प्रार्थनाको महत्त्व र त्यसको अभ्यास (भाग एक)
तिमीहरू हाल परमेश्वरको प्रार्थना कसरी गर्छौ? यसमा के-कसरी धार्मिक प्रार्थनाभन्दा सुधार आएको छ? प्रार्थनाको महत्त्वबारे वास्तवमा तिमीहरूले के बुझेका छौ? के यी सवालहरूबारे मनन गरेका छौ? प्रार्थना नगर्ने हरेक व्यक्ति परमेश्वरबाट टाढिन्छ, र प्रार्थना नगर्नेहरू सबैले आफ्नै इच्छा पछ्याउँछन्। प्रार्थनाको अनुपस्थितिले परमेश्वरसँगको दूरी र परमेश्वरप्रतिको विश्वासघात जनाउँछ। प्रार्थनासम्बन्धी तिमीहरूको वास्तविक अनुभव कस्तो छ? परमेश्वर र मानिसहरूबीचको सम्बन्ध तिनीहरूको प्रार्थनाबाट देख्न सकिन्छ। तैँले गरेको कामको नतिजाको निम्ति दाजुभाइ-दिदीबहिनीहरूले तेरो प्रशंसा गर्दा, तँ कस्तो व्यवहार गर्छस्? मानिसहरूले सुझाव दिँदा, तँ कस्तो प्रतिक्रिया दिन्छस्? तँ परमेश्वरसामु प्रार्थना गर्छस्? समस्या वा कठिनाइहरू आइपर्दा त तिमीहरू सबैजना प्रार्थना गर्न समय निकाल्छौ, तर के आफू राम्रो अवस्थामा नहुँदा पनि परमेश्वरको प्रार्थना गर्छौ त? के आफूले भ्रष्टता प्रकट गर्दा प्रार्थना गर्छौ? के साँचो रूपमा प्रार्थना गर्छौ? यदि साँचो रूपमा प्रार्थना गर्दैनौ भने तिमीहरू अघि बढ्न सक्दैनौ। विशेषतः भेलाहरूमा, तिमीहरूले प्रार्थना र प्रशंसा चढाउनुपर्छ। केही मानिसहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका छन्, तर दुर्भाग्यवश, तिनीहरू प्रायः प्रार्थना गर्दैनन्। केही शब्द र धर्मसिद्धान्तहरू बुझेपछि, तिनीहरू आफूले सत्यता बुझेको, कद प्राप्त गरेको भन्ठान्दै अहङ्कारी बन्छन्, र तिनीहरू आफैमा धेरै खुसी महसुस गर्छन्। परिणामस्वरूप, तिनीहरू यस प्रकारको असामान्य अवस्थामा अल्झन्छन्, र अर्कोपटक प्रार्थना गर्न आउँदा तिनीहरूसँग भन्नको लागि केही पनि हुँदैन, र तिनीहरूमा पवित्र आत्माको काम पनि हुँदैन। जब व्यक्तिले आफ्नो अवस्था नियन्त्रण गर्न सक्दैन, उसले थोरै काम गरेपछि नै परिश्रमको फलको आनन्द लिन पनि सक्छ—वा ऊ नकारात्मक बन्न, आफ्नो काममा सुस्त हुन, र थोरै कठिनाइ सामना गर्दा नै कर्तव्य निभाउन छोड्न सक्छ, र यो अत्यन्तै खतरनाक हुन्छ। विवेक वा समझ नभएका मानिसहरू यस्तै हुन्छन्। धेरैजसो मानिसहरू आफूलाई कठिनाइ आइपर्दा, वा कुनै कुरालाई पूर्ण रूपमा बुझ्न नसक्दा मात्र प्रार्थना गर्नको लागि समय निकाल्छन्। तिनीहरू आफूलाई शंका र अनिर्णयले सताउँदा, वा आफूले भ्रष्ट स्वभाव प्रकट गर्दा मात्र प्रार्थना गर्छन्। समस्या पर्दा मात्र तिनीहरू प्रार्थना गर्छन्। यो सामान्य हो। तर आफ्नो कामको परिणाम प्राप्त गर्दा पनि तैँले प्रार्थना गर्नुपर्छ र परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यदि तैँले खुसी हुनमा मात्र ध्यान दिइस् र प्रार्थना गरिनस् भने, र सधैँ प्रफुल्लित भएर यी भावनाहरूको आनन्द लिइस्, तर परमेश्वरको कृपा बिर्सिइस् भने, यो पूर्णतया समझ गुमेको अवस्था हो। जब तँ परमेश्वरबाट अत्यन्तै धेरै टाढिन्छस्, कहिलेकाहीँ तँलाई अनुशासनको सामना गर्न लगाइन्छ; वा सायद काम गर्ने प्रयास गर्दा तँ आफै पर्खालमा ठोक्किन पुग्छस्; वा तैँले गल्ती गरेर तेरो काटछाँट गरिँदा, तँलाई मुटु छेड्ने शब्दहरू सुन्न लगाइन्छ, र तैँले दबाब वा दुःख सहनुपर्छ, तर यी सबै तैँले परमेश्वरको अपमान गर्न ठ्याक्कै केचाहिँ गरेँ भन्ने थाहा नपाई सहनुपर्छ। वास्तवमा, परमेश्वरले तँलाई अनुशासित तुल्याउन, तँलाई पीडा दिन र परिष्कृत पार्नको लागि प्राय: बाह्य वातावरणहरू प्रयोग गर्नुहुन्छ, र अन्त्यमा जब तँ परमेश्वरसामु जान्छस् र प्रार्थना गर्दै मनन गर्छस्, तैँले आफ्नो अवस्था गलत छ—आत्मसन्तुष्टि, घमण्ड र सायद आत्मप्रशंसाले भरिएको छ भन्ने महसुस गर्छस्, र तैँले आफैलाई घिनाउँछस्, र पूर्णतया पछुतो मान्छस्। एकचोटि परमेश्वरलाई प्रार्थना गरेर गल्ती स्वीकारेपछि, तैँले आफैलाई घृणा गर्न थाल्नेछस् र प्रायश्चित गर्न मन गर्नेछस् र यस समयमा तेरो गलत अवस्था आफै सुध्रिन थाल्नेछ। जब मानिसहरूले साँचो रूपमा प्रार्थना गर्छन्, तब पवित्र आत्माले उहाँको काम गर्नुहुन्छ, र एक निश्चित अनुभूति, वा अन्तर्दृष्टि दिनुहुन्छ, जसले तिनीहरूलाई असामान्य अवस्थाबाट बाहिर आउन मद्दत गर्छ। प्रार्थना गर्नु भनेको केही कुरा खोज्नु, केही औपचारिकताहरू निभाउनु अनि त्यतिमै त्यो कुरा सक्नु होइन। आफूलाई परमेश्वर चाहिँदा प्रार्थनाका केही शब्दहरू बोल्नु र नचाहिँदा केही नगर्नु प्रार्थना होइन। यदि लामो समयसम्म प्रार्थना गरेनौ भने, बाहिरबाट हेर्दा तिमीहरूको अवस्था सामान्यजस्तो देखिए पनि, तिमीहरूले जे मन लाग्यो त्यही गर्दै आफ्नो कर्तव्य निर्वाहमा आफ्नै इच्छाशक्तिमा भर पर्नुपर्नेछ, र यसो गरिरहेमा तिमीहरू सिद्धान्तहरूअनुरूप काम गर्न नसक्ने हुनेछौ। तिमीहरूले यदि लामो समयसम्म परमेश्वरलाई प्रार्थना गरेनौ भने, पवित्र आत्माले कहिल्यै पनि तिमीहरूलाई अन्तर्दृष्टि वा ज्योति दिनुहुनेछैन। तिमीहरूले कर्तव्य पालन गरेछौ भने पनि, प्रावधानको पालना मात्र गरिरहेका हुनेछौ र यसरी कर्तव्य पालना गर्दा तिमीहरूले परमेश्वरको साक्षी दिने फल फलाउनेछैनौ।
मैले पहिले पनि भनिसकेको छु, धेरैले आफ्नो कर्तव्यको सिलसिलामा आफ्नै काम सम्हाल्छन् र आफ्नै मामिलामा संलग्न हुन्छन् र आज पनि मानिसहरू यस्तै रहेका छन्। केही समय काम गरेपछि, तिनीहरूले प्रार्थना गर्न छोड्छन् र परमेश्वर तिनीहरूको हृदयमा रहनुहुन्न। तिनीहरू सोच्छन्, “म कार्य बन्दोबस्तले आवश्यक गरेबमोजिम मात्र गर्छु। जे भए पनि, मैले कुनै गल्ती गरेको छैन, र मैले कुनै अवरोध वा बाधा उत्पन्न गरेको छैन…।” जब तैँले प्रार्थना नगरी काम गर्छस् र राम्ररी काम सम्पन्न हुँदा परमेश्वरलाई धन्यवाद दिँदैनस्, तब तेरो अवस्थामा समस्या हुन्छ। यदि तँलाई आफ्नो अवस्था गलत छ भन्ने थाहा छ, तर तँ आफै यसलाई समायोजन गर्न असमर्थ छस् भने, तैँले निरन्तर आफ्नै इच्छानुसार काम गर्नेछस् र तैँले सत्यता बुझ्दा पनि यसलाई व्यवहारमा उतार्न सक्दैनस्। तँलाई आफ्नो सोच्ने तरिका नै सही छ भन्ने लागिरहन्छ र तँ सधैँ त्यसैमा अडिग रहिरहन्छस्, मनलागी गर्छस्, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने कुरा बेवास्ता गर्छस्, आफ्नै प्रयत्नहरूमा केन्द्रित भइरहन्छस् र यसको फलस्वरूप पवित्र आत्माले तँलाई त्याग्नुहुन्छ। एकचोटि पवित्र आत्माले त्याग्नुभएपछि, तैँले अन्धकार र ओइलिएको महसुस गर्नेछस्। तैँले कुनै पनि पोषण वा आनन्द महसुस गर्न सक्नेछैनस्। आधा वर्षमा एकपटक पनि साँचो प्रार्थना नगर्ने मानिसहरू पनि धेरै छन्। यस प्रकारका व्यक्तिहरूको हृदयमा परमेश्वर रहनुहुन्न। केही मानिसहरू प्राय: प्रार्थना गर्दैनन् र तिनीहरू खतरा वा दुःखमा पर्दा मात्र प्रार्थना गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गरे पनि, आत्मिक रूपमा ओइलिएको महसुस गर्छन्, त्यसैले तिनीहरूमा अपरिहार्य रूपमै नकारात्मक विचारहरू हुन्छन्। कहिलेकाहीँ तिनीहरू सोच्छन्, “मैले कहिले आफ्ना कर्तव्यहरू टकटक्याउन सक्छु होला?” यस्ता विचारहरू किन पनि आउन सक्छन् भने, तिनीहरूले लामो समयदेखि प्रार्थना गरेका हुँदैनन् र तिनीहरू परमेश्वरबाट टाढिएका हुन्छन्। यदि यसबाट अविश्वासी, दुष्ट हृदयले जन्म लिन्छ भने, यो धेरै खतरनाक हुन्छ। प्रार्थना महत्त्वपूर्ण कुरा हो! प्रार्थनाबिनाको जीवन धुलोजस्तै सुक्खा हुन्छ र यसले पवित्र आत्माको काम प्राप्त गर्न सक्दैन; त्यस्ता मानिसहरू परमेश्वरको अगाडि बाँच्दैनन्, र तिनीहरू पहिले नै अन्धकारमा परिसकेका हुन्छन्। त्यसकारण, तैँले प्रायः प्रार्थना गरिरहन र परमेश्वरका वचनहरूबारे सङ्गति गरिरहन आवश्यक छ, ताकि तैँले पवित्र आत्माको कामको आनन्द लिन र हृदयबाट परमेश्वरको प्रशंसा गर्न सक्। यसरी मात्र तेरो जीवन शान्ति र आनन्दले भरिन सक्छ। पवित्र आत्माले सबै कुरामा प्रार्थना र प्रशंसा गर्नेहरूमा विशेष प्रभावकारितासाथ काम गर्नुहुन्छ। पवित्र आत्माले मानिसहरूलाई प्रदान गर्ने शक्ति अनन्त छ, र यसलाई मानिसहरूले कहिल्यै प्रयोग गरेर सिध्याउन वा समाप्त पार्न सक्दैनन्। मानिसहरूले अनवरत रूपमा बोल्न र प्रचार गर्न सक्छन् र तिनीहरूले धेरै सिद्धान्तहरू बुझ्न सक्छन्, तर पवित्र आत्माको कामबिना यो बेकार र व्यर्थ हुन्छ। धेरै घटनाहरूमा त मानिसहरूले आफ्नो आधा दिन प्रार्थनामै बिताउन सक्छन्, तर त्यसो गर्दा केही शब्दहरू मात्र बोल्छन्, जस्तै, “परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु र तपाईंको प्रशंसा गर्छु!” केही समयपछि, तिनीहरूले फेरि उही वाक्य दोहोर्याउन सक्छन्। तिनीहरूले परमेश्वरलाई भन्नको लागि थप केही सोच्न सक्दैनन्, उहाँलाई भन्नको लागि तिनीहरूसँग कुनै भित्री विचारहरू हुँदैनन्। यो धेरै खतरनाक हुन्छ! यदि परमेश्वरमा विश्वास गर्ने मानिसहरूले उहाँको प्रशंसा गर्ने, धन्यवाद दिने र महिमा गाउने शब्दहरू उच्चारण गर्न पनि सक्दैनन् भने, तिनीहरूको हृदयमा उहाँको लागि ठाउँ छ भनेर कसरी भन्न सकिन्छ? तैँले परमेश्वरमा विश्वास छ र उहाँलाई आफ्नो हृदयले चिन्छ भनेर दाबी गर्न सक्छस्, तर तँ उहाँको अगाडि आउँदैनस्, तैँले प्रार्थना गर्दा तेरो हृदयमा के छ भनी उहाँलाई बताउन सक्दैनस्, र तेरो हृदय परमेश्वरबाट धेरै टाढा छ र त्यसैले पवित्र आत्माले उहाँको काम गर्नुहुन्न। तैँले हरेक बिहान उठ्दा, हृदय खोलेर इमानदारीपूर्वक प्रार्थना गर्नुपर्छ, परमेश्वरका वचनहरू पढ्नुपर्छ र त्यसपछि तैँले ज्योति र अभ्यासको मार्ग नभेटुन्जेल ती वचनहरू मनन गर्नुपर्छ। यसो गर्, अनि तेरो दिन विशेष राम्रो र परिपूर्ण हुनेछ र तैँले पवित्र आत्मा तेरो सुरक्षा गर्दै सधैँ तँसँगै हुनुहुन्छ भन्ने महसुस गर्नेछस्।
मैले धेरै मानिसहरूमा साझा समस्या रहेको देखेको छु। कुनै मामिलाहरू आइपर्दा तिनीहरू प्रार्थना गर्न परमेश्वरसामु आउँछन्, तर कुनै कुराले पनि नपिरोल्दा तिनीहरू परमेश्वरलाई बेवास्ता गर्छन्। तिनीहरू आफूखुसी देहसुखमा लिप्त हुन्छन्, तर कहिल्यै चेतमा आउँदैनन्। के यो परमेश्वरप्रतिको विश्वास हो? के यो साँचो विश्वास हो? साँचो विश्वासको अभाव हुनु भनेको हिँड्ने बाटो नहुनु हो। साँचो विश्वास भएन भने विश्वासका कुन कार्यहरू परमेश्वरका अभिप्रायअनुरूप हुन्छन् वा कुन कार्यहरूद्वारा सत्यता प्राप्त गर्न वा जीवनमा वृद्धि हुन सकिन्छ भन्ने कुरा कसैले थाहा पाउन सक्दैन। विश्वास नहुँदा, व्यक्ति अन्धो हुन्छ, ऊसँग खोजीको चाहना हुन्छ, तर दिशा र लक्ष्य हँदैन। अनि, विश्वास कसरी पैदा हुन्छ? विश्वास प्रार्थना र परमेश्वरको सङ्गतिद्वारा पैदा हुन्छ, र परमेश्वरका वचनहरू पढेर र पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गरेर अझ बढी विश्वास पैदा हुन्छ। तैँले जति धेरै सत्यता बुझ्दै जान्छस्, तँलाई त्यति नै धेरै विश्वास हुनेछ। सत्यता नबुझेकाहरूमा कुनै पनि विश्वास हुँदैन, र यदि तिनीहरू मण्डलीमा घुलमिल नै भए भने पनि, तिनीहरू अविश्वासी नै हुन्छन्। परमेश्वरमा विश्वास गर्ने मानिसहरूले प्रार्थना नगरी र परमेश्वरका वचनहरू नपढी त्यसो गर्न सक्दैनन्। यदि तिनीहरू केवल भेलाहरूमा उपस्थित भइरहन्छन्, तर बिरलै इमानदारीपूर्वक प्रार्थना गर्छन् भने, तिनीहरूले आफूलाई परमेश्वरबाट झन्झन् टाढिएको पाउनेछन्। तिमीहरू सबै बिरलै साँचो रूपमा प्रार्थना गर्छौ र केही मानिसहरू त अझै पनि कसरी प्रार्थना गर्ने भनेर जान्दैनन्। तथ्य यो हो कि प्रार्थना मूलतः तिमीहरूको हृदयबाट बोलिने कुरा हो। यो परमेश्वरसामु आफ्नो हृदय खोल्नु र उहाँको अगाडि खुलेर कुरा गर्नु हो। यदि व्यक्तिको हृदय सही प्रकारको छ भने, उसले हृदयबाट बोल्न सक्छ र यस तरिकामार्फत, परमेश्वरले उसको प्रार्थना सुन्नु र स्विकार्नुहुन्छ। कतिपय मानिसहरूले प्रार्थना गर्दा परमेश्वरसँग माग्न मात्र जानेका हुन्छन्। तिनीहरू अरू केही नभनी परमेश्वरको अनुग्रहको लागि मात्र निरन्तर बिन्ती गर्छन् र यसरी तिनीहरूले जति धेरै प्रार्थना गर्छन्, त्यति नै सुकेको महसुस गर्छन्। प्रार्थना गर्दा, चाहे तैँले कुनै कुराको तृष्णा गर्, वा चाहे परमेश्वरसँग केही खोजी गर्, वा आफूले सम्हालिरहेको प्रस्ट देख्न नसक्ने कुरामा बुद्धि र शक्ति प्रदान गर्नको लागि परमेश्वरसँग अनुरोध गर्, वा चाहे परमेश्वरसँग अन्तर्दृष्टि माग्, तँसँग सामान्य मानवताको समझ हुनुपर्छ। समझ नहुँदा, तैँले आफ्नो घुँडा टेकेर यसो भन्नेछस्, “परमेश्वर, बिन्ती छ, मलाई विश्वास र बल दिनुहोस्, बिन्ती छ, मलाई अन्तर्दृष्टि दिनुहोस् र मलाई मेरो प्रकृति हेर्न दिनुहोस्, बिन्ती छ, तपाईंले काम गरेर मलाई अनुग्रह र आशीर्वाद प्रदान गर्नुहोस्।” यस “बिन्ती” मा एउटा अनिवार्य कुरा छ। यो परमेश्वरलाई दबाब दिने एउटा तरिका हो, यो मामिला पूर्वनिर्धारित नै हो झैँ गरी उहाँले गर्नैपर्छ भनेर भन्नु हो। यो निष्कपट प्रार्थना होइन। पवित्र आत्माको लागि, यदि तैँले के गर्न लाग्दै छस् भनेर पहिले नै सर्तहरू निर्धारण गरिसकेको छस् भने, के तैँले झारा मात्र टारिरहेको हुँदैनस् र? के यो परमेश्वरलाई धोका दिनु होइन र? व्यक्तिले खोजी गर्ने, आज्ञाकारी हृदयसहित प्रार्थना गर्नुपर्छ। उदाहरणका निम्ति, जब तँमाथि केही आइपर्छ, र त्यसको सामना कसरी गर्ने भनी तँलाई थाहा हुँदैन, तब तैँले यसो भन्न सक्छस्, “हे परमेश्वर, यस विषयमा के गर्ने हो मलाई थाहा छैन। म यस कुरामा तपाईंलाई सन्तुष्ट पार्न र तपाईंका अभिप्राय खोज्न चाहन्छु। म तपाईंको चाहनाअनुसार गर्न चाहन्छु, मेरो चाहनाअनुसार होइन। तपाईंलाई थाहा छ, मानव चाहनाहरू तपाईंका अभिप्रायहरूको पूर्ण विपरीत हुन्छन्, यिनले तपाईंलाई पूर्ण प्रतिरोध गर्छन्, र यी सत्यसँग मेल खाँदैनन्। मलाई तपाईं ज्ञान दिनुहोस्, यस विषयमा मलाई अगुवाइ गर्नुहोस्, र मलाई तपाईंलाई दुःखी नबनाउन मदत गर्नुहोस्…।” प्रार्थना गर्ने सही तरिका यही हो। यदि तँ “हे परमेश्वर, म तपाईंलाई बिन्ती गर्छु कि तपाईं मलाई मद्दत गर्नुहोस्, अगुवाइ गर्नुहोस्, सही वातावरण र सही मानिसहरू तयार गरिदिनुहोस्, र मलाई मेरो काम राम्ररी गर्न दिनुहोस्,” भनेर भन्छस् भने, तैँले प्रार्थना गरिसकेपछि पनि परमेश्वरका अभिप्रायहरू अझै बुझ्न सक्नेछैनस्, किनकि तैँले परमेश्वरलाई तेरा चाहनाअनुसार काम गर्न बिन्ती गरिरहेको छस्। अब, तैँले प्रार्थनामा आफूबाट प्रयोग हुने शब्दहरूमा समझ छ कि छैन, र ती तेरो हृदयबाट आएका हुन् कि होइनन्, त्यो निश्चित गर्नुपर्छ। यदि तेरा प्रार्थनाहरूमा समझ छैन भने, पवित्र आत्माले तँमा काम गर्नुहुनेछैन। त्यसकारण, जब तँ प्रार्थना गर्छस्, तँ समझदार भएर अनि उचित शैलीमा बोल्नुपर्छ। यसो भन्: “हे परमेश्वर, तपाईं मेरो कमजोरी र मेरो विद्रोहीपन जान्नुहुन्छ। म तपाईंसँग केवल यति बिन्ती गर्दछु, कि तपाईं मलाई बल दिनुहोस् र तपाईंका चाहनाअनुसार मात्र मलाई मेरा परिस्थितिहरू सामना गर्न सहायता गर्नुहोस्। तपाईंको चाहना के हो मलाई थाहा छैन, र म यही बिन्ती मात्र गर्छु। तथापि, तपाईंका चाहना पूरा होऊन्। यदि मलाई सेवा प्रदान गर्न वा प्रतिभारको रूपमा काम गर्न लगाइयो भने पनि, म त्यो खुसीसाथ गर्नेछु। मलाई बल र बुद्धि दिनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु, र मलाई यस विषयमा तपाईंलाई सन्तुष्ट पार्न दिनुहोस्। म केवल तपाईंको बन्दोबस्तहरूमा समर्पित हुन चाहन्छु…।” यस्तो प्रार्थना गरिसकेपछि, तेरो हृदयले विशेष सहजता महसुस गर्नेछ। यदि तँ मागी मात्र रहन्छस् भने, तैँले जति धेरै कुरा भने पनि त्यो सब खोक्रा शब्दहरू मात्र हुनेछन्; परमेश्वरले तेरो निवेदनको जबाफमा काम गर्नुहुनेछैन, किनकि तँ के चाहन्छस् त्यो तैँले पहिले नै निर्णय गरेको हुन्छस्। जब तँ प्रार्थना गर्न घुँडा टेक्छस्, यसो भन्: “हे परमेश्वर, तपाईं मानिसको कमजोरी जान्नुहुन्छ, र तपाईं मानिसका अवस्थाहरू जान्नुहुन्छ। म बिन्ती गर्छु, यस विषयमा तपाईंले मलाई ज्ञान दिनुहोस्। म तपाईंका चाहना बुझ्न सकूँ। म केवल तपाईंले बन्दोबस्त गर्नुहुने सबै कुरामा समर्पित हुने इच्छा गर्छु, र मेरो हृदय तपाईंमा समर्पित हुन इच्छुक छ…।” यसरी प्रार्थना गर्, र पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुहुनेछ। प्रार्थना गर्दा यदि तेरो नियत गलत छ र तैँले सधैँ आफ्नै इच्छामा आधारित मागहरू परमेश्वरसँग राख्छस् भने, तेरा प्रार्थनाहरू निरस र निष्प्रभावी हुनेछन् र पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुहुनेछैन। यदि तैँले आँखा चिम्लेर परमेश्वरसँग झारा टार्नको लागि ठूल्ठूला कुरा गर्न थाल्छस् भने, के पवित्र आत्माले तँलाई त्यसरी नै उत्प्रेरित गर्नुहुन्छ? परमेश्वरको अगाडि आउँदा मानिसहरूले आज्ञाकारी ढङ्गले व्यवहार गर्नुपर्छ र भक्त मनोवृत्ति राख्नुपर्छ। तँ एक साँचो परमेश्वरको अगाडि आउँदै छस्, सृष्टिकर्तासँग कुरा गर्दै छस्। के तँ भक्त हुनुपर्दैन र? प्रार्थना गर्नु कुनै चानचुने कुरा होइन। मानिसहरू परमेश्वरसामु आउँदा ङ्यारङ्यार गर्दै चिथोरूँला जस्तो गर्छन्, तिनीहरूमा भक्तिको पूर्ण अभाव हुन्छ; र प्रार्थना गर्दा तिनीहरू आ-आफ्नै घरमा उत्तानो परेर केही सरल, सतही शब्दहरू भट्याउँछन् र आफूले प्रार्थना गरिरहेको छु र परमेश्वरले सुन्दै हुनुहुन्छ भन्ठान्छन्—के यो आफैप्रतिको धोका होइन र? यो भन्नुको मेरो उद्देश्य मानिसहरूलाई कुनै खास प्रावधान पालना गर्न लगाउनु होइन। तैपनि, मान्छेले कम्तीमा पनि परमेश्वरमा समर्पित हुने हृदय धारण गर्न र भक्तिपूर्ण मनोवृत्तिसाथ परमेश्वरसामु आउन त सक्छ नि। तिमीहरूका प्रार्थनाहरूमा समझको अभाव अलि बढी नै भइरहन्छ। तिमीहरू सधैँ यस्तो भावमा प्रार्थना गर्छौ, “हे परमेश्वर! तपाईंले मलाई यो कर्तव्य पूरा गर्न दिनुभएको हुनाले, मैले गर्ने सबै कुरा उपयुक्त बनाइदिनुहोस्, ताकि तपाईंको काममा बाधा नपरोस् र परमेश्वरको परिवारको हितमा हानि नहोस्। तपाईंले मेरो रक्षा गर्नुपर्छ…।” यस्तो प्रार्थना अत्यन्तै समझहीन छ, होइन र? यदि तैँले परमेश्वरसामु आएर यसरी प्रार्थना गरिस् भने, के उहाँले तँभित्र काम गर्नुहुन्छ? यदि तैँले मेरो अगाडि आएर समझहीन कुरा गरिस् भने के मैले सुन्छु? यदि तैँले मलाई तँलाई घृणा गर्न लगाइस् भने म तँलाई सीधै बाहिर निकाल्नेछु! के तँ ख्रीष्टको अघि र आत्माको अघि उस्तै होइनस् र? जब तँ प्रार्थना गर्नको लागि परमेश्वरसामु आउँछस्, तैँले कसरी समझदारीपूर्वक बोल्ने र कसरी आफ्नो भित्री अवस्थालाई भक्ति प्राप्त गर्न र समर्पित हुन सक्षम पार्ने भन्ने कुरामा विचार गर्नुपर्छ। एकचोटि तैँले त्यसो गरिसकेपछि, फेरि प्रार्थना गर्दा त्यो राम्रो हुनेछ र तैँले परमेश्वरको उपस्थिति महसुस गर्नेछस्। अक्सर मानिसहरू घुँडा टेकेर प्रार्थना गर्छन्; आफ्ना आँखा बन्द गर्छन् र ठूल्ठूलो स्वरमा चिच्याउँछन्, “हे परमेश्वर! हे परमेश्वर!” तिनीहरू यसरी धेरै बेरसम्म निःशब्द भएर किन कराएको? यो मानिसको गलत मानसिकता र असामान्य अवस्थाको कारणले हुन्छ। जब व्यक्तिले आफ्नो हृदयमा परमेश्वरलाई भेट्न सक्दैन, उसको प्रार्थना शब्दहीन हुन्छ। के तिमीहरू पनि सधैँ यसो गर्छौ? तिमीहरूलाई अब आफ्नो मापन थाहा छ, तर जब आफ्नो अवस्था असामान्य हुन्छ, तिमीहरू आत्मचिन्तन गर्ने वा सत्यता खोज्ने गर्दैनौ, र तिमीहरू प्रार्थनामा परमेश्वरसामु आउन वा उहाँको वचन खान र पिउन इच्छुक हुँदैनौ। यसो गर्नु खतरनाक हुन्छ। चाहे कुनै व्यक्तिको अवस्था सामान्य होस् वा नहोस्, वा जस्तासुकै समस्याहरू उत्पन्न होऊन्, तिनीहरू प्रार्थनाबाट टाढा हुनु हुँदैन। यदि तिमीहरूले प्रार्थना गरेनौ भने, तिमीहरूको अवस्था अहिले सामान्य भए पनि, लामो समयपछि भविष्यमा यो असामान्य हुनेछ। प्रार्थना गर्ने र परमेश्वरको वचन पढ्ने काम सामान्य हुनुपर्छ। सत्यता खोज्नको लागि परमेश्वरका वचनहरू पढ्दा साँचो प्रार्थना आउँछ, त्यो प्रार्थनाद्वारा परमेश्वरको अन्तर्दृष्टि प्राप्त गर्न सकिन्छ र यसले व्यक्तिलाई परमेश्वरको वचन बुझ्न सक्षम बनाउन सक्छ। परमेश्वरलाई प्रार्थना गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पहिले आफ्नो मानसिकता सच्याउनु हो। प्रार्थनाको सिद्धान्त यही हो। यदि तिमीहरूको मानसिकता गलत छ भने तिमीहरू भक्त हुँदैनौ, तिमीहरूले झारा मात्र टारिरहनेछौ, र बस्, परमेश्वरलाई धोका दिइरहनेछौ। यदि तिमीहरूको हृदयमा परमेश्वरप्रतिको डर र समर्पण छ र तिमीहरू उहाँलाई प्रार्थना गर्छौ भने मात्र तिमीहरूको हृदयमा शान्ति हुनेछ। त्यसकारण, प्रार्थना गर्दा तिमीहरूको मानसिकता सही हुनुपर्छ, अनि तिमीहरूको प्रार्थना फलदायी हुनेछ। यदि तिमीहरूले प्राय: यस तरिकाले अभ्यास गर्छौ, र प्रार्थना गर्दा आफ्नो हृदयमा साँच्चै के छ भन्ने कुरा परमेश्वरलाई बताउँछौ र आफ्नो हृदयले परमेश्वरलाई सबैभन्दा बढी के भन्न चाहन्छ त्यही कुरा भन्छौ भने, थाहै नपाई तिमीहरू परमेश्वरलाई प्रार्थना गर्न सक्षम हुनेछौ, अनि तिमीहरूले परमेश्वरसँग सामान्य रूपमा सङ्गति गर्न सक्नेछौ।
प्रार्थना गर्नको लागि शिक्षित वा सुसंस्कृत हुनुपर्छ भन्ने छैन र यो कुनै निबन्ध लेख्ने काम होइन। सामान्य व्यक्तिको समझले इमानदारीपूर्वक बोल। येशूका प्रार्थनाहरूबारे विचार गर। गेतसमनीको बगैँचामा, उहाँले यस्तो प्रार्थना गर्नुभयो, “यदि सम्भव छ भने…।” अर्थात्, “यदि यो गर्न सकिन्छ भने।” यो एक कुराकानीको क्रममा भनिएको थियो; उहाँले “म तपाईंसँग बिन्ती गर्छु” भनेर भन्नुभएन। समर्पित हृदय र समर्पित अवस्थामा उहाँले यसो भनेर प्रार्थना गर्नुभयो, “यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो चाहना होइन, तर तपाईंको चाहना पूरा होस्।” उहाँले दोस्रोपटक यसरी नै प्रार्थना गर्नुभयो, र तेस्रोपटक उहाँले यसरी प्रार्थना गर्नुभयो, “तपाईंको इच्छा पूरा होस्।” परमेश्वर पिताको चाहना बुझेर उहाँले भन्नुभयो, “तपाईंको इच्छा पूरा होस्।” कुनै पनि व्यक्तिगत छनौट नगरी उहाँ पूर्ण रूपमा समर्पित हुन सक्नुभयो। प्रार्थनामा, येशूले भन्नुभयो, “यदि सम्भव छ भने, यो कचौरा मबाट हटाइदिनुहोस्।” त्यसको अर्थ के हो? उहाँले क्रूसमा अन्तिम साससम्म रगत बगाएर कष्ट सहनुपर्ने कुरा सोचेर—अनि त्यसले मृत्युको विषय छोएकोले—र उहाँले अझसम्म परमेश्वर पिताको चाहना पूर्ण रूपमा नबुझ्नुभएकोले यसरी प्रार्थना गर्नुभएको थियो। दुःख भोग्नुपर्ने सोचमा डुबेर पनि उहाँले यसरी प्रार्थना गर्नुले उहाँको समर्पण कति गहिरो रहेछ भन्ने देखाउँछ। उहाँको प्रार्थना शैली सामान्य थियो। उहाँले आफ्नो प्रार्थनामा कुनै सर्तहरू राख्नुभएन, न त त्यो कचौरा हटाइनैपर्छ भनेर नै भन्नुभयो। बरु, उहाँको उद्देश्य उहाँले बुझ्न नसक्ने परिस्थितिमा परमेश्वरको चाहना खोज्नु थियो। पहिलो पटक उहाँले प्रार्थना गर्नुहुँदा, उहाँले बुझ्नुभएको थिएन, त्यसैले उहाँले भन्नुभयो, “यदि सम्भव छ भने … तर तपाईंको चाहना पूरा होस्।” उहाँले समर्पित अवस्थामा परमेश्वरसँग प्रार्थना गर्नुभयो। दोस्रो पटक पनि उहाँले त्यसरी नै प्रार्थना गर्नुभयो। समग्रमा, उहाँले तीन पटक प्रार्थना गर्नुभयो, र उहाँको अन्तिम प्रार्थनामा, उहाँले परमेश्वरको चाहना पूर्ण रूपमा बुझ्न सक्नुभयो, त्यसपछि उहाँले फेरि कुनै कुरा माग्नुभएन। उहाँको पहिलो दुई वटा प्रार्थनामा, उहाँले खोजी गर्दैहुनुहुन्थ्यो, र उहाँले समर्पित अवस्थामा खोजी गर्नुभयो। तापनि, मानिसहरू त्यसरी प्रार्थना गर्दैनन्। आफ्ना प्रार्थनामा मानिसहरू सधैँ भन्छन्, “हे परमेश्वर, म बिन्ती गर्छु तपाईंले यो वा त्यो गरिदिनुहोस्, र म बिन्ती गर्छु तपाईंले मलाई यसमा वा त्यसमा अगुवाइ गरिदिनुहोस्, र म बिन्ती गर्छु तपाईंले मेरो लागि अवस्थाहरू तयार गरिदिनुहोस्…।” सायद परमेश्वरले तेरो निम्ति सुहाउँदा अवस्थाहरू तयार गरिदिनुहुनेछैन, र उहाँले तँलाई यो कठिनाइ भोग्न लगाउनुहुनेछ र तँलाई पाठ सिकाउनुहुनेछ। यदि तँ सधैँ “हे परमेश्वर, म बिन्ती गर्छु, तपाईंले मेरो निम्ति तयारीहरू गरिदिनुहोस् र मलाई शक्ति दिनुहोस्।” भनेर प्रार्थना गर्छस् भने, यो अत्यन्तै अनुचित छ! जब तैँले परमेश्वरलाई प्रार्थना गर्छस्, तँ मनासिब हुनुपर्छ र तैँले उहाँलाई समर्पणकारी मनले प्रार्थना गर्नुपर्छ। आफूले के गर्ने भनेर निर्धारण गर्ने प्रयास नगर्। यदि तैँले प्रार्थना गर्नुअघि नै आफूले के गर्ने भनेर निर्धारण गर्ने प्रयास गर्छस् भने, यो परमेश्वरप्रतिको समर्पण होइन। प्रार्थना गर्दा, तेरो हृदय समर्पणकारी हुनुपर्छ र तैँले पहिले परमेश्वसँग खोजी गर्नुपर्छ। यसो गर्दा प्रार्थनाको समयमा तेरो हृदय स्वाभाविक रूपमै उज्यालो हुनेछ र तैँले के गर्न उपयुक्त हुन्छ भन्ने थाहा पाउनेछस्। प्रार्थना गर्नुअघिको तेरो योजनाबाट प्रार्थनापछि तेरो हृदयमा उत्पन्न हुने परिवर्तनमा जानु पवित्र आत्माको कामको परिणाम हो। यदि तैँले पहिले नै आफ्नो निर्णय गरिसकेर के गर्ने भनी निर्धारण गरेको छस् भने र त्यसपछि तैँले परमेश्वरसँग अनुमति माग्न वा आफूले चाहेको कुरा गरिदिनुहोस् भनी परमेश्वरसँग प्रार्थना गर्छस् भने, यस प्रकारको प्रार्थना मनासिब हुँदैन। धेरैजसो समय, परमेश्वरले मान्छेका प्रार्थनाहरूको ठ्याक्कै जवाफ दिनुहुन्न किनभने तिनीहरूले के गर्ने भनेर पहिले नै निर्णय गरिसकेका हुन्छन्, र परमेश्वरसँग केवल अनुमति मागिरहेका हुन्छन्। परमेश्वरले भन्नुहुन्छ, “तैँले के गर्ने भन्ने निर्णय गरिसकेपछि मलाई किन सोध्छस्?” यस प्रकारको प्रार्थना परमेश्वरलाई धोका दिनुजस्तै हो, र यसकारण तिनीहरूका प्रार्थनाहरू निष्प्रभावी हुन्छन्।
मानिसहरूले घुँडा टेकेर प्रार्थना गर्दा परमेश्वरसँग कुरा गरिरहेका हुन्छन्, तर यसमा तैँले के कुरा स्पष्टसित बुझ्नुपर्छ भने प्रार्थना भनेको पवित्र आत्माले मानिसहरूमा काम गर्ने माध्यम हो। मानिसहरूले प्रार्थना गर्दा परमेश्वरले सधैँ उनीहरूलाई अन्तर्दृष्टि, ज्योति र अगुवाइ प्रदान गर्नुहुन्छ। मानिसहरू सही अवस्थामा हुँदा यदि प्रार्थना र खोजी गर्छन् भने, पवित्र आत्माले पनि सँगसँगै काम गरिरहनुभएको हुनेछ। यो परमेश्वर र मानिसहरूबीचको एक प्रकारको अघोषित सम्झौता हो; तैँले यसलाई परमेश्वरले मानिसहरूलाई कामकाज सम्हाल्न मद्दत गर्नुभएको पनि भन्न सक्छस्। प्रार्थना भनेको मानिसहरूलाई परमेश्वरसामु आउने र उहाँसँग सहकार्य गर्ने माध्यम हो। यो मानिसहरूलाई मुक्ति दिने र शुद्ध पार्ने परमेश्वरको एक तरिका पनि हो। यसबाहेक, यो जीवन प्रवेशको बाटो हो; यो कुनै विधिविधान होइन। प्रार्थना मानिसहरूलाई उत्प्रेरित गर्ने तरिका मात्र होइन, न त यो केवल परमेश्वरलाई सन्तुष्ट पार्ने सूत्रीय तरिका नै हो। यस्ता विचार गलत हुन्। प्रार्थना गहन रूपमा अर्थपूर्ण हुन्छ! यदि तँ परमेश्वरमा विश्वास गर्छस् भने, तैँले प्रार्थनाबाट पन्छिन मिल्दैन, परमेश्वरका वचनहरू पढ्नबाट पन्छिनु त टाढाको कुरा हो। प्रार्थनाको माध्यमबाट पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ, तिनीहरूलाई अन्तर्दृष्टि र अगुवाइ प्रदान गर्नुहुन्छ। यदि मानिसहरूले परमेश्वरलाई प्रार्थना गरेनन् भने, उनीहरूलाई पवित्र आत्माको काम प्राप्त गर्न कठिन हुनेछ। यदि तँ बारम्बार प्रार्थना गर्छस्, बारम्बार प्रार्थना गर्ने अभ्यास गर्छस् र बारम्बार परमेश्वरमा समर्पित हृदयले प्रार्थना गर्छस् भने, तेरो भित्री अवस्था सामान्य हुन्छ। यदि तैँले प्रार्थना गर्दा, सामान्यतया धर्मसिद्धान्तका केही वाक्यहरू मात्र बोल्छस्, र परमेश्वरसित आफ्नो हृदय खोल्ने वा सत्यता खोज्ने गर्दैनस्, न त परमेश्वरका अभिप्राय र मापदण्डहरूबारे विचार नै गर्छस् भने, तँ साँचो रूपमा प्रार्थना गरिरहेको छैनस्। केवल सत्यताबारे बारम्बार विचार गर्ने मानिसहरू, जसका हृदयहरू बारम्बार परमेश्वरको नजिक रहन्छन्, र जो बारम्बार परमेश्वरका वचनहरूमा जिउँछन्, तिनीहरूसँग मात्र साँचो प्रार्थना हुन्छ, तिनीहरूको हृदयमा मात्र परमेश्वरसँग बोल्ने शब्दहरू हुन्छन्, र तिनीहरूले मात्र परमेश्वरबाट सत्यता खोज्न सक्छन्। प्रार्थना गर्न सिक्नको लागि, तैँले परमेश्वरका वचनहरू बारम्बार मनन गर्नुपर्छ। यदि तँ परमेश्वरका अभिप्राय बुझ्न सक्छस् भने, उहाँलाई भन्नको लागि तेरो हृदयमा धेरै कुराहरू हुनेछन् र तैँले कुन शब्दहरू व्यावहारिक प्रार्थनाहरू हुन् र कुन होइनन्; कुन प्रार्थनाहरू साँचा उपासना हुन् र कुन होइनन्; कुन प्रार्थनाहरू परमेश्वरको इच्छा बुझ्ने खोजी हुन्, र कुन प्रार्थनाहरू तैँले पहिले नै निर्णय गरिसकेका कुरा हुन् र तँ ती कुराको लागि केवल परमेश्वरसित अनुमति माग्दै छस् भनेर बुझ्न सक्नेछस्। यदि तैँले यी मामिलाहरूलाई कहिल्यै गम्भीर रूपमा लिइनस् भने, तेरो प्रार्थना कहिल्यै सफल हुनेछैन र तेरो भित्री अवस्था सधैँ असामान्य हुनेछ। जहाँसम्म सामान्य समझ के हो, साँचो समर्पणता के हो, साँचो उपासना के हो, र प्रार्थना गर्दा कुन स्थानमा बस्नुपर्छ भन्ने कुरा छ—यी सबै पाठहरूमा प्रार्थनाका सत्यताहरू समावेश छन्। ती सबै विस्तृत विषय हुन्। धेरैजसो मानिसहरूले मलाई वास्तवमै देख्न सक्दैनन, त्यसैले तिनीहरू आत्मासामु प्रार्थना गर्नमै सीमित छन्। तैँले प्रार्थना गर्न थालेपछि, तेरा शब्दहरू समझयुक्त छन् कि छैनन्, तेरा शब्दहरू साँचो रूपमा आराधनापूर्ण छन् कि छैनन्, तैँले माग्ने कुराहरूले परमेश्वरको स्वीकृति प्राप्त गर्छन् कि गर्दैनन्, तेरो प्रार्थनाभित्र कारोबारको तत्त्व छ कि छैन, वा यो मानव अशुद्धताहरूले अपमिश्रित भएको छ कि छैन, तेरा प्रार्थना र बोलीवचनहरू परमेश्वरका अभिप्रायअनुरूप छन् कि छैनन्, तँसँग परमेश्वरप्रति विशेष डर, सम्मान र समर्पणता छ कि छैन, र तैँले परमेश्वरलाई साँच्चै परमेश्वरकै रूपमा व्यवहार गरिरहेको छस् कि छैनस् भन्ने प्रश्नहरू उब्जन्छन्। तैँले प्रार्थनामा बोल्ने कुराप्रति गम्भीर हुनुपर्छ, परमेश्वरका अभिप्राय अनुभूत गर्नुपर्छ, र उहाँको मापदण्डअनुरूपको बन्नुपर्छ। यसरी प्रार्थना गर्दा मात्रै तैँले हृदयमा शान्ति र खुसी पाउनेछस्। यसरी मात्रै ख्रीष्टको अघि आउँदा तँसँग सामान्य समझ हुन सक्छ। यदि तैँले आत्माको अघि प्रार्थना गर्ने वा आफ्नो हृदयमा भएको कुरा बोल्ने गर्दैनस् भने, जब तँ ख्रीष्टको अघि आउँछस्, तँसँग धारणाहरू हुने र तैँले उहाँविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्ने सम्भावना हुनेछ, वा तैँले अनुचित रूपमा वा बेइमानी तरिकाले बोल्नेछस्, वा तेरा बोलीवचन र व्यवहारद्वारा निरन्तर बाधा उत्पन्न गर्नेछस्, र त्यसपछि तैँले सधैँ धिक्कार महसुस गर्नेछस्। तैँले किन सधैँ धिक्कारको महसुस गर्नेछस्? किनभने सामान्यतया तँसँग परमेश्वरलाई कसरी आराधना वा व्यवहार गर्ने भन्नेसम्बन्धी सत्यताको अलिकति पनि ज्ञान हुँदैन, र त्यसैले जब तैँले कुनै समस्या सामना गर्छस्, तँ अन्योल हुन्छस्, कसरी अभ्यास गर्ने भनेर तँलाई थाहै हुँदैन, र तैँले निरन्तर गल्ती गरिरहन्छस्। परमेश्वरमा विश्वास गर्ने मानिसहरू उहाँको छेउ कसरी आउनुपर्छ? यो पक्कै पनि प्रार्थनामार्फत हुनुपर्छ। यदि तैँले प्रार्थना गर्दा तेरो मनोवृत्ति सच्याएको छस् र तेरो हृदय शान्त छ भने, तँ परमेश्वरसामु आएको छस्। प्रार्थना गरिसकेपछि, तैँले प्रार्थनामा बोलेका शब्दहरू समझयुक्त थिए कि थिएनन्, तैँले उपयुक्त स्थान अँगालेको थिइस् वा थिइनस्, तँमा परमेश्वरप्रति समर्पणताको हृदय थियो वा थिएन, र तँमा मानवीय कमजोरी वा बेइमानी थियो कि थिएन भनेर तैँले मनन गर्नुपर्छ। यदि तैँले केही समस्याहरू फेला पारिस् भने, तैँले परमेश्वरलाई प्रार्थना गर्न जारी राख्नुपर्छ, र परमेश्वरसामु आफ्ना कमजोरी र त्रुटिहरू स्विकार्नुपर्छ। यसरी आफ्नो हृदयमा जे छ त्यो परमेश्वरलाई भन्ने हो भने, तेरो अवस्था झन्झन् सामान्य हुँदै जान्छ, तँमा विवेक र समझ झन्झन् बढ्दै जानेछ र तेरा गलत अवस्थाहरू झन्झन् घट्दै जानेछन्। तैँले केही समय यसरी अभ्यास गरेपछि, तेरा प्रार्थनाहरू सुधार हुँदै जानेछन्, र धेरैजसो समय ती प्रार्थनाहरू परमेश्वरद्वारा सुनिनेछन् र स्वीकृत हुनेछन्। प्रायः यस तरिकाले परमेश्वरलाई प्रार्थना गर्न सक्नेहरू नै परमेश्वरसामु बाँच्न आएकाहरू हुन्। यदि तँ प्रार्थनालाई गम्भीरतापूर्वक लिँदैनस् वा आफ्ना प्रार्थनाका गलत तरिकाहरू परिमार्जन गर्दैनस् भने, तैँले कसरी प्रार्थना गर्ने भन्ने नै थाहा पाउनेछैनस्। अनि, प्रार्थना कसरी गर्ने भन्ने थाहा नभएपछि, तँलाई परमेश्वरसामु जिउन गाह्रो हुनेछ। यसप्रकारको व्यक्तिको कुनै जीवन प्रवेश हुनेछैन र तिनीहरू परमेश्वरको वचनबाहिर हुनेछन्। यदि तँलाई परमेश्वरसामु प्रार्थना गर्ने वा बोल्ने तरिका थाहा छैन भने, यदि तँ बोल्दा गम्भीर हुँदैनस्, आफूखुसी बोल्छस्, र आफूले गलत बोल्दा त्यसमा कुनै समस्या छ भन्ने महसुस गर्दैनस् भने, र यदि तँ निरन्तर लापरवाह र दोधार हुन्छस् भने, यसको परिणामस्वरूप, जब तँ ख्रीष्टको सामुन्ने आउँछस्, तँ केही गलत बोलिएला वा गरिएला कि भनेर डराउनेछस्। अनि, तँ जति धेरै गलत काम गर्छु कि भनी डराउँछस्, तैँले त्यति नै धेरै गल्तीहरू गर्नेछस्, र तैँले ती कुरा कहिल्यै पनि सच्याउन सक्नेछैनस्। अनि, मानिसहरू ख्रीष्टसँग निरन्तर सम्पर्कमा रहन नसक्ने वा आफ्नो आमनेसामने ख्रीष्टले कुरा गर्नुभएको प्रायः सुन्न नपाउने हुनाले, अर्थात म प्रायः तिमीहरूसामु रहन नसक्ने हुनाले, तिमीहरूले बारम्बार प्रार्थनामा आई खोज्न र आत्माको अगाडि हृदय खोलेर बोल्न मात्र पनि सक्नेछौ, र यदि तिमीहरूले परमेश्वरप्रतिको समर्पणता हासिल गर्न र परमेश्वरको डर मान्ने हृदय पाउन सक्यौ भने, त्यो पर्याप्त हुनेछ। मैले तिमीहरूसँग आमनेसामने कुरा गरे पनि, सत्यता स्विकार्ने र खोजी गर्ने र परमेश्वरलाई पछ्याउने मार्गमा हिँड्ने कुरा तिमीहरूमै निर्भर रहन्छ। अबदेखि, तिमीहरूले प्रार्थना गर्दा के भन्ने हो, त्यसमा बढी ध्यान दिनुपर्छ। प्रार्थना, मनन र महसुस गर्न समय लेओ। त्यसपछि, पवित्र आत्माले जब तिमीहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, तिमीहरूले प्रगति गर्नेछौ। पवित्र आत्माले तिमीहरूलाई अन्तर्दृष्टि दिनुहुँदा, तिमीहरूले प्राप्त गर्ने अनुभूति अत्यन्तै सूक्ष्म हुन्छ। यस्ता केही सूक्ष्म अनुभूतिहरू र सूक्ष्म ज्ञान प्राप्त गरेपछि, यदि तिमीहरू केही काम गर्छौ, वा केही विषयहरू सम्हाल्न ख्रीष्टसँगको सम्पर्कमा आउँछौ भने, तब तिमीहरूले कुन शब्दहरू समझयुक्त ढङ्गले बोलिएका हुन् र कुन होइनन्, कुन काम समझयुक्त ढङ्गले गरिएका हुन् र कुन होइनन् भनेर छुट्याउन सक्नेछौ। यसरी, तिमीहरूले प्रार्थनाका उद्देश्यहरू हासिल गरिसकेका हुनेछौ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।