दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, जब येशू आउनुभयो, उहाँ पुरुषको स्वरूपमा हुनुहुन्थ्यो, र यस पटक जब परमेश्‍वर आउनुहुन्छ, उहाँ महिलाको स्वरूपमा हुनुहुन्छ। यसबाट, के देख्‍न सकिन्छ भने परमेश्‍वरले सृष्टि गर्नुभएको पुरुष र स्‍त्री दुवैलाई उहाँको काममा प्रयोग गर्न सकिन्छ, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता छैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई खुशी लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि उहाँ आउनुहुँदा येशू स्‍त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा भएको हुनेथियो। यदि त्यसो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनु पर्नेथियो, तर काम उही रूपमा पूरा हुनेथियो। यीमध्ये हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ। त्यो समयमा, येशूले आफ्‍नो काम गर्ने क्रममा, उहाँलाई एक मात्र पुत्र भनियो, र “पुत्र” ले पुरुष लिङ्गलाई जनाउँछ। हालको यो चरणमा किन एक मात्र पुत्रलाई उल्‍लेख गरिँदैन? कामका आवश्यकताहरूको कारणले येशूको भन्दा फरक लिङ्ग परिवर्तनलाई बाध्य गरेको छ। परमेश्‍वरको लागि लिङ्गमा कुनै भिन्‍नता छैन। उहाँले आफ्‍नो इच्‍छा अनुसार आफ्‍नो काम गर्नुहुन्छ, र आफ्‍नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्ध हरूको अधीनमा हुनुहुन्‍न, तर विशेष गरी स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। परमेश्‍वर दुई पटक देह बन्‍नुभयो, र आखिरी दिनहरूको अवधिमा भएको उहाँको देहधारण अन्तिम पटक हो भन्‍ने कुरा आफैमा स्पष्ट छ। आफ्‍ना सबै कार्यहरूलाई प्रकट गर्नको लागि उहाँ आउनुभएको छ। यदि यो चरणमा मानिसले साक्षी दिने गरी व्यक्तिगत रूपमा नै काम गर्नको लागि उहाँ देह नबन्‍नुभएको भए, परमेश्‍वर पुरुष मात्रै हुनुहुन्छ, स्‍त्री हुनुहुन्‍न भन्‍ने धारणालाई मानिसले सदासर्वदा पक्रिराख्‍ने थियो। यसभन्दा पहिले, सारा मानवजातिले परमेश्‍वर पुरुष मात्रै हुन सक्‍नुहुन्छ र स्‍त्रीलाई परमेश्‍वर भन्‍न सकिँदैन भनेर विश्‍वास गर्‍यो, किनभने सारा मानवजातिले स्‍त्रीहरूमाथि पुरुषहरूकै अख्तियार हुन्छ भन्‍ने ठाने। तिनीहरूले कुनै पनि स्‍त्रीले अख्तियार लिन सक्दैन, पुरुषहरूले मात्रै सक्छ भन्‍ने विश्‍वास गरे। यति मात्र होइन, स्‍त्रीको शिर पुरुष नै हो र स्‍त्रीले पुरुषको आज्ञा पालन गर्नैपर्छ, उसलाई उछिन्नुहुँदैन भनेर समेत तिनीहरूले भने। विगतका समयहरूमा, जब पुरुष स्‍त्रीको शिर हो भनेर भनियो, यो आदम र हव्‍वाप्रति निर्देशित थियो, जो सर्पद्वारा छलिएका थिए—सुरुमा यहोवाले सृष्टि गर्नुभएकै पुरुष र स्‍त्रीप्रति होइन। अवश्‍य नै, एक स्‍त्रीले आफ्‍नो पतिको आज्ञापालन गर्नुपर्छ र उसलाई प्रेम गर्नुपर्छ, र पतिले आफ्‍नो परिवारलाई खुवाउन र सहायता गर्न सिक्‍नैपर्छ। यी यहोवाले निर्धारित गर्नुभएका नियम र उर्दीहरू हुन् जसलाई मानवजातिले पृथ्वीमा तिनीहरूको जीवनमा पालन गर्नैपर्छ। यहोवाले स्‍त्रीलाई भन्‍नुभयो, “तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।” मानवजाति (अर्थात्, पुरुष र स्‍त्री दुवै) ले यहोवाको प्रभुत्वको अधीनमा रही सामान्य जीवन जिउन सकून्, र मानवजातिको जीवनमा संरचना होस्, र तिनीहरूको उचित संरचनाबाट नखसोस् भनेर मात्रै उहाँले यो बोल्‍नुभएको थियो। त्यसकारण, पुरुष र स्‍त्रीले कस्तो व्यवहार गर्नुपर्छ त्यस विषयमा यहोवाले उचित नियमहरू बनाउनुभयो, यद्यपि यो पृथ्वीमा जिइरहेका सृजित सबै प्राणीहरूमा मात्रै सम्‍बन्धित थियो, र परमेश्‍वरको देहधारी शरीरसँग यसको कुनै सम्‍बन्ध थिएन। परमेश्‍वर कसरी उहाँका सृजित प्राणीहरूजस्तै हुन सक्‍नुहुन्छ? उहाँका वचनहरू उहाँले सृष्टि गर्नुभएका मानवजातितर्फ मात्रै निर्देशित थिए; मानवजातिले सामान्य जीवन जिओस् भनेर मात्रै उहाँले पुरुष र स्‍त्रीका लागि नियमहरू स्थापित गर्नुभयो। सुरुमा, जब यहोवाले मानवजातिलाई सृष्टि गर्नुभयो, पुरुष र स्‍त्री दुवै गरी उहाँले दुई प्रकारका मानवजाति बनाउनुभयो; त्यसैले उहाँको देहधारी शरीरहरूमा पुरुष र स्‍त्रीको विभाजन छ। उहाँले आदम र हव्‍वासँग बोल्‍नुभएको वचनहरूको आधारमा आफ्‍नो कामको निर्णय गर्नुभएन। उहाँ दुई पटक देह बन्‍नुभयो जुन कुरालाई, उहाँले सुरुमा मानवजातिलाई सृष्टि गर्नुभएको समयको उहाँको विचार अनुसार नै पूर्ण रूपमा निर्धारित गरिएको थियो; अर्थात्, तिनीहरू भ्रष्ट हुनुभन्दा पहिलेको पुरुष र स्‍त्रीको आधारमा उहाँले आफ्‍ना दुई देहधारणहरूको काम पूरा गर्नुभयो। यदि सर्पको छलमा परेका आदम र हव्‍वासँग यहोवाले बोल्‍नुभएको वचनहरूलाई मानवजातिले लिएका, र त्यसलाई परमेश्‍वरको देहधारणमा लागू गरेका भए, के येशूले पनि जसरी उहाँले गर्नुपर्थ्यो त्यसरी आफ्‍नी पत्‍नीलाई प्रेम गर्नु पर्दैन थियो र? यसरी, के परमेश्‍वर अझै परमेश्‍वर नै हुनुहुने थियो? अनि यसो भएमा, के उहाँले अझै आफ्‍नो कामलाई पूरा गर्न सक्षम हुनुहुने थियो? यदि परमेश्‍वरको देहधारी शरीर स्‍त्री बन्‍नु गलत हो भने, परमेश्‍वरले स्‍त्रीलाई सृष्टि गर्नु सबैभन्दा ठूलो गल्ती हुने थिएन र? यदि मानिसहरूले अझै परमेश्‍वर स्‍त्रीको रूपमा देहधारी हुनु गलत हो भन्‍ने विश्‍वास गर्छन् भने, येशू, जसले विवाह गर्नुभएन त्यसकारण आफ्‍नी पत्‍नीलाई प्रेम गर्न सक्‍नुभएन, के उहाँ पनि वर्तमान देहधारण जत्तिकै गल्‍तीमा हुनुहुने थिएन र? तँ वर्तमानको दिनमा परमेश्‍वरको देहधारणको सत्यतालाई मापन गर्नको लागि यहोवाले हव्‍वासँग बोल्‍नुभएका वचनहरूको प्रयोग गर्छस्, त्यसकारण तैँले अनुग्रहको युगमा देह बन्‍नुभएका प्रभु येशूलाई न्याय गर्नको लागि परमेश्‍वरले आदमलाई दिनुभएको वचनहरूको प्रयोग गर्नैपर्छ। के यी एउटै र उही होइनन्? तैँले सर्पले छल नगरेको पुरुष अनुसार प्रभु येशूको नाप लिन्छस्, त्यसैले तैँले आजको देहधारणको सत्यतालाई सर्पले छल गरेको स्‍त्री अनुसार न्याय गर्न सक्दैनस्। यो अनुचित हुनेछ! परमेश्‍वरलाई यसरी मापन गरेको कुराले तँमा तर्कशक्ति छैन भन्‍ने कुरालाई प्रमाणित गर्छ। जब यहोवा दुई पटक देह बन्‍नुभयो, उहाँको देहको लिङ्ग ती पुरुष र स्‍त्रीसँग सम्‍बन्धित थिए जो सर्पको छलमा परेका थिएनन्; उहाँ दुई पटक देह बन्‍नुभएको यो ती पुरुष र स्‍त्री अनुसार थिए जो सर्पको छलमा परेका थिएनन्। येशूको पुरुषत्व, सर्पको छलमा परेको आदमको जस्तै थियो भनेर विचार नगर। उहाँहरू पूर्ण रूपमा असम्बन्धित हुनुहुन्छ, उहाँहरू फरक स्वभाव भएका पुरुषहरू हुनुहुन्छ। येशूको पुरुषत्वले उहाँ सबै स्‍त्रीहरूका शिर हुनुहुन्छ, सबै पुरुषहरूका होइन भनेर अवश्य नै प्रमाणित गर्दैन? के उहाँ (पुरुष र स्‍त्री दुवै लगायत) सारा यहूदीहरूका राजा हुनुहुन्‍न र? उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, स्‍त्रीको शिर मात्रै होइन तर पुरुषको पनि शिर हुनुहुन्छ। उहाँ सारा प्राणीहरूका प्रभु हुनुहुन्छ र सारा प्राणीहरूका शिर हुनुहुन्छ। येशूको पुरुषत्व स्‍त्रीको शिरको प्रतीक हो भनेर तैँले कसरी निर्धारित गर्छस्? के यो ईश्‍वरनिन्दा हुनेछैन र? येशू पुरुष हुनुहुन्छ जसलाई भ्रष्ट तुल्याइएको छैन। उहाँ परमेश्‍वर हुनुहुन्छ; उहाँ ख्रीष्‍ट हुनुहुन्छ; उहाँ प्रभु हुनुहुन्छ। उहाँ कसरी आदमजस्तो पुरुष हुन सक्‍नुहुन्छ जो भ्रष्ट तुल्याइएका थिए? येशू परमेश्‍वरका सबैभन्दा पवित्र आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। उहाँ आदमको पुरुषत्व भएको परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी भन्‍न सक्छस्? त्यस हकमा, के परमेश्‍वरका सबै कार्य गलत हुनेथिएन र? के सर्पको छलमा परेका आदमको पुरुषत्वलाई यहोवाले येशूभित्र समायोजन गर्नुहुनेथियो? के वर्तमान समयका देहधारण देहधारी परमेश्‍वरको अर्को कामको घटना होइन र, जो येशूभन्दा फरक लिङ्गको हुनुहुन्छ तर स्वभावमा उहाँजस्तै हुनुहुन्छ? के तँ अझै पनि देहधारी परमेश्‍वर स्‍त्री हुन सक्‍नुहुन्‍न किनभने सर्पले सुरुमा स्‍त्रीलाई नै छल गरेको थियो भनेर भन्‍ने आँट गर्छस्? के तँ अझै स्‍त्री सबैभन्दा अशुद्ध र मानवजातिको भ्रष्टताको स्रोत भएकोले, परमेश्‍वर स्‍त्रीको रूपमा देह बन्‍ने सम्‍भावना हुन सक्दैन भनेर भन्‍ने आँट गर्छस्? के तँ “स्‍त्रीले सँधै पुरुषको आज्ञापालन गर्नुपर्छ र कहिल्यै पनि परमेश्‍वरको प्रकट वा प्रत्यक्ष रूपमा प्रतिनिधित्व गर्ने गर्नुहुँदैन” भनेर दृढ रूपमा भनिरहने आँट गर्छस्? तैँले विगतमा बुझिनस्, तर के तँ परमेश्‍वरको कामको, विशेष गरी परमेश्‍वरको देहधारी शरीरको निन्दा गर्दै हिँड्छस्? यदि यो तँलाई स्पष्ट भएन भने, तैँले आफ्‍नो जिब्रोलाई सम्‍हालेर राख्, नत्रता तेरो मूर्खता र अज्ञानता प्रकट गरिनेछ र तेरो कुरूपता खुलासा गरिनेछ। तैँले सबै कुरा बुझ्छस् भन्‍ने विचार नगर्। म तँलाई भन्छु, तैँले देखेको र अनुभव गरेको सबै कुरा मेरो व्यवस्थापन योजनाको हजारौं भागको एक टुक्रा बुझ्‍नको लागि पनि तेरो निम्ति पर्याप्त छैन। त्यसो भए तँ किन त्यति अहङ्कारी हुन्छस्? तँसँग भएको थोरै प्रतिभा र अलिकति ज्ञान येशूले आफ्‍नो कामको लागि एक सेकण्ड प्रयोग गर्नको लागि पनि अपर्याप्त छ! तँसँग वास्तवमा कति अनुभव छ? तैँले देखेका र तैँले आफ्‍नो जीवनभरि सुनेका सबै अनि तैँले कल्‍पना गरेका कुराहरू मैले एक पलमा गर्ने कामभन्दा थोरै छन्! तैँले कुरा नकोट्याएको र गल्ती नखोतलेकै जाती हुन्छ। तँ आफूले चाहेजति अहङ्कारी बन्‍न सक्छस्, तर तँ एउटा प्राणी बाहेक केही पनि होइनस्, कमिला बराबरको पनि छैनस्! तेरो पेटभित्र जति छ त्यो सबै कमिलाको पेटमा भएको भन्दा थोरै छ! तैँले केही अनुभव र वरिष्ठता प्राप्त गरेको छस् भन्दैमा, यसले तँलाई ठूलो पल्टिने र ठूला-ठूला गफ चुट्ने अधिकार दिन्छ भनेर नसोच्। के तेरा अनुभव र तेरो वरिष्ठता मैले उच्‍चारण गरेका शब्‍दहरूको उपज होइनन् र? के तँ ती तेरो आफ्नै परिश्रम र मेहनतको सट्टामा दिइएका हुन् भन्‍ने विश्‍वास गर्छस्? आज, म देह बनेको छु भन्‍ने तैँले देख्छस्, र यसको बारेमा मात्रै तँमा अधिक अवधारणाहरू छन्, र त्यसबाट धारणाको कुनै अन्त्य हुँदैन। यदि मेरो देहधारण नभएको भए, तँसँग असाधारण प्रतिभाहरू भएको भए तापनि, तँसँग त्यति धेरै अवधारणाहरू हुने थिएन; अनि के यीबाट नै तेरा धारणाहरू पैदा हुँदैनन् र? यदि पहिलो पटक येशू देह नबन्‍नुभएको भए, के तैँले देहधारणको बारेमा जान्‍ने समेत थिइस् र? पहिलो देहधारणले तँलाई ज्ञान दिएको हुनाले नै दोस्रो देहधारणको न्याय गर्ने दुस्साहस तँसँग छैन र? किन आज्ञाकारी अनुयायी हुनुको सट्टा तैँले यसलाई अध्ययन गरिरहेको छस् र? जब तँ प्रवाहमा प्रवेश गरेको हुन्छस् र देहधारी परमेश्‍वरको अघि आएको हुन्छस्, के उहाँले तँलाई उहाँको अनुसन्धान गर्न दिनुहुन्छ? तैँले तेरो आफ्‍नै पारिवारिक इतिहास अनुसन्धान गर्न सक्छस्, तर यदि तैँले परमेश्‍वरको “पारिवारिक पृष्ठभूमि” को अनुसन्धान गर्ने प्रयास गरिस् भने, आजका परमेश्‍वरले तँलाई त्यस्तो अध्ययन गर्न दिनुहुन्छ र? के तँ अन्धा छैनस्? के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र?

यदि येशूको काम मात्रै पूरा भएको थियो, र आखिरी दिनहरूको यो चरणको कार्यद्वारा यसलाई पूरक गरिएको थिएन भने, मानिस सँधै भरि नै, येशू मात्रै परमेश्‍वरका एक मात्र पुत्र हुनुहुन्छ, अर्थात्, परमेश्‍वरको एउटा मात्रै पुत्र छ, त्यसपछि अर्को नाम लिएर आउने जो-कोही परमेश्‍वरको एक मात्र पुत्र हुँदैनथियो, परमेश्‍वर स्वयम् हुने कुरा त परै जाओस् भन्‍ने धारणामा टाँसिरहने थियो। पापबलिको रूपमा सेवा गर्ने वा परमेश्‍वरको तर्फबाट शक्ति लिने र सारा मानवजातिलाई उद्धार गर्ने जोसुकै पनि परमेश्‍वरका एक मात्र पुत्र हुन सक्छ भन्‍ने धारणा मानिसमा छ। आउने व्यक्ति पुरुष हो भने, उहाँलाई परमेश्‍वरका एक मात्र पुत्र र परमेश्‍वरका प्रतिनिधिको रूपमा लिन सकिन्छ भनेर विश्‍वास गर्नेहरू पनि छन्। येशू यहोवाका पुत्र, उहाँका एक मात्र पुत्र हुनुहुन्छ भनेर भन्‍नेहरू समेत छन्। के त्यस्ता धारणाहरू हदभन्दा बढी भएनन् र? यदि कामको यो चरण अन्तिम युगमा नगरिएको भए, परमेश्‍वरको अघि सारा मानवजाति कालो छायामा छोपिनेथिए। यदि यस्तो भएको भए, पुरुषले आफैलाई स्‍त्रीभन्दा उच्‍च ठान्‍नेथियो, र स्‍त्रीहरूले कहिल्यै पनि आफ्‍नो शिर ठाडो पार्न सक्दैनथिए, अनि एक जना स्‍त्रीलाई पनि मुक्त गर्न सकिँदैनथियो। मानिसहरूले सँधै परमेश्‍वर पुरुष हुनुहुन्छ, यति मात्र होइन उहाँले सँधै स्‍त्रीलाई तुच्छ ठान्नुहुन्छ र उनलाई उद्धार दिनुहुन्‍न भनेर विश्‍वास गर्छन्। यदि यस्तो हो भने, यहोवाले सृष्टि गर्नुभएका र भ्रष्ट तुल्याइएका सबै स्‍त्रीहरूले मुक्ति पाउने मौका कहिल्यै पाउने थिएनन् भन्‍ने सत्य हुनेथिएन र? त्यसो भए यहोवाले स्‍त्रीलाई सृष्टि गर्नुभएको, अर्थात्, हव्‍वालाई सृष्टि गर्नुभएको बेकार हुनेथिएन र? अनि के स्‍त्रीअनन्तको लागि नाश हुनेथिएन र? यसकारणले गर्दा, स्‍त्रीलाई मात्र होइन तर सम्पूर्ण मानवजातिलाई मुक्त गर्नको लागि आखिरी दिनहरूको कार्यको चरण पूरा गरिन्छ। यदि परमेश्‍वर स्‍त्रीको रूपमा देहधारी हुनुभयो भने, यो महिलालाई मुक्ति दिनको लागि मात्रै हुनेछ भनेर यदि कसैले ठान्छ भने, त्यो व्यक्ति वास्तवमा नै मूर्ख हुनेथियो!

आजको कार्यले अनुग्रहको युगको कार्यलाई अगाडि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको कार्य अघि बढेको छ। अनुग्रहको युग समाप्त भइसकेको भए तापनि, परमेश्‍वरको काममा प्रगति भएको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा स्थापित छ भनेर म बारम्‍बार किन भन्छु? किनभने आजको दिनको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता हो, र व्यवस्थाको युगमा गरिएको कार्यको वृद्धि हो। तीन चरणहरू कसिलो गरी एक-अर्कासँग सम्‍बन्धित छन्, यो साङ्‍लाको हरेक जोडन अर्कोसँग राम्ररी जोडिएको छ। कार्यको यो चरण येशूले गर्नुभएको काममा निर्माण हुन्छ भनेर म किन भन्छु? यो चरण येशूले गर्नुभएको काममा निर्माण भएन भन्‍ने मान्यता राख्दा, यो चरणमा क्रूसीकरणको अर्को घटना घट्ने थियो, र अघिल्‍लो चरणको उद्धारको काम फेरि गरिनुपर्नेथियो। यो अर्थहीन हुनेथियो। त्यसकारण काम पूर्ण रूपमा पूरा भएको होइन, तर युग अघि बढेको छ र कामको स्तर पहिलेको भन्दा माथि उठेको छ। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कार्यको चट्टानमा निर्माण गरिएको छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको कार्य एकपछि अर्को चरण गर्दै निर्माण हुन्छ, र यो चरण नयाँ सुरुवात होइन। कार्यका तीन वटा चरणहरूको संयोजनलाई मात्रै छ हजार वर्षे व्यवस्थापन योजनाको रूपमा लिन सकिन्छ। यो चरणको कार्य अनुग्रहको युगको कार्यको जगमा पुरा गरिन्छ। यदि कार्यका यी दुई चरणहरू सम्‍बन्धित थिएनन् भने, यो चरणमा किन क्रूसीकरण दोहोरिएन? म किन मानिसका पापहरू बोक्दिन, तर सीधै मानिसलाई न्याय गर्न र दण्ड दिन आउँछु? मानिसलाई न्याय गर्ने र सजाय दिने मेरो काम क्रूसीकरणपछि नआएको भए, अनि मेरो आगमन पवित्र आत्‍माको गर्भधारणद्वारा नभएको भए, मानिसलाई न्याय गर्न र सजाय दिनको लागि म योग्य हुनेथिइनँ। म येशूसँग एउटै भएको हुनाले म मानिसलाई सीधै सजाय दिन र न्याय गर्न आउँछु। यो चरणको काम अघिल्‍लो चरणको काममा नै पूर्ण रूपमा निर्मित छ। यही कारणले गर्दा यस प्रकारको कामले मानिसलाई चरणबद्ध रूपमा मुक्तिमा ल्याउँछ। येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्‍बन्धित नभए पनि, हाम्रा आत्माहरू एउटै छन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए तापनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरक-फरक रूपहरू लिन सक्छ, तर त्यो कुरा युगको परिवर्तन र हाम्रो कामको फरक आवश्यकताहरूको कारणले गर्दा हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि सार्ने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो। उहाँहरू लिङ्गमा र उहाँहरूको देहहरूको रूपमा फरक हुनुहुन्छ, र उहाँहरू एउटै परिवारमा जन्‍मनुभएको थिएन, उही समय अवधिमा जन्‍मने कुरा त परै जाओस्, तैपनि उहाँहरूका आत्मा एउटै हो। उहाँहरूका देहमा न रगतको नाता छ न त कुनै पनि प्रकारको शारीरिक साइनो नै छ, तैपनि उहाँहरू दुई फरक समय अवधिहरूका परमेश्‍वरका देहधारी शरीरहरू हुनुहुन्छ भन्‍ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्‍वरका देहधारी शरीरहरू हुनुहुन्छ भन्‍ने कुरा अकाट्य सत्यता हो। तैपनि, उहाँहरू एउटै रगत-वंशीह हुनुहुन्‍न र उहाँहरूले एउटै मानव भाषा बोल्‍नुहुन्‍न (एक जना पुरुष हुनुहुन्थ्यो जसले यहूदीहरूको भाषा बोल्‍नुहुन्थ्यो र अर्का महिला हुनुहुन्छ जसले चिनियाँ मात्रै बोल्‍नुहुन्छ)। यी नै कारणहरूले गर्दा आफूले गर्नुपर्ने काम गर्नको लागि उहाँहरू फरक-फरक देशमा, र फरक-फरक समय अवधिमा जिउनु पनि भयो। उहाँहरू एउटै आत्मा हुनुहुन्छ, उहाँहरूमा एउटै सार छ भन्‍ने तथ्यको बाबजुद पनि, उहाँहरूको देहहरूको बाहिरी भेसहरूका बीचमा कुनै ठोस समानताहरू छैनन्। उहाँहरू दुवै उही मानवतामा हुनुहुन्छ, तर जहाँ सम्म उहाँहरूको देहहरूको बाहिरी रूप र उहाँहरूको जन्‍मको परिस्‍थितिहरूको सवाल छ, उहाँहरू उही हुनुहुन्‍न। उहाँहरूको सम्‍बन्धित काममा वा उहाँहरू बारेको मानिसको ज्ञानमा यी कुराहरूले कुनै प्रभाव पार्दैनन्, किनभने, अन्तिम विश्‍लेषणमा, उहाँहरू एउटै आत्मा हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैनन्। रगतद्वारा उहाँहरू सम्‍बन्धित नभए तापनि, उहाँहरूको सम्पूर्ण अस्तित्व उहाँहरूको आत्माहरूको नियन्त्रणमा छन्, जसले उहाँहरूलाई फरक समय अवधिमा फरक काम दिनुहुन्छ, र उहाँहरूको देह फरक-फरक वंशमा पर्छन्। यहोवाको आत्मा येशूका आत्माका पिता हुनुहुन्‍न, र येशूको आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्‍न: उहाँहरू एउटै र उही आत्मा हुनुहुन्छ। त्यसरी नै, आजका देहधारी परमेश्‍वर र येशूमा रगतको सम्‍बन्ध छैन, तर उहाँहरू एउटै हुनुहुन्छ, यो यसैले हो कि उहाँहरूका आत्मा एउटै हुनुहुन्छ। परमेश्‍वरले कृपा र दयाको, साथै मानिसको धार्मिक न्याय र सजायको, र मानिसमा श्राप हालिदिने काम गर्न सक्‍नुहुन्छ; र अन्तिममा, उहाँले संसारलाई नष्ट गर्ने र दुष्टलाई दण्ड दिने काम गर्न सक्‍नुहुन्छ। के उहाँले यो सबै आफै गर्नुहुन्‍न र? के यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता होइन र? उहाँ मानिसको लागि व्यवस्था प्रकाश गर्न र उसको निम्ति आज्ञाहरू जारी गर्न सक्षम हुनुहुन्थ्यो, र सारा इस्राएलीहरूलाई आफ्‍नो प्रभुत्वको अधीनमा राख्दै, प्रारम्भिक इस्राएलीहरूलाई पृथ्वीमा तिनीहरूको जीवन जिउन अगुवाइ गर्न, र मन्दिर र वेदीहरू बनाउन तिनीहरूलाई अगुवाइ गर्न पनि सक्षम हुनुहुन्थ्यो। उहाँको अख्तियारको कारणले गर्दा, उहाँ इस्राएलका मानिसहरूसँग दुई हजार वर्षसम्‍म पृथ्वीमा बस्‍नुभयो। इस्राएलीहरूले उहाँको विरुद्धमा विद्रोह गर्ने आँट गरेनन्; सबैले यहोवाको श्रद्धा गरे र उहाँका आज्ञाहरूलाई पालन गरे। त्यस प्रकारको कार्य उहाँको अख्तियारको सद्गुण र उहाँको सर्वशक्तिमान्‌ताद्वारा गरिएको थियो। त्यसपछि, अनुग्रहको युगको अवधिमा, येशू सारा पतित मानवजातिलाई (इस्राएलीहरूलाई मात्रै होइन) छुटकारा दिन आउनुभयो। उहाँले मानिसलाई कृपा र दया देखाउनुभयो। अनुग्रहको युगमा मानिसले देखेका येशू दयाले भरिपूर्ण हुनुहुन्थ्यो र मानिसप्रति उहाँ सँधै प्रेमिलो हुनुहुन्थ्यो, किनभने उहाँ मानवजातिलाई पापबाट मुक्त गर्नको लागि आउनुभएको थियो। उहाँको क्रूसीकरणले मानवजातिलाई पापबाट पूर्ण रूपमा मुक्त नगरेसम्‍म उहाँ मानिसहरूका पाप क्षमा गर्न सक्षम हुनुहुन्थ्यो। यो अवधिमा, कृपा र दयासहित परमेश्‍वर मानिस सामु देखा पर्नुभयो; अर्थात्, उहाँ मानिसको लागि पापबलि बन्‍नुभयो र मानिसको पापहरूको निम्ति क्रूसमा मारिनुभयो, ताकि तिनीहरूलाई सदाको लागि क्षमा दिइन सकोस्। उहाँ कृपालु, करुणामय, धैर्य, र प्रेमिलो हुनुहुन्थ्यो। अनि अनुग्रहको युगमा येशूलाई पछ्याउनेहरू सबैले सबै कुरामा धैर्य र प्रेमिलो बन्‍ने प्रयास गरे। तिनीहरू सहनशील थिए, र कुटपिट गर्दा, सराप्दा, वा ढुङ्गाले हान्दा पनि तिनीहरू कहिल्यै आफ्‍नो प्रतिरक्षा गर्न लडेनन्। तर अन्तिम चरणको अवधिमा त्यस उप्रान्त यस्तो हुन सक्दैन। उहाँहरू एउटै आत्माका हुनुहुन्थ्यो तैपनि येशू र यहोवाको काम पूर्ण रूपमा एउटै थिएन। यहोवाको कामले युगलाई अन्त्य गरेन, तर पृथ्वीमा मानवजातिको जीवनलाई प्रारम्‍भ गर्दै नयाँ युगको अगुवाइ गर्‍यो, र आजको काम भनेको गम्‍भीर रूपमा भ्रष्ट बनेका अन्यजाति राष्ट्रका मानिसहरूलाई जित्‍न, र चीनमा भएका परमेश्‍वरका चुनिएका मानिसहरूलाई मात्रै होइन, तर सम्पूर्ण ब्रह्माण्ड र सारा मानवजातिलाई अगुवाइ गर्नको लागि हो। यो काम चीनमा मात्रै गरिन्छ भन्‍ने तँलाई लाग्‍न सक्छ, तर वास्तवमा यो अरू देशमा पनि फैलन थालिसकेको छ। किन चीन बाहिरका मानिसहरूले बारम्‍बार साँचो मार्गको खोजी गर्छन्? यसको कारण के हो भने आत्माले नै काम सुरु गरिसक्‍नुभएको छ, र आज बोलिएका वचनहरू ब्रह्माण्डभरिका मानिसहरूप्रति लक्षित छन्। यससँगै, कामको आधा भाग पहिले नै भइरहेको छ। संसारको सृष्टिदेखि वर्तमानसम्‍म, परमेश्‍वरका आत्माले यो महान् कार्यलाई अघि बढाउनुभएको छ, र उहाँले फरक युगहरूमा र फरक राष्ट्रहरूका बीचमा फरक-फरक काम गर्नुभएको छ। हरेक युगका मानिसहरूले उहाँका फरक स्वभावलाई देख्छन्, जसलाई उहाँले गर्नुहुने फरक कामद्वारा स्वभाविक रूपमा नै प्रकट गरिन्छ। उहाँ कृपा र दयाले भरिएका परमेश्‍वर हुनुहुन्छ; उहाँ मानिसको निम्ति पापबलि र मानिसका गोठालो हुनुहुन्छ; तर उहाँ मानिसको न्याय, सजाय, र श्राप पनि हुनुहुन्छ। उहाँले मानिसलाई पृथ्वीमा जिउन दुई हजार वर्षसम्‍म अगुवाइ गर्न सक्‍नुभयो, र उहाँले भ्रष्ट मानवजातिलाई पापबाट मुक्त गर्न पनि सक्‍नुभयो। आज, जसले उहाँलाई चिन्दैनन्, उहाँ ती मानवजातिलाई जित्न, र उहाँको प्रभुत्वमुनि घुँडा टेकाउन पनि सक्‍नुहुन्छ, ताकि सबै उहाँमा पूर्ण रूपमा समर्पित हुन सकून्। अन्तिममा, उहाँ कृपालु र प्रेमिलो परमेश्‍वर मात्रै हुनुहुन्‍न, बुद्धि र आश्‍चर्यका परमेश्‍वर मात्रै हुनुहुन्‍न, पवित्र परमेश्‍वर मात्रै हुनुहुन्‍न, तर, अझै बढी, मानिसलाई न्याय गर्ने परमेश्‍वर पनि हुनुहुन्छ भन्‍ने कुरालाई देखाउन उहाँले ब्रह्माण्डभरिका मानिसहरूभित्र रहेका अशुद्ध र अधर्मी कुराहरूलाई जलाएर हटाउनुहुन्छ। मानजातिका बीचमा रहेका दुष्टहरूका लागि उहाँ ज्वाला, न्याय, र दण्ड हुनुहुन्छ; सिद्ध हुनुपर्नेहरूका लागि, उहाँ संकष्ट, शोधन, र परीक्षाहरू, साथै सान्त्वना, भरण-पोषण, वचनको प्रावधान, निराकरण, र काट-छाँट हुनुहुन्छ। अनि हटाइएकाहरूका लागि, उहाँ दण्ड र बदला हुनुहुन्छ। मलाई भन्, के परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्‍न? उहाँ कुनै पनि र सबै काम गर्न सक्‍ने हुनुहुन्छ, तिमीहरूले कल्‍पना गरेजस्तो, क्रूसमा टाँगिनु सक्‍ने मात्रै होइन। तैँले परमेश्‍वरलाई अत्यन्तै सानो ठान्छस्! के उहाँले उहाँको क्रूसीकरणद्वारा सारा मानवजातिलाई छुटकारा दिने बाहेक अरू केही गर्न सक्‍नुहुन्‍न भन्‍ने तँ विश्‍वास गर्छस्? त्यसपछि, तैँले उहाँलाई जीवनको रूखको फल खान र जीवनको नदीबाट पिउनको लागि स्वर्गसम्‍मै पछ्याउनेछस्? … के यो त्यति सरल हुन सक्छ? मलाई भन्, तैँले के पूरा गरेको छस्? के तँमा येशूको जीवन छ? तँलाई वास्तवमा नै उहाँले उद्धार गर्नुभएको थियो, तर क्रूसीकरण येशू स्वयमको काम थियो। मानवजातिको रूपमा तैँले के कर्तव्य पूरा गरेको छस्? तँमा देखावटी भक्ति मात्रै छ, तर तैँले उहाँको मार्गलाई बुझ्दैनस्। के तैँले त्यसरी नै उहाँलाई प्रकट गर्छस्? यदि तैँले परमेश्‍वरको जीवन प्राप्त गरेको छैनस् वा उहाँको धर्मी स्वभावको पूर्णतालाई देखेको छैनस् भने, तैँले आफूलाई मसँग जीवन छ भनी दाबी गर्न सक्दैनस्, र तँ स्वर्गको राज्यको ढोकाबाट प्रवेश गर्न योग्य छैनस्।

परमेश्‍वर आत्मा मात्रै हुनुहुन्‍न, उहाँ देह पनि बन्न सक्नुहुन्छ। यसको साथै, उहाँ महिमाको शरीर हुनुहुन्छ। तिमीहरूले उहाँलाई नदेखे पनि, येशूलाई इस्राएलीहरू—त्यो समयका यहूदीहरूले देखेका थिए। उहाँ सुरुमा देहको शरीर हुनुहुन्थ्यो, तर उहाँलाई क्रूसमा टाँगिएपछि, उहाँ महिमाको शरीर बन्‍नुभयो। उहाँ जहाँसुकै जान सक्‍ने आत्मा हुनुहुन्छ र उहाँले जुनसुकै ठाउँमा काम गर्न सक्‍नुहुन्छ। उहाँ यहोवा, वा येशू, वा मसीह हुन सक्‍नुहुन्छ; अन्त्यमा, उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर पनि बन्‍न सक्‍नुहुन्छ। उहाँ धार्मिकता, न्याय, र सजाय हुनुहुन्छ; उहाँ श्राप र क्रोध हुनुहुन्छ; तर उहाँ कृपा र दया पनि हुनुहुन्छ। उहाँले गर्नुभएका सबै कामले उहाँको प्रतिनिधित्व गर्न सक्छ। उहाँ कुन प्रकारको परमेश्‍वर हुनुहुन्छ भनेर तँ भन्छस्? तैँले व्याख्या गर्न सक्दैनस्। यदि तैँले साँचो रूपमा व्याख्या गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरको बारेमा निष्कर्ष निकाल्‍न सक्दैनस्। उहाँले एउटा चरणमा छुटकाराको काम गर्नुभयो भन्दैमा, परमेश्‍वर सदासर्वदा कृपा र दयाका परमेश्‍वर हुनुहुन्छ भन्‍ने निष्कर्ष ननिकाल्। के तँ उहाँ कृपालु र प्रेमिलो परमेश्‍वर मात्रै हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित हुन सक्छस्? यदि उहाँ कृपालु र प्रेमिलो परमेश्‍वर मात्रै हुनुहुन्छ भने, आखिरी दिनहरूमा उहाँले किन युगको अन्त्य ल्याउनुहुनेछ? उहाँले किन त्यति धेरै विपत्तिहरू पठाउनुहुनेछ? मानिसहरूका धारणा र विचारहरू अनुसार, परमेश्‍वर अन्त्यसम्‍मै कृपालु र प्रेमिलो हुनुपर्छ, ताकि मानवजातिको हरेक सदस्य मुक्त हुन सकोस्। तर किन आखिरी दिनहरूमा, परमेश्‍वरलाई शत्रुको रूपमा हेर्ने यस दुष्ट मानवजातिलाई नष्ट गर्नको लागि उहाँले भूकम्प, महामारी, र अनिकाल पठाउनुहुन्छ? मानिसलाई किन उहाँले यी विपत्तिहरू भोग्‍न दिनुहुन्छ? तिमीहरूमध्ये कसैले पनि उहाँ कुन प्रकारको परमेश्‍वर हुनुहुन्छ सो भन्‍ने आँट गर्दैनौ, र कसैले पनि व्याख्या गर्न सक्दैन। के तँ उहाँ आत्मा हुनुहुन्छ भन्‍नेमा निश्‍चित हुन सक्छस्? के तँ उहाँ येशूको देह बाहेक अरू कोही हुनुहुन्‍न भनेर भन्‍ने आँट गर्न सक्छस्? अनि के तँ उहाँ मानिसको खातिर सदासर्वदा नै क्रूसमा टाँगिनुभएको परमेश्‍वर हुनुहुन्छ भनेर भन्‍ने आँट गर्छस्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्