प्रार्थनाको महत्त्व र त्यसको अभ्यास (भाग दुई)
बाइबलले धेरै मानिसहरूका प्रार्थनाहरूको अभिलेख राखेको छ, जसले ती प्रार्थनाहरूमा आफ्ना सर्तहरू पूर्वनिर्धारित गरेनन्। बरु, तिनीहरूले परमेश्वरका अभिप्राय खोज्न र बुझ्न र पवित्र आत्मालाई निर्णयहरू गर्न दिन प्रार्थना प्रयोग गरे। उदाहरणको लागि, इजरायलीहरूले प्रार्थनाद्वारा यरीहोमा आक्रमण गरे। निनवेका मानिसहरूले पनि प्रार्थनाद्वारा नै पश्चात्ताप गरे र परमेश्वरको क्षमा प्राप्त गरे। प्रार्थना कुनै प्रकारको विधिविधान होइन। यो एक व्यक्ति र परमेश्वरबीच हुने वास्तविक कुराकानी हो, र यसको गहन महत्त्व हुन्छ। मानिसहरूको प्रार्थनाबाट, तिनीहरूले सोझै परमेश्वरको सेवा गरिरहेका छन् भनी बुझ्न सकिन्छ। यदि तैँले प्रार्थनालाई एक विधिविधानको रूपमा हेर्छस् भने, तेरो प्रार्थना प्रभावहीन हुनेछ, र त्यो वास्तविक प्रार्थना हुनेछैन किनभने तैँले परमेश्वरसित आफ्ना भित्री भावनाका कुराहरू बोल्ने वा उहाँसित हृदय खोल्ने काम नै गर्दैनस्। जहाँसम्म परमेश्वरको सरोकार छ, तेरो प्रार्थना प्रार्थनाको रूपमा गन्ती नै हुनेछैन। परमेश्वरको हृदयमा तँ अस्तित्वमै रहनेछैनस्। अनि, तँमा पवित्र आत्माले कसरी काम गर्न सक्नुहुन्छ? यसको परिणामस्वरूप, केही समयसम्म काम गरिसकेपछि, तँ थकित हुनेछस्। अबदेखि उसो, प्रार्थना नगरी, तैँले काम गर्न सक्नेछैनस्। काम गराउने त प्रार्थनाले हो, र सेवा गराउने पनि प्रार्थनाले नै हो। परमेश्वरको सेवा गर्ने अगुवा भएर पनि, यदि तैँले आफूलाई प्रार्थनामा समर्पित गरेको वा प्रार्थनाहरूलाई गम्भीरतासाथ लिएको कहिल्यै छैनस् भने, तँसित परमेश्वरलाई भन्नुपर्ने विचारै छैन, र यो तरिकाले जब तँ कर्तव्य निभाउँछस्, तैँले गल्ती गर्ने सम्भावना अधिक हुन्छ, र आफ्ना कार्यहरू गर्नको लागि निरन्तर आफ्नै अभिप्रायहरूमा भर परेसँगै तँ लड्ने सम्भावना पनि अधिक हुन्छ। पर्याप्त मात्रामा प्रार्थना नगरी परमेश्वरमा विश्वास गर्नु अस्वीकार्य छ। कतिपय मानिसहरूले बिरलै प्रार्थना गर्छन्, र परमेश्वर देहधारी हुनुभएकोले सोझै परमेश्वरका वचनहरू पढ्नु नै काफी हुन्छ भन्ने सोच्छन्। यसमा तैँले अति सजिलोसित सोच्दै छस्। के तैँले परमेश्वरलाई प्रार्थना नै नगरी केवल उहाँका वचनहरू मात्र पढेर पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छस्? यदि व्यक्तिले परमेश्वरलाई कहिल्यै प्रार्थना गर्दैन भने, र प्रार्थनामा परमेश्वरसित साँचोसाँचो बोल्ने वा सङ्गति गर्ने गर्दैन भने, उसलाई आफ्नो भ्रष्ट स्वभाव फाल्न र कर्तव्य निभाउँदा परमेश्वरलाई सन्तुष्ट पार्न एकदमै कठिन हुनेछ। देहधारी परमेश्वरले समेत कहिलेकाहीँ प्रार्थना गर्नुहुन्छ। जब येशू देहधारी हुनुहुन्थ्यो, उहाँले पनि महत्त्वपूर्ण विषयहरूमा प्रार्थना गर्नुहुन्थ्यो। उहाँले पर्वतहरूमा, डुङ्गा चढेको बेला र बगैँचाहरूमा हुँदा प्रार्थना गर्नुहुन्थ्यो। उहाँले आफ्ना चेलाहरूलाई पनि प्रार्थना गर्न सिकाउनुहुन्थ्यो। यदि तँ बारम्बार परमेश्वरसामु आएर उहाँसँग प्रार्थना गर्न सक्छस् भने, त्यसले तँ परमेश्वरलाई परमेश्वरजस्तै व्यवहार गर्छस् भन्ने प्रमाणित गर्छ। यदि तँ बारम्बार आफ्नै चाहनाअनुसार व्यवहार गर्छस्, र प्राय प्रार्थनालाई बेवास्ता गर्छस्, र उहाँको पिठ्यूँपछाडि विभिन्न कार्यहरू गर्छस् भने, तैँले परमेश्वरको सेवा गरिरहेको छैनस्, तँ केवल आफ्नै उद्यममा संलग्न भइरेहको छस्। यस्तो हुँदा, के तँलाई दोषी ठहराइनेछैन र? बाहिरी रूपमा, तैँले बाधा पार्ने कुनै काम नगरेजस्तो देखिएला, न त तैँले परमेश्वरको निन्दा गरेजस्तो नै देखिएला, तर तैँले अझै पनि बस आफ्नै कामकाज सम्हालिरहेको हुनेछस्। तँ आफ्नै उद्यममा संलग्न भइरेहको अनि प्रसिद्धि, लाभ, हैसियत र व्यक्तिगत फाइदा पछ्याइरहेको हुनेछस्। के यो मण्डलीको कामको लागि बाधक छैन र? यदि सतही रूपमा तँ बाधकजस्तो नदेखिए पनि, सारमा तेरा कार्यहरू परमेश्वरको प्रतिरोधी छन्। यदि तँ कहिल्यै पश्चात्ताप गर्दैनस् वा सुध्रिदैनस् भने, तँ खतरामा छस्।
कुनै असन्तोषजनक कुरा हुनगएमा हरेक व्यक्ति पीडा र दयनीय स्थितिमा पुग्छन्, र कसैसँग बोल्न चाहँदैनन्। केही समयपछि, तिनीहरूले अलि राम्रो महसुस गर्छन्, तर त्यो स्थिति सुध्रिएको हुँदैन। कहिलेकाहीँ, तिनीहरूले कर्तव्य निभाउने क्रममा भ्रष्ट स्वभाव प्रकट गर्छन् र तिनीहरूले काममा ढिलाइ गराउँछन्, वा तिनीहरू काटछाँटमा पर्छन्, र तिनीहरू दुखित र व्याकुल हुन्छन्, तर यदि तिनीहरूले यसलाई समाधान गर्न सत्यता खोजी गर्दैनन् भने यो असामान्य स्थिति समाधान हुनेछैन। तिमीहरू आफूलाई दुःख र कष्ट पर्दा प्रार्थना गर्न परमेश्वरसामु कतिपटक आएका छौ? तिमीहरू सबैले निस्फिक्री मानसिकता अपनाउँछौ र झारा मात्रै टार्छौ। यसरी, परमेश्वरमा विश्वास गर्ने दाबी गर्ने तर हृदयमा परमेश्वर नहुनेहरू धेरै छन्। तिनीहरूले जुनसुकै कर्तव्य निभाए पनि, कुनै समस्या सामना गर्दा, तिनीहरूले प्रार्थना गर्ने वा सत्यता खोज्ने कहिल्यै गर्दैनन्। काम गर्दा तिनीहरू आँखा चिम्लिएर आफैमा भर पर्छन्, हेर्दा लाग्छ कि तिनीहरूले पीडा सहिरहेका र ऊर्जा खर्चिरहेका छन्, र तिनीहरूले केही नगरे पनि र तिनीहरूको प्रयास व्यर्थको भए भने पनि तिनीहरू आफूहरूले कर्तव्य राम्रैसँग गरिरहेका छौँ भन्ठान्छन्। मानिसहरू प्रायः आफ्नै इच्छामा चल्छन् र हिँड्दा बाटो बिराउँछन्। एकपटक सानोतिनो काम गरेपछि, तिनीहरू अहङ्कारी बन्छन्, आफूसँग पूँजी छ भन्ठान्छन्, र तिनीहरूको हृदयमा परमेश्वरको लागि कुनै ठाउँ हुँदैन। यसबाट देख्न सकिन्छ कि मानिसहरूको स्वभाव नै धोका दिने हो। मानिसहरूले यस्तो पनि सोच्छन्, “यदि म परमेश्वरमा विश्वास गर्छु भने, मेरो हृदयमा उहाँको लागि कसरी ठाउँ हुँदैन? के म अहिले मण्डलीको लागि काम गरिरहेको छैन र? परमेश्वरले मलाई कसरी त्याग्न सक्नुहुन्छ?” यो होइन कि परमेश्वर तँलाई त्याग्न चाहनुहुन्छ, बरु के हो भने, तेरो हृदयमा परमेश्वरको लागि कुनै स्थान छैन। तैँले जतिसुकै काम गरे पनि, तैँले यसबाट छुटकारा पाउन सक्नेछैनस्, तँसँग पवित्र आत्माको काम प्राप्त गर्ने कुनै उपाय हुनेछैन, र तैँले जे गरे पनि, आफूलाई परमेश्वरबाट टाढा राख्दै उहाँलाई धोका दिनेछस्। प्रार्थनाको पाठ सबैभन्दा गहन हुन्छ। यदि तँ प्रार्थनासमेत नगरी आफ्नो कर्तव्यमा लाग्छस् भने, तेरो काम पर्याप्त हुनेछैन, र तेरो मेहनत व्यर्थ हुनेछ। तेरो अवस्था जति असामान्य छ, तैँले त्यति नै धेरै प्रार्थना गर्नुपर्छ। प्रार्थना नगर्दा, तेरो अवस्था केवल झन्झन् खराब हुनेछ, र तेरो कर्तव्य निष्प्रभावी हुनेछ। प्रार्थना तैँले बोल्ने कुराहरू कति राम्रा छन् भन्ने कुरामा निर्भर हुँदैन। यसको लागि त आफ्नो हृदयबाट बोल्नु आवश्यक छ, आफ्ना कठिनाइहरूबारे सत्य बोल्नु, सृष्टि गरिएको प्राणीको हैसियतबाट र समर्पणताको दृष्टिकोणबाट बोल्नु आवश्यक छ: “हे परमेश्वर, तपाईंलाई थाहा छ, मानिसहरू कति कठोर छन्। कृपया यस विषयमा मलाई मार्गदर्शन गर्नुहोस्। तपाईंलाई थाहा छ, म कमजोर छु, ममा चरम रूपको कमी छ, म तपाईंको प्रयोगको लागि अनुपयुक्त छु, म विद्रोही छु, र जबजब काम गर्छु, म तपाईंको काममा बाधा पुर्याउँछु र तपाईंका अभिप्रायसित नमिल्ने काम गर्छु। बिन्ती छ, तपाईं आफ्नो काम गर्नुहोस्, म बस समर्पण र सहकार्य गर्न चाहन्छु…।” यदि तँ यी वचनहरूसमेत बोल्न सक्दैनस् भने, तेरो लागि कुनै आशा छैन। कसै-कसैले यस्तो सोच्छन्, “जब म प्रार्थना गर्छु, मैले अझै पनि म तर्कसङ्गत प्रार्थना गर्छु कि गर्दिनँ भनेर हेर्नुपर्छ। अनि कसरी मैले प्रार्थना गर्ने?” के आफू तर्कसङ्गत छु कि छुइनँ भनेर बुझ्न धेरै समय लाग्छ र? प्रत्येक प्रार्थनापछि, इमानदारीपूर्वक मनन गर्, अनि तँमा स्पष्टता आउनेछ। तैँले यसो गर्दै जाँदा, पछि आउने हरेक प्रार्थनाहरूमा तँ अझ तर्कसङ्गत हुँदै जानेछस्, किनकि जब तैँले प्रार्थना गर्छस्, तँलाई केही शब्दहरू अनुपयुक्त छन् भन्ने थाहा हुनेछ। जब मानिसहरूले प्रार्थना गर्छन्, परमेश्वरसँगको तिनीहरूको सम्बन्ध सबैभन्दा प्रत्यक्ष र घनिष्ट हुन्छ। के तैँले कुनै काम गर्दा, सामान्यतया घुँडा टेकेर तुरुन्तै प्रार्थना गर्न सक्छस्? सधैँ यस्तो हुँदैन; यो परिस्थितिमा निर्भर गर्दछ। जब तँ घरमा एक्लै हुन्छस् र घुँडा टेकेर परमेश्वरलाई प्रार्थना गर्छस्, परमेश्वरसँगको तेरो सम्बन्ध सबैभन्दा घनिष्ट हुन्छ। तैँले हृदयमा भएका सबै कुरा भन्न सक्छस्, अनि तँलाई सबैभन्दा ठूलो आनन्द महसुस हुनेछ। परमेश्वरको वचन पढ्दा, यदि तँ पहिले प्रार्थना गर्छस् भने, उहाँको वचन पढ्दाको अनुभव फरक हुनेछ। आफ्नो कर्तव्य निभाउँदा, पहिले प्रार्थना र खोजी गर्, अनि तेरो हृदय गम्भीर हुनेछ र जब तँ आफ्नो कर्तव्य निभाउँछस्, त्यसको प्रभाव फरक हुनेछ। यदि तैँले परमेश्वरको वचन पढेर ज्योति पाउँछस् भने, परमेश्वरलाई प्रार्थना गर्, अनि तैँले अझ बढी आनन्द पाउनेछस्। यदि तँ कहिल्यै प्रार्थना गर्दैनस् भने, तैँले परमेश्वरको वचन पढ्दा र आफ्नो कर्तव्य निभाउँदा परमेश्वरको उपस्थिति महसुस गर्नेछैनस्। कहिलेकाहीँ, परमेश्वरको वचन पढ्दा तँलाई अन्तर्दृष्टि मिल्दैन, र उहाँको वचन पढेपछि, त्यसको कुनै स्पष्ट प्रभाव हासिल हुँदैन। तैँले परमेश्वरमा विश्वास गरेर गर्ने कुनै पनि काम प्रार्थनाबिना गर्न सकिँदैन। यदि तँ बारम्बार परमेश्वरलाई प्रार्थना गर्छस्, र परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ भने, तैँले जीवन प्रवेश हासिल गर्नेछस्, र तेरो विश्वास अझ बलियो हुनेछ। यदि तँ लामो समयसम्म प्रार्थना गर्दैनस् भने, तैँले आफ्नो विश्वास गुमाउनेछस्, अनि त्यसपछि तैँले कसरी जीवन प्रवेश हासिल गर्नेछस्? साँचो विश्वास भएका मानिसहरूले प्रार्थनाद्वारा परमेश्वरसामु जिउँदै र प्रार्थनाद्वारा सत्यता खोज्दै यस्तो प्रवेश हासिल गर्छन्। धेरै मानिसहरू प्रार्थना गर्दा प्रार्थना गरेजस्तो मात्रै गर्छन् तर सत्यता खोज्दैनन्। तिनीहरू आफूमाथि केही आइपर्दा र आफूले गर्न सक्ने अरू केही नहुँदा मात्र प्रार्थना र बिन्ती गर्न परमेश्वरसामु आउँछन्। तिनीहरूले सधैँ परमेश्वरलाई तिनीहरूको इच्छाअनुसार गर्न र तिनीहरूलाई सन्तुष्ट पार्न कर गर्छन्। के यो साँचो प्रार्थना हो? के परमेश्वरले यस्तो प्रार्थना सुन्नुहुन्छ? परमेश्वरको उपस्थितिमा प्रार्थना र खोजी गर्नु भनेको परमेश्वरलाई तैँले चाहेजस्तै गर्न कर लगाउने कुरा होइन, झन् उहाँलाई यो वा त्यो गर्न बाध्य पार्ने कुरा हुनु त परै जाओस्। यी सबै कुरा समझ नहुनुका प्रकटीकरणहरू हुन्। अनि, उचित प्रार्थना के हो? अनुचित प्रार्थना के हो? तैँले केही समयपछि अनुभवबाट यी कुराहरू जान्नेछस्। उदाहरणको लागि, तैँले प्रार्थना गरिसकेपछि तँलाई लाग्न सक्छ कि तैँले जुन कुराका निम्ति प्रार्थना गर्छस् त्यो त पवित्र आत्माले गर्नु नै हुन्न, न त तैँले प्रार्थना गरेजस्तो उहाँले तँलाई अगुवाइ नै गर्नुहुन्छ। अर्कोपटक प्रार्थना गर्दा तैँले भिन्नै प्रकारले प्रार्थना गर्नेछस्। पछिल्लो समय गरेको जस्तो तैँले परमेश्वरसँग फेरि जबरजस्ती गर्ने कोसिस गर्दैनस् वा तेरा आफ्नै इच्छाहरूको आधारमा उहाँसँग बिन्ती गर्दैनस्। तैँले भन्नेछस्, “हे परमेश्वर! सबै कुरा तपाईंका चाहनाअनुसार नै होस्।” जबसम्म तँ यस तरिकामा ध्यान दिन्छस्, तबसम्म तैँले केही समय जोडतोड गरेपछि नै उचित प्रार्थना के हो र अनुचित प्रार्थना भनेको के हो भनेर जान्नेछस्। यस्तो अवस्था पनि हुन सक्छ, जसमा तैँले आफ्नै इच्छाहरूअनुसार प्रार्थना गर्दा, तँलाई तेरो आत्माभित्र तेरा प्रार्थनाहरू भावशून्य भएको महसुस हुनेछ, र तैँले चाँडै नै तँसँग भन्नुपर्ने कुरा केही पनि नरहेको पत्ता लगाउनेछस्। तँ जति धेरै बोल्ने प्रयास गर्छस्, तेरो बोली उत्ति नै अनौठो हुनेछ। यसले के प्रमाणित गर्छ भने, जब तैँले यसरी प्रार्थना गर्छस्, तैँले पूर्ण रूपमा देहलाई पछ्याइरहेको छस्, र त्यस तरिकामा पवित्र आत्माले तँभित्र काम गर्नुहुने वा तँलाई डोऱ्याउनुहुनेछैन। यो पनि खोज र अनुभव गर्नुपर्ने कुरा हो। यी कुराहरू अझ बढी अनुभव गर्दै जाँदा, तैँले प्राकृतिक तवरमै यी कुराहरू बुझ्दै जानेछस्।
प्रार्थना गर्नु भनेको मुख्य रूपमा परमेश्वरसित इमानदारीसाथ बोल्नु र आफ्नो हृदयका कुरा उहाँलाई भन्नु हो। तँ भन्छस्, “हे परमेश्वर! तपाईंलाई मानिसको भ्रष्टता थाहा छ। आज मैले अर्को अनुचित काम गरेको छु। मैले मनमा एउटा उद्देश्य राखेको छु—म एक छली व्यक्ति हुँ। मैले तपाईंका अभिप्राय वा सत्यअनुसार काम गरिरहेको थिइनँ। मैले आफ्नै चाहनाअनुसार काम गरेँ, र आफूलाई ठीक ठहराउने कोसिस गरेँ। अब, मैले मेरो भ्रष्टतालाई बुझेँ। म तपाईंसँग बिन्ती गर्छु, मलाई अझ बढी अन्तर्दृष्टि दिनुहोस्, र मलाई सत्यता बुझ्ने, त्यसलाई अभ्यास गर्ने र यो भ्रष्टता फाल्ने तुल्याउनुहोस्।” यसरी प्रार्थना गर्; वास्तविक कुराहरूको वास्तविक विवरण दे। जब धेरैजसो मानिसहरू परमेश्वरसामु प्रार्थना गर्न आउँछन्, तिनीहरूका अधिकांश शब्दहरू धर्मसिद्धान्तका हुन्छन्। ती हृदयबाट आएका प्रार्थना हुँदैनन्। सोचको हिसाबले मात्र तिनीहरूमा थोरथोरै ज्ञान र पश्चात्ताप गर्न इच्छुक हृदय हुन्छ, तर तिनीहरूले चिन्तन गर्नमा र पूर्ण रूपले सत्यता बुझ्नमा कुनै प्रयत्न लगाएका हुँदैनन्। यसले तिनीहरूको जीवन प्रगतिमा असर गर्छ। प्रार्थना गर्दा, यदि तैँले परमेश्वरका वचनहरूबारे चिन्तन गर्न र सत्यता खोजी गर्न अनि पवित्र आत्मालाई तँलाई अन्तर्दृष्टि दिने तुल्याउन सक्छस् भने, त्यो यसबारेमा सोच्ने र यसलाई बुझ्ने कार्यभन्दा कैयौँ गुणा बढी सार्थक हुन्छ; त्यसबाट तँ सत्यता सिद्धान्तहरू बुझ्न सक्षम बन्छस्। पवित्र आत्माले काम गर्नुहुँदा उहाँले मानिसहरूलाई स्पर्शित गर्नुहुन्छ र उहाँले परमेश्वरको वचनद्वारा मानिसहरूलाई अन्तर्दृष्टि र ज्योति प्रदान गर्नुहुन्छ ताकि मानिसहरूलाई साँचो बुझाइ र साँचो पश्चात्ताप होस्, जुन मानिसहरूका विचारहरू र बुझाइभन्दा धेरै गहन हुन्छन्। यो कुरा तैँले राम्ररी बुझ्नुपर्छ। यदि तँ सतही, अव्यवस्थित सोचविचार र जाँचमा संलग्न हुन्छस् भने, तँसँग पछि अभ्यास गर्ने कुनै उपयुक्त मार्ग छैन, र तैँले सत्यतामा थोरै मात्र प्रवेश हासिल गर्छस् भने, तँ परिवर्तन हुन नसक्ने अवस्थामा नै रहनेछस्। उदाहरणको लागि, कतिपटक त जब तैँले गम्भीरतासाथ परमेश्वरप्रति आफैलाई अर्पित गर्ने र गम्भीरतासाथ उहाँको प्रेमको मूल्य चुकाउने अठोट गर्छस्। तर मस्तिष्कमा यस्तो इच्छा लिएर पनि, तैँले त्यति धेरै ऊर्जा अर्पण नगर्न सक्छस्, र तेरो हृदय त्यस प्रयासतर्फ पूर्ण समर्पित नहुन सक्छ। तापनि यदि, प्रार्थना गरेर उत्प्रेरित भएपछि तैँले एउटा संकल्प गर्छस् र “हे परमेश्वर, म कष्ट भोग्न तयार छु। म तपाईंका परीक्षाहरू स्वीकार गर्न तयार छु; र म तपाईंमा पूर्ण रूपमा समर्पित हुन तयार छु। मेरो दुःख जति नै ठूलो भए पनि म तपाईंको प्रेमको मूल्य चुकाउन तयार छु। म तपाईंको ठूलो प्रेमको आनन्द लिन्छु, र तपाईंले मलाई उठाउनुभएको छ। यसको निम्ति म तपाईंलाई मेरो हृदयको गहिराइबाट धन्यवाद दिन्छु, र तपाईंलाई सारा महिमा दिन्छु” भनेर भन्छस् भने, यस्तो प्रार्थना चढाइसकेपछि, तेरो सम्पूर्ण शरीर बलियो हुनेछ, र तँसँग अभ्यास गर्ने मार्ग हुनेछ। यो प्रार्थनाको प्रभाव हो। व्यक्तिले प्रार्थना गरिसकेपछि, पवित्र आत्माले उनीहरूमा काम गर्न, अन्तर्दृष्टि दिन, प्रकाश दिन, र उनीहरूलाई डोऱ्याउन थाल्नुहुनेछ, तिनीहरूलाई विश्वास र साहस दिनुहुन्छ, र तिनीहरूलाई सत्य अभ्यास गर्न सक्षम तुल्याउनुहुन्छ। यस्ता मानिसहरू पनि छन् जसले दिनहुँ परमेश्वरका वचनहरू पढ्छन् र पनि यस्तो परिणाम हासिल गर्दैनन्। तर ती वचनहरू पढेपछि, तिनीहरूले तीबारे सङ्गति गर्छन्, र तिनीहरूको हृदय उज्यालो हुन्छ, र तिनीहरूले अगाडि बढ्ने मार्ग प्राप्त गर्छन्। यसको अतिरिक्त, यदि पवित्र आत्माले तँलाई स्पर्श गर्नुहुन्छ भने, र तँलाई केही बोझ, साथसाथै केही मार्गनिर्देशन पनि दिनुहुन्छ भने, परिणाम साँच्चै बिलकुलै फरक हुनेछ। जब तँ परमेश्वरका वचनहरू पढ्छस्, तँ केही उत्प्रेरित हुन मात्र सक्छस्, र त्यतिबेला तँ रुन सक्छस्। केही समयपछि त्यो भावना हटेर जान्छ। तर यदि तैँले गरेको प्रार्थना आँसुसहितको, गम्भीर, साँचो र इमानदार प्रार्थना हुन्छ भने, र तँ पवित्र आत्माद्वारा स्पर्शित हुन्छस् भने, तेरो हृदयमा धेरै दिनसम्म त्यो खुसी रहिरहनेछ। प्रार्थनाको प्रभाव नै यही हो। प्रार्थनाको उद्देश्य परमेश्वरसामु आउनु र उहाँले मानिसहरूलाई जे दिनुहुन्छ त्यो स्विकार्नु हो। यदि तँ प्राय प्रार्थना गरिरहन्छस् भने, यदि तँ बारम्बार परमेश्वरसामु आएर उहाँसँग सङ्गति गर्छस्, र उहाँसँग तेरो सामान्य सम्बन्ध छ भने, तँ सधैँ उहाँद्वारा स्पर्शित हुनेछस्। यदि तँ सधैँ उहाँको भरणपोषण प्राप्त गर्छस्, र सत्यता स्वीकार्छस् भने, तँ परिवर्तित हुनेछस्, र तेरो अवस्था निरन्तर सुधार हुँदै जानेछ। खास गरी, जब दाजुभाइ-दिदीबहिनीहरूले एकसाथ प्रार्थना गर्छन्, तत्पश्चात विशेष ठूलो शक्ति उत्पन्न हुन्छ र तिनीहरूले आफूले धेरै कुरा प्राप्त गरेका महसुस गर्छन्। वास्तवमा, तिनीहरूले सँगै बिताएको समयमा त्यति धेरै सङ्गति नगरेका हुन सक्छन्, तर प्रार्थनाले नै तिनीहरूलाई जगाएको थियो, यहाँसम्म कि तिनीहरूले आफ्ना परिवारहरू र संसारलाई त्याग्न एक क्षण कुर्न पनि सकेनन्, अनि तिनीहरूले केही पनि चाहेनन् र परमेश्वरलाई पाउनु नै पर्याप्त भयो। कति ठूलो विश्वास! पवित्र आत्माको कामले मानिसहरूलाई जुन बल दिन्छ त्यो अनवरत रूपमा उपभोग गर्न सकिन्छ! परमेश्वरले दिनुहुने त्यो शक्तिमा भर पर्नुको साटो, हठी हुँदै, आफ्नै जिद्मा भर परेर, तँ कति टाढासम्म जान सक्छस्? तँ बस हिँडेको हिँड्यै गर्छस्, र तागत सबै सक्छस्, र जब तैँले कुनै समस्या वा कठिनाइ सामना गर्छस्, तब तँसँग अघि बढ्ने कुनै सामर्थ्य हुँदैन। तँ लड्छस् र पतीत हुँदै अन्तिम अवस्थामा पुग्छस्। यहाँ कैयौँ मानिसहरू छन्, जो परमेश्वरलाई पछ्याउने मार्ग हिँड्दा असफल र पतीत भएका छन्; सत्यताबिना तिनीहरू खडा हुनै सक्दैनन्। त्यसैले, मानिसहरूले निरन्तर परमेश्वरसित प्रार्थना गर्नुपर्छ, परमेश्वरमा भर पर्नुपर्छ, र परमेश्वरसँग अन्त्यसम्मै सामान्य सम्बन्ध कायम राख्नुपर्छ! तैपनि हिँड्दैजाँदा मानिसहरू परमेश्वरबाट टाढा जान्छन्। परमेश्वर, परमेश्वर हुनुहुन्छ, र मानवजाति, मानवजाति हो। दुवैको आ-आफ्नो बाटो छ। परमेश्वरले परमेश्वरका वचनहरू बोल्नुहुन्छ, र मानवजातिले आफ्नै मार्ग हिँड्छ जुन परमेश्वरको जस्तो हुँदैन। जब कुनै व्यक्तिले परमेश्वरमाथिको विश्वासमा आफ्नो सामर्थ्य गुमाउँछ, ऊ परमेश्वरसामु केही कुराहरू प्रार्थना गर्न र केही बल माग्न आउँछ। केही ऊर्जा पाइसकेपछि, ऊ फेरि पनि अलग्गिन्छ। केही समयपछि, उसको ऊर्जा समाप्त हुन्छ, र थप ऊर्जा प्राप्त गर्न ऊ परमेश्वरकहाँ फर्कन्छ। यदि जुनै मानिस यसरी नै अघि बढ्छ भने, ऊ लामो समय टिक्न सक्दैन। यदि कोही परमेश्वरलाई छोडिजान्छ भने, ऊसँग अगाडि बढ्ने कुनै मार्ग हुँदैन।
मैले अहिले पत्ता लगाएको छु कि धेरै मानिसहरूको आफैलाई नियमन गर्ने क्षमता असाध्यै कमजोर छ। यसको कारण के हो? यसको पहिलो कारण हो, मानिसहरूले सत्यता बुझ्दैनन्, र यदि तिनीहरूले प्रार्थना गर्दैनन् भने, तिनीहरू व्यभिचारी हुने सम्भावना अत्यधिक हुन्छ। तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, र यसले काम गर्दैन, र तिनीहरूले आफूलाई संयमित राख्न पटक्कै सक्दैनन्। यस्तो अवस्थामा, तैँले प्रार्थनाको माध्यमबाट मात्र पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छस्, र यदि तैँले केही सत्यता बुझ्छस् भने मात्र, तँ कुनै न कुनै रूपमा संयमित हुन र अलिअलि मानवजस्तो हुन सक्छस्। परमेश्वरमा विश्वास गर्नेहरूले उहाँका वचनहरू बारम्बार पढ्नुपर्छ, सत्यतामा जोड दिनुपर्छ र बारम्बार प्रार्थना गर्नुपर्छ। तब मात्र मानिसहरू सुध्रिन सक्छन्, परिवर्तन हासिल गर्न सक्छन्, र मानव स्वरूपको केही झलक जिउन सक्छन्। यदि तँ आफैलाई चिन्ने र सामान्य मानवतामा जिउने कुरा मात्र गर्छस् भने, त्यो ठीक होइन; पवित्र आत्माको कामबिना, त्यसको कुनै प्रभाव हुनेछैन। यदि तँ पवित्र आत्माले ठ्याक्कै कसरी काम गर्नुहुन्छ र कसरी मानिसहरूलाई उत्प्रेरित गर्नुहुन्छ, र मानिसहरूले आफ्नो दैनिक जीवनमा कसरी सत्यता खोज्नु र अभ्यास गर्नुपर्छ भन्ने कुरालाई उपेक्षा गर्छस् भने, तैँले कसरी परमेश्वरमा विश्वास गर्न सक्छस्? तँ कुन कर्तव्य निभाउन सक्छस्? यदि आफ्नो हृदयमा मानिसहरूले परमेश्वरको अस्तित्व छ भनेर मात्र विश्वास गर्छन् भने, यदि तिनीहरूको विश्वासमा बाँकी रहेको कुरा भनेकै परमेश्वरको अस्तित्व स्विकार्नु मात्र हो भने, र यदि तिनीहरूले उहाँको वचन र सत्यतालाई पाखा लगाउँछन् भने, तिनीहरूको जीवन प्रवेश हुनेछैन, र तिनीहरूको हृदयमा न त परमेश्वर हुनुहुनेछ न त सत्यता नै। मानिसहरूका विचार र धारणाहरू केवल भौतिक संसारले भरिएका हुनेछन्। परमेश्वरप्रतिको यस प्रकारको विश्वास धार्मिक विधिविधानमा परिणत भएको हुन्छ। सत्यतालाई प्रेम नगर्नेहरूले नास्तिकता वा भौतिकवादलाई पनि स्विकार्न सक्छन्, र तिनीहरूले बिस्तारै परमेश्वरको अस्तित्वमा प्रश्नचिन्ह खडा गर्न सक्छन्, र आत्मिक क्षेत्र र आत्मिक जीवनका कुराहरू इन्कार्न सक्छन्। यो साँचो मार्गबाट पूर्ण विचलन भएको अवस्था हो, र तिनीहरू अतलकुण्डमा खसिसकेका छन्। प्रार्थनाबिना मानिसहरूले सत्यता अभ्यास गर्न राखेको इच्छा केवल व्यक्तिपरक इच्छा हो; तिनीहरू प्रावधानहरू मात्र पालना गर्छन्। यदि तैँले माथिको बन्दोबस्तअनुसार काम गर्छस् र परमेश्वरलाई चिढ्याउँदैनस् नै भने पनि, तँ प्रावधानहरूमा मात्र अल्झन्छस्, र तैँले राम्रोसँग आफ्नो कर्तव्य कहिल्यै निभाउन सक्नेछैनस्। मानिसहरूका आत्माहरू अहिले पूरै चेतनाहीन र सुस्त छन्। परमेश्वरसँगको मानिसहरूको सम्बन्धमा कैयौँ सूक्ष्म कुराहरू हुन्छन्, जस्तो कि आत्माद्वारा उत्प्रेरित हुने र अन्तर्दृष्टि प्राप्त गर्ने, तर मानिसहरूले ती कुरा महसुस गर्न सक्दैनन्—ती औधी चेतनाहीन छन्! यदि मानिसहरूले परमेश्वरका वचनहरू पढ्दैनन् वा प्रार्थना गर्दैनन्, र आत्मिक जीवनका कुराहरू कहिल्यै अनुभव गर्दैनन्, र आफ्नै स्थिति नियन्त्रणमा राख्न सक्दैनन् भने, तिनीहरूसँग आफू परमेश्वरसामु बाँचिरहेका छौँ भनेर प्रत्याभूति गर्ने कुनै उपाय हुँदैन। यदि तँ परमेश्वरसामु बाँच्न चाहन्छस् भने, प्रार्थना नगर्नु अस्वीकार्य हुन्छ, र परमेश्वरका वचनहरू नपढ्नु त झनै अस्वीकार्य हुन्छ। मण्डली जीवन नजिउनु पनि अस्वीकार्य नै हुन्छ। यदि व्यक्ति परमेश्वरका वचनहरूबाट टाढा जान्छ भने, उसले उहाँमा विश्वास गर्दैन, र प्रार्थनाबाट टाढा भाग्नु भनेको परमेश्वरबाट टाढा भाग्नु हो। परमेश्वरमा विश्वास गर्नको लागि व्यक्तिले प्रार्थना गर्नैपर्छ। प्रार्थनाविना, परमेश्वरमाथिको विश्वास विश्वासजस्तो पनि हुँदैन। मैले भनेको छु, तैँले प्रावधानहरूमा अल्झिरहनुपर्दैन, तर तैँले जुनसुकै ठाउँ र जुनसुकै समयमा प्रार्थना गर्नुपर्छ, तर बिरलै प्रार्थना गर्नेहरू पनि केही छन्। बिहान उठ्दा तिनीहरू प्रार्थना गर्दैनन्, तर परमेश्वरका वचनहरूका केही खण्डहरू मात्र पढ्छन्, अनि बरु भजनहरू सुन्छन्। दिउँसो तिनीहरू बाहिरी कार्यहरूमा व्यस्त हुन्छन्, र राति सुत्न जानुअघि तिनीहरूले प्रार्थना गर्दैनन्। के तिमीहरूलाई यो सत्य हो जस्तो लाग्दैन—यदि तिमीहरू परमेश्वरका वचनहरू पढ्छौ तर प्रार्थना गर्दैनौ भने, के तिमीहरू उहाँको वचन पढ्ने तर त्यो नबुझ्ने गैरविश्वासीजस्तो छैनौ र? यदि मानिसहरूले प्रार्थना गर्दैनन् भने, तिनीहरूको मन परमेश्वरका वचनहरूमा जानै सक्दैन, र ती वचनहरू पढ्दा तिनीहरूलाई अन्तर्दृष्टि प्राप्त हुनेछैन। तिनीहरूमा आत्माको सूक्ष्म अनुभूति हुनेछैन, न त तिनीहरूले आत्मा स्पर्शित भएको अनुभूति नै गर्नेछन्। तिनीहरू भावशून्य र सुस्त हुन्छन्; तिनीहरूले मण्डलीको काम र आफ्नो कर्तव्य निभाउनेबारे सतही-स्तरको मात्र सङ्गति गर्छन्। जब केही हुन्छ, तिनीहरूले आफ्नो हृदयका भित्री भावनाहरू बुझ्न सक्दैनन्। के यसले परमेश्वरसँगको तिनीहरूको सामान्य सम्बन्धलाई असर गर्दैन र? तिनीहरूको हृदयमा परमेश्वरको लागि पहिलेदेखि नै कुनै ठाउँ हुँदैन, र तिनीहरूले प्रार्थना गर्न चाहे पनि कुनै शब्द बाहिर निस्कँदैन, र तिनीहरूले परमेश्वरलाई महसुस गर्न सक्दैनन्। यो पहिल्यै धेरै खतरनाक भइसकेको छ। मतलब, तिनीहरू परमेश्वरबाट धेरै टाढा भइसकेका छन्। वास्तवमा, प्रार्थना गर्नको लागि आफ्नो आत्मामा फर्किनुले बाह्य कार्यहरूमा बाधा पुर्याउँदैन; यसले कुनै पनि कुरामा ढिलाइ गराउँदैन। यदि कुनै समस्या देखा पर्छ र त्यसलाई सुल्झाइँदैन भने काममा ढिलाइ हुनेछ। परमेश्वरलाई प्रार्थना गर्नु भनेको समस्याहरू समाधान गर्न, र मानिसहरूलाई परमेश्वरको उपस्थितिमा बाँच्न र उहाँका वचनहरूको आनन्द लिन सक्षम पार्नको लागि हो। यो मानिसहरूका कर्तव्यहरू पूरा गर्न र तिनीहरूको जीवन प्रवेशको लागि अझै लाभदायक छ।
१९९८
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।