देहधारणको रहस्य (४) (भाग एक)

तिमीहरूलाई बाइबलको पृष्ठभूमिको कथा र यसको निर्माणको बारेमा थाहा हुनुपर्दछ। यो ज्ञान ती व्यक्तिहरूको स्वामित्वमा हुँदैन जसले परमेश्‍वरको नयाँ कामलाई ग्रहण गरेका छैनन्। तिनीहरूलाई थाहा छैन। यदि तँ तिनीहरूसँग सारका यी विषयहरूमा स्पष्टसँग कुरा गर्छस् भने, तिनीहरूले उप्रान्त तँसँग बाइबलको बारेमा त्यत्ति कुरा गर्नेथिएनन्। तिनीहरू अगमवाणी गरिएको कुरालाई लगातार खोतलिरहन्छन्: के यो भनाइ पूरा भएको छ? के त्यो भनाइ पूरा भएको छ? तिनीहरूले सुसमाचारलाई बाइबलअनुसार ग्रहण गरेका हुन्छन्, र तिनीहरूले बाइबलअनुसार नै सुसमाचार प्रचार गर्छन्। परमेश्‍वरमाथि तिनीहरूले गरेको विश्‍वास बाइबलका वचनहरूमा आधारित हुन्छ; बाइबलविना, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेछैनन्। तिनीहरू यसरी बाइबलका स-साना कुराहरू जाँच्दै यस्तै प्रकारले जिउँछन्। जब तिनीहरू एक पल्ट फेरि बाइबल खोतल्छन् र तँलाई स्पष्टीकरणका लागि सोध्छन्, तँ भन्छस्, “पहिले, हामी प्रत्येक भनाइको सत्यता प्रमाणित नगरौं। त्यसको साटो, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ सो हेरौं। हामी हिँडेका मार्गलाई लिऔं, र त्यसलाई सत्यतासँग तुलना गरौं, कि यो मार्ग साँच्चै पवित्र आत्माको काम हो कि होइन हेरौं, र हामी पवित्र आत्माको काम प्रयोग गरी त्यो मार्ग सही छ कि छैन भनेर जाँचौं। यो भनाइ वा त्यो भनाइ अघिबाटै भनिएझैँ पूरा हुनआएको छ कि छैन भन्ने कुराचाहिँ हामी मानिसले पत्ता लगाउने कोसिस गर्नुहुँदैन। त्यसको साटो हामीले पवित्र आत्माको काम र परमेश्‍वरले हालमा गरिरहनुभएको कामको बारेमा कुरा गर्नु उत्तम हुन्छ।” बाइबलमा भएका अगमवाणीहरू अगमवक्ताहरूको समयमा दिइएका परमेश्‍वरका वचनहरू हुन् र ती परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूले प्रेरणा प्राप्‍त गरेपछि लेखेका वचनहरू हुन्; यी परमेश्‍वर स्‍वयम्‌ले मात्र यी वचनहरूलाई व्याख्या गर्न सक्नुहुन्छ, र केवल पवित्र आत्माले ती वचनहरूको अर्थ प्रकट गर्न सक्नुहुन्छ, र केवल परमेश्‍वर आफैले मात्र ती सात वटा मोहोर तोड्न र चर्मपत्रको मुट्ठो खोल्न सक्नुहुन्छ। तँ भन्छस्: “तपाईं परमेश्‍वर हुनुहुन्न, न त म नै हुँ। त्यसोभए, कसले हल्कासाथ परमेश्‍वरको वचनको व्याख्या गर्ने आँट गर्छ? के तँ अझै यी वचनहरूलाई व्याख्या गर्ने हिम्मत गर्छस्? यर्मिया, यूहन्ना र एलिया अगमवक्ताहरू आए भने पनि उनीहरूले समेत ती वचनहरू बोल्ने र तिनको व्याख्या गर्ने आँट गर्नेथिएनन्, किनकि तिनीहरू थुमा होइनन्। केवल थुमाले मात्र सात मोहोर तोड्न र चर्मपत्रको मुट्ठो खोल्न सक्नुहुन्छ, र अरू कसैले पनि उहाँको वचनको व्याख्या गर्न सक्दैन। म परमेश्‍वरको नाउँ खोस्ने हिम्मत गर्दिनँ, उहाँका वचनहरूको व्याख्या गर्ने कोसिस गर्ने त कुरै नगरौं। म त्यो व्यक्ति मात्र हुन सक्छु जसले परमेश्‍वरको आज्ञापालन गर्दछ। के तपाईं परमेश्‍वर हुनुहुन्छ? परमेश्‍वरका कुनै पनि प्राणीहरूले त्यो चर्मपत्रको मुट्ठो खोल्ने वा ती वचनहरूको व्याख्या गर्ने हिम्मत गर्दैनन्, र म पनि तिनको व्याख्या गर्ने आँट गर्दिनँ। तपाईंले तिनको व्याख्या गर्ने कोसिस नगर्नु नै राम्रो हुन्छ। कसैले पनि तिनको व्याख्या गर्ने कोसिस गर्नुहुँदैन। हामी पवित्र आत्माको कामको बारेमा कुरा गरौं; मानिसले यति मात्र गर्न सक्छ। मलाई यहोवा र येशूको कामको बारेमा थोरै मात्र थाहा छ, तर मलाई यस्तो कामको कुनै व्यक्तिगत अनुभव नभएको कारण, म यसको बारेमा केही हदसम्म मात्र कुरा गर्न सक्छु। यशैया वा येशूले उहाँहरूको समयमा बोल्नुभएका वचनहरूको अर्थको बारेमा म कुनै स्पष्टीकरण दिनेछैनँ। म बाइबलको अध्ययन गर्दिनँ, बरु म त परमेश्‍वरको वर्तमान कामको अनुसरण गर्दछु। तपाईंले वास्तवमा बाइबललाई सानो चर्मपत्रको मुट्ठो रूपमा हेर्नुहुन्छ, तर के यो केवल थुमाले मात्र खोल्न सक्ने वस्तु होइन र? थुमाबाहेक, अरू कसले यो खोल्न सक्छ र? तपाईं थुमा हुनुहुन्‍न, मैले म आफै परमेश्‍वर हुँ भनि दाबी गर्ने आँट गर्ने कुरा त परै जाओस्, त्यसैले हामी बाइबलको विश्लेषण नगरौं वा यसका स-साना कुराहरूको जाँच नगरौं। पवित्र आत्माले गर्नुभएको कामको, अर्थात् वर्तमानमा परमेश्‍वर आफैले गर्नुभएको कामको बारेमा छलफल गर्नु धेरै राम्रो हुन्छ। परमेश्‍वरले कुन-कुन सिद्धान्तहरूद्वारा काम गर्नुहुन्छ, र उहाँको कामको सार के हो सो हेरौं अनि, यसलाई प्रयोग गर्दै के आज हामी हिँडेको मार्ग सही छ कि छैन सो जाँचौं, र त्यसरी यसलाई निश्चित गरौं।” यदि तिमीहरू सुसमाचार प्रचार गर्न चाहन्छौ भने, विशेष गरी धार्मिक संसारमा हुनेहरूलाई प्रचार गर्न चाहन्छौ भने, तिमीहरूले बाइबललाई बुझ्नुपर्छ र त्यसको भित्री कथालाई राम्ररी जान्नुपर्छ; अन्यथा, तेरो निम्ति सुसमाचार प्रचार गर्ने कुनै उपाय छैन। तैंले समग्र चित्रलाई राम्ररी बुझेर बाइबलका मृत शब्दहरूलाई एक-एक गरी जाँच्न बन्द गरिस्, अनि परमेश्‍वरको काम र जीवन सत्यताको बारेमा मात्र कुरा गरिस् भने, तैंले साँचो हृदयले खोजी गर्नेहरूलाई प्राप्त गर्न सक्नेछस्।

यहोवाको काम, उहाँले राख्नुभएका व्यवस्थाहरू, र उहाँले मानिसहरूलाई जीवन जिउन डोऱ्याउनको लागि प्रयोग गर्नुभएका सिद्धान्तहरू, व्यवस्थाको युगमा उहाँले गर्नुभएको कामको विषयवस्तु, उहाँले आफ्नो व्यवस्थालाई स्थापित गर्नुको महत्त्व, अनुग्रहको युगका निम्ति उहाँले गर्नुभएको काम र परमेश्‍वरले यस अन्तिम चरणमा गर्नुहुने कामको महत्त्व: तिमीहरूले बुझ्‍नैपर्ने कुराहरू यिनै हुन्। पहिलो चरण व्यवस्थाको युगको काम हो, दोस्रो अनुग्रहको युगको काम र तेस्रो आखिरी दिनहरूको काम हो। तिमीहरू परमेश्‍वरको कामका यी चरणहरूको बारेमा स्पष्ट हुनुपर्दछ। सुरुदेखि अन्त्यसम्म, जम्‍मा तीन चरणहरू छन्। कामको प्रत्येक चरणको सार के हो? छ हजार वर्षको प्रबन्ध योजनाको काममा कति वटा चरणहरू पूरा गरिन्छ? यी चरणहरूलाई कसरी पूरा गरिन्छ र किन प्रत्येकलाई त्यसको आफ्नै तरिकामा गरिन्छ? यी सबै महत्त्वपूर्ण प्रश्नहरू हुन्। प्रत्येक युगको कामको प्रतिनिधिमूलक महत्त्व छ। यहोवाले कुन काम गर्नुभयो? उहाँले त्यो किन विशेष तरिकाले गर्नुभयो? उहाँलाई किन यहोवा भनियो। फेरि, अनुग्रहको युगमा येशूले कुन काम गर्नुभयो र कुन तरिकामा त्यो गर्नुभयो? परमेश्‍वरको स्वभावको कुन पक्षहरूलाई कामको प्रत्येक चरण र प्रत्येक युगले प्रतिनिधित्व गर्दछ? उहाँको स्वभावका कुन-कुन पक्षहरूलाई व्यवस्थाको युगमा प्रकट गरिएका थिए? र अनुग्रहको युगमा कुन-कुनलाई प्रकट गरिएका थिए? र अन्तिम युगमा कुन-कुनलाई प्रकट गरियो? यी सारगत प्रश्नहरू हुन्, जुन विषयमा तिमीहरू स्पष्ट हुनुपर्दछ। परमेश्‍वरको सम्पूर्ण स्वभाव छ हजार वर्षको व्यवस्थापन योजनाको क्रममा प्रकट भएको छ। यो अनुग्रहको युगमा मात्र प्रकट भएको छैन, न त व्यवस्थाको युगमा मात्र प्रकट गरिएको छ, आखिरी दिनहरूमा मात्रै यसलाई प्रकट गरिएको छ भन्‍ने कुरा त परै जाओस्। आखिरी दिनहरूमा गरिएको कार्यले न्याय, क्रोध र सजायलाई प्रतिनिधित्व गर्दछ। आखिरी दिनहरूमा गरिएको कामले व्यवस्थाको युगको वा अनुग्रहको युगको कामको स्थान लिन सक्दैन। यद्यपि, यी तीन चरणहरू एकसाथ जोडिएका छन्, एउटै अस्तित्वमा छन्, र सबै एउटै परमेश्‍वरका काम हुन्। स्वाभाविक रूपमा, यस कामको कार्यान्वयनलाई अलग-अलग युगहरूमा विभाजित गरिएको छ। आखिरी दिनहरूमा गरिएको कामले सबै कुराको अन्त्य गर्दछ; व्यवस्थाको युगमा गरिएको काम सुरुवातको काम थियो; अनि अनुग्रहको युगमा गरिएको काम छुटकाराको काम थियो। छ हजार वर्षको व्यवस्थापन योजनाको कामका दर्शनहरूको कुरा गर्ने हो भने कसैले पनि त्यसको अन्तर्दृष्टि वा समझ प्राप्त गर्न सक्दैन, र यी दर्शनहरू पहेलीहरू नै रहन्छन्। आखिरी दिनहरूमा, राज्यको युगलाई प्रारम्‍भ गर्नका लागि वचनको काम मात्र गरिन्छ, तर यसले सबै युगको प्रतिनिधित्व गर्दैन। आखिरी दिनहरू आखिरी दिनहरूभन्दा बढी केही होइनन्, र परमेश्‍वरको राज्यको युगभन्दा बढी होइनन्, र तिनले अनुग्रहको युग वा व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैनन्। यति मात्र हो, कि आखिरी दिनहरूमा, छ हजार वर्षे व्यवस्थापनको योजनाका सबै काम तिमीहरूलाई प्रकट गरिएको छ। यो रहस्यको घुम्टो उठाउनु हो। यस प्रकारको रहस्य कुनै मानिसले प्रकट गर्न नसक्‍ने कुरा हो। मानिससँग बाइबलसम्बन्धी ज्ञान जति नै धेरै भए पनि त्यो वचनहरू भन्दा बढी केही हुँदैन, किनकि मानिसले बाइबलको सारलाई बुझ्दैन। बाइबल पढ्दा मानिसले केही सत्यता बुझ्न सक्छ, केही वचनको व्याख्या गर्न सक्छ, वा केही प्रसिद्ध खण्डहरू र अध्यायहरूमाथि सूक्ष्म जाँच गरेको हुनसक्छ, तर उसले ती वचनहरूभित्र रहेको अर्थ कहिल्यै पनि बुझ्न सक्दैन, किनकि मानिसले देख्‍ने भनेका मृत शब्दहरू मात्र हुन्, यहोवा र येशूको कामको दृश्य देख्दैनन्, र मानिससँग यस कामको रहस्य पत्ता लगाउने कुनै तरिका हुँदैन। त्यसकारण, छ हजार वर्षे व्यवस्थापन योजनाको रहस्य सबैभन्दा ठूलो रहस्य हो, यसलाई सबैभन्दा गहिराइमा लुकाइएको छ, र यो मानिसका निम्ति पूर्ण रूपमा बुझ्न नसकिने छ। परमेश्‍वर आफैले मानिसलाई नबताउञ्जेल र प्रकट नगरुञ्‍जेलसम्‍म कसैले पनि परमेश्‍वरको इच्छा स्पष्ट रूपमा बुझ्न सक्दैन; अन्यथा, यी कुराहरू मानिसका निम्ति सधैँ रहस्यको कुरा बन्नेछन्, सधैँका लागि मोहोर लगाइएका रहस्यहरू रहनेछन्। धार्मिक संसारमा हुनेहरू सबैको कहिल्यै वास्ता नगर; यदि आज तिमीहरूलाई नबताइएको भए तिमीहरूले पनि यो बुझ्‍ने थिएनौ। छ हजार वर्षको यो काम अगमवक्ताहरूका सबै अगमवाणीहरूभन्दा धेरै रहस्यमय छ। सृष्टिदेखि अहिलेसम्मको सबैभन्दा ठूलो रहस्य यही हो, र युगौँ युगका अगमवक्ताहरूमध्ये कसैले पनि यसलाई बुझ्न सकेको छैन, किनकि यो रहस्यलाई अन्तिम युगमा मात्र प्रकट गरिन्छ र यसभन्दा अघि यसलाई कहिल्यै प्रकट गरिएको छैन। यदि तिमीहरू यस रहस्यलाई बुझ्न सक्छौ भने, र तिमीहरूले यसलाई सम्पूर्ण रूपमा ग्रहण गर्न सक्छौ भने, सबै धार्मिक व्यक्तिहरू यो रहस्यद्वारा परास्त हुनेछन्। सबैभन्दा ठूलो दर्शन यही नै हो; यो मानिसले बुझ्ने सबैभन्दा उत्कट इच्छा गर्ने, तर उसका निम्ति धेरै अस्पष्ट कुरा हो। जब तिमीहरू अनुग्रहको युगमा थियौ, त्यस बेला येशूले गर्नुभएको काम वा यहोवाले गर्नुभएको काम के थियो भन्ने तिमीहरूलाई थाहा थिएन। परमेश्‍वरले किन व्यवस्था दिनुभयो, किन उहाँले मानिसहरूलाई त्यो व्यवस्था पालन गर्न लगाउनुभयो वा मन्दिर किन बनाउनुपर्‍यो भनी मानिसहरूले बुझेनन्, र इस्राएलीहरूलाई किन मिश्रबाट उजाड-स्थानमा र त्यसपछि कनानमा लगियो भन्ने कुरा मानिसहरूले बुझ्‍ने कुरा त परै जाओस्। आज आएर मात्रै यी विषयहरूलाई प्रकट गरिएको छ।

आखिरी दिनहरूमा हुने काम तीनवटा चरणमध्ये अन्तिम चरण हो। यो अर्को नयाँ युगको काम हो र यसले व्यवस्थापनको कामको सम्पूर्णतालाई प्रतिनिधित्व गर्दैन। छ हजार वर्षको व्यवस्थापन योजनाको कामलाई तीन चरणमा विभाजन गरिएको छ। कुनै पनि एउटा चरणले मात्र तीनवटा युगको कामको प्रतिनिधित्व गर्न सक्दैन, तर सम्पूर्णको केवल एक भागलाई मात्र प्रतिनिधित्व गर्दछ। यहोवाको नाउँले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई प्रतिनिधित्व गर्न सक्दैन। उहाँले व्यवस्थाको युगमा आफ्नो काम गर्नुभयो भन्ने तथ्यले परमेश्‍वर व्यवस्थाको अधीनमा मात्र परमेश्‍वर हुन सक्नुहुन्छ भनी प्रमाणित गर्दैन। यहोवाले मानिसका लागि व्यवस्था दिनुभयो र मानिसलाई आज्ञाहरू सुम्पनुभयो र मानिसलाई मन्दिर र वेदीहरू बनाउन लगाउनुभयो; उहाँले गर्नुभएको कामले व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्दछ। उहाँले गर्नुभएको कामले परमेश्‍वर मानिसलाई व्यवस्था पालन गर्न लगाउने परमेश्‍वर मात्र हुनुहुन्छ, वा उहाँ मन्दिरमा आउनुहुने परमेश्‍वर हुनुहुन्छ वा उहाँ वेदीको सामने आउनुहुने परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्दैन। त्यसो हो भनी भन्‍नु असत्य हुनेथियो। व्यवस्था अन्तर्गत गरिएको कामले केवल एउटा युगलाई मात्र प्रतिनिधित्व गर्न सक्छ। त्यसकारण, यदि परमेश्‍वरले व्यवस्थाको युगमा मात्र काम गर्नुभएको थियो भने, मानिसले परमेश्‍वरलाई निम्नलिखित परिभाषाभित्र सीमित तुल्याउनेथियो, “परमेश्‍वर मन्दिरमा बस्नुहुने परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरको सेवा गर्न हामीले पूजाहारीको पोसाक लगाउनुपर्छ र मन्दिरभित्र प्रवेश गर्नुपर्दछ।” यदि अनुग्रहको युगमा यो काम कहिल्यै नभएको भए र व्यवस्थाको युग अहिलेसम्म जारी नै रहेको भए मानिसले परमेश्‍वर दयालु र प्रेमिलो पनि हुनुहुन्छ भनी जान्ने थिएन। यदि व्यवस्थाको युगमा काम नगरिएको भए, त्यसको साटो अनुग्रहको युगमा मात्र काम भएको भए, परमेश्‍वरले मानिसलाई छुटकारा दिन र मानिसका पापहरू क्षमा गर्न मात्र सक्नुहुन्छ भनेर मात्रै मानिसले जान्नेथिए। मानिसले उहाँ पवित्र र निर्दोष हुनुहुन्छ, र मानिसको खातिर उहाँले आफैलाई बलिदान गर्न र क्रूसमा टाँगिन सक्‍नुहुन्छ भनेर मात्र जान्नेथियो। मानिसले यी सबै कुराहरू मात्र जान्नेथियो, तर अरू केही पनि बुझेको हुनेथिएन। त्यसकारण हरेक परमेश्‍वरको स्वभावको एउटा भागलाई प्रतिनिधित्व गर्छ। व्यवस्थाको युगमा, अनि अनुग्रहको युगमा, र यस वर्तमान चरणमा परमेश्‍वरको स्वभावका कुन-कुन पक्षहरूको प्रतिनिधित्व गरियो भन्ने सम्बन्धमा चाहिँ: जब ती सबै तीन चरणहरूलाई एकट्ठा गरिन्छ, तब मात्र परमेश्‍वरको स्वभावको सम्पूर्णता प्रकट हुन सक्दछ। मानिसले तीन वटै चरणहरूलाई जानिसकेपछि मात्रै उसले यसलाई पूर्ण रूपमा बुझ्‍न सक्छ। यी तीन चरणमध्ये कुनैलाई पनि हटाउन सकिँदैन। तैंले यी तीन चरणको कार्यलाई बुझिस् भने मात्र परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा बुझ्नेछस्। परमेश्‍वरले व्यवस्थाको युगमा उहाँको आफ्नो काम पूरा गर्नुभयो भन्ने तथ्यले उहाँ व्यवस्थाको अधीनमा हुनुहुने परमेश्‍वर मात्र हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दैन, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभयो भन्ने तथ्यको अर्थ परमेश्‍वरले मानवजातिलाई सधैँ छुटकारा दिइरहनुहुन्छ भन्ने हुँदैन। यी सबै मानिसका निष्कर्षहरू हुन्। अनुग्रहको युग समाप्त भइसकेपछि, तैंले परमेश्‍वर केवल क्रूसको स्वामित्वमा हुनुहुन्छ र क्रूसले मात्र परमेश्‍वरको मुक्तिलाई प्रतिनिधित्व गर्दछ भन्न सक्दैनस्। त्यसो गर्नु भनेको परमेश्‍वरलाई परिभाषित गर्नु हो। वर्तमान चरणमा, परमेश्‍वरले मुख्य रूपमा वचनको काम गरिरहनुभएको छ, तर तँ परमेश्‍वर मानिसप्रति कहिल्यै कृपालु हुनुभएको छैन र उहाँले सजाय र न्याय मात्र ल्याउनुभएको छ भन्न सक्दैनस्। आखिरी दिनहरूका कामले यहोवाको र येशूका कामलाई साथै मानिसले नबुझेका सबै रहस्यहरूलाई प्रकट गर्दछ, जसले मानवजातिको गन्तव्य र अन्त्य, र मानवजातिको माझमा मुक्तिका सबै काम समाप्त भएको कुरालाई प्रकट गर्दछ। आखिरी दिनहरूमा गरिने कामको यो चरणले सबै कुरालाई समाप्त गर्दछ। मानिसले नबुझेका सबै रहस्यहरू प्रकट गर्नु, मानिसहरूलाई ती कुराहरू गहिरो रूपले बुझ्न दिनु र तिनीहरूका हृदयमा पूर्ण रूपमा स्पष्ट बुझाइ हुन दिनु आवश्यक छ। त्यसपछि मात्र मानवजातिलाई तिनीहरूका प्रकार अनुसार वर्गमा छुट्ट्याउन सकिन्छ। छ हजार वर्षको व्यवस्थापन योजना पूरा भएपछि मात्र मानिसले पूर्ण रूपमा परमेश्‍वरको स्वभावलाई बुझ्न सक्नेछ, किनकि त्यस बेला उहाँको व्यवस्थापन योजना अन्त्य भएको हुनेछ। अब तिमीहरूले अन्तिम युगमा परमेश्‍वरको कामलाई अनुभव गरेका छौ, त्यसकारण परमेश्‍वरको स्वभाव कस्तो छ? के तँ परमेश्‍वर वचनहरू मात्र बोल्ने र त्योभन्दा बढी अरू केही नगर्ने परमेश्‍वर हुनुहुन्छ भनी भन्ने हिम्मत गर्छस्? तैँले त्यस्तो निष्कर्ष निकाल्ने हिम्मत गर्दैनस्। परमेश्‍वर रहस्यहरू प्रकट गर्ने परमेश्‍वर हुनुहुन्छ, परमेश्‍वर थुमा हुनुहुन्छ र सातवटा मोहोर तोड्ने व्यक्ति हुनुहुन्छ भनेर कतिले भन्‍छन्। तर कसैले पनि यस्तो निष्कर्ष निकाल्ने आँट गर्दैन। सायद अरूले भन्छन्, कि परमेश्‍वर देहधारी मानिस हुनुहुन्छ, तर पनि यो अझै सही हुँदैन। अझ अरूले भन्छन् होला, कि देहधारी परमेश्‍वरले केवल वचनहरू बोल्नुहुन्छ, र चिह्न र चमत्कारका कामहरू गर्नुहुन्न, तर तँ यस प्रकारले बोल्ने आँट कमै गर्छस्, किनकि येशू देहधारी बन्नुभयो र उहाँले चिन्‍ह र चमत्कारका कामहरू गर्नुभयो, ताकि तैँले परमेश्‍वरलाई यत्ति हलुका रूपमा परिभाषित गर्ने हिम्मत नगर्। छ हजार वर्षे व्यवस्थापन योजनाभरि गरिएका सबै काम अब मात्रै समाप्त हुन्छ। यी सबै कामहरू मानिसलाई प्रकट गरेपछि र मानवजातिको बीचमा गरिएपछि मात्र मानवजातिले परमेश्‍वरका सबै स्वभाव साथै उहाँसँग के छ र उहाँ के हुनुहुन्छ भनी जान्नेछ। जब यस चरणको काम पूर्ण रूपमा समाप्त हुन्छ, मानिसले नबुझेका सबै रहस्यहरू प्रकट भएका हुन्छन्, पहिले नबुझेका सबै सत्यताहरू स्पष्ट पारिनेछन्, र मानवजातिलाई उनीहरूको भावी मार्ग र गन्तव्यको बारेमा बताइनेछ। वर्तमान चरणमा गरिनुपर्ने सम्पूर्ण काम यही हो। मानिसले आज हिँडेको बाटो क्रूसको र दुःखको बाटो भए पनि मानिसले जुन अभ्यासहरू गर्छ, र उसले आज जे खान्छ, पिउँछ र उपभोग गर्छ त्यो व्यवस्थाको अधीनमा हुँदा र अनुग्रहको युगमा मानिसले पाएको कुराभन्दा धेरै फरक छ। आज मानिसबाट जे माग गरिन्छ त्यो विगतको जस्तो छैन र व्यवस्थाको युगको मानिससित माग गरिएको जस्तो त झन् छँदै-छैन। अब, व्यवस्थाको अधीनमा परमेश्‍वरले इस्राएलमा आफ्नो काम गरिरहनुभएको बेला मानिससँग के माग गरिएको थियो? मानिसले शबाथ र यहोवाको व्यवस्था पालन गर्नु बाहेक अरू केही गर्नु पर्दैनथियो। कसैले पनि शबाथको दिनमा काम गर्नुहुँदैनथ्यो वा परमप्रभुको व्यवस्था उल्लङ्घन गर्नुहुँदैनथ्यो। तर अहिले त्यस्तो छैन। शबाथमा मानिस काम गर्छ, भेला हुन्छ र सामान्य रूपमा प्रार्थना गर्दछ, र उसमाथि कुनै प्रतिबन्ध लगाइएको छैन। अनुग्रहको युगमा हुनेहरूले बप्तिस्मा लिनुपर्थ्यो, र उनीहरूलाई उपवास बस्न, रोटी भाँच्न, दाखमद्य पिउन, शिर ढाक्न र अरूका खुट्टा धोइदिन लगाइएको थियो। अहिले यी नियमहरू खारिज गरिएका छन्, तर मानिसबाट अझ ठूला मागहरू गरिएका छन्, किनकि परमेश्‍वरको काम अझ गहिरो हुँदैजान्छ र मानिसको प्रवेश अझ उच्च हुँदैजान्छ। विगतमा, येशूले आफ्नो हात मानिसमाथि राख्नुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो, तर अब सबै कुरा भनिएको छ, यसैले हात राखेर के हुन्छ र? वचनहरूले मात्र परिणाम प्राप्त गर्न सक्छ। विगतमा जब उहाँले मानिसमाथि आफ्नो हात राख्नुहुन्थ्यो, त्यो मानिसलाई आशिष् दिन र उसका रोगहरू निको पार्नका निम्ति हुन्थ्यो। त्यस बेला पवित्र आत्माले त्यसरी नै काम गर्नुभयो, तर अहिले त्यस्तो छैन। अहिले पवित्र आत्माले काम गर्न र परिणामहरू प्राप्त गर्न वचनहरूको प्रयोग गर्नुहुन्छ। उहाँका वचनहरू तिमीहरूलाई स्पष्ट पारिएको छ, र भनिएजस्तै गरी तिमीहरूले तिनलाई आफ्नो व्यवहारमा उतार्नुपर्छ। उहाँका वचनहरू उहाँका इच्छा हुन्; ती उहाँले गर्न चाहनुभएका काम हुन्। उहाँका वचनहरूद्वारा तैँले उहाँको इच्छालाई र तैँले के प्राप्त गरेको उहाँ चाहनुहुन्छ त्यो बुझ्‍नेछस्, र हातहरू राख्नुपर्ने कुनै आवश्यकताविना नै तैँले सीधै उहाँका वचनहरूलाई व्यवहारमा उतार्न सक्छस्। कसै-कसैले यसो भन्लान्, “तपाईंको हात ममाथि राख्नुहोस्! तपाईंका हातहरू ममाथि राख्नुहोस् र मैले तपाईंको आशीर्वाद पाउन सकूँ र म तपाईंमा सहभागी हुन सकूँ।” यी सबै अतीतका पुराना अभ्यासहरू हुन्, जुन अब अप्रचलित भएका छन्, किनकि युग परिवर्तन भएको छ। न त उद्देश्य विहीन रूपले न त नियमहरू अनुसार, तर पवित्र आत्माले युगअनुसार काम गर्नुहुन्छ। युग परिवर्तन भएको छ, र नयाँ युगले अनिवार्य रूपमा नै आफ्नो साथमा नयाँ काम ल्याउँदछ। कामको हरेक चरणमा यही कुरा लागू हुन्छ, त्यसैले उहाँको काम कहिल्यै दोहोरिँदैन। अनुग्रहको युगमा, येशूले त्यस प्रकारको काम प्रशस्तै गर्नुभयो, जस्तै बिरामीलाई निको पार्ने, भूतहरू निकाल्ने, मानिसको निम्ति प्रार्थना गर्न ऊमाथि आफ्नो हात राख्ने र मानिसलाई आशिष्‌ दिने। तापनि, वर्तमान समयमा त्यसो गर्नु अर्थहीन हुनेछ। पवित्र आत्माले त्यस समयमा त्यसरी नै काम गर्नुभयो, किनकि त्यो अनुग्रहको युग थियो, र मानिसले उपभोग गर्न सक्ने पर्याप्त अनुग्रह थियो। ऊबाट कुनै प्रकारको मूल्य माग गरिएको थिएन र जबसम्म ऊसँग विश्‍वास हुन्थ्यो, तबसम्‍म उसले अनुग्रह प्राप्त गर्थ्यो। सबैसँग अनुग्रहको साथ व्यवहार गरिन्थ्यो। अब युग परिवर्तन भएको छ, र परमेश्‍वरको काम अझ अगाडि बढेको छ; सजाय र न्यायको माध्यमबाट मानिसको विद्रोहीपन र मानिसभित्रको अशुद्ध थोकहरूलाई हटाइन्छ। त्यो चरण मुक्तिको चरण भएकोले मानिसले उपभोग गर्न सक्ने प्रशस्त अनुग्रह प्रकट गर्दै, अनुग्रहको माध्यमद्वारा तिनीहरूका पाप क्षमा गर्न परमेश्‍वरले त्यस प्रकारले काम गर्न आवश्यक भयो। यस वर्तमान चरणचाहिँ दण्ड, न्याय, वचनहरूको प्रहार, साथै अनुशासन र वचनहरूको प्रकाशद्वारा मानिसभित्रको अधर्मलाई प्रकट गर्नु हो, यसैले कि त्यसपछि मानवजातिले मुक्ति पाउन सकोस्। यो काम छुटकाराभन्दा अझ गहिरो हुन्छ। अनुग्रहको युगमा भएको अनुग्रह मानिसको उपभोगका लागि पर्याप्त थियो; अब मानिसले यो अनुग्रहको अनुभव गरिसकेको छ, अब उसले यो उपभोग गर्नुपर्दैन। यो कामको समय अब बितिसकेको छ र अब यो गर्नुपर्दैन। अब मानिस वचनको न्यायद्वारा बच्नुपर्छ। मानिसको न्याय भएपछि, उसले सजाय पाएपछि र शोधन गरिएपछि त्यसैद्वारा उसको स्वभाव परिवर्तन हुन्छ। के यो सबै मैले बोलेका वचनहरूको कारणले गर्दा होइन र? कामको प्रत्येक चरणलाई सम्पूर्ण मानवजातिको प्रगति र युग अनुरूप नै गरिन्छ। काम सबै महत्त्वपूर्ण छ, र यो सबै अन्तिम मुक्तिका लागि गरिन्छ, यसैले कि मानवजातिले भविष्यमा एक राम्रो गन्तव्य पाउन सकोस्, र अन्त्यमा मानवजाति प्रकारअनुसार वर्गीकरण हुन सकोस्।

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू आउन सक्छन्। यी वचनहरू स्वीकार गर्दा ती मानिसहरूमा आउने परिवर्तनहरू, अनुग्रहको युगका चिह्न र चमत्कारका कामहरूलाई स्वीकार गर्दा मानिसहरूमा परेको प्रभावभन्दा बढी हुन्छ। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर प्रार्थना गरेर ऊबाट भूतहरू निकालिन्थ्यो, तर मानिसभित्रको भ्रष्ट स्वभाव अझै रहिरहन्थ्यो। मानिसलाई उसको बिमारीबाट निको पारिन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसलाई ऊभित्रको भ्रष्ट शैतानिक स्वभावबाट शुद्ध पार्नुपर्ने काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको विश्‍वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। मानिसका पापहरू देहधारी परमेश्‍वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ सबै परमेश्‍वरको इच्छाबमोजिम होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्‍वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्‍वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण कामको त्यो चरण समाप्त भएपछि पनि न्याय र सजायको काम बाँकी नै रह्यो। यो चरण भनेको वचनद्वारा मानिसलाई शुद्ध बनाउनको निम्ति, अनि त्यसद्वारा पछ्याउनको लागि उसलाई एक मार्ग दिनका निम्ति हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्‍वरको विरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ। यो चरण अघिल्लोभन्दा धेरै अर्थपूर्ण छ, साथै धेरै फलदायी पनि छ, किनकि अहिले वचनले नै सोझै मानिसको जीवनलाई प्रदान गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण गर्छ; यो कामको अझै विस्तृत चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्वलाई पूरा गरेको छ र मानिसको मुक्तिको लागि परमेश्‍वरको व्यवस्थापन योजनालाई पूर्ण रूपमा समाप्त गरेको छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्