परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने

जब एक जना व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ, तब उसले सटीक रूपले उहाँको सेवा कसरी गर्नुपर्छ त? परमेश्‍वरको सेवा गर्नेहरूले कुन सर्तहरू पूरा गर्नुपर्छ र कुन सत्यताहरू बुझ्नुपर्छ? अनि तिमीहरू आफ्नो सेवामा कहाँनेर बाटो बिराइरहेको हुन सक्छौ? तिमीहरूले यी सबै कुराहरूको उत्तर जान्नुपर्छ। यी विषयहरूले तिमीहरू परमेश्‍वरमा कसरी विश्‍वास गर्छौ, अनि पवित्र आत्माले डोऱ्याउनुहुने बाटोमा कसरी हिँड्छौ र सबै कुरामा परमेश्‍वरको योजनाबद्ध कार्यहरूमा कसरी समर्पित हुन्छौ भन्ने कुरालाई छुन्छ, अनि त्यसले तिमीहरूमा हुने परमेश्‍वरको कामको हरेक कदमलाई बुझ्ने अनुमति तिमीहरूलाई दिन्छ। जब तिमीहरू त्यस बिन्दुमा पुग्छौ, तब तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो, परमेश्‍वरमा कसरी सही प्रकारले विश्‍वास गर्ने, र परमेश्‍वरको इच्छासित एकतामा काम गर्नका निम्ति तिमीहरूले के गर्नुपर्छ भनी बुझ्नेछौ। यसले तिमीहरूलाई परमेश्‍वरको कामप्रति पूरा र सम्पूर्ण रूपमा आज्ञाकारी बनाउनेछ; तिमीहरूमा कुनै गुनासोहरू हुनेछैन, तिमीहरूले न्याय गर्नेछैनौ, वा विश्लेषण गर्नेछैनौ, परमेश्‍वरको कामको खोजको कुरा त परै छाडौं। यस्तै प्रकारले, तिमीहरू मृत्युसम्मै परमेश्‍वरको आज्ञापालन गर्न, तिमीहरूलाई मार्गनिर्देशन गर्ने र तिमीहरूलाई एउटा भेडाजस्तै मार्ने अनुमति परमेश्‍वरलाई दिन सक्नेछौ, यसरी तिमीहरू सबै १९९० को दसकका पत्रुसहरू बन्न सक्नेछौ अनि अलिकति पनि गुनासो नगरी, यहाँसम्म कि क्रूसमा चढनुपऱ्यो भने पनि परमेश्‍वरलाई प्रेम गर्न सक्नेछौ। तब मात्र तिमीहरू १९९० को दसकका पत्रुसहरू जस्तो भएर जिउन सक्नेछौ।

संकल्प गरेका सबैले परमेश्‍वरको सेवा गर्न सक्दछन्—तर परमेश्‍वरको इच्छालाई पूरा ध्यान दिने र परमेश्‍वरको इच्छा बुझ्ने व्यक्तिहरू मात्र परमेश्‍वरको सेवा गर्ने योग्यका र हकदार हुनेछन्। मैले तिमीहरूको बीचमा यो थाहा पाएको छु: धेरै मानिसहरू जबसम्म तिनीहरू जोसिलो भएर परमेश्‍वरको निम्ति सुसमाचार फैलाउँछन्, परमेश्‍वरका निम्ति बाटोमा जान्छन्, आफैलाई खर्च गर्छन् र परमेश्‍वरका निम्ति केही थोकहरू त्याग्छन्, र त्यस्तै अरू कुराहरू गर्छन्, तब त्यसलाई परमेश्‍वरको सेवा हो भनी विश्‍वास गर्छन्। अझ धेरै धार्मिक मानिसहरू त हातमा बाइबल लिएर यताउति दगुर्नु, स्वर्गको राज्यको सुसमाचार फैलाउनु, र मानिसहरूलाई पश्चात्ताप र पाप-स्वीकार गर्न लगाएर मुक्त गर्नु परमेश्‍वरको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। यस्ता धेरै धार्मिक अगुवाहरू पनि छन्, जसले परमेश्‍वरको सेवा गर्नु भनेको उच्च अध्ययन गरेर अनि सेमिनरीमा तालिम लिएर च्यापलमा प्रचार गर्नु र बाइबलका शास्त्रहरू पढेर मानिसहरूलाई शिक्षा दिनु हो भनी विचार गर्छन्। यसबाहेक, गरिब क्षेत्रहरूमा यस्ता मानिसहरू हुन्छन् जसले परमेश्‍वरको सेवा गर्नु भनेको बिरामीलाई निको पार्नु र तिनीहरूका दाजुभाइ, दिदी-बहिनीहरूको बीचमा भएका भूतात्माहरू निकाल्नु वा उनीहरूका निम्ति प्रार्थना गर्नु, वा उनीहरूको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। तिमीहरूको बीचमा धेरै जना यस्ता मानिसहरू छन्, जसले परमेश्‍वरको सेवा गर्नु भनेको परमेश्‍वरको वचनहरू खानु र पिउनु, हरेक दिन परमेश्‍वरलाई प्रार्थना गर्नु साथै सबैतिरका मण्डलीहरूमा भेटघाट गर्न जानु र कामहरू गर्नु हो भनी विश्‍वास गर्छन्। अरू दाजुभाइ, दिदी-बहिनीहरू छन्, जुनहरूले परमेश्‍वरको सेवा गर्नु भनेको कहिल्यै विवाह नगर्नु वा परिवार खडा नगर्नु र आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरमा समर्पण गर्नु हो भनी विश्‍वास गर्छन्। तापनि परमेश्‍वरको सेवा गर्नु भनेको के हो सो थोरै मानिसहरूले साँच्चै जानेका हुन्छन्। परमेश्‍वरको सेवा गर्ने मानिसहरू आकाशका ताराहरू जत्ति नै धेरै भए पनि प्रत्यक्ष रूपमा र परमेश्‍वरको इच्छाअनुसार सेवा गर्नेहरूको सङ्ख्या नगण्य—महत्त्वहीन रूपमा कम छ। म किन यो कुरा भन्दछु? यसकारण भन्दछु, कि तिमीहरू “परमेश्‍वरको सेवा” भन्ने वाक्यांशको अर्थ बुझ्छौ, अनि परमेश्‍वरको इच्छाअनुसार कसरी सेवा गर्ने भन्ने कुरा त झनै कम बुझ्छौ। परमेश्‍वरको कस्तो किसिमको सेवा वास्तवमा उहाँको इच्छासँग एकतामा हुन्छ भन्ने कुरा मानिसहरूले झट्टै बुझ्नु आवश्यक हुन्छ।

यदि तिमीहरू परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न चाहन्छौ भने, पहिले तिमीहरूले यो बुझ्नुपर्छ कि, परमेश्‍वरका निम्ति कस्ता किसिमका मानिसहरू मनपर्दा हुन्छन्, परमेश्‍वरले कस्ता किसिमका मानिसहरूलाई घृणा गर्नुहुन्छ, परमेश्‍वरले कस्ता किसिमका मानिसहरूलाई सिद्ध बनाउनुहुन्छ र कस्ता किसिमका मानिसहरू परमेश्‍वरको सेवा गर्न योग्यका हुन्छन्। कम्तीमा पनि तिमीहरू यो ज्ञानद्वारा सुसज्जित भएको हुनुपर्छ। यसबाहेक, तिमीहरूले परमेश्‍वरको कामको लक्ष्य अनि परमेश्‍वरले यहाँ र अहिले गर्नुहुने काम जान्नुपर्छ। यो कुरा बुझेपछि, अनि परमेश्‍वरको वचनको मार्गदर्शनद्वारा तिमीहरू पहिले प्रवेश पाउनुपर्छ र पहिले परमेश्‍वरको आज्ञा प्राप्त गर्नुपर्छ। एकचोटि तिमीहरूले परमेश्‍वरको वचनहरू वास्तविक रूपमा अनुभव गरेपछि, र तिमीहरूले साँच्चै परमेश्‍वरको कामलाई जानेपछि, तिमीहरू परमेश्‍वरको सेवा गर्न योग्यको बन्नेछौ। अनि जब तिमीहरू उहाँको सेवा गर्छौ, त्यस बेला परमेश्‍वरले तिमीहरूका आत्मिक आँखाहरू खोलिदिनुहुनेछ र उहाँको कामलाई अझ राम्ररी बुझ्ने र त्यसलाई स्पष्ट रूपमा देख्ने तिमीहरूलाई अनुमति दिनुहुनेछ। जब तिमीहरू यस वास्तविकतामा प्रवेश गर्छौ, तब तिमीहरूका अनुभवहरू अझ गहन र वास्तविक बन्नेछन्, अनि त्यस्ता अनुभवहरू प्राप्त गर्ने तिमीहरू सबै मण्डलीहरूको माझमा हिँड्न सक्नेछौ अनि आफ्ना दाजुभाइ, दिदी-बहिनीहरूका निम्ति प्रबन्ध गरिदिन सक्नेछौ, यसरी तिमीहरू प्रत्येकले एक-अर्काको शक्तिबाट लिएर तिमीहरूको आफ्नै कमीहरू पूरा गर्न सक्नेछौ, अनि तिमीहरूका आत्माहरूमा अझ राम्ररी ज्ञान प्राप्त गर्नेछौ। यस्ता वास्तविकता प्राप्त गरिसकेपछि मात्र तिमीहरू परमेश्‍वरको इच्छाअनुसार सेवा गर्ने बन्नेछौ र तिमीहरूको सेवाको अवधिमा परमेश्‍वरद्वारा सिद्ध बनाइनेछौ।

परमेश्‍वरको सेवा गर्नेहरू परमेश्‍वरका घनिष्ठहरू हुनुपर्छ, तिनीहरू परमेश्‍वरलाई मनपर्दो हुनुपर्छ र परमेश्‍वरप्रति अत्याधिक बफादार हुन सक्ने हुनुपर्छ। चाहे तिमीहरू एकान्तमा व्यवहार गर वा सार्वजनिक स्थानमा, तिमीहरू परमेश्‍वरको सामु परमेश्‍वरको आनन्द प्राप्त गर्न सक्छौ, तिमीहरू परमेश्‍वरको सामु दह्रिलो भई खडा हुन सक्छौ, अनि अरू मानिसहरूले तिमीहरूसँग चाहे जस्तोसुकै व्यवहार गरे पनि तिमीहरू त्यही बाटो हिँड्नेछौ जहाँ हिँड्नुपर्छ, अनि परमेश्‍वरको बोझलाई सारा वास्ता दिनेछौ। यस्ता मानिसहरू मात्र परमेश्‍वरका घनिष्ठहरू हुन्। परमेश्‍वरसित घनिष्ठ व्यक्तिहरू प्रत्यक्ष रूपमा उहाँको सेवा गर्न सक्षम हुन्छन्, किनकि तिनीहरूलाई परमेश्‍वरको महान् आज्ञा र परमेश्‍वरको बोझ दिइएको हुन्छ, तिनीहरू परमेश्‍वरको हृदयलाई आफ्नो हृदय बनाउन सक्षम हुन्छन्, र परमेश्‍वरको बोझलाई आफ्नै बोझ जस्तो गरी लिन्छन्, र तिनीहरूका आफ्नो भविष्यका सम्भावनाहरूमाथि विचार गर्दैनन्: तिनीहरूको कुनै सम्भावना नहुँदा, र तिनीहरू केही कुरा प्राप्त नगर्न खडा हुँदा पनि, प्रेमिलो हृदयले सधैँ परमेश्‍वरमा विश्‍वास गर्छन्। अनि यसैले यस प्रकारका व्यक्ति परमेश्‍वरको घनिष्ठ हुन्छन्। परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू परमेश्‍वरका विश्‍वासपात्रहरू पनि हुन्; परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू मात्र उहाँको बेचैनी र उहाँका विचारहरूमा सहभागी हुन सक्छन्, अनि तिनीहरूका देह कष्टमय र कमजोर भए पनि, तिनीहरू कष्ट सहन सक्षम हुन्छन्, अनि परमेश्‍वरलाई प्रसन्न तुल्याउनका निम्ति आफूलाई मन परेको थोक त्याग्छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अझ बढी बोझहरू दिनुहुन्छ, अनि परमेश्‍वरले गर्न चाहनुभएको कुरा त्यस्ता मानिसहरूको गवाहीमा उत्पन्न हुँदछ। यसैले, यस्ता मानिसहरू परमेश्‍वरका निम्ति मनपर्दो हुन्छन्, तिनीहरू परमेश्‍वरको आफ्नै हृदय अनुसारका परमेश्‍वरका नोकरहरू हुन्, त्यस्ता मानिसहरूले मात्र परमेश्‍वरसँग मिलेर शासन गर्न सक्छन्। जब तँ साँच्चै परमेश्‍वरको घनिष्ठ बनेका हुन्छस्, त्यही बेला नै हो जब तैँले परमेश्‍वरसित एकसाथ शासन गर्नेछस्।

येशू परमेश्‍वरको आज्ञा पूरा गर्न—अर्थात् सारा मानवजातिको छुटकाराको काम गर्न सक्षम हुनुहुन्थ्यो—किनकि उहाँले आफ्नै निम्ति कुनै योजनाहरू वा व्यवस्थाहरू नगरी परमेश्‍वरको इच्छामा पूरा ध्यान दिनुभयो। त्यसै पनि, उहाँ आफै परमेश्‍वर—परमेश्‍वरसित अति घनिष्ठ हुनुहुन्थ्यो—जुन कुरा तिमीहरू सबैले राम्ररी बुझ्दछौ। (वास्तवमा, उहाँ आफै परमेश्‍वर हुनुहुन्थ्यो, जुन कुराको साक्षी परमेश्‍वरले दिनुभयो। मैले यस विषयको उदाहरण दिनका निम्ति येशूका तथ्यहरू प्रयोग गर्नलाई यहाँ यो कुरा भन्दैछु)। उहाँ परमेश्‍वरले व्यवस्थापन योजनालाई केन्द्रमा राख्न सक्षम हुनुहुन्थ्यो, अनि उहाँले सधैँ स्वर्गका पितासँग प्रार्थना गर्नुभयो र स्वर्गका पिताको इच्छा खोज्नुभयो। उहाँले प्रार्थना गर्दै भन्नुभयो: “हे परमेश्‍वर पिता! तपाईंको इच्छा जे छ त्यो पूरा गर्नुहोस्, अनि मेरा इच्छाहरू अनुसार होइन, तर तपाईंको योजनाअनुसार काम गर्नुहोस्। मानिस कमजोर हुन सक्छ, तर तपाई त्यसको किन वास्ता गर्नुहुन्छ? मानिस तपाईंको वास्ता पाउने योग्यको कसरी बन्न सक्छ? अर्थात् मानिस, जो तपाईंको हातमा एउटा कमिला जस्तो छ? मेरो हृदयमा, म तपाईंको इच्छा मात्र पूरा गर्न चाहन्छु, अनि तपाईंले आफ्नो इच्छाअनुसार ममा जे गर्न चाहनुहुन्छ त्यो गर्नुहोस् भन्ने म चाहन्छु।” यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको जस्तो भएको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; त्यहाँ सधैँ एउटा प्रबल शक्ति थियो, जसले उहाँलाई त्यतातिर बढ्न बाध्य बनायो, जहाँ उहाँ क्रूसमा टाँगिनु हुनेथियो। अन्त्यमा, उहाँलाई क्रूसमा काँटी ठोकियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिसको समानतामा हुनुभयो। उहाँले मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले तिनीहरूका शक्ति गुमाए, र उहाँद्वारा पराजित भए। उहाँ तेत्तीस वर्ष जिउनुभयो, ती अवधिभरि उहाँले सधैँ त्यस बेला परमेश्‍वरको कामअनुसार परमेश्‍वरकै इच्छा पूरा गर्ने सक्दो कोसिस गर्नुभयो, उहाँले आफ्नो फाइदा वा नोक्‍सानीको बारेमा कहिल्यै पनि विचार गर्नुभएन, अनि सधैँ परमेश्‍वर पिताको इच्छाको बारेमा सोच्नुहुन्थ्यो। यसैकारण उहाँको बप्तिस्मा पछि परमेश्‍वरले यसो भन्नुभएको थियो: “यो मेरो प्रिय पुत्र हो, जसमा म अति प्रसन्न छु।” परमेश्‍वरको सामुन्ने उहाँले गर्नुभएको सेवा, जुन परमेश्‍वरको इच्छाअनुरूप थियो, त्यसैले गर्दा परमेश्‍वरले सारा मानवजातिलाई छुटकारा दिने गह्रौं काम उहाँको काँधमा राखिदिनुभयो र त्यो पूरा गर्न लगाउनुभयो, अनि त्यो महत्त्वपूर्ण काम पूरा गर्न उहाँ योग्य हुनुहुन्थ्यो र उहाँलाई अधिकार दिइएको थियो। उहाँले आफ्नो जीवनभरि परमेश्‍वरका निम्ति असीमित दुःखहरू भोग्नुभयो, अनि शैतानद्वारा उहाँको अनगिन्ती पटक परीक्षा भयो, तर उहाँ कहिल्यै निराश हुनुभएन। परमेश्‍वरले उहाँलाई यति ठूलो काम दिनुभयो किनभने उहाँमाथि भरोसा राख्नुभयो, र उहाँलाई प्रेम गर्नुभयो, यसैले परमेश्‍वरले व्यक्तिगत रूपमा यसो भन्नुभयो: “यो मेरो प्रिय पुत्र हो, जसमा म अति प्रसन्न छु।” त्यस बेला, येशूले मात्र त्यो आज्ञा पूरा गर्न सक्नुहुन्थ्यो, अनि परमेश्‍वरले अनुग्रहको युगमा सारा मानवजातिलाई छुटकारा दिने काम पूरा गर्ने यो एउटा व्यावहारिक पक्ष थियो।

यदि येशूजस्तै तिमीहरूले पनि परमेश्‍वरको बोझलाई पूरा-पूरा ध्यान दिन्छौ र तिमीहरूका देहतिर पिठिउँ फर्काउँछौ भने, परमेश्‍वरले उहाँका महत्त्वपूर्ण कामहरू तिमीहरूलाई सुम्पनुहुनेछ, त्यसरी तिमीहरूले परमेश्‍वरको सेवा गर्नका निम्ति चाहिने सर्तहरू पूरा गर्नेछौ। त्यस्ता परिस्थितिहरूमा पर्दा मात्र तिमीहरूले परमेश्‍वरको इच्छा पूरा गर्दै छौ र उहाँले दिनुभएको आज्ञा पूरा गर्दै छौ भन्ने साहस गर्छौ, अनि तब मात्र तिमीहरूले साँच्चै परमेश्‍वरको सेवा गर्दै छौ भन्ने साहस गर्छौ। येशूको उदाहरणसँग तुलना गर्दा, के तँ परमेश्‍वरसित घनिष्ठ छस् भन्ने साहस गर्छस्? के तँ परमेश्‍वरको इच्छा पूरा गर्दै छस् भन्ने साहस गर्छस्? के तँ साँच्चै परमेश्‍वरको सेवा गर्दै छस् भन्ने साहस गर्छस्? आज तँ परमेश्‍वरको सेवा कसरी गर्ने सो बुझ्दैनस्, के तँ परमेश्‍वरसित घनिष्ठ छस् भन्ने साहस गर्छस्? यदि तँ परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने के तैँले उहाँको विरुद्धमा ईश्‍वर-निन्दा गर्दैनस् र? यस विषयमा विचार गर्: के तैँले परमेश्‍वरको सेवा गर्दै छस् वा आफ्नै सेवा गर्दै छस्? तँ शैतानको सेवा गर्छस्, तापनि हठी बन्दै अझ परमेश्‍वरकै सेवा गरिरहेका छस् भन्छस्—के यसो गरेर तँ ईश्‍वर-निन्दा गर्दैनस् र? मेरो पिठिउँ पछाडि धेरै जना मानिसहरू सामाजिक प्रतिष्ठाको आशिष् पाउने लालसा गर्छन्, तिनीहरू घाँटीसम्म आउने गरी खान्छन्, तिनीहरू सुत्न मन पराउँछन् र देहमा पूरा ध्यान दिन्छन्, देहको लागि कुनै उपाय छैन भनी सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफूले गर्नुपर्ने उचित काम गर्दैनन्, तर मण्डलीको उदारताको फाइदा उठाउँछन्, वा कि त तिनीहरूका दाजुभाइ र दिदी-बहिनीहरूलाई मेरा वचनहरूद्वारा हप्काउँछन्, अधिकारका स्थानहरूमा बसेर अरूमाथि हुकुम चलाउँछन्। यस्ता मानिसहरू आफूले परमेश्‍वरको इच्छा पूरा गरिरहेका छौं भन्छन्—र तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिसहरू हुन् भनी सधैँ भन्ने गर्छन्—के यो हास्यास्पद कुरा होइन त? यदि तेरो उद्देश्यहरू सही छन् तापनि परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैनस् भने तँ मूर्ख बन्दैछस्; तर यदि तेरो उद्देश्यहरू सही छैनन् भने र पनि परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने तँ त्यस्तो व्यक्ति हो जसले परमेश्‍वरको विरोध गर्छ, र तैँले परमेश्‍वरबाट दण्ड पाउनुपर्छ। त्यस्ता मानिसहरूप्रति मेरो कुनै सहानुभूति छैन। परमेश्‍वरको भवनमा तिनीहरू सित्तैँमा फाइदा उठाउँछन्, सधैँ देहको आराम-सुविधाको लालसा गर्छन्, अनि परमेश्‍वरको चासोका कुराहरूमा कुनै ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नो निम्ति जे असल छ त्यसैको मात्र खोजी गर्छन्, अनि तिनीहरू परमेश्‍वरको इच्छामा कुनै ध्यान दिँदैनन्। तिनीहरू आफूले गरेको कुनै पनि कार्यमा परमेश्‍वरका आत्माले गर्नुहुने सूक्ष्म जाँचलाई स्वीकार गर्दैनन्। तिनीहरू सधैँ आफ्ना दाजु-भाइ, दिदी-बहिनीहरूसँग चलाखी र छल गर्छन्, अनि दाखबारीको चतुर स्याल जस्तो भएकोले तिनीहरू अङ्गुर चोर्छन् र दाख बारी कुल्चीमिल्ची गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरसित घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिषहरू पाउने योग्यका छस्? तँ आफ्नै जीवन र मण्डलीका निम्ति कुनै बोझ उठाउँदैनस्, के तँ परमेश्‍वरको आज्ञा पाउने योग्यका छस्? तँजस्तो व्यक्तिलाई भरोसा गर्ने आँट कसले गर्ला? जब तँ यस्तो प्रकारले सेवा गर्छस् के परमेश्‍वरले तँलाई अझ ठूला कामहरू सुम्पने आँट गर्नुहुन्छ होला? के त्यसले काम अझ ढिलो गराउँदैन र?

परमेश्‍वरको इच्छाअनुसारको सेवा गर्न कुन-कुन सर्तहरू पूरा गर्नुपर्छ त्यो तिमीहरूले जान भनेर मैले यो कुरा भनिरहेको छु। यदि तिमीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिँदैनौ भने, यदि तँ येशूले जस्तै परमेश्‍वरको इच्छामा पूरा ध्यान दिँदैनौ भने, परमेश्‍वरले तँमाथि भरोसा गर्न सक्नुहुन्न, अनि अन्त्यमा तैँले परमेश्‍वरबाट दण्ड पाउनेछस्। सायद, आज परमेश्‍वरको निम्ति तैँले गर्ने सेवामा सधैँ परमेश्‍वरलाई धोखा दिने उद्देश्य राख्छस् र लापरवाहीसाथ उहाँसित व्यवहार गर्छस्। संक्षेपमा भन्नुपर्दा, चाहे जे नै भए पनि यदि तँ परमेश्‍वरलाई ठग्छस् भने, तँमाथि कठोर न्याय आइलाग्‍नेछ। तैँले दोहोरो मन नबनाई पहिले आफ्नो हृदय परमेश्‍वरमा सुम्पिएर परमेश्‍वरको सेवाको सही बाटोमा प्रवेश गर्ने फाइदा उठाउनुपर्छ। चाहे तँ परमेश्‍वरको सामुन्ने होस् वा मानिसहरूको सामुन्ने, तेरो हृदय सधैँ परमेश्‍वरतिर फर्केको हुनुपर्छ, अनि तैँले पनि येशूले जस्तै परमेश्‍वरलाई प्रेम गर्ने संकल्प गर्नुपर्छ। यसरी, परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुनेछ, अनि तँ उहाँको हृदय अनुरूपको परमेश्‍वरको सेवक बन्नेछस्। यदि तँ साँच्चै परमेश्‍वरद्वारा सिद्ध बनाइनु र तेरो सेवा उहाँको इच्छाअनुरूप भएको चाहन्छस् भने परमेश्‍वरको विश्‍वासको सम्बन्धमा तेरो पहिलेका विचारहरू बदल्नुपर्छ, अनि पहिले जुन तरिकाले परमेश्‍वरको सेवा गर्थिस् त्यो तरिका बदल्नुपर्छ, यसरी तँ परमेश्‍वरद्वारा अझ बढी सिद्ध बनाइनेछस्। त्यसो भएपछि, परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछैन, अनि तँ पनि पत्रुसजस्तै परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूको पहिलो पङ्क्तिमा हुनेछस्। यदि तँ पश्चात्ताप नगरी बस्छस् भने तैँले पनि यहूदाको जस्तै अन्त्यको सामना गर्नुपर्नेछ। यो कुरा परमेश्‍वरमा विश्‍वास गर्ने सबैले बुझ्नुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्