आशिष्‌को बारेमा तिमीहरूको बुझाइ कस्तो छ?

यस युगमा जन्मेका मानिसहरू शैतान र फोहोरी पिशाचहरूद्वारा भ्रष्ट पारिएका भए तापनि, त्यस्तो भ्रष्टताले तिनीहरूको निम्ति अत्यन्तै ठूलो मुक्ति पनि ल्याएको छ जुन मुक्ति अय्यूबको पहाडैपहाड र बेँसीका बेँसी फैलिएको पशुधन र अथाह सम्पत्तिभन्दा पनि ठूलो छ, र अय्यूबले आफूलाई हेरिरहनुभएका यहोवाबाट परीक्षाहरूपश्‍चात प्राप्त गरेको आशिष्‌भन्दा पनि ठूलो छ। अय्यूब मृत्युको परीक्षा भएर गएपछि मात्रै तिनले यहोवा बोल्नुभएको र भुमरीमा यहोवाको आवाज सुने। तर तिनले यहोवाको मुहार देखेनन्, र तिनले उहाँको स्वभाव कस्तो छ भन्‍ने थाहा पाएनन्। अय्यूबले प्राप्त गरेको कुरा केवल भौतिक सम्पत्ति थियो जसले तिनलाई शारीरिक सुखसयलहरू तथा वरपरका सबै सहरहरूमा रहेकाहरूमध्ये सबैभन्दा सुन्दर सन्तानहरू, साथै स्वर्गदूतहरूको सुरक्षा प्रदान गर्‍यो। तिनले यहोवालाई कहिल्यै देखेनन् र तिनी धर्मी कहलिएका भए तापनि, तिनले यहोवाको स्वभावलाई कहिल्यै जानेनन्। अनि, आजका मानिसहरूका भौतिक आनन्दहरू अस्थायी रूपले थोरै छन् भन्‍न सकिए तापनि वा बाहिरी संसारको वातावरण शत्रुतापूर्ण भए तापनि, म मेरो स्वभाव देखाउँछु जुन मैले प्राचीनकालदेखि मानिसहरूसामु कहिल्यै प्रकट गरेको छैन र जुन सधैँ गुप्त रहेको छ; यसको साथै अनन्तकालका रहस्यहरू ती मानिसहरूलाई देखाउँछु जो सबैभन्दा तुच्छ छन् तर जसलाई मैले मेरो सबैभन्दा ठूलो मुक्ति दिएको छु। अझ भन्‍ने हो भने, मैले यी कुराहरू प्रकट गरेको यो पहिलोपल्ट हो; मैले त्यस्तो काम पहिले कहिल्यै गरेको छैन। तिमीहरू अय्यूबभन्दा अति नै निम्‍नस्तरको भए तापनि, तिमीहरूले हासिल गरेका र तिमीहरूले देखेका कुराले उसलाई माथ खुवाएको छ। तिमीहरू सबै प्रकारका कष्टहरूमार्फत गुज्रिएका, र तिमीहरूले सबै प्रकारका यातना अनुभव गरेका भए तापनि, त्यो कष्ट अय्यूबको जस्तो बिलकुल छैन; बरु यो त न्याय र सजाय हो जुन मानिसहरूले तिनीहरूको विद्रोहीपनको कारणले, तिनीहरूको विरोधको कारणले, र मेरो धर्मी स्वभावको कारणले पाएका हुन्; यो धर्मी न्याय, दण्ड र श्राप हो। यसको विपरीत, अय्यूब भने इस्राएलीहरूको माझमा एक धर्मी मानिस थिए जसले यहोवाको ठूलो प्रेम तथा करुणा पाए। तिनले कुनै दुष्कर्महरू गरेका थिएनन्, अनि तिनले यहोवाको विरोध गरेनन्; बरु, तिनी निष्ठापूर्वक यहोवाप्रति समर्पित थिए। तिनको धार्मिकताको कारणले, तिनी परीक्षाहरूमा परेका थिए, अनि तिनले अग्‍निमय परीक्षाहरू भोगे किनकि तिनी यहोवाका एक विश्‍वासयोग्य सेवक थिए। आजका मानिसहरू आफ्नो फोहोरीपन र अधार्मिकताको कारणले मेरो न्याय तथा श्रापमा परेका छन्। यद्यपि, तिनीहरूको कष्ट अय्यूबले आफ्नो पशुधन, आफ्नो सम्पत्ति, आफ्ना नोकरचाकर, आफ्ना सन्तानहरू र आफूले प्रिय ठानेका सबै कुराहरू गुमाएर भोगेको कष्टको तुलनामा केही पनि होइन, तैपनि तिनीहरूले भोग्‍ने कुरा अग्‍निमय शोधन र ज्वलन हो। अनि यो परीक्षालाई अय्यूबले भोगेको भन्दा गम्भीर बनाउने कुरा के हो भने त्यस्ता कष्टहरू मानिसहरू कमजोर भएकाले घटाइँदैनन् वा हटाइँदैनन्; बरु, ती लामो समयसम्म रहन्छन्, अनि मानिसहरूको जीवनको अन्तिम दिनसम्म नै रहिरहन्छन्। यो दण्ड, न्याय र श्राप हो; यो निर्दयी ज्वलन हो, अनि अझ बढी, यो मानवजातिको न्यायोचित “उत्तराधिकार” हो। मानिसहरू यसैका हकदार छन्, अनि यहीँ नै मेरो धर्मी स्वभाव प्रकट हुन्छ। यो एउटा ज्ञात तथ्य हो। तथापि, मानिसहरूले प्राप्त गरेका कुराहरू तिनीहरूले आज जति कष्ट भोग्छन् त्योभन्दा औधी धेरै छन्। जुन कष्ट तिमीहरूले भोग्छौ, त्यो केवल तिमीहरूको मूर्खताको परिणामस्वरूप लागेको धक्‍का हो, जबकि तिमीहरूले जे हासिल गरेका छौ, त्यो तिमीहरूको कष्टभन्दा सय गुणा ठूलो छ। पुरानो करारमा भएका इस्राएलका व्यवस्थाहरूअनुसार, मेरो विरोध गर्नेहरू सबैलाई, मलाई खुल्लमखुल्ला दोष लगाउनेहरू सबैलाई, अनि मेरो मार्ग नपछ्याउनेहरू सबैलाई र मलाई अपवित्र बलिदानहरू चढाउने साहस गर्नेहरू सबैलाई—तिनीहरू सबैलाई निश्‍चय नै मन्दिरमा आगोले जलाइनेछ वा केही चुनिएका मानिसहरूले ढुङ्गाले हानेर मार्नेछन् र तिनीहरूका आफ्नै कुलका सन्तानहरू र अन्य वंशगत नातेदारहरूले समेत मेरो श्राप भोग्‍नेछन्। आउने जीवनमा, तिनीहरू स्वतन्त्र हुनेछैनन्, तर मेरा दासहरूका पनि दासहरू हुनेछन्, अनि म तिनीहरूलाई अन्यजातिहरूको माझमा निर्वासित हुनका निम्ति धपाइदिनेछु, र तिनीहरू आफ्नो जन्मभूमिमा फर्कन सक्‍नेछैनन्। तिनीहरूका कार्य तथा व्यवहारको आधारमा हेर्दा, आजका मानिसहरूले सहने कष्ट इस्राएलीहरूले भोग्‍नुपरेको दण्डजतिको पनि गम्भीर छैन। तिमीहरूले हाल सहिरहेको कष्ट प्रतिशोध हो भन्‍ने भनाइ न्यायसङ्गत छैन किनकि तिमीहरूले रेखा नाघिसकेका छौ। यदि तिमीहरू इस्राएलमा भएको भए, तिमीहरू अनन्त पापीहरू हुनेथियौ, अनि इस्राएलीहरूद्वारा लामो समयअघि नै टुक्राटुक्रा पारिनेथियौ र यहोवाको मन्दिरमा स्वर्गबाट आएको आगोद्वारा भस्म पारिनेथियौ। तिमीहरूले अहिले हासिल गरेको कुरा के हो? तिमीहरूले के पाएका छौ, र तिमीहरूले के कुराको आनन्द लिएका छौ? मैले तिमीहरूमा मेरो धर्मी स्वभाव प्रकट गरेको छु, तर सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि मैले मानवजातिलाई उद्धार गर्नको निम्ति मेरो धैर्यता प्रकट गरेको छु। के भन्‍न सकिन्छ भने मैले तिमीहरूमा गरेको काम धैर्यको काम हो; यो मेरो व्यवस्थापनको खातिर गरिएको हो र, योभन्दा पनि बढी, यो मानवजातिको आनन्दको खातिर गरिएको हो।

अय्यूब यहोवाका परीक्षाहरूमार्फत गुज्रेका भए तापनि, तिनी यहोवालाई आराधना गर्ने एक धर्मी मानिस मात्र थिए। ती परीक्षाहरू भएर जानुपर्दा पनि, तिनले यहोवाको बारेमा गुनासो गरेनन्, अनि तिनले उहाँसितको जम्काभेटलाई अनमोल सम्झे। आजका मानिसहरूले यहोवाको उपस्थितिलाई कदर नगर्ने मात्र होइन, तिनीहरूले त उहाँ देखा पर्नुभएको घटनालाई इन्कार र घृणा गर्छन्, त्यसबारेमा गुनासो गर्छन् र खिल्ली उडाउँछन्। के तिमीहरूले ज्यादा हासिल गरेका छैनौं र? के तिमीहरूको कष्ट साँच्‍चि नै साह्रै ठूलो भएको छ र? के तिमीहरू मरियम र याकूबभन्दा सौभाग्यशाली भएका छैनौ र? अनि के तिमीहरूको विरोध साँच्‍चि नै साधारण रहेको छ र? मैले तिमीहरूलाई गर्न लगाएको र मैले तिमीहरूबाट मागेको कुरा के साह्रै ठूलो र धेरै भएको छ र? मेरो क्रोध ती इस्राएलीहरूमाथि मात्रै खनिएको थियो जसले मेरो विरोध गरे, तिमीहरूमाथि यो प्रत्यक्ष खनिएको छैन; तिमीहरूले पाएको कुरा त केवल मेरो निर्दयी न्याय र प्रकाशहरूका साथै अनवरत अग्‍निमय शोधन मात्र हो। यसको बाबजुद पनि, मानिसहरूले मेरो विरोध र खण्डन गर्न जारी राख्छन्, अनि तिनीहरूले रत्तीभर समर्पणविना त्यसो गर्छन्। केही यस्ता पनि छन् जो मदेखि टाढिन्छन् र मलाई इन्कार गर्छन्; त्यस्ता मानिसहरू मोशाको विरोध गर्ने कोरह र दातानको गिरोहभन्दा उत्तम छैनन्। मानिसहरूको हृदय अति नै कठोर छ, र तिनीहरूको प्रकृति धेरै नै हठी छ। तिनीहरूले कहिल्यै आफ्ना पुराना मार्गहरू परिवर्तन गर्दैनन्। म त भन्छु, तिनीहरू मध्यदिनको उज्यालोमा निर्वस्‍त्र राखिएका वेश्याहरूजस्तै हुन्, र मेरा वचनहरू यस विषयमा कठोर भएको हुनाले सायद ती “कानलाई अश्‍लील” लाग्‍न सक्छ, तर यसले मानिसहरूको प्रकृतिलाई दिनको उज्यालोमा उदाङ्गो पार्दछ—तैपनि तिनीहरूले केवल आफ्ना शिर मात्र हल्लाउँछन्, आँसुका केही थोपाहरू झार्छन् र आफैलाई जबरजस्ती अलिकति दुःखी महसुस गराउँछन्। यो कुरा बितिसकेपछि, तिनीहरू पहाडहरूमा बस्‍ने जङ्गली पशुहरूका राजाजस्तै क्रूर हुन्छन्, र तिनीहरूसित अलिकति पनि सचेतना हुँदैन। त्यस्तो स्वभाव भएका मानिसहरूले कसरी तिनीहरू अय्यूबभन्दा सय गुणा बढी सौभाग्यशाली छन् भनी जान्‍न सक्छन् र? तिनीहरूले युगौंयुगदेखि बिरलै देखिएका, र यसभन्दा अघि कसैले प्राप्त नगरेका आशिषहरू प्राप्त गर्छन् भन्‍ने कुरा तिनीहरूले कसरी महसुस गर्न सक्छन्? कसरी मानिसहरूका विवेकहरूले त्यस्ता आशिष्‌हरूलाई अनुभूत गर्न सक्छन्, जुन आशिष्‌हरूमा दण्ड सम्मिलित हुन्छ? स्पष्ट रूपले भन्दा, मैले तिमीहरूलाई पूरा गर्न लगाएको मापदण्ड केवल यति मात्र हो कि तिमीहरू मेरो कामको लागि आदर्श नमुना र मेरो सम्पूर्ण स्वभाव तथा कामहरूको गवाही हुन सक र शैतानले दिने कष्टहरूदेखि तिमीहरू स्वतन्त्र हुन सक। तथापि, मानिसहरू सधैँ मेरो कामदेखि विकर्षित हुन्छन् र जानाजान यसप्रति वैरी हुन्छन्। कसरी त्यस्ता मानिसहरूले इस्राएलका व्यवस्थाहरू फेरि ल्याउन र इस्राएलमाथि मैले खन्याएको क्रोध तिनीहरूमाथि खन्याउन मलाई नउक्साइरहन सक्लान् र? तिमीहरूमध्ये धेरै छन् जो मप्रति “आज्ञाकारी एवं समर्पित” छन्, कोरहको गिरोह शैलीका मानिसहरू त झन् धेरै छन्। एकपल्ट मैले मेरो पूरा महिमा प्राप्त गरिसकेपछि, म स्वर्गबाट आगो पठाएर तिनीहरूलाई भस्म गर्नेछु। अबदेखि म मानिसहरूलाई मेरा वचनहरूले मात्रै सजाय दिनेछैन भनी तिमीहरूले जान्‍नुपर्छ; बरु इस्राएलको काम गर्नुभन्दा अघि, मलाई विरोध गर्ने र धेरैअघि मैले निमिट्यान्‍न पारेको “कोरहको गिरोह” लाई म पूर्ण रूपले भस्म गरिदिनेछु। मानवजातिलाई मेरो आनन्द लिने अवसर अबउप्रान्त हुनेछैन; बरु तिनीहरूले केवल स्वर्गबाट बर्सेको मेरो क्रोध र आगोका ज्वालाहरू देख्‍नेछन्। म सबै प्रकारका मानिसहरूका विविध परिणामहरू प्रकट गरिदिनेछु, र तिनीहरू सबैलाई विभिन्‍न समूहमा वर्गीकरण गर्नेछु। म तिनीहरूको हरेक विद्रोही कार्यको टिपोट गर्नेछु र त्यसपछि मेरो काम सिध्याउनेछु ताकि पृथ्वीमा हुँदा मैले जुन फैसला गरेको थिएँ र मप्रति तिनीहरूको मनोवृत्ति जस्तो थियो, तिनै कुराहरूले मानिसहरूका परिणामहरूलाई निर्धारित गरून्। जब त्यो समय आउँछ, तिनीहरूका परिणामहरूलाई परिवर्तन गर्ने कुनै कुरा हुनेछैन। मानिसहरूले आफ्ना परिणामहरू आफै प्रकट गरून्! त्यसपछि, म मानिसहरूका ती परिणामहरूलाई स्वर्गीय पिताको हातमा सुम्पिदिनेछु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्