परमेश्वरको सेवा गर्नेसम्बन्धी वचनहरू (अंश ७१)
तिमीहरू सबैजना सत्यतातर्फ लागिपर्न चाहन्छौ। विगतमा, तिमीहरूले परमेश्वरका वचनमा रहेका सत्यताका विभिन्न पक्षको निचोड निकाल्दा केही परिश्रम गऱ्यौ। केही मानिसहरूले यसबाट थोरै लाभ प्राप्त गरे भने अन्यले प्रावधान पालना मात्र गर्न रुचाए, अनि तिनीहरू बहकिए। फलस्वरूप, तिनीहरूले सत्यताको हरेक पक्षलाई पक्रेर तिनलाई पछ्याउनुपर्ने प्रावधानमा परिणत गरे। तिमीहरूले यसरी सत्यताको निचोड निकाल्दा, अरूलाई जीवन प्राप्त गर्न वा सत्यताभित्रबाटै आफ्नो स्वभाव परिवर्तन गर्न सहयोग गरिरहेका हुँदैनौ; बरु तिनीहरूलाई सत्यताअन्तर्गत रहेको कुनै ज्ञान वा धर्मसिद्धान्तमा पोख्त बनाइरहेका हुन्छौ। तिनीहरूले परमेश्वरको कामको उद्देश्य बुझेको जस्तो लाग्छ, जबकि वास्तवमा तिनीहरू केही धर्मसिद्धान्त र वचनहरूमा मात्र पोख्त भएका हुन्छन्; तिनीहरू सत्यताभित्र रहेको अर्थ बुझ्दैनन्। यो धर्मशास्त्र वा बाइबल अध्ययन गरेजस्तै हो; बाइबलीय ज्ञानको केही अंश र केही धर्मशास्त्रीय सिद्धान्तलाई सारांशित गरेपछि, मानिसले बाइबलीय ज्ञान र धर्मशास्त्रीय सिद्धान्तबारे बुझाइ मात्र प्राप्त गरेका हुन्छन्। तिनीहरू ती वचन र सिद्धान्त वाचन गर्नमा निकै सिपालु हुन्छन्, तर तिनीहरूसँग कुनै वास्तविक अनुभव हुँदैन। तिनीहरू आफ्नो भ्रष्ट स्वभावलाई बुझ्दैनन्, अनि परमेश्वरको काम त झनै बुझ्दैनन्। अन्ततः यी मानिसहरूले प्राप्त गरेको कुरा भनेको केही धर्मसिद्धान्त र ज्ञानका केस्रा मात्र हुन्; ती एकाध प्रावधान मात्र हुन्। तिनीहरूले कुनै व्यावहारिक कुरा हासिल गरेका हुँदैनन्। यदि परमेश्वरले नयाँ काम गर्नुभयो भने, के यी मानिसहरू त्यसलाई स्विकार्न र त्यसमा समर्पित हुन सक्छन् त? के तँ त्यसलाई आफूले निचोड गरेका सत्यता अनुरूप बनाउन सक्छस् त? यदि तँ सक्छस् र तँसँग केही बुझाइ पनि छ भने, तैँले निचोड गरेका कुराहरू केही हदसम्म व्यावहारिक हुन्छन्। यदि तँ सक्दैनस् भने, तैँले निचोड गरेका कुराहरू केवल प्रावधान हुन्छन् र तिनीहरूको कुनै मोल हुँदैन। त्यसोभए, यसरी सत्यतालाई निचोड गर्नु उचित हो त? के यसले मानिसलाई सत्यता बुझ्न मदत गर्न सक्छ त? यदि त्यसले कुनै प्रभाव पार्दैन भने, त्यसो गर्नुको कुनै अर्थ नै छैन। यो त केवल मानिसहरूलाई धर्मशास्त्र पढ्न लगाउनु हो। यसले तिनीहरूलाई परमेश्वरका वचन र सत्यता अनुभव गर्ने तुल्याउँदैन। त्यसकारण, परमेश्वरको घरले पुस्तकहरू सम्पादन गर्दा सिद्धान्तहरू पालन गर्नैपर्छ। तिनले मानिसलाई सत्यता सजिलै बुझ्ने, प्रवेशको मार्ग र हृदयमा ज्योति प्राप्त गर्ने तुल्याउन मद्दत गर्न सक्नुपर्छ। यसले सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो बनाउँछ। तँ ती धर्ममा रहेका मानिसहरूजस्तो हुन मिल्दैन, जो व्यवस्थित रूपमा बाइबलीय तथा धर्मशास्त्रीय ज्ञान अध्ययन गर्छन्। त्यसले मानिसहरूलाई केवल बाइबलीय ज्ञान, धार्मिक कर्मकाण्ड र प्रावधानतर्फ डोर्याउनेछ, र तिनीहरूलाई एउटा बाकसभित्र सीमित गर्नेछ। सत्यता र परमेश्वरका अभिप्राय बुझ्नका लागि मानिसहरूलाई परमेश्वरसामु ल्याउन त्यो सक्षम छैन। एकपछि अर्को प्रश्न सोधेर अनि तिनको उत्तर दिएर, वा मुख्य बुँदाहरूको रूपरेखा तयार पारेर, अनि त्यसपछि केही हरफमै सत्यताको सारांश र निचोड निकालेर यी मामिला स्पष्ट हुनेछन् र तेरा दाजुभाइ-दिदीबहिनीहरूलाई बुझ्न सजिलो बन्नेछन् भन्ने तँलाई लाग्छ। तँलाई यो राम्रै तरिका हो भन्ने लाग्छ। तर, मानिसहरूले त्यो पढिसकेपछि पनि सत्यताभित्र रहेको अर्थ बुझ्नेछैनन्; तिनीहरूले त्यसलाई कहिल्यै पनि वास्ताविकता अनुरूप बनाउनेछैनन्। तिनीहरू केही वचन र धर्मसिद्धान्तमा मात्र पोख्त भएका हुन्छन्। त्यसैले, यी कुरा गर्नुभन्दा नगर्नु नै बेस हुन्छ! यी कुरा गर्नु भनेको मानिसलाई ज्ञान बुझ्ने र त्यसमा पोख्त हुनेतर्फ डोऱ्याउने तरिका हो। तँ मानिसलाई धर्मसिद्धान्त र धर्मतर्फ डोर्याउँदै छस्, र धार्मिक सिद्धान्तअन्तर्गत परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन लगाउँदै छस्। के यो पावलले मानिसहरूलाई परमेश्वरप्रतिको तिनीहरूको विश्वासको दौरान डोर्याएको मार्ग होइन? तिमीहरूलाई लाग्छ, आत्मिक धर्मसिद्धान्त बुझ्नु विशेषतः महत्त्वपूर्ण कुरा हो, तर परमेश्वरका वचन बुझ्नु खासै महत्त्वपूर्ण कुरो होइन। यो ठूलो गल्ती हो। धेरै मानिसहरू यस्ता छन्, जो आफूले परमेश्वरका कति वटा वचन कण्ठ गर्न सक्छु, कति धर्मसिद्धान्तबारे बोल्न सक्छु, अनि कति वटा आत्मिक सूत्रहरू पत्ता लगाउन सक्छु भन्ने कुरामा ध्यान दिन्छन्। यसै कारण तिमीहरू सधैँ सत्यताको हरेक पक्षको व्यवस्थित रूपमा निचोड निकाल्न चाहन्छौ, ताकि सबैले एकैनासले ठ्याक्कै एउटै कुरा बोलून्, एउटै धर्मसिद्धान्त जपून्, एउटै ज्ञान हासिल गरून् अनि एउटै प्रावधान पालन गरून्। तिमीहरूको लक्ष्य यही हो। तिमीहरूले मानिसहरूलाई सत्यता अझ राम्ररी बुझाउनका लागि यसो गरेजस्तो देखिन्छ, तर तिमीहरूले मानिसहरूलाई परमेश्वरका वचनका धर्म-सैद्धान्तिक प्रावधानतर्फ डोर्याउँदै छौ र तिनीहरू केवल परमेश्वरका वचनको सत्यता वास्तविकतादेखि झन्-झन् टाढिनेछन् भन्ने कुरा तिमीहरूलाई थाहा छैन। मानिसहरूलाई सत्यता बुझ्न साँच्चै मद्दत गर्नका लागि तिमीहरूले परमेश्वरका वचनको अध्ययनलाई वास्तविकता र मानिसहरूको भ्रष्ट स्थितिसँग जोड्नुपर्छ। तिमीहरूले आफूभित्रै रहेका समस्याबारे आत्मचिन्तन गर्नुपर्छ र तिनलाई बुझ्नुपर्छ, अनि आफूले प्रकाश गर्ने भ्रष्ट स्वभावबारे आत्मचिन्तन गर्नुपर्छ। त्यसपछि तैँले परमेश्वरका वचनमा सत्यता खोजेर यिनलाई हल गर्नुपर्छ। मानिसहरूका वास्तविक समस्या समाधान गर्ने र तिनीहरूलाई सत्यता बुझाउने अनि वास्तविकतामा प्रवेश गराउने एकमात्र तरिका यही नै हो। यो परिणाम हासिल गरेर मात्र तिमीहरूले मानिसलाई साँच्चै परमेश्वरसामु ल्याइरहेका हुन्छौ। यदि तँ आत्मिक सिद्धान्त, धर्मसिद्धान्त र प्रावधानबारे मात्र कुरा गर्छस्; यदि तँ मानिसहरूसँग असल आचरण हुने कुरा सुनिश्चित गर्नमा मात्र केन्द्रित हुन्छस्; यदि तैँले हासिल गर्न सक्ने कुरा मानिसहरूलाई एउटै कुरा बोल्न र एउटै प्रावधान पालना गर्न लगाउनु मात्र हो, तर तँ तिनीहरूलाई सत्यता बुझ्ने मार्गमा डोर्याउन सक्दैनस्, अनि तिनीहरूले पश्चात्ताप गर्न र तिनीहरू परिवर्तित हुन सकून् भनी आफूलाई अझ राम्ररी बुझ्ने तुल्याउन त झनै सक्दैनस् भने, तैँले केवल वचन र धर्मसिद्धान्त बुझेको छस्, र तँमा कुनै पनि सत्यता वास्तविकता छैन। अन्त्यमा, तैँले परमेश्वरमा यसरी विश्वास गरेर सत्यता प्राप्त गर्न नसक्ने मात्र होइन, तैँले आफैलाई अवरोध गरेको र गुमाएको पनि हुनेछस्—तैँले केही पनि प्राप्त गर्न सक्नेछैनस्।
के तिमीहरूले परमेश्वरको बोल्ने तरिकामा कुनै शैली देखेका छौ? कतिपय मानिसहरूले यसलाई यसरी व्यक्त गर्छन्: परमेश्वरले दिनुहुने हरेक प्रवचनका विषयवस्तु बहुआयामिक हुन्छन्। हरेक अनुच्छेद र हरेक वाक्यको अर्थ फरक हुन्छ। मानिसलाई त्यो सम्झन सजिलो हुँदैन, न त तिनीहरूलाई बुझ्न नै सजिलो हुन्छ। मानिसहरूले हरेक अनुच्छेदको मूल भावलाई सारांशित गर्न चाहे पनि, गर्न सक्नेछैनन्। कमजोर क्षमता भएका मानिसहरूले परमेश्वरका वचन बुझ्न सक्दैनन्। तिनीहरूलाई जस्तोसुकै तरिकाले सङ्गति गरिए पनि, तिनीहरू त्यही पनि सत्यता बुझ्न सक्षम हुँदैनन्। परमेश्वरका वचन उपन्यास, गद्य वा साहित्यिक रचना होइनन्; ती त सत्यता र मानिसलाई जीवन आपूर्ति गर्ने भाषा हुन्। मानिसहरूले केवल सोचमग्न भएर यी वचनहरू बुझ्न सक्दैनन्, न त अलि बढी परिश्रम गरेर तीभित्रका ढाँचालाई सारांशित गर्न नै सक्छन्। त्यसकारण, तँसँग सत्यताको जुनसुकै पक्षबारे अलिकति ज्ञान भए पनि, अनि तैँले सत्यताको जुनसुकै पक्षबारे स्पष्टताका साथ बोल्न सके पनि, तैँले धाक देखाउन मिल्दैन, किनभने तेरो बुझाइ आंशिक ज्ञान मात्र हो। तेरो बुझाइ सतही मात्रै हुन्छ, यो समुद्रमा पानीको एक थोपा मात्र हो र यो परमेश्वरका वास्तविक अभिप्रायहरूबाट एकदम टाढा हुन्छ। परमेश्वरको हरेक प्रवचनमा, सत्यताका केही पक्ष हुन्छन्। उदाहरणको लागि, कुनै प्रवचनले परमेश्वरको देहधारणका रहस्यबारे बताउँछ। यसमा देहधारणको महत्त्व, देहधारणले पूरा गर्नुभएको काम, अनि मानिसहरूले परमेश्वरमा कसरी विश्वास गर्नुपर्छ भन्ने कुरा पर्छन्। यसमा मानिसहरूले परमेश्वरलाई कसरी चिन्नु पर्छ र प्रेम गर्नुपर्छ भन्ने कुरा पनि समावेश हुन सक्छ। यसमा सत्यताका कैयौँ पक्षहरू सम्मिलित हुन्छन्। तैँले सोचेझैँ, यदि देहधारणका एकाध अर्थ मात्रै छन्, जसलाई केही वाक्यमा सारांशित गर्न सकिन्छ भने, किन मानिसले सधैँ परमेश्वरबारे धारणा र कल्पनाहरू पाल्छ त? देहधारणको कामले मानिसहरूमाथि कस्तो प्रभाव हासिल गर्ने लक्ष्य राखेको हुन्छ त? त्यसले मानिसलाई परमेश्वरका वचन सुन्न र उहाँमा फर्कन सक्षम बनाउने लक्ष्य राखेको हुन्छ। त्यसको लक्ष्य मानिससँग अन्तरक्रिया गर्नु, मानिसलाई प्रत्यक्ष रूपमा मुक्ति दिनु अनि परमेश्वरलाई जान्न सक्षम तुल्याउनु हो। परमेश्वरलाई चिनेपछि, मानिसहरूले प्राकृतिक रूपमै परमेश्वरको डर मान्ने हृदयको विकास गर्छन्, त्यसपछि तिनीहरूलाई परमेश्वरमा समर्पित हुन सजिलो हुन्छ। त्यसैले उहाँको वचन वा सत्यताको कुनै पनि पक्ष तैँले सोचेजस्तो सरल हुँदैन। यदि तँ परमेश्वरका वचन र दिव्य भाषालाई निकै सरल भए झैँ देख्छस्, अनि कुनै पनि समस्यालाई परमेश्वरका वचनको एउटा अनुच्छेदद्वारा नै समाधान गर्न सकिन्छ भन्ने विश्वास गर्छस् भने, तैँले सत्यतालाई पूर्ण रूपमा बुझ्न सक्दैनस्। तेरो बुझाइ सत्यतासँग मेल खाए पनि, त्यो अझै एकतर्फी नै हुन्छ। परमेश्वरबाट आउने हरेक प्रवचन विविध परिप्रेक्ष्यबाट बोलिएको हुन्छ। मानिसले परमेश्वरका वचनलाई सारांशित वा निचोड गर्न सक्दैन। तिनलाई निचोड गरेपछि, तिमीहरूलाई परमेश्वरका वचनको एउटा अनुच्छेदले एउटा समस्या मात्र सम्बोधन गर्छ भन्ने लाग्छ, जबकि, यथार्थमा, त्यो अनुच्छेदले कैयौँ समस्या समाधान गर्न सक्छ। तैँले तिनको सारांश निकाल्न वा तिनलाई सीमित गर्न सक्दैनस्, किनभने सत्यताका सबै पक्षमा कैयौँ वास्तविकताहरू समावेश हुन्छन्। सत्यता जीवन हो, मानिसले यसको आनन्द उठाउन सक्छन्, अनि यो मानिसले अनेकौँ जीवनकाल वा सयौँ वर्ष जिए पनि पूर्ण रूपमा अनुभव गर्न नसक्ने कुरा हो भनेर किन भनिन्छ? यदि तैँले सत्यताको कुनै निश्चित पक्ष वा परमेश्वरका वचनको एउटा अनुच्छेदको निचोड निकाल्छस् भने, तैँले निचोड निकालेको अनुच्छेद एउटा सूत्र, प्रावधान वा धर्मसिद्धान्त बन्छ—त्यसउपरान्त त्यो सत्यता रहेन। त्यो एक शब्द पनि हेरफेर नगरिएको परमेश्वरका मौलिक वचन नै भए पनि, तैँले यसरी तिनको निचोड निकाल्छस् र तिनलाई विन्यास गर्छस् भने, ती सत्यता नभई सैद्धान्तिक वचन बन्नेछन्। त्यसो किन हुन्छ? किनभने तैँले मानिसहरूलाई बहकाउनेछस् र धर्मसिद्धान्ततर्फ डोर्याउनेछस्, अनि तिनीहरूलाई तेरै धर्मसिद्धान्तअनुसार सोच्न, कल्पना गर्न, मामिलाहरू हेर्न र परमेश्वरका वचनहरू पढ्न लगाउनेछस्। त्यसलाई बारम्बार पढेपछि, मानिसहरूले त्यसमा भएको एउटा धर्मसिद्धान्त मात्र बुझ्नेछन् र एउटा प्रावधान मात्र देख्नेछन्, र त्यो पक्ष देख्न असक्षम हुनेछन् जुन सत्यता वास्तविकता हो। अन्त्यमा, तैँले मानिसहरूलाई धर्मसिद्धान्त बुझ्ने र प्रावधान पालना गर्ने मार्गमा डोर्याउनेछस्। तिनीहरूलाई परमेश्वरका वचन कसरी अनुभव गर्ने भनी आउनेछैन। तिनीहरूले धर्मसिद्धान्त मात्र बुझ्नेछन् अनि धर्मसिद्धान्तबारे नै छलफल गर्नेछन्, तर सत्यता बुझ्नेछैनन् वा परमेश्वरलाई चिन्नेछैनन्। तिनीहरूका मुखबाट सुमधुर र सही धर्मसिद्धान्त निस्कनेछ, तैपनि तिनीहरूसँग रत्तिभर पनि वास्तविकता हुनेछैन र कुनै व्यवहार्य मार्ग हुनेछैन। यस्तो अगुवाइले मानिसलाई साँच्चै नै ठूलो हानि पुर्याउँछ।
के तिमीहरूलाई मानिसले परमेश्वरलाई गर्ने सेवामा सबैभन्दा निषेधित कुरा के हो भन्ने थाहा छ? कतिपय अगुवा र कामदारहरू परमेश्वरलाई आफू वास्तवमा कति सक्षम छु भनी देखाउनका लागि सधैँ फरक हुन, अरूभन्दा उत्कृष्ट हुन, देखावटी गर्न अनि केही नयाँ चाल पहिल्याउन चाहन्छन्। तर, तिनीहरू सत्यता बुझ्न र परमेश्वरका वचनको वास्तविकतामा प्रवेश गर्नमा ध्यान दिँदैनन्। यो कार्य गर्ने सबैभन्दा मूर्खतापूर्ण तरिका हो। के यो ठ्याक्कै अहङ्कारी स्वभावको प्रकटीकरण होइन र? कतिपय मानिसहरू यसो पनि भन्छन्, “यदि मैले यसो गरेँ भने, यसले पक्कै पनि परमेश्वरलाई प्रसन्न तुल्याउनेछ; उहाँले यो मन पराउनुहुनेछ। यसपालि म परमेश्वरलाई त्यो देखाइदिनेछु। म उहाँलाई मज्जाले चकित पार्नेछु।” “मज्जाले चकित पार्नु” ले केही फरक पार्दैन। त्यसको परिणाम के हुन्छ? मानिसहरूले देख्नेछन् कि तिनीहरूले गर्ने काम अत्यन्तै बेतुक हुन्छन्। ती परमेश्वरको घरको कामका लागि लाभदायी नहुने मात्र होइन, पैसाको बरबादी पनि हुन्छन्—तिनीहरूले परमेश्वरको भेटीलाई नोक्सान गर्छन्। परमेश्वरको भेटीलाई तैँले आफूखुसी प्रयोग गर्न मिल्दैन, परमेश्वरको भेटी मास्नु पाप हो। यी मानिसहरूले परमेश्वरको स्वभावलाई चिढ्याउन पुग्छन्, पवित्र आत्माले तिनीहरूमा काम गर्न छोड्नुहुन्छ, अनि तिनीहरू हटाइन्छन्। त्यसैले, कहिले पनि आवेगमा आएर आफूलाई जे मन लाग्यो त्यही नगर्। तैँले नतिजाबारे कसरी सोच्न नसकेको? जब तैँले परमेश्वरको स्वभावलाई चिढ्याउँछस् र उहाँका प्रशासनिक आदेशहरूलाई उल्लङ्घन गर्छस्, र त्यसपछि तँ हटाइन्छस् भने, तैँले भन्नु पर्ने केही पनि बाँकी हुनेछैन। तेरो अभिप्राय जे-जस्तो भए पनि, र तैँले यसलाई जानी-जानी गरेको भए पनि वा नभए पनि, यदि तैँले परमेश्वरको स्वभाव वा उहाँका अभिप्रायलाई बुझ्दैनस् भने, तैँले सहजै उहाँको रिस उठाउनेछस् र उहाँका प्रशासनिक आदेशहरूलाई उल्लङ्घन गर्न पुग्नेछस्; हरेक व्यक्ति यही कुरादेखि सतर्क रहनुपर्छ। तैँले परमेश्वरको प्रशासनिक आदेशहरूलाई उल्लङ्घन गरेपछि वा उहाँको स्वभावलाई चिढ्याएपछि, यदि त्यो अत्यन्तै गम्भीर छ भने, तैँले जानी-जानी कि अनजानमा त्यसो गरिस् भन्ने कुरालाई उहाँले ध्यान दिनुहुनेछैन। यो तैँले स्पष्ट रूपमा देख्नुपर्ने कुरा हो। यदि तैँले यो कुरालाई बुझ्दैनस् भने, तैँले अवश्यै समस्याहरू सामना गर्नेछस्। परमेश्वरको सेवा गर्ने क्रममा, मानिसहरूले ठूला-ठूला प्रगति गर्न, ठूला-ठूला काम गर्न, महान् शब्दहरू बोल्न, महान् कार्य गर्न, ठूला-ठूला सभा आयोजना गर्न, र महान् अगुवा बन्न चाहन्छन्। यदि तँसँग सधैँ यस्ता ठूला महत्वाकाङ्क्षाहरू हुन्छन् भने, तैँले परमेश्वरका प्रशासनिक आदेशहरूलाई उल्लङ्घन गर्नेछस्; यसो गर्ने मानिसहरू चाँडै नै मर्नेछन्। यदि परमेश्वरप्रतिको सेवामा तँ राम्रो व्यवहार गर्ने, समर्पित, र विवेकी छैनस् भने, ढिलो-चाँडो तैँले उहाँको स्वभावलाई उल्लङ्घन गर्नेछस्। यदि तैँले परमेश्वरको स्वभावलाई चिढ्याउँछस्, उहाँका प्रशासनिक आदेशहरूलाई उल्लङ्घन गर्छस्, अनि फलस्वरूप परमेश्वर विरुद्ध पाप गर्छस् भने, उहाँले तैँले किन त्यसो गरिस् भनेर विचार गर्नुहुनेछैन, न त तेरा अभिप्रायलाई नै विचार गर्नुहुनेछ। त्यसोभए, के तिमीहरूलाई परमेश्वर तर्कसङ्गत हुनुहुन्न जस्तो लाग्छ? के उहाँले मानिसलाई वास्ता गरिरहनुभएको छैन? (त्यसो होइन।) किन होइन? किनभने तँ अन्धो वा बहिरो छैनस्, न त तँ मूर्ख नै छस्। परमेश्वरका प्रशासनिक आदेशहरू स्पष्ट र खुलस्त छन्। तैँले तिनलाई देख्न र सुन्न सक्छस्। तैपनि यदि तैँले तिनलाई उल्लङ्घन गर्छस् भने, तँसँग त्यसो गर्नुको के नै कारण हुन सक्छ र? तैँले कुनै पनि अभिप्राय नपालेको भए पनि, यदि परमेश्वरलाई चिढ्याउँछस् भने, समय आएपछि विनाश अनि दण्ड सामना गर्नेछस्। तेरो परिस्थिति कस्तो थियो भन्ने कुराले कुनै फरक पार्नेछ र? शैतानी प्रकृति भएका मानिसले प्राकृतिक रूपमै परमेश्वरको स्वभावलाई चिढ्याउन सक्छन्। कसैलाई पनि छुरा देखाएर परमेश्वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्न वा उहाँको स्वभावलाई चिढ्याउन बाध्य पारिँदैन; यस्तो हुँदै हुँदैन। बरु, यो त मानिसको प्रकृतिले निर्धारण गर्ने कुरा हो। “परमेश्वरको स्वभाव भनेको नचिढिनु हो।” यस कथनभित्र एउटा अर्थ रहेको छ। तर, परमेश्वरले मानिसहरूलाई तिनीहरूको स्थिति र पृष्ठभूमिको आधारमा दण्ड दिनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ भन्ने थाहा नपाई उहाँलाई चिढ्याउनु एक प्रकारको स्थिति हो भने उहाँ परमेश्वर हुनुहुन्छ भन्ने स्पष्टतः थाहा पाए तापनि उहाँलाई चिढ्याउनु अर्कै प्रकारको स्थिति हो। कतिपय मानिसहरूलाई उहाँ परमेश्वर नै हुनुहुन्छ भनेर स्पष्ट रूपमा थाहा भए तापनि तिनीहरू उहाँलाई चिढ्याउन सक्छन्, र तिनीहरू दण्डित हुनेछन्। परमेश्वरले आफ्नो कामको हरेक चरणमा आफ्ना केही स्वभाव व्यक्त गर्नुहुन्छ। के मानिसले तीमध्ये केही बुझेको छैन र? के मानिसहरू परमेश्वरले व्यक्त गर्नुभएका अनेकौँ सत्यतामार्फत उहाँले आफ्ना कुन-कुन स्वभाव प्रकट गर्नुभएको छ, साथै मानिसका कुन-कुन कार्य र बोली उहाँलाई चिढ्याउन प्रवृत्त हुन्छन् भन्नेबारे थोरबहुत जानकार छैनन् र? जहाँसम्म परमेश्वरका प्रशासनिक आदेशहरूद्वारा स्थापित मामिलाहरूको कुरा आउँछ—मानिसले के गर्नुपर्छ र के गर्नु हुँदैन—के मानिसलाई यीबारे पनि थाहा छैन र? मानिसहरूले सत्यता र सिद्धान्तसँग सम्बन्धित केही मामिला पूर्ण रूपमा बुझ्न सक्दैनन्, किनभने तिनीहरूले ती अनुभव गरेका हुँदैनन्; तिनीहरू ती बुझ्न सक्षम हुँदैनन्। तर, प्रशासनिक आदेशहरूसँग सम्बन्धित मामिलाहरू पूर्वनिर्धारित दायराभित्र पर्छन्। ती प्रावधान हुन्। ती मानिसले सजिलै बुझ्न र प्राप्त गर्न सक्ने कुरा हुन्। तिनलाई अध्ययन वा व्याख्या गर्नुपर्ने कुनै आवश्यकता छैन। मानिसहरूले तिनको अर्थ जसरी बुझ्छन्, त्यसै अनुरूप काम गर्नु पर्याप्त हुन्छ। यदि तँ लापरवाह छस्, तँसँग परमेश्वरको डर मान्ने हृदय छैन, अनि तँ जानाजानी प्रशासनिक आदेशहरू उल्लङ्घन गर्छस् भने, तँ दण्डित हुन लायक छस्!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।