आज परमेश्‍वरको कामलाई बुझ्‍नु

यी समयहरूमा परमेश्‍वरको काम बुझ्नु भनेको, सामान्यतया, आखिरी दिनहरूमा देहधारी परमेश्‍वरको मुख्य सेवकाइ के हो, र पृथ्वीमा उहाँ के गर्न आउनुभएको हो सो बुझ्नु हो। बिदा हुनु अघि पृथ्वीमा (आखिरी दिनहरूकोअवधिमा) एउटा उदाहरण प्रस्तुत गर्न परमेश्‍वर आउनुभएको हो भनेर मैले मेरा वचनहरूमा पहिले नै उल्लेख गरेको छु। परमेश्‍वरले कसरी यो उदाहरण प्रस्तुत गर्नुहुन्छ? वचनहरू बोलेर, र धरतीभरि नै काम गर्दै र बोल्दै उहाँले त्यसो गर्नुहुन्छ। आखिरी दिनहरूमा परमेश्‍वरको काम यही नै हो; पृथ्वीलाई वचनहरूको संसार बनाउन मात्र उहाँ बोल्नुहुन्छ, ताकि उहाँका वचनहरूद्वारा हरेक व्यक्तिलाई भरणपोषण र अन्तर्ज्ञान प्राप्त होस्, र ताकि मानिसको आत्मा ब्यूँझिओस् र उसले दर्शनहरूबारे स्पष्टता प्राप्त गरोस्। आखिरी दिनहरूमा, मुख्यतया वचनहरू बोल्‍नको लागि देहधारी परमेश्‍वर पृथ्वीमा आउनुभएको छ। जब येशू आउनुभयो, उहाँले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो, र उहाँले क्रूसीकरणको छुटकाराको काम पुरा गर्नुभयो। उहाँले व्यवस्थाको युगको अन्त्य गर्नुभयो र पुराना सबै उन्मूलन गर्नुभयो। येशूको आगमनले व्यवस्थाको युगको अन्त्य गर्यो र अनुग्रहको युग आरम्भ गर्यो; आखिरी दिनहरूका देहधारी परमेश्‍वरको आगमनले अनुग्रहको युगको अन्त्य गरेको छ। उहाँ मुख्य रूपमा आफ्‍ना वचनहरू बोल्न, मानिसलाई सिद्ध पार्नको लागि वचनहरूको प्रयोग गर्न, मानिसलाई ज्योति र अन्तर्ज्ञान दिन, र मानिसको हृदयभित्रको अस्पष्ट परमेश्‍वरको स्थानलाई हटाउन आउनुभएको हो। येशूले उहाँ आउँदा गर्नुभएको कामको चरण यो होइन। जब येशू आउनुभयो, उहाँले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो, उहाँले बिरामीलाई निको पार्नुभयो र भूतप्रेतहरुलाई निकाल्‍नुभयो, र उहाँले क्रूसीकरणको छुटकाराको काम गर्नुभयो। परिणामस्वरूप, मानिसहरूका धारणाहरूमा, परमेश्‍वर यस्तै हुनुपर्छ भन्ने तिनीहरूले विश्‍वास गरे। किनकि जब येशू आउनुभयो, उहाँले मानिसका हृदयबाट अस्पष्ट परमेश्‍वरको प्रतिरूप हटाउने काम गर्नुभएन; जब उहाँ आउनुभयो, उहाँ क्रूसमा टाँगिनुभयो, उहाँले बिरामीलाई निको पार्नुभयो र भूतप्रेतहरुलाई निकाल्‍नुभयो, र उहाँले स्वर्गको राज्यको सुसमाचार फैलाउनुभयो। एक हिसाबमा, आखिरी दिनहरूका परमेश्‍वरको देहधारणले मानिसका धारणाहरूमा अस्पष्ट परमेश्‍वरले ओगटेको ठाउँ हटाउनुहुन्छ, ताकि मानिसका हृदयमा अस्पष्ट परमेश्‍वरको प्रतिरूप नरहोस्। उहाँका यथार्थ वचनहरू र यथार्थ काम, सबै ठाउँहरूमा उहाँको गतिविधि, र उहाँले मानिसको बीचमा गर्नुहुने उल्‍लेखनीय रूपमा यथार्थ र सामान्य कामद्वारा, उहाँले मानिसलाई परमेश्‍वरको वास्तविकता बुझ्ने तुल्याउनुहुन्छ, र मानिसका हृदयमा अस्पष्ट परमेश्‍वरको स्थान हटाउनुहुन्छ। अर्को हिसाबमा, मानिसलाई पूर्ण पार्न, र सबै काम-कुराहरूलाई समाप्त पार्न परमेश्‍वरले उहाँको देहले बोलेका वचनहरू प्रयोग गर्नुहुन्छ। आखिरी दिनहरूमा परमेश्‍वरले समाप्त गर्नुहुने काम यही हो।

तिमीहरूले के थाहा पाउनैपर्छ:

१. परमेश्‍वरको काम अलौकिक छैन, र तिमीहरूले यसबारे मनमा धारणाहरू राख्नुहुँदैन।

२. यस पटक देहधारी परमेश्‍वरले गर्न आउनुभएको मुख्य काम तिमीहरूले बुझ्नैपर्छ।

उहाँ बिरामीलाई निको पार्न, वा भूतप्रेतहरूलाई निकाल्न वा आश्‍चर्यकर्महरू गर्न आउनुभएको होइन, र उहाँ पश्‍चात्तापको सुसमाचार प्रचार गर्न, वा मानिसलाई छुटकारा दिन आउनुभएको होइन। यसको कारण के हो भने येशूले यो काम पहिले नै गरिसक्नुभएको छ, र परमेश्‍वरले उही काम दोहोर्याउनुहुन्न। आज, परमेश्‍वर अनुग्रहको युगलाई अन्त्य गर्न र अनुग्रहको युगका सबै अभ्यासहरूलाई फाल्न आउनुभएको छ। उहाँ वास्तविक हुनुहुन्छ भन्ने देखाउन नै व्यवहारिक परमेश्‍वर मुख्य रूपमा आउनुभएको हो। जब येशू आउनुभयो, उहाँले थोरै वचनहरू बोल्नुभयो; उहाँले मुख्य रूपमा आश्‍चर्यकर्महरू प्रदर्शन गर्नुभयो, चिन्‍हहरू र अचम्‍मका कामहरू प्रस्तुत गर्नुभयो र बिरामीलाई निको पार्नुभयो र भूतप्रेतहरूलाई निकाल्नुभयो, वा अतिरिक्त उहाँले उहाँ साँच्चिकै परमेश्‍वर हुनुहुन्छ, र उहाँ निष्पक्ष परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा मानिसहरूलाई विश्‍वस्त तुल्याउन र सो उनीहरूलाई देखाउनको लागि उहाँले भविष्यवाणीहरू गर्नुभयो। आखिरमा, उहाँले क्रूसीकरणको काम पूरा गर्नुभयो। आजको परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्न, न त उहाँले बिरामीलाई निको पार्ने र दुष्ट आत्माहरूलाई निकाल्ने नै गर्नुहुन्छ। जब येशू आउनुभयो, उहाँले गर्नुभएको कामले परमेश्‍वरको एक भागलाई प्रतिनिधित्व गर्यो, तर यस पटक परमेश्‍वर त्यो चरणको काम गर्न आउनुभएको हो जुन गर्न बाँकी छ, किनकि परमेश्‍वरले एउटै काम दोहोर्याउनुहुन्न; उहाँ सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ, र त्यसैले तिमीले आज जे जति देख्छौ त्यो व्यावहारिक परमेश्‍वरका वचनहरू र काम हुन्।

आखिरी दिनहरूका देहधारी परमेश्‍वर मुख्य रूपमा उहाँका वचनहरू बोल्न, मानिसको जीवनलाई जे आवश्यक छ त्यो सबै व्याख्या गर्न, मानिसले कुन कुरामा प्रवेश गर्नुपर्ने हो त्यो औँल्याउन, मानिसलाई परमेश्‍वरका कामहरू देखाउन, र मानिसलाई परमेश्‍वरको बुद्धि, सर्वशक्ति, र विलक्षणता देखाउन आउनुभएको हो। परमेश्‍वरले बोल्ने धेरै तरिकाहरूद्वारा मानिसले परमेश्‍वरको सर्वोच्चता, परमेश्‍वरको विशालता र, अझ बढी परमेश्‍वरको विनम्रता र गुप्तता देख्छ। परमेश्‍वर सर्वोच्‍च हुनुहुन्छ, तर उहाँ विनम्र र गुप्त हुनुहुन्छ, र सबैभन्दा सानो बन्न सक्नुहुन्छ भन्‍ने मानिसले देख्‍न सक्छ। उहाँका केही वचनहरू सीधै आत्माको परिप्रेक्ष्यबाट, केही सीधै मानिसको परिप्रेक्ष्यबाट, र केही तृतीय पुरुषको परिप्रेक्ष्यबाट बोलिएका छन्। यसमा, परमेश्‍वरका कामको तरिका अत्याधिक रूपमा फरक हुन्छन्, र वचनहरूद्वारा नै उहाँले मानिसलाई यो देख्‍ने तुल्याउनुहुन्छ। आखिरी दिनहरूमा परमेश्‍वरको काम सामान्य र वास्तविक दुवै छ, र त्यसैले आखिरी दिनहरूमा मानिसहरूको समूह सबैभन्दा ठूलो परीक्षामा पर्छन्। परमेश्‍वरको सामान्यता र वास्तविकताले गर्दा, सबै मानिसहरू यस्ता परीक्षाहरूको बीचमा प्रवेश गरेका छन्; परमेश्‍वरका परीक्षाहरूमा मानिस पर्नुको कारण परमेश्‍वरको सामान्यता र वास्तविकता नै हो। येशूको युगमा, कुनै धारणाहरू वा परीक्षाहरू थिएनन्। येशूले गर्नुभएका अधिकांश काम मानिसका धारणाहरूसँग मेल खान्थे, त्यसैले मानिसहरूले उहाँलाई पछ्याए, र उहाँबारे उनीहरूसँग कुनै धारणाहरू थिएन। आजका परीक्षाहरू मानिसले सामना गरेका मध्येकै सबैभन्दा ठूलो हो, र जब यी मानिसहरू महासंकष्टबाट निस्किएका छन् भनेर भनिन्छ, चर्चा गरिएको संकष्ट यही नै हो। आज, यी मानिसहरूमा विश्‍वास, प्रेम, कष्ट स्वीकार, र आज्ञापालन पैदा गर्न परमेश्‍वर बोल्नुहुन्छ। आखिरी दिनहरूका देहधारी परमेश्‍वरले बोल्‍नुभएका वचनहरू मानिसको प्रकृति र सार, मानिसको आचरण, र मानिस आज कुन कुरामा प्रवेश गर्नुपर्ने हो त्यही अनुरूप छन्। उहाँका वचनहरू वास्तविक र सामान्य दुवै छन्: उहाँले भोलीको कुरा गर्नुहुन्न, न त उहाँ हिजोलाई नै फर्किएर हेर्नुहुन्छ; उहाँले आज जे कुरामा प्रवेश गर्नुपर्ने हो, जुन कुरा व्यवहारमा लागू गर्नुपर्ने हो, र बुझ्नु पर्ने हो त्यसको मात्र कुरा गर्नुहुन्छ। यदि, वर्तमान दिनका दौरान, चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू निकाल्न, बिरामीलाई निको पार्न, र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुनु छ भने, र यदि आएकाहरू येशू हुनुहुन्छ भन्ने यो व्यक्तिले दाबी गर्छ भने, यो येशूलाई नक्कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्याउनुहुन्न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्पर विरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथियो। येशू एक पटक पहिले नै आइसक्नु भएकाले, यदि येशू यो पटक फेरि आउनुभयो भने, यो गलत हुनेथियो। प्रत्येक युगको लागि एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूमा, परमेश्‍वरले सँधै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सँधै बिरामीलाई निको पार्नुपर्छ र भूतप्रेतलाई निकाल्नुपर्छ, र सधैँ येशू जस्तै हुनुपर्छ। तर पनि यस पटक, परमेश्‍वर यस्तो हुनुहुन्न। यदि, आखिरी दिनहरूमा, अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभयो भने, र अझ पनि भूतप्रेतहरूलाई निकाल्नुभयो र बिरामीलाई निको पार्नुभयो भने—यदि उहाँले येशूले गर्नुभए जस्तै ठ्याक्कै गर्नुभयो भने—परमेश्‍वरले उही काम दोहोर्याउनुभएको हुनेथियो, र येशूका कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई दुष्ट आत्माहरूले चाँडै नै नक्कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरीका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ। किन आज परमेश्‍वरको काम येशूको कामभन्दा फरक छ? किन परमेश्‍वरले आज चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्न, भूतप्रेतहरूलाई निकाल्नुहुन्न, र बिरामीलाई निको पार्नुहुन्न? यदि येशूको काम व्यवस्थाको युगमा गरिएका काम जस्तै थिए भने, के उहाँले अनुग्रहको युगको परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्नुहुन्थ्यो? के उहाँले क्रूसीकरणको काम पूरा गर्न सक्नुहुन्थ्यो? यदि, व्यवस्थाको युगमा जस्तै, येशू मन्दिरमा प्रवेश गर्नुभएको र शबाथको दिन पालन गर्नुभएको थियो भने, उहाँलाई कसैले पनि खेदो गर्ने थिएनन् होला र उहाँलाई सबैले अँगाल्ने थिए होलान्। यदि यसो हुँदो त, के उहाँ क्रूसमा टाँगिइन सक्नुहुन्थ्यो? के उहाँले छुटकाराको काम पूरा गर्न सक्नुहुन्थ्यो? यदि आखिरी दिनहरूका देहधारी परमेश्‍वरले पनि येशूले गर्नुभए जस्तै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, यसको के अर्थ हुन्थ्यो? यदि परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको व्यवस्थापन योजनाको भागलाई प्रतिनिधित्व गर्ने उहाँको कामको अर्को भाग गर्ने काम गर्नुहुन्छ भने मात्र, मानिसले परमेश्‍वरको गहिरो ज्ञान प्राप्त गर्न सक्छ, र त्यसपछि मात्र परमेश्‍वरको व्यवस्थापनको योजना पूरा हुन सक्छ।

आखिरी दिनहरूमा, मुख्य रूपमा आफ्‍ना वचनहरू बोल्न नै परमेश्‍वर आउनुभएको हो। उहाँ आत्माको परिप्रेक्ष्यबाट, मानिसको परिप्रेक्ष्यबाट, र तृतीय पुरुषको परिप्रेक्ष्यबाट बोल्नुहुन्छ; एक समयावधिको लागि एउटा तरीका प्रयोग गर्दै उहाँ फरक-फरक तरिकाले बोल्नुहुन्छ, र उहाँले मानिसका धारणाहरू परिवर्तन गर्न र मानिसका हृदयबाट अस्पष्ट परमेश्‍वरको प्रतिरूप हटाउन बोल्ने त्यो तरिकाको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरद्वारा गरिएको मुख्य काम यही हो। परमेश्‍वर बिरामीलाई निको पार्न, भूतप्रेतहरूलाई निकाल्न, आश्‍चर्यकर्महरू प्रस्तुत गर्न, र मानिसमा भौतिक वरदानहरू प्रदान गर्न आउनुभएको हो भन्‍ने मानिसले विश्‍वास गर्ने भएकाले, मानिसका धारणाहरूबाट यस्ता कुराहरू हटाउन परमेश्‍वरले यो चरणको काम—सजाय र न्यायको काम—कार्यान्वयन गर्नुहुन्छ ताकि मानिसले परमेश्‍वरको वास्तविकता र सामान्यता थाहा पाउन सकून्, र ताकि उसको हृदयबाट येशूको प्रतिरूप हटोस् र त्यसको सट्टा परमेश्‍वरको नयाँ प्रतिरूप स्थापित होस्। मानिसभित्रको परमेश्‍वरको प्रतिरूप पुरानो हुनासाथ, यो मूर्ति बन्छ। जब येशू आउनुभयो र त्यो चरणको काम कार्यान्वयन गर्नुभयो, उहाँले परमेश्‍वरको सम्पूर्णतालाई प्रतिनिधित्व गर्नुभएन। उहाँले केही चिन्‍हहरू र अचम्‍मका कामहरू प्रस्तुत गर्नुभयो, केही वचनहरू बोल्नुभयो, र अन्त्यमा क्रूसमा टाँगिनुभयो। उहाँले परमेश्‍वरको एक भागको प्रतिनिधित्व गर्नुभयो। उहाँले परमेश्‍वरको जे जति छ त्यो सबै प्रतिनिधित्व गर्न सक्नुभएन, तर उहाँले परमेश्‍वरको कामको एक भाग गर्दै परमेश्‍वरको प्रतिनिधित्व गर्नुभयो। यसको कारण हो परमेश्‍वर अति महान् र अति आश्‍चर्यजनक हुनुहुन्छ, र उहाँ बुझ्न नसकिने हुनुहुन्छ, र किनभने परमेश्‍वरले हरेक युगमा उहाँको कामको एक भाग मात्र गर्नुहुन्छ। यो युगको दौरान परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपमा मानिसको जीवनको लागि वचनहरूको प्रावधान; मानव प्रकृति र सार, र उसको भ्रष्ट स्वभावको पर्दाफास; र धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, र मानिसका ज्ञान र संस्कृतिको बहिस्कार गर्नु हो। परमेश्‍वरका वचनहरूद्वारा पर्दाफास गरेर यी कुराहरू सबैलाई सफा पारिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्‍हहरू र अचम्‍मका कामहरू होइन। उहाँले मानिसलाई खुलासा गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ ताकि परमेश्‍वरका वचनहरूमा, मानिसले परमेश्‍वरको बुद्धि र प्रेमिलो स्वभाव देख्‍न र परमेश्‍वरको स्वभाव बुझ्न सकोस्, र ताकि परमेश्‍वरका वचनहरूद्वारा, मानिसले परमेश्‍वरका कामहरू देखोस्। व्यवस्थाको युगको दौरान, यहोवाले मोशालाई आफ्‍ना वचनहरूद्वारा मिश्रबाट बाहिर निकाल्‍नुभयो, र इस्राएलीहरूलाई केही वचनहरू बोल्नुभयो; त्यो समयमा, परमेश्‍वरका कामहरूका भाग साधारण बनाइएका थिए, तर मानिसको क्षमता सीमित भएकाले र कुनै कुराले पनि उसको ज्ञानलाई पूर्ण बनाउन नसक्ने भएकाले, परमेश्‍वरले बोल्न र काम गर्न जारी राख्नुभयो। अनुग्रहको युगमा, मानिसले एकपटक फेरि परमेश्‍वरका कामहरूको भाग देख्यो। येशू चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउन, बिरामीलाई निको पार्न र भूतप्रेतहरूलाई निकाल्न, र क्रूसमा टाँगिन सक्षम हुनुभयो, जसको तीन दिनपछि उहाँ पुनर्जीवित हुनुभयो र मानिसको अगाडि शरीरमा प्रकट हुनुभयो। मानिसले परमेश्‍वरको बारेमा योभन्दा बढी थाहा पाएन। परमेश्‍वरले उसलाई जति देखाउनुहुन्छ मानिसले त्यति नै थाहा पाउँछ, र यदि परमेश्‍वरले मानिसलाई केही पनि नदेखाउने हो भने, परमेश्‍वरबारे मानिसको सीमा निर्धारण त्यति नै हुनेथियो। त्यसैले, परमेश्‍वरले काम गर्न जारी राख्नुहुन्छ ताकि उहाँ बारेको मानिसको ज्ञान गहिरो बनोस्, र मानिसले परमेश्‍वरको सार-तत्व बिस्तारै बुझ्न सकोस्। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्नको लागि परमेश्‍वरले आफ्‍ना वचनहरूको प्रयोग गर्नुहुन्छ। तेरो भ्रष्ट स्वभावलाई परमेश्‍वरका वचनहरूले उदाङ्गो पार्छ, र तेरा धार्मिक धारणाहरू परमेश्‍वरको वास्तविकताद्वारा प्रतिस्थापित हुन्छन्। आखिरी दिनहरूको देहधारी परमेश्‍वर मुख्य रूपमा “वचन शरीर बन्‍नुहुन्छ, वचन शरीरमा आउनुहुन्छ, र वचन शरीरमा देखा पर्नुहुन्छ” भन्ने वचनहरू पूरा गर्न आउनुभएको हो, र यदि तँलाई यसको विस्तृत ज्ञान छैन भने, तँ दृढ रहन सक्‍नेछैनस्। आखिरी दिनहरूमा, परमेश्‍वरले मुख्य रूपमा त्यो चरणको काम समाप्त पार्ने अभिप्राय राख्नुहुन्छ जसमा वचन शरीरमा देखा पर्नुहुन्छ, र यो परमेश्‍वरको व्यवस्थापन योजनाको एउटा भाग हो। त्यसैले, तिमीहरूको ज्ञान प्रस्ट हुनैपर्छ; परमेश्‍वरले जसरी काम गर्नुभए पनि उहाँलाई सीमित गर्न परमेश्‍वरले मानिसलाई अनुमति दिनुहुन्‍न। आखिरी दिनहरूका दौरान परमेश्‍वरले यो काम नगर्नुभएको भए, उहाँबारे मानिसको ज्ञान अगाडि जान सक्नेथिएन। परमेश्‍वर क्रूसमा टाँगिन सक्नुहुन्छ र सदोमलाई विनाश गर्न सक्नुहुन्छ, र येशू मरेकाहरूबाट जीवित उठ्न सक्नुहुन्छ र पत्रुसका सामु प्रकट हुन सक्नुहुन्छ भन्‍ने मात्रै तैँले जान्‍नेथिइस्…। तर परमेश्‍वरका वचनहरूले सबै पूरा गर्न सक्छ, र मानिसलाई जित्न सक्छ भनेर तैँले भन्‍ने थिइनस्। परमेश्‍वरका वचनहरूको अनुभवबाट मात्र तैँले यस्ता ज्ञानका कुरा बोल्‍न सक्छस्, र तैँले परमेश्‍वरको काम जति बढी अनुभव गर्छस्, उहाँको बारेमा तेरो ज्ञान उत्ति नै बढी विस्तृत हुनेछ। त्यसपछि मात्र तैँले आफ्ना धारणाहरूभित्र परमेश्‍वरलाई सीमित गर्न छोड्नेछस्। मानिसले परमेश्‍वरलाई उहाँका कामलाई अनुभव गरेर जान्दछ; परमेश्‍वरलाई बुझ्ने अर्को कुनै सही मार्गछैन। आज, केही नगर्ने तर चिन्‍हहरू र अचम्‍मका कामहरू र घोर विपत्तिहरू हेर्नलाई प्रतीक्षा गर्ने मानिसहरू धेरै छन्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस् कि घोर विपत्तिहरूमा विश्‍वास गर्छस्? जब घोर विपत्तिहरू आउँछ तब ढिलो भइसकेको हुनेछ, र यदि परमेश्‍वरले घोर विपत्तिहरू पठाउनुभएन भने, के उहाँ परमेश्‍वर हुनुहुन्‍न र? तँ चिन्‍हहरू र अचम्‍मका कामहरूमा विश्‍वास गर्छस् कि परमेश्‍वर स्वयमलाई विश्‍वास गर्छस्? अरूले गिल्‍ला गर्दा येशूले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएन, तर के उहाँ परमेश्‍वर हुनुहुन्नथ्यो? तँ चिन्‍हहरू र अचम्‍मका कामहरूमा विश्‍वास गर्छस् कि परमेश्‍वरको सार-तत्वमा विश्‍वास गर्छस्? परमेश्‍वरमाथिको विश्‍वास बारे मानिसका दृष्टिकोणहरू गलत छन्! व्यवस्थाको युगको दौरान यहोवाले धेरै वचनहरू बोल्नुभयो, तर आजसम्म पनि त्यसमध्ये केही पूरा गर्न बाँकी नै छ। के तँ यहोवा परमेश्‍वर हुनुहुन्नथ्यो भनेर भन्‍न सक्छस्?

आज, तिमीहरू सबैलाई यो कुरा प्रस्ट हुन जरुरी छ कि, आखिरी दिनहरूमा, परमेश्‍वरले पूरा गर्नुहुने मुख्य कुरा “वचन देह बन्‍नुहुन्छ” भन्‍ने तथ्य नै हो। पृथ्वीमा उहाँका यथार्थ कामद्वारा, उहाँले मानिसलाई उहाँलाई चिन्ने र उहाँसँग संलग्‍न हुने, र उहाँका यथार्थ कामहरू हेर्ने तुल्याउनुहुन्छ। उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न सक्‍नुहुन्छ र उहाँले त्यसो गर्न नसक्‍ने समयहरू पनि हुन्छन् भन्‍ने कुरा मानिसलाई स्पष्ट रूपमा देखाउनुहुन्छ; यो युगमा नै भर पर्छ। यसबाट, तैँले देख्न सक्छस्, परमेश्‍वर चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न असक्षम हुनुहुन्न, बरु गर्नुपर्ने कामअनुसार र युगअनुसार उहाँले आफ्‍नो काम गर्ने तरीका परिवर्तन गर्नुहुन्छ। कामको विद्यमान चरणमा, उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्न; उहाँले येशूको युगमा केही चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउनुभयो किनभने त्यो युगमा उहाँको काम फरक थियो। परमेश्‍वरले आज त्यो काम गर्नुहुन्न, र केही मानिसहरू उहाँलाई चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न असक्षम हुनुहुन्छ भन्‍ने ठान्छन्, वा अन्यथा उनीहरू सोच्छन्, यदि उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्‍न भने, उहाँ परमेश्‍वर हुनुहुन्‍न। के यो गलत कुरा होइन? परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न सक्‍नुहुन्छ, तर उहाँले फरक युगमा काम गरिरहनुभएको हुनाले, उहाँ यस्ता काम गर्नुहुन्न। यो फरक युग हो, र यो परमेश्‍वरको कामको फरक चरण हो, त्यसकारण परमेश्‍वरले सरल बनाउनुभएका कामहरू पनि फरक नै छन्। परमेश्‍वरमाथिको मानिसको विश्‍वास चिन्‍हहरू र अचम्‍मका कामहरूमाथिको विश्‍वास होइन, न त यो आश्‍चर्यकर्महरूमाथिको विश्‍वास नै हो, तर नयाँ युगको दौरान उहाँले गर्नुहुने वास्तविक काममाथिको विश्‍वास हो। परमेश्‍वरले काम गर्ने तरिकाद्वारा परमेश्‍वरलाई मानिसले बुझ्छ, र यो ज्ञानले मानिसमा परमेश्‍वरमाथिको विश्‍वास सिर्जना गर्छ, त्यो भनेको, परमेश्‍वरको काममा र कर्महरूमा विश्‍वास। कामको यो चरणमा, परमेश्‍वर मुख्य रूपमा बोल्नुहुन्छ। चिन्‍हहरू र अचम्‍मका कामहरू हेर्ने प्रतीक्षा नगर्; तैँले कुनै त्यस्तो काम देख्‍नेछैनस्! किनभने तँ अनुग्रहको युगमा जन्‍मेको थिइनस्। यदि तँ जन्‍मेको थिइस् भने, तैँले चिन्‍हहरू रआश्‍चर्यकर्महरू देख्न सक्थिस्, तर तँ आखिरी दिनहरूका समयमा जन्‍मेको थिइस्, त्यसैले तैँले परमेश्‍वरको वास्तविकता र सामान्यता मात्र देख्न सक्छस्। आखिरी दिनहरूमा अलौकिक येशूलाई हेर्ने अपेक्षा नगर्। तैँले व्यावहारिक देहधारी परमेश्‍वरलाई मात्रै देख्‍नेछस्, जो कुनै सामान्य मानवजातिभन्दा फरक हुनुहुन्न। हरेक युगमा, विभिन्न कार्यहरूलाई परमेश्‍वरले स्पष्ट गर्नुहुन्छ। हरेक युगमा, परमेश्‍वरले फरक-फरक कार्यहरूका भागलाई स्पष्ट गर्नुहुन्छ, र हरेक युगको कामले परमेश्‍वरको स्वभावको एउटा भाग, र परमेश्‍वरको कार्यहरूको एउटा भागलाई प्रतिनिधित्व गर्छ। उहाँले स्पष्ट गर्नुहुने कार्यहरू उहाँ जुन युगमा काम गर्नुहुन्छ त्यो युगसित भिन्न हुन्छ, तर तिनीहरू सबैले मानिसलाई परमेश्‍वरको गहन ज्ञान दिन्छन्, परमेश्‍वरमाथिको सत्य र नम्र विश्‍वास दिन्छन्। परमेश्‍वरका सबै कार्यहरूका कारणले, परमेश्‍वर अत्यन्तै अचम्‍मका, अत्यन्तै महान् हुनुभएको कारणले, उहाँ सर्वशक्तिमान् र बुझ्न नसकिने हुनुहुन्छ त्यस कारणले मानिसले परमेश्‍वरमा विश्‍वास गर्छ। परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रस्तुत गर्न सक्नुहुन्छ, बिरामीलाई निको पार्न र भूतप्रेतहरूलाई निकाल्न सक्नुहुन्छ भनेर यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तेरो दृष्टिकोण गलत छ, र कतिपय मानिसहरूले तँलाई भन्‍नेछन्, “के दुष्ट आत्माहरूले पनि यस्ता कामहरू गर्न सक्दैनन् र?” के यसले परमेश्‍वरको प्रतिरूपलाई शैतानको प्रतिरूपसँग अन्योलमा पार्ने काम गर्दैन? आज, परमेश्‍वरमा मानिसको विश्‍वासको कारण उहाँका धेरै कार्यहरू र उहाँले गर्ने कामको ठूलो मात्रा र उहाँले बोल्ने धेरै तरिकाहरू नै हुन्। मानिसलाई विजय गर्न र उसलाई सिद्ध पार्न परमेश्‍वरले आफ्‍ना वाणीहरूको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका धेरै कार्यहरूको कारणले मानिसले परमेश्‍वरमा विश्‍वास गर्छ, उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउन सक्‍नुहुन्छ भनेर होइन; उहाँका कार्यहरू देखेर मात्रै मानिसहरूले उहाँलाई बुझ्न सक्छन्। परमेश्‍वरका यथार्थ कार्यहरू, उहाँले कसरी काम गर्नुहुन्छ, उहाँले कस्ता बुद्धिमानी तरिकाहरू उहाँ प्रयोग गर्नुहुन्छ, उहाँले कसरी बोल्नुहुन्छ, र उहाँले कसरी मानिसलाई सिद्ध पार्नुहुन्छ ती जानेर मात्रै—यी पक्षहरू जानेर मात्रै—तैँले परमेश्‍वरको वास्तविकतालाई बुझ्‍न र उहाँको स्वभाव बुझ्न सक्छस्, उहाँले के मन पराउनुहुन्छ, उहाँले के कुरालाई घृणा गर्नुहुन्छ, र मानिसमा उहाँले कसरी काम गर्नुहुन्छ त्यो बुझेर मात्र। परमेश्‍वरका मन पर्ने र नपर्ने कुराहरूलाई बुझेर, तैँले कुन सकारात्मक हो र कुन नकारात्मक हो त्यसलाई छुट्ट्याउन सक्छस्, र परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञानद्वारा तेरो जीवनमा प्रगति हुन्छ। संक्षेपमा, तैँले परमेश्‍वरको कामको ज्ञान प्राप्त गर्नैपर्छ, र परमेश्‍वरमा विश्‍वास गर्नेबारे तेरा दृष्टिकोणहरूलाई सोझो तुल्याउनुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्