सत्यता खोज्‍ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू (अंश १५)

यदि मानिसहरूमा सत्यतालाई प्रेम गर्ने हृदय छ भने, तिनीहरूमा सत्यको पछि लाग्‍ने शक्ति हुन्छ, र तिनीहरू सत्यता अभ्यास गर्नमा कडा मेहनत गर्न सक्छन्। तिनीहरू त्याग्‍नुपर्ने कुरा त्याग्‍न सक्छन्, र छोड्नुपर्ने कुरा छोड्न सक्छन्। विशेष गरी, तेरो ख्याति, प्राप्ति र हैसियतसित सम्बन्धित कुराहरू छोड्नुपर्छ। यदि तैँले ती छोड्दैनस् भने, यसको अर्थ तँ सत्यतालाई प्रेम गर्दैनस् र तँमा सत्यताको पछि लाग्‍ने सामर्थ्य छैन। तँमाथि परिस्थितिहरू आइपर्दा, तैँले सत्यताको खोजी र अभ्यास गर्नैपर्छ। तैँले सत्यता अभ्यास गर्नुपर्ने समयहरूमा, यदि तँमा सधैँ स्वार्थी हृदय हुन्छ र तँ आफ्नो स्वार्थ छोड्न सक्दैनस् भने, तैँले सत्यता अभ्यास गर्न सक्‍नेछैनस्। यदि तैँले कुनै पनि परिस्थितिमा र कहिल्यै पनि सत्यताको खोजी वा अभ्यास गर्दैनस् भने, तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्। तैँले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, सत्यता प्राप्त गर्नेछैनस्। कतिपय मानिसहरू सधैँ ख्याति, प्राप्ति र स्वार्थको पछि लाग्छन्। मण्डलीले तिनीहरूलाई जुनसुकै काम दिए पनि, तिनीहरू सधैँ घोत्लिन्छन्, र यस्तो सोच्छन्, “के यसले मलाई फाइदा गर्छ? फाइदा गर्छ भने गर्छु, नत्र गर्दिनँ।” यस्तो व्यक्तिले सत्यता अभ्यास गर्दैन—त्यसकारण के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्? निश्‍चय नै सक्दैनन्। तैँले दुष्कर्म नगरेको भए पनि, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। यदि तँ सत्यताको पछि लाग्दैनस्, सकारात्मक कुराहरूलाई प्रेम गर्दैनस्, र तँलाई जे आइपरे पनि आफ्नो प्रतिष्ठा, हैसियत, स्वार्थ र तँलाई फाइदा हुने कुरा मात्र वास्ता गर्छस् भने, तँ केवल स्वार्थद्वारा सञ्‍चालित, स्वार्थी र नीच व्यक्ति होस्। यस्तो व्यक्तिले सत्यता वा परमेश्‍वरको मुक्ति प्राप्त गर्न नभई, असल, वा आफूलाई फाइदा पुग्ने कुरा प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्छ। तसर्थ, यस प्रकारका मानिसहरू अविश्‍वासी हुन्। सत्यता खोज्न र अभ्यास गर्न सक्‍नेहरू नै परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिस हुन्, किनभने तिनीहरूले आफ्नो हृदयमा ख्रीष्ट नै सत्यता हुनुहुन्छ भनी पहिचान गर्छन्, र तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्‍नुपर्छ र परमेश्‍वरले भन्‍नुभएअनुसार उहाँमा विश्‍वास गर्नुपर्छ भन्‍ने कुरालाई मान्छन्। तँलाई केही आइपर्दा, यदि तँ सत्यता अभ्यास गर्ने इच्छा गर्छस्, तर आफ्नै ख्याति, हैसियत र छविलाई विचार गर्छस् भने, सत्यता अभ्यास गर्नु गाह्रो हुनेछ। यस्तो परिस्थितिमा, प्रार्थना, खोजी र आत्मचिन्तनद्वारा अनि आत्मसेचत बनेर, सत्यतालाई प्रेम गर्नेहरूले आफ्नो स्वार्थी कुरा वा आफ्नो फाइदा छोड्न, सत्यता अभ्यास गर्न, र परमेश्‍वरप्रति समर्पित हुन सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यतालाई प्रेम गर्ने व्यक्तिहरू हुन्। अनि जब मानिसहरूले सधैँ आफ्‍नै हितहरूका बारेमा विचार गर्छन्, जब सधैँ आफ्‍नै गर्व र आडम्बरको रक्षा गर्ने प्रयास गरिरहन्छन्, जब तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन् र पनि त्यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्, तब परिणाम के हुन्छ? परिणाम यो हुन्छ कि तिनीहरूले कुनै जीवन प्रवेश पाउँदैनन्, तिनीहरूमा साँचो अनुभव गवाहीको कमी हुन्छ। अनि यो खतरनाक हुन्छ, होइन र? यदि तैँले कहिल्यै पनि सत्यताको अभ्यास गर्दैनस् भने, यदि तँसँग कुनै अनुभव गवाही छैन भने, समय आएपछि तँलाई खुलासा गरिनेछ र हटाइनेछ। परमेश्‍वरको घरमा अनुभव गवाही नभएका मानिसहरूको के काम हुन्छ र? तिनीहरूले अवश्य नै कुनै कर्तव्य पनि राम्ररी पूरा गर्दैनन्, र कुनै काम पनि उचित रूपमा गर्न सक्षम हुँदैनन्। के तिनीहरू फोहोर होइनन् र? परमेश्‍वरलाई वर्षौँसम्‍म विश्‍वास गरेर पनि यदि मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गर्दैनन् भने, तिनीहरू अविश्‍वासीहरू हुन्; तिनीहरू दुष्ट मानिसहरू हुन्। यदि तैँले सत्यताको अभ्यास कहिल्यै गर्दैनस् र यदि तेरा अपराधहरू झन्झन् धेरै हुँदै गए भने, तेरो परिणाम निश्‍चित हुन्छ। यो स्पष्ट छ कि तेरा सबै अपराधहरू, तैँले हिँड्ने गलत मार्ग, र पश्‍चात्ताप गर्न तैँले गर्ने इन्कार—यी सबै कुरा जोडिएर दुष्ट कार्यहरूको थुप्रो बन्छ; त्यसैले तेरो परिणाम के हुन्छ भने, तँ नरक जानेछस्—तँलाई दण्डित गरिनेछ। के तँलाई यो सानोतिनो कुरा हो भन्‍ने लाग्छ? यदि तँलाई दण्ड भएको छैन भने, यो कति भयानक हुन्छ भन्‍ने बोधसमेत तँमा हुनेछैन। जब त्यो दिन आउँछ जहाँ तैँले साँच्‍चै नै सङ्कटको सामना गर्छस्, र तँ मृत्युको सम्‍मुख हुन्छस्, तब पछुतो गर्नको लागि धेरै ढिला भइसकेको हुनेछ। यदि तैँले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा सत्यता स्वीकार गर्दैनस्, र यदि तैँले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भयो, र पनि तँमा कुनै परिवर्तन आएको छैन भने, अन्तिम परिणाम के हुन्छ भने तँलाई हटाइनेछ र त्यागिनेछ। हरेक व्यक्तिले अपराध गरेको हुन्छ। मुख्य कुरा भनेको ती अपराधहरू सुल्झाउनको निम्ति सत्यता खोज्न सक्नु हो, र यसले अपराधहरू कम हुँदै जाने कुराको सुनिश्चितता गर्नेछ। त्यो चाहे जहिलेसुकै होस्, यदि तैँले कहिल्यै आफ्नो भ्रष्ट स्वभाव प्रकट गरिस्, र तैँले सधैँ परमेश्वरलाई प्रार्थना गर्न र उहाँमा भर पर्न, त्यसलाई समाधान गर्नको निम्ति सत्यता खोज्न, र तेरो भ्रष्ट स्वभाव शुद्धीकरण गर्न सकिस् भने, तैँले दुष्टता गरेको हुनेछैनस्। विश्वासीहरूले भ्रष्ट स्वभावको समस्यालाई यसरी नै हल गर्नुपर्छ, र यसरी नै परमेश्वरको काम अनुभव गर्नुपर्छ। यदि तँमाथि परिस्थितिहरू आइपर्दा तैँले कहिल्यै परमेश्वरलाई प्रार्थना गर्दैनस् र कहिल्यै सत्यता खोज्दैनस्, वा यदि तैँले सत्यता त बुझ्छस् तर त्यसलाई व्यवहारमा लागू गर्दैनस् भने, अन्तिम परिणाम के हुनेछ? त्यो प्रस्टै छ। तँ जतिसुकै चतुर र वाक्पटु भए पनि, के तँ परमेश्वरको नजरको जाँचबुझबाट उम्किन सक्छस्? के तँ परमेश्वरको हातका योजनाबद्ध कार्यहरूबाट पन्छिन सक्छस्? यो असम्भव छ। ज्ञानी मानिसहरूले परमेश्वरसामु आएर पश्चात्ताप गर्नुपर्छ, उहाँलाई हेर्नुपर्छ, उहाँमा निर्भर हुनुपर्छ, आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नुपर्छ, र सत्यता अभ्यास गर्नुपर्छ। त्यसपछि तैँले देहलाई र शैतानका प्रलोभनहरूलाई जितेको हुनेछस्। तँ थुप्रै पटक असफल भइस् भने पनि, तँ लागिरहनैपर्छ। यदि तँ सबै बाधाहरूविरुद्ध लागिपरिस् भने, तैँले कुनै न कुनै समयमा सफलता पाउनेछस्, र तैँले परमेश्वरको अनुग्रह, उहाँको कृपा, र उहाँको आशिष् प्राप्त गर्नेछस्, र तैँले सत्यता पछ्याउने मार्गमा हिँड्न, आफ्ना कर्तव्यहरू राम्ररी निभाउन, र परमेश्वरलाई सन्तुष्ट तुल्याउन सक्नेछस्।

तिमीहरूमाथि परिस्थितिहरू आइपर्दा, तिमीहरू सत्यता अभ्यास गर्न र परमेश्वरको कामलाई जोगाउन कत्तिको खोज्छौ? (विरलै। धेरैजसो म आफ्नै छवि वा स्वार्थ जोगाउन खोज्छु, र त्यो कुरा म पछि गएर महसुस गर्छु, तर आफै विरुद्ध विद्रोह गर्नु सजिलो हुँदैन। सत्यताबारे मसँगै सङ्गति गर्ने कोही भएमा, त्यसले मलाई केही बल दिन्छ, र म केही हदसम्म आफू विरुद्ध विद्रोह गर्न सक्छु। तर यदि मसँग सत्यताबारे सङ्गति गर्ने कोही नभएमा, म परमेश्वरबाट टाढिन्छु र सधैँ यही स्थितिमा जिउँछु।) देहविरुद्ध विद्रोह गर्न कठिन छ, र सत्यता अभ्यास गर्न झनै कठिन छ, किनकि तँसित तँलाई बाधा पुर्‍याउने शैतानी प्रकृति र तँलाई खलबल्याउने भ्रष्ट स्वभाव छ, र सत्यता नबुझीकन यिनलाई हल गर्न सकिँदैन। तिमीहरू एक दिनमा कति समय चुपचाप परमेश्वरको उपस्थितिमा बिताउन सक्छौ? आत्मिक खडेरी अनुभूति गर्नुअघि तिमीहरू कति दिनसम्म परमेश्वरका वचनहरू नपढी बस्न सक्छौ? (मलाई त परमेश्वरका वचनहरू नपढी एक दिन पनि रहन सक्दिनँ जस्तो लाग्छ। मलाई हरेक बिहान परमेश्वरका वचनहरूको एउटा खण्ड पढेर त्यसमाथि ध्यान गर्नैपर्छ। यसले मलाई परमेश्वरको नजिक भएको अनुभूति गराउँछ। यदि कुनै दिन म व्यस्त भएर हस्याङफस्याङ गर्दै काम गरिरहेको छु, परमेश्वरका वचनहरू खाइरहेको र पिइरहेको छैन, र खासै प्रार्थना गरिरहेको छैन भने, म परमेश्वरदेखि निकै टाढा भएको महसुस गर्छु।) यदि तिमीहरूले आफू परमेश्वरदेखि टाढा रहन सक्दैनौ भन्ने कुरा महसुस गर्न सक्छौ भने, तिमीहरूको लागि अझै पनि आशा रहन्छ। यदि तँ विश्वासी होस् र सत्यता प्राप्त गर्न चाहन्छस् भने, तैँले निष्क्रिय हुन र तँसित सत्यताबारे सङ्गति गर्न सधैँ अरूलाई पर्खिन मिल्दैन। तैँले सक्रिय रूपले परमेश्वरका वचनहरू खान र पिउन, परमेश्वरलाई प्रार्थना गर्न, र सत्यता खोज्न सिक्नैपर्छ। यदि तँ तेरो आत्मा अँध्यारो नहुञ्जेल परमेश्वरका वचनहरू खाँदैनस् र पिउँदैनस् अनि उहाँलाई प्रार्थना गर्दैनस् भने, तैँले यथास्थितिलाई कायम राख्न मात्र सक्छस्। नाम मात्रको “आस्था” कायम राख्नु ठिकै होला, तर त्यसले तेरो जीवनमा वृद्धि हुनेछैन, र जब तेरो आत्मा सुख्खा र असंवेदनशील बनेको हुन्छ, र तँ परमेश्वरदेखि निकै टाढा भएको हुन्छस्, तब तँ खतरामा पर्नेछस्। एउटा परीक्षा आइपर्दा नै तँ लड्छस्; तँ सजिलै शैतानको पकडमा पर्छस्। यदि तँसँग अनुभव नै छैन, तँ कुनै सत्यता बुझ्दैनस्, न त परमेश्वरका वचनहरू पढ्नमा न प्रवचनहरू सुन्नमा ध्यान दिन्छस्, र तँसित सामान्य आत्मिक जीवन छैन भने, तेरो कद वृद्धि हुन कठिन हुनेछ, र निश्चय नै तेरो प्रगति अति सुस्त हुनेछ। यो सुस्त प्रगतिका कारणहरू के हुन्? त्यसका परिणामहरू के हुन्? तँ यी कुराहरूबारे प्रस्ट हुनैपर्छ। परमेश्वरले जुनसुकै तरिकाले मानिसहरूको भ्रष्टता पर्दाफास गर्नुभए पनि, तिनीहरूले आफूलाई त्यसमा समर्पण गर्नुपर्छ र त्यसलाई स्विकार्नुपर्छ। तिनीहरूले आत्मचिन्तन गर्नुपर्छ र आफूलाई परमेश्वरका वचनहरूसित तुलना गर्नुपर्छ, ताकि तिनीहरूले आत्मज्ञान हासिल गर्न र बिस्तारै सत्यता बुझ्न सकून्। परमेश्वरको लागि यो नै सबैभन्दा सुखद कुरा हो, र पवित्र आत्माले पक्कै तिनीहरूमा काम गर्नुहुनेछ, र तिनीहरूले पक्कैपरमेश्वरको अभिप्राय बुझ्नेछन्। तैँले परमेश्वरका वचनहरूलाई सधैँभरी तेरो हृदयमा राख्नुपर्छ, ताकि वास्तविक जीवनमा कुनै समस्या सामना गर्दा, तैँले त्यसलाई परमेश्वरका वचनहरू र सत्यतासित जोड्न र तुलना गर्न सक। त्यसपछि उक्त समस्या समाधान गर्न सजिलो हुनेछ। उदाहरणको लागि, हर व्यक्तिले रोगरहित स्वस्थ शरीर चाहन्छ; यो हर व्यक्तिको आकाङ्क्षाको कुरा हो, तर तैँले त्यसलाई आफ्नो दैनिक जीवनमा कसरी अभ्यास गर्नुपर्छ? सर्वप्रथम, तेरो नियमित दिनचर्या हुनैपर्छ, तैँले अस्वस्थकर वा वर्जित गरिएको कुरा खानु हुँदैन, र उचित मात्रामा व्यायाम गर्नुपर्छ। जब यी विधिहरूलाई मिलाएर लगिन्छ, र तैँले गर्ने हर चीज तेरो शारीरिक स्वास्थ्यको लक्ष्यमा केन्द्रित हुन्छ, तब तैँले बिस्तारै नतिजाहरू देख्नेछस्। केही वर्षपछि तँ अरूभन्दा स्वस्थ हुनेछस्, र तैँले राम्रो परिणाम प्राप्त गरेको हुनेछस्। तैँले कसरी ती परिणामहरू हासिल गरिस्? किनकि, तेरा कार्य र लक्ष्यहरू मिल्दोजुल्दो थिए, र तेरो अभ्यास र सिद्धान्त मिल्दोजुल्दो थिए। परमेश्वरमा विश्वास गर्नु पनि यस्तै हो। यदि तँ सत्यतालाई प्रेम गर्ने र सत्यता अभ्यास गर्ने व्यक्ति हुन, र स्वभाव परिवर्तन भएको व्यक्ति हुन खोज्छस् भने, तँमाथि परिस्थितिहरू आइपर्दा तैँले तिनलाई आफूले पछ्याइरहेको लक्ष्यसँग र त्यसमा संलग्न सत्यताहरूसँग जोड्नैपर्छ। तैँले पछ्याउने लक्ष्यहरू जे भए पनि, जबसम्म ती परमेश्वरले मान्छेबाट माग गर्ने कुराहरू नै हुन्छन्, तबसम्म विश्वासीको रूपमा तैँले पछ्याउनैपर्ने दिशा र लक्ष्य तिनै हुन्छन्। उदाहरणको लागि, परमेश्वरको मार्ग पछ्याउने: परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने। तँसित यो दिशा र यो लक्ष्य भएपछि तँसित त्यसलगत्तै त्यसलाई व्यवहारमा लागू गर्ने मार्ग हुनैपर्छ। मैले “परमेश्‍वरको मार्ग पछ्याओ” भन्दा, “परमेश्‍वरको मार्ग” ले केलाई जनाउँछ? त्यसको अर्थ परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु हो। अनि, परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु भनेको के हो? उदाहरणको लागि, जब तैँले कसैको बारेमा मूल्याङ्कन गर्छस्—यो परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नुसँग सम्‍बन्धित हुन्छ। तैँले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छस्? (हामी इमानदार, न्यायसङ्गत, र निष्पक्ष हुनुपर्छ, र हाम्रा शब्‍दहरू हाम्रा भावनाहरूमा आधारित हुनु हुँदैन।) जब तैँले आफूले जे सोच्यो, र आफूले जे देख्यो, त्यही बोल्छस्, तब तँ इमानदार भइरहेको हुन्छस्। सर्वप्रथम, इमानदार व्यक्ति हुने अभ्यास गर्नु परमेश्‍वरको मार्गलाई पछ्याउनुसित मिल्छ। परमेश्‍वरले मानिसहरूलाई यही कुरा सिकाउनुहुन्छ; यही नै परमेश्‍वरको मार्ग हो। परमेश्‍वरको मार्ग भनेको के हो? परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु। के इमानदार बन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नुकै एक हिस्सा होइन र? के यो परमेश्‍वरको मार्ग पछ्याउनु होइन र? (हो। परमेश्वरको मार्ग पछ्याउनु हो।) यदि तँ इमानदार छैनस् भने, तैँले देखेको र सोचेको कुरा र तेरो मुखबाट निस्कने कुरा उस्तै हुँदैनन्। कसैले तँलाई सोध्छ, “त्यो व्यक्तिबारे तपाईंको राय के छ? के ऊ मण्डलीको काममा जिम्‍मेवार छ?” र तैँले यस्तो जवाफ दिन्छस्, “ऊ राम्रो छ। ऊ मभन्दा बढी जिम्‍मेवार छ, उसको क्षमता मेरोभन्दा राम्रो छ, र उसको मानवता पनि राम्रो छ। ऊ परिपक्‍व र स्थिर छ।” तर के तैँले आफ्‍नो हृदयमा यही सोचिरहेको हुन्छस् त? तैँले वास्तवमा के देख्छस् भने, यो व्यक्तिमा क्षमता भए पनि, ऊ भरोसा गर्न लायक छैन, बरु छली, र अत्यन्तै षड्यन्त्रकारी छ। तैँले मनमा वास्तवमा यस्तै सोचिरहेको हुन्छस्, तर बोल्‍ने समयमा, तँलाई लाग्छ, “मैले सत्य कुरा भन्‍नु हुँदैन। मैले कसैलाई पनि चिढ्याउनु हुँदैन,” त्यसकारण तैँले झट्टै अरू नै कुरा भन्छस्, र उसका बारेमा राम्रा कुराहरू भन्ने निर्णय गर्छस्, तर तैँले भनेको कुनै पनि कुरा तैँले वास्तवमा सोचेको कुरा हुँदैन; यो सबै झूट र नक्कली कुरा मात्रै हुन्छ। के यसले तैँले परमेश्‍वरको मार्ग पछ्याउँछस् भन्‍ने सङ्केत दिन्छ? दिँदैन। तँ शैतानको मार्ग, भूतहरूको मार्गमा हिँडेको हुन्छस्। परमेश्‍वरको मार्ग भनेको के हो? यो सत्यता हो, यो मानिसहरूको बानीबेहोराको आधार हो, र यो परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग हो। तँ कुनै अर्को व्यक्तिसँग बोल्दै छस् भने पनि, परमेश्‍वरले सुनिरहनुभएको हुन्छ; उहाँले तेरो हृदय नियालिरहनुभएको र त्यसलाई जाँचिरहनुभएको हुन्छ। मानिसहरूले तैँले भन्‍ने कुरा सुन्छन्, तर परमेश्‍वरले तेरो हृदय जाँच्‍नुहुन्छ। के मानिसहरू मानवको हृदय जाँच्‍न सक्‍ने हुन्छन्? बढीमा, मानिसहरूले तैँले सत्यता बताइरहेको छैनस् भन्‍नेसम्‍म देख्‍न सक्छन्; तिनीहरूले सतहमा के छ त्यो देख्‍न सक्छन्, तर परमेश्‍वरले मात्रै तेरो हृदयको गहिराइलाई देख्‍न सक्‍नुहुन्छ। परमेश्‍वरले मात्रै तैँले के सोचिरहेको छस्, तैँले के योजना बनाइरहेको छस्, र तेरो हृदयमा के-कस्ता तुच्छ षड्यन्त्र, विश्वासघाती तरिका र सक्रिय सोचहरू छन् भनी देख्‍न सक्‍नुहुन्छ। जब तैँले सत्यता बताइरहेको छैनस् भन्‍ने कुरा परमेश्वरले देख्नुहुन्छ, तँप्रतिको उहाँको राय र मूल्याङ्कन के हुन्छ? यस मामिलामा तैँले परमेश्‍वरको मार्ग पछ्याएको छैनस्, किनभने तैँले सत्यता बोलिनस् भन्‍ने हुन्छ। यदि तैँले परमेश्‍वरका मापदण्डहरू अनुसार अभ्यास गरिरहेको थिइस् भने, तैँले सत्य कुरा बताउनुपर्थ्यो: “ऊ क्षमता भएकै व्यक्ति हो, तर ऊ भरोसा गर्न लायक छैन।” तेरो मूल्याङ्कन सही भए पनि नभए पनि, यो साँचो र हृदयबाट आएको हुन्थ्यो र तैँले व्यक्त गर्नुपर्ने दृष्टिकोण र अडान यस्तै हुनुपर्थ्यो। तर तैँले यसो गरिनस्—अनि के तैँले परमेश्‍वरको मार्ग पछ्याइरहेको थिइस् त? (थिइनँ।) यदि तँ सत्य कुरा भन्दैनस् भने, तैँले परमेश्‍वरको मार्ग पछ्याइरहेको छस् र परमेश्‍वरलाई सन्तुष्ट तुल्याइरहेको छस् भनेर तैँले जोड दिनुको तँलाई के अर्थ हुन्थ्यो र? के तैँले फलाक्ने नाराहरूलाई परमेश्‍वरले चासो दिनुहुने थियो? के परमेश्‍वरले तँ कसरी चिच्याउँछस्, कति चर्को चिच्याउँछस्, र तेरो इच्‍छा कति ठूलो छ भन्‍ने कुरालाई हेर्नुहुन्छ? के तैँले कति पटक चिच्याउँछस् भन्ने कुरा उहाँले हेर्नुहुन्छ? यी उहाँले हेर्नुहुने कुराहरू होइनन्। परमेश्‍वरले तैँले सत्यताको अभ्यास गर्छस् कि गर्दैनस्, र तेरो जीवनमा परिस्थितिहरू आइपर्दा तैँले गर्ने निर्णय र तैँले कसरी सत्यता अभ्यास गर्छस् भन्‍ने कुरालाई हेर्नुहुन्छ। यदि तँ सम्‍बन्धहरू जोगाउने, आफ्‍नै स्वार्थ र छविलाई जोगाउने निर्णय गर्छस्, जे पनि आत्मसंरक्षणको लागि गर्छस्, र तेरो जीवनमा परिस्थितिहरू आइपर्दा तेरो दृष्टिकोण र मनोवृत्ति यस्तो हुन्छ भनेर परमेश्‍वरले देख्नुहुन्छ भने, उहाँले तेरो मूल्याङ्कन गर्नुहुनेछ: तँ उहाँको मार्ग पछ्याउने व्यक्ति होइनस् भनेर उहाँले भन्‍नुहुनेछ। तँ सत्यता पछ्याउन र परमेश्वरको मार्गमा हिँड्न चाहन्छु भन्छस्, त्यसोभए तँमाथि परिस्थितिहरू आइपर्दा तँ किन त्यसलाई व्यवहारमा लागू गर्दैनस्? तैँले बोल्ने वचनहरू हृदयबाटै आएका होलान्, र तिनले तेरा इच्छा र चाहनाहरू व्यक्त गर्लान्, अथवा तेरो हृदय भावविह्वल हुन सक्छ, र तँ नराम्रोसित रुँदै सच्चा वचनहरू चिच्च्याइरहेको हुन सक्छस्, तर के इमानदारीपूर्वक बोल्नुको अर्थ तैँले सत्यता अभ्यास गरिरहेको छस् भन्ने हुन्छ र? के त्यसको अर्थ तँसित साँचो गवाही छ भन्ने हुन्छ? हुन्छ भन्ने जरुरी छैन। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, तैँले सत्यता अभ्यास गर्न सक्नेछस्; यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस् भने, तैँले कर्णप्रिय कुराहरू मात्र बोल्नेछस्, र त्यो बाहेक अरू केही गर्नेछैनस्। फरिसीहरू धर्मसिद्धान्तहरूको प्रचार गर्न र नाराहरू फलाक्नमा उत्कृष्ट थिए। तिनीहरू प्रायः बाटोको कुनामा बसेर “ओहो, शक्तिमान् परमेश्वर!” वा “श्रद्धेय परमेश्वर!” भन्दै चिच्च्याउँथे। अरूका नजरमा, तिनीहरू अत्यन्तै धर्मी देखिन्थे, र तिनीहरूले व्यवस्थाविरुद्ध केही गर्दैनथे, तर के परमेश्वरले तिनीहरूको अनुमोदन गर्नुभयो त? गर्नुभएन। उहाँले तिनीहरूको निन्दा कसरी गर्नुभयो? उहाँले तिनीहरूलाई पाखण्डी फरिसीको नाम दिएर निन्दा गर्नुभयो। विगतका समयमा फरिसीहरू इस्राएलका सम्मानित वर्ग थिए, त्यसोभए अहिले त्यो नाम किन लेबल बनेको छ? यस्तो किन भयो भने फरिसीहरू एक खाले व्यक्तिको प्रतिनिधि बनेका छन्। यस प्रकारको व्यक्तिका विशेषताहरू के-के हुन् त? तिनीहरू झूटो हुनमा, देखावटी गर्नमा, ढोँग गर्नमा सिपालु छन्; तिनीहरू महान् आदर्श, पवित्रता, सोझोपन, र पारदर्शी शालीनताको नाटक गर्छन्, र तिनीहरूले फलाक्ने नाराहरू राम्रा सुनिन्छन्, तर तिनीहरूले त अलिकति पनि सत्यता अभ्यास नगर्ने रहेछन्। तिनीहरूसँग कुन चाहिँ असल व्यवहार रहेछ त? तिनीहरू पवित्र पुस्तक पढ्छन् र प्रवचन दिन्छन्; तिनीहरू अरूलाई कानुन र नियमहरू कायम राख्न अनि परमेश्वरको प्रतिरोध नगर्न सिकाउँछन्। यो सबै असल व्यवहार हो। तिनीहरूले भन्ने हरेक कुरा राम्रो सुनिन्छ, तैपनि जब अरू पछाडि फर्कन्छन् तिनीहरू गोप्य रूपमा भेटीहरू चोर्छन्। प्रभु येशूले तिनीहरूले “भुसुना छान्छन् र उँटलाई चाहिँ निल्छन्” (मत्ती २३:२४) भनी भन्नुभयो। यसको मतलब, तिनीहरूको सबै व्यवहार बाहिरी रूपमा राम्रो देखिन्छ—तिनीहरूले देखाउनको लागि नारा लगाउँछन्, तिनीहरूले उच्च सिद्धान्तहरूको बारेमा बोल्छन्, र तिनीहरूका वचनहरू मीठा सुनिन्छ, तर तिनीहरूका कार्यहरू भने अस्तव्यस्त भद्रगोल हुन्छन्, र तिनीहरू पूर्णतया परमेश्‍वरको प्रतिरोधी हुन्छन्। तिनीहरूको बाहिरी व्यवहार सबै नै बहाना र धोका हुन्; तिनीहरूको हृदयमा तिनीहरूसँग सत्यताप्रति अलिकति पनि प्रेम हुँदैन, न त सकारात्मक कुराहरूको लागि नै प्रेम हुन्छ। तिनीहरू सत्यताप्रति, सकारात्मक कुराहरूप्रति र परमेश्‍वरबाट आउने सबै कुराहरूप्रति प्रतिकूल हुन्छन्। तिनीहरूले केलाई प्रेम गर्छन् त? के तिनीहरूले निष्पक्षता र धर्मीपनलाई प्रेम गर्छन् त? (गर्दैनन्।) तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् भनेर तिमीहरूले कसरी भन्न सक्छौ? (प्रभु येशूले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो जसलाई तिनीहरूले अस्वीकार मात्र गरेनन्, बरु तिनीहरूले त त्यसलाई दोषी ठहराउने कामसमेत गरे।) यदि तिनीहरूले त्यसको निन्दा नगरेका भए, के त्यो कुरा बताउन सम्भव हुनेथ्यो? हुनेथिएन। प्रभु येशूको देखापराइ र कामले सबै फरिसीहरूको खुलासा गर्‍यो, र तिनीहरूले प्रभु येशूलाई गरेको निन्दा र प्रतिरोधद्वारा मात्र अरूले तिनीहरूको पाखण्ड देख्न सक्थे। यदि परमेश्वरको देखापराइ र काम नभएको भए, फरिसीहरूलाई कसैले पनि खुट्याउने थिएन, र यदि मानिसहरूले फरिसीहरूको बाहिरी आचरणलाई मात्र हेरेको भए, त्यसले तिनीहरूलाई ईर्ष्यालु समेत बनाउनेथ्यो। के फरिसीहरूले झूटो असल व्यवहार देखाएर मानिसहरूको विश्वास प्राप्त गर्नु बेइमानी र छली थिएन र? के यस्ता छली मानिसहरूले सत्यतालाई प्रेम गर्न सक्छन् र? तिनीहरूले कदापि सक्दैनन्। तिनीहरूले असल आचरण देखाउनु पछाडिको उद्देश्य के थियो? एकातिर मानिसहरूलाई ठग्नु थियो। अर्कोतिर, मानिसहरूलाई बहकाएर तिनीहरूको मन जित्नु थियो, ताकि मानिसहरूले तिनीहरूलाई उच्च ठानून् र आदर गरून्। र अन्त्यमा, तिनीहरू इनाम प्राप्त गर्न चाहन्थे। यो त कत्रो ठूलो ठगी थियो! के यी चलाखीपूर्ण चालबाजी थिए? के यस्ता मानिसहरूले न्याय र धार्मिकतालाई प्रेम गर्थे? निश्चय नै गर्दैनथे। तिनीहरू हैसियत, प्रसिद्धि र लाभलाई प्रेम गर्थे, र तिनीहरू इनाम र मुकुट चाहन्थे। तिनीहरू परमेश्वरले मानिसहरूलाई सिकाएका वचनहरू कहिल्यै अभ्यास गर्दैनथे, र तिनीहरूले कहिल्यै सत्यताका वास्तविकताहरू जिउँदैनथे। तिनीहरू राम्रो आचारणको खोल ओढ्ने र मानिसहरूलाई छल्ने अनि पाखण्डी तरिकाले तिनीहरूको मन जितेर आफ्नो हैसियत र ख्याति जोगाउने काम मात्र गर्थे, र त्यही हैसियत र ख्यातिलाई प्रयोग गरेर पुँजीको खोजी गर्थे र त्यसैबाट जीवन गुजारा गर्थे। के त्यो घृणित कार्य होइन र? तिनीहरूको यो आचरणबाट तैँले बुझ्न सक्छस् कि सारभूत रूपमा तिनीहरू सत्यतालाई प्रेम गर्दैनथे, किनकि तिनीहरूले त्यसको अभ्यास कहिल्यै गरेनन्। तिनीहरूले सत्यता अभ्यास नगरेको तथ्यलाई कुन कुराले देखाउँछ? सबैभन्दा ठूलो कुरा: प्रभु येशू छुटकाराको काम गर्न आउनुभयो, र प्रभु येशूले बोल्नुभएका सबै वचनहरू सत्यता हुन् र तिनको अख्तियार छ। फरिसीहरूले यसको प्रतिक्रिया कसरी दिए? प्रभु येशूका वचनहरूमा अख्तियार र शक्ति छ भनी तिनीहरूले स्विकारे पनि, तिनीहरूले तिनलाई नस्विकारेको मात्र नभई तिनको भर्त्सना र ईशनिन्दा समेत गरे। त्यो केको लागि थियो? त्यो किन थियो भने तिनीहरूले सत्यतालाई प्रेम गर्दैनथे, र तिनीहरू हृदयदेखि नै सत्यताको प्रतिकूल थिए र सत्यतालाई घृणा गर्थे। प्रभु येशूले भन्नुभएको सबै कुरामा उहाँ सही हुनुहुन्थ्यो, उहाँका वचनहरूमा अख्तियार र शक्ति थियो, उहाँ कुनै रूपले गलत हुनुहुन्थेन, र उहाँमाथि तिनीहरूको कुनै प्रभाव थिएन भनी तिनीहरूले स्विकारे। तर तिनीहरू प्रभु येशूलाई निन्दा गर्न चाहन्थे, त्यसैले तिनीहरूले छलफल र षड्यन्त्र गरे, र “उहाँलाई क्रुसमा टाँगे। कि त ऊ रहनेछैन, कि हामी रहनेछैनौँ” भने, र फरिसीहरूले प्रभु येशूलाई यसरी नै अवज्ञा गरे। त्यसबेला कसैले पनि सत्यता बुझेन, र कसैले पनि प्रभु येशूलाई देहधारी परमेश्वर भनेर चिन्न सकेन। तर मानव दृष्टिकोणबाट हेर्दा, प्रभु येशूले धेरै सत्यताहरू व्यक्त गर्नुभयो, पिशाचहरूलाई निष्कासन गर्नुभयो, र बिरामीहरूलाई निको पार्नुभयो। उहाँले थुप्रै आश्चर्यकर्महरू गर्नुभयो, पाँच वटा रोटी र दुईवटा माछाले नै ५,००० जनालाई भोजन गराउनुभयो, अनेकौँ असल कार्यहरू गर्नुभयो, र मानिसहरूलाई अति धेरै अनुग्रह प्रदान गर्नुभयो। यस्ता असल र धर्मी मानिसहरू कमै मात्र हुन्छन्, त्यसोभए फरिसीहरू किन प्रभु येशूको निन्दा गर्न चाहन्थे? तिनीहरू किन उहाँलाई क्रुसमा टाँग्न त्यति दृढ थिए? तिनीहरूले प्रभु येशूको साटो कुनै अपराधीलाई छोड्न चाहनुले धार्मिक संसारका फरिसीहरू कति दुष्ट र दुर्भावनापूर्ण थिए भन्ने कुरा देखाउँछ। तिनीहरू अति नै दुष्ट थिए! फरिसीहरूले लुकाएको दुष्ट मुहार र तिनीहरूको देखावटी, बाहिरी दयाबीचको भिन्नता यति ठूलो थियो कि धेरै मानिसहरूले कुन साँचो हो र कुन झूटो हो भनी छुट्याउनै सकेनन्, तर प्रभु येशूको देखापराइ र कामले ती सबैको खुलासा गरिदियो। फरिसीहरूले प्रायः यति राम्ररी आफ्नो भेष बदल्थे र बाहिरी रूपले तिनीहरू यतिसम्म धार्मिक देखिन्थे कि तिनीहरूले त्यति क्रूर तरिकाले प्रभु येशूलाई प्रतिरोध गर्न र सताउन सक्छन् भनेर कसैले कल्पना समेत गरेको थिएन होला। यदि तथ्यहरू खुलासा नगरिएको भए, तिनीहरूको सारलाई कसैले पनि चिन्न सक्ने थिएनन्। देहधारी परमेश्वरले दिनुभएको सत्यताको अभिव्यक्तिले मान्छेको बारेमा अत्यन्तै धेरै खुलासाहरू गर्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्