सत्यता खोज्ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू (अंश १६)
मानिसहरूले सत्यतालाई बुझ्नु र अभ्यास गर्नुको उद्देश्य तिनीहरूले सत्यतामा जिउन सकून्, मानव स्वरूपमा जिउन सकून् र आफूले बुझेको र अभ्यास गर्न सक्ने सत्यतालाई जीवन बनाउन सकून् भन्ने हो। तिनलाई आफ्नो जीवन बनाउनु भनेको के हो? यसको अर्थ तिनलाई व्यक्तिका कार्यहरू, उसको जीवन, आचरण र अस्तित्वको जग र स्रोत बनाउनु हो—तिनले उसको जिउने शैलीलाई परिवर्तन गर्नु हो। पहिले मानिसहरू के अनुसार जिउँथे? तिनीहरूमा दृढ विश्वास भए पनि नभए पनि, तिनीहरू शैतानी स्वभावमा निर्भर रहँदै जिउँथे, र परमेश्वरका वचनहरू वा सत्यताअनुसार जिउँदैनथिए। सृष्टि गरिएको प्राणीले जिउनुपर्ने तरिका त्यही हो त? (होइन।) परमेश्वरले मानिसबाट के अपेक्षा गर्नुहुन्छ? (मानिसहरू उहाँका वचनहरूअनुसार जिऊन् भन्ने हो।) परमेश्वरका वचनहरूअनुसार जिउनु—उहाँमा साँचो रूपमा विश्वास गर्नेहरूको उद्देश्य यही हुनुपर्ने होइन र? (हो।) सृष्टि गरिएको प्राणीमा परमेश्वरका वचनहरूमा निर्भर रहँदै जिउने गुण हुनुपर्छ। परमेश्वरको नजरमा, त्यस्ता मानिसहरू सृष्टि गरिएको साँचो प्राणीहरू हुन्। तसर्थ, तैँले आफ्ना कुन-कुन शब्दहरू, कुन-कुन कार्य, र आफ्नो बानीबेहोराका कुन-कुन सिद्धान्तहरू, आफ्नो अस्तित्वको कुन-कुन उद्देश्य, र आफूले दुनियाँसँग गर्ने व्यवहारको कुन-कुन तरिका सत्यता सिद्धान्तअनुरूप छन्, परमेश्वरले मानिसबाट माग गर्ने कुरासँग मिल्दो छन्, र तीमध्ये कुन-कुन परमेश्वरका वचन र मापदण्डहरूसँग मिल्दैनन् भन्नेबारेमा नियमित रूपमा मनन गर्नुपर्छ। यदि तैँले निरन्तर रूपमा यी कुराहरूका बारेमा मनन गरिस् भने, तैँले क्रमिक रूपमा प्रवेश प्राप्त गर्दै जानेछस्। यदि तँ यी कुराहरूको बारेमा मनन गर्दैनस् भने, सतही प्रयासहरू मात्रै गर्नुको कुनै अर्थ छैन; अल्याङटल्याङ गर्ने, नियमहरू मात्रै पालना गर्ने, र विधिविधानमा अल्झिने कार्यले तँलाई अन्तिममा केही पनि दिनेछैन। त्यसो भए, परमेश्वरमाथिको विश्वास भनेको के हो? परमेश्वरमाथिको विश्वास भनेको वास्तवमा परमेश्वरको मुक्ति पाउने प्रक्रिया हो र यो शैतानले भ्रष्ट तुल्याएको मानवबाट परमेश्वरको नजरमा सृष्टि गरिएको साँचो प्राणीमा परिवर्तन हुने प्रक्रिया हो। यदि कुनै व्यक्ति जिउनका लागि शैतानी स्वभाव र प्रकृतिमा निर्भर रहिरहन्छ भने, के ऊ परमेश्वरको नजरमा योग्य सृष्टि गरिएको प्राणी हो? (होइन।) तँ परमेश्वरमा विश्वास गर्छु, परमेश्वरलाई स्वीकार गर्छु, परमेश्वरको सार्वभौमिकतालाई स्वीकार गर्छु र परमेश्वरले तँलाई सबै थोक दिनुहुन्छ भनेर स्वीकार गर्छु भनी भन्छस्, तर के तँ परमेश्वरका वचनहरूमा जिउँछस्? के तँ परमेश्वरका मापदण्डहरूअनुसार जिउँछस्? के तैँले परमेश्वरको मार्गलाई पछ्याउँछस्? के तँजस्तो सृष्टि गरिएको प्राणी परमेश्वरको अघि आउन सक्छ? के तँ परमेश्वरसँगै जिउन सक्छस्? के तँमा परमेश्वरको डर मान्ने हृदय छ? के तैँले जिउने र तैँले हिँड्ने मार्ग परमेश्वरअनुरूप छ? (छैन।) त्यसो भए, परमेश्वरमाथिको तेरो विश्वासको अर्थ के हो? के तँ सही मार्गमा प्रवेश गरेको छस्? परमेश्वरप्रतिको तेरो विश्वास देखावटी व्यवहार र शब्दमा सीमित छ। तँ परमेश्वरको नामलाई विश्वास र स्वीकार गर्छस्, अनि परमेश्वरलाई आफ्नो सृष्टिकर्ता र सार्वभौम मान्छस्, तर तैँले मूलतः परमेश्वरको सार्वभौमिकता वा उहाँका योजनाबद्ध कार्यहरू स्वीकार गरेको छैनस्, र तँ पूर्ण रूपमा परमेश्वरको अनुरूप हुन सक्दैनस्। अर्थात्, परमेश्वरमाथिको तेरो विश्वासको अर्थ पूर्ण रूपमा पूरा भएको छैन। तैँले परमेश्वरमा विश्वास गरे पनि, तैँले आफ्नो भ्रष्टतालाई त्यागेर मुक्ति प्राप्त गरेको छैनस्, र तँ परमेश्वरमाथिको विश्वासका क्रममा प्रवेश गर्नुपर्ने सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस्। यो एक गल्ती हो। यसलाई यसरी हेर्दा, परमेश्वरमाथिको विश्वास सरल कुरा होइन।
अब, के तिमीहरूलाई परमेश्वरको वचन बुझ्नु र सत्यता अभ्यास गर्नु महत्त्वपूर्ण कुरा हो भनी हृदयमा महसुस हुन्छ? (हुन्छ।) तिमीहरू सबैलाई सत्यता अभ्यास गर्नु महत्त्वपूर्ण कुरा हो भन्ने थाहा छ, तैपनि त्यो गर्नु सामान्य विषय होइन, त्यसमा कठिनाइहरू टन्नै हुन्छन्। यसलाई कसरी सुल्झाउन सकिन्छ? तैँले कठिनाइहरू आउँदैपिच्छे परमेश्वरसामु आएर प्रार्थना गर्नैपर्छ, र परमेश्वरका वचनमा सत्यता खोज्नैपर्छ, ताकि तैँले आफ्ना कठिनाइ, आफ्ना कमीकमजोरी अनि बाहिरी परिस्थितिका कठिनाइहरू सुल्झाउन, र सत्यता अभ्यास गर्न सकेस्। यो कुरा अनुभव गर्दा तँसँग परमेश्वरको अनुमोदन प्राप्त गर्ने आशा हुनेछ। यदि तैँले अझ धेरै सत्यता बुझेको छस् र सत्यता अभ्यास गर्न पनि सक्छस् भने, तँ परमेश्वरको मार्ग पछ्याउने व्यक्ति बन्न सक्छस्, अनि त्यसो गर्दा तेरो विश्वासलाई परमेश्वरले अनुमोदन गर्नु हुनेछ। यदि तँ परमेश्वरको नाम स्विकार्छु भन्छस्, र सबथोकमाथि उहाँको सार्वभौमिकता छ र उहाँ सृष्टिकर्ता हुनुहुन्छ भनेर विश्वास गर्छस्, तर तेरो जीवनको एउटा कुरा पनि सत्यता, परमेश्वरका मापदण्ड, वा सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरासँग सम्बन्धित छैन भने, के अन्तत: तेरो परिणाम कष्टप्रद हुनेछैन र? के यी कुरासँग कुनै सरोकार नराख्ने व्यक्ति परमेश्वरसामु आउन सक्छ? तँ परमेश्वरसामु आउन सक्छु भन्छस्, तर के परमेश्वर तेरो जस्तो विश्वासलाई अनुमोदन गर्नुहुन्छ? उहाँ अनुमोदन गर्नुहुन्न, अनि त्यसको अर्थ के हो? त्यसको अर्थ हो, परमेश्वर तँजस्तो सृष्टि गरिएको प्राणीलाई न त स्विकार्नुहुन्छ, न त आवश्यक नै ठान्नुहुन्छ। यदि परमेश्वर तेरो विश्वासलाई स्विकार्नुहुन्न र अनुमोदन गर्नुहुन्न भने, के उहाँ तँलाई व्यक्तिका रूपमा अनुमोदन गर्न सक्नुहुन्छ त? (सक्नुहुन्न।) यो नै अन्त्य हो: परमेश्वरले तँलाई मुक्ति दिनुहुनेछैन, र तेरो परिणाम निर्णय गरिसकिएको हुनेछ! के तिमीहरूले आफ्ना लागि चाहेको परिणाम यही हो त? (होइन।) तिमीहरू कस्तो परिणाम चाहन्छौ? (परमेश्वरको अनुमोदन पाउने।) परमेश्वरको अनुमोदन पाउन तैँले पहिले के बुझ्नैपर्छ? तँ पहिले केमा प्रवेश गर्नैपर्छ? सर्वप्रथम, तँलाई मानिसले के गर्दा परमेश्वर खुसी हुनुहुन्छ र के गर्दा उहाँ खुसी हुनुहुन्न भन्ने कुरा थाहा हुनैपर्छ। पहिले यी कुराहरूको लेखाजोखा गर्, ताकि तैँले ती कुरा स्पष्टसँग बुझेस्; त्यसपछि तैँले कामकुरा गर्दा कसरी व्यवहार गर्ने भनी जान्नेछस्। यो त्यति सरल छ। के यस्ता कुराहरूको लेखाजोखा गर्न सजिलो छ? एकदमै सजिलो छ। विगतमा दुष्कर्म गरेका र हटाइएका मानिसहरूले परमेश्वरलाई घिन लाग्ने जे कुराहरू गरे ती लेखाजोखा गर्, तिनीहरूको असफलताले सिकाएको पाठ लेखाजोखा गर्, अनि त्यस्ता कुनै खराब कुराहरू नगर्। त्यसपछि, परमेश्वरले अनुमोदन गरेकाहरूको असल व्यवहारको लेखाजोखा गर्, र त्यस्ता कामहरू अझ धेरै गर्। यसरी, तैँले परमेश्वरको अनुमोदन पाउन सक्नेछस्। तैँले अधिकतम हदमा परमेश्वरका अभिप्रायअनुरूप हुन के गर्नुपर्छ र के अभ्यास गर्नुपर्छ भनेर मनन गर्नुपर्छ, अनि परमेश्वर कस्ता मानिस र कामकुरालाई सबैभन्दा बढी घिनाउनुहुन्छ र कस्ता मानिसहरूसँग सबैभन्दा बढी प्रसन्न हुनुहुन्छ भन्ने कुरा हृदयदेखि नै बुझ्नुपर्छ। तैँले यी कुराहरूबीच फरक छुट्ट्याउन जान्नैपर्छ, र ती स्पष्ट रूपमा बुझ्न तिनको वर्गीकरण र लेखाजोखा गर्नु सर्वोत्तम कुरा हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो हृदयमा यो मानक र सीमा हुनु हो। यो सिद्धान्त, यो मानक, यो सीमा भएपछि तँसँग कामकुरा गर्नका लागि सिद्धान्तहरू हुनेछन्, र तैँले सिद्धान्तअनुसार कामकुरा गर्न सक्नेछस्। यदि तँसँग यो सिद्धान्त र मानक भएन भने, तैँले निश्चित भएर कामकुरा गर्नेछैनस्, र आफूले गर्ने कुन कुरा दुष्ट र कुन कुरा असल हो भनी छुट्टयाउन सक्नेछैनस्। तँलाई कुनै कुरा दुष्ट नलाग्ला, तर परमेश्वरको नजरमा त्यो दुष्ट हुन्छ; अथवा तँलाई कुनै कुरा असल लाग्ला, तर परमेश्वरको नजरमा त्यो दुष्ट हुन्छ। यदि तैँले यी सबै कामकुरा गरिस् भने के त्यसले समस्या निम्त्याउनेछैन र? यदि तँ जानाजानी र निरन्तर परमेश्वरले अनुमोदन नगर्ने कामकुरा गर्छस्, अनि उहाँले अनुमोदन गर्ने कामकुरा थोरै मात्र गर्छस्, तर आफूले त्यो धेरै गरेको सोच्छस् भने, के तँ रनभुल्लमा परिरहेको छैनस् र? यदि तैँले गर्ने धेरैजसो कामकुरा परमेश्वरको नजरमा दुष्ट मानिन्छन् भने, के उहाँ अझै तँलाई अनुमोदन गर्न सक्नुहुन्छ? (सक्नुहुन्न।) परमेश्वरले कुनै कुरा अनुमोदन गर्नुहुन्न भन्ने जान्दाजान्दै, तैँले त्यो कामकुरा गर्नुपर्छ कि गर्नु हुँदैन? (गर्नु हुँदैन।) तैँले यसो गर्नु दुष्कर्म हो कि सत्कर्म? (दुष्कर्म।) तैँले त्यो दुष्कर्म हो भनी थाहा पाएपछि कहिल्यै त्यो नगर्नुलाई के भनिन्छ? त्यसलाई आफ्नो हातबाट हुने हिंसा त्याग्नु भनिन्छ, जुन साँचो पश्चात्ताप देखाउनु हो। यदि तँलाई आफूले दुष्कर्म गरेको छु भन्ने थाहा छ र तँ परमेश्वरले त्यसलाई अनुमोदन गर्नुहुन्न भनेर निश्चित छस् भने, तैँले हृदयदेखि नै पश्चात्ताप गर्नुपर्छ। यदि तँ आत्मचिन्तन गर्दैनस्, बरु आफ्ना दुष्ट कार्यको बचाउ गर्छस् र त्यसलाई सही साबित गर्न खोज्छस् भने, तँ समस्यामा पर्छस्: तँ अवश्यै हटाइनेछस्, र त्यसउप्रान्त आफ्नो कर्तव्य निभाउन योग्य हुनेछैनस्। त्यसोभए, आफ्नो कर्तव्य निभाउँदा पोख्त हुनुपर्ने सिद्धान्त र लिनुपर्ने मार्ग कुन हो? कुनै व्यक्तिले परमेश्वरको अनुमोदन पाउन कस्तो आशय लिएर अघि बढ्नुपर्छ? (सबै कुरामा सत्यता खोज्ने र परमेश्वरको अभिप्राय बुझ्ने।) सबैलाई यो कुरा थाहा छ, तर के थाहा हुँदैमा त्यो अभ्यास गर्न सकिन्छ? के तिमीहरूले यो बुझेपछि अभ्यास गर्न सक्छौ? (सक्दैनौँ।) त्यसोभए तिमीहरू के गर्न सक्छौ त? तिमीहरूले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ र उहाँमा भर पर्नैपर्छ, सत्यताका लागि कष्ट भोग्नैपर्छ अनि आफ्ना महत्त्वाकाङ्क्षा, चाहना, अभिप्राय र देहसुखलाई पन्छाउनैपर्छ। यदि तँ ती पन्छाउँदैनस्, तैपनि सत्यता प्राप्त गर्न चाहन्छस् भने, के तँ कल्पनामा डुबिरहेको हुँदैनस् र? कतिपय मानिस सत्यता बुझ्न र प्राप्त गर्न दुवै चाहन्छन्; तिनीहरू परमेश्वरका लागि समर्पित हुन चाहन्छन्, तर कुनै कुरा छोड्न सक्दैनन्। तिनीहरू आफ्नो भविष्य छोड्न सक्दैनन्, आफ्नो देहसुख छोड्न सक्दैनन्, आफ्नो पारिवारिक बन्धन, आफ्ना छोराछोरी र बुबाआमा छोड्न सक्दैनन्, न त आफ्नो अभिप्राय, उद्देश्य वा चाहना नै छोड्न सक्छन्। तिनीहरूलाई जे आइपरे पनि, तिनीहरू सधैँ आफू, आफ्ना मामिला अनि आफ्ना स्वार्थी चाहनालाई प्रथम स्थानमा राख्छन्, र सत्यतालाई अन्तिम स्थानमा राख्छन्; तिनीहरू देह र आफ्नो शैतानी, भ्रष्ट स्वभावको स्वार्थ पूरा गर्नुलाई प्राथमिकता दिन्छन् भने परमेश्वरको वचन अभ्यास गर्नु र उहाँलाई सन्तुष्ट पार्नुलाई गौण बनाउँछन् र अन्तिम स्थानमा राख्छन्। के यस्ता मानिसहरूले परमेश्वरको अनुमोदन पाउन सक्छन्? के तिनीहरू कहिल्यै सत्यता वास्तविकतामा प्रवेश गर्न वा परमेश्वरको अभिप्राय पूरा गर्न सक्छन्? (कहिल्यै सक्दैनन्।) के यसो हेर्दा तैँले आफ्नो कर्तव्य पूरा गरेको छस् र अल्छे भएको छैनस्, तर तेरो भ्रष्ट स्वभाव अलिकति पनि ठिक भएको छैन भने, के यो परमेश्वरको मार्ग पछ्याउनु हो? (होइन।) तिमीहरू सबै यी कुरा बुझ्छौ, तर सत्यता अभ्यास गर्ने कुरा आउँदा, त्यो कठिन हुन्छ। तैँले नियम पालन गर्न र प्रक्रिया पूरा गर्नमा नभई सत्यता अभ्यास गर्नमा कष्ट भोग्नुपर्छ र मूल्य चुकाउनपर्छ। तैँले सत्यताका लागि जति नै कष्ट भोगे पनि, यसो गर्नु सार्थक हुनेछ, अनि तैँले परमेश्वरको अभिप्राय पूरा गर्न सत्यता अभ्यास गर्दा भोग्ने कष्टलाई उहाँले स्विकार्नुहुनेछ र अनुमोदन गर्नुहुनेछ।
अहिले तिमीहरूले सामना गरिरहेका समस्याहरू केके हुन्? एउटा हो, तिमीहरू थुप्रै सत्यताका वृत्तान्त बुझ्दैनौ, र तिमीहरूको हृदयमा ती छुट्टयाउने मानक छैन; अझ, तिमीहरूले बुझ्ने सत्यता अभ्यास गर्न गाह्रो छ। मानिलिऊँ, सुरुमा सत्यता अभ्यास गर्न गाह्रो हुन्छ, तर तिमीहरू जति अभ्यास गर्छौ, त्यो त्यति नै सजिलो बन्छ; तिमीहरू जति अभ्यास गर्छौ, तिमीहरूको भ्रष्ट स्वभावको प्रभाव त्यति नै कम हुन्छ; सत्यताका साथै सत्यता अभ्यास गर्ने इच्छा क्रमिक रूपमा प्रबल बन्दै जान्छ; तिमीहरूको अवस्था झन्-झन् सामान्य बन्दै जान्छ; अनि देहगत स्वार्थी चाहना र तिमीहरूको मानव विचार झन्-झन् कम प्रबल बन्दै जान्छ। यो सामान्य कुरा हो, र तिमीहरूले परमेश्वरको अनुमोदन पाउने आशा हुनेछ। तर मानौँ तँ लामो समयदेखि सत्यता अभ्यास गर्दै आइरहेको छस्, तैपनि तेरो रुची, स्वार्थी चाहना, अभिप्राय र भ्रष्ट स्वभावले तेरो जीवनको हर पक्ष र हर कुरामा अग्रणी भूमिका खेल्छ। तेरा लागि सत्यता अभ्यास गर्नु अझै पनि निकै कठिन हुन्छ, र तैँले आफ्नो कर्तव्य निभाइरहेको भए पनि, तैँले गर्ने अधिकांश कामकुरा सत्यता अभ्याससँग सम्बन्धित हुँदैनन्। के तिमीहरूलाई यसले समस्या निम्ताउँछ भन्ने लाग्दैन? यसले अवश्यै निम्त्याउनेछ। तँ जुनै मण्डलीमा भए पनि वा तेरो परिवेश जस्तोसुकै भए पनि, यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा त सत्यता पछ्याउने तेरो अवस्था झन्-झन् राम्रो हुँदै गइरहेको छ कि छैन, परमेश्वरसँगको तेरो सम्बन्ध झन्-झन् सामान्य बन्दै गइरहेको छ कि छैन, तेरो विवेक, समझ र मानवता झन् सामान्य बन्दै गइरहेका छन् कि छैन, अनि परमेश्वरप्रतिको तेरो बफादारिता र आज्ञाकारिता बढिरहेको छ कि छैन भन्ने हो। यदि तँभित्रका सकारात्मक कुराहरू बढ्दै र प्रभावशाली बन्दै गइरहेका छन् भने तैँले सत्यता प्राप्त गर्ने आशा हुनेछ। यदि तँमा कहिल्यै यस्ता सकारात्मक कुराहरूको लक्षण देखिएको छैन भने, तैँले रत्तिभर प्रगति गरेको छैनस्, र तेरो स्वभावमा कुनै परिवर्तन भएको छैन। यदि तँ सत्यता अभ्यास पटक्कै गर्दैनस् भने, कसरी जीवन प्रवेश गर्छस्? कतिपय मानिस भन्छन्, “मैले अभ्यास गरेको छु र मरिमेटेको छु। तैपनि किन मैले कुनै परिणाम पाइरहेको छैनँ?” परिणाम नपाउनुको अर्थ के हो? यसको अर्थ हो, तैँले सत्यता अभ्यास गरेको छैनस्। तैँले जतिपटक अभ्यास गर्ने प्रयास गरेको भए पनि, अन्तिम नतिजास्वरूप तँ अझै पनि आफ्नो भ्रष्ट स्वभाव र शैतानी प्रकृतिको अधीनमा छस्, जसको मतलब तैँले आफ्नो शैतानी, भ्रष्ट स्वभावलाई जित्न सत्यता वास्तविकता र परमेश्वरका वचन प्रयोग गर्दै आइरहेको छैनस्। के त्यसो भन्न मिल्छ? (मिल्छ।) त्यसोभए, तँ विजेता होस् कि हरुवा? (हरुवा।) यो विजेता नभई हरुवा हुनु हो। तैँले सत्यता अभ्यास गर्दा तेरो हृदयमा लडाइँ चलिरहेको हुन्छ। तँ आफ्ना अभिप्राय पन्छाउन सक्दैनस्, तर सत्यताले के भन्छ अनि परमेश्वरका मापदण्ड के-के हुन् भनेर बुझ्छस्। लडाइँका क्रममा तँ सत्यता पन्छाउँछस्; तँ त्यो अभ्यास गर्दैनस्। अन्तत: तँ आफ्नै स्वार्थी चाहनाहरू पूरा गर्छस्, आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छस्, र सत्यता अभ्यास नगरी आफ्नै शैतानी प्रकृतिअनुसार जिउँछस्। त्यसोभए अन्तिम नतिजा के हुन्छ त? (असफल हुन्छ।) मानिलिऊँ, अन्त्यमा लडाइँ जितिएन, र तँ पहिलेझैँ आफ्नो शैतानी स्वभावअनुसार जिउँछस्: तँ परमेश्वरका वचनअनुसार अभ्यास नगर्ने निर्णय गर्छस्, आफ्नो व्यक्तिगत हितलाई प्राथमिकता दिन्छस्, आफ्ना चाहना र स्वार्थ पूरा गर्छस् तर परमेश्वरलाई सन्तुष्ट पार्दैनस्, अनि सत्यताको पक्षमा उभिँदैनस्। यसको मतलब तँ पूर्णत: असफल होस्, र यो एक प्रकारको लडाइँको नतिजा हो। अर्को प्रकारको लडाइँको नतिजाचाहिँ के हो त? मानिसहरूलाई परिस्थितिहरू आइपर्दा तिनीहरूको मनमा पनि लडाइँ चल्छ। तिनीहरू असहज, दुःखी र कमजोर महसुस गर्छन्, तिनीहरूको मर्यादा र चरित्रमाथि पनि प्रश्न उठ्छ र तिनीहरूको घमण्ड तोड्न सकिन्न। यसबाहेक, तिनीहरू काटछाँट सामना गर्छन्, वा अरूले तिनीहरूलाई तुच्छ ठान्छन्, वा तिनीहरू अपमानित हुन्छन् अनि आफ्नो मर्यादा र चरित्र दुवै गुमाउँछन्। तर तिनीहरूले यस्तो परिस्थितिको सामना गर्दा परमेश्वरलाई प्रार्थना गर्न सक्छन्, अनि त्यसो गरेपछि तिनीहरूको मुटु दह्रो बन्छ, र तिनीहरूले सत्यता खोजेर यी कुराहरू स्पष्ट रूपमा बुझ्छन्। तिनीहरूले असाधारण शक्ति र दृढ सङ्कल्पका साथ सत्यता अभ्यास गर्नेछन्। “मलाई न त छवि चाहिएको छ, न त हैसियत, न त घमण्ड नै। अरूले मलाई तुच्छ ठाने पनि वा गलत बुझे पनि, अहिले म परमेश्वरलाई सन्तुष्ट पार्न र सत्यता अभ्यास गर्न रोज्छु, ताकि परमेश्वरले मलाई अनुमोदन गर्नुहोओस् र यस मामिलामा उहाँ मदेखि प्रसन्न हुनुहोओस्, अनि मैले परमेश्वरको हृदयलाई चोट नपुर्याऊँ।” तिनीहरूले आखिर आफ्नो छवि र घमण्ड, उद्देश्य, महत्त्वाकाङ्क्षा र स्वार्थीपन पन्छाउनेछन्, र त्यसपछि तिनीहरू परमेश्वर, सत्यता र न्यायको पक्षमा उभिनेछन्। सत्यता अभ्यास गरेपछि, तिनीहरूको हृदय सन्तुष्ट हुन्छ, शान्त बन्छ र हर्षले भरिन्छ। तिनीहरू परमेश्वरको आशिष् महसुस गर्छन् र तिनीहरूलाई सत्यता अभ्यास गर्नु राम्रो हो भन्नेलाग्छ; सत्यता अभ्यास गरेर तिनीहरूको हृदय सन्तुष्ट र पोषित हुन्छ, अनि तिनीहरू आफू आफ्नो शैतानी र भ्रष्ट स्वभावको नियन्त्रण र बन्धनमा रहनुको साटो मानव स्वरूपमा जिइरहेको महसुस गर्छन्। तिनीहरूले परमेश्वरको गवाही दिएर अनि सृष्टि गरिएको प्राणीमा हुनुपर्ने गवाही र अडानमा दृढ भएर हृदयमा मनोशान्ति, आनन्द र खुसी महसुस गर्छन्। यो अर्को प्रकारको नतिजा हो। यस्तो नतिजा कस्तो हो? (राम्रो हो।) तर के यो “राम्रो नतिजा” हासिल गर्न सहज हुन्छ? (हुँदैन।) यो “राम्रो नतिजा” लडाइँको प्रक्रियामार्फत हासिल गर्नुपर्छ, र यो लडाइँमा मानिसहरू एक-दुईपटक असफल हुने सम्भावना पनि हुन्छ। तर असफलताले पाठ सिकाउँछ: यसले सत्यता अभ्यास नगरेकोमा मानिसहरूको विवेकमा घोच्छ, अनि तिनीहरूलाई आफू परमेश्वरप्रति ऋणी भएको अनि आफ्नो हृदयले कष्ट र पीडा सहेको महसुस गराउँछ। पछि त्यस्ता परिस्थितिहरू आइपर्दा मानिसहरूले थाहै नपाई आफ्नो शैतानी, भ्रष्ट स्वभावलाई झन्-झन् धेरै जित्दै जानेछन्; तिनीहरूले क्रमिक रूपमा परमेश्वरको हृदयलाई सन्तुष्ट पार्नका लागि सत्यता अभ्यास गर्न अवश्यै रोज्नेछन्। शैतानी, भ्रष्ट स्वभावलाई जित्ने र परमेश्वरका अभिप्राय पूरा गर्ने सामान्य प्रक्रिया यही हो।
अब, के तिमीहरूलाई सत्यता अभ्यास गर्न गाह्रो लाग्छ? वा आफूखुसी गर्न र सत्यता अभ्यास नगर्नचाहिँ गाह्रो लाग्छ? (सत्यता अभ्यास गर्नु गाह्रो हुन्छ।) अनि आफूखुसी गर्नचाहिँ नि? (त्यो त सजिलो हुन्छ।) यसले तिमीहरूको वास्तविक कद प्रकट गर्छ: तिमीहरूमध्ये कोही अलिकति पनि बदलिएका छैनौ, र तिमीहरू अझै पनि सत्यता अभ्यास गर्न सक्दैनौ। यो कति दयनीय कद हो! तिमीहरू सबैलाई सत्यता अभ्यास गर्न गाह्रो, अनि आफूखुसी गर्नचाहिँ सजिलो लाग्छ, जसले तिमीहरू अझै पनि सत्यता अभ्यास गर्न सक्दैनौ भन्ने प्रमाण दिन्छ। तिमीहरूका लागि देहगत रुचिहरू पछ्याउनु सामान्य भइसकेको छ; तिमीहरूलाई त्यसको बानी बसिसकेको छ, मानौँ त्यो नियम हो, त्यसैले तिमीहरूलाई सत्यता अभ्यास गर्न असाध्यै गाह्रो लाग्छ: तिमीहरूलाई आफ्नो आत्मसम्मान र हैसियतमा धक्का पुग्ने निरन्तर डर लाग्छ, त्यसैले तिमीहरू सत्यता अभ्यास गर्दैनौ, बरु आफ्नै विचारअनुसार काम गर्छौ। केवल एउटै सोचले कुनै मान्छे डरपोक र आफ्नै शैतानी भ्रष्ट स्वभावको बन्धनमा रहेको असफल व्यक्ति बन्छ, र उसले आफ्नो गवाही र परमेश्वरको अनुमोदन गुमाउँछ। यो यति सजिलो हुन्छ। तर के यो सत्यता अभ्यास गर्ने र परमेश्वरको गवाही दिने व्यक्ति बन्नु जत्तिकै सजिलो हुन्छ? यसका लागि कुनै प्रक्रिया चाहिन्छ। जब कुनै व्यक्तिले सत्यता स्विकार्छ, तब उसको मनमा सधैँ लडाइँ चल्छ, कामकुरा कहिले एकातिर ढल्किन्छन्, कहिले अर्कोतिर। मनमा निरन्तर लडाइँ चल्छ, र अन्त्यमा त्यो लडाइँ यस्तो निष्कर्षमा पुग्छ: सत्यतालाई प्रेम गर्नेहरू त्यो अभ्यास गर्छन्, गवाही दिन्छन् र विजेता बन्छन्; सत्यतालाई प्रेम नगर्नेहरू अत्यन्तै हठी हुन्छन्, तिनीहरूमा मानवताको अत्यन्तै कमी हुन्छ, तिनीहरू खस्कँदो चरित्रको र घृणित हुन्छन्—यस्ता मानिसहरू आफ्नै स्वार्थ र चाहना पूरा गर्ने छनौट गर्छन्, र पूर्णतया आफ्नो शैतानी, भ्रष्ट स्वभावको नियन्त्रणमा हुन्छन्। आफ्नो दैनिक जीवनमा परिस्थितिहरू आइपर्दा, के तिमीहरू आफ्नो शैतानी, भ्रष्ट स्वभावलाई जित्छौ? वा तिमीहरू त्यसको बन्धन र नियन्त्रणमा पर्छौ? तिमीहरू प्राय: कस्तो अवस्थामा हुन्छौ? यसको आधारमा तँ आफूलाई सत्यता अभ्यास गर्ने व्यक्ति हो कि होइन भनी जोख्न सक्छस्। यदि तँ प्राय: आफ्नो शैतानी, भ्रष्ट स्वभावलाई जित्न र गवाही दिने व्यक्ति बन्न सक्छस् भने, सत्यता अभ्यास गर्ने र त्यसलाई प्रेम गर्ने व्यक्ति होस्। यदि तँ प्राय: आफ्नै स्वार्थी चाहना पूरा गर्छस्, अनि आफ्नो शैतानी, भ्रष्ट स्वभावलाई जित्न, सत्यताको पक्षमा उभिन, सत्यता अभ्यास गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सक्दैनस् भने, तँ न त सत्यता अभ्यास गर्ने व्यक्ति होस्, न त तँसँग सत्यता वास्तविकता नै छ। स्पष्ट छ, आफूसँग सत्यता वास्तविकता नहुनेहरू परमेश्वरमा विश्वास गर्ने तर जीवन प्रवेश नभएका व्यक्ति हुन्। त्यसैले, आफूलाई मापन गर्: के तिमीहरू प्राय: देहको पक्षमा उभिन्छौ? वा तिमीहरू सत्यताको पक्षमा उभिन्छौ? सत्यतामा समावेश नहुने सानातिना कुराहरूको कुनै अर्थ छैन, तर तैँले छनौट गर्नैपर्ने ठूला कुराहरू आइपर्दा, तँ सत्यताको पक्षमा उभिन्छस् कि देहको पक्षमा? (सुरुमा देहको पक्षमा उभिन्छौँ; तर लडाइँपछि, अनि प्रार्थना र खोजीद्वारा केही सत्यता बुझेपछि सत्यताको पक्षमा उभिन्छौँ।) कुनै व्यक्तिले सत्यता बुझेपछि सत्यताको पक्ष लिन सक्छ भन्नु सही हो, तर देहविरुद्ध विद्रोह गर्नुको अर्थ सत्यता अभ्यास गरिरहेको छस् भन्ने अवश्यै होइन। तैँले देहविरुद्ध विद्रोह गरेर अनि आफूखुसी कामकुरा नगरेर सत्यता अभ्यास गरिरहेको हुँदैनस्; बरु तैँले सत्यता अभ्यास गर्न सत्यता सिद्धान्त पालन र अभ्यास गर्नैपर्छ। त्यसोभए, सामान्यतया तिमीहरूको परिस्थिति के-कस्ता हुन्छन्? (हामीले जेलाई देहविरुद्ध विद्रोह गरेको भन्छौँ, त्यो वास्तवमा सत्यता अभ्यास गर्नु होइन; त्यो त वास्तवमा आत्मसंयम देखाउनु हो।) यो कुरा प्राय: मानिसहरूमा लागू हुन्छ जस्तो देखिन्छ, होइन र? (हो।) त्यसोभए, अहिले तिमीहरू कुन अवस्थामा छौ? के तिमीहरूले सत्यता वास्तविकतामा प्रवेश गर्न बाँकी नै छ? (हो।) तिमीहरूले जीवन प्रवेश नगरी परमेश्वरमा विश्वास गर्नुको अर्थ, तिमीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका छैनौ; तिमीहरू यही अवस्थामा छौ, त्यसैले तिमीहरू धेरै कुरा छुट्याउन सक्दैनौ। किन तिमीहरू ती छुट्याउन सक्दैनौ? किनभने तिमीहरूले केही वचन र धर्मसिद्धान्त मात्र बुझेका छौ, तर अझैसम्म सत्यता बुझेका र वास्तविकतामा प्रवेश गरेका छैनौ, त्यसैले छलफल भइरहेका धेरै अवस्थालाई तिमीहरू जान्दैनौ। तिमीहरूले ती अझसम्म अनुभव गरेका छैनौ, त्यसैले तिमीहरू ती स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनौ। कुरा त्यही हो। जेसुकै भए पनि, तैँले त्यो आफै अनुभव गर्नुपर्छ, र अनुभव गरेपछि त्यसका वृत्तान्त जान्नेछस्। तेरा भावना, विचार र तेरो अनुभवको प्रक्रिया, यी सबैको वृत्तान्त हुनेछ, र यी वृत्तान्त वास्तविक कुरा हुन्। तीविना तँसँग केवल सतही ज्ञान हुन्छ, त्यसैले तँ त्यसलाई सुगा रटाइ गर्छस्। सतही ज्ञानको अर्थ तँ शाब्दिक बुझाइमा रोकिएको छस्, तैँले त्यसलाई आफ्नो बनाएको छैनस्, र तँ सत्यता वास्तविकतामा प्रवेश गर्नदेखि अझ टाढा छस् भन्ने हो। के यसलाई यसरी भन्न मिल्छ? (मिल्छ।) तिमीहरूले आजको सङ्गतिअनुसार अभ्यास गर्नैपर्छ, अनि मनन गर्न सिक्नैपर्छ। तैँले सत्यता अभ्यास गर्न मनन पनि गर्नैपर्छ, र अभ्यास गर्दै मनन गरेर अनि मनन गर्दै अभ्यास गरेर सत्यताका वृत्तान्त झन्-झन् धेरै बुझ्दै जानेछस्, सत्यताबारे तेरो ज्ञान झन्-झन् गहन बन्दै जानेछ, र यसरी तैँले सत्यता वास्तविकतालाई साँचो रूपमा अनुभव गर्न सक्छस्। तैँले त्यो बुझेपछि र अनुभव गरेपछि मात्रै तँसँग सत्यता वास्तविकता हुनेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।