देहधारणको रहस्य (४) (भाग दुई)

परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँको आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्नुभयो भने, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ बन्‍नेथियो। यदि परमेश्‍वरले सृष्टि गरिएको मानिसको बाहिरी रूप धारण गर्नुभएको थिएन भने, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छैन। केवल एक सृष्टि गरिएको प्राणी बनेर अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको मासुको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचनअनुसार काम गर्न सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई देख्न र सुन्न सक्दछ, र यसरी मात्र उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। यदि परमेश्‍वर मानिस बन्नुभएको थिएन भने, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो उद्धार प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिको माझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजाति नै नष्ट हुनेथियो, अन्यथा, परमेश्‍वरको सम्पर्कमा आउनै नसक्‍ने गरी तिनीहरू पूर्ण रूपले शैतानको कैदमा पर्नेथिए। पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानिक स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्‍वरले मुक्तिको काम सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्‍वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्‍वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा मानिसलाई उनीहरूको जीवनमा डोऱ्याउनु थियो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। केवल मानिस बनेर मात्र परमेश्‍वर मानिससँग बस्न, संसारको दु:ख अनुभव गर्न, र मानिसको सामान्य मासुको शरीरमा जिउन सक्नुहुन्छ। केवल यस तरिकाले मात्र उहाँले मानिसलाई सृष्टि गरिएका प्राणीहरूको रूपमा चाहिने कुराहरू व्यावहारिक तरिकाले प्रदान गर्न सक्नुहुन्छ। परमेश्‍वरको देहधारणद्वारा मानिसले परमेश्‍वरबाट पूर्ण मुक्ति पाउँछ, उसको प्रार्थनाको जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। किनकि मानिस देह र रगतको भएकोले उसले परमेश्‍वरका आत्मालाई कुनै पनि तरिकाले देख्‍न सक्दैन, उहाँको आत्माको नजिक जाने कुरा त परै जाओस्। मानिस केवल परमेश्‍वरले देहधारण गर्नुभएको शरीरसित सम्पर्कमा आउन सक्छ, र केवल यस तरिकाले मात्र मानिसले सबै मार्गहरू र सबै सत्यताहरू बुझ्न सक्दछ, र पूर्ण मुक्ति प्राप्त गर्दछ। दोस्रो देहधारण मानिसका पापहरू मेटाउन र उसलाई पूर्ण रूपमा शुद्ध गर्न पर्याप्त हुनेछ। यसैले, दोस्रो देहधारणद्वारा परमेश्‍वरको सम्पूर्ण कामलाई समाप्त गरिनेछ र परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुनेछ। त्यसपछि, शरीरमा गरिने परमेश्‍वरको काम पूर्ण रूपमा अन्त्य हुनेछ। दोस्रो देहधारणपछि, उहाँ आफ्नो कामको लागि तेस्रो पटक शरीर बन्नुहुनेछैन। किनकि उहाँको सम्पूर्ण व्यवस्थापन अन्त्य भएको हुनेछ। आखिरी दिनहरूका देहधारणले उहाँका चुनिएका मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ, र आखिरी दिनहरूमा मानवजाति सबैलाई उनीहरूका प्रकारअनुसार वर्गीकरण गरिएको हुनेछ। उहाँले फेरि मुक्तिको काम गर्नुहुनेछैन, न त उहाँ कुनै काम गर्न देहमा फर्केर नै आउनुहुनेछ। आखिरी दिनहरूको काममा, वचन चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ शक्तिशाली हुन्छ, र वचनको अधिकारले चिह्न र चमत्कारका कार्यहरूलाई उछिन्‍नेछ। त्यो वचनले मानिसको हृदयको गहिराइमा गडेका सबै भ्रष्ट स्वभावलाई प्रकट गर्दछ। तँसित त्यसलाई आफै पहिचान गर्ने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई तेरो अगि उदाङ्गो पारिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै चिन्‍नेछस्; तैँले तिनलाई अस्वीकार गर्न सक्‍नेछैनस्, र तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। के यो वचनको अधिकार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने परिणाम हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अधिकारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको शरीर अझै पनि शैतानकै अधीनमा हुन्छ, र ऊभित्र त्यो भ्रष्ट शैतानिक स्वभाव अझै रहिरहन्छ। अर्को शब्दमा भन्ने हो भने, जुन कुरा अझै शुद्ध पारिएको हुँदैन त्यो पाप र फोहोरसँग सम्बन्धित हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन र पवित्र हुन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्‍वरमा फर्कियो भन्ने मात्र हुन्थ्यो। तापनि, परमेश्‍वरद्वारा शुद्ध नपारी वा परिवर्तन नगरी ऊ भ्रष्ट मानिसजस्तो नै रहन्छ। मानिसभित्र अझै पनि फोहोर, विरोध, र विद्रोहीपन हुन्छ; परमेश्‍वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्‍वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासोका शब्दहरू बोले, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानवजाति अझै पनि परमेश्‍वरको शासनको अधीनमा पूर्ण रूपमा बस्न असमर्थ छ भनी देखाउँदैन र? के यही नै तिनीहरूको भ्रष्ट शैतानिक स्वभाव होइन र? जब तँलाई दण्डको अधीनमा पारिएको थिएन, तेरा हातहरू अरू सबैका भन्दा माथि उठ्थे, यहाँसम्म कि येशूको भन्दा पनि माथि। र तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मर्छौं! प्राचीन शैतानको विरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरको विरुद्धमा विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर शक्तिबाट नराम्रो घतले खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुभएको होस्!” तेरो पुकार अरू सबैको भन्दा चर्को थियो। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, मानवजातिको भ्रष्ट स्वभाव प्रकट भयो। त्यसपछि तिनीहरूका पुकार रोकियो, र उनीहरूको संकल्प असफल भयो। मानिसको भ्रष्टता यही नै हो; जुन पापभन्दा गहिरो गाडिएको छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ। मानिस विगतमा यसरी चिच्यायो, किनभने उसलाई आफ्नो अन्तर्निहित भ्रष्ट स्वभावको बारेमा कुनै ज्ञान थिएन। मानिसभित्र अवस्थित अशुद्धताहरू यिनै हुन्। न्याय र सजायको यति लामो अवधिमा, मानिस तनावको वातावरणमा बाँच्यो। के यो सबै वचनको माध्यमद्वारा हासिल भएको थिएन र? के तँ पनि सेवाकर्ताहरूको परीक्षण हुनु अघि एकदमै ठूलो आवाजमा कराइनस् र? “परमेश्‍वरको राज्यभित्र प्रवेश गर्नुहोस्! यो नाउँ स्वीकार गर्नेहरू सबै परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन्! सबै जना परमेश्‍वरमा सहभागी हुनेछन्।” जब सेवाकर्ताहरूको परीक्षा आयो, तँ रुनै छोडिस्। सबैभन्‍दा सुरुमा सबै जना कराए, “हे परमेश्‍वर! तपाईं मलाई जहाँ राख्नुहुन्छ, म तपाईंद्वारा संचालित हुनलाई अधीनमा बस्नेछु।” परमेश्‍वरका वचनहरू पढिसकेपछि मानिसहरूले भने, “मेरो पावल को हुनेछ? म राजी छु!” तब तिनीहरूले यी वचनहरू देखे, “अनि अय्यूबको विश्‍वासको बारेमा के भन्ने?” र भने, “म अय्यूबको विश्‍वासलाई आफैमा लिन तयार छु। हे परमेश्‍वर, कृपया मलाई जाँच्नुहोस्!” जब सेवा-कर्ताहरूको परीक्षण आयो, तिनीहरू एकैचोटि ढले, र मुस्किलले फेरि खडा हुन सके। त्यसपछि, अलिअलि गर्दै तिनीहरूको हृदयमा भएका अशुद्धताहरू कम हुँदै गए। के यो वचनद्वारा प्राप्त भएको थिएन र? यसैले, आज तिमीहरूले जे अनुभव गर्‍यौ ती वचनद्वारा प्राप्त गरिएका परिणामहरू हुन्, ती येशूको चिन्‍ह र चमत्कारहरूद्वारा प्राप्त गरिएका भन्दा महान् छन्। तैँले देखेको परमेश्‍वरको महिमा र तैँले देख्‍ने परमेश्‍वर स्वयम्‌को अख्तियार केवल क्रूसीकरण, बिरामीलाई निको पार्ने र भूतहरू निकाल्ने माध्यमबाट मात्र देखिँदैन, तर त्योभन्दा बढी उहाँको वचनले गर्ने न्यायबाट देखिन्छ। यसले तँलाई परमेश्‍वरको अख्तियार र शक्तिमा केवल चिन्‍हहरू, बिरामीलाई निको पार्ने र भूतहरू धपाउने काम मात्र सामेल हुँदैन, तर परमेश्‍वरको वचनको न्यायले परमेश्‍वरको अख्तियारलाई अझ राम्ररी प्रतिनिधित्व गर्न र उहाँको महानतालाई प्रकट गर्न सक्छ।

मानिसले अहिले के हासिल गरेको छ—उसको वर्तमान कद, ज्ञान, प्रेम, बफादारीता, आज्ञाकारीता र अन्तर्दृष्टि—वचनको न्यायको माध्यमबाट प्राप्त भएका कुराहरू यिनै हुन्। तँ आजको दिनसम्‍म बफादार हुन र खडा रहन सकेको छस्, त्यो वचनको माध्यमद्वारा नै हो। अहिले मानिसले देहधारी परमेश्‍वरको काम वास्तवमै असाधारण छ, र यसमा मानिसले प्राप्त गर्न नसक्‍ने, र रहस्य र अचम्‍मका कुराहरू धेरै छन् भन्‍ने देख्‍न सक्छ। त्यसैकारण धेरै जना अधीनमा बसेका छन्। कोही-कोही तिनीहरूका जन्मदेखि नै कहिल्यै कसैको अधीनमा बसेका छैनन्, तापनि तिनीहरूले आजको दिनमा परमेश्‍वरका वचनहरू देख्दा तिनीहरूले थाहै नपाई तिनीहरू अधीनमा बसेका हुन्छन्, अनि तिनीहरू जाँच्ने वा अरू कुनै कुरा गर्ने आँट गर्दैनन्। मानवता वचनको अधीनमा परेको छ र वचनको न्यायको मुनि लम्पसार परेको छ। यदि परमेश्‍वरका आत्माले मानिससँग सीधै बोल्नुहुन्थ्यो भने मानवजाति सबै त्यो आवाजको अधीनमा बस्‍नेथिए, अनि जसरी पावल दमस्कसको बाटोको ज्योतिले गर्दा भुइँमा लडेका थिए त्यसरी नै तिनीहरू प्रकाशको वचनविना नै लड्नेथिए। यदि परमेश्‍वरले यस प्रकारले काम गरिरहनुभएको भए, मानिसले कहिल्यै पनि वचनको न्यायद्वारा आफ्नो भ्रष्टतालाई जान्न र त्यसबाट मुक्ति प्राप्त गर्न सक्दैनथियो। केवल मानिस बनेर मात्र परमेश्‍वरले प्रत्येक र सबै मानवजातिको कानमा उहाँका वचनहरू पुर्‍याउन सक्नुहुन्छ, यसरी जसको कान छ ती सबैले उहाँको वचन सुन्न र वचनद्वारा न्यायको कामलाई स्वीकार गर्न सक्छन्। यो आत्मा प्रकट भएर मानिसलाई अधीनमा बस्न डर देखाएर होइन, बरु उहाँको वचनद्वारा प्राप्त गरिने परिणाम हो। यस्तो व्यावहारिक र अझ असाधारण कार्यको माध्यमबाट मात्रै धेरै वर्षदेखि भित्र लुकेको मानिसको पुरानो स्वभावलाई पूर्ण रूपमा प्रकट गर्न सकिन्छ, यसरी मानिसले त्यसलाई चिन्न र परिवर्तन गर्न सक्दछ। यी सबै देहधारी परमेश्‍वरका व्यावहारिक कार्यहरू हुन्, जसमा व्यावहारिक रूपमा बोलेर अनि न्याय कार्यान्वयन गरेर उहाँले वचनद्वारा मानिसमा न्यायको परिणाम प्राप्त गर्नुहुन्छ। देहधारी परमेश्‍वरको अधिकार र परमेश्‍वरको देहधारणको महत्त्व यही हो। यो देहधारी परमेश्‍वरको अधिकार जनाउन, वचनको कामले हासिल गरेका परिणामहरू जनाउन र आत्मा देहमा आउनुभएको छ भनी बताउन र वचनद्वारा मानिसको न्याय गरी उहाँको अधिकार प्रदर्शन गर्नका निम्ति गरिन्छ। उहाँको शरीर एक साधारण र सामान्य मानवताको बाहिरी रूप भए पनि उहाँका वचनहरूले प्राप्त गरेका परिणामहरूले मानिसलाई उहाँ अधिकारले पूर्ण हुनुहुन्छ, उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ र उहाँका वचनहरू स्वयम् परमेश्‍वरका अभिव्यक्ति हुन् भनी देखाउँछ। यस माध्यमद्वारा सबै मानवजातिलाई उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ, उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ, उहाँलाई कसैले उल्‍लङ्घन गर्नु हुँदैन, र अनि कसैले पनि वचनद्वारा गरिने उहाँको न्यायलाई उछिन्न सक्दैन, अन्धकारको कुनै शक्ति उहाँको अख्तियारमाथि विजयी हुन सक्दैन भनी देखाइन्छ। उहाँ देहधारी हुनुभएका वचन हुनुहुन्छ, त्यसकारण र उहाँको अधिकारको कारण र वचनद्वारा उहाँले गर्ने न्यायको कारण मानिस पूर्ण रूपमा उहाँको अधीनमा बस्छ। उहाँको देहधारी शरीरद्वारा ल्याइएको काम उहाँसित भएको अधिकार हो। शरीरले पनि अख्तियार प्राप्त गर्न सकोस् भनेर उहाँ देह बन्‍नुभएको हो, र उहाँ मानिसले देख्न र अनुभव गर्न सक्‍ने गरी मानिसमा व्यावहारिक ढङ्गले काम गर्न सक्षम हुनुहुन्छ। यो काम परमेश्‍वरका आत्माले सीधै गर्नुभएको कामभन्दा धेरै यथार्थ परक हुन्छ, जोसँग सबै अधिकार छ, र यसका परिणामहरू पनि स्पष्ट हुन्छन्। किनकि देहधारी परमेश्‍वर व्यावहारिक रूपमा बोल्न र काम गर्न सक्नुहुन्छ। उहाँको देहको बाहिरी रूपको कुनै अधिकार हुँदैन, र मानिस त्यसको नजिक जान सक्छ, जबकी उहाँको सारले अख्तियार बोक्दछ, तर उहाँको अख्तियारलाई कसैले पनि देख्न सक्दैन। जब उहाँ बोल्नुहुन्छ र काम गर्नुहुन्छ, मानिसले उहाँको अख्तियारको अस्तित्व पत्ता लगाउन सक्दैन; यसले उहाँलाई व्यावहारिक प्रकृतिको काम गर्न सहयोग पुर्‍याउँछ। यो सबै व्यावहारिक कार्यले परिणामहरू प्राप्त गर्न सक्छ। कुनै मानिसले उहाँमा अधिकार छ भन्‍ने महसुस नगरे पनि, वा उहाँलाई दुःखी बनाउनु हुँदैन भनी नबुझे पनि, वा उहाँको क्रोध नदेखे पनि, उहाँले उहाँको गुप्त अख्तियार, उहाँको लुकेको क्रोध र उहाँले खुल्लमखुल्ला बोल्नुहुने वचनबाट आफ्ना वचनहरूद्वारा आफूले चाहनुभएको परिणाम प्राप्त गर्नुहुन्छ। अर्को शब्दमा, उहाँको आवाजको सुर, उहाँको बोलीको कठोरता, र उहाँको वचनका सबै बुद्धिद्वारा मानिस पूर्ण रूपले विश्‍वस्त हुन्छ। यस प्रकारले, मानिस देहधारी परमेश्‍वरको अधीनमा बस्छ, जसको कुनै अधिकार छैन जस्तो देखिन्छ, यसरी मानिसलाई बचाउने परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। यो उहाँको देहधारणको महत्त्वको अर्को पक्ष हो: अझ बढी यथार्थतापूर्वक बोल्नु र उहाँको वचनको वास्तविकतालाई मानिसमा प्रभाव पार्ने तुल्याउनु, यसैले कि मानिसले परमेश्‍वरको वचनको शक्तिलाई देख्न सकोस्। त्यसकारण, यदि देहधारणको माध्यमद्वारा यो काम गरिएको थिएन भने, त्यसले थोरै परिणामहरू पनि प्राप्त गर्न सक्दैनथियो र पापी मानिसहरूलाई पूर्ण रूपमा मुक्ति दिन सक्ने थिएन। यदि परमेश्‍वर मानिस नबन्नुभएको भए उहाँ आत्मा नै रहनुहुने थियो, जो मानिसका निम्ति अदृश्य र अनुभव गर्न नसकिने दुवै हुनेथियो। मानिस शारीरिक प्राणी भएकोले ऊ र परमेश्‍वर दुई फरक संसारका हुनुहुन्छ र जसका विभिन्न प्रकृतिहरू छन्। मानिस देह भएकोले परमेश्‍वरका आत्मा ऊसित सँगै रहन सक्दैन, र तिनको बीचमा सम्बन्ध स्थापित गर्ने कुनै उपाय छैन, अनि मानिस आत्मामा परिवर्तन हुनु त झन् हुनै नसक्ने कुरा हो। यस्तो भएकोले, आफ्‍नो मूल कार्य गर्नको लागि परमेश्‍वरका आत्मा सृष्टि गरिएको प्राणी हुनु नै पर्दछ। परमेश्‍वर उच्च स्थानमा चढ्न र मानव प्राणी बन्नका निम्ति आफूलाई नम्र तुल्याउन, दुवै कार्य गर्न सक्‍ने हुनुहुन्छ, यसरी उहाँले मानवजातिका माझमा काम गर्न र तिनीहरूका बीचमा रहन सक्‍नुहुन्छ, तर मानिस उच्च स्थानमा उक्लिन र आत्मा बन्न सक्दैन, र ऊ तल्लो स्थानमा त झनै ओर्लन सक्दैन। यसैले गर्दा परमेश्‍वर आफ्नो काम पूरा गर्न मानिस बन्नुपर्छ। यसरी नै, पहिलो देहधारणको अवधिमा देहधारी परमेश्‍वरको शरीरले मात्रै उहाँको क्रूसीकरणद्वारा मानिसलाई छुटकारा दिन सक्यो, नत्र भने परमेश्‍वरका आत्मा मानिसको पापबलिको रूपमा क्रूसमा टाँगिने कुनै उपाय हुनेथिएन। परमेश्‍वर मानिसको पापबलि हुनका निम्ति सीधै मानिस बन्न सक्नुहुन्थ्यो, तर मानिस परमेश्‍वरले उसको निम्ति तयार पार्नुभएको पापबलि बोकेर सीधै स्वर्गमा उक्लिन सक्दैनथ्यो। यस्तो भएकोले, परमेश्‍वरलाई स्वर्ग र पृथ्वीको बीचमा केही पल्ट आउने र जाने गर्न लाउनु मात्र सम्भव हुन्थ्यो, मानिसलाई मुक्ति पाउनका निम्ति स्वर्गमा उक्लिन लगाउनु सम्भव भएन, किनकि मानिस पतित भएको थियो, साथै मानिस यसै पनि स्वर्गमा उक्‍लिन सक्दैन, झन् पापबलि प्राप्त गर्न सक्‍नु त कुरै नगरौं। त्यसकारण, येशू मानवजातिको बीचमा आउनु र कुनै मानिसले गर्न नसक्ने काम व्यक्तिगत रूपमा गर्नु आवश्यक थियो। हरेक चोटि परमेश्‍वर अति आवश्यक परेकोले गर्दा मात्रै मानिस बन्नुहुन्छ। यदि कुनै पनि चरणहरू प्रत्यक्ष रूपमा परमेश्‍वरका आत्माद्वारा पूरा गर्न सकिन्थ्यो भने उहाँ देहधारी हुने अपमानजनक कार्यमा समर्पित बन्नुहुने थिएन।

कामको यो अन्तिम चरणमा, वचनको माध्यमद्वारा परिणामहरू प्राप्त गरिन्छ। वचनको माध्यमबाट, मानिसले धेरै वटा रहस्यहरू र परमेश्‍वरले विगतका पुस्ताहरूमा गर्नुभएको कामलाई बुझ्न सक्छ; वचनद्वारा मानिसले पवित्र आत्माबाट ज्ञान प्राप्त गर्दछ; वचनद्वारा नै मानिसले विगतका पुस्ताहरूले कहिल्यै बुझ्न नसकेका रहस्यहरू साथै विगत समयका अगमवक्ता र प्रेरितहरूका कामहरूलाई र उनीहरूले काम गरेका सिद्धान्तहरूलाई बुझ्न सक्दछ; वचनद्वारा, मानिसले स्वयम् परमेश्‍वरको स्वभावलाई साथै मानिसको विद्रोहीपन र विरोधलाई बुझ्न सक्छ, साथै उसको आफ्नै सारलाई पनि बुझ्न सक्छ। कामका यी चरणहरू र बोलिएका सबै वचनहरूद्वारा, मानिसले आत्माको काम, देहधारी परमेश्‍वरको शरीरले गर्ने काम, र अझ त्योभन्दा बढी उहाँको सम्पूर्ण स्वभावको बारेमा जान्दछ। परमेश्‍वरको छ हजार वर्षभन्दा धेरै समयको व्यवस्थापनको कामसम्बन्धी तेरो ज्ञान पनि वचनको माध्यमबाट नै प्राप्त भएको थियो। के तेरा पहिलेका धारणाहरू र तिनलाई पन्छ्याउने कार्यमा तैँले पाएको सफलता पनि वचनबाटै प्राप्त भएको होइन? अघिल्लो चरणमा, येशूले चिह्न र चमत्कारका कामहरू गर्नुभयो, तर यस चरणमा कुनै चिह्न र चमत्कारहरू छैनन्। परमेश्‍वरले किन चिह्न र चमत्कारहरू प्रकट गर्नुहुन्न भन्ने तेरो बुझाइ पनि के वचनद्वारा नै प्राप्त गरिएको होइन र? त्यसकारण, यस चरणमा बोलिएका वचनहरूले विगतका पुस्ताहरूका प्रेरितहरू र अगमवक्ताहरूले गरेका कार्यलाई उछिन्छन्। अगमवक्ताहरूले गरेका अगमवाणीहरूले पनि यो परिणाम प्राप्त गर्न सक्दैनथियो। अगमवक्ताहरूले केवल अगमवाणी बोले, तिनीहरूले भविष्यमा के हुनेछ भन्ने कुरा बताए, तर त्यस समयमा परमेश्‍वरले गर्न चाहनुभएको कामको बारेमा बताएनन्। न त उनीहरूले मानवजातिलाई तिनीहरूका जीवनमा डोऱ्याउन, वा मानवजातिलाई सत्यता दिन, वा तिनीहरूलाई रहस्य प्रकट गर्न नै बोले, जीवन प्रदान गर्नको लागि बोल्‍ने कुरा त परै जाओस्। यस चरणमा बोलिएका वचनहरूमा भविष्यवाणी र सत्यता छ, तर मुख्य रूपमा यी वचनहरूले मानिसलाई जीवन प्रदान गर्ने काम गर्दछ। वर्तमानका यी वचनहरू अगमवक्ताहरूका अगमवाणीहरूभन्दा फरक छन्। यो चरणको काम मानिसको जीवनका लागि हो, मानिसको जीवनको स्वभाव परिवर्तन गर्नका लागि हो, तर अगमवाणी बोल्नका लागि होइन। पहिलो चरण यहोवाको कामको निम्ति थियो: उहाँको काम भनेको पृथ्वीमा मानिसहरूलाई परमेश्‍वरको आराधना गर्न तयार पार्नु थियो। यो पृथ्वीमा काम सुरु गर्ने ठाउँ खोज्ने सुरुवाती काम थियो। त्यसबेला, यहोवाले इस्राएलीहरूलाई शबाथ पालन गर्न, तिनीहरूका आमाबाबुको आदर गर्न र एक-अर्कासित मिलेर जीवन बिताउन सिकाउनुभयो। किनभने त्यस समयका मानिसहरूले मानिस कुन कुराले बनेको छ भनी बुझेका थिएनन्, न त तिनीहरूले यस पृथ्वीमा कसरी जिउने भनी बुझेका नै थिए। कामको पहिलो चरणमा उहाँले मानवजातिलाई तिनीहरूका जीवन जिउन मार्गनिर्देशन गर्नु आवश्यक थियो। यहोवाले उनीहरूलाई भन्नुभएका सबै कुरा अघिबाट मानवजातिलाई थाहा थिएन वा तिनीहरूको स्वामित्वमा थिएन। त्यस बेला परमेश्‍वरले अगमवाणीहरू बोल्न धेरै जना अगमवक्ताहरू खडा गर्नुभयो, र तिनीहरूले ती सबै यहोवाको निर्देशनमा गरे। यो परमेश्‍वरको कामको एउटा भाग मात्र थियो। पहिलो चरणमा, परमेश्‍वर देह बन्नुभएन, यसैले उहाँले सबै कुल र जातिहरूलाई अगमवक्ताहरूद्वारा निर्देशन दिनुभयो। जब येशूले आफ्नो समयमा काम गर्नुभयो, उहाँ आजको दिनमा जत्तिकै धेरै बोल्नुभएन। आखिरी दिनहरूमा हुने वचन कामको यो चरण विगतको कुनै पनि युगहरू र पुस्ताहरूमा कहिल्यै गरिएको छैन। यशैया, दानिएल र यूहन्नाले धेरै अगमवाणीहरू बोलेका भए तापनि, तिनीहरूका अगमवाणीहरू अहिले बोलिएका वचनहरूभन्दा बिलकुलै फरक थिए। तिनीहरूले जे बोले ती अगमवाणीहरू मात्र थिए, तर अहिले बोलिएका वचनहरू त्यस्ता होइनन्। यदि मैले अहिले बोलेका सबै कुरालाई अगमवाणीमा परिणत गरें भने के तिमीहरू त्यसलाई बुझ्न सक्नेछौ? मैले बोलेको कुरा म गएपछि हुने कुराहरू हुन् भन्‍ने मानिलिने हो भने, तैँले त्यो कसरी बुझ्न सक्नेछस्? वचनको काम येशूको समयमा वा व्यवस्थाको युगमा कहिल्यै गरिएको थिएन। सायद कतिले भन्नेछन्, “के यहोवाले पनि उहाँको कामको समयमा वचनहरू बोल्नुभएन र? के येशूले काम गरिरहनुभएको बेला रोग निको पार्ने, भूतहरू निकाल्ने, र चिन्‍ह र चमत्कारका कामहरू गर्ने बाहेक वचनहरू पनि बोल्नुभएन र?” बोलिएका कुराहरूका बीचमा भिन्नता हुन्छन्। यहोवाले बोल्नुभएका वचनहरूको सार के थियो? उहाँले मानवजातिलाई पृथ्वीमा आफ्नो जीवन बिताउन मात्र डोऱ्याउँदै हुनुहुन्थ्यो, जसले जीवनका आत्मिक विषयहरूलाई छोएन। जब यहोवाले बोल्नुभयो, सबै ठाउँका मानिसहरूलाई निर्देशन दिनलाई बोल्नुभयो भनी किन भनिएको छ? “निर्देशन” शब्दको अर्थ स्पष्ट रूपमा भन्नु र सिधा आदेश दिनु भन्‍ने हुन्छ। उहाँले मानिसलाई जीवन मात्र दिनुभएन; उहाँले दृष्टान्तहरूको माध्यमद्वारा होइन बरु मानिसलाई हातले समात्नुभयो र उहाँलाई आदर गर्न सिकाउनुभयो। यहोवाले इस्राएलमा गर्नुभएको काम मानिसको निराकरण गर्न वा उसलाई अनुशासनमा राख्‍न वा न्याय र दण्ड दिनका निम्ति थिएन, त्यो मानिसलाई डोऱ्याउनका निम्ति थियो। यहोवाले मोशालाई तिनका आफ्ना मानिसहरूलाई उजाड्-स्थानमा मन्न बटुल्न लगाउनू भनी आज्ञा दिनुभयो। प्रत्येक बिहान सूर्योदय हुनुभन्दा अघि उनीहरूले त्यो दिनलाई पुग्नेजति मन्न बटुल्नु पर्थ्यो। मन्न भोलिको दिनसम्म राख्न सकिँदैनथ्यो, किनकि त्यो कुहिहाल्थ्यो। उहाँले मानिसहरूलाई भाषण दिनुभएन वा तिनीहरूको प्रकृति प्रकट गरिदिनुभएन, न त उहाँले तिनीहरूका विचार र सोचाइहरूलाई नै खुलासा गरिदिनुभयो। उहाँले मानिसहरूलाई परिवर्तन गर्नुभएन, बरु उनीहरूको जीवन अगि बढाउन मार्गनिर्देशन दिनुभयो। त्यस समयका मानिसहरू केही नबुझ्ने र केही आधारभूत व्यावहारिक गतिविधिहरू गर्न नसक्ने बालबालिकाहरू जस्ता थिए, त्यसैले यहोवाले भीडहरूलाई डोऱ्याउन व्यवस्थाहरू मात्र घोषणा गर्नुभयो।

यसैले साँचो हृदयले खोजी गर्नेहरूले आजको दिनमा गरिएको कामको ज्ञान प्राप्त गरून् र तिनीहरू पूर्ण रूपमा विश्‍वस्त हुन सकून् भनी सुसमाचार फैलाउनका लागि, तैंले भित्रको कथा, त्यसको सार र प्रत्येक चरणमा गरिएको कामको महत्त्वलाई स्पष्ट रूपमा बुझ्नुपर्छ। यसलाई यस्तो बनाएर राख्, ताकि तेरो सङ्गति सुनेर अरूले पनि यहोवाको काम, येशूका काम र अझ बढी आजका परमेश्‍वरका सबै कामहरू, साथै यी तीन चरणहरूको बीचका सम्बन्धहरू साथै भिन्नताहरूलाई बुझ्न सकून्। यसलाई यस्तो बनाएर राख्, ताकि तिनीहरूले सुनिसकेपछि, अरूले यी तीन चरणले एकले अर्कोलाई बाधा दिएनन्, तर यी सबै एउटै आत्माको काम हुन् भनी बुझ्न सकून्। उहाँहरूले विभिन्न युगहरूमा काम गर्नुहुने भए तापनि, उहाँहरूले गर्नुहुने कामको विषयवस्तु भिन्न भए तापनि, र उहाँहरूले बोल्ने वचनहरू फरक भए तापनि, उहाँहरूले काम गर्ने सिद्धान्तहरू एउटै र उस्तै हुन्छन्। यी कुराहरू परमेश्‍वरलाई पछ्याउने सबै मानिसहरूले बुझ्‍नुपर्ने सबैभन्दा ठूला दर्शनहरू हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्