व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ

तैँले व्यावहारिक परमेश्‍वरको विषयमा के थाहा पाउनुपर्छ? आत्मा, व्यक्ति, र वचन मिलेर व्यावहारिक परमेश्‍वर स्वयम्‌ निर्मित हुनुभएको छ, र व्यावहारिक परमेश्‍वर स्वयम्‌को वास्तविक अर्थ यही हो। यदि तैँले व्यक्तिलाई मात्र चिन्छस्‌—यदि तैँले उहाँका आनीबानी र व्यक्तित्वलाई मात्र चिन्छस्‌—तर आत्माको कामलाई चिन्दैनस्‌, वा आत्माले देहमा के गर्नुहुन्छ भन्‍ने कुरा तँलाई थाहा छैन भने, र यदि तैँले आत्मा र वचनलाई मात्र ध्यान दिन्छस्‌, र आत्माको अगाडि मात्र प्रार्थना गर्छस्‌, तर व्यावहारिक परमेश्‍वरको रूपमा परमेश्‍वरको आत्माको कामको बारेमा तँलाई थाहा छैन भने, तैँले व्यावहारिक परमेश्‍वरलाई चिन्दैनस्‌ भनी यसले प्रमाणित गर्छ। व्यावहारिक परमेश्‍वरको ज्ञानमा उहाँका वचनहरूको बारेमा थाहा पाउने र अनुभव गर्ने, र पवित्र आत्माको कामका नियम र सिद्धान्तहरू र परमेश्‍वरको आत्माले देहमा कसरी काम गर्नुहुन्छ भनी थाहा पाउनुपर्ने कुराहरू संलग्न हुन्छन्‌। देहमा हुने परमेश्‍वरको हरेक कार्य आत्माद्वारा नियन्त्रित हुन्छ, र उहाँले बोल्‍नुभएका वचनहरू आत्माका प्रत्यक्ष अभिव्यक्तिहरू हुन् भनी थाहा पाउनुपर्ने कुराहरू पनि यसमा संलग्न हुन्छन्। त्यसैले, व्यावहारिक परमेश्‍वरलाई चिन्‍नको लागि परमेश्‍वरले मानवता र ईश्‍वरत्वमा कसरी काम गर्नुहुन्छ भनी थाहा पाउनु अति महत्त्वपूर्ण हुन्छ; यसो भएको हुँदा, यसले सबै मानिसहरू सहभागी हुने आत्माको अभिव्यक्तिहरूमा सरोकार राख्छ।

आत्माको अभिव्यक्तिका पक्षहरू के-के हुन्? कहिलेकहीँ परमेश्‍वर मानवतामा काम गर्नुहुन्छ, र कहिलेकहीँ ईश्‍वरत्वमा—तर यी दुवै सन्दर्भमा आत्माको नियन्त्रण हुन्छ। मानिसहरूभित्र जस्तो आत्मा हुन्छ, त्यस्तै तिनीहरूको बाह्य अभिव्यक्ति हुन्छ। आत्माले सामान्य तरिकाले काम गर्नुहुन्छ, तर आत्माद्वारा गरिने उहाँको निर्देशनमा दुई भागहरू छन्: एउटा भाग मानवतामा हुने उहाँको काम हो र अर्को भाग ईश्‍वरत्वद्वारा हुने उहाँको काम हो। तैँले यो कुरा स्पष्‍टसँग थाहा पाउनुपर्छ। आत्माको काम परिस्थितिअनुसार फरक हुन्छ: जब उहाँको मानवीय कामको आवश्यकता पर्छ, तब आत्माले यो मानवीय कामलाई निर्देशित गर्नुहुन्छ, र जब उहाँको ईश्‍वरीय कामको आवश्‍यकता पर्छ, तब त्यो कामलाई कार्यान्वयन गर्न ईश्‍वरत्व सोझै देखा पर्छ। परमेश्‍वरले देहमा काम गर्नुहुने र उहाँ देहमा देखा पर्नुहुने हुँदा, उहाँले मानवता र ईश्‍वरत्व दुवैमा सीधै काम गर्नुहुन्छ। मानवतामा हुने उहाँको कामलाई आत्माद्वारा निर्देशित गरिन्छ र मानिसहरूका शारीरिक आवश्यकताहरूलाई सन्तुष्ट‍ पार्न, उहाँसँग तिनीहरूको सहभागिता सहजीकरण गर्न, र तिनीहरूलाई परमेश्‍वरको वास्तविकता र सामान्यता हेर्न लगाउन, र तिनीहरूलाई परमेश्‍वरका आत्मा देहमा आउनुभएको छ र मानिसहरूको माझमा हुनुहुन्छ, मानिससँग सँगै बास गर्नुभएको छ, र मानिससँग सहभागी हुनुभएको छ भनी देखाउन गरिन्छ। ईश्‍वरत्वमा हुने उहाँको काम, मानिसहरूका स्वभावहरू परिवर्तन गर्दै र तिनीहरूलाई देहमा आत्माको स्वरूप साँचो रूपले हेर्न दिँदै, मानिसहरूको जीवनको लागि प्रबन्ध गर्न र मानिसहरूलाई हरेक कुरामा सकारात्मक पक्षबाट मार्गदर्शन दिन गरिन्छ। मुख्यगरी, मानिसको जीवनमा हुने वृद्धि प्रत्यक्ष रूपमा परमेश्‍वरको काम र ईश्‍वरत्वमा हुने वचनहरूद्वारा प्राप्त‍ गरिएको हुन्छ। यदि मानिसहरूले ईश्‍वरत्वमा हुने परमेश्‍वरको कामलाई स्वीकार गर्छन् भने मात्र तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्छन्, र तब मात्र तिनीहरू आफ्ना आत्मामा सन्तुष्ट हुन सक्‍छन्; यसअतिरिक्त, यदि मानवतामा हुने काम—मानवतामा हुने परमेश्‍वरको गोठालो-कार्य, सहायता, र प्रबन्ध—छ भने मात्र, परमेश्‍वरको कामका प्रतिफलहरू पूर्ण रूपमा प्राप्त‍ गर्न सकिन्छ। आज चर्चा गरिएका व्यावहारिक परमेश्‍वर स्वयम्‌ले मानवता र ईश्‍वरत्व दुवैमा काम गर्नुहुन्छ। व्यावहारिक परमेश्‍वरको स्वरूपद्वारा उहाँको सामान्य मानवीय काम र जीवन र उहाँको पूर्ण ईश्‍वरीय काम प्राप्त‍ गरिन्छन्। उहाँको मानवता र ईश्‍वरत्व एकै गरी गाभिएका छन्‌, दुवैका काम वचनहरूद्वारा सम्पन्न‍ गरिन्छ; चाहे मानवतामा होस्‌ वा ईश्‍वरत्वमा होस, उहाँले वचनहरू उच्‍चारण गर्नुहुन्छ। जब परमेश्‍वरले मानवतामा काम गर्नुहुन्छ, तब उहाँले मानवताको भाषा बोल्‍नुहुन्छ, ताकि मानिसहरू सहभागी हुन सकून्‌ र उनीहरूले बुझ्‍न सकून्। उहाँका वचनहरू सरल रूपमा बोलिएका हुन्छन् र बुझ्‍न सजिलो हुन्छ, यतिसम्म कि ती सबै मानिसहरूलाई प्रदान गर्न सकिन्छ; चाहे मानिसहरू ज्ञानले भरिएका होऊन् वा कम शिक्षित होऊन्, तिनीहरू सबै जनाले परमेश्‍वरका वचनहरू प्राप्त‍ गर्न सक्छन्। ईश्‍वरत्वमा हुने परमेश्‍वरका काम पनि वचनहरूद्वारा कार्यान्वयन गरिन्छ, तर यो प्रबन्धले भरिएको हुन्छ, यो जीवनले भरिएको हुन्छ, यो मानिसका विचारहरूद्वारा दूषित भएको हुँदैन, यसमा मानवीय प्राथमिकताहरू समावेश भएका हुँदैनन्‌, र यसमा मानवीय सीमाहरू हुँदैनन्‌, यो सामान्य मानवताको अधीनभन्दा बाहिर छ; यो देहमा कार्यान्वयन गरिएको हुन्छ, तर यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो। यदि मानिसहरूले मानवतामा हुने परमेश्‍वरको कामलाई मात्र स्वीकार गर्छन् भने, तिनीहरूले आफैलाई एक निश्‍चित क्षेत्रमा सीमित गर्नेछन्, र तिनीहरूमा अलिकति परिवर्तन ल्याउन पनि निरन्तर निराकरण, काँटछाँट र अनुशासनको आवश्यकता पर्नेछ। पवित्र आत्माको काम वा उपस्थितिविना त तिनीहरू सधैँ आफ्ना पुराना मार्गहरूमा फर्कनेछन्‌; ईश्‍वरत्वको कामद्वारा मात्र यी गम्भीर समस्याहरू र कमजोरीहरूलाई सुधार्न सकिन्छ, र तब मात्र मानिसहरूलाई पूर्ण बनाउन सकिन्छ। दीर्घकालीन निराकरण र काँटछाँटको सट्टामा, चाहिने आवश्यक कुरा भनेको सबै कमी-कमजोरीहरू सुधार्न वचनहरूको प्रयोग गर्दै, मानिसको प्रत्येक स्थिति प्रकट गर्न वचनहरूको प्रयोग गर्दै, तिनीहरूको जीवन, तिनीहरूको प्रत्येक उच्‍चारण, तिनीहरूको प्रत्येक कार्यलाई मार्गदर्शन दिन, र तिनीहरूका अभिप्राय र उत्प्रेरणाहरूलाई उदाङ्गो पार्न वचनहरूको प्रयोग गर्दै गरिने सकारात्मक प्रबन्ध नै हो। यो व्यावहारिक परमेश्‍वरको वास्तविक काम हो। त्यसैले, व्यावहारिक परमेश्‍वरप्रति तेरो मनोवृत्तिमा तैँले उहाँलाई पहिचान र स्वीकार गर्दै तत्कालै आफैलाई उहाँको मानवताको सामु समर्पित गर्नुपर्छ, र यसअतिरिक्त तैँले उहाँका ईश्‍वरीय काम र वचनहरू ग्रहण र पालन गर्नुपर्छ। देहमा परमेश्‍वर देखा पर्नुको अर्थ परमेश्‍वरका आत्माका सबै काम र वचनहरू उहाँको सामान्य मानवताद्वारा र उहाँको देहधारी देहद्वारा सम्पन्न‍ गरिएका हुन्छन् भन्‍ने हुन्छ। अर्को शब्दमा, परमेश्‍वरको आत्माले तत्कालै उहाँको मानवीय कामलाई निर्देशित गर्नुहुन्छ र देहमा ईश्‍वरत्वको काम सम्पन्न‍ गर्नुहुन्छ, र देहधारी परमेश्‍वरमा तैँले मानवतामा हुने परमेश्‍वरको काम र उहाँको पूर्ण ईश्‍वरीय काम दुवै देख्‍न सक्छस्‌। यही नै व्यावहारिक परमेश्‍वरको दैहिक स्वरूपको वास्तविक महत्त्व हो। यदि तैँले यो कुरा स्पष्‍टसँग देख्‍न सक्छस्‌ भने, तैँले परमेश्‍वरका सबै फरक भागहरूलाई जोड्न सक्षम हुनेछस्‌; तैँले ईश्‍वरत्वमा हुने उहाँको काममाथि अनावश्यक महत्त्व दिन छोड्नेछस्‌, र तैँले मानवतामा हुने उहाँको कामलाई अनावश्यक उपेक्षाका साथ हेर्न छोड्नेछस्‌, र तँ अतिवादतिर जानेछैनस्‌, न त घुमाउरो मार्ग नै पछ्याउनेछस्‌। समग्रमा भन्‍नुपर्दा, व्यावहारिक परमेश्‍वरको अर्थ उहाँको मानवताको र उहाँको ईश्‍वरत्वको काम, आत्माले निर्देशन गर्नुभएबमोजिम, उहाँको देहद्वारा अभिव्यक्त हुन्छ भन्‍ने हो, ताकि मानिसहरूले उहाँ सजीव र जीवन्त, वास्तविक र सत्य हुनुहुन्छ भन्‍ने कुरा देख्‍न सकून्।

मानवतामा हुने परमेश्‍वरको आत्माको कामका सङ्क्रमणकालीन चरणहरू हुन्छन्। मानवतालाई सिद्ध बनाएर, उहाँले आफ्नो मानवतालाई आत्माको निर्देशन ग्रहण गर्न सक्षम तुल्याउनुहुन्छ, त्यसपछि उहाँको मानवता मण्डलीहरूलाई प्रबन्ध र गोठालो गर्न सक्षम हुन्छ। यो परमेश्‍वरको सामान्य कामको एउटा अभिव्यक्ति हो। त्यसैले, यदि तैँले मानवतामा हुने परमेश्‍वरको कामका सिद्धान्तहरू स्पष्‍टसँग देख्‍न सक्छस् भने, तैँले मानवतामा परमेश्‍वरको कामको विषयमा आफ्नै धारणाहरू बनाउने सम्भावना कम हुनेछ। अन्य कुराहरू चाहे जेसुकै हुन्, परमेश्‍वरको आत्मा गलत हुन सक्‍नुहुन्‍न। उहाँ सही र त्रुटिरहित हुनुहुन्छ; उहाँले कुनै पनि काम बेठीक रूपले गर्नुहुन्‍न। ईश्‍वरीय काम मानवताको हस्तक्षेपरहित परमेश्‍वरको इच्छाको प्रत्यक्ष अभिव्यक्ति हो। यो सिद्धताको प्रक्रिया हँदै जाँदैन, बरु यो त प्रत्यक्ष आत्माबाट आउँछ। तथापि, उहाँले ईश्‍वरत्वमा काम गर्न सक्‍नुहुन्छ भन्ने तथ्य उहाँको सामान्य मानवताको कारण हो; यो गौण अलौकिकतामा हुँदैन, र यसलाई सामान्य व्यक्तिद्वारा कार्यान्वयन गरिएको जस्तो देखिन्छ। विशेषतः देहमार्फत परमेश्‍वरका वचनहरू अभिव्यक्त गर्न, देहको माध्यमद्वारा परमेश्‍वरको आत्माको काम पूरा गर्न परमेश्‍वर स्वर्गबाट पृथ्‍वीमा आउनुभयो।

आज, व्यावहारिक परमेश्‍वरको विषयमा मानिसहरूको ज्ञान अति नै एक-पक्षीय रहेको छ, र देहधारणको महत्त्वको विषयमा तिनीहरूको बुझाइ अझै अति नै अपर्याप्त छ। परमेश्‍वरको देहसँगै, मानिसहरूले उहाँका काम र वचनहरूमार्फत परमेश्‍वरको आत्मामा यति धेरै कुरा समावेश छन् र उहाँ यति धेरै सम्पन्न हुनुहुन्छ भन्ने कुरा देख्छन्। जेसुकै भए तापनि, आखिरमा परमेश्‍वरको गवाही परमेश्‍वरको आत्माबाट आउँछ: परमेश्‍वरले देहमा जे गर्नुहुन्छ, उहाँले जुन सिद्धान्तहरूद्वारा काम गर्नुहुन्छ, उहाँले मानवतामा जे गर्नुहुन्छ, र उहाँले ईश्‍वरत्वमा जे गर्नुहुन्छ। मानिसहरूसँग यस विषयमा ज्ञान हुनुपर्छ। आज, तँ यस व्यक्तिको आराधना गर्न सक्षम छस्‌, तर वास्तवमा तैँले आत्मालाई आराधना गर्दैछस्‌, र मानिसहरूले देहधारी परमेश्‍वरको बारेमा प्राप्त‍ गर्नुपर्ने ज्ञान कम्तीमा यही नै हो: देहमार्फत आत्माको सार थाहा पाउने, देहमा आत्माको ईश्‍वरीय काम र देहमा मानवीय काम थाहा पाउने, देहमा आत्माका सबै वचन र उच्‍चारणहरू स्वीकार गर्ने, र परमेश्‍वरको आत्माले कसरी देहलाई निर्देशित गर्नुहुन्छ र देहमा उहाँको शक्ति प्रदर्शन गर्नुहुन्छ भनी हेर्ने। भन्नुको अर्थ यो हो कि मानिसले स्वर्गमा हुनुहुने आत्मालाई देहमार्फत चिन्छ; मानिसमाझ व्यावहारिक परमेश्‍वर स्वयम्‌ देखा पर्नुभएको हुँदा यसले मानिसहरूको धारणाहरूबाट अस्पष्ट परमेश्‍वरलाई हटाइदिएको छ। व्यावहारिक परमेश्‍वर स्वयम्‌लाई गर्ने मानिसहरूको आराधनाले परमेश्‍वरप्रति तिनीहरूको आज्ञाकारितालाई अभिवृद्धि गरेको छ, र देहमा परमेश्‍वरको आत्माको ईश्‍वरीय काम र देहमा उहाँको मानवीय कामद्वारा, मानिसले प्रकाश प्राप्त‍ गर्छ र उसलाई गोठालो गरिन्छ, र मानिसको जीवन स्वभावमा परिवर्तनहरू हासिल हुन्छन्‌। देहमा आत्माको आगमनको वास्तविक अर्थ यही हो, जसको प्राथमिक उद्देश्य भनेको मानिसहरू परमेश्‍वरसँग सहभागी हुन, परमेश्‍वरमा निर्भर रहन, र परमेश्‍वरको ज्ञानसम्म पुग्‍न सकून् भन्‍ने हो।

समग्रमा, व्यावहारिक परमेश्‍वरप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? तँलाई देहधारणको विषयमा, वचन देहमा देखा पर्नुभएको विषयमा, परमेश्‍वर देहमा देखा पर्नुभएको विषयमा, व्यावहारिक परमेश्‍वरका कामहरूको विषयमा के थाहा छ? आजको छलफलका मुख्य विषयहरू के-के हुन्? देहधारण, देहमा वचनको आगमन, देहमा परमेश्‍वरको देखा पराइ सबै बुझ्नैपर्ने विषयहरू हुन्। तिमीहरूको कदको आधारमा र युगको आधारमा, तिमीहरूले क्रमिक रूपमा यी सबै विषयहरूको बारेमा बुझ्दै जानुपर्छ र तिमीहरूको जीवन अनुभवमा तीबारेमा स्पष्‍ट ज्ञान हासिल गर्दै जानुपर्छ। मानिसहरूले परमेश्‍वरका वचनहरू अनुभव गर्ने प्रक्रिया र तिनीहरूले परमेश्‍वरका वचनहरू देहमा देखापर्नुभएको कुरा थाहा पाउने प्रक्रिया उस्तै छन्। मानिसहरूले जति धेरै परमेश्‍वरका वचनहरू अनुभव गर्छन् त्यति नै धेरै परमेश्‍वरको आत्मालाई चिन्छन्‌; परमेश्‍वरका वचनहरूलाई अनुभव गरेर, मानिसहरूले आत्माको कामका सिद्धान्तहरू बुझ्छन्‌ र व्यावहारिक परमेश्‍वर स्वयम्‌लाई चिन्छन्। वास्तवमा, जब परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाउनुहुन्छ र तिनीहरूलाई हासिल गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई व्यावहारिक परमेश्‍वरका कामहरूको बारेमा थाहा पाउन दिँदै हुनुहुन्छ; उहाँले मानिसहरूलाई देहधारणको वास्तविक महत्त्व देखाउन, वास्तवमा परमेश्‍वर मानिसकहाँ प्रकट हुनुभएको छ भन्‍ने कुरा देखाउन व्यावहारिक परमेश्‍वरको कामलाई प्रयोग गर्दै हुनुहुन्छ। जब मानिसहरू परमेश्‍वरद्वारा हासिल हुन्छन्‌ र सिद्ध बनाइन्छन्‌, तब व्यावहारिक परमेश्‍वरका अभिव्यक्तिहरूले तिनीहरूलाई जितेका हुन्छन्‌; तिनीहरूलाई उहाँ जे हुनुहुन्छ (उहाँ मानवतामा जे हुनुहुन्छ वा उहाँ ईश्‍वरत्वमा जे हुनुहुन्छ) त्यसले भर्दै, तिनीहरूलाई उहाँका वचनहरूको सारतत्त्वले भर्दै, र मानिसहरूलाई उहाँका वचनअनुसार जीवन जिउने तुल्याउँदै, व्यावहारिक परमेश्‍वरका वचनहरूले तिनीहरूलाई परिवर्तन गरेका हुन्छन्‌ र तिनीहरूभित्र उहाँको आफ्नो जीवन हालिदिएका हुन्छन्। जब परमेश्‍वरले मानिसहरूलाई हासिल गर्नुहुन्छ, तब उहाँले मुख्यगरी मानिसहरूका कमजोरीहरू निराकरण गर्ने र तिनीहरूको विद्रोही स्वभावको न्याय गर्ने र प्रकाश गर्ने शैलीको रूपमा व्यावहारिक परमेश्‍वरका वचनहरू र उच्‍चारणहरूलाई प्रयोग गर्दै, तिनीहरूलाई खाँचो परेका कुरा हासिल गराउँदै र परमेश्‍वर मानिसमाझ आउनुभएको छ भन्‍ने कुरा देखाउँदै त्यसो गर्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरो, व्यावहारिक परमेश्‍वरद्वारा गरिएको काम भनेको प्रत्येक व्यक्तिलाई शैतानको प्रभावबाट मुक्ति दिने, तिनीहरूलाई फोहोरको स्थानबाट बाहिर ल्याउने, तिनीहरूको भ्रष्ट‍ स्वभावलाई हटाउने हो। व्यावहारिक परमेश्‍वरद्वारा हासिल गरिनुको सबैभन्दा गहिरो महत्त्व भनेको व्यावहारिक परमेश्‍वरसँग एक उदाहरण र एक नमुनाको रूपमा सामान्य मानवताको जीवन जिउन सक्षम बन्‍नु, उहाँले भन्‍नुभएका जस्तोसुकै कुराहरू व्यवहारमा लागू गर्दै, अलिकति पनि विचलित वा निर्गमन नभईकन, व्यावहारिक परमेश्‍वरका वचन र आवश्यक मापदण्डहरूअनुसार अभ्यास गर्न सक्षम बन्‍नु, र उहाँले भन्‍नुभएका जस्तोसुकै कुरा प्राप्त‍ गर्न सक्षम बन्‍नु हो। यसरी, तँ परमेश्‍वरद्वारा हासिल गरिएको हुनेछस्‌। जब तँ परमेश्‍वरद्वारा हासिल गरिन्छस्‌, तब तैँले पवित्र आत्माका कामहरू मात्र हासिल गर्दैनस्‌; मुख्यतः तँ व्यावहारिक परमेश्‍वरका आवश्यक मापदण्डहरूअनुसार जिउन सक्षम हुन्छस्‌। केवल पवित्र आत्माको काम तँसँग हुनुको अर्थ तँसँग जीवन छ भन्‍ने हुँदैन। मुख्य कुरा भनेको व्यावहारिक परमेश्‍वरले तँले पूरा गर्नुपर्ने भनी आवश्यक गर्नुभएका कुराहरूअनुसार तँ जीवन जिउन सक्षम छस्‌ कि छैनस्‌ भन्‍ने हो, जुन कुरा तँ परमेश्‍वरद्वारा हासिल गरिन सक्षम छस्‌ कि छैनस्‌ भन्‍ने कुरासँग सम्बन्धित छ। यी कुराहरू नै देहमा गरिने व्यावहारिक परमेश्‍वरको कामको सबैभन्दा ठूला अर्थ हुन्। भन्नुको अर्थ यो हो कि साँच्चिकै र वास्तवमै देहमा देखिनुभएर, सजीव र जीवन्त हुनुभएर, मानिसहरूद्वारा देखिनुभएर, वास्तवमा देहमा आत्माको काम गर्नुभएर, र देहमा मानिसहरूका निम्ति एक उदाहरण बन्नुभएर, परमेश्‍वरले मानिसहरूको एक समूहलाई हासिल गर्नुहुन्छ। देहमा परमेश्‍वरको आगमनको प्राथमिक अर्थ मानिसहरूलाई परमेश्‍वरका वास्तविक कामहरू देख्‍न सक्षम तुल्याउनु, निराकार आत्मालाई देहको आकार दिनु, र मानिसहरूलाई उहाँलाई हेर्न र छुन दिनु हो। यसरी, उहाँद्वारा सिद्ध बनाइएका मानिसहरूले उहाँले चाहनुभएअनुसार जिउनेछन्‌, तिनीहरू उहाँद्वारा हासिल गरिनेछन्‌, र उहाँको हृदयअनुसारका मानिसहरू बन्‍नेछन्। यदि परमेश्‍वर स्वर्गमा मात्र बोल्‍नुहुन्थ्यो र पृथ्‍वीमा साँच्‍चिकै नआउनुभएको भए, मानिसहरूले परमेश्‍वरलाई अझै चिन्‍न सक्‍ने थिएनन्; तिनीहरूले खोक्रो सिद्धान्त प्रयोग गरी परमेश्‍वरका कामहरूको विषयमा प्रचार गर्न मात्र सक्षम हुनेथिए र परमेश्‍वरका वचनहरूलाई वास्तविकताको रूपमा प्राप्त‍ गर्ने थिएनन्। मुख्यगरी, जसलाई उहाँले हासिल गर्नु छ ती मानिसहरूका निम्ति उदाहरण र नमुनाको रूपमा कार्य गर्न परमेश्‍वर यस पृथ्‍वीमा आउनुभएको हो; यसरी मात्र मानिसहरूले वास्तवमा परमेश्‍वरलाई चिन्‍न सक्छन्, परमेश्‍वरलाई छुन सक्छन्, र उहाँलाई हेर्न सक्छन्, र तब मात्र तिनीहरू साँच्‍चिकै परमेश्‍वरद्वारा हासिल हुन सक्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्