परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ

परमेश्‍वर अहिले मानिसहरूको एउटा निश्चित समूहलाई प्राप्त गर्न चाहनुहुन्छ, यस्ता मानिसहरूको एउटा यस्तो झुन्ड जो उहाँसँग सहकार्य गर्न मेहनत गर्छन्, जसले उहाँका काम पालना गर्न सक्छन्, जसले परमेश्‍वरले बोल्नुभएका वचनहरू सत्य छन् भनी विश्‍वास गर्छन्, र जसले परमेश्‍वरका आवश्यकताहरूलाई व्यवहारमा लागू गर्न सक्छन्; तिनीहरू हृदयमा साँचो समझ भएकाहरू हुन्, तिनीहरू सिद्ध तुल्याइन सक्‍नेहरू हुन्, र तिनीहरू अनिवार्य रूपमा पूर्णताको बाटोमा हिँड्न सक्‍नेछन्। जो सिद्ध तुल्याइन सक्दैनन् तिनीहरू ती मानिसहरू हुन् जसमा परमेश्‍वरको कामको स्पष्ट ज्ञान हुँदैन, जसले परमेश्‍वरका वचनहरू खाँदैनन् र पिउँदैनन्, जसले उहाँको वचनमा ध्यान दिँदैनन्, र जसको हृदयमा परमेश्‍वरको निम्ति कुनै प्रेम हुँदैन। जसले देहधारी परमेश्‍वरमा शङ्का गर्छन्, तिनीहरू उहाँको बारेमा सधैँ अनिश्चित हुन्छन्, उहाँको वचनलाई कहिल्यै पनि गम्भीरतासित लिँदैनन् र उहाँलाई सधैँ धोका दिन्छन्, जसले परमेश्‍वरको विरोध गर्छन् र जो शैतानका हुन्; त्यस्ता व्यक्तिहरूलाई सिद्ध गर्ने कुनै उपाय हुँदैन।

यदि तँ सिद्ध पारिन चाहन्छस् भने, पहिले तैंले परमेश्‍वरद्वारा निगाह पाउनुपर्दछ, किनकि उहाँले जसलाई निगाह गर्नुहुन्छ र जो उहाँको हृदय अनुसारका छन् तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ। यदि तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न चाहन्छस् भने, तँसँग त्यो हृदय हुनुपर्दछ जसले उहाँको कामको पालना गर्दछ, तैंले सत्यको पछि लाग्ने कोसिस गर्नुपर्दछ, र तैंले सबै कुरामा परमेश्‍वरको जाँच स्वीकार्नु पर्दछ। के तैँले गर्ने सबै कुरा परमेश्‍वरको जाँचबाट भएर गएका छन्? के तेरो अभिप्राय सही छ? यदि तेरो अभिप्राय सही छ भने, परमेश्‍वरले तँलाई स्याबासी दिनुहुनेछ; यदि तेरो अभिप्राय गलत छ भने, तेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्दैन, तर शरीर र शैतानलाई प्रेम गर्दछ भन्‍ने त्यसले देखाउँछ। त्यसकारण, तैंले सबै कुरामा परमेश्‍वरको जाँचलाई स्वीकार गर्ने तरिकाको रूपमा प्रार्थनालाई प्रयोग गर्नुपर्छ। जब तैंले प्रार्थना गर्छस्, म त्यस बेला व्यक्तिगत रूपमा तेरो सामु खडा नभए पनि पवित्र आत्मा तेरो साथमा हुनुहुन्छ, र तैंले म र पवित्र आत्मा दुवैसँग नै प्रार्थना गरिरहेको हुन्छस्। तँ यो देहमा किन विश्‍वास गर्छस्? उहाँसित परमेश्‍वरका आत्मा हुनुहुन्छ, त्यसकारण तँ विश्‍वास गर्छस्। यदि उहाँ परमेश्‍वरका आत्मा विहीन हुनुहुन्थ्यो भने के तँ यस व्यक्तिमा विश्‍वास गर्ने थिइस्? जब तँ यस व्यक्तिमा विश्‍वास गर्छस् तब तँ परमेश्‍वरका आत्मामा विश्‍वास गर्छस्। जब तँ यो व्यक्तिमा डर मान्छस्, तब तँ परमेश्‍वरका आत्मासँग डराउँछस्। परमेश्‍वरका आत्मामा विश्‍वास गर्नु भनेको यो व्यक्तिमा विश्‍वास गर्नु हो, र यस व्यक्तिमा विश्‍वास गर्नु भनेको परमेश्‍वरका आत्मामा विश्‍वास गर्नु हो। जब तँ प्रार्थना गर्छस्, तैँले परमेश्‍वरका आत्मा तेरो साथमा भएको र परमेश्‍वर तेरो सामु भएको महसुस गर्छस्, र यसैले तँ उहाँका आत्मालाई प्रार्थना गर्छस्। आज, प्रायः मानिसहरू आफ्ना कामहरू परमेश्‍वरको सामु ल्याउन डराउँछन्; तँ उहाँको शरीरलाई धोका दिन सक्छस्, तर तँ उहाँको आत्मालाई धोका दिन सक्दैनस्। कुनै पनि कुरा जुन परमेश्‍वरको जाँचको अघि टिक्दैन भने त्यो सत्यतासँग अमिल्दो हुन्छ, र त्यसलाई अलग गर्नुपर्दछ; त्यस बाहेकको कुरा गर्नु भनेको परमेश्‍वरको विरुद्धमा पाप हुन्छ। यसैले जब तँ प्रार्थना गर्छस्, जब तँ आफ्ना भाइबहिनीहरूसँग कुराकानी र सङ्गति गर्छस्, र जब तँ आफ्नो काम गर्छस् र तेरो व्यापारको काम गर्छस्, हरसमय तैंले परमेश्‍वरको सामु आफ्नो हृदय राख्नुपर्छ। जब तैँले आफ्नो कार्य पूरा गर्छस्, परमेश्‍वर तेरो साथमा हुनुहुन्छ र जबसम्म तेरो अभिप्राय सही हुन्छ र त्यो काम परमेश्‍वरको घरको कामका लागि हुन्छ, उहाँले तैंले गरेका सबै काम स्वीकार गर्नुहुनेछ; तैंले आफ्नो काम पूरा गर्न आफैलाई इमानदारीसाथ समर्पित गर्नुपर्छ। जब तँ प्रार्थना गर्छस्, यदि तेरो हृदयमा परमेश्‍वरका निम्ति प्रेम छ र परमेश्‍वरको वास्ता, सुरक्षा र जाँचको खोजी गर्छस् भने, यदि यी कुराहरू तेरो उद्देश्य हुन् भने, तेरा प्रार्थनाहरू प्रभावकारी हुनेछन्। उदाहरणका लागि, जब तँ सभाहरूमा प्रार्थना गर्छस्, यदि तैंले आफ्नो हृदय खोल्छस् र परमेश्‍वरसँग प्रार्थना गर्दै कुनै झूटो नबोली आफ्नो हृदयको कुरा उहाँलाई बताउँछस् भने तेरा प्रार्थनाहरू निश्चय प्रभावकारी हुनेछन्। यदि तैंले गम्भीर हृदयले परमेश्‍वरलाई प्रेम गर्छस् भने, परमेश्‍वरसँग यो शपथ खा: “हे परमेश्‍वर, जो स्वर्गमा, पृथ्वीमा र सबै थोकहरूमा हुनुहुन्छ, म तपाईंसँग शपथ खान्छु: तपाईंका आत्माले मैले गर्ने सबै कामको जाँच गरून् र हरसमय मलाई रक्षा र वास्ता गरून्, र मैले गर्ने सबै कुरा तपाईंको उपस्थितिमा खडा हुन सकोस्। यदि मेरो हृदयले तपाईंलाई कहीँ प्रेम गर्न छोड्छ भने वा यसले तपाईंलाई कहीँ धोका दिन्छ भने, मलाई कठोर दण्ड र सराप दिनुहोस्। मलाई यो संसार वा अर्को संसारमा पनि क्षमा नदिनुहोस्!” के तँ यस्तो शपथ खाने हिम्मत गर्छस्? यदि तँ हिम्मत गर्दैनस् भने त्यसले तँ कायर छस् र तँ अझै पनि आफैलाई प्रेम गर्छस् भन्ने देखाउँछ। के तिमीहरूमा यस्तो सङ्कल्‍प छ? यदि यो साँच्‍चै तेरो सङ्कल्‍प हो भने तैँले यो शपथ खानुपर्छ। यदि तँमा यस्तो शपथ खाने सङ्कल्प छ भने परमेश्‍वरले तेरो संकल्प पूरा गर्नुहुनेछ। जब तँ परमेश्‍वरसित शपथ खान्छस्, उहाँले यो सुन्नुहुन्छ। परमेश्‍वरले तेरो प्रार्थना र तेरो अभ्यासको मापनद्वारा नै तँ पापी होस् कि धर्मी होस् भन्ने निश्चित गर्नुहुन्छ। यो अहिले तिमीहरूलाई सिद्ध बनाउने प्रक्रिया हो र यदि आफू सिद्ध भएकोमा तँमा साँच्‍चै विश्‍वास छ भने तैंले गरेका सबै कुराहरू परमेश्‍वर सामु ल्याउनेछस् र उहाँको जाँच स्वीकार गर्नेछस्; यदि तँ अति नै विद्रोही बनेर केही गर्छस् भने वा यदि तँ परमेश्‍वरलाई धोका दिन्छस् भने, तब उहाँले तेरो शपथलाई फलदायी बनाउनुहुनेछ, र यसैले तेरो विनाश वा दण्ड जे नै भए पनि त्यो तेरो आफ्नै कामले गर्दा हुन्छ। तैंले शपथ खाइस्, त्यसैले तैँले त्यसलाई पूरा गर्नुपर्छ। यदि तँ शपथ खान्छस्, तर त्यसलाई पूरा गर्दैनस् भने, तैंले विनाश भोग्नुपर्नेछ। शपथ तैंले नै खाएको थिइस्, त्यसैले परमेश्‍वरले तेरो शपथलाई सफल तुल्याउनुहुनेछ। कोही-कोही प्रार्थना गरिसकेपछि डराउँछन्, र विलाप गर्छन्, “सबै खत्तम भयो! अनैतिक कार्य गर्ने मेरो सबै मौका गुम्यो; दुष्कर्म गर्ने मेरो मौका गएको छ; सांसारिक लालसाहरूमा लिप्त हुने मेरो मौका सकियो!” यी मानिसहरूले अझै पनि सांसारिकता र पाप मन पराउँछन्, र तिनीहरूले विनाश भोग्ने निश्चित छ।

परमेश्‍वरको विश्‍वासी हुनु भनेको तैंले गर्ने सबै कुरा उहाँको सामु ल्याउनु र उहाँको जाँचको अधीनमा राख्नु हो। यदि तैंले जे गर्छस् त्यो परमेश्‍वरका आत्माको अगाडि ल्याउन सकिन्छ तर परमेश्‍वरको शरीरको अगाडि ल्याउन सकिँदैन भने, त्यसले तँ उहाँको आत्माको जाँचको अधीनमा नआएको देखाउँछ। परमेश्‍वरका आत्मा को हुनुहुन्छ? त्यो कुन व्यक्ति हो जसलाई परमेश्‍वरले साक्षी दिनुहुन्छ? के तिनीहरू एउटै र उही होइनन् र? धेरैले उहाँहरूलाई दुई अलग प्राणीको रूपमा हेर्छन्, र परमेश्‍वरका आत्मा भनेको परमेश्‍वरका आत्मा नै हो, र परमेश्‍वरले जसको साक्षी दिनुहुन्छ, त्यो मानिस मात्र हो भन्‍ने विश्‍वास गर्छन्। तर के तँ गलत हुँदैनस्? यो व्यक्तिले कसको तर्फबाट काम गर्दछ? जसले देहधारी परमेश्‍वरलाई चिन्दैनन् उनीहरूसँग आत्मिक बुझाइ हुँदैन। परमेश्‍वरका आत्मा र उहाँको देहधारी शरीर एक हुनुहुन्छ, किनकि परमेश्‍वरका आत्मा शरीरमा परिणत भएको छ। यदि यो व्यक्ति तँप्रति निष्ठुर छ भने, के परमेश्‍वरका आत्मा दयालु हुनुहुनेछ र? के तँ भ्रमित छैनस् र? आज, परमेश्‍वरको जाँच स्वीकार नगर्नेहरू सबैले उहाँको स्वीकृति प्राप्त गर्न सक्दैनन्, र देहधारी परमेश्‍वरलाई नचिन्नेहरू सिद्ध हुन सक्दैनन्। तैंले गर्ने सबै कामहरूलाई हेर्, र त्यो परमेश्‍वरको सामु ल्याउन सकिन्छ कि सकिँदैन सो हेर्। यदि तैंले गरेका सबै कुराहरू परमेश्‍वरको अघि ल्याउन सकिँदैन भने त्यसले तँ दुष्कर्म गर्ने व्यक्ति होस् भन्ने देखाउँछ। के दुष्कर्मीहरूलाई सिद्ध बनाउन सकिन्छ? तैंले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्‍वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्‍वरसँगको तेरो घनिष्ठता, तँ परमेश्‍वरका वचनहरू कसरी खान्छस् र पिउँछस्, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र साझेदारीमा गरिएको तेरो सेवालाई परमेश्‍वरको जाँचका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ। परमेश्‍वरको जाँच स्वीकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ जति धेरै परमेश्‍वरको जाँचलाई स्वीकार गर्न सक्छस्, त्यति नै बढी तँ शुद्ध हुन्छस् र जति धेरै तँ परमेश्‍वरको इच्छा अनुसारको हुन्छस्, तँ अनैतिक कार्यमा आकर्षित हुनेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहनेछ। तैँले उहाँको जाँचलाई जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र शरीरलाई छोड्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्‍वरको जाँचलाई स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यास हो। चाहे तैँले जेसुकै गरे पनि, तैंले तेरा भाइबहिनीहरूसित बातचित गर्दा समेत तैंले आफ्ना कार्यहरू परमेश्‍वरको सामु ल्याउन र उहाँको जाँच खोज्न र स्वयम् परमेश्‍वरको आज्ञापालन गर्न सक्छस्; यसले तैंले अभ्यास गर्ने कुरालाई अझै सटीक बनाउँछ। तैंले गर्ने सबै कुराहरू परमेश्‍वरको सामु ल्याइस् र परमेश्‍वरको जाँचलाई स्वीकार गरिस् भने मात्र तँ त्यो व्यक्ति हुन सक्छस्, जो परमेश्‍वरको उपस्थितिमा जिउँछ।

परमेश्‍वरलाई नबुझ्नेहरूले कहिल्यै पनि पूर्ण रूपमा परमेश्‍वरको आज्ञापालन गर्न सक्दैनन्। यस्ता मानिसहरू अनाज्ञाकारिताका छोराहरू हुन्। तिनीहरू अति महत्त्वाकांक्षी हुन्छन्, र तिनीहरूभित्र धेरै नै विद्रोह हुन्छ, यसैले तिनीहरू आफूलाई परमेश्‍वरबाट टाढा राख्छन् र उहाँको जाँच स्वीकार्न इच्छुक हुँदैनन्। यस्ता मानिसहरू सजिलै सिद्ध हुन सक्दैनन्। केही मानिसहरू परमेश्‍वरका वचनहरू चुनी चुनी खान्छन् र पिउँछन् र तिनलाई स्वीकार गर्छन्। तिनीहरू आफ्ना धारणाहरूसँग मिल्दोजुल्दो परमेश्‍वरका वचनहरूका केही भागहरू स्वीकार गर्दछन् र नमिल्‍ने भागहरूलाई इन्कार गर्छन्। के यो परमेश्‍वर विरुद्ध सबैभन्दा स्पष्ट विद्रोह र विरोध होइन? यदि कसैले परमेश्‍वरलाई अलिकति पनि नबुझी धेरै वर्षसम्म उहाँमाथि विश्‍वास गर्दछन् भने तिनीहरू अविश्‍वासी हुन्। जुन मानिसहरू परमेश्‍वरको जाँच स्वीकार्न इच्छुक हुन्छन् तिनीहरू ती हुन् जो उहाँलाई बुझ्न खोज्छन्, जो उहाँका वचनहरू स्वीकार गर्न इच्छुक हुन्छन्। तिनीहरू ती हुन् जसले परमेश्‍वरको उत्तराधिकार र आशिषहरू प्राप्त गर्नेछन्, र तिनीहरू सबैभन्दा आशिषित मानिसहरू हुन्। परमेश्‍वर तिनीहरूलाई सराप दिनुहुन्छ जसको हृदयमा उहाँको निम्ति कुनै ठाउँ छैन र त्यस्ता मानिसहरूलाई उहाँले सजाय दिनुहुन्छ र त्याग्नुहुन्छ। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने उहाँले तँलाई त्याग्नुहुनेछ, र यदि तँ मैले भनेको कुरा सुन्दैनस् भने, म वचन दिन्छु, कि परमेश्‍वरका आत्माले तँलाई त्याग्नुहुनेछ। यदि तँलाई विश्‍वास लाग्दैन भने कोसिस गरेर हेर्। आज म तँलाई अभ्यासको मार्गबारे स्पष्ट बताउँछु, तर यसलाई अभ्यास गर्ने कुरा तँमाथि निर्भर हुन्छ। यदि तँ यसमा विश्‍वास गर्दैनस् भने, यदि तैंले यो अभ्यास गर्दैनस् भने, पवित्र आत्माले तँभित्र काम गर्नुहुन्छ कि गर्नुहुन्न भन्‍ने तँ आफैले देख्नेछस्! यदि तँ परमेश्‍वरको ज्ञानको पछि लाग्दैनस् भने, पवित्र आत्माले तँभित्र काम गर्नुहुन्न। परमेश्‍वरले ती मानिसहरूमा काम गर्नुहुन्छ जसले उहाँका वचनहरू अनुसरण गर्छन् र तिनलाई सम्हालेर राख्छन्। तँ जति धेरै परमेश्‍वरका वचनहरू सम्हालेर राख्छस्, उहाँका पवित्र आत्माले त्यत्ति नै बढी तँभित्र काम गर्नुहुन्छ। कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू जति धेरै मनमा सम्हालेर राख्छ ऊ परमेश्‍वरद्वारा सिद्ध पारिने त्यति नै बढी सम्भावना हुन्छ। परमेश्‍वरले तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ जसले साँच्चै उहाँलाई प्रेम गर्छन्, र जसको हृदय उहाँको अघि शान्तिमा हुन्छ तिनीहरूलाई उहाँले सिद्ध पार्नुहुन्छ। परमेश्‍वरका सबै कामलाई कदर गर्न, परमेश्‍वरको ज्ञानलाई कदर गर्न, परमेश्‍वरको उपस्थितिलाई कदर गर्न, परमेश्‍वरको वास्ता र सुरक्षालाई कदर गर्न, परमेश्‍वरका वचनहरू कसरी तेरो निम्ति वास्तविकता बन्छ र तिनले तेरो जीवनका निम्ति कसरी प्रबन्ध गर्छ त्यसलाई कदर गर्न—यी सबै परमेश्‍वरको हृदयसित राम्ररी मेल खान्छ। यदि तँ परमेश्‍वरको कामको कदर गर्छस् भने, अर्थात्, यदि उहाँले तँमाथि गर्नुभएका सबै कामलाई कदर गर्छस् भने उहाँले तँलाई आशिष् दिनुहुनेछ र तँसित भएका सबै कुरालाई बढाउनुहुनेछ। यदि तँ परमेश्‍वरका वचनहरूको कदर गर्दैनस् भने, उहाँले तँमा काम गर्नुहुनेछैन, तर उहाँले तँलाई नगण्य अनुग्रह मात्र प्रदान गर्नुहुनेछ, वा तँलाई थोरै धन र तेरो परिवारलाई थोरै सुरक्षाले आशिष् दिनुहुनेछ। तैंले परमेश्‍वरका वचनहरूलाई तेरो वास्तविकता बनाउन प्रयास गर्नुपर्दछ, र उहाँलाई सन्तुष्ट पार्न र उहाँको आफ्नै हृदय अनुसारको हुन सक्नुपर्छ; तैंले उहाँको अनुग्रहको आनन्द लिने प्रयास मात्र गर्नुहुँदैन। विश्‍वासीहरूका लागि परमेश्‍वरको काम प्राप्त गर्नु, सिद्धता प्राप्त गर्नु, र परमेश्‍वरको इच्छाबमोजिम गर्नेहरू हुनुभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तँ यही लक्ष्यको पछि लाग्नुपर्छ।

अनुग्रहको युगमा मानिसले पछ्याउने सबै कुरा अहिले अप्रचलित भएका छन्, किनकि अहिलेको खोजीको स्तर उच्च छ; जुन कुरा खोजिन्छ त्यो अझ उच्च र अझ बढी व्यावहारिक दुवै छ। जुन कुरा खोजिन्छ त्यसले मानिसले भित्रबाट चाहेको कुरा राम्ररी पूरा गर्न सक्छ। विगतका युगहरूमा परमेश्‍वरले मानिसहरूमाथि त्यसरी काम गर्नुभएन जसरी आज उहाँले गर्नुहुन्छ; अनि आज उहाँ तिनीहरूसित जति धेरै बोल्नुहुन्छ त्यति त्यसबेला बोल्नुभएन, न त उहाँका मागहरू आजका जस्तै उच्च नै थिए। आज परमेश्‍वरले तिमीहरूलाई यी कुराहरू बताउनुभएको कुराले परमेश्‍वरको मूल अभिप्राय तिमीहरूमा, मानिसहरूको यो झुन्डमा केन्द्रित छ भन्‍ने देखाउँछ। यदि तँ साँच्चै परमेश्‍वरद्वारा सिद्ध हुन चाहन्छस् भने त्यसलाई आफ्नो मुख्य लक्ष्य बनाएर त्यसको पछि लाग्। तँ यताउति दगुरिरहेको, आफैलाई खर्च गरिरहेको, एउटा काम गरिरहेको वा तैंले परमेश्‍वरको आदेश पाएको भए पनि उद्देश्यचाहिँ सधैँ सिद्ध हुनु र परमेश्‍वरको इच्छा पूरा गर्नु, यी उद्देश्यहरूलाई हासिल गर्नु नै हो। यदि कसैले तिनीहरू परमेश्‍वरद्वारा सिद्ध हुन वा जीवनमा प्रवेश गर्न खोज्दैनन्, तर शरीरको शान्ति र आनन्दको पछि मात्र लाग्छन् भनी भन्छन् भने तिनीहरू मानिसहरूमध्ये सबैभन्दा बढी अन्धो हुन्। जुन मानिसहरू जीवनको वास्तविकताको पछि लाग्दैनन्, तर आउनेवाला संसारको अनन्त जीवनको र यस संसारमा सुरक्षाको पछि मात्र लाग्छन् तिनीहरू मानिसहरूमध्ये सबैभन्दा बढी अन्धो हुन्। यसैले, तैंले गर्ने सबै कुरा सिद्ध हुने र परमेश्‍वरद्वारा प्राप्त गरिने उद्देश्यले गर्नुपर्छ।

परमेश्‍वरले मानिसहरूका निम्ति प्रबन्ध गर्नलाई गर्नुहुने काम तिनीहरूका विभिन्न आवश्यकतामा आधारित हुन्छ। एक व्यक्तिको जीवन जति ठूलो हुन्छ, तिनीहरूको आवश्यकता त्यत्ति नै धेरै हुन्छ र तिनीहरू धेरै कुराको पछि लाग्छन्। यदि यस चरणमा तँ कुनै कुराको पछि लागेको छैनस् भने पवित्र आत्माले तँलाई छोड्नुभएको छ भन्ने त्यसले प्रमाण दिन्छ। जीवनको पछि लाग्नेहरू सबैलाई पवित्र आत्माले कहिल्यै पनि त्याग्नुहुन्न; त्यस्ता मानिसहरू सधैँ पछि लाग्छन् र तिनीहरूका हृदयमा सधैँ तृष्णा हुन्छ। त्यस्ता मानिसहरू आफूसँग वर्तमानमा जे छ ती कुनै पनि कुरामा सन्तुष्ट हुँदैनन्। पवित्र आत्माको कामको प्रत्येक चरणले तँमा प्रभाव पार्ने लक्ष्य राख्छ, तर यदि तँ सुस्त भइस् भने, यदि तँसित अब कुनै आवश्यकता छैन भने, यदि तँ पवित्र आत्माको कामलाई स्वीकार्दैनस् भने, उहाँले तँलाई त्याग्नुहुनेछ। मानिसहरूलाई हरेक दिन परमेश्‍वरको जाँचको आवश्यकता पर्छ; तिनीहरूलाई दिनदिनै परमेश्‍वरका प्रशस्त प्रबन्धहरूको आवश्यकता पर्छ। के मानिसहरूले दिनदिनै परमेश्‍वरको वचन नखाई र नपिई सफलतापूर्वक काम गर्न सक्छन्? यदि कुनै व्यक्तिले सधैँ परमेश्‍वरको वचन पर्याप्त मात्रामा खान वा पिउन सकिँदैन भन्‍ने ठान्छ भने, यदि तिनीहरू सधैँ यसको खोजी गर्छन् र यसका लागि भोकाउँछन् र तिर्खाउँछन् भने, पवित्र आत्माले सधैँ तिनीहरूमा काम गर्नुहुन्छ। कुनै व्यक्तिले जति धेरै तृष्णा गर्छ उनीहरूको सङ्गतिबाट उत्ति नै बढी व्यावहारिक कुराहरू बाहिर निस्कन्छन्। कसैले जति जोडदारसाथ सत्यताको खोजी गर्छ, तिनीहरूले उति नै चाँडो जीवनको वृद्धि प्राप्त गर्छन्, यसले तिनीहरूलाई अनुभवमा धनी र परमेश्‍वरको घरको धनी बासिन्दाहरू बनाउँछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्