बाइबल सम्बन्धमा (४)

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनु सरह हो—तर वास्तवमा, के कुराहरू यति सरल छन् र? बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्लो दुई चरणको प्रमाण भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै समझ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको अवधिको परमेश्‍वरको कामको दुई चरणहरूलाई प्रस्तुत गर्दछ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यको इतिहासलाई वर्णन गर्दछ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामहरूको अभिलेख राख्दछ जुन सुसमाचारका चार पुस्तकहरूमा साथै पावलको काममा पनि छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वरले इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तैँले केवल बाइबललाई मात्र बुझ्छस्, र आज परमेश्‍वरले गर्नुहुने कामको बारेमा केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वर खोज्नुको अर्थ के हो भन्ने तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्नका लागि बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनको पछि लाग्‍ने हुनाले, तैँले परमेश्‍वरको ज्ञानको खोजी गर्ने, र मरिसकेका अक्षरहरू, र धर्मसिद्धान्तहरू वा इतिहासलाई बुझ्‍ने प्रयासको पछि नलाग्‍ने हुनाले, तैँले आजको परमेश्‍वरको इच्छा खोज्नुपर्छ, र तैँले पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद होस् भने तैँले बाइबल पढ्न सक्ने थिइस्—तर तँ पुरातत्वविद होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले आजको परमेश्‍वरको इच्छाको खोजी गर्नु नै उत्तम हुनेथियो। बाइबल पढेर बढीमा तैँले इस्राएलको थोरै इतिहास बुझ्न सक्नेछस्, अब्राहाम, दाऊद र मोशाको जीवनको बारेमा जान्न सक्नेछस्, उनीहरूले कसरी यहोवालाई आदर गरे र कसरी उहाँको विरोध गर्नेहरूलाई यहोवाले जलाउनुभयो, र उहाँले कसरी त्यो युगका मानिसहरूसँग बोल्नुभयो भनेर तैँले पत्ता लगाउनेछस्। तैँले केवल विगतमा परमेश्‍वरले गर्नुभएको कामको बारेमा पत्ता लगाउनेछस्। बाइबलका अभिलेखहरू कसरी प्रारम्भिक इस्राएलका मानिसहरूले परमेश्‍वरको आदर गरे र यहोवाको अगुवाइमा जीवन बिताए भन्ने कुरासँग सम्बन्धित छन्। इस्राएलीहरू परमेश्‍वरका चुनिएका मानिसहरू थिए, त्यसकारण पुरानो करारमा तैँले इस्राएलका सबै मानिसहरूका यहोवाप्रतिको बफादारीता, कसरी यहोवाको आज्ञा पालन गर्नेहरू सबैले उहाँबाट हेरचाह पाए र तिनीहरूलाई उहाँले आशिष् दिनुभयो सो देख्न सक्छस्; जब परमेश्‍वरले इस्राएलमा काम गर्नुभयो उहाँ कृपा र प्रेमले भरिपूर्ण हुनुहुन्थ्यो, साथसाथै उहाँले भस्म पार्ने आगोको ज्वाला पनि धारण गर्नुभएको थियो, र नम्रदेखि लिएर शक्तिशालीसम्मै, सारा इस्राएलीहरूले यहोवाको आदर गर्थे र त्यसैले सम्पूर्ण देश नै परमेश्‍वरद्वारा आशिषित भए भन्‍ने कुरा तैँले जान्‍न सक्छस्। पुरानो करारमा अभिलेख राखिएको इस्राएलको इतिहास यही हो।

बाइबल इस्राएलमा परमेश्‍वरले गर्नुभएको कार्यको ऐतिहासिक अभिलेख हो, र यसले प्राचीन भविष्यवक्ताहरूको धेरै भविष्यवाणीका साथै त्यस समयमा उहाँको कार्यमा यहोवाले बोल्‍नुभएका केही वाणीहरूको अभिलेख राख्छ। यसैले, सबै मानिसहरूले यस पुस्तकलाई पवित्र ठान्छन् (किनकि परमेश्‍वर पवित्र र महान् हुनुहुन्छ)। अवश्य नै, यी सबै यहोवाप्रतिको तिनीहरूको श्रद्धा र परमेश्‍वरप्रतिको तिनीहरूको उपासनाको परिणाम हो। परमेश्‍वरका सृष्टिहरूले आफ्ना सृष्टिकर्ताको यति आदर गर्ने र प्रिय ठान्‍ने भएकाले मात्रै मानिसहरूले यो पुस्तकलाई यसरी उल्‍लेख गर्छन्, र यस पुस्तकलाई स्वर्गीय पुस्तक भनी भन्‍ने मानिसहरू पनि छन्। वास्तवमा, यो मानव अभिलेख मात्र हो। यो व्यक्तिगत तवरमा यहोवाले नामाकरण गर्नुभएको थिएन, न त यहोवाले यसको सृष्टिलाई व्यक्तिगत तवरमा अगुवाइ नै गर्नुभयो। अर्को शब्दमा भन्दा, यस पुस्तकको लेखक परमेश्‍वर होइन, तर मानिसहरू हुन्। पवित्र बाइबल केवल मानिसले यसलाई दिएको सम्‍मानजनक नाम मात्र हो। यो नामको बारेमा यहोवा र येशूले एक-अर्कासँग छलफल गरेपछि निर्णय गरिएको थिएन; यो मानव विचार भन्दा बढि केही पनि होइन। किनकि यो पुस्तक यहोवाले लेख्नुभएको थिएन, येशूले लेख्नुभएको हो भन्ने कुरा त परै जाओस्। यसको सट्टा, यो धेरै प्राचीन भविष्यवक्ताहरू, प्रेरितहरू र द्रष्टाहरूले मानिसहरूका लागि दिएका विवरणहरू हुन् जुन पछिल्ला पुस्ताले प्राचीन लेखहरूको पुस्तकमा सङ्कलित गरेका थिए, जुन विशेषगरी पवित्र देखिन्छ, अर्थात् यस्तो पुस्तक जसमा भविष्यका पुस्ताहरूले खोल्न पर्खिरहेका धेरै अतुलनीय र गहिरा रहस्यहरू समावेश छन् भन्‍ने तिनीहरूले विश्‍वास गर्छन्। त्यस्तै गरी, मानिसहरू यो पुस्तक स्वर्गीय पुस्तक हो भनेर विश्‍वास गर्न अझ बढी चाहना गर्छन्। चार सुसमाचार र प्रकाशको पुस्तकलाई यसमा जोडेपछि त, यसप्रति मानिसहरूको दृष्टिकोण अरू कुनै पनि पुस्तकको भन्दा विशेष गरी फरक छ, र कसैले पनि यो “स्वर्गीय पुस्तक” विच्छेदन गर्ने आँट गर्दैन किनकि यो एकदम “पवित्र” छ।

किन बाइबल पढ्ने बित्तिकै मानिसहरूले यसमा अभ्यास गर्ने उचित मार्गहरू पाउन सक्दछन्? किन तिनीहरूले बुझ्न नसक्‍ने धेरै कुरा तिनीहरूले प्राप्त गर्न सक्छन्? आज, म बाइबललाई यस तरिकाले विच्छेदन गर्दैछु र यसको मतलब यो होइन कि म यसलाई घृणा गर्दछु, वा म सन्दर्भको लागि रहेको यसको मूल्यलाई अस्वीकार गर्छु। म तँलाई अन्धकारमा राख्‍नबाट रोक्नको लागि तँलाई बाइबलको अन्तर्निहित मूल्य र उत्पत्ति बारे व्याख्या गर्दैछु र स्पष्ट पार्दैछु। किनभने मानिसहरूमा बाइबलको बारेमा अति धेरै दृष्टिकोणहरू छन्, र तीमध्ये धेरै त गलत नै छन्; यस तरिकाले बाइबल पढ्दा उनीहरू के प्राप्त गर्नु पर्ने हो सो प्राप्त गर्नबाट उनीहरूलाई रोक्ने मात्र होइन, तर, अझ महत्त्वपूर्ण कुरा के छ भने, यसले मैले गर्न चाहेको काममा बाधा पुर्‍याउँछ। यसले भविष्यको कामलाई ठूलो हस्तक्षेप गर्दछ, र लाभहरू होइन, केवल कमजोरीहरू प्रदान गर्दछ। तसर्थ, मैले तँलाई सिकाइरहेको कुरा केवल बाइबलको सार र भित्री कथा मात्र हो। मैले तँलाई तैँले बाइबल पढ्नु हुँदैन, वा तैँले यो मूल्यहीन छ भनेर घोषणा गर्दै जानुपर्छ भनिरहेको छैन, तर यो मात्र भनिरहेको छु कि तँसँग बाइबलको सही ज्ञान र दृष्टिकोण हुनुपर्छ। अत्यन्तै एकतर्फी नहोऊ! बाइबल मानिसहरूद्वारा लेखिएको एउटा इतिहासको पुस्तक भए तापनि, यसमा प्राचीन सन्तहरू र भविष्यवक्ताहरूले परमेश्‍वरको सेवा गरेका थुप्रै सिद्धान्तहरू, साथै परमेश्‍वरको सेवा गर्ने सम्बन्धमा भर्खरका प्रेरितहरूको अनुभवहरू पनि प्रस्तुत गरिएका छन्—ती सबैलाई यी मानिसहरूले वास्तवमै देखेका र चिनेका थिए, र यस युगका मानिसहरूलाई सही मार्ग खोजी गर्नुमा सन्दर्भको रूपमा त्यसले काम गर्न सक्छ। तसर्थ, बाइबल पढ्दा मानिसहरूले जीवनका थुप्रै मार्गहरू पनि प्राप्त गर्न सक्दछन् जुन अरू पुस्तकहरूमा पाउन सकिँदैन। यी मार्गहरू विगतका भविष्यवक्ताहरू र प्रेरितहरूले युगहरूमा अनुभव गरेका पवित्र आत्माको काम बारेका जीवनका मार्गहरू हुन्, र धेरै जसो वचनहरू मूल्यवान् छन्, र जसले मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्न सक्दछन्। तसर्थ, सबै मानिसहरू बाइबल पढ्न मन पराउँछन्। बाइबलमा धेरै कुरा लुकेका छन् तसर्थ महान् आत्मिक व्यक्तित्वहरूको लेखहरूप्रति भन्दा यसप्रति व्यक्तिहरूको धारणा फरक छ। पुरानो र नयाँ युगमा यहोवा र येशूको सेवा गर्ने व्यक्तिहरूको अनुभव र ज्ञानहरूको अभिलेख र सङ्ग्रह नै बाइबल हो, र पछि आउने पुस्ताहरूले यसबाट अभ्यास गर्न धेरै ज्ञान, प्रकाश र मार्गहरू प्राप्त गर्न सक्षम भएका छन्। बाइबल कुनै पनि महान् आत्मिक व्यक्तित्वको लेखहरू भन्दा उच्च हुनुको कारण के हो भने, उनीहरूका सबै लेखहरू बाइबलबाट लिइएको हो, उनीहरूका सबै अनुभवहरू बाइबलबाट आएका हुन् र ती सबैले बाइबलको व्याख्या गर्छन्। मानिसहरूले कुनै पनि महान् आत्मिक व्यक्तित्वका पुस्तकहरूबाट प्रावधान प्राप्त गर्न सक्ने भए पनि, उनीहरूले अझै बाइबललाई पुज्छन्, किनकि यो उनीहरूका लागि महान् र गहन देखिन्छ! बाइबलले पावलका पत्रहरू र पत्रुसका पत्रहरू जस्ता जीवनका वचनहरूका केही पुस्तकहरूलाई एकट्ठा गर्ने भए पनि, र मानिसहरूलाई यी पुस्तकहरूले प्रावधान दिने र मद्दत गर्नसक्‍ने भए पनि, यी पुस्तकहरू पुरानो भएका छन्, ती अझै पुरानै युगमा पर्छन्, र ती जतिसुकै राम्रो भए पनि, ती केवल एक अवधिको लागि उपयुक्त छन्, र अनन्त छैनन्। किनकि परमेश्‍वरको काम सँधै विकास भइरहेको हुन्छ, र यो केवल पावल र पत्रुसको समयमा रोकिन सक्दैन, वा सँधै अनुग्रहको युगमा रहन सक्दैन जुन युगमा येशूलाई क्रूसमा टाँगिएको थियो। त्यसैले, यी पुस्तकहरू अनुग्रहको युगका लागि मात्र उपयुक्त छन्, आखिरी दिनहरूको राज्यको युगको लागि होइन। तिनीहरूले केवल अनुग्रहको युगका विश्‍वासीहरूका लागि प्रदान गर्न सक्छन्, राज्यको युगका सन्तहरूको लागि होइन, र ती जतिसुकै राम्रो भए पनि ती अप्रचलित छन्। यहोवाले गर्नुभएको सृष्टिको काम वा इस्राएलमा उहाँले गर्नुभएको कार्य पनि यस्तै हो: यो काम जतिसुकै महान् भए पनि, यो अझै म्याद सकिएको नै हुनेथियो र त्यो बितेर जाने समय आउनेथियो। परमेश्‍वरको काम पनि यस्तै हो: यो महान् छ, तर यो समाप्त हुने समय आउने नै छ; यो सँधै सृष्टिको कार्यको बीचमा रहन सक्दैन, न त क्रूसीकरणको बीचमा नै। क्रूसीकरणको काम जत्तिकै विश्‍वासलाग्दो भए तापनि, शैतानलाई पराजित गर्न यो जतिसुकै प्रभावकारी भए तापनि, आखिरमा काम भनेको, काम नै हो, र युगहरू पनि, आखिर युगहरू नै हुन्। काम सधैँ उही जगमा रहन सक्दैन, न त समय कहिल्यै परिवर्तन नहुने नै हुन्छ, किनकि सृष्टि थियो त्यसकारण आखिरी दिनहरू पनि हुनै पर्छ। यो अपरिहार्य छ! त्यसकारण, आज नयाँ करारमा रहेका जीवनका वचनहरू—प्रेरितहरूका पत्रहरू, र सुसमाचारका चार पुस्तकहरू ऐतिहासिक पुस्तकहरू भएका छन्, तिनीहरू पुरानो पञ्चाङ्ग भएका छन्, र कसरी पुरानो पञ्चाङ्गहरूले मानिसहरूलाई नयाँ युगमा प्रवेश गराउन सक्दछन्? यी पञ्चाङ्गहरू जीवन प्रदान गर्न जत्तिको सक्षम भए पनि, मानिसहरूलाई क्रूसमा अगुवाई गर्न उनीहरू जत्तिको सक्षम भए पनि, के तिनीहरू पुरानो भएका छैनन्? के तिनीहरू मूल्य विहीन छैनन् र? यसैले, म भन्छु तैँले अन्धा भएर यी पञ्चाङ्गहरूमा विश्‍वास गर्नु हुँदैन। ती धेरै पुराना भइसकेका छन्, तिनीहरूले तँलाई नयाँ काममा ल्याउन सक्दैनन्, र तिनीहरूले तँलाई बोझ मात्रै दिन सक्छन्। न त तिनले तँलाई नयाँ काममा, र नयाँ प्रवेशमा ल्याउन नै सक्छन्, तर तिनले तँलाई पुरानो धार्मिक मण्डलीहरूमा लैजान्छन्—र यदि त्यसो भयो भने, के तँ परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा पछि हटिरहेको हुनेथिएनस् र?

बाइबलले दस्तावेज राखेको कुरा भनेको, इस्राएलका चुनिएका मानिसहरूले गरेका केही कुरा लगायत, इस्राएलमा परमेश्‍वरले गर्नुभएको काम हो। समावेश गरिने वा हटाउने केही चयन गरिएका अंशहरू थिए भन्ने तथ्यको बाबजुद पनि, पवित्र आत्माले स्वीकृति नदिनुभएको भए पनि, उहाँले कुनै दोष दिनुभएन। बाइबल विशुद्ध रूपमा इस्राएलको इतिहास हो, जुन परमेश्‍वरको कार्यको इतिहास पनि हो। अवश्य नै, यशैया, दानिएल र अन्य अगमवक्ताहरूका अगमवाणीहरू, वा यूहन्‍नाका दर्शनहरूको पुस्तक बाहेक यसमा अभिलेख गरिएका मानिसहरू, मामिलाहरू, र कुराहरू सबै वास्तविक थिए, र तीमध्ये कुनैको चिन्‍हगत अर्थ थिएन। इस्राएलका प्रारम्भिक मानिसहरू ज्ञानी र सभ्य थिए, र तिनीहरूको प्राचीन ज्ञान र संस्कृति उन्नत नै थियो, र यसैले उनीहरूले जे लेखेका थिए ती आजका मानिसहरूले लेख्ने भन्दा उच्च स्तरको थियो। परिणामस्वरूप, ती पुस्तकहरू लेख्न सक्नु कुनै छक्क लाग्दो कुरा होइन, किनभने यहोवाले तिनीहरूका बीचमा धेरै काम गर्नुभएको थियो र तिनीहरूले धेरै कुरा देखेका थिए। दाऊदले यहोवाका कार्यहरू आफ्नै आँखाले हेरे, उनले व्यक्तिगत रूपमा ती अनुभव गरे, र धेरै चिह्नहरू र चमत्कारहरू देखे, र उनले यहोवाका कार्यहरूको प्रशंसामा ती सबै भजनहरू लेखे। तिनीहरूले निश्चित अवस्थाहरूमा यी पुस्तकहरू लेख्न सके, उनीहरूसँग असाधारण प्रतिभा भएको कारणले होइन। तिनीहरूले यहोवाको प्रशंसा गरे किनभने तिनीहरूले उहाँलाई देखेका थिए। यदि तैँले यहोवाको केही पनि देखेको छैनस् भने, र उहाँको अस्तित्वबारे तँ अनजान छस् भने, तैँले कसरी उहाँको प्रशंसा गर्न सक्थिस्? यदि तिमीहरूले यहोवालाई देखेका छैनौ भने, तिमीहरूले उहाँको प्रशंसा गर्न जान्ने थिएनौ, न त उहाँको उपासना गर्न नै जान्‍नेथियौ, तिमीहरूले उहाँको गुणगान गर्ने गीत लेख्ने कुरा त परै जाओस्, र तिमीहरूलाई यहोवाको केही कामहरू आविष्कार गर्न भनियो भने पनि, तिमीहरूले त्यसो गर्न सक्नेथिएनौ। आज तिमीहरूले परमेश्‍वरको प्रशंसा गर्न सक्छौ र परमेश्‍वरलाई प्रेम गर्न सक्छौ किनकि तिमीहरूले उहाँलाई देखेका छौ र उहाँको कामको अनुभव पनि गरेका छौ—र यदि तिमीहरूको क्षमता सुधारिन्छ भने, के तिमीहरूले पनि, दाऊदले जस्तै परमेश्‍वरको प्रशंसामा कविताहरू लेख्न सक्नेछैनौ र?

बाइबल बुझ्नु, इतिहास बुझ्नु, तर पवित्र आत्माले आज के गरिरहेको छ भनेर नबुझ्नु—त्यो गलत हो! तैँले इतिहासको अध्ययनमा निकै राम्रो गरेको छस्, तैँले एउटा उत्कृष्ट काम गरेको छस्, तर पवित्र आत्माले आज गर्नुहुने कामको बारेमा तैँले केही बुझ्दैनस्। के यो मूर्खता होइन र? अरू मानिसहरूले तँलाई सोध्छन्: “आज परमेश्‍वर के गर्दैहुनुहुन्छ? आज तँ के कुरामा प्रवेश गर्नुपर्छ? तेरो जीवनको खोज कस्तो भइरहेको छ? के तँ परमेश्‍वरको इच्छालाई बुझ्छस्?” तँसँग उनीहरूले सोधेको कुनै कुराको उत्तर हुनेछैन—त्यसैले तँलाई के थाहा छ र? तैँले भन्‍नेछस्: “मैले आफ्नो देहप्रति पिठिउँ फर्काउनुपर्छ र आफैलाई चिन्नुपर्छ भन्‍ने मात्रै मलाई थाहा छ।” अनि यदि तिनीहरूले “तपाईंलाई अरू के थाहा छ?” भनेर सोधे भने, तँलाई परमेश्‍वरको सबै बन्दोबस्तहरू पालन गर्ने बारेमा थाहा छ, र तैँले बाइबलको थोरै इतिहासको बारेमा बुझेको छस्, र त्यति नै हो भनेर तैँले भन्‍नेछस्। के यतिका वर्षहरूमा परमेश्‍वरमाथि विश्‍वास गरेर तैँले प्राप्त गरेको कुरा यति हो त? यदि तैँले बुझेको सबै कुरा त्यति नै हो भने, तँसँग धेरै कुराको कमी छ। यसैले, तिमीहरूको हालको कद आधारभूत रूपमा मैले तिमीहरूबाट चाहेको कुरा हासिल गर्न असमर्थ छ, र तिमीहरूको फरक छुट्याउने क्षमताका साथै तिमीहरूले बुझ्ने सत्यताहरू पनि साना छन्—भन्‍नुको अर्थ, तिमीहरूको विश्‍वास एकदम सतही छ! तिमीहरू सत्यले अझ बढी सुसज्जित हुनुपर्दछ, तिमीहरूलाई अझ बढी ज्ञानको आवश्यकता छ, तिमीहरूले अझ धेरै देख्नुपर्छ, त्यसपछि मात्र तिमीहरू सुसमाचार फैलाउन सक्षम हुनेछौ, किनकि तिमीहरूले हासिल गर्नुपर्ने भनेकै यही हो!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्