परमेश्‍वरको कामको दर्शन (३) (भाग एक)

परमेश्‍वर पहिलो पटक पवित्र आत्माद्वारा गर्भधारण भई देह बन्नुभयो, र यो उहाँले गर्न चाहनुभएको कामसँग सान्दर्भिक थियो। अनुग्रहको युग येशूको नाउँबाट सुरु भयो। जब येशूले आफ्नो सेवकाइ गर्न थाल्नुभयो, पवित्र आत्माले येशूको नाउँको गवाही दिन थाल्नुभयो, र उप्रान्त यहोवाको नाउँको चर्चा हुन छाड्यो; बरु, पवित्र आत्माले मुख्य रूपमा येशूको नाउँमा नयाँ काम सुरु गर्नुभयो। उहाँमा विश्‍वास गर्नेहरूको गवाही येशू ख्रीष्टको लागि थियो र तिनीहरूले गरेका काम पनि येशू ख्रीष्टको लागि नै थियो। पुरानो करारको व्यवस्थाको युग अन्त्य हुनुको अर्थ मुख्य रूपमा यहोवाको नाउँमा सञ्चालन गरिएको काम समाप्त भयो भन्ने थियो। त्यहाँदेखि उता, परमेश्‍वरको नाउँ यहोवा थिएन; यसको साटो उहाँलाई येशू भनियो, र यहाँबाट उसो पवित्र आत्माले विशेष गरी येशूको नाउँमा काम सुरु गर्नुभयो। यसैले, आज पनि यहोवाका वचनहरू खाने र पिउने मानिसहरू र अझै पनि सबै कुरा व्यवस्थाको युगको अनुसार गर्नेहरू—के तैँले अन्धाधुन्ध नियमहरू पालन गरिरहेको छैनस् र? के तिमीहरू विगतमा अड्किएका छैनौ र? अहिले तिमीहरूलाई थाहा छ, आखिरी दिनहरू आइसकेका छन्। के यो हुन सक्छ, कि जब येशू आउनुहुन्छ, उहाँलाई अझै पनि येशू नै भनिनेछ? यहोवाले इस्राएलका मानिसहरूलाई मसीह आउनुहुनेछ भनी भन्नुभएको थियो, तापनि उहाँ आउनुहुँदा उहाँलाई मसीह भनिएन, तर येशू भनियो। येशूले उहाँ फेरि आउनुहुनेछ, र उहाँ जसरी जानुभयो त्यसरी आउनुहुनेछ भनी भन्नुभयो। यी येशूका वचनहरू थिए, तर येशू कसरी जानुभयो के तैँले देखिस्? येशू सेतो बादलमा सवार भएर जानुभयो, तर के उहाँ व्यक्तिगत रूपले सेतो बादलमा मानिसहरूकहाँ आउन सक्नुहुन्छ? यदि त्यस्तो हो भने, के उहाँलाई अझै येशू भनिनेछैन? जब येशू फेरि आउनुहुन्छ, युगमा परिवर्तन भइसकेको हुनेछ, त्यसोभए के उहाँलाई अझै येशू भन्न सकिन्छ? के परमेश्‍वरलाई येशूको नाउँबाट मात्र चिन्न सकिन्छ? के उहाँलाई नयाँ युगमा नयाँ नाउँले बोलाउन सकिँदैन? के सारा अनन्तताभरि परमेश्‍वरलाई एक व्यक्तिको स्वरूप र एउटा विशेष नाउँले प्रतिनिधित्व गर्न सक्दछ? प्रत्येक युगमा, परमेश्‍वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले सारा अनन्तताभरि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्‍वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एक निश्चित युगमा परमेश्‍वरको स्वभावको अस्थायी पक्षको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व मात्रै गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्‍वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ। चाहे त्यो यहोवाको युग होस् वा येशूको युग होस्, उहाँकै नाउँले प्रत्येक युगको प्रतिनिधित्व गर्दछ। अनुग्रहको युगको अन्त्यमा, अन्तिम युग आइपुगेको हुन्छ, र येशू आइसक्नुभएको हुन्छ। उहाँलाई अझै कसरी येशू भन्न सकिन्छ? उहाँले कसरी अझै पनि मानिसहरूका बीचमा येशूको रूप धारण गर्न सक्नुहुन्छ? के येशू नासरतको एक छविबाहेक अरू केही हुनुहुन्‍नथियो भन्‍ने तैँले बिर्सिस्? के येशू मानव जातिका उद्धारक मात्र हुनुहुन्थ्यो भन्‍ने तैँले बिर्सिस्? आखिरी दिनहरूमा उहाँले मानिसलाई जित्ने र सिद्ध गर्ने काम कसरी गर्न सक्नुहुन्थ्यो? येशू सेतो बादलमा सवार भएर जानुभयो—तथ्य यही हो—तर उहाँ कसरी मानिसहरूमाझ सेतो बादलमा फर्केर आउनुभएपछि पनि उहाँलाई येशू नै भनेर बोलाइन्छ र? यदि उहाँ साँच्चै बादलमा आउनुभयो भने, मानिसहरू उहाँलाई चिन्न कसरी असफल बन्छन् र? के सारा संसारभरिका मानिसहरूले उहाँलाई चिन्‍नेछैनन् र? त्यसोभए, के येशू मात्र परमेश्‍वर बन्नुहुन्न र? त्यो अवस्थामा, परमेश्‍वरको स्वरूप एक यहूदीको रूप हुनेथियो, साथै सदाका लागि त्यस्तै हुनेथियो। येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर के तँ उहाँका वचनहरूको वास्तविक अर्थ जान्दछस्? के यो उहाँले तिमीहरूको समूहलाई भन्नुभएको हुन सक्छ? तँ यति मात्र जान्दछस्, कि उहाँ जसरी बादलमा सवार भएर जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर परमेश्‍वर आफैले कसरी आफ्नो काम गर्नुहुन्छ भन्ने के तँलाई ठीकसँग थाहा छ? यदि तँ साँच्चै देख्‍न सक्थिस् भने, येशूले बोल्नुभएका वचनहरूको व्याख्या कसरी गर्नुपर्छ? उहाँले भन्नुभयो: जब मानिसका पुत्र आखिरी दिनहरूमा आउँदछ, त्यो ऊ आफैले जान्नेछैन, स्वर्गदूतहरूले जान्‍नेछैनन्, स्वर्गका दूतहरूले जान्‍नेछैनन्, र सारा मानव जातिले जान्नेछैन। केवल पिताले मात्र जान्नुहुन्छ, अर्थात्, आत्माले मात्र जान्नुहुन्छ। मानिसको पुत्रले आफैले पनि जान्दैन, तापनि, के तँ देख्न र जान्न सक्छस्? यदि तैँले जान्न र आफ्नै आँखाले देख्न सक्थिस् भने, के यी वचनहरू व्यर्थमा बोलिएका हुने थिएनन् र? अनि त्यसबेला येशूले के भन्नुभयो? “तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ। तर नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। … यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ।” जब त्यो दिन आउँछ, मानिसको पुत्र आफैलाई पनि त्यो थाहा हुँदैन। मानिसका पुत्रले एक सामान्य र साधारण व्यक्ति, परमेश्‍वरको देहधारी शरीरलाई बुझाउँछ। मानिसका पुत्र आफैलाई पनि थाहा छैन भने तैँले कसरी जान्न सक्छस्? येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ। जब उहाँ आउनुहुन्छ, त्यो उहाँ आफैले पनि थाहा पाउनुहुन्न, त्यसोभए के उहाँले तँलाई पहिल्यैबाट जानकारी दिन सक्नुहुन्छ? के तँ उहाँको आगमनलाई देख्न सक्छस्? के यो ठट्टा होइन? परमेश्‍वर हरेक पल्ट पृथ्वीमा आउनुहुँदा उहाँले आफ्नो नाउँ, उहाँको लिङ्ग, उहाँको स्वरूप, र उहाँको काम बदल्नुहुन्छ; उहाँले आफ्नो काम दोहोऱ्याउनुहुन्न। उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। जब उहाँ पहिले आउनुभयो, उहाँलाई येशू भनियो; उहाँ यस पटक फेरि आउनुहुँदा के उहाँलाई अझै येशू नै भन्न सकिन्छ? पहिले जब उहाँ आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो; के उहाँ यस पटक फेरि पुरुष हुन सक्नुहुन्छ? अनुग्रहको युगमा उहाँको काम क्रूसमा टाँगिनुथियो; जब उहाँ फेरि आउनुहुनेछ, के उहाँले अझै पनि मानव जातिलाई पापबाट छुटकारा दिन सक्नुहुन्छ? के उहाँलाई फेरि क्रूसमा टाँग्न सकिन्छ? के त्यो उहाँको कामलाई दोहोऱ्याउनुजस्तो हुँदैन र? के तँलाई थाहा छैन, परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न? केही मानिसहरू छन्, जसले परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भनी भन्छन्। यो सही हो, तर त्यसले परमेश्‍वरको स्वभाव र उहाँको सारको अपरिवर्तनीयतालाई बुझाउँछ। उहाँको नाउँ र काममा हुने परिवर्तनले उहाँको सार परिवर्तन भएको बुझाउँदैन; अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर सधैँ नै परमेश्‍वर नै हुनुहुनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्‍वरको काम अपरिवर्तनीय छ भनी भन्छस् भने, के उहाँले आफ्नो छ हजार वर्षको प्रबन्ध योजना पूरा गर्न सक्नुहुन्छ? तँ परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ भन्ने मात्र जान्दछस्, तर के तँ परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी जान्दछस्? यदि परमेश्‍वरको काम अपरिवर्तनीय छ भने, के उहाँले मानव जातिलाई डोऱ्याएर आजको दिनसम्म ल्याउन सक्नुहुनेथियो? यदि परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भने, उहाँले किन पहिले नै दुई युगको काम गरिसक्नुभयो? उहाँको काम अगाडि बढ्न कहिल्यै रोकिँदैन, जसको अर्थ यो हो, कि उहाँको स्वभाव बिस्तारै मानिसमा प्रकट गरियो, र जे प्रकट गरिएको छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो। आदिमा, परमेश्‍वरको स्वभाव मानिसबाट लुकेको थियो, उहाँले कहिल्यै पनि आफ्नो स्वभाव मानिसको सामु खुल्लमखुल्ला प्रकट गर्नुभएन, र मानिसलाई उहाँको बारेमा केही पनि थाहा थिएन। यसकारण, उहाँले मानिसलाई आफ्नो स्वभाव क्रमिक रूपमा प्रकट गर्न उहाँको काम प्रयोग गर्नुहुन्छ, तर यसरी काम गर्नुको अर्थ हरेक युगमा उहाँको स्वभाव परिवर्तन हुन्छ भन्ने होइन। परमेश्‍वरको इच्‍छा सँधै परिवर्तन भइरहने भएकोले उहाँको स्वभाव सधैँ परिवर्तन भइरहेको छ भन्ने होइन। बरु, यो कुरा हो, कि उहाँको कामको युगहरू भिन्नाभिन्नै भएकोले, परमेश्‍वरले आफ्नो अन्तर्निहित स्वभावलाई पूर्ण रूपमा धारण गर्नुहुन्छ, र एक-एक चरण गर्दै त्यो मानिसलाई प्रकट गर्नुहुन्छ, यसैले कि मानिसले उहाँलाई चिन्न सकोस्। तर कुनै पनि प्रकारले यसको अर्थ सुरुमा परमेश्‍वरको कुनै विशेष स्वभाव हुँदैन वा युगहरू बित्दैजाँदा उहाँको स्वभाव बिस्तारै परिवर्तन भएको हो भन्ने प्रमाण होइन—त्यस्तो बुझाई गलत हुन्छ। युगहरू बित्दैजाँदा सोही अनुसार परमेश्‍वरले मानिसलाई उहाँको अन्तर्निहित र विशेष स्वभाव—उहाँ के हुनुहुन्छ भन्ने कुरा प्रकट गर्नुहुन्छ; एउटै युगको कामले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई व्यक्त गर्न सक्दैन। अनि यसैले “परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न” भन्ने शब्दहरूले उहाँको कामलाई बुझाउँछ, अनि “परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ” भन्ने शब्दहरूले परमेश्‍वरमा अन्तर्निहित रूपमा के छ र को हुनुहुन्छ भन्ने बुझाउँछ। जे सुकै होस्, तैँले छ हजार वर्षको कामलाई एक मात्र बिन्दुमा कब्जा गर्न सक्दैनस्, वा त्यसलाई मृत शब्दहरूमा सीमित गर्न सक्दैनस्। त्यसो गर्नु मानिसको मूर्खता हो। परमेश्‍वर मानिसले कल्पना गरेजस्तो सरल हुनुहुन्न, र उहाँको काम कुनै एक युगमा रहिरहन सक्दैन। उदाहरणका लागि, यहोवाले सधैँ परमेश्‍वरको नाउँलाई जनाउन सक्दैन; परमेश्‍वरले येशूको नाउँमा पनि आफ्नो काम गर्न सक्नुहुन्छ। यो परमेश्‍वरको काम सधैँ अगाडि दिशामा बढिरहेको छ भन्ने सङ्केत हो।

परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान बन्नुहुन्न; शैतान सधैँ शैतान नै रहन्छ, र त्यो कहिल्यै परमेश्‍वर बन्नेछैन। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको आश्‍चर्यता, परमेश्‍वरको धार्मिकता, र परमेश्‍वरको महिमा कहिल्यै परिवर्तन हुँदैन। उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुँदैन। तर उहाँको कामको विषयमा भन्दा, यो सधैँ अगाडि बढिरहेको हुन्छ, सधैँ गहिरो हुँदै जान्छ, किनकि उहाँ सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। हरेक युगमा परमेश्‍वरले नयाँ नाउँ धारण गर्नुहुन्छ, हरेक युगमा उहाँले नयाँ काम गर्नुहुन्छ, र प्रत्येक युगमा उहाँले आफ्ना सृष्टिहरूलाई उहाँको नयाँ इच्छा र नयाँ स्वभाव देखाउनुहुन्छ। यदि नयाँ युगमा, मानिसहरू परमेश्‍वरको नयाँ स्वभाव प्रकट भएको देख्न असफल हुन्छन् भने, के तिनीहरूले उहाँलाई सदाका लागि क्रूसमा टाँग्नेछैनन् र? र त्यसो गरेर, के तिनीहरूले परमेश्‍वरको परिभाषा दिँदैनन् र? यदि परमेश्‍वर केवल पुरुषको रूपमा देहमा आउनुभयो भने, मानिसहरूले उहाँलाई पुरुषहरूका परमेश्‍वर झैं पुरुषको रूपमा परिभाषित गर्नेथिए, र उहाँ महिलाहरूका पनि परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्‍वास गर्नेथिएनन्। तब मानिसहरूले परमेश्‍वरलाई पुरुषकै लिङ्गको मान्नेथिए, परमेश्‍वरलाई पुरुषहरूका शिर मान्नेथिए—त्यसोभए महिलाको हकमा के हुन्छ? यो अनुचित छ; यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि त्यसो हो भने परमेश्‍वरले मुक्ति दिनुभएकाहरू सबै उहाँजस्तै पुरुषहरू हुनेथिए, र एउटै पनि महिलाले मुक्ति पाउने थिएन। जब परमेश्‍वरले मानव जातिलाई सृष्टि गर्नुभयो, उहाँले आदमलाई सृष्टि गर्नुभयो र हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई सृष्टि मात्र गर्नुभएन, उहाँले नर र नारी दुवैलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वर केवल पुरुषहरूका परमेश्‍वर मात्रै हुनुहुन्न, तर उहाँ महिलाहरूका परमेश्‍वर पनि हुनुहुन्छ। परमेश्‍वर आखिरी दिनहरूमा कामको एउटा नयाँ चरणमा प्रवेश गर्नुहुन्छ। उहाँले आफ्नो स्वभाव अझ बढी प्रकट गर्नुहुनेछ, र त्यो येशूको समयको स्‍नेह र प्रेम हुनेछैन। उहाँको हातमा नयाँ काम भएकोले यो नयाँ कामको साथमा नयाँ स्वभाव हुनेछ। त्यसकारण, यदि यो काम आत्माद्वारा गरिएको थियो भने—यदि परमेश्‍वर मानिस नबन्नुभएको भए, र उहाँसँग सम्पर्क गर्ने मानिससित कुनै उपाय नभएकोले आत्मा गर्जनको माध्यमबाट सीधै बोल्नुभएको थियो भने के मानिसले उहाँको स्वभाव जान्न सक्‍नेथियो? यदि यो काम गर्ने आत्मा मात्र हुनुहुन्थ्यो भने, मानिसले परमेश्‍वरको स्वभावको बारेमा जान्ने कुनै उपाय थिएन। जब परमेश्‍वर देह बन्नुहुन्छ, जब वचन दहमा देखा पर्नुहुन्छ, जब उहाँले देहद्वारा उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुन्छ तब मात्र मानिसहरूले आफ्नो आँखाले परमेश्‍वरको स्वभाव देख्न सक्छन्। परमेश्‍वर साँच्चै र वास्तविक रूपमा मानिसहरूको बीचमा वास गर्नुहुन्छ। उहाँ वास्तविक हुनुहुन्छ; मानिस वास्तवमा उहाँको स्वभावसँग संलग्न हुन सक्छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसमा संलग्न हुनसक्छ; यस तरिकाले मात्र मानिसले साँच्चै उहाँलाई चिन्न सक्दछ। साथै, परमेश्‍वरले त्यो काम पनि पूरा गर्नुभएको छ, जसमा “परमेश्‍वर पुरुषहरूका परमेश्‍वर र स्त्रीहरूका परमेश्‍वर हुनुहुन्छ” र उहाँले शरीरमा आफ्नो काम सम्पूर्ण रूपमा पूरा गर्नुभयो। उहाँले कुनै पनि युगमा कामको नकल गर्नुहुन्न। आखिरी दिनहरू आइपुगिसकेको हुनाले उहाँले त्यही काम गर्नुहुनेछ जुन उहाँले आखिरी दिनहरूमा गर्नुहुन्छ र आखिरी दिनहरूमा उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुन्छ। आखिरी दिनहरूको कुरा गर्दा, यसले एक अलग युगलाई जनाउँछ, जसमा तिमीहरूले अवश्य पनि विपत्ति र भूकम्प, अनिकाल र महामारीहरूको सामना गर्नुपर्नेछ भनी येशूले भन्‍नुभएको युगलाई जनाउँछ, जसले यो नयाँ युग हो अब पुरानो अनुग्रहको युग होइन भन्ने देखाउँछ। मानिसहरूले भनेजस्तै, मानिलिऔं, परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ, उहाँको स्वभाव सधैँ दयालु र प्रेमिलो हुन्छ, उहाँले मानिसलाई आफैलाई जस्तै प्रेम गर्नुहुन्छ, र उहाँले प्रत्येक मानिसलाई मुक्ति दिनुहुन्छ र मानिसलाई कहिल्यै घृणा गर्नुहुन्‍न, तब के उहाँको कामको कहिल्यै अन्त्य हुन्छ होला? जब येशू आउनुभयो र क्रूसमा टाँगिनुभयो, सबै पापीहरूका निम्ति आफैलाई वेदीमा बलि चढाउनुभयो, उहाँले मुक्तिको काम पूरा गरिसक्नुभएको थियो र अनुग्रहको युगको अन्त्य गर्नुभएको थियो। त्यसैले आखिरी दिनहरूमा त्यो युगको काम दोहोऱ्याउनुको अर्थ के हुनेथियो? के त्यही काम गर्नु भनेको येशूको कामलाई इन्कार गर्नु होइन र? यदि परमेश्‍वर यो चरणमा आउनुहुँदा क्रूसमा टाँगिने कार्य गर्नुभएन, तर प्रेमिलो र दयालु नै रहनुभयो भने के उहाँले युगको अन्त्य गर्न सक्‍नुहुनेथियो? के प्रेमिलो र दयालु परमेश्‍वरले युगलाई अन्त्य गर्न सक्‍नुहुनेथियो? युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्‍याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिन्छन्, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको अनाज्ञाकारिता र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिसहरू परमेश्‍वरको प्रभुत्वमा हुन्छन्। यी सबै काम धार्मिक सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकोले, र उसको अनाज्ञाकारिता अत्यन्तै गम्भीर बनेकोले परमेश्‍वरको धार्मिक स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ। त्यसकारण, यस प्रकारको स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ, अनि उहाँको स्वभावको प्रकाश तथा प्रदर्शन प्रत्येक नयाँ युगको कामका लागि प्रकट गरिन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकट गर्नुहुन्छ भन्ने होइन। आखिरी दिनहरूमा मानिसका परिणामहरू प्रकट गर्ने क्रममा, परमेश्‍वरले मानिसलाई असीम करुणा र प्रेम प्रदान गर्नुहुन्छ र ऊप्रति प्रेमिलो गरिरहनुहुन्छ, मानिसलाई धार्मिक न्यायको अधीनमा ल्याउनुभएन, बरु उसलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुन्छ, र मानिसको पाप जति नै गम्भीर नै भए पनि त्यसको निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुन्छ भन्‍ने मान्यता राख्दा: परमेश्‍वरको सबै व्यवस्थापन कहिले समाप्त हुनेछ? यस्तो प्रकारको स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेछ? उदाहरणको लागि, एक जना न्यायाधीश, जो सधैँ प्रेमिलो छ, दयालु अनुहार र कोमल हृदयका न्यायाधीश छ, उसलाई लिऊँ। मानिसहरूले जस्तो-सुकै अपराध गरेको भए पनि उसले तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूलाई प्रेम गर्छ। त्यो अवस्थामा, के ऊ निर्णयमा पुग्नसक्छ? आखिरी दिनहरूमा, केवल धार्मिक इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्‍वरको धार्मिक स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

परमेश्‍वरका सबै व्यवस्थापनहरूमा उहाँको काम पूर्ण रूपमा स्पष्ट छ: अनुग्रहको युग, अनुग्रहको युग नै हो, र आखिरी दिनहरू, आखिरी दिनहरू नै हुन्। प्रत्येक युगबीच स्पष्ट भिन्नताहरू छन्, किनकि परमेश्‍वरले हरेक युगमा त्यो काम गर्नुहुन्छ जसले त्यस युगको प्रतिनिधित्व गर्दछ। किनकि आखिरी दिनहरूको काम गर्नका लागि, युगलाई समाप्त गर्न जलन, न्याय, सजाय, क्रोध र विनाश हुनुपर्दछ। आखिरी दिनहरूले अन्तिम युगलाई बुझाउँछ। अन्तिम युगको अवधिमा, के परमेश्‍वरले युगको अन्त्य गर्नुहुनेछैन र? युगको अन्त्य गर्न, परमेश्‍वरले आफ्नो साथमा सजाय र न्याय ल्याउनैपर्छ। यस तरिकाले मात्र उहाँले युगको अन्त्य गर्न सक्नुहुन्छ। येशूको उद्देश्य मानिस जीवित रहोस्, बाँचोस् र ऊ अझ राम्रो तरिकाले जिओस् भन्ने थियो। उहाँले मानिसलाई पापबाट बचाउनुभयो, यसैले कि ऊ आफ्नो भ्रष्टतामा खस्किँदै नजाओस्, र उप्रान्त पाताल र नरकमा नजिओस्, र मानिसलाई पाताल र नरकबाट बचाएर, येशूले उसलाई जीवित रहन दिनुभयो। अब आखिरी दिनहरू आइपुगेका छन्। परमेश्‍वरले मानिसलाई नष्ट गर्नुहुनेछ र मानव जातिलाई पूर्ण रूपमा नाश पार्नुहुनेछ, अर्थात्, उहाँले मानव जातिको विद्रोहलाई रूपान्तरण गर्नुहुनेछ। यस कारणले गर्दा, विगतको करुणामय र प्रेमिलो स्वभाव लिएर युगको अन्त्य गर्न वा उहाँको छ हजार वर्षको व्यवस्थापन योजनालाई सफल बनाउन परमेश्‍वरको निम्ति असम्भव हुनेछ। प्रत्येक युगमा परमेश्‍वरको स्वभावको विशेष प्रतिनिधित्व हुँदछ, र प्रत्येक युगमा परमेश्‍वरले गर्नु पर्ने कामहरू हुन्छन्। यसैले, प्रत्येक युगमा परमेश्‍वर स्वयम्‌ले गर्नुहुने कामले उहाँको वास्तविक स्वभावको प्रकट गरेको हुन्छ, र उहाँको नाउँ र उहाँले गर्नुहुने काम, दुवै युगसँगै परिवर्तन हुँदछ—ती सबै नयाँ हुन्छन्। व्यवस्थाको युगको अवधिमा मानव जातिलाई डोऱ्याउने काम यहोवाको नाउँमा गरिएको थियो र पृथ्वीमा पहिलो चरणको काम सुरु भएको थियो। यस चरणमा मन्दिर र वेदी निर्माण गर्ने काम समावेश थियो र इस्राएली मानिसहरूलाई डोऱ्याउन र तिनीहरूका बीचमा काम गर्नका लागि व्यवस्थाको प्रयोग गरिएको थियो। इस्राएलका मानिसहरूलाई डोऱ्याएर उहाँले पृथ्वीमा आफ्नो कामका लागि एउटा आधार सुरु गर्नुभयो। यही आधारबाट उहाँले आफ्नो काम इस्राएलभन्दा बाहिर फैलाउनुभयो, जसको अर्थ यो हो, कि इस्राएलबाट सुरु गरेर उहाँले आफ्नो कामलाई बाहिरतिर बढाउनुभयो, यसरी पछि आउने पुस्ताहरूले यहोवा परमेश्‍वर हुनुहुन्छ, र यहोवाले नै आकाश र पृथ्वी साथै सबै थोक सृष्टि गर्नुभयो, र सबै प्राणी यहोवाले नै बनाउनुभएको हो भनी क्रमिक रूपमा थाहा पाए। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूद्वारा तिनीहरूभन्दा बाहिरसम्म फैलाउनुभयो। इस्राएल देश पृथ्वीमा यहोवाको काम भएको पहिलो पवित्र स्थान थियो, र इस्राएल भूमिमा नै परमेश्‍वरले पृथ्वीमा पहिलो काम गर्नुभएको थियो। व्यवस्थाको युगको काम त्यही थियो। अनुग्रहको युगको अवधिमा येशू मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो। उहाँसँग जे थियो र त्यो अनुग्रह, प्रेम, करुणा, सहनशीलता, धैर्यता, नम्रता, वास्ता, सहिष्णुता थियो र उहाँले गर्नुभएका धेरै वटा काम मानिसको छुटकाराको लागि नै थियो। उहाँको स्वभाव करुणा र प्रेमको स्वभाव थियो, र उहाँ करुणामय र प्रेमिलो हुनुभएकोले उहाँ मानिसका निम्ति क्रूसमा टाँगिनु पर्‍यो, अनि परमेश्‍वरले मानिस आफैलाई जस्तो प्रेम गर्नुहुन्छ भनी देखाउन त्यसो गर्नुभयो, यहाँसम्म कि उहाँले आफैले पूर्णरूपमा अर्पण गर्नुभयो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरको नाम येशू थियो, अर्थात्, परमेश्‍वर मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो, र उहाँ एक करुणामय र प्रेमिलो परमेश्‍वर हुनुहुन्थ्यो। परमेश्‍वर मानिसको साथमा हुनुहुन्थ्यो। उहाँको प्रेम, उहाँको करुणा र उहाँको उद्धारले प्रत्येक व्यक्तिलाई समेटेको थियो। येशूको नाउँ र उहाँको उपस्थितिलाई स्वीकार गरेर मात्र मानिसले शान्ति र आनन्द, अनि उहाँको आशिष्, उहाँको विशाल र असङ्ख्य अनुग्रहहरू, र उहाँको मुक्ति पाउन सक्थ्यो। येशूको क्रूसीकरणद्वारा उहाँलाई पछ्याउने सबैले मुक्ति पाए र तिनीहरूका पापहरू क्षमा भए। अनुग्रहको युगको अवधिमा, येशू परमेश्‍वरको नाउँ थियो। अर्को शब्दमा भन्नुपर्दा, अनुग्रहको युगको काम मुख्य रूपमा येशूको नाउँमा नै गरिएको थियो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरलाई येशू भनिन्थ्यो। उहाँले पुरानो करारभन्दा उताको नयाँ कामको चरण लिनुभयो, र उहाँको काम क्रूसीकरणसितै समाप्त भयो। यो उहाँको कामको सम्पूर्णता थियो। त्यसकारण, व्यवस्थाको युगको अवधिमा यहोवा परमेश्‍वरको नाउँ थियो, र अनुग्रहको युगमा येशूको नाउँले परमेश्‍वरको प्रतिनिधित्व गर्‍यो। आखिरी दिनहरूमा, उहाँको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो—सर्वशक्तिमान्, जसले आफ्नो मानिसहरूलाई डोऱ्याउन, मानिसलाई जित्न र आखिरीमा युगको अन्त्य गर्न आफ्‍नो शक्तिको प्रयोग गर्नुहुन्छ। प्रत्येक युगमा, उहाँको कामको हरेक चरणमा, परमेश्‍वरको स्वभाव स्पष्ट हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्