पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान: भाग दुई

मानिसले सम्पूर्ण जीवन शैतानको राज्यक्षेत्रमा जिउँछ, र आफ्‍नै प्रयासद्वारा आफूलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्‍ने एक जना पनि छैन। सबै नै अलिकति अर्थ वा मूल्यसमेत नभएको अशुद्ध संसारमा, भ्रष्टता र रिक्ततामा जिउँछन्; तिनीहरू देहको लागि, अभिलाषाको लागि र शैतानको लागि त्यस्तो लापरवाही जीवन जिउँछन्। तिनीहरूको अस्तित्वमा अलिकति पनि मूल्य छैन। शैतानको प्रभावबाट आफूलाई मुक्त गराउने सत्यता भेट्टाउन मानिस असक्षम छ। मानिसले परमेश्‍वरलाई विश्‍वास गर्ने र बाइबल पढ्ने गर्छ, तैपनि शैतानको प्रभावको नियन्त्रणबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसले बुझ्‍दैन। युगौँयुगदेखि, अत्यन्तै थोरै मानिसहरूले मात्र यो रहस्य पत्ता लगाएका छन्, अत्यन्तै थोरैले मात्र यसलाई बुझेका छन्। त्यसैले, मानिसले शैतानलाई घृणा गरे पनि र देहलाई घृणा गरे पनि, शैतानको पासोरूपी प्रभावबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसलाई थाहा हुँदैन। आज के तिमीहरू अझै पनि शैतानको राज्यक्षेत्रमा छैनौ र? तिमीहरू आफ्ना अवज्ञाकारी कार्यहरूको बारेमा पछुतो गर्दैनौ, तिमीहरूले आफू फोहोरी र अवज्ञाकारी छौँ भनी महसुस गर्नु त परै जाओस्। परमेश्‍वरको विरोध गरिसकेपछि, तिमीहरू ढुक्‍क हुन्छौ र ठूलो शान्ति महसुस गर्छौ। के तिमीहरूले यो शान्ति आफू भ्रष्ट भएकोले प्राप्त गरेका होइनौ र? के यो ढुक्‍कपन तिमीहरूको अवज्ञाबाट आउँदैन र? मानिस मानव-नरकमा जिउँछ, ऊ शैतानको अँध्यारो प्रभावमा जिउँछ; सारा मुलुकभरि, मानिसको देहमा अतिक्रमण गर्दै भूतहरू मानिससँग जिउँछन्। पृथ्वीमा तँ सुन्दर स्वर्गलोकमा जिउँदैनस्। तिमीहरू जिउने संसार दियाबलसको राज्य हो, यो एउटा मानव-नरक, मृतकहरूको संसार हो। यदि मानिसलाई शुद्ध पारिएन भने, ऊ फोहोरी हुन्छ; यदि उसलाई परमेश्‍वरले सुरक्षा र हेरचाह गर्नुभएन भने, ऊ अझै शैतानकै कैदी हुन्छ; उसलाई न्याय र सजाय गरिएन भने, शैतानको अँध्यारो प्रभावको दमनबाट उम्कने कुनै पनि माध्यम ऊसँग हुनेछैन। तैँले देखाउने भ्रष्ट स्वभाव र तँ जुन अनाज्ञाकारी आचरणमा जिउँछस् त्यो आचरण नै तँ अझै पनि शैतानको राज्यक्षेत्रमा छस् भन्‍ने कुरा प्रमाणित गर्न पर्याप्त छन्। यदि तेरो मन र विचारहरू शुद्ध पारिएका छैनन् भने, र तेरो स्वभावलाई न्याय र सजाय गरिएको छैन भने, तेरो समग्र अस्तित्व अझै पनि शैतानको राज्यक्षेत्रद्वारा नियन्त्रित छ, तेरो मन शैतानको नियन्त्रणमा छ, तेरा विचारहरू शैतानको चालबाजीमा परेको छ, र तेरो सम्पूर्ण अस्तित्व शैतानका हातहरूको नियन्त्रणमा छ। तँ अहिले पत्रुसको मापदण्डहरूबाट कति टाढा छस् भन्‍ने कुरा के तँलाई थाहा छ? के तँमा त्यो क्षमता छ? तँलाई आजको सजाय र न्यायको बारेमा कति थाहा छ? पत्रुसले जुन कुरालाई जाने त्यो तँमा कति छ? यदि तँ आज यसलाई जान्‍न सक्दैनस् भने, के तैँले भविष्यमा यो ज्ञान हासिल गर्न सक्‍नेछस्? तँजस्तो अल्छी र कायर मानिस सजाय र न्यायको बारेमा जान्‍न असक्षम हुन्छ। यदि तैँले देहको शान्ति र देहका सुख-चैनहरूलाई खोज्छस् भने, शुद्ध पारिनलाई तँसँग कुनै माध्यम हुनेछैन र अन्त्यमा तँ शैतानकहाँ नै फर्कनेछस्, किनभने तँ जे जिइरहेको छस् त्यो शैतान हो र त्यो देह नै हो। आजको यस्तो अवस्थामा, धेरै मानिसहरूले जीवनको खोजी गर्दैनन्, जसको अर्थ तिनीहरूले शुद्ध पारिनेबारेमा वा अझै गहन जीवन अनुभवमा प्रवेश गर्नेबारेमा तिनीहरू वास्ता गर्दैनन्। यस्तो भएकोले, तिनीहरूलाई कसरी सिद्ध पार्न सकिन्छ? जीवनको खोजी नगर्ने मानिसहरूसँग सिद्ध पारिने मौका हुँदैन, र परमेश्‍वरको ज्ञानको खोजी नगर्नेहरू, आफ्‍नो स्वभाव परिवर्तन गर्ने कार्यको खोजी नगर्नेहरू शैतानको अँध्यारो प्रभावबाट उम्कन सक्दैनन्। तिनीहरू विधि मात्र अनुसरण गर्ने र नियमित सेवाहरूमा सहभागी हुनेहरूजस्तै परमेश्‍वरसम्‍बन्धी आफ्‍नो ज्ञान र आफ्‍नो स्वभावको परिवर्तनमा हुने प्रवेशको बारेमा गम्‍भीर छैनन्। के त्यो समयको बरबादी होइन र? परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा, यदि ऊ जीवनका मामलाहरूप्रति गम्‍भीर छैन, उसले सत्यतामा प्रवेश गर्ने कार्यको खोजी गर्दैन, आफ्‍नो स्वभावमा परिवर्तन ल्याउने कार्यको खोजी गर्दैन र परमेश्‍वरको कार्यको ज्ञानको खोजी त झन् गर्दै गर्दैन भने, उसलाई सिद्ध पारिन सकिँदैन। यदि तँ सिद्ध पारिन चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ। खास गरी, उहाँको सजाय र न्यायको महत्त्वलाई र किन मानिसमा यो कार्य गरिन्छ भन्‍ने कुरालाई तैँले बुझ्‍नैपर्छ। के तँ स्वीकार गर्न सक्छस्? यस प्रकारको सजायको बेला, के तँ पत्रुसको जस्तै अनुभवहरू र ज्ञान प्राप्त गर्न सक्षम हुन्छस्? यदि तैँले परमेश्‍वरको ज्ञान र पवित्र आत्माको कार्यको खोजी गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभाव परिवर्तनको खोजी गर्छस् भने, तँसँग सिद्ध पारिने मौका छ।

सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई विजय गरिएपछि मात्र उसले सिद्ध पारिने कार्य अनुभव गर्न सक्छ। विजय गरिएको भूमिका निर्वाह गर्नुमा मात्रै कुनै ठूलो महत्त्व छैन, यसले तँलाई परमेश्‍वरद्वारा प्रयोग गरिनको लागि योग्य तुल्याउनेछैन। सुसमाचार फैलाउने कार्यमा तैँले आफ्‍नो भूमिका निर्वाह गर्ने कुनै माध्यम तँसँग हुनेछैन, किनभने तैँले जीवनको खोजी गर्दैनस्, र आफूभित्रको परिवर्तन र नवीकरणको खोजी गर्दैनस्, त्यसैले तँसँग जीवनसम्‍बन्धी कुनै खास अनुभव छैन। एकपछि अर्को गरिने यो चरणबद्ध कार्यमा, तैँले एकपटक सेवाकर्ताको रूपमा र प्रतिभारको रूपमा काम गरिस्, तर तँ अन्तिममा पत्रुसजस्तै बन्‍ने खोजी गर्दैनस् भने, र जुन मार्गद्वारा पत्रुस सिद्ध पारिए तेरो खोजी त्यसअनुसार छैन भने, स्वाभाविक रूपमै तैँले आफ्‍नो स्वभाव परिवर्तनको अनुभव गर्नेछैनस्। यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्‍नेछस्: “परमेश्‍वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गरेको छु, र मैले ठूलो कष्ट भोगेको भए पनि, परमेश्‍वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ भन्‍ने कुरा मैले जानेको छु, परमेश्‍वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्‍वरको धार्मिकताको ज्ञान पाएको छु र उहाँको सजायले मलाई मुक्ति दिएको छ। उहाँको धर्मी स्वभाव ममा आइपरेको छ र मलाई आशिष्‌हरू र अनुग्रह ल्याइदिएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको र शुद्ध पारेको छ। यदि परमेश्‍वरद्वारा मलाई सजाय र न्याय नगरिएको, र परमेश्‍वरको कठोर वचन ममा नआइपरेको भए, मैले परमेश्‍वरलाई चिन्‍न सक्दिनथेँ, न त मुक्ति नै पाउन सक्थेँ। आज म देख्‍छु: एक प्राणीको रूपमा, व्यक्तिले परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्र होइन, अझै महत्त्वपूर्ण रूपमा, सम्पूर्ण प्राणीहरूले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्‍वरको स्वभाव मानिसद्वारा आनन्द लिन योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको एक प्राणीको रूपमा, व्यक्तिले परमेश्‍वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र त्यति मात्र होइन, त्यसमा महान् प्रेम छ। आज परमेश्‍वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए पनि, यसलाई देख्‍ने सौभाग्य मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही हो र तिनीहरूले बताउने ज्ञान यही हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, सत्यता भएका व्यक्तिहरू हुन्। जब तिनीहरूले अन्त्यसम्‍मै अनुभव गर्छन्, परमेश्‍वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नेछन्, र तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनेछन्।

मानिसहरूलाई विजय गरिएपछि, तिनीहरूसँग कुनै गुञ्‍जायमान साक्षी हुँदैन। तिनीहरूले शैतानलाई लज्‍जित मात्रै पारेका हुन्‍छन्, तर तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा जिएका हुँदैनन्। तिमीहरूले दोस्रो मुक्ति प्राप्त गरेका छैनौ; तिमीहरूले पापबलि त प्राप्त गरेका छौ, तर तिमीहरूलाई सिद्ध पारिएको छैन—यो एउटा ठूलो नोक्‍सानी हो। तिमीहरूले आफू केमा प्रवेश गर्नुपर्छ र केअनुरूप जिउनुपर्छ सो बुझ्‍नुपर्छ र तिनमा प्रवेश गर्नुपर्छ। यदि अन्त्यमा, सिद्ध पारिने कार्यलाई तैँले पूरा गरिनस् भने, तँ वास्तविक मानिस बन्‍नेछैनस् र तँ अफसोसले भरिनेछस्। सुरुमा परमेश्‍वरद्वारा सृष्टि गरिएका आदम र हव्‍वा पवित्र मानिसहरू थिए, अर्थात् अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र थिए, फोहोरले दूषित भएका थिएनन्। तिनीहरू यहोवाप्रति बफादार थिए र यहोवालाई धोका दिनेबारेमा तिनीहरूलाई केही थाहा थिएन। किनभने तिनीहरूमा शैतानको प्रभावको बाधा थिएन, शैतानको विष थिएन र तिनीहरू सारा मानवजातिमध्ये सबैभन्दा शुद्ध थिए। तिनीहरू अदनको बगैंचामा कुनै पनि फोहोरद्वारा अशुद्ध नपारिएको, देहको वशमा नपरेको अवस्थामा र यहोवाको श्रद्धा गर्दै बस्थे। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूमा सर्पको विष पर्‍यो, र यहोवालाई धोका दिने इच्‍छा जाग्यो, र तिनीहरू शैतानको प्रभावमा जिए। सुरुमा, तिनीहरू पवित्र थिए र तिनीहरूले यहोवाको श्रद्धा गर्थे; यो अवस्थामा मात्रै तिनीहरू मानव थिए। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाए, र शैतानको प्रभावमा जिए। तिनीहरूलाई शैतानले बिस्तारै भ्रष्ट बनाउँदै लग्यो र तिनीहरूले मानिसको मूल स्वरूप गुमाए। सुरुमा, मानिसमा यहोवाको सास थियो, ऊ अलिकति पनि अनाज्ञाकारी थिएन र उसको हृदयमा कुनै दुष्टता थिएन। त्यो समयमा, मानिस साँच्‍चै मानव थियो। शैतानद्वारा भ्रष्ट गरिएपछि, मानिस जनावर बन्यो। उसका विचारहरू दुष्टता र फोहोरद्वारा भरिए, तिनमा कुनै असल कुरा वा पवित्रता थिएन। के यो शैतान होइन र? तैँले परमेश्‍वरको धेरै कार्य अनुभव गरेको छस्, तैपनि तँ परिवर्तन वा शुद्ध भएको छैनस्। तँ अझै पनि शैतानको राज्यक्षेत्रमा जिउँछस् र परमेश्‍वरमा अझै पनि समर्पित छैनस्। यो विजय गरिएको तर सिद्ध नपारिएको व्यक्ति हो। अनि त्यस्तो व्यक्तिलाई सिद्ध पारिएको छैन भनेर किन भनिएको हो? किनभने यस्तो व्यक्तिले जीवनलाई वा परमेश्‍वरको कार्यसम्‍बन्धी ज्ञानलाई खोजी गर्दैन, बरु देहको सुख-चैन र क्षणिक सहजताको मात्रै लोभ गर्छ। परिणामस्वरूप, त्यस्ता व्यक्तिहरूको जीवन स्वभावमा कुनै परिवर्तन हुँदैन र तिनीहरूले परमेश्‍वरद्वारा सृष्टि भएको आफ्नो मूल स्वरूप पुनः प्राप्त गरेका हुँदैनन्। त्यस्ता मानिसहरू जिउँदो लासहरू हुन्, तिनीहरू आत्मा नभएका मृत मानिसहरू हुन्! आत्मामा तत्वहरूको ज्ञान खोजी नगर्नेहरू, पवित्रता खोजी नगर्नेहरू, र सत्यताअनुरूप जिउन नखोज्नेहरू, नकरात्मक पक्षमा मात्रै विजय गरिएकोमा सन्तुष्ट हुनेहरू, र परमेश्‍वरको वचनअनुसार जिउन र पवित्र मानिस बन्‍न नसक्‍नेहरू—यिनीहरू त्यस्ता मानिसहरू हुन् जसलाई मुक्ति दिइएको छैन। किनभने, यदि ऊ सत्यविहीन छ भने, परमेश्‍वरका जाँचहरूको अवधिमा त्यो मानिस दह्रिलो गरी खडा हुन सक्दैन; परमेश्‍वरका जाँचहरूको अवधिमा दह्रिलो गरी खडा हुन सक्‍नेहरू मात्रै मुक्ति पाएकाहरू हुन्। म पत्रुसजस्ता मानिसहरू, सिद्ध पारिन खोज्ने मानिसहरू चाहन्छु। सत्यताको उत्कट इच्छा र खोजी गर्नेहरूलाई आजको सत्यता दिइन्छ। परमेश्‍वरबाट मुक्ति पाउन इच्छा गर्नेहरूलाई नै यो मुक्ति दिइन्छ र यो तिमीहरूले मात्रै प्राप्त गर्नुपर्छ भन्‍ने छैन। यसको उद्देश्य तिमीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहोस् भन्‍ने हो; तिमीहरूले आफूलाई परमेश्‍वरले प्राप्त गर्न सक्‍नुहोस् भनेर नै परमेश्‍वरलाई प्राप्त गर्छौ। आज मैले यी वचनहरू तिमीहरूलाई बताएको छु, र तिमीहरूले ती सुनेका छौ, र तिमीहरूले यी वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। अन्त्यमा, तिमीहरूले यी वचनहरूलाई अभ्यास गर्ने समय नै मैले यी वचनहरूद्वारा तिमीहरूलाई प्राप्त गरेको क्षण हुनेछ; यसै बेला, तिमीहरूले यी वचनहरूलाई पनि प्राप्त गरेका हुनेछौ, अर्थात् तिमीहरूले यो सर्वोच्‍च मुक्तिलाई प्राप्त गरेका हुनेछौ। शुद्ध पारिएपछि तिमीहरू वास्तविक मानव बनेका हुनेछौ। यदि तँ सत्यतामा जिउन वा सिद्ध पारिएको व्यक्तिको स्वरूपमा जिउन सक्दैनस् भने, तँ मानिस होइनस्, बरु जिउँदो लास होस्, पशु होस् किनभने तँ सत्यविहीन छस्, र यसको अर्थ के हो भने तँ यहोवाको सासविहीन छस्, त्यसैले तँ आत्मा नभएको मृत मानिस होस् भनेर भन्‍न सकिन्छ! विजय गरिएपछि साक्षी दिनु सम्‍भव भए पनि, तैँले थोरै मुक्तिबाहेक केही पनि प्राप्त गर्दैनस्, र तँ आत्मा भएको जीवित प्राणी बनेको छैनस्। तैँले सजाय र न्यायको अनुभव गरेको भए पनि, यसको परिणामस्वरूप तेरो स्वभाव नवीकरण वा परिवर्तन भएको छैन; तँ अझै पनि तेरो पुरानै व्यक्तित्व होस्, तँ अझै पनि शैतानको स्वामित्वमै छस्, र तँ शुद्ध पारिएको मानिस होइनस्। सिद्ध पारिएकाहरू मात्रै मूल्यवान् छन् र यस्ता मानिसहरूले मात्रै साँचो जीवन प्राप्त गरेका छन्। एक दिन, कसैले तँलाई यसो भन्‍नेछ, “तपाईंले परमेश्‍वरको कामलाई अनुभव गर्नुभएको छ, त्यसैले उहाँको काम कस्तो छ बताउनुहोस्। दाऊदले परमेश्‍वरको कार्य अनुभव गरे, र यहोवाका कार्यहरू देखे, मोशाले पनि यहोवाका कार्यहरू देखे, र तिनीहरू दुवै यहोवाका कार्यहरू व्याख्या गर्न सक्षम थिए, र दुवैले यहोवाको अद्‌भुतता व्याख्या गर्न सक्थे। आखिरी दिनहरूमा देहधारी परमेश्‍वरले गर्नुभएका कार्यलाई तपाईंहरूले हेर्नुभएको छ; के तपाईं उहाँको बुद्धिको बारेमा बताउन सक्‍नुहुन्छ? के तपाईं उहाँको कार्यको अद्‌भुतताको बारेमा बताउन सक्‍नुहुन्छ? परमेश्‍वरले तपाईंहरूलाई के मापदण्ड दिनुभयो र तपाईंहरूले कसरी तिनीहरूको अनुभव गर्नुभयो? तपाईंहरूले आखिरी दिनहरूको परमेश्‍वरको कार्यलाई अनुभव गर्नुभएको छ—तपाईंहरूको सबैभन्दा महान् दिव्यदर्शन के हो? के तपाईंहरू यसबारेमा बताउन सक्‍नुहुन्छ? के तपाईंहरू परमेश्‍वरको धर्मी स्वभावको बारेमा बताउन सक्‍नुहुन्छ?” यस्ता प्रश्‍नहरूको सामना गर्दा तैँले कसरी उत्तर दिनेछस्? यदि तैँले “परमेश्‍वर यति धर्मी हुनुहुन्छ कि उहाँले हामीलाई सजाय र न्याय गर्नुहुन्छ र निर्मम तरिकाले हाम्रो खुलासा गर्नुहुन्छ; परमेश्‍वरको स्वभावले साँच्‍चै नै मानिसको उल्लङ्घनलाई सहँदैन; परमेश्‍वरको कार्य अनुभव गरिसकेपछि, मैले हाम्रो आफ्‍नै पशुत्वलाई जान्‍न पुगेको छु, र मैले साँच्‍चै नै परमेश्‍वरको धर्मी स्वभावलाई अवलोकन गरेको छु” भनेर भनिस् भने, अर्को व्यक्तिले प्रश्‍नलाई जारी राख्‍नेछ, “परमेश्‍वरको बारेमा तपाईंलाई अरू के कुरा थाहा छ? कुनै व्यक्ति कसरी जीवनमा प्रवेश गर्छ? के तपाईंसँग कुनै व्यक्तिगत आकांक्षाहरू छन्?” तैँले यस्तो जवाफ दिनेछस्, “शैतानद्वारा भ्रष्ट पारिएपछि, परमेश्‍वरका प्राणीहरू वनपशु बने, र तिनीहरू गधाहरूभन्दा फरक थिएनन्। आज, म परमेश्‍वरको स्वामित्वमा जिउँछु, र त्यसैले मैले सृष्टिकर्ताका इच्‍छाहरूलाई सन्तुष्ट गर्नुपर्छ र उहाँले जे सिकाउनुहुन्छ सो पालन गर्नुपर्छ। मसँग अर्को कुनै विकल्‍प छैन।” यदि तैँले यसरी सामान्य किसिमले मात्रै कुरा गर्छस् भने, तैँले के भनिरहेको छस् त्यस व्यक्तिले बुझ्‍नेछैन। परमेश्‍वरको कार्यको बारेमा तँसँग के ज्ञान छ भनेर तिनीहरूले सोध्दा, तिनीहरूले तेरा व्यक्तिगत अनुभवहरूका बारेमा सोधिरहेका हुन्छन्। परमेश्‍वरको सजाय र न्यायलाई अनुभव गरिसकेपछि तँमा यसबारेमा के ज्ञान छ भनेर तिनीहरूले सोधिरहेका हुन्छन्, र यसमा तिनीहरूले तेरा व्यक्तिगत अनुभवहरूका बारेमा कुरा गरिरहेका हुन्छन्, र सत्यतासम्‍बन्धी तेरो ज्ञानको बारेमा बताउन तँलाई तिनीहरूले अनुरोध गरिरहेका हुन्छन्। यदि तँ त्यस्ता कुराहरूका बारेमा बोल्‍न असक्षम छस् भने, तँलाई आजको कामको बारेमा केही पनि थाहा छैन भन्‍ने प्रमाणित हुन्छ। तँ सधैँ सतही, वा विश्‍वव्यापी रूपमा थाहा भएका शब्दहरू बोल्छस्; तँसँग कुनै विशिष्ट अनुभवहरू छैन, तेरो ज्ञानमा सारतत्व हुने कुरा त परै जाओस्, र तँमा साँचो गवाहीहरू पनि छैनन्, त्यसकारण अरूहरू तँप्रति विश्‍वस्त हुँदैनन्। परमेश्‍वरलाई पछ्याउने निष्क्रिय व्यक्ति नबन्, र तँलाई जिज्ञासु तुल्याउने कुराको खोजी नगर्। यता न उताको भइस् भने, यसले तँ आफैलाई बरबाद गर्नेछ र तेरो जीवनलाई ढिलाइ गर्नेछ। त्यस्तो असक्रियता र निष्क्रियताबाट तैँले आफूलाई मुक्त गर्नैपर्छ, र सकारात्मक कुराहरूको खोजी गर्ने र आफ्‍नै कमजोरीहरूमाथि पार पाउने कार्यमा तँ सिपालु हुनुपर्छ, ताकि तँ सत्यतालाई प्राप्त गर्न र सत्यतामा जिउन सक्। तेरा दुर्बलताहरूका बारेमा डराउनुपर्ने कुरा केही छैन र तेरा कमजोरीहरू तेरा सबैभन्दा ठूला समस्या होइनन्। तेरो सबैभन्दा ठूलो समस्या र तेरो सबैभन्दा ठूलो कमजोरी भनेको तँ यता न उताको हुनु र सत्यता खोज्‍ने इच्‍छा तँमा नहुनु हो। तिमीहरू सबैको सबैभन्दा ठूलो समस्या भनेको जे छ त्यसैमा खुशी हुने र हात बाँधेर पर्खिबस्‍ने तिमीहरूको कायर मानसिकता हो। सत्यताको खोजीमा तिमीहरूको सबैभन्दा ठूलो बाधा र सबैभन्दा ठूलो शत्रु यही हो। मैले तँसँग बोलेका वचनहरू अत्यन्तै गहन भएकोले मात्रै तैँले आज्ञापालन गर्छस् भने, तँमा साँच्‍चै ज्ञान छैन, न त तैँले सत्यतालाई नै बहुमूल्य ठान्छस्। तेरो जस्तो आज्ञापालन साक्षी होइन र म त्यस्तो आज्ञापालनलाई स्वीकृति दिन्‍नँ। कसैले तँलाई सोध्‍न सक्छ, “तपाईंको परमेश्‍वर वास्तवमा कहाँबाट आउनुहुन्छ? तपाईंको यो परमेश्‍वरको सारतत्व के हो?” तैँले उत्तर दिनेछस्, “उहाँको सारतत्व भनेको सजाय र न्याय हो।” अनि उसले आफ्‍नो कुरालाई जारी राख्छ, “के परमेश्‍वर मानिसप्रति करुणामय र प्रेमिलो हुनुहुन्‍न र? के तपाईंलाई यसबारेमा थाहा छैन?” तैँले भन्‍नेछस्, “त्यो त अरूको परमेश्‍वर हो। यो त धर्मका मानिसहरूले विश्‍वास गर्ने परमेश्‍वर हो, र यो हाम्रो परमेश्‍वर होइन।” तँजस्तो मानिसहरूले सुसमाचार प्रचार गर्दा, तैँले साँचो मार्गलाई बङ्ग्याउँछस्, अनि तँसित उपयोगी कुरा के नै हुन्छ र? तँबाट अरूले कसरी साँचो मार्ग प्राप्त गर्न सक्छन् र? तँ सत्यविहीन छस्, र तैँले सत्यताको बारेमा केही पनि बताउन सक्दैनस्, अनि त्यति मात्रै कहाँ हो र, तँ त सत्यतामा जिउन पनि सक्दैनस्। परमेश्‍वरको सामु जिउनको लागि केले तँलाई योग्य तुल्याउँछ? जब तँ अरूलाई सुसमाचार प्रचार गर्छस्, र जब तैँले सत्यताको सङ्गति गर्छस् र परमेश्‍वरको साक्षी दिन्छस्, यदि तैँले तिनीहरूलाई जित्‍न सक्दैनस् भने, तिनीहरूले तेरा वचनहरूलाई खण्डन गर्नेछन्। के तँ व्यर्थको छैनस् र? तैँले परमेश्‍वरको यति धेरै काम अनुभव गरेको छस्, तैपनि जब तैँले सत्यताको बारेमा बताउँछस् त्यो अर्थपूर्ण हुँदैन। के तँ केही न कामको छैनस् र? तँसित काम लाग्‍ने के छ र? परमेश्‍वरको कार्यलाई त्यति धेरै अनुभव गरेर पनि तिमीहरूसँग उहाँको बारेमा कसरी अलिकति ज्ञान पनि नभएको हो? परमेश्‍वरको बारेमा तँसँग वास्तविक ज्ञान के छ भनी तिनीहरूले सोध्दा, तँ अवाक् हुन्छस्, वा परमेश्‍वर शक्तिशाली हुनुहुन्छ, तैँले प्राप्त गरेको सबैभन्दा ठूलो आशिष्‌ वास्तवमा परमेश्‍वरको उत्थान हो, र परमेश्‍वरलाई व्यक्तिगत रूपमा हेर्न सक्षम हुनु जत्तिको महान् सौभाग्य अरू छैन भनेर केही असान्दर्भिक उत्तर दिन्छस्। यसो भन्‍नुको महत्व के छ र? ती व्यर्थका, खोक्रा शब्‍दहरू हुन्! परमेश्‍वरको कार्यको बारेमा त्यति धेरै अनुभव गरिसकेपछि पनि, के परमेश्‍वरको उत्थान नै सत्यता हो भन्‍ने कुरा मात्रै तैँले जान्दछस्? तैँले परमेश्‍वरको कार्यलाई जान्‍नैपर्छ, त्यसपछि मात्रै तैँले परमेश्‍वरको साँचो साक्षी दिनेछस्। सत्यता प्राप्त नगरेकाहरूले कसरी परमेश्‍वरको साक्षी दिन सक्छन् र?

यदि यति धेरै काम र यति धेरै वचनले पनि तँमा कुनै प्रभाव पारेको छैन भने, परमेश्‍वरको कार्यलाई फैलाउने समय आउँदा, तैँले आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछैनस्, र तँ लज्‍जित हुनेछस् र सर्ममा पर्नेछस्। त्यो समयमा, तँलाई आफू परमेश्‍वरप्रति धेरै ऋणी भएको, परमेश्‍वरसम्‍बन्धी आफ्नो ज्ञान अति सतही भएको महसुस हुनेछ। यदि तैँले उहाँले काम गरिरहनुभएको बेला, आजका परमेश्‍वरको ज्ञानलाई खोजी गरिनस् भने, पछि धेरै ढिला भइसकेको हुनेछ। अन्त्यमा, बताउनको लागि तँसँग कुनै ज्ञान हुनेछैन—तँ रित्तो रहनेछस्, तँसँग केही पनि हुनेछैन। परमेश्‍वरलाई लेखा दिनको लागि तैँले के प्रयोग गर्नेछस्? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? अहिले आफ्‍नो खोजीमा तैँले कठिन परिश्रम गर्नुपर्छ, ताकि अन्त्यमा तैँले पनि पत्रुसले जस्तै मानिसको लागि परमेश्‍वरको सजाय र न्याय कति लाभदायक छ, र उहाँको सजाय र न्यायविना मानिसलाई मुक्ति दिन सकिँदैन र ऊ यो फोहोरी मुलुकमा झन्‍झन् तलतल डुब्दै जान मात्र अर्थात् दलदलमा झन्झन् फस्‍न मात्र सक्छ भन्‍ने कुरा बुझ्‍नेछस्। मानिसहरूलाई शैतानले भ्रष्ट पारेको छ, तिनीहरूले एकअर्काको विरुद्धमा षड्यन्त्र गरेका छन्, एकअर्कालाई कुल्चिहिँडेका छन्, र परमेश्‍वरप्रतिको भय गुमाएका छन्। तिनीहरूको अवज्ञा निकै ठूलो छ, तिनीहरूसँग धारणाहरू धेरै छन् र तिनीहरू सबै शैतानको स्वामित्वमा छन्। परमेश्‍वरको सजाय र न्यायविना, मानिसको भ्रष्ट स्वभावलाई शुद्ध पार्न सकिँदैनथ्यो र उसलाई मुक्ति दिन पनि सकिँदैनथ्यो। देहधारी परमेश्‍वरले देहमा गर्नुहुने कामद्वारा जे प्रकट गरिन्छ ठीक त्यही नै आत्माद्वारा प्रकट गरिन्छ र आत्माले गर्नुभएको कामअनुसार नै उहाँले काम गर्नुहुन्छ। आज, तँमा यो कार्यको बारेमा केही पनि ज्ञान छैन भने, तँ अत्यन्तै मूर्ख होस् र तैँले धेरै कुरा गुमाएको छस्! यदि तैँले परमेश्‍वरको मुक्ति प्राप्त गरेको छैनस् भने, तेरो विश्‍वास धार्मिक विश्‍वास मात्र हो र तँ धर्मको इसाई होस्। तैँले मृत धर्मसिद्धान्तलाई पक्रिराख्‍ने हुनाले, पवित्र आत्‍माको नयाँ कार्यलाई गुमाएको छस्; परमेश्‍वरलाई प्रेम गर्न खोज्ने अरू मानिसहरूले सत्यता र जीवन प्राप्त गर्न सक्छन्, जबकि तेरो विश्‍वासले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्दैन। तँ त दुष्ट काम गर्ने मानिस बनेको छस्, विध्वंसकारी र घृणास्पद कार्यहरू गर्ने व्यक्ति भएको छस्; तँ शैतानका हस्यौलीहरूको निसाना र शैतानको कैदी बनेको छस्। परमेश्‍वरलाई मानिसले विश्‍वास गर्नु पर्दैन, तर उसले उहाँलाई प्रेम गर्नुपर्छ र उसले उहाँको खोजी र आराधना गर्नुपर्छ। यदि आज तैँले खोजी गरेनस् भने, यस्तो दिन आउनेछ जब तैँले भन्‍नेछस्, “त्यो बेला मैले किन परमेश्‍वरलाई उचित रूपमा पछ्याइनँ, उहाँलाई उचित रूपमा किन सन्तुष्ट पारिनँ, मेरो जीवन स्वभावलाई परिवर्तन गर्ने कार्यको खोजी किन गरिनँ? त्यो बेला परमेश्‍वरमा समर्पित हुन नसकेकोमा र परमेश्‍वरको वचनको ज्ञानलाई खोजी नगरेकोमा मलाई कति अफसोस छ। त्यो बेला परमेश्‍वरले धेरै कुरा भन्‍नुभएको थियो; मैले कसरी खोजी गर्न नसकेको? म कति मूर्ख थिएँ!” केही हदसम्‍म अझै तैँले आफैलाई घृणा गर्नेछस्। आज, मैले भन्‍ने वचनहरूमा तँ विश्‍वास गर्दैनस्, र तिनलाई तैँले ध्यानै दिँदैनस्; जब यस प्रकारको काम फैलने दिन आउनेछ र तैँले यसको सम्पूर्णता देख्‍नेछस्, तब तँ पछुताउनेछस्, र त्यो समय तँ अक्‍क न बक्‍क हुनेछस्। आशिष्‌हरू छन्, तैपनि तिनमा आनन्द लिन तैँले जान्दैनस्, र सत्यता छ, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र? आज, परमेश्‍वरको कार्यको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट अपेक्षा गरिएका मापदण्डहरू र तँलाई जिउन आग्रह गरिएका कुराहरू असाधारण होइनन्। काम धेरै छन्, र सत्यता पनि धेरै छन्; के ती तैँले थाहा पाउन योग्य छैनन् र? के परमेश्‍वरको सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के परमेश्‍वरको सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; आफैलाई देहमा मस्त पार्ने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्‍नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्‌हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्‍वरलाई दोष दिन सक्छस्? तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु, तेरा छोराछोरी रोग-बिमारबाट मुक्त हुनु, तेरो श्रीमानले राम्रो जागिर पाउनु, तेरो छोराले असल श्रीमती पाउनु, तेरो छोरीले योग्य श्रीमान पाउनु, तेरो गोरु र घोडाले राम्ररी खेत जोत्‍नु, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम हुनु हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु, र तेरो परिवारमा कुनै दुर्घटना नघटोस्, तँबाट भएर बतास चलोस्, तेरो अनुहार धूलोले नछुओस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्, तँलाई कुनै पनि विपत्तिले असर नपारोस्, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाइयोस्, आरामदायी निवासमा बस्‍न पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्‍न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ। मानिसहरू के भन्छन् भने, परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्याउँथ्यो भने, के उहाँले मानिसलाई पन्छाउन सक्‍नुहुन्थ्यो? म सबै मानिसहरूप्रति निष्पक्ष छु, र म सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसको लागि मैले तय गरेका मापदण्डहरूमा उचित सर्तहरू छन्, र उनीहरू जोसुकै भए पनि मैले तय गरेको मापदण्ड सबै मानिसहरूले पूरा गर्नुपर्छ। तेरा योग्यताहरू कति छन् वा कति लामो समयदेखि ती योग्यता तँमा रहेका छन्, म त्यो कुराको वास्ता गर्दिनँ; तँ मेरो मार्गमा हिँड्छस् कि हिँड्दैनस् र तैँले सत्यप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् म त्यो कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँमा सर्म ल्याउँछस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि प्रहार गर्नेछु र दण्ड दिनेछु, र त्यसपछि तैँले के भन्‍नेछस्? के तँ परमेश्‍वर धर्मी हुनुहुन्‍नु भनेर भन्‍न सक्‍नेछस्? आज, मैले बोलेका वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले स्वीकार गर्ने प्रकारको व्यक्ति होस्। परमेश्‍वरलाई पछ्याउने क्रममा तैँले सधैँ आफूले कष्ट भोगेको छु, दु:ख र सुख दुवै अवस्थामा उहाँलाई पछ्याएको छु, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छु भनेर भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएको वचनमा तँ जिएको छैनस्; तैँले परमेश्‍वरको लागि दौडधूप गर्ने र हरदिन आफैलाई परमेश्‍वरको निम्ति खर्च गर्ने इच्छा मात्रै गर्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारेमा कहिल्यै पनि विचार गरेको छैनस्। तँ यो पनि बन्छस्, “जेसुकै भए पनि, परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने म विश्‍वास गर्छु। मैले उहाँको लागि कष्ट भोगेको छु, उहाँको लागि दगुरिहिँडेको छु, र उहाँको लागि आफैलाई समर्पित गरेको छु, अनि कुनै सम्‍मान प्राप्त नगरे पनि कठिन परिश्रम गरेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूदेखि कलङ्कित छैन: यसमा कुनै पनि मानव इच्‍छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। विद्रोही र विरोध गर्नेहरू सबैलाई, उहाँको मार्गअनुसार नहिँड्नेहरू सबैलाई दण्ड दिइनेछ; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि छूट दिइनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईंको निम्ति दौडधूप गर्छु; जब अन्त्य आउँछ, के तपाईं मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसैले म तँलाई प्रश्‍न गर्छु, “के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्?” तैँले जुन धार्मिकताको बारेमा कुरा गर्छस् त्यो लेनदेनमा आधारित छ। म सबै मानिसहरूप्रति धर्मी र निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू सबैलाई मुक्ति दिइनेछ र उनीहरूले मेरा आशिषहरू प्राप्त गर्नेछन् भन्‍ने मात्र तँ ठान्छस्। “मलाई अन्त्यसम्‍मै पछ्याउनेहरूलाई निश्‍चय नै मुक्ति दिइनेछ” भन्‍ने मेरो वचनमा भित्री आशय छ: मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेहरू हुन्, मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्ने र सिद्ध पारिनेहरू तिनीहरू नै हुन्। तैँले के-कस्ता अवस्थाहरू प्राप्त गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउनेबाहेक तैँले अरू के प्राप्त गरेको छस्? के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्? तैँले मेरा पाँच मापदण्डहरूमध्ये एउटालाई पूरा गरेको छस्, तर तँसँग बाँकी चार वटालाई पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्गलाई मात्रै भेट्टाएको छस्, र भाग्यमानी हुने आशा गर्दै यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिको लागि मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय हो, यो एउटा धर्मी प्रतिशोध हो र यो दुष्ट काम गर्ने सबैलाई दिइने धर्मी दण्ड हो; तिनीहरूले अन्त्यसम्मै पछ्याए पनि मेरो मार्गमा नहिँड्नेहरू सबैलाई अवश्य नै दण्ड दिइनेछ। परमेश्‍वरको धार्मिकता नै यही हो। मानिसलाई दण्ड दिने क्रममा जब यो धर्मी स्वभाव प्रकट गरिन्छ, तब मानिस अवाक् हुनेछ र परमेश्‍वरलाई पछ्याउने क्रममा उहाँको मार्गमा नहिँडेकोमा उसले अफसोस गर्नेछ। “त्यस बेला, परमेश्‍वरलाई पछ्याउने क्रममा मैले अलिकति मात्रै कष्ट भोगेँ, तर परमेश्‍वरको मार्गमा हिँडिनँ। स्पष्टीकरण दिने के ठाउँ छ र? सजाय पाउनेबाहेक अरू कुनै पनि विकल्‍प छैन!” तैपनि उसले आफ्‍नो मनमा यो विचार गरिरहेको हुन्छ, “जे होस्, मैले अन्त्यसम्‍मै पछ्याएको छु, त्यसैले तपाईंले मलाई सजाय दिनुभयो भने पनि, यो अत्यन्तै कठोर सजाय हुन सक्दैन र यो सजाय दिइसक्‍नुभएपछि तपाईंले मलाई अझै पनि चाहनुहुनेछ। मलाई थाहा छ तपाईं धर्मी हुनुहुन्छ, र मलाई सधैँभरि त्यस्तो व्यवहार गर्नुहुनेछैन। आखिर, म ती नष्ट गरिने मानिसहरूजस्तो छैनँ; नष्ट गरिनुपर्नेहरूले भारी सजाय प्राप्त गर्नेछन्, तर मेरो सजाय हल्‍का हुनेछ।” धर्मी स्वभाव तैँले भनेको जस्तो होइन। आफ्‍नो पापलाई स्वीकार गर्न सिपालु मानिसहरूलाई उदारताको साथ निराकरण गरिनेछ भन्‍ने होइन। धार्मिकता भनेको पवित्रता हो र यो त्यस्तो स्वभाव हो जसले मानिसले गरेको उल्‍लङ्घनलाई सहँदैन, र अशुद्ध र परिवर्तन नभएकाहरू सबै नै परमेश्‍वरको घृणाका निसानाहरू हुन्। परमेश्‍वरको धर्मी स्वभाव व्यवस्था होइन, तर प्रशासनिक आदेश हो: यो राज्यभित्रको प्रशासनिक आदेश हो र यो प्रशासनिक आदेश सत्यता धारण नगरेका र परिवर्तन नभएका र मुक्तिको कुनै गुन्जाइस नभएका जोकोहीको लागि धर्मी दण्ड हो। जब हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिन्छ, तब असललाई इनाम दिइनेछ र दुष्टलाई दण्ड दिइनेछ। मानिसको गन्तव्य स्पष्ट पारिने बेला यही हो; यो मुक्तिको काम समाप्त हुने समय हो, जुन समयपछि मानिसलाई मुक्ति दिने कार्य फेरि गरिनेछैन र दुष्ट कार्य गर्ने हरेकमाथि दण्ड ल्याइनेछ। कतिपय मानिसहरू भन्छन्, “प्रायजसो उहाँकै पक्षमा हुने हरेकलाई परमेश्‍वरले स्मरण गर्नुहुन्छ। हामीमध्ये एक जनालाई पनि उहाँले बिर्सनुहुनेछैन। परमेश्‍वरद्वारा हामीलाई सिद्ध पारिने ग्यारेन्टी छ। जो तल छन् तिनीहरू कसैलाई पनि उहाँले सम्‍झनुहुनेछैन, तल रहेका मानिसहरूमध्येमा जसलाई सिद्ध पारिनेछ तिनीहरू परमेश्‍वरलाई पटकपटक भेट गर्ने हामीभन्दा तलै हुने ग्यारेन्टी छ; हामीमध्ये कसैलाई पनि परमेश्‍वरले बिर्सनुभएको छैन, हामी सबैलाई परमेश्‍वरले स्वीकार गर्नुभएको छ र परमेश्‍वरद्वारा हामीलाई सिद्ध पारिने ग्यारेन्टी छ।” तिमीहरूसँग यस्ता धारणाहरू छन्। के यो धार्मिकता हो? तैँले सत्यता अभ्यास गरेको छस् कि छैनस्? तैँले वास्तवमा यस्ता हल्‍लाहरू फैलाएको छस्—तँमा कुनै सरम छैन!

आज, कतिपय मानिसहरू परमेश्‍वरद्वारा प्रयोग गरिन खोजी गर्छन्, तर विजय गरिसकेपछि तिनीहरूलाई सोझै प्रयोग गर्न सकिँदैन। आज बोलिएका वचनहरूका विषयमा भन्दा, यदि परमेश्‍वरले मानिसहरूलाई प्रयोग गर्नुहुँदा तँ तिनलाई पूरा गर्न अझै असमर्थ छस् भने, तँ अझै पनि सिद्ध पारिएको छैनस्। अर्को शब्‍दमा भन्दा, मानिसलाई सिद्ध बनाइने अवधिको अन्त्यको आगमनले नै मानिसलाई परमेश्‍वरले हटाउनुहुन्छ कि प्रयोग गर्नुहुन्छ भन्‍ने कुरा निर्धारण गर्नेछ। विजय गरिएकाहरू निष्क्रियता र नकारात्मकताका उदाहरणहरूबाहेक अरू केही होइनन्; तिनीहरू आदर्श र नमुनाहरू त हुन्, तर तिनीहरू प्रतिभार बाहेक अरू केही होइनन्। मानिसको जीवन स्वभाव परिवर्तन भएपछि मात्रै, र उसले भित्र र बाहिर दुवैमा परिवर्तन हासिल गरेको छ भने मात्रै, उसलाई पूर्ण रूपमा सिद्ध बनाइएको हुनेछ। आज, तँ कुन चाहन्छस्: विजय गरिन कि सिद्ध पारिन? तँ कुन कुरालाई प्राप्त गर्न चाहन्छस्? के तैँले सिद्ध पारिनका लागि पूरा गर्नुपर्ने सर्तहरू पूरा गरेको छस्? तँमा अझै कुन-कुन सर्तहरूको कमी छ? तैँले आफैलाई के-कस्ता कुराहरूले सुसज्‍जित पार्नुपर्छ र आफ्‍ना त्रुटिहरूको कमी कसरी पूरा गर्नुपर्छ? तँ सिद्ध पारिने मार्गमा कसरी प्रवेश गर्नुपर्छ? तँ कसरी पूर्ण रूपमा समर्पित हुनुपर्छ? तँ सिद्ध पारिनको लागि अनुरोध गर्छस्, के त्यसो भए तँ पवित्रताको खोजी गर्छस्? के तँ त्यस्तो व्यक्ति होस् जो शुद्ध हुन सकूँ भनेर सजाय र न्यायको अनुभव गर्न खोज्छ? तँ शुद्ध पारिन चाहन्छस्, के त्यसो भए तँ सजाय र न्यायलाई स्वीकार गर्न इच्‍छुक छस्? तँ परमेश्‍वरलाई चिन्‍नको निम्ति आग्रह गर्छस्, तर के तँसँग उहाँको सजाय र न्यायको ज्ञान छ? आज, उहाँले तँमा गर्ने धेरैजसो कार्य सजाय र न्याय नै हो; तँमा गरिएको यो कार्यसम्‍बन्धी तँमा के ज्ञान छ? के तैँले अनुभव गरेको सजाय र न्यायले तँलाई शुद्ध पारेको छ? के यसले तँलाई परिवर्तन गरेको छ? के यसले तँमा कुनै प्रभाव पारेको छ? के तँ आजका धेरै कामहरूदेखि अर्थात् श्राप, न्याय र खुलासाहरूदेखि वाक्‍क भएको छस्, कि तँलाई यी कुराहरू तेरो लागि निकै लाभदायक छन् भन्‍ने लाग्छ? तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तर तँ किन उहाँलाई प्रेम गर्छस्? के तैँले थोरै अनुग्रह प्राप्त गरेको हुनाले परमेश्‍वरलाई प्रेम गर्छस्? कि शान्ति र आनन्द प्राप्त गरिसकेको हुनाले तैँले परमेश्‍वरलाई प्रेम गर्छस्? कि उहाँको सजाय र न्यायले शुद्ध पारिएपछि तँ परमेश्‍वरलाई प्रेम गर्छस्? वास्तवमा के कुराले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने तुल्याउँछ? सिद्ध पारिनको लागि पत्रुसले कुन-कुन सर्तहरूलाई पुरा गरे? उनलाई सिद्ध पारिएपछि, यसलाई व्यक्त गरिएको अत्यन्तै महत्त्वपूर्ण तरिका के थियो? के उनी उहाँको लागि तृषित भएकाले हो, कि उनले उहाँलाई देख्‍न नसकेकोले वा उनलाई तिरस्कार गरिएको कारणले प्रभु येशूलाई प्रेम गरेका थिए? कि उनले संकष्टका दुःखहरूलाई स्वीकार गरेका हुनाले, आफ्‍नै अशुद्धता र अवज्ञालाई जानेकाले र प्रभुको पवित्रतालाई जानेको कारणले प्रभु येशूलाई प्रेम गरेका थिए? के परमेश्‍वरको सजाय र न्यायले गर्दा परमेश्‍वरप्रतिको उनको प्रेम अझै शुद्ध भयो, कि अन्य कुनै कुराले गर्दा शुद्ध भयो? यो कुनचाहिँ हो? परमेश्‍वरको अनुग्रहको कारणले र आज उहाँले तँलाई केही सानो आशिष् दिनुभएको हुनाले तँ परमेश्‍वरलाई प्रेम गर्छस्। के यो साँचो प्रेम हो? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? के तैँले उहाँको सजाय र न्यायलाई स्वीकार गर्नुपर्छ, र उहाँको धर्मी स्वभावलाई देखिसकेपछि, उहाँलाई साँचो रूपमा प्रेम गर्न सक्षम हुनुपर्छ, जसले गर्दा तँ पूर्ण रूपमा विश्‍वस्त हुन्छस् र तैँले उहाँको बारेमा ज्ञान पाउँछस्? पत्रुसले जस्तै, के तैँले परमेश्‍वरलाई पर्याप्त रूपमा प्रेम गर्न सक्दिनँ भनेर भन्‍न सक्छस्? तैँले खोजी गर्ने कुरा सजाय र न्यायपछि विजय गरिनु हो, कि सजाय र न्यायपछि शुद्ध पारिनु, सुरक्षित गरिनु र वास्ता गरिनु हो? यीमध्ये तँ कुनको खोजी गर्छस्? के तेरो जीवन अर्थपूर्ण छ, कि यो अर्थहीन र मूल्यहीन छ? तँ देह चाहन्छस् कि सत्यता चाहन्छस्? तँ न्यायको कामना गर्छस् कि सहजताको? परमेश्‍वरका धेरै कार्य अनुभव गरिसकेपछि र परमेश्‍वरको पवित्रता र धार्मिकता देखिसकेपछि, तैँले कसरी खोजी गर्नुपर्छ? तैँले यो मार्गमा कसरी हिँड्नुपर्छ? तैँले परमेश्‍वरको प्रेमलाई कसरी व्यवहारमा लागू गर्नुपर्छ? के परमेश्‍वरको सजाय र न्यायले तँमा कुनै प्रभाव पारेको छ? तँमा परमेश्‍वरको सजाय र न्यायको ज्ञान छ कि छैन भन्‍ने कुरा तँ कस्तो जीवन जिउँछस्, र तैँले परमेश्‍वरलाई कुन हदसम्‍म प्रेम गर्छस् भन्‍ने कुरामा निर्भर हुन्छ! तँ परमेश्‍वरलाई प्रेम गर्छस् भनेर तेरो ओठले भन्छ, तैपनि तँ जुन जीवन जिउँछस् त्यो पुरानो, भ्रष्ट स्वभाव हो; तँमा परमेश्‍वरको कुनै डर छैन, तँमा विवेक हुने कुरा त परै जाओस्। के त्यस्ता मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्छन्? के त्यस्ता मानिसहरू परमेश्‍वरप्रति निष्ठावान हुन्छन्? के तिनीहरू परमेश्‍वरको सजाय र न्याय स्वीकार गर्ने व्यक्तिहरू हुन्? परमेश्‍वरलाई प्रेम गर्छु र उहाँलाई विश्‍वास गर्छु भनेर तँ भन्छस्, तैपनि तँ आफ्‍ना विचारहरूलाई छोड्दैनस्। तेरो काम, प्रवेश, तैँले बोल्‍ने वचन र तेरो जीवनमा, परमेश्‍वरप्रति तेरो प्रेमको कुनै प्रकटीकरण छैन र परमेश्‍वरप्रति कुनै श्रद्धा छैन। के सजाय र न्याय प्राप्त गरेको व्यक्ति यही हो? के यस्तो व्यक्ति पत्रुस हुन सक्छ? के पत्रुसजस्ता मानिसहरूमा ज्ञान मात्रै हुन्छ, तर जीवन जियाई हुँदैन? आज, वास्तविक जीवन जिउनको लागि मानिसलाई चाहिने सर्त के हो? के पत्रुसका प्रार्थनाहरू उनको मुखबाट आएका शब्‍दहरूभन्दा बढी केही थिएनन् त? के ती उनको हृदयको अन्तस्करणबाट आएका शब्‍दहरू थिएनन् र? के पत्रुसले प्रार्थना मात्रै गर्थे, र सत्यतालाई अभ्यास गर्दैनथे? तेरो खोजी कसको लागि हो? परमेश्‍वरको सजाय र न्यायको बेला कसरी तैँले आफूलाई परमेश्‍वरको सुरक्षा र शुद्धीकरण प्राप्त गर्ने तुल्याउँछस्? के परमेश्‍वरको सजाय र न्याय मानिसको लागि कुनै लाभको छैन? के सबै न्याय दण्ड नै हो? के शान्ति र आनन्द, भौतिक आशिष्‌हरू र क्षणिक सहजता मात्रै मानिसको जीवनको लागि लाभदायक हुन सक्छ? यदि मानिस सुखद र सहज परिस्थितिमा, न्यायको जीवनविना जिउँछ भने, के उसलाई शुद्ध पारिन सकिन्छ? यदि मानिसले परिवर्तन हुन र शुद्ध पारिन चाहन्छ भने, उसले सिद्ध पारिने कार्यलाई कसरी स्वीकार गर्नुपर्छ? आज तैँले कुन मार्गलाई छनौट गर्नुपर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्