परमेश्वरको सेवा गर्नेसम्बन्धी वचनहरू (अंश ७३)
आफ्नो कर्तव्य राम्ररी निभाउन र परमेश्वरले सुम्पनुभएको काम राम्ररी गर्न, अगुवा र कामदारहरूले पहिला परमेश्वरका अभिप्राय बुझ्नुपर्छ र कामको आकार र मात्रामा ध्यान केन्द्रित गर्नुहुन्न। त्यसको सट्टा तिनीहरूले आफूसँग जीवन प्रवेश गरेका छन् कि छैनन् र आफ्नो स्वभाव परिवर्तन गरेका छन् कि छैनन् भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ। परमेश्वरले अगुवा र कामदारहरूबाट माग गर्नुहुने कुरा यही हो। के तिमीहरू अब व्यक्तिको स्वभावमा हुने परिवर्तनलाई साँच्चै बुझ्छौ? स्वभावमा परिवर्तन भनेको के हो? के तिमीहरू व्यवहार अनि स्वभावमा आउने परिवर्तनलाई खुट्ट्याउन सक्छौ? कुन स्थितिहरूलाई व्यक्तिको जीवन स्वभावको परिवर्तन मान्न सकिन्छ, अनि कुन स्थितिहरू बाहिरी व्यवहारमा आउने परिवर्तन मात्र हुन् त? व्यक्तिको बाहिरी व्यवहारमा आउने परिवर्तन र भित्री जीवनमा आउने परिवर्तन बिचको भिन्नता के हो? के तिमीहरू फरक छुट्ट्याउन सक्छौ? तिमीहरू एउटा उत्साहपूर्ण हृदय भएको, मण्डलीका लागि दौडधुप गरिरहने र समय लगाइरहने व्यक्ति देख्छौ, अनि भन्छौ: “उसको स्वभाव परिवर्तन भएको छ!” तिमीहरू आफ्नो परिवार र जागिर त्यागेको कुनै व्यक्ति देख्छौ, अनि भन्छौ: “उसको स्वभाव परिवर्तन भएको छ!” तिमीहरू सोच्छौ, उसको स्वभाव परिवर्तन नभएको भए, उसले यस्तो त्याग गर्न सक्ने नै थिएन। तिमीहरूमध्ये धेरैले कामकुरालाई यसरी हेर्छौ, तर के यो दृष्टिकोण सही हो त? केही मानिसहरू झनै बेतुके हुन्छन्; तिनीहरूले परिवार वा जागिर त्यागेको व्यक्ति देख्दा यसो भन्छन्: “यो मान्छेले परमेश्वरलाई साँच्चै प्रेम गर्छ!” आज तिमीहरू यो व्यक्तिले परमेश्वरलाई प्रेम गर्छ भन्छौ, भोलि अर्कै कुनै व्यक्तिले परमेश्वरलाई प्रेम गर्छ भन्छौ। तिमीहरूले कुनै व्यक्तिले निरन्तर प्रचार गरिरहेको देख्यौ भने, यसो भन्छौ: “यो व्यक्तिले परमेश्वरलाई चिनेको छ। उसले सत्यता प्राप्त गरेको छ। उसले परमेश्वरलाई नचिनेको भए, के उसले यति धेरै कुराहरू भन्न सक्थ्यो?” के तिमीहरूले कामकुराहरूलाई यसरी हेर्दैनौ र? तिमीहरूमध्ये धेरैले मानिस र कुराहरूलाई पक्कै पनि यसरी नै हेर्छौ। तिमीहरू जहिले पनि अरूलाई ताज पहिराइदिएर सम्मान गर्छौ र तिनीहरूको चापलुसी गर्छौ। आज, तिमीहरू एउटा व्यक्तिलाई परमेश्वरलाई प्रेम गरेकोमा ताज पहिराइदिन्छौ, भोलि अरू कसैलाई परमेश्वरलाई चिनेकोमा, उहाँप्रति बफादार भएकोमा ताज पहिराइदिन्छौ। तिमीहरू अरूलाई ताज पहिराइदिनमा “खपिस” छौ। हरेक दिन, तिमीहरू अरूलाई ताज पहिराइदिन्छौ र तिनीहरूको चापलुसी गर्छौ, जसले गर्दा तिनीहरूलाई हानि पुग्छ, तैपनि त्यसो गरेकोमा तिमीहरू गर्व महसुस गर्छौ। तिमीहरूले अरूलाई यसरी प्रशंसा गरेर तिनीहरूलाई अहङ्कारी बनाउँछौ। यसरी प्रशंसा पाउनेहरूले सोच्छन्, “म परिवर्तित भएको छु, म ताज पहिरिन सक्छु, म निश्चय नै स्वर्गको राज्यमा पस्नेछु!” अझ खत्तम कुरा त के हो भने, पावल जस्तै, सधैँ आफूले कति पीडा भोगेको छु र कति गवाही दिएको छु भन्ने मानिसहरू पनि छन्। तिनीहरू परमेश्वरका अभिप्रायको अलिकति पनि ख्याल नगरी आफ्नै गुणगान गाउँछन् अनि आफ्नै धारणा र प्राथमिकता अनुसार बोल्छन्। तिनीहरूले आफ्नै स्वभाव परिवर्तन नगरेको कुरा स्पष्ट भए पनि अरूलाई आफ्नो अनुकरण गर्न भन्छन्, र परिणामस्वरूप, परमेश्वरमा विश्वास गर्ने तर विवेक नभएका मानिसहरू, र खास गरी तिनीहरूलाई आराधना गर्ने मानिसहरूलाई हानि पुग्छ र तिनीहरू बहकिन्छन्। तिनीहरूले परमेश्वरमाथिको विश्वासको सही मार्गमा पाइला चालेका हुँदैनन्, उत्साहका कारण परमेश्वरप्रति आफूलाई समर्पित गरिरहेका र परमेश्वरका लागि कष्ट भोगिरहेका मात्र हुन्छन्। तिनीहरू कसैलाई धोका नदिईकन वा यहूदा नबनीकन पक्राउ परेका र थुनिएका मात्र छन्—र त्यसैले तिनीहरू आफू गवाहीमा दृढ खडा भएको र स्वर्गको राज्यमा पस्न योग्य भएको सोच्छन्। तिनीहरूले यो थोरै अनुभवलाई गवाहीको रूपमा व्यवहार गरेर सबैतिर यसको प्रदर्शन गर्छन्। के यो मानिसहरूलाई बहकाउन देखावट गर्नु होइन र? धेरै मानिसहरूले यसप्रकारको “गवाही” दिन्छन्, अनि कति मान्छे पथभ्रष्ट भएका छन्? यस्ता मानिसहरूलाई विजेताको रूपमा व्यवहार गरिनु बेतुके कुरा होइन र? के तिमीहरूलाई परमेश्वरले मानिसहरूलाई कसरी हेर्नुहुन्छ भनेर थाहा छ? के तिमीहरूलाई विजेता भनेको ठ्याक्कै के हो भनेर थाहा छ? यसरी झुटो गवाही दिने कार्य परमेश्वरद्वारा श्रापित हुन्छ। यसरी तिमीहरूले कति वटा दुष्कर्महरू गरेका छौ? तिमीहरू अरूलाई जीवन दिन सक्दैनौ, न त अरूको स्थिति भेद गर्न नै सक्छौ। तिमीहरू मानिसहरूलाई ताज पहिराइदिन मात्र सक्छौ, अनि परिणामस्वरूप तिनीहरूलाई विनाशतर्फ लैजान्छौ। के तिमीहरूलाई भ्रष्ट व्यक्तिले प्रशंसा सहन सक्दैन भन्ने कुरा थाहा छैन? यदि कसैले उसको प्रशंसा गरेन भने, ऊ नाक फुलाएर अति घमण्डी बन्छ। तर मानिसहरूले उसको प्रशंसा गरे भने, के ऊ झन् चाँडै मर्दैन र? तिमीहरूलाई परमेश्वरलाई प्रेम गर्नु, परमेश्वरलाई चिन्नु, इमानदारीपूर्वक उहाँमा समर्पित हुनु भनेको के हो भनेर थाहा छैन। तिमीहरू यी कुनै पनि कुराहरू बुझ्दैनौ। तिमीहरू कुराहरूको बाहिरी स्वरूप हेर्छौ अनि अरूको मूल्याङ्कन गर्छौ, तिनीहरूलाई ताज पहिराइदिन्छौ अनि तिनीहरूको चापलुसी गर्छौ, र यसरी धेरै मानिसहरूलाई पथभ्रष्ट बनाउँछौ र हानि पुऱ्याउँछौ र तिमीहरू यो बारम्बार गर्छौ। यसरी तिमीहरूको प्रशंसा पाएर, धेरै मानिसहरू बहकिएर लडेका छन्। तिनीहरू फेरि खडा भए पनि, तिनीहरूले आफ्नो अत्यन्तै धेरै जीवन प्रगतिलाई स्थगित गरेका छन्, र घाटा बेहोरिसकेका छन्। अहिले धेरैजसो मानिसहरू अझै पनि परमेश्वरमाथिको विश्वासको सही मार्गमा छैनन् र तिनीहरूले सत्यता पछ्याउन सक्दैनन्, र आफूलाई अलिकति मात्र चिन्छन्। यदि, यसरी तिनीहरूको प्रशंसा गरियो भने, तिनीहरूले आफू पहिले नै परमेश्वरमाथिको विश्वासको सही मार्गमा भएको र आफूसँग केही सत्यता वास्तविकताहरू भएको महसुस गर्दै, आत्म-सन्तुष्ट, ढुक्क हुनेछन् र तिनीहरू आफ्नै तौर-तरिकाहरूमा अड्किनेछन्। तिनीहरू आफ्नो बोलीमा साहसी हुनेछन्, मण्डलीका मानिसहरूलाई हप्काउनेछन् अनि तानाशाह झैँ व्यवहार गर्नेछन्। के तैँले यस्तो तरिकाले काम गरेर मानिसहरूलाई हानि पुऱ्याएर बरबाद गरिरहेको छैनस्? कस्तो व्यक्तिले परमेश्वरलाई प्रेम गर्छ? परमेश्वरलाई प्रेम गर्ने मानिसहरू पत्रुस जस्तो हुनैपर्छ, तिनीहरूलाई सिद्ध पारिनैपर्छ, र तिनीहरूले परमेश्वरको प्रेम हासिल गर्न बाटोको अन्त्यसम्मै उहाँलाई पछ्याउनैपर्छ। परमेश्वरले मानिसहरूको हृदयको गहिराइलाई नियाल्नुहुन्छ, र परमेश्वरले मात्र कसले उहाँलाई प्रेम गर्छ भनेर निर्धारण गर्न सक्नुहुन्छ। मानिसहरूलाई यो स्पष्ट रूपमा देख्न सजिलो हुँदैन, अनि तिनीहरूले कसरी अरूको फैसला सुनाउन सक्छन्? परमेश्वरलाई मात्र क-कसले उहाँलाई साँच्चै प्रेम गर्छन् भनेर थाहा हुन्छ। तिनीहरूसँग परमेश्वरलाई प्रेम गर्ने हृदय भए पनि, तिनीहरू आफू परमेश्वरलाई प्रेम गर्ने व्यक्ति हौँ भन्ने आँट गर्दैनन्। परमेश्वरले पत्रुस परमेश्वर-प्रेमी व्यक्ति हो भनेर भन्नु भयो, तर पत्रुस आफैले त्यसो कहिल्यै भनेन। त्यसैले के परमेश्वरलाई प्रेम गर्नु भनेको सहजै घमण्ड गर्न मिल्ने कुरा हो त? परमेश्वरलाई प्रेम गर्नु मानिसको कर्तव्य हो, त्यसैले हृदयमा परमेश्वरका लागि अलिकति प्रेम पलाउने बित्तिकै घमण्ड गर्नु तर्कहीन कुरा हो। यदि तँ आफै परमेश्वरलाई प्रेम गर्ने व्यक्ति होइनस्, तर परमेश्वरलाई प्रेम गर्ने व्यक्ति भएकोमा अरूको प्रशंसा गर्छस् भने त्यो त झनै तर्कहीन कुरा हो। यो पागलपन हो। परमेश्वरलाई मात्र को परमेश्वर-प्रेमी हो भनेर थाहा हुन्छ र उहाँले मात्र को त्यस्तो छ भनेर भन्न सक्नुहुन्छ। यदि यी शब्द कुनै व्यक्तिको मुखबाट निस्किन्छ भने, ऊ गलत स्थान ओगटेर बसेको छ। तँ परमेश्वरको स्थान ओगटेर, अरूको प्रशंसा र चापलुसी गर्दैछस्—यो कसको प्रतिनिधित्वमा गरिन्छ? परमेश्वरले निश्चय नै मानिसहरूको चापलुसी गर्नुहुन्न, न त तिनीहरूको प्रशंसा नै गर्नुहुन्छ। पत्रुसलाई पूर्ण पारेपछि, परमेश्वरले आखिरी दिनहरूको काम नगरेसम्म उसलाई उदाहरणको रूपमा प्रयोग गर्नुभएन। त्यो बेला, उहाँले कहिल्यै अरूलाई “पत्रुसले परमेश्वरलाई प्रेम गर्छ।” भन्ने शब्दहरू भन्नु भएन। उहाँले आखिरी दिनहरूमा परमेश्वरको न्याय अनुभव गर्ने अनि उहाँलाई प्रेम गर्न खोज्नेहरूका लागि, उसलाई नमुना र उदाहरण बनाउँदै यो चरणको काम गर्दा मात्रै यस्ता कुराहरू भन्नु भयो। परमेश्वरले गर्नुहुने सबथोकमा अर्थ हुन्छ। मानिसहरूले जथाभावी फलानो व्यक्ति परमेश्वरलाई प्रेम गर्ने व्यक्ति हो भनेर भन्नु कति वाहियात कुरा हो! यो अति वाहियात कुरा हो। पहिलो कुरा, यस्ता मानिसहरू गलत स्थानमा उभिरहेका छन्। दोस्रो, यो कुरा मानिसहरूले फैसला सुनाउन सक्ने कुरा नै होइन। अरूको चापलुसी गर्नु भनेको के हो? यो भनेको अरूलाई बहकाउनु, धोका दिनु र हानि पुऱ्याउनु हो। तेस्रो, वस्तुपरक प्रभावको सन्दर्भमा, यस्तो व्यवहारले अरूलाई सही मार्गमा डोऱ्याउन नसक्ने मात्र होइन, यसले अरूको जीवन प्रवेशमा पनि बाधा दिन्छ र तिनीहरूको जीवनमा हानि पुऱ्याउँछ। यदि तँ सधैँ कुनै व्यक्तिले परमेश्वरलाई प्रेम गर्छ, कुराहरू त्याग्न सक्छ, र ऊ परमेश्वरप्रति वफादार छ भन्छस् भने, के सबैले उसका बाहिरी कार्यहरूको अनुसरण गर्नेछैनन् र? तिमीहरूले अरूलाई सही मार्गमा नडोऱ्याएको मात्र होइन, तिमीहरूले प्रायजसो मानिसहरूलाई बाहिरी कार्यहरूमा ध्यान केन्द्रित गर्ने पनि तुल्याएका छौ, यतिसम्म कि तिनीहरू ताजका बदलामा यी बाहिरी अभ्यासहरूमा भर पर्छन् र अनजानमै पावलको मार्ग पछ्याउँछन्। के यसको त्यस्तो प्रभाव परेको छैन र? तैँले यी शब्दहरू बोल्दा, के तँ यी समस्याहरूबारे सचेत हुन्छस्? तँ कुन स्थानमा उभिरहेको छस्? तैँले कुन भूमिका निर्वाह गरिरहेको छस्? तेरा शब्दहरूको वस्तुपरक प्रभाव के हो? यसले अरूलाई अन्ततः कस्तो मार्ग पछ्याउने तुल्याउँछ? यो कुन हदसम्म हानिकारक छ? मानिसहरूले यस्तो तरिकाले काम गर्दा त्यसले गम्भीर परिणामहरू निम्त्याउँछ।
मण्डलीभित्रका केही अगुवा र कामदारहरू आफ्नो अनुभवबारे बोल्न र गवाही दिन अनि समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्दैनन्। तिनीहरू सधैँ आफूले कसरी कष्ट भोगेका छन्, कसरी काटछाँट स्विकारेका छन्, धेरै अन्याय भोगे पनि कसरी नकारात्मक भएनन्, आफ्नो कर्तव्य निभाउन कसरी दृढ रहे भन्ने कुराहरूबारे गवाही दिन्छन्। पावलजस्तै, तिनीहरू सधैँ आफ्नै गवाही दिन्छन्, आफैलाई स्थापित गर्छन्, र परमेश्वरका चुनिएका मानिसहरूलाई आफ्नो प्रशंसा, सम्मान र आदर गर्ने तुल्याउँछन्। यसका साथै, यस्ता मानिसहरूले शब्द र धर्मसिद्धान्त राम्ररी बताउन सक्ने र प्रचार गर्न सक्ने व्यक्ति देख्दा, तिनीहरूको चापलुसी गर्छन्, र पावल जस्ता अगुवा र कामदारहरूको तारिफ र प्रशंसा गर्छन् अनि यसरी अरूलाई तिनीहरूको आराधना गर्न लगाउँछन्। तिनीहरू मलजल र आपूर्तिको काम गर्न असफल मात्र हुँदैनन्, तर अरूलाई पावलको मार्ग पछ्याउन अगुवाइ गर्ने विनाशकारी र बाधा पुर्याउने काममा पनि संलग्न हुन्छन्। तिनीहरू पूरै समय आफू सक्षम भएको र असल अगुवा भएको गलत सोच राख्छन् र परमेश्वरबाट इनामहरू पाउन चाहन्छन्। के यो तिमीहरूमध्ये धेरै जनाको स्थिति होइन र? तिमीहरूको शब्द र धर्मसिद्धान्तहरूमा मात्र ध्यान दिने, निरन्तर अरूलाई उपदेश दिने अहिलेको व्यवहारको आधारमा, के तिमीहरूले मानिसहरूलाई सही मार्गमा डोऱ्याउन सक्छौ? यसले तिनीहरूलाई अन्ततः कुन मार्गमा डोऱ्याउन सक्छ? के यसले तिनीहरू सबैलाई पावलको मार्गमा डोऱ्याउनेछैन? म यो जस्ताको तस्तै देख्छु, यो अतिशयोक्ति होइन। तिमीहरू सबैजना मानिसहरूलाई पावलको मार्गमा डोऱ्याइरहेका, पावलजस्तै अगुवाहरू हौ भन्न मिल्छ। के तिमीहरूलाई अझै पनि कुनै प्रकारको ताज चाहिन्छ? तिमीहरूलाई निन्दा गरिएन भने तिमीहरू भाग्यमानी हुनेछौ। तिमीहरूका कार्यहरूको आधारमा हेर्दा, तिमीहरू सबैजना परमेश्वरको प्रतिरोध गर्ने, परमेश्वरको सेवा गरिरहेका, तर उहाँको प्रतिरोध गरिरहेका मानिस बनेका छौ र तिमीहरू उहाँको काममा बाधा दिन खपिस भएका छौ। यदि तिमीहरू यस्तै मार्गमा हिँडिरह्यौ भने, तिमीहरू अन्ततः झुटो गोठाला, झुटा कामदार, झुटा अगुवा र ख्रीष्टविरोधी बन्नेछौ। राज्यका लागि तालिम लिने समय अहिले नै हो। यदि तिमीहरूले सत्यतामा प्रयास लगाएनौ र काममा मात्र ध्यान दियौ भने, तिमीहरूले थाहै नपाई पावलको मार्ग लिनेछौ। यसका साथै, तिमीहरूले पावलजस्तै मानिसहरूको समूहलाई पनि आफूसँगै ल्याउनेछौ। के तिमीहरू त्यसपछि परमेश्वरको प्रतिरोध गर्ने र उहाँको काममा बाधा पुऱ्याउने मानिस बन्नेछैनौ? त्यसैले यदि परमेश्वरको सेवा गर्ने व्यक्तिले उहाँको गवाही दिन सक्दैन, वा उहाँका चुनिएका मानिसहरूलाई सही मार्गमा डोऱ्याउन सक्दैन भने, ऊ परमेश्वरको प्रतिरोध गर्ने व्यक्ति हो। यहाँ यी दुई मार्गहरू मात्र छन्। पत्रुसको मार्ग सत्यता पछ्याउने र अन्ततः आफ्नो विश्वासमा सफलता पाउने मार्ग हो। पावलको मार्ग सत्यता नपछ्याउने, अनि आशिष् र इनामहरू मात्र पछ्याउने मार्ग हो। त्यो असफलताको मार्ग हो। आज, पत्रुसको सफलताको मार्ग पछ्याउने मानिसहरू निकै कम छन्, जबकि पावलको असफलताको मार्ग पछ्याउनेहरू अति धेरै छन्। अगुवा र कामदारका रूपमा काम गरिरहेका तिमीहरूले यदि सुरुदेखि अन्त्यसम्मै सत्यता पछ्याएनौ भने, तिमीहरू सबै झुटा अगुवा र झुटा कामदार बन्नेछौ, र तिमीहरू सबै ख्रीष्टविरोधी, र परमेश्वरको प्रतिरोध गर्ने दुष्ट मानिसहरू हुनेछौ। यदि तिमीहरू अबदेखि सही मार्गमा मोडियौ र साँच्चै पत्रुसको मार्ग समात्यौ भने तिमीहरू अझै पनि परमेश्वरले अनुमोदन गर्नुहुने असल अगुवा र कामदार बन्न सक्छौ। यदि तिमीहरू सिद्ध पारिन र परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न खोज्दैनौ भने, तिमीहरू खतरामा छौ। तिमीहरूको मूर्खता र अज्ञानता, सतही र अपर्याप्त अनुभव, सानो कद र अपरिपक्वतालाई ख्यालमा राख्दा, गर्न सकिने एउटा मात्रै कुरा भनेको तिमीहरूसँग सत्यताबारे अझै सङ्गति गर्न सकिन्छ ताकि तिमीहरू बुझ्न सक्षम होऔ, तर तिमीहरूले सत्यता प्राप्त गर्न सक्छौ कि सक्दैनौ भन्ने कुरा तिमीहरूको व्यक्तिगत पछ्याइमा भर पर्छ। किनभने आजको समय पत्रुस र पावलको समयभन्दा निकै फरक छ। ती दिनहरूमा, येशूले मानिसलाई न्याय गर्ने, सजाय दिने वा मानिसको स्वभाव परिवर्तन गर्ने काम गरिसक्नुभएको थिएन। आज, देहधारी परमेश्वरले निकै पारदर्शी रूपमा सत्यता व्यक्त गर्नुभएको छ। यदि मानिसहरूले अझै पनि पावलको मार्ग लिए भने, यसले तिनीहरूको बुझ्ने क्षमता त्रुटिपूर्ण छ भनेर देखाउँछ, र साथै, यसले तिनीहरूको चरित्र पावलको जस्तै अति दुष्ट छ, र तिनीहरूको स्वभाव अति अहङ्कारी छ भन्ने कुराको सङ्केत पनि गर्छ। त्यो युग आजको भन्दा फरक थियो, र सन्दर्भ पनि फरक थियो। आज, परमेश्वरको वचन कति उज्ज्वल र स्पष्ट छ; मानौँ तँलाई सिकाउन र डोऱ्याउन उहाँ आफैले आफ्नो हात अघि सार्नुभएको छ, त्यसैले यदि तैँले अझै पनि गलत मार्ग लिइस् भने त्यो अक्षम्य हुनेछ। यसका साथै, आज, पत्रुस र पावलको दुईवटा नमुना छ, एउटा सकारात्मक, अर्को नकारात्मक, एउटा उदाहरण र अर्को चेतावनी। यदि तैँले गलत मार्ग लिइस् भने, यसको अर्थ तैँले गलत छनौट गरेको छस् र तँ अति दुष्ट छस्। यसका लागि अरू कोही नभई तँ आफै दोषी हुनेछस्। सत्यता वास्तविकता भएको व्यक्तिले मात्र अरूलाई सत्यता वास्तविकतामा प्रवेश गराउन सक्छ, तर सत्यता वास्तविकता नभएको व्यक्तिले अरूलाई बहकाउन मात्र सक्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।