर्तन भएको छ; यो व्यवस्थालाई पक्रिराख्‍नु वा क्रूसलाई बोक्‍नु होइन, त्यसकारण व्यवस्था र क्रूसप्रतिको मानिसहरूको बफादारीताले परमेश्‍वरको अनुमोदन पाउनेछैन।

राज्यको युगमा मानिसलाई पूरा रूपमा पूर्ण गरिनेछ। विजयको कामपछि, मानिस शोधन र सङ्कष्टमा पर्नेछ। यो सङ्कष्टमा विजय गर्न सक्‍ने र गवाहीको रूपमा खडा हुन सक्‍नेहरू नै आखिरमा पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो सङ्कष्टको अवधिमा, यस शोधनलाई मानिसले स्वीकार गर्नु आवश्यक हुन्छ, र यो शोधन परमेश्‍वरको कामको अन्तिम घटना हुनेछ। परमेश्‍वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो र परमेश्‍वरलाई पछ्याउने सबैले यो अन्तिम जाँचलाई स्वीकार गर्नैपर्छ र यो अन्तिम शोधनलाई तिनीहरूले स्वीकार गर्नैपर्छ। सङ्कष्टद्वारा व्याकुल हुनेहरू पवित्र आत्‍माको कार्य र परमेश्‍वरको अगुवाइविहीन हुन्छन् तर साँचो रूपमा विजय गरिएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा खोज्‍नेहरू अन्तिममा दह्रिलो गरी खडा हुनेछन्; तिनीहरू मानवता भएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्‍वरले जे गर्नुभए तापनि, यी विजेताहरूमा दर्शनहरूको अभाव हुँदैन र तिनीहरूले आफ्‍नो गवाहीमा पतन नभइकन सत्यतालाई अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। धमिलो पानीमा माछा मार्नेहरूले आज फाइदा लुट्‍न सक्‍ने भए तापनि, अन्तिम सङ्कष्टबाट उम्‍कन कोही पनि सक्‍दैन र अन्तिम जाँचबाट कोही पनि उम्कन सक्दैन। विजय गर्नेहरूका लागि, त्यस्तो सङ्कष्ट अति बृहत् शोधन हो; तर धमिलो पानीमा माछा मार्नेहरूका लागि, यो पूर्ण निष्कासनको कार्य हो। तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्‍नो हृदयमा परमेश्‍वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्‍नो हृदयमा परमेश्‍वर नभएकाहरूका लागि, जब परमेश्‍वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गर्छन् र तिनीहरू परमेश्‍वरबाट अलगसमेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्‍वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्‍वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्‍छा हुँदैन। परमेश्‍वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवताविहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र भयरहित हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, “दयालु” व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारी व्यक्तिलाई कुनै पनि शब्‍द वा कारणविना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूतात्माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र? मानिसलाई मुक्त गर्ने कार्य विजयको कामको पूर्णतालाई पछ्याएर हासिल गरिँदैन। विजयको काम समाप्त भएको भए तापनि, मानिसलाई शुद्ध पार्ने काम समाप्त भएको छैन; मानिसलाई पूर्ण रूपमा शुद्ध पारिएपछि, परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुनेहरूलाई पूर्ण पारिएपछि, र आफ्‍नो हृदयमा परमेश्‍वरविहीन हुने ती देखावटी मानिसहरूलाई सफाइ गरिएपछि मात्रै त्यस्तो कार्य पूरा हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्‍वरलाई सन्तुष्ट नपार्नेहरूलाई पूर्ण रूपमा हटाइनेछ र हटाइएकाहरू दियाबलसका हुन्। तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्‍वरको विरुद्धमा विद्रोही छन् र यी मानिसहरूले आज परमेश्‍वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्‍मै रहनेहरू हुन् भन्‍ने कुरालाई प्रमाणित गर्दैन। “अन्तिमसम्‍मै परमेश्‍वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ” भन्‍ने वचनहरूमा, “पछ्याउनु” को अर्थ सङ्कष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्‍ने हुन्छ। आज, धेरैले परमेश्‍वरलाई पछ्याउनु सजिलो छ भन्‍ने विश्‍वास गर्छन् तर जब परमेश्‍वरको काम समाप्त हुनलागेको हुन्छ, तैँले “पछ्याउनु”-को साँचो अर्थलाई जान्‍नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्‍वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्‍नेहरू, सङ्कष्टको बीचमा विजय बन्‍न नसक्‍नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्‍वरलाई अन्तिमसम्‍मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्‍वरलाई साँचो रूपमा पछ्याउनेहरू आफ्‍नो कामको जाँचलाई सामना गर्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँचो रूपमा नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरूको सामना गर्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ, तर विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँचो रूपले खोजी गर्छ कि गर्दैन भन्‍ने कुरालाई उसको कामको जाँचले अर्थात् परमेश्‍वरका परीक्षाहरूले निर्धारण गर्छन् र मानिस स्वयमले गर्ने निर्णयसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई आवेगमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। मानिसको लागि अदृश्य कुनै पनि कुरा वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम उहाँले गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा यसको निर्णय हुन सक्दैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू सबै आखिरमा राज्यमा नै रहनेछन् र उहाँलाई साँचो रूपमा प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले दुर्व्यवहार गर्नुहुन्‍न। तिनीहरूका फरक-फरक कार्यहरू र गवाहीहरूका आधारमा राज्यभित्रका विजेताहरूले पूजाहारीहरूका रूपमा वा अनुयायीहरूका रूपमा सेवा गर्नेछन् र संकष्टको बीचमा विजयी हुनेहरू राज्यभित्रका पूजाहारीहरूको निकाय बन्‍नेछन्। ब्रह्माण्डभरिमा सुसमाचारको कार्य समाप्त भएपछि पूजाहारीहरूको निकायलाई निर्माण गरिनेछ। जब त्यो समय आउँछ, मानिसले गर्नुपर्ने कुरा परमेश्‍वरको राज्यभित्र उसले पूरा गर्नुपर्ने दायित्व, र राज्यभित्र परमेश्‍वरसँग एकसाथको उसको जियाइ हुनेछ। पूजाहारीहरूको निकायमा प्रधान पूजाहारीहरू र पूजाहारीहरू हुनेछन् र बाँकीचाहिँ परमेश्‍वरका पुत्रहरू र मानिसहरू हुनेछन्। सङ्कष्टको अवधिमा परमेश्‍वरको निम्ति तिनीहरूले दिएका गवाहीले यो सबैलाई निर्धारण गर्नेछ; ती आवेगमा दिइने पदहरू होइनन्। मानिसको अवस्थालाई स्थापना गरिसकेपछि, परमेश्‍वरको काम बन्द हुनेछ, किनभने हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिनेछ र तिनीहरूको मूल स्थितिमा फर्काइनेछ र यो परमेश्‍वरको कार्यको पूर्णताको चिन्‍ह हो, यो परमेश्‍वरको काम र मानिसको अभ्यासको अन्तिम परिणाम हो र परमेश्‍वरको कार्य र मानिसको सहकार्यका दर्शनहरूलाई स्पष्ट बनाउने कार्य हो। आखिरमा, मानिसले परमेश्‍वरको राज्यमा विश्राम पाउनेछ र परमेश्‍वर पनि विश्राम गर्न आफ्‍नो वासस्थानमा फर्कनुहुनेछ। परमेश्‍वर र मानिस बीचको ६,००० वर्षे सहकार्यको अन्तिम परिणाम यही नै हुनेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्